नेपालमा भागवत
धर्म: भौगोलिक–सामाजिक पृष्ठभूमि र विकास
नेपालको धार्मिक–दार्शनिक इतिहासलाई समग्र रूपमा हेर्दा यो भूभाग
वैदिक, उपनिषदिक, पुराणीय
र तान्त्रिक धाराहरूको सङ्गमस्थलका रूपमा विकसित भएको देखिन्छ। हिमालयको दक्षिण
ढल्कँदो काखमा अवस्थित नेपाल केवल भौगोलिक अर्थमा मात्र नभई आध्यात्मिक अर्थमा पनि
उत्तरी आर्यावर्त को एक जीवन्त अंश रहँदै आएको छ। यही पृष्ठभूमिमा भागवत धर्मको
बीजारोपण, विकास र संस्थागत रूपान्तरण भएको हो।
२. नेपालको
सामाजिक संरचना र भागवत धर्मको ग्रहणशीलता
नेपालको
परम्परागत समाज बहुजातीय,
बहुभाषिक र
बहुसांस्कृतिक भए पनि यसको धार्मिक चेतनामा धार्मिक सहअस्तित्व प्रमुख विशेषता
रहँदै आएको छ। यही सामाजिक संरचनाले भागवत धर्मलाई कठोर सम्प्रदायिक सीमाभित्र
सीमित हुन नदिई लोकधारासँग आत्मसात् हुन मद्दत गर्यो ।
भागवत धर्मको
मूल आत्मा—भक्ति, करुणा, अहिंसा र ईश्वरप्रति समर्पण—नेपाली लोकजीवनसँग सहजै मेल खान्छ। जातीय वा वर्गीय
विभाजनभन्दा माथि उठेर भक्तिलाई सबैका लागि खुला गर्ने भागवत दृष्टिले नेपालमा
सामाजिक रूपमा स्वीकार्यता पायो। यही कारण भागवत कथा, हरिनाम सङ्कीर्तन, पुराणवाचन
जस्ता अभ्यासहरू दरबारदेखि गाउँसम्म फैलिन सके।
नेपालको भौगोलिक
अवस्थिति र भागवत चेतनाको आधार
नेपालको भौगोलिक
संरचना—हिमाल, पहाड
र तराईले यहाँको धार्मिक चेतनामा गहिरो प्रभाव पारेको छ। हिमालयलाई वैदिक–पुराणीय परम्पराले देवभूमि को रूपमा स्वीकार गरेको
पाइन्छ। बदरिकाश्रम,
मुक्तिनाथ (शालग्राम
क्षेत्र), गोसाइँकुण्ड, दामोदरकुण्ड,
वराहक्षेत्र आदि स्थलहरू
भागवत–वैष्णव दृष्टिले अत्यन्तै महत्त्वपूर्ण
तीर्थस्थल हुन्।
विशेष गरी
कालीगण्डकी क्षेत्रबाट प्राप्त शालग्राम शिलालाई नारायणको साक्षात् स्वरूप मानिने
परम्पराले नेपाललाई भागवत धर्मको पवित्र भौगोलिक केन्द्र का रूपमा स्थापित गरेको
छ। यसले यहाँको धार्मिक जीवनमा भागवत–केन्द्रित उपासना स्वाभाविक रूपमा विकसित
गर्यो।
भौगोलिक
पवित्रता: शालग्राम र हिमवत्खण्डको महिमा
नेपालको भूगोल
भागवत धर्मका लागि केवल जमिनको टुक्रा होइन,
यो स्वयंमा एक 'अर्चा विग्रह'
हो।
शास्त्रीय आधार:
वराह पुराण र स्कन्द पुराण (हिमवत्खण्ड) मा गण्डकी नदी र शालग्राम क्षेत्रको विशेष
महिमा गाइएको छ।
दार्शनिक पक्ष:
भागवतले ईश्वरलाई 'सर्वव्यापी' मान्छ। तर,
कालीगण्डकीमा पाइने
शालग्राम शिलालाई कुनै प्राण–प्रतिष्ठा बिना नै साक्षात् नारायण
मानिनुले नेपाललाई 'अर्चावतार' को
मुख्य थलोका रूपमा प्रमाणित गर्छ।
थप बुँदा: 'मुक्तिनाथ'
लाई १०८ दिव्य देशम
(वैष्णव तीर्थ) मध्ये एक मानिनुले नेपालको भागवत चेतनालाई दक्षिण भारतसम्म जोडेको
छ।
ऐतिहासिक रूपमा
नेपालमा भागवत धर्मको उपस्थिति लिच्छवि कालदेखि स्पष्ट देखिन्छ। लिच्छवि
अभिलेखहरूमा नारायण,
विष्णु, वासुदेव आदिको पूजा–प्रतिष्ठाको
उल्लेख पाइन्छ। चाँगुनारायण,
इचंगुनारायण, बुढानिलकण्ठ जस्ता मन्दिरहरू केवल स्थापत्य दृष्टिले
मात्र होइन, भागवत–वैष्णव
परम्पराको जीवित साक्ष्य हुन्।
यी मन्दिरहरूमा
प्रतिष्ठित मूर्तिहरू र तिनसँग जोडिएका आख्यानहरू भागवत पुराणमा वर्णित नारायण–कृष्ण तत्त्वसँग प्रत्यक्ष सम्बन्ध राख्छन्। यसरी
नेपालमा भागवत धर्म कुनै आयातित धार नभई,
स्थानीय धार्मिक
चेतनासँगै विकसित भएको परम्परा हो भन्ने स्पष्ट हुन्छ।
ऐतिहासिक
साक्ष्य: लिच्छविकालदेखिको जरो
नेपालमा भागवत
धर्मको उदय लिच्छवि राजाहरूको विष्णुप्रतिको अगाध श्रद्धाबाट भएको देखिन्छ।
दृष्टान्त:
चाँगुनारायणको स्तम्भ अभिलेख (वि.सं. ५२१) मा मानदेवले आफ्नी आमा राज्यवतीको
पुण्यका लागि विष्णुको उपासना गरेको उल्लेख छ। यो नेपालको लिखित इतिहासमा भागवत–वैष्णव परम्पराको जेठो प्रमाण हो। [१]
सांस्कृतिक
प्रतीक: बुढानिलकण्ठको 'शेषशायी विष्णु' को मूर्तिले भागवतमा वर्णित सृष्टिको आदि अवस्था
(कारणोदशायी विष्णु) को दार्शनिक प्रतिनिधित्व गर्छ।
सामाजिक
सहअस्तित्व: 'हरि–हर' को अद्वैत भाव
दार्शनिक आधार:
नेपालमा 'शिवस्य हृदयं विष्णु: विष्णोश्च हृदयं
शिव:' (शिवको हृदयमा विष्णु र विष्णुको हृदयमा
शिव) भन्ने भाव प्रबल छ।
उदाहरण:
पशुपतिनाथ क्षेत्रमा रहेको 'चतुर्व्यूह विष्णु' र कृष्णका मन्दिरहरूले भागवत धर्मलाई कट्टरताबाट
मुक्त गरी 'समन्वयवादी दर्शन' का रूपमा स्थापित गरेका छन्।
भागवत धर्मको
केन्द्रीय सन्देश—भक्ति जाति, वर्ण वा आश्रममा सीमित हुँदैन—नेपाली समाजको मनोविज्ञानसँग पूर्णतः मेल खान्छ।
श्रीमद्भागवतमा प्रह्लाद,
गजेन्द्र, विदुर,
गोपीहरू जस्ता पात्रहरू
सामाजिक हैसियतभन्दा भक्ति प्रधान छन्। नेपालको विशिष्टता के हो भने यहाँ भागवत
(वैष्णव) र शैव परम्परा बीच कहिल्यै द्वन्द्व भएन।
“किरातहूणान्ध्रपुलिन्दपुल्कशा
आभीरशुम्भा
यवनाः खसादयः ।
येऽन्ये च पापा
यदुपाश्रयाश्रयाः
शुध्यन्ति तस्मै
प्रभविष्णवे नमः ॥”²
यसै कारण भागवत
कथा नेपालमा गाउँ–गाउँसम्म श्रवण–कीर्तनका माध्यमबाट फैलियो र लोकसंस्कृतिको अङ्ग
बन्यो।
गवत धर्मको
प्रचार र विकासमा नेपाली विद्वानहरूको भूमिका
नेपालमा भागवत
धर्मको सैद्धान्तिक र व्यवहारिक प्रचारमा नेपाली विद्वानहरूको योगदान उल्लेखनीय छ।
संस्कृत पाण्डित्य परम्परामा दीक्षित विद्वानहरूले भागवत पुराणको पाठ, प्रवचन र टीकात्मक व्याख्या मार्फत यस धर्मलाई जीवन्त
बनाए।
विशेषतः काशी–वनारस–काठमाडौं त्रिकोणमा अध्ययन गरेका नेपाली
ब्राह्मण विद्वानहरूले भागवतलाई केवल धार्मिक ग्रन्थ नभई वेदान्तीय दर्शनको
लोकप्रिय माध्यम का रूपमा प्रस्तुत गरे। उनीहरूको प्रवचन शैली कथात्मक, उदाहरणप्रधान र लोकानुभवसँग जोडिएको हुँदा भागवत धर्म
जनसामान्यमा गहिरो रूपमा फैलियो।
विद्वच्छिरोमणि
कुलचन्द्र गौतम
उहाँले भागवत
लगायत धेरै संस्कृत ग्रन्थहरूको नेपालीमा अनुवाद र व्याख्या गर्नुभयो। नेपाली
समाजमा शास्त्रीय मर्यादा र भागवत दर्शनलाई बुझाउन उहाँको ठुलो योगदान छ।
मुल श्लोक र
हिन्दी टिकामा भर पर्नुपरेको अवस्थामा बद्रिनाथ भट्टराईले भागवत पुराणलाई दुई
खण्डमा नेपालीमा भावानुवाद अनुवाद गरि भागवतको प्रचारमा ठुलो योगदान गर्नु भएको छ
।
स्व. पण्डित
नारायणप्रसाद पोखरेल (वाचन प्रवीण)
आधुनिक समयमा
नेपालका कुना–कुनासम्म 'श्रीमद्भागवत
सप्ताह' का माध्यमबाट भागवत धर्मलाई सामाजिक
जागरणको माध्यम बनाउने श्रेय उहाँलाई जान्छ। उहाँले भागवतलाई केवल आध्यात्मिक
ग्रन्थ मात्र नभई सामाजिक सेवाको (अस्पताल,
विद्यालय निर्माण)
माध्यम बनाउनुभयो।
स्वर्गीय खेमराज
केशवशरण
उहाँले भक्ति
मार्ग र भागवत दर्शनलाई सरल नेपाली भाषामा कविता र प्रवचनका माध्यमबाट जनमानससम्म
पुर्याकउनुभयो। उहाँका लेख र भजनहरूले भागवत धर्मको दार्शनिक पक्षलाई सरलीकृत
गरेका छन्।
स्व. स्वामी
रामानन्द गिरी: आधुनिक समयमा भागवत दर्शनलाई प्राज्ञिक र आध्यात्मिक दुवै ढङ्गले
उचाइमा पुर्याेउने श्रेय उहाँलाई जान्छ। २०६५ सालमा महेश सन्यास आश्रममा आयोजित
भागवत महायज्ञको पावन अवसरमा प्रथम खण्डको संस्करण पुरा गरिएको श्रीमद्भागवत
रामानन्दि टिका अहिले आठ भाग खण्डमा पुरा भएर प्रत्तेक नेपालीको हातमा यो भागवत
पुगेकोछ । सहजै रूपमा बुझ्न सकिने गरि नेपाली भाषामा अनुवाद र विस्तृत व्याख्या' गरिएको यो रामानन्दिय टिका नेपाली वाङ्मयको एउटा
अद्वितीय निधि हो।
स्वामी
कमलनयनाचार्य र भागवत धर्मको विश्वव्यापी जागरण
नेपालमा भागवत
धर्मको प्रचार-प्रसार र संस्थागत सुदृढीकरणमा मुक्तिनाथ पीठाधीश्वर अनन्त श्री
विभूषित स्वामी कमलनयनाचार्य ज्यूको योगदान स्वर्ण अक्षरले लेख्न योग्य छ। उहाँले
भागवत धर्मलाई मन्दिर र गुम्बजबाट बाहिर निकालेर जनस्तरमा एक वृहत् अभियानको रूपमा
स्थापित गर्नुभयो।
अभूतपूर्व
कीर्तिमान (भागवत महायज्ञ): उहाँकै सङ्कल्प र नेतृत्वमा नेपालमा एकै तिथि र
मुहूर्तमा १२५ स्थानमा र छिमेकी राष्ट्र भारतका विभिन्न भागहरूमा एकैसाथ ३२५
स्थानमा श्रीमद्भागवत सप्ताह महायज्ञ आयोजना गरियो। यो घटना आध्यात्मिक इतिहासमा
एउटा विरलै हुने 'महासङ्कल्प' थियो,
जसले भागवतको ध्वजालाई
हिमालयदेखि हिन्द महासागरसम्म एकैपटक फहरायो।
जिउँदो
शालिग्राम' को उपमा: मुक्तिनाथ र गण्डकी क्षेत्र
(शालिग्राम क्षेत्र) को संरक्षण,
प्रचार र भागवत
धर्मप्रतिको उहाँको अविचलित निष्ठालाई देखेर सम्पूर्ण भारतीय तथा नेपाली
भक्तजनहरूले उहाँलाई श्रद्धापूर्वक "जिउँदो शालिग्राम" को उपमा दिएका
छन्। जसरी शालिग्राममा साक्षात् नारायणको निवास मानिन्छ, त्यसरी नै उहाँको व्यक्तित्वमा भागवत धर्मको जीवन्त
स्वरूप देखिने जनविश्वास रहेको छ।
दार्शनिक तथा
सामाजिक प्रभाव: उहाँको यो कार्यले भागवत धर्मलाई भौगोलिक सीमाभन्दा माथि उठायो।
यसले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै 'शालिग्राम'
र 'भागवत'
को अभिन्न सम्बन्धलाई
विश्वस्तरमा स्थापित गर्योक। उहाँको नेतृत्वमा भएका यी महायज्ञहरूले समाजमा शान्ति, सद्भाव र आध्यात्मिक चेतनाको नयाँ लहर पैदा गरे।
आधुनिक संस्था:
विभिन्न मठ, मन्दिर, गुरुकुल
र आश्रमहरूले नेपालमा भागवत धर्मको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निभाउदै
आएकाछन् । । वैष्णव मठहरूमा भागवत सप्ताह,
एकादशी व्रत, कृष्णाष्टमी,
रामनवमी आदि पर्वहरूको
आयोजनाले धार्मिक चेतनालाई निरन्तरता दियो। आधुनिक कालमा वैष्णव सम्प्रदायका मठहरू, महेश
सन्यास आश्रम लगायत नेपालका आध्यात्मिक प्रतिष्ठानहरूले भागवत कथा, प्रवचन,
तथा ग्रन्थ प्रकाशन
मार्फत यस परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने कार्य गरेका छन्। यसले भागवत
धर्मलाई केवल परम्परागत आस्थामा सीमित नराखी समकालीन समाजसँग संवाद गर्ने अवस्थामा
ल्याएको छ।
फुटनोट
१. स्कन्द पुराण, हिमवत्खण्ड: "गण्डक्याश्चोत्तरे तीरे शालग्रामस्थलं
शुभम् । तत्र साक्षान्महाविष्णुः शिलारूपेण तिष्ठति ।।" यस श्लोकले गण्डकी
तटमा विष्णुको शिला रूपमा उपस्थितिलाई पुष्टि गर्छ।
२. धनवज्र
वज्राचार्य, 'लिच्छविकालका अभिलेख': चाँगुनारायणको अभिलेखमा विष्णुको स्तुति गर्दै 'ॐ नमो भगवते वासुदेवाय' को
भाव झल्किने उल्लेख छ,
जसले भागवत धर्मको
प्राचीनता देखाउँछ।
३. श्रीमद्भागवत
२.४.१८: "किरातहूणान्ध्रपुलिन्दपुल्कशा... शुध्यन्ति तस्मै प्रभविष्णवे नमः
।" यस श्लोकले भगवान्को शरणमा जोसुकै आए पनि शुद्ध हुने कुरा व्यक्त गर्छ, जसले नेपाली समाजको समावेशी बनोटलाई समेट्छ।
४. स्वामी
रामानन्द गिरी, 'श्रीमद्भागवत रामानन्दी टीका' (भूमिका): यसमा भागवतलाई उपनिषद्हरूको अन्तिम निचोड र
अद्वैत दर्शनको प्रयोगात्मक रूपका रूपमा व्याख्या गरिएको छ।
अस्तु
मणिराम अर्याल
कागेश्वरी
मनोहरा न.पा. १
No comments:
Post a Comment