श्रीमद्भागवत महापुराण
द्वितीय स्कंधः - द्वितीयोऽध्यायः
योगिनां योगधारणयोत्क्रमण प्रकारस्य वर्णनं सद्योमुक्तिक्रममुक्त्योर्निरूपणं च –
श्रीशुक उवाच –
एवं पुरा धारणयाऽऽत्मयोनि
र्नष्टां स्मृतिं प्रत्यवरुध्य तुष्टात् ।
तथा ससर्जेदममोघदृष्टि
र्यथाप्ययात् प्राक् व्यवसायबुद्धिः ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजीले भन्नुभयो– सृष्टिको प्रारम्भमा ब्रह्माजीले यही धारणाद्वारा प्रसन्न हुनुभएका भगवान्बाट सृष्टि विषयको स्मृति प्राप्त गर्नुभएको थियो, जुन पहिले प्रलयकालमा लुप्त भएको थियो। जसबाट ब्रह्माजीको दृष्टि अमोघ र बुद्धि निश्चयात्मिका हुन गयो। त्यसपछि उहाँले पहिलेको जस्तै गरी सृष्टिको रचना गर्न थाल्नुभयो ।। १ ।।
शाब्दस्य हि ब्रह्मण एष पन्था
यन्नामभिर्ध्यायति धीरपार्थैः ।
परिभ्रमन् तत्र न विन्दतेऽर्थान्
मायामये वासनया शयानः ॥ २ ॥
नेपाली भावानुवादः वेदको वर्णन शैली पनि यस प्रकार छ कि मानिसको बुद्धि स्वर्ग, नरक आदि निरर्थक नामको चक्करमा फस्दछ। जीव सुखको वासनाले गर्दा तिनकै चिन्तन गर्न लाग्दछ, तर त्यो मायामय संसारमा उसले कतै पनि वास्तविक सुख पाउँदैन ।। २ ।।
अतः कविर्नामसु यावदर्थः स्याद्
अप्रमत्तो व्यवसायबुद्धिः ।
सिद्धेऽन्यथार्थे न यतेत तत्र
परिश्रमं तत्र समीक्षमाणः ॥ ३ ॥
नेपाली भावानुवादः त्यसैले विद्वान् व्यक्तिहरूले विभिन्न नामरूप पदार्थबाट जति आवश्यक छ, त्यति मात्र प्रयोग गर्नुपर्दछ। आफ्नो बुद्धिलाई विषय–सुखबाट अनासक्त राख्नुपर्छ र एक क्षणका लागि पनि असावधान हुनु हुँदैन। यदि प्रारब्धले गर्दा विनापरिश्रम संसारका पदार्थ मिले भने पनि तिनको सङ्ग्रहमा व्यर्थ परिश्रम गर्नु हुँदैन ।। ३ ।।
सत्यां क्षितौ किं कशिपोः प्रयासै
र्बाहौ स्वसिद्धे ह्युपबर्हणैः किम् ।
सत्यञ्जलौ किं पुरुधान्नपात्र्या
दिग्वल्कलादौ सति किं दुकूलैः ॥ ४ ॥
नेपाली भावानुवादः सुत्नका लागि भूमि छँदै छ भने खाटका लागि किन प्रयास गर्ने? भगवान्को कृपाले आफ्नै हातहरू सिरानीका रूपमा प्राप्त छन् भने तकिया किन चाहियो? अञ्जुलीले नै काम चल्छ भने धेरै भाँडाहरू किन जम्मा गर्ने? वृक्षका बोक्रा वा दिशा नै वस्त्रका रूपमा उपलब्ध छन् भने रेशमी वस्त्रको के आवश्यकता छ र? ।। ४ ।।
चीराणि किं पथि न सन्ति दिशन्ति भिक्षां
नैवाङ्घ्रिपाः परभृतः सरितोऽप्यशुष्यन् ।
रुद्धा गुहाः किमजितोऽवति नोपसन्नान्
कस्माद् भजंति कवयो धनदुर्मदान्धान् ॥ ५ ॥
नेपाली भावानुवादः लगाउनका लागि बाटोमा पुराना टालाटुलीहरू पाइँदैनन् र? के भोक लागेका बेला परोपकारी वृक्षहरूले फलफूलरूपी भिक्षा दिँदैनन् र? के तिर्खा मेटाउनका लागि नदीहरू सुकिसकेका छन् र? के बस्नका लागि पहाडका गुफाहरू बन्द भएका छन् र? सबैभन्दा ठूलो कुरा, के भगवान् अजितले आफ्ना शरणागतको रक्षा गर्नुहुन्न र? यस्तो परिस्थितिमा पनि बुद्धिमान् मानिसहरू धनको घमण्डले अन्धा भएकाहरूको चाप्लुसी किन गर्दछन्? ।। ५ ।।
एवं स्वचित्ते स्वत एव सिद्ध
आत्मा प्रियोऽर्थो भगवान अनंतः ।
तं निर्वृतो नियतार्थो भजेत
संसारहेतूपरमश्च यत्र ॥ ६ ॥
नेपाली भावानुवादः यसरी विरक्त भएर आफ्नो हृदयमा विराजमान स्वत:सिद्ध आत्मस्वरूप, परम प्रिय र परम सत्य अनन्त भगवान्को प्रेम र आनन्दका साथ दृढ निश्चय भई भजन गर्नुपर्दछ। उहाँकै भजनबाट जन्म–मृत्युरूप संसारको कारण (अज्ञान) नष्ट भएर जान्छ ।। ६ ।।
कस्तां त्वनादृत्य परानुचिन्तां
ऋते पशून् असतीं नाम कुर्यात् ।
पश्यञ्जनं पतितं वैतरण्यां
स्वकर्मजान् परितापान् जुषाणम् ॥ ७ ॥
नेपाली भावानुवादः पशुहरूको त कुरा बेग्लै हो, तर कुन समझदार मानिस होला जो संसाररूपी वैतरणी नदीमा मानिसहरू आफ्नै कर्मजन्य दुःख भोगिरहेको देख्दादेख्दै पनि भगवान्को मङ्गलमय चिन्तन नगरी असत् विषयमा चित्त लगाउँछ? ।। ७ ।।
प्रादेशमात्रं पुरुषं वसन्तम् ।
चतुर्भुजं कञ्जरथाङ्गशङ्ख
गदाधरं धारणया स्मरन्ति ॥ ८ ॥
नेपाली भावानुवादः केही साधकहरू आफ्नो शरीरभित्रको हृदयाकाशमा विराजमान भगवान्को प्रादेश (अगुँठा र चोरी औँलाको दुरी) मात्र स्वरूपको धारणा गरेर ध्यान गर्दछन्, जसका चार हातमा शङ्ख, चक्र, गदा र पद्म सुशोभित छन् ।। ८ ।।
प्रसन्नवक्त्रं नलिनायतेक्षणं
कदंबकिञ्जल्कपिशङ्गवाससम् ।
लसन्महारत्नहिरण्मयाङ्गदं
स्फुरन् महारत्नकिरीटकुण्डलम् ॥ ९ ॥
नेपाली भावानुवादः उहाँको मुखमण्डल प्रसन्न छ, नेत्रहरू कमल झैँ विशाल र कोमल छन्। कदम्बको फूलको केशर जस्तै पहेँलो वस्त्र धारण गर्नुभएको छ। दुवै बाहुमा बहुमूल्य रत्नजडित सुनको केयूर (बाजुपट्टि) शोभायमान छ। शिरमा अति सुन्दर मुकुट र कानमा रत्नमय झलमल गरिरहेको कुण्डल छ ।। ९ ।।
उन्निद्रहृत्पङ्कजकर्णिकालये
योगेश्वरास्थापितपादपल्लवम् ।
श्रीलक्षणं कौस्तुभरत्नकन्धरं
मम्लानलक्ष्म्या वनमालयाचितम् ॥ १० ॥
नेपाली भावानुवादः योगेश्वरहरूले भगवान्को चरणकमललाई आफ्नो प्रफुल्ल हृदयकमलको बीचमा स्थापित गरेका छन्। उहाँको छातीमा श्रीवत्सको चिह्न छ, घाँटीमा कौस्तुभ मणि झुण्डिएको छ र कहिल्यै नओइलाउने वनमालाले उहाँ सुशोभित हुनुहुन्छ ।। १० ।।
विभूषितं मेखलयाऽङ्गुलीयकैः
महाधनैर्नूपुरकङ्कणादिभिः ।
स्निग्धामलाकुञ्चितनीलकुन्तलैः
विरोचमानाननहासपेशलम् ॥ ११ ॥
नेपाली भावानुवादः उहाँको कम्मरमा मेखला (कर्धनी), औँलाहरूमा बहुमूल्य औँठी, गोडामा नूपुर र हातमा कङ्कण आदि गहनाहरू छन्। उहाँका कपालका लट्टा नीला र घुम्रिएका छन् तथा उहाँको मुखमण्डल मन्द मुस्कानले अत्यन्त मनोहर देखिन्छ ।। ११ ।।
अदीनलीलाहसितेक्षणोल्लसद्
भ्रूभङ्गसंसूचितभूर्यनुग्रहम् ।
ईक्षेत चिन्तामयमेनमीश्वरं
यावन्मनो धारणयाऽवतिष्ठते ॥ १२ ॥
नेपाली भावानुवादः उहाँको मधुर मुस्कान र कृपादृष्टिले युक्त आँखीभौंको सङ्केतले भक्तजनप्रति अनन्त अनुग्रहको वर्षा भइरहेको आभास हुन्छ। जबसम्म मन स्थिर हुँदैन, तबसम्म साधकले यस्तो चिन्तनमय परमेश्वरको ध्यान गरिरहनुपर्छ ।। १२ ।।
एकैकशोऽङ्गानि धियानुभावयेत्
पादादि यावद् हसितं गदाभृतः ।
जितं जितं स्थानमपोह्य धारयेत्
परं परं शुद्ध्यति धीर्यथा यथा ॥ १३ ॥
नेपाली भावानुवादः भगवान्को चरणकमलदेखि मुस्कुराइरहेको मुखारविन्दसम्मका प्रत्येक अङ्गलाई बुद्धिद्वारा पालैपालो ध्यान गर्नुपर्दछ। जति जति बुद्धि शुद्ध हुँदै जान्छ, त्यति नै मात्रामा चित्त स्थिर हुन्छ। जब एउटा अङ्गको ध्यान पूर्ण रूपमा स्थिर हुन्छ, तब अर्को अङ्गको ध्यान गर्नुपर्दछ ।। १३ ।।
यावन्न जायेत परावरेऽस्मिन्
विश्वेश्वरे द्रष्टरि भक्तियोगः ।
तावत् स्थवीयः पुरुषस्य रूपं
क्रियावसाने प्रयतः स्मरेत ॥ १४ ॥
नेपाली भावानुवादः ती विश्वेश्वर भगवान् दृश्य होइन, द्रष्टा हुनुहुन्छ। जबसम्म उहाँमा अनन्य प्रेममय भक्तियोग प्राप्त हुँदैन, तबसम्म साधकले आफ्नो नित्य कर्मपछि एकाग्र मनले भगवान्को त्यस स्थूल (विराट) रूपको ध्यान गरिरहनुपर्छ ।। १४ ।।
स्थिरं सुखं चासनमास्थितो यतिः य
दा जिहासुरिममङ्ग लोकम् ।
काले च देशे च मनो न सज्जयेत्
प्राणान् नियच्छेन्मनसा जितासुः ॥ १५ ॥
नेपाली भावानुवादः हे राजन्! जब योगी यस शरीरलाई त्याग्न चाहन्छ, तब उसले देश र कालको चिन्तामा मन लगाउनु हुँदैन। सुखपूर्वक स्थिर आसनमा बसेर प्राणलाई जितेर मनद्वारा इन्द्रियहरूलाई संयम गर्नुपर्दछ ।। १५ ।।
मनः स्वबुद्ध्याऽमलया नियम्य
क्षेत्रज्ञ एतां निनयेत् तमात्मनि ।
आत्मानमात्मन्यवरुध्य धीरो
लब्धोपशान्तिर्विरमेत कृत्यात् ॥ १६ ॥
नेपाली भावानुवादः त्यसपछि आफ्नो निर्मल बुद्धिले मनलाई नियन्त्रण गरी मनलाई क्षेत्रज्ञमा र क्षेत्रज्ञलाई अन्तरात्मामा लीन गराउनुपर्दछ। अन्तरात्मालाई परमात्मामा विलीन गराएर धीर पुरुषले परम शान्ति प्राप्त गर्नुपर्दछ, त्यसपछि उसको कुनै कर्तव्य बाँकी रहँदैन ।। १६ ।।
न यत्र कालोऽनिमिषां परः प्रभुः
कुतो नु देवा जगतां य ईशिरे ।
न यत्र सत्त्वं न रजस्तमश्च
न वै विकारो न महान् प्रधानम् ॥ १७ ॥
नेपाली भावानुवादः त्यस अवस्थामा न सत्त्वगुण हुन्छ, न रजोगुण र तमोगुण नै। न त्यहाँ अहङ्कार, महत्तत्त्व र प्रकृतिको अस्तित्व रहन्छ। जहाँ देवताहरूको पनि नियामक मानिने कालको प्रभुत्व चल्दैन भने अरू देवता र प्राणीको त के कुरा भयो र! ।। १७ ।।
परं पदं वैष्णवमामनन्तितद्
यन्नेति नेतीत्यतदुत्सिसृक्षवः ।
विसृज्य दौरात्म्यमनन्यसौहृदा
हृदोपगुह्यार्हपदं पदे पदे ॥ १८ ॥
नेपाली भावानुवादः योगीहरू 'यो होइन, यो होइन' भन्दै अनात्म पदार्थको त्याग गर्दछन् र देहाध्यास त्यागेर हृदयले भगवान्को परमपूज्य स्वरूपलाई अँगाल्दै अनन्य प्रेममा मग्न हुन्छन्। यही नै भगवान् विष्णुको परम पद हो, जसमा सबै शास्त्रको सहमति छ ।। १८ ।।
इत्थं मुनिस्तूपरमेद् व्यवस्थितो
विज्ञानदृग्वीर्य सुरन्धिताशयः ।
स्वपार्ष्णिनऽपीड्य गुदं ततोऽनिलं
स्थानेषु षट्सून्नमयेज्जितक्लमः ॥ १९ ॥
नेपाली भावानुवादः जसको चित्त वासनामुक्त भइसकेको छ, त्यस्ता ब्रह्मनिष्ठ योगीले शरीर त्याग गर्दा पहिले कुर्कुच्चाले गुदद्वारलाई थिच्नुपर्छ र विचलित नभई प्राणवायुलाई षट्चक्र भेदनको विधिले माथि लैजानुपर्छ ।। १९ ।।
नाभ्यां स्थितं हृद्यधिरोप्य तस्माद्
उदुदानगत्योरसि तं नयेन्मुनिः ।
ततोऽनुसन्धाय धिया मनस्वी
स्वतालुमूलं शनकैर्नयेत ॥ २० ॥
नेपाली भावानुवादः योगीले नाभिचक्र (मणिपुर) मा रहेको वायुलाई हृदयचक्र (अनाहत) मा र त्यहाँबाट उदान वायुद्वारा बिस्तारै कण्ठ हुँदै तालुमूल (विशुद्ध चक्र) मा पुर्याउनुपर्छ ।। २० ।।
तस्माद् भ्रुवोरन्तरमुन्नयेत
निरुद्धसप्तायतनोऽनपेक्षः ।
स्थित्वा मुहूर्तार्धमकुण्ठदृष्टिः
निर्भिद्य मूर्धन् विसृजेत् परं गतः ॥ २१ ॥
नेपाली भावानुवादः त्यसपछि मुख, नाक, कान र आँखाका सात छिद्रहरू थुनेर तालुमूलमा रहेको वायुलाई आँखीभौंको बीचमा (आज्ञाचक्र) लैजानुपर्छ। यदि कतै जाने इच्छा छैन भने आधा घडीसम्म वायुलाई त्यहीँ स्थिर राखी ब्रह्मरन्ध्र फोरेर परमात्मामा लीन हुनुपर्छ ।। २१ ।।
यदि प्रयास्यन् नृप पारमेष्ठ्यं
वैहायसानामुत यद् विहारम् ।
अष्टाधिपत्यं गुणसन्निवाये
सहैव गच्छेन्मनसेन्द्रियैश्च ॥ २२ ॥
नेपाली भावानुवादः हे परीक्षित! यदि योगीको इच्छा ब्रह्मलोक जाने वा अष्टसिद्धि प्राप्त गरी आकाशचारी सिद्धहरूसँग विहार गर्ने छ भने, उसले मन र इन्द्रियलाई साथै लिएर शरीरबाट निस्कनुपर्छ ।। २२ ।।
योगेश्वराणां गतिमाहुरन्तः
बहिस्त्रिलोक्याः पवनान्तरात्मनाम् ।
न कर्मभिस्तां गतिमाप्नुवन्ति
विद्यातपोयोगसमाधिभाजाम् ॥ २३ ॥
नेपाली भावानुवादः उपासना, तपस्या, योग र ज्ञानले पूर्ण योगीहरूलाई त्रिलोकभित्र वा बाहिर जहाँ पनि स्वेच्छाले विचरण गर्ने अधिकार हुन्छ। सकाम कर्म गर्नेहरूले यस्तो निर्बाध गति प्राप्त गर्न सक्दैनन् ।। २३ ।।
वैश्वानरं याति विहायसा गतः
सुषुम्नया ब्रह्मपथेन शोचिषा ।
विधूतकल्कोऽथ हरेरुदस्तात्
प्रयाति चक्रं नृप शैशुमारम् ॥ २४ ॥
नेपाली भावानुवादः हे राजन्! योगीहरू ज्योतिर्मय सुषुम्ना मार्गबाट आकाश हुँदै पहिले अग्निलोकमा पुग्छन्। त्यहाँ उनीहरूको बाँकी विकार नष्ट हुन्छ र त्यसपछि उनीहरू भगवान् श्रीहरिको 'शिशुमार' नामक ज्योतिर्मय चक्रमा पुग्छन् ।। २४ ।।
तद्विश्वनाभिं त्वतिवर्त्य विष्णोः
अणीयसा विरजेनात्मनैकः ।
नमस्कृतं ब्रह्मविदामुपैति
कल्पायुषो यद् विबुधा रमन्ते ॥ २५ ॥
नेपाली भावानुवादः विष्णुको यो शिशुमार चक्र ब्रह्माण्डको नाभि हो। यसलाई पनि नाघेर योगी निर्मल सूक्ष्म शरीरले महर्लोकमा पुग्छ, जहाँ कल्पसम्म बाँच्ने देवताहरू निवास गर्छन् र जसलाई ब्रह्मवेत्ताहरू वन्दना गर्दछन् ।। २५ ।।
अथो अनन्तस्य मुखानलेन
दन्दह्यमानं स निरीक्ष्य विश्वम् ।
निर्याति सिद्धेश्वरयुष्टधिष्ण्यं
यद् द्वैपरार्ध्यं तदु पारमेष्ठ्यम् ॥ २६ ॥
नेपाली भावानुवादः जब प्रलयको समयमा शेषनागको मुखको अग्निले तलका लोकहरू जलिरहेको देखिन्छ, तब ती योगीहरू ब्रह्मलोक (सत्यलोक) तिर प्रस्थान गर्छन्, जसको आयु दुई परार्ध हुन्छ ।। २६ ।।
न यत्र शोको न जरा न मृत्युः
न आर्तिः न चोद्वेग ऋते कुतश्चित् । य
च्चित्ततोऽदः कृपयानिदं विदां
दुरन्तदुःखप्रभवानुदर्शनात् ॥ २७ ॥
नेपाली भावानुवादः त्यहाँ न शोक छ, न बुढ्यौली, न मृत्यु नै। त्यहाँ कुनै प्रकारको दुःख वा उद्वेग छैन। त्यहाँको एउटै मात्र दुःख भनेको जन्म–मरणको चक्रमा फसेका अज्ञानी जीवहरूको कष्ट देखेर उत्पन्न हुने करुणा मात्र हो ।। २७ ।।
ततो विशेषं प्रतिपद्य निर्भयः
तेनात्मनापोऽनलमूर्तिरत्वरन् ।
ज्योतिर्मयो वायुमुपेत्य काले
वाय्वात्मना खं बृहदात्मलिङ्गम् ॥ २८ ॥
नेपाली भावानुवादः सत्यलोक पुगेपछि योगी निर्भय भई आफ्नो सूक्ष्म शरीरलाई क्रमशः पृथ्वी, जल, अग्नि र वायुको आवरण पार गराउँदै आकाशरूपी आवरणमा पुग्छ, जहाँ ब्रह्मको अनन्तताको बोध हुन्छ ।। २८ ।।
घ्राणेन गन्धं रसनेन वै रसं
रूपं च दृष्ट्या श्वसनं त्वचैव ।
श्रोत्रेण चोपेत्य नभोगुणत्वं
प्राणेन चाकूतिमुपैति योगी ॥ २९ ॥
नेपाली भावानुवादः यस प्रकार स्थूल आवरण पार गरेपछि योगीका इन्द्रियहरू पनि तिनका सूक्ष्म अधिष्ठानमा लीन हुन्छन्। घ्राणेन्द्रिय गन्धमा, रसना रसमा र अन्य इन्द्रियहरू पनि आ–आफ्नो तन्मात्रामा विलीन हुन्छन् ।। २९ ।।
स भूतसूक्ष्मेन्द्रियसन्निकर्षं
मनोमयं देवमयं विकार्यम् ।
संसाद्य गत्या सह तेन याति
विज्ञानतत्त्वं गुणसंनिरोधम् ॥ ३० ॥
नेपाली भावानुवादः यसरी योगीले पञ्चमहाभूत, इन्द्रिय र मनका अधिष्ठातृ देवताहरूलाई क्रमशः तामस, राजस र सात्त्विक अहङ्कारमा लीन गराई महत्तत्त्वमा प्रवेश गर्छन् र अन्त्यमा प्रकृतिमा पुग्छन् ।। ३० ।।
तेनात्मनात्मानमुपैति शान्तं
आनंदमानंदमयोऽवसाने ।
एतां गतिं भागवतीं गतो यः
स वै पुनर्नेह विषज्जतेऽङ्ग ॥ ३१ ॥
नेपाली भावानुवादः हे परीक्षित! अन्त्यमा योगी स्वयं आनन्दस्वरूप भएर शान्त परमात्मालाई प्राप्त गर्दछ। जसले यस्तो भागवत गति प्राप्त गर्छ, उसले फेरि यस संसारमा फर्केर आउनुपर्दैन ।। ३१ ।।
एते सृती ते नृप वेदगीते
त्वयाभिपृष्टे च सनातने च ।
ये वै पुरा ब्रह्मण आह तुष्ट
आराधितो भगवान् वासुदेवः ॥ ३२ ॥
नेपाली भावानुवादः हे राजन्! तपाईंको प्रश्न अनुसार मैले यी दुई सनातन मार्ग– सद्योमुक्ति र क्रममुक्तिको वर्णन गरेँ। पहिले ब्रह्माजीले भगवान् वासुदेवको आराधना गर्दा भगवान्ले उहाँलाई यही उपदेश दिनुभएको थियो ।। ३२ ।।
न ह्यतोऽन्यः शिवः पन्था विशतः संसृताविह ।
वासुदेवे भगवति भक्तियोगो यतो भवेत् ॥ ३३ ॥
नेपाली भावानुवादः संसारको चक्रमा फसेका मानिसका लागि भगवान् वासुदेव श्रीकृष्णप्रति अनन्य प्रेममयी भक्ति गर्नुभन्दा अर्को कुनै कल्याणकारी मार्ग छैन ।। ३३ ।।
भगवान्ब्रह्म कार्त्स्न्येन त्रिरन् वीक्ष्य मनीषया ।
तदध्यवस्यत् कूटस्थो रतिरात्मन् यतो भवेत् ॥ ३४ ॥
नेपाली भावानुवादः ब्रह्माजीले आफ्नो बुद्धिलाई प्रयोग गरी वेदलाई तीन पटक राम्ररी मन्थन गर्दा यही निष्कर्ष निकाल्नुभयो कि जसबाट सर्वात्मा श्रीकृष्णप्रति अनन्य अनुराग उत्पन्न हुन्छ, त्यही नै सर्वश्रेष्ठ धर्म हो ।। ३४ ।।
भगवान् सर्वभूतेषु लक्षितः स्वात्मना हरिः ।
दृश्यैर्बुद्ध्यादिभिर्द्रष्टा लक्षणैः अनुमापकैः ॥ ३५ ॥
नेपाली भावानुवादः सम्पूर्ण प्राणीहरूमा भगवान् श्रीकृष्ण आत्मस्वरूपले विराजमान हुनुहुन्छ। बुद्धि आदि दृश्य पदार्थका माध्यमबाट उहाँको अस्तित्वको अनुमान गर्न सकिन्छ, किनकि उहाँ सबैका साक्षी द्रष्टा हुनुहुन्छ ।। ३५ ।।
तस्मात् सर्वात्मना राजन् हरिः सर्वत्र सर्वदा ।
श्रोतव्यः कीर्तितव्यश्च स्मर्तव्यो भगवान् नृणाम् ॥ ३६ ॥
नेपाली भावानुवादः हे परीक्षित! त्यसैले मानिसले सधैँ र सबै अवस्थामा आफ्नो सम्पूर्ण शक्तिले भगवान् श्रीहरिको नै श्रवण, कीर्तन र स्मरण गर्नुपर्दछ ।। ३६ ।।
पिबन्ति ये भगवत आत्मनः सतां
कथामृतं श्रवणपुटेषु सम्भृतम् ।
पुनन्ति ते विषयविदूषिताशयं
व्रजन्ति तच्चरणसरोरुहान्तिकम् ॥ ३७ ॥
नेपाली भावानुवादः हे राजन्! सन्तहरूको मुखबाट निस्किएको भगवत्कथारूपी अमृतलाई जसले कान भरेर पान गर्छन्, उनीहरूको हृदयको विषय–वासना नष्ट हुन्छ र उनीहरू शुद्ध भई श्रीकृष्णको चरणकमलको सामीप्य प्राप्त गर्छन् ।। ३७ ।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां द्वितीयस्कन्धे द्वितीयोऽध्यायः ।। २ ।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको द्वितीय स्कन्धको दोस्रो अध्यायले मुक्ति र भगवान्को ध्यानका दुई प्रमुख मार्गहरूको वर्णन गर्दछ। शुकदेवजीले सुरुमा ब्रह्माजीको उदाहरण दिँदै भन्नुहुन्छ कि भगवान्को धारणाबाटै ब्रह्माजीले आफ्नो हराएको स्मृति पुनः प्राप्त गर्नुभएको थियो। यो संसार वेदको वर्णन शैलीका कारण अनेक नाम र रूपको भ्रममा फसेको छ। मानिसहरू स्वर्ग जस्ता निरर्थक सुखको पछि लाग्छन्, तर त्यहाँ वास्तविक सुख छैन। त्यसैले बुद्धिमान् मानिसले जीवन निर्वाहका लागि आवश्यक न्यूनतम वस्तुमा मात्र सन्तोष गर्नुपर्छ। सुत्नलाई जमिन, सिरानीलाई आफ्नै हात र खानलाई अञ्जुली छँदै छ भने विलासी सामानको पछि किन दौडने? परोपकारी वृक्ष र नदीहरूले जीवनका आधारभूत आवश्यकता पूरा गर्छन् भने अहंकारी धनीहरूको चाप्लुसी गर्नु व्यर्थ छ। हृदयमा विराजमान परमात्मा नै सबैभन्दा प्रिय र सत्य हुनुहुन्छ, त्यसैले उहाँकै भजन गर्नुपर्छ। जसले भगवान्को चिन्तन छोडेर असत् विषयमा मन लगाउँछ, ऊ पशुसमान कष्ट भोग्न बाध्य हुन्छ। शुकदेवजीले भगवान्को चतुर्भुज स्वरूपको सुन्दर वर्णन गर्दै हृदयमा उहाँको ध्यान गर्ने विधि बताउनुभएको छ। भगवान्का अङ्ग–प्रत्यङ्ग, उहाँको वनमाला, कौस्तुभ मणि र मन्द मुस्कानको ध्यान गर्नाले चित्त शुद्ध हुन्छ। ध्यानको क्रममा चरणकमलदेखि मुखारविन्दसम्म पालैपालो ध्यान गर्दै एकाग्र हुनुपर्छ। साधकले जबसम्म पूर्ण भक्तियोग प्राप्त गर्दैन, तबसम्म भगवान्को विराट वा सूक्ष्म स्वरूपको अभ्यास गरिरहनुपर्छ। देह त्याग गर्ने समयमा योगीले कुनै पनि देश वा कालको मोह राख्नु हुँदैन। प्राणलाई वशमा राखेर बुद्धिद्वारा मनलाई स्थिर गरी परमात्मामा लीन गराउनुपर्छ। यस अध्यायमा 'सद्योमुक्ति' र 'क्रममुक्ति' गरी दुई प्रकारको मुक्तिको चर्चा गरिएको छ। सद्योमुक्तिमा योगीले तुरुन्तै ब्रह्मरन्ध्र फोरेर परमात्मामा लय प्राप्त गर्छ। क्रममुक्तिमा योगीले आफ्नो सूक्ष्म शरीरका साथ विभिन्न उच्च लोकहरू जस्तै महर्लोक, जनलोक र सत्यलोक हुँदै ब्रह्मलोक पुग्छ। सत्यलोकमा पुगेका योगीहरूले संसारको दुःख देखेर करुणा त गर्छन् तर उनीहरू स्वयम् शोक र मृत्युबाट मुक्त हुन्छन्। अन्त्यमा योगीहरू प्रकृति र अहङ्कारका आवरणहरू पार गर्दै परम आनन्दमय अवस्थामा पुग्छन्। शुकदेवजी भन्नुहुन्छ कि भगवान् वासुदेवको भक्ति नै संसारको सबैभन्दा ठूलो धर्म हो। ब्रह्माजीले सम्पूर्ण वेदको अध्ययन गरेर पनि यही निष्कर्ष निकाल्नुभएको थियो। भगवान् सबै प्राणीमा साक्षी र द्रष्टाका रूपमा रहनुभएको छ। त्यसैले हरसमय भगवान्को श्रवण, कीर्तन र स्मरण गर्नु नै मानिसको परम कर्तव्य हो। सन्तहरूको मुखबाट कथा श्रवण गर्नेहरूको हृदय शुद्ध हुन्छ र उनीहरूले भगवान्को सामीप्य पाउँछन्। यो अध्यायले साधकलाई संसारको असारता बुझाउँदै वास्तविक लक्ष्यतर्फ प्रेरित गर्दछ।
दार्शनिक पक्ष
यस अध्यायको दर्शन 'वैराग्य' र 'भक्तियोग' को जगमा उभिएको छ। यसले प्रतिपादन गर्छ कि संसारका नाम र रूपहरू केवल 'शब्द–ब्रह्म' को जाल मात्र हुन्, जसले जीवलाई भ्रमित पार्छन्। दार्शनिक रूपमा, यहाँ जीवात्मा, क्षेत्रज्ञ र परमात्माको अभेद सम्बन्धलाई स्पष्ट पारिएको छ। 'नेति–नेति' (यो होइन, यो होइन) को प्रक्रियाबाट अनात्म वस्तुको त्याग गरी परमात्माको प्राप्ति गर्नु नै उपनिषद्को सार हो। पञ्चमहाभूत र अहङ्कारका सात आवरणहरूको चर्चाले सृष्टिको सूक्ष्म संरचना र त्यसबाट मुक्त हुने वैज्ञानिक विधिको सङ्केत गर्छ। यो अध्यायले कर्मकाण्डभन्दा ज्ञानयुक्त भक्तिलाई उच्च स्थान दिएको छ। विराट स्वरूपको ध्यानलाई भक्तिको प्रारम्भिक सोपान र निराकारको साक्षात्कारलाई अन्तिम लक्ष्य मानिएको छ। काल र प्रकृतिको प्रभावभन्दा माथि रहेको 'वैकुण्ठ पद' वा 'परम पद' को प्राप्ति नै जीवनको सार्थकता हो। ईश्वर सबैका द्रष्टा हुनुहुन्छ भन्ने बोधले साधकलाई नैतिक र आध्यात्मिक रूपमा सजग बनाउँछ। अन्ततः, यसले यो सिद्ध गर्छ कि श्रीकृष्णको भक्ति नै एक मात्र सनातन र कल्याणकारी मार्ग हो।