श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – दशमोऽध्यायः
यत्तद्विगर्हितं कर्म येन वा देवर्षेस्तमः ॥ १ ॥
नेपाली भावानुवादः राजा परीक्षितले सोधे– हे प्रभु! नलकुबर र मणिग्रीवले कस्तो निन्दित काम गरेका थिए, जसका कारण शान्त स्वभाव भएका देवर्षि नारदजीले क्रोधित भएर उनीहरूलाई श्राप दिनुभयो? ।। १ ।।
शुक उवाच– रुद्रस्यानुचरौ भूत्वा सुदृप्तौ धनदात्मजौ ।
वारुणीं मदिरां पीत्वा मदाघूर्णितलोचनौ ।
स्त्रीजनैरनुगायद्भिश्चेरतुः पुष्पिते वने ॥ ३ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजीले भन्नुभयो– हे परीक्षित! नलकुबर र मणिग्रीव— यी दुवै धनका स्वामी कुबेरका पुत्र तथा भगवान् रुद्रका अनुचर थिए। उनीहरू अत्यन्त अहंकारी र घमन्डी थिए। एक दिन उनीहरू कैलास पर्वतको रमणीय उद्यानमा मन्दाकिनी गङ्गाको किनारमा वारुणी मदिरा पिएर मात्तिएका थिए। मदिराको नशाले आँखा घुमिरहेका ती दुवै सुन्दरी स्त्रीहरूसँग गीत गाउँदै फुलबारीमा विहार गरिरहेका थिए ।। २–३ ।।
अन्तः प्रविश्य गङ्गायामम्भोजवनराजिनि ।
चिक्रीडतुर्युवतिभिर्गजाविव करेणुभिः ॥ ४ ॥
नेपाली भावानुवादः कमलका फूलहरूले सुशोभित गङ्गाजीको जलभित्र पसेर ती नलकुबर र मणिग्रीव हात्तीले ढोइहरूसँग विहार गरेझैँ युवतीहरूसँग जलक्रीडा गर्न थाले ।। ४ ।।
यदृच्छया च देवर्षिर्भगवांस्तत्र कौरव ।
नेपाली भावानुवादः हे कुरुनन्दन परीक्षित! संयोगवश त्यहाँ भगवान् देवर्षि नारदजी आइपुग्नुभयो। उहाँले ती यक्षकुमारहरूलाई मदिराले उन्मत्त भई स्त्रीहरूसँग विहार गरिरहेको देख्नुभयो र उनीहरूको अवस्था बुझ्नुभयो ।। ५ ।।
तं दृष्ट्वो व्रीडिता देव्यो विवस्त्राः शापशङ्किताः ।
वासांसि पर्यधुः शीघ्रं विवस्त्रौ नैव गुह्यकौ ॥ ६ ॥
नेपाली भावानुवादः देवर्षि नारदलाई देखेर विवस्त्र भई जलक्रीडा गरिरहेका स्त्रीहरू लज्जित भए र श्रापको डरले झटपट आफ्ना वस्त्रहरू लगाए। तर नग्न अवस्थामा रहेका ती यक्षकुमार नलकुबर र मणिग्रीवले भने (मदका कारण) वस्त्र लगाउने चेष्टासम्म गरेनन् ।। ६ ।।
तौ दृष्ट्वाय मदिरामत्तौ श्रीमदान्धौ सुरात्मजौ ।
तयोरनुग्रहार्थाय शापं दास्यन्निदं जगौ ॥ ७ ॥
नेपाली भावानुवादः धनको मदले अन्धा भएका र मदिरा पिएर अर्धपागल बनेका ती कुबेरपुत्रहरूलाई देखेर देवर्षि नारदजीले उनीहरूमाथि अनुग्रह (कृपा) गर्नका लागि श्राप दिँदै यसो भन्नुभयो ।। ७ ।।
नारद उवाच–
न ह्यन्यो जुषतो जोष्यान् बुद्धिभ्रंशो रजोगुणः ।
श्रीमदादाभिजात्यादिर्यत्र स्त्री द्यूतमासवः ॥ ८ ॥
नेपाली भावानुवादः नारदजीले भन्नुभयो– इन्द्रियभोगमा फसेका मानिसहरूको बुद्धिलाई नष्ट गर्ने धन-सम्पत्तिको घमण्डजस्तो अर्को कुनै नशा छैन। धनको मदले जसरी विवेक हराउँछ, त्यसरी त पुण्य कर्म, कुलीनता वा रजोगुणले पनि हुँदैन। किनकि धनको घमण्ड भएकै ठाउँमा स्त्रीसङ्ग, जुवा र मदिरा जस्ता व्यसन रहन्छन्, जसले बुद्धिलाई पूर्ण रूपमा भ्रष्ट बनाइदिन्छन् ।। ८ ।।
हन्यन्ते पशवो यत्र निर्दयैरजितात्मभिः ।
मन्यमानैरिमं देहमजरामृत्यु नश्वरम् ॥ ९ ॥
नेपाली भावानुवादः धनको मदमा परेर इन्द्रियको वशमा रहेका निर्दयी पुरुषहरूले यो नाशवान् शरीरलाई अजर-अमर ठानेर आफूजस्तै शरीर भएका निर्दोष प्राणीहरूको हत्या गर्दछन् ।। ९ ।।
देवसंज्ञितमप्यन्ते कृमिविड्भस्मसंज्ञितम् ।
भूतध्रुक् तत्कृते स्वार्थं किं वेद निरयो यतः ॥ १० ॥
नेपाली भावानुवादः जुन शरीरलाई अहिले 'देव', 'नृप' वा 'सुन्दर' भनिन्छ, त्यसको अन्त्य त कीरा, विष्ठा वा खरानीमा नै हुनेछ। यस्तो शरीरका लागि अन्य प्राणीप्रति द्रोह गर्ने व्यक्तिले आफ्नो वास्तविक कल्याण कसरी बुझ्न सक्छ? अन्ततः उसले नरक नै प्राप्त गर्नेछ ।। १० ।।
देहः किमन्नदातुः स्वं निषेक्तुर्मातुरेव च ।
मातुः पितुर्वा बलिनः क्रेतुरग्नेः शुनोऽपि वा ॥ ११ ॥
नेपाली भावानुवादः जुन शरीरमा मानिसको यति धेरै ममता छ, वास्तवमा त्यो शरीर कसको हो? पालनपोषण गर्ने मालिकको हो कि गर्भाधान गर्ने पिताको हो? अथवा नौ महिना गर्भमा राख्ने आमाको हो? के यो हजुरबा-हजुरआमाको सम्पत्ति हो? कि बल प्रयोग गरेर काम लगाउने राजाको वा मूल्य तिरेर किन्ने क्रेताको हो? अथवा अन्तमा जलाउने आगोको हो वा लुछेर खाने कुकुर र स्यालको हो? ।। ११ ।।
एवं साधारणं देहमव्यक्तप्रभवाप्ययम् ।
को विद्वामात्मसात् कृत्वा हन्ति जन्तूनृतेऽसतः ॥ १२ ॥
नेपाली भावानुवादः यो शरीर प्रकृतिबाट उत्पन्न भई प्रकृतिमै विलीन हुने एक साधारण भौतिक वस्तु मात्र हो। यस्तो क्षणभङ्गुर शरीरलाई आफ्नो 'आत्मा' मानेर यसको सुखका लागि मूर्खबाहेक कुन चाहिँ विद्वान्ले अन्य प्राणीको ज्यान लिन्छ र? ।। १२ ।।
असतः श्रीमदान्धस्य दारिद्र्यं परमञ्जनम् ।
आत्मौपम्येन भूतानि दरिद्रः परमीक्षते ॥ १३ ॥
नेपाली भावानुवादः धनको मदले अन्धो भएको व्यक्तिका लागि दरिद्रता नै विवेकको आँखा खोल्ने गाजल (अञ्जन) हो। किनकि दरिद्र व्यक्तिले मात्र अरू प्राणीलाई आफूसमान देख्छ र कसैमा भेदभाव वा हिंसा गर्दैन ।। १३ ।।
यथा कण्टकविद्धाङ्गो जन्तोर्नेच्छति तां व्यथाम् ।
जीवसाम्यं गतो लिङ्गैर्न तथाविद्धकण्टकः ॥ १४ ॥
नेपाली भावानुवादः जसको आफ्नै शरीरमा काँडा बिझेको हुन्छ, उसले अरूको पीडा बुझ्दछ र कसैलाई दुःख दिन चाहँदैन। तर जसको शरीरमा कहिल्यै काँडा बिझेको छैन, उसले अरूको वेदना बुझ्न सक्दैन र प्राणीहरूमाथि दया पनि गर्दैन ।। १४ ।।
दरिद्रो निरहंस्तम्भो मुक्तः सर्वमदैरिह ।
कृच्छ्रं यदृच्छयाऽऽप्नोति तद्धि तस्य परं तपः ॥ १५ ॥
नेपाली भावानुवादः यस संसारमा धन र ऐश्वर्यको मदबाट मुक्त भएको दरिद्र व्यक्तिमा अहङ्कार र दम्भ हुँदैन। उसले प्रारब्धअनुसार प्राप्त भएको दुःखलाई नै तपस्या ठानेर सहन्छ र उसका इन्द्रियहरू भोगतर्फ लाग्दैनन् ।। १५ ।।
नित्यं क्षुत्क्षामदेहस्य दरिद्रस्यान्नकाङ्क्षिणः ।
इन्द्रियाण्यनुशुष्यन्ति हिंसापि विनिवर्तते ॥ १६ ॥
नेपाली भावानुवादः भोकले गर्दा शरीर दुब्लो भएको र केवल गाँसको चाहना गर्ने दरिद्रका इन्द्रियहरू स्वतः सुकेर जान्छन्, जसका कारण उसको मनबाट हिंसा गर्ने प्रवृत्ति पनि हटेर जान्छ ।। १६ ।।
दरिद्रस्यैव युज्यन्ते साधवः समदर्शिनः ।
सद्भिः क्षिणोति तं तर्षं तत आराद् विशुद्ध्यति ॥ १७ ॥
नेपाली भावानुवादः दरिद्र व्यक्तिलाई नै समदर्शी साधुहरूको सङ्गत प्राप्त हुने अवसर मिल्छ। साधुहरूको सङ्गतले उसको विषय-वासना र तृष्णा नष्ट हुन्छ र ऊ छिट्टै शुद्ध भई आत्मज्ञानको योग्य बन्दछ ।। १७ ।।
साधूनां समचित्तानां मुकुन्दचरणैषिणाम् ।
उपेक्ष्यैः किं धनस्तम्भैरसद्भिरसदाश्रयैः ॥ १८ ॥
नेपाली भावानुवादः जो सधैँ भगवान् मुकुन्दको चरणको शरणमा परेका र समचित्त भएका साधुहरूको सङ्गत गर्छन्, उनीहरूका लागि धनको घमण्डमा परी सज्जनको उपेक्षा गर्ने दुष्टहरूको सङ्गतको के आवश्यकता र? ।। १८ ।।
तदहं मत्तयोर्माध्व्या वारुण्या श्रीमदान्धयोः ।
तमोमदं हरिष्यामि स्त्रैणयोरजितात्मनोः ॥ १९ ॥
नेपाली भावानुवादः यी यक्षपुत्रहरू मदिरा र धन-सम्पत्तिको मदले अन्धा भएका छन्। अज्ञानताको नशामा डुबेर इन्द्रियको वशमा रही स्त्रीहरूसँग कामुक क्रीडा गरिरहेका छन्। अब म यिनीहरूको यो घमण्डलाई नष्ट गरिदिनेछु ।। १९ ।।
यदिमौ लोकपालस्य पुत्रौ भूत्वा तमःप्लुतौ ।
न विवाससमात्मानं विजानीतः सुदुर्मदौ ॥ २० ॥
नेपाली भावानुवादः हेर त! लोकपाल कुबेरका छोरा भएर पनि यिनीहरू अज्ञानले यसरी मात्तिएका छन् कि आफू पूर्ण रूपमा नग्न छु भन्ने कुराको समेत यिनीहरूलाई ज्ञान छैन ।। २० ।।
अतोऽर्हतः स्थावरतां स्यातां नैवं यथा पुनः ।
स्मृतिः स्यान्मत्प्रसादेन तत्रापि मदनुग्रहात् ॥ २१ ॥
नेपाली भावानुवादः त्यसैले यिनीहरू अब स्थावर (वृक्ष) हुन योग्य छन् ताकि फेरि यस्तो प्रमाद नगरून्। वृक्षयोनिमा गए तापनि मेरो अनुग्रहले यिनीहरूलाई पूर्वजन्मको स्मृति रहनेछ र मेरो कृपाले उनीहरूले भगवान्को स्मरण गर्नेछन् ।। २१ ।।
वासुदेवस्य सान्निध्यं लब्ध्वा दिव्यशरच्छते ।
वृत्ते स्वर्लोकतां भूयो लब्धभक्ती भविष्यतः ॥ २२ ॥
नेपाली भावानुवादः देवताहरूको दिव्य सय वर्ष पूरा भएपछि यिनीहरूले भगवान् वासुदेवको सामीप्य पाउनेछन्। भगवान्को दर्शन र सान्निध्य प्राप्त गरेपछि परमात्माप्रति दृढ भक्ति प्राप्त गरी यिनीहरू पुनः यक्ष शरीर धारण गरेर आफ्नो लोकमा जानेछन् ।। २२ ।।
शुक उवाच–
एवमुक्त्वा स देवर्षिर्गतो नारायणाश्रमम् ।
नलकूबरमणिग्रीवावासतुर्यमलार्जुनौ ॥ २३ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– देवर्षि नारदले यसरी श्राप दिएर भगवान् बदरीनारायणको आश्रमतिर जानुभयो। त्यसपछि नलकुबर र मणिग्रीव दुवै मिलेर अर्जुनका दुई रूख बने र 'यमलार्जुन' का नामले प्रसिद्ध भए ।। २३ ।।
ऋषेर्भागवतमुख्यस्य सत्यं कर्तुं वचो हरिः ।
जगाम शनकैस्तत्र यत्रास्तां यमलार्जुनौ ॥ २४ ॥
नेपाली भावानुवादः आफ्ना परम भक्त देवर्षि नारदजीको वचनलाई सत्य सावित गर्न भगवान् श्रीकृष्ण बिस्तारै ओखल तान्दै ती यमलार्जुन रूखहरू भएतिर जानुभयो ।। २४ ।।
देवर्षिर्मे प्रियतमो यदिमौ धनदात्मजौ ।
तत्तथा साधयिष्यामि यद् गीतं तन्महात्मना ॥ २५ ॥
नेपाली भावानुवादः भगवान्ले सोच्नुभयो– "देवर्षि नारद मेरा अत्यन्त प्रिय हुन् र यी दुवै मेरा भक्त कुबेरका छोरा पनि हुन्। त्यसैले महात्मा नारदले जे भन्नुभएको छ, म त्यसैअनुसार उनीहरूलाई यस बन्धनबाट मुक्त गरिदिनेछु" ।। २५ ।।
इत्यन्तरेणार्जुनयोः कृष्णस्तु यमयोर्ययौ ।
आत्मनिर्वेशमात्रेण तिर्यग्गतमुलूखलम् ॥ २६ ॥
नेपाली भावानुवादः यस्तो विचार गरी भगवान् श्रीकृष्ण ती दुई रूखको बीचबाट छिर्नुभयो। उहाँ त छिर्नुभयो तर उहाँको कम्मरमा बाँधिएको ओखल भने रूखहरूको बीचमा तेर्सिएर अड्कियो ।। २६ ।।
(वसन्ततिलका)
बालेन निष्कर्षयतान्वगुलूखलं तद्
दामोदरेण तरसोत्कलिताङ्घ्रिबन्धौ ।
निष्पेततुः परमविक्रमितातिवेप–
स्कन्धप्रवालविटपौ कृतचण्डशब्दौ ॥ २७ ॥
नेपाली भावानुवादः बालक दामोदर (श्रीकृष्ण) ले आफ्नो पछि-पछि तान्दै ल्याएको ओखललाई जोडले तान्नुभयो। उहाँको दिव्य शक्तिको प्रभावले ती रूखहरूका जराहरू उखेलिए, हाँगा र पातहरू थरथर काप्न थाले र ठुलो गर्जनसहित ती दुवै विशाल रूखहरू भुइँमा ढले ।। २७ ।।
तत्र श्रिया परमया ककुभः स्फुरन्तौ
सिद्धावुपेत्य कुजयोरिव जातवेदाः ।
कृष्णं प्रणम्य शिरसाखिललोकनाथं
बद्धाञ्जली विरजसाविदमूचतुः स्म ॥ २८ ॥
नेपाली भावानुवादः ती ढलेका रूखहरूबाट अग्निसमान तेजिला दुई सिद्ध पुरुषहरू प्रकट भए। उनीहरूको दिव्य कान्तिले सबै दिशा चम्किरहेका थिए। उनीहरूले समस्त लोकका स्वामी भगवान् श्रीकृष्णको नजिक आएर चरणमा शिर झुकाए र हात जोडेर स्तुति गर्न थाले ।। २८ ।।
(अनुष्टुप्)
कृष्ण कृष्ण महायोगिंस्त्वमाद्यः पुरुषः परः ।
व्यक्ताव्यक्तमिदं विश्वं रूपं ते ब्राह्मणा विदुः ॥ २९ ॥
नेपाली भावानुवादः उनीहरूले भने– "हे कृष्ण! हे महायोगिन्! हजुर नै यो जगत्का आदि पुरुष र परमेश्वर हुनुहुन्छ। यो दृश्य र अदृश्य सम्पूर्ण विश्व हजुरकै रूप हो भनेर तत्त्वज्ञानीहरूले जान्दछन्" ।। २९ ।।
त्वमेकः सर्वभूतानां देहास्वात्मेन्द्रियेश्वरः ।
त्वमेव कालो भगवान् विष्णुरव्यय ईश्वरः ॥ ३० ॥
नेपाली भावानुवादः "हजुर नै समस्त प्राणीहरूका शरीर, आत्मा र इन्द्रियका स्वामी हुनुहुन्छ। हजुर नै सर्वव्यापी विष्णु, अविनाशी काल र सबैका नियामक ईश्वर हुनुहुन्छ" ।। ३० ।।
त्वं महान् प्रकृतिः सूक्ष्मा रजःसत्त्वतमोमयी ।
त्वमेव पुरुषोऽध्यक्षः सर्वक्षेत्रविकारवित् ॥ ३१ ॥
नेपाली भावानुवादः "सत्त्व, रज र तमोगुणले युक्त सूक्ष्म प्रकृति र त्यसको कार्य महत्तत्त्व पनि हजुर नै हुनुहुन्छ। हजुर नै प्रकृतिको साक्षी, पुरुष र सबै विकारहरूलाई जान्ने सर्वज्ञ हुनुहुन्छ" ।। ३१ ।।
गृह्यमाणैस्त्वमग्राह्यो विकारैः प्राकृतैर्गुणैः ।
को न्विहार्हति विज्ञातुं प्राक्सिद्धं गुणसंवृतः ॥ ३२ ॥
नेपाली भावानुवादः "हजुर प्राकृतिक गुण र विकारहरूद्वारा जान्न नसकिने हुनुहुन्छ। सृष्टिको उदय हुनुभन्दा पहिलेदेखि नै विद्यमान रहनुभएका हजुरलाई यी गुणहरूले ढाकिएका जीवहरूले कसरी चिन्न सक्छन् र?" ।। ३२ ।।
तस्मै तुभ्यं भगवते वासुदेवाय वेधसे ।
आत्मद्योतगुणैश्छन्नमहिम्ने ब्रह्मणे नमः ॥ ३३ ॥
नेपाली भावानुवादः "सम्पूर्ण विश्वका रचयिता भगवान् वासुदेवलाई हामी नमस्कार गर्दछौँ। आफ्नै गुणहरूद्वारा आफ्नो महिमालाई लुकाउनुभएका ती साक्षात् परब्रह्मलाई हाम्रो बारम्बार प्रणाम छ" ।। ३३ ।।
यस्यावतारा ज्ञायन्ते शरीरेष्वशरीरिणः ।
तैस्तैरतुल्यातिशयैर्वीर्यैर्देहिष्वसङ्गतैः ॥ ३४ ॥
नेपाली भावानुवादः "हजुर शरीररहित हुनुहुन्छ, तैपनि जब हजुरले यस्ता अलौकिक पराक्रमहरू देखाउनुहुन्छ जुन सामान्य देहधारीका लागि असम्भव छ, तब मात्र हजुरको अवतार भएको कुरा चिनिन्छ" ।। ३४ ।।
स भवान् सर्वलोकस्य भवाय विभवाय च ।
अवतीर्णोंऽशभागेन साम्प्रतं पतिराशिषाम् ॥ ३५ ॥
नेपाली भावानुवादः "हे समस्त वरदानका स्वामी! हजुर अहिले यस लोकको कल्याण र समृद्धिका लागि आफ्नो दिव्य स्वरूपमा अवतरित हुनुभएको छ" ।। ३५ ।।
नमः परमकल्याण नमः परममङ्गल ।
वासुदेवाय शान्ताय यदूनां पतये नमः ॥ ३६ ॥
नेपाली भावानुवादः "हे परमकल्याणकारी! हे परम मङ्गलस्वरूप! हजुरलाई नमस्कार छ। हे अत्यन्त शान्त स्वभाव भएका यदुपति वासुदेव! हजुरलाई बारम्बार नमस्कार छ" ।। ३६ ।।
अनुजानीहि नौ भूमंस्तवानुचरकिङ्करौ ।
दर्शनं नौ भगवत ऋषेरासीदनुग्रहात् ॥ ३७ ॥
नेपाली भावानुवादः "हे अनन्त विभो! हजुरका दास हामीलाई अब बिदा दिनुहोस्। देवर्षि नारदको कृपाले नै हामीले आज हजुरको साक्षात् दर्शन पाउने सौभाग्य प्राप्त गर्यौँ" ।। ३७ ।।
(वसन्ततिलका)
वाणी गुणानुकथने श्रवणौ कथायां
हस्तौ च कर्मसु मनस्तव पादयोर्नः ।
स्मृत्यां शिरस्तव निवासजगत्प्रणामे
दृष्टिः सतां दर्शनेऽस्तु भवत्तनूनाम् ॥ ३८ ॥
नेपाली भावानुवादः "हे प्रभु! हाम्रो वाणी हजुरको गुणगान गर्नमा, कान हजुरको कथा सुन्नमा, हात हजुरको सेवामा, मन हजुरको चरणकमलको स्मरणमा, शिर हजुरको निवासस्थान यो जगत्लाई प्रणाम गर्नमा र आँखा हजुरकै स्वरूप सन्तहरूको दर्शन गर्नमा सधैँ लागिरहून्" ।। ३८ ।।
शुक उवाच–
(अनुष्टुप्)
इत्थं सङ्कीर्तितस्ताभ्यां भगवान् गोकुलेश्वरः ।
दाम्ना चोलूखले बद्धः प्रहसन्नाह गुह्यकौ ॥ ३९ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– ती नलकुबर र मणिग्रीवले यसरी प्रार्थना गरेपछि, ओखलमा डोरीले बाँधिएका गोकुलेश्वर भगवान् श्रीकृष्णले मुस्कुराउँदै भन्नुभयो ।। ३९ ।।
श्रीभगवानुवाच–
ज्ञातं मम पुरैवैतद्ऋषिणा करुणात्मना ।
यच्छ्रीमदान्धयोर्वाग्भिर्विभ्रंशोऽनुग्रहः कृतः ॥ ४० ॥
नेपाली भावानुवादः श्रीभगवान्ले भन्नुभयो– "ऐश्वर्यको मदले अन्धा भएका तिमीहरूलाई करुणामय नारदजीले श्रापको माध्यमबाट जुन अनुग्रह गर्नुभयो, त्यो मलाई पहिले नै थाहा थियो" ।। ४० ।।
साधूनां समचित्तानां सुतरां मत्कृतात्मनाम् ।
दर्शनान्नो भवेद्बान्धः पुंसोऽक्ष्णोः सवितुर्यथा ॥ ४१ ॥
नेपाली भावानुवादः "जसरी सूर्यको दर्शन भएपछि आँखामा अन्धकार रहँदैन, त्यसरी नै ममा समर्पित समदर्शी साधुहरूको दर्शन पाएपछि मानिस संसारको बन्धनमा रहँदैन" ।। ४१ ।।
तद् गच्छतं मत्परमौ नलकूबर सादनम् ।
सञ्जातो मयि भावो वामीप्सितः परमोऽभवः ॥ ४२ ॥
नेपाली भावानुवादः "त्यसैले हे नलकुबर र मणिग्रीव! तिमीहरू अब मेरो अनन्य भक्त बनेर आ-आफ्नो घर जाऊ। तिमीहरूले चाहेको परम्प्रेम प्राप्त गरिसकेका छौ, जसले जन्म-मृत्युको चक्रबाट मुक्ति दिन्छ" ।। ४२ ।।
शुक उवाच–
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– भगवान्को यस्तो आज्ञा पाएपछि नलकुबर र मणिग्रीवले ओखलमा बाँधिनुभएका श्रीकृष्णलाई बारम्बार प्रणाम र परिक्रमा गरेर उत्तर दिशा (कैलास) तिर प्रस्थान गरे ।। ४३ ।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको दशम स्कन्धको दशौँ अध्यायमा यमलार्जुनको उद्धार र भगवान् श्रीकृष्णको भक्तवत्सलताको वर्णन गरिएको छ। राजा परीक्षितले यमलार्जुन वृक्षको श्राप र उद्धारको कारण सोधेपछि शुकदेवजीले यसको पृष्ठभूमि बताउनुभयो। कुबेरका दुई पुत्र नलकुबर र मणिग्रीव ऐश्वर्य र मदिराको मदले यति अन्धा भएका थिए कि उनीहरू मन्दाकिनी गङ्गाको किनारमा युवतीहरूसँग नग्न अवस्थामा जलक्रीडा गरिरहेका थिए। त्यहाँ देवर्षि नारदको आगमन हुँदा पनि उनीहरूले लाज मानेनन् र वस्त्र लगाएनन्, जबकि युवतीहरूले तुरुन्तै वस्त्र लगाएर माफी मागे। नारदजीले उनीहरूको अहङ्कार तोड्न र उनीहरूमाथि कृपा गर्नका लागि 'वृक्ष' हुने श्राप दिनुभयो। वृक्षयोनिमा पनि उनीहरूलाई पूर्वजन्मको याद रहने र भगवान् श्रीकृष्णको स्पर्शले उद्धार हुने वरदान नारदले दिनुभएको थियो।
यता नन्दगञ्जमा माता यशोदाले ओखलमा बाँधेर छोड्नुभएका बालक श्रीकृष्णले नारदजीको वचनलाई सत्य सावित गर्ने निश्चय गर्नुभयो। उहाँ ओखल तान्दै आँगनमा रहेका दुई विशाल अर्जुनका रूखहरू (यमलार्जुन) को बीचमा पुग्नुभयो। जब उहाँले ती दुई रूखको बीचबाट ओखललाई जोडले तान्नुभयो, तब ती विशाल रूखहरू ठुलो आवाजका साथ ढले। ती रूखहरूबाट दुई दिव्य सिद्ध पुरुषहरू प्रकट भए। उनीहरूले भगवान् श्रीकृष्णको भव्य स्तुति गर्दै उहाँलाई नै जगत्को मूल कारण र परमेश्वर स्वीकार गरे। श्रीकृष्णले उनीहरूलाई आफ्नो अनन्य भक्ति प्रदान गरी बिदा गर्नुभयो र उनीहरू आफ्नो लोकतर्फ लागे। यस कथाले भगवान् आफ्ना भक्तहरूका वचनलाई सधैँ सत्य सावित गर्नुहुन्छ र जुनसुकै माध्यमबाट भए पनि जीवको कल्याण गर्नुहुन्छ भन्ने सन्देश दिन्छ।
दार्शनिक पक्ष
यस अध्यायको दार्शनिक पक्ष अत्यन्तै गहन र महत्त्वपूर्ण छ। यसले 'श्रीमद' अर्थात् धन र ऐश्वर्यको घमण्डलाई आध्यात्मिक मार्गको सबैभन्दा ठुलो अवरोधका रूपमा व्याख्या गरेको छ। नारदजीको श्राप वास्तवमा श्राप नभएर एक 'अनुग्रह' थियो, जसले जीवलाई उसको वास्तविक स्वरूपको बोध गराउँछ। यहाँ दरिद्रतालाई एक आध्यात्मिक औषधि (अञ्जन) को रूपमा प्रस्तुत गरिएको छ, जसले मानिसको अहङ्कार नाश गरी उसलाई समदर्शी बनाउँछ। 'यमलार्जुन' को प्रतीकले जडतामा फसेका जीवहरूलाई जनाउँछ, जसलाई केवल परमात्माको स्पर्श र गुरुको कृपाले मात्र मुक्त गर्न सकिन्छ। भगवान् श्रीकृष्णले ओखलमा बाँधिएर पनि रूखहरूलाई मुक्त गर्नुले ईश्वरको असीम शक्ति र भक्तप्रतिको वात्सल्यलाई दर्शाउँछ। दुई अङ्गुल डोरी छोटो हुनुको दर्शनले मानव प्रयास र दैवी कृपाको आवश्यकतालाई जोड दिन्छ। अन्ततः यो अध्यायले स्पष्ट पार्छ कि मुक्ति ज्ञान वा कर्मले भन्दा पनि अहङ्कारशून्य भई गरिएको अनन्य भक्तिबाट मात्र सम्भव छ। ईश्वर सर्वत्र व्याप्त हुनुहुन्छ र उहाँ भक्तको प्रेमको बन्धनमा सधैँ बाँधिन तयार हुनुहुन्छ भन्ने यसको मुख्य दर्शन हो।
No comments:
Post a Comment