श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - षष्ठोऽध्यायः
श्रीशुक उवाच –
(अनुष्टुप्)
एवं स्तुतः सुरगणैः भवान् हरिरीश्वरः ।
तेषां आविरभूद् राजन् सहस्रार्कोदयद्युतिः ॥ १ ॥
नेपाली भावानुवादः शुकदेवजी भन्नुहुन्छ– हे राजन् परीक्षित् ! जब देवताहरूले सर्वशक्तिमान् भगवान् श्रीहरिको यस प्रकार स्तुति गरे, तब भगवान् उनीहरूको बीचमा प्रकट हुनुभयो । उहाँको शरीरको प्रभा (तेज) एकैसाथ हजारौँ सूर्य उदाए जस्तै देदीप्यमान थियो ।।१।।
तेनैव सहसा सर्वे देवाः प्रतिहतेक्षणाः ।
नापश्यन् खं दिशः क्षौणीं आत्मानं च कुतो विभुम् ॥ २ ॥
नेपाली भावानुवादः भगवान्को त्यस प्रकारको शरीरको तेजले गर्दा सबै देवताहरूका आँखा तिरमिराए । उनीहरूले आकाश, दिशा, पृथ्वी र आफूलाई त के कुरा, स्वयं भगवान्लाई पनि देख्न सकेनन् ।।२।।
विरिञ्चो भगवान् दृष्ट्वा सह शर्वेण तां तनुम् ।
स्वच्छां मरकतश्यामां कञ्जगर्भारुणेक्षणाम् ॥ ३ ॥
तप्तहेमावदातेन लसत्कौशेयवाससा ।
प्रसन्नचारुसर्वाङ्गीं सुमुखीं सुन्दरभ्रुवम् ॥ ४ ॥
महामणिकिरीटेन केयूराभ्यां च भूषिताम् ।
कर्णाभरणनिर्भात कपोलश्रीमुखाम्बुजाम् ॥ ५ ॥
काञ्चीकलापवलय हारनूपुरशोभिताम् ।
कौस्तुभाभरणां लक्ष्मीं बिभ्रतीं वनमालिनीम् ॥ ६ ॥
नेपाली भावानुवादः केवल भगवान् शङ्कर र ब्रह्माजीले मात्र उहाँको त्यस छविको दर्शन गर्नुभयो । उहाँको श्रीविग्रह अत्यन्त सुन्दर थियो । मरतकमणि (पन्ना) समान स्वच्छ र श्याम वर्णको थियो । उहाँका दुवै नेत्र कमलको भित्री भागको रेशा समान लालिमायुक्त र सुन्दर थिए । तप्त स्वर्ण झैँ चम्किलो पहेंलो रङ्गाको रेशमी पीताम्बरले सर्वाङ्ग सुन्दर शरीर ढाकिएको थियो । धनुष समान वक्र आँखीभौं, प्रसन्न मुख र परम शोभायुक्त अङ्गहरू थिए । शिरमा महामणिमय मुकुट, हातहरूमा बाजुबन्द र कानमा झल्झलाउँदा कुण्डलहरू हुनाले उहाँका कपोल (गाला) निकै सुन्दर देखिन्थे । कम्मरमा करधनी, हातमा कङ्गन, गलामा हार र चरणमा नूपुरले सुशोभित हुनुहुन्थ्यो । वक्षःस्थलमा लक्ष्मी, गलामा कौस्तुभमणि तथा वनमाला धारण गर्नुभएको थियो ।।३-६।।
सुदर्शनादिभिः स्वास्त्रैः मूर्तिमद् भिरुपासिताम् ।
तुष्टाव देवप्रवरः सशर्वः पुरुषं परम् ॥
सर्वामरगणैः साकं सर्वाङ्गैरवनिं गतैः ॥ ७ ॥
नेपाली भावानुवादः भगवान्का सुदर्शन चक्र आदि अस्त्रहरू मूर्तिमान् भएर उहाँको सेवा गरिरहेका थिए । सबै देवताहरूले पृथ्वीमा दण्डवत् परी साष्टाङ्ग प्रणाम गरे । त्यसपछि समस्त देवताहरूसहित ब्रह्मा र शङ्करले ती परम पुरुषको स्तुति गर्नुभयो ।।७।।
श्रीब्रह्मोवाच –
(इन्द्रवज्रा)
अजातजन्मस्थितिसंयमाया
गुणाय निर्वाणसुखार्णवाय ।
अणोरणिम्नेऽपरिगण्यधाम्ने
महानुभावाय नमो नमस्ते ॥ ८ ॥
नेपाली भावानुवादः ब्रह्माजीले भन्नुभयो– जसको जन्म, स्थिति र प्रलयसँग कुनै सम्बन्ध छैन, जो प्रकृतिजन्य गुणभन्दा रहित एवं मोक्षस्वरूप परमानन्दका महान् समुद्र हुनुहुन्छ; जो सूक्ष्मभन्दा पनि सूक्ष्म र स्वरूपमा अनन्त हुनुहुन्छ, त्यस्ता परम ऐश्वर्यशाली प्रभुलाई हामी बारम्बार नमस्कार गर्दछौँ ।।८।।
रूपं तवैतत् पुरुषर्षभेज्यं
श्रेयोऽर्थिभिर्वैदिकतान्त्रिकेण ।
योगेन धातः सह नस्त्रिलोकान्
पश्याम्यमुष्मिन् नु ह विश्वमूर्तौ ॥ ९ ॥
नेपाली भावानुवादः हे पुरुषोत्तम ! आफ्नो कल्याण चाहने साधकले वेदोक्त एवं तान्त्रिक विधिद्वारा तपाईंको यस स्वरूपको उपासना गर्दछन् । हे जगत्कर्ता प्रभु ! तपाईंको यस विश्वमय स्वरूपमा म आफूसहित समस्त देवगण र तीनै लोक देखिरहेको छु ।।९।।
त्वय्यग्र आसीत् त्वयि मध्य आसीत्
त्वय्यन्त आसीत् इदमात्मतन्त्रे ।
त्वं आदिरन्तो जगतोऽस्य मध्यं
घटस्य मृत्स्नेव परतः परस्मात् ॥ १० ॥
नेपाली भावानुवादः हे आत्मतन्त्र प्रभु ! सृष्टिभन्दा पहिले यो जगत् तपाईंमा नै लीन थियो, अहिले पनि तपाईंमा नै स्थित छ र अन्त्यमा तपाईंमा नै लय हुनेछ । जसरी घैँटोको आदि, मध्य र अन्त्यमा माटो नै हुन्छ, त्यसरी नै यस जगत्को आदि, मध्य र अन्त्य तपाईं नै हुनुहुन्छ । तपाईं स्वयं कार्यकारणभन्दा पर र परम स्वतन्त्र हुनुहुन्छ ।।१०।।
त्वं माययात्माश्रयया स्वयेदं
निर्माय विश्वं तदनुप्रविष्टः ।
पश्यन्ति युक्ता मनसा मनीषिणो
गुणव्यवायेऽप्यगुणं विपश्चितः ॥ ११ ॥
नेपाली भावानुवादः तपाईं आफ्नै आश्रयमा रहने मायाद्वारा यस विश्वको रचना गर्नुहुन्छ र त्यसमा अन्तर्यामीका रूपमा पुनः प्रवेश गर्नुहुन्छ । त्यसैले विवेकी र शास्त्रज्ञ महापुरुषहरू सावधानीपूर्वक आफ्नो मनलाई एकाग्र गरी गुणमय जगत्मा पनि तपाईंको निर्गुण स्वरूपको साक्षात्कार गर्दछन् ।।११।।
यथाग्निमेधस्यमृतं च गोषु
भुव्यन्नमम्बूद्यमने च वृत्तिम् ।
योगैर्मनुष्या अधियन्ति हि त्वां
गुणेषु बुद्ध्या कवयो वदन्ति ॥ १२ ॥
नेपाली भावानुवादः जसरी मानिसले युक्तिपूर्वक काठबाट आगो, गाईबाट अमृत समान दूध, पृथ्वीबाट अन्न तथा जल र उद्योगबाट जीविका प्राप्त गर्दछन्, त्यसरी नै विवेकी पुरुषहरूले आफ्नो शुद्ध बुद्धिले भक्तियोगद्वारा तपाईंलाई प्राप्त गर्दछन् र आफ्नो अनुभूति अनुसार तपाईंको वर्णन गर्दछन् ।।१२।।
तं त्वां वयं नाथ समुज्जिहानं
सरोजनाभातिचिरेप्सितार्थम् ।
दृष्ट्वा गता निर्वृतमद्य सर्वे
गजा दवार्ता इव गाङ्गमम्भः ॥ १३ ॥
नेपाली भावानुवादः हे कमलनाभ ! जसरी डढेलोले तप्त भएका हात्तीहरू गङ्गाजलमा डुबुल्की मारेर परम शान्ति अनुभव गर्दछन्, त्यसरी नै धेरै समयदेखि दर्शनका लागि लालायित हामी सबै आज तपाईंको दर्शन पाएर कृतकृत्य र परम शान्त भएका छौँ ।।१३।।
स त्वं विधत्स्वाखिललोकपाला
वयं यदर्थास्तव पादमूलम् ।
समागतास्ते बहिरन्तरात्मन्
किं वान्यविज्ञाप्यमशेषसाक्षिणः ॥ १४ ॥
नेपाली भावानुवादः तपाईं हाम्रा बाह्य र आन्तरिक आत्मा हुनुहुन्छ । हामी समस्त लोकपालहरू जुन उद्देश्यले तपाईंको चरणको शरणमा आएका छौँ, त्यसलाई पूर्ण गरिदिनुहोस् । तपाईं सर्वसाक्षी हुनुहुन्छ, त्यसैले हामीले थप के नै निवेदन गर्नुपर्ला र ! ।।१४।।
अहं गिरित्रश्च सुरादयो ये
दक्षादयोऽग्नेरिव केतवस्ते ।
किं वा विदामेश पृथग्विभाता
विधत्स्व शं नो द्विजदेवमन्त्रम् ॥ १५ ॥
नेपाली भावानुवादः हे प्रभु ! म (ब्रह्मा), शङ्कर, दक्ष आदि प्रजापति र अन्य समस्त देवताहरू अग्निबाट निस्किएका झिल्काहरू जस्तै तपाईंका अंश हौँ । हामी आफूलाई तपाईं भन्दा अलग मान्दछौँ, त्यसैले हाम्रो ज्ञान सीमित छ । ब्राह्मण र देवताहरूको कल्याणका लागि जे उचित हुन्छ, त्यसको आदेश तपाईं आफैँ दिनुहोस् ।।१५।।
श्रीशुक उवाच –
एवं विरिञ्चादिभिरीडितस्तद्
विज्ञाय तेषां हृदयं तथैव ।
जगाद जीमूतगभीरया गिरा
बद्धाञ्जलीन् संवृतसर्वकारकान् ॥ १६ ॥
नेपाली भावानुवादः शुकदेवजी भन्नुहुन्छ– ब्रह्मा आदि देवताहरूले यस प्रकार स्तुति गरेर आफ्ना इन्द्रियहरूलाई संयमित गर्दै हात जोडी उभिरहे । उनीहरूको स्तुति र मनोभाव बुझेर भगवान्ले मेघ समान गम्भीर वाणीमा भन्नुभयो ।।१६।।
(अनुष्टुप्)
एक एवेश्वरस्तस्मिन् सुरकार्ये सुरेश्वरः ।
विहर्तुकामस्तानाह समुद्रोन्मथनादिभिः ॥ १७ ॥
नेपाली भावानुवादः परीक्षित् ! समस्त देवताहरू तथा जगत्का एकमात्र स्वामी भगवान् एक्लै ती सबै कार्य गर्न समर्थ हुनुहुन्थ्यो, तापनि समुद्र मन्थन आदि लीलाद्वारा विहार गर्ने इच्छाले उहाँले देवताहरूलाई सम्बोधन गर्दै भन्नुभयो ।।१७।।
श्रीभगवानुवाच –
हन्त ब्रह्मन् अहो शम्भो हे देवा मम भाषितम् ।
शृणुतावहिताः सर्वे श्रेयो वः स्याद् यथा सुराः ॥ १८ ॥
नेपाली भावानुवादः भगवान्ले भन्नुभयो– हे ब्रह्मा, शङ्कर र देवताहरू ! तिमीहरू सबै सावधान भएर मेरो वचन सुन । यसैमा तिमीहरूको कल्याण हुनेछ ।।१८।।
यात दानवदैतेयैः तावत् सन्धिर्विधीयताम् ।
कालेनानुगृहीतैस्तैः यावद् वो भव आत्मनः ॥ १९ ॥
नेपाली भावानुवादः यतिबेला काल असुरहरूको पक्षमा छ । त्यसैले जबसम्म तिमीहरूको अभ्युदयको समय आउँदैन, तबसम्म तिमीहरूले दैत्य र दानवहरूसँग गएर सन्धि गर ।।१९।।
अरयोऽपि हि सन्धेयाः सति कार्यार्थगौरवे ।
अहिमूषिकवद् देवा ह्यर्थस्य पदवीं गतैः ॥ २० ॥
नेपाली भावानुवादः हे देवताहरू ! कार्यको गम्भीरता हेरेर शत्रुसँग पनि सन्धि गर्नुपर्दछ । स्वार्थ सिद्ध भएपछि सर्प र मुसाको जस्तै व्यवहार (समय अनुसारको नीति) अपनाउन सकिन्छ ।।२०।।
अमृतोत्पादने यत्नः क्रियतां अविलम्बितम् ।
यस्य पीतस्य वै जन्तुः मृत्युग्रस्तोऽमरो भवेत् ॥ २१ ॥
नेपाली भावानुवादः तिमीहरू अविलम्ब अमृत निकाल्ने प्रयत्न गर, जसको पानले मृत्युको मुखमा परेका प्राणी पनि अमर हुन्छन् ।।२१।।
क्षिप्त्वा क्षीरोदधौ सर्वा वीरुत्तृणलतौषधीः ।
मन्थानं मन्दरं कृत्वा नेत्रं कृत्वा तु वासुकिम् ॥ २२ ॥
सहायेन मया देवा निर्मन्थध्वमतन्द्रिताः ।
क्लेशभाजो भविष्यन्ति दैत्या यूयं फलग्रहाः ॥ २३ ॥
नेपाली भावानुवादः पहिले क्षीरसागरमा सबै प्रकारका झारपात, लहरा र औषधिहरू हाल । त्यसपछि मन्दराचल पर्वतलाई मदानी र वासुकि नागलाई नेती बनाएर मेरो सहायताले सावधान भई समुद्र मन्थन गर । यस कार्यमा दैत्यहरूले केवल श्रम र क्लेश पाउनेछन् भने त्यसको फल (अमृत) तिमीहरूले प्राप्त गर्नेछौ ।।२२-२३।।
यूयं तदनुमोदध्वं यदिच्छन्ति असुराः सुराः ।
न संरम्भेण सिध्यन्ति सर्वार्थाः सान्त्वया यथा ॥ २४ ॥
नेपाली भावानुवादः हे देवताहरू ! असुरहरूले जे जे चाहन्छन्, त्यसलाई स्वीकार गर । शान्ति र मधुर वचनले जति कार्य सिद्ध हुन्छ, क्रोधले त्यति हुँदैन ।।२४।।
न भेतव्यं कालकूटाद् विषात् जलधिसम्भवात् ।
लोभः कार्यो न वो जातु रोषः कामस्तु वस्तुषु ॥ २५ ॥
नेपाली भावानुवादः मन्थनका क्रममा समुद्रबाट निस्कने कालकूट विषदेखि नडराऊ । कुनै पनि वस्तुमा लोभ नगर र यदि इच्छित वस्तु पाइएन भने पनि क्रोध नगर्नू ।।२५।।
श्रीशुक उवाच –
इति देवान् समादिश्य भगवान् पुरुषोत्तमः ।
तेषामन्तर्दधे राजन् स्वच्छन्दगतिरीश्वरः ॥ २६ ॥
नेपाली भावानुवादः शुकदेवजी भन्नुहुन्छ– हे राजन् ! देवताहरूलाई यस्तो आदेश दिएर स्वच्छन्दगामी भगवान् पुरुषोत्तम उनीहरूकै सामुन्ने अन्तर्धान हुनुभयो ।।२६।।
अथ तस्मै भगवते नमस्कृत्य पितामहः ।
वश्च जग्मतुः स्वं स्वं धामोपेयुर्बलिं सुराः ॥ २७ ॥
नेपाली भावानुवादः भगवान् जानुभएपछि ब्रह्मा र शङ्करले उहाँलाई नमस्कार गरी आ-आफ्नो लोकतर्फ प्रस्थान गर्नुभयो । त्यसपछि इन्द्रादि देवताहरू बलि राजाकहाँ गए ।।२७।।
दृष्ट्वा अरीनप्यसंयत्तान् जातक्षोभान् स्वनायकान् ।
न्यषेधद् दैत्यराट् श्लोक्यः सन्धिविग्रहकालवित् ॥ २८ ॥
नेपाली भावानुवादः देवताहरूलाई निशस्त्र रूपमा आफूतिर आएको देखेर दैत्य सेनापतिहरू क्रुद्ध भए । तर सन्धि र विग्रहको समय बुझेका यशस्वी दैत्यराज बलिले उनीहरूलाई रोके ।।२८।।
ते वैरोचनिमासीनं गुप्तं चासुरयूथपैः ।
श्रिया परमया जुष्टं जिताशेषमुपागमन् ॥ २९ ॥
नेपाली भावानुवादः त्यसपछि देवताहरू बलि राजाको नजिक पुगे । विरोचनपुत्र बलि सबैतिरबाट असुर सेनापतिहरूद्वारा सुरक्षित भई ऐश्वर्यशाली राजसिंहासनमा विराजमान थिए ।।२९।।
महेन्द्रः श्लक्ष्णया वाचा सान्त्वयित्वा महामतिः ।
अभ्यभाषत तत्सर्वं शिक्षितं पुरुषोत्तमात् ॥ ३० ॥
नेपाली भावानुवादः महामति इन्द्रले अत्यन्त मधुर वाणीले राजा बलिलाई शान्त पार्दै ती सबै कुराहरू सुनाए, जुन भगवान् पुरुषोत्तमले सिकाउनुभएको थियो ।।३०।।
तदरोचत दैत्यस्य तत्रान्ये येऽसुराधिपाः ।
शम्बरोऽरिष्टनेमिश्च ये च त्रिपुरवासिनः ॥ ३१ ॥
नेपाली भावानुवादः इन्द्रको प्रस्ताव दैत्यराज बलिलाई उचित लाग्यो । त्यसैगरी त्यहाँ उपस्थित अन्य असुर अधिपतिहरू शम्बर, अरिष्टनेमि र त्रिपुरवासीहरूलाई पनि यो कुरा मन पर्यो ।।३१।।
ततो देवासुराः कृत्वा संविदं कृतसौहृदाः ।
उद्यमं परमं चक्रुः अमृतार्थे परंतप ॥ ३२ ॥
नेपाली भावानुवादः हे परन्तप परीक्षित् ! त्यसपछि देवता र असुरहरूले आपसमा सन्धि र मित्रता गरी अमृत प्राप्तिका लागि ठुलो उद्योग (प्रयत्न) सुरु गरे ।।३२।।
ततस्ते मन्दरगिरिं ओजसोत्पाट्य दुर्मदाः ।
नदन्त उदधिं निन्युः शक्ताः परिघबाहवः ॥ ३३ ॥
नेपाली भावानुवादः त्यसपछि ती बलवान् र गर्विष्ठ वीरहरूले आफ्नो शक्तिले मन्दराचल पर्वतलाई उखेलेर गर्जँदै समुद्रतर्फ लगे ।।३३।।
दूरभारोद्वहश्रान्ताः शक्रवैरोचनादयः ।
अपारयन्तस्तं वोढुं विवशा विजहुः पथि ॥ ३४ ॥
निपतन्स गिरिस्तत्र बहून् अमरदानवान् ।
चूर्णयामास महता भारेण कनकाचलः ॥ ३५ ॥
नेपाली भावानुवादः अत्यन्त भारी पर्वतलाई टाढासम्म बोकेर लैजाँदा इन्द्र र बलिसहित सबै थाके । पर्वत थाम्न नसकी विवश भई उनीहरूले बाटोमै छोडिदिए । त्यो विशाल सुवर्णमय मन्दराचल पर्वत खस्दा थुप्रै देवता र दानवहरू किचिएर मारिए ।।३४-३५।।
तांस्तथा भग्नमनसो भग्नबाहूरुकन्धरान् ।
विज्ञाय भगवान् तत्र बभूव गरुडध्वजः ॥ ३६ ॥
नेपाली भावानुवादः देवता र असुरहरूको मनोबल गिरेको तथा उनीहरूको हात, कम्मर र काँध भाँचिएको थाहा पाएर गरुडध्वज भगवान् श्रीहरि त्यहाँ प्रकट हुनुभयो ।।३६।।
गिरिपातविनिष्पिष्टान् विलोक्यामरदानवान् ।
ईक्षया जीवयामास निर्जरान् निर्व्रणान्यथा ॥ ३७ ॥
नेपाली भावानुवादः पर्वतले थिचिएका देवता र असुरहरूलाई देखेर भगवान्ले आफ्नो अमृतमयी दृष्टिले उनीहरूलाई पुनर्जीवित र निको बनाइदिनुभयो ।।३७।।
गिरिं चारोप्य गरुडे हस्तेनैकेन लीलया ।
आरुह्य प्रययावब्धिं सुरासुरगणैर्वृतः ॥ ३८ ॥
नेपाली भावानुवादः त्यसपछि भगवान्ले खेलखेलमै एक हातले मन्दराचल पर्वतलाई उठाएर गरुडमाथि राखिदिनुभयो । उहाँ स्वयं पनि गरुडमा चढी देवता र असुरहरूका साथ समुद्रतर्फ लाग्नुभयो ।।३८।।
अवरोप्य गिरिं स्कन्धात् सुपर्णः पततां वरः ।
ययौ जलान्त उत्सृज्य हरिणा स विसर्जितः ॥ ३९ ॥
नेपाली भावानुवादः हे परीक्षित् ! पक्षीराज गरुडले पर्वतलाई समुद्रको तटमा ओराले । त्यसपछि भगवान्को आज्ञा पाएर गरुड त्यहाँबाट बिदा भए ।।३९।।
यस अध्यायको सारांश :
श्रीमद्भागवत महापुराणको आठौँ स्कन्ध अन्तर्गतको यस छैटौँ अध्यायमा देवता र असुरहरू मिलेर अमृत प्राप्तिका लागि गरिएको 'मन्दराचल आनयन' अर्थात् मन्दराचल पर्वत ल्याउने प्रयासको रोचक वर्णन गरिएको छ । दुर्वासा ऋषिको श्रापका कारण श्रीहीन र शक्तिहीन भएका देवताहरू जब असुरहरूबाट पराजित भए, तब उनीहरू ब्रह्माजीको शरणमा पुगे । ब्रह्माजीले उनीहरूलाई लिएर भगवान् श्रीहरिको स्तुति गर्नुभयो । देवताहरूको करुण पुकार सुनेर भगवान् प्रकट हुनुभयो र उनीहरूलाई समस्याको समाधानका लागि एक विशेष युक्ति दिनुभयो । भगवान्ले भन्नुभयो कि यतिबेला काल असुरहरूको पक्षमा भएकाले उनीहरूसँग सन्धि गर्नु नै बुद्धिमानी हुनेछ । उहाँले क्षीरसागरको मन्थन गरी अमृत निकाल्न र त्यसका लागि मन्दराचल पर्वतलाई मदानी तथा वासुकि नागलाई नेती बनाउन सुझाव दिनुभयो ।
भगवान्को सल्लाह अनुसार इन्द्रले असुरराज बलिसँग मित्रताको प्रस्ताव राखे, जुन बलि र अन्य असुरहरूले स्वीकार गरे । दुवै पक्ष मिलेर मन्दराचल पर्वतलाई उखेलेर समुद्रसम्म लैजाने प्रयास गरे । तर पर्वत यति भारी थियो कि बाटोमै उनीहरू विवश भएर पर्वत छोड्न बाध्य भए, जसका कारण धेरै देवता र असुरहरू किचिएर घाइते र मृत भए । यस्तो संकटको समयमा गरुडमा सवार भई भगवान् प्रकट हुनुभयो र आफ्नो अमृतमयी दृष्टिले सबैलाई पुनर्जीवन प्रदान गर्नुभयो । अन्ततः भगवान्ले खेलखेलमै एक हातले मन्दराचललाई उठाएर गरुडमा राखी समुद्रको तटसम्म पुऱ्याउनुभयो र मन्थनको पूर्वतयारी सम्पन्न भयो । यसरी यस अध्यायले संकटको समयमा धैर्य, कूटनीति र ईश्वरको शरणमा जानुको महत्त्वलाई प्रस्ट पारेको छ ।
यस अध्यायको दार्शनिक पक्ष :
यस अध्यायको दार्शनिक पक्ष अत्यन्त गहिरो छ । पहिलो कुरा, यसले संसारमा समय र कालको सर्वोपरितालाई देखाउँछ; स्वयं भगवान्ले पनि समय अनुकूल नहुँदा शत्रुसँग सन्धि गर्नुपर्ने व्यावहारिक उपदेश दिनुभएको छ । दोस्रो, मन्दराचल पर्वतलाई मानव 'मन' र समुद्रलाई 'संसार' वा 'अन्तःकरण' को प्रतीक मान्न सकिन्छ, जहाँ अमृत (मोक्ष वा शान्ति) प्राप्तिका लागि कडा परिश्रम र संघर्ष आवश्यक हुन्छ । तेस्रो, यसले अहंकारको पतनलाई दर्साउँछ; जब देवता र असुरहरूले आफ्नै बलमा पर्वत लैजान खोजे, उनीहरू असफल भए, तर जब उनीहरूले भगवान्को शरण लिए, तब असम्भव कार्य पनि सहज भयो । यसले जीवको असमर्थता र ईश्वरको सर्वसमर्थता बीचको सम्बन्धलाई स्थापित गर्दछ ।
No comments:
Post a Comment