#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

अष्टमः स्कन्धः - पञ्चमोऽध्यायः

 श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - पञ्चमोऽध्यायः



श्रीशुक उवाच - 
(अनुष्टुप्) 
राजन् उदितमेतत्ते हरेः कर्माघनाशनम् । 
गजेन्द्रमोक्षणं पुण्यं रैवतं त्वन्तरं श्रृणु ॥ १ ॥ 

श्री शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! भगवान् को यो गजेन्द्रमोक्ष नाम गरेको पवित्र लीला जसले समस्त पापलाई नाश गर्दछ । यसबारेमा मैले तिमीलाई सुनाएं । अब रैवत मन्वन्तरको कथा सुन ।।१।। 

पञ्चमो रैवतो नाम मनुस्तामससोदरः । 
बलिविन्ध्यादयस्तस्य सुता हार्जुनपूर्वकाः ॥ २ ॥ 

विभुरिन्द्रः सुरगणा राजन्भूतरयादयः । 
हिरण्यरोमा वेदशिरा ऊर्ध्वबाह्वादयो द्विजाः ॥ ३ ॥ 

पाचौं मनुको नाम रैवत थियो । उनी चौथो मनु तामसका सगे भाई थिए । उनको अर्जुन, बली, बिन्ध्य आदि छोराहरु थिए ।। त्यस मन्वन्तरका इन्द्रको नाम विभु थियो । भूतरय आदि गरिएका प्रधान देवताहरु थिए । परीक्षित ! त्यस समय हिरण्यरोमा, वेदशिरा उध्वबाहु आदि सप्तर्षिहरु थिए ।।३।।

पत्नीय विकुण्ठा शुभ्रस्य वैकुण्ठैः सुरसत्तमैः । 
तयोः स्वकलया जज्ञे वैकुण्ठो भगवान् स्वयम् ॥ ४ ॥ 

उनमा सुभ्र ऋषिकी पत्नीको नाम विकुण्ठा थियो । उनको गर्भबाट वैकुण्ठ नामका श्रेष्ठ देवताहरुका साथ आफ्नो अंसले स्वयं भगवान् वैकुण्ठ नामको अवतार धारण गरे ।।४।।

वैकुण्ठः कल्पितो येन लोको लोकनमस्कृतः । 
रमया प्रार्थ्यमानेन देव्या तत्प्रियकाम्यया ॥ ५ ॥ 

उनले लक्ष्मीदेवीको प्रार्थनाले उनलाई प्रसन्न गराउनका लागि वैकुण्ठ धामको रचना गरेका थिए । जुन समस्त लोकमा प्रसिद्ध छ ।। ५।।

तस्यानुभावः कथितो गुणाश्च परमोदयाः । 
भौमान् रेणून्स विममे यो विष्णोर्वर्णयेद्गु णान् ॥ ६ ॥ 

वहाँ वैकुण्ठनाथको कल्याणमय र प्रभावको वर्णन मैले पहिला तेश्रोस्कन्धमा बताइसकेको छु । भगवान् विष्णुको सम्पूर्ण गुणको वर्णन त उसैले गर्न सक्दछ जसले पृथ्वीको परमाणुहरुको गन्ति गर्न सक्दछ ।।६।।

षष्ठश्च चक्षुषः पुत्रः चाक्षुषो नाम वै मनुः । 
पूरु पूरुष सुद्युम्न प्रमुखाश्चाक्षुषात्मजाः ॥ ७ ॥ 

छैटौं मनु चक्षुका पुत्र चाक्षुष थिए । पुरु पुरुष, सुद्युम्न आदि धेरै छोरा थिए ।।७।।

इन्द्रो मन्त्रद्रुमस्तत्र देवा आप्यादयो गणाः । 
मुनयस्तत्र वै राजन् हविष्मद् वीरकादयः ॥ ८ ॥ 

त्यसबेलाका इन्द्रको नाम मन्त्रद्रुम थियो । आप्य आदि गरिएका प्रधान देवता थिए । त्यस मन्वन्तरमा हविष्यमान् र वीरक आदि सप्तर्षिहरु थिए ।।८।।

तत्रापि देवः सम्भूत्यां वैराजस्याभवत् सुतः । 
अजितो नाम भगवान् अंशेन जगतः पतिः ॥ ९ ॥ 

जगत्पति भगवान्ले त्यस समय पनि वैराजकी पत्नी सम्भूतिको गर्भबाट अजित नामको अंशावतार ग्रहण गर्नुभएको थियो ।।९।।

पयोधिं येन निर्मथ्य सुराणां साधिता सुधा । 
भ्रममाणोऽम्भसि धृतः कूर्मरूपेण मन्दरः ॥ १० ॥ 

वहाँले समुद्र मन्थन गरेर देवताहरुलाई अमृत पियाउनु भएको थियो । तथा वहाँले नै कक्षपरुप धारण गरेर मन्दराचलको आधार बन्नुभएको थियो ।।१०।।

श्रीराजोवाच - 
यथा भगवता ब्रह्मन् मथितः क्षीरसागरः । 
यदर्थं वा यतश्चाद्रिं दधाराम्बुचरात्मना ॥ ११ ॥ 

राजाले सोधे -
भगवन् ! भगवानले क्षीरसागर मन्थन कसरी गर्नुभयो ? वहाँले कक्ष्छपरुप धारण गरेर कुन कारण र कुन उद्देश्यले मन्दराचललाई आफ्नो पिठ्यूँ मा धारण गर्नु भयो ।।११।।

यथामृतं सुरैः प्राप्तं किं चान्यद् अभवत् ततः । 
एतद्भतगवतः कर्म वदस्व परमाद्भुततम् ॥ १२ ॥ 

त्वया संकथ्यमानेन महिम्ना सात्वतां पतेः । 
नातितृप्यति मे चित्तं सुचिरं तापतापितम् ॥ १३ ॥ 

त्यस समयमा देवताहरुलाई अमृत कसरी मिल्यो ? र अरु कुन कुन वस्तहरु समुद्रबाट निक्लियो ? भगवान्को यो लीला धेरै अद्भुत छ, तपाई भक्तवत्सल भगवान्को महिमा जसरी वर्णन गर्नुहुन्छ त्यसरी नै मेरो हृदय त्यसलाई सुन्नलाई अझ उत्सुक हुन्छ । त्यसबाट अघाउने त कुरै भएन किनकि मेरो हृदय धेरै दिन देखि यो त्रिविध तापले जलिरहेकोछ ।।१२ ।१३।।

श्रीसूत उवाच - 
सम्पृष्टो भगवानेवं द्वैपायनसुतो द्विजाः । 
अभिनन्द्य हरेर्वीर्यं अभ्याचष्टुं प्रचक्रमे ॥ १४ ॥ 

सूतजीले भने–
शौनकादि ऋषिहरु ! भगवान् श्री शुकदेवजीले राजा परीक्षितको यस्तो प्रश्नलाई अभिनन्दन गरेर भगवान्को समुद्रमन्थनको लीलाको वर्णन आरम्भ गरे ।।१४।।

श्रीशुक उवाच - 
यदा युद्धेऽसुरैर्देवा बध्यमानाः शितायुधैः । 
गतासवो निपतिता नोत्तिष्ठेरन् स्म भूरिशः ॥ १५ ॥ 

शुकदेवजीले भन्नुभयो–
परीक्षित ! त्यस समयको कुरा हो, असुरहरुले आफ्नो तीखो शास्त्रले देवताहरुलाई पराजित गरिदिए । धेरैले आफ्नो प्राण त्यागे, रणभूमिका लडेर कति उठ्न सकेनन ।।१५।।

यदा दुर्वाससः शापात् सेन्द्रा लोकास्त्रयो नृप । 
निःश्रीकाश्चाभवंस्तत्र नेशुरिज्यादयः क्रियाः ॥ १६ ॥ 

दुर्वासाको श्रापले तीनै लोक र इन्द्रको पनि श्रीहीन भएको थियो । जहासम्म कि यज्ञादि धर्म कर्महरु पनि लोप भएका थिए ।।१६।।

निशाम्यैतत् सुरगणा महेन्द्रवरुणादयः । 
नाध्यगच्छन्स्वयं मन्त्रैः मंत्रयन्तो विनिश्चितम् ॥ १७ ॥ 

यो सबै दर्दशा देखेर इन्द्र वरुण आदि देवताहरुले आपसमा धेरै शोच विचार गरे तर कुनै निश्चय गर्न सकेनन ।।१७।।

ततो ब्रह्मसभां जग्मुः मेरोर्मूर्धनि सर्वशः । 
सर्वं विज्ञापयां चक्रुः प्रणताः परमेष्ठिने ॥ १८ ॥ 

त्यस पछि उनीहरु सबै सुमेरुको शिखरमा स्थित ब्रह्माजीको सेवामा उपस्थित भएरआफ्नो परिस्थितिका बारेमा वताए ।।१८।।

स विलोक्येन्द्रवाय्वादीन् निःसत्त्वान् गगतप्रभान् । 
लोकान् अमंगलप्रायान् असुरानयथा विभुः ॥ १९ ॥ 

ब्रह्माजीले पनि स्वयं देख्नुभयो कि इन्द्र वायु आदि देवताहरु श्रीहीन एवं शक्तिहीन भएका छन सबैको परिस्थित धेरै विकट र शंकटमा परेको छ । असुरहरु यसको उल्टो फले फूलेका छन ।।१९।।

समाहितेन मनसा संस्मरन् पुरुषं परम् । 
उवाचोत्फुल्लवदनो देवान्स भगवान्परः ॥ २० ॥ 

राजा परीक्षितले सोधे–
सबै कुराले सम्पन्न हुनुभएका ब्रह्माजीले आफ्नो मनलाई एकाग्र गरेर परम पुरुष भगवान्को स्मरण गरे । एकै छिन पछि प्रफुल्लित मनले देवताहरुलाई सम्बोधन गर्दै भन्नुभयो ।।२०।।

 (इंद्रवज्रा)
अहं भवो यूयमथोऽसुरादयो 
     मनुष्यतिर्यग् द्रुमघर्मजातयः । 
यस्यावतारांशकलाविसर्जिता 
     व्रजाम सर्वे शरणं तमव्ययम् ॥ २१ ॥ 

देवताहरु ! म शंकर, तिमीहरु तथा असुर, दैत्य, मानिस, पशु, पक्षी, वृक्ष र स्वदेज आदि सबै प्राणीहरुलाई वहाँ विराट स्वरुपले आफ्नो सानो अंशबाट रच्नु भएको हो । अब हामीहरु उनै अविनाशी प्रभुको शरण परौं ।।२१।।

न यस्य वध्यो न च रक्षणीयो 
         नोपेक्षणीयादरणीयपक्षः । 
अथापि सर्गस्थितिसंयमार्थं 
         धत्ते रजःसत्त्वतमांसि काले ॥ २२ ॥ 

यद्यपि वहाँको दृष्टिमा न कुनै बधका पात्र छन न ता दयाकै पात्र छन । फेरी पनि सृष्टि, स्थति र प्रलयका लागि समय समयमा वहाँ रजोगुण, तमोगुण र सत्वगुणलाई स्वीकार गर्नुहुन्छ ।।२२।।

अयं च तस्य स्थितिपालनक्षणः 
         सत्त्वं जुषाणस्य भवाय देहिनाम् । 
तस्माद् व्रजामः शरणं जगद्गुयरुं 
         स्वानां स नो धास्यति शं सुरप्रियः ॥ २३ ॥ 

वहाँले यस समय प्राणीहरुको कल्याणका लागि सत्वगुणलाई स्वीकार गरिरहनु भएको छ । यसैले यो जगतको स्थिति र रक्षाको अवसर हो । त्यसैले हामी सबै उनै जगत गुरु परमात्माको शरण ग्रहण गर्दछौं । वहाँ देवताहरुका प्रिय हुनुहुन्छ । देवताहरु वहाँका प्यारा छन ।।२३।।

श्रीशुक उवाच – 
(अनुष्टुप्)
इत्याभाष्य सुरान्वेधाः सह देवैररिन्दम । 
अजितस्य पदं साक्षात् जगाम तमसः परम् ॥ २४ ॥ 

परीक्षित ! देवताहरुले यसो भनेर ब्रह्माजीले देवताहरुलाइ साथै लिएर भगवान् अजितको निजधाम वैकुण्ठमा जानुभयो । त्यो धाम तमोमयी प्रकृति भन्दा पर छ ।।२४।।

तत्रादृष्टस्वरूपाय श्रुतपूर्वाय वै विभो । 
स्तुतिमब्रूत दैवीभिः गीर्भिस्त्ववहितेन्द्रियः ॥ २५ ॥ 

उनीहरुले भगवान्को धामको सम्बन्धमा पहिले नै केहि कुरा सुनिसकेका थिए । तर त्यहाँ गए पछि उनीहरुले केहि पनि देखेनन् त्यसैले ब्रहजीले एकग्र मनले वेदवाणीद्वारा भगवान्को स्तुति गर्न लाग्नुभयो ।।२५।।

 (इंद्रवज्रा)
श्रीब्रह्मोवाच - 
अविक्रियं सत्यमनन्तमाद्यं 
         गुहाशयं निष्कलमप्रतर्क्यम् । 
मनोऽग्रयानं वचसानिरुक्तं 
         नमामहे देववरं वरेण्यम् ॥ २६ ॥ 

ब्रह्माजीले भन्नुभयो–
भगवन् ! तपाई निर्विकार, सत्य, अनन्त, आदिपुरुष, सबको हृदयमा अन्तर्यामी रुपले विराजमान, अखण्ड एवं अतर्क्य हुनुहुन्छ । मन जहाँजहाँ जान्छ त्यहाँ त्यहाँ तपाई पहिले नै विद्यमान हुनुहुन्छ । वाणी तपाईको निरुपण गर्न सक्तैन । तपाई समस्त देवताहरुको आराधनिय र स्वयंप्रकाश हुनुहुन्छ । हामी सबै तपाईको चरणमा नमस्कार गर्दछौं ।।२६।।

विपश्चितं प्राणमनोधियात्मनां 
     अर्थेन्द्रियाभासमनिद्रमव्रणम् । 
छायातपौ यत्र न गृध्रपक्षौ 
     तमक्षरं खं त्रियुगं व्रजामहे ॥ २७ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
तपाई प्राण मन बुद्धि र अहंकारका ज्ञाता हुनुहुन्छ । इन्द्रिय र उसको विषय दुवै नै तपाई द्वारा प्रकाशित हुन्छ । अज्ञानले तपाईमा स्पर्श गर्न सक्तैन । प्रकृतिको विकार मर्ने जीउने शरीरबाट तपाई रहित हुनुहुन्छ । जीवको दुवै पक्ष अविद्या र विद्या तपाईमा विलकुल छैन । तपाई अविनाशी र सुखस्वरुप हुनुहुन्छ । सत्ययुग, त्रेता र द्वापरमा तपाई प्रकटरुपले नै विराजमान हुनुहुन्छ । हामी सबै तपाईको शरणको ग्रहण गर्दछौं ।।२७।।

अजस्य चक्रं त्वजयेर्यमाणं 
         मनोमयं पञ्चदशारमाशु । 
त्रिनाभि विद्युच्चलमष्टनेमि 
         यदक्षमाहुस्तमृतं प्रपद्ये ॥ २८ ॥ 

यो शरीर जीवको एक मनोमय चक्र हो यो सधैं घुमिरहन्छ । दस इन्द्रिय र पाँच प्राण यी पन्द्र यसको आरो हो । सत्व, रज तम यी तीन गुण यसको नाभि हो । पृथ्वी, जल, तेज, वायु, आकाश, मन, बुद्धि र अहंकार यो आठ यसमा नेमि पांग्रोको घेरा हो । स्वयं माया यसलाई संचालन गर्दछिन । र यो विजुली भन्दा पनि धेरै शीघ्रगामी छ । यस चक्रको धुरी स्वयं परमात्मा हुनुहुन्छ । वहाँ नै एक मात्र सत्य हुनुहुन्छ, हामी वहाँकै शरणमा छौं ।।२८।।

य एकवर्णं तमसः परं तद् 
         अलोकमव्यक्तमनन्तपारम् । 
आसां चकारोपसुपर्णमेनं 
         उपासते योगरथेन धीराः ॥ २९ ॥ 

जो एकमात्र ज्ञानस्वरुप हुनुहुन्छ र प्रकृतिबाट पर एवं अदृश्य हुनुहुन्छ । जो समस्तु वस्तको मूलमा स्थित अव्यक्त हुनुहुन्छ र देश काल अथवा वस्तुबाट जसको पार पाउन सकिदैन, उनै प्रभु यस जीवका हृदयमा अन्तर्यामी रुपले विराजमान रहनुहुन्छ । विचारशील मानिस भक्तियोग द्वारा वहाँको आराधना गर्दछन ।।२९।।

न यस्य कश्चातितितर्ति मायां 
     यया जनो मुह्यति वेद नार्थम् । 
तं निर्जितात्मात्मगुणं परेशं 
     नमाम भूतेषु समं चरन्तम् ॥ ३० ॥ 

जुन मायाबाट मोहित भएर जीव आफ्नो वास्तविक लक्ष अथवा स्वरुपलाई भुलेको हुन्छ, वहाँको यस मायाबाट पार पाउन र उलंघन गर्न कसैले सक्तैन । परन्तु सर्वशक्तिमान प्रभु आफ्नो माया तथा उसको गुणलाई आफ्नो वशमा पारेर सबै प्राणीहरुको हृदयमा समभावले विचरण गर्नुहुन्छ । जीव आफ्नो पुरुषार्थले होइन वहाँको कृपाले नै वहाँलाई प्राप्त गर्न सक्दछन । हामी वहाँको चरणमा नमस्कार गर्दछौं ।।३०।।

इमे वयं यत्प्रिययैव तन्वा 
        सत्त्वेन सृष्टा बहिरन्तराविः । 
गतिं न सूक्ष्मामृषयश्च विद्महे 
         कुतोऽसुराद्या इतरप्रधानाः ॥ ३१ ॥
 
हामी देवता र ऋषिगणहरु पनि वहाँको परम प्रिय सत्वमय शरीरबाट नै उत्पन्न भएका हौं । तापनि हामी पनि वहाँको वास्तविक स्वरुपलाई जान्दैनौं भने रजो गुण एवं तमोगुण प्रधान भएका असुरहरुले वहाँलाई कसरी जान्न सक्छन र ? उनै प्रभुको चरणमा हामी नमस्कार गर्दछौं ।।३१।।

पादौ महीयं स्वकृतैव यस्य 
         चतुर्विधो यत्र हि भूतसर्गः । 
स वै महापूरुष आत्मतन्त्रः 
         प्रसीदतां ब्रह्म महाविभूतिः ॥ ३२ ॥
 
वहाँले नै बनाउँनु भएको यो पृथ्वी वहाँको चरण हो । यसै पृथ्वीमा जरायुज, अण्डज, स्वदेज र उद्वीज यी चार प्रकारका प्राणीहरु रहन्छन । वहाँ परम स्वतन्त्र परम ऐश्वर्य सम्पन्न पुरुषोत्तम परब्रह्म हामीमा प्रसन्न हुन ।।३२।।

अम्भस्तु यद्रेत उदारवीर्यं 
         सिध्यन्ति जीवन्त्युत वर्धमानाः । 
लोका स्त्रयोऽथाखिललोकपालाः 
         प्रसीदतां नः स महाविभूतिः ॥ ३३ ॥ 

परम शक्तिशाली जल वहाँको वीर्य हो । यसैबाट तीनै लोक र सबै लोकका लोकपाल उत्पन्न हुन्छन । बढ्दछन र जीवित रहन्छ । वहाँ ऐश्वर्यशाली परमब्रह्म हामीमा प्रशन्न हुनुहोस ।।३३।।

सोमं मनो यस्य समामनन्ति 
         दिवौकसां यो बलमन्ध आयुः । 
ईशो नगानां प्रजनः प्रजानां 
         प्रसीदतां नः स महाविभूतिः ॥ ३४ ॥ 

श्रुतिहरु भन्दछ कि चन्द्रमा वहाँ प्रभुको मन हो । यो चन्द्रमा नै सबै देवताहरुको अन्न बल एवं आयु हो । उहि वृक्षका सम्म्राट एवं प्रजाको बृद्धि गराउने वाला हो । यस्तो मनलाई स्वीकार गर्ने परम ऐश्वर्यशाली भगवानले हाम्रो रक्षा गरुन ।।३४।।

अग्निर्मुखं यस्य तु जातवेदा 
         जातः क्रियाकाण्डनिमित्तजन्मा । 
अन्तःसमुद्रेऽनुपचन्स्वधातून् 
         प्रसीदतां नः स महाविभूतिः ॥ ३५ ॥ 

अग्नि वहाँको मुख हो । यसको उत्पत्ति वेद र यज्ञ यज्ञादि कर्मकाण्ड सम्पन्न गर्नका लागि नै भएको हो । यो अग्नि नै शरीरको भित्र जठराग्नि रुपले र समुद्रको भित्र वडवानलको रुपमा रहेर उनमा रहने अन्न जल आदि धातुलाई पाचने गराउदछ र सबै द्रव्यको उत्पत्ति पनि उसैबाट भएको हो । यस्ता परम ऐश्वर्यशाली भगवान हामी संग प्रसन्न हुनुहोस ।।३५।।

यच्चक्षुरासीत्तरणिर्देवयानं 
         त्रयीमयो ब्रह्मण एष धिष्ण्यम् । 
द्वारं च मुक्तेरमृतं च मृत्युः 
         प्रसीदतां नः स महाविभूतिः ॥ ३६ ॥ 

जसद्वारा जीवलाइ देवमार्गबाट ब्रह्मलोक प्राप्त हुन्छ । जो वेदको साक्षात मुर्ति र भगवान्को ध्यान गर्न योग्य धाम हो । जुन पुण्यलोकस्वरुप हुनाका कारण मुक्तिको द्वार एवं अमृतमय हुन र कालरुप हुनाका कारण मृत्यु पनि हुन यस्तो सूर्य जसको आँखा हुन, यस्ता परम ऐश्वर्यशाली भगवान हामी संग प्रसन्न हुनुहोस ।।३६।।

प्राणादभूद् यस्य चराचराणां 
         प्राणः सहो बलमोजश्च वायुः । 
अन्वास्म सम्राजमिवानुगा वयं 
         प्रसीदतां नः स महाविभूतिः ॥ ३७ ॥ 

प्रभुको प्राणबाटैनै चराचर जीवको प्राण तथा वहाँको मानसिक, शारीरिक र इन्द्रिय सम्बन्धि बल दिने भएको वायु प्रकट हुन्छ  वहा चक्रवती सम्राट हुनुहुन्छ  इन्द्रियका अधिष्ठातृ देवता हामी सबैका वहाँको आदेश पालना गर्नेमात्र हौं । यस्ता परम ऐश्वर्यशाली भगवान हामी संग प्रसन्न हुनुहोस ।।३७।।

श्रोत्राद् दिशो यस्य हृदश्च खानि 
         प्रजज्ञिरे खं पुरुषस्य नाभ्याः । 
प्राणेन्द्रियात्मासुशरीरकेतः 
         प्रसीदतां नः स महाविभूतिः ॥ ३८ ॥ 

जसको कानबाट दिशाहरु हृदयबाट इन्द्रिय गोलोक र नाभिबाट आकाश उत्पन्न भयो जुन पाँचौं प्राण ( प्राण, अपान, उदान, समान र व्यान ) दश इन्द्रिय , पाँचौं असु ( नाग, कुर्म, कृकल, देवदत्त र धनन्जय) एवं शरीरको आश्रय हो । यस्ता परम ऐश्वर्यशाली भगवान हामी संग प्रसन्न हुनुहोस ।।३८।।

बलान्महेन्द्रस्त्रिदशाः प्रसादान् 
         मन्योर्गिरीशो धिषणाद्विरिञ्चः । 
खेभ्यस्तु छन्दांस्यृषयो मेढ्रतः कः 
         प्रसीदतां नः स महाविभूतिः ॥ ३९ ॥ 

जसको बलबाट इन्द्र, प्रशन्नताले सबै देवगणहरु, क्रोधले शंकर, बुद्धिले ब्रह्मा, इन्द्रियले बेद र ऋषि तथा लिंगले प्रजापति उत्पत्ति भए । यस्ता परम ऐश्वर्यशाली भगवान हामी संग प्रसन्न हुनुहोस ।।३९।।

श्रीर्वक्षसः पितरश्छाययाऽऽसन् 
         धर्मः स्तनादितरः पृष्ठतोऽभूत् । 
द्यौर्यस्य शीर्ष्णोऽप्सरसो विहारात् 
         प्रसीदतां नः स महाविभूतिः ॥ ४० ॥ 

जसको वक्षस्थलले लक्ष्मि छायाले पितृगण, स्तनले धर्म, पीठले अधर्म, सिरले आकाश, र विहारबाट अप्सराहरु प्रकट भए । यस्ता परम ऐश्वर्यशाली भगवान हामी संग प्रसन्न हुनुहोस ।।४०।।

विप्रो मुखं ब्रह्म च यस्य गुह्यं 
         राजन्य आसीद् भुजयोर्बलं च । 
ऊर्वोर्विडोजोङ्घ्रिरवेदशूद्रौ 
         प्रसीदतां नः स महाविभूतिः ॥ ४१ ॥ 

जसको मुखबाट ब्राह्मण र अत्यन्त रहस्यमय वेद, हातहरुबाट क्षत्रिय र बल, जाँघबाट वैश्य र वहाँको बृत्ति—व्यापारकुशलता तथा चरणबाट वेदबाह्य शूद्र र उनको सेवा आदि वृत्ति प्रकट भयो । यस्ता परम ऐश्वर्यशाली भगवान हामी संग प्रसन्न हुनुहोस ।।४१।।

लोभोऽधरात् प्रीतिरुपर्यभूद् द्युतिः 
         नस्तः पशव्यः स्पर्शेन कामः । 
भ्रुवोर्यमः पक्ष्मभवस्तु कालः 
         प्रसीदतां नः स महाविभूतिः ॥ ४२ ॥ 

जसको तल्लो ओठबाट लोभ र माथिल्लो ओठबाट प्रिति, नाकबाट कान्ति स्पर्शबाट पशुहरुको प्रिय काम, आँखिभौंबाट यम र नेत्रको रौंबाट कालको उत्पत्ति भयो , यस्ता परम ऐश्वर्यशाली भगवान हामी संग प्रसन्न हुनुहोस ।।४२।।

द्रव्यं वयः कर्म गुणान्विशेषं 
         यद्योगमायाविहितान्वदन्ति । 
यद्दुर्विभाव्यं प्रबुधापबाधं 
         प्रसीदतां नः स महाविभूतिः ॥ ४३ ॥ 

पञ्चभूत, काल, कर्म, सत्वादि गुण र जुन विवेकी पुरुषले निराकरण गर्न सक्ने गर्ने योग्य निर्वचनीय वा अनिवर्चनीय विशेष पदार्थ हुन्छ । ती सबै भगवान्को योगमायाले बनेको हो भनि शास्त्र भन्दछ । यस्ता परम ऐश्वर्यशाली भगवान हामी संग प्रसन्न हुनुहोस ।।४३।।

नमोऽस्तु तस्मा उपशान्तशक्तये 
         स्वाराज्यलाभप्रतिपूरितात्मने । 
गुणेषु मायारचितेषु वृत्तिभिः 
         न सज्जमानाय नभस्वदूतये ॥ ४४ ॥ 

जुन माया निर्मित गुणमा दर्शनादि वृत्तिहरुद्वारा आसक्त हदैन, जो वायुको समान सधै असंग रहन्छ । जसमा समस्त शक्तिहरु शान्त हुन्छन, उन आफ्नो आनन्दको लाभले परिपूर्ण आत्मस्वरुप भगवानलाई हाम्रो नमस्कार छ ।।४४।।

(अनुष्टुप्) 
स त्वं नो दर्शयात्मानं अस्मत् करणगोचरम् । 
प्रपन्नानां दिदृक्षूणां सस्मितं ते मुखाम्बुजम् ॥ ४५ ॥ 

प्रभो ! हामी तपाईका शरणागत हौं र हामी चाहान्छौं कि मन्द मुस्कानले युक्त तपाईको मुखकमल तपाईको यिनै नेत्रद्वारा देखौं । तपाईले कृपा गरेर हामीलाई त्यसको दर्शन गराउनु होस ।।४५।।

तैस्तैः स्वेच्छाधृतै रूपैः काले काले स्वयं विभो । 
कर्म दुर्विषहं यन्नो भगवान् तत्करोति हि ॥ ४६ ॥ 

प्रभो ! तपाई समय समयमा स्वयं नै आफ्नो इच्छाले अनेक रुप धारण गर्नु हुन्छ । र जुन काम हाम्रा लागि अत्यन्त कठिन हुन्छ, त्यसलाई तपाई सहज मै गर्नुहुन्छ । तपाई सर्वशक्तिमान हुनुहुन्छ । तपाईका लागि यसमा कुन कुरा कठिनाई भन्ने हुन्छ र ।।४६।।

क्लेशभूर्यल्पसाराणि कर्माणि विफलानि वा । 
देहिनां विषयार्तानां न तथैवार्पितं त्वयि ॥ ४७ ॥ 

क्लेश धेरै हुन्छ तर फल धेरै कम निक्लन्छ । अधिकांशमा त उसलाई विफलता नै हात लाग्दछ । तर जसले तपाईलाई आफ्नो कर्म समर्पण गर्दछन त्यसो गर्नाले उसलाई परम सुख मिल्दछ । त्यो स्वयं फलरुपि हो ।।४७।।

नावमः कर्मकल्पोऽपि विफलायेश्वरार्पितः । 
कल्पते पुरुषस्यैव स ह्यात्मा दयितो हितः ॥ ४८ ॥ 

विषयको लोभमा परेर जो देहाभिमानिले दुःख भोगिरहन्छ । उसलाई परिश्रम गर्नालले परिश्रम तथा क्लेश 
भगवान्मा समर्पित गरेको सानो कर्म पनि विफल कहिल्यै हुदैन किनकि भगवान् जीवको परम हितैषि, परम प्रियतम र आत्मा नै हो ।।४८।।

यथा हि स्कन्धशाखानां तरोर्मूलावसेचनम् । 
एवं आराधनं विष्णोः सर्वेषां आत्मनश्च हि ॥ ४९ ॥ 

जसरी बृक्षले जराबाट तानेको पानी उसको ठुला ठुला साना हाँगामा सिंचित हुन्छ त्यसरी नै सर्वात्मा भगवान्को आराधना सम्पूर्ण प्राणीहरुको र आफ्नो पनि आराधना हुन्छ ।।४९।।

नमस्तुभ्यं अनन्ताय दुर्वितर्क्यात्मकर्मणे । 
निर्गुणाय गुणेशाय सत्त्वस्थाय च साम्प्रतम् ॥ ५० ॥ 

तीनै काल र त्यो भन्दा पनि पर एकरसमा हुनु भएका । जसको लीलाहरुको विषयमा तर्क वितर्क बाट सिध्द हुन सक्तैन । जो स्वयं गुणबाट पर रहेर पनि सबै गुणका स्वामी हुनुहुन्छ र हर समय सत्वगुणमा स्थित हुनुहुन्छ । यस्ता तपाईलाई भगवान् लाई हामी बारम्बार नमस्कार गर्दछौं ।।५०।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां 
अष्टमस्कन्धे अमृतमथने पञ्चमोऽध्यायः ॥ ५ ॥