श्रीमद्भागवत महापुराण
एकादशः स्कंधः – अष्टादशोऽध्यायः
श्रीभगवानुवाच –
वनं विविक्षुः पुत्रेषु भार्यां न्यस्य सहैव वा ।
वत एव वसेच्छान्तस्तृतीयं भागमायुषः ।। १ ।।
नेपाली भावानुवादः भगवान्ले भन्नुभयो– यदि कसैको गृहस्थाश्रमबाट वानप्रस्थमा जाने इच्छा छ भने उसले आफ्नी पत्नीलाई छोराहरूको जिम्मा लगाएर वा पत्नीलाई साथै लिएर शान्त चित्तले आफ्नो आयुको तेस्रो भाग वनमा बसेर बिताओस् ।। १ ।।
कन्दमूलफलैर्वन्यैर्मेध्यैर्वृत्तिं प्रकल्पयेत् ।
वसीत वल्कलं वासस्तृणपर्णाजिनानि च ।। २ ।।
नेपाली भावानुवादः वनमा रहँदा त्यहाँ प्राप्त हुने पवित्र कन्दमूल र फलहरू खाएर जीविका चलाओस्। वस्त्रका रूपमा रुखका बोक्रा (वल्कल), घाँस, पात वा मृगचर्म धारण गरोस् ।। २ ।।
केशरोमनखश्मश्रुमलानि बिभृयाद् दतः ।
न धावेदप्सु मज्जेत त्रिकालं स्थण्डिलेशयः ।। ३ ।।
नेपाली भावानुवादः कपाल, रौं, नङ, दाह्री र जुँगा नकाटोस्। दाँत माझ्ने जस्ता शरीर शुद्धिमा नलागी त्रिकाल (बिहान, दिउँसो, बेलुका) जलमा डुबेर स्नान गरोस् र भुइँमा नै सुत्ने गरोस् ।। ३ ।।
ग्रीष्मे तप्येत पञ्चाग्नीन् वर्षास्वासारषाड् जले ।
आकण्ठमग्नः शिशिरे एवंवृत्तस्तपश्चरेत् ।। ४ ।।
नेपाली भावानुवादः ग्रीष्म ऋतुमा पञ्चाग्निको बीचमा बसेर, वर्षा ऋतुमा खुला आकाशमुनि वर्षा सहेर र शिशिर ऋतुमा घाँटीसम्म पानीमा डुबेर कठोर तपस्या गरोस् ।। ४ ।।
अग्निपक्वं समश्नीयात् कालपक्वमथापि वा ।
उलूखलाश्मकुट्टो वा दन्तोलूखल एव वा ।। ५ ।।
नेपाली भावानुवादः वानप्रस्थीले आगोमा पकाएको वा समय पुगेर आफैँ पाकेको फल खाओस्। अन्न खानुपरे ओखलमा कुटेर वा आफ्नै दाँतले चपाएर (दाँतलाई नै ओखल सम्झेर) खाओस् ।। ५ ।।
स्वयं संचिनुयात् सर्वमात्मनो वृत्तिकारणम् ।
देशकालबलाभिज्ञो नाददीतान्यदाऽऽहृतम् ।। ६ ।।
नेपाली भावानुवादः देश, काल र आफ्नो शक्तिको विचार गरी जीविकाका लागि आवश्यक सामग्री आफैँले सङ्कलन गरोस्। अरूले ल्याइदिएको वा दान दिएको वस्तु ग्रहण नगरोस् ।। ६ ।।
वन्यैश्चरुपुरोडाशैर्निर्वपेत् कालचोदितान् ।
न तु श्रौतेन पशुना मां यजेत वनाश्रमी ।। ७ ।।
नेपाली भावानुवादः वानप्रस्थीले वनमा पाइने अन्नबाट चरु र पुरोडाश बनाई समयअनुसार यज्ञ अनुष्ठान गरोस्। वेदमा भनिएको भए तापनि वानप्रस्थीले पशुबलि दिएर मेरो पूजा कहिल्यै नगरोस् ।। ७ ।।
अग्निहोत्रं च दर्शश्च पूर्णमासश्च पूर्ववत् ।
चातुर्मास्यानि च मुनेराम्नातानि च नैगमैः ।। ८ ।।
नेपाली भावानुवादः वेदविद्हरूले वानप्रस्थीका लागि पनि गृहस्थले जस्तै अग्निहोत्र, दर्श, पूर्णमास र चातुर्मास्य आदि कर्महरूको विधान गरेका छन् ।। ८ ।।
एवं चीर्णेन तपसा मुनिर्धमनिसन्ततः ।
मां तपोमयमाराध्य ऋषिलोकादुपैति माम् ।। ९ ।।
नेपाली भावानुवादः यसरी कठोर तपस्या गर्दा मुनिको शरीर सुकेर नसा मात्र देखिने हुन्छ। यस्तो तपोमय साधनाले म परमात्माको आरधना गर्दा ऊ महर्लोक (ऋषिलोक) हुँदै अन्ततः मलाई नै प्राप्त गर्दछ ।। ९ ।।
यस्त्वेतत् कृच्छ्रतश्चीर्णं तपो निःश्रेयसं महत् ।
कामायाल्पीयसे युञ्ज्याद् बालिशः कोऽपरस्ततः ।। १० ।।
नेपाली भावानुवादः जसले मोक्ष प्राप्तिका लागि गरिएको यस्तो महान् तपस्यालाई तुच्छ कामना पूर्तिका लागि प्रयोग गर्छ भने, त्योभन्दा ठूलो मूर्ख अर्को को होला? ।। १० ।।
यदासौ नियमेऽकल्पो जरया जातवेपथुः ।
आत्मन्यग्नीन् समारोप्य मच्चित्तोऽग्निं समाविशेत् ।। ११ ।।
नेपाली भावानुवादः जब वानप्रस्थी वृद्धावस्थाका कारण शिथिल हुन्छ र नियम पालना गर्न असमर्थ हुन्छ, तब उसले बाह्य अग्निलाई आत्मामा विलीन गरी ममा चित्त लगाएर अग्नि प्रवेश गरोस् ।। ११ ।।
यदा कर्मविपाकेषु लोकेषु निरयात्मसु ।
विरागो जायते सम्यङ् न्यस्ताग्निः प्रव्रजेत् ततः ।। १२ ।।
नेपाली भावानुवादः जब साधकलाई कर्मफल स्वरूप प्राप्त हुने स्वर्ग आदि लोकहरू पनि नरक समान नश्वर लाग्न थाल्छन् र पूर्ण वैराग्य उत्पन्न हुन्छ, तब उसले सन्न्यास ग्रहण गरोस् ।। १२ ।।
इष्ट्वा यथोपदेशं मां दत्त्वा सर्वस्वमृत्विजे ।
अग्नीन् स्वप्राण आवेश्य निरपेक्षः परिव्रजेत् ।। १३ ।।
नेपाली भावानुवादः विधिपूर्वक मेरो पूजा गरी आफ्नो सर्वस्व पुरोहितलाई दान दिएर, अग्निलाई प्राणमा विलीन गरी कुनै पनि अपेक्षा नराखी सन्न्यासीका रूपमा विचरण गरोस् ।। १३ ।।
विप्रस्य वै संन्यसतो देवा दारादिरूपिणः ।
विघ्नान् कुर्वन्त्ययं ह्यस्मानाक्रम्य समियात् परम् ।। १४ ।।
नेपाली भावानुवादः जब कुनै ब्राह्मणले सन्न्यास लिने विचार गर्छ, तब देवताहरू पत्नी वा पुत्रको रूप धारण गरेर विघ्न खडा गर्छन्। उनीहरू डराउँछन् कि यसले हामीलाई नाघेर परमपद प्राप्त गर्नेछ ।। १४ ।।
बिभृयाच्चेन्मुनिर्वासः कौपीनाच्छादनं परम् ।
त्यक्तं न दण्डपात्राभ्यामन्यत् किञ्चिदनापदि ।। १५ ।।
नेपाली भावानुवादः यदि सन्न्यासीले वस्त्र लगाउनुपरे कौपीन (लगौँटी) छोप्ने सम्मको लुगा लगाओस्। आपत्कालबाहेक उसले दण्ड र भिक्षापात्रबाहेक अन्य कुनै वस्तु सङ्ग्रह नगरोस् ।। १५ ।।
दृष्टिपूतं न्यसेत् पादं वस्त्रपूतं पिवेज्जलम् ।
सत्यपूतां वदेद् वाचं मनः पूतं समाचरेत् ।। १६ ।।
नेपाली भावानुवादः राम्ररी हेरेर पवित्र भूमिमा पाइला चालोस्, कपडाले छानेर जल पिओस्, सत्यले पवित्र भएको वाणी बोलोस् र मनले विचार गरेर मात्र काम गरोस् ।। १६ ।।
मौनानीहानिलायामा दण्डा वाग्देहचेतसाम् ।
न ह्येते यस्य सन्त्यङ्ग वेणुभिर्न भवेद् यतिः ।। १७ ।।
नेपाली भावानुवादः हे उद्धव! वाणीको मौन, शरीरको कर्मत्याग र मनको प्राणायाम– यी तीन दण्ड (त्रिदण्ड) जसकोमा छैनन्, ऊ केवल बाँसको लट्ठी बोकेकै भरमा सन्न्यासी (यति) हुन सक्दैन ।। १७ ।।
भिक्षां चतुर्षु वर्णेषु विगर्ह्यान् वर्जयंश्चरेत् ।
सप्तागारानसंक्लृप्तांस्तुष्येल्लब्धेन तावता ।। १८ ।।
नेपाली भावानुवादः सन्न्यासीले पतितहरूलाई छोडेर चारै वर्णका घरमा भिक्षा मागोस्। पहिले नै निश्चित नगरिएका सात घरसम्म मात्र भिक्षा मागी जे प्राप्त हुन्छ, त्यसैमा सन्तुष्ट रहोस् ।। १८ ।।
बहिर्जलाशयं गत्वा तत्रोपस्पृश्य वाग्यतः ।
विभज्य पावितं शेषं भुञ्जीताशेषमाहृतम् ।। १९ ।।
नेपाली भावानुवादः गाउँ बाहिरको जलाशयमा गई आचमन गरेर मौन भई भिक्षालाई शुद्ध गरोस् र सबैलाई बाँडेर बचेको अन्न मात्र भोजन गरोस् ।। १९ ।।
एकश्चरेन्महीमेतां निःसङ्गः संयतेन्द्रियः ।
आत्मक्रीड आत्मरत आत्मवान् समदर्शनः ।। २० ।।
नेपाली भावानुवादः कुनै पनि आसक्ति नराखी, इन्द्रियहरूलाई वशमा गरी, आफ्नै आत्मामा रमेर र सबैमा समान दृष्टि राखेर पृथ्वीमा एक्लै विचरण गरोस् ।। २० ।।
विविक्तक्षेमशरणो मद्भावविमलाशयः ।
आत्मानं चिन्तयेदेकमभेदेन मया मुनिः ।। २१ ।।
नेपाली भावानुवादः एकान्त र सुरक्षित स्थानमा बस्ने, निर्मल अन्तःकरण भएको मुनिले म परमात्मा र आफ्नो आत्मामा कुनै भेद नदेखि अभेद चिन्तन गरोस् ।। २१ ।।
अन्वीक्षेताऽत्मनो बन्धं मोक्षं च ज्ञाननिष्ठया ।
बन्ध इन्द्रियविक्षेपो मोक्ष एषां च संयमः ।। २२ ।।
नेपाली भावानुवादः ज्ञाननिष्ठाद्वारा आफ्नो बन्धन र मोक्षको विचार गरोस्। इन्द्रियहरूको विषयतर्फको चञ्चलता नै बन्धन हो र तिनको संयम नै मोक्ष हो ।। २२ ।।
तस्मान्नियम्य षड्वर्गं मद्भावेन चरेन्मुनिः ।
विरक्तः क्षुल्लकामेभ्यो लब्ध्वाऽऽत्मनि सुखं महत् ।। २३ ।।
नेपाली भावानुवादः त्यसैले मनसहित पाँच ज्ञानेन्द्रियलाई जितेर, तुच्छ कामनाबाट टाढा रही, आत्मामै परम सुख अनुभव गर्दै मलाई सम्झिएर मुनि विचरण गरोस् ।। २३ ।।
पुरग्रामव्रजान् सार्थान् भिक्षार्थं प्रविशश्चरेत् ।
पुण्यदेशसरिच्छैलवनाश्रमवतीं महीम् ।। २४ ।।
नेपाली भावानुवादः सन्न्यासीले भिक्षाका लागि नगर, गाउँ वा गोठहरूमा जाओस् र बाँकी समय पवित्र नदी, पर्वत, वन र आश्रमहरू भएको पृथ्वीमा घुमोस् ।। २४ ।।
वानप्रस्थाश्रमपदेष्वभीक्ष्णं भैक्ष्यमाचरेत् ।
संसिध्यत्याशु संमोहः शुद्धसत्वः शिलान्धसा ।। २५ ।।
नेपाली भावानुवादः सन्न्यासीले प्रायः वानप्रस्थीहरूको आश्रमबाट भिक्षा लिने गरोस्, किनकि शिलोञ्छ वृत्तिको अन्नले चित्त शुद्ध हुन्छ, मोह नष्ट हुन्छ र चाँडै आत्मसिद्धि प्राप्त हुन्छ ।। २५ ।।
नैतद् वस्तुतया पश्येद् दृश्यमानं विनश्यति ।
असक्तचित्तो विरमेदिहामुत्र चिकीर्षितात् ।। २६ ।।
नेपाली भावानुवादः यो देखिने संसार नाशवान् भएकाले यसलाई सत्य नठानोस्। यस लोक र परलोकका सुखहरूमा आसक्ति छोडेर पूर्ण विरक्त बनोस् ।। २६ ।।
यदेतदात्मनि जगन्मनोवाक्प्राणसंहतम् ।
सर्वं मायेति तर्केण स्वस्थस्त्यक्त्वा न तत् स्मरेत् ।। २७ ।।
नेपाली भावानुवादः मन, वचन र प्राणसहितको यो शरीर र जगत् सबै माया मात्र हुन् भन्ने कुरा तर्कद्वारा निश्चय गरी, तिनको मोह त्यागेर स्वस्थ बनोस् र पुनः तिनको स्मरण नगरोस् ।। २७ ।।
ज्ञाननिष्ठो विरक्तो वा मद्भक्तो वाऽनपेक्षकः ।
सलिङ्गानाश्रमांस्त्यक्त्वा चरेदविधिगोचरः ।। २८ ।।
नेपाली भावानुवादः मप्रतिको अनन्य भक्ति भएको वा ज्ञाननिष्ठ विरक्त साधकले कुनै पनि बाह्य चिह्न वा आश्रमको नियममा नबाँधिएर स्वच्छन्द रूपमा विचरण गरोस् ।। २८ ।।
बुधो बालकवत् क्रीडेत् कुशलो जडवच्चरेत् ।
वदेदुन्मत्तवद् विद्वान् गोचर्यां नैगमश्चरेत् ।। २९ ।।
नेपाली भावानुवादः विद्वान् भएर पनि बालक जस्तै निर्दोष भई खेलोस्, सिपालु भएर पनि जड (मूर्ख) जस्तै बसोस्, ज्ञानी भएर पनि उन्मत्त झैँ बोलोस् र वेदविद् भएर पनि पशु झैँ नियमरहित (गोचर्या) भई हिँडोस् ।। २९ ।।
वेदवादरतो न स्यान्न पाखण्डी न हैतुकः ।
शुष्कवादविवादे न कञ्चित् पक्षं समाश्रयेत् ।। ३० ।।
नेपाली भावानुवादः कर्मकाण्डको विवादमा नलागोस्, पाखण्डी र कुतर्क गर्ने नबनोस्। व्यर्थको वादविवादमा कुनै पनि पक्ष लिएर नबोलोस् ।। ३० ।।
नोद्विजेत जनाद् धीरो जनं चोद्वेजयेन्न तु ।
अतिवादांस्तितिक्षेत नावमन्येत कञ्चन ।
देहमुद्दिश्य पशुवद् वैरं कुर्यान्न केनचित् ।। ३१ ।।
नेपाली भावानुवादः धैर्यवान् पुरुष अरूबाट त्रसित नहोस् र अरूलाई पनि त्रसित नबनाओस्। कसैको अपमान नगरोस् र अरूले बोलेका कटु वचन सहेर बसोस्। यो नश्वर शरीरका लागि कसैसँग पशुले झैँ शत्रुता नगरोस् ।। ३१ ।।
एक एव परो ह्यात्मा भूतेष्वात्मन्यवस्थितः ।
यथेन्दुरुदपात्रेषु भूतान्येकात्मकानि च ।। ३२ ।।
नेपाली भावानुवादः जसरी एउटै चन्द्रमा धेरै वटा पानीका भाँडाहरूमा अलग-अलग देखिन्छ, त्यसरी नै एउटै परमात्मा सबै प्राणीहरूको हृदयमा आत्माका रूपमा अवस्थित हुनुहुन्छ ।। ३२ ।।
अलब्ध्वा न विषीदेत काले कालेऽशनं क्वचित् ।
लब्ध्वा न हृष्येद् धृतिमानुभयं दैवतन्त्रितम् ।। ३३ ।।
नेपाली भावानुवादः कहिलेकाहीँ भिक्षा नपाउँदा दुःख नम्रानोस् र पाउँदा खुसी नहोस्। दुवै कुरा दैवको अधीनमा छन् भन्ने बुझेर धैर्य धारण गरोस् ।। ३३ ।।
आहारार्थं समीहेत युक्तं तत् प्राणधारणम् ।
तत्त्वं विमृश्यते तेन तद् विज्ञाय विमुच्यते ।। ३४ ।।
नेपाली भावानुवादः प्राण रक्षाका लागि मात्र भोजनको इच्छा गरोस्। किनकि जीवित रहे मात्र तत्त्व चिन्तन सम्भव हुन्छ र तत्त्व ज्ञानले नै मोक्ष प्राप्त हुन्छ ।। ३४ ।।
यदृच्छ्योपपन्नान्नमद्याच्छ्रेष्ठमुतापरम् ।
तथा वासस्तथा शय्यां प्राप्तं प्राप्तं भजेन्मुनिः ।। ३५ ।।
नेपाली भावानुवादः मुनिले मिठो वा नमिठो, जे जस्तो अन्न प्राप्त हुन्छ त्यही खाओस्। ओढ्ने, ओछ्याउने र लगाउने लुगा पनि जे उपलब्ध हुन्छ, त्यसैमा चित्त बुझाओस् ।। ३५ ।।
शौचमाचमनं स्नानं न तु चोदनया चरेत् ।
अन्यांश्च नियमाञ्ज्ञानी यथाऽहं लीलयेश्वरः ।। ३६ ।।
नेपाली भावानुवादः ज्ञानीले शौच, आचमन र स्नान जस्ता नियमहरू कुनै शास्त्रको दबाबमा परेर होइन, बरु म ईश्वरले झैँ लीलापूर्वक (सहज रूपमा) पालना गरोस् ।। ३६ ।।
न हि तस्य विकल्पाख्या या च मद्वीक्षया हता ।
आदेहान्तात् क्वचित् ख्यातिस्ततः सम्पद्यते मया ।। ३७ ।।
नेपाली भावानुवादः म परमात्माको साक्षात्कार भएपछि ज्ञानीको भेद-बुद्धि नष्ट हुन्छ। शरीर रहुञ्जेल कहिलेकाहीँ बाह्य भेद देखिए पनि अन्त्यमा ऊ ममै विलीन हुन्छ ।। ३७ ।।
दुःखोदर्केषु कामेषु जातनिर्वेद आत्मवान् ।
अजिज्ञासितमद्धर्मो गुरुं मुनिमुपाव्रजेत् ।। ३८ ।।
नेपाली भावानुवादः विषयभोगहरू दुःखदायी छन् भन्ने बुझेर विरक्त भएको तर मेरो भागवत धर्म नजानेको व्यक्तिले मुनि स्वरूप गुरुको शरणमा जानुपर्छ ।। ३८ ।।
तावत् परिचरेद् भक्तः श्रद्धावाननसूयकः ।
यावद् ब्रह्म विजानीयान्मामेव गुरुमादृतः ।। ३९ ।।
नेपाली भावानुवादः जबसम्म ब्रह्मज्ञान प्राप्त हुँदैन, तबसम्म श्रद्धापूर्वक गुरुलाई मेरै स्वरूप सम्झेर सेवा गरोस् ।। ३९ ।।
यस्त्वसंयतषड्वर्गः प्रचण्डेन्द्रियसारथिः ।
ज्ञानवैराग्यरहित स्त्रिदण्डमुपजीवति ।। ४० ।।
सुरानात्मानमात्मस्थं निन्ह्नुते मां च धर्महा ।
अविपक्वकषायोऽस्मादमुष्माच्च विहीयते ।। ४१ ।।
नेपाली भावानुवादः जसले आफ्ना इन्द्रियहरूलाई जितेको छैन, जसको बुद्धि विषयहरूमा फसेको छ र जो ज्ञान-वैराग्य बिना नै केवल पेट पाल्न सन्न्यासी बन्छ, त्यस्तो व्यक्तिले देवता, आफू र आफ्नो हृदयमा रहेका म परमात्मालाई धोका दिइरहेको हुन्छ। ऊ यस लोक र परलोक दुवैबाट भ्रष्ट हुन्छ ।। ४०-४१ ।।
भिक्षोर्धर्मः शमोऽहिंसा तप ईक्षा वनौकसः ।
गृहिणो भूतरक्षेज्या द्विजस्याचार्यसेवनम् ।। ४२ ।।
नेपाली भावानुवादः सन्न्यासीको मुख्य धर्म शान्ति र अहिंसा हो। वानप्रस्थीको धर्म तपस्या र आत्म-अन्वेषण हो। गृहस्थको धर्म प्राणीको रक्षा र यज्ञ हो भने ब्रह्मचारीको मुख्य धर्म गुरुको सेवा हो ।। ४२ ।।
ब्रह्मचर्यं तपः शौचं सन्तोषो भूतसौहृदम् ।
गृहस्थस्याप्यृतौ गन्तुः सर्वेषां मदुपासनम् ।। ४३ ।।
नेपाली भावानुवादः गृहस्थले पनि ऋतुकालमा मात्र पत्नीगमन गर्नु ब्रह्मचर्य नै हो। पवित्रता, सन्तोष र प्राणीमा दया राख्नुका साथै मेरो उपासना गर्नु सबैको साझा धर्म हो ।। ४३ ।।
इति मां यः स्वधर्मेण भजन् नित्यमनन्यभाक् ।
सर्वभूतषु मद्भावो मद्भक्तिं विन्दते दृढाम् ।। ४४ ।।
नेपाली भावानुवादः जसले आफ्नो धर्ममा रहेर अनन्य भावले मलाई भज्छ र सबै प्राणीमा मेरो स्वरूप देख्छ, उसले मप्रतिको दृढ भक्ति प्राप्त गर्दछ ।। ४४ ।।
भक्त्योद्धवानपायिन्या सर्वलोकमहेश्वरम् ।
सर्वोत्पत्त्यप्ययं ब्रह्म कारणं मोपयाति सः ।। ४५ ।।
नेपाली भावानुवादः हे उद्धव! यस्तो अविचल भक्तिद्वारा त्यो भक्तले सम्पूर्ण लोकको महेश्वर तथा सृष्टि र प्रलयको कारण स्वरूप म परब्रह्मलाई प्राप्त गर्दछ ।। ४५ ।।
इति स्वधर्मनिर्णिक्तसत्त्वो निज्ञातमद्गतिः ।
ज्ञानविज्ञानसम्पन्नो नचिरात् समुपैति माम् ।। ४६ ।।
नेपाली भावानुवादः यसरी आफ्नो धर्म पालना गरेर चित्त शुद्ध भएको र मेरो रहस्य बुझेको ज्ञानी साधक चाँडै नै मलाई प्राप्त गर्न सफल हुन्छ ।। ४६ ।।
वर्णाश्रमवतां धर्म एष आचारलक्षणः ।
स एव मद्भक्तियुतो निःश्रेयसकरः परः ।। ४७ ।।
नेपाली भावानुवादः वर्णाश्रममा रहनेहरूका लागि यो आचार रूप धर्म हो। यदि यो भक्तिपूर्वक पालना गरियो भने यसले परम कल्याण (मोक्ष) प्रदान गर्दछ ।। ४७ ।।
एतत्तेऽभिहितं साधो भवान् पृच्छति यच्च माम् ।
यथा स्वधर्मसंयुक्तो भक्तो मां समियात् परम् ।। ४८ ।।
नेपाली भावानुवादः हे साधु उद्धव! तिमीले मलाई जे सोधेका थियौ, त्यो धर्मको रहस्य मैले तिमीलाई बताएँ। यसरी आफ्नो धर्ममा रहने भक्तले म परमेश्वरलाई सहजै प्राप्त गर्दछ ।। ४८ ।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको एघारौँ स्कन्ध अन्तर्गत अठारौँ अध्यायमा भगवान् श्रीकृष्णले उद्धवलाई वानप्रस्थ र सन्न्यास आश्रमका नियमहरूको विस्तृत उपदेश दिनुभएको छ। गृहस्थाश्रममा कर्तव्य पूरा गरिसकेपछि आयुको तेस्रो भागमा मानिसले वानप्रस्थ आश्रम स्वीकार गर्नुपर्छ। यसमा पत्नीलाई छोराहरूको जिम्मा लगाउने वा साथै लिएर वन जाने विकल्प दिइएको छ। वानप्रस्थीले वनमा कन्दमूल खाएर र रुखका बोक्रा वा मृगचर्म लगाएर बस्नुपर्छ। उसले नङ र कपाल नकाट्ने तथा भुइँमा सुत्ने जस्ता कठिन नियम पालना गर्नुपर्छ। गर्मीमा पञ्चाग्नि ताप्ने र ठिहीमा घाँटीसम्म पानीमा डुबेर तपस्या गर्ने विधान छ। वानप्रस्थको मुख्य उद्देश्य शरीरलाई तपस्याद्वारा शुद्ध गरी ईश्वरमा केन्द्रित गर्नु हो। यदि शरीर शिथिल भएर नियम पालना गर्न नसक्ने भएमा अग्निलाई आत्मामा विलीन गरी देह त्याग गर्ने अनुमति छ। तर यदि पूर्ण वैराग्य उत्पन्न भएमा वानप्रस्थ पछि सन्न्यास आश्रममा प्रवेश गर्नुपर्छ। सन्न्यासीले आफ्नो सबै सम्पत्ति दान गरेर मात्र घरबाट निस्कनुपर्छ। सन्न्यास लिँदा देवताहरूले अनेक विघ्न पुर्याउने हुनाले साधक सचेत रहनुपर्छ। सन्न्यासीका लागि कौपीन, दण्ड र भिक्षापात्र बाहेक अन्य सङ्ग्रह वर्जित छ। उसले जहिल्यै मौन रहने, इन्द्रिय जित्ने र सबै प्राणीमा समान दृष्टि राख्ने अभ्यास गर्नुपर्छ। सन्न्यासीले सात घरसम्म मात्र भिक्षा माग्ने र जे प्राप्त हुन्छ त्यसैमा सन्तुष्ट रहने नियम छ। उसले एकान्तमा बसेर 'म र परमात्मा' बीचको अभेद चिन्तन गर्नुपर्छ। सन्न्यासीले कुनै पनि आश्रमको बाह्य चिह्न वा शास्त्रीय विधिमा नबाँधिएर स्वच्छन्द विचरन गर्न सक्छ। उसको व्यवहार बालक, जड वा उन्मत्त जस्तो देखिए पनि भित्र ऊ पूर्ण ज्ञानी हुन्छ। कसैको अपमान नगर्नु र निन्दा सहेर बस्नु सन्न्यासीको आभूषण हो। भगवान्ले सन्न्यासीलाई ब्रह्मचारी र वानप्रस्थीको आश्रमबाट भिक्षा लिनु उत्तम भन्नुभएको छ। शरीर रक्षाका लागि मात्र भोजन गर्ने र बाँकी समय तत्त्व चिन्तनमा लगाउने सन्न्यासी नै वास्तविक मुक्त पुरुष हो। गुरुको सेवा र भक्ति बिना ब्रह्मज्ञान सम्भव नहुने कुरा पनि यहाँ स्पष्ट पारिएको छ। केवल बाह्य भेष धारण गरेर पेट पाल्न सन्न्यासी बन्नेलाई भगवान्ले 'धर्मघाती' भन्नुभएको छ। गृहस्थले पनि समय अनुसारको धर्म पालना गर्दै ईश्वरको उपासना गर्नुपर्छ। अन्ततः सबै वर्ण र आश्रमको लक्ष्य भनेको अहङ्कार त्यागेर म परमात्माको अनन्य भक्ति गर्नु नै हो। यसरी स्वधर्ममा टिकेर साधना गर्ने व्यक्तिले वैकुण्ठको परम धाम प्राप्त गर्दछ। यो अध्यायले मानिसलाई अनुशासित र आध्यात्मिक जीवनको मार्ग देखाउँछ। श्रीकृष्णका यी उपदेशहरू उद्धवतर्फ लक्षित भए पनि सम्पूर्ण मानव जातिका लागि उपयोगी छन्।
दार्शनिक पक्ष
यस अध्यायको दर्शनले जीवनको नश्वरता र आत्माको अमरतामाथि जोड दिएको छ। सन्न्यासको अर्थ बाह्य त्याग मात्र नभएर इन्द्रिय र मनको पूर्ण निग्रह हो भन्ने त्रिदण्डको अवधारणाले स्पष्ट पार्छ। 'म र ईश्वर' बीचको भेद मेटिनु नै ब्रह्मज्ञानको चरमोत्कर्ष हो। इन्द्रियहरूको विषयतर्फको धावन नै बन्धन हो र तिनको संयम नै मोक्ष हो भन्ने दार्शनिक सार यहाँ छ। एउटै चन्द्रमा धेरै भाँडामा देखिए झैँ एउटै आत्मा धेरै शरीरमा छ भन्नुले अद्वैत दर्शनलाई पुष्टि गर्छ। जीवनलाई 'सपना' र संसारलाई 'माया' को रूपमा हेर्नुले साधकलाई अनासक्त हुन प्रेरित गर्छ। दैवको अधीनमा रहेका सुख-दुःखमा समभाव राख्नु नै बुद्धिमानी हो। 'लीलापूर्वक' नियम पालना गर्नुले कर्मकाण्डको बोझभन्दा सहज योगको महत्ता दर्शाउँछ। अहङ्कार (म) र ममता (मेरो) को त्याग नै सबै आध्यात्मिक समस्याको समाधान हो। अन्ततः ज्ञान र वैराग्यको आधारमा गरिने अनन्य भक्ति नै परमात्मा प्राप्तिको सबैभन्दा सरल र श्रेष्ठ मार्ग हो।
No comments:
Post a Comment