श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः – षष्ठोऽध्यायः
मैत्रेय उवाच –(अनुष्टुप्)अथ देवगणाः सर्वे रुद्रानीकैः पराजिताः ।शूलपट्टिशनिस्त्रिंश गदापरिघमुद्गरैः ॥ १ ॥सञ्छिन्नभिन्नसर्वाङ्गाः सर्त्विक्सभ्या भयाकुलाः ।स्वयम्भुवे नमस्कृत्य कार्त्स्न्येनैतन् न्यवेदयन् ॥ २ ॥नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयो— विदुरजी! यस प्रकार जब रुद्रका पार्षदहरूले सबै देवताहरूलाई पराजित गरे, तब उनीहरूका अङ्गहरू त्रिशूल, पट्टिस, खड्ग, गदा, परिघ र मुद्गर आदि शस्त्रहरूले छिन्नभिन्न भए। त्यसपछि ऋत्विजहरूसहित ती भयाकुल देवताहरूले ब्रह्माजीलाई नमस्कार गरी सबै वृत्तान्त विस्तारपूर्वक सुनाउनुभयो ।।१-२।। उपलभ्य पुरैवैतद् भगवान् अब्जसम्भवः । नारायणश्च विश्वात्मा न कस्याध्वरमीयतुः ॥ ३ ॥नेपाली भावानुवादः भगवान् ब्रह्मा र सर्वान्तर्यामी नारायणले यस्तो अनिष्ट हुने कुरा पहिले नै जान्नुभएको थियो, त्यसैले उहाँहरू दक्षको यज्ञमा जानुभएको थिएन ।।३।। तदाकर्ण्य विभुः प्राह तेजीयसि कृतागसि । क्षेमाय तत्र सा भूयात् नन्न प्रायेण बुभूषताम् ॥ ४ ॥नेपाली भावानुवादः देवताहरूबाट सबै कुरा सुनेपछि ब्रह्माजीले भन्नुभयो— "हे देवताहरू! जब कुनै अत्यन्त तेजस्वी पुरुषको अपराध गरिन्छ, तब त्यसको बदला लिनाले कसैको पनि भलो हुँदैन" ।।४।। (इंद्रवज्रा) अथापि यूयं कृतकिल्बिषा भवं ये बर्हिषो भागभाजं परादुः ।प्रसादयध्वं परिशुद्धचेतसा क्षिप्रप्रसादं प्रगृहीताङ्घ्रिपद्मम् ॥ ५ ॥नेपाली भावानुवादः तिमीहरूले यज्ञमा भगवान् शङ्करलाई पाउनुपर्ने भाग नदिएर उहाँप्रति ठुलो अपराध गरेका छौ। तैपनि भगवान् शङ्कर शीघ्र प्रसन्न हुनुहुन्छ; त्यसैले अब तिमीहरूले निर्मल हृदयले उहाँको चरणकमल समातेर उहाँलाई प्रसन्न पार ।।५।। आशासाना जीवितमध्वरस्य लोकः सपालः कुपिते न यस्मिन् ।तमाशु देवं प्रियया विहीनं क्षमापयध्वं हृदि विद्धं दुरुक्तैः ॥ ६ ॥नेपाली भावानुवादः दक्षका कटु वचनले उहाँको हृदय पहिले नै बिझेको थियो, त्यसमाथि प्यारी सतीको वियोग भयो। यदि तिमीहरू यज्ञ पूर्ण भएको हेर्न चाहन्छौ भने छिट्टै उहाँसँग क्षमा माग, किनकि उहाँ क्रुद्ध हुँदा लोकपालसहित कसैको पनि रक्षा हुन सक्दैन ।।६।। नाहं न यज्ञो न च यूयमन्ये ये देहभाजो मुनयश्च तत्त्वम् ।विदुः प्रमाणं बलवीर्ययोर्वा यस्यात्मतन्त्रस्य क उपायं विधित्सेत् ॥ ७ ॥नेपाली भावानुवादः भगवान् रुद्र परम स्वतन्त्र हुनुहुन्छ। उहाँको तत्त्व, शक्ति र सामर्थ्यका बारेमा न कुनै ऋषिमुनि र देवता जान्दछन्, न यज्ञस्वरूप इन्द्र वा म स्वयं नै जान्दछु। यस्तो अवस्थामा उहाँलाई शान्त पार्ने उपाय अरू कसले गर्न सक्छ र? ।।७।। स इत्थमादिश्य सुरानजस्तैः समन्वितः पितृभिः सप्रजेशैः ।ययौ स्वधिष्ण्यान्निलयं पुरद्विषः कैलासमद्रिप्रवरं प्रियं प्रभोः ॥ ८ ॥नेपाली भावानुवादः यति भनेर ब्रह्माजी देवता, पितृ र प्रजापतिहरूलाई साथमा लिई आफ्नो लोकबाट पर्वतश्रेष्ठ कैलाशतिर प्रस्थान गर्नुभयो, जुन भगवान् शङ्करको प्रिय धाम हो ।।८।। (अनुष्टुप्) जन्मौषधितपोमन्त्र योगसिद्धैर्नरेतरैः ।जुष्टं किन्नरगन्धर्वैः अप्सरोभिर्वृतं सदा ॥ ९ ॥नेपाली भावानुवादः त्यस कैलाशमा जन्मजात औषधि, तप, मन्त्र र योगद्वारा सिद्धि प्राप्त गरेका देवयोनीका प्राणीहरू नित्य निवास गर्छन्। त्यहाँ किन्नर, गन्धर्व र अप्सराहरू सधैँ रमाइरहन्छन् ।।९।। नानामणिमयैः शृङ्गैः नानाधातुविचित्रितैः । नानाद्रुमलतागुल्मैः नानामृगगणावृतैः ॥ १० ॥नेपाली भावानुवादः जहाँ मणिमय शिखरहरू छन्, जो अनेक धातुहरूले गर्दा रङ्गीचङ्गी देखिन्छन्। त्यो पर्वत विभिन्न प्रकारका रुख, लहरा र बुट्यानहरूले ढाकिएको छ र त्यहाँ अनेकौँ मृगका समूहहरू विचरण गर्छन् ।।१०।। नानामलप्रस्रवणैः नानाकन्दरसानुभिः । रमणं विहरन्तीनां रमणैः सिद्धयोषिताम् ॥ ११ ॥नेपाली भावानुवादः त्यहाँका निर्मल झरना, गहिरा कन्दरा र अग्ला टाकुराहरूमा सिद्ध पत्नीहरू आफ्ना पतिहरूसँग सधैँ विहार गरिरहन्छन् ।।११।। मयूरकेकाभिरुतं मदान्धालिविमूर्च्छितम् । प्लावितै रक्तकण्ठानां कूजितैश्च पतत्त्रिणाम् ॥ १२ ॥नेपाली भावानुवादः त्यो पर्वत मयूरको मधुर बोली, भमराहरूको गुञ्जन र कोइली लगायत अन्य चराचुरुङ्गीहरूको कलरवले गुञ्जायमान थियो ।।१२।। आह्वयन्तं इवोद्धस्तैः द्विजान् कामदुघैर्द्रुमैः । व्रजन्तमिव मातङ्गैः गृणन्तमिव निर्झरैः ॥ १३ ॥नेपाली भावानुवादः त्यहाँका कल्पवृक्षहरू आफ्ना हाँगाहरू हल्लाउँदै मानौँ चराहरूलाई बोलाइरहे झैँ लाग्दथे। हात्तीहरू हिँडिरहेको देख्दा पहाड नै हिँडेको जस्तो र झरनाको आवाजले पहाड नै बोलिरहेको जस्तो भान हुन्थ्यो ।।१३।। मन्दारैः पारिजातैश्च सरलैश्चोपशोभितम् ।तमालैः शालतालैश्च कोविदारासनार्जुनैः ॥ १४ ॥नेपाली भावानुवादः मन्दार, पारिजात, सल्ला, तमाल, साल, ताड, कचनार र अर्जुन जस्ता वृक्षहरूले त्यो पर्वत सुशोभित थियो ।।१४।। चूतैः कदम्बैर्नीपैश्च नागपुन्नाग चम्पकैः । पाटलाशोकबकुलैः कुन्दैः कुरबकैरपि ॥ १५ ॥स्वर्णार्णशतपत्रैश्च वररेणुकजातिभिः ।कुब्जकैर्मल्लिकाभिश्च माधवीभिश्च मण्डितम् ॥ १६ ॥नेपाली भावानुवादः आँप, कदम्ब, चम्पा, गुलाब, अशोक र चमेलीका साथै सुनौलो कमल र माधवीका लहराहरूले त्यहाँको शोभा बढाएका थिए ।।१५-१६।। पनसोदुम्बराश्वत्थ प्लक्ष न्यग्रोधहिङ्गुभिः । भूर्जैरोषधिभिः पूगै राजपूगैश्च जम्बुभिः ॥ १७ ॥खर्जूराम्रातकाम्राद्यैः प्रियाल मधुकेङ्गुदैः ।द्रुमजातिभिरन्यैश्च राजितं वेणुकीचकैः ॥ १८ ॥नेपाली भावानुवादः कटहर, पीपल, बर, भोजपत्र, केरा, सुपारी, जामुन, खजुर र अम्बा लगायत थरिथरिका फलफूलका वृक्ष तथा बाँसका झाङहरूले त्यो पर्वत अत्यन्त मनोहर देखिन्थ्यो ।।१७-१८।। कुमुदोत्पलकह्लार शतपत्रवनर्द्धिभिः । नलिनीषु कलं कूजत् खगवृन्दोपशोभितम् ॥ १९ ॥नेपाली भावानुवादः त्यहाँका सरोवरहरूमा फुलेका विभिन्न जातिका कमलको सुगन्धले मख्ख भएर चराचुरुङ्गीहरू मधुर स्वरमा गाइरहेका हुन्थे ।।१९।। मृगैः शाखामृगैः क्रोडैः मृगेन्द्रैः ऋक्षशल्यकैः ।गवयैः शरभैर्व्याघ्रै रुरुभिर्महिषादिभिः ॥ २० ॥कर्णान्त्रैकपदाश्वास्यैः निर्जुष्टं वृकनाभिभिः ।कदलीखण्डसंरुद्ध नलिनीपुलिनश्रियम् ॥ २१ ॥पर्यस्तं नन्दया सत्याः स्नानपुण्यतरोदया ।विलोक्य भूतेशगिरिं विबुधा विस्मयं ययुः ॥ २२ ॥नेपाली भावानुवादः मृग, बाँदर, बँदेल, सिंह, भालु, बाघ र कस्तुरी मृगहरू त्यहाँ निर्धक्क चरिरहन्थे। त्यहाँ नन्दा नामकी नदी बग्दथिन्, जसको जल देवी सतीको स्नानले गर्दा अझ पवित्र भएको थियो। भगवान् भूतनाथको यस्तो रमणीय निवासस्थान देखेर देवताहरू आश्चर्यचकित भए ।।२०-२२।। ददृशुस्तत्र ते रम्यां अलकां नाम वै पुरीम् । वनं सौगन्धिकं चापि यत्र तन्नाम पङ्कजम् ॥ २३ ॥नेपाली भावानुवादः उनीहरूले त्यहाँ अलकापुरी र सौगन्धिक नामको वन देखे, जहाँ जताततै सुगन्धित कमलहरू फुलेका थिए ।।२३।। नन्दा च अलकनन्दा च सरितौ बाह्यतः पुरः । तीर्थपादपदाम्भोज रजसातीव पावने ॥ २४ ॥नेपाली भावानुवादः त्यस नगरको बाहिर नन्दा र अलकनन्दा नदीहरू बहन्छन्, जो भगवान् विष्णुको चरणरजले अत्यन्त पवित्र भएका छन् ।।२४।। ययोः सुरस्त्रियः क्षत्तः अवरुह्य स्वधिष्ण्यतः । क्रीडन्ति पुंसः सिञ्चन्त्यो विगाह्य रतिकर्शिताः ॥ २५ ॥नेपाली भावानुवादः विदुरजी! ती नदीहरूमा देवाङ्गनाहरू जलक्रीडा गर्दछन् र आफ्ना प्रियतमहरूलाई पानी छ्यापेर रमाइलो गर्छन् ।।२५।। ययोः तत्स्नानविभ्रष्ट नवकुङ्कुमपिञ्जरम् ।वितृषोऽपि पिबन्त्यम्भः पाययन्तो गजा गजीः ॥ २६ ॥नेपाली भावानुवादः ती सुन्दरीहरूको स्नानले गर्दा नदीको जल कुङ्कुम जस्तै पहेंलो हुन्थ्यो। त्यो सुगन्धित जललाई हात्तीहरूले तिर्खा नलाग्दा पनि पिएर आफ्नी हस्तिनीलाई पिलाउँथे ।।२६।। तारहेम महारत्न विमानशतसङ्कुलाम् ।जुष्टां पुण्यजनस्त्रीभिः यथा खं सतडिद्घनम् ॥ २७ ॥नेपाली भावानुवादः अलकापुरी सुन, चाँदी र रत्नजडित विमानहरूले भरिएको थियो। यक्षका पत्नीहरूले गर्दा त्यो नगर बिजुली चम्किरहेको बादल जस्तै चम्किलो देखिन्थ्यो ।।२७।। हित्वा यक्षेश्वरपुरीं वनं सौगन्धिकं च तत् । द्रुमैः कामदुघैर्हृद्यं चित्रमाल्यफलच्छदैः ॥ २८ ॥नेपाली भावानुवादः कुवेरको राजधानी अलकापुरीलाई छोडेर देवताहरू सौगन्धिक वनमा पुगे। त्यो वन मनमोहक फलफूल र कल्पवृक्षहरूले सजिएको थियो ।।२८।। रक्तकण्ठखगानीक स्वरमण्डितषट्पदम् ।कलहंसकुलप्रेष्ठं खरदण्डजलाशयम् ॥ २९ ॥नेपाली भावानुवादः त्यहाँ कोइलीको स्वर र भमराहरूको गुञ्जन सुनिन्थ्यो। राजहाँसहरू रमाउने कमलका सरोवरहरूले त्यो वन सुशोभित थियो ।।२९।। वनकुञ्जर सङ्घृष्ट हरिचन्दनवायुना ।अधि पुण्यजनस्त्रीणां मुहुरुन्मथयन्मनः ॥ ३० ॥नेपाली भावानुवादः जङ्गली हात्तीहरूले रगडेको चन्दनको सुगन्ध बोकेर चल्ने हावाले यक्षपत्नीहरूको मनलाई मोहित बनाउँथ्यो ।।३०।। वैदूर्यकृतसोपाना वाप्य उत्पलमालिनीः ।प्राप्तं किम्पुरुषैर्दृष्ट्वा ते आराद् ददृशुर्वटम् ॥ ३१ ॥नेपाली भावानुवादः वैदूर्यमणिले बनेका सिँढी भएका पोखरीहरू र अनेकौँ किम्पुरुषहरू देख्दै अगाडि बढ्दा देवताहरूले एउटा विशाल वटवृक्ष (बरको रुख) देखे ।।३१।। स योजनशतोत्सेधः पादोनविटपायतः ।पर्यक्कृताचलच्छायो निर्नीडस्तापवर्जितः ॥ ३२ ॥नेपाली भावानुवादः त्यो वृक्ष सय योजन अग्लो र यसका हाँगाहरू पचहत्तर योजनसम्म फैलिएका थिए। यसको शीतल छायाँले गर्दा त्यहाँ कहिल्यै गर्मीको कष्ट हुँदैनथ्यो र त्यसमा कुनै चराको गुँड समेत थिएन ।।३२।।
तस्मिन् महायोगमये मुमुक्षुशरणे सुराः ।ददृशुः शिवमासीनं त्यक्तामर्षमिवान्तकम् ॥ ३३ ॥नेपाली भावानुवादः मुमुक्षुहरूको आश्रयस्थल त्यस वृक्षमुनि देवताहरूले शान्त मुद्रामा विराजमान भगवान् शिवलाई देखे। उहाँ साक्षात् क्रोधहीन काल जस्तै देखिनुहुन्थ्यो ।।३३।। सनन्दनाद्यैर्महासिद्धैः शान्तैः संशान्तविग्रहम् ।उपास्यमानं सख्या च भर्त्रा गुह्यकरक्षसाम् ॥ ३४ ॥नेपाली भावानुवादः सनन्दनादि सिद्धहरू र आफ्ना सखा कुवेरद्वारा सेवा गरिनुभएका महादेव अत्यन्त शान्त स्वरूपमा हुनुहुन्थ्यो ।।३४।। विद्यातपोयोगपथं आस्थितं तमधीश्वरम् ।चरन्तं विश्वसुहृदं वात्सल्यात् लोकमङ्गलम् ॥ ३५ ॥नेपाली भावानुवादः विश्वका सुहृद भगवान् शङ्कर लोककल्याणका लागि विद्या, तप र योगको आचरण गरिरहनुभएको थियो ।।३५।। लिङ्गं च तापसाभीष्टं भस्मदण्डजटाजिनम् । अङ्गेन सन्ध्याभ्ररुचा चन्द्रलेखां च बिभ्रतम् ॥ ३६ ॥नेपाली भावानुवादः शरीरमा खरानी घसेका, जटा र मृगचर्म धारण गरेका तथा मस्तकमा चन्द्रकला भएका उहाँको कान्ति साँझको बादल जस्तै थियो ।।३६।। उपविष्टं दर्भमय्यां बृस्यां ब्रह्म सनातनम् । नारदाय प्रवोचन्तं पृच्छते शृण्वतां सताम् ॥ ३७ ॥नेपाली भावानुवादः कुशको आसनमा बसेर उहाँले नारदजी लगायतका साधुहरूलाई सनातन ब्रह्मको उपदेश दिइरहनुभएको थियो ।।३७।। कृत्वोरौ दक्षिणे सव्यं पादपद्मं च जानुनि ।बाहुं प्रकोष्ठेऽक्षमालां आसीनं तर्कमुद्रया ॥ ३८ ॥नेपाली भावानुवादः दाहिने तिघ्रामा देब्रे गोडा राखेर र हातमा अक्षमाला लिई उहाँ तर्कमुद्रामा विराजमान हुनुहुन्थ्यो ।।३८।। (इंद्रवज्रा)तं ब्रह्मनिर्वाणसमाधिमाश्रितं व्युपाश्रितं गिरिशं योगकक्षाम् ।सलोकपाला मुनयो मनूनां आद्यं मनुं प्राञ्जलयः प्रणेमुः ॥ ३९ ॥नेपाली भावानुवादः ब्रह्मानन्दको समाधिमा रहनुभएका सर्वश्रेष्ठ भगवान् शङ्करलाई लोकपालसहित सबैले हात जोडेर प्रणाम गरे ।।३९।। स तूपलभ्यागतमात्मयोनिं सुरासुरेशैरभिवन्दिताङ्घ्रिः ।उत्थाय चक्रे शिरसाभिवन्दन मर्हत्तमः कस्य यथैव विष्णुः ॥ ४० ॥नेपाली भावानुवादः ब्रह्माजीलाई देख्नेबित्तिकै शिवजी तुरुन्त खडा हुनुभयो र उहाँलाई शिर झुकाएर प्रणाम गर्नुभयो, जसरी वामन अवतारमा विष्णुले कश्यप ऋषिलाई प्रणाम गर्नुभएको थियो ।।४०।। तथापरे सिद्धगणा महर्षिभिः ये वै समन्तादनु नीललोहितम् ।नमस्कृतः प्राह शशाङ्कशेखरं कृतप्रणामं प्रहसन्निवात्मभूः ॥ ४१ ॥नेपाली भावानुवादः शिवजीका साथमा रहेका महर्षि र सिद्धहरूले पनि ब्रह्माजीलाई प्रणाम गरे। त्यसपछि ब्रह्माजीले हाँस्दै चन्द्रशेखर शिवलाई भन्नुभयो ।।४१।। ब्रह्मोवाच –(अनुष्टुप्)जाने त्वामीशं विश्वस्य जगतो योनिबीजयोः ।शक्तेः शिवस्य च परं यत्तद्ब्रह्मा निरन्तरम् ॥ ४२ ॥नेपाली भावानुवादः ब्रह्माजीले भन्नुभयो— "हे देव! म जान्दछु कि तपाईँ सम्पूर्ण जगत्का स्वामी हुनुहुन्छ। प्रकृति र पुरुषभन्दा परको जुन परब्रह्म छ, त्यो तपाईँ नै हुनुहुन्छ" ।।४२।। त्वमेव भगवन् एतत् शिवशक्त्योः स्वरूपयोः । विश्वं सृजसि पास्यत्सि क्रीडन् ऊर्णपटो यथा ॥ ४३ ॥नेपाली भावानुवादः माकुराले आफ्नै जाल बनाएर त्यसमा खेले जस्तै तपाईँ पनि आफ्नै शक्तिद्वारा यो संसारको सृष्टि, पालन र संहार गर्नुहुन्छ ।।४३।। (इंद्रवज्रा) त्वमेव धर्मार्थदुघाभिपत्तये दक्षेण सूत्रेण ससर्जिथाध्वरम् ।त्वयैव लोकेऽवसिताश्च सेतवो यान्ब्राह्मणाः श्रद्दधते धृतव्रताः ॥ ४४ ॥नेपाली भावानुवादः तपाईँले नै धर्म र अर्थ प्राप्तिका लागि दक्षलाई माध्यम बनाएर यज्ञको मर्यादा स्थापित गर्नुभयो। तपाईँले बनाएको वर्णाश्रमको नियम ब्राह्मणहरू श्रद्धापूर्वक पालना गर्छन् ।।४४।। त्वं कर्मणां मङ्गल मङ्गालानांकर्तुः स्वलोकं तनुषे स्वः परं वा ।अमङ्गलानां च तमिस्रमुल्बणंविपर्ययः केन तदेव कस्यचित् ॥ ४५ ॥नेपाली भावानुवादः तपाईँ शुभ कर्म गर्नेलाई स्वर्ग वा मोक्ष दिनुहुन्छ र पाप गर्नेलाई नरक पठाउनुहुन्छ। यस्तोमा कसैलाई कर्मको फल उल्टो हुनु तपाईँकै लीला हो ।।४५।। न वै सतां त्वत् चरणार्पितात्मनां भूतेषु सर्वेष्वभिपश्यतां तव ।भूतानि चात्मन्यपृथग्दिदृक्षतां प्रायेण रोषोऽभिभवेद्यथा पशुम् ॥ ४६ ॥नेपाली भावानुवादः तपाईँका भक्तहरू, जसले सबैमा तपाईँकै स्वरूप देख्छन्, उनीहरूमाथि कहिल्यै क्रोधले अधिकार जमाउन सक्दैन। क्रोध त केवल भेदभाव राख्ने पशुतुल्य मानिसहरूमा मात्र हुन्छ ।।४६।। पृथग्धियः कर्मदृशो दुराशयाः परोदयेनार्पितहृद्रुजोऽनिशम् ।परान् दुरुक्तैर्वितुदन्त्यरुन्तुदाः तान्मावधीद् दैववधान् भवद्विधः ॥ ४७ ॥नेपाली भावानुवादः जो भेदबुद्धि राख्छन् र अरूको उन्नति देखेर जल्छन्, उनीहरू त विधाताबाट पहिले नै मारिइसकेका हुन्छन्; त्यसैले तपाईँ जस्ता महात्माले उनीहरूलाई दण्ड दिनु उचित हुँदैन ।।४७।। यस्मिन्यदा पुष्करनाभमायया दुरन्तया स्पृष्टधियः पृथग्दृशः ।कुर्वन्ति तत्र ह्यनुकम्पया कृपां न साधवो दैवबलात्कृते क्रमम् ॥ ४८ ॥नेपाली भावानुवादः भगवान् विष्णुको मायाले मोहित भएका मानिसहरूले गल्ती गरे तापनि साधु पुरुषहरूले उनीहरूमाथि कृपा नै गर्छन् ।।४८।। भवांस्तु पुंसः परमस्य मायया दुरन्तयास्पृष्टमतिः समस्तदृक् ।तया हतात्मस्वनुकर्मचेतः स्वनुग्रहं कर्तुमिहार्हसि प्रभो ॥ ४९ ॥नेपाली भावानुवादः प्रभु! तपाईँ सर्वज्ञ हुनुहुन्छ, त्यसैले मायाको वशमा परेका ती अज्ञानीहरूले गरेको अपराधलाई क्षमा गरी अनुग्रह गर्नुहोस् ।।४९।। कुर्वध्वरस्योद्धरणं हतस्य भोः त्वयासमाप्तस्य मनो प्रजापतेः ।न यत्र भागं तव भागिनो ददुः कुयाजिनो येन मखो निनीयते ॥ ५० ॥नेपाली भावानुवादः तपाईँ नै सबै यज्ञका मूल कारण हुनुहुन्छ। ती अज्ञानीहरूले तपाईँलाई यज्ञभाग नदिएकाले यज्ञ ध्वस्त भयो। अब तपाईँ कृपा गरेर त्यो अपूर्ण यज्ञलाई पूर्ण गराइदिनुहोस् ।।५०।। (अनुष्टुप्)जीवताद् यजमानोऽयं प्रपद्येताक्षिणी भगः ।भृगोः शम्श्रूणि रोहन्तु पूष्णो दन्ताश्च पूर्ववत् ॥ ५१ ॥नेपाली भावानुवादः यजमान दक्ष पुनः जीवित होउन्, भग देवताले आँखा पाऊन्, भृगु ऋषिको दाह्री-जुँगा पलाओस् र पूषाको दाँत पहिले जस्तै होस् ।।५१।। देवानां भग्नगात्राणां ऋत्विजां चायुधाश्मभिः । भवतानुगृहीतानां आशु मन्योऽस्त्वनातुरम् ॥ ५२ ॥नेपाली भावानुवादः रुद्रदेव! हतियार र ढुङ्गाको प्रहारबाट घाइते भएका देवता र ऋत्विजहरू तपाईँको कृपाले निको होउन् ।।५२।। एष ते रुद्र भागोऽस्तु यदुच्छिष्टोऽध्वरस्य वै ।यज्ञस्ते रुद्र भागेन कल्पतां अद्य यज्ञहन् ॥ ५३ ॥नेपाली भावानुवादः यज्ञको शेष भाग अब तपाईँकै हुनेछ। तपाईँकै भागले गर्दा यो यज्ञ पूर्णतामा पुगोस् ।।५३।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां चतुर्थस्कन्धे
रुद्रसान्त्वनं नाम षष्ठोऽध्यायः ॥ ६ ॥
रुद्रसान्त्वनं नाम षष्ठोऽध्यायः ॥ ६ ॥
यस अध्यायको सारांश कथा :
श्रीमद्भागवतको
चतुर्थ स्कन्धको छैटौँ अध्यायमा दक्षको यज्ञ विध्वंस भएपछिको परिस्थितिको मार्मिक
र सुन्दर चित्रण गरिएको छ। वीरभद्र र शिवका गणहरूले यज्ञको विनाश गरेपछि घाइते र
पराजित देवताहरू ब्रह्माजीको शरणमा पुग्छन्। ब्रह्माजीले उनीहरूलाई सम्झाउनुहुन्छ
कि भगवान् शिव जस्ता तेजस्वी पुरुषको अपमान गर्दा त्यसको परिणाम भयानक हुन्छ।
उहाँले देवताहरूलाई महादेवसँग क्षमा माग्न र उहाँलाई प्रसन्न पार्न सल्लाह
दिनुहुन्छ। त्यसपछि ब्रह्माजीको नेतृत्वमा सबै देवगणहरू भगवान् शिवको निवासस्थान
कैलाश पर्वत पुग्छन्। कैलाशको वर्णन यस अध्यायको मुख्य आकर्षण हो, जहाँ प्रकृति, वन्यजन्तु,
दिव्य वृक्षहरू र अलकापुरीको वैभवको जीवन्त चित्रण गरिएको छ। त्यहाँ
देवताहरूले एउटा विशाल वटवृक्षमुनि शान्त मुद्रामा तपस्या गरिरहनुभएका र
साधुहरूलाई उपदेश दिइरहनुभएका भगवान् शिवको दर्शन पाउँछन्। शिवजीले ब्रह्माजीलाई
आदरपूर्वक स्वागत गर्नुहुन्छ। ब्रह्माजीले शिवजीको स्तुति गर्दै भन्नुहुन्छ कि
तपाईँ नै यो संसारको सृष्टिकर्ता र संहारकर्ता हुनुहुन्छ। ब्रह्माजीले दक्षको
अज्ञानतालाई क्षमा गरिदिन र विध्वस्त भएको यज्ञलाई पुनः सुचारु गर्नका लागि
शिवजीसँग प्रार्थना गर्नुहुन्छ। उहाँले घाइते भएका देवताहरूको उपचार र दक्षको
पुनर्जीवनको माग गर्नुहुन्छ। यो अध्यायले अहङ्कारको नाशपछि कसरी विनम्रतापूर्वक
ईश्वरको शरणमा जानुपर्छ भन्ने कुरा सिकाउँछ। अन्त्यमा शिवजीको भाग स्वीकार गरी
यज्ञ पूर्ण गराउने सहमतिसँगै यो अध्याय टुङ्गिन्छ।
यस अध्यायको दार्शनिकपक्ष :
यस
अध्यायले क्षमा, शरणागति र ईश्वरको
स्वरूपका बारेमा गहिरो दार्शनिक सन्देश दिन्छ। ब्रह्माजीले शिवजीलाई 'विश्वको बीज' र 'परब्रह्म'
को रूपमा स्वीकार गर्नुले शिवको सर्वोच्चतालाई पुष्टि गर्दछ। यसले
सिकाउँछ कि 'भेदबुद्धि' (हामी र उनीहरू
भन्ने सोच) नै सबै दुःखको कारण हो र साधु पुरुषहरूले यस्तो भेदबुद्धि राख्दैनन्।
ब्रह्माजीको तर्क छ कि जो पहिले नै आफ्नो कर्म र अज्ञानताले मारिइसकेका छन्,
उनीहरूलाई थप दण्ड दिनु आवश्यक छैन, बरु
उनीहरूमाथि कृपा गर्नुपर्छ। कैलाशको प्राकृतिक सुन्दरताले शान्तिको प्रतीकका रूपमा
आध्यात्मिक वातावरणलाई झल्काउँछ। शिवजीको 'तर्कमुद्रा'
मा उपदेश दिनुले ज्ञानको प्रसारलाई महत्त्व दिन्छ। यस अध्यायले
कर्मकाण्ड (यज्ञ) भन्दा पनि श्रद्धा र ईश्वरप्रतिको समर्पण ठुलो हो भन्ने कुरालाई
दार्शनिक रूपमा व्याख्या गरेको छ। जतिसुकै ठुलो अपराध गरे पनि यदि साँचो मनले
ईश्वरको शरणमा गइयो भने क्षमा पाइन्छ भन्ने शरणागति सिद्धान्त यसमा मुख्य रूपमा
देखिन्छ।