श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – एकचत्वारिंशोऽध्यायः
शुक उवाच –
स्तुवतस्तस्य भगवान् दर्शयित्वा जले वपुः ।
भूयः समाहरत् कृष्णो नटो नाट्यमिवात्मनः ॥ १ ॥
नेपाली भावानुवादः श्री शुकदेवजीले भन्नुभयो– अक्रूरले यसरी स्तुति गरिरहेको अवस्थामा, रङ्गमञ्चमा कुशल नटले झैँ अभिनय गर्ने भगवान् श्रीकृष्णले जलभित्र आफ्नो दिव्यरूपको दर्शन गराउनुभयो र पुनः त्यसलाई लुकाउनुभयो ।। १ ।।
सोऽपि चान्तर्हितं वीक्ष्य जलादुन्मज्ज्य सत्वरः ।
कृत्वा चावश्यकं सर्वं विस्मितो रथमागमत् ॥ २ ॥
नेपाली भावानुवादः अक्रूरले भगवान्को त्यो दिव्यरूप अन्तर्धान भएको देखेर जलबाट तुरुन्त बाहिर निस्किए अनि आफ्नो मध्याह्नको नित्यकर्म सकेर आश्चर्यचकित हुँदै पुनः रथमा आए ।। २ ।।
तमपृच्छद् हृषीकेशः किं ते दृष्टमिवाद्भुतम् ।
भूमौ वियति तोये वा तथा त्वां लक्षयामहे ॥ ३ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णले अक्रूरलाई सोध्नुभयो– हे काका! हजुरले पृथ्वी, आकाश वा जलमा कुनै अद्भुत दृश्य देख्नुभयो कि के हो? हजुरको अनुहार हेर्दा हामीलाई यस्तै लागिरहेको छ ।। ३ ।।
अक्रूर उवाच –
अद्भुतानीह यावन्ति भूमौ वियति वा जले ।
त्वयि विश्वात्मके तानि किं मेऽदृष्टं विपश्यतः ॥ ४ ॥
नेपाली भावानुवादः अक्रूरले भने– हे प्रभु! पृथ्वी, आकाश वा जलमा जति पनि अद्भुत पदार्थहरू छन्, ती सबै विश्वात्मा हजुरभित्रै विद्यमान छन्। हजुरलाई नै देखिरहेको मैले अरू के देख्न बाँकी रह्यो र? ।। ४ ।।
यत्राद्भुतानि सर्वाणि भूमौ वियति वा जले ।
तं त्वानुपश्यतो ब्रह्मन् किं मे दृष्टमिहाद्भुतम् ॥ ५ ॥
नेपाली भावानुवादः हे ब्रह्मन्! पृथ्वी, जल वा आकाशमा भएका सम्पूर्ण अद्भुत वस्तुहरूका आश्रयस्वरूप हजुरलाई नै देखिरहेपछि, मैले यहाँ अरू कुरा के देख्नु र? ।। ५ ।।
इत्युक्त्वा चोदयामास स्यन्दनं गान्दिनीसुतः ।
मथुरामनयद् रामं कृष्णं चैव दिनात्यये ॥ ६ ॥
नेपाली भावानुवादः गान्दिनीपुत्र अक्रूरले यति भनेर रथ हाँके र दिन ढल्न लाग्दा भगवान् श्रीकृष्ण र बलरामलाई लिएर मथुरा पुगे ।। ६ ।।
मार्गे ग्रामजना राजंस्तत्र तत्रोपसङ्गताः ।
वरुदेवसुतौ वीक्ष्य प्रीता दृष्टिं न चाददुः ॥ ७ ॥
नेपाली भावानुवादः हे राजन् परीक्षित! बाटोमा गाउँका मानिसहरू ठाउँ–ठाउँमा जम्मा भए र वसुदेवपुत्र श्रीकृष्ण र बलरामलाई देखेर यति प्रसन्न भए कि उनीहरूले आफ्ना आँखा अन्त कतै फेर्नै सकेनन् ।। ७ ।।
तावद् व्रजौकसस्तत्र नन्दगोपादयोऽग्रतः ।
पुरोपवनमासाद्य प्रतीक्षन्तोऽवतस्थिरे ॥ ८ ॥
नेपाली भावानुवादः अक्रूर पुग्नुभन्दा पहिले नै नन्दबाबा आदि व्रजवासीहरू मथुराको बाहिरी बगैँचामा पुगेर प्रतीक्षा गरिरहेका थिए ।। ८ ।।
तान् समेत्याह भगवानक्रूरं जगदीश्वरः ।
गृहीत्वा पाणिना पाणिं प्रश्रितं प्रहसन्निव ॥ ९ ॥
नेपाली भावानुवादः उनीहरूकहाँ पुगेपछि जगदीश्वर भगवान् श्रीकृष्णले अक्रूरको हात समातेर मधुर मुस्कानका साथ विनम्रतापूर्वक भन्नुभयो ।। ९ ।।
भवान् प्रविशतामग्रे सहयानः पुरीं गृहम् ।
वयं त्वइहावमुच्याथ ततो द्रक्ष्यामहे पुरीम् ॥ १० ॥
नेपाली भावानुवादः हे काका! हजुर रथ लिएर पहिले नगरभित्र आफ्नो घरमा जानुहोस्, हामी भने यहाँ ओर्लेर केही बेरपछि नगर हेर्न आउनेछौँ ।। १० ।।
अक्रूर उवाच –
नाहं भवद्भ्यां रहितः प्रवेक्ष्ये मथुरां प्रभो ।
त्यक्तुं नार्हसि मां नाथ भक्तं ते भक्तवत्सल ॥ ११ ॥
नेपाली भावानुवादः अक्रूरले भने– हे प्रभु! हजुरहरू बिना म एक्लै मथुरा प्रवेश गर्दिनँ। हे नाथ! हे भक्तवत्सल! म हजुरको भक्त हुँ, मलाई यसरी नछोड्नुहोस् ।। ११ ।।
आगच्छ याम गेहान् नः सनाथान् कुर्वधोक्षज ।
सहाग्रजः सगोपालैः सुहृद्भिश्च सुहृत्तम ॥ १२ ॥
नेपाली भावानुवादः हे अधोक्षज! हे परम सुहृद्! हजुर दाजु बलराम, गोपहरू र साथीहरूका साथ हाम्रै घरमा पाल्नुहोस् र हामीलाई सनाथ बनाउनुहोस् ।। १२ ।।
पुनीहि पादरजसा गृहान्नो गृहमेधिनाम् ।
यच्छौचेनानुतृप्यन्ति पितरः साग्नयः सुराः ॥ १३ ॥
नेपाली भावानुवादः हजुरको चरणकमलको धुलिद्वारा हामी गृहस्थको घरलाई पवित्र पार्नुहोस्। हजुरको चरण पखालेको जल (गङ्गा) द्वारा अग्नि, देवता र पितृहरू तृप्त हुन्छन् ।। १३ ।।
अवनिज्याङ्घ्रियुगलमासीच्छ्लोक्यो बलिर्महान् ।
ऐश्वर्यमतुलं लेभे गतिं चैकान्तिनां तु या ॥ १४ ॥
नेपाली भावानुवादः हजुरको चरण पखालेर नै राजा बलि महान् र कीर्तिमान् बने। उनले अतुलनीय ऐश्वर्य मात्र होइन, अनन्य भक्तले पाउने परम गति पनि प्राप्त गरे ।। १४ ।।
आपस्तेऽङ्घ्र्यवनेजन्यस्त्रींल्लोकान् शुचयोऽपुनन् ।
शिरसाधत्त याः शर्वः स्वर्याताः सगरात्मजाः ॥ १५ ॥
नेपाली भावानुवादः हजुरको चरण पखालेको जलले तीनै लोकलाई पवित्र पार्यो, जसलाई भगवान् शिवले आफ्नो शिरमा धारण गर्नुभयो र जसको स्पर्शले सगरका छोराहरू स्वर्ग गए ।। १५ ।।
देवदेव जगन्नाथ पुण्यश्रवणकीर्तन ।
यदूत्तमोत्तमश्लोक नारायण नमोऽस्तु ते ॥ १६ ॥
नेपाली भावानुवादः हे देवाधिदेव! हे जगन्नाथ! हजुरको नाम र लीला श्रवण तथा कीर्तन मात्रले पुण्य प्राप्त हुन्छ। हे यदुकुल शिरोमणि! हे उत्तमश्लोक नारायण! हजुरलाई मेरो नमस्कार छ ।। १६ ।।
श्रीभगवानुवाच –
आयास्ये भवतो गेहमहमार्यसमन्वितः ।
यदुचक्रद्रुहं हत्वा वितरिष्ये सुहृत्प्रियम् ॥ १७ ॥
नेपाली भावानुवादः श्री भगवान्ले भन्नुभयो– हे काका! म दाजु बलरामका साथ हजुरको घरमा अवश्य आउनेछु। तर पहिले यदुवंशका द्रोही कंसलाई मारेर आफ्ना सुहृद्हरूलाई प्रसन्न तुल्याउनेछु ।। १७ ।।
शुक उवाच –
एवमुक्तो भगवता सोऽक्रूरो विमना इव ।
पुरीं प्रविष्टः कंसाय कर्मावेद्य गृहं ययौ ॥ १८ ॥
नेपाली भावानुवादः भगवान्ले यसो भनेपछि अक्रूर केही खिन्न हुँदै मथुरा प्रवेश गरे र कंसलाई सबै कुराको जानकारी गराएर आफ्नो घर गए ।। १८ ।।
अथापराह्णे भगवान् कृष्णः सङ्कर्षणान्वितः । म
थुरां प्राविशद् गोपैर्दिदृक्षुः परिवारितः ॥ १९ ॥
नेपाली भावानुवादः त्यसपछि अपराह्नको समयमा भगवान् श्रीकृष्ण बलराम र गोपहरूका साथ मथुरा नगरी हेर्ने इच्छाले नगर प्रवेश गर्नुभयो ।। १९ ।।
ददर्श तां स्फाटिकतुङ्गगोपुर–
ताम्रारकोष्ठां परिखादुरासदा–
नेपाली भावानुवादः उहाँले स्फटिकका अग्ला ढोकाहरू भएको, सुनका ठूला कपाट र तोरणहरूले सजिएको, तामा र पित्तलका कोठाहरू भएको तथा चारैतिर गहिरो खाडल (परिखा) ले घेरिएको शोभायमान मथुरा नगरी देख्नुभयो, जुन सुन्दर उद्यान र बगैँचाहरूले सुसज्जित थियो ।। २० ।।
सौवर्णशृङ्गाटकहर्म्यनिष्कुटैः
श्रेणीसभाभिर्भवनैरुपस्कृताम् ।
वैदूर्यवज्रामलनीलविद्रुमै–
जुष्टेषु जालामुखरन्ध्रकुट्टिमे–
संसिक्तरथ्यापणमार्गचत्वरां
प्रकीर्णमाल्याङ्कुरलाजतण्डुलाम् ॥ २२ ॥
नेपाली भावानुवादः सुनका चौबाटा, ठूला महल, बगैँचा र विभिन्न श्रेणीका सभाभवनहरूले नगरी सजिएको थियो। वैदूर्य, हीरा, पन्ना र मोतीहरूले झ्याल तथा बार्दलीहरू झकिझकाउ थिए। घरका झ्याल र आँगनहरूमा परेवा र मयूरका स्वरहरू गुञ्जिरहेका थिए। सडक र चोकहरूमा जल छर्किएर माला, जमरा र अक्षताहरूले सजाइएको थियो ।। २१–२२ ।।
आपूर्णकुम्भैर्दधिचन्दनोक्षितैः
प्रसूनदीपावलिभिः सपल्लवैः ।
सवृन्दरम्भाक्रमुकैः सकेतुभिः
स्वलङ्कृतद्वारगृहां सपट्टिकैः ॥ २३ ॥
नेपाली भावानुवादः घरका ढोकाहरूमा दही र चन्दनले पोतिएका भरिएका कलशहरू, फूलका माला, दीप, नयाँ पालुवा, केराका थम्बा, सुपारीका बोट र ध्वजापताकाहरूले विशेष रूपमा सजाइएको थियो ।। २३ ।।
तां सम्प्रविष्टौ वरुदेवनन्दनौ
वृतौ वयस्यैर्नरदेववर्त्मना ।
द्रष्टुं समीयुस्त्वरिताः पुरस्त्रियो
हर्म्याणि चैवारुरुहुर्नृपोत्सुकाः ॥ २४ ॥
नेपाली भावानुवादः जब वसुदेवपुत्र श्रीकृष्ण र बलराम साथीहरूका साथ राजकीय मार्गबाट प्रवेश गर्नुभयो, तब उहाँहरूलाई हेर्नका लागि नगरका नारीहरू हतारिँदै घरका छत र अटालीहरूमा चढे ।। २४ ।।
काश्चिद् विपर्यग्धृतवस्त्रभूषणा
विस्मृत्य चैकं युगलेष्वथापराः ।
कृतैकपत्रश्रवणैकनूपुरा
नाङ्क्त्वा द्वितीयं त्वपराश्च लोचनम् ॥ २५ ॥
अश्नन्त्य एकास्तदपास्य सोत्सवा
अभ्यज्यमाना अकृतोपमज्जनाः ।
स्वपन्त्य उत्थाय निशम्य निःस्वनं
प्रपाययन्त्योऽर्भमपोह्य मातरः ॥ २६ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्ण आउनुभएको थाहा पाएर कतिपय नारीहरूले हतारमा उल्टो लुगा र गहना लगाएर निस्किए। कसैले कानमा एउटा मात्र मुन्द्रा र गोडामा एउटा मात्र पाउजु लगाएका थिए। कसैले एउटा आँखामा मात्र गाजल लगाएका थिए भने कोही भोजन छोडेरै दौडिए। कसैले शरीरमा तेल घसेर स्नान नगर्दै बाहिर आए भने कोही सुतिरहेको अवस्थामा श्रीकृष्णको आगमनको ध्वनि सुनेर हत्तपत्त उठे। कतिपय आमाहरूले दूध चुसिरहेका बालकलाई पनि काखबाट छोडेर दर्शनका लागि निस्किए ।। २५–२६ ।।
मनांसि तासामरविन्दलोचनः
प्रगल्भलीलाहसितावलोकनैः ।
जहार मत्तद्विरदेन्द्रविक्रमो दृशां
ददच्छ्रीरमणात्मनोत्सवम् ॥ २७ ॥
नेपाली भावानुवादः मत्त हात्तीको झैँ मन्द र वीर गतिमा हिँडिरहनुभएका कमललोचन श्रीकृष्णले आफ्नो मधुर मुस्कान र लीलापूर्ण हेराइले ती नारीहरूको मन अपहरण गर्नुभयो। उहाँको दर्शनले नगरवासीका आँखा र आत्मालाई परमानन्दको उत्सव प्राप्त भयो ।। २७ ।।
दृष्ट्वाव मुहुःश्रुतमनुद्रुतचेतसस्तं
तत्प्रेक्षणोत्स्मितसुधोक्षणलब्धमानाः ।
आनन्दमूर्तिमुपगुह्य दृशात्मलब्धं
हृष्यत्त्वचो जहुरनन्तमरिन्दमाधिम् ॥ २८ ॥
नेपाली भावानुवादः जसको लीला पहिलेदेखि नै सुन्दै आएका थिए, ती मथुराका नारीहरूले आज प्रत्यक्ष दर्शन पाए। भगवान्को मुस्कुराएको मुखारविन्द देखेर उनीहरू धन्य भए। आनन्दमूर्ति श्रीकृष्णलाई आफ्ना आँखाको माध्यमबाट हृदयमा आलिङ्गन गर्दा उनीहरूको शरीर पुलकित भयो र लामो समयदेखिको वियोगको पीडा अन्त्य भयो ।। २८ ।।
प्रासादशिखरारूढाः प्रीत्युत्फुल्लमुखाम्बुजाः ।
अभ्यवर्षन् सौमनस्यैः प्रमदा बलकेशवौ ॥ २९ ॥
नेपाली भावानुवादः महलका छतहरूमा बसेका प्रफुल्लित नारीहरूले बलराम र श्रीकृष्णमाथि प्रेमपूर्वक पुष्पवर्षा गरे ।। २९ ।।
दध्यक्षतैः सोदपात्रैः स्रग्गन्धैरभ्युपायनैः ।
तावानर्चुः प्रमुदितास्तत्र तत्र द्विजातयः ॥ ३० ॥
नेपाली भावानुवादः ठाउँ–ठाउँमा ब्राह्मणहरूले दही, अक्षता, जलपूर्ण पात्र, माला र सुगन्धित द्रव्यहरूले भगवान् श्रीकृष्ण र बलरामको हर्षोल्लासका साथ पूजा गरे ।। ३० ।।
ऊचुः पौरा अहो गोप्यस्तपः किमचरन् महत् ।
या ह्येतावनुपश्यन्ति नरलोकमहोत्सवौ ॥ ३१ ॥
नेपाली भावानुवादः नगरवासीहरूले आपसमा भन्न थाले– "अहो! ती गोपिनीहरूले कस्तो ठूलो तपस्या गरेका होलान्, जसले गर्दा मानवलोककै परम उत्सवस्वरूप यी बलराम र श्रीकृष्णलाई सधैँ देख्न पाउँछन्" ।। ३१ ।।
रजकं कञ्चिदायान्तं रङ्गकारं गदाग्रजः ।
दृष्ट्वाचयाचत वासांसि धौतान्यत्युत्तमानि च ॥ ३२ ॥
नेपाली भावानुवादः त्यसपछि अगाडि बढ्दै गर्दा श्रीकृष्णले राजा कंसको लुगा धुने र रङ्गाउने एक धोबी आइरहेको देख्नुभयो। उहाँले ऊसँग भएका धोएका उत्तम वस्त्रहरू माग्नुभयो ।। ३२ ।।
देह्यावयोः समुचितानि अङ्ग वासांसि चार्हतोः ।
भविष्यति परं श्रेयो दातुस्ते नात्र संशयः ॥ ३३ ॥
नेपाली भावानुवादः "हे मित्र! हामीलाई सुहाउने यी वस्त्रहरू देऊ। यसरी वस्त्र दान गर्दा तिम्रो परम कल्याण हुनेछ, यसमा कुनै सन्देह छैन" ।। ३३ ।।
स याचितो भगवता परिपूर्णेन सर्वतः ।
साक्षेपं रुषितः प्राह भृत्यो राज्ञः सुदुर्मदः ॥ ३४ ॥
नेपाली भावानुवादः सबै कुराले परिपूर्ण भगवान् श्रीकृष्णले यसरी माग्दा, कंसको त्यो अत्यन्त घमण्डी सेवक धोबीले उल्टै रिसाउँदै गाली गर्यो ।। ३४ ।।
ईदृशान्येव वासांसी नित्यं गिरिवनेचराः ।
परिधत्त किमुद्वृत्ता राजद्रव्याण्यभीप्सथ ॥ ३५ ॥
नेपाली भावानुवादः "ए! तिमीहरू सधैँ पहाड र जङ्गलमा डुल्ने गोठाला हौ। के तिमीहरूले कहिल्यै यस्ता लुगा लगाएका छौ र? यति धेरै घमण्ड बढेर राजाको वस्तु माग्ने भयौ?" ।। ३५ ।।
याताशु बालिशा मैवं प्रार्थ्यं यदि जिजीवीषा ।
बध्नन्ति घ्नन्ति लुम्पन्ति दृप्तं राजकुलानि वै ॥ ३६ ॥
नेपाली भावानुवादः "मूर्खहरू! यदि बाँच्ने इच्छा छ भने तुरुन्त यहाँबाट भाग। राजाका सिपाहीहरूले यस्ता अभिमानीहरूलाई बाँध्ने, मार्ने र लुट्ने गर्छन्" ।। ३६ ।।
एवं विकत्थमानस्य कुपितो देवकीसुतः ।
रजकस्य कराग्रेण शिरः कायादपातयत् ॥ ३७ ॥
नेपाली भावानुवादः यसरी तुच्छ वचन बोल्ने धोबीसँग देवकीपुत्र श्रीकृष्ण रिसाउनुभयो र आफ्नो हत्केलाको चोटले उसको टाउको शरीरबाट अलग गरिदिनुभयो ।। ३७ ।।
तस्यानुजीविनः सर्वे वासः कोशान् विसृज्य वै ।
दुद्रुवुः सर्वतो मार्गं वासांसि जगृहेऽच्युतः ॥ ३८ ॥
नेपाली भावानुवादः त्यो देखेर उसका सबै सहयोगीहरू लुगाका पोकाहरू छाडेर चारैतिर भागे। त्यसपछि अच्युत श्रीकृष्णले आफूलाई मन परेका वस्त्रहरू लिनुभयो ।। ३८ ।।
वसित्वाऽऽत्मप्रिये वस्त्रे कृष्णः सङ्कर्षणस्तथा ।
शेषाण्यादत्त गोपेभ्यो विसृज्य भुवि कानिचित् ॥ ३९ ॥
नेपाली भावानुवादः श्रीकृष्ण र बलरामले आफूलाई मन पर्ने लुगा लगाउनुभयो, केही गोपहरूलाई दिनुभयो र बाँकी रहेका लुगाहरू त्यहीँ भुइँमा छाडिदिनुभयो ।। ३९ ।।
ततस्तु वायकः प्रीतस्तयोर्वेषमकल्पयत् ।
विचित्रवर्णैश्चैलेयैराकल्पैरनुरूपतः ॥ ४० ॥
नेपाली भावानुवादः त्यसपछि एक दर्जी (वायक) ले प्रेमपूर्वक ती वस्त्रहरूलाई भगवान्का शरीरमा मिल्ने गरी विभिन्न रङ्ग र शैलीमा सिलाइदिए ।। ४० ।।
नानालक्षणवेषाभ्यां कृष्णरामौ विरेजतुः ।
स्वलङ्कृतौ बालगजौ पर्वणीव सितेतरौ ॥ ४१ ॥
नेपाली भावानुवादः विभिन्न रङ्गीबिरङ्गी वस्त्रहरूमा सजिएका श्रीकृष्ण र बलराम उत्सवमा सिँगारिएका दुई हात्तीका बच्चा जस्तै अत्यन्तै शोभित देखिनुभयो ।। ४१ ।।
तस्य प्रसन्नो भगवान् प्रादात् सारूप्यमात्मनः ।
श्रियं च परमां लोके बलैश्वर्यस्मृतीन्द्रियम् ॥ ४२ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्ण उनीसँग प्रसन्न हुनुभयो र उनलाई यस लोकमा ऐश्वर्य, बल, स्मरणशक्ति र मृत्युपछि आफ्नो सारूप्य मुक्ति प्रदान गर्नुभयो ।। ४२ ।।
ततः सुदाम्नो भवनं मालाकारस्य जग्मतुः ।
तौ दृष्ट्वो स समुत्थाय ननाम शिरसा भुवि ॥ ४३ ॥
नेपाली भावानुवादः त्यसपछि उहाँहरू सुदामा नामका मालीको घरमा जानुभयो। उहाँहरूलाई देख्नेबित्तिकै ती मालीले भुइँमा शिर राखेर दण्डवत् प्रणाम गरे ।। ४३ ।।
तयोरासनमानीय पाद्यं चार्घ्यार्हणादिभिः ।
पूजां सानुगयोश्चक्रे स्रक्ताम्बूलानुलेपनैः ॥ ४४ ॥
नेपाली भावानुवादः उनले उहाँहरूका लागि आसन ल्याए, चरण पखाले र साथीहरू सहित श्रीकृष्ण–बलरामको माला, पान र चन्दनले विधिवत् पूजा गरे ।। ४४ ।।
प्राह नः सार्थकं जन्म पावितं च कुलं प्रभो ।
पितृदेवर्षयो मह्यं तुष्टा ह्यागमनेन वाम् ॥ ४५ ॥
नेपाली भावानुवादः सुदामाले भने– "हे प्रभु! हजुरहरूको आगमनले मेरो जन्म सार्थक भयो र कुल पवित्र बन्यो। मेरा पितृ, देवता र ऋषिहरू आज हजुरहरूको दर्शनले तृप्त हुनुभएको छ" ।। ४५ ।।
भवन्तौ किल विश्वस्य जगतः कारणं परम् ।
अवतीर्णाविहांशेन क्षेमाय च भवाय च ॥ ४६ ॥
नेपाली भावानुवादः "हजुरहरू नै यस जगत्का परम कारण हुनुहुन्छ। संसारको कल्याण र उन्नतिको लागि हजुरहरूले यस पृथ्वीमा अवतार लिनुभएको हो" ।। ४६ ।।
न हि वां विषमा दृष्टिः सुहृदोर्जगदात्मनोः ।
समयोः सर्वभूतेषु भजन्तं भजतोरपि ॥ ४७ ॥
नेपाली भावानुवादः "हजुरहरू सम्पूर्ण जगत्का आत्मा र सुहृद् हुनुहुन्छ। हजुरहरूको दृष्टिमा कोही पनि सानो–ठूलो छैन। हजुरहरू सबै प्राणीप्रति समभावी हुनुहुन्छ" ।। ४७ ।।
तावज्ञापयतं भृत्यं किमहं करवाणि वाम् ।
पुंसोऽत्यनुग्रहो ह्येष भवद्भिर्यन्नियुज्यते ॥ ४८ ॥
नेपाली भावानुवादः "म हजुरको सेवक हुँ, मैले के सेवा गर्नुपर्छ? आज्ञा दिनुहोस्। हजुरले कसैलाई काममा खटाउनु नै उसमाथि ठूलो अनुग्रह हो" ।। ४८ ।।
इत्यभिप्रेत्य राजेन्द्र सुदामा प्रीतमानसः ।
शस्तैः सुगन्धैः कुसुमैर्माला विरचिता ददौ ॥ ४९ ॥
नेपाली भावानुवादः हे राजेन्द्र! यसरी प्रार्थना गरेपछि सुदामा मालीले प्रसन्न भएर अत्यन्तै सुगन्धित र सुन्दर फूलका मालाहरू श्रीकृष्ण र बलरामलाई अर्पण गरे ।। ४९ ।।
ताभिः स्वलङ्कृतौ प्रीतौ कृष्णरामौ सहानुगौ ।
प्रणताय प्रपन्नाय ददतुर्वरदौ वरान् ॥ ५० ॥
नेपाली भावानुवादः ती सुन्दर मालाहरू पहिरेर सजिएका प्रसन्न श्रीकृष्ण र बलरामले आफ्नो शरणमा आएका भक्त सुदामालाई वरदान दिनुभयो ।। ५० ।।
सोऽपि वव्रेऽचलां भक्तिं तस्मिन्नेवाखिलात्मनि ।
तद्भिक्तेषु च सौहार्दं भूतेषु च दयां पराम् ॥ ५१ ॥
नेपाली भावानुवादः सुदामाले पनि बिन्ती गरे– "हे प्रभु! हजुर अखिलात्माको चरणमा मेरो अचल भक्ति रहोस्, हजुरका भक्तहरूसँग मित्रता होस् र सबै प्राणीप्रति मेरो हृदयमा दयाभाव रहोस्" ।। ५१ ।।
इति तस्मै वरं दत्त्वा श्रियं चान्वयवर्धिनीम् ।
बलमायुर्यशः कान्तिं निर्जगाम सहाग्रजः ॥ ५२ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णले उनलाई मागेको वरदानका साथै वंश वृद्धि गर्ने लक्ष्मी, बल, आयु, कीर्ति र कान्ति पनि प्रदान गर्नुभयो। त्यसपछि उहाँ दाजु बलरामका साथ त्यहाँबाट निस्कनुभयो ।। ५२ ।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको दशम स्कन्ध अन्तर्गतको यो ४१ औँ अध्यायमा भगवान् श्रीकृष्ण र बलरामको मथुरा प्रवेशको अत्यन्तै मनोहर वर्णन गरिएको छ। अक्रूरजीले यमुनामा दिव्य दर्शन पाएपछि विस्मित हुँदै श्रीकृष्णलाई मथुरा पुर्याए। अक्रूरले भगवान्लाई आफ्नो घरमा पाल्न धेरै बिन्ती गरे तापनि श्रीकृष्णले पहिले कंसको अन्त्य गर्ने कार्यलाई प्राथमिकता दिनुभयो र पछि आउने आश्वासन दिनुभयो। यसले भगवान्को कर्तव्यप्रतिको निष्ठालाई दर्शाउँछ। अक्रूरलाई बिदा गरेपछि भगवान् श्रीकृष्ण आफ्ना दाजु बलराम र गोठाला साथीहरूका साथ मथुरा नगरी हेर्न निस्कनुभयो। मथुराको वास्तुकला, सुनका ढोकाहरू र वैभवपूर्ण दृश्यहरूले नगरी स्वर्ग झैँ देखिन्थ्यो। श्रीकृष्णको आगमनको खबर पाउनासाथ मथुराका नारीहरूमा जुन उत्सुकता र प्रेम देखियो, त्यो अनुपम छ। उनीहरूले हतारमा लुगा र गहना उल्टोपाल्टो लगाएको प्रसङ्गले भगवान् प्रतिको अगाध भक्तिको पराकाष्ठा देखाउँछ। बाटोमा भेटिएको घमण्डी धोबीलाई दण्ड दिएर भगवान्ले अहंकारको विनाश गर्नुभयो। अर्कातर्फ, भक्तिभावले ओतप्रोत दर्जी र सुदामा मालीलाई वरदान दिएर भगवान्ले शरणागत भक्तप्रति आफ्नो प्रेम प्रकट गर्नुभयो। धोबीले भगवान्लाई चिन्न सकेन र नाश भयो, तर माली र दर्जीले भगवान्लाई चिनेर अनन्त सुख प्राप्त गरे। यस अध्यायमा मथुरावासीहरूको खुसी, फूलहरूको वर्षा र ब्राह्मणहरूको पूजाले सम्पूर्ण वातावरण भक्तिमय बनेको छ। भगवान्को मन्द मुस्कान र दिव्य रूपले सबैको मन अपहरण गरेको दृश्य वर्णन गरिएको छ। मथुरा प्रवेशको यो घटनाले आगामी दिनमा कंसको अन्त्य र धर्मको स्थापना हुने सङ्केत गर्दछ। यो अध्यायले कसरी भगवान्को उपस्थिति मात्रले पनि भक्तहरूको जीवनमा उत्साह र शान्ति छाउँछ भन्ने कुरा पुष्टि गर्दछ। भक्त सुदामा मालीले मागेको 'अचला भक्ति' र 'दयाभाव' नै वास्तवमा एक सच्चा वैष्णवको पहिचान हो। श्रीकृष्णको यो मथुरा यात्रा केवल एक भ्रमण नभएर दुष्टको दमन र शिष्टको रक्षाका लागि गरिएको शङ्खनाद थियो। समग्रमा, यस अध्यायले भक्तिको शक्ति, अहंकारको पतन र ईश्वरको सर्वव्यापकतालाई सुन्दर ढङ्गले प्रस्तुत गरेको छ।
दार्शनिक पक्ष
यस अध्यायको दार्शनिक पक्ष अत्यन्तै गहिरो छ। अक्रूरको जलभित्रको दर्शनले भगवान्को सर्वव्यापकता र अन्तर्यामी स्वरूपलाई पुष्टि गर्दछ। धोबीको प्रसङ्गले 'अहंकार' कसरी विनाशको कारण बन्छ र 'म' भन्ने भावले कसरी ईश्वरलाई चिन्न दिँदैन भन्ने कुरा सिकाउँछ। दर्शनको दृष्टिले हेर्दा, मथुराका नारीहरूको व्याकुलता 'प्रेमभक्ति' को स्वरूप हो, जहाँ भक्तले आफ्नो बाह्य चेतना समेत गुमाउँछ। सुदामा मालीले मागेको वरदानले दार्शनिक रूपमा 'अचला भक्ति' र 'प्राणिमात्रमा दया' नै मोक्षको आधार हो भन्ने सङ्केत गर्दछ। भगवान्ले मालीलाई दिएको 'सारूप्य मुक्ति' ले जीवात्मा र परमात्माको एकाकार हुने अवस्थालाई दर्शाउँछ। यस अध्यायले 'विधि' भन्दा पनि 'भाव' को महत्व बढी हुने कुरालाई प्राथमिकता दिएको छ। भगवान् श्रीकृष्णले अक्रूरको घरमा जानुअघि कंसलाई मार्ने निर्णय लिनुले दार्शनिक रूपमा 'लोकमङ्गल' र 'धर्म संस्थापना' नै अवतारको मूल उद्देश्य हो भन्ने प्रस्ट पार्छ। ईश्वर सबैका लागि समान हुनुहुन्छ (समयोः सर्वभूतेषु), तर जो जस्तो भावले उहाँको नजिक आउँछ, उसले त्यस्तै फल पाउँछ भन्ने कर्मफलको सिद्धान्त यहाँ देखिन्छ। यसरी यो अध्यायले भक्ति, ज्ञान र कर्मको सुन्दर समन्वय प्रस्तुत गरेको छ।
No comments:
Post a Comment