श्रीमद्भागवत महापुराण
द्वितीय स्कंधः - सप्तमोऽध्यायः
यत्रोद्यतः क्षितितलोद्धरणाय बिभ्रत् ।
क्रौडीं तनुं सकलयज्ञमयीमनन्तः ।
अन्तर्महार्णव उपागतमादिदैत्यं ।
तं दंष्ट्रयाऽद्रिमिव वज्रधरो ददार ॥ १ ॥
नेपाली भावानुवाद: अनन्त भगवान्ले प्रलयकालमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न यज्ञमय वराह शरीर ग्रहण गर्नुभयो । आदि दैत्य हिरण्याक्ष जलभित्रै भगवान्सँग युद्ध गर्न भनी आयो । जसरी इन्द्रले आफ्नो वज्रले पर्वतको पखेटा काटेका थिए, त्यसरी नै वराह भगवान्ले आफ्नो दाह्राले त्यसलाई टुक्रा–टुक्रा पारिदिनुभयो ।।१।।
जातो रुचेरजनयत् सुयमान् सुयज्ञ ।
आकूतिसूनुः अमरान् अथ दक्षिणायाम् ।
लोकत्रयस्य महतीं अहरद् यदार्तिं ।
स्वायम्भुवेन मनुना हरिरित्यनूक्तः ॥ २ ॥
नेपाली भावानुवाद: उनै भगवान्ले रुचि नाम गरेका प्रजापतिकी पत्नी आकृतिको गर्भबाट सुयज्ञको रूपमा अवतार लिनुभयो । त्यस अवतारमा उहाँले दक्षिणा नाम गरेकी पत्नीबाट सुयम नाम गरेका देवताहरू उत्पन्न गरेर तीनै लोकको ठुलो सङ्कट हरण गर्नुभएकाले स्वायम्भुव मनुले उहाँलाई ‘हरि’ नाम राख्नुभयो ।।२।।
जज्ञे च कर्दमगृहे द्विज देवहूत्यां ।
स्त्रीभिः समं नवभिरात्मगतिं स्वमात्रे ।
ऊचे ययाऽत्मशमलं गुणसङ्गपङ्कम् ।
अस्मिन् विधूय कपिलस्य गतिं प्रपेदे ॥ ३ ॥
नेपाली भावानुवाद: हे नारद! कर्दम प्रजापतिकी पत्नी देवहूतिको गर्भबाट नौ बहिनीसहित भगवान्ले कपिलदेवका रूपमा अवतार लिनुभयो । उहाँले आफ्नी आमालाई आत्मज्ञानको उपदेश दिनुभयो र उनी त्यसै जन्ममा हृदयको मैलो पखालेर कपिल भगवान्को वास्तविक स्वरूपमा लीन भइन् ।।३।।
अत्रेः अपत्यमभिकाङ्क्षत आह तुष्टो ।
दत्तो मयाहमिति यद् भगवान् स दत्तः ।
यत् पादपङ्कजपराग पवित्रदेहा ।
योगर्द्धिमापुरुभयीं यदुहैहयाद्याः ॥ ४ ॥
नेपाली भावानुवाद: एकपटक ऋषि अत्रिको प्रार्थनालाई स्वीकार गरेर भगवान्ले आफू उनको पुत्र भएर जन्मने वचन दिनुभएको थियो । सोही कारण अवतार लिनुहुँदा उहाँ ‘दत्त’ (दत्तात्रेय) हुनुभयो । उहाँकै चरणकमलको रजले आफ्नो शरीरलाई पवित्र गरेर राजा यदु र सहस्रार्जुनले भोग र मोक्ष (उभय सिद्धि) प्राप्त गरे ।।४।।
तप्तं तपो विविधलोकसिसृक्षया मे ।
आदौ सनात् स्वतपसः स चतुःसनोऽभूत् ।
प्राक्कल्प संप्लवविनष्टमिह आत्मतत्त्वं ।
सम्यग् जगाद मुनयो यदचक्षतात्मन् ॥ ५ ॥
नेपाली भावानुवाद: सृष्टिको प्रारम्भमा मैले विभिन्न लोकको रचना गर्ने इच्छाले तपस्या गरेँ, मेरो तपस्याबाट प्रसन्न भएर उहाँ ‘सन’ नामले युक्त भई सनक, सनन्दन, सनातन र सनत्कुमारको रूपमा प्रकट हुनुभयो । यस अवतारमा प्रलयका कारण हराएको अघिल्लो कल्पको आत्मज्ञानका बारेमा ऋषिहरूलाई उपदेश दिनुभयो, जसबाट उनीहरूले आत्मतत्त्वको साक्षात्कार गरे ।।५।।
धर्मस्य दक्षदुहितर्यजनिष्ट मूर्त्यां ।
नारायणो नर इति स्वतपः प्रभावः ।
दृष्ट्वात्मनो भगवतो नियमावलोपं ।
देव्यस्त्वनङ्गपृतना घटितुं न शेकुः ॥ ६ ॥
नेपाली भावानुवाद: धर्मकी पत्नी दक्षकन्या मूर्तिको गर्भबाट उहाँ नर-नारायणको रूपमा प्रकट हुनुभयो । यस अवतारमा उहाँहरूको तपस्याको प्रभाव अत्यन्त उग्र थियो । इन्द्रले पठाएका कामिनी अप्सराहरूले अनेकौँ हाउभाउ देखाए तापनि उहाँहरूको तपस्या भङ्ग गर्न सकेनन् ।।६।।
कामं दहन्ति कृतिनो ननु रोषदृष्ट्या ।
रोषं दहन्तमुत ते न दहन्त्यसह्यम् ।
सोऽयं यदन्तरमलं प्रविशन् बिभेति ।
कामः कथं नु पुनरस्य मनः श्रयेत ॥ ७ ॥
नेपाली भावानुवाद: हे नारद! शङ्करजीले आफ्नो क्रोधको दृष्टिले कामदेवलाई जलाइदिनुभयो तर आफूभित्रको असह्य क्रोधलाई जलाउन सक्नुहुन्न । त्यही क्रोध नारायणको हृदयमा प्रवेश गर्न डराउँछ भने उहाँको मनमा कामको प्रवेश कसरी हुन सक्छ र? ।।७।।
विद्धः सपत्त्युदितपत्रिभिरन्ति राज्ञो ।
बालोऽपि सन्नुपगतस्तपसे वनानि ।
तस्मा अदाद् ध्रुवगतिं गृणते प्रसन्नो ।
दिव्याः स्तुवन्ति मुनयो यदुपर्यधस्तात् ॥ ८ ॥
नेपाली भावानुवाद: आफ्ना पिता उत्तानपादको काखमा बस्न खोज्दा पाँच वर्षका बालक ध्रुवलाई सौतेनी आमा सुरुचिबाट कटु वचन प्रहार भयो । त्यस्तो कलिलो अवस्थामा पनि वनमा गई तपस्या गरेकाले भगवान्ले प्रसन्न भएर उनलाई अटल ‘ध्रुवपद’ दिनुभयो, जसको वरिपरि रहेर ऋषिमुनिहरू आज पनि स्तुति गर्दछन् ।।८।।
यद्वेनमुत्पथगतं द्विजवाक्यवज्र ।
निष्प्लुष्टपौरुषभगं निरये पतन्तम् ।
त्रात्वाऽर्थितो जगति पुत्रपदं च लेभे ।
दुग्धा वसूनि वसुधा सकलानि येन ॥ ९ ॥
नेपाली भावानुवाद: कुमार्गगामी भएको वेनको ऐश्वर्य ब्राह्मणहरूको हुङ्काररूपी वज्रले भस्म भयो र ऊ नरकमा खस्न लाग्यो । ऋषिहरूको प्रार्थनाबाट पृथु अवतार धारण गरेर उहाँले वेनलाई नरकबाट उतार्नुभयो र ‘पुत्र’ शब्द चरितार्थ गर्नुभयो । सोही अवतारमा उहाँले पृथ्वीलाई गाई बनाएर औषधि र अन्नहरू दोहन गर्नुभयो ।।९।।
नाभेरसावृषभ आस सुदेविसूनुः ।
यो वै चचार समदृग् जडयोगचर्याम् ।
यत्पारमहंस्यमृषयः पदमामनन्ति ।
स्वस्थः प्रशान्तकरणः परिमुक्तसङ्गः ॥ १० ॥
नेपाली भावानुवाद: राजा नाभिकी पत्नी सुदेवीको गर्भबाट भगवान्ले ऋषभदेवको रूपमा जन्म लिनुभयो । यस अवतारमा सबै आसक्तिबाट रहित भई इन्द्रिय र मनलाई शान्त तुल्याएर उहाँले जड झैँ भएर योगको आचरण गर्नुभयो । महर्षिहरू यस स्थितिलाई ‘परमहंस’ पद भन्दछन् ।।१०।।
सत्रे ममाऽस भगवान् हयशीर्ष एव ।
साक्षात् स यज्ञपुरुषः तपनीयवर्णः ।
छन्दोमयो मखमयोऽखिलदेवतात्मा ।
वाचो बभूवुरुशतीः श्वसतोऽस्य नस्तः ॥ ११ ॥
नेपाली भावानुवाद: त्यसपछि उहाँ यज्ञपुरुषले मेरै यज्ञमा स्वर्ण समान कान्ति भएका हयग्रीव अवतार लिएर आउनुभयो । भगवान्को यो विग्रह वेदमय र सर्वदेवमय थियो । उहाँको नासिकाबाट श्वासका रूपमा सुन्दर वेदवाणीहरू प्रकट भए ।।११।।
मत्स्यो युगान्तसमये मनुनोपलब्धः ।
क्षोणीमयो निखिलजीवनिकायकेतः ।
विस्रंसितानुरुभये सलिले मुखान्मे ।
आदाय तत्र विजहार ह वेदमार्गान् ॥ १२ ॥
नेपाली भावानुवाद: चाक्षुष मन्वन्तरको अन्त्यमा राजा सत्यव्रतले मत्स्यरूपमा भगवान्को दर्शन पाए । प्रलयको त्यस भयंकर जलमा उहाँले पृथ्वीरूपी डुङ्गामा सबै जीवलाई आश्रय दिनुभयो र मेरो मुखबाट खसेका वेदहरूलाई उद्धार गरी संरक्षण गर्नुभयो ।।१२।।
क्षीरोदधावमरदानवयूथपानाम् ।
उन्मथ्नताममृतलब्धय आदिदेवः ।
पृष्ठेन कच्छपवपुर्विदधार गोत्रं ।
निद्राक्षणोऽद्रिपरिवर्तकषाणकण्डूः ॥ १३ ॥
नेपाली भावानुवाद: जब देवता र दानवहरू अमृतका लागि क्षीरसागर मन्थन गर्दै थिए, तब भगवान्ले कच्छप (कछुवा) रूप लिएर मन्दराचल पर्वतलाई आफ्नो पिठ्युँमा धारण गर्नुभयो । पहाड घुम्दा पिठ्युँ चिलाएको निको भएर उहाँलाई आनन्दको निद्रा समेत पर्यो ।।१३।।
त्रैविष्टपोरुभयहा स नृसिंहरूपं ।
कृत्वा भ्रमद् भ्रुकुटिदंष्ट्रकरालवक्त्रम् ।
दैत्येन्द्रमाशु गदयाऽभिपतन्तमारात् ।
ऊरौ निपात्य विददार नखैः स्फुरन्तम् ॥ १४ ॥
नेपाली भावानुवाद: देवताहरूको भय भगाउन उहाँले नृसिंह रूप धारण गर्नुभयो । उहाँको स्वरूप डरलाग्दो थियो । गदा लिएर जाइलाग्ने हिरण्यकशिपुलाई उहाँले आफ्नो काखमा राखेर नङ्ग्राले उसको पेट चिरिदिनुभयो ।।१४।।
अन्तः सरस्युरुबलेन पदे गृहीतो ।
ग्राहेण यूथपतिरम्बुजहस्त आर्तः ।
आहेदमादिपुरुषाखिललोकनाथ ।
तीर्थश्रवः श्रवणमङ्गलनामधेय ॥ १५ ॥
नेपाली भावानुवाद: सरोवरमा गोहीले गजेन्द्रको खुट्टा समात्यो । उम्कन नसकेर थाकेको गजेन्द्रले सुँडले कमल समातेर पुकार गर्यो— "हे आदिपुरुष! हे लोकनाथ! हजुरको नाम सुन्नाले मात्र पनि मङ्गल हुन्छ, मेरो रक्षा गर्नुहोस्" ।।१५।।
श्रुत्वा हरिस्तमरणार्थिनमप्रमेयः ।
चक्रायुधः पतगराजभुजाधिरूढः ।
चक्रेण नक्रवदनं विनिपाद्य तस्माद् ।
धस्ते प्रगृह्य भगवान् कृपयोज्जहार ॥ १६ ॥
नेपाली भावानुवाद: उसको पुकार सुनेर चक्रधारी भगवान् गरुडमा चढेर तुरुन्तै आउनुभयो र आफ्नो चक्रले गोहीको मुख फोडिदिनुभयो । भगवान्ले गजेन्द्रको सुँड समातेर कृपापूर्वक उसको उद्धार गर्नुभयो ।।१६।।
ज्यायान् गुणैरवरजोऽप्यदितेः सुतानां ।
लोकान् विचक्रम इमान् यदथाधियज्ञः ।
क्ष्मां वामनेन जगृहे त्रिपदच्छलेन ।
याच्ञामृते पथि चरन् प्रभुभिर्न चाल्यः ॥ १७ ॥
नेपाली भावानुवाद: भगवान् अदितिको कान्छो पुत्र वामन भएर जन्मिए तापनि गुणले सबैभन्दा ठुलो हुनुहुन्थ्यो । उहाँले तीन पाउ जमिनको निहुँमा बलिसँग सबै लोक दान माग्नुभयो । यसबाट उहाँले देखाउनुभयो कि सत्यको मार्गमा हिँड्ने शक्तिशाली व्यक्तिलाई याचना बाहेक अरू कुनै बलले गलाउन सकिँदैन ।।१७।।
नार्थो बलेरयमुरुक्रमपादशौचम् ।
आपः शिखाधृतवतो विबुधाधिपत्यम् ।
यो वै प्रतिश्रुतमृते न चिकीर्षदन्यद् ।
आत्मानमङ्ग शिरसा हरयेऽभिमेने ॥ १८ ॥
नेपाली भावानुवाद: दैत्यराज बलिले भगवान्को चरण धोएको जल शिरमा धारण गरे । उनले गुरु शुक्राचार्यको अवरोधका बाबजुद पनि आफ्नो वचन हार्न चाहेनन् र तेस्रो पाउ राख्न ठाउँ नपुग्दा आफ्नै शिर भगवान्को चरणमा समर्पित गरिदिए ।।१८।।
तुभ्यं च नारद भृशं भगवान्विवृद्ध ।
भावेन साधु परितुष्ट उवाच योगम् ।
ज्ञानं च भागवतमात्मसतत्त्वदीपं ।
यद्वासुदेवशरणा विदुरञ्जसैव ॥ १९ ॥
नेपाली भावानुवाद: हे नारद! तिम्रो प्रेमभावबाट प्रसन्न भएर हंसरूपधारी भगवान्ले तिमीलाई योग र आत्मतत्त्व प्रकाशित गर्ने 'भागवत धर्म' को उपदेश दिनुभयो । यो ज्ञान भगवान्का शरणागत भक्तले मात्र सहजै प्राप्त गर्न सक्छन् ।।१९।।
चक्रं च दिक्ष्वविहतं दशसु स्वतेजो ।
मन्वन्तरेषु मनुवंशधरो बिभर्ति ।
दुष्टेषु राजसु दमं व्यदधात्स्वकीर्तिं ।
सत्ये त्रिपृष्ठ उशतीं प्रथयंश्चरित्रैः ॥ २० ॥
नेपाली भावानुवाद: मन्वन्तरहरूमा उहाँले मनुको रूपमा अवतार लिएर मनुवंशको रक्षा गर्नुभयो र दुष्ट राजाहरूको दमन गरी आफ्नो कीर्ति फैलाउनुभयो । उहाँको शासनको तेज दशै दिशामा सुदर्शन चक्र जस्तै प्रभावशाली रह्यो ।।२०।।
धन्वन्तरिश्च भगवान् स्वयमेव कीर्तिः ।
नाम्ना नृणां पुरुरुजां रुज आशु हन्ति ।
यज्ञे च भागममृतायुरवावचन्ध ।
आयुश्च वेदमनुशास्त्यवतीर्य लोके ॥ २१ ॥
नेपाली भावानुवाद: धन्वन्तरी भगवान्को नाम स्मरणले मात्र पनि रोगीहरूको रोग नष्ट हुन्छ । उहाँले देवताहरूलाई अमृत पिलाउनुभयो र संसारमा आयुर्वेद शास्त्रको प्रचार गर्नुभयो ।।२१।।
क्षत्रं क्षयाय विधिनोपभृतं महात्मा ।
ब्रह्मध्रुगुज्झितपथं नरकार्तिलिप्सु ।
उद्धन्त्यसाववनिकण्टकमुग्रवीर्यः ।
त्रिःसप्तकृत्व उरुधारपरश्वधेन ॥ २२ ॥
नेपाली भावानुवाद: जब ब्राह्मणद्रोही र कुमार्गी क्षत्रियहरू पृथ्वीका लागि भार बने, तब भगवान्ले परशुरामको रूप लिएर एक्काइस पटक उनीहरूको संहार गर्नुभयो ।।२२।।
अस्मत्प्रसादसुमुखः कलया कलेश ।
इक्ष्वाकुवंश अवतीर्य गुरोर्निदेशे ।
तिष्ठन् वनं सदयितानुज आविवेश ।
यस्मिन् विरुध्य दशकन्धर आर्तिमार्च्छत् ॥ २३ ॥
नेपाली भावानुवाद: हामीमाथि अनुग्रह गर्न मायापति भगवान्ले श्रीरामको रूपमा इक्ष्वाकु वंशमा अवतार लिनुभयो । पिताको आज्ञा पालना गर्न सीता र लक्ष्मणका साथ वनवास जानुभयो र त्यहीँ उहाँको विरोध गर्ने दशकण्ठ रावण मारियो ।।२३।।
यस्मा अदादुदधिरूढभयाङ्गवेपो ।
मार्गं सपद्यरिपुरं हरवद् दिधक्षोः ।
दूरे सुहृन्मथितरोष सुशोणदृष्ट्या ।
तातप्यमानमकरोरगनक्रचक्रः ॥ २४ ॥
नेपाली भावानुवाद: जब सीताको वियोगमा क्रोधित श्रीरामको दृष्टिले समुद्रका जीवहरू जल्न थाले, तब डरले कामिरहेको समुद्रले उहाँलाई बाटो दियो, जसरी महादेवले त्रिपुरासुर जलाउन मार्ग पाउनुभएको थियो ।।२४।।
वक्षःस्थलस्पर्शरुग्णमहेन्द्रवाह ।
दन्तैर्विडम्बितककुब्जुष ऊढहासम् ।
सद्योऽसुभिः सह विनेष्यति दारहर्तुः ।
विस्फूर्जितैर्धनुष उच्चरतोऽधि सैन्ये ॥ २५ ॥
नेपाली भावानुवाद: घमण्डले चूर भएको रावण, जसको छातीमा ठोकिँदा इन्द्रको ऐरावत हात्तीको दाँत फुटेको थियो, श्रीरामको धनुषको टङ्कारले उसको त्यो सारा घमण्ड र प्राण एकैसाथ नष्ट गरिदिनुभयो ।।२५।।
भूमेः सुरेतरवरूथविमर्दितायाः ।
क्लेशव्ययाय कलया सितकृष्णकेशः ।
जातः करिष्यति जनानुपलक्ष्यमार्गः ।
कर्माणि चाऽऽत्ममहिमोपनिबन्धनानि ॥ २६ ॥
नेपाली भावानुवाद: पृथ्वीको भार उतार्न भगवान् आफ्ना श्वेत र कृष्ण केशबाट बलराम र श्रीकृष्णको रूपमा प्रकट हुनुहुनेछ । उहाँले यस्ता अद्भुत लीलाहरू गर्नुहुनेछ जुन सामान्य मानिसको समझभन्दा बाहिर हुनेछ ।।२६।।
तोकेन जीवहरणं यदुलूकिकायाः ।
त्रैमासिकस्य च पदा शकटोऽपवृत्तः ।
यद् रिङ्गतान्तरगतेन दिविस्पृशोर्वा ।
उन्मूलनं त्वितरथाऽर्जुनयोर्न भाव्यम् ॥ २७ ॥
नेपाली भावानुवाद: बालककालमै पुतनाको प्राण लिनु, तीन महिनाको उमेरमा गाडा पल्टाइदिनु र घस्रिँदै गएर यमलार्जुनका वृक्षहरू उखेलिदिनु भगवान् बाहेक कसैका लागि सम्भव छैन ।।२७।।
यद्वै व्रजे व्रजपशून् विषतोयपीतान् ।
पालांस्त्वजीव यदनुग्रहदृष्टिवृष्ट्या ।
तच्छुद्धयेऽतिविषवीर्य विलोलजिह्वम् ।
उच्चाटयिष्यदुरगं विहरन् ह्रदिन्याम् ॥ २८ ॥
नेपाली भावानुवाद: कालिय नागको विषले दूषित पानी पिएर मरेका ग्वाला र गाईहरूलाई उहाँले आफ्नो कृपादृष्टिले जीवित तुल्याउनुभयो र यमुनालाई शुद्ध पार्न कालियलाई त्यहाँबाट धपाउनुभयो ।।२८।।
तत्कर्म दिव्यमिव यन्निशि निःशयानं ।
दावाग्निना शुचिवने परिदह्यमाने ।
उन्नेष्यति व्रजमतोऽवसितान्तकालं ।
नेत्रे पिधाप्य सबलोऽनधिगम्यवीर्यः ॥ २९ ॥
नेपाली भावानुवाद: वनमा लागेको भीषण डढेलोबाट ब्रजवासीहरूलाई बचाउन उहाँले सबैलाई आँखा चिम्लन लगाउनुभयो र त्यो आगो आफैँ निल्नुभयो । यो उहाँको अलौकिक सामर्थ्य थियो ।।२९।।
गृह्णीत यद् यदुपबन्धममुष्य माता ।
शुल्बं सुतस्य न तु तत् तदमुष्य माति ।
यज्जृम्भतोऽस्य वदने भुवनानि गोपी ।
संवीक्ष्य शंकितमनाः प्रतिबोधिताऽऽसीत् ॥ ३० ॥
नेपाली भावानुवाद: जब यशोदा माताले कृष्णलाई डोरीले बाँध्न खोजिन्, तब हरेक डोरी दुई अङ्गुल छोटो भयो । जब कृष्णले हाई गरे, तब उहाँको मुखभित्र ब्रह्माण्ड देखेर माता यशोदा आश्चर्यचकित भइन् ।।३०।।
नन्दं च मोक्ष्यति भयाद् वरुणस्य पाशात् ।
गोपान् बिलेषु पिहितान् मयसूनुना च ।
अह्न्यापृतं निशि शयानमतिश्रमेण ।
लोकं विकुण्ठ मुपनेष्यति गोकुलं स्म ॥ ३१ ॥
नेपाली भावानुवाद: उहाँले नन्द बाबालाई वरुणको पासा र अजिङ्गरबाट बचाउनुहुनेछ । व्योमासुरले गुफामा थुनेका गोपहरुको उद्धार गर्नुहुनेछ र गोकुलवासीहरूलाई परमधामको दर्शन गराउनुहुनेछ ।।३१।।
गोपैर्मखे प्रतिहते व्रजविप्लवाय ।
देवेऽभिवर्षति पशुन् कृपया रिरक्षुः ।
धर्तोच्छिलीन्ध्रमिव सप्तदिनानि सप्त ।
वर्षो महीध्रमनघैककरे सलीलम् ॥ ३२ ॥
नेपाली भावानुवाद: इन्द्रको क्रोधका कारण परेको मुसलधारे पानीबाट बचाउन सात वर्षका बालक श्रीकृष्णले गोवर्धन पर्वतलाई सात दिनसम्म एउटै हातले छाता झैँ उठाएर सबैको रक्षा गर्नुभयो ।।३२।।
क्रीडन् वने निशि निशाकररश्मिगौर्यां ।
रासोन्मुखः कलपदायतमूर्च्छितेन ।
उद्दीपितस्मररुजां व्रजभृद्वधूनां ।
हर्तुर्हरिष्यति शिरो धनदानुगस्य ॥ ३३ ॥
नेपाली भावानुवाद: शरद ऋतुको रातमा वंशी बजाएर रासलीला गर्दा गोपिनीहरूलाई हरण गर्न खोज्ने कुवेरको सेवक शङ्खचूडको शिर उहाँले उडाइदिनुहुनेछ ।।३३।।
ये च प्रलम्बखरदर्दुरकेश्यरिष्ट ।
मल्लेभकंसयवनाः कपिपौण्ड्रकाद्याः ।
अन्ये च शाल्वकुजबल्वलदन्तवक्र ।
सप्तोक्षशम्बरविदूरथ रुक्मिमुख्याः ॥ ३४ ॥
ये वा मृधे समितिशालिन आत्तचापाः ।
काम्बोजमत्स्यकुरुकैकयसृञ्जयाद्याः ।
यास्यन्त्यदर्शनमलं बलपार्थभीम ।
व्याजाह्वयेन हरिणा निलयं तदीयम् ॥ ३५ ॥
नेपाली भावानुवाद: प्रलम्बासुर, धेनुकासुर, कंस, जरासन्ध, पौण्ड्रक, शिशुपाल आदि दैत्यहरू र कुरुक्षेत्रको युद्धमा मारिने सबै योद्धाहरूले भगवान् वा उहाँका भक्तहरू (भीम, अर्जुन) को हातबाट मृत्युवरण गरी भगवान्कै धाम प्राप्त गर्नेछन् ।।३४–३५।।
कालेन मीलितधियामवमृश्य नॄणां ।
स्तोकायुषां स्वनिगमो बत दूरपारः ।
आविर्हितस्त्वनुयुगं स हि सत्यवत्यां ।
वेदद्रुमं विटपशो विभाजिष्यति स्म ॥ ३६ ॥
नेपाली भावानुवाद: कलियुगका मानिसहरूको स्मरणशक्ति र आयु कम हुने देखेर भगवान्ले सत्यवतीको गर्भबाट व्यासका रूपमा प्रकट भई वेदरूपी वृक्षलाई विभिन्न शाखामा विभाजन गर्नुहुनेछ ।।३६।।
देवद्विषां निगमवर्त्मनि निष्ठितानां ।
पूर्भिर्मयेन विहिताभिरदृश्यतूर्भिः ।
लोकान् घ्नतां मतिविमोहमतिप्रलोभं ।
वेषं विधाय बहु भाष्यत औपधर्म्यम् ॥ ३७ ॥
नेपाली भावानुवाद: जब असुरहरूले वेदको आडमा संसारलाई दुःख दिन थाल्नेछन्, तब उनीहरूको बुद्धि मोहित पार्न उहाँले बुद्ध अवतार लिएर अहिंसा र विभिन्न उपदेशहरू दिनुहुनेछ ।।३७।।
यर्ह्यालयेष्वपि सतां न हरेः कथाः स्यू ।
पाषण्डिनो द्विजजना वृषला नृदेवाः ।
स्वाहा स्वधा वषडिति स्म गिरो न यत्र ।
शास्ता भविष्यति कलेर्भगवान् युगान्ते ॥ ३८ ॥
नेपाली भावानुवाद: कलियुगको अन्त्यमा जब धर्म लोप हुनेछ र मानिसहरू पाखण्डी हुनेछन्, तब भगवान्ले कल्कि अवतार लिएर दुष्टहरूको विनाश र धर्मको पुनः स्थापना गर्नुहुनेछ ।।३८।।
सर्गे तपोऽहमृषयो नव ये प्रजेशाः ।
स्थाने च धर्ममखमन्वमरावनीशाः ।
अन्ते त्वधर्महरमन्युवशासुराद्या ।
मायाविभूतय इमाः पुरुशक्तिभाजः ॥ ३९ ॥
नेपाली भावानुवाद: सृष्टि, स्थिति र लयका समयमा ब्रह्मा, विष्णु र रुद्रका रूपमा विभिन्न विभूतिहरू प्रकट हुन्छन्, ती सबै उहाँकै मायाका शक्तिहरू हुन् ।।३९।।
विष्णोर्नु वीर्यगणनां कतमोऽर्हतीह ।
यः पार्थिवान्यपि कविर्विममे रजांसि ।
चस्कम्भ यः स्वरहसास्खलता त्रिपृष्ठं ।
यस्मात् त्रिसाम्यसदनाद् उरुकम्पयानम् ॥ ४० ॥
नेपाली भावानुवाद: पृथ्वीका धुलोका कणहरू गन्न सकिएला तर भगवान् विष्णुको अनन्त शक्तिको गणना कसैले गर्न सक्दैन । उहाँले त्रिविक्रम अवतारमा आफ्नो पाउले नै सम्पूर्ण ब्रह्माण्ड व्याप्त गर्नुभयो ।।४०।।
नान्तं विदाम्यहममी मुनयोऽग्रजास्ते ।
मायाबलस्य पुरुषस्य कुतोऽपरे ये ।
गायन् गुणान् दशशतानन आदिदेवः ।
शेषोऽधुनापि समवस्यति नास्य पारम् ॥ ४१ ॥
नेपाली भावानुवाद: उहाँको मायाको अन्त्य न त मैले जानेको छु, न तिम्रा दाजुहरूले नै । हजार मुख भएका शेषनागले पनि आजसम्म उहाँको गुणको पार पाउन सक्नुभएको छैन ।।४१।।
येषां स एष भगवान् दययेदनन्तः ।
सर्वात्मनाऽश्रितपदो यदि निर्व्यलीकम् ।
ते दुस्तरामतितरन्ति च देवमायां ।
नैषां ममाहमिति धीः श्वशृगालभक्ष्ये ॥ ४२ ॥
नेपाली भावानुवाद: जसले निष्कपट भावले भगवान्को शरण लिन्छ, उसले मात्र यो दुस्तर मायालाई पार गर्न सक्छ र ऊ देहाभिमान (म र मेरो) बाट मुक्त हुन्छ ।।४२।।
वेदाहमङ्ग परमस्य हि योगमायां ।
यूयं भवश्च भगवानथ दैत्यवर्यः ।
पत्नी मनोः स च मनुश्च तदात्मजाश्च ।
प्राचीनबर्हि ऋभुरङ्ग उत ध्रुवश्च ॥ ४३ ॥
इक्ष्वाकुरैलमुचुकुन्दविदेहगाधि ।
रघ्वम्बरीषसगरा गयनाहुषाद्याः ।
मान्धात्रलर्कशतधन्वनुरन्तिदेवा ।
देवव्रतो बलिरमूर्त्तरयो दिलीपः ॥ ४४ ॥
सौभर्युतङ्कशिबिदेवलपिप्पलाद ।
सारस्वतोद्धवपराशरभूरिषेणाः ।
येऽन्ये विभीषणहनूमदुपेन्द्रदत्त ।
पार्थार्ष्टिषेणविदुरश्रुतदेव वर्याः ॥ ४५ ॥
ते वै विदन्त्यतितरन्ति च देवमायां ।
स्त्रीशूद्रहूणशबरा अपि पापजीवाः ।
यद्यद्भुतक्रम परायणशीलशिक्षाः ।
तिर्यग्जना अपि किमु श्रुतधारणा ये ॥ ४६ ॥
नेपाली भावानुवाद: म, तिमी (नारद), महादेव, प्रह्लाद, मनु, इक्ष्वाकु, भीष्म, बलि, उद्धव, हनुमान् जस्ता महान् भक्तहरूले मात्र होइन, बरु जसले भगवान्को भक्ति गर्छ, ऊ चाहे जोसुकै होस्, उसले यो मायालाई पार गर्दछ ।।४३–४६।।
शश्वत् प्रशान्तमभयं प्रतिबोधमात्रं ।
शुद्धं समं सदसतः परमात्मतत्त्वम् ।
शब्दो न यत्र पुरुकारकवान् क्रियार्थो ।
माया परैत्यभिमुखे च विलज्जमाना ॥ ४७ ॥
नेपाली भावानुवाद: परमात्माको स्वरूप सधैँ शान्त, निर्भय र ज्ञानमय छ । उहाँको अगाडि माया पनि लजाएर भाग्दछे, जहाँ कुनै सांसारिक शब्द वा कर्मको पहुँच हुँदैन ।।४७।।
तद्वै पदं भगवतः परमस्य पुंसो ।
ब्रह्मेति यद्विदुरजस्रसुखं विशोकम् ।
सध्र्यङ् नियम्य यतयो यमकर्तहेतिं ।
जह्युः स्वराडिव निपानखनित्रमिन्द्रः ॥ ४८ ॥
नेपाली भावानुवाद: त्यही परम पदलाई नै विद्वान्हरू 'ब्रह्म' भन्दछन्, जुन शोकविहीन र आनन्दमय छ । जसले त्यो पद प्राप्त गर्छ, उसलाई अन्य साधनको आवश्यकता पर्दैन ।।४८।।
स श्रेयसामपि विभुर्भगवान् यतोऽस्य ।
भावस्वभावविहितस्य सतः प्रसिद्धिः ।
देहे स्वधातुविगमेऽनुविशीर्यमाणे ।
व्योमेव तत्र पुरुषो न विशीर्यतेऽजः ॥ ४९ ॥
नेपाली भावानुवाद: सबै सुखका स्रोत भगवान् नै हुनुहुन्छ । शरीर नष्ट भए पनि आत्मा आकाश झैँ अविनाशी रहन्छ ।।४९।।
सोऽयं तेऽभिहितस्तात भगवान् विश्वभावनः ।
समासेन हरेर्नान्यद् अन्यस्मात् सदसच्च यत् ॥ ५० ॥
नेपाली भावानुवाद: हे पुत्र नारद! मैले तिमीलाई संक्षेपमा श्रीहरिका बारेमा बताएँ । यस संसारमा जे जति छ, ती सबै उहाँभन्दा भिन्न छैनन् ।।५०।।
इदं भागवतं नाम यन्मे भगवतोदितम् ।
सङ्ग्रहोऽयं विभूतीनां त्वमेतद् विपुली कुरु ॥ ५१ ॥
नेपाली भावानुवाद: यो भागवतको सार हो, जुन भगवान्ले मलाई उपदेश दिनुभएको थियो । अब तिमी यसलाई विस्तार गर ।।५१।।
यथा हरौ भगवति नृणां भक्तिर्भविष्यति ।
सर्वात्मन्यखिलाधारे इति सङ्कल्प्य वर्णय ॥ ५२ ॥
नेपाली भावानुवाद: जसरी मानिसहरूको मनमा भगवान्प्रति भक्ति जाग्छ, त्यसरी नै यसको वर्णन गर ।।५२।।
मायां वर्णयतोऽमुष्य ईश्वरस्यानुमोदतः ।
शृण्वतः श्रद्धया नित्यं माययाऽऽत्मा न मुह्यति ॥ ५३ ॥
नेपाली भावानुवाद: जसले भगवान्का यी लीलाहरू श्रद्धापूर्वक सुन्छ वा सुनाउँछ, उसको चित्त कहिल्यै पनि मायाबाट मोहित हुँदैन ।।५३।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवतको द्वितीय स्कन्ध अन्तर्गतको सातौँ अध्याय अत्यन्त महत्त्वपूर्ण छ, जसमा ब्रह्माजीले देवर्षि नारदलाई भगवान् विष्णुका विभिन्न अवतारहरू र उहाँका अलौकिक लीलाहरूको वर्णन गर्नुभएको छ । यस अध्यायको प्रारम्भमा सृष्टि संरक्षणका लागि भगवान्ले धारण गर्नुभएको वराह अवतारको चर्चा गरिएको छ, जसमा उहाँले पृथ्वीको उद्धार र हिरण्याक्षको वध गर्नुभयो । त्यसपछि सुयज्ञ, कपिल, र दत्तात्रेयका रूपमा भएका अवतारहरूको वर्णन गर्दै उनीहरूले दिएका आत्मज्ञान र योगको महत्त्व दर्शाइएको छ । ब्रह्माजीले आफ्नो मानस पुत्रका रूपमा सनकादि ऋषिहरूको अवतारको चर्चा गर्नुभएको छ, जसले ब्रह्मचर्य र ज्ञानको प्रचार गरे । नर-नारायणको अवतारले कठोर तपस्या र कामदेवमाथिको विजयको सन्देश दिन्छ । बालक ध्रुवको कथाले भगवान्को अचल भक्तिको महिमा र ध्रुवपदको प्राप्तिको वर्णन गर्दछ । राजा पृथुका रूपमा भगवान्ले पृथ्वीको दोहन गरी मानव कल्याणका लागि अन्न र औषधिको व्यवस्था गर्नुभयो । ऋषभदेवको अवतारले परमहंसको त्यागपूर्ण जीवन र योगको शिक्षा दिन्छ । हयग्रीव अवतारमार्फत वेदहरूको रक्षा र ज्ञानको प्रकाश फैलाइएको छ । मत्स्य अवतारमा प्रलयको जलबाट वेद र जीवहरूको रक्षा गरिएको प्रसङ्ग उल्लेख छ । कूर्म अवतारमा समुद्र मन्थनका बेला मन्दराचल पर्वतलाई पिठ्युँमा धारण गरिएको कथा छ । नृसिंह अवतारले भक्त प्रह्लादको रक्षा र अहङ्कारी हिरण्यकशिपुको अन्त्यको पावन कथा सुनाउँछ । वामन अवतारमा राजा बलिलाई छलेर तीनै लोकको दान लिई भगवान्ले आफ्नो विराटता प्रदर्शन गर्नुभयो । भगवान्ले हंसरूप धारण गरी नारदलाई भागवत धर्मको रहस्य बताउनुभएको प्रसङ्ग यसै अध्यायमा छ । राम अवतारमा रावणको संहार र मर्यादा पुरुषोत्तमको आदर्श प्रस्तुत गरिएको छ । श्रीकृष्ण अवतारमा बाललीलादेखि कंस वधसम्मका प्रसङ्गहरू उल्लेख गर्दै उहाँको पूर्णता देखाइएको छ । व्यास अवतारमार्फत वेदको विभाजन र ज्ञानलाई सुलभ बनाइएको चर्चा छ । बुद्ध अवतारले पाखण्डीहरूलाई मोहित पारेको र कल्कि अवतारले कलियुगको अन्त्यमा धर्म स्थापना गर्ने कुरा बताइएको छ । यसरी यी सबै अवतारहरूले दुष्टको विनाश र सज्जनको रक्षा गर्ने एउटै उद्देश्य राखेका छन् । ब्रह्माजीले यी लीलाहरू केवल मायाको खेल भएको र यसको पार पाउन कठिन भएको बताउनुभएको छ । अन्त्यमा, भगवान्को भक्ति नै मायाबाट मुक्त हुने एकमात्र उपाय भएको निष्कर्ष निकालिएको छ । यो अध्यायले ईश्वरको सर्वव्यापकता र उहाँको अनन्त शक्तिलाई स्पष्ट पार्दछ । सम्पूर्ण अवतारहरूको मूल स्रोत एउटै परमात्मा भएको कुरा यहाँ प्रमाणित गरिएको छ । यस अध्यायको श्रवणले मनुष्यको अज्ञानता नष्ट हुने र मोक्षको मार्ग प्रशस्त हुने विश्वास दिलाइएको छ ।
दार्शनिक पक्ष
यो अध्यायले 'अद्वैत' र 'भक्ति' दर्शनको सुन्दर समन्वय प्रस्तुत गरेको छ । यसको मुख्य दार्शनिक पक्ष भनेको 'परमात्मा' नै सृष्टिको आदि, मध्य र अन्त्य हो भन्ने सत्यलाई स्थापित गर्नु हो । मायालाई भगवान्को त्यस्तो शक्ति मानिएको छ, जसले जीवलाई सत्यबाट टाढा राख्छ तर भक्तिको अगाडि यो शक्ति पनि लज्जित हुन्छ । यहाँ अवतारवादको माध्यमबाट 'सगुण' र 'निर्गुण' ईश्वर एउटै हुन् भन्ने बुझाइएको छ । आत्मालाई आकाश झैँ अविनाशी र शरीरलाई विनाशशील मानेर देहाभिमान त्याग्ने सन्देश दिइएको छ । ज्ञानको प्राप्ति केवल बौद्धिक कसरतबाट नभई निष्कपट शरणागतिबाट मात्र सम्भव छ भन्ने यसको दर्शन हो । सबै कार्य-कारणको मूलमा भगवान् विष्णु हुनुहुन्छ र उहाँभन्दा भिन्न केही छैन भन्ने 'सर्वात्मवाद' यहाँ झल्किन्छ । 'परमहंस' पदलाई उच्चतम आध्यात्मिक स्थितिको रूपमा वर्णन गरिएको छ । योग, तप र ज्ञानको अन्तिम लक्ष्य भनेको भगवान्मा चित्त स्थिर गर्नु नै हो । समग्रमा, यो अध्यायले संसार असत्य छ र केवल हरि-चरण नै सत्य हो भन्ने वेदान्त दर्शनको सारलाई बोकेको छ ।