/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

दशमस्कन्धः – पञ्चाशीतितमोऽध्यायः

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः – पञ्चाशीतितमोऽध्यायः



शुक उवाच
(अनुष्टुप्)
अथैकदात्मजौ प्राप्तौ कृतपादाभिवन्दनौ ।
वसुदेवोऽभिनन्द्याह प्रीत्या सङ्‌कर्षणाच्युतौ ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– "हे परीक्षित् ! एकदिन भगवान् श्रीकृष्ण र बलरामजी आफ्ना आमाबुवालाई भेट्न जानुभयो । उहाँहरूले मातापितालाई प्रणाम गरेपछि वसुदेवले दुवै छोराहरूलाई अत्यन्त प्रेमपूर्वक अभिनन्दन गर्दै भन्नुभयो ।।१।।

मुनीनां स वचः श्रुत्वा पुत्रयोर्धामसूचकम् ।
तद्वीर्यैर्जातविश्रम्भः परिभाष्याभ्यभाषत ॥ २ ॥
नेपाली भावानुवादः वसुदेवले ऋषिहरूका मुखबाट आफ्ना छोराहरूको महिमा सुनेपछि र उनीहरूको पराक्रमलाई विचार गरेर 'यी स्वयं भगवान् हुन्' भन्ने कुरामा विश्वास गर्नुभयो । त्यसपछि उहाँले आफ्ना दुवै छोराहरूलाई प्रेमपूर्वक सम्बोधन गर्दै भन्नुभयो।।२।।
 
कृष्ण कृष्ण महायोगिन् सङ्‌कर्षण सनातन ।
जाने वामस्य यत् साक्षात् प्रधानपुरुषौ परौ ॥ ३ ॥
नेपाली भावानुवादः "हे महायोगी श्रीकृष्ण ! हे सनातन बलराम ! तिमीहरू दुवै अनन्त छौ । तिमीहरू दुवै जना सम्पूर्ण जगत्का मुख्य कारण हौ र कारणका पनि कारणस्वरूप एवं पुरुषका नियामक पनि हौ भन्ने मलाई ज्ञात भएको छ । ।।३।।
 
यत्र येन यतो यस्य यस्मै यद् यद् यथा यदा ।
स्यादिदं भगवान् साक्षात् प्रधानपुरुषेश्वरः ॥ ४ ॥
नेपाली भावानुवादः "यस संसारमा जुन समयमा, जसद्वारा, जसका निम्ति, जुन रूपले, जे जति उत्पन्न भएका छन् वा हुनेछन्, ती सबैका कारण हजुर नै हुनुहुन्छ । हजुरहरू नै जगत्का कारणरूप प्रकृति र पुरुषभन्दा पर रहेका साक्षात् ईश्वर हुनुहुन्छ ।।४।।
 
एतन्नानाविधं विश्वमात्मसृष्टमधोक्षज ।
आत्मनानुप्रविश्यात्मन् प्राणो जीवो बिभर्ष्यज ॥ ५ ॥
नेपाली भावानुवादः "हे जन्म तथा अस्तिवादि विकाररहित भगवान् ! यो विविध संसारको रचना हजुरले नै गर्नुभएको हो । यस सम्पूर्ण जगत्मा हजुर नै आत्मरूपले प्रवेश गरेर यसलाई प्राण (क्रियाशक्ति) र जीव (ज्ञानशक्ति) का रूपमा पालन-पोषण गर्नुहुन्छ  ।।५।।
 
प्राणादीनां विश्वसृजां शक्तयो याः परस्य ताः ।
पारतंत्र्याद् वै सादृष्याद् द्वयोश्चेष्टैव चेष्टताम् ॥ ६ ॥
नेपाली भावानुवादः "यस संसारको क्रियाशक्तिरूप प्राण आदि सबै शक्तिको सृष्टि गर्ने सामर्थ्य हजुरमै छ; किनकि प्राणमा रहेको जुन चेतना छ, त्यो स्वतः स्वतन्त्र छैन, परतन्त्र छ । प्राण आदिमा देखिने चेष्टामा आफैँ चेष्टा गर्ने शक्ति हुँदैन, त्यो चैतन्यशक्ति त हजुर नै हुनुहुन्छ  ।।६।।

कान्तिस्तेजः प्रभा सत्ता चन्द्राग्न्यर्कर्क्षविद्युताम् । 
त्स्थैर्यं भूभृतां भूमेर्वृत्तिर्गन्धोऽर्थतो भवान् ॥ ७ ॥
नेपाली भावानुवादः "हे भगवान् ! चन्द्रमाको कान्ति, अग्निको तेज, सूर्यको प्रभा, नक्षत्र र विद्युत्को चमक, पर्वतको स्थिरता, पृथ्वीको धारणशक्ति र गन्धजस्ता गुणहरू वास्तवमा हजुर नै हुनुहुन्छ।।७।।
 
तर्पणं प्राणनमपां देवत्वं ताश्च तद्रसः ।
ओजः सहो बलं चेष्टा गतिर्वायोस्तवेश्वर ॥ ८ ॥
नेपाली भावानुवादः "हे ईश्वर ! जलमा तृप्ति दिने र जीवन रक्षा गर्ने शक्ति हजुर नै हो । जलमा रहने रस र शक्ति पनि हजुर नै हो । त्यसैगरी इन्द्रियशक्ति, अन्तःकरणको बल र वायुको चेष्टा एवं गति पनि हजुरकै सामर्थ्य हो  ।।८।।
 
दिशां त्वमवकाशोऽसि दिशः खं स्फोट आश्रयः ।
नादो वर्णस्त्वमोङ्‌कार आकृतीनां पृथक्‌कृतिः ॥ ९ ॥
नेपाली भावानुवादः "हजुर नै दिशा र तिनका बीचका अवकाश हुनुहुन्छ । हजुर नै आकाश र त्यसको आश्रयभूत स्फोट (शब्दतन्मात्रा वा परावाणी) हुनुहुन्छ । नाद (पश्यन्ती), ओङ्कार (मध्यमा) र पद, रूप एवं वैखरी वाणी पनि हजुर नै हुनुहुन्छ  ।।९।।
 
इन्द्रियं त्विन्द्रियाणां त्वं देवाश्च तदनुग्रहः ।
अवबोधो भवान् बुद्धेर्जीवस्यानुस्मृतिः सती ॥ १० ॥
नेपाली भावानुवादः "हजुर इन्द्रियहरू र तिनको विषय-प्रकाशन शक्ति तथा इन्द्रियका अधिष्ठातृ देवता पनि हजुर नै हुनुहुन्छ । त्यसैगरी बुद्धिको बोधशक्ति र जीवात्माको विशुद्ध स्मृतिशक्ति पनि हजुर नै हुनुहुन्छ  ।।१०।।
 
भूतानामसि भूतादिरिन्द्रियाणां च तैजसः ।
वैकारिको विकल्पानां प्रधानमनुशायिनम् ॥ ११ ॥
नेपाली भावानुवादः "हजुर पञ्चभूतहरूको कारण तामस अहङ्कार, इन्द्रियहरूको कारण राजस अहङ्कार र देवताहरूको कारण सात्त्विक अहङ्कार रूप हुनुहुन्छ । साथै जीवहरूको कारणभूत माया पनि हजुर नै हुनुहुन्छ  ।।११।।
 
नश्वरेष्विह भावेषु तदसि त्वमनश्वरम् ।
यथा द्रव्यविकारेषु द्रव्यमात्रं निरूपितम् ॥ १२ ॥
नेपाली भावानुवादः "हे प्रभु ! जसरी माटोका विकार घडा वा गमला आदिमा माटो नै अनुगत हुन्छ, त्यसरी नै सम्पूर्ण नाशवान् पदार्थहरूमा अविनाशी कारणरूपले हजुर नै विराजमान हुनुहुन्छ  ।।१२।।
 
सत्त्वं रजस्तम इति गुणास्तद्‌वृत्तयश्च याः ।
त्वय्यद्धा ब्रह्मणि परे कल्पिता योगमायया ॥ १३ ॥
नेपाली भावानुवादः "सत्त्व, रज र तमयी तीन गुण र यिनका कार्यस्वरूप जति पनि वृत्तिहरू छन्, ती सबै परब्रह्म हजुरमा योगमायाद्वारा कल्पित गरिएका हुन्  ।।१३।।
 
तस्मान्न सन्त्यमी भावा यर्हि त्वयि विकल्पिताः ।
त्वं चामीषु विकारेषु ह्यन्यदाव्यावहारिकः ॥ १४ ॥
नेपाली भावानुवादः "त्यसैले यी दृश्य भावहरू वास्तवमा छैनन्, किनकि यी हजुरमा कल्पित मात्र हुन् । हजुर यी विकारहरूमा अनुगत भएर पनि व्यवहारभन्दा पर (अविकारी) हुनुहुन्छ । जगत्को निवृत्तिपछि हजुर मात्र शेष रहनुहुन्छ  ।।१४।।
 
गुणप्रवाह एतस्मिन्नबुधास्त्वखिलात्मनः ।
गतिं सूक्ष्मामबोधेन संसरन्तीह कर्मभिः ॥ १५ ॥
नेपाली भावानुवादः "यो सम्पूर्ण जगत् गुणहरूको प्रवाह हो । अज्ञानीहरू हजुरको सूक्ष्म स्वरूपलाई जान्दैनन् र अज्ञानवश कर्मबन्धनमा परेर संसारचक्रमा घुमिरहन्छन्  ।।१५।।
 
यदृच्छया नृतां प्राप्य सुकल्पामिह दुर्लभाम् ।
स्वार्थे प्रमत्तस्य वयो गतं त्वन्माययेश्वर ॥ १६ ॥
नेपाली भावानुवादः "हे ईश्वर ! सौभाग्यवश यो दुर्लभ र सुसज्जित मानव शरीर प्राप्त भयो, तर हजुरको मायाले मोहित भएर म आफ्नो वास्तविक स्वार्थ (आत्मकल्याण) प्रति असावधान रहेँ र मेरो आयु व्यर्थै व्यतीत भयो  ।।१६।।
 
असावहं ममैवैते देहे चास्यान्वयादिषु ।
स्नेहपाशैर्निबध्नाति भवान्सर्वमिदं जगत् ॥ १७ ॥
नेपाली भावानुवादः "हे भगवान् ! हजुरले नै यो शरीर '' हुँ र यो शरीरसँग सम्बन्धित व्यक्तिहरू 'मेरा' हुन् भन्ने अहंता र ममताको स्नेहपासोमा सम्पूर्ण जगत्लाई बाँध्नुभएको छ  ।।१७।।
 
युवां न नः सुतौ साक्षान् प्रधानपुरुषेश्वरौ ।
भूभारक्षत्रक्षपण अवतीर्णौ तथाऽऽत्थ ह ॥ १८ ॥
नेपाली भावानुवादः "मलाई अब ज्ञात भयो कि हजुरहरू मेरा साधारण पुत्र मात्र हुनुहुन्न, साक्षात् प्रकृति र पुरुषका मालिक हुनुहुन्छ । पृथ्वीको भार बनेका दुष्ट क्षत्रियहरूको विनाशका लागि हजुरहरू अवतरित हुनुभएको हो, जुन कुरा हजुरले नै आफ्नो जन्मकालमा भन्नुभएको थियो  ।।१८।।
 
(वसंततिलका)
तत्ते गतोऽस्म्यरणमद्य पदारविन्द-
    मापन्नसंसृतिभयापहमार्तबन्धो ।
एतावतालमलमिन्द्रियलालसेन
    मर्त्यात्मदृक् त्वयि परे यदपत्यबुद्धिः ॥ १९ ॥
नेपाली भावानुवादः "हे आर्तबन्धु ! म आज हजुरको त्यस चरणकमलको शरणमा आएको छु, जसले संसारको भय नष्ट गर्दछ । अब मलाई इन्द्रियको भोगलालसाबाट विरक्ति मिलेको छ; किनकि अहिलेसम्म मैले यो मरणशील शरीरमा आत्मबुद्धि गरेर हजुर साक्षात् परमेश्वरलाई पुत्रका रूपमा मात्र हेरिरहेँ  ।।१९।।
 
सूतीगृहे ननु जगाद भवानजो नौ 
ञ्जज्ञ इत्यनुयुगं निजधर्मगुप्त्यै ।
नानातनूर्गगनवद् विदधज्जहासि
को वेद भूम्न उरुगाय विभूतिमायाम् ॥ २० ॥
नेपाली भावानुवादः "हजुरले सूतिकागृहमा भन्नुभएको थियो कि हजुर अजन्मा भए पनि धर्मको रक्षाका लागि प्रत्येक युगमा अवतार लिनुहुन्छ । हे प्रभु ! आकाशमा अनेक रूप देखिए जस्तै हजुर आफ्नो मायाले अनेक स्वरूप धारण गर्नुहुन्छ र फेरि त्याग गर्नुहुन्छ । हजुरको यो अनन्त विभूति र मायालाई कसले जान्न सक्छ र ?" ।।२०।।
 
श्रीशुक उवाच
(अनुष्टुप्)
आकर्ण्येत्थं पितुर्वाक्यं भगवान् सात्वतर्षभः ।
प्रत्याह प्रश्रयानम्रः प्रहसञ्श्लक्ष्णया गिरा ॥ २१ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– "हे महाराज ! पिता वसुदेवका यस्ता वचन सुनेर यदुवंशशिरोमणि भगवान् श्रीकृष्ण मुस्कुराउँदै नम्रतापूर्वक मधुर वाणीमा यसरी भन्नुहुन्छ  ।।२१।।
 
श्रीभगवानुवाच
वचो वः समवेतार्थं तातैतदुपमन्महे । यन्नः
पुत्रान् समुद्दिश्य तत्त्वग्राम उदाहृतः ॥ २२ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णले भन्नुभयो– "हे पिता ! हजुरले आफ्ना पुत्रहरू हामीलाई सम्बोधन गरेर जुन तत्त्वज्ञानको उपदेश दिनुभयो, त्यसलाई हामी उचित मान्दछौँ  ।।२२।।
 
अहं यूयमसावार्य इमे च द्वारकौकसः ।
सर्वेऽप्येवं यदुश्रेष्ठ विमृश्याः सचराचरम् ॥ २३ ॥
नेपाली भावानुवादः "हे यदुश्रेष्ठ ! म, हजुर, दाजु बलराम, द्वारकावासी र सम्पूर्ण चराचर जगत्कै बारेमा यसरी नै आत्मिक दृष्टिले विचार गर्नुपर्दछ  ।।२३।।
 
आत्मा ह्येकः स्वयंज्योतिर्नित्योऽन्यो निर्गुणो गुणैः ।
आत्मसृष्टैस्तत्कृतेषु भूतेषु बहुधेयते ॥ २४ ॥
खं वायुर्ज्योतिरापो भूस्तत्कृतेषु यथाशयम् । आविस्तिरोऽल्पभूर्येको नानात्वं यात्यसावपि ॥ २५ ॥
नेपाली भावानुवादः "वास्तवमा आत्मा एक, स्वयंप्रकाश, नित्य र निर्गुण छ । तैपनि आफूद्वारा सिर्जित गुण र पञ्चमहाभूतहरूमा प्रवेश गरेर यो अनेक रूपमा देखिन्छ । जसरी आकाश, वायु, अग्नि, जल र पृथ्वी आदि तत्त्वहरू आ-आफ्ना कार्यमा साना-ठूला वा अनेक रूपमा देखिए पनि स्वरूपतः एकै हुन्छन्, त्यसरी नै परमात्मा पनि अनेकतामा एकताको रूपमा व्याप्त हुनुहुन्छ  ।।२४२५।।
 
श्रीशुक उवाच 
एवं भगवता राजन् वसुदेव उदाहृतः ।
श्रुत्वा विनष्टनानाधीस्तूष्णीं प्रीतमना अभूत् ॥ २६ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– "हे परीक्षित् ! भगवान् श्रीकृष्णका यस्ता वचन सुनेर वसुदेवजीको भेदबुद्धि (नानात्व बुद्धि) नष्ट भयो । त्यसपछि उहाँ शान्त र प्रसन्न मनले मौन रहनुभयो  ।।२६।।
 
अथ तत्र कुरुश्रेष्ठ देवकी सर्वदेवता ।
श्रुत्वानीतं गुरोः पुत्रमात्मजाभ्यां सुविस्मिता ॥ २७ ॥
कृष्णरामौ समाश्राव्य पुत्रान् कंसविहिंसितान् ।
स्मरन्ती कृपणं प्राह वैक्लव्यादश्रुलोचना ॥ २८ ॥
नेपाली भावानुवादः "हे कुरुश्रेष्ठ ! एकपटक श्रीकृष्ण र बलरामले आफ्ना गुरुका मृत छोरालाई यमलोकबाट फर्काएर ल्याएको वृत्तान्त सुनेर विस्मित भएकी देवकीलाई कंसद्वारा मारिएका आफ्ना पुत्रहरूको सम्झना भयो । उहाँ शोकविह्वल भई आँसु खसाल्दै विलापपूर्ण स्वरमा भन्न थाल्नुभयो  ।।२७२८।।
 
देवक्युवाच 
राम रामाप्रमेयात्मन् कृष्ण योगेश्वरेश्वर ।
वेदाहं वां विश्वसृजामीश्वरावादिपूरुषौ ॥ २९ ॥
नेपाली भावानुवादः देवकीले भन्नुभयो– "हे अप्रमेयस्वरूप बलराम ! हे योगेश्वरेश्वर श्रीकृष्ण ! मलाई थाहा छहजुरहरू दुवै जगत्का सृष्टिकर्ता, ईश्वर र आदिपुरुष हुनुहुन्छ  ।।२९।।
 
कलविध्वस्तसत्त्वानां राज्ञां उच्छास्त्रवर्तिनाम् ।
भूमेर्भारायमाणानामवतीर्णौ किलाद्य मे ॥ ३० ॥
नेपाली भावानुवादः "कालक्रमले सद्गुण नष्ट भएका र शास्त्रको मर्यादा उल्लंघन गरी पृथ्वीलाई भार बनाउने राजाहरूको नाश गर्नका लागि हजुरहरू मेरो गर्भबाट अवतरित हुनुभएको हो  ।।३०।।
 
यस्य अशांशांशभागेन विश्वोत्पत्तिलयोदयाः ।
भवन्ति किल विश्वात्मंस्तं त्वाद्याहं गतिं गता ॥ ३१ ॥
नेपाली भावानुवादः "हे विश्वात्मन् ! हजुरको सानो अंशबाट यो विश्वको उत्पत्ति, स्थिति र प्रलय हुन्छ । आज म हजुरकै शरणमा परेकी छु  ।।३१।।
 
चिरान्मृतसुतादाने गुरुणा किलचोदितौ ।
आनिन्यथुः पितृस्थानाद् गुरवे गुरुदक्षिणाम् ॥ ३२ ॥
नेपाली भावानुवादः "गुरु सान्दीपनिले धेरै पहिले मरेका छोरा माग्दा हजुरहरूले गुरुदक्षिणा स्वरूप उनीहरूलाई यमलोकबाट फर्काएर ल्याउनुभएको थियो भन्ने मैले सुनेकी छु  ।।३२।।
 
तथा मे कुरुतं कामं युवां योगेश्वरेश्वरौ ।
भोजराजहतान् पुत्रान् कामये द्रष्टुमाहृतान् ॥ ३३ ॥
नेपाली भावानुवादः "हे योगेश्वरहरूका पनि ईश्वर ! मेरो पनि त्यस्तै एउटा इच्छा छ । कंसद्वारा मारिएका मेरा छोराहरूलाई ल्याएर मलाई देखाइदिनुहोस्, म उनीहरूलाई हेर्न चाहन्छु  ।।३३।।
 
ऋषिरुवाच
एवं सञ्चोदितौ मात्रा रामः कृष्णश्च भारत ।
सुतलं संविविशतुर्योगमायामुपाश्रितौ ॥ ३४ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– "हे भारत ! यसरी माता देवकीले भनेपछि श्रीकृष्ण र बलराम दुवैले योगमायाको सहारा लिई सुतल लोकमा प्रवेश गर्नुभयो  ।।३४।।
 
(वशंस्था)
तस्मिन्प्रविष्टावुपलभ्य दैत्यराड्
    विश्वात्मदैवं सुतरां तथात्मनः ।
तद्दर्शनाह्लादपरिप्लुताशयः सद्यः
    समुत्थाय ननाम सान्वयः ॥ ३५ ॥
नेपाली भावानुवादः "आफ्ना आराध्यदेव विश्वात्मा श्रीकृष्ण र बलराम सुतल लोकमा प्रवेश गर्नुभएको थाहा पाएर दैत्यराज बलि अत्यन्त हर्षित भए । उनी तुरुन्तै परिवारसहित उठेर भगवान्लाई प्रणाम गर्न पुगे  ।।३५।।
 
तयोः समानीय वरासनं मुदा
    निविष्टयोस्तत्र महात्मनोस्तयोः ।
दधार पादाववनिज्य तज्जलं
    सवृन्द आब्रह्म पुनद् यदम्बु ह ॥ ३६ ॥
नेपाली भावानुवादः "आनन्दले मग्न भएका बलिले भगवान्लाई श्रेष्ठ आसनमा विराजमान गराए । उहाँहरूका पाउ धोएर त्यो पावन जल (चरणोदक), जसले ब्रह्माजीसम्मको जगत्लाई पवित्र बनाउँछ, त्यसलाई सपरिवार शिरमा धारण गरे  ।।३६।।
 
समर्हयामास स तौ विभूतिभि-
    र्महार्हवस्त्राभरणानुलेपनैः ।
ताम्बूलदीपामृतभक्षणादिभिः
    स्वगोत्रवित्तात्मसमर्पणेन च ॥ ३७ ॥
नेपाली भावानुवादः "बलिले बहुमूल्य वस्त्र, आभूषण, गन्ध, ताम्बुल र अमृतसमान भोजनद्वारा भगवान्को पूजा गरे । उनले आफ्नो वंश, धन र स्वयंलाई पनि भगवान्को चरणमा समर्पण गरे  ।।३७।।
 
स इन्द्रसेनो भगवत्पदाम्बुजं
    बिभ्रन्मुहुः प्रेमविभिन्नया धिया ।
उवाच हानन्दजलाकुलेक्षणः
    प्रहृष्टरोमा नृप गद्‌गदाक्षरम् ॥ ३८ ॥
नेपाली भावानुवादः "हे राजा ! राजा बलिले भगवान्को चरणकमललाई पटक-पटक प्रेमपूर्वक स्पर्श गरे । उनका आँखाबाट हर्षका आँसु बगिरहेका थिए र शरीर रोमाञ्चित थियो । उनी गद्गद कण्ठले यसरी स्तुति गर्न थाले  ।।३८।।
 
बलिरुवाच
(अनुष्टुप्)
नमोऽनन्ताय बृहते नमः कृष्णाय वेधसे ।
साङ्ख्ययोगवितानाय ब्रह्मणे परमात्मने ॥ ३९ ॥
नेपाली भावानुवादः बलिले भने– "अनन्त र महान् बलरामजीलाई नमस्कार छ । जगत्का सृष्टिकर्ता, साङ्ख्य र योगका प्रवर्तक परब्रह्म परमात्मा श्रीकृष्णलाई नमस्कार छ  ।।३९।।
 
दर्शनं वां हि भूतानां दुष्प्रापं चाप्यदुर्लभम् ।
रजस्तमःस्वभावानां यन्नः प्राप्तौ यदृच्छया ॥ ४० ॥
नेपाली भावानुवादः "प्राणीहरूका लागि हजुरहरूको दर्शन दुर्लभ छ, तैपनि हजुरको कृपाले आज हामीजस्ता रजोगुणी र तमोगुणी स्वभाव भएकाहरूलाई पनि यो दर्शन सुलभ भयो  ।।४०।।
 
दैत्यदानवगन्धर्वाः सिद्धविद्याध्रचारणाः ।
यक्षरक्षःपिशाचाश्च भूतप्रमथनायकाः ॥ ४१ ॥
विशुद्धसत्त्वधाम्न्यद्धा त्वयि शास्त्रशरीरिणि ।
नित्यं निबद्धवैरास्ते वयं चान्ये च तादृशाः ॥ ४२ ॥
केचनोद्‌बद्धवैरेण भक्त्या केचन कामतः ।
न तथा सत्त्वसंरब्धाः सन्निकृष्टाः सुरादयः ॥ ४३ ॥
नेपाली भावानुवादः "हे प्रभु ! हामीजस्ता दैत्य, दानव र अन्य तामसी-राजसी योनिहरू हजुरसँग प्रायः वैरभाव राख्दछन् । तर कतिपयले वैरभावले, कतिपयले भक्तिले र कतिपयले कामनाले हजुरको स्मरण गरेर जुन गति पाउँछन्, त्यो सात्त्विक स्वभावका देवताहरूले पनि सजिलै पाउन सक्दैनन्  ।।४१४३।।
 
इदमित्थमिति प्रायस्तव योगेश्वरेश्वर ।
न विदन्त्यपि योगेशा योगमायां कुतो वयम् ॥ ४४ ॥
नेपाली भावानुवादः "हे योगेश्वरहरूका ईश्वर ! हजुरको मायाको वास्तविक स्वरूप ठूला-ठूला योगेश्वरहरूले त बुझ्न सक्दैनन् भने हामी अल्पबुद्धि भएका दैत्यहरूले कसरी जान्न सक्छौँ र ?" ।।४४।।
 
(वसंततिलका)
तन्नः प्रसीद निरपेक्षविमृग्ययुष्मत्
    पादारविन्दधिषणान्यगृहान्धकूपात् ।
निष्क्रम्य विश्वशरणाङ्‌घ्र्युपलब्धवृत्तिः
    शान्तो यथैक उत सर्वसखैश्चरामि ॥ ४५ ॥
नेपाली भावानुवादः "त्यसैले हजुर हामीमाथि प्रसन्न हुनुहोस् । यो गृहस्थरूपी अँध्यारो इनारबाट मुक्त भई हजुरको चरणकमलको आश्रय लिन सकूँ । म शान्त भएर एक्लै वा हजुरका भक्तहरूसँग मिलेर विचरण गर्न सकूँ, यस्तो कृपा गर्नुहोस्  ।।४५।।
 
(अनुष्टुप्)
शाध्यस्मानीशितव्येश निष्पापान् कुरु नः प्रभो ।
 पुमान् यच्छ्रद्धयातिष्ठंश्चोदनाया विमुच्यते ॥ ४६ ॥
नेपाली भावानुवादः "हे प्रभु ! हामीलाई आज्ञा दिनुहोस् र निष्पाप बनाउनुहोस्; किनकि हजुरको आज्ञालाई श्रद्धापूर्वक पालन गर्ने मनुष्य कर्मकाण्डका विधि-निषेधबाट मुक्त हुन्छ  ।।४६।।
 
श्रीभगवानुवाच
आसन् मरीचेः षट्पुत्रा ऊर्णायां प्रथमेऽन्तरे ।
देवाः कं जहसुर्वीक्ष्य सुतं यभितुमुद्यतम् ॥ ४७ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णले भन्नुभयो– "हे दैत्यराज बलि ! प्रथम मन्वन्तरमा प्रजापति मरीचिकी पत्नी ऊर्णाबाट छ जना छोराहरू जन्मिएका थिए । तिनीहरू देवता थिए, तर ब्रह्माजीले आफ्नी पुत्रीप्रति कुदृष्टि राखेको देखेर उनीहरूले उपहास गर्दै हाँसेका थिए  ।।४७।।
 
तेनासुरीमगन् योनिमधुनावद्यकर्मणा ।
हिरण्यकशिपोर्जाता नीतास्ते योगमायया ॥ ४८ ॥
देवक्या उदरे जाता राजन् कंसविहिंसिताः ।
सा ताञ्छोचत्यात्मजान् स्वांस्त इमेऽध्यासतेऽन्तिके ॥ ४९ ॥
नेपाली भावानुवादः "त्यही अनुचित कर्मका कारण ब्रह्माजीको श्रापले उनीहरू असुर योनिमा जन्मिए र हिरण्यकशिपुका पुत्र बने । पछि योगमायाले उनीहरूलाई देवकीको गर्भमा स्थानान्तरण गरिन् र जन्मनासाथ कंसले उनीहरूलाई मारिदियो । माता देवकी आफ्ना ती पुत्रहरूको सम्झनामा अत्यन्त दुःखी हुनुहुन्छ । अहिले ती बालकहरू तिम्रै नजिक छन्  ।।४८४९।।
 
इत एतान् प्रणेष्यामो मातृशोकापनुत्तये ।
ततः शापाद् विनिर्मुक्ता लोकं यास्यन्ति विज्वराः ॥ ५० ॥
नेपाली भावानुवादः "माताको शोक हटाउन हामी उनीहरूलाई यहाँबाट लिएर जान्छौँ । त्यसपछि उनीहरू श्रापमुक्त भई प्रसन्नतापूर्वक आफ्नो लोकमा जानेछन्  ।।५०।।
 
स्मरोद्‌गीथः परिष्वङ्‌गः पतङ्‌गः क्षुद्रभृद् घृणी ।
षडिमे मत्प्रसादेन पुनर्यास्यन्ति सद्‌गतिम् ॥ ५१ ॥
नेपाली भावानुवादः "स्मर, उद्गीथ, परिष्वङ्ग, पतङ्ग, क्षुद्रभृत् र घृणी नाम गरेका यी छ बालकले मेरो कृपाले पुनः सद्गति प्राप्त गर्नेछन्  ।।५१।।
 
इत्युक्त्वा तान् समादाय इन्द्रसेनेन पूजितौ ।
पुनर्द्वारवतीमेत्य मातुः पुत्रानयच्छताम् ॥ ५२ ॥
नेपाली भावानुवादः यसो भनेर बलिद्वारा पुजित श्रीकृष्ण र बलरामले ती छ बालकहरूलाई साथमा लिई द्वारका फर्केर माता देवकीलाई सुम्पिनुभयो  ।।५२।।
 
तान् दृष्ट्वा बालकान् देवी पुत्रस्नेहस्नुतस्तनी ।
परिष्वज्याङ्‌कमारोप्य मूर्ध्न्यजिघ्रदभीक्ष्णशः ॥ ५३ ॥
नेपाली भावानुवादः "ती बालकहरूलाई देख्दा देवकीको स्तनबाट वात्सल्यले दूध बग्न थाल्यो । उहाँले प्रेमपूर्वक उनीहरूलाई काखमा राख्नुभयो र बारम्बार अङ्गालो हाल्दै टाउको सुँघ्नुभयो  ।।५३।।
 
अपाययत् स्तनं प्रीता सुतस्पर्शपरिप्लुता ।
मोहिता मायया विष्णोर्यया सृष्टिः प्रवर्तते ॥ ५४ ॥
नेपाली भावानुवादः "भगवान् विष्णुको मायाले मोहित भएकी देवकीले पुत्रस्पर्शको आनन्द लिँदै उनीहरूलाई स्तनपान गराउनुभयो  ।।५४।।
 
पीत्वामृतं पयस्तस्याः पीतशेषं गदाभृतः ।
नारायणाङ्‌गसंस्पर्शप्रतिलब्धात्मदर्शनाः ॥ ५५ ॥
नेपाली भावानुवादः "भगवान् श्रीकृष्णले पिएर बाँकी रहेको (अमृतमय) दूध पान गर्नाले र नारायणस्वरूप श्रीकृष्णको अङ्गस्पर्श हुनाले ती छ बालकहरूलाई आत्मज्ञान प्राप्त भयो  ।।५५।।
 
ते नमस्कृत्य गोविन्दं देवकीं पितरं बलम् ।
मिषतां सर्वभूतानां ययुर्धाम दिवौकसाम् ॥ ५६ ॥
नेपाली भावानुवादः "त्यसपछि ती बालकहरूले श्रीकृष्ण, देवकी, वसुदेव र बलरामलाई नमस्कार गरे र सबैले हेर्दाहेर्दै दिव्य लोकतर्फ प्रस्थान गरे  ।।५६।।
 
तं दृष्ट्वा देवकी देवी मृतागमननिर्गमम् ।
मेने सुविस्मिता मायां कृष्णस्य रचितां नृप ॥ ५७ ॥
नेपाली भावानुवादः "हे राजा ! मरेका छोराहरू आएको र फेरि दिव्य लोक गएको देखेर देवकी विस्मित हुनुभयो । उहाँले यसलाई श्रीकृष्णको अद्भूत मायाका रूपमा स्वीकार गर्नुभयो  ।।५७।।
 
एवंविधान्यद्‌भुतानि कृष्णस्य परमात्मनः ।
वीर्याण्यनन्तवीर्यस्य सन्त्यनन्तानि भारत ॥ ५८ ॥
नेपाली भावानुवादः "हे भारत ! अनन्त शक्ति भएका परमात्मा श्रीकृष्णका यस्ता अद्भूत चरित्रहरू अनन्त छन् ।" ।।५८।।
 
सूत उवाच
(मालिनी)
य इदमनुशृणोति श्रावयेद् वा मुरारे-
    श्चरितममृतकीर्तेर्वर्णितं व्यासपुत्रैः ।
जगदघभिदलं तद्‌भक्तसत्कर्णपूरं
    भगवति कृतचित्तो याति तत्क्षेमधाम ॥ ५९ ॥
नेपाली भावानुवादः सूतजी भन्नुहुन्छ– "हे शौनक ! व्यासपुत्र शुकदेवद्वारा वर्णित भगवान् श्रीकृष्णको यो पावन चरित्र जसले सुन्छ वा सुनाउँछ, उसको पाप नाश हुन्छ, भक्ति बढ्छ र अन्त्यमा उसले भगवद्धाम प्राप्त गर्दछ  ।।५९।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे उत्तरार्धे मृताग्रजानयनं नाम पञ्चाशीतितमोऽध्यायः ॥ ८५ ॥
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

श्रीमद्भागवत महापुराणको दशम स्कन्ध अन्तर्गत पचासौँ अध्यायमा भगवान् श्रीकृष्ण र बलरामको अद्भूत महिमा तथा पितृभक्तिको सुन्दर चित्रण गरिएको छ । कथाको प्रारम्भमा श्रीकृष्ण र बलराम आफ्ना मातापिता वसुदेव र देवकीलाई भेट्न जानुहुन्छ । वसुदेवले ऋषिहरूका मुखबाट आफ्ना छोराहरूको ईश्वरीय स्वरूपका बारेमा सुनेपछि उनीहरूलाई साक्षात् प्रकृति र पुरुषभन्दा परका ईश्वरका रूपमा स्वीकार गर्दै स्तुति गर्नुहुन्छ । उहाँले मानिस कसरी भगवान्को मायामा परेर 'म र मेरोभन्ने अहङ्कारमा फस्छ र दुर्लभ मानव जीवन व्यर्थ फाल्छ भन्ने कुरा व्यक्त गर्नुहुन्छ । श्रीकृष्णले आफ्ना पितालाई सान्त्वना दिँदै आत्माको अद्वैत स्वरूप र पञ्चमहाभूतमा यसको व्याप्तिको ज्ञान दिनुहुन्छजसले वसुदेवको भेदबुद्धि नष्ट हुन्छ । यसै बीच माता देवकीले श्रीकृष्ण र बलरामले आफ्ना गुरुका मरेका छोरालाई फर्काएर ल्याएको वृत्तान्त सुनेर आफ्ना मारिएका छ छोराहरूको सम्झना गर्नुहुन्छ । उहाँले श्रीकृष्णलाई ती मृत पुत्रहरू देखाइदिन अनुरोध गर्नुहुन्छ । माताको इच्छा पूरा गर्न दुवै दाजुभाइ योगमायाको सहारा लिई सुतल लोक पुग्नुहुन्छ । त्यहाँ दैत्यराज बलिले भगवान्को भव्य स्वागत र पूजा गर्नुहुन्छ र आफ्नो सर्वस्व समर्पण गर्नुहुन्छ । भगवान् श्रीकृष्णले बलि राजालाई ती छ बालकहरूको पूर्वजन्मको कथा सुनाउनुहुन्छजसमा उनीहरू ब्रह्माजीको उपहास गरेका कारण श्रापित भएका थिए । ती बालकहरूलाई सुतल लोकबाट द्वारका ल्याइन्छ र देवकीलाई सुम्पिइन्छ । माता देवकीले वात्सल्यपूर्वक उनीहरूलाई स्तनपान गराउनुहुन्छ । श्रीकृष्णले पहिले नै पिएर बाँकी रहेको दूध र उहाँको अङ्गस्पर्शका कारण ती बालकहरूले तत्कालै आत्मज्ञान प्राप्त गर्दछन् । अन्ततः ती बालकहरू आफ्ना मातापिता र भगवान्लाई प्रणाम गरी सबैका सामुन्ने दिव्य लोक प्रस्थान गर्दछन् । यो देखेर देवकी अत्यन्त विस्मित र हर्षित हुनुहुन्छ । यसरी भगवान् श्रीकृष्णले आफ्ना भक्त र मातापिताको इच्छा पूरा गर्दै आफ्नो अनन्त सामर्थ्य प्रदर्शन गर्नुभएको यस अध्यायको मुख्य सन्देश हो ।

दार्शनिक पक्ष

यस अध्यायले वेदान्त दर्शनको गहिरो पक्षलाई उजागर गरेको छ । वसुदेवको स्तुति र श्रीकृष्णको उत्तरमार्फत आत्माको नित्यत्व र जगत्को मिथ्यात्वलाई प्रष्ट पारिएको छ । संसारमा देखिएका विविध रूपहरू केवल परमात्माकै कल्पित रूप हुन् भन्ने कुरा माटो र घडाको दृष्टान्त दिएर सम्झाइएको छ । मायाशक्तिले गर्दा नै जीवले आफूलाई शरीर सम्झन्छ र बन्धनमा पर्दछ भन्ने पक्ष यहाँ उल्लेख्य छ । इन्द्रियहरूको भोगलालसा र अहङ्कारले मानिसलाई कसरी आत्मकल्याणबाट टाढा राख्छ भन्ने कुरा वसुदेवको ग्लानिपूर्ण शब्दले स्पष्ट पार्छ । यसबाहेकभगवान्को स्पर्श र उहाँको प्रसाद (उच्छिष्ट दूध) बाट कसरी तत्कालै अज्ञानको नाश र आत्मज्ञानको प्राप्ति हुन्छ भन्ने कुराले भक्तियोगको पराकाष्ठा देखाउँछ । आत्मा एक भए पनि अनेक रूपमा व्याप्त देखिनु नै सृष्टिको रहस्य हो भन्ने दार्शनिक सत्यलाई यहाँ जोड दिइएको छ ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...