श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – त्रयोदशोऽध्यायः
शुक उवाच–
साधु पृष्टं महाभाग त्वया भागवतोत्तम ।
यन्नूतनयसीशस्य शृण्वन्नपि कथां मुहुः ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे महाभाग परीक्षित् ! तपाईं धेरै भाग्यमानी हुनुहुन्छ । भक्तहरूमा तपाईंको स्थान श्रेष्ठ छ । त्यसैले तपाईंले भगवान्का लीला-कथाहरू पटक-पटक सुनेर पनि फेरि त्यही कथा सुन्नका लागि सुन्दर प्रश्न गर्नुभयो ।। १ ।।
(मिश्र)
सतामयं सारभृतां निसर्गो
यदर्थवाणीश्रुतिचेतसामपि ।
प्रतिक्षणं नव्यवदच्युतस्य यत्
स्त्रियां विटानामिव साधु वार्ता ॥ २ ॥
नेपाली भावानुवादः जसरी कामुक पुरुषका अगाडि महिलाहरूको चर्चा गर्दा नयाँ-नयाँ अनुभव हुन्छ, त्यसरी ही भगवान्को गुण-कथा सुन्ने, गाउने र मन चिन्तनमा लगाउने तत्त्वग्राही सज्जनहरूका लागि भगवान्का सुन्दर कथाहरू सधैँ नयाँ लाग्दछन् ।। २ ।।
(अनुष्टुप्)
शृणुष्वावहितो राजन् अपि गुह्यं वदामि ते ।
ब्रूयुः स्निग्धस्य शिष्यस्य गुरवो गुह्यमप्युत ॥ ३ ॥
नेपाली भावानुवादः हे राजन् ! भगवान्को यो लीला अत्यन्त रहस्यमयी छ, तापनि म तपाईंलाई सुनाउँछु, सावधान भएर सुन्नुहोस् । किनभने गुरुले आफ्ना प्रिय एवं श्रद्धालु शिष्यलाई अत्यन्त गोप्य रहस्य पनि बताइदिन्छन् ।। ३ ।।
तथाघवदनान्मृत्यो रक्षित्वा वत्सपालकान् ।
सरित्पुलिनमानीय भगवानिदमब्रवीत् ॥ ४ ॥
नेपाली भावानुवादः मैले तपाईंलाई पहिले बताए अनुसार, भगवान् श्रीकृष्णले बाच्छा र आफ्ना साथी गोपबालकहरूलाई मृत्युस्वरूप अघासुरको मुखबाट बचाएर यमुनाको तिरमा ल्याई यसो भन्नुभयो– ।। ४ ।।
(वंशस्था)
अहोऽतिरम्यं पुलिनं वयस्याः
स्वकेलिसम्पन्मृदुलाच्छवालुकम् ।
स्फुटत्सरोगन्धहृतालिपत्रिक–
ध्वनिप्रतिध्वानलसद्द्रुमाकुलम् ॥ ५ ॥
नेपाली भावानुवादः मेरा प्रिय साथीहरू ! हेर, यमुनाजीको यो तट निकै सुन्दर छ । यहाँको बालुवा कति नरम र सफा छ; हाम्रा लागि खेल्ने सबै सामग्री यहाँ उपलब्ध छन् । यहाँ सरोवरमा फुलेका कमलका फूलहरूबाट आकर्षित भएर भ्रमरहरू गुन्जिरहेका छन् । वनमा अनेक थरी फूलहरू फुलेका छन्, जसको सुगन्धले आकर्षित भएर भौँराहरू र चराचुरुङ्गीहरूको मधुर चिरबिरले यहाँका वृक्षहरूको सौन्दर्य बढाइरहेको छ ।। ५ ।।
(अनुष्टुप्)
अत्र भोक्तव्यमस्माभिर्दिवारूढं क्षुधार्दिताः ।
वत्साः समीपेऽपः पीत्वा चरन्तु शनकैस्तृणम् ॥ ६ ॥
नेपाली भावानुवादः साथीहरू ! अब दिन चढिसकेको छ र हामीलाई भोकले पनि सताइसकेको छ, त्यसैले हामीले यहीँ भोजन गर्नुपर्छ । बाच्छाहरूले पनि पानी पिएर नजिकैको हरियो घाँसमा बिस्तारै चरुन् ।। ६ ।।
तथेति पाययित्वार्भा वत्सानारुध्य शाद्वले ।
मुक्त्वा शिक्यानि बुभुजुः समं भगवता मुदा ॥ ७ ॥
नेपाली भावानुवादः यो कुरा सुनेर बालकहरूले 'हुन्छ' भन्दै बाच्छाहरूलाई पानी खुवाएर हरियो चउरमा छोडिदिए । अनि आ-आफ्ना खाजाका पोकाहरू खोलेर भगवान् श्रीकृष्णका साथमा आनन्दपूर्वक खाजा खान थाले ।। ७ ।।
(मिश्र)
कृष्णस्य विष्वक् पुरुराजिमण्डलै–
रभ्याननाः फुल्लदृशो व्रजार्भकाः ।
सहोपविष्टा विपिने विरेजु–
श्छदा यथाम्भोरुहकर्णिकायाः ॥ ८ ॥
नेपाली भावानुवादः त्यसबेला भगवान् श्रीकृष्ण सबैको बीचमा बस्नुभयो र गोठालाहरू उहाँको वरिपरि गोलाकार भएर उहाँतर्फै मुख फर्काएर बसे । सबैका आँखा प्रफुल्ल थिए । यसरी बस्दा, जसरी कमलको फूलका वरिपरि रहेका पत्रहरूले शोभा पाउँछन्, त्यसरी नै कृष्णको निकट रहेका ती बालकहरूको सुन्दर शोभा देखिन्थ्यो ।। ८ ।।
(अनुष्टुप्)
केचित् पुष्पैर्दलैः केचित् पल्लवैरङ्कुरैः फलैः ।
शिग्भिस्त्वग्भिर्दृषद्भिश्च बुभुजुः कृतभाजनाः ॥ ९ ॥
नेपाली भावानुवादः कसैले फूल, कसैले पात, कसैले अङ्कुर, कसैले फल, कसैले कपडा (शिकी) त कसैले ढुङ्गाका टुक्रालाई नै थाल बनाएर खाजा खान थाले ।। ९ ।।
सर्वे मिथो दर्शयन्तः स्वस्वभोज्यरुचिं पृथक् ।
हसन्तो हासयन्तश्चाभ्यवजह्रुः सहेश्वराः ॥ १० ॥
नेपाली भावानुवादः ती गोपबालकहरूले आ-आफ्नो रुचि अनुसारका परिकार एक-अर्कालाई देखाउँदै, हाँस्दै र हसाउँदै भगवान्सँगै खाजा खान थाले ।। १० ।।
(मन्दाक्रान्ता)
बिभ्रद् वेणुं जठरपटयोः शृङ्गवेत्रे च कक्षे ।
वामे पाणौ मसृणकवलं तत्फलान्यङ्गुलीषु ।
तिष्ठन् मध्ये स्वपरिसुहृदो हासयन् नर्मभिः स्वैः
स्वर्गे लोके मिषति बुभुजे यज्ञभुग् बालकेलिः ॥ ११ ॥
नेपाली भावानुवादः त्यसबेला यज्ञका भोक्ता भगवान् श्रीकृष्णको स्वरूप निकै आकर्षक थियो । उहाँले कम्मरको पटुकामा बाँसुरी घुसार्नुभएको थियो, काखीमा सिङको बाजा र बेतको लौरी च्याप्नुभएको थियो । देब्रे हत्केलामा दही-भातको गाँस र औँलाका कापमा अचारका टुक्राहरू लिएर साथीहरूलाई ठट्टाले हसाउँदै भोजन गरिरहनुभएको थियो । भगवान्को यस्तो बाललीला स्वर्गबाट देवताहरू पनि आश्चर्य मान्दै हेरिरहेका थिए ।। ११ ।।
(अनुष्टुप्)
भारतैवं वत्सपेषु भुञ्जानेष्वच्युतात्मसु ।
वत्सास्त्वन्तर्वने दूरं विविशुस्तृणलोभिताः ॥ १२ ॥
नेपाली भावानुवादः हे भरतवंश शिरोमणि ! यसरी भगवान्मा मग्न भएर बालकहरूले भोजन गरिरहेका बेला, बाच्छाहरू हरियो घाँसको लोभमा वनको धेरै टाढा पुगे ।। १२ ।।
तान् दृष्ट्वार भयसंत्रस्तानूचे कृष्णोऽस्य भीभयम् ।
मित्राण्याशान्मा विरमतेहानेष्ये वत्सकानहम् ॥ १३ ॥
नेपाली भावानुवादः बाच्छाहरू नदेखेर बालकहरू डराएको देखी भयका पनि भय (भयनाशक) श्रीकृष्णले भन्नुभयो– हे मेरा प्रिय मित्रहरू ! तिमीहरू भोजन नछोड, म बाच्छाहरू खोजेर लिएर आउनेछु ।। १३ ।।
इत्युक्त्वाद्रिदरीकुञ्जगह्वरेष्वात्मवत्सकान् ।
विचिन्वन् भगवान् कृष्णः सपाणिकवलो ययौ ॥ १४ ॥
नेपाली भावानुवादः गोठालाहरूलाई यसो भन्दै भगवान् कृष्ण हातमा गाँस लिएरै पहाड, गुफा र कुञ्जहरूमा आफ्ना बाच्छाहरू खोज्न निस्कनुभयो ।। १४ ।।
(शार्दूलविक्रीडित)
अम्भोजन्मजनिस्तदन्तरगतो मायार्भकस्येशितु– ।
द्रष्टुं मञ्जु महित्वमन्यदपि तद्वत्सानितो वत्सपान् ।
नीत्वान्यत्र कुरूद्वहान्तरदधात् खेऽवस्थितो यः पुरा ।
दृष्ट्वाहघासुरमोक्षणं प्रभवतः प्राप्तः परं विस्मयम् ॥ १५ ॥
नेपाली भावानुवादः हे परीक्षित् ! आकाशमा रहेका ब्रह्माजी अघासुरको मुक्ति देखेर पहिले नै विस्मित हुनुहुन्थ्यो । उहाँले यी मानवरूप धारी बालक (कृष्ण) को अन्य महिमा हेर्ने इच्छाले बाच्छाहरू र ग्वालाहरूलाई अन्तै लगेर लुकाइदिनुभयो । ती ब्रह्माजी पनि तिनै भगवान्को नाभी-कमलबाट जन्मिएका हुन् ।। १५ ।।
(अनुष्टुप्) ततो वत्सानदृष्ट्वैवत्य पुलिनेऽपि च वत्सपान् ।
उभौ अपि वने कृष्णो विचिकाय समन्ततः ॥ १६ ॥
नेपाली भावानुवादः बाच्छाहरू नभेटिएपछि भगवान् कृष्ण यमुनाको तटमा फर्कनुभयो, तर त्यहाँ ग्वालाहरूलाई पनि देख्नुभएन । त्यसपछि उहाँले जङ्गलका सबैतिर खोज्नुभयो ।। १६ ।।
क्वाप्यदृष्ट्वावन्तर्विपिने वत्सान् पालांश्च विश्ववित् ।
सर्वं विधिकृतं कृष्णः सहसावजगाम ह ॥ १७ ॥
नेपाली भावानुवादः जब कतै पनि बाच्छा र बालकहरू भेटिएनन्, तब सर्वज्ञ भगवान् श्रीकृष्णले यो सबै ब्रह्माको कार्य हो भन्ने कुरा तुरुन्तै थाहा पाउनुभयो ।। १७ ।।
ततः कृष्णो मुदं कर्तुं तन्मातॄणां च कस्य च ।
उभयायितमात्मानं चक्रे विश्वकृदीश्वरः ॥ १८ ॥
नेपाली भावानुवादः त्यसपछि ब्रह्माजी र बालकका आमाहरू दुवैलाई प्रसन्न पार्नका लागि विश्वस्रष्टा भगवान् श्रीकृष्णले स्वयंलाई नै बाच्छा र गोठाला बालकहरूको रूपमा विस्तार गर्नुभयो ।। १८ ।।
(शार्दूलविक्रीडित)
यावद् वत्सपवत्सकाल्पकवपुर्यावत् कराङ्घ्र्यादिकं ।
यावद् यष्टिविषाणवेणुदलशिग्यावद् विभूषाम्बरम् ।
यावत् शीलगुणाभिधाकृतिवयो यावद् विहारादिकं ।
सर्वं विष्णुमयं गिरोऽङ्गवदजः सर्वस्वरूपो बभौ ॥ १९ ॥
नेपाली भावानुवादः हे परीक्षित् ! ती बालक र बाच्छाहरूको सङ्ख्या जति थियो, शरीरको बनोट, हात-खुट्टा, लौरी, सिङ, बाँसुरी, लुगा र गहना जस्ता थिए, उस्तै रूपमा भगवान् प्रकट हुनुभयो । उनीहरूको स्वभाव, गुण, नाम र उमेर अनुसारकै रूप धारण गरेर भगवान्ले 'यो सारा जगत् विष्णुमय छ' भन्ने वेदवाणीलाई चरितार्थ गरिदिनुभयो ।। १९ ।।
(अनुष्टुप्)
स्वयमात्मात्मगोवत्सान् प्रतिवार्यात्मवत्सपैः ।
क्रीडन्नात्मविहारैश्च सर्वात्मा प्राविशद् व्रजम् ॥ २० ॥
नेपाली भावानुवादः त्यसबेला भगवान् स्वयं बाच्छा र स्वयं नै गोठाला बालक बन्नुभयो । आफ्नै रूपका बाच्छाहरूलाई आफ्नै रूपका बालकहरूद्वारा चराउँदै र अनेक खेल खेल्दै उहाँ ब्रजमा प्रवेश गर्नुभयो ।। २० ।।
तत्तद्वत्सान् पृथङ् नीत्वा तत्तद्गो्ष्ठे निवेश्य सः ।
तत्तद् आत्माभवद् राजंस्तत्तत्सद्म प्रविष्टवान् ॥ २१ ॥
नेपाली भावानुवादः हे राजन् ! जुन बालकका जुन बाच्छाहरू थिए, तिनलाई उही गोठमा पुर्याएर भगवान् प्रत्येक बालकको रूपमा आ-आफ्ना घरमा प्रवेश गर्नुभयो ।। २१ ।।
(मिश्र)
तन्मातरो वेणुरवत्वरोत्थिता
उत्थाप्य दोर्भिः परिरभ्य निर्भरम् ।
स्नेहस्नुतस्तन्यपयःसुधासवं
मत्वा परं ब्रह्म सुतानपाययन् ॥ २२ ॥
नेपाली भावानुवादः बाँसुरीको आवाज सुन्नेबित्तिकै आमाहरू दौडिएर आए र आफ्ना बालक (जो साक्षात् परब्रह्म हुन्) लाई अँगालोमा हाले । उनीहरूको वात्सल्य प्रेमले स्तनबाट दूध बग्न थाल्यो र आफ्ना छोरा सम्झेर भगवान्लाई नै दूध पियाउन थाले ।। २२ ।।
ततो नृपोन्मर्दनमज्जलेपना–
लङ्काररक्षातिलकाशनादिभिः ।
संलालितः स्वाचरितैः प्रहर्षयन्
सायं गतो यामयमेन माधवः ॥ २३ ॥
नेपाली भावानुवादः हे परीक्षित् ! प्रत्येक साँझ वनबाट फर्केपछि आमाहरूले उनीहरूलाई नुहाइदिने, चन्दन लगाइदिने र गहना पहिर्याइदिने जस्ता सेवा गर्थे । भगवान् श्रीकृष्ण पनि बालककै रूपमा उनीहरूलाई आनन्द दिँदै समय बिताउन थाल्नुभयो ।। २३ ।।
गावस्ततो गोष्ठमुपेत्य सत्वरं
ङ्कारघोषैः परिहूतसङ्गतान् ।
स्वकान् स्वकान् वत्सतरानपाययन्
मुहुर्लिहन्त्यः स्रवदौधसं पयः ॥ २४ ॥
नेपाली भावानुवादः वनबाट गाईहरू गोठमा फर्केपछि आफ्ना बाच्छाहरूलाई बोलाउँथे । बाच्छाहरू आउनासाथ उनीहरूलाई चाट्दै र स्तनबाट बगेको दूध खुवाउँदै गाईहरूले अगाध प्रेम प्रकट गर्थे ।। २४ ।।
(अनुष्टुप्)
गोगोपीनां मातृतास्मिन् सर्वा स्नेहर्धिकां विना ।
पुरोवदास्वपि हरेस्तोकता मायया विना ॥ २५ ॥
नेपाली भावानुवादः ती गाई र गोपिनीहरूको आफ्ना सन्तानप्रतिको प्रेम पहिलेभन्दा धेरै गुणा बढेर गयो । भगवान्ले पनि बालककै रूपमा व्यवहार गर्नुभयो, तर यो कुनै कृत्रिम माया नभई साक्षात् भगवान्कै स्वरूपको प्रभाव थियो ।। २५ ।।
व्रजौकसां स्वतोकेषु स्नेहवल्ल्याब्दमन्वहम् ।
शनैर्निःसीम ववृधे यथा कृष्णे त्वपूर्ववत् ॥ २६ ॥
नेपाली भावानुवादः यसरी ब्रजवासीहरूको आफ्ना छोराछोरीप्रतिको प्रेम एक वर्षसम्म निरन्तर बढ्दै गयो । उनीहरूले आफ्ना सन्तानमा श्रीकृष्णमा जस्तै असीम प्रेम पाउन थाले ।। २६ ।।
इत्थमात्माऽऽत्मनाऽऽत्मानं वत्सपालमिषेण सः ।
पालयन् वत्सपो वर्षं चिक्रीडे वनगोष्ठयोः ॥ २७ ॥
नेपाली भावानुवादः यसरी परमात्मा श्रीकृष्णले स्वयं नै बाच्छा र गोठाला बालक बनेर एक वर्षसम्म वन र गोठहरूमा लीला गर्नुभयो ।। २७ ।।
एकदा चारयन् वत्सान् सरामो वनमाविशत् ।
पञ्चषासु त्रियामासु हायनापूरणीष्वजः ॥ २८ ॥
नेपाली भावानुवादः जब एक वर्ष पूरा हुन पाँच-छ दिन मात्र बाँकी थियो, तब एक दिन श्रीकृष्ण बलरामजीका साथमा बाच्छाहरू चराउन वनमा जानुभयो ।। २८ ।।
ततो विदूराच्चरतो गावो वत्सानुपव्रजम् ।
गोवर्धनाद्रिशिरसि चरन्त्यो ददृशुस्तृणम् ॥ २९ ॥
नेपाली भावानुवादः गोवर्धन पर्वतको शिखरमा चरिरहेका गाईहरूले टाढा ब्रजको नजिकै आफ्ना बाच्छाहरू चरिरहेको देखे ।। २९ ।।
(मिश्र)
दृष्ट्वामथ तत्स्नेहवशोऽस्मृतात्मा
स गोव्रजोऽत्यात्मपदुर्गमार्गः ।
द्विपात्ककुद्ग्री व उदास्यपुच्छो–
ऽगाद्धुङ्कृतैरास्रुपया जवेन ॥ ३० ॥
नेपाली भावानुवादः बाच्छाहरू देख्नेबित्तिकै गाईहरू स्नेहले विह्वल भए । गोठालाहरूले रोक्न खोज्दा पनि नटेरी उनीहरू कठिन बाटोबाट दौडिए । थुनबाट दूध बगाउँदै, पुच्छर र टाउको ठाडो पारेर उनीहरू यति तीव्र वेगले दौडिए कि मानौँ दुई खुट्टाले मात्र दौडिरहेका छन् ।। ३० ।।
(अनुष्टुप्)
समेत्य गावोऽधो वत्सान् वत्सवत्योऽप्यपाययन् ।
गिलन्त्य इव चाङ्गानि लिहन्त्यः स्वौधसं पयः ॥ ३१ ॥
नेपाली भावानुवादः नयाँ बाच्छा पाइसकेका भए पनि गाईहरूले आफ्ना पुराना बाच्छाहरूलाई देख्नासाथ स्नेहपूर्वक चाट्न र दूध खुवाउन थाले । उनीहरू आफ्ना बाच्छाहरूलाई निल्न खोजेझैँ गरी मग्न भएर चाटिरहेका थिए ।। ३१ ।।
गोपास्तद्रोधनायासमौघ्यलज्जोरुमन्युना ।
दुर्गाध्वकृच्छ्रतोऽभ्येत्य गोवत्सैर्ददृशुः सुतान् ॥ ३२ ॥
नेपाली भावानुवादः गाईहरूलाई रोक्न नसक्दा गोपहरूलाई लाज र रिस उठ्यो । धेरै कष्टका साथ तल ओर्लेर हेर्दा उनीहरूले आफ्ना छोराहरूलाई बाच्छाहरूसँगै देखे ।। ३२ ।।
(मिश्र)
तदीक्षणोत्प्रेमरसाप्लुताशया
जातानुरागा गतमन्यवोऽर्भकान् ।
उदुह्य दोर्भिः परिरभ्य मूर्धनि
घ्राणैरवापुः परमां मुदं ते ॥ ३३ ॥
नेपाली भावानुवादः आफ्ना बालकहरूलाई देख्नेबित्तिकै उनीहरूको रिस शान्त भयो र हृदय प्रेमले भरियो । उनीहरूले छोराहरूलाई काखमा लिएर, अँगालो हालेर र शिर सुँघेर परम आनन्द प्राप्त गरे ।। ३३ ।।
(अनुष्टुप्)
ततः प्रवयसो गोपास्तोकाश्लेषसुनिर्वृताः ।
कृच्छ्राच्छनैरपगतास्तदनुस्मृत्युदश्रवः ॥ ३४ ॥
नेपाली भावानुवादः वृद्ध गोपहरू आफ्ना छोराहरूलाई अँगालो हालेर अत्यन्त हर्षित भए । त्यहाँबाट फर्किँदा पनि उनीहरूको आँखामा छोराहरूप्रतिको स्नेहका कारण आँसु भरिएको थियो ।। ३४ ।।
व्रजस्य रामः प्रेमर्द्धेर्वीक्ष्यौत्कण्ठ्यमनुक्षणम् ।
मुक्तस्तनेष्वपत्येष्वहेतुविदचिन्तयत् ॥ ३५ ॥
नेपाली भावानुवादः ब्रजवासीहरूको यो अचम्मको प्रेम र दूध छोडिसकेका बाच्छाहरूप्रति गाईहरूको यस्तो आशक्ति देखेर कारण थाहा नपाउनुभएका बलरामजी विचार गर्न थाल्नुभयो ।। ३५ ।।
किमेतदद्भुषतमिव वासुदेवेऽखिलात्मनि ।
व्रजस्य सात्मनस्तोकेष्वपूर्वं प्रेम वर्धते ॥ ३६ ॥
नेपाली भावानुवादः यो कस्तो आश्चर्य हो ! ब्रजवासीहरूको र मेरो पनि यी बाच्छाहरू र बालकहरूप्रति भगवान् श्रीकृष्णमा जस्तै असीम प्रेम किन बढिरहेको छ ? ।। ३६ ।।
केयं वा कुत आयाता दैवी वा नार्युतासुरी ।
प्रायो मायास्तु मे भर्तुर्नान्या मेऽपि विमोहिनी ॥ ३७ ॥
नेपाली भावानुवादः यो कसको माया हो ? कुनै देवता, मनुष्य वा असुरको त होइन ? मलाई समेत मोहित पार्ने यो माया पक्कै पनि मेरा स्वामी श्रीकृष्णकै हुनुपर्छ ।। ३७ ।।
इति सञ्चिन्त्य दाशार्हो वत्सान् सवयसानपि ।
सर्वानाचष्ट वैकुण्ठं चक्षुषा वयुनेन सः ॥ ३८ ॥
नेपाली भावानुवादः यस्तो विचार गरेर बलरामजीले ज्ञानदृष्टिले हेर्दा ती सबै बाच्छा र बालकका रूपमा श्रीकृष्णलाई मात्र देख्नुभयो ।। ३८ ।।
(मिश्र)
नैते सुरेशा ऋषयो न चैते
त्वमेव भासीश भिदाश्रयेऽपि ।
सर्वं पृथक्त्वं निगमात् कथं वदे–
त्युक्तेन वृत्तं प्रभुणा बलोऽवैत् ॥ ३९ ॥
नेपाली भावानुवादः त्यसपछि उहाँले श्रीकृष्णलाई भन्नुभयो– 'हे भगवन् ! यी बालक र बाच्छाहरू न देवता हुन् न ऋषि; यी सबै रूपमा तपाईं मात्र हुनुहुन्छ ।' त्यसपछि भगवान्ले ब्रह्माको सबै वृत्तान्त सुनाउनुभयो र बलरामजीले सबै कुरा बुझ्नुभयो ।। ३९ ।।
(अनुष्टुप्)
तावदेत्यात्मभूरात्ममानेन त्रुट्यनेहसा ।
पुरोवदाब्दं क्रीडन्तं ददृशे सकलं हरिम् ॥ ४० ॥
नेपाली भावानुवादः हे परीक्षित् ! त्यतिन्जेलमा ब्रह्माजी आफ्नो लोकबाट ब्रजमा फर्कनुभयो । उहाँको समय अनुसार एक 'त्रुटि' (अत्यन्तै छोटो समय) मात्र बितेको थियो, तर यहाँ एक वर्ष बितिसकेको थियो । उहाँले श्रीकृष्णलाई पहिलेझैँ खेलिरहेको देख्नुभयो ।। ४० ।।
यावन्तो गोकुले बालाः सवत्साः सर्व एव हि ।
मायाशये शयाना मे नाद्यापि पुनरुत्थिताः ॥ ४१ ॥
नेपाली भावानुवादः ब्रह्माजी सोच्न थाल्नुभयो– 'मैले त सबै बालक र बाच्छाहरूलाई मायाले बेहोस पारेर राखेको थिएँ, उनीहरू त अझै उठेका छैनन् होला ।' ।। ४१ ।।
इत एतेऽत्र कुत्रत्या मन्माया मोहितेतरे ।
तावन्त एव तत्राब्दं क्रीडन्तो विष्णुना समम् ॥ ४२ ॥
नेपाली भावानुवादः 'फेरि यहाँ यी बालक र बाच्छाहरू कहाँबाट आए, जो एक वर्षदेखि भगवान्सँग खेलिरहेका छन् ?' ।। ४२ ।।
एवमेतेषु भेदेषु चिरं ध्यात्वा स आत्मभूः ।
सत्याः के कतरे नेति ज्ञातुं नेष्टे कथञ्चन ॥ ४३ ॥
नेपाली भावानुवादः धेरै बेरसम्म ध्यान गर्दा पनि ब्रह्माजीले कुन वास्तविक र कुन प्रतिरूप हुन् भन्ने कुरा पत्ता लगाउन सक्नुभएन ।। ४३ ।।
एवं सम्मोहयन् विष्णुं विमोहं विश्वमोहनम् ।
स्वयैव माययाजोऽपि स्वयमेव विमोहितः ॥ ४४ ॥
नेपाली भावानुवादः विश्वलाई मोहित पार्ने भगवान् श्रीकृष्णलाई मोहित पार्न खोज्दा ब्रह्माजी आफैँ आफ्नै मायाले मोहित हुनुभयो ।। ४४ ।।
तम्यां तमोवन्नैहारं खद्योतार्चिरिवाहनि ।
महतीतरमायैश्यं निहन्त्यात्मनि युञ्जतः ॥ ४५ ॥
नेपाली भावानुवादः जसरी रातको अँध्यारोमा कुहिरोको केही चल्दैन र दिनको उज्यालोमा जुनकिरीको प्रकाश हराउँछ, त्यसरी नै सर्वेश्वर भगवान्का अगाडि अल्पज्ञको मायाले आफ्नै अस्तित्व गुमाउँछ ।। ४५ ।।
तावत्सर्वे वत्सपालाः पश्यतोऽजस्य तत्क्षणात् ।
व्यदृश्यन्त घनश्यामाः पीतकौशेयवाससः ॥ ४६ ॥
चतुर्भुजाः शङ्खचक्रगदाराजीवपाणयः ।
किरीटिनः कुण्डलिनो हारिणो वनमालिनः ॥ ४७ ॥
नेपाली भावानुवादः ब्रह्माजीले हेर्दाहेर्दै सबै बाच्छा र गोठालाहरू भगवान्कै चतुर्भुज स्वरूपमा देखिए । उनीहरू घनश्याम वर्णका थिए, पहेंलो वस्त्र पहिरिएका थिए र हातमा शङ्ख, चक्र, गदा एवं पद्म लिएका थिए । शिरमा मुकुट, कानमा कुण्डल र घाँटीमा वनमालाले उनीहरू सुसज्जित थिए ।। ४६-४७ ।।
श्रीवत्साङ्गददोरत्न कम्बुकङ्कणपाणयः ।
नूपुरैः कटकैर्भाताः कटिसूत्राङ्गुलीयकैः ॥ ४८ ॥
नेपाली भावानुवादः उहाँहरूको छातीमा श्रीवत्सको चिह्न, पाखुरामा बाजूबन्द र हातमा रत्नजडित कङ्गनहरू थिए । खुट्टामा नूपुर र कम्मरमा करधनीले उहाँहरू सुशोभित हुनुहुन्थ्यो ।। ४८ ।।
आङ्घ्रिमस्तकमापूर्णास्तुलसीनवदामभिः ।
कोमलैः सर्वगात्रेषु भूरिपुण्यवदर्पितैः ॥ ४९ ॥
नेपाली भावानुवादः शिरदेखि पाउसम्म भक्तहरूले अर्पण गरेका कोमल तुलसीका मालाहरूले उहाँहरू सुसज्जित हुनुहुन्थ्यो ।। ४९ ।।
चन्द्रिकाविशदस्मेरैः सारुणापाङ्गवीक्षितैः ।
स्वकार्थानामिव रजःसत्त्वाभ्यां स्रष्टृपालकाः ॥ ५० ॥
नेपाली भावानुवादः उहाँहरूको मुस्कान चन्द्रमाझैँ उज्ज्वल र दृष्टि करुणाले भरिएको थियो, जसले भक्तहरूको कामना पूर्ण गरिरहेको भान हुन्थ्यो ।। ५० ।।
आत्मादिस्तम्बपर्यन्तैर्मूर्तिमद्भिश्चराचरैः ।
नृत्यगीताद्यनेकार्हैः पृथक् पृथगुपासिताः ॥ ५१ ॥
नेपाली भावानुवादः ब्रह्मादेखि झारपातसम्मका सारा चराचर प्राणीहरू मूर्तिमान् भएर उहाँहरूको सेवा र स्तुति गरिरहेका थिए ।। ५१ ।।
अणिमाद्यैर्महिमभिरजाद्याभिर्विभूतिभिः ।
चतुर्विंशतिभिस्तत्त्वैः परीता महदादिभिः ॥ ५२ ॥
नेपाली भावानुवादः अणिमा आदि अष्ट सिद्धि र चौबीस तत्त्वहरूले उहाँहरूलाई घेरेका थिए ।। ५२ ।।
कालस्वभावसंस्कारकामकर्मगुणादिभिः ।
स्वमहिध्वस्तमहिभिर्मूर्तिमद्भिरुपासिताः ॥ ५३ ॥
नेपाली भावानुवादः काल, स्वभाव, संस्कार र कर्म पनि मूर्तिमान् भएर उहाँको उपासना गरिरहेका थिए ।। ५३ ।।
सत्यज्ञानानन्तानन्दमात्रैकरसमूर्तयः ।
अस्पृष्टभूरिमाहात्म्या अपि ह्युपनिषद्दृशाम् ॥ ५४ ॥
नेपाली भावानुवादः ती सबै सत्य, ज्ञान र अनन्त आनन्दस्वरूप साक्षात् परब्रह्म नै थिए, जसको महिमा उपनिषद्का ज्ञानीहरूले पनि पूर्ण रूपमा वर्णन गर्न सक्दैनन् ।। ५४ ।।
एवं सकृद् ददर्शाजः परब्रह्मात्मनोऽखिलान् ।
यस्य भासा सर्वमिदं विभाति सचराचरम् ॥ ५५ ॥
नेपाली भावानुवादः यसरी ब्रह्माजीले ती सबैमा एउटै परमात्माको रूप देख्नुभयो, जसकै प्रकाशले यो सम्पूर्ण जगत् प्रकाशित छ ।। ५५ ।।
ततोऽतिकुतुकोद्वृत्तस्तिमितैकादशेन्द्रियः ।
तद्धाम्नाभूदजस्तूष्णीं पूर्देव्यन्तीव पुत्रिका ॥ ५६ ॥
नेपाली भावानुवादः यो दृश्य देखेर ब्रह्माजी स्तब्ध हुनुभयो । उहाँका सबै इन्द्रियहरू मन्त्रमुग्ध भए र उहाँ ब्रजकी अधिष्ठात्री देवीका अगाडि काठको पुतलीझैँ मौन भएर उभिनुभयो ।। ५६ ।।
(शिखरिणी)
परत्राजातोऽतन्निरसनमुखब्रह्मकमितौ ।
अनीशेऽपि द्रष्टुं किमिदमिति वा मुह्यति सति
च्छादाजो ज्ञात्वा सपदि परमोऽजाजवनिकाम् ॥ ५७ ॥
नेपाली भावानुवादः हे परीक्षित् ! भगवान्को महिमा तर्कभन्दा बाहिर छ । जब ब्रह्माजीले समेत यो के हो भनेर ठम्याउन सक्नुभएन, तब भगवान्ले आफ्नो मायाको पर्दा हटाइदिनुभयो ।। ५७ ।।
(अनुष्टुप्)
ततोऽर्वाक् प्रतिलब्धाक्षः कः परेतवदुत्थितः ।
कृच्छ्रादुन्मील्य वै दृष्टीराचष्टेदं सहात्मना ॥ ५८ ॥
नेपाली भावानुवादः त्यसपछि ब्रह्माजीले बाह्य ज्ञान प्राप्त गर्नुभयो र मरेको व्यक्ति बिउँझिएझैँ गरी उठ्नुभयो । उहाँले निकै कष्टले आँखा खोलेर आफू र यो संसारलाई देख्नुभयो ।। ५८ ।।
सपद्येवाभितः पश्यन् दिशोऽपश्यत् पुरःस्थितम् ।
वृन्दावनं जनाजीव्यद्रुमाकीर्णं समाप्रियम् ॥ ५९ ॥
नेपाली भावानुवादः ब्रह्माजीले वरिपरि हेर्दा हरियाली र फलफूलले भरिएको सुन्दर वृन्दावन देख्नुभयो, जो सबैका लागि प्रिय छ ।। ५९ ।।
यत्र नैसर्गदुर्वैराः सहासन् नृमृगादयः ।
मित्राणीवाजितावासद्रुतरुट्तर्षकादिकम् ॥ ६० ॥
नेपाली भावानुवादः जहाँ भगवान् श्रीकृष्णको बास छ, त्यहाँ स्वाभाविक शत्रुता भएका बाघ र मानिस जस्ता प्राणीहरू पनि मित्रवत् बस्छन् र त्यहाँ क्रोध एवं लोभको कुनै स्थान छैन ।। ६० ।।
(वसन्ततिलका)
तत्रोद्वहत्पशुपवंशशिशुत्वनाट्यं
ब्रह्माद्वयं परमनन्तमगाधबोधम् ।
वत्सान् सखीनिव पुरा परितो विचिन्व–
देकं सपाणिकवलं परमेष्ठ्यचष्ट ॥ ६१ ॥
नेपाली भावानुवादः त्यहाँ ब्रह्माजीले अगाध ज्ञानसम्पन्न परब्रह्म श्रीकृष्णलाई एउटा सामान्य गोठालो बालकको रूपमा हातमा गाँस लिएर बाच्छाहरू खोजिरहेको देख्नुभयो ।। ६१ ।।
दृष्ट्वा त्वरेण निजधोरणतोऽवतीर्य
पृथ्व्यां वपुः कनकदण्डमिवाभिपात्य ।
स्पृष्ट्वा चतुर्मुकुटकोटिभिरङ्घ्रियुग्मं
नत्वा मुदश्रुसुजलैरकृताभिषेकम् ॥ ६२ ॥
नेपाली भावानुवादः भगवान्लाई देख्नेबित्तिकै ब्रह्माजी आफ्नो वाहनबाट ओर्लेर सुनको लौरोझैँ पृथ्वीमा दण्डवत् ढोग्नुभयो । उहाँले आफ्ना चारै मुकुटले भगवान्को चरण स्पर्श गर्नुभयो र हर्षको आँसुले भगवान्का पाउ पखाल्नुभयो ।। ६२ ।।
(अनुष्टुप्)
उत्थायोत्थाय कृष्णस्य चिरस्य पादयोः पतन् ।
आस्ते महित्वं प्राग्दृष्टं स्मृत्वा स्मृत्वा पुनः पुनः ॥ ६३ ॥
नेपाली भावानुवादः ब्रह्माजी पटक-पटक उठ्दै र भगवान्को चरणमा ढोग्दै उहाँको दिव्य महिमाको स्मरण गर्न थाल्नुभयो ।। ६३ ।।
(वंशस्थ)
शनैरथोत्थाय विमृज्य लोचने मु
कुन्दमुद्वीक्ष्य विनम्रकन्धरः ।
कृताञ्जलिः प्रश्रयवान् समाहितः
सवेपथुर्गद्गमदयैलतेलया ॥ ६४ ॥
नेपाली भावानुवादः त्यसपछि बिस्तारै उठेर आँखा पुछ्दै, भगवान्का अगाडि शिर झुकाएर, हात जोडी काम्दै गद्गद स्वरमा उहाँको स्तुति गर्न लाग्नुभयो ।। ६४ ।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको दशम स्कन्ध अन्तर्गतको यस त्रयोदशोऽध्यायमा भगवान् श्रीकृष्णको अचिन्त्य महिमा र ब्रह्माजीको मोह भङ्ग भएको अत्यन्तै रोचक एवं मर्मस्पर्शी प्रसङ्ग वर्णन गरिएको छ । अघासुरको वधपछि श्रीकृष्ण आफ्ना सखाहरूसँग यमुनाको तटमा भोजन गर्न बस्नुहुन्छ । भोजनको आनन्दमा रमाइरहेका बेला बाच्छाहरू हरियो घाँसको लोभमा टाढा पुग्छन् । श्रीकृष्णले आफ्ना साथीहरूलाई नडराउन भन्दै हातमा दही-भातको गाँस लिएरै बाच्छाहरू खोज्न निस्कनुहुन्छ । यही अवसरमा ब्रह्माजीले श्रीकृष्णको प्रभाव जाँच्नका लागि बालक र बाच्छाहरूलाई लुकाइदिनुहुन्छ । फर्केर आउँदा कसैलाई नदेखेपछि श्रीकृष्णले यो ब्रह्माजीको लीला हो भन्ने बुझ्नुहुन्छ र ब्रजका आमाहरू एवं गाईहरूको ममतालाई अक्षुण्ण राख्न आफैँलाई ती सबै बालक र बाच्छाहरूको रूपमा विस्तार गर्नुहुन्छ ।
यो क्रम एक वर्षसम्म चल्छ, जहाँ ब्रजका आमाहरूले आफ्ना छोराहरूमा र गाईहरूले आफ्ना बाच्छाहरूमा साक्षात् श्रीकृष्णकै प्रेम महसुस गर्छन् । एक वर्षपछि जब ब्रह्माजी फर्केर आउनुहुन्छ, उहाँ आश्चर्यचकित हुनुहुन्छ । उहाँले आफूले लुकाएका बालकहरू पनि त्यहीँ देख्नुहुन्छ र बाहिर श्रीकृष्णसँग खेलिरहेका बालकहरू पनि उस्तै देख्नुहुन्छ । ब्रह्माजीले कुन वास्तविक हो भनेर छुट्याउन नसकेपछि भगवान्ले ती सबैलाई आफ्नो दिव्य चतुर्भुज नारायण स्वरूपमा प्रकट गरिदिनुहुन्छ । यो अद्भुत दृश्य देखेर ब्रह्माजीको अहङ्कार र मोह समाप्त हुन्छ । उहाँले श्रीकृष्णका अगाडि लम्पसार परेर क्षमा माग्दै स्तुति गर्नुहुन्छ । यस कथाले भगवान् कसरी भक्तहरूको इच्छा पूर्ण गर्न र जगत्लाई आनन्द दिन अनेक रूप धारण गर्नुहुन्छ भन्ने कुरालाई स्पष्ट पारेको छ । अन्ततः यस अध्यायले भगवान् श्रीकृष्ण नै सम्पूर्ण सृष्टिका मूल आधार र परमेश्वर हुनुहुन्छ भन्ने पुष्टि गर्दछ ।
दार्शनिक पक्ष
यस अध्यायको दार्शनिक पक्ष अत्यन्त गहिरो र चिन्तनयोग्य छ । यसले अद्वैत र द्वैतको सुन्दर समन्वय प्रस्तुत गर्दै 'सर्वं खल्विदं ब्रह्म' अर्थात् सबै कुरा ब्रह्ममय छ भन्ने उपनिषदीय सिद्धान्तलाई चरितार्थ गरेको छ । श्रीकृष्णले आफूलाई धेरै रूपमा विस्तार गर्नुले ईश्वरको सर्वव्यापकता र अनन्त शक्तिलाई दर्शाउँछ । ब्रह्माजी जस्ता सृष्टिकर्ता पनि भगवान्को योगमायाले मोहित हुनुले जीवको अल्पज्ञता र भगवान्को सर्वज्ञताको बीचको भिन्नता स्पष्ट पार्छ । यसले के सिकाउँछ भने बुद्धि र अहङ्कारको बलमा भगवान्लाई बुझ्न सम्भव छैन; केवल शरणागति र प्रेमले मात्र उहाँको यथार्थ दर्शन पाउन सकिन्छ । भगवान् आफैँ बाच्छा र ग्वाला बन्नुले उहाँ निर्गुण भएर पनि भक्तका लागि सगुण र साकार बन्नुहुन्छ भन्ने भक्तिदर्शनको रहस्य खोल्दछ ।
No comments:
Post a Comment