#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – चतुर्दशोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
दशमः स्कंधः – चतुर्दशोऽध्यायः


(वसंततिलका)
ब्रह्मोवाच–
नौमीड्य तेऽभ्रवपुषे तडिदम्बराय
     गुञ्जावतंसपरिपिच्छलसन्मुखाय ।
वन्यस्रजे कवलवेत्रविषाणवेणु–
     लक्ष्मश्रिये मृदुपदे पशुपाङ्‌गजाय ॥१॥

ब्रह्माजीले स्तुति गर्नुभयो– हे प्रभु ! हजुर मात्र स्तुति गर्नमा योग्य हुनुहुन्छ, हजुरको यो शरीर वर्षा ऋतुको मेघ समान श्यामवर्णको छ, बजुली चम्के जस्तै झिलमिल गर्ने पीताम्वर धारण गर्नु भएको छ, गलामा वनमाला, कानमा रातिगेडिले बनेको कुण्डल, शिरमा मयूरको प्वाँखको मुकुट वक्षस्थलमा श्रीवत्स चिन्ह, हातमा दही भात वेतको लौरो, सिङ र कम्मरमा बाँसुरी आदि चिन्हले सुशोभित हुनुभएका, सुकोमल पाउ हुनुभएका र गोपालको भेष गर्नुभएका यस्ता हजुरको चरणमा म वारम्वार नमस्कार गर्दछु ।।१।। 

अस्यापि देव वपुषो मदनुग्रहस्य
     स्वेच्छामयस्य न तु भूतमयस्य कोऽपि ।
नेशे महि त्ववसितुं मनसाऽऽन्तरेण
     साक्षात्तवैव किमुतात्मसुखानुभूतेः ॥२॥

हे स्वयं प्रकाशित परमात्मा हजुरका यी श्रीविग्रह भक्तहरूको मनोकामना पूरा गराउँनको लागि नै हो । यो हजुरको यो मनमोहक मुर्तिमान स्वरुप म माथि अनुग्रह गर्नका लागि हो । हजुरको यो शरीरलाई पञ्चभूतको रचना हो भनेर कस्ले भन्न सक्छ र ? हे प्रभु ! हजुर यो शरीर शुध्द सत्वमय अप्राकृतिक हो । हजुरको यो सच्चिदानन्द–विग्रहको महिमा मैले वा अरू कसैले पनि समाधि लगाउँदा पनि बुझ्न सक्दैन भने साक्षात आत्मानन्दानुभव  स्वरुपको बारेमा त कस्ले कसरी जान्न सक्छ ? ।।२।। 

ज्ञाने प्रयासमुदपास्य नमन्त एव
     जीवन्ति सन्मुखरितां भवदीयवार्ताम् ।
स्थाने स्थिताः श्रुतिगतां तनुवाङ्‌मनोभि–
     र्ये प्रायशोऽजित जितोऽप्यसि तैस्त्रिलोक्याम् ॥३॥

हे प्रभु ! जो ज्ञानको लागि प्रयास गर्नुको सट्टा आफ्नो ठाउँमा बसेर सत्संग मात्रै गर्छन् र हजुरका प्रेमी सत्संग गरेर संतहरूद्वारा गाइएका लीला कथाहरू सुन्दछन् र शरीर, वाणी र मनबाट विनय पूर्वक सुन्न पाउँछन् त्यस्ता भक्तहरुले त्रिलेकमा कसैले पनि विजय गर्न नसक्ने हजुरलाई प्राप्त गर्दछन् र हजुर उनीहरुको प्रेमको अधिनमा रहनुहुन्छ ।।३।। 

(इंद्रवंशा)
श्रेयःसृतिं भक्तिमुदस्य ते विभो
     क्लिश्यन्ति ये केवलबोधलब्धये ।
तेषामसौ क्लेशल एव शिष्यते
     नान्यद् यथा स्थूलतुषावघातिनाम् ॥४॥

हे प्रभु ! सबै प्रकारको कल्याणको मूलश्रोत नै हुजरको भक्ति हो । जो ब्यक्ति हजुरको भक्तिलाई त्यागेर केवल ज्ञान प्राप्तिको लागि मात्रै परिश्रम गर्छ भने,जसरी भुस कुट्नाले श्रम मात्र पाउँछ, चामल पाईदैन त्यसरी नै उसले दुःख मात्र पाउँछ ।।४।।

पुरेह भूमन् बहवोऽपि योगिन–
     स्त्वदर्पितेहा निजकर्मलब्धया ।
विबुध्य भक्त्यैव कथोपनीतया
     प्रपेदिरेऽञ्जोऽच्युत ते गतिं पराम् ॥५॥

हे अच्युत ! हे अनन्त ! पहिला पनि संसारमा धेरै योगीहरूले योगद्वारा हजुरलाई प्राप्त गर्र्ने प्रयास गरे तर प्राप्त गर्न नसकेपछि उनीहरुले आफ्ना कर्म हजुरको चरणमा समर्पण गरे । ती समर्पण कर्म र हजुरका लीलाकथाद्वारा उनीहरुलाई हजुरको भक्ति प्राप्त भयो । त्यो भक्तिद्वारा हजुरको स्वरूपको ज्ञान प्राप्त गरेर उनीहरुले सजिलै परमपद प्राप्त गरे ।।५।। 

तथापि भूमन् महिमागुणस्य ते
     विबोद्धुमर्हत्यमलान्तरात्मभिः ।
अविक्रियात् स्वानुभवादरूपतो
     ह्यनन्यबोध्यात्मतया न चान्यथा ॥६॥

हे परमेश्वर ! हजुरको निर्गुण स्वरूपलाई जान्न गाह्रो भएपनि जसले चित्तलाई शुध्द गरी विषयलाई हटाएर आफ्नो स्वयंप्रकाश आत्मस्वरुपले हजुरको निर्गुण स्वरूपको महिमा जान्न सक्दछ । अरु उपायद्वारा जान्न सकिदैन ।।६।। 

(मिश्र)
गुणात्मनस्तेऽपि गुणान् विमातुं
     हितावतीर्णस्य क ईशिरेऽस्य ।
कालेन यैर्वा विमिताः सुकल्पै–
     र्भूपांशवः खे मिहिका द्युभासः ॥७॥

तर हे भगवान ! ती योग्य पुरुषहरुले अनेक जन्म जन्ममा पृथ्वीका एक एक परमाणु, आकाशका हिउँ कणहरू र त्यसमा चम्कने नक्षत्रहरू र ताराहरू समेत गनेका छन् भनेपनि ती योग्य पुरुषहरूमा पनि हजुरको सगुण स्वरुपको अनन्त गुणहरू गन्ने को होला? हे प्रभु ! हजुर त संसारका प्राणिहरुको अनुग्रह गर्नका लागि यो अवतार लिनुभएको हो त्यसैले हे भगवान ! हजुरको महिमा जान्न धेरै गाह्रो छ ।।७।। 

तत्तेऽनुकम्पां सुसमीक्षमाणो
     भुञ्जान एवात्मकृतं विपाकम् ।
हृद्वाग्वपुर्भिर्विदधन्नमस्ते
     जीवेत यो मुक्तिपदे स दायभाक् ॥८॥

तसर्थ जो व्यक्तिले हरेक क्षण क्षणमा बडो उत्सुकताका साथ हजुरको कृपाको अनुभव गर्छ र जीवनमा जस्तोसुकै सुख–दुःख आउँदा पनि त्यसलाई अविचल चित्तले भोग गर्छ र जो व्यक्ति प्रेममय हृदय, प्रसन्न वाणी र पुलकित शरीरले आफुलाई हजुरको चरणमा समर्पित गरिरहन्छ । यसरी जीवन बिताउने मानिस बाबुको सम्पत्ति छोराले पाए जसरी नै हजुरको परंपदको हकदारी हुन्छ ।।८।।

पश्येश मेऽनार्यमनन्त आद्ये
     परात्मनि त्वय्यपि मायिमायिनि ।
मायां वितत्येक्षितुमात्मवैभवं
     ह्यहं कियानैच्छमिवार्चिरग्नौ ॥९॥

हे प्रभु ! मेरो मुर्खता त  हेर्नुहोस् । हजुर अनन्त आदि पुरुष परमात्मा हुनुहुन्छ र म जस्ता ठुला ठुला मायावि लाई पनि मोहित पार्नुहुन्छ । तैपनि मैले हजुरमा पनि आफ्नो माया फैलाएर आफ्नो ऐश्वर्य देखाउँन चाहन्थें । हे प्रभु ! जसरी आगोको तुलनामा आगोबाट निस्केको झिल्को कुनै गणना हुदैन त्यसरी नै हजुरको अगाडि म त के नै हुँ र ? ।।९।।

(वंशस्थ)
अतः क्षमस्वाच्युत मे रजोभुवो
     ह्यजानतस्त्वत्पृथगीशमानिनः ।
अजावलेपान्धतमोऽन्धचक्षुष
     एषोऽनुकम्प्यो मयि नाथवानिति ॥१०॥

हे अच्युत ! म रजोगुणबाट उत्पन्न भएकोले हजुरुको वास्तविक स्वरुपलाई जान्न सक्तिन । मैले आफूलाई नैं आजन्मा जगत कर्ता हुँ भन्ने ठानेर नै हजुरको प्रभावलाई जान्न सकेको रहेनछु । हजुरको मयाकृत गाढा अन्धकारले म अन्धो बन्दै गएको थिएँ । त्यसैले यो मेरो अधीनमा छ र मेरो दास हो भन्ने बुझेर मेरो अपराधलाई क्षमा गर्नुहोस् ।।१०।।

(वसंततिलका)
क्वाहं तमोमहदहंखचराग्निवार्भू–
     संवेष्टिताण्डघटसप्तवितस्तिकायः ।
क्वेदृग्विधाविगणिताण्डपराणुचर्या–
     वाताध्वरोमविवरस्य च ते महित्वम् ॥११॥

प्रकृति, महतत्व अहंकार, आकाश, वायु, आग्नि, जल र पृथ्वीको आवरणले घेरिएको यो ब्रह्माण्ड मेरो शरीर हो, यो मेरो शरीर पनि सात वित्ताको छ । तर हजुरको शरीरको प्रत्तेक रौं रौं का छिद्रहरुमा  यस्ता अनगिन्ती ब्रह्माण्डहरू झ्यालको किरणबाट सूर्यको किरणमा देखिने कणहरु जस्तै गरि भित्र बाहिर उडिरहेका देखिन्छन् । मेरो आफ्नै आकारको तुलनामा कहाँ साढे तीन हात अग्लो सानो शरीरको म र कहाँ यो अनन्त ब्रह्माण्डमा हजुरको महिमा ।।११।।

(मिश्र)
उत्क्षेपणं गर्भगतस्य पादयोः
     किं कल्पते मातुरधोक्षजागसे ।
किमस्तिनास्तिव्यपदेशभूषितं
     तवास्ति कुक्षेः कियदप्यनन्तः ॥१२॥

वृत्तिको पकडमा नआउँने हे अधोक्षज ! आमाको गर्भमा बालकले अज्ञानताले हात खुट्टा हान्दा आमाले यसलाई अपराध मान्दछिन् र ? अथवा बालकका लगि कुनै अपराध हुन्छ र ? त्यसैले म पनि हजुरकै गर्भमा रहेकाले मेरो अपराधलाई क्षमा गरिदिनुहोला ।।१२।।

जगत्‌त्रयान्तोदधिसम्प्लवोदे
     नारायणस्योदरनाभिनालात् ।
विनिर्गतोऽजस्त्विति वाङ्‌ न वै मृषा
     किं त्वीश्वर त्वन्न विनिर्गतोऽस्मि ॥१३॥

शास्त्रमा भनिएको छ कि जुन समयमा तीनवटै लोक प्रलयकालको जलमा डुबेका थिए, त्यही जलमा अवस्थित श्री नारायणको कमलको बीउबाट ब्रह्माको जन्म भएको थियो । शास्त्रको भनाई कुनै पनि हालतमा असत्य हुन सक्दैन । हे प्रभु ! तब मलाई यो बताउनुहोस कि के म हजुरको पुत्र होइन ? ।।१३।।  

नारायणस्त्वं न हि सर्वदेहिना–
     मात्मास्यधीशाखिललोकसाक्षी ।
नारायणोऽङ्‌गं नरभूजलायना–
     त्तच्चापि सत्यं न तवैव माया ॥१४॥

हे प्रभो ! हजुर सबै प्राणीका आत्मा हुनुहुन्छ, त्यसैले हजुर नारायण (नर–जीव र अयन–आश्रय) हुनुभयो । हजुर सम्पूर्ण ब्रह्माण्ड र जीवहरूको सर्वोच्च भगवान हुनुहुन्छ, त्यसैले हजुर नारायण हुनुहुन्छ । हजुर समस्त जगतका साक्षी हुनुहुन्छ त्यसैले हजुर नारायण (नर–जीव र अयन–ज्ञाता) अथवा जान्नेवाला हुनुहुन्छ । नरबाट उत्पन्न हुने जलमा वास हुने भएकोले हजुर नारायण नै हुनुहुन्छ त्यसैले हजुरको यो अवतार पूर्ण हो ।।१४।। 

(इंद्रवज्रा)
तच्चेज्जलस्थं तव सज्जगद्वपुः
     किं मे न दृष्टं भगवंस्तदैव ।
किं वा सुदृष्टं हृदि मे तदैव
     किं नो सपद्येव पुनर्व्यदर्शि ॥१५॥

प्रभु ! यदि हजुरको त्यो रूप त्यसबेला साँच्चै जलमै अवस्थित थियो भने, कमलको नालाबाट मैले सय वर्षसम्म खोज्दा पनि किन नदेखेको ? जब मैले तपस्या गरें अनि त्यहीक्षण मेरो हृदयमा कसरी प्रकट हुनुभयो ? अनि केही क्षणमै फेरि किन देखिएन, किन अन्तर्धान भयो ? ।।१५।।

अत्रैव मायाधमनावतारे
     ह्यस्य प्रपञ्चस्य बहिः स्फुटस्य ।
कृत्स्नस्य चान्तर्जठरे जनन्या
     मायात्वमेव प्रकटीकृतं ते ॥१६॥

हे भ्रम नाश गर्ने प्रभु ! हजुरले यही अवतारमा पनि बाहिर देखिने जगत माता यशोदाको अगाडि नै पेट भित्र देखाएर हजुरले यो मायामयता प्रकट गर्नु भएको छ ।।१६।।

 (अनुष्टुप्)
यस्य कुक्षाविदं सर्वं सात्मं भाति यथा तथा ।
तत्त्वय्यपीह तत् सर्वं किमिदं मायया विना ॥१७॥

सारा जगत जसरी हजुरको पेट भित्र देखियो त्यसरी नै बाहिर पनि देखिन्छ, त्यसैले यो सबै हजुरको माया नभएर अरु के हुन सक्छ ? यो पक्कै हजुरको लीला हो ।।१७।। 

 (शार्दूलविक्रीडित)
अद्यैव त्वदृतेऽस्य किं मम न ते मायात्वमादर्शित
        मेकोऽसि प्रथमं ततो व्रजसुहृद्वत्साः समस्ता अपि ।
तावन्तोऽसि चतुर्भुजास्तदखिलैः साकं मयोपासिता–
        स्तावन्त्येव जगन्त्यभूस्तदमितं ब्रह्माद्वयं शिष्यते ॥१८॥

आजैको कुरा गरौं, हजुरले आफु बाहेक सारा जगत मायामय हो भनेर देखाउन खोज्नु भएको होइन र ? मैले गोप वाच्छाहरुको हरण गर्दा हजुर एकै हुनुहुन्थ्यो त्यसपछि सबै गोठाला, बाछो समेत आफैं हुनुभयो । जसलेगर्दा मैले हजुरको सबै रूप चतुर्भुज भएको देखें र म लगायत सबै तत्वहरूले सेवा गरिरहेका छन् ती सबैमा हजुर नै प्रतीत हुनुभएको देखें । अहिले अनन्त अनन्य ब्रह्मरूपमा पनि हजुर नै हुनुहुन्छ ।।१८।।

 (उपेंद्रवज्रा)
अजानतां त्वत्पदवीमनात्म–
     न्यात्माऽऽत्मना भासि वितत्य मायाम् ।
सृष्टाविवाहं जगतो विधान
     इव त्वमेषोऽन्त इव त्रिनेत्रः ॥१९॥

अज्ञानताले जसले हजुरको स्वरुपलाई जानेका हुदैनन् त्यस्ता अज्ञानीहरुको अगाडि हजुर नै जीवको रुपमा प्रकट हुनुहुन्छ र सृष्टिको समयमा मेरो (ब्रह्मा) रूपमा प्रकट हुनुहुन्छ, पालन पोषणको समयमा हजुरको रुप (विष्णु) रूपमा र विनाशको समयमा रुद्र रूपमा प्रकट हुनुहुन्छ ।।१९।।

 (मिश्र)
सुरेष्वृषिष्वीश तथैव नृष्वपि
     तिर्यक्षु यादस्स्वपि तेऽजनस्य ।
जन्मासतां दुर्मदनिग्रहाय
     प्रभो विधातः सदनुग्रहाय च ॥२०॥

हे प्रभु! हजुर नै सम्पूर्ण विश्वको मालिक र सृष्टिकर्ता हुनुहुन्छ अजन्मा भएर पनि हजुर देवता, ऋषि, मानव, पशु, पक्षी र जलचरको रूपमा अवतार लिनुहुन्छ– यिनै रूपहरूद्वारा दुष्टको घमण्ड तोडेर भक्तहरु माथि अनुग्रह गर्नुहुन्छ ।।२०।। 

को वेत्ति भूमन् भगवन् परात्मन्
     योगेश्वरोतीर्भवतस्त्रिलोक्याम् ।
क्व वा कथं वा कति वा कदेति
     विस्तारयन् क्रीडसि योगमायाम् ॥२१॥

हे सर्वव्यापक भगवान् ! हजुर परामात्मा तथा योगेश्वर हुनुहुन्छ । जुन समयमा हजुर आफ्नो योगमायालाई विस्तार गरेर लीला गर्न थाल्नुहुन्छ त्यतिबेला हजुरको लीला कहाँ, किन, कहिले र कति हुन्छ भन्ने थाहा पाउने तीनै लोकमा कोही हुँदैन ।।२१।।

(वसंततिलका)
तस्मादिदं जगदशेषमसत्स्वरूपं
     स्वप्नाभमस्तधिषणं पुरुदुःखदुःखम् ।
त्वय्येव नित्यसुखबोधतनावनन्ते
     मायात उद्यदपि यत् सदिवावभाति ॥२२॥

यो सारा संसार सपना जस्तै अवास्तविक छ, अज्ञान जस्तै र दुःख पछि दुःख दिइरहने हुन्छ विद्वानहरुले पानि यसको पत्तो पाउन सक्तैनन् । यो जगत मायाबाट उत्पन्न हुने भएपनि हजुरको सत्ताद्वारा सत्यको रूपमा प्रकट हुन्छ ।।२२।।
 
(मिश्र)
एकस्त्वमात्मा पुरुषः पुराणः
     सत्यः स्वयंज्योतिरनन्त आद्यः ।
नित्योऽक्षरोऽजस्रसुखो निरञ्जनः
     पूर्णाद्वयो मुक्त उपाधितोऽमृतः ॥२३॥

हे प्रभु ! हजुर सबैका आत्मा भएकाले सत्य हुनुहुन्छ । हजुर सृष्टि भन्दा पहिला हुनुभएकोले आदिप पुरुष हुनुहुन्छ र सबै दोषबाट मुक्त हुनुहुन्छ । हजुरलाई माया र मायाका कार्यले स्पर्श गर्न सक्तैन त्यसैले हजुर निर्मल स्वरुप हुनुहुन्छ । हजुर सबै उपाधिबाट मुक्त र अमृत स्वरुप हुनुहुन्छ ।।२३।।

(इंद्रवंशा)
एवंविधं त्वां सकलात्मनामपि
     स्वात्मानमात्मात्मतया विचक्षते ।
गुर्वर्कलब्धोपनिषत्सुचक्षुषा
     ये ते तरन्तीव भवानृताम्बुधिम् ॥२४॥

जसले गुरु समान सूर्यबाट प्राप्त उपनिषादि दिव्य चक्षुद्वारा सम्पूर्ण स्वरुपलाई आफ्नो स्वरुपमा देख्दछन् उनीहरूले नै यो मिथ्या संसार–सागर पार गर्दछन् ।।२४।। 

आत्मानमेवात्मतयाविजानतां
     तेनैव जातं निखिलं प्रपञ्चितम् ।
ज्ञानेन भूयोऽपि च तत् प्रलीयते
     रज्ज्वामहेर्भोगभवाभवौ यथा ॥२५॥

जसले आत्माको रूपले परमात्मालाई जान्दैनन्, उनीहरुले त्यही परमात्माको अज्ञानताले नामहीन संसारको उत्पत्तिको बारेमा भ्रममा पर्छन् । तर ज्ञान प्राप्त हुने बित्तिकै त्यो पूर्ण रूपमा नष्ट हुन्छ । जसरी भ्रमले गर्दा डोरीलाई सर्प जस्तो देखिन्छ र भ्रम हट्ने बित्तिकै सर्पलोप हुन्छ र डोरी मात्र देखिन्छ ।।२५।। 

(मिश्र)
अज्ञानसंज्ञौ भवबन्धमोक्षौ
     द्वौ नाम नान्यौ स्त ऋतज्ञभावात् ।
अजस्रचित्यात्मनि केवले परे
     विचार्यमाणे तरणाविवाहनी ॥२६॥

संसारसँग बन्धन छ र त्यसबाट मुक्ति— वास्तवमा यी दुवै नाम अज्ञानताले कल्पना गरिएको हो । यी सत्य र ज्ञानहरू ईश्वरबाट अलग छैनन् । जसरी सूर्यमा दिन र रातमा कुनै भिन्नता छैन, त्यसैगरी यसबारे विचार गर्दा नित्य आत्मामा न बन्धन हुन्छ न मोक्ष हुन्छ ।।२६।। 

(अनुष्टुप्)
त्वामात्मानं परं मत्वा परमात्मानमेव च ।
आत्मा पुनर्बहिर्मृग्य अहोऽज्ञजनताज्ञता ॥२७॥

हे प्रभु ! मानिस आफ्नै आत्मारुप हजुरलाई नजानेर देहलाई नै आत्मा मान्दछ र आफ्नो आत्मा बाहिर हजुरलाई खोजिरहन्छ र हजुरलाई अपरिचित ठान्दछ । अज्ञानी प्राणीको यस्तो अज्ञानता अचम्म लाग्दो छ ।।२७।। 

(मिश्र)
अन्तर्भवेऽनन्त भवन्तमेव
     ह्यतत्त्यजन्तो मृगयन्ति सन्तः ।
असन्तमप्यन्त्यहिमन्तरेण
     सन्तं गुणं तं किमु यन्ति सन्तः ॥२८॥

हे अनन्त ! हजुर सबैको हृदयमा रहनुहुन्छ । त्यसैले सन्तहरूले अनात्म वस्तुलाई त्यागेर आफ्नो आत्मा भित्र हजुरलाइनै खोज्छन् । किनकी डोरीमा सर्प नभए तापनि त्यो देखिने सर्प मिथ्या हो भन्ने ज्ञान नभएसम्म सत्पुरुषले आफ्नो अगाडि रहेको डोरी थाहा पाउन सक्तैन ।।२८।।

अथापि ते देव पदाम्बुजद्वय–
     प्रसादलेशानुगृहीत एव हि ।
जानाति तत्त्वं भगवन् महिम्नो
     न चान्य एकोऽपि चिरं विचिन्वन् ॥२९॥

आफ्ना भक्तहरूको हृदयमा प्रकट हुने हे भगवान ! हजुरको ज्ञानको प्रकृति र महिमा यस्तो छ, जसले अज्ञान संसारलाई नष्ट गर्छ । तैपनि, हजुरको चरणकमलबाट जसले अलिकति पनि कृपाप्रसाद ग्रहण गर्छ उसले मात्र हजुरको महिमाको सच्चिदामयतत्व जान्न सक्छ । ज्ञान–वैराग्यको प्रयासले अरूले जतिसुकै साधन गरे पनि हजुरको महिमाको यथार्थ तत्वलाई बुझ्न सक्दैन ।।२९।। 

तदस्तु मे नाथ स भूरिभागो
     भवेऽत्र वान्यत्र तु वा तिरश्चाम् ।
येनाहमेकोऽपि भवज्जनानां
     भूत्वा निषेवे तव पादपल्लवम् ॥३०॥

त्यसैले हे भगवान ! मलाई यो जन्ममा, अर्को जन्ममा वा कुनै पशु, पक्षी आदिको जन्म भएपनि यस्तो सौभाग्य मिलोस् कि म हजुरको सेवक बनेर हजुरको कमल चरणको सेवा गर्न सकूँ ।।३०।। 

अहोऽतिधन्या व्रजगोरमण्यः
     स्तन्यामृतं पीतमतीव ते मुदा ।
यासां विभो वत्सतरात्मजात्मना
     यत्तृप्तयेऽद्यापि न चालमध्वराः ॥३१॥

हे स्वामी ! जगतमा सृष्टिको प्रारम्भ देखि अहिलेसम्म धेरै ठुला यज्ञहरु भए तर त्यसबाट आफुलाई पूर्ण सन्तुष्ठ प्राप्त गर्न सकेनन् तर हजुरका ब्रजका गाई र गोप बालक बाच्छा बनेर अमृत जस्तै दूध पान गरे । वास्तवमा उनीहरुको जीवनलाइ नै धन्य र सफल मान्नुपर्दछ ।।३१।।

 (अनुष्टुप्)
अहो भाग्यमहो भाग्यं नन्दगोपव्रजौकसाम् ।
यन्मित्रं परमानन्दं पूर्णं ब्रह्म सनातनम् ॥३२॥

अहिले यि नन्दादि व्रजवासीहरु धन्यछन् किनकि हजुर परमानन्द पूर्णब्रह्म भएर पनि उनीहरुका सम्बन्धि हुनुहुन्छ सुहृद हुनुहुन्छ ।।३२।।

 (वसंततिलका)
एषां तु भाग्यमहिमाच्युत तावदास्ता–
     मेकादशैव हि वयं बत भूरिभागाः ।
एतद्‌धृषीकचषकैरसकृत् पिबामः
     शर्वादयोऽङ्‌घ्र्युदजमध्वमृतासवं ते ॥३३॥

हे अच्युत यी ब्रजबासीहरुको सौभाग्यको कुरा त बेग्लै भयो । मन आदि एघारै इन्द्रियका अधिष्ठाता हामी पनि हजुरको चरण कमलको अमृत भन्दा मिठो मधुर मकरन्दरस पान गरिरहेका छौं । त्यसैले हामी व्रजवासीजस्तै धन्य भएका छौं ।।३३।।

तद्भूतरिभाग्यमिह जन्म किमप्यटव्यां
     यद् गोकुलेऽपि कतमाङ्‌घ्रिरजोऽभिषेकम् ।
यज्जीवितं तु निखिलं भगवान् मुकुन्द–
     स्त्वद्यापि यत्पदरजः श्रुतिमृग्यमेव ॥३४॥

हे प्रभो ! कुनै पनि योनिमा किन नहोस यस ब्रज भूमीको गोकुलमा अथवा वनमा जन्म हुन पाउँनु हाम्रा लागि धेरै सौभाग्यको कुरा हो । किनकि यो पवित्र ठाउँमा जन्म लिंदा कुनै न कुनै कारणले यहाँको धुलो हामी माथि पर्नेछ । हे प्रभु ! सम्पूर्ण व्रजवासीहरुको जीवन हजुरकै जीवन हो । हजुर उनीहरुको सर्वस्व हुनुहुन्छ । त्यसैले उनीहरुको चरणको धुलो मिल्नु नै हजुरको चरणको धुलो मिल्नु हो । हजुरको चरणको धुलोलाई अनादि कालदेखि श्रुतिहरुले खोजी गरिरहेकाछन् ।।३४।।

(शार्दूलविक्रीडित)
एषां घोषनिवासिनामुत भवान् किं देव रातेति न–
        श्चेतो विश्वफलात् फलं त्वदपरं कुत्राप्ययन् मुह्यति ।
सद्वेषादिव पूतनापि सकुला त्वामेव देवापिता
        यद्धामार्थसुहृत्प्रियात्मतनय प्राणाशयास्त्वत्कृते ॥३५॥

हे देवताहरुका पनि आराध्य प्रभु ! यि ब्रजबासीहरुले जसरी सेवा गरेकाछन् त्यसको  लागि हजुरले के फल दिनुहुन्छ ? किनकि सम्पूण फलको स्वरुप नै हजुर हुनुहुन्छ । हजुर भन्दा बढि अरु फल अरु हुनै सक्तैन त्यसैले यो सोचेर मेरो चित्त मोहित भएको छ । हजुरले आफ्नो स्वरुप दिएर पनि उऋण हुनसक्तैन किनकि हजुरको स्वरुप त पूतना, अघासुर, वकासुर आदिले पनि प्राप्त गरेका छन् । जसको रुपनै साध्वी स्त्रीको जस्तो थियो जो अत्यन्त क्रुर थिइ भने जसले आफ्नो घर, धन, स्वजन, शरीर, पुत्र, प्राण र मन समेत हजुरमा समर्पित गरेका छन् । जसको सबैकुरा नै हजुर हुनुहुन्छ भने ती व्रजवासीहरुलाई पनि त्यही फल दिएर कसरी उऋण हुन सक्नुहुन्छ ।।३५।।

(अनुष्टुप्)
तावद् रागादयः स्तेनास्तावत् कारागृहं गृहम् ।
तावन्मोहोऽङ्‌घ्रिनिगडो यावत् कृष्ण न ते जनाः ॥३६॥

हे सच्चिदानन्द श्यामसुन्दर ! जबसम्म रागद्वेष आदि चोर समान अपहरण गर्दछन्, जबसम्म घरबन्धनमा कैदि सरह भएर सम्बन्धको बन्धनमा बाँधिन्छन् जबसम्म हजुरमा भक्ति हुँदैन तबसम्म आफ्नो घरपनि कारागार समान हुन्छ । तबसम्म जीव हजुरको हुन सक्तैन त्यहाँ मोह आफ्नै गोडालाई बान्ने सांग्ला बन्दछन् ।।३६।।

प्रपञ्चं निष्प्रपञ्चोऽपि विडम्बयसि भूतले ।
प्रपन्नजनतानन्दसन्दोहं प्रथितुं प्रभो ॥३७॥

हे प्रभु ! हजुर प्रपंचले सर्वथा रहित हुनुहुन्छ । फेरीपनि आफ्ना शरणागत भक्तहरुलाई आनन्द दिनको लागि पृथ्वीमा अवतार लिएर विश्व समान लीला विग्रह गर्नुहुन्छ ।।३७।।

जानन्त एव जानन्तु किं बहूक्त्या न मे प्रभो ।
मनसो वपुषो वाचो वैभवं तव गोचरः ॥ ३८ ॥

हे मेरा स्वामी ! धेरै भन्नु आवस्यक छैन । जसले हजुरको महिमाको बारेमा जानेका हुन्छन, उनीहरु जानिरहुन । मेरो मन, वाणी, शरीर त हजुरको महिमा जान्नको लागि सदा असमर्थ छ ।।३८।।

अनुजानीहि मां कृष्ण सर्वं त्वं वेत्सि सर्वदृक् ।
त्वमेव जगतां नाथो जगदेतत्तवार्पितम् ॥३९॥

हे सच्चिदानन्द स्वरुप श्रीकृष्ण ! हजुर सबैका साक्षी हुनुहुन्छ त्यसैले सबैकुरा जान्नुहुन्छ । हजुर समस्त जगतका स्वामी हुनुहुन्छ त्यसैले यो सबै प्रपञ्च हजुरमैं स्थित भएर रहेको छ । म यसभन्दा बढि के भनौं अब हजुरले मलाई स्वीकार गनुहोस् । मलाई आफ्नो लोक जानको लागि आज्ञा दिनुहोस् ।।३९।।

(वसंततिलका)
श्रीकृष्ण वृष्णिकुलपुष्करजोषदायिन्
     क्ष्मानिर्जरद्विजपशूदधिवृद्धिकारिन् ।
उद्धर्मशार्वरहर क्षितिराक्षसध्रु–
     गाकल्पमार्कमर्हन् भगवन् नमस्ते ॥४०॥

हे कृष्ण ! हजुर यदुवंशरुपी कमललाई फैलाउने सूर्य हुनुहुन्छ । हे प्रभु ! पृथ्वी, देवता, ब्रह्मा र पशुरुपी समुद्रलाई अभिवृध्दि गर्ने चन्द्रमा पनि हजुर नै हुनुहुन्छ । हजुर पाखण्डीका लागि धर्मरुप रात्रीको अन्धकारलाई नाश गर्ने चन्द्रमा सूर्य आदि समस्त देवताहरुका पनि पूजनीय हुनुहुन्छ । हे भगवन् म आफ्नो जीवनभर महाकल्पसम्म हजुरलाई नमस्कार गरिरहन्छु ।।४०।।

शुक उवाच–
(अनुष्टुप्)
इत्यभिष्टूय भूमानं त्रिः परिक्रम्य पादयोः ।
नत्वाभीष्टं जगद्धाता स्वधाम प्रत्यपद्यत ॥४१॥

श्रीशुकदेवजी भन्नुहुन्छ – हे परीक्षित ! संसारका रचयिता ब्रह्माजीले यसप्रकार स्तुति गरेपछि वहाँ श्रीकृष्णलाई तीनपटक परिक्रमा गरेर वहाँको चरणमा पर्नुभयो त्यपछि आफ्नो सत्यलोकमा जानुभयो ।।४१।।

ततोऽनुज्ञाप्य भगवान् स्वभुवं प्रागवस्थितान् ।
वत्सान् पुलिनमानिन्ये यथापूर्वसखं स्वकम् ॥४२॥

ब्रह्माजीले बाच्छा र गोपबालकलाई पहिलेकै ठाँउमा छोडिदिनु भयो । त्यसपछि भगवान् श्रीकृष्णले ब्रह्माजीलाई बिदाई गर्नुभयो अनि बाच्छाहरु लिएर पहिला बाच्छा छोडेको ठाँउ यमुनाजीका नजिक आउँनु भयो ।।४२।।

एकस्मिन्नपि यातेऽब्दे प्राणेशं चान्तराऽऽत्मनः ।
कृष्णमायाहता राजन् क्षणार्धं मेनिरेऽर्भकाः ॥४३॥

हे परीक्षित ! ति गोपबालकहरुको श्रीकृष्णसंग बिछोड भएको एकवर्ष भएको थियो तापनि भगवान्को मायाले एकक्षण जस्तो हुनगयो ।।४३।।

किं किं न विस्मरन्तीह मायामोहितचेतसः ।
यन्मोहितं जगत् सर्वमभीक्ष्णं विस्मृतात्मकम् ॥४४॥

जगतका सबै जीव उनकै मायाले मोहित भएर शास्त्र र आचार्यले सम्झउँदा पनि आफ्नो आत्मालाई बिर्सन्छन् वास्तवमा त्यो मायाको एउटा शक्ति हो त्यसैमा भुलेर जीव सबैकुरा भुल्दछ ।।४४।।

ऊचुश्च सुहृदः कृष्णं स्वागतं तेऽतिरंहसा ।
नैकोऽप्यभोजि कवल एहीतः साधु भुज्यताम् ॥४५॥

हे परीक्षित ! भगवान् श्रीकृष्णलाई देखेर गोपबालकहरु खुसीहुँदै भने हे भाई ! हामीले अहिलेसम्म एकगाँस पनि खाएका छैनौं आउ अब आनन्दले खाना खाऔं ।।४५।।

ततो हसन् हृषीकेशोऽभ्यवहृत्य सहार्भकैः ।
दर्शयंश्चर्माजगरं न्यवर्तत वनाद् व्रजम् ॥४६॥

भगवान्ले हाँस्दै गोपबालकहरु संग मिलेर भोजन गर्नुभयो । र वहाँले अघासुरको शरीरको ढाँचा देखाएर वनबाट फर्केर ब्रजमा आउँनुभयो ।।४६।।

(वसंततिलका)
बर्हप्रसून नवधातुविचित्रिताङ्‌गः
     प्रोद्दामवेणुदलशृङ्‌गरवोत्सवाढ्यः ।
वत्सान् गृणन्ननुगगीतपवित्रकीर्ति–
     र्गोपीदृगुत्सवदृशिः प्रविवेश गोष्ठम् ॥४७॥

(अनुष्टुप्)
अद्यानेन महाव्यालो यशोदानन्दसूनुना ।
हतोऽविता वयं चास्मादिति बाला व्रजे जगुः ॥४८॥

श्रीकृष्णको शिरमा मयुरको प्वाखको मुकुट थियो । घुमृएको कपालमा वासना आउँने फूलका गुच्छाहरु थिए । शरीरमा फूलले बनाएको चित्र थियो । वहाँ हिंड्दा ठुलो स्वरमा बासुरी र सिंगको बाजा बजाएर मग्न हुनुहुन्थ्यो । वहाँको पछि पछि गोपबालकहरु मंगलगान गाएर हिड्दथे । वहाँ कहिले नाम नैं लिएर बाच्छाहरुलाई बोलाउँनु हुन्थ्यो भने कहिले बाच्छासंग खेलेर हिंड्नुहुन्थ्यो । बाटोका दुवैतिर गोपीहरु उभिएका हुन्थे । वहाँले कहिलेकही आफ्नो कर्के नजरले उनीहरुलाई हेरिदिनु हुन्थ्यो । त्यतिबेला गोपीहरु आनन्दले विभोर हुन्थे यसरी भगवान गोठमा प्रवेश गर्नुभयो ।।४८।।

राजोवाच–
ब्रह्मन् परोद्भयवे कृष्णे इयान् प्रेमा कथं भवेत् ।
योऽभूतपूर्वस्तोकेषु स्वोद्भ वेष्वपि कथ्यताम् ॥४९॥

परीक्षितले भने– हे ब्रह्मन् ! ब्रजवासीहरुका लागि श्रीकृष्ण आफ्नो पुत्र थिएनन् तापनि उनीहरुमा यस्तो प्रेम कसरी भयो ? यस्तो प्रेम त बालक कालमा पनि पाएका थिएनन् यो के भएर भएको हो मलाई बताउँनुहोस् ।।४९।।

शुक उवाच–
सर्वेषामपि भूतानां नृप स्वात्मैव वल्लभः ।
इतरेऽपत्यवित्ताद्यास्तद्वल्लभतयैव हि ॥५०॥

श्रीशुकदेवजीले भन्नुभयो– हे राजन ! संसारका सबै प्राणीहरु सबैभन्दा धेरै आफ्नो आत्मालाई नै माया गर्दछन् । पुत्र, धन अथवा अरु कुरामा हुने प्रेम हुनुको कारण त्यो आत्माका लागि प्रिय भएर हो ।।५०।।

तद् राजेन्द्र यथा स्नेहः स्वस्वकात्मनि देहिनाम् ।
न तथा ममतालम्बिपुत्रवित्तगृहादिषु ॥५१॥

हे राजेन्द्र ! सबै प्राणीहरुमा आफ्नो आत्मा सम्बन्धि जुन प्रेम हुन्छ त्यस्तो प्रेम धन पुत्र आदिमा हुदैन ।।५१।।

देहात्मवादिनां पुंसामपि राजन्यसत्तम ।
यथा देहः प्रियतमस्तथा न ह्यनु ये च तम् ॥५२॥

हे राजन ! जसले देहलाई नै आत्मा मान्दछन् उनीहरुले आफ्नो शरीरलाई जति प्रेम गर्दछन् त्यो प्रेम पुत्र, धन र घर आदिमा गर्दैनन् ।।५२।। 

देहोऽपि ममताभाक् चेत्तर्ह्यसौ नात्मवत् प्रियः ।
यज्जीर्यत्यपि देहेऽस्मिन् जीविताशा बलीयसी ॥५३॥

यो शरीर म नै हुँ, यो शरीर मेरो हो भन्न थालयो भने यस शरीरबाट पनि आत्मा समान प्रेम हुदैन । यसको कारण के हो भने शरीर जीर्ण हुँदापनि बाँच्ने आशा सधैं प्रवल हुन्छ ॥५३॥

तस्मात् प्रियतमः स्वात्मा सर्वेषामपि देहिनाम् ।
तदर्थमेव सकलं जगदेतच्चराचरम् ॥५४॥

यसबाट यो थाहा हुन्छ कि सबै  प्राणीहरु आ आफ्नो आत्मालाई नै सबैभन्दा बढि प्रेम गर्दछन् ।।५४।।

कृष्णमेनमवेहि त्वमात्मानमखिलात्मनाम् ।
जगद्धिताय सोऽप्यत्र देहीवाभाति मायया ॥५५॥

वहाँ श्रीकृष्णलाई तिमी आत्माको पनि आत्मा सम्झ संसारको भलाईको लागि  योगमायाको सहायता लिएर वहाँ देहधारी झैं देखिनुहुन्छ ।।५५।।

वस्तुतो जानतामत्र कृष्णं स्थास्नु चरिष्णु च ।
भगवद्‌रूपमखिलं नान्यद् वस्त्विह किञ्चन ॥५६॥

जसले भगवान् श्रीकृष्णको वास्तविक स्वरुपलाई जान्दछ उसका लागि यस जगतमा देखिने चराचर पदार्थ अथवा यसभन्दा पनि पर परमात्मा ब्रह्म, नाराण आदि भगवत्स्वरुप छन् ति सबै श्रीकृष्ण स्वरुप नै हुन् । श्रीकृष्ण बाहेक अरुकुनै प्रांकृत अप्राकृत वस्तुनैं छैनन् ।।५६।।

सर्वेषामपि वस्तूनां भावार्थो भवति स्थितः ।
तस्यापि भगवान् कृष्णः किमतद्वस्तु रूप्यताम् ॥५७॥

सबै वस्तुको अन्तिमरुप आफ्नो कारणमा स्थित हुन्छ, त्यस कारण भन्दा पर परमकारणरुप श्रीकृष्ण हुनुहुन्छ भने श्रीकृष्ण भन्दा भिन्नरुप अरु कुन छ अब तिमीनै बताऊ ।।५७।।

(मिश्र)
समाश्रिता ये पदपल्लवप्लवं
     महत्पदं पुण्ययशो मुरारेः ।
भवाम्बुधिर्वत्सपदं परं पदं
     पदं पदं यद् विपदां न तेषाम् ॥५८॥

जसले श्रीकृष्णरुप मुकुन्द मुरारी डुंगाको आश्रय लिएको हुन्छ त्यो सत्पुरुषको सर्वस्व हो । उसका लागि यो भवसागर वाच्छाको खुरले पारेको खोविल्टो समान हो । उसले परमपद प्राप्त गर्दछ उसकालागि विपत्तिको निवासस्थान संसार भन्नेनैं हुदैन ।। ५८।।

 (अनुष्टुप्)
एतत्ते सर्वमाख्यातं यत् पृष्टोऽहमिह त्वया ।
यत् कौमारे हरिकृतं पौगण्डे परिकीर्तितम् ॥५९॥

हे परीक्षित ! तिमीले भगवान्को पाँचवर्षको लीला ग्वालबालकहरुले छैटौं वर्षमा कसरी गरे भनेर जुनकुरा सोधेका थियौ त्यसको रहस्य बताइदिएं ।।५९।।

 (मिश्र)
एतत्सुहृद्‌भिश्चरितं मुरारे–
     रघार्दनं शाद्वलजेमनं च ।
व्यक्तेतरद् रूपमजोर्वभिष्टवं
     शृण्वन् गृणन्नेति नरोऽखिलार्थान् ॥६०॥

भगवान् श्रीकृष्णले गोपबालकहरुसंग वन कृडा गर्नु अघासुरलाई मार्नु, अप्राकृतिक बाच्छाहरु प्रकट गर्नु र ब्रह्माजीद्वारा गरिएको यस महान स्तुतिलाई जसले सुन्दछ अथवा भन्दछ भने उसलाई धर्म, अर्थ, काम, मोक्ष प्राप्ति हुन्छ ।।६०।।

 (अनुष्टुप्)
एवं विहारैः कौमारैः कौमारं जहतुर्व्रजे ।
निलायनैः सेतुबन्धैर्मर्कटोत्प्लवनादिभिः ॥६१॥

हे परीक्षित यस प्रकार श्रीकृष्ण र बलरामले कुमार अवस्थामा खेल आदि लीला गरेर व्रजमा बिताउँनुभयो ।।६१।।

इति श्रीमद्भाबगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे चतुर्दशोऽध्यायः ॥१४॥