श्रीमद्भागवत महापुराण
पञ्चमः स्कन्धः – अष्टादशोऽध्यायः
भद्रश्रवस ऊचुः –
नेपाली भावानुवादः भद्रश्रवा र उनका सेवकहरू भन्दछन्— मनलाई पवित्र गराउने ॐकार स्वरूप भगवान् धर्मलाई नमस्कार छ। अहो! भगवान्को लीला कति विचित्रको छ! जसका कारण मानिसले सम्पूर्ण लोकको संहार गर्ने काललाई अगाडि देख्दादेख्दै पनि देख्दैन। तुच्छ विषय-सुखका लागि पापमय कर्मको चिन्तनमा लागेर आफ्नै हातले छोरा र बाबुको शवलाई जलाएर पनि मानिस स्वयं भने सधैँ बाँचिरहने इच्छा गर्दछ ।। २–३ ।।
वदन्ति विश्वं कवयः स्म नश्वरं पश्यन्ति चाध्यात्मविदो विपश्चितः । तथापि मुह्यन्ति तवाज मायया सुविस्मितं कृत्यमजं नतोऽस्मि तम् ॥ ४ ॥
नेपाली भावानुवादः विद्वान्हरू जगत्लाई नश्वर बताउँछन् र सूक्ष्मदर्शी आत्मज्ञानीहरूले यस्तो अनुभव पनि गर्दछन्। तैपनि हे जन्मरहित प्रभु! मानिसहरू हजुरकै मायाले मोहित हुन्छन्। हजुर यस्ता अनादि तथा विस्मयजनक कर्म गर्ने हुनुहुन्छ, म हजुरलाई नमस्कार गर्दछु ।। ४ ।।
विश्वोद्भवस्थाननिरोधकर्म ते ह्यकर्तुरङ्गीकृतमप्यपावृतः । युक्तं न चित्रं त्वयि कार्यकारणे सर्वात्मनि व्यतिरिक्ते च वस्तुतः ॥ ५ ॥
नेपाली भावानुवादः हे परमात्मन्! हजुर अकर्ता र मायाको आवरणरहित भए तापनि जगत्को उत्पत्ति, स्थिति र प्रलय हजुरकै कर्म मानिएको छ। यो उचित पनि हो, किनकि सर्वात्म रूपले हजुर नै सम्पूर्ण कार्य र कारण हुनुहुन्छ, तर आफ्नो शुद्ध स्वरूपमा हजुर यी कारण-कार्य भावभन्दा सर्वथा पर हुनुहुन्छ ।। ५ ।।
वेदान् युगान्ते तमसा तिरस्कृतान् रसातलाद्यो नृतुरङ्गविग्रहः । प्रत्याददे वै कवयेऽभियाचते तस्मै नमस्तेऽवितथेहिताय इति ॥ ६ ॥
नेपाली भावानुवादः हजुरको यो 'हयग्रीव' स्वरूप मानव र अश्व (घोडा) को संयुक्त रूप हो। प्रलयकालमा जब तमोगुणी दैत्यले वेदहरू चोरेर लग्यो, तब ब्रह्माजीले प्रार्थना गरेपछि हजुरले वेदलाई रसातलबाट ल्याएर दिनुभयो। यस्तो सत्यसङ्कल्प र अमोघ लीला गर्ने हजुरलाई नमस्कार गर्दछु ।। ६ ।।
हरिवर्षे चापि भगवान्नरहरिरूपेणास्ते । तद्रूपग्रहणनिमित्तमुत्तरत्राभिधास्ये । तद्दयितं रूपं महापुरुषगुणभाजनो महाभागवतो दैत्यदानव कुलतीर्थीकरणशीलाचरितः प्रह्लादोऽव्यवधाना नन्यभक्तियोगेन सह तद्वर्षपुरुषैरुपास्ते इदं चोदाहरति ॥ ७ ॥
ॐ नमो भगवते नरसिंहाय नमस्तेजस्तेजसे आविराविर्भव वज्रनख वज्रदंष्ट्र कर्माशयान् रन्धय रन्धय तमो ग्रस ग्रस ॐ स्वाहा । अभयमभयमात्मनि भूयिष्ठा ॐ क्षौम् ॥ ८ ॥
नेपाली भावानुवादः हरिवर्ष खण्डमा भगवान् 'नृसिंह' रूपले रहनुहुन्छ। उहाँले यो रूप धारण गर्नुको कारण पछि (सप्तम स्कन्धमा) बताउनेछु। भगवान्को त्यस प्रिय रूपलाई महाभागवत प्रह्लादजी निष्काम एवं अनन्य भक्तिभावले उपासना गर्नुहुन्छ। प्रह्लादजीको शील र आचरणले दैत्य-दानव कुललाई नै पवित्र पारेको छ। उहाँले यस मन्त्रद्वारा स्तुति गर्नुहुन्छ— ॐकार स्वरूप भगवान् श्री नृसिंहदेवलाई नमस्कार छ। हजुर तेजका पनि तेज हुनुहुन्छ। हे वज्रनख! हे वज्रदंष्ट्र! हजुर हाम्रो हृदयमा प्रकट हुनुहोस्। हाम्रा कर्म-वासनाहरूलाई भष्म गरिदिनुहोस् र अज्ञानको अन्धकारलाई निल्नुहोस्। हामीलाई आत्मिक अभय प्रदान गर्नुहोस् ।। ७, ८ ।।
स्वस्त्यस्तु विश्वस्य खलः प्रसीदतां
नेपाली भावानुवादः हे नाथ! विश्वको कल्याण होस्, दुष्टहरूको बुद्धि शुद्ध होस् र सबै प्राणीहरूमा परस्पर सद्भाव होस्। सबैले एक-अर्काको हित सोचुन्, हाम्रो मन शुभ मार्गमा प्रवृत्त होस् र हामी सबैको बुद्धि निष्काम भावले श्रीहरिमा लागोस् ।। ९ ।।
माऽगारदारात्मजवित्तबन्धुषु
नेपाली भावानुवादः हे प्रभु! घर, स्त्री, धन र आफन्तहरूमा हाम्रो आसक्ति नहोस्। यदि आसक्ति हुनैपर्ने भए भगवान्का प्रेमी भक्तहरूमा होस्। जो आत्मज्ञानी पुरुष केवल प्राण धान्न आवश्यक अन्नले सन्तुष्ट हुन्छ, उसले छिट्टै सिद्धि प्राप्त गर्दछ, तर इन्द्रिय-भोगीले त्यसरी प्राप्त गर्न सक्दैन ।। १० ।।
यत्सङ्गलब्धं निजवीर्यवैभवं
नेपाली भावानुवादः भगवान्का भक्तहरूको सङ्गतले हजुरको तीर्थ समान पवित्र चरित्र सुन्न पाइन्छ। त्यसको प्रभावले हृदयमा असाधारण शक्ति जागृत हुन्छ। भक्तको मुखबाट निस्केको कथा कानको माध्यमबाट हृदयमा प्रवेश गर्दछ र मानिसको सबै मानसिक मल पखालिदिन्छ। त्यसैले यस्ता भक्तको सङ्गत कसले नगर्ला र? ।। ११ ।।
यस्यास्ति भक्तिर्भगवत्यकिञ्चना
नेपाली भावानुवादः जुन मानिसको भगवान्मा निष्काम भक्ति हुन्छ, उसको हृदयमा समस्त देवता र सद्गुणहरूले निवास गर्दछन्। तर जो भगवान्को भक्त छैन, उसमा महापुरुषमा हुने गुणहरू कहाँ पाइन्छन् र? ऊ त केवल मनोरथ (कल्पना) को पछि लागेर बाहिरी तुच्छ विषयहरूमा भौँतारिरहन्छ ।। १२ ।।
हरिर्हिसाक्षाद्भगवान् शरीरिणा
नेपाली भावानुवादः जसरी माछाका लागि पानी प्रिय र जीवनको आधार हुन्छ, त्यसरी नै साक्षात् श्रीहरि समस्त देहधारीका प्रियतम आत्मा हुनुहुन्छ। उहाँलाई त्यागेर जो घरमा मात्र आसक्त रहन्छ, त्यस्ता दम्पतीको ठुलोपन केवल उमेरमा मात्र सिमित हुन्छ, ज्ञान र सद्गुणमा होइन ।। १३ ।।
तस्माद्रजोरागविषादमन्यु
नेपाली भावानुवादः त्यसैले हे असुरहरू! तिमीहरू राग, विषाद, क्रोध, अभिमान, तृष्णा, भय र मानसिक तापको मूल कारण यो संसार-चक्र रूपी घरको आसक्तिलाई त्यागेर भगवान् नृसिंहको निर्भय चरणकमलको आश्रय लेऊ ।। १४ ।।
केतुमालेऽपि भगवान् कामदेवस्वरूपेण लक्ष्म्याः प्रियचिकीर्षया प्रजापतेर्दुहितॄणां पुत्राणां तद्वर्षपतीनां पुरुषायुषाहोरात्रपरिसंख्यानानां यासां गर्भामहापुरुषमहास्त्रतेजसोद्वेजितमनसां विध्वस्ता व्यसवः संवत्सरान्ते विनिपतन्ति ॥ १५ ॥
नेपाली भावानुवादः केतुमाल खण्डमा लक्ष्मीजी र संवत्सर नामका प्रजापतिका सन्तानहरूको कल्याणका लागि भगवान् 'कामदेव' रूपले निवास गर्नुहुन्छ। त्यहाँका कन्या र पुत्रहरूको सङ्ख्या मानव आयुका दिन-रातको सङ्ख्या (३६ हजार) बराबर छ। भगवान् नारायणको सुदर्शन चक्रको तेजले गर्दा ती कन्याहरूको गर्भ प्रत्येक वर्षको अन्त्यमा तुहिन्छ ।। १५ ।।
अतीव सुललितगतिविलासविलसितरुचिरहासलेशावलोकलीलया किञ्चिदुत्तम्भित सुन्दरभ्रूमण्डलसुभगवदनारविन्दश्रिया रमां रमयन्निन्द्रियाणि रमयते ॥ १६ ॥
नेपाली भावानुवादः भगवान् कामदेव आफ्नो सुललित गति, मन्द मुस्कान र लीलापूर्ण हेराइले लक्ष्मीजीलाई आनन्दित तुल्याउँदै आफ्ना इन्द्रियहरूलाई पनि रञ्जित गराउनुहुन्छ ।। १६ ।।
तद्भगवतो मायामयं रूपं परमसमाधियोगेन रमा देवी संवत्सरस्य रात्रिषु प्रजापतेर्दुहितृभिरुपेताहःसु च तद्भर्तृभिरुपास्ते इदं चोदाहरति ॥ १७ ॥
नेपाली भावानुवादः श्रीलक्ष्मीजी परम योगद्वारा भगवान्को त्यस मायामय स्वरूपको पूजा गर्नुहुन्छ। उहाँ रातको समयमा प्रजापति संवत्सरका कन्याहरूसँग र दिनमा उनका पुत्रहरूसँग मिलेर यी मन्त्रले स्तुति गर्नुहुन्छ ।। १७ ।।
ॐ ह्रां ह्रीं ह्रूं ॐ नमो भगवते हृषीकेशाय सर्वगुणविशेषैर्विलक्षितात्मने आकूतीनां चित्तीनां चेतसां विशेषाणां चाधिपतये षोडशकलाय च्छन्दोमयायान्नमयायामृतमयाय सर्वमयाय सहसे ओजसे बलाय कान्ताय कामाय नमस्ते उभयत्र भूयात् ॥ १८ ॥
नेपाली भावानुवादः श्रेष्ठ वस्तुहरूद्वारा जसको आकार प्रतीत हुन्छ, जो क्रियाशक्ति, ज्ञानशक्ति र सङ्कल्पका अधिपति हुनुहुन्छ, ती १६ कलाले युक्त, वेदमय र अमृतमय भगवान् कामदेवलाई नमस्कार छ। मनोबल, इन्द्रियबल र शरीरबल स्वरूप हजुरलाई 'ॐ ह्रां ह्रीं ह्रूं' बीजमन्त्रले प्रणाम गर्दछु। हजुर हाम्रो यो लोक र परलोक दुवै सुधार्नुहोस् ।। १८ ।।
स्त्रियो व्रतैस्त्वा हृषिकेश्वरं स्वतो ह्याराध्य लोके पतिमाशासतेऽन्यम् । तासां न ते वै परिपान्त्यपत्यं प्रियं धनायूंषि यतोऽस्वतन्त्राः ॥ १९ ॥
नेपाली भावानुवादः हे हृषीकेश! स्त्रीहरू कठिन व्रत बसेर हजुरको पूजा गर्छन् र फलस्वरुप अरु नै लौकिक पतिको इच्छा गर्दछन्। तर ती लौकिक पतिहरूले आफ्ना सन्तान, धन र आयुको रक्षा गर्न सक्दैनन्, किनकि उनीहरू स्वयं पराधीन हुन्छन् ।। १९ ।।
स वै पतिः स्यादकुतोभयः स्वयं समन्ततः पाति भयातुरं जनम् । स एक एवेतरथा मिथो भयं नैवात्मलाभादधि मन्यते परम् ॥ २० ॥
नेपाली भावानुवादः वास्तविक पति त उही हो जो स्वयं सधैँ निर्भय छ र अरूको भयबाट रक्षा गर्न समर्थ छ। यस्ता एकमात्र ईश्वर हजुर नै हुनुहुन्छ। अरुलाई पति मान्दा एक-अर्काबाट भय हुने सम्भावना रहन्छ। हजुरले आफ्नो प्राप्तिभन्दा अरु कुनै कुरालाई श्रेष्ठ मान्नुहुन्न ।। २० ।।
या तस्य ते पादसरोरुहार्हणं निकामयेत्साखिलकामलम्पटा । तदेव रासीप्सितमीप्सितोऽर्चितो यद्भग्नयाञ्चा भगवन् प्रतप्यते ॥ २१ ॥
नेपाली भावानुवादः हे भगवन्! जुन स्त्री हजुरको चरणकमलको मात्र सेवा चाहन्छिन्, उनका सबै कामनाहरू स्वतः पूर्ण हुन्छन्। तर जो केवल एउटा विशेष कामना लिएर हजुरको पूजा गर्छिन्, हजुरले उनलाई त्यही वस्तु मात्र दिनुहुन्छ, जुन भोगपछि समाप्त हुन्छ र उनी फेरि दुःखी हुन्छिन् ।। २१ ।।
मत्प्राप्तयेऽजेशसुरासुरादय स्तप्यन्त उग्रं तप ऐन्द्रियेधियः । ऋते भवत्पादपरायणान्न मां विन्दन्त्यहं त्वद्धृदया यतोऽजित ॥ २२ ॥
नेपाली भावानुवादः हे अजित! मलाई पाउनका लागि इन्द्रिय-सुखका अभिलाषी ब्रह्मा र शिवजी जस्ता देवता तथा असुरहरू घोर तपस्या गर्छन्। तर हजुरको चरणकमलको आश्रय लिने भक्तबाहेक मलाई कसैले पनि प्राप्त गर्न सक्दैन, किनकि मेरो मन त सधैँ हजुरमै केन्द्रित रहन्छ ।। २२ ।।
स त्वं ममाप्यच्युत शीर्ष्णि वन्दितं कराम्बुजं यत्त्वदधायि सात्वताम् । बिभर्षि मां लक्ष्म वरेण्य मायया क ईश्वरस्येहितमूहितुं विभुरिति ॥ २३ ॥
नेपाली भावानुवादः हे अच्युत! हजुरले भक्तको शिरमा राख्ने आफ्नो आशीर्वादको करकमल मेरो शिरमा पनि राखिदिनुहोस्। हजुरले मलाई आफ्नो वक्षस्थलमा चिन्ह (श्रीवत्स) को रूपमा धारण गर्नुहुन्छ। हजुर सर्वसमर्थ ईश्वरको माया र लीलालाई कसले बुझ्न सक्छ र? ।। २३ ।।
रम्यके च भगवतः प्रियतमं मात्स्यमवताररूपं तद्वर्षपुरुषस्य मनोः प्राक्प्रदर्शितं स इदानीमपि महता भक्तियोगेनाराधयतीदं चोदाहरति ॥ २४ ॥
नेपाली भावानुवादः रम्यक खण्डमा भगवान्ले मनुलाई देखाउनुभएको आफ्नो मत्स्य रूपमा निवास गर्नुहुन्छ। मनुजी अहिले पनि भगवान्को त्यही रूपको ठुलो भक्तिपूर्वक उपासना र स्तुति गर्नुहुन्छ ।। २४ ।।
ॐ नमो भगवते मुख्यतमाय नमः सत्त्वाय प्राणायौजसे सहसे बलाय महामत्स्याय नम इति ॥ २५ ॥
नेपाली भावानुवादः सत्त्वप्रधान, मुख्य प्राण स्वरूप तथा मनोबल, इन्द्रियबल र शरीरबलका आधार ॐकार स्वरूप भगवान् महामत्स्यलाई बारम्बार नमस्कार छ ।। २५ ।।
अन्तर्बहिक्षाखिललोकपालकै
नेपाली भावानुवादः हे प्रभु! जसरी सूत्रधारले काठको पुतलीलाई नचाउँछ, त्यसरी नै हजुरले 'वर्णाश्रम' आदि नामको डोरीले यो जगत्लाई आफ्नो अधीनमा राख्नुभएको छ। हजुर प्राणीभित्र प्राण र बाहिर वायु बनेर विचरण गर्नुहुन्छ, तर लोकपालहरूले पनि हजुरलाई देख्न सक्दैनन्। वेदहरू हजुरकै महान् शब्द हुन् ।। २६ ।।
यं लोकपालाः किल मत्सरज्वरा
नेपाली भावानुवादः एक पटक इन्द्र आदि देवताहरूले हजुरबाट अलग भएर जगत्को रक्षा गर्ने प्रयास गरे, तर उनीहरूले कुनै पनि चर-अचर प्राणीको रक्षा गर्न सकेनन्। हजुरको शक्तिबिना कसैको पनि अस्तित्व सम्भव छैन ।। २७ ।।
भवान् युगान्तार्णव ऊर्मिमालिनि
नेपाली भावानुवादः हे अजन्मा प्रभु! प्रलयकालीन भीषण समुद्रमा हजुरले नै ओषधि र लहराहरूको आश्रय रूप पृथ्वीलाई म (मनु) सँगै धारण गरेर विहार गर्नुभएको थियो। ती समस्त जगत्का प्राण स्वरूप हजुरलाई नमस्कार छ ।। २८ ।।
हिरण्मयेऽपि भगवान्निवसति कूर्मतनुं बिभ्राणस्तस्य तत्प्रियतमां तनुमर्यमा सह वर्षपुरुषैः पितृगणाधिपतिरुपधावति मन्त्रमिमं चानुजपति ॥ २९ ॥
नेपाली भावानुवादः हिरण्मय खण्डमा भगवान् 'कूर्म' (कछुवा) रूप धारण गरेर रहनुहुन्छ। पितृहरूका अधिपति अर्यमा त्यहाँका निवासीहरूसहित भगवान्को त्यस प्रिय मूर्तिको उपासना र जप गर्नुहुन्छ ।। २९ ।।
ॐ नमो भगवते अकूपाराय सर्वसत्त्वगुणविशेषणायानुपलक्षितस्थानाय नमो वर्ष्मणे नमो भूम्ने नमो नमोऽवस्थानाय नमस्ते ॥ ३० ॥
नेपाली भावानुवादः जो पूर्ण सत्त्वगुणले युक्त हुनुहुन्छ, जसको स्थानको सीमा छैन र जो कालभन्दा पर हुनुहुन्छ, ती ॐकार स्वरूप सर्वव्यापक भगवान् कूर्मलाई बारम्बार नमस्कार छ ।। ३० ।।
यद्रूपमेतन्निजमाययार्पित
नेपाली भावानुवादः हे भगवन्! यो दृश्य प्रपञ्च हजुरकै मायाले निर्मित अनेक रूपको प्रतिविम्ब मात्र हो। यसको वास्तविक सङ्ख्या छैन, किनकि यो मिथ्या छ। यस्तो अनिवर्चनीय रूप भएका हजुरलाई मेरो नमस्कार छ ।। ३१ ।।
जरायुजं स्वेदजमण्डजोद्भिदं
नेपाली भावानुवादः हे देव! प्राणी, वनस्पति, देवता, ऋषि, आकाश, पृथ्वी, पर्वत, नदी र ग्रह-तारा आदि विभिन्न नामले चिनिने तत्व वास्तवमा हजुर नै हुनुहुन्छ ।। ३२ ।।
यस्मिन्नसंख्येयविशेषनाम
नेपाली भावानुवादः विद्वान्हरूले हजुरका असंख्य नाम र रूपको कल्पना गरेका छन्। सांख्य दर्शनले निर्धारण गरेका २४ तत्वहरू हजुरकै स्वरूप हुन्, जसको ज्ञानले मुक्त हुन सकिन्छ। यस्ता सांख्य-स्वरूप हजुरलाई नमस्कार छ ।। ३३ ।।
उत्तरेषु च कुरुषु भगवान् यज्ञपुरुषः कृतवराहरूप आस्ते तं तु देवी हैषा भूः सह कुरुभिरस्खलितभक्तियोगेनोपधावति इमां च परमामुपनिषदमावर्तयति ॥ ३४ ॥
नेपाली भावानुवादः उत्तर कुरु खण्डमा भगवान् 'वराह' रूप धारण गरेर विराजमान हुनुहुन्छ। त्यहाँ पृथ्वीदेवीले अरू बासिन्दाहरूसहित भगवान्को अनन्य भक्तिले उपासना र स्तुति गर्नुहुन्छ ।। ३४
ॐ नमो भगवते मन्त्रतत्त्वलिङ्गाय यज्ञक्रतवे महाध्वरावयवाय महापुरुषाय नमः कर्मशुक्त्वाय त्रियुगाय नमस्ते ॥ ३५ ॥
नेपाली भावानुवादः जसको तत्व मन्त्रद्वारा जानिन्छ, जो यज्ञ स्वरूप हुनुहुन्छ र जसका अङ्गहरू नै ठुला यज्ञ हुन्, ती ॐकार स्वरूप शुद्ध कर्ममय भगवान् वराहलाई बारम्बार नमस्कार छ ।। ३५ ।।
यस्य स्वरूपं कवयो विपश्चितो गुणेषु दारुष्विव जातवेदसम् । मथ्नन्ति मथ्ना मनसा दिदृक्षवो गूढं क्रियार्थैर्नम ईरितात्मने ॥ ३६ ॥
नेपाली भावानुवादः जसरी काठभित्र लुकेको अग्निलाई मन्थन गरेर निकालिन्छ, त्यसरी नै विवेकी जनहरूले कर्मभित्र लुकेको हजुरको स्वरूपलाई मन रूपी मन्थनद्वारा साक्षात्कार गर्दछन्। हजुरलाई नमस्कार छ ।। ३६ ।।
द्रव्यक्रियाहेत्वयनेशकर्तृभि र्मायागुणैर्वस्तुनिरीक्षितात्मने । अन्वीक्षयाङ्गातिशयात्मबुद्धिभि र्निरस्तमायाकृतये नमो नमः ॥ ३७ ॥
नेपाली भावानुवादः योगका साधनद्वारा जसले मायाका कार्यहरू (इन्द्रिय, शरीर आदि) भित्र हजुरको वास्तविक स्वरूप देख्छन् र जसको माया नष्ट भएको छ, त्यस्ता हजुरलाई बारम्बार नमस्कार छ ।। ३७ ।।
नेपाली भावानुवादः जसरी चुम्बकको नजिक रहँदा फलाम आफैँ हल्लिन्छ, त्यसरी नै हजुरको उपस्थिति मात्रले मायाले जगत्को सृष्टि, स्थिति र प्रलय गर्दछ। हजुर सबै गुण र कर्मका साक्षी हुनुहुन्छ, हजुरलाई नमस्कार छ ।। ३८ ।।
नेपाली भावानुवादः हजुर आदि-वराह हुनुहुन्छ। जसरी हात्तीले अर्को हात्तीलाई पछार्छ, त्यसरी नै हजुरले हिरण्याक्ष दैत्यलाई मारेर मलाई (पृथ्वी) आफ्नो दाह्राको टुप्पामा राखी रसातलबाट उद्धार गर्नुभयो। म हजुरलाई बारम्बार प्रणाम गर्दछु ।। ३९ ।।
यस अध्यायको सारांश :
श्रीमद्भागवत महापुराणको यो १८औँ अध्याय जम्बूद्वीपका विभिन्न खण्डहरूमा भगवान्का विविध अवतारहरूको उपासना र त्यहाँका अधिपतिहरूले गरेका महान् स्तुतिहरूको सङ्ग्रह हो। शुकदेवजीले राजा परीक्षितलाई बताउनुहुन्छ कि कसरी भगवान् नारायणले संसारको कल्याणका लागि विभिन्न रूप धारण गरी प्रत्येक खण्डमा विराजमान हुनुहुन्छ। भद्राश्व खण्डमा धर्मपुत्र भद्रश्रवाले भगवान्को अश्वशिर (हयग्रीव) रूपको पूजा गर्दै कालको गति र मानिसको मोहको व्याख्या गर्नुहुन्छ। हरिवर्ष खण्डमा परम भक्त प्रह्लादजीले भगवान् नृसिंहको उपासना गर्दै विश्वको शान्ति र खलहरूको बुद्धि शुद्धिको कामना गर्नुहुन्छ। प्रह्लादको स्तुतिमा इन्द्रिय-आसक्ति त्यागेर भगवान्मा शरण पर्नु नै जीवनको सार्थकता हो भन्ने देखाइएको छ।
त्यस्तै, केतुमाल खण्डमा लक्ष्मीजीले भगवान् कामदेव (हृषीकेश) को आराधना गर्नुहुन्छ। यहाँ सांसारिक पतिको असमर्थता र ईश्वरको वास्तविक पतित्वको सुन्दर वर्णन गरिएको छ। रम्यक खण्डमा मनुजीले भगवान्को मत्स्य अवतारको स्तुति गर्दै कसरी उहाँले प्रलयको समयमा सम्पूर्ण जीव र वेदको रक्षा गर्नुभयो भन्ने स्मरण गर्नुहुन्छ। हिरण्मय खण्डमा अर्यमाले भगवान् कूर्म (कछुवा) को उपासना गर्दै उहाँलाई सांख्य दर्शनको मूल तत्वका रूपमा चित्रण गर्नुहुन्छ। अन्तमा, उत्तर कुरु खण्डमा पृथ्वीदेवीले भगवान् वराहको स्तुति गर्दै हिरण्याक्षको संहार र पृथ्वीको उद्धारको चर्चा गर्नुहुन्छ। यसरी यो अध्यायले सम्पूर्ण भूगोललाई एउटा पवित्र मन्दिरका रूपमा प्रस्तुत गर्दछ जहाँ प्रत्येक स्थानमा ईश्वरको उपस्थिति छ र सबै जीवहरू आ-आफ्नो भावले उहाँको उपासना गरिरहेका छन्।
यस अध्यायको दार्शनिक पक्ष :
यस अध्यायको दार्शनिक पक्ष निकै गहिरो र समन्वयात्मक छ। यहाँ 'सगुण' र 'निर्गुण' दुवै पक्षको सुन्दर मिलन देखिन्छ। एकातिर भगवान्का विभिन्न अवतार (हयग्रीव, नृसिंह, मत्स्य, कूर्म, वराह) को चर्चा छ भने अर्कोतिर उहाँहरूलाई नै जगत्को मूल आधार, सांख्य तत्व र आत्मस्वरूपका रूपमा वर्णन गरिएको छ। अध्यायको मुख्य दर्शन 'माया' को प्रभाव र त्यसबाट मुक्त हुने उपाय हो। प्रह्लाद र लक्ष्मीको स्तुतिले सिकाउँछ कि संसारका सम्बन्धहरू र वस्तुहरू क्षणभङ्गुर छन्, केवल ईश्वरको शरण नै 'अकुतोभय' (कहीँबाट पनि डर नहुने) स्थान हो। चुम्बक र फलामको दृष्टान्तले बुझाउँछ कि भगवान् स्वयं अकर्ता भए पनि उहाँकै सान्निध्यले प्रकृतिले सारा सृष्टि सञ्चालन गर्दछ। यो अध्यायले भूगोलको माध्यमबाट ईश्वरको सर्वव्यापकता र भक्तिको श्रेष्ठता सिद्ध गर्दछ।
No comments:
Post a Comment