#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – पञ्चचत्वारिंशोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
दशमः स्कंधः – पञ्चचत्वारिंशोऽध्यायः



शुक उवाच –
(अनुष्टुप्)
पितरावुपलब्धार्थौ विदित्वा पुरुषोत्तमः ।
मा भूदिति निजां मायां ततान जनमोहिनीम् ॥१॥

श्री शुकदेवजी भन्नुहुन्छ– हे महाराज ! कृष्ण भगवानले आफ्ना माता पिताको आफूप्रति भगवत भाव भएको देखेर अहिले ईश्वरको भाव नहोस् भन्ने भावनाले जगतलाई मोहित पार्ने आफ्नो मायाशक्ति फैलाइदिनु भयो ।।१।। 

उवाच पितरावेत्य साग्रजः सात्वतर्षभः ।
प्रश्रयावनतः प्रीणन्नम्ब तातेति सादरम् ॥२॥

यदुवंशी श्रेष्ठ भगवान श्रीकृष्ण दाजु बलरामसँग माता–पिता नजिकै गएर आदरपूर्व  नम्र भएर हे माता ! हे पिता ! यी शब्दले उहाँहरुलाई प्रसन्न गराउँदै भन्नुभयो ।।२।।

नास्मत्तो युवयोस्तात नित्योत्कण्ठितयोरपि ।
बाल्यपौगण्डकैशोराः पुत्राभ्यामभवन् क्वचित् ॥३॥

भगवानले भन्नुभयो हे पिताजी ! हामी तपाईंका छोरा हौँ । नित्य निरन्तर हामीलाई प्राप्त गर्नको लागि उत्कण्ठित रहनुभए तापनि हजुरहरुले हाम्रो बाल्यावस्था पौगण्ड अवस्था तथा किशोर अवस्थामा हामीबाट हुने आनन्दहरु प्राप्त गर्न सक्नुभएन ।।३।। 

न लब्धो दैवहतयोर्वासो नौ भवदन्तिके ।
यां बालाः पितृगेहस्था विन्दन्ते लालिता मुदम् ॥४॥

भाग्यले ठगिएकाले हामी दुवै छोरा भएर पनि हजुरहरुसँग बस्ने सौभाग्य ! पाएनौं । यसैले बालकहरुले मातापिताको घरमा बसेर उहाँहरूको लाडप्यारको जुन खुसीप्राप्त गर्दछन् त्यो हामीले पाएनौ ।।४।।

सर्वार्थसम्भवो देहो जनितः पोषितो यतः ।
न तयोर्याति निर्वेशं पित्रोर्मर्त्यः शतायुषा ॥५॥

पिता माताले बाट नैं यस शरीरको जन्म हुन्छ  र यसको पालनपोषण पनि माता पिताबाटै भयो अब त्यसको बदला तिर्न सयौं वर्षको आयुले पनि सकिँदैन ।।५।।

यस्तयोः आत्मजः कल्प आत्मना च धनेन च ।
वृत्तिं न दद्यात्तं प्रेत्य स्वमांसं खादयन्ति हि ॥६॥

जुन छोराले सामथ्र्य हुँदाहुँदै पनि शरीर र धनले मातापिताको सेवा गर्दैन भने त्यसलाई मरेपछि यमराजका दूतले उसैको मासु खुवाउँछन् ।।६।।

मातरं पितरं वृद्धं भार्यां साध्वीं सुतं शिशुम् ।
गुरुं विप्रं प्रपन्नं च कल्पोऽबिभ्रच्छ्वशसन् मृतः ॥७॥

तसर्थ सामर्थ्य भएर पनि आमा–बाबु, पतिव्रता पत्नी, बालक, सन्तान, गुरु, ब्राह्मण र शरणागतको पालनपोषण गरेन भने त्यो पुरुष जिउँदो भएता पनि मरेतुल्य हो ।।७।।

तन्नावकल्पयोः कंसान्नित्यमुद्विग्नचेतसोः ।
मोघमेते व्यतिक्रान्ता दिवसा वामनर्चतोः ॥८॥

हाम्रा यतिका दिनहरु कंशबाट डराएर हजुरको सेवा गर्न नसकिकन त्यत्तिकै बिते ।।८।।

तत्क्षन्तुमर्हथस्तात मातर्नौ परतन्त्रयोः ।
अकुर्वतोर्वां शुश्रूषां क्लिष्टयोर्दुर्हृदा भृशम् ॥९॥

हे पिताजी ! हे माताजी ! त्यस दुष्ट कंशले बिना अपराधमा हजुरलाई कारागारमा थुनिदिएकाले हामीले हजुरको सेवा गर्न सकेनौँ त्यसकारण हाम्रो अपराधलाई क्षमा गर्नुहोस् ।।९।।

शुक उवाच –
इति मायामनुष्यस्य हरेर्विश्वात्मनो गिरा ।
मोहितावङ्‌कमारोप्य परिष्वज्यापतुर्मुदम् ॥१०॥

श्रीशुकदेवजी भन्नुहुन्छ– लिला गर्नको निम्तिमा नै मनुष्यको जस्तो रुप धारण गर्नुभएको विश्वात्मा भगवानका यी कुरा सुन्दा देवकी वसुदेव मोहित भएर दुवै छोरालाई काखमा लिई अंगालो हालेर आनन्दमा मग्न भए ।।१०।। 

सिञ्चन्तावश्रुधाराभिः स्नेहपाशेन चावृतौ ।
न किञ्चिदूचतू राजन् बाष्पकण्ठौ विमोहितौ ॥११॥

हे राजन ! स्नेह पासमा बाँधिएकोले पूर्णतया मोहित भइराखेको देवकी र बसुदेवको आँसुको धाराले काखमा लिएका पुत्रलाई भिजाउन लागेको थियो आँसुले गर्दा घाँटी अवरुद्ध भएर केही बोल्न सकेनन् ।।११।।

एवमाश्वास्य पितरौ भगवान् देवकीसुतः ।
मातामहं तूग्रसेनं यदूनामकरोन्नृपम् ॥१२॥

यस प्रकारसँग मातापितालाई सान्त्वना दिइसकेपछि श्रकृष्ण भगवानले आफ्ना मावलीका हजुरबुवा उग्रसेनलाई यदुवंशीहरूको राजा बनाउनुभयो ।।१२।। 

आह चास्मान् महाराज प्रजाश्चाज्ञप्तुमर्हसि ।
ययातिशापाद् यदुभिर्नासितव्यं नृपासने ॥१३॥

भगवान श्रीकृष्णले भन्नुभयो– हे महाराज ! हामी तपाईंका प्रजा हौँ । हामीलाई आफ्नो इच्छा अनुसारको आज्ञा दिनुहोस् ययातीको श्राप परेकोले यदुवंशीहरुले राजसिम्हासनमा बस्न हुँदैन ।।१३।।

मयि भृत्य उपासीने भवतो विबुधादयः ।
बलिं हरन्त्यवनताः किमुतान्ये नराधिपाः ॥१४॥

सेवक भएर म तपाईंको नजिक रहेसम्म अरु राजाहरूको त के कुरा ठूलाठूला देवताले समेत टाउको निहुराएर तपाईँलाई उपहार समर्पण गर्नेछन् ।।१४।।

सर्वान् स्वाञ्ज्ञातिसंबन्धान् दिग्भ्यः कंसभयाकुलान् ।
यदुवृष्ण्यन्धकमधुदाशार्हकुकुरादिकान् ॥१५॥

सभाजितान् समाश्वास्य विदेशावासकर्शितान् ।
न्यवासयत् स्वगेहेषु वित्तैः सन्तर्प्य विश्वकृत् ॥१६॥

यसपछि सारा संसारका निर्माता श्रीकृष्ण भगवानले कंशको डरले व्याकुल भई यत्रतत्र भागिराखेका यदु, बृष्णी, मधु, दशार्ह र कुकुर आदि वंशमा उत्पन्न भएका आफ्ना सजातीय नाताकुटुम्बलाई बोलाउनुभयो र सान्त्वना दिनुभयो त्यसपछि धेरै धन सम्पत्ति दिएर तृप्त गराएर आफ्नो आफ्नो घरमा  फर्काउनुउनु भयो ।।१५–१६।। 

कृष्णसङ्‌कर्षणभुजैर्गुप्ता लब्धमनोरथाः ।
गृहेषु रेमिरे सिद्धाः कृष्णरामगतज्वराः ॥१७॥

वीक्षन्तोऽहरहः प्रीता मुकुन्दवदनाम्बुजम् ।
नित्यं प्रमुदितं श्रीमत् सदयस्मितवीक्षणम् ॥१८॥

श्रीकृष्ण र बलरामको बाहुबलले सुरक्षित भएका राजा यदुवंशीलाई उहाँहरूको कृपाले कुनै प्रकारको दुःख कष्ट थिएन सबै हटेर गएको थियो । त्यसैले उनीहरू इच्छा अनुसारको फल पाएर सधैँ प्रसन्न  भएका थिए । उनीहरू सधैँ भगवान श्रीकृष्णको मुस्कानले भरिएको मुख कमललाई हेरेर आफ्नै घरमा रमाएर बस्दथे ।।१७–१८।।

तत्र प्रवयसोऽप्यासन् युवानोऽतिबलौजसः ।
पिबन्तोऽक्षैर्मुकुन्दस्य मुखाम्बुजसुधां मुहुः ॥१९॥

नित्य निरन्तर भगवानको मुखरुपी अमृत पान गर्न पाएकोले मथुराका बुढा मानिस पनि युवक झैँ उत्साही र अत्यन्त बलिया र चम्किला देखिन लागेका थिए ।।१९।।

अथ नन्दं समसाद्य भगवान् देवकीसुतः ।
संकर्षणश्च राजेन्द्र परिष्वज्येदमूचतुः ॥२०॥

हे परीक्षित ! यसपछि भगवान देवकीपुत्र श्रीकृष्ण र बलराम दुवै जना नन्द बाबा भएको ठाउँमा आउनुभयो र उहाँलाई अंकमाल गरी भन्न लाग्नुभयो ।।२०।। 

पितर्युवाभ्यां स्निग्धाभ्यां पोषितौ लालितौ भृशम् ।
पित्रोरभ्यधिका प्रीतिरात्मजेष्वात्मनोऽपि हि ॥२१॥

हे पिताजी ! हजुरले र माता यशोदाले बडो स्नेहसँग हाम्रो लालनपालन गर्नुभयो । बाबुआमाले आफूलाई भन्दा बढी माया आफ्ना सन्तानलाई गर्दछन् ।।२१।।

स पिता सा च जननी यौ पुष्णीतां स्वपुत्रवत् ।
शिशून् बन्धुभिरुत्सृष्टानकल्पैः पोषरक्षणे ॥२२॥

पालनपोषण गर्न असमर्थ भएकोले जसलाई आफन्तले त्यागिदिएका हुन्छन् जसले त्यस्ता बालकलाइ आफ्नै छोरा झैँ पालन पोषण गर्छन् भने वास्तवमा तिनै उनीहरुका आमाबाबु हुन् ।।२२।। 

यात यूयं व्रजं तात वयं च स्नेहदुःखितान् ।
ज्ञातीन् वो द्रष्टुमेष्यामो विधाय सुहृदां सुखम् ॥२३॥

हे पिताजी ! अब तपाईं ब्रजमा जानुहोस् त्यहाँ स्नेही सम्बन्धीलाई सुखी गराएर बिछोडका कारण दुःखी भएका हजुरहरूलाई भेट्न हामी ब्रजमा आउनेछौं ।।२३।। 

एवं सान्त्वय्य भगवान् नन्दं सव्रजमच्युतः ।
वासोऽलङ्‌कारकुप्याद्यैरर्हयामास सादरम् ॥२४॥

भगवान् अचुतले नन्दवावा अरु ब्रजवासीहरूलाई यस प्रकारसँग सम्झाई बुझाईकन आदरपूर्वक लुगा गहना थरिथरिका भाडाकुडा इत्यादि दिएर उहाँहरुको सत्कार गर्नुभयो ।।२४।। 

इत्युक्तस्तौ परिष्वज्य नन्दः प्रणयविह्वलः ।
पूरयन्नश्रुभिर्नेत्रे सह गोपैर्व्रजं ययौ ॥२५॥

भगवानको यो कुरा सुनेपछि नन्द बाबाले प्रेमले विह्वल भएर कृष्ण र बलरामलाई अङ्कमाल गर्नुभयो र आँखाभरि आँसु लिएर गोपहरूको साथमा व्रजतिरको प्रस्थान गर्नुभयो। ।।२५।। 

अथ शूरसुतो राजन् पुत्रयोः समकारयत् ।
पुरोधसा ब्राह्मणैश्च यथावद् द्विजसंस्कृतिम् ॥२६॥

हे राजन ! यसपछि वसुदेवले आफ्ना पुरोहित गर्गाचार्य एवं अरु ब्राह्मणलाई बोलाएर दुवै छोराको विधिपूर्वक यज्ञोपवित संस्कार गराउनु भयो ।।२६।।

तेभ्योऽदाद् दक्षिणा गावो रुक्ममालाः स्वलङ्‌कृताः ।
स्वलङ्‌कृतेभ्यः संपूज्य सवत्साः क्षौममालिनीः ॥२७॥

वसुदेवले ब्राह्मणहरूलाई अनेकथरिका लुगा गहनाले सिँगारेर उनीहरूको पूजा गर्नुभयो र घाँटीमा सुनका माला र शरीरमा रेशमी कपडा लगाएका वाच्छा सहितका गाई दक्षिणाको रुपमा दिनुभयो ।।२७।।

याः कृष्णरामजन्मर्क्षे मनोदत्ता महामतिः ।
ताश्चाददादनुस्मृत्य कंसेनाधर्मतो हृताः ॥२८॥

श्रीकृष्ण र बलरामको जन्म नक्षत्रमा बसुदेवले जे जति गाईदान गर्नेमनमा संकल्प गर्नुभएको थियो तर ती सबै कंशले अधर्म पूर्वक हरण गरेर लगेकाले अहिले ती गाईहरुलाई सम्झेर ब्राह्मणहरुलाई दिनुभयो ।।२८।। 

ततश्च लब्धसंस्कारौ द्विजत्वं प्राप्य सुव्रतौ ।
गर्गाद् यदुकुलाचार्याद् गायत्रं व्रतमास्थितौ ॥२९॥

यस प्रकारसँग यदुकुलका पुरोहित गर्ग ऋषिद्वारा यज्ञ पवित्र संस्कार भएपछि व्रतनिष्ठ भएका राम र कृष्णले गायत्री व्रत धारण गर्नुभयो। ।।२९।।

प्रभवौ सर्वविद्यानां सर्वज्ञौ जगदीश्वरौ ।
नान्यसिद्धामलज्ञानं गूहमानौ नरेहितैः ॥३०॥

कृष्ण र बलराम जगतका एकमात्र स्वामी र सर्वज्ञ हुनुहुन्छ । उहाँबाटै सम्पूर्ण विद्याहरू प्रकट भएका हुन् तापनि मनुष्यको हितको लागि त्यस ज्ञानलाई लुकाईराख्नु भएको थियो ।।३०।। 

अथो गुरुकुले वासमिच्छन्ताव्वुपजग्मतुः ।
काश्यं सान्दीपनिं नाम ह्यवन्तिपुरवासिनम् ॥३१॥

यसपछि गुरुकुलमा निवास गर्ने इच्छाले दुवै भाइ उज्जैनमा बस्ने कश्यप गोत्रीय शान्दिपनि नामका गुरुकहाँ जानुभयो ।।३१।। 

यथोपसाद्य तौ दान्तौ गुरौ वृत्तिमनिन्दिताम् ।
ग्राहयन्तावुपेतौ स्म भक्त्या देवमिवादृतौ ॥३२॥

त्यसपछि उहाँहरू आफ्ना इन्द्रियलाई बसमा राखी गुरुप्रति सेवाभाव राखी भक्तिपूर्वक गुरुको सेवा गर्न थाल्नुभयो। ।।३२।।

तयोर्द्विजवरस्तुष्टः शुद्धभावानुवृत्तिभिः ।
प्रोवाच वेदानखिलान् साङ्‌गोपनिषदो गुरुः ॥३३॥

बलराम र श्रीकृष्णले शुद्ध भावले गुरुको सेवा गर्नुभयो । उहाँहरूको सेवाले प्रसन्न भई गुरु सान्दिपनिले छ वटै अङ्ग र उपनिषदहरूको साथसाथै सम्पूर्ण वेद पढाउनुभयो ।।३३।।

सरहस्यं धनुर्वेदं धर्मान् न्यायपथांस्तथा ।
तथा चान्वीक्षिकीं विद्यां राजनीतिं च षड्‌विधाम् ॥३४॥

यस बाहेक राम र कृष्णले उहाँबाट मन्त्ररहस्य र देवताहरूको ज्ञान सहितको धनुर्वेद, मनुष्मृति आदि धर्मशास्त्र, मिमांसाशास्त्र, तर्कशास्त्र, न्यायशास्त्र, र सन्धि विग्रह, यान, आसन द्वैधभाव र आश्रयको राजनीतिको शिक्षा पनिलिनुभयो ।।३४।। 

सर्वं नरवरश्रेष्ठौ सर्वविद्याप्रवर्तकौ ।
सकृन्निगदमात्रेण तौ सञ्जगृहतुर्नृप ॥३५॥

हे राजन ! सबै विद्याका प्रवर्तक पुरुष श्रेष्ठ उहाँ दुवै भाइले केवल एकबाजी गुरुको मुखबाट सुन्नासाथ सम्पूर्ण विद्या ग्रहण गर्न लाग्नुभयो ।।३५।। 

अहोरात्रैश्चतुःषष्ट्या संयत्तौ तावतीः कलाः ।
गुरुदक्षिणयाऽऽचार्यं छन्दयामासतुर्नृप ॥३६॥

हे महाराज परीक्षित ! एसप्रकार दुवै दाजुभाईले ६४ दिनमानै ६४ नै विद्याको ज्ञान प्राप्त गर्नुभयो र अन्तमा पढाइ सकेपछि इच्छा अनुसारको गुरु दक्षिणा माग्न आचार्यलाई अनुरोध गर्नुभयो ।।३६।।

(मिश्र)
द्विजस्तयोस्तं महिमानमद्भुातं
     संलक्ष्य राजन्नतिमानुषीं मतिम् ।
संमन्त्र्य पत्न्या् स महार्णवे मृतं
     बालं प्रभासे वरयांबभूव ह ॥३७॥

हे महाराज ! कृष्ण र बलरामको अद्भुत महिमा र अलौकिक बुद्धि देखेर शान्दिपनि मुनिले आफ्नी पत्नीसँग सल्लाह गरेर प्रवास क्षेत्रमा समुद्रमा डुबेर मरेको आफ्नो छोरालाई ल्याइदिने गुरु दक्षिणाका रूपमा मागे ।।३७।।

तेथेत्यथारुह्य महारथौ रथं
     प्रभासमासाद्य दुरन्तविक्रमौ ।
वेलामुपव्रज्य निषीदतुः क्षणं
     सिन्धुर्विदित्वार्हनमाहरत्तयोः ॥३८॥

त्यसपछि अनन्त पराक्रमशाली दुई दाजुभाइले हवस् भनेर रथमा चढेर प्रवास क्षेत्रमा आउनुभयो र उहाँहरूले समुद्रको किनारमा एकछिन बस्नासाथ उहाँहरु साक्षात परमेश्वर हुनुहुन्छ भन्ने बुझेर समुद्रले पूजा गरे ।।३८।।

(अनुष्टुप्)
तमाह भगवानाशु गुरुपुत्रः प्रदीयताम् ।
योऽसाविह त्वया ग्रस्तो बालको महतोर्मिणा ॥३९॥

भगवानले समुद्रलाई भन्नुभयो तिमीले यहाँ हाम्रा गुरुपुत्रलाई आफ्नो ठूलो तरङ्गमा बगाएर ल्याएको थियौ तिनलाई छिट्टै ल्याएर हामीलाई देउ ।।३९।।

समुद्र उवाच –
न चाहार्षमहं देव दैत्यः पञ्चजनो महान् ।
अन्तर्जलचरः कृष्ण शङ्‌खरूपधरोऽसुरः ॥४०॥

समुद्रले भने– हे भगवान ! मैले ती बालकलाइ हरण गरेको छैन मेरो जलमा पञ्चजन नाम गरेको शङ्खको रुप धारण गरी बसेको  एउटा दैत्य छ अवश्य त्यसैले हजुरका गुरु पुत्रलाई हरण गरेको होला ।।४०।।

आस्ते तेनाहृतो नूनं तच्छ्रुत्वा सत्वरं प्रभुः ।
जलमाविश्य तं हत्वा नापश्यदुदरेऽर्भकम् ॥४१॥

समुद्रको कुरा सुनेपछि पक्कै पनि त्यो दैत्यले हरेको होला भनेर भगवानले उत्तिखेरै जलभित्र पसेर त्यस दैत्यलाई मार्नुभयो तर त्यसको पेटमा गुरुपुत्र भने भेट्नुभएन ।।४१।।

तदङ्‌गप्रभवं शङ्‌खमादाय रथमागमत् ।
ततः संयमनीं नाम यमस्य दयितां पुरीम् ॥४२॥

गत्वा जनार्दनः शङ्‌खं प्रदध्मौ सहलायुधः ।
शङ्‌खनिर्ह्रादमाकर्ण्य प्रजासंयमनो यमः ॥४३॥

तयोः सपर्यां महतीं चक्रे भक्त्युपबृंहिताम् ।
उवाचावनतः कृष्णं सर्वभूताशयालयम् ।
लीलामनुष्य हे विष्णो युवयोः करवाम किम् ॥४४॥

त्यसपछि भगवान पञ्चजनको शरीरबाट प्रकट भएको शंख लिएर रथमा सवार भई बलरामको साथमा यमराजको प्यारो सहर संयमनी नामकपुरीमा लाग्नुभयो । त्यहाँ पुगेपछि भगवान्ले आफ्नो पाञ्चजन्य शङ्ख बजाउनुभयो । यो आवाज सुनेर सारा प्रजाको शासन गर्ने यमराजले सम्पूर्ण प्राणीको अन्तकरणमा विराजमान रहने श्रीकृष्ण भगवानलाई बडो नम्रतासँग निउरेर भने– लिलाले नै मनुष्य रुप धारण गर्नुभएका हे विष्णु मैले हजुर दुवैको के सेवा गरौँ ।।४२–४४।। 

श्रीभगवान् उवाच –
गुरुपुत्रमिहानीतं निजकर्मनिबन्धनम् ।
आनयस्व महाराज मच्छासनपुरस्कृतः ॥४५॥

भगवानले भन्नुभयो– हे महाराज ! आफ्नो कर्म फल अनुसार यहाँ ल्याइएका मेरा गुरुपुत्रलाई  मैले दिएको आज्ञापालन गरेर यहाँ लिएर आउ ।।४५।। 

तथेति तेनोपानीतं गुरुपुत्रं यदूत्तमौ ।
दत्त्वा स्वगुरवे भूयो वृणीष्वेति तमूचतुः ॥४६॥

यमराजले जो आज्ञा भन्दै ती बालकलाई ल्याएर भगवानलाई दिनुभयो । श्रीकृष्ण र बलरामले ती बालकलाई आफ्ना गुरुलाई सुम्पनुभयो । त्यसपछि उहाँहरुले गुरुसंग अरु कुरा पनि माग्नुहोस् भनेर भन्नुभयो । ४६ 

गुरुरुवाच –
सम्यक् संपादितो वत्स भवद्भ्यां  गुरुनिष्क्रयः ।
को नु युष्मद्विधगुरोः कामानामवशिष्यते ॥४७॥

गुरुले भन्नुभयो– हे बाबु हो ! तिमीहरुले राम्रोसँग आफ्नो गुरु दक्षिणा दियौ तिमीहरु जस्ताको गुरुको कुन अभिलाषा पूर्ण नभई रहन सक्ला ।।४७।। 

गच्छतं स्वगृहं वीरौ कीर्तिर्वामस्तु पावनी ।
छन्दांस्ययातयामानि भवन्त्विह परत्र च ॥४८॥

हे वीरहरू ! अब तिमीहरु आफ्नो घर फर्केर जाउ लोकलाई पवित्र गराउने कृति तिमीहरुलाई प्राप्त होस् र तिमीहरूले पढेको विद्या यस जन्ममा र अर्को जन्ममा समेत सदा ताजा भइराखोस् ।।४८।।

गुरुणैवमनुज्ञातौ रथेनानिलरंहसा ।
आयातौ स्वपुरं तात पर्जन्यनिनदेन वै ॥४९॥

हे महाराज परीक्षित ! यस प्रकार गुरुबाट आशीर्वाद पाएपछि वायु जस्तो वेगभएको रथमा सवार भएर दुवै दाजुभाई मथुरामा फर्केर आउनुभयो ।।४९।।

समनन्दन् प्रजाः सर्वा दृष्ट्वान रामजनार्दनौ ।
अपश्यन्त्यो बह्वहानि नष्टलब्धधना इव ॥५०॥

श्री कृष्ण र बलरामलाई धेरै दिनदेखि दर्शन नपाएका प्रजाहरू वहाँहरु फर्केर आउँदा हराएको धन भेट्टाउँदा मानिस खुसी भएझैँ धेरै आनन्दित भए ।।५०।।

इति श्रीमद्भाहगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे गुरुपुत्रानयनं नाम पञ्चचत्वारिंशोऽध्यायः ॥४५॥