श्रीमद्भागवत महापुराण
सप्तमः स्कंधः - अष्टमोऽध्यायः
नारद उवाच –
(अनुष्टुप्) अथ दैत्यसुताः सर्वे श्रुत्वा तदनुवर्णितम् ।
नेपाली भावानुवादः नारदजीले भन्नुभयो– प्रह्लादद्वारा वर्णित ती निष्पाप र उपदेशपूर्ण कुराहरू सुनेर सबै दैत्यबालकहरूले त्यसलाई स्वीकार गरे। उनीहरूले आफ्ना गुरुहरूले सिकाएका (राजनीति, अर्थनीति आदि) शिक्षामा भने रुचि देखाएनन् ।।१।।
आलक्ष्य भीतस्त्वरितो राज्ञ आवेदयद् यथा ॥ २ ॥
नेपाली भावानुवादः जब गुरुपुत्र (सण्ड र अमर्क) ले ती बालकहरूको बुद्धि केवल भगवान्कै भक्तिमा एकाग्र भएको देखे, तब उनीहरू डराए र हतार-हतार राजा हिरण्यकशिपुका पासमा गई सबै कुरा विस्तारपूर्वक बताए ।।२।।
कोपावेशचलद्गात्रः पुत्रं हन्तुं मनो दधे ॥ ३ ॥
क्षिप्त्वा परुषया वाचा प्रह्रादमतदर्हणम् ।
आहेक्षमाणः पापेन तिरश्चीनेन चक्षुषा ॥ ४ ॥
प्रश्रयावनतं दान्तं बद्धाञ्जलिमवस्थितम् ।
सर्पः पदाहत इव श्वसन् प्रकृतिदारुणः ॥ ५ ॥
नेपाली भावानुवादः आफ्नो छोराको यस्तो अप्रिय र असह्य व्यवहारका बारेमा सुनेर दैत्यराज हिरण्यकशिपु रिसले काँप्न थाल्यो। उसले आफ्नै पुत्रलाई मार्ने निश्चय गर्यो। जो गाली खान योग्य थिएनन्, त्यस्ता विनम्र, जितेन्द्रिय र हात जोडेर उभिएका प्रह्लादलाई उसले कठोर शब्दले हप्काउन थाल्यो। स्वभावैले क्रूर हिरण्यकशिपु खुट्टाले कुल्चिएको सर्पझैँ क्रोधले फुँफुँ गर्दै आफ्ना पापपूर्ण र बाङ्गा आँखाले प्रह्लादलाई हेर्दै भन्न लाग्यो ।।३-५।।
हे दुर्विनीत मन्दात्मन् कुलभेदकराधम ।
स्तब्धं मच्छासनोद्धूत्तं नेष्ये त्वाद्य यमक्षयम् ॥ ६ ॥
नेपाली भावानुवादः हिरण्यकशिपुले भन्यो– ए दुर्विनीत! ए मन्दबुद्धि! कुलद्रोही अधम! तँ साह्रै घमण्डी भएर मेरो आज्ञा उल्लङ्घन गर्दै छस्। त्यसैले आज म तँलाई यमलोक पठाइदिन्छु ।।६।।
तस्य मेऽभीतवन्मूढ शासनं किं बलोऽत्यगाः ॥ ७ ॥
नेपाली भावानुवादः हे मूर्ख! म रिसाउँदा ईश्वरसहित तीनै लोक थर्कन्छन्। तैँले कुन बलको आडमा म जस्तो शक्तिशालीको आज्ञालाई नडराई उल्लङ्घन गरिस्? ।।७।।
(इंद्रवज्रा)
न केवलं मे भवतश्च राजन्
स वै बलं बलिनां चापरेषाम् ।
परेऽवरेऽमी स्थिरजङ्गमा ये
ब्रह्मादयो येन वशं प्रणीताः ॥ ८ ॥
नेपाली भावानुवादः प्रह्लादले भने– हे राजन्! उहाँ केवल मेरो वा तपाईँको मात्र बल हुनुहुन्न, अपुुतु सम्पूर्ण बलवानहरूको पनि बल हुनुहुन्छ। ब्रह्मादेखि स-साना जीवसम्म र चराचर जगतका सबै प्राणीहरूलाई उहाँले नै आफ्नो वशमा राख्नुभएको छ ।।८।।
ओजः सहः सत्त्वबलेन्द्रियात्मा ।
स एव विश्वं परमः स्वशक्तिभिः
सृजत्यवत्यत्ति गुणत्रयेशः ॥ ९ ॥
नेपाली भावानुवादः उनै परमेश्वर महापराक्रमी र सबैका काल हुनुहुन्छ। उहाँ सबै प्राणीका ओज, धैर्य, शारीरिक बल र इन्द्रियहरूको शक्ति हुनुहुन्छ। तीनै गुणका स्वामी ती प्रभुले नै आफ्नो शक्तिद्वारा यस विश्वको रचना, पालन र संहार गर्नुहुन्छ ।।९।।
समं मनो धत्स्व न सन्ति विद्विषः ।
ऋतेऽजितादात्मन उत्पथस्थितात्
तद्धि ह्यनन्तस्य महत्समर्हणम् ॥ १० ॥
नेपाली भावानुवादः त्यसैले तपाईँ आफ्नो यो आसुरी भाव त्याग्नुहोस् र मनलाई सबैमा समान राख्नुहोस्। यस संसारमा आफ्नो वशमा नभएको कुमार्गगामी मन बाहेक अरू कोही शत्रु छैनन्। सबैलाई समान देख्नु नै ती अनन्त भगवान्को सबैभन्दा ठुलो पूजा हो ।।१०।।
दस्यून्पुरा षण्णण्न विजित्य लुम्पतो
मन्यन्त एके स्वजिता दिशो दश ।
जितात्मनो ज्ञस्य समस्य देहिनां
साधोः स्वमोहप्रभवाः कुतः परे ॥ ११ ॥
नेपाली भावानुवादः पहिलेका केही मानिसहरूले आफ्नो सर्वस्व लुट्ने यी छ वटा इन्द्रियरूपी शत्रुहरूलाई नजिती दस दिशा जितेको ठानेका थिए। तर जसले आफ्नो मनलाई जितेका छन्, जो ज्ञानी छन् र सबै प्राणीमा समभाव राख्छन्, ती महात्माहरूका लागि अज्ञानबाट उत्पन्न हुने बाहिरी शत्रु को नै हुन सक्छ र? ।।११।।
(अनुष्टुप्)
व्यक्तं त्वं मर्तुकामोऽसि योऽतिमात्रं विकत्थसे ।
मुमूर्षूणां हि मन्दात्मन् ननु स्युर्विक्लवा गिरः ॥ १२ ॥
नेपाली भावानुवादः हिरण्यकशिपुले भन्यो– ए मन्दबुद्धि! तँ निकै बढी बोल्न थालेकाले अब तैँले मर्न खोजेको स्पष्टै देखिन्छ। जो मर्न लागेका हुन्छन्, उनीहरूका वाणीहरू यस्तै असम्बद्ध र अर्थहीन हुने गर्छन् ।।१२।।
क्वासौ यदि स सर्वत्र कस्मात् स्तम्भे न दृश्यते ॥ १३ ॥
नेपाली भावानुवादः ए अभागी! मभन्दा बाहेक अरू नै कोही जगदीश्वर छ भनेर तैँले भनिस्। यदि ऊ सर्वत्र छ भने यो खम्बामा किन देखिँदैन त? ।।१३।।
गोपायेत हरिस्त्वाद्य यस्ते शरणमीप्सितम् ॥ १४ ॥
नेपाली भावानुवादः यसरी बढी बोल्ने तेरो टाउको म अहिल्यै शरीरबाट अलग गरिदिन्छु। आज हेरौँ, तैँले शरण लिएको त्यो हरि आउँछ कि आउँदैन र तेरो रक्षा कसरी गर्छ? ।।१४।।
एवं दुरुक्तैर्मुहुरर्दयन् रुषा
सुतं महाभागवतं महासुरः ।
खड्गं प्रगृह्योत्पतितो वरासनात्
स्तम्भं तताडातिबलः स्वमुष्टिना ॥ १५ ॥
नेपाली भावानुवादः यस प्रकार ती महासुर हिरण्यकशिपुले परम भक्त प्रह्लादलाई बारम्बार कठोर वचनले तिरस्कार गर्दै रिसले चुर भएर आसनबाट उठे र तरवार लिएर आफ्नो मुड्कीले त्यो खम्बामा जोडसँग प्रहार गरे ।।१५।।
तदैव तस्मिन् निनदोऽतिभीषणो
बभूव येनाण्डकटाहमस्फुटत् ।
यं वै स्वधिष्ण्योपगतं त्वजादयः
श्रुत्वा स्वधामात्ययमङ्ग मेनिरे ॥ १६ ॥
नेपाली भावानुवादः ठिक त्यही समयमा खम्बाबाट एउटा यस्तो भीषण आवाज आयो, जसले ब्रह्माण्ड नै फुटेको जस्तो आभास भयो। ब्रह्मा आदि देवताहरूले आफ्नो लोकमा त्यो शब्द सुन्दा कतै प्रलय नै हुन लागेको त होइन भन्ने ठाने ।।१६।।
निशम्य निर्ह्रादमपूर्वमद्भुतम् ।
अन्तःसभायां न ददर्श तत्पदं ।
वितत्रसुर्येन सुरारियूथपाः ॥ १७ ॥
नेपाली भावानुवादः आफ्नो छोरालाई मार्न तम्सिरहेको हिरण्यकशिपुले पनि त्यो अपूर्व र अद्भुत आवाज सुन्यो। सभामा रहेका अन्य दैत्यहरू पनि डराउन थाले। तर उसले त्यो शब्द कहाँबाट आयो भन्ने कुरा ठम्याउन सकेन ।।१७।।
सत्यं विधातुं निजभृत्यभाषितं
व्याप्तिं च भूतेष्वखिलेषु चात्मनः ।
अदृश्यतात्यद्भुत रूपमुद्वह
स्तम्भे सभायां न मृगं न मानुषम् ॥ १८ ॥
नेपाली भावानुवादः आफ्ना भक्त प्रह्लादको वचनलाई सत्य सावित गर्न र सम्पूर्ण चराचर जगत्मा आफ्नो व्यापकता देखाउनका लागि भगवान्ले त्यस खम्बाबाट एउटा अत्यन्त विचित्र रूप धारण गरी प्रकट हुनुभयो। त्यो रूप न पूर्णतया सिंहको थियो, न त मानिसकै ।।१८।।
स्तम्भस्य मध्यादनु निर्जिहानम् ।
नायं मृगो नापि नरो विचित्रं अहो
किमेतत् नृमृगेन्द्ररूपम् ॥ १९ ॥
नेपाली भावानुवादः हिरण्यकशिपुले त्यो खम्बाको बीचबाट निस्किरहेको अद्भुत प्राणीलाई हेर्न थाल्यो। उसले विचार गर्यो– "यो न त पशु हो, न त मानिस नै। अहो! यो आधा मानिस र आधा सिंह भएको कस्तो विचित्रको नृसिंह रूप हो?" ।।१९।।
नृसिंहरूपस्तदलं भयानकम् ।
प्रतप्तचामीकरचण्डलोचनं
स्फुरत्सटाकेशरजृम्भिताननम् ॥ २० ॥
नेपाली भावानुवादः हिरण्यकशिपुले यसो विचार गर्दागर्दै नृसिंह भगवान् उसको अगाडि उभिनुभयो। उहाँको त्यो रूप निकै भयानक थियो। गालेको सुनझैँ राता र चहकिला आँखाहरू, हल्लिरहेका जटा र भयानक अनुहारले उहाँ युक्त हुनुहुन्थ्यो ।।२०।।
क्षुरान्तजिह्वं भ्रुकुटीमुखोल्बणम् ।
स्तब्धोर्ध्वकर्णं गिरिकन्दराद्भुत
व्यात्तास्यनासं हनुभेदभीषणम् ॥ २१ ॥
नेपाली भावानुवादः उहाँका दाँतहरू डरालाग्दा थिए, जिब्रो तरवारको धारझैँ चञ्चल र धारिलो थियो। खुम्चिएका भौँहरूले उहाँको मुख थप भयङ्कर देखिन्थ्यो। कानहरू माथितिर ठडिएका थिए भने मुख र नाकका प्वालहरू पहाडका गुफाझैँ विशाल देखिन्थे ।।२१।।
ग्रीवोरुवक्षःस्थलमल्पमध्यमम् ।
चन्द्रांशुगौरैश्छुरितं तनूरुहैः
विष्वग्भुजानीकशतं नखायुधम् ॥ २२ ॥
नेपाली भावानुवादः उहाँको विशाल शरीरले आकाश नै छोएको थियो। गर्दन मोटो र छोटो थियो, छाती फराकिलो र कम्मर पातलो थियो। शरीरका रौँहरू चन्द्रमाको किरणझैँ सेता र टल्किएका थिए। चारैतिर अनगन्ती हातहरू फैलिएका थिए र ती हातमा हतियारका रूपमा तिखा नङ्ग्राहरू थिए ।।२२।।
प्रवेकविद्रावितदैत्यदानवम् ।
प्रायेण मेऽयं हरिणोरुमायिना
वधः स्मृतोऽनेन समुद्यतेन किम् ॥ २३ ॥
नेपाली भावानुवादः उहाँको नजिक जाने साहस कसैमा थिएन। उहाँका शस्त्रहरूले दैत्य र दानवहरूलाई भगाइरहेका थिए। हिरण्यकशिपुले मनमनै भन्यो– "सायद यी मायावी विष्णुले मलाई मार्न यो युक्ति रचेका होलान्, तर यस्ताले मेरो के नै बिगार्न सक्छ र?" ।।२३।।
नदन् नृसिंहं प्रति दैत्यकुञ्जरः ।
अलक्षितोऽग्नौ पतितः पतङ्गमो
यथा नृसिंहौजसि सोऽसुरस्तदा ॥ २४ ॥
नेपाली भावानुवादः यस्तो भन्दै त्यो वीर दैत्य गदा लिएर गर्जँदै नृसिंह भगवान्माथि जाइलाग्यो। तर आगोमा परेको पुतलीझैँ त्यो असुर भगवान्को तेजमा विलीन भएजस्तो देखियो ।।२४।।
न तद्विचित्रं खलु सत्त्वधामनि
स्वतेजसा यो नु पुरापिबत् तमः ।
ततोऽभिपद्याभ्यहनन्महासुरो
रुषा नृसिंहं गदयोरुवेगया ॥ २५ ॥
नेपाली भावानुवादः सर्वशक्तिमान् भगवान्का अगाडि यो कुनै अनौठो कुरा थिएन, किनकि सृष्टि कालमा उहाँले आफ्नै तेजले अन्धकारलाई पिउनुभएको थियो। त्यसपछि त्यो असुरले ठुलो वेगले आफ्नो गदा नृसिंह भगवान्माथि प्रहार गर्यो ।।२५।।
महोरगं तार्क्ष्यसुतो यथाग्रहीत् ।
स तस्य हस्तोत्कलितस्तदासुरो
विक्रीडतो यद्वदहिर्गरुत्मतः ॥ २६ ॥
नेपाली भावानुवादः आक्रमण गर्न आएको त्यस दैत्यलाई गदाधारी भगवान्ले त्यसरी नै पक्रनुभयो, जसरी गरुडले सर्पलाई पक्रन्छ। तर भगवान्सँग खेल्दाखेल्दै त्यो असुर गरुडको पन्जाबाट सर्प फुत्किएझैँ एक पटक फुत्कियो ।।२६।।
घनच्छदा भारत सर्वधिष्ण्यपाः ।
तं मन्यमानो निजवीर्यशङ्कितं
यद्धस्तमुक्तो नृहरिं महासुरः ।
पुनस्तमासज्जत खड्गचर्मणी
प्रगृह्य वेगेन गतश्रमो मृधे ॥ २७ ॥
नेपाली भावानुवादः हे युधिष्ठिर! बादलका ओटमा लुकेर यो दृश्य हेरिरहेका देवताहरू डराए। हिरण्यकशिपुले भने भगवान्को पकडबाट फुत्कनुलाई आफ्नो पराक्रम ठान्यो र पुन: ढाल-तरवार लिएर युद्धका लागि दौडियो ।।२७।।
तं श्येनवेगं शतचन्द्रवर्त्मभिः
चरन्तमच्छिद्रमुपर्यधो हरिः ।
कृत्वाट्टहासं खरमुत्स्वनोल्बणं
निमीलिताक्षं जगृहे महाजवः ॥ २८ ॥
विष्वक् स्फुरन्तं ग्रहणातुरं हरिः
व्यालो यथाऽऽखुं कुलिशाक्षतत्वचम् ।
द्वार्यूर आपात्य ददार लीलया
नखैर्यथाहिं गरुडो महाविषम् ॥ २९ ॥
नेपाली भावानुवादः बाजको जस्तो वेगले चल्ने र ढाल-तरवारले आफ्नो शरीर जोगाउँदै तल-माथि गरिरहेको हिरण्यकशिपुलाई भगवान्ले अट्टहास गर्दै झम्टेर पक्रनुभयो। जसरी सर्पले मुसालाई समात्छ, त्यसरी नै भगवान्ले उसलाई समातेर सभाको ढोका (दैलो) मा लैजानुभयो। त्यहाँ आफ्नो काखमा राखेर वज्र जस्तो कठोर छाला भएको उसलाई गरुडले विषालु सर्पलाई चिरेझैँ आफ्ना नङ्ग्राहरूले चिरी मार्नुभयो ।।२८-२९।।
व्यात्ताननान्तं विलिहन्स्वजिह्वया ।
असृग्लवाक्तारुणकेसराननो
यथान्त्रमाली द्विपहत्यया हरिः ॥ ३० ॥
नेपाली भावानुवादः त्यतिबेला क्रोधले गर्दा भगवान्का आँखा हेरिनसक्नुका थिए। उहाँ आफ्नो जिब्रोले मुखका दुवै कुना चाटिरहनुभएको थियो। रगतका छिटाले उहाँको मुख र जटा राता भएका थिए। हात्तीलाई मारेर उसको आन्द्राको माला लगाउँदा सिंह जति भयानक देखिन्छ, भगवान् पनि त्यस्तै देखिनुहुन्थ्यो ।।३०।।
विसृज्य तस्यानुचरानुदायुधान् ।
अहन् समस्तान् नखशस्त्रपाणिभिः
दोर्दण्डयूथोऽनुपथान् सहस्रशः ॥ ३१ ॥
नेपाली भावानुवादः भगवान्ले हिरण्यकशिपुको हृदयलाई नङ्ग्राले चिरेर उसलाई भुइँमा फाििदिनुभयो। त्यसपछि आक्रमण गर्न आएका हजारौँ दैत्य सेनाहरूलाई आफ्ना अनगन्ती हात र नङ्ग्राहरूले नष्ट गर्नुभयो ।।३१।।
सटावधूता जलदाः परापतन्
ग्रहाश्च तद्दृष्टिविमुष्टरोचिषः ।
अम्भोधयः श्वासहता विचुक्षुभुः
निर्ह्रादभीता दिगिभा विचुक्रुशुः ॥ ३२ ॥
नेपाली भावानुवादः हे युधिष्ठिर! उहाँको जटाको झट्काले बादलहरू तितरबितर भए, आँखाको तेजले ग्रहहरू फिक्का परे। उहाँको सासको वेगले समुद्रमा हलचल मच्चियो भने गर्जनले गर्दा दिग्गजहरू पनि कराउन थाले ।।३२।।
प्रोत्सर्पत क्ष्मा च पदाभिपीडिता ।
शैलाः समुत्पेतुरमुष्य रंहसा
तत्तेजसा खं ककुभो न रेजिरे ॥ ३३ ॥
नेपाली भावानुवादः उहाँको जटाको प्रहारले स्वर्गका विमानहरू हल्लिन थाले र खुट्टाको धक्काले पृथ्वी डगमगाउन थाली। पहाडहरू उडेजस्तो भयो। उहाँको तेजले आकाश र सबै दिशा अन्धकारमय भए ।।३३।।
ततः सभायामुपविष्टमुत्तमे
नृपासने सम्भृततेजसं विभुम् ।
अलक्षितद्वैरथमत्यमर्षणं
प्रचण्डवक्त्रं न बभाज कश्चन ॥ ३४ ॥
नेपाली भावानुवादः त्यसपछि अत्यन्त तेजस्वी र क्रोधी भगवान् नृसिंह हिरण्यकशिपुको उच्च सिंहासनमा गएर बस्नुभयो। उहाँको त्यो डरलाग्दो रूप र क्रोध देखेर कसैलाई पनि उहाँको नजिक जाने आँट भएन ।।३४।।
निशाम्य लोकत्रयमस्तकज्वरं
तमादिदैत्यं हरिणा हतं मृधे ।
प्रहर्षवेगोत्कलितानना मुहुः
प्रसूनवर्षैर्ववृषुः सुरस्त्रियः ॥ ३५ ॥
तदा विमानावलिभिर्नभस्तलं
नेपाली भावानुवादः तीनै लोकलाई पीडा दिने आदिदैत्य हिरण्यकशिपु मारिएको थाहा पाएर देवताहरू हर्षित भए। आकाशबाट अप्सराहरूले पुष्पवृष्टि गरे। आकाशमा विमानहरूको लाम लाग्यो। देवताहरूले दुन्दुभी बजाउन थाले भने गन्धर्व र अप्सराहरू नाचगान गर्न थाले ।।३५-३६।।
तत्रोपव्रज्य विबुधा ब्रह्मेन्द्रगिरिशादयः ।
ऋषयः पितरः सिद्धा विद्याधरमहोरगाः ॥ ३७ ॥
मनवः प्रजानां पतयो गन्धर्वाप्सरचारणाः ।
यक्षाः किम्पुरुषास्तात वेतालाः सहकिन्नराः ॥ ३८ ॥
ते विष्णुपार्षदाः सर्वे सुनन्दकुमुदादयः ।
मूर्ध्नि बद्धाञ्जलिपुटा आसीनं तीव्रतेजसम् ।
नेपाली भावानुवादः त्यस समयमा ब्रह्मा, इन्द्र, महादेव आदि देवताहरू, ऋषि, पितृ, सिद्ध, विद्याधर, नाग, मनु, प्रजापति, गन्धर्व, अप्सरा, चारण, यक्ष, किम्पुरुष, वेताल, किन्नर र भगवान्का पार्षदहरू सुनन्द-कुमुद आदि सबै त्यहाँ आए। उनीहरूले हात जोडेर सिंहासनमा बस्नुभएका ती तेजस्वी भगवान्को स्तुति गर्न थाले ।।३७-३९।।
(इंद्रवज्रा)
नतोऽस्म्यनन्ताय दुरन्तशक्तये
विचित्रवीर्याय पवित्रकर्मणे ।
विश्वस्य सर्गस्थितिसंयमान् गुणैः
नेपाली भावानुवादः ब्रह्माजीले भन्नुभयो– हे अनन्त! तपाईँको शक्ति अपार छ र तपाईँका कर्महरू पवित्र छन्। तपाईँले नै लीलापूर्वक यस विश्वको सृष्टि, स्थिति र लय गर्नुहुन्छ। तपाईँ निर्विकार हुनुहुन्छ, तपाईँलाई मेरो नमस्कार छ ।।४०।।
(अनुष्टुप्)
कोपकालो युगान्तस्ते हतोऽयमसुरोऽल्पकः ।
तत्सुतं पाह्युपसृतं भक्तं ते भक्तवत्सल ॥ ४१ ॥
नेपाली भावानुवादः रुद्रले भन्नुभयो– भगवन्! तपाईँको क्रोधको समय त प्रलयकालमा मात्र हुन्छ। यो अधम असुर त मारिइसक्यो। अब तपाईँको शरणमा आएका यस बालक प्रह्लादको रक्षा गर्नुहोस् ।।४१।।
(मंदाक्रांता)
प्रत्यानीताः परम भवता त्रायता नः स्वभागा
दैत्याक्रान्तं हृदयकमलं तद्गृहं प्रत्यबोधि ।
कालग्रस्तं कियदिदमहो नाथ शुश्रूषतां ते
मुक्तिस्तेषां न हि बहुमता नारसिंहापरैः किम् ॥ ४२ ॥
नेपाली भावानुवादः इन्द्रले भने– हे परमेश्वर! तपाईँले हाम्रो रक्षा गर्नुभयो र यज्ञका भागहरू फिर्ता दिलाउनुभयो। दैत्यको डरले सुकेको हाम्रो हृदय आज पुनः प्रफुल्लित भएको छ। तपाईँको सेवा गर्नेहरूका लागि त मुक्ति पनि तुच्छ छ भने स्वर्गादि भोगको त के कुरा भयो र? ।।४२।।
(वसंततिलका)
त्वं नस्तपः परममात्थ यदात्मतेजो
येनेदमादिपुरुषात्मगतं ससर्ज ।
तद्विप्रलुप्तममुनाद्य शरण्यपाल
रक्षागृहीतवपुषा पुनरन्वमंस्थाः ॥ ४३ ॥
नेपाली भावानुवादः ऋषिहरूले भने– हे शरणागतवत्सल! तपाईँले नै हामीलाई तपस्याको उपदेश दिनुभएको थियो। यो असुरले त्यो तपस्याको मर्यादालाई नष्ट गरेको थियो। आज तपाईँले अवतार लिएर पुनः त्यसको रक्षा गरिदिनुभयो ।।४३।।
श्राद्धानि नोऽधिबुभुजे प्रसभं
तनूजैः दत्तानि तीर्थसमयेऽप्यपिबत् तिलाम्बु ।
तस्योदरान्नखविदीर्णवपाद् य आर्च्छत् ।
तस्मै नमो नृहरयेऽखिलधर्मगोप्त्रे ॥ ४४ ॥
नेपाली भावानुवादः पितृहरूले भने– हाम्रा सन्तानहरूले दिएका श्राद्ध र तर्पण यो पापीले बलपूर्वक खोसेर खान्थ्यो। आज तपाईँले यसको पेट चिरेर हामीलाई न्याय दिनुभयो। सबै धर्मका रक्षक तपाईँ नृसिंह भगवान्लाई नमस्कार छ ।।४४।।
(इंद्रवज्रा)
यो नो गतिं योगसिद्धामसाधुः
अहारषीद् योगतपोबलेन ।
नाना दर्पं तं नखैर्निददार
तस्मै तुभ्यं प्रणताः स्मो नृसिंह ॥ ४५ ॥
नेपाली भावानुवादः सिद्धहरूले भने– यस दुष्टले आफ्नो बलले हाम्रा योगशक्तिहरू खोसेको थियो। तपाईँले आफ्ना नङ्ग्राहरूले यसको घमण्डलाई नष्ट गरिदिनुभयो। तपाईँलाई हाम्रो प्रणाम छ ।।४५।।
विद्यां पृथग्धारणयानुराद्धां
न्यषेधदज्ञो बलवीर्यदृप्तः ।
स येन सङ्ख्ये पशुवद्धतस्तं
मायानृसिंहं प्रणताः स्म नित्यम् ॥ ४६ ॥
नेपाली भावानुवादः विद्याधरहरूले भने– यो मूर्खले हामीले अभ्यास गरेको विद्यालाई रोकिदिएको थियो। आज तपाईँले यसलाई पशुलाई झैँ मार्नुभयो। लीलाधारी नृसिंह भगवान्लाई हाम्रो प्रणाम छ ।।४६।।
(अनुष्टुप्)
येन पापेन रत्नानि स्त्रीरत्नानि हृतानि नः ।
तद्वक्षःपाटनेनासां दत्तानन्द नमोऽस्तु ते ॥ ४७ ॥
नेपाली भावानुवादः नागहरूले भने– यस पापीले हाम्रा मणि र सुन्दरी पत्नीहरू खोसेको थियो। आज तपाईँले यसको छाती चिरेर हाम्रा परिवारलाई खुसी दिनुभयो। तपाईँलाई नमस्कार छ ।।४७।।
(उद्गता)
मनवो वयं तव निदेशकारिणो
दितिजेन देव परिभूतसेतवः ।
भवता खलः स उपसंहृतः प्रभो
करवाम ते किं अनुशाधि किङ्करान् ॥ ४८ ॥
नेपाली भावानुवादः मनुहरूले भने– हे प्रभु! हामी तपाईँका आज्ञाकारी सेवक हौँ। यस असुरले धर्मको मर्यादा तोडेको थियो। तपाईँले यसलाई मार्नुभयो, अब हामीलाई के आज्ञा छ? हामी तपाईँका दास हौँ ।।४८।।
(भुजंगप्रयात)
प्रजेशा वयं ते परेशाभिसृष्टा
न येन प्रजा वै सृजामो निषिद्धाः ।
स एष त्वया भिन्नवक्षा नु शेते
जगन्मङ्गलं सत्त्वमूर्तेऽवतारः ॥ ४९ ॥
नेपाली भावानुवादः प्रजापतिहरूले भने– हे परमेश्वर! तपाईँले हामीलाई प्रजा सृष्टिका लागि नियुक्त गर्नुभएको थियो, तर यसले अवरोध खडा गर्यो। आज तपाईँले यसलाई समाप्त गरिदिनुभयो। तपाईँको यो अवतार संसारको कल्याणका लागि हो ।।४९।।
(इंद्रवज्रा)
वयं विभो ते नटनाट्यगायका
येनात्मसाद् वीर्यबलौजसा कृताः ।
स एष नीतो भवता दशामिमां
किमुत्पथस्थः कुशलाय कल्पते ॥ ५० ॥
नेपाली भावानुवादः गन्धर्वहरूले भने– हामी तपाईँका गायक र नर्तक हौँ, जसलाई यसले कमारो बनाएको थियो। तपाईँले यसलाई यसको सही ठाउँमा पुर्याइदिनुभयो। कुमार्गमा हिँड्नेको कहिल्यै भलो हुँदैन ।।५०।।
(अनुष्टुप्)
हरे तवाङ्घ्रिपङ्कजं भवापवर्गमाश्रिताः ।
यदेष साधुहृच्छयः त्वयासुरः समापितः ॥ ५१ ॥
नेपाली भावानुवादः चारणहरूले भने– हे प्रभु! तपाईँले साधुहरूको दुःखको कारण यस असुरलाई मार्नुभयो। तपाईँको चरणकमलको शरणले नै हामीले यस संसार चक्रबाट मुक्ति पाउँछौँ ।।५१।।
(मालिनी)
वयमनुचरमुख्याः कर्मभिस्ते मनोज्ञैः
ते इह दितिसुतेन प्रापिता वाहकत्वम् ।
स तु जनपरितापं तत्कृतं जानता ते
नरहर उपनीतः पञ्चतां पञ्चविंश ॥ ५२ ॥
नेपाली भावानुवादः यक्षहरूले भने– तपाईँका मुख्य सेवक भएका हामीलाई यसले पालकी बोक्न बाध्य बनायो। तपाईँले हाम्रो दुःख बुझेर यसलाई यमलोक पठाउनुभयो ।।५२।।
वयं किम्पुरुषास्त्वं तु महापुरुष ईश्वरः ।
अयं कुपुरुषो नष्टो धिक्कृतः साधुभिर्यदा ॥ ५३ ॥
नेपाली भावानुवादः किम्पुरुषहरूले भने– हामी तुच्छ किम्पुरुष हौँ र तपाईँ सर्वशक्तिमान् महापुरुष हुनुहुन्छ। सज्जनहरूले धिक्कारेको यो अधमलाई तपाईँले नष्ट गरिदिनुभयो ।।५३।।
(इंद्रवज्रा)
सभासु सत्रेषु तवामलं यशो
गीत्वा सपर्यां महतीं लभामहे ।
यस्तां व्यनैषीद् भृशमेष दुर्जनो
द्विष्ट्या हतस्ते भगवन्यथामयः ॥ ५४ ॥
नेपाली भावानुवादः वैतालिकहरूले भने– भगवन्! तपाईँको यश गाएर हामीले मान-सम्मान पाउँथ्यौँ, तर यसले सबै खोसेको थियो। आज तपाईँले यस रोग जस्तो असुरलाई नाश गर्नुभयो, यो खुसीको कुरा हो ।।५४।।
(उद्गता)
वयमीश किन्नरगणास्तवानुगा
दितिजेन विष्टिममुनानुकारिताः ।
भवता हरे स वृजिनोऽवसादितो
नरसिंह नाथ विभवाय नो भव ॥ ५५ ॥
नेपाली भावानुवादः किन्नरहरूले भने– हे प्रभु! हामी तपाईँका सेवक हौँ। यसले हामीबाट सित्तैमा काम लिन्थ्यो। आज तपाईँले यसलाई मार्नुभयो। अब सधैँ हाम्रो कल्याण गर्नुहोस् ।।५५।।
(प्रहर्षिणी)
अद्यैतद् हरिनररूपमद्भुतं
ते दृष्टं नः शरणद सर्वलोकशर्म ।
सोऽयं ते विधिकर ईश विप्रशप्तः
तस्येदं निधनमनुग्रहाय विद्मः ॥ ५६ ॥
नेपाली भावानुवादः भगवान्का पार्षदहरूले भने– हे शरणदाता! संसारलाई सुख दिने तपाईँको यो अद्भुत नृसिंह रूप देख्न पाउँदा हामी धन्य भयौँ। यो वास्तवमा तपाईँकै सेवक (जय-विजय) थियो, जो श्रापका कारण यस अवस्थामा पुगेको थियो। तपाईँले यसलाई मारेर यसको उद्धार गर्नुभयो ।।५६।।
यस अध्यायको सारांश :
श्रीमद्भागवत महापुराणको यो अध्याय भगवान् विष्णुको नृसिंह अवतार र हिरण्यकशिपु वधको महत्त्वपूर्ण घटनामा आधारित छ। हिरण्यकशिपुले आफ्ना गुरुपुत्रहरूबाट छोरा प्रह्लादको विष्णु भक्तिको खबर पाएपछि उनी अत्यन्त क्रोधित हुन्छन्। प्रह्लादले आफ्ना साथीहरूलाई पनि भगवद्भक्तिको मार्गमा लगाएको देखेपछि हिरण्यकशिपुले उनलाई मार्ने अन्तिम निर्णय गर्छ। सभामा प्रह्लादलाई बोलाएर उनले ईश्वरको अस्तित्वका बारेमा प्रश्न गर्छ। प्रह्लादले ईश्वर सर्वव्यापी रहेको र यस खम्बामा पनि भगवान् रहेको दृढता व्यक्त गर्छन्। हिरण्यकशिपुले घमण्डका साथ खम्बामा प्रहार गर्छ, जहाँबाट भयङ्कर गर्जनका साथ भगवान् नृसिंह प्रकट हुनुहुन्छ। नृसिंह भगवान् न पूर्ण मानिस हुनुहुन्थ्यो न त पूर्ण सिंह नै, जुन ब्रह्माको वरदानलाई सम्मान गर्न लिइएको अवतार थियो। भगवान्को त्यो रूप यति भयानक थियो कि तीनै लोक थर्किए। हिरण्यकशिपु र नृसिंह भगवान्का बीच भीषण युद्ध हुन्छ। अन्ततः भगवान्ले उनलाई सभाको दैलोमा आफ्नो काखमा राख्नुहुन्छ। ब्रह्माको वरदान अनुसार– न घरभित्र, न बाहिर, न अस्त्रले, न शस्त्रले, न दिउँसो, न राति, न मानिसले, न पशुले मार्न पाइने सर्तहरूलाई विचार गर्दै उहाँले गोधूलि समयमा आफ्ना नङ्ग्राहरूले हिरण्यकशिपुको छाती चिरेर वध गर्नुहुन्छ। यसरी एउटा ठुलो आतङ्कको अन्त्य हुन्छ र प्रह्लादको अटल भक्तिको विजय हुन्छ। हिरण्यकशिपुको वधपछि पनि भगवान्को क्रोध शान्त हुँदैन। ब्रह्मा, महादेव, इन्द्र लगायतका देवताहरू डराएर टाढैबाट भगवान्को स्तुति गर्न थाल्छन्। प्रत्येक वर्गका देवता र सिद्धहरूले भगवान्लाई आ-आफ्नो पीडा सुनाउँछन् र उहाँको महिमा गान गर्छन्। उनीहरूले भगवान्लाई भक्तवत्सल भन्दै प्रह्लादको रक्षा गर्न प्रार्थना गर्छन्। भगवान्का पार्षदहरूले यो वधलाई पनि भगवान्कै अनुग्रहका रूपमा व्याख्या गर्छन्। यो कथाले अहंकारीको विनाश र सत्यको जित सुनिश्चित हुने सन्देश दिन्छ। अन्ततः यो अध्यायले अधर्मको नाश र धर्मको स्थापना भएको पुष्टि गर्दछ।
यस अध्यायको दार्शनिक पक्ष :
यस कथाको दार्शनिक पक्ष निकै गहिरो छ, जसले 'सर्वं खल्विदं ब्रह्म' अर्थात् सबै कुरामा ब्रह्मको उपस्थिति छ भन्ने सिद्धान्तलाई पुष्टि गर्दछ। खम्बाबाट भगवान् प्रकट हुनुले ईश्वरको सर्वव्यापकता र भक्तको विश्वासको शक्तिलाई दर्शाउँछ। हिरण्यकशिपुको अहंकारले अज्ञानताको प्रतिनिधित्व गर्छ भने प्रह्लादको भक्तिले आत्मज्ञानको मार्ग देखाउँछ। नृसिंह अवतारले देखाउँछ कि भगवान् कुनै खास ढाँचा वा सर्तमा बाँधिनुहुन्न, उहाँ आवश्यकता अनुसार जुनसुकै रूप लिन सक्नुहुन्छ। यो अवतारले प्रकृतिको नियम र ईश्वरको न्यायको बीचको अद्भुत सन्तुलनलाई प्रस्तुत गर्दछ। यसमा दैवी शक्ति र आसुरी शक्तिको द्वन्द्वलाई मनभित्रको सद्गुण र दुर्गुणको लडाइँका रूपमा पनि बुझ्न सकिन्छ। इन्द्रियहरूलाई जितेर मात्र वास्तविक शान्ति सम्भव छ भन्ने प्रह्लादको दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ। भौतिक शक्ति र वरदानले कसैलाई पनि अमर वा सर्वशक्तिमान बनाउन सक्दैन भन्ने सन्देश यसले दिन्छ। अन्तिम सत्य भनेको केवल परमात्माको शरणागति हुनु नै हो। भक्तको रक्षाका लागि भगवान् नियमहरूलाई नतोडीकन पनि नयाँ बाटो निकाल्न सक्नुहुन्छ भन्ने यसको मुख्य दर्शन हो।
No comments:
Post a Comment