/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

चतुर्थः स्कन्धः – एकोनविंशोऽध्यायः

श्रीमद्भागवत महापुराण

चतुर्थः स्कन्धः – एकोनविंशोऽध्यायः

(महाराज पृथुको अश्वमेध यज्ञ र इन्द्रको विघ्न)

मैत्रेय उवाच
(अनुष्टुप्)
अथादीक्षत राजा तु हयमेधशतेन सः ।
ब्रह्मावर्ते मनोः क्षेत्रे यत्र प्राची सरस्वती ॥ १ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोहे विदुर! महाराज मनुको कार्यक्षेत्र ब्रह्मावर्तमा, जहाँ सरस्वती नदी पूर्वतर्फ फर्किएर बग्दछिन्, त्यहाँ राजा पृथुले एकसय अश्वमेध यज्ञको दीक्षा लिनुभयो ।।१।।
 
तदभिप्रेत्य भगवान् कर्मातिशयमात्मनः ।
शतक्रतुर्न ममृषे पृथोर्यज्ञमहोत्सवम् ॥ २ ॥
नेपाली भावानुवादः पृथुको यो महान् अनुष्ठान देखेर देवराज इन्द्रलाई लाग्यो कि यस कर्मले पृथुको महिमा मेरो भन्दा बढी हुनेछ। त्यसैले उनले पृथुको त्यो यज्ञ-महोत्सवलाई सहन सकेनन् ।।२।।
 
यत्र यज्ञपतिः साक्षाद् भगवान् हरिरीश्वरः ।
अन्वभूतय सर्वात्मा सर्वलोकगुरुः प्रभुः ॥ ३ ॥
नेपाली भावानुवादः महाराज पृथुको त्यस यज्ञमा सबैका अन्तरात्मा एवं सर्वलोकपूज्य जगदीश्वर भगवान् श्रीहरिले साक्षात् यज्ञेश्वरका रूपमा दर्शन दिनुभयो ।।३।।
 
अन्वितो ब्रह्मशर्वाभ्यां लोकपालैः सहानुगैः ।
उपगीयमानो गन्धर्वैः मुनिभिश्चाप्सरोगणैः ॥ ४ ॥
नेपाली भावानुवादः भगवान्‌का साथमा ब्रह्मा, शिव तथा आफ्ना अनुचरसहित लोकपालहरू पनि आएका थिए। त्यहाँ गन्धर्व, मुनि र अप्सराहरू प्रभुको दिव्य कीर्ति गाइरहेका थिए ।।४।।
 
सिद्धा विद्याधरा दैत्या दानवा गुह्यकादयः ।
सुनन्दनन्दप्रमुखाः पार्षदप्रवरा हरेः ॥ ५ ॥
कपिलो नारदो दत्तो योगेशाः सनकादयः ।
तमन्वीयुर्भागवता ये च तत्सेवनोत्सुकाः ॥ ६ ॥
नेपाली भावानुवादः सिद्ध, विद्याधर, दैत्य, दानव र यक्षहरूका साथै सुनन्द-नन्द आदि भगवान्‌का पार्षदहरू पनि त्यहाँ उपस्थित थिए। भगवान्‌को सेवामा सधैँ तत्पर रहने कपिल, नारद, दत्तात्रेय एवं सनकादि योगेश्वरहरूले पनि भगवान्‌कै अनुगमन गरिरहेका थिए ।।५-६।।
 
यत्र धर्मदुघा भूमिः सर्वकामदुघा सती ।
दोग्धि स्माभीप्सितान् अर्थान् यजमानस्य भारत ॥ ७ ॥
नेपाली भावानुवादः हे भरतवंशी विदुर! त्यस यज्ञमा सम्पूर्ण सामग्री प्रदान गर्ने भूमि स्वयं कामधेनू बनेर यजमान पृथुका सबै इच्छाहरू पूर्ण गरिरहेकी थिइन् ।।७।।
 
ऊहुः सर्वरसान्नद्यः क्षीरदध्यन्नगोरसान् ।
तरवो भूरिवर्ष्माणः प्रासूयन्त मधुच्युतः ॥ ८ ॥
नेपाली भावानुवादः नदीहरूमा जलका सट्टा दूध, दही र अन्नका रसहरू बग्दथे। ठुला-ठुला वृक्षहरूबाट मह चुहिन्थ्यो र उनीहरूले घिउ एवं अन्य सामग्रीहरू समर्पण गर्दथे ।।८।।
 
सिन्धवो रत्ननिकरान् गिरयोऽन्नं चतुर्विधम् ।
उपायनं उपाजह्रुः सर्वे लोकाः सपालकाः ॥ ९ ॥
नेपाली भावानुवादः समुद्रले प्रशस्त रत्नहरू र पर्वतहरूले चार प्रकारका (भोज्य, चोष्य, लेह्य र पेय) अन्नहरू उपहारका रूपमा ल्याएका थिए। लोकपालसहित सम्पूर्ण लोकले विभिन्न सामग्रीहरू राजालाई अर्पण गरे ।।९।।
 
इति चाधोक्षजेशस्य पृथुस्तु परमोदयम् ।
असूयन् भगवान् इन्द्रः प्रतिघातमचीकरत् ॥ १० ॥
नेपाली भावानुवादः महाराज पृथुले एकमात्र श्रीहरिलाई नै आफ्नो स्वामी मानेर अनुष्ठान गर्नुभएको थियो। त्यस यज्ञको अनुपम उत्कर्ष देखेर ईर्ष्यालु बनेका इन्द्रले बाधा पुर्‍याउने चेष्टा गरे ।।१०।।
 
चरमेणाश्वमेधेन यजमाने यजुष्पतिम् ।
वैन्ये यज्ञपशुं स्पर्धन् अपोवाह तिरोहितः ॥ ११ ॥
नेपाली भावानुवादः जब महाराज पृथु अन्तिम (सयौँ) यज्ञद्वारा यज्ञपतिको आराधना गर्दै हुनुहुन्थ्यो, तब इन्द्रले ईर्ष्यावश अदृश्य रूपमा आएर यज्ञको घोडा हरण गरे ।।११।।
 
तं अत्रिर्भगवानैक्षत् त्वरमाणं विहायसा ।
आमुक्तमिव पाखण्डं योऽधर्मे धर्मविभ्रमः ॥ १२ ॥
अत्रिणा चोदितो हन्तुं पृथुपुत्रो महारथः ।
अन्वधावत सङ्क्रुद्धः तिष्ठ तिष्ठेति चाब्रवीत् ॥ १३ ॥
नेपाली भावानुवादः इन्द्रले धर्मको भ्रम उत्पन्न गर्ने 'पाखण्ड भेष' (जटा-भष्म आदि) धारण गरेका थिए। उनले आकाशमार्गबाट घोडा लिएर भाग्दै गरेको कुरा अत्रि मुनिले देखे। अत्रिको आदेश पाएपछि पृथुका महारथी पुत्र इन्द्रलाई मार्न पछि लागे र क्रोधित हुँदै 'पर्ख, पर्ख' भनी कराए ।।१२-१३।।
 
तं तादृशाकृतिं वीक्ष्य मेने धर्मं शरीरिणम् ।
जटिलं भस्मनाच्छन्नं तस्मै बाणं न मुञ्चति ॥ १४ ॥
नेपाली भावानुवादः इन्द्रको शिरमा जटा र शरीरमा भष्म दलेको देखेपछि पृथुपुत्रले उनलाई साक्षात् धर्म सम्झेर बाण चलाउनुभएन ।।१४।।
 
वधान्निवृत्तं तं भूयो हन्तवेऽत्रिरचोदयत् ।
जहि यज्ञहनं तात महेन्द्रं विबुधाधमम् ॥ १५ ॥
नेपाली भावानुवादः जब पृथुपुत्र युद्ध नगरी फर्किए, तब अत्रि मुनिले पुनः आदेश दिनुभयोवत्स! यो देवताहरूमा अधम इन्द्रले तिम्रो यज्ञमा बाधा पुर्‍याएको छ, यसलाई तुरुन्त मार ।।१५।।
 
एवं वैन्यसुतः प्रोक्तः त्वरमाणं विहायसा ।
अन्वद्रवद् अभिक्रुद्धो रावणं गृध्रराडिव ॥ १६ ॥
नेपाली भावानुवादः मुनिको आज्ञा पाएपछि पृथुपुत्र झन् क्रोधित भएर आकाशमा भागिरहेका इन्द्रको पछि यसरी दौडिए, जसरी रावणको पछि जटायु दौडिएका थिए ।।१६।।
 
सोऽश्वं रूपं च तद्धित्वा तस्मा अन्तर्हितः स्वराट् ।
वीरः स्वपशुमादाय पितुर्यज्ञं उपेयिवान् ॥ १७ ॥
नेपाली भावानुवादः आफूलाई पक्रन लागेको देखेर इन्द्रले त्यो भेष र घोडा दुवैलाई छोडेर त्यहीँ अन्तर्धान भए। त्यसपछि ती वीर राजकुमारले आफ्नो यज्ञपशु लिएर पिताको यज्ञशालामा फर्कनुभयो ।।१७।।
 
तत्तस्य चाद्भुतं कर्म विचक्ष्य परमर्षयः ।
नामधेयं ददुस्तस्मै विजिताश्व इति प्रभो ॥ १८ ॥
नेपाली भावानुवादः राजकुमारको त्यो अद्भुत पराक्रम देखेर महर्षिहरूले उनको नाम 'विजिताश्व' राखिदिनुभयो ।।१८।।
 
उपसृज्य तमस्तीव्रं जहाराश्वं पुनर्हरिः ।
चषालयूपतछन्नो हिरण्यरशनं विभुः ॥ १९ ॥
नेपाली भावानुवादः इन्द्रले पुनः घोर अन्धकार फैलाएर सुनको जन्जिरले बाँधिएको घोडालाई यूप (खम्बा) बाट फुकाएर लिएर गए ।।१९।।
 
अत्रिः सन्दर्शयामास त्वरमाणं विहायसा ।
कपालखट्वाङ्गधरं वीरो नैनमबाधत ॥ २० ॥
अत्रिणा चोदितस्तस्मै सन्दधे विशिखं रुषा ।
सोऽश्वं रूपं च तद्धित्वा तस्थावन्तर्हितः स्वराट् ॥ २१ ॥
नेपाली भावानुवादः अत्रि मुनिले पुनः आकाशमा भागिरहेका इन्द्रलाई देखाइदिनुभयो। तर इन्द्रको हातमा खप्पर र खट्वाङ्ग (कापालिक भेष) देखेर विजिताश्वले उनलाई मार्न हिचकिचाउनुभयो। अत्रि मुनिले पुनः उत्प्रेरित गरेपछि राजकुमारले बाण सन्धान गर्नुभयो र डराएका इन्द्र घोडा छोडेर पुनः अन्तर्धान भए ।।२०-२१।।
 
वीरश्चाश्वमुपादाय पितृयज्ञमथाव्रजत् ।
तदवद्यं हरे रूपं जगृहुर्ज्ञानदुर्बलाः ॥ २२ ॥
नेपाली भावानुवादः वीर विजिताश्वले घोडा लिएर यज्ञशालामा फर्किनुभयो। त्यसपछि इन्द्रले धारण गरेर त्यागेका ती निन्दित भेषहरूलाई मन्दबुद्धि मानिसहरूले ग्रहण गरे ।।२२।।
 
यानि रूपाणि जगृहे इन्द्रो हयजिहीर्षया ।
तानि पापस्य खण्डानि लिङ्गं खण्डमिहोच्यते ॥ २३ ॥
नेपाली भावानुवादः घोडा चोर्नका लागि इन्द्रले जुन-जुन भेष धारण गरेका थिए, ती पापका चिह्न भएकाले संसारमा 'पाखण्ड' का रूपमा चिनिए ।।२३।।
 
एवमिन्द्रे हरत्यश्वं वैन्ययज्ञजिघांसया ।
तद्गृहीतविसृष्टेषु पाखण्डेषु मतिर्नृणाम् ॥ २४ ॥
धर्म इत्युपधर्मेषु नग्नरक्तपटादिषु ।
प्रायेण सज्जते भ्रान्त्या पेशलेषु च वाग्मिषु ॥ २५ ॥
नेपाली भावानुवादः यसरी पृथुको यज्ञ नष्ट गर्न इन्द्रले जुन पाखण्डपूर्ण रूपहरू (नग्न वा रक्ताम्बरधारी) धारण गरे, मानिसहरूको बुद्धि तिनैतिर मोहित हुन थाल्यो। सुन्दर देखिने र धेरै युक्तिले कुरा गर्ने हुनाले मानिसहरू भ्रमवश यस्ता उपधर्मलाई नै साँचो धर्म मान्न थाल्छन् ।।२४-२५।।
 
तदभिज्ञाय भगवान् पृथुः पृथुपराक्रमः ।
इन्द्राय कुपितो बाणं आदत्तोद्यतकार्मुकः ॥ २६ ॥
नेपाली भावानुवादः इन्द्रको यस्तो कुकर्म थाहा पाएर अत्यन्त पराक्रमी महाराज पृथुलाई निकै रिस उठ्यो। उहाँले इन्द्रलाई बध गर्नका लागि धनुषमा बाण चढाउनुभयो ।।२६।।
 
(इन्द्रवज्रा)
तमृत्विजः शक्रवधाभिसन्धितं
    विचक्ष्य दुष्प्रेक्ष्यमसह्यरंहसम् ।
निवारयामासुरहो महामते
    न युज्यतेऽत्रान्यवधः प्रचोदितात् ॥ २७ ॥
नेपाली भावानुवादः क्रोधले राता-पीरा भएका राजाले इन्द्रलाई मार्न लागेको देखेर ऋत्विजहरूले रोक्दै भनेहे महामते! यज्ञको दीक्षा लिएपछि शास्त्रविहित पशुबाहेक अरू कसैको बध गर्नु उचित हुँदैन ।।२७।।
 
वयं मरुत्वन्तमिहार्थनाशनं
    ह्वयामहे त्वच्छ्रवसा हतत्विषम् ।
अयातयामोपहवैरनन्तरं
    प्रसह्य राजन् जुहवाम तेऽहितम् ॥ २८ ॥
नेपाली भावानुवादः यो विघ्नकारी इन्द्र तपाईँको यशले गर्दा पहिले नै निस्तेज भइसकेको छ। हामी अमोघ मन्त्रहरूद्वारा उसलाई यहीँ बोलाउँछौँ र बलपूर्वक यज्ञकुण्डमा हवन गरिदिन्छौँ ।।२८।।
 
(अनुष्टुप्)
इत्यामन्त्र्य क्रतुपतिं विदुरास्यर्त्विजो रुषा ।
स्रुग्घस्तान् जुह्वतोऽभ्येत्य स्वयम्भूः प्रत्यषेधत ॥ २९ ॥
नेपाली भावानुवादः हे विदुर! ऋत्विजहरूले राजालाई शान्त पारेर इन्द्रलाई आहुति दिन लाग्दा स्वयं ब्रह्माजी त्यहाँ प्रकट भएर उनीहरूलाई रोक्नुभयो ।।२९।।
 
न वध्यो भवतां इन्द्रो यद्यज्ञो भगवत्तनुः ।
यं जिघांसथ यज्ञेन यस्येष्टास्तनवः सुराः ॥ ३० ॥
नेपाली भावानुवादः ब्रह्माजीले भन्नुभयोऋत्विजहरू! इन्द्र बध गर्न योग्य छैनन् किनकि उनी भगवान्‌कै विभूति हुन्। तिमीहरूले यज्ञद्वारा जसलाई प्रसन्न गर्न खोजिरहेका छौ, ती देवताहरू इन्द्रकै स्वरूप हुन् ।।३०।।
 
तदिदं पश्यत महद् धर्मव्यतिकरं द्विजाः ।
इन्द्रेणानुष्ठितं राज्ञः कर्मैतद्विजिघांसता ॥ ३१ ॥
नेपाली भावानुवादः हे ब्राह्मणहरू! इन्द्रले यो यज्ञ रोक्नका लागि जुन पाखण्ड फैलाएका छन्, त्यसले धर्मलाई कति ठुलो हानि पुर्‍याइरहेको छ, त्यता ध्यान दिनुहोस्। अब यसको धेरै विरोध नगर्नुहोस्, नत्र उनले अझ धेरै पाखण्डको सृष्टि गर्नेछन् ।।३१।।
 
पृथुकीर्तेः पृथोर्भूयात् तर्ह्येकोनशतक्रतुः ।
अलं ते क्रतुभिः स्विष्टैः यद्भवान् मोक्षधर्मवित् ॥ ३२ ॥
नेपाली भावानुवादः ब्रह्माजीले पृथुलाई भन्नुभयोराजन्! तपाईँ त मोक्षधर्मलाई जान्ने ज्ञानी हुनुहुन्छ। त्यसैले तपाईँ उनान्सयवटा यज्ञबाटै सन्तुष्ट हुनुहोस्, सयौँ यज्ञ पूरा गर्ने जिद्दी छोडिदिनुहोस् ।।३२।।
 
नैवात्मने महेन्द्राय रोषमाहर्तुमर्हसि ।
उभावपि हि भद्रं ते उत्तमश्लोकविग्रहौ ॥ ३३ ॥
नेपाली भावानुवादः तपाईँ र इन्द्र दुवै भगवान्‌कै स्वरूप हुनुहुन्छ। त्यसैले आफ्नो स्वरूपभूत इन्द्रसँग क्रोध गर्नु उचित हुँदैन। तपाईँको कल्याण होस् ।।३३।।
 
(इन्द्रवज्रा)
मास्मिन्महाराज कृथाः स्म चिन्तां
    निशामयास्मद्वच आदृतात्मा ।
यद्ध्यायतो दैवहतं नु कर्तुं
    मनोऽतिरुष्टं विशते तमोऽन्धम् ॥ ३४ ॥
नेपाली भावानुवादः राजन्! यो यज्ञ अपूर्ण रह्यो भनेर चिन्ता नगर्नुहोस्। हाम्रो कुरा मान्नुहोस्, किनकि विधाताले रोकेको कामलाई बलपूर्वक पुरा गर्न खोज्नेको मन क्रोध र घोर अन्धकार (मोह) मा फस्दछ ।।३४।।
 
(अनुष्टुप्) क्रतुर्विरमतामेष देवेषु दुरवग्रहः ।
धर्मव्यतिकरो यत्र पाखण्डैः इन्द्रनिर्मितैः ॥ ३५ ॥
नेपाली भावानुवादः अब यो यज्ञ बन्द गरिदिनुहोस्।
इन्द्रले चलाएको पाखण्डले धर्मको नाश गरिरहेको छ। देवताहरूलाई वशमा राख्न कठिन छ र यदि यस्तै विवाद बढिरह्यो भने धर्मकै ह्रास हुनेछ ।।३५।।
 
एभिरिन्द्रोपसंसृष्टैः पाखण्डैर्हारिभिर्जनम् ।
ह्रियमाणं विचक्ष्वैनं यस्ते यज्ञध्रुगश्वमुट् ॥ ३६ ॥
नेपाली भावानुवादः हेर्नुहोस्, इन्द्रले घोडा चोर्दा जुन पाखण्ड रूपहरू धारण गरे, त्यसले गर्दा सारा मानिसहरू मोहित भएर गलत बाटोतर्फ आकर्षित भइरहेका छन् ।।३६।।
 
(इन्द्रवज्रा)
भवान्परित्रातुमिहावतीर्णो
    धर्मं जनानां समयानुरूपम् ।
वेनापचारादवलुप्तमद्य
    तद्देहतो विष्णुकलासि वैन्य ॥ ३७ ॥
नेपाली भावानुवादः तपाईँ साक्षात् विष्णुको अंश हुनुहुन्छ। राजा वेनको दुराचारले नष्ट भएको धर्मको रक्षा गर्नका लागि नै तपाईँले अवतार लिनुभएको हो ।।३७।।
 
स त्वं विमृश्यास्य भवं प्रजापते 
    ङ्कल्पनं विश्वसृजां पिपीपृहि ।
ऐन्द्रीं च मायामुपधर्ममातरं
    प्रचण्डपाखण्डपथं प्रभो जहि ॥ ३८ ॥
नेपाली भावानुवादः हे प्रजापालक पृथु! आफ्नो अवतारको उद्देश्य विचार गरी ब्रह्मा आदि ऋषिको सङ्कल्प पुरा गर्नुहोस् र इन्द्रको यो पाखण्डपूर्ण मायालाई रोकेर धर्मको रक्षा गर्नुहोस् ।।३८।।
 
मैत्रेय उवाच
इत्थं स लोकगुरुणा समादिष्टो विशाम्पतिः ।
तथा च कृत्वा वात्सल्यं मघोनापि च सन्दधे ॥ ३९ ॥
नेपाली भावानुवादः लोकगुरु ब्रह्माजीले यसरी सम्झाएपछि महाराज पृथुले यज्ञको हठ छोडिदिनुभयो र इन्द्रसँग प्रेमपूर्वक सन्धि गर्नुभयो ।।३९।।
 
कृतावभृथस्नानाय पृथवे भूरिकर्मणे ।
वरान्ददुस्ते वरदा ये तद्बर्हिषि तर्पिताः ॥ ४० ॥
नेपाली भावानुवादः त्यसपछि उहाँले यज्ञको अन्त्यमा गरिने स्नान (अवभृथ स्नान) गर्नुभयो र यज्ञबाट तृप्त भएका देवताहरूले उहाँलाई मनग्ये वरदान दिए ।।४०।।
 
विप्राः सत्याशिषस्तुष्टाः श्रद्धया लब्धदक्षिणाः ।
आशिषो युयुजुः क्षत्तः आदिराजाय सत्कृताः ॥ ४१ ॥
नेपाली भावानुवादः हे विदुर! उचित दक्षिणा र सत्कार पाएका ब्राह्मणहरूले पनि प्रसन्न भएर आदिराज पृथुलाई अमोघ आशिर्वाद दिए ।।४१।।
 
त्वयाऽऽहूता महाबाहो सर्व एव समागताः ।
पूजिता दानमानाभ्यां पितृदेवर्षिमानवाः ॥ ४२ ॥
नेपाली भावानुवादः उनीहरूले भने
हे महाबाहो! तपाईँको निमन्त्रणामा यहाँ पितृ, देवता, ऋषि र मानवहरू सबै आएका थिए र तपाईँले उनीहरू सबैलाई दान र सम्मानद्वारा सत्कार गर्नुभयो ।।४२।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां चतुर्थस्कन्धे 
एकोनविंशोऽध्यायः ॥ १९ ॥
🌸 •••••••••• 🌸

यस अध्यायको सारांश :

श्रीमद्भागवतको उन्नाइसौँ अध्यायमा महाराज पृथुको महान् अश्वमेध यज्ञको वर्णन छ। पृथुले ब्रह्मावर्त क्षेत्रमा सरस्वती नदीको किनारमा सयवटा अश्वमेध यज्ञ गर्ने सङ्कल्पका साथ अनुष्ठान सुरु गर्नुभयो। यस यज्ञमा साक्षात् भगवान् विष्णुब्रह्माशिव र सबै लोकपालहरू उपस्थित थिए। पृथुको शासनमा पृथ्वी स्वयं कामधेनू बनेकी थिइन्जसले गर्दा यज्ञका लागि आवश्यक सामग्रीहरूको कुनै कमी थिएन। तर जब पृथुको सयौँ यज्ञको पालो आयोतब देवराज इन्द्र डराए। उनलाई लाग्यो कि यदि पृथुले सयवटा यज्ञ पूरा गरे भने उनको इन्द्र पद संकटमा पर्नेछ। त्यसैले इन्द्रले अदृश्य रूपमा आएर यज्ञको घोडा चोरे।

घोडा लिएर भागिरहेका इन्द्रलाई अत्रि मुनिले देखाइदिएपछि पृथुपुत्र विजीताश्वले उनको पीछा गरे। इन्द्रले समातिने डरले जटा-भष्म र कापालिक जस्ता 'पाखण्ड भेषधारण गरे। विजीताश्वले ती भेषहरूलाई धर्मको रूप सम्झेर बाण प्रहार गरेनन्तर अत्रि मुनिको बारम्बारको आदेशपछि उनले इन्द्रलाई लखेटेर घोडा फिर्ता ल्याए। इन्द्रले पटक-पटक घोडा चोर्ने र पाखण्ड फैलाउने काम गरिरहे। यसबाट क्रोधित भएका महाराज पृथुले इन्द्रलाई नै मार्न धनुष उठाउनुभयो। ऋत्विजहरूले राजालाई रोकेर मन्त्रद्वारा इन्द्रलाई नै यज्ञमा हवन गरिदिने प्रस्ताव गरे। अन्त्यमा ब्रह्माजी प्रकट भएर सबैलाई रोक्नुभयो। ब्रह्माजीले पृथुलाई सम्झाउनुभयो कि इन्द्र पनि भगवान्‌कै अंश हुन् र उनान्सयवटा यज्ञ नै पर्याप्त छ। सयौँ यज्ञको जिद्दीले समाजमा झन् धेरै पाखण्ड फैलिने खतरा थियो। ब्रह्माजीको आज्ञा शिरोधार्य गरी पृथुले यज्ञ समाप्त गर्नुभयो र इन्द्रसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुभयो। यसरी यो अध्यायमा त्याग र क्षमाको उच्च आदर्श प्रस्तुत गरिएको छ।

यस अध्यायको दार्शनिक पक्ष :

यस अध्यायको दार्शनिक पक्षले 'अहंकार र ईर्ष्याको विनासकारी स्वरूपलाई इन्द्रको माध्यमबाट चित्रण गरेको छ। इन्द्र जस्ता उच्च पदमा आसिन देवता पनि जब पद जोगाउने ईर्ष्यामा फस्छन्तब उनीहरू 'पाखण्डको सहारा लिन पुग्छन्। यसले के सिकाउँछ भनेबाहिरी भेष (जटाभष्म) मात्र धर्म होइनबरु भित्रको नियत शुद्ध हुनुपर्छ। ब्रह्माजीको मध्यस्थताले 'अति सर्वत्र वर्जयेत्अर्थात् कुनै पनि कुराको अति (सयौँ यज्ञको जिद्दी) गर्नु हुँदैन भन्ने पाठ सिकाउँछ।

पृथु साक्षात् विष्णुको अवतार भएर पनि ब्रह्माजीको आज्ञा मानेर यज्ञ अधुरै छोड्नुले 'अहंकारको त्यागर 'गुरु-आज्ञाको पालनलाई सर्वोपरि देखाउँछ। यज्ञको वास्तविक अर्थ केवल घिउ स्वाहा गर्नु मात्र होइनबरु आफ्नो क्रोध र हठलाई स्वाहा गर्नु हो। इन्द्रले धारण गरेका भेषहरूबाट संसारमा गलत सम्प्रदाय र पाखण्डको जन्म भयो भन्ने प्रसङ्गले के सङ्केत गर्छ भनेठुला मानिसले गर्ने सानो गल्तीले पनि समाजमा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्छ। अन्त्यमापृथुले इन्द्रलाई क्षमा गर्नुले 'समभावर 'अद्वैतदर्शनलाई पुष्टि गर्दछजहाँ शत्रुलाई पनि आफ्नै स्वरूप सम्झिइन्छ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...