श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – अष्टमोऽध्यायः
शुक उवाच–
गर्गः पुरोहितो राजन् यदूनां सुमहातपाः ।
व्रजं जगाम नन्दस्य वसुदेवप्रचोदितः ॥ १ ॥
नेपाली भावानुवादः हे परीक्षित् ! यदुवंशका पुरोहित महान् तपस्वी गर्गाचार्य एक दिन वसुदेवजीको प्रेरणाले नन्दबाबाको गोकुलमा आउनुभयो ।। १ ।।
तं दृष्ट्वा परमप्रीतः प्रत्युत्थाय कृताञ्जलिः ।
आनर्चाधोक्षजधिया प्रणिपातपुरःसरम् ॥ २ ॥
नेपाली भावानुवादः गर्गाचार्यलाई देखेर नन्द असाध्यै प्रसन्न हुनुभयो। उहाँले उठेर, नम्र भई हात जोडेर दण्डवत् गर्नुभयो। त्यसपछि उहाँलाई साक्षात् भगवान् सम्झेर विधिवत् पूजा गर्नुभयो ।। २ ।।
सूपविष्टं कृतातिथ्यं गिरा सूनृतया मुनिम् ।
नन्दयित्वाब्रवीद् ब्रह्मन् पूर्णस्य करवाम किम् ॥ ३ ॥
नेपाली भावानुवादः गर्गाचार्यले नन्दको आतिथ्य सत्कार स्वीकार गरी आसनमा बसेपछि नन्दले विनम्र वाणीमा भन्नुभयो– हे ब्रह्मन् ! तपाईं आफैँमा पूर्ण हुनुहुन्छ, हामीले तपाईंको के सेवा गर्न सक्छौँ ? ।। ३ ।।
महद्विचलनं नॄणां गृहिणां दीनचेतसाम् ।
निःश्रेयसाय भगवन् कल्पते नान्यथा क्वचित् ॥ ४ ॥
नेपाली भावानुवादः हे भगवन् ! हामीजस्ता दीनचित्त भएका गृहस्थहरूको घरमा तपाईं जस्ता महान् पुरुषहरूको आगमन केवल हाम्रो कल्याणका लागि मात्र हुन्छ, यसको अर्को कुनै कारण हुँदैन ।। ४ ।।
ज्योतिषामयनं साक्षाद् यत्तज्ज्ञानमतीन्द्रियम् ।
प्रणीतं भवता येन पुमान् वेद परावरम् ॥ ५ ॥
नेपाली भावानुवादः इन्द्रियहरूभन्दा परको सूक्ष्म ज्ञान प्रदान गर्ने र जसको माध्यमबाट मानिसले आफ्नो भूत र भविष्य (कार्य-कारण) थाहा पाउन सक्छ, त्यस्तो प्रत्यक्ष ज्योतिष शास्त्र हजुरले नै रचना गर्नुभएको हो ।। ५ ।।
त्वं हि ब्रह्मविदां श्रेष्ठः संस्कारान् कर्तुमर्हसि ।
बालयोरनयोर्नॄणां जन्मना ब्राह्मणो गुरुः ॥ ६ ॥
नेपाली भावानुवादः तपाईं ब्रह्मज्ञानीहरूमा सर्वश्रेष्ठ हुनुहुन्छ। त्यसैले मेरा यी दुई बालकको नामकरण संस्कार तपाईं आफैँले गरिदिनुहोस्; किनकि ब्राह्मण जन्मजात नै सबै मनुष्यका गुरु हुन्छन् ।। ६ ।।
गर्ग उवाच– यदूनामहमाचार्यः ख्यातश्च भुवि सर्वतः ।
नेपाली भावानुवादः गर्गाचार्यले भन्नुभयो– हे नन्दजी ! म यदुवंशीहरूको आचार्यका रूपमा संसारभर प्रसिद्ध छु। त्यसैले यदि मैले तिम्रो छोराको संस्कार गरेँ भने कंसले यसलाई देवकीकै सन्तान सम्झनेछ ।। ७ ।।
कंसः पापमतिः सख्यं तव चानकदुन्दुभेः ।
देवक्या अष्टमो गर्भो न स्त्री भवितुमर्हति ॥ ८ ॥
इति सञ्चिन्तयञ्छ्रुत्वा देवक्या दारिकावचः ।
अपि हन्ताऽऽगताशङ्कस्तर्हि तन्नोऽनयो भवेत् ॥ ९ ॥
नेपाली भावानुवादः त्यो पापी कंसलाई वसुदेवजीसँग तिम्रो घनिष्ठ मित्रता छ भन्ने थाहा छ। अर्कोतिर, देवकीकी छोरीको वाणी सुनेर "आठौँ गर्भ स्त्री हुन सक्दैन" भन्ने उसले सोचिरहेको छ। यस्तो अवस्थामा यदि मैले तिम्रो छोराको नामकरण गरेँ र उसले शङ्का गरेर बालकलाई हानि पुर्यायो भने त्यो अनर्थ हुनेछ ।। ८–९ ।।
नन्द उवाच–
अलक्षितोऽस्मिन् रहसि मामकैरपि गोव्रजे ।
कुरु द्विजातिसंस्कारं स्वस्तिवाचनपूर्वकम् ॥ १० ॥
नेपाली भावानुवादः नन्दले भन्नुभयो– मेरा आफन्तहरूलाई समेत थाहा नहुने गरी यस एकान्त गोठमा स्वस्तिवाचनपूर्वक द्विजातिले गर्ने नामकरण संस्कार गरिदिनुहोस् ।। १० ।।
शुक उवाच– एवं संप्रार्थितो विप्रः स्वचिकीर्षितमेव तत् ।
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– गर्गाचार्य स्वयं पनि नामकरण संस्कार गर्न चाहनुहुन्थ्यो, त्यसैले नन्दको प्रार्थना स्वीकार गरी उहाँले गोप्य रूपमा दुवै बालकको नामकरण गर्नुभयो ।। ११ ।।
गर्ग उवाच–
अयं हि रोहिणीपुत्रो रमयन् सुहृदो गुणैः ।
आख्यास्यते राम इति बलाधिक्याद् बलं विदुः ।
यदूनामपृथग्भावात् सङ्कर्षणमुशन्त्युत ॥ १२ ॥
नेपाली भावानुवादः गर्गाचार्यले भन्नुभयो– यी रोहिणीका छोरा हुन्। यिनले आफ्ना गुणहरूले सबैलाई आनन्दित पार्ने हुनाले यिनको नाम 'राम' हुनेछ। यिनको बल अत्यधिक भएकाले यिनलाई 'बल' पनि भनिनेछ र यिनले यादवहरूलाई एकताको सूत्रमा बाँध्ने हुनाले यिनलाई 'सङ्कर्षण' पनि भनिनेछ ।। १२ ।।
आसन् वर्णास्त्रयो ह्यस्य गृह्णतोऽनुयुगं तनूः ।
शुक्लो रक्तस्तथा पीत इदानीं कृष्णतां गतः ॥ १३ ॥
नेपाली भावानुवादः हरेक युगमा शरीर धारण गर्ने यिनका पहिले तीन रङ्ग (सेतो, रातो र पहेंलो) थिए। यस पटक यिनले कालो वर्ण धारण गरेका छन्, त्यसैले यिनको नाम 'कृष्ण' हुनेछ ।। १३ ।।
प्रागयं वसुदेवस्य क्वचिज्जातस्तवात्मजः ।
वासुदेव इति श्रीमानभिज्ञाः संप्रचक्षते ॥ १४ ॥
नेपाली भावानुवादः तिम्रो यो छोरो पहिले कुनै समयमा वसुदेवको घरमा जन्मिएका थिए, त्यसैले यो रहस्य जान्ने विद्वान्हरू यिनलाई 'वासुदेव' पनि भन्छन् ।। १४ ।।
बहूनि सन्ति नामानि रूपाणि च सुतस्य ते ।
गुणकर्मानुरूपाणि तान्यहं वेद नो जनाः ॥ १५ ॥
नेपाली भावानुवादः तिम्रो छोराका गुण र कर्म अनुसार धेरै नाम र रूपहरू छन्। ती मलाई थाहा छ तर साधारण मानिसले जान्न सक्दैनन् ।। १५ ।।
एष वः श्रेय आधास्यद् गोपगोकुलनन्दनः ।
अनेन सर्वदुर्गाणि यूयमञ्जस्तरिष्यथ ॥ १६ ॥
नेपाली भावानुवादः यिनले गोकुल र गोपीहरूको कल्याण गर्नेछन्। यिनकै सहयोगले तिमीहरूले सबै कठिनाइहरू सजिलै पार गर्नेछौ ।। १६ ।।
पुरानेन व्रजपते साधवो दस्युपीडिताः ।
अराजके रक्ष्यमाणा जिग्युर्दस्यून् समेधिताः ॥ १७ ॥
नेपाली भावानुवादः हे व्रजपति ! पहिले अराजकता फैलिएको समयमा डाँकुहरूबाट पीडित सज्जनहरूले यिनकै आश्रय र बल पाएर शत्रुहरूमाथि विजय प्राप्त गरेका थिए ।। १७ ।।
य एतस्मिन् महाभागाः प्रीतिं कुर्वन्ति मानवाः ।
नारयोऽभिभवन्त्येतान् विष्णुपक्षानिवासुराः ॥ १८ ॥
नेपाली भावानुवादः यी बालकलाई माया गर्ने मानिसहरू धेरै भाग्यमानी हुन्छन्। जसरी विष्णुको पक्षमा रहने देवताहरूलाई असुरहरूले जित्न सक्दैनन्, त्यसैगरी यिनको पक्षमा रहनेलाई शत्रुले परास्त गर्न सक्दैनन् ।। १८ ।।
तस्मान्नन्दात्मजोऽयं ते नारायणसमो गुणैः ।
श्रिया कीर्त्यानुभावेन गोपायस्व समाहितः ॥ १९ ॥
नेपाली भावानुवादः त्यसैले हे नन्द ! तिम्रो यो छोरो गुण, ऐश्वर्य, कीर्ति र प्रभावमा साक्षात् नारायण समान छ। अतः सावधानीपूर्वक यिनको रक्षा गर ।। १९ ।।
इत्यात्मानं समादिश्य गर्गे च स्वगृहं गते ।
नन्दः प्रमुदितो मेने आत्मानं पूर्णमाशिषाम् ॥ २० ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– यसरी नन्दबाबालाई सम्झाएर गर्गाचार्य आफ्नो घरतर्फ प्रस्थान गर्नुभयो। नन्दबाबाले आफूलाई कृतकृत्य र पूर्ण आशिर्वाद प्राप्त भएको महसुस गरी प्रसन्न हुनुभयो ।। २० ।।
कालेन व्रजताल्पेन गोकुले रामकेशवौ ।
जानुभ्यां सह पाणिभ्यां रिङ्गमाणौ विजह्रतुः ॥ २१ ॥
नेपाली भावानुवादः केही समयपछि राम र कृष्ण गोकुलमा हात र घुँडाको सहाराले बामे सर्न थाल्नुभयो ।। २१ ।।
(वसंततिलका)
तावङ्घ्रियुग्ममनुकृष्य सरीसृपन्तौ
घोषप्रघोषरुचिरं व्रजकर्दमेषु ।
तन्नादहृष्टमनसावनुसृत्य लोकं
मुग्धप्रभीतवदुपेयतुरन्ति मात्रोः ॥ २२ ॥
नेपाली भावानुवादः ती दुवै बालक गोकुलको हिलोमा आफ्ना पाउ घिसार्दै बामे सर्नुहुन्थ्यो। पाउजुको मधुर आवाज सुनेर उहाँहरू आफैँ प्रसन्न हुनुहुन्थ्यो। कहिलेकाहीँ अपरिचित मानिसको पछि लागेर डराएजस्तो गर्दै पुनः आमाहरूकहाँ फर्केर आउनुहुन्थ्यो ।। २२ ।।
तन्मातरौ निजसुतौ घृणया स्नुवन्त्यौ
पङ्काङ्रागरुचिरावुपगृह्य दोर्भ्याम् ।
दत्त्वा स्तनं प्रपिबतोः स्म मुखं निरीक्ष्य
मुग्धस्मिताल्पदशनं ययतुः प्रमोदम् ॥ २३ ॥
नेपाली भावानुवादः हिलो लागेको शरीरमा झनै सुन्दर देखिनुभएका छोराहरूलाई आमाहरूले स्नेहपूर्वक काखमा लिएर स्तनपान गराउनुहुन्थ्यो। दूध पिउँदापिउँदै मुस्कुराएका छोराका ती दुधे दाँत देखेर यशोदा र रोहिणी दङ्ग पर्नुहुन्थ्यो ।। २३ ।।
यर्ह्यङ्गनादर्शनीयकुमारलीला-
वन्तर्व्रजे तदबलाः प्रगृहीतपुच्छैः ।
वत्सैरितस्तत उभावनुकृष्यमाणौ
प्रेक्षन्त्य उज्झितगृहा जहृषुर्हसन्त्यः ॥ २४ ॥
नेपाली भावानुवादः जब बलराम र कृष्णले बाछाहरूका पुच्छर समात्नुहुन्थ्यो र ती बाछाहरू डराएर दौडिँदा उहाँहरू पनि सँगै तानिनुहुन्थ्यो, यो मनमोहक दृश्य हेर्न गोपीहरू घरको काम छोडेर बाहिर निस्कन्थे र खुसीले हाँस्थे ।। २४ ।।
शृङ्ग्यग्निदंष्ट्र्यसिजलद्विजकण्टकेभ्यः
क्रीडापरावतिचलौ स्वसुतौ निषेद्धुम् ।
गृह्याणि कर्तुमपि यत्र न तज्जनन्यौ
शेकात आपतुरलं मनसोऽनवस्थाम् ॥ २५ ॥
नेपाली भावानुवादः सिङ भएका जनावर, आगो, धारिला वस्तु, पानी र काँडाहरूबाट बालकहरूलाई जोगाउन आमाहरूलाई हम्मे-हम्मे पर्थ्यो। बालकहरूको चञ्चलताका कारण उनीहरूलाई घरको काम गर्ने फुर्सद पनि हुँदैनथ्यो र मन सधैँ चिन्तित रहन्थ्यो ।। २५ ।।
(अनुष्टुप्)
कालेनाल्पेन राजर्षे रामः कृष्णश्च गोकुले ।
अघृष्टजानुभिः पद्भिर्विचक्रमतुरञ्जसा ॥ २६ ॥
नेपाली भावानुवादः हे राजर्षि ! केही समयपछि राम र कृष्ण बामे सर्न छोडेर आफ्ना गोडाले हिँड्न थाल्नुभयो ।। २६ ।।
ततस्तु भगवान् कृष्णो वयस्यैर्व्रजबालकैः ।
सहरामो व्रजस्त्रीणां चिक्रीडे जनयन् मुदम् ॥ २७ ॥
नेपाली भावानुवादः त्यसपछि भगवान् कृष्णले दाजु बलराम र साथीहरूसँग मिलेर व्रजका स्त्रीहरूलाई आनन्द दिने अनेक बाललीलाहरू गर्न थाल्नुभयो ।। २७ ।।
कृष्णस्य गोप्यो रुचिरं वीक्ष्य कौमारचापलम् ।
शृण्वन्त्याः किल तन्मातुरिति होचुः समागताः ॥ २८ ॥
नेपाली भावानुवादः श्रीकृष्णको चञ्चल लीला देखेर गोपीहरू जम्मा भएर यशोदामातालाई गुनासो सुनाउन आए ।। २८ ।।
(मंदाक्रांता)
वत्सान् मुञ्चन् क्वचिदसमये क्रोशसञ्जातहासः
स्तेयं स्वाद्वत्त्यथ दधि पयः कल्पितैः स्तेययोगैः ।
मर्कान् भोक्ष्यन् विभजति स चेन्नात्ति भाण्डं भिन्नत्ति
द्रव्यालाभे स गृहकुपितो यात्युपक्रोश्य तोकान् ॥ २९ ॥
नेपाली भावानुवादः हे यशोदा ! तिम्रो छोराले असमयमै बाछाहरू फुकाइदिन्छ। हामीले कराउँदा उल्टै हाँस्छ। उसले अनेक जुक्ति लगाएर दही-दूध चोरेर खान्छ। आफूले खाएर बाँकी रहेको दही बाँदरलाई खुवाउँछ र नखाएमा भाँडाहरू नै फुटाइदिन्छ। घरमा केही पाएन भने हाम्रा छोराछोरीलाई रुवाएर भाग्छ ।। २९ ।।
हस्ताग्राह्ये रचयति विधिं पीठकोलूखलाद्यै-
श्छिद्रं ह्यन्तर्निहितवयुनः शिक्यभाण्डेषु तद्वित् ।
ध्वान्तागारे धृतमणिगणं स्वाङ्गमर्थप्रदीपं
काले गोप्यो यर्हि गृहकृत्येषु सुव्यग्रचित्ताः ॥ ३० ॥
नेपाली भावानुवादः अग्लो ठाउँमा राखिएका दहीका भाँडाहरू भेट्टाउन उसले पिर्का र ओखलको प्रयोग गर्छ। भाँडोमा प्वाल पारेर चोरिदिन्छ। अँध्यारो कोठामा लुकाइएको सामान पनि उसको शरीरको तेजले उज्यालो भएर देखिन्छ ।। ३० ।।
एवं धार्ष्ट्यान्युशति कुरुते मेहनादीनि वास्तौ
स्तेयोपायैर्विरचितकृतिः सुप्रतीको यथास्ते ।
इत्थं स्त्रीभिः सभयनयनश्रीमुखालोकिनीभि-
र्व्याख्यातार्था प्रहसितमुखी न ह्युपालब्धुमैच्छत् ॥ ३१ ॥
नेपाली भावानुवादः यो यति चतुर छ कि घरभित्रै फोहर (पिसाब) गरिदिन्छ। चोरीका अनेक काण्ड गरेर यहाँ आएर चाहिँ सोझो बालक झैँ बस्छ। गोपीहरूले यसरी उजुर गर्दा पनि भगवान् डराए जस्तो गरी बस्नुभयो, जुन देखेर यशोदा माता नहप्काई मुस्कुराउन मात्र थाल्नुभयो ।। ३१ ।।
(अनुष्टुप्)
एकदा क्रीडमानास्ते रामाद्या गोपदारकाः । कृ
ष्णो मृदं भक्षितवानिति मात्रे न्यवेदयन् ॥ ३२ ॥
नेपाली भावानुवादः एक दिन बलराम र साथीहरूसँग खेल्ने क्रममा "श्रीकृष्णले माटो खाए" भनी बालकहरूले यशोदामातालाई उजुर गरे ।। ३२ ।।
सा गृहीत्वा करे कृष्णमुपालभ्य हितैषिणी ।
यशोदा भयसंभ्रान्तप्रेक्षणाक्षमभाषत ॥ ३३ ॥
नेपाली भावानुवादः शुभचिन्तक यशोदाले डराइरहेका श्रीकृष्णको हात समातेर हप्काउँदै भन्नुभयो ।। ३३ ।।
कस्मान् मृदमदान्तात्मन् भवान् भक्षितवान् रहः ।
वदन्ति तावका ह्येते कुमारास्तेऽग्रजोऽप्ययम् ॥ ३४ ॥
नेपाली भावानुवादः हे चञ्चल ! तिमीले किन लुकेर माटो खायौ ? तिम्रा यी साथीहरू र दाजु बलरामले पनि यही भन्दैछन् ।। ३४ ।।
श्रीकृष्ण उवाच–
नाहं भक्षितवानम्ब सर्वे मिथ्याभिशंसिनः ।
यदि सत्यगिरस्तर्हि समक्षं पश्य मे मुखम् ॥ ३५ ॥
नेपाली भावानुवादः श्रीकृष्णले भन्नुभयो– आमा ! मैले माटो खाएको छैन। यी सबैले झुटो बोलेका हुन्। यदि विश्वास लाग्दैन भने मेरो मुख हेर्नुहोस् ।। ३५ ।।
यद्येवं तर्हि व्यादेहीत्युक्तः स भगवान् हरिः ।
व्यादत्ताव्याहतैश्वर्यः क्रीडामनुजबालकः ॥ ३६ ॥
नेपाली भावानुवादः यशोदाजीले "त्यसो भए मुख खोल" भन्नुहुँदा मानवरूपी लीला गरिरहनुभएका भगवान् श्रीहरिले मुख खोल्नुभयो ।। ३६ ।।
सा तत्र ददृशे विश्वं जगत् स्थास्नु च खं दिशः ।
साद्रिद्वीपाब्धिभूगोलं सवाय्वग्नीन्दुतारकम् ॥ ३७ ॥
ज्योतिश्चक्रं जलं तेजो नभस्वान् वियदेव च ।
वैकारिकाणीन्द्रियाणि मनो मात्रा गुणास्त्रयः ॥ ३८ ॥
नेपाली भावानुवादः यशोदाले श्रीकृष्णको मुखभित्र सम्पूर्ण चराचर जगत्, आकाश, दिशाहरू, पहाड, द्वीप, समुद्र, पृथ्वी, वायु, अग्नि, चन्द्रमा र ताराहरू देख्नुभयो। साथै ज्योतिर्मण्डल, जल, तेज, इन्द्रियहरू, मन र तीनवटै गुणहरू सहितको पूरा ब्रह्माण्ड देख्नुभयो ।। ३७-३८ ।।
(मिश्र – ११ अक्षरी)
एतद्विचित्रं सहजीवकाल-
स्वभावकर्माशयलिङ्गभेदम् ।
सूनोस्तनौ वीक्ष्य विदारितास्ये
व्रजं सहात्मानमवाप शङ्काम् ॥ ३९ ॥
नेपाली भावानुवादः छोराको मुखमा यस्तो विचित्रको विश्व र त्यहाँ आफूलाई समेत देखेपछि यशोदा माता सशङ्कित हुनुभयो ।। ३९ ।।
किं स्वप्न एतदुत देवमाया
किं वा मदीयो बत बुद्धिमोहः । अ
थो अमुष्यैव ममार्भकस्य यः
कश्चनौत्पत्तिक आत्मयोगः ॥ ४० ॥
नेपाली भावानुवादः उहाँ सोच्न थाल्नुभयो– यो सपना हो कि भगवान्को माया ? अथवा मेरो बुद्धिको भ्रम हो वा मेरो छोराको कुनै अलौकिक शक्ति हो ? ।। ४० ।।
(मिश्र – १२ अक्षरी)
अथो यथावन्न वितर्कगोचरं
चेतोमनःकर्मवचोभिरञ्जसा ।
यदाश्रयं येन यतः प्रतीयते
सुदुर्विभाव्यं प्रणतास्मि तत्पदम् ॥ ४१ ॥
नेपाली भावानुवादः जुन तत्वलाई तर्क, मन र वाणीले जान्न सकिँदैन, जसमा यो संसार आश्रित छ, त्यस्तो अचिन्त्य शक्तिलाई म नमस्कार गर्दछु ।। ४१ ।।
अहं ममासौ पतिरेष मे सुतो
व्रजेश्वरस्याखिलवित्तपा सती ।
गोप्यश्च गोपाः सहगोधनाश्च मे
यन्माययेत्थं कुमतिः स मे गतिः ॥ ४२ ॥
नेपाली भावानुवादः "म यशोदा हुँ, यी मेरा पति र छोरा हुन्, यो मेरो सम्पत्ति हो" भन्ने जुन मोह भगवान्कै मायाले गर्दा भएको हो, ती प्रभु नै मेरो एक मात्र गति हुनुहुन्छ ।। ४२ ।।
(अनुष्टुप्)
इत्थं विदिततत्त्वायां गोपिकायां स ईश्वरः ।
वैष्णवीं व्यतनोन्मायां पुत्रस्नेहमयीं विभुः ॥ ४३ ॥
नेपाली भावानुवादः जब यशोदाले वास्तविक तत्व बुझ्नुभयो, तब भगवान्ले पुनः पुत्र-स्नेहयुक्त वैष्णवी माया फैलाइदिनुभयो ।। ४३ ।।
सद्यो नष्टस्मृतिर्गोपी साऽऽरोप्यारोहमात्मजम् ।
प्रवृद्धस्नेहकलिलहृदयाऽऽसीद् यथा पुरा ॥ ४४ ॥
नेपाली भावानुवादः तुरुन्तै त्यो अलौकिक घटना बिर्सेर यशोदाले छोरालाई काखमा लिनुभयो र पहिले जस्तै ममतामा डुब्नुभयो ।। ४४ ।।
त्रय्या चोपनिषद्भिश्च साङ्ख्ययोगैश्च सात्वतैः ।
उपगीयमानमाहात्म्यं हरिं सामन्यतात्मजम् ॥ ४५ ॥
नेपाली भावानुवादः जसको महिमा वेद, उपनिषद् र साङ्ख्ययोगले गाउँछन्, ती श्रीहरिलाई यशोदाले आफ्नै बालक ठान्नुभयो ।। ४५ ।।
राजोवाच–
नन्दः किमकरोद् ब्रह्मन् श्रेय एवं महोदयम् ।
यशोदा च महाभागा पपौ यस्याः स्तनं हरिः ॥ ४६ ॥
नेपाली भावानुवादः राजा परीक्षित्ले सोधे– हे ब्रह्मन् ! नन्द र भाग्यवती यशोदाले त्यस्तो कुन पुण्य गरेका थिए, जसका कारण भगवान् स्वयं उनीहरूको छोरो बन्नुभयो ? ।। ४६ ।।
पितरौ नान्वविन्देतां कृष्णोदारार्भकेहितम् ।
गायन्त्यद्यापि कवयो यल्लोकशमलापहम् ॥ ४७ ॥
नेपाली भावानुवादः श्रीकृष्णका जुन बाललीलाको वर्णन विद्वान्हरू गर्छन्, ती लीलाहरू जन्म दिने मातापिता (वसुदेव-देवकी) ले देख्न पाएनन्, तर नन्द-यशोदाले कसरी पाए ? ।। ४७ ।।
शुक उवाच–
द्रोणो वसूनां प्रवरो धरया भार्यया सह ।
करिष्यमाण आदेशान् ब्रह्मणस्तमुवाच ह ॥ ४८ ॥
नेपाली भावानुवादः शुकदेवजीले भन्नुभयो– पूर्वजन्ममा नन्द 'द्रोण' नामक वसु र यशोदा 'धरा' नामकी उनकी पत्नी हुनुहुन्थ्यो। ब्रह्माजीको आज्ञा पालना गर्ने क्रममा उहाँहरूले यसो भन्नुभएको थियो ।। ४८ ।।
जातयोर्नौ महादेवे भुवि विश्वेश्वरे हरौ ।
भक्तिः स्यात् परमा लोके ययाञ्जो दुर्गतिं तरेत् ॥ ४९ ॥
नेपाली भावानुवादः "पृथ्वीमा जन्म लिएपछि पनि हाम्रो भगवान् श्रीकृष्णमा यस्तो अनन्य भक्ति होस्, जसले गर्दा हामी सजिलै संसारबाट पार हुन सकौँ" ।। ४९ ।।
अस्त्वित्युक्तः स भगवान् व्रजे द्रोणो महायशाः ।
जज्ञे नन्द इति ख्यातो यशोदा सा धराभवत् ॥ ५० ॥
नेपाली भावानुवादः ब्रह्माजीको आशिर्वादले गर्दा तिनै द्रोण नन्द र धरा यशोदाका रूपमा गोकुलमा जन्मनुभयो ।। ५० ।।
ततो भक्तिर्भगवति पुत्रीभूते जनार्दने ।
दम्पत्योर्नितरामासीद् गोपगोपीषु भारत ॥ ५१ ॥
नेपाली भावानुवादः त्यसैले हे भरतवंशी परीक्षित् ! भगवान् जनार्दन पुत्रका रूपमा रहँदा ती दम्पतीको भक्ति र प्रेम अतुलनीय थियो ।। ५१ ।।
कृष्णो ब्रह्मण आदेशं सत्यं कर्तुं व्रजे विभुः ।
सहरामो वसंश्चक्रे तेषां प्रीतिं स्वलीलया ॥ ५२ ॥
नेपाली भावानुवादः ब्रह्माजीको वचन सत्य सिद्ध गर्न भगवान् कृष्ण बलरामसहित व्रजमा बसेर सबैलाई आनन्दित तुल्याउनुभयो ।। ५२ ।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको दशम स्कन्ध अन्तर्गतको आठौँ अध्याय भगवान् श्रीकृष्णको बाल्यकालका अलौकिक र मधुर लीलाहरूमा केन्द्रित छ। यस अध्यायको प्रारम्भ यदुवंशका पुरोहित गर्गाचार्यको गोकुल आगमनबाट हुन्छ। वसुदेवको प्रेरणाले नन्दको गोठमा आउनुभएका गर्गाचार्यले कंसको डरका कारण अत्यन्तै गोप्य रूपमा कृष्ण र बलरामको नामकरण संस्कार सम्पन्न गर्नुभएको थियो। नामकरणका क्रममा गर्गाचार्यले श्रीकृष्णका अनन्त नाम, गुण र प्रभावको चर्चा गर्दै उहाँ साक्षात् नारायण समान भएको रहस्य नन्दबाबालाई बताउनुभयो। बालकहरू बिस्तारै बामे सर्ने र पछि आफ्नै खुट्टाले हिँड्ने भएपछि गोकुलको वातावरण झनै उत्सवमय बन्यो। श्रीकृष्णले बाछाहरूको पुच्छर समातेर दौडने, हिलोमा खेल्ने र गोपीहरूको घरमा गएर दही-दूध चोर्ने जस्ता चञ्चल क्रियाकलापहरू मार्फत व्रजवासीहरूलाई वात्सल्य रसको आनन्द प्रदान गर्नुभयो। गोपीहरूले यशोदामाता कहाँ आएर कृष्णको चोरी र बदमासीको मिठो गुनासो गर्थे, तर कृष्णको मासूम अनुहार देखेपछि उनीहरू सबै कुरा बिर्सन्थे। एक पटक कृष्णले माटो खाएको आरोपमा यशोदाले मुख खोल्न लगाउँदा उहाँले आफ्नो मुखभित्रै सम्पूर्ण ब्रह्माण्डको दर्शन गराइदिनुभयो। यो देखेर यशोदा आश्चर्यचकित भई ईश्वरको तत्व चिन्तनमा हराइन्, तर भगवान्ले पुनः आफ्नो योगमाया फैलाएर उनलाई पुत्रमोहमा फर्काइदिनुभयो। अध्यायको अन्त्यमा राजा परीक्षितको जिज्ञासा मेटाउँदै शुकदेवजीले नन्द र यशोदाको पूर्वजन्म (द्रोण र धरा) र उनीहरूको तपस्याको फलस्वरुप भगवान्लाई पुत्रका रूपमा पाएको प्रसङ्ग उल्लेख गर्नुभएको छ। यो अध्यायले भगवान् र भक्त बीचको आत्मीय सम्बन्ध र बाललीलाको महिमालाई अत्यन्तै रोचक ढङ्गले प्रस्तुत गरेको छ।
दार्शनिक पक्ष
यस अध्यायले ईश्वरको ऐश्वर्य र माधुर्य शक्तिको सुन्दर समन्वयलाई प्रस्तुत गर्दछ। दार्शनिक दृष्टिले हेर्दा, श्रीकृष्णको मुखमा ब्रह्माण्ड देखिनुले उहाँ नै यो जगत्को आधार र उपादान कारण हुनुहुन्छ भन्ने पुष्टि गर्छ। यशोदामाताको मोह र पछि ज्ञानको उदय हुनुले जीवात्मा र मायाको सम्बन्धलाई चित्रण गर्दछ। ज्ञानले ईश्वरको विराटता बुझाउँछ भने प्रेम (भक्ति) ले ईश्वरलाई आफ्नै सम्झेर काखमा खेलाउन सक्ने बनाउँछ। यहाँ भगवान्ले आफ्नो ऐश्वर्यलाई लुकाएर माधुर्यलाई प्राथमिकता दिनु नै भक्तिको सर्वोच्चता हो। द्रोण र धराको प्रसङ्गले 'प्रारब्ध' र 'साधना' को फल ढिलोचाँडो अवश्य प्राप्त हुन्छ भन्ने सन्देश दिन्छ। ईश्वर सर्वव्यापी भए तापनि भक्तको प्रेमको बन्धनमा परेर साधारण बालकको रूपमा देखिनु नै अवतारवादको मुख्य दर्शन हो।
No comments:
Post a Comment