श्रीराजोवाच–
मन्वन्तराणि
सर्वाणि त्वयोक्तानि श्रुतानि मे ।
वीर्याणि
अनन्तवीर्यस्य हरेस्तत्र कृतानि च ।। १ ।।
नेपाली
भावानुवाद: राजा परीक्षितले सोधे– हे भगवन्! तपाईंले मलाई सबै मन्वन्तरहरूको
वर्णन सुनाउनुभयो। साथै ती मन्वन्तरहरूमा अनन्त शक्तिशाली श्रीहरिले गर्नुभएका
ऐश्वर्यपूर्ण वीर चरित्रहरूको वर्णन पनि मैले सुनें ।। १ ।।
योऽसौ
सत्यव्रतो नाम राजर्षिर्द्रविडेश्वरः ।
ज्ञानं
योऽतीतकल्पान्ते लेभे पुरुषसेवया ।। २ ।।
स
वै विवस्वतः पुत्रो मनुरासीदिति श्रुतम् ।
त्वत्तस्तस्य
सुताश्चोक्ता इक्ष्वाकुप्रमुखा नृपाः ।। ३ ।।
नेपाली
भावानुवाद: बितेको कल्पको अन्त्यमा जसले भगवान्को
सेवा गरेर आत्मज्ञान प्राप्त गर्नुभएको थियो,
ती द्रविड देशका राजर्षि सत्यव्रत नै यस कल्पमा विवस्वान्का पुत्र 'मनु' हुनुभयो भन्ने कुरा मैले यहाँबाट सुनें।
तपाईंले नै उनका इक्ष्वाकु आदि प्रभावशाली राजपुत्रहरूको बारेमा पनि बताउनुभएको
थियो ।। २–३ ।।
तेषां
वंशं पृथग् ब्रह्मन् वंशानुचरितानि च ।
कीर्तयस्व
महाभाग नित्यं शुश्रूषतां हि नः ।। ४ ।।
नेपाली
भावानुवाद: हे ब्रह्मन्! अब ती राजाहरूको वंश र
तिनका वंशजहरूका अलौकिक चरित्रहरूको छुट्टाछुट्टै वर्णन गरिदिनुहोस्। हे महाभाग!
ती पुण्यमय कथाहरू सुन्नका लागि हामीमा सदैव ठुलो उत्सुकता र श्रद्धा जागृत
भइरहेको छ ।। ४ ।।
ये
भूता ये भविष्याश्च भवन्त्यद्यतनाश्च ये ।
तेषां
नः पुण्यकीर्तीनां सर्वेषां वद विक्रमान् ।। ५ ।।
नेपाली
भावानुवाद: वैवस्वत मनुको वंशमा जो जन्मिसके, जो वर्तमानमा छन् र जो भविष्यमा जन्मनेछन्,
ती सबै पवित्र कीर्ति भएका पुरुषहरूको पराक्रम र वीरताको कथा
हामीलाई सुनाउनुहोस् ।। ५ ।।
श्रीसूत
उवाच–
एवं
परीक्षिता राज्ञा सदसि ब्रह्मवादिनाम् ।
पृष्टः
प्रोवाच भगवानञ्छुकः परमधर्मवित् ।। ६ ।।
नेपाली
भावानुवाद: सूतजी भन्नुहुन्छ– हे शौनकादि ऋषिहरू! जब राजा परीक्षितले
ब्रह्मवादी ऋषिहरूको सभामा यस प्रकारको प्रश्न सोध्नुभयो, तब
परम धर्मवेत्ता भगवान् श्रीशुकदेवजीले उत्तर दिन सुरु गर्नुभयो ।। ६ ।।
श्रीशुक
उवाच–
श्रूयतां
मानवो वंशः प्राचुर्येण परंतप ।
न
शक्यते विस्तरतो वक्तुं वर्षशतैरपि ।। ७ ।।
नेपाली
भावानुवाद: श्रीशुकदेवजीले भन्नुभयो– हे शत्रुतापन परीक्षित! अब म तिमीलाई मानव
वंशको प्रधानताका आधारमा वर्णन गर्दछु, सुन। यसको विस्तृत
वर्णन त सयौँ वर्षमा पनि सकिँदैन ।। ७ ।।
परावरेषां
भूतानामात्मा यः पुरुषः परः ।
स
एवासीदिदं विश्वं कल्पान्तेऽन्यन्न किञ्चन ।। ८ ।।
नेपाली
भावानुवाद: जो कार्य र कारण दुवैभन्दा पर
हुनुहुन्छ र समस्त प्राणीका आत्मा हुनुहुन्छ,
ती परमपुरुष परमात्मा मात्र कल्पको अन्त्यमा (प्रलयकालमा) शेष
रहनुहुन्छ। त्यस समय यो दृश्य विश्व उहाँमा नै लीन हुन्छ, उहाँबाहेक
अन्य केही पनि हुँदैन ।। ८ ।।
तस्य
नाभेः समभवत् पद्मकोषो हिरण्मयः ।
तस्मिन्
जज्ञे महाराज स्वयंभूश्चतुराननः ।। ९ ।।
नेपाली
भावानुवाद: हे महाराज! ती परमपुरुषको नाभिबाट
एउटा सुवर्णमय कमलको कोपिला प्रकट भयो। त्यही कमलबाट स्वयं ब्रह्माजी (चतुर्मुख)
प्रकट हुनुभयो ।। ९ ।।
मरीचिः
मनसस्तस्य जज्ञे तस्यापि कश्यपः ।
दाक्षायण्यां ततोऽदित्यां
विवस्वानभवत् सुतः ।। १० ।।
नेपाली
भावानुवाद: ब्रह्माजीको मनबाट मरीचिको जन्म भयो
र मरीचिका छोरा कश्यप भए। तिनै कश्यपबाट दक्षपुत्री अदितिको गर्भद्वारा विवस्वान्
(सूर्य) को जन्म भयो ।। १० ।।
ततो
मनुः श्राद्धदेवः संज्ञायामास भारत ।
श्रद्धायां
जनयामास दश पुत्रान् स आत्मवान् ।। ११ ।।
इक्ष्वाकुनृगशर्यातिदिष्टधृष्टकरूषकान्
।
नरिष्यन्तं
पृषध्रं च नभगं च कविं विभुः ।। १२ ।।
नेपाली
भावानुवाद: हे भरतवंशी परीक्षित! विवस्वान्का
पुत्रका रूपमा उनकी पत्नी संज्ञाबाट श्राद्धदेव मनुको जन्म भयो। ती संयमी मनुले
आफ्नी पत्नी श्रद्धाको गर्भबाट दश पुत्रहरू उत्पन्न गरे, जसका नाम– इक्ष्वाकु,
नृग, शर्याति, दिष्ट,
धृष्ट, करूषक, नरिष्यन्त,
पृषध्र, नभग र कवि हुन् ।। ११–१२ ।।
अप्रजस्य
मनोः पूर्वं वसिष्ठो भगवान् किल ।
मित्रावरुणयोरिष्टिं
प्रजार्थमकरोत् विभुः ।। १३ ।।
नेपाली
भावानुवाद: वैवस्वत मनु सुरुमा सन्तानहीन थिए।
त्यस समय समर्थ भगवान् वसिष्ठले सन्तान प्राप्तिका निमित्त मनुका तर्फबाट
मित्रावरुणको 'इष्टि' (यज्ञ) गराउनुभयो ।। १३ ।।
तत्र
श्रद्धा मनोः पत्नी होतारं समयाचत ।
दुहित्रर्थमुपागम्य
प्रणिपत्य पयोव्रता ।। १४ ।।
नेपाली
भावानुवाद: त्यस यज्ञमा पयोव्रत (दूध मात्र पिएर
बस्ने व्रत) लिएकी मनुकी पत्नी श्रद्धाले 'होता' (मन्त्र पढ्ने ब्राह्मण) कहाँ गएर विनम्र
प्रणाम गर्दै आफूलाई छोरी प्राप्त होस् भनी अनुरोध गरिन् ।। १४ ।।
प्रेषितोऽध्वर्युणा
होता ध्यायंस्तत् सुसमाहितः ।
हविषि
व्यचरत् तेन वषट्कारं गृणन्द्विजः ।। १५ ।।
नेपाली
भावानुवाद: त्यसपछि अध्वर्युद्वारा प्रेरित ती
होताले श्रद्धाको अनुरोधलाई मनमा राख्दै एकाग्र भएर 'वषट्कार' उच्चारण गर्दै
यज्ञमा आहुति अर्पण गरे ।। १५ ।।
होतुस्तद्व्यभिचारेण
कन्येला नाम साभवत् ।
तां
विलोक्य मनुः प्राह नाति हृष्टमना गुरुम् ।। १६ ।।
नेपाली
भावानुवाद: होताको सङ्कल्पमा त्रुटि (विपरित
भावना) भएका कारण पुत्रको सट्टा 'इला' नामकी कन्याको जन्म भयो। कन्या जन्मिएको देखेर
मनु प्रसन्न भएनन् र उनले आफ्ना गुरु वसिष्ठजीलाई भने ।। १६ ।।
भगवन्
किमिदं जातं कर्म वो ब्रह्मवादिनाम् ।
विपर्ययमहो
कष्टं मैवं स्याद् ब्रह्मविक्रिया ।। १७ ।।
नेपाली
भावानुवाद: हे भगवन्! तपाईंहरू जस्ता
ब्रह्मवादीहरूको कर्ममा यो कस्तो उल्टो परिणाम निस्कियो? यो त निकै कष्टको कुरा भयो। ब्रह्मवेत्ताहरूको
मन्त्रशक्तिमा कहिल्यै विकार (त्रुटि) हुनु नपर्ने हो ।। १७ ।।
यूयं
मन्त्रविदो युक्तास्तपसा दग्धकिल्बिषाः ।
कुतः
संकल्पवैषम्यमनृतं विबुधेष्विव ।। १८ ।।
नेपाली
भावानुवाद: तपाईंहरू मन्त्रका ज्ञाता, योगयुक्त र तपस्याद्वारा पाप पखालेका महापुरुष
हुनुहुन्छ। यस्तो अवस्थामा देवताहरूको जस्तै तपाईंहरूको सङ्कल्पमा यो असत्यता वा
विषमता कसरी आयो? ।। १८ ।।
तन्निशम्य
वचस्तस्य भगवान् प्रपितामहः ।
होतुर्व्यतिक्रमं
ज्ञात्वा बभाषे रविनन्दनम् ।। १९ ।।
नेपाली
भावानुवाद: राजा परीक्षित! हाम्रा प्रपितामह
वसिष्ठजीले मनुको यो वचन सुनेपछि ध्यानद्वारा थाहा पाउनुभयो कि 'होता' ले मन्त्रको
सङ्कल्प उल्टो गरेका कारण यस्तो भएको हो। अनि उहाँले सूर्यपुत्र मनुलाई भन्नुभयो
।। १९ ।।
एतत्
संकल्पवैषम्यं होतुस्ते व्यभिचारतः ।
तथापि
साधयिष्ये ते सुप्रजास्त्वं स्वतेजसा ।। २० ।।
नेपाली
भावानुवाद: यो सङ्कल्पमा भएको विषमता तिम्रो
यज्ञ गराउने होताको विपरित चाहनाका कारण भएको हो। तैपनि म आफ्नो तपस्याको प्रभावले
तिमीलाई उत्तम सन्तानको फल दिलाउनेछु ।। २० ।।
एवं
व्यवसितो राजन् भगवान् स महायशाः ।
अस्तौषीदादिपुरुषमिलायाः
पुंस्त्वकाम्यया ।। २१ ।।
नेपाली
भावानुवाद: हे राजन्! यस्तो निश्चय गरेर परम
यशस्वी भगवान् वसिष्ठले ती इला नामकी कन्यालाई पुरुष बनाउनका लागि आदिपुरुष भगवान्
नारायणको स्तुति गर्नुभयो ।। २१ ।।
तस्मै
कामवरं तुष्टो भगवान् हरिरीश्वरः ।
ददाविलाभवत्
तेन सुद्युम्नः पुरुषर्षभः ।। २२ ।।
नेपाली
भावानुवाद: वसिष्ठको स्तुतिबाट प्रसन्न भएर भगवान्
श्रीहरिले उनले मागेबमोजिमकै वरदान दिनुभयो। जसका कारण ती कन्या 'सुद्युम्न' नामका उत्तम
पुरुष बनिन् ।। २२ ।।
स
एकदा महाराज विचरन् मृगयां वने ।
वृतः
कतिपयामात्यैरश्वमारुह्य सैन्धवम् ।। २३ ।।
नेपाली
भावानुवाद: हे महाराज! एक पटक राजा सुद्युम्न
केही मन्त्रीहरूका साथमा सिन्धु देशको घोडामा चढेर सिकारका लागि वनमा गएका थिए ।।
२३ ।।
प्रगृह्य
रुचिरं चापं शरांश्च परमाद्भुतान् ।
दंशितोऽनुमृगं
वीरो जगाम दिशमुत्तराम् ।। २४ ।।
नेपाली
भावानुवाद: कवच धारण गरेका ती वीर सुद्युम्न
हातमा सुन्दर धनुष र अद्भुत वाण लिएर मृगलाई पछ्याउँदै उत्तर दिशाको निकै टाढासम्म
पुगे ।। २४ ।।
स
कुमारो वनं मेरोरधस्तात् प्रविवेश ह ।
यत्रास्ते
भगवाञ्छर्वो रममाणः सहोमया ।। २५ ।।
नेपाली
भावानुवाद: ती राजकुमार सुद्युम्न हिमालय (मेरु)
को फेदमा रहेको त्यस वनमा प्रवेश गरे,
जहाँ भगवान् शङ्कर पार्वतीसँग विहार गरिरहनुभएको थियो ।। २५ ।।
तस्मिन्
प्रविष्ट एवासौ सुद्युम्नः परवीरहा ।
अपश्यत्
स्त्रियमात्मानं अश्वं च वडवां नृप ।। २६ ।।
नेपाली
भावानुवाद: हे राजन्! त्यस वनमा पस्नेबित्तिकै
शत्रुको नाश गर्ने सुद्युम्नले आफू स्त्री भएको र आफ्नो घोडा पनि घोडी बनेको देखे
।। २६ ।।
तथा
तदनुगाः सर्वे आत्मलिङ्गविपर्ययम् ।
दृष्ट्वा
विमनसोऽभूवन् वीक्षमाणाः परस्परम् ।। २७ ।।
नेपाली
भावानुवाद: परीक्षित! उनीसँगै गएका सबै साथीहरू
पनि नारीमा परिवर्तन भए। सबैले एक–अर्कालाई हेरेर अचम्मित भए र यो अवस्था देखेर उनीहरू निकै दुखी र उदास भए
।। २७ ।।
श्रीराजोवाच– कथमेवंगुणो देशः
केन वा भगवन् कृतः ।
प्रश्नमेनं
समाचक्ष्व परं कौतूहलं हि नः ।। २८ ।।
नेपाली
भावानुवाद: राजा परीक्षितले सोधे– हे प्रभु! त्यस स्थानमा यस्तो अनौठो गुण कसरी
आयो? कसले यो मर्यादा बनाएको हो? कृपया
मेरो यो प्रश्नको समाधान गरिदिनुहोस्, किनकि मलाई यो सुन्न
निकै कौतूहल भइरहेको छ ।। २८ ।।
श्रीशुक
उवाच–
एकदा
गिरिशं द्रष्टुमृषयस्तत्र सुव्रताः ।
दिशो
वितिमिराभासाः कुर्वन्तः समुपागमन् ।। २९ ।।
नेपाली
भावानुवाद: श्रीशुकदेवजीले भन्नुभयो– हे परीक्षित! एक पटक महान् व्रत धारण गरेका
ऋषिहरू आफ्नो तेजले दिशाको अन्धकार हटाउँदै भगवान् शङ्करको दर्शन गर्न त्यस वनमा
गएका थिए ।। २९ ।।
तान्
विलोक्याम्बिका देवी विवासा व्रीडिता भृशम् ।
भर्तुरङ्गात्
समुत्थाय नीवीमाश्वथ पर्यधात् ।। ३० ।।
नेपाली
भावानुवाद: त्यस समय अम्बिकादेवी (पार्वती)
विवस्त्र थिइन्। ऋषिहरूको अचानक आगमन देखेर उनी अत्यन्तै लज्जित भइन्। उनले
तुरुन्तै भगवान् शङ्करको काखबाट उठेर वस्त्र धारण गरिन् ।। ३० ।।
ऋषयोऽपि
तयोर्वीक्ष्य प्रसङ्गं रममाणयोः ।
निवृत्ताः
प्रययुस्तस्मान्नरनारायणाश्रमम् ।। ३१ ।।
नेपाली
भावानुवाद: ऋषिहरूले पनि भगवान् गौरीशङ्करको
एकान्त विहारमा बाधा पुगेको अनुभव गरेर तुरुन्तै त्यहाँबाट फर्केर नरनारायणको
आश्रमतिर लागे ।। ३१ ।।
तदिदं
भगवानाह प्रियायाः प्रियकाम्यया ।
स्थानं
यः प्रविशेदेतत् स वै योषिद् भवेदिति ।। ३२ ।।
नेपाली
भावानुवाद: त्यसपछि भगवान् शङ्करले आफ्नी
प्रियतमा पार्वतीलाई प्रसन्न पार्नका लागि घोषणा गर्नुभयो– "आजदेखि जो पुरुष यस वनमा प्रवेश गर्नेछ,
उ स्त्री बन्नेछ" ।। ३२ ।।
तत
ऊर्ध्वं वनं तद् वै पुरुषा वर्जयन्ति हि ।
सा
चानुचरसंयुक्ता विचचार वनाद् वनम् ।। ३३ ।।
नेपाली
भावानुवाद: त्यसै समयदेखि पुरुषहरूले त्यो वनमा
जान छोडेका थिए। अब स्त्री बनेका सुद्युम्न आफ्ना स्त्री नै बनेका अनुचरहरूसँग एक
वनबाट अर्को वनमा घुम्न थाले ।। ३३ ।।
अथ
तामाश्रमाभ्याशे चरन्तीं प्रमदोत्तमाम् ।
स्त्रीभिः
परिवृतां वीक्ष्य चकमे भगवान् बुधः ।। ३४ ।।
नेपाली
भावानुवाद: यसरी आश्रमको वरिपरि घुमिरहेकी ती
सुन्दरी स्त्रीलाई देखेर चन्द्रमाका छोरा बुधले उनीप्रति मोहित भई उनलाई प्राप्त
गर्ने इच्छा गरे ।। ३४ ।।
सापि
तं चकमे सुभ्रूः सोमराजसुतं पतिम् ।
स
तस्यां जनयामास पुरूरवसमात्मजम् ।। ३५ ।।
नेपाली
भावानुवाद: ती सुन्दरी सुद्युम्नले पनि
चन्द्रपुत्र बुधलाई पतिको रूपमा रोजिन्। यसरी बुधबाट ती स्त्री (सुद्युम्न) को
गर्भबाट पुरूरवा नामका पुत्रको जन्म भयो ।। ३५ ।।
एवं
स्त्रीत्वमनुप्राप्तः सुद्युम्नो मानवो नृपः ।
सस्मार
स कुलाचार्यं वसिष्ठमिति शुश्रुम ।। ३६ ।।
नेपाली
भावानुवाद: यसरी स्त्रीत्व प्राप्त गरेका
मनुपुत्र राजा सुद्युम्नले त्यस कठिन अवस्थामा आफ्ना कुलगुरु वसिष्ठजीको स्मरण गरे
।। ३६ ।।
स
तस्य तां दशां दृष्ट्वा कृपया भृशपीडितः ।
सुद्युम्नस्याशयन्
पुंस्त्वमुपाधावत शंकरम् ।। ३७ ।।
नेपाली
भावानुवाद: सुद्युम्नको यस्तो दयनीय अवस्था
देखेर वसिष्ठजीको हृदयमा दया जाग्यो। उनलाई पुनः पुरुष बनाउने उद्देश्यले गुरु
वसिष्ठले भगवान् शङ्करको शरण लिए ।। ३७ ।।
तुष्टस्तस्मै
स भगवानृषये प्रियमावहन् ।
स्वां
च वाचमृतां कुर्वनिदमाह विशाम्पते ।। ३८ ।।
नेपाली
भावानुवाद: हे प्रजापालक परीक्षित! वसिष्ठको
प्रार्थनाबाट प्रसन्न भई भगवान् शङ्करले उनको इच्छा पूरा गर्न र आफ्नो वचन पनि
झुटो नहोस् भन्नका लागि यस्तो भन्नुभयो ।। ३८
।।
मासं
पुमान् स भविता मासं स्त्री तव गोत्रजः ।
इत्थं
व्यवस्थया कामं सुद्युम्नोऽवतु मेदिनीम् ।। ३९ ।।
नेपाली
भावानुवाद: हे वसिष्ठ! तिम्रो यो यजमान
सुद्युम्न एक महिना पुरुष र अर्को महिना स्त्री भएर रहनेछ। यसै व्यवस्था अनुसार
उसले इच्छापूर्वक पृथ्वीको शासन गर्न सक्छ ।। ३९ ।।
आचार्यानुग्रहात्
कामं लब्ध्वा पुंस्त्वं व्यवस्थया ।
पालयामास
जगतीं नाभ्यनन्दन् स्म तं प्रजाः ।। ४० ।।
नेपाली
भावानुवाद: गुरुको अनुग्रहले यसरी आलोपालो गरी
पुरुषत्व प्राप्त गरेर सुद्युम्नले राज्य सञ्चालन त गरे, तर एक महिना स्त्री बनेर गुप्त रहनुपर्ने
भएकाले प्रजाले उनलाई राजाका रूपमा पूर्ण रूपमा स्वीकार गर्न सकेनन् ।। ४० ।।
तस्योत्कलो
गयो राजन् विमलश्च सुतास्त्रयः ।
दक्षिणापथराजानो
बभूवुर्धर्मवत्सलाः ।। ४१ ।।
नेपाली
भावानुवाद: हे राजन्! सुद्युम्नका उत्कल, गय र विमल नामका तीन धर्मपरायण पुत्रहरू भए,
जो पछि दक्षिण भारतका राजा बने ।। ४१ ।।
ततः
परिणते काले प्रतिष्ठानपतिः प्रभुः ।
पुरूरवस
उत्सृज्य गां पुत्राय गतो वनम् ।। ४२ ।।
नेपाली
भावानुवाद: धेरै समयपछि वृद्धावस्था आएपछि
प्रतिष्ठानपुरका राजा सुद्युम्नले आफ्नो राज्य स्त्रीकालमा जन्मेका जेठा छोरा
पुरूरवालाई सुम्पेर स्वयं तपस्याका लागि वनतर्फ प्रस्थान गरे ।। ४२ ।।
इति
श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
नवमस्कन्धे प्रथमोऽध्यायः ।। १ ।।
No comments:
Post a Comment