श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः – एकोनत्रिंशोऽध्यायः
प्राचीनबर्हिरुवाच –
भगवंस्ते वचोऽस्माभिः न सम्यक् अवगम्यते ।
कवयस्तद्विजानन्ति न वयं कर्ममोहिताः ॥ १ ॥
नेपाली भावानुवादः राजा प्राचीनबर्हि भन्नुहुन्छ— "हे भगवन्! मेरो बुझाइमा हजुरका वचनहरूको अभिप्राय पूर्ण रूपमा स्पष्ट हुन सकेन। विवेकी पुरुषले मात्र यसको तात्पर्य बुझ्न सक्छन्, हामी कर्ममा मोहित जीवहरूले सक्दैनौँ" ।।१।।
नारद उवाच –
पुरुषं पुरञ्जनं विद्याद् यद् व्यनक्त्यात्मनः पुरम् ।
एक द्वि त्रि चतुष्पादं बहुपादमपादकम् ॥ २ ॥
नेपाली भावानुवादः नारदजीले भन्नुभयो— "हे राजन्! पुरञ्जन र नगरको निर्माता जीव हो भनेर बुझ्नुहोस्। जसले आफ्ना लागि एक, दुई, तीन, चार वा धेरै खुट्टा भएका अथवा खुट्टा नै नभएका विभिन्न शरीर रूपी नगरहरू तयार पार्दछ" ।।२।।
योऽविज्ञाताहृतस्तस्य पुरुषस्य सखेश्वरः ।
यन्न विज्ञायते पुम्भिः नामभिर्वा क्रियागुणैः ॥ ३ ॥
नेपाली भावानुवादः "त्यस जीवको साथी, जसलाई 'अविज्ञात' भनिएको छ, उनी साक्षात् ईश्वर हुन्। किनकि मानिसले कुनै पनि नाम, रूप वा क्रियाद्वारा उहाँको वास्तविक स्वरूप थाहा पाउन सक्दैनन्" ।।३।।
यदा जिघृक्षन् पुरुषः कार्त्स्न्येन प्रकृतेर्गुणान् ।
नवद्वारं द्विहस्ताङ्घ्रि तत्रामनुत साध्विति ॥ ४ ॥
नेपाली भावानुवादः "जब जीवमा प्रकृतिका सुख–दुःख आदि गुणहरू भोग्ने इच्छा हुन्छ, तब उसले नौवटा ढोका, दुई हात र दुई खुट्टा भएको मानव शरीरलाई नै सबैभन्दा उत्तम मान्दछ" ।।४।।
बुद्धिं तु प्रमदां विद्यान् ममाहमिति यत्कृतम् ।
यामधिष्ठाय देहेऽस्मिन् पुमान् भुङ्क्तेऽक्षभिर्गुणान् ॥ ५ ॥
नेपाली भावानुवादः "बुद्धि वा अविद्यालाई नै तिमी पुरञ्जनी नामकी स्त्री सम्झ। यसैका कारण देह र इन्द्रियहरूमा 'म र मेरो' भन्ने भाव उत्पन्न हुन्छ र पुरुष यसैको आश्रय लिएर इन्द्रियहरूद्वारा विषयको भोग गर्दछ" ।।५।।
सखाय इन्द्रियगणा ज्ञानं कर्म च यत्कृतम् ।
सख्यस्तद्वृत्तयः प्राणः पञ्चवृत्तिर्यथोरगः ॥ ६ ॥
नेपाली भावानुवादः "दशवटा इन्द्रियहरू नै उसका साथी हुन्, जसबाट ज्ञान र कर्म सम्भव हुन्छ। इन्द्रियका वृत्तिहरू उसका सखी हुन् र पाँच वृत्ति भएको प्राण वायु नै नगरको रक्षा गर्ने पाँच फणा भएको सर्प हो" ।।६।।
बृहद्बलं मनो विद्याद् उभयेन्द्रियनायकम् ।
पञ्चालाः पञ्च विषया यन्मध्ये नवखं पुरम् ॥ ७ ॥
नेपाली भावानुवादः "दुवै प्रकारका इन्द्रियहरूको नायक मनलाई एघारौँ महाबली योद्धा भनेर जान्नुपर्दछ। शब्द आदि पाँच विषय नै पाञ्चाल देश हुन्, जसको बीचमा त्यो नौवटा ढोका भएको नगर (शरीर) अवस्थित छ" ।।७।।
अक्षिणी नासिके कर्णौ मुखं शिश्नगुदौ इति ।
द्वे द्वे द्वारौ बहिर्याति यस्तद् इन्द्रियसंयुतः ॥ ८ ॥
नेपाली भावानुवादः "त्यस नगरमा दुई नेत्र, दुई नाकका प्वाल र दुई कानका प्वाल गरी ६ ढोका तथा मुख, लिङ्ग र गुदा गरी कुल ९ ढोका छन्। यसैमा रहेर जीव इन्द्रियहरूको सहायताले बाह्य विषयहरूलाई जान्दछ" ।।८।।
अक्षिणी नासिके आस्यं इति पञ्च पुरः कृताः ।
दक्षिणा दक्षिणः कर्ण उत्तरा चोत्तरः स्मृतः ॥ ९ ॥
पश्चिमे इत्यधो द्वारौ गुदं शिश्नमिहोच्यते ।
खद्योताऽऽविर्मुखी चात्र नेत्रे एकत्र निर्मिते ।
रूपं विभ्राजितं ताभ्यां विचष्टे चक्षुषेश्वरः ॥ १० ॥
नेपाली भावानुवादः "पाँचवटा ढोका पूर्व दिशामा छन्। दाहिने कान दक्षिणको र देब्रे कान उत्तरको ढोका हो। गुदा र लिङ्ग तलका दुई पश्चिमका ढोका हुन्। खद्योता र आविर्मुखी नामका दुई ढोका आँखा हुन्, जसबाट जीवले 'विभ्राजित' (रूप) को अनुभव गर्दछ" ।।९–१०।।
नलिनी नालिनी नासे गन्धः सौरभ उच्यते ।
घ्राणोऽवधूतो मुख्यास्यं विपणो वाग् रसविद्रसः ॥ ११ ॥
नेपाली भावानुवादः "नाकका दुई प्वाल नलिनी र नालिनी नामका ढोका हुन् र गन्ध 'सौरभ' देश हो। घ्राणेन्द्रिय 'अवधूत' नामको साथी हो। मुख 'मुख्या' नामको ढोका हो, जसमा रहने वाक्शक्ति 'विपण' हो र स्वाद लिने रसना 'रसज्ञ' नामको साथी हो" ।।११।।
आपणो व्यवहारोऽत्र चित्रमन्धो बहूदनम् ।
पितृहूर्दक्षिणः कर्ण उत्तरो देवहूः स्मृतः ॥ १२ ॥
नेपाली भावानुवादः "बोलचालको व्यवहार 'आपण' देश हो भने विभिन्न अन्नहरू 'बहुदन' देश हुन्। दाहिने कानलाई 'पितृहू' र देब्रे कानलाई 'देवहू' भनिएको हो" ।।१२।।
प्रवृत्तं च निवृत्तं च शास्त्रं पञ्चालसंज्ञितम् ।
पितृयानं देवयानं श्रोत्रात् श्रुतधराद्व्रजेत् ॥ १३ ॥
नेपाली भावानुवादः "प्रवृत्ति र निवृत्ति मार्गका शास्त्रहरू पाञ्चाल देश हुन्। श्रवणेन्द्रिय रूपी 'श्रुतधर' साथीको सहायताले जीव पितृयान र देवयान मार्गमा जान्छ" ।।१३।।
आसुरी मेढ्रमर्वाग्द्वाः व्यवायो ग्रामिणां रतिः ।
उपस्थो दुर्मदः प्रोक्तो निर्ऋतिर्गुद उच्यते ॥ १४ ॥
नेपाली भावानुवादः "लिङ्ग 'आसुरी' नामको पश्चिमको ढोका हो र स्त्री प्रसंग 'ग्रामक' देश हो। उपस्थेन्द्रिय 'दुर्मद' साथी हो भने गुदा 'निर्ऋति' नामको पश्चिम ढोका हो" ।।१४।।
वैशसं नरकं पायुः लुब्धकोऽन्धौ तु मे शृणु ।
हस्तपादौ पुमांस्ताभ्यां युक्तो याति करोति च ॥ १५ ॥
नेपाली भावानुवादः "नरक 'वैशस' देश हो र गुदामा रहने पायु इन्द्रिय 'लुब्धक' साथी हो। दुई अन्धा भनिएका हात र खुट्टा हुन्, जसको सहायताले जीव हिँडडुल र काम गर्दछ" ।।१५।।
अन्तःपुरं च हृदयं विषूचिर्मन उच्यते ।
तत्र मोहं प्रसादं वा हर्षं प्राप्नोति तद्गुणैः ॥ १६ ॥
नेपाली भावानुवादः "हृदय अन्तःपुर हो र त्यहाँ बस्ने मन नै 'विषूचि' नामको प्रधान सेवक हो। मनका गुणहरूका कारण जीवले प्रसन्नता, हर्ष वा मोह प्राप्त गर्दछ" ।।१६।।
यथा यथा विक्रियते गुणाक्तो विकरोति वा ।
तथा तथोपद्रष्टात्मा तद्वृत्तीरनुकार्यते ॥ १७ ॥
नेपाली भावानुवादः "बुद्धि रूपी पुरञ्जनी जसरी स्वप्न वा जागृत अवस्थामा विकृत हुन्छिन्, गुणले लिप्त भएको आत्मा (जीव) पनि त्यसकै अनुकरण गर्न बाध्य हुन्छ। वास्तवमा आत्मा त निर्विकार साक्षी मात्र हो" ।।१७।।
देहो रथस्त्विन्द्रियाश्वः संवत्सररयोऽगतिः ।
द्विकर्मचक्रस्त्रिगुण ध्वजः पञ्चासुबन्धुरः ॥ १८ ॥
नेपाली भावानुवादः "यो शरीर नै रथ हो, जसमा पाँच ज्ञानेन्द्रिय रूपी घोडाहरू जोतिएका छन्। संवत्सरको गति नै रथको वेग हो। पुण्य र पाप दुईवटा पाङ्ग्रा हुन्, तीन गुण ध्वजा हुन् र पाँच प्राण डोरी हुन्" ।।१८।।
मनोरश्मिर्बुद्धिसूतो हृन्नीडो द्वन्द्वकूबरः ।
पञ्चेन्द्रियार्थप्रक्षेपः सप्तधातुवरूथकः ॥ १९ ॥
नेपाली भावानुवादः "मन लगाम हो, बुद्धि सारथी हो र हृदय बस्ने स्थान हो। सुख–दुःखका द्वन्द्वहरू जुवा हुन्। पाँच विषय शस्त्र हुन् र सात धातुहरू यस रथको आवरण हुन्" ।।१९।।
आकूतिर्विक्रमो बाह्यो मृगतृष्णां प्रधावति ।
एकादशेन्द्रियचमूः पञ्चसूनाविनोदकृत् ॥ २० ॥
नेपाली भावानुवादः "पाँच कर्मेन्द्रिय यसको गति हो। यो जीव मृगतृष्णा झैँ मिथ्या विषयतिर दौडिन्छ। एघार इन्द्रिय सेना हुन् र पाँच ज्ञानेन्द्रियद्वारा विषय भोग गर्नु नै सिकार खेल्नु हो" ।।२०।।
संवत्सरश्चण्डवेगः कालो येनोपलक्षितः ।
तस्याहानीह गन्धर्वा गन्धर्व्यो रात्रयः स्मृताः । हरन्त्यायुः परिक्रान्त्या षष्ट्युत्तरशतत्रयम् ॥ २१ ॥
नेपाली भावानुवादः "संवत्सर नै 'चण्डवेग' नामको गन्धर्वराज हो। ३६० गन्धर्व र गन्धर्वीहरू दिन र रात हुन्, जसले घुमिफिरी मानिसको आयु हरण गरिरहन्छन्" ।।२१।।
कालकन्या जरा साक्षात् लोकस्तां नाभिनन्दति ।
स्वसारं जगृहे मृत्युः क्षयाय यवनेश्वरः ॥ २२ ॥
नेपाली भावानुवादः "बुढ्यौली नै साक्षात् कालकन्या हो, जसलाई कसैले मन पराउँदैनन्। मृत्यु रूपी यवनराजले जगत्को संहारका लागि उनलाई बहिनीको रूपमा स्वीकार गरेका हुन्" ।।२२।।
आधयो व्याधयस्तस्य सैनिका यवनाश्चराः ।
भूतोपसर्गाशुरयः प्रज्वारो द्विविधो ज्वरः ॥ २३ ॥
नेपाली भावानुवादः "आधि र व्याधि यवनराजका सैनिक हुन्। प्राणीलाई पीडा दिएर मृत्युतर्फ लैजाने शीत र ताप दुई प्रकारका 'प्रज्वार' उसका भाइहरू हुन्" ।।२३।।
एवं बहुविधैर्दुःखैः दैवभूतात्मसम्भवैः ।
क्लिश्यमानः शतं वर्षं देहे देही तमोवृतः ॥ २४ ॥
नेपाली भावानुवादः "यसरी देहाभिमानी जीव अज्ञानले ढाकिएर त्रिविध ताप भोग्दै यस शरीरमा सय वर्षसम्म रहन्छ" ।।२४।।
प्राणेन्द्रियमनोधर्मान् आत्मन्यध्यस्य निर्गुणः ।
शेते कामलवान्ध्यायन् ममाहं इति कर्मकृत् ॥ २५ ॥
नेपाली भावानुवादः "वस्तुतः आत्मा निर्गुण छ, तर प्राण र मनका धर्मलाई आफूमा आरोपित गरी 'म र मेरो' भन्ने अहङ्कारले बाँधिएर विषय चिन्तन गर्दै अनेक कर्म गर्दछ" ।।२५।।
यद् आत्मानं अविज्ञाय भगवन्तं परं गुरुम् ।
पुरुषस्तु विषज्जेत गुणेषु प्रकृतेः स्वदृक् ॥ २६ ॥
नेपाली भावानुवादः "जीव स्वयं प्रकाश स्वरूप भए पनि जबसम्म परमगुरु परमात्मालाई जान्दैन, तबसम्म प्रकृतिका गुणहरूमा अल्झिरहन्छ" ।।२६।।
गुणाभिमानी स तदा कर्माणि कुरुतेऽवशः ।
शुक्लं कृष्णं लोहितं वा यथाकर्माभिजायते ॥ २७ ॥
नेपाली भावानुवादः "गुणको अभिमानी हुनाले जीव विवश भई सात्त्विक, राजस र तामस कर्म गर्दछ र सोही अनुसार विभिन्न योनिमा जन्म लिन्छ" ।।२७।।
शुक्लात् प्रकाशभूयिष्ठान् लोकान् आप्नोति कर्हिचित् ।
दुःखोदर्कान् क्रियायासान् तमःशोकोत्कटान् क्वचित् ॥ २८ ॥
नेपाली भावानुवादः "सात्त्विक कर्मले स्वर्ग, राजस कर्मले दुःखमय मनुष्य लोक र तामस कर्मले शोकपूर्ण तमोमयी योनि प्राप्त हुन्छ" ।।२८।।
क्वचित् पुमान् क्वचिच्च स्त्री क्वचिद् नोभयमन्धधीः ।
देवो मनुष्यस्तिर्यग्वा यथाकर्मगुणं भवः ॥ २९ ॥
नेपाली भावानुवादः "आफ्नो कर्म र गुण अनुसार जीव कहिले पुरुष, कहिले स्त्री र कहिले नपुंसक भएर देव, मनुष्य वा पशु–पक्षीका रूपमा जन्मन्छ" ।।२९।।
क्षुत्परीतो यथा दीनः सारमेयो गृहं गृहम् ।
चरन्विन्दति यद्दिष्टं दण्डमोदनमेव वा ॥ ३० ॥
तथा कामाशयो जीव उच्चावचपथा भ्रमन् ।
उपर्यधो वा मध्ये वा याति दिष्टं प्रियाप्रियम् ॥ ३१ ॥
नेपाली भावानुवादः "भोकले व्याकुल कुकुर प्रारब्ध अनुसार कहिले डन्डा र कहिले भात पाएझैँ, वासनाले भरिएको जीव पनि कर्म अनुसार सुख र दुःख भोग्दै तीनै लोकमा भड्किरहन्छ" ।।३०–३१।।
दुःखेष्वेकतरेणापि दैवभूतात्महेतुषु ।
जीवस्य न व्यवच्छेदः स्यात् चेत् तत्तत् प्रतिक्रिया ॥ ३२ ॥
नेपाली भावानुवादः "त्रिविध तापमध्ये कुनै न कुनै एउटाले जीवलाई सधैँ सताइरहन्छ; एउटा दुःखको निवारण अर्को दुःखको सुरुवात मात्र हुन सक्छ" ।।३२।।
यथा हि पुरुषो भारं शिरसा गुरुमुद्वहन् ।
तं स्कन्धेन स आधत्ते तथा सर्वाः प्रतिक्रियाः ॥ ३३ ॥
नेपाली भावानुवादः "जसरी टाउकोको भारी काँधमा सार्दैमा भारीको बोझ कम हुँदैन, त्यसैगरी संसारका दुःख निवारणका उपायहरूले दुःखलाई पूर्ण रूपमा नष्ट गर्न सक्दैनन्" ।।३३।।
नैकान्ततः प्रतीकारः कर्मणां कर्म केवलम् ।
द्वयं ह्यविद्योपसृतं स्वप्ने स्वप्न इवानघ ॥ ३४ ॥
नेपाली भावानुवादः "हे निष्पाप राजन्! सपनामा देखिने अर्को सपनाले सपनाबाट जगाउन नसकेझैँ, अविद्यापूर्ण कर्मले कर्मबन्धनबाट मुक्ति मिल्न सक्दैन" ।।३४।।
अर्थे हि अविद्यमानेऽपि संसृतिर्न निवर्तते ।
मनसा लिङ्गरूपेण स्वप्ने विचरतो यथा ॥ ३५ ॥
नेपाली भावानुवादः "जसरी सपनाका पदार्थहरू नभए पनि सत्यझैँ लाग्छन्, त्यसरी नै जबसम्म आत्मज्ञान हुँदैन, तबसम्म यो असत्य संसारको निवृत्ति हुँदैन" ।।३५।।
अथात्मनोऽर्थभूतस्य यतोऽनर्थपरंपरा ।
संसृतिस्तद्व्यवच्छेदो भक्त्या परमया गुरौ ॥ ३६ ॥
नेपाली भावानुवादः "अविद्याका कारण प्राप्त यो जन्म–मरणको चक्रलाई केवल श्रीहरिको सुदृढ भक्तिले मात्र तोड्न सकिन्छ" ।।३६।।
वासुदेवे भगवति भक्तियोगः समाहितः ।
सध्रीचीनेन वैराग्यं ज्ञानं च जनयिष्यति ॥ ३७ ॥
नेपाली भावानुवादः "भगवान् वासुदेवमा गरिएको एकाग्र भक्तिले स्वतः ज्ञान र वैराग्य उत्पन्न गराउँदछ" ।।३७।।
सोऽचिराद् एव राजर्षे स्याद् अच्युतकथाश्रयः ।
श्रृण्वतः श्रद्दधानस्य नित्यदा स्यादधीयतः ॥ ३८ ॥
नेपाली भावानुवादः "हे राजर्षे! जसले श्रद्धापूर्वक सधैँ भगवान्का कथाहरू सुन्दछ वा पढ्दछ, उसले चाँडै नै भक्ति प्राप्त गर्दछ" ।।३८।।
यत्र भागवता राजन्साधवो विशदाशयाः ।
भगवद्गुणानुकथन श्रवणव्यग्रचेतसः ॥ ३९ ॥
नेपाली भावानुवाद: जहाँ शुद्ध हृदय भएका साधु र भक्तहरू निवास गर्दछन्, उनीहरूका चित्त सधैँ भगवान्का गुणहरूको चर्चा गर्न र सुन्नका लागि अत्यन्त उत्सुक र तल्लीन रहन्छन्॥ ३९ ॥
पीयूषशेषसरितः परितः स्रवन्ति ।
ता ये पिबन्त्यवितृषो नृप गाढकर्णैः
तान्न स्पृशन्त्यशनतृड्भयशोकमोहाः ॥ ४० ॥
नेपाली भावानुवाद: हे राजन्! त्यस्ता महात्माहरूको मुखबाट प्रवाहित हुने भगवान् मधुसूदनका चरित्ररूपी अमृतका नदीहरू चारैतिर बगिरहन्छन्। जसले कहिल्यै तृप्त नभई एकाग्रचित्त र श्रद्धाका साथ ती कथामृतको पान गर्दछन्, उनीहरूलाई भोक, तिर्खा, डर, शोक र मोहजस्ता सांसारिक कष्टहरूले कहिल्यै स्पर्श गर्न सक्दैनन्॥ ४० ॥
न करोति हरेर्नूनं कथामृतनिधौ रतिम् ॥ ४१ ॥
नेपाली भावानुवादः "अहो! दुःखले घेरिएका जीवहरू श्रीहरिको कथामृत रूपी सिन्धुमा प्रेम गर्दैनन्, यो निकै दुःखको कुरा हो" ।।४१।।
प्रजापतिपतिः साक्षाद् भगवान् गिरिशो मनुः ।
दक्षादयः प्रजाध्यक्षा नैष्ठिकाः सनकादयः ॥ ४२ ॥
मरीचिः अत्रि अङ्गिरसौ पुलस्त्यः पुलहः क्रतुः ।
भृगुर्वसिष्ठ इत्येते मदन्ता ब्रह्मवादिनः ॥ ४३ ॥
अद्यापि वाचस्पतयः तपोविद्यासमाधिभिः ।
पश्यन्तोऽपि न पश्यन्ति पश्यन्तं परमेश्वरम् ॥ ४४ ॥
नेपाली भावानुवादः "ब्रह्मा, शिव, मनु र हामी जस्ता ऋषिहरूले पनि तप र समाधिद्वारा खोज्दा समेत सर्वसाक्षी परमेश्वरको पूर्ण स्वरूप थाहा पाउन सकेका छैनौँ" ।।४२–४४।।
शब्दब्रह्मणि दुष्पारे चरन्त उरुविस्तरे ।
मन्त्रलिङ्गैः व्यवच्छिन्नं भजन्तो न विदुः परम् ॥ ४५ ॥
नेपाली भावानुवादः "वेदको विस्तारमा अल्झिएर मानिसहरू विभिन्न देवताको पूजा गर्छन्, तर परमात्माको वास्तविक स्वरूप बुझ्दैनन्" ।।४५।।
यदा यस्य अनुगृह्णाति भगवान् आत्मभावितः ।
स जहाति मतिं लोके वेदे च परिनिष्ठिताम् ॥ ४६ ॥
नेपाली भावानुवादः "जब भगवान्ले कृपा गर्नुहुन्छ, तब मात्र जीवले लौकिक र वैदिक कर्ममार्गको आसक्तिबाट छुटकारा पाउँदछ" ।।४६।।
तस्मात्कर्मसु बर्हिष्मन् अज्ञानात् अर्थकाशिषु ।
मार्थदृष्टिं कृथाः श्रोत्र स्पर्शिष्वस्पृष्टवस्तुषु ॥ ४७ ॥
नेपाली भावानुवादः "हे बर्हिष्मन्! सुन्नमा मात्र प्रिय लाग्ने र आत्मज्ञान नदिने सकाम कर्महरूमा तिमी बुद्धि नलगाऊ" ।।४७।।
स्ववं लोकं न विदुस्ते वै यत्र देवो जनार्दनः ।
आहुर्धूम्रधियो वेदं सकर्मकमतद्विदः ॥ ४८ ॥
नेपाली भावानुवादः "जसले वेदलाई केवल कर्मपरक मात्र ठान्छन्, उनीहरूले भगवान् जनार्दनको वास्तविक स्वरूप बुझ्न सक्दैनन्" ।।४८।।
आस्तीर्य दर्भैः प्रागग्रैः कार्त्स्न्येन क्षितिमण्डलम् ।
स्तब्धो बृहद् वधात् मानी कर्म नावैषि यत्परम् ।
तत्कर्म हरितोषं यत् सा विद्या तन्मतिर्यया ॥ ४९ ॥
नेपाली भावानुवादः "तिमीले पशुबलि दिएर यज्ञ गर्दैमा आफूलाई ठुलो कर्माभिमानी ठानेका छौ, तर कर्म त्यही हो जसले हरि प्रसन्न हुन्छन् र विद्या त्यही हो जसले भगवान्मा चित्त लाग्छ" ।।४९।।
हरिर्देहभृतामात्मा स्वयं प्रकृतिरीश्वरः ।
तत्पादमूलं शरणं यतः क्षेमो नृणामिह ॥ ५० ॥
नेपाली भावानुवादः "श्रीहरि नै सम्पूर्ण प्राणीका आत्मा हुन्; उहाँको चरणको शरण पर्नु नै मानिसको परम कल्याण हो" ।।५०।।
स वै प्रियतमश्चात्मा यतो न भयमण्वपि ।
इति वेद स वै विद्वान् यो विद्वान् स गुरुर्हरिः ॥ ५१ ॥
नेपाली भावानुवादः "जसले आत्मालाई नै सबैभन्दा प्रिय ठान्दछ, उही ज्ञानी हो र उही साक्षात् श्रीहरि समान गुरु हो" ।।५१।।
नारद उवाच –
प्रश्न एवं हि सञ्छिन्नो भवतः पुरुषर्षभ ।
अत्र मे वदतो गुह्यं निशामय सुनिश्चितम् ॥ ५२ ॥
नेपाली भावानुवादः "हे पुरुषश्रेष्ठ! तिम्रा प्रश्नहरूको उत्तर मिलेको छ, अब म तिमीलाई एउटा गुप्त रहस्य बताउँछु, ध्यान दिएर सुन" ।।५२।।
क्षुद्रं चरं सुमनसां शरणे मिथित्वा रक्तं षडङ्घ्रिगणसामसु लुब्धकर्णम् । अग्रे वृकान् असुतृपोऽविगणय्य यान्तं पृष्ठे मृगं मृगय लुब्धकबाणभिन्नम् ॥ ५३ ॥
नेपाली भावानुवादः "एकपटक त्यो हरिणलाई हेर, जो फूलबारीमा आफ्नी हरिणीसँग मस्त छ। ऊ अगाडि रहेका ब्वाँसाहरू र पछाडि रहेको सिकारीको वाणलाई बिर्सेर विषय सुखमा रमाइरहेको छ" ।।५३।।
अस्यार्थः ( सुमनःसमधर्मणां स्त्रीणां शरण आश्रमे पुष्पमधु गन्धवत् क्षुद्रतमं । कामयकमर्विपाकजं कामसुखलवं जैह्व्यौपस्थ्यादि विचिन्वन्तं मिथुनीभूय तद् अभिनिवेशित मनसं । षडङ्घ्रिगण सामगीतवत् अतिमनोहर वनितादि जन आलापेषु अतितरां अति प्रलोभित कर्णमग्रे । वृकयूथवदात्मन आयुर्हरतो अहोरात्रान् तान् काल लव विशेषान् अविगणय्य गृहेषु विहरन्तं पृष्ठत एव । परोक्षमनुप्रवृत्तो लुब्धकः कृतान्तोऽन्तः शरेण यमिह पराविध्यति तं इमं आत्मानमहो । राजन् भिन्नहृदयं द्रष्टुमर्हसीति ॥ ५४ ॥
नेपाली भावानुवादः हे राजन्! फूलको सुगन्ध जस्तै अत्यन्त अल्पकालीन र क्षुद्र सुख दिने स्त्रीहरूको आश्रम अर्थात् गृहस्थ जीवनमा जो पुरुष फसेको हुन्छ, उसको अवस्था पुष्पमा झुम्मिने भमराको जस्तै हुन्छ। जिब्रोको स्वाद र जननेन्द्रियको सुख (कामसुख) जस्ता तुच्छ विषयहरूमा मात्र मन लगाएर, स्त्रीसँग संसर्ग गरी त्यसैमा तल्लीन भएको व्यक्तिले आफ्नो वास्तविक लक्ष्य बिर्सन्छ
स त्वं विचक्ष्य मृगचेष्टितमात्मनोऽन्तः चित्तं नियच्छ हृदि कर्णधुनीं च चित्ते । जह्यङ्गनाश्रममसत् तमयूथगाथं प्रीणीहि हंसशरणं विरम क्रमेण ॥ ५५ ॥
नेपाली भावानुवादः "त्यसैले यो मृग झैँ चञ्चल प्रवृत्ति छोडेर चित्तलाई भगवान्मा लगाऊ र यो असत् गृहाश्रम त्याग गरी श्रीहरिको शरण पर" ।।५५।।
राजोवाच – श्रुतमन्वीक्षितं ब्रह्मन् भगवान् यदभाषत ।
नेपाली भावानुवादः "भगवन्! हजुरको उपदेशले मेरो विवेक खुल्यो। मेरा गुरुहरूले यस्तो ज्ञान सायद जानेका थिएनन्, नत्र मलाई किन सिकाउँदैनथे?" ।।५६।।
संशयोऽत्र तु मे विप्र सञ्छिन्नस्तत्कृतो महान् ।
ऋषयोऽपि हि मुह्यन्ति यत्र नेन्द्रियवृत्तयः ॥ ५७ ॥
नेपाली भावानुवादः "विप्रवर! मेरो हृदयको संशय हजुरले मेटिदिनुभयो। जहाँ इन्द्रियहरूको पहुँच हुँदैन, त्यहाँ त ऋषिहरू समेत मोहित हुन्छन्" ।।५७।।
कर्माण्यारभते येन पुमानिह विहाय तम् ।
अमुत्रान्येन देहेन जुष्टानि स यदश्नुते ॥ ५८ ॥
इति वेदविदां वादः श्रूयते तत्र तत्र ह ।
कर्म यत्क्रियते प्रोक्तं परोक्षं न प्रकाशते ॥ ५९ ॥
नेपाली भावानुवादः "तर एउटा शङ्का छ— मानिसले यो शरीर छोडेर परलोकमा अर्को शरीरद्वारा कर्मको फल कसरी भोग्दछ? किनकि कर्म त यहाँ अदृश्य हुन्छ" ।।५८–५९।।
नारद उवाच – येनैवारभते कर्म तेनैवामुत्र तत्पुमान् ।
नेपाली भावानुवादः "राजन्! जुन मन प्रधान लिङ्ग शरीरले मानिस कर्म गर्दछ, त्यो मरेपछि पनि साथै रहन्छ। त्यसैले परलोकमा त्यही सूक्ष्म शरीरद्वारा फल भोगिन्छ" ।।६०।।
शयानं इमं उत्सृज्य श्वसन्तं पुरुषो यथा ।
कर्मात्मन्याहितं भुङ्क्ते तादृशेनेतरेण वा ॥ ६१ ॥
नेपाली भावानुवादः "जसरी सपनामा मानिसले यो जीवित शरीर बिर्सेर मनको संस्कार अनुसार अर्को शरीरद्वारा सुख–दुःख भोग्दछ, त्यसैगरी परलोकमा पनि हुन्छ" ।।६१।।
ममैते मनसा यद्यद् असौ अहं इति ब्रुवन् ।
गृह्णीयात् तत्पुमान् राद्धं कर्म येन पुनर्भवः ॥ ६२ ॥
नेपाली भावानुवादः "मनले नै 'म र मेरो' भन्ने भाव बोकेर कर्महरू सङ्ग्रह गर्दछ, जसका कारण जीवले बारम्बार जन्म लिनुपर्दछ" ।।६२।।
यथानुमीयते चित्तं उभयैरिन्द्रियेहितैः ।
एवं प्राग्देहजं कर्म लक्ष्यते चित्तवृत्तिभिः ॥ ६३ ॥
नानुभूतं क्व चानेन देहेनादृष्टमश्रुतम् ।
कदाचिद् उपलभ्येत यद् रूपं यादृगात्मनि ॥ ६४ ॥
नेपाली भावानुवादः "कहिलेकाहीँ हामीले यो जन्ममा नदेखेका वा नसुनेका कुरा सपनामा देख्छौँ, त्यो पूर्वजन्मको संस्कारको प्रमाण हो" ।।६३–६४।।
तेनास्य तादृशं राजन् लिङ्गिनो देहसम्भवम् ।
श्रद्धत्स्वाननुभूतोऽर्थो न मनः स्प्रष्टुमर्हति ॥ ६५ ॥
नेपाली भावानुवादः "जुन कुरा पहिले अनुभव गरिएको हुँदैन, त्यसको वासना मनमा बस्दैन। त्यसैले यो लिङ्ग शरीरले पूर्वजन्मको फल बोकेको हुन्छ भन्ने कुरामा विश्वास गर" ।।६५।।
मन एव मनुष्यस्य पूर्वरूपाणि शंसति ।
भविष्यतश्च भद्रं ते तथैव न भविष्यतः ॥ ६६ ॥
नेपाली भावानुवादः "मनले नै मानिसको भूत र भविष्यको शरीरलाई प्रकट गर्दछ। जसको पुनर्जन्म हुँदैन, उसको मनमा पनि त्यस्तै शान्ति हुन्छ" ।।६६।।
अदृष्टमश्रुतं चात्र क्वचित् मनसि दृश्यते ।
यथा तथानुमन्तव्यं देशकालक्रियाश्रयम् ॥ ६७ ॥
नेपाली भावानुवादः "कहिलेकाहीँ सपनामा अनौठा कुरा देखिनु निद्रा दोष वा सूक्ष्म संस्कारका कारण हो" ।।६७।।
सर्वे क्रमानुरोधेन मनसीन्द्रियगोचराः ।
आयान्ति बहुशो यान्ति सर्वे समनसो जनाः ॥ ६८ ॥
नेपाली भावानुवादः "मनका अगाडि इन्द्रियले भोग्ने विषयहरू आउने र जाने गर्छन्। सबै जीव मनसहित भएकाले यस्तो भइरहन्छ" ।।६८।।
तमश्चन्द्रमसीवेदं उपरज्यावभासते ॥ ६९ ॥
नेपाली भावानुवादः "यदि मन शुद्ध सत्त्वमा स्थित भएर भगवान्को चिन्तनमा लाग्यो भने ग्रहण लागेको चन्द्रमा झैँ संसारको वास्तविक स्वरूप स्पष्ट देखिन्छ" ।।६९।।
नाहं ममेति भावोऽयं पुरुषे व्यवधीयते ।
यावद्बुद्धिमनोऽक्षार्थ गुणव्यूहो ह्यनादिमान् ॥ ७० ॥
नेपाली भावानुवादः "जबसम्म यो सूक्ष्म लिङ्ग शरीर रहन्छ, तबसम्म 'म र मेरो' भन्ने देहाभिमान समाप्त हुँदैन" ।।७०।।
सुप्तिमूर्च्छोपतापेषु प्राणायनविघाततः ।
नेहतेऽहमिति ज्ञानं मृत्युप्रज्वारयोरपि ॥ ७१ ॥
नेपाली भावानुवादः "निद्रा, मूर्च्छा वा मृत्युका बेला इन्द्रियहरू शिथिल हुँदा यो अभिमान स्पष्ट नभए पनि सूक्ष्म रूपमा रहिरहन्छ" ।।७१।।
गर्भे बाल्येऽप्यपौष्कल्याद् एकादशविधं तदा ।
लिङ्गं न दृश्यते यूनः कुह्वां चन्द्रमसो यथा ॥ ७२ ॥
नेपाली भावानुवादः "औँसीको रातमा चन्द्रमा नदेखिए झैँ गर्भावस्था वा बाल्यकालमा इन्द्रियहरू पूर्ण विकसित नहुँदा लिङ्ग शरीर स्पष्ट प्रतीत हुँदैन" ।।७२।।
अर्थे हि अविद्यमानेऽपि संसृतिर्न निवर्तते ।
ध्यायतो विषयानस्य स्वप्नेऽनर्थागमो यथा ॥ ७३ ॥
नेपाली भावानुवादः "विषयहरू असत्य भए पनि चिन्तन गरिरहँदा सपनामा जस्तै अनर्थ भइरहन्छ। त्यसैले जीव जन्म–मरणको चक्रबाट मुक्त हुँदैन" ।।७३।।
एवं पञ्चविधं लिङ्गं त्रिवृत्षोडश विस्तृतम् ।
एष चेतनया युक्तो जीव इत्यभिधीयते ॥ ७४ ॥
नेपाली भावानुवादः "पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, पाँच प्राण र मन गरी १६ तत्वको यो सूक्ष्म शरीर नै चेतन शक्तिले युक्त भएपछि 'जीव' भनिन्छ" ।।७४।।
अनेन पुरुषो देहान् उपादत्ते विमुञ्चति ।
हर्षं शोकं भयं दुःखं सुखं चानेन विन्दति ॥ ७५ ॥
नेपाली भावानुवादः "यसैद्वारा जीवले विभिन्न शरीर धारण गर्दछ र सुख, दुःख, भय एवं शोकको अनुभव गर्दछ" ।।७५।।
यथा तृणजलूकेयं नापयात्यपयाति च ।
न त्यजेन्म्रियमाणोऽपि प्राग्देहाभिमतिं जनः ॥ ७६ ॥
यावदन्यं न विन्देत व्यवधानेन कर्मणाम् ।
नेपाली भावानुवादः "जसरी जुकाले अर्को घाँस नसमाती अघिल्लो घाँस छोड्दैन, त्यसरी नै जीवले अर्को शरीर प्राप्त नगरेसम्म पहिलो शरीरको अभिमान छोड्दैन। हे राजन्! मन नै जन्मको कारण हो" ।।७६–७७।।
यदाक्षैश्चरितान् ध्यायन् कर्माण्याचिनुतेऽसकृत् ।
सति कर्मण्यविद्यायां बन्धः कर्मण्यनात्मनः ॥ ७८ ॥
नेपाली भावानुवादः "जब जीवले इन्द्रिय भोगको चिन्तन गरी बारम्बार कर्म गर्दछ, तब अविद्याका कारण ऊ कर्मबन्धनमा बाँधिन्छ" ।।७८।।
अतस्तद् अपवादार्थं भज सर्वात्मना हरिम् ।
पश्यन् तदात्मकं विश्वं स्थित्युत्पत्त्यप्यया यतः ॥ ७९ ॥
नेपाली भावानुवादः "त्यसैले यो बन्धन तोड्नका लागि सम्पूर्ण विश्वलाई भगवान्कै रूप सम्झेर श्रीहरिको भजन गर, जसबाट जगत्को सृष्टि, स्थिति र लय हुन्छ" ।।७९।।
मैत्रेय उवाच –
भागवतमुख्यो भगवान् नारदो हंसयोर्गतिम् ।
प्रदर्श्य ह्यमुमामन्त्र्य सिद्धलोकं ततोऽगमत् ॥ ८० ॥
नेपाली भावानुवादः मैत्रेयजी भन्नुहुन्छ— "हे विदुर! भक्तराज नारदजीले राजा प्राचीनबर्हिलाई जीव र ईश्वरको स्वरूप बुझाएर बिदा भई सिद्धलोकतर्फ प्रस्थान गर्नुभयो" ।।८०।।
प्राचीनबर्ही राजर्षिः प्रजासर्गाभिरक्षणे ।
आदिश्य पुत्रानगमत् तपसे कपिलाश्रमम् ॥ ८१ ॥
नेपाली भावानुवादः "त्यसपछि राजर्षि प्राचीनबर्हिले छोराहरूलाई राज्य सुम्पिएर तपस्याका लागि कपिलाश्रम जानुभयो" ।।८१।।
तत्रैकाग्रमना धीरो गोविन्द चरणाम्बुजम् ।
विमुक्तसङ्गोऽनुभजन् भक्त्या तत्साम्यतामगात् ॥ ८२ ॥
नेपाली भावानुवादः "त्यहाँ उनले आसक्ति त्यागेर एकाग्र मनले श्रीहरिको चरणको चिन्तन गर्दै भगवान्को सामीप्य प्राप्त गरे" ।।८२।।
एतदध्यात्मपारोक्ष्यं गीतं देवर्षिणानघ ।
यः श्रावयेत् यः श्रृणुयात् स लिङ्गेन विमुच्यते ॥ ८३ ॥
नेपाली भावानुवादः "हे निष्पाप विदुर! देवर्षि नारदले बताएको यो आत्मज्ञान जसले सुन्दछ वा सुनाउँदछ, ऊ लिङ्ग शरीरको बन्धनबाट मुक्त हुन्छ" ।।८३।।
एतन्मुकुन्दयशसा भुवनं पुनानं
देवर्षिवर्यमुखनिःसृतमात्मशौचम् ।
यः कीर्त्यमानमधिगच्छति पारमेष्ठ्यं
नास्मिन् भवे भ्रमति मुक्तसमस्तबन्धः ॥ ८४ ॥
नेपाली भावानुवादः "यो कथा भगवान् मुकुन्दको यशले भरिएको र अन्तःकरण पवित्र पार्ने खालको छ। यसलाई सुन्ने पुरुष सबै बन्धनबाट मुक्त हुन्छ र पुनः संसार चक्रमा आउनु पर्दैन" ।।८४।।
अध्यात्मपारोक्ष्यमिदं मयाधिगतमद्भुतम् । ए
वं स्त्रियाऽऽश्रमः पुंसछिन्नोऽमुत्र च संशयः ॥ ८५ ॥
नेपाली भावानुवादः "हे विदुर! पुरञ्जनको रूपक कथाद्वारा भनिएको यो अद्भुत ज्ञान मैले गुरुको कृपाले प्राप्त गरेको थिएँ। यसलाई बुझ्नाले देहाभिमान हट्छ र परलोकको संशय पनि मेटिन्छ" ।।८५।।
यस अध्यायको सारांश :
श्रीमद्भागवत महापुराणको यो उन्तीसौँ अध्याय नारदजी र राजा प्राचीनबर्हि बीचको संवादको निष्कर्ष हो। यस अध्यायमा नारदजीले पुरञ्जनको प्रतीकात्मक कथाको वास्तविक रहस्य उद्घाटन गर्नुहुन्छ। नारदजी स्पष्ट पार्नुहुन्छ कि पुरञ्जन अरु कोही नभएर स्वयम् 'जीव' हो, जो आफ्नो आनन्दका लागि विभिन्न शरीर रूपी नगरहरूको निर्माण गर्दछ। पुरञ्जनी नामकी स्त्री 'बुद्धि' वा 'अविद्या' हो, जसले जीवलाई 'म र मेरो' भन्ने भ्रममा फसाउँछ। नगरका नौ ढोकाहरू मानव शरीरका ज्ञानेन्द्रिय र कर्मेन्द्रियका द्वार हुन्। नारदजीले शरीरलाई एउटा 'रथ' को रूपमा वर्णन गर्दै भन्नुभएको छ कि जसमा इन्द्रियहरू घोडा, मन लगाम र बुद्धि सारथी हो। राजा प्राचीनबर्हिले पशुबलि दिएर जुन यज्ञहरू गरिरहेका थिए, ती केवल सकाम कर्म मात्र हुन् र त्यसले वास्तविक मुक्ति दिँदैन भन्ने कुरा नारदजीले मृगको उदाहरण दिएर सम्झाउनुहुन्छ। जसरी एउटा मृग विषय सुखमा मग्न भएर आफ्नो आयु सकिएको र अगाडि–पछाडि रहेका कालका दूतहरूलाई देख्दैन, त्यसरी नै गृहस्थीको सुखमा फसेको मानिसले आफ्नो मृत्युलाई बिर्सन्छ। नारदजीको यो उपदेश सुनेपछि राजाको मोह भङ्ग हुन्छ। अध्यायको अन्त्यमा राजा प्राचीनबर्हिले आफ्ना छोरा (प्रचेतस) हरूलाई राज्य सुम्पिएर कपिलाश्रममा गई तपस्याद्वारा भगवान्को सामीप्य प्राप्त गरेको वर्णन गरिएको छ। यो अध्यायले कर्मकाण्डभन्दा माथि उठेर आत्मज्ञान र भक्तिको महत्त्वलाई जोड दिएको छ।
यस अध्यायको दार्शनिक पक्ष :
यस अध्यायले वेदान्त दर्शनको 'लिङ्ग शरीर' (सूक्ष्म शरीर) र 'पुनर्जन्म' को सिद्धान्तलाई निकै सरल ढङ्गले प्रस्तुत गरेको छ। दार्शनिक रूपमा यहाँ शरीरलाई रथ र आत्मालाई रथी मान्नु 'कठोपनिषद्' को चिन्तनसँग मिल्दोजुल्दो छ। जीव किन बारम्बार जन्मन्छ भन्ने प्रश्नको उत्तरमा नारदजीले 'वासना' र 'लिङ्ग शरीर' को भूमिकालाई स्पष्ट पार्नुभएको छ। जबसम्म मनमा विषयको चिन्तन रहन्छ, तबसम्म जीवले स्थूल शरीर त्यागे पनि सूक्ष्म शरीर त्याग्न सक्दैन र त्यही सूक्ष्म शरीरले उसलाई अर्को जन्ममा लैजान्छ। अर्को महत्वपूर्ण पक्ष भनेको 'परोक्षवाद' हो; अर्थात् भगवान्लाई सिधै नभई कथा वा रूपकको माध्यमबाट सम्झाउनु। नारदजीले 'कर्म' लाई मात्र सबैथोक मान्ने प्रवृत्तिको खण्डन गर्दै 'हरितोष' (भगवान्को प्रसन्नता) नै वास्तविक कर्म र 'तन्मति' (भगवान्मा चित्त लगाउनु) नै वास्तविक विद्या हो भन्नुभएको छ। यसले सकाम कर्मकाण्डभन्दा निस्काम भक्ति र ज्ञानको श्रेष्ठता सिद्ध गर्दछ।
No comments:
Post a Comment