श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - द्वाविंशोऽध्यायः
भिद्यमानोऽप्यभिन्नात्मा प्रत्याहाविक्लवं वचः ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे राजन् परीक्षित! यस प्रकार भगवान्द्वारा तिरस्कृत हुनुभएका र सत्यबाट विचलित गराउने अनेक प्रयत्न गरिए तापनि असुरराज बलि अलिकति पनि विचलित हुनुभएन। उहाँले बडो धैर्यका साथ अविचलित चित्तले यसरी भन्नुभयो ।।१।।
श्रीबलिरुवाच –
वचो व्यलीकं सुरवर्य मन्यते ।
करोम्यृतं तन्न भवेत्प्रलम्भनं
पदं तृतीयं कुरु शीर्ष्णि मे निजम् ॥ २ ॥
नेपाली भावानुवादः दैत्यराज बलिले भन्नुभयो– हे देवश्रेष्ठ उत्तमश्लोक! यदि तपाईं मेरो वचनलाई असत्य ठान्नुहुन्छ भने म त्यसलाई सत्य गरेर देखाइदिन्छु। म तपाईंलाई धोका दिने छैन। कृपा गरेर तपाईंको तेस्रो पाइला मेरो शिरमा राखिदिनुहोस् ।।२।।
बिभेमि नाहं निरयात् पदच्युतो
न पाशबन्धाद्व्यसनाद् दुरत्ययात् ।
नैवार्थकृच्छ्राद्भनवतो विनिग्रहाद्
असाधुवादाद्भृिशमुद्विजे यथा ॥ ३ ॥
नेपाली भावानुवादः मलाई नरकमा जाने वा आफ्नो पदबाट च्युत हुने कुनै डर छैन। म पाशको बन्धन, अपार दुःख, गरिबी वा तपाईंको दण्डसँग पनि डराउँदिनँ। तर म आफ्नो अपकीर्ति (असत्यवादी भइने डर) सँग भने अत्यन्तै डराउँदछु ।।३।।
पुंसां श्लाघ्यतमं मन्ये दण्डमर्हत्तमार्पितम् ।
यं न माता पिता भ्राता सुहृदश्चादिशन्ति हि ॥ ४ ॥
नेपाली भावानुवादः पूजनीय व्यक्तिद्वारा दिइएको दण्डलाई म पुरुषका लागि अत्यन्त प्रशंसनीय मान्दछु। किनकि यस्तो हितकारी दण्ड स्नेहका कारण माता, पिता, भाइ वा मित्र कसैले पनि दिन सक्दैनन् ।।४।।
त्वं नूनमसुराणां नः परोक्षः परमो गुरुः ।
यो नोऽनेकमदान्धानां विभ्रंशं चक्षुरादिशत् ॥ ५ ॥
नेपाली भावानुवादः तपाईं निश्चित रूपमा हामी असुरहरूका लागि परोक्ष रूपमा परम गुरु हुनुहुन्छ। किनकि धन र ऐश्वर्यको मदले अन्धा भएका हामीहरूको सर्वस्व खोसेर तपाईंले नै हामीलाई ज्ञानचक्षु प्रदान गर्नुहुन्छ ।।५।।
यस्मिन् वैरानुबन्धेन व्यूढेन विबुधेतराः ।
बहवो लेभिरे सिद्धिं यामु हैकान्तयोगिनः ॥ ६ ॥
नेपाली भावानुवादः तपाईंले हामीमाथि गर्नुभएको उपकारको के बयान गरौँ? अनन्य भावले योग गर्ने योगीहरूले जुन सिद्धि प्राप्त गर्दछन्, धेरै असुरहरूले तपाईंसँग दृढ वैरभाव राखेरै पनि त्यही सिद्धि प्राप्त गरेका छन् ।।६।।
तेनाहं निगृहीतोऽस्मि भवता भूरिकर्मणा ।
बद्धश्च वारुणैः पाशैः नातिव्रीडे न च व्यथे ॥ ७ ॥
नेपाली भावानुवादः जसको यस्तो अनन्त महिमा र लीला छ, त्यही तपाईंले मलाई दण्ड दिँदै वरुणपाशमा बाँध्नुभएको छ। यसमा मलाई न कुनै लज्जा छ, न कुनै पीडा नै ।।७।।
पितामहो मे भवदीयसम्मतः
प्रह्राद आविष्कृतसाधुवादः ।
भवद्विपक्षेण विचित्रवैशसं
संप्रापितस्त्वं परमः स्वपित्रा ॥ ८ ॥
नेपाली भावानुवादः प्रभो! तपाईंका परम भक्त मेरा पितामह प्रह्लादको कीर्ति जगत्प्रसिद्ध छ। उहाँका पिता हिरण्यकशिपुले तपाईंसँग वैरभाव राखेका कारण उहाँलाई अनेकौँ कष्ट दिए तापनि उहाँले आफ्नो जीवन तपाईंकै शरणमा अर्पण गर्नुभयो ।।८।।
किमात्मनानेन जहाति योऽन्ततः
किं रिक्थहारैः स्वजनाख्यदस्युभिः ।
किं जायया संसृतिहेतुभूतया
मर्त्यस्य गेहेः किमिहायुषो व्ययः ॥ ९ ॥
नेपाली भावानुवादः अन्तमा साथ छोडेर जाने यो शरीर, धन लुट्न बसेका स्वजनरूपी डाँकुहरू, संसार चक्रमा फसाउने पत्नी र यो नश्वर घरको के अर्थ छ र? यी असत्य वस्तुहरूमा अल्झिनु केवल आफ्नो आयुको व्यय गर्नु मात्र हो ।।९।।
इत्थं स निश्चित्य पितामहो महान्
अगाधबोधो भवतः पादपद्मम् ।
ध्रुवं प्रपेदे ह्यकुतोभयं जनाद्
भीतः स्वपक्षक्षपणस्य सत्तम ॥ १० ॥
नेपाली भावानुवादः हे सत्तम! यस्तो निश्चय गरेर अगाध बोध भएका मेरा महान् पितामह प्रह्लादले आफ्ना स्वजनहरूबाट डराएर तपाईंकै अभय र अविनाशी चरणकमलको शरण लिनुभयो ।।१०।।
अथाहमप्यात्मरिपोस्तवान्तिकं
दैवेन नीतः प्रसभं त्याजितश्रीः ।
इदं कृतान्तान्तिकवर्ति जीवितं
ययाध्रुवं स्तब्धमतिर्न बुध्यते ॥ ११ ॥
नेपाली भावानुवादः मलाई पनि दैव (भाग्य) ले बलपूर्वक ऐश्वर्यबाट अलग गराई तपाईंकै समीपमा ल्याइदिएको छ। यो राम्रै भयो, किनकि ऐश्वर्यको मदले मत्त भएको जीवले मृत्युको मुखमा रहेको आफ्नो अनित्य जीवनलाई चिन्न सक्दैन ।।११।।
श्रीशुक उवाच –
आजगाम कुरुश्रेष्ठ राकापतिरिवोत्थितः ॥ १२ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे कुरुश्रेष्ठ! राजा बलि यसरी बोलिरहेका बेला पूर्णचन्द्र झैँ उज्वल कान्ति भएका भगवान्का अत्यन्त प्रिय भक्त प्रह्लादजी त्यहाँ आइपुग्नुभयो ।।१२।।
तमिन्द्रसेनः स्वपितामहं श्रिया
विराजमानं नलिनायतेक्षणम् ।
प्रांशुं पिशंगांबरमञ्जनत्विषं
प्रलंबबाहुं शुभगर्षभमैक्षत ॥ १३ ॥
नेपाली भावानुवादः राजा बलिले आफ्ना पितामहलाई अत्यन्त प्रभावशाली, कमल झैँ नयन भएका, अग्लो कद, पीताम्बरधारी, श्यामल वर्ण र लामा हात भएका अत्यन्त शोभायमान स्वरूपमा देख्नुभयो ।।१३।।
तस्मै बलिर्वारुणपाशयन्त्रितः
ननाम मूर्ध्नाश्रुविलोललोचनः
नेपाली भावानुवादः त्यस समय बलि वरुणपाशले बाँधिएका हुनाले उनले पितामहको पहिले जस्तो स्वागत-सत्कार गर्न सकेनन्। आँखामा आँसु भरिएका र लज्जाले शिर निहुरिएका बलिले केवल मस्तक झुकाएर उहाँलाई नमस्कार गरे ।।१४।।
स तत्र हासीनमुदीक्ष्य सत्पतिं
हरिं सुनन्दाद्यनुगैरुपासितम् ।
उपेत्य भूमौ शिरसा महामना
ननाम मूर्ध्ना पुलकाश्रुविक्लवः ॥ १५ ॥
नेपाली भावानुवादः प्रह्लादजीले त्यहाँ सुनन्द आदि पार्षदहरूद्वारा सेविते भक्तवत्सल श्रीहरिलाई विराजमान भएको देख्नुभयो। प्रेमले रोमाञ्चित र अश्रुपूरित नेत्र भएका महामना प्रह्लादले भूमिसम्म शिर झुकाएर आफ्ना स्वामीलाई साष्टाङ्ग प्रणाम गर्नुभयो ।।१५।।
श्रीप्रह्राद उवाच –
हृतं तदेवाद्य तथैव शोभनम् ।
मन्ये महानस्य कृतो ह्यनुग्रहो
विभ्रंशितो यच्छ्रिय आत्ममोहनात् ॥ १६ ॥
नेपाली भावानुवादः प्रह्लादजीले भन्नुभयो– प्रभो! तपाईंले नै यसलाई इन्द्रको पद दिनुभएको थियो र आज आफैँले फिर्ता लिनुभयो। तपाईंको यो कार्य अत्यन्त शोभनीय छ। म त यसलाई ठुलो अनुग्रह मान्दछु, किनकि तपाईंले यसलाई आत्मज्ञानबाट विचलित गराउने ऐश्वर्यबाट मुक्त गराइदिनुभयो ।।१६।।
यया हि विद्वानपि मुह्यते यतः
तत् को विचष्टे गतिमात्मनो यथा ।
तस्मै नमस्ते जगदीश्वराय वै
नारायणायाखिललोकसाक्षिणे ॥ १७ ॥
नेपाली भावानुवादः प्रभो! जसले गर्दा विद्वान् व्यक्ति समेत मोहित हुन्छन्, त्यस्तो लक्ष्मीको प्रभाव रहँदासम्म कसले आफ्नो वास्तविक स्वरूपलाई बुझ्न सक्छ र? यस्तो उपकार गर्नुहुने अखिल लोकका साक्षी जगदीश्वर श्रीनारायणलाई म नमस्कार गर्दछु ।।१७।।
श्रीशुक उवाच –
हिरण्यगर्भो भगवान् उवाच मधुसूदनम् ॥ १८ ॥
बद्धं वीक्ष्य पतिं साध्वी तत्पत्नी भयविह्वला ।
प्राञ्जलिः प्रणतोपेन्द्रं बभाषेऽवांमुखी नृप ॥ १९ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे राजन्! प्रह्लादजी हात जोडेर उभिरहनुभएको बेला ब्रह्माजीले मधुसूदन भगवान्सँग केही भन्न लाग्नुभएको थियो। त्यही समय आफ्ना पति बाँधिएको देखेर भयभीत भएकी साध्वी पत्नी विन्ध्यावलीले हात जोडेर भगवान् उपेन्द्रलाई यसरी बिन्ती गरिन् ।।१८-१९।।
श्रीविन्ध्यावलिरुवाच –
स्वाम्यं तु तत्र कुधियोऽपर ईश कुर्युः ।
कर्तुः प्रभोस्तव किमस्यत आवहन्ति
त्यक्तह्रियस्त्वदवरोपितकर्तृवादाः ॥ २० ॥
नेपाली भावानुवादः विन्ध्यावलीले भनिन्– प्रभो! तपाईंले आफ्नो लीलाका लागि यो त्रिलोकको रचना गर्नुभएको हो। कुबुद्धि भएकाहरूले मात्र यसमा आफ्नो स्वामित्व दाबी गर्छन्। हे ईश्वर! तपाईं नै सबैका कर्ता हुनुहुन्छ, तसर्थ तपाईंले नै दिनुभएको शक्तिलाई आफ्नै ठानेर धाक लगाउने निर्लज्जहरूले तपाईंलाई के नै अर्पण गर्न सक्छन् र? ।।२०।।
श्रीब्रह्मोवाच –
मुञ्चैनं हृतसर्वस्वं नायमर्हति निग्रहम् ॥ २१ ॥
नेपाली भावानुवादः ब्रम्माजीले भन्नुभयो– हे प्राणीका जीवनदाता, जगन्मय देवाधिदेव! अब यसलाई छोडिदिनुहोस्। तपाईंले यसको सर्वस्व हरण गरिसक्नुभएको छ, त्यसैले अब यो थप दण्डको योग्य छैन ।।२१।।
कृत्स्ना तेऽनेन दत्ता भूर्लोकाः कर्मार्जिताश्च ये ।
निवेदितं च सर्वस्वं आत्माविक्लवया धिया ॥ २२ ॥
नेपाली भावानुवादः यसले आफ्नो सम्पूर्ण भूमि, पुण्यले अर्जित गरेका लोकहरू र आफ्नो आत्मासमेत अविचलित भावले तपाईंलाई अर्पण गरिसकेको छ ।।२२।।
यत्पादयोरशठधीः सलिलं प्रदाय
दूर्वाङ्कुरैरपि विधाय सतीं सपर्याम् ।
अप्युत्तमां गतिमसौ भजते त्रिलोकीं
दाश्वानविक्लवमनाः कथमार्तिमृच्छेत् ॥ २३ ॥
नेपाली भावानुवादः प्रभो! जसले निष्कपट भावले तपाईंका चरणमा जल र दूबो मात्र चढाउँदा पनि उत्तम गति प्राप्त गर्छ भने, त्रिभुवन नै दान गर्ने यी बलि कसरी दुःखको भागी हुन सक्छन्? ।।२३।।
श्रीभगवानुवाच –
यन्मदः पुरुषः स्तब्धो लोकं मां चावमन्यते ॥ २४ ॥
नेपाली भावानुवादः श्रीभगवान्ले भन्नुभयो– हे ब्रह्मन्! म जसमाथि कृपा गर्छु, उसको धन र ऐश्वर्य हरण गरिदिन्छु। किनकि धनको मदले मत्त भएको पुरुषले मलाई र मेरो लोकलाई अनादर गर्न थाल्छ ।।२४।।
यदा कदाचित् जीवात्मा संसरन्निजकर्मभिः ।
नानायोनिष्वनीशोऽयं पौरुषीं गतिमाव्रजेत् ॥ २५ ॥
नेपाली भावानुवादः जीव आफ्नो कर्मका कारण विवश भएर अनेकौँ योनिहरूमा भौँतारिइरहन्छ। जब कहिले मेरो कृपाले उसले मानव शरीर प्राप्त गर्छ, तब मात्र उसले उन्नति गर्न सक्छ ।।२५।।
जन्मकर्मवयोरूप विद्यैश्वर्यधनादिभिः ।
यद्यस्य न भवेत् स्तंभः तत्रायं मदनुग्रहः ॥ २६ ॥
नेपाली भावानुवादः यदि मानव जन्म, कुल, कर्म, उमेर, रूप, विद्या र ऐश्वर्य हुँदाहुँदै पनि कसैमा घमण्ड उत्पन्न हुँदैन भने, त्यो मेरो विशेष कृपा हो भन्ने बुझ्नुपर्छ ।।२६।।
मानस्तम्भनिमित्तानां जन्मादीनां समन्ततः ।
सर्वश्रेयःप्रतीपानां हन्त मुह्येन्न मत्परः ॥ २७ ॥
नेपाली भावानुवादः जन्म र कुल आदि अहंकारका कारण हुन् जसले मनुष्यलाई कल्याणबाट वञ्चित गराउँछन्। तर जो मेरो अनय भक्त छ, ऊ यी वस्तुहरूबाट कहिल्यै मोहित हुँदैन ।।२७।।
एष दानवदैत्यानामग्रनीः कीर्तिवर्धनः ।
अजैषीदजयां मायां सीदन्नपि न मुह्यति ॥ २८ ॥
नेपाली भावानुवादः यो बलि दानव र दैत्यहरूमध्ये श्रेष्ठ र आफ्नो कुलको कीर्ति बढाउने पुरुष हो। यसले मेरो दुर्जेय मायामाथि विजय प्राप्त गरेको छ। यति धैरे दुःख पाउँदा पनि यो विचलित भएको छैन ।।२८।।
क्षीणरिक्थश्च्युतः स्थानात्क्षिप्तो बद्धश्च शत्रुभिः ।
ज्ञातिभिश्च परित्यक्तो यातनामनुयापितः ॥ २९ ॥
गुरुणा भर्त्सितः शप्तो जहौ सत्यं न सुव्रतः ।
छलैरुक्तो मया धर्मो नायं त्यजति सत्यवाक् ॥ ३० ॥
नेपाली भावानुवादः सम्पत्ति खोसियो, पदबाट च्युत गरियो, शत्रुले बाँधे, दाजुभाइले छोडे, यातना दिइयो र गुरुले समेत सरापे तापनि यस सुव्रतीले सत्यको बाटो छोडेन। मैले यसलाई अनेकौँ छलपूर्ण उपदेश दिएँ, तैपनि यो सत्यवादीले आफ्नो धर्म त्याग गरेन ।।२९-३०।।
एष मे प्रापितः स्थानं दुष्प्रापं अमरैरपि ।
सावर्णेरन्तरस्यायं भवितेन्द्रो मदाश्रयः ॥ ३१ ॥
नेपाली भावानुवादः त्यसैले मैले यसलाई देवताहरूका लागि पनि दुर्लभ स्थान प्रदान गरेको छु। आउँदो सावर्णि मन्वन्तरमा यो मेरो आश्रयमा रहने इन्द्र बन्नेछ ।।३१।।
तावत् सुतलमध्यास्तां विश्वकर्मविनिर्मितम् ।
यदाधयो व्याधयश्च क्लमस्तन्द्रा पराभवः ।
नोपसर्गा निवसतां सम्भवन्ति ममेक्षया ॥ ३२ ॥
नेपाली भावानुवादः त्यतिन्जेलसम्म यो विश्वकर्माद्वारा निर्मित सुतल लोकमा रहनेछ। मेरो कृपाले गर्दा त्यहाँ बस्नेहरूलाई कुनै मानसिक वा शारीरिक रोग, थकान, आलस्य, पराजय वा कुनै विघ्न-बाधा हुने छैन ।।३२।।
इन्द्रसेन महाराज याहि भो भद्रमस्तु ते ।
सुतलं स्वर्गिभिः प्रार्थ्यं ज्ञातिभिः परिवारितः ॥ ३३ ॥
नेपाली भावानुवादः भगवान्ले बलिलाई भन्नुभयो– हे महाराज इन्द्रसेन! तिम्रो कल्याण होस्। अब तिमी आफ्ना परिवारसहित देवताहरूले समेत इच्छा गर्ने सुतल लोकमा जाऊ ।।३३।।
न त्वां अभिभविष्यन्ति लोकेशाः किमुतापरे ।
त्वत् शासनातिगान् दैत्यान् चक्रं मे सूदयिष्यति ॥ ३४ ॥
नेपाली भावानुवादः अब तिमीलाई लोकपालहरूले पनि पराजित गर्न सक्ने छैनन्। तिम्रो आज्ञा उल्लङ्घन गर्ने दैत्यहरूलाई मेरो सुदर्शन चक्रले दण्ड दिनेछ ।।३४।।
रक्षिष्ये सर्वतोऽहं त्वां सानुगं सपरिच्छदम् ।
सदा सन्निहितं वीर तत्र मां द्रक्ष्यते भवान् ॥ ३५ ॥
नेपाली भावानुवादः हे वीर! म तिम्रो र तिम्रो परिवारको सबै प्रकारले रक्षा गर्नेछु। त्यहाँ तिमीले मलाई सधैँ आफ्नो नजिकै देख्नेछौ ।।३५।।
तत्र दानवदैत्यानां संगात् ते भाव आसुरः ।
दृष्ट्वा मदनुभावं वै सद्यः कुण्ठो विनंक्ष्यति ॥ ३६ ॥
नेपाली भावानुवादः त्यहाँ अन्य असुरहरूको सङ्गतले तिम्रो मनमा जुन आसुरी भाव उत्पन्न हुन सक्छ, त्यो मेरो प्रभावले तत्काल नष्ट हुनेछ ।।३६।।
यस अध्यायको सारांश :
श्रीमद्भागवत महापुराणको यो अध्याय राजा बलिको त्याग, भक्ति र सत्यनिष्ठाको चरमोत्कर्ष हो। भगवान् वामनले दुई पाइलाले नै त्रिलोकी नापेर बलिलाई "तेस्रो पाइला कहाँ राखौँ?" भनी प्रश्न गर्दा बलि अलिकति पनि विचलित भएनन्। उनले बडो विनम्रताका साथ आफ्नो शिर भगवान्को तेस्रो पाइलाका लागि अर्पण गरे। बलिले स्पष्ट पारे कि उनलाई धन, ऐश्वर्य वा पद गुमेकोमा कुनै चिन्ता छैन, तर सत्यबाट विचलित भई अपकीर्ति कमाउनु उनीका लागि मृत्युतुल्य छ। उनले भगवान्लाई आफ्ना परम गुरुका रूपमा स्वीकार गरे, जसले सर्वस्व खोसेर उनको अहंकार नष्ट गरिदिनुभएको थियो। बलिको यो अद्भुत सत्यनिष्ठा देखेर उनका पितामह प्रह्लादजी पनि त्यहाँ प्रकट हुनुभयो। प्रह्लादजीले भगवान्को यो कार्यलाई बलिको हितमा ठुलो अनुग्रह मान्नुभयो। प्रह्लादका अनुसार ऐश्वर्यले मानिसलाई अन्धो बनाउँछ र भगवान्को यो दण्ड वास्तवमा मुक्तिको मार्ग थियो। बलिकी पत्नी विन्ध्यावलीले पनि भगवान्कै सर्वव्यापकता र कर्तृत्वलाई स्वीकार गर्दै पतिको पक्षमा बिन्ती गरिन्। ब्रह्माजीले समेत भगवान्लाई बलिले आफ्नो सर्वस्व सुम्पिसकेकाले उनलाई मुक्त गर्न अनुरोध गर्नुभयो। भगवान्ले ब्रह्माजीलाई उत्तर दिँदै आफ्नो भक्तमाथि कसरी अनुग्रह गरिन्छ भन्ने रहस्य बताउनुभयो। भगवान्ले भन्नुभयो कि मदले चुर भएका भक्तलाई सुधार्न म उनीहरूको धन र ऐश्वर्य पहिले हरण गर्छु। बलिले गुरुको श्राप, शत्रुको बन्धन र सबै दुःख सहँदा पनि सत्यको मार्ग नछोडेकाले उनी विशेष कृपाका पात्र बने। भगवान्ले बलिलाई सावर्णि मन्वन्तरमा इन्द्र हुने वरदान दिनुभयो। त्यतिन्जेलका लागि उनलाई स्वर्गभन्दा पनि सुन्दर र सुखी 'सुतल' लोकको राजा बनाइयो। सुतल लोकमा कुनै रोग, शोक वा शत्रुको भय रहने छैन भन्ने आश्वासन भगवान्ले दिनुभयो। भगवान् आफैँ बलिको द्वारपाल बनेर उनको रक्षा गर्ने प्रतिज्ञा गर्नुभयो। बलिको असुर भाव पूर्ण रूपमा नष्ट गरी उनलाई शुद्ध भक्त बनाउनु नै भगवान्को मुख्य उद्देश्य थियो। यसरी बलिले आफ्नो अहंकार अर्पण गरेर स्वयं भगवान्लाई नै आफ्नो बनाउन सफल भए। भगवान्ले बलिको धैर्य र भक्तिको प्रशंसा गर्दै उनलाई अभय दान दिनुभयो। यो कथाले भक्तिको मार्गमा सर्वस्व त्यागको महत्त्वलाई उजागर गर्दछ। अन्त्यमा, बलिले भगवान्को आज्ञा शिरोधार्य गरी सपरिवार सुतल लोकतर्फ प्रस्थान गर्नुभयो।
यस अध्यायको दार्शनिक पक्ष :
यस अध्यायको दार्शनिक पक्ष 'शरणागति' र 'अहंकार विसर्जन' मा आधारित छ। राजा बलिले आफ्नो शरीर र आत्मालाई नै भगवान्मा अर्पण गरेर 'आत्मनिवेदन' को सर्वोच्च भक्ति प्रदर्शन गरेका छन्। भगवान्द्वारा धन हरण गरिनुलाई 'अनुग्रह' भनिएको छ, जसले मानिसलाई मद र मोहबाट मुक्त गराउँछ। 'तेस्रो पाइला' को दार्शनिक अर्थ मनुष्यको अहंकारको शिरमा ईश्वरको नियन्त्रण हुनु हो। यसले सिकाउँछ कि साँचो दान भनेको बाहिरी वस्तुको दान मात्र नभएर आफ्नै 'म' र 'मेरो' भन्ने भावको त्याग हो। प्रह्लादको उपस्थिति र संवादले यो सिद्ध गर्छ कि भक्तिको मार्गमा सांसारिक नाताभन्दा ईश्वरसँगको नाता बलियो हुन्छ। समय र दैवको प्रतिकूलतामा पनि सत्यमा अडिग रहनु नै वास्तविक धर्म हो। भगवान् आफैँ बलिको द्वारपाल बन्नुले 'भक्तको अधीनमा भगवान्' हुने सिद्धान्तलाई पुष्टि गर्दछ। सुतल लोकको सुखले यो सङ्केत गर्छ कि जसले भगवान्लाई सबै सुम्पिन्छ, उसले अलौकिक शान्ति प्राप्त गर्दछ। अन्त्यमा, यो अध्यायले अहंकारको नाश नै आत्मज्ञानको पहिलो पाइला हो भन्ने सन्देश दिन्छ।
No comments:
Post a Comment