॥ भागवत दर्शन ॥
इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् ।
भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
एकादशस्कन्धः – षष्ठोऽध्यायः
श्रीमद्भागवत महापुराण
एकादशस्कन्धः – षष्ठोऽध्यायः
श्रीशुक उवाच
अथ ब्रह्माऽऽत्मजैर्देवैः प्रजेशैरावृतोऽभ्यगात् ।
भवश्च भूतभव्येशो ययौ भूतगणैर्वृतः ।। १ ।।
श्रीशुकदेवले भन्नुभयो– हे महाराज परीक्षित ! ब्रह्मजी आफ्ना सनकादि छोराहरुको साथमा द्वारकापुरीमा आउनु भयो । त्यसैगरी शंकरजी पनि आफ्ना भूतगणहरुको साथमा द्वारकापुरीमा आउनुभयो ।।१।।
इन्द्रो मरुद्भिर्भगवानादित्या वसवोऽश्विनौ ।
ऋभवोऽङ्गिरसो रुद्रा विश्वे साध्याश्च देवताः ।। २ ।।
गन्धर्वाप्सरसो नागाः सिद्धचारणगुह्यकाः ।
ऋषयः पितरश्चैव सविद्याधरकिन्नराः ।। ३।।
द्वारकामुपसंजग्मुः सर्वे कृष्णदिदृक्षवः ।
वपुषा येतु भगवान् नरलोकमनोरमः ।
यशो वितेने लोकेषु सर्वलोकमलापहम् ।। ४ ।।
मरुद्गणलाई साथमा लिएर इन्द्र, सबै सूर्य, अष्टवसु, अश्विनीकुमार, ऋभु, अङ्गिरा, एकादश रुद्र, विश्वेदेव साध्यगण, गन्धर्व, अप्सरा, नागहरू, सिद्धगण, चारण, गुह्यक, ऋषिहरू पितृगण, विद्याधर, किन्नर यी सबै भगवान् कृष्णको दर्शन गर्नाका इच्छाले द्वारकामा गए, यी सबै जना त्यहाँ जानुको उद्देश्य भगवान् श्रीकष्णले जुन शरीर धारण गरेर मनुष्यलोकमा सबै पापलाई हरण गर्नु भयो, र सबैतिर कीर्ति फैलाउनु भयो त्यही शरीरको दर्शनका लागि त्यहाँ आएका थिए ।।१–४।।
तस्यां विभ्राजमानायां समृद्धायां महद्र्धिभिः ।
व्यचक्षतावितृप्ताक्षाः कृष्णमद्भुतदर्शनम् ।। ५ ।।
यस प्रकारको समृध्दिले सम्पन्न सम्पन्नका कारण चम्किएको त्यस द्वारकापुरीमा ती देवताहरुले आफ्ना अतृप्त नेत्रले भगवान् श्रीकृष्णको दर्शन गरे ।।५।।
स्वर्गोद्यानोपगैर्माल्यैश्छादयन्तो यदूत्तमम् ।
गीर्भिश्चित्रपदार्थाभिस्तुष्टुवुर्जगदीश्वरम् ।। ६ ।।
स्वर्गको बगैंचामा भएका फूलले श्रीकृष्णलाई पूजा गर्दै चित्र विचित्र शब्द र पदको अर्थ बुझाउने वाक्यद्वारा जगत्का मालिक भगवान् कृष्णको स्तुति गर्न लागे ।।६।।
देवा ऊचुः
नताः स्म ते नाथ पदारविन्दं
बुद्धीन्द्रियप्राणमनोवचोभिः ।
यच्चिन्त्यतेऽन्तर्हृदि भावयुक्तै–
मुमुक्षुभिः कर्ममयोरुपाशात् ।। ७ ।।
देवताहरूले भने – हे नाथ ! कर्म रूप भयंकर बन्धनबाट छुटकारा पाउनका लागि मुमुक्षुहरु भक्तिभाव पूर्वक हजुरको चरणकमललाई आफ्नो हृदयमा लगाऐर ध्यान गर्दछन् । हजुरको त्यही चरणकमललाई हाम्रो बुद्धि, इन्द्रिय, प्राण, मन, वचनले प्रणाम गर्दछौं ।।७।।
त्वं मायया त्रिगुणयाऽऽत्मनि दुर्विभाव्यं
व्यक्तं सृजस्यवसि लुम्पसि तद्गुणस्थः ।
नैतैर्भवानजित कर्मभिरज्यते वै
यत्स्वे सुखेऽव्यवहितेऽभिरतोऽनवद्यः ।। ८ ।।
हे अजित ! हजुर आफ्नो मायाको गुणमा रहेर यो तर्क गर्न पनि नसक्ने भएको प्रपञ्चलार्ई त्यही गुणको सहाराले सृष्टि गर्ने, पालना गर्ने र संहार गर्ने काम गर्नुहुन्छ, तर हजुर ती सृष्टि आदि कर्ममा लिप्त हुनुहुन्न किनकि हजुर रागद
द्वेष आदिबाट सर्वथा रहित हुनुहुन्छ र आफ्नो अखण्ड आनन्दमा मग्न हुनुहुन्छ ।। ८ ।।
शुद्धिर्नृणां न तु तथेड्य दुराशयानां
विद्याश्रुताध्ययनदानतपः क्रियाभिः ।
सत्वात्मनामृषभ ते यशसि प्रवृद्ध–
सच्छ्द्धया श्रवणसम्भृतया यथा स्यात् ।। ९।।
हे परमपूज्य हे श्रेष्ठ प्रभो ! जुन मानिसको चित्तवृत्ति रागद्वेश आदिले भरिएको छ । कलुषित भएको छ, उसले उपासना, वेदाध्यायन दान, तप, कर्म कुनैबाट पनि उसको चित्त सुध्द हुन सक्तैन तर सज्जन पुरुषाबाट हजुरको लीला कथा श्रवण गर्यो भने त्यसबाट श्रद्धा बढ्न गई चित्त सुध्द हुन सक्दछ ।।९।।
स्यान्नस्तवाङ्घ्रिरशुभाशयधूमकेतुः
क्षेमाय यो मुनिभिराद्र्रहृदोह्यमानः ।
यः सात्वतैः समविभूतय आत्मवद्भि–
व्यूहे ऽर्चितः सवनशः स्वरतिक्रमाय ।। १० ।।
यश्चिन्त्यते प्रयतपाणिभिरध्वराग्नौ
त्रय्या निरुक्तविधिनेश हविर्गृहीत्वा ।
अध्यात्मयोग उत योगिभिरात्ममायां
जिज्ञासुभिः परमभागवतैः परीष्टः ।। ११ ।।
मुमुक्षु मुनिहरूले मोक्षको प्राप्तिको लागि आफ्नो प्रेम मुक्त हृदयले चिन्तन गर्दै पूजा गर्दछन् र पञ्चरात्र विधिले उपासना गर्ने भक्तले भगवान् समान ऐश्वर्य अर्थात् सालोक्या प्राप्तिको लागि वासुदेव, प्रद्युम्न, संकर्षण र अनिरुध्द यी चर्तुव्यूहको पूजा गर्दछन् । जितेन्द्रिय आत्मज्ञानी पुरुषले स्वर्गलाई नागेर बैकुण्ठ प्राप्तिको लागि तीनै काल पूजा गर्दछन् । अर्का सात्विकहरुले वेदले बताएको विधि अनुसरा आफ्नो हातमा हविष्य लिएर यज्ञकुण्डमा आहुति दिन्छन र हृदयमा उनैको ध्यान गर्दछन् । अर्का अध्यात्मयोगमा लागेका योगीहरूले हजुरको मायालाई जान्नका लागि आफ्नो हृदयमा जसको चिन्तन गर्दछन् । हजुरका प्रेमी भक्तहरुले हजरलाइ आफ्नो आराध्यदेवका रुपमा मान्दछन् । हे प्रभु हजुरको त्यही चरणकमल हाम्र सबै अशुभ वासनाहरु नाश गर्नको लागि अग्नि स्वरुप हुन र हाम्र सबै पापलाई भस्म पारुन् ।।१०–११)
पर्युष्टया तव विभो वनमालयेयं
संस्पर्धिनी भगवती प्रतिपत्निवच्छ्रीः ।
यः सुप्रणीतममुयार्हणमाददन्नो
भूयात् सदाङ्घ्रिरशुभाशयधूमकेतुः ।। १२ ।।
हे प्रभु ! हजुरको वक्षस्थलमा रहेकी भगवती हजुरको गलामा वैलाएर रहेको वनमालासँग पनि सौतेनी जस्तो प्रतिस्पर्धा गर्नुहुन्छ तापनि हजुर त्यसको वास्ता नगरी जसले वनमालाद्वारा हजुरको राम्रो पूजा गर्छ त्यो पूजा हजुर स्वीकार गर्नुहुन्छ त्यस्तो हजुरका चरणकमलले हाम्रा खराब वासनाहरू भस्म गराउने हुन् ।।१२।।
केतुस्त्रिविक्रमयुतस्त्रिपतत्पताको
यस्ते भयाभयकरोऽसुरदेवचम्वोः ।
स्वर्गाय साधुषु खलेष्वितराय भूमन्
पादः पुनातु भगवन् भजतामघं नः ।। १३ ।।
हे भूमन् ! हे अनन्त ! हजुरको वामन अवतारमा हजुरको दाश्रो पाद पखाल्ने क्रममा गोडा धक्का लाग्दा निस्केको तीन धारा भएर सत्यलोक पुगर निस्किएकी गङ्गा नै ध्वजा पताकाको रूपले देखिन्थ्यो जसले दानवलाई भय र देवतालाई अभयदायक, साधु पुरुषका लागि हजुरको धाम प्राप्त गराउने र दुष्टलाई अधपतन गराउने साधन भयो । हजुरको यही चरणको ध्यान गर्ने हामीहरुको सबै पापको नास गरी पवित्र गराउनुहोस् ।। १८ ।।
नस्योतगाव इव यस्य वशे भवन्ति
ब्रह्मादयस्तनुभृतो मिथुरद्र्यमानाः ।
कालस्य ते प्रकृतिपूरुषयोः परस्य.
शं नस्तनोतु चरणः पुरुषोत्तमस्य ।। १४ ।।
ब्रह्माआदि जतिपनि शरीरधारीहरू छन् ती सबै नाक छेडेर नत्थी लगाइएका गाईगोरु जस्तै प्रकृति र पुरुष भन्दा पर रहने हजुरको वशमा छन् । त्यस्ता पुरुषोत्तम भगवान्को चरणले हाम्रो कल्याण गरून् ।।१४।।
अस्यासि हेतुरुदयस्थितिसंयमाना–
मव्यक्तजीवमहतामपि कालमाहुः ।
सोऽयं त्रिणाभिरखिलापचये प्रवृत्तः
कालो गभीररय उत्तमपूरुषस्त्वम् ।। १५ ।।
यो संसारको सृष्टि, पालन, नाश गर्ने मुल कारण पनि हजुर नै हुनुहुन्छ । प्रकृति पुरुष महत्तत्व, प्रकृति र पुरुषको नियन्त्रण गर्ने कालरूप हजुर नै हुनुहुन्छ । त्यस्तै मौसम अनुसार हुने जाडो, गर्मी र वर्षा रूप ३ नाभिले युक्त अतितीव्र वेगवान् सबको विनाश गर्न प्रवृत्त भएका कालस्वरूप हजुर पुरुषोत्तम हुनुहुन्छ ।।१५।।
त्वत्तः पुमान् समधिगम्य यया स्ववीर्यं धत्ते महान्तमिव गर्भममोघवीर्यः ।
सोऽयं तयानुगत आत्मन आण्डकोशं
हैमं ससर्ज बहिरावरणैरुपेतम् ।। १६ ।।
हजुरबाटै शक्ति प्राप्त गरेर अमोघवीर्य भएको पुरुषले माया अर्थात प्रकृतियुक्त भई विश्वको गर्भ जस्तो महत्तत्वलाई पैदा गर्दछ, मायाका गुणको अनुसरण गर्दै त्यो महत्तत्वले आफूबाट पञ्चमहाभूत, मन र अहङ्कार गरी सात आवरणले युक्त सुनौलो ब्रह्माण्ड रचना गर्दछ ।।१६।।
तत्तस्थुषश्च जगतश्च भवानधीशो
यन्माययोत्थगुणविक्रिययोपनीतान् ।
अर्थाञ्जषन्नपि हृषीकपते न लिप्तो
येऽन्ये स्वतः परिहृतादपि बिभ्यति स्म ।। १७ ।।
त्यसैले हे हृषीकेष ! यो स्थावर, जङ्गम सबै प्राणीका मालिक हजुर नै हुनुहुन्छ, किनभने मायाबाट उत्पन्न इन्द्रियवृत्तिले प्राप्त विषयमा पदार्थको भोग गरेर पनि हजुर त्यसमा आसक्त हुनुहुन्न । अरु सबै प्राणी ती विषयलाई आफैं छोडेपनि त्यसबाट सधैं डराइरहन्छन् ।।१७।।
स्मायावलोकलवदर्शितभावहारि–
भ्रूमण्डलप्रहितसौरतमन्त्रशौण्डैः ।
पत्न्यस्तु षोडशसहस्रमनङ्गबाणै–
र्यस्येन्द्रियं विमथितुं करणैर्न विभव्यः ।। १८ ।।
हजुरको मन्दहास्यबाट देखाइको कटाक्षले देखिने हावभावयुक्त सुन्दर आँखीभौंद्वारा रतिक्रीडाका साधनले परिपुष्ट कामबाणरूप कामकलाद्वारा सोह्र हजार रानीले पनि हजुरकोजुन इन्द्रियलाई वशमा पार्न समर्थ भएनन् ।।१८।।
विभ्व्यस्तवामृतकथोदवहास्त्रिलोक्याः
पादावनेजसरितः शमलानि हन्तुम् ।
आनुश्रवं श्रुतिभिरङ्घ्रिजमङ्गसङ्गै–
स्तीर्थद्वयं शुचिषदस्त उपस्पृशन्ति ।। १९ ।।
हे प्रभु ! हजुरले तीनै लोकककको पाप पखाल्नको लागि दुई प्रकारका नदि बगाउनु भएको छ । पहिलो हजुरको अमृतरूप लीला कथा रुपी नदी हो । अर्को हजुरको पाउ पखालेको जलबाट उत्पन्न गङ्गा आदि नदी हुन जहाँ स्नान गरेर हजुरको सेवा गरिन्छ । बरने कीर्ति नदी र हजुरका पाउ धोएको जल बनेर उत्पन्न भएकी नदी यी दुवै प्रकारका नदी पाप नाश गर्न समर्थ छन् विवेकीहरू हजुरको दुवै नदीमा स्नान पुण्य प्राप्त गर्दछन् ।। १९ ।।
बादरायणिरुवाच
इत्यभिष्ट्रय विबुधैः सेशः शतधृतिर्हरिम् ।
अभ्यभाषत गोविन्दं प्रणम्याम्बरमाश्रितः ।। २० ।।
शुकदेवले भन्नुभयो– शिवजी ब्रह्माजी, सहित भएका देवताहरुले आकाशमा बसेर यस्ता प्रकारले हरिको स्तुति गरे र भगवान्लाई प्रणाम गरी भन्न लागे ।।२०।।
ब्रह्मोवाच
भूमेर्भारावताराय पुरा विज्ञापितः प्रभो ।
त्वमस्माभिरशेषात्मंस्तत्तथैवोपपादितम् ।। २१ ।।
ब्रह्माजीले भन्नुभयो– पहिले हामीले भूमिको भार हरण गर्न हजुरलाई प्रार्थना गरेका थियौं । हजुरबाट त्यो सबै काम पूरा भइसकेको छ ।।२१।।
धर्मश्च स्थापितः सत्सु सत्यसन्धेषु वै त्वया ।
कीर्तिश्च दिक्षु विक्षिप्ता सर्वलोकमलापहा ।। २२ ।।
हजुरले सत्यमा लागेका सज्जनहरुको कल्याणको लागि धर्मको स्थापना गर्नुभयो र दशै दिशामा आफ्नो कीर्ति पनि फैलाइसक्नुभयो जुन कुरा सुन्दा सबैको मनमा रहेको मैलो हटेर जान्छ ।।२२।।
अवतीर्य यदोवंशे बिभ्रद् रूपमनुत्तमम् ।
कर्माण्युद्दामवृत्तानि हिताय जगतोऽकृथाः ।। २३ ।।
हजुरले दिव्यरुप धारण गरेर यदुको वंशमा अवतार लिनुभयो । जुन अवतारबाट हजुरले जगतको कल्याणको निमित्त पराक्रमले युक्त अनेक लीलाहरु गर्नुभयो ।।२३।।
यानि ते चरितानीश मनुष्याः साधवः कलौ ।
शृण्वन्तः कीर्तयन्तश्च तरिष्यन्त्यज्ञ्जसा तमः ।। २४ ।।
हे ईश ! हजुरले जति कर्म या चरित्र गर्नुभयो ती चरित्रको श्रवण र कीर्तन गर्ने कलियुगका साधुजनहरू अज्ञानको अन्धकारबाट सजिलै पार हुन्छन् ।।२४।
यदुवंशेऽवतीर्णस्य भवतः पुरुषोत्तम ।
शरच्छतं व्यतीयाय पञ्चविंशाधिकं प्रभो ।। २५ ।।
हे पुरुषोत्तम प्रभु ! हजुरले यदुकुलमा अवतीर्ण भएको पनि एक सय पच्चीस वर्ष बितिसकेको छ ।। २५ ।।
नाधुना तेऽखिलाधार देवकार्यावशेषितम् ।
कुलं च विप्रशापेन नष्टप्रायमभूदिदम् ।। २६ ।।
हे सम्पूर्ण जगतका एक मात्र आश्रय भएका प्रभु ! हजुरले अब यहाँ गर्नुपर्ने कुनै काम बाँकी छैन । हजुरको यो यादवकुल पनि ब्राह्मणको श्रापले प्राय नष्ट भैसकेको छ ।।२६।।
ततः स्वधाम परमं विशस्व यदि मन्यसे ।
सलोकाँल्लोकपालान् नः पाहि वैकुण्ठकिङ्करान् ।। २७ ।।
त्यसकारण हजुरलाई उचित लाग्छ भने हजुर आफ्नो परमधाम पाल्नुहओस् र लोक सहित हामी लोकपालको रुप्मा रहेका वैकुण्ठका सेवक हामीलाई रक्षा गर्नुहओस् ।।२७।।
श्रीभगवानुवाच
अवधारितमेतन्मे यदात्थ विबुधेश्वर ।
कृतं वः कार्यमखिलं भूमेर्भारोऽवतारितः ।। २८ ।।
भगवान् कृष्णले भन्नुभयो– हे विवुधेश्वर (ब्रह्माजी) ! हजुरले जे भन्नुभयो मेरो पनि त्यही विचार छ । मैले यहाँहरुको सबै गरिसकें, पृथ्वीको भार हरण गरें ।।२८।।
तदिदं यादवकुलं वीर्यशौर्यश्रियोद्धतम् ।
लोकं जिघृक्षद् रुद्धं मे वेलयेव महार्णवः ।। २९ ।।
यी जुन यदुवंशी छन् यिनीहरु आफ्नो बल र धनले उन्मत्त भएकोले यो यादवकुलले पृथिवीलाई नै खान खोजेको छ तर किनाराले समुद्रको छाललाई रोकेजस्तै मैले रोकेर राखेको छु ।।२९।।
यद्यसंहृत्य दृप्तानां यदूनां विपुलं कुलम् ।
गन्तास्म्यनेन लोकोऽयमुद्वेलेन विनङ्क्ष्यति ।। ३० ।।
यदि यो उन्मत्त भएको ठूलो यादवकुल नाश नगरिकन म गएँ भने यसले संसारलाई नाश गर्नेछ ।।३०।।
इदानीं नाश आरब्धः कुलस्य द्विजशापतः ।
यास्यामि भवनं ब्रह्मन्नेतदन्ते तवानघ ।। ३१ ।।
अब ब्राह्मणको श्रापबाट यो कुलको नाश हुन लागेको छ यो कुलको नाश भैसकेपछि म तपाईको लोक भएर आफ्नो धाममा जानेछु ।।३१।।
श्रीशुक उवाच
इत्युक्तो लोकनाथेन स्वयम्भूः प्रणिपत्य तम् ।
सह देवगणैर्देवः स्वधाम समपद्यत ।। ३२ ।।
श्री शुकदेवले भन्नुभयो– भगवान् कृष्णले यसो भनेपछि देवगण सहित ब्रह्माले कृष्णलाई प्रणाम गरेर आफ्ना लोकतिर लागे ।।३२।।
अथ तस्यां महोत्पातान् द्वारवत्यां समुत्थितान् ।
विलोक्य भगवानाह यदुवृद्धान् समागतान् ।। ३३ ।।
देवता गएपछि द्वारकामा अनेक उत्पात हुन लागेको देखेर त्यहाँ आएका यदुकुलका बूढापाकालाई भगवान्ले भन्नुभयो ।।३३।।
श्रीभगवानुवाच
एते वै सुमहोत्पाता व्यत्तिष्ठन्तीह सर्वतः ।
शापश्च नः कुलस्यासीद् ब्राह्मणेभ्यो दुरत्ययः ।। ३४ ।।
भगवान्ले भन्नुभयो– अहिले यहाँ सबैतिर ठुला ठुला उत्पात भैरहेका छन्, यो हाम्रो कुललाई ब्राह्मणबाट ठूलो श्राप परिसकेको छ ।।३४।।
न वस्तव्यमिहास्माभिर्जिजीविषुभिरार्यकाः ।
प्रभासं सुमहत्पुण्यं यास्यामोऽद्यैव मा चिरम् ।। ३५ ।।
हे आर्यगण हो ! मेरो बिचार यो छ कि यदि हामी बाँच्न चाहने हो भने अब यहाँ बस्न हुँदैन ढिलो नगरी आज नै पुण्यदायक प्रभास क्षेत्रमा जाऊँ ।। ३५ ।।
यत्र स्नात्वा दक्षशापाद् गृहीतो यक्ष्मणोडुराट् ।
विमुक्तः किल्बिषात् सद्यो भेजे भूयः कलोदयम् ।। ३६ ।।
प्रभास क्षेत्रको महिमा यस्तो छ कि जुन ठाउँमा नुहाएर दक्षका श्रापले क्षयरोग लागेका चन्द्रमा दोषबाट मुक्त भै चाँडै नै फेरि आफ्नो कला बढाएका थिए ।।३६।।
वयं च तस्मिन्नाप्लुत्य तर्पयित्वा पितृन्सुरान् ।
भोजयित्वोशिजो विप्रान् नानागुणवतान्धसा ।। ३७ ।।
तेषु दानानि पात्रेषु श्रद्धयोप्त्वा महान्ति वै ।
वृजिनानि तरिष्यामो दानैनभिरिवार्णवम् ।। ३८ ।।
हामी पनि त्यहाँ प्रभास क्षेत्रमा गएर नुहाएर पितृ र देवताहरुलाई तर्पण गरी अनेकौं मिठा मिठा पकवान्नहरु तयार गरेर श्रेष्ठ ब्राह्मणलाई भोजन गराऔं । हामीले त्यहाँसत्पात्रमा श्रद्धापूर्वक दान दिएर नाउद्वारा समुद्र तरेजस्तै दानद्वारा ठूलो संकटबाट पार तर्नेछौं ।३७–३८।।
श्रीशुक उवाच
एवं भगवताऽऽदिष्टा यादवाः कुलनन्दन ।
गन्तुं कृतधियस्तीर्थं स्यन्दनान् समयूयुजन् ।। ३९ ।।
श्री शुकदेवले भन्नुभयो– हे कुलनन्दन परीक्षित ! यसरी भगवान्बाट आदेश पाएका यादवले प्रभासतीर्थ जाने विचारले रथहरू ठीक पार्न लागे ।।३९।।
तन्निरीक्ष्योद्धवो राजन् श्रुत्वा भगवतोदितम् ।
दृष्ट्वारिष्टानि घोराणि नित्यं कृष्णमनुव्रतः ।। ४० ।।
विविक्त उपसङ्गम्य जगतामीश्वरेश्वरम् ।
प्रणम्य शिरसा पादौ प्राञ्जलिस्तमभाषत ।। ४१ ।।
हे राजन् । भगवान् श्रीकृष्णका उत्तम भक्त उध्दवजीले यादवले रथहरूको तयारी गरेको देखेर र भगवान्को कुरा सुनेर त्यस्तै सबैतिर डरलाग्दा अनिष्टहरू देखेर कृष्णका अनुयायी उद्धवले वैराग्य भएर भगवान्को नजीकै गई वहाँको चरणमा शिर झुकाएर प्रणाम गरी नम्रतापूर्वक हात जोडी भगवान्सँग भन्न लागे ।।४०–४१ ।।
उद्धव उवाच
देवदेवेश योगेश पुण्यश्रवणकीर्तन ।
संहृत्यैतत् कुलं नूनं लोकं सन्त्यक्ष्यते भवान् ।
विप्रशाप समर्थोऽपि प्रत्यहन्न यदीश्वरः ।। ४२ ।।
उद्धवले भने– हे देवताहरुका आराध्य हे देवेश्वर ! हे योगेश ! हजुरको लीला कथाहरुको श्रवण गर्नाले पुण्य प्राप्ति हुन्छ । ब्राह्मणको श्रापलाई रोक्न सक्ने शक्ति भएर पनि हजुरले यो श्रापलाई रोक्न चाहनु भएन, यसबाट निश्चय हुन्छ कि यो यादवको कुललाई नाश गराएर हजुरले यो मत्र्यलोक छाडेर जान खोज्दै हुनुहुन्छ ।।४२।।
नाहं तवाङ्घ्रिकमलं क्षणार्धमपि केशव ।
त्यक्तुं समुत्सहे नाथ स्वधाम नय मामपि ।। ४३ ।।
हे केशव ! म हजुरको चरण कमललाई छाड्ेर आधा क्षण मात्र छाड्न सक्तिन, यसैले हे नाथ ! मलाई पनि आफ्नो धाममा लैजानुहोस् ।।४३।।
तव विक्रीडितं कृष्ण नृणां परममङ्गलम् ।
कर्णपीयूषमास्वाद्य त्यजत्यन्यस्पृहां जनः ।। ४४ ।।
हे कृष्ण भगवन् ! हजुरका लीलाहरू मनुष्यको लागि ज्यादै मङ्गलदायक छन् जुन लीलारूप अमृत कानले स्वाद लिएपछि मनुष्यले अन्य सबै इच्छा छाडिदिन्छन् ।।४४।।
शय्यासनाटनस्थानस्नानक्रीडाशनादिषु ।
कथं त्वां प्रियमात्मानं वयं भक्तास्त्यजेमहि ।। ४५ ।।
हे प्रभु ! सुत्ने, बस्ने, घुम्ने, नुहाउने, खेल्ने र खाने आदि सबै काममा सँगै रहने हामी भक्तहरू आफ्ना प्रिय हुनुभएको हजुरलाई कसरी छाड्न सक्तछौं ।।४५।।
त्वयोपभुक्तस्रग्गन्धवासोऽलङ्कारचर्चिताः ।
उच्छिष्टभोजिनो दासास्तव मायां जयेमहि ।। ४६ ।।
हजुरले धारण गरेका माला, चन्दन, कपडा, अलङ्कारको प्रयोग गर्ने, हजुरको जूठो खाने हौं । हामी हजुरका सेवक हौं । त्यसैले हे प्रभु हामीलाई हजुरको मायाबाट कुनै डर छैन । हामीलाई केवल हजुर संगको बिछोडको भय छ ।।४६।।
वातरशना य ऋषयः श्रमणा ऊध्र्वमन्थिनः ।
ब्रह्माख्यं धाम ते यान्ति शान्ताः संन्यासिनोऽमलाः ।। ४७ ।।
हे प्रभु – वायु मात्र खाने, आत्मविद्यामा परिश्रम गर्ने, जो उद्र्धरेता छन्, जो निर्मल चित्त भएका शान्त सन्यासी छन्, उनीहरू हजुरको ब्रह्मनामको लोक प्राप्त गर्दछन् ।।४७।।
वयं त्विह महायोगिन् भ्रमन्तः कर्मवत्र्मसु ।
त्वद्वार्तया तरिष्यामस्तावकैर्दुस्तरं तमः ।। ४८ ।।
स्मरन्तः कीर्तयन्तस्ते कृतानि गदितानि च ।
गत्युत्स्मितेक्षणक्ष्वेलि यन्नृलोकविडम्बनम् ।। ४९ ।।
हे महायोगिन् ! यो कर्ममार्गमा लाग्ने हामी कर्मको गति अनुसार प्राप्त हुने देव मनुष्यादि शरीर लिएर घुम्दै हजुर कै भक्तका संगतले ता हजुरका हजुरको चरित्रहरु लीलाहरु, उपदेशहरु, अनुकरणहरुलाई सम्झदै हजुरका कथा भजन कीर्तनबाट यो भवसागर पार गर्नेछौं ।।४८–४९।।
श्रीशुक उवाच
एवं विज्ञापितो राजन् भगवान् देवकीसुतः ।
एकान्तिनं प्रियं भृत्यमुद्धवं समभाषत ।। ५० ।।
श्री शुकदेवले भन्नभयो– हे राजन् ! यसरी उद्धवले प्रार्थना गरेपछि देवकीका पुत्र भगवान्ले आफ्ना प्यारा भक्त उद्धवलाई भन्न लाग्नुभयो ।।५०।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां सहितायामेकादशस्कन्धे षष्ठोऽध्यायः ।।६।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment