श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - दशमोऽध्यायः
खट्वाङ्गाद् दीर्घबाहुश्च रघुस्तस्मात् पृथुश्रवाः ।
अजस्ततो महाराजस्तस्मात् दशरथोऽभवत् ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित् ! खट्वाङ्गका छोरा दीर्घबाहु भए र दीर्घबाहुका छोरा रघु थिए, जो अत्यन्त प्रभावशाली थिए। रघुपछि अज र अजका छोरा महाराज दशरथ भए ।।१।।
तस्यापि भगवानेष साक्षाद् ब्रह्ममयो हरिः ।
अंशांशेन चतुर्धागात् पुत्रत्वं प्रार्थितः सुरैः ।
रामलक्ष्मणभरतशत्रुघ्ना इति संज्ञया ॥ २ ॥
नेपाली भावानुवादः देवताहरूको प्रार्थना स्वीकार गरी साक्षात् ब्रह्ममय भगवान् श्रीहरि आफ्ना अंशका साथ दशरथको पुत्रका रूपमा अवतीर्ण हुनुभयो। उहाँ राम, लक्ष्मण, भरत र शत्रुघ्न गरी चार रूपमा प्रकट हुनुभयो ।।२।।
तस्यानुचरितं राजन्नृषिभिः तत्त्वदर्शिभिः ।
श्रुतं हि वर्णितं भूरि त्वया सीतापतेर्मुहुः ॥ ३ ॥
नेपाली भावानुवादः हे राजन् ! सीतापति भगवान् श्रीरामको चरित्र तत्त्वदर्शी ऋषिहरूले धेरै प्रकारले वर्णन गरेका छन् र तपाईंले पनि उहाँको महिमा पटक-पटक सुन्नुभएकै छ ।।३।।
गुर्वर्थे त्यक्तराज्यो व्यचरदनुवनं पद्मपद्भ्यां प्रियायाः ।
पाणिस्पर्शाक्षमाभ्यां मृजितपथरुजो यो हरीन्द्रानुजाभ्याम् ।
वैरूप्याच्छूर्पणख्याः प्रियविरहरुषाऽऽरोपितभ्रूविजृम्भ- ।
त्रस्ताब्धिर्बद्धसेतुः खलदवदहनः कोसलेन्द्रोऽवतान्नः ॥ ४ ॥
नेपाली भावानुवादः आफ्ना पिताको सत्य वचन पालन गर्नका लागि राजपाट त्यागेर भगवान् श्रीराम वनमा जानुभयो। उहाँका चरणकमल यति सुकुमार थिए कि सीताजीको कोमल हातले स्पर्श गर्दा पनि सहन मुस्किल हुन्थ्यो, तैपनि उहाँ वन-वन चहार्नुभयो। वनको यात्रामा थाकेका बेला बाँदरराज सुग्रीव र भाइ लक्ष्मणले उहाँको चरण सुमसुम्याएर थकाइ मेटाउँथे। शूर्पणखालाई विरूप बनाइदिएका कारण क्रोधित रावणले सीताजीको हरण गर्यो र श्रीरामले प्रियतमाको वियोग सहनुपर्यो। त्यही वियोगको क्रोधमा उहाँले आँखीभौं खुम्च्याउँदा समुद्रसमेत भयभीत भयो। त्यसपछि उहाँले समुद्रमा सेतु बाँधी लङ्कामा गएर डढेलोले वन डढाएझैँ दुष्ट राक्षसहरूलाई नष्ट गरिदिनुभयो। उनै कोसल नरेश श्रीरामले हाम्रो रक्षा गरून् ।।४।।
विश्वामित्राध्वरे येन मारीचाद्या निशाचराः ।
पश्यतो लक्ष्मणस्यैव हता नैर्ऋतपुङ्गवाः ॥ ५ ॥
नेपाली भावानुवादः भगवान् श्रीरामले विश्वामित्रको यज्ञमा भाइ लक्ष्मणकै अगाडि मारीच आदि प्रमुख राक्षसहरूलाई मारिदिनुभयो ।।५।।
यो लोकवीरसमितौ धनुरैशमुग्रं
सीतास्वयंवरगृहे त्रिशतोपनीतम् ।
आसाय बालगजलील इवेक्षुयष्टिं
नेपाली भावानुवादः हे राजन् ! जनकपुरको सीता-स्वयंवरमा विश्वका वीरहरूको सभामा भगवान् शङ्करको त्यो भीषण धनुष राखिएको थियो, जसलाई बोक्नका लागि तीन सय बलवान् व्यक्तिहरू चाहिन्थ्यो। तर, भगवान् श्रीरामले बालक हात्तीले उखुको लाँक्रो भाँचेझैँ गरी खेलखेलमै त्यो धनुष उठाएर ताँदो चढाउँदै बीचैबाट टुक्रा-टुक्रा पारिदिनुभयो ।।६।।
जित्वानुरूपगुणशीलवयोऽङ्गरूपां
सीताभिधां श्रियमुरस्यभिलब्धमानाम् ।
मार्गे व्रजन् भृगुपतेर्व्यनयत् प्ररूढं
दर्पं महीमकृत यस्त्रिरराजबीजाम् ॥ ७ ॥
नेपाली भावानुवादः आफ्नो वक्षस्थलमा निवास गर्ने लक्ष्मीस्वरूपा सीताजीलाई (जसको गुण, शील र रूप भगवान् श्रीरामसँग मिल्दो थियो) उहाँले धनुष भाँचेर प्राप्त गर्नुभयो। अयोध्या फर्कने क्रममा बाटोमा उहाँले परशुरामको भेट पाउनुभयो, जसले २१ पटकसम्म पृथ्वीलाई क्षत्रियविहीन बनाएका थिए। श्रीरामले उनको उग्र घमण्डलाई पनि शान्त पारिदिनुभयो ।।७।।
यः सत्यपाशपरिवीतपितुर्निदेशं
स्त्रैणस्य चापि शिरसा जगृहे सभार्यः ।
राज्यं श्रियं प्रणयिनः सुहृदो निवासं
त्यक्त्वा ययौ वनमसूनिव मुक्तसङ्गः ॥ ८ ॥
नेपाली भावानुवादः पत्नीको वशमा परेर सत्यको पासोमा बाँधिएका पिता दशरथको आज्ञालाई उहाँले शिरोधार्य गर्नुभयो। मुक्त योगीले देह त्याग गरेझैँ गरी श्रीरामले आफ्नो राज्य, ऐश्वर्य, मित्र र राजमहललाई त्यागेर पत्नी र भाइका साथ वनवास जानुभयो ।।८।।
रक्षःस्वसुर्व्यकृत रूपमशुद्धबुद्धेस्तस्याः
खरत्रिशिरदूषणमुख्यबन्धून् ।
जघ्ने चतुर्दशसहस्रमपारणीय
कोदण्डपाणिरटमान उवास कृच्छ्रम् ॥ ९ ॥
नेपाली भावानुवादः वनमा रहँदा भगवानले कामवासनाले गर्दा अशुद्ध बुद्धि भएकी रावणकी बहिनी शूर्पणखालाई विरूप बनाइदिनुभयो। त्यसपछि उहाँले खर, दूषण र त्रिशिरा लगायत चौध हजार राक्षसहरूलाई एक्लै धनुषका भरमा संहार गर्नुभयो। यसरी उहाँले वनका अनेक कष्टहरू झेल्नुभयो ।।९।।
सीताकथाश्रवणदीपितहृच्छयेन
सृष्टं विलोक्य नृपते दशकन्धरेण ।
जघ्नेऽद्भुवतैण वपुषाऽऽश्रमतोऽपकृष्टो
मारीचमाशु विशिखेन यथा कमुग्रः ॥ १० ॥
नेपाली भावानुवादः हे परीक्षित् ! सीताको रूपबारे सुनेर रावण कामवासनाले आतुर भयो र उसले मारीचलाई कपटी मृग बनाएर पठायो। त्यो मृगले भगवान् श्रीरामलाई कुटीबाट टाढा पुर्यायो। अन्तमा वीरभद्रले दक्षलाई संहार गरेझैँ श्रीरामले एकै वाणले मारीचको अन्त्य गर्नुभयो ।।१०।।
रक्षोऽधमेन वृकवद् विपिनेऽसमक्षं
वैदेहराजदुहितर्यपयापितायाम् ।
भ्रात्रा वने कृपणवत् प्रियया वियुक्तः
स्त्रीसङ्गिनां गतिमिति प्रथयंश्चचार ॥ ११ ॥
नेपाली भावानुवादः श्रीराम र लक्ष्मण दुवै नभएको मौका पारी नीच रावणले ब्वाँसोले झैँ सीताजीलाई हरण गर्यो। त्यसपछि भगवान् आफ्नी प्राणप्रियाको वियोगमा साधारण मानिसझैँ विलाप गर्दै वन-वन चहार्न लाग्नुभयो। उहाँले यसरी लीला गरेर स्त्रीमा आसक्त हुनेहरूको कस्तो दुर्गति हुन्छ भन्ने कुरा संसारलाई देखाउनुभयो ।।११।।
दग्ध्वाऽऽत्मकृत्यहतकृत्यमहन् कबन्धं
सख्यं विधाय कपिभिर्दयितागतिं तैः ।
बुद्ध्वाथ वालिनि हते प्लवगेन्द्रसैन्यै
र्वेलामगात् स मनुजोऽजभवार्चिताङ्घ्रि ॥ १२ ॥
नेपाली भावानुवादः उहाँले जटायुको अन्त्येष्टि गर्नुभयो र कबन्धको संहार गर्नुभयो। त्यसपछि सुग्रीव आदि वानरहरूसँग मित्रता गरी बालीको वध गर्नुभयो। वानर सेनाको सहयोगमा सीताको अवस्था पत्ता लगाएपछि ब्रह्मा र शिवद्वारा पूजित भगवान् श्रीराम मनुष्य लीला गर्दै समुद्र किनारमा पुग्नुभयो ।।१२।।
यद्रोषविभ्रमविवृत्तकटाक्षपात
सम्भ्रान्तनक्रमकरो भयगीर्णघोषः ।
सिन्धुः शिरस्यर्हणं परिगृह्य रूपी
पादारविन्दमुपगम्य बभाष एतत् ॥ १३ ॥
नेपाली भावानुवादः जब प्रार्थना गर्दा पनि समुद्रले बाटो दिएन, तब श्रीरामले क्रोधित भएर समुद्रतर्फ हेर्नुभयो। उहाँको कोपाग्निले गर्दा समुद्रभित्रका गोही र माछाहरू त्रसित भए र समुद्रको गर्जन पनि हरायो। त्यसपछि समुद्रले मानव रूप धारण गरी हातमा विभिन्न उपहार लिएर श्रीरामको शरणमा आई यसो भन्यो ।।१३।।
न त्वां वयं जडधियो नु विदाम भूमन्
कूटस्थमादिपुरुषं जगतामधीशम् ।
यत्सत्त्वतः सुरगणा रजसः प्रजेशा
मन्योश्च भूतपतयः स भवान् गुणेशः ॥ १४ ॥
नेपाली भावानुवादः हे अनन्त ! हामी जड बुद्धि भएकाहरू तपाईंलाई चिन्न सक्दैनौँ। तपाईं त आदिपुरुष र सम्पूर्ण जगत्का स्वामी हुनुहुन्छ। तपाईं सबै गुणका स्वामी हुनुहुन्छ; सत्त्वगुणबाट देवता, रजोगुणबाट प्रजापति र तमोगुण (क्रोध) बाट रुद्रहरूको उत्पत्ति तपाईंले नै गर्नुभएको हो ।।१४।।
कामं प्रयाहि जहि विश्रवसोऽवमेहं
त्रैलोक्यरावणमवाप्नुहि वीर पत्नीम् ।
बध्नीहि सेतुमिह ते यशसो वितत्यै
गायन्ति दिग्विजयिनो यमुपेत्य भूपाः ॥ १५ ॥
नेपाली भावानुवादः हे वीर ! तपाईं आफ्नो इच्छा अनुसार मलाई तरेर जानुहोस् र तीनै लोकलाई रुवाउने विश्रवाका कुपुत्र रावणलाई मारेर आफ्नी पत्नी प्राप्त गर्नुहोस्। मेरो प्रार्थना यो छ कि यहाँ सेतु निर्माण गर्नुहोस्, जसले तपाईंको कीर्ति संसारभर फैलाउनेछ र भावी पुस्ताले यसको चर्चा गर्नेछन् ।।१५।।
बद्ध्वोदधौ रघुपतिर्विविधाद्रिकूटैः
सेतुं कपीन्द्रकरकम्पितभूरुहाङ्गैः ।
सुग्रीवनीलहनुमत्प्रमुखैरनीकैर्लङ्कां
विभीषणदृशाऽऽविशदग्रदग्धाम् ॥ १६ ॥
नेपाली भावानुवादः भगवान् श्रीरामले बाँदरहरूले उखेलेका ठुला-ठुला चट्टान र वृक्षहरूको सहायताले समुद्रमा सेतु बनाउनुभयो। त्यसपछि सुग्रीव, लक्ष्मण र हनुमान् लगायतको सेनाका साथ विभिषणको सल्लाह लिई उहाँले पहिले नै हनुमानले डढाएको लङ्कामा प्रवेश गर्नुभयो ।।१६।।
सा वानरेन्द्रबलरुद्धविहारकोष्ठ
श्रीद्वारगोपुरसदोवलभीविटङ्का ।
निर्भज्यमानधिषणध्वजहेमकुम्भ
शृङ्गाटका गजकुलैर्ह्रदिनीव घूर्णा ॥ १७ ॥
नेपाली भावानुवादः वानर सेनाले लङ्काका विहार, भण्डार, ढोका, सभाभवन र बरण्डाहरू घेरे। उनीहरूले त्यहाँका ध्वजा र सुनका कलशहरू तोडिदिए। त्यो समयमा लङ्काको अवस्था हात्तीको बथान पसेर छताछुल्ल पारेको पोखरी जस्तै देखिन्थ्यो ।।१७।।
रक्षःपतिस्तदवलोक्य निकुम्भकुम्भ
धूम्राक्ष दुर्मुख सुरान्तनरान्तकादीन् ।
पुत्रं प्रहस्तमतिकायविकम्पनादीन्
सर्वानुगान् समहिनोदथ कुम्भकर्णम् ॥ १८ ॥
नेपाली भावानुवादः आफ्नो नगरको यो दशा देखेर रावणले निकुम्भ, कुम्भ, धूम्राक्ष, दुर्मुख, प्रहस्त, अतिकाय र आफ्ना छोरा मेघनाद तथा भाइ कुम्भकर्ण लगायतलाई युद्धका लागि पठायो ।।१८।।
तां यातुधानपृतनामसिशूलचाप
प्रासर्ष्टिशक्तिशरतोमरखड्गदुर्गाम् ।
सुग्रीवलक्ष्मणमरुत्सुतगन्धमाद
नीलाङ्गदर्क्षपनसादिभिरन्वितोऽगात् ॥ १९ ॥
नेपाली भावानुवादः ती राक्षस सेनाहरू तरवार, त्रिशूल, धनुष, भाला आदि शस्त्रले सुसज्जित थिए। यता श्रीरामले सुग्रीव, लक्ष्मण, हनुमान्, अङ्गद र जाम्बवान् लगायतका वीरहरूका साथ राक्षस सेनाको सामना गर्नुभयो ।।१९।।
तेऽनीकपा रघुपतेरभिपत्य सर्वे
द्वन्द्वं वरूथमिभपत्तिरथाश्वयोधैः ।
जघ्नुर्द्रुमैर्गिरिगदेषुभिरङ्गदाद्याः
सीताभिमर्षहतमङ्गल रावणेशान् ॥ २० ॥
नेपाली भावानुवादः श्रीरामका सेनापतिहरूले रावणका चतुरङ्गिणी सेनालाई रुख, पहाडका टुक्रा र गदाले प्रहार गरी मार्न थाले। ती राक्षसहरूलाई मार्न गाह्रो थिएन, किनकि सीताजीलाई स्पर्श गर्ने दुस्साहस गरेकाले रावण र उसका अनुचरहरूको सारा पुण्य पहिले नै नष्ट भइसकेको थियो ।।२०।।
रक्षःपतिः स्वबलनष्टिमवेक्ष्य रुष्ट
आरुह्य यानकमथाभिससार रामम् ।
स्वःस्यन्दने द्युमति मातलिनोपनीते
विभ्राजमानमहनन्निशितैः क्षुरप्रैः ॥ २१ ॥
नेपाली भावानुवादः आफ्ना सेनाहरूको विनाश भएको देखेर रावण क्रोधित हुँदै विमानमा चढेर श्रीरामतिर आयो। इन्द्रका सारथी मातलीले ल्याएको दिव्य रथमा विराजमान हुनुभएका श्रीरामलाई रावणले तीखा वाणले प्रहार गर्न थाल्यो ।।२१।।
रामस्तमाह पुरुषादपुरीष यन्नः
कान्तासमक्षमसतापहृता श्ववत् ते ।
त्यक्तत्रपस्य फलमद्य जुगुप्सितस्य
यच्छामि काल इव कर्तुरलंघ्यवीर्यः ॥ २२ ॥
नेपाली भावानुवादः भगवान् श्रीरामले रावणलाई भन्नुभयो– “हे नीच राक्षस ! म नभएको मौका पारी तैँले कुकुरले झैँ मेरी पत्नीलाई हरण गरिस्। तँ जस्तो निर्लज्ज र निन्दनीय अरू को होला ? जसरी कालले कसैलाई पनि छाड्दैन, त्यसरी नै आज म तँलाई तेरो पापको फल दिनेछु” ।।२२।।
एवं क्षिपन्धनुषि संधितमुत्ससर्ज
बाणं स वज्रमिव तद्हृदयं बिभेद ।
सोऽसृग् वमन् दशमुखैर्न्यपतद् विमाना
द्धाहेति जल्पति जने सुकृतीव रिक्तः ॥ २३ ॥
नेपाली भावानुवादः यसरी रावणलाई धिक्कार्दै भगवान् श्रीरामले आफ्नो धनुषबाट वाण प्रहार गर्नुभयो, जसले वज्रले झैँ रावणको हृदय विदीर्ण गरिदियो। दशैवटा मुखबाट रगत बगाउँदै ऊ विमानबाट तल खस्यो र मानिसहरू 'हा ! हा !' भनी चिच्याउन थाले ।।२३।।
ततो निष्क्रम्य लङ्काया यातुधान्यः सहस्रशः । म
न्दोदर्या समं तस्मिन् प्ररुदन्त्य उपाद्रवन् ॥ २४ ॥
नेपाली भावानुवादः त्यसपछि मन्दोदरीका साथ हजारौँ राक्षसीहरू रुँदै रणभूमिमा आए ।।२४।।
स्वान् स्वान् बन्धून् परिष्वज्य लक्ष्मणेषुभिरर्दितान् ।
रुरुदुः सुस्वरं दीना घ्नन्त्य आत्मानमात्मना ॥ २५ ॥
नेपाली भावानुवादः लक्ष्मण र रामका वाणले क्षत-विक्षत भएका आफ्ना आफन्तहरूका शवलाई अँगालेर उनीहरू विलाप गर्न थाले ।।२५।।
हा हताः स्म वयं नाथ लोकरावण रावण ।
कं यायाच्छरणं लङ्का त्वद्विहीना परार्दिता ॥ २६ ॥
नेपाली भावानुवादः उनीहरू भन्न थाले– “हामी बर्बाद भयौँ ! हे लोकलाई रुवाउने रावण ! तपाईँ बिना अब यो लङ्का शत्रुहरूको अधीनमा हुनेछ। हामी कसको शरणमा जाने ?” ।।२६।।
न वै वेद महाभाग भवान् कामवशं गतः ।
तेजोऽनुभावं सीताया येन नीतो दशामिमाम् ॥ २७ ॥
नेपाली भावानुवादः “तपाईँ कामवासनाको वशमा परेर सीताको तेज र प्रभावलाई बुझ्न सक्नुभएन। त्यसैले आज तपाईँको यस्तो दुर्गति भयो” ।।२७।।
कृतैषा विधवा लङ्का वयं च कुलनन्दन ।
देहः कृतोऽन्नं गृध्राणामात्मा नरकहेतवे ॥ २८ ॥
नेपाली भावानुवादः “तपाईँका कारण आज यो लङ्का र हामी सबै विधवा भएका छौँ। तपाईँको यो शरीर गिद्धको आहारा बन्यो र तपाईँको आत्मा नरक जाने भयो। यो सबै तपाईँको कामुकताकै फल हो” ।।२८।।
श्रीशुक उवाच ।
स्वानां विभीषणश्चक्रे कोसलेन्द्रानुमोदितः ।
पितृमेधविधानेन यदुक्तं सांपरायिकम् ॥ २९ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित् ! श्रीरामको आज्ञाले विभिषणले आफ्ना दाजु र अन्य आफन्तहरूको शास्त्रीय विधि अनुसार अन्त्येष्टि गरे ।।२९।।
ततो ददर्श भगवान् अशोकवनिकाश्रमे ।
क्षामां स्वविरहव्याधिं शिंशपामूलमास्थिताम् ॥ ३० ॥
नेपाली भावानुवादः त्यसपछि भगवान् श्रीरामले अशोक वाटिकाको रुखको फेदमा बस्नुभएकी सीताजीलाई देख्नुभयो। वियोगको पीडाले उहाँ अत्यन्त दुब्ली देखिनुहुन्थ्यो ।।३०।।
रामः प्रियतमां भार्यां दीनां वीक्ष्यान्वकंपत ।
आत्मसंदर्शनाह्लादविकसन्मुखपंकजाम् ॥ ३१ ॥
नेपाली भावानुवादः आफ्नी प्राणप्रियालाई त्यस्तो दीन अवस्थामा देखेर श्रीरामको हृदय करुणाले भरिएर आयो। यता श्रीरामको दर्शन पाएपछि सीताजीको मुखकमल हर्षले प्रफुल्लित भयो ।।३१।।
आरोप्यारुरुहे यानं भ्रातृभ्यां हनुमद्युतः ।
विभीषणाय भगवान् दत्त्वा रक्षोगणेशताम् ॥ ३२ ॥
लङ्कामायुश्च कल्पान्तं ययौ चीर्णव्रतः पुरीम् ।
अवकीर्यमाणः कुसुमैर्लोकपालार्पितैः पथि ॥ ३३ ॥
नेपाली भावानुवादः भगवान्ले विभिषणलाई लङ्काको राज्य र कल्पको अन्त्यसम्मको आयु प्रदान गर्नुभयो। त्यसपछि उहाँ सीता, लक्ष्मण, सुग्रीव र हनुमानका साथ पुष्पक विमानमा चढेर अयोध्या प्रस्थान गर्नुभयो। बाटोमा लोकपालहरूले उहाँमाथि पुष्पवृष्टि गरे ।।३२–३३।।
उपगीयमानचरितः शतधृत्यादिभिर्मुदा ।
गोमूत्रयावकं श्रुत्वा भ्रातरं वल्कलाम्बरम् ॥ ३४ ॥
महाकारुणिकोऽतप्यज्जटिलं स्थण्डिलेशयम् ।
भरतः प्राप्तमाकर्ण्य पौरामात्यपुरोहितैः ॥ ३५ ॥
पादुके शिरसि न्यस्य रामं प्रत्युद्यतोऽग्रजम् ।
नन्दिग्रामात् स्वशिबिराद् गीतवादित्रनिःस्वनैः ॥ ३६ ॥
ब्रह्मघोषेण च मुहुः पठद्भिर्ब्रह्मवादिभिः ।
स्वर्णकक्षपताकाभिः हैमैश्चित्रध्वजै रथैः ॥ ३७ ॥
सदश्वै रुक्मसन्नाहैर्भटैः पुरटवर्मभिः ।
श्रेणीभिर्वारमुख्याभिर्भृत्यैश्चैव पदानुगैः ॥ ३८ ॥
पारमेष्ठ्यान्युपादाय पण्यान्युच्चावचानि च ।
पादयोर्न्यपतत् प्रेम्णा प्रक्लिन्नहृदयेक्षणः ॥ ३९ ॥
नेपाली भावानुवादः ब्रह्मा आदिले उहाँको चरित्रको गान गरिरहेका थिए। यता भरतले वल्कल वस्त्र लगाएर, खाली भुईँमा सुतेर र गौमूत्रमा पकाएको जौ खाएर चौध वर्ष बिताएको थाहा पाउँदा श्रीरामको हृदय करुणाले भरियो। श्रीराम आएको सुनेपछि भरतजी मन्त्री, पुरोहित र नगरवासीका साथ भगवानको स्वागतका लागि नन्दिग्रामबाट निस्किए। उनले श्रीरामको पादुका शिरमा राखेका थिए। बाजागाजा र वेद मन्त्रको उच्चारणका साथ सुनौला झण्डा र सजिएका रथहरू लिएर मानिसहरू श्रीरामको स्वागतमा पुगे। भरतले श्रीरामको चरणमा परेर आँसुका धारा बगाए ।।३४–३९।।
पादुके न्यस्य पुरतः प्राञ्जलिर्बाष्पलोचनः ।
तमाश्लिष्य चिरं दोर्भ्यां स्नापयन् नेत्रजैर्जलैः ॥ ४० ॥
नेपाली भावानुवादः भरतले श्रीरामको अगाडि पादुका राखेर हात जोडी उभिए। श्रीरामले उनलाई अङ्गालो हाल्नुभयो र दुवैको आँसुले एक-अर्कालाई स्नान गराएझैँ भयो ।।४०।।
रामो लक्ष्मणसीताभ्यां विप्रेभ्यो येऽर्हसत्तमाः ।
तेभ्यः स्वयं नमश्चक्रे प्रजाभिश्च नमस्कृतः ॥ ४१ ॥
नेपाली भावानुवादः श्रीरामले सीता र लक्ष्मणका साथ ब्राह्मण र गुरुहरूलाई ढोग्नुभयो र प्रजाको प्रणाम स्वीकार गर्नुभयो ।।४१।।
धुन्वन्त उत्तरासङ्गान् पतिं वीक्ष्य चिरागतम् । उ
त्तराः कोसला माल्यैः किरन्तो ननृतुर्मुदा ॥ ४२ ॥
नेपाली भावानुवादः धेरै वर्षपछि आफ्ना स्वामी फर्केको देखेर अयोध्यावासीहरू हर्षले नाच्न र पुष्पवृष्टि गर्न थाले ।।४२।।
पादुके भरतोऽगृह्णाच्चामरव्यजनोत्तमे ।
विभीषणः ससुग्रीवः श्वेतच्छत्रं मरुत्सुतः ॥ ४३ ॥
नेपाली भावानुवादः भरतले पादुका, विभिषण र सुग्रीवले चँवर तथा हनुमानले सेतो छाता समातेर श्रीरामको सेवा गरे ।।४३।।
धनुर्निषङ्गाञछत्रुघ्नः सीता तीर्थकमण्डलुम् ।
अबिभ्रदङ्गदः खड्गं हैमं चर्मर्क्षराण् नृप ॥ ४४ ॥
नेपाली भावानुवादः शत्रुघ्नले धनुष र तरकस, सीताजीले तीर्थको जल भएको कमण्डलु, अङ्गदले खड्ग र जाम्बवानले ढाल समाते ।।४४।।
पुष्पकस्थोऽन्वितः स्त्रीभिः स्तूयमानश्च बन्दिभिः ।
विरेजे भगवान् राजन् ग्रहैश्चन्द्र इवोदितः ॥ ४५ ॥
नेपाली भावानुवादः पुष्पक विमानमा विराजमान श्रीराम ग्रहहरूका बीचमा चन्द्रमा जस्तै शोभायमान देखिनुभयो ।।४५।।
भ्रात्राभिर्नन्दितः सोऽपि सोत्सवां प्राविशत् पुरीम् ।
प्रविश्य राजभवनं गुरुपत्नीः स्वमातरम् ॥ ४६ ॥
गुरून् वयस्यावरजान् पूजितः प्रत्यपूजयत् ।
वैदेही लक्ष्मणश्चैव यथावत् समुपेयतुः ॥ ४७ ॥
नेपाली भावानुवादः श्रीरामले अयोध्यापुरीमा प्रवेश गरी राजमहलमा पुगेर आमा कौसल्या लगायत सबै गुरु र मान्यजनहरूलाई सम्मान गर्नुभयो। सीता र लक्ष्मणले पनि सबै मान्यजनहरूको यथायोग्य सत्कार गरे ।।४६–४७।।
पुत्रान् स्वमातरस्तास्तु प्राणांस्तन्व इवोत्थिताः ।
आरोप्याङ्केऽभिषिञ्चन्त्यो बाष्पौघैर्विजहुः शुचः ॥ ४८ ॥
नेपाली भावानुवादः पुत्रहरूलाई पाएर आमाहरूको अवस्था मृत शरीरमा प्राण आएझैँ भयो। उनीहरूले छोराहरूलाई काखमा लिएर हर्षको आँसुले अभिषेक गरे ।।४८।।
जटा निर्मुच्य विधिवत् कुलवृद्धैः समं गुरुः ।
अभ्यषिञ्चद् यथैवेन्द्रं चतुःसिन्धुजलादिभिः ॥ ४९ ॥
नेपाली भावानुवादः त्यसपछि वसिष्ठ आदि गुरुहरूले श्रीरामको जटा फुकाएर शास्त्रोक्त विधिले उहाँको राज्याभिषेक गर्नुभयो ।।४९।।
एवं कृतशिरःस्नानः सुवासाः स्रग्व्यलंकृतः ।
स्वलंकृतैः सुवासोभिर्भ्रातृभिर्भार्यया बभौ ॥ ५० ॥
नेपाली भावानुवादः स्नान गरी दिव्य वस्त्र र आभूषण पहिरिएका श्रीराम, सीता र भाइहरूका साथ अत्यन्त सुन्दर देखिनुभयो ।।५०।।
अग्रहीदासनं भ्रात्रा प्रणिपत्य प्रसादितः ।
प्रजाः स्वधर्मनिरता वर्णाश्रमगुणान्विताः ।
जुगोप पितृवद् रामो मेनिरे पितरं च तम् ॥ ५१ ॥
नेपाली भावानुवादः भरतको आग्रहमा श्रीरामले राजसिंहासन स्वीकार गर्नुभयो र प्रजालाई आफ्नै सन्तानलाई झैँ न्यायपूर्ण पालना गर्नुभयो। प्रजाले पनि उहाँलाई पिता मान्थे ।।५१।।
त्रेतायां वर्तमानायां कालः कृतसमोऽभवत् ।
रामे राजनि धर्मज्ञे सर्वभूतसुखावहे ॥ ५२ ॥
नेपाली भावानुवादः श्रीरामको शासनकालमा त्रेतायुग भए पनि सत्ययुगको जस्तो वातावरण थियो ।।५२।।
वनानि नद्यो गिरयो वर्षाणि द्वीपसिन्धवः ।
सर्वे कामदुघा आसन् प्रजानां भरतर्षभ ॥ ५३ ॥
नेपाली भावानुवादः नदी, पर्वत र समुद्र सबैले प्रजाको इच्छा पूरा गर्ने वस्तुहरू प्रदान गर्थे ।।५३।।
नाधिव्याधिजराग्लानिदुःखशोकभयक्लमाः ।
मृत्युश्चानिच्छतां नासीद् रामे राजन्यधोक्षजे ॥ ५४ ॥
नेपाली भावानुवादः श्रीरामको राज्यमा रोग, शोक, बुढ्यौली वा अनिकालको डर थिएन। इच्छा नभईकन कसैको मृत्यु पनि हुँदैनथ्यो ।।५४।।
एकपत्नीव्रतधरो राजर्षिचरितः शुचिः ।
स्वधर्मं गृहमेधीयं शिक्षयन् स्वयमाचरत् ॥ ५५ ॥
नेपाली भावानुवादः उहाँले एकपत्नी व्रत धारण गरी गृहस्थ धर्मको आदर्श संसारलाई सिकाउनुभयो ।।५५।।
प्रेम्णानुवृत्त्या शीलेन प्रश्रयावनता सती ।
भिया ह्रिया च भावज्ञा भर्तुः सीताहरन्मनः ॥ ५६ ॥
नेपाली भावानुवादः सती सीताजीले पनि आफ्नो प्रेम र सेवाले श्रीरामको मन प्रसन्न तुल्याउनुहुन्थ्यो ।।५६।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको नवम स्कन्ध अन्तर्गतको दशौँ अध्यायमा सूर्यवंशी राजा खट्वाङ्गदेखि भगवान् श्रीरामको अवतार र उहाँको दिव्य लीलाको सङ्क्षिप्त तर व्यापक वर्णन गरिएको छ। राजा खट्वाङ्गका वंशमा जन्मिएका महाराज दशरथका पुत्रका रूपमा साक्षात् भगवान् विष्णुले राम, लक्ष्मण, भरत र शत्रुघ्नका रूपमा अवतार लिनुभयो। विश्वामित्रको यज्ञ रक्षा गर्दै मारीचको संहार गर्नुभएका श्रीरामले जनकपुरमा शिवको विशाल धनुष भङ्ग गरी सीताजीसँग विवाह गर्नुभयो। अयोध्या फर्कने क्रममा परशुरामको गर्व चूर्ण गर्नुभएका श्रीरामले पिताको वचनका लागि १४ वर्ष वनवास स्वीकार गर्नुभयो। वनवासकै क्रममा शूर्पणखाको नाक काटिनु, खर-दूषणको संहार र सुनौला मृगको रूपमा आएका मारीचको वधजस्ता प्रमुख घटनाहरू भए। रावणले छलपूर्वक सीताको हरण गरेपछि श्रीरामले सुग्रीव र हनुमानसँग मित्रता गरी वानर सेनाको मद्दतले समुद्रमा सेतु निर्माण गर्नुभयो र लङ्कामा आक्रमण गर्नुभयो। भीषण युद्धमा रावण, कुम्भकर्ण र मेघनादजस्ता आततायी राक्षसहरूको अन्त्य गरी उहाँले विभिषणलाई लङ्काको राजा बनाउनुभयो। वनवासको अवधि समाप्त गरी अयोध्या फर्कनुभएका श्रीरामको भव्य राज्याभिषेक भयो र उहाँले 'रामराज्य' को स्थापना गर्नुभयो। उहाँको राज्यमा प्रजाहरू रोग, शोक र भयबाट मुक्त थिए। श्रीरामले आफ्नै आचरणद्वारा एक आदर्श राजा, छोरा र गृहस्थको मर्यादा स्थापित गर्नुभयो।
दार्शनिक पक्ष
यस अध्यायले भगवान् श्रीरामलाई केवल एक ऐतिहासिक राजाका रूपमा मात्र नभई 'मर्यादा पुरुषोत्तम' र साक्षात् 'ब्रह्म' का रूपमा चित्रण गरेको छ। दार्शनिक दृष्टिले श्रीरामको वनवास यात्राले सांसारिक त्याग र कर्तव्य परायणताको पराकाष्ठालाई दर्साउँछ। धनुष भङ्ग हुनुले अहङ्कारको नाश र दैवी शक्तिको विजयलाई सङ्केत गर्छ। रावणको संहार केवल एक राक्षसको अन्त्य नभई मानवभित्र हुने काम, क्रोध र मोहजस्ता राक्षसी प्रवृत्तिको संहार हो। सीताजीको हरण र श्रीरामको विलापले जीव र ईश्वरबीचको वियोग र पुनर्मिलनको तड्पनलाई देखाउँछ। रामराज्यको कल्पनाले एउटा यस्तो आदर्श समाजको दर्शन प्रस्तुत गर्छ जहाँ धर्म नै शासनको आधार हुन्छ। ईश्वर मनुष्यका रूपमा आएर कसरी धर्मको रक्षा गर्छन् र कसरी सामान्य मानवले पनि मर्यादामा रहेर मोक्ष प्राप्त गर्न सक्छ भन्ने यसको सार हो।
No comments:
Post a Comment