श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - अष्टमोऽध्यायः
(अनुष्टुप्)
पीते गरे वृषाङ्केण प्रीतास्तेऽमरदानवाः ।
ममन्थुस्तरसा सिन्धुं हविर्धानी ततोऽभवत् ॥ १ ॥
नेपाली भावानुवादः यसरी जब भगवान् शङ्करले विष पान गर्नुभयो, तब देवता र असुरहरू अत्यन्त खुसी भए। उनीहरू पुनः नयाँ उत्साहका साथ समुद्र मन्थन गर्न लागे। त्यसपछि समुद्रबाट हविर्धानी (कामधेनु) प्रकट भइन् ।।१।।
तामग्निहोत्रीं ऋषयो जगृहुर्ब्रह्मवादिनः ।
यज्ञस्य देवयानस्य मेध्याय हविषे नृप ॥ २ ॥
नेपाली भावानुवादः हे राजन्! ती कामधेनु अग्निहोत्रका सामग्री उत्पन्न गर्ने भएकीले, उनलाई ब्रह्मलोकसम्म पुर्याउने यज्ञका लागि उपयोगी एवं पवित्र घिउ आदि प्राप्त गर्न ब्रह्मवादी ऋषिहरूले ग्रहण गरे ।।२।।
तत उच्चैःश्रवा नाम हयोऽभूत् चन्द्रपाण्डुरः ।
तस्मिन् बलिः स्पृहां चक्रे नेन्द्र ईश्वरशिक्षया ॥ ३ ॥
तत ऐरावतो नाम वारणेन्द्रो विनिर्गतः ।
दन्तैश्चतुर्भिः श्वेताद्रेः हरन् भगवतो महिम् ॥ ४ ॥
नेपाली भावानुवादः त्यसपछि 'उच्चैःश्रवा' नामक घोडा उत्पन्न भयो, जो चन्द्रमा समान श्वेत वर्णको थियो। राजा बलिले उसलाई लिने इच्छा गरे तर भगवान्को सल्लाह अनुसार इन्द्रले त्यसका लागि कुनै आग्रह गरेनन्। त्यसपछि ऐरावत नामक श्रेष्ठ हात्ती प्रकट भयो, जसका चारवटा सेता दाँतहरूले कैलास पर्वतको शोभालाई पनि माथ गरिरहेका थिए ।।४।।
कौस्तुभाख्यमभूद् रत्नं पद्मरागो महोदधेः ।
तस्मिन्मणौ स्पृहां चक्रे वक्षोऽलङ्करणे हरिः ॥ ५ ॥
नेपाली भावानुवादः त्यसपछि समुद्रबाट पद्मराग श्रेणीको 'कौस्तुभ' नामक मणि प्रकट भयो। भगवान् श्रीहरिले आफ्नो वक्षःस्थलमा धारण गर्नका लागि त्यस मणिलाई लिने इच्छा गर्नुभयो ।।५।।
ततोऽभवत् पारिजातः सुरलोकविभूषणम् ।
पूरयत्यर्थिनो योऽर्थैः शश्वद्भु्वि यथा भवान् ॥ ६ ॥
नेपाली भावानुवादः शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित! त्यसपछि स्वर्गलोकको शोभा बढाउने कल्पवृक्ष (पारिजात) प्रकट भयो। जसरी तपाईं पृथ्वीमा प्रजाका इच्छाहरू पूर्ण गर्नुहुन्छ, त्यसै गरी त्यस वृक्षले पनि याचकले मागे अनुसारका वस्तुहरू प्रदान गरी उनीहरूका इच्छा पूर्ण गरिदिन्थ्यो ।।६।।
ततश्चाप्सरसो जाता निष्ककण्ठ्यः सुवाससः ।
रमण्यः स्वर्गिणां वल्गु गतिलीलावलोकनैः ॥ ७ ॥
नेपाली भावानुवादः त्यसपछि सुन्दर वस्त्र र गलामा सुनका हार पहिरिएका अप्सराहरू प्रकट भए। उनीहरू आफ्नो मनोहर चाल, हावभाव र कटाक्षपूर्ण हेराइले स्वर्गवासीहरूलाई मोहित तुल्याउने खालका थिए ।।७।।
ततश्चाविरभूत्साक्षात् श्री रमा भगवत्परा ।
रञ्जयन्ती दिशः कान्त्या विद्युत् सौदामनी यथा ॥ ८ ॥
नेपाली भावानुवादः त्यसपछि साक्षात् शोभाकी मूर्ति एवं भगवान्की नित्यशक्ति भगवती लक्ष्मीदेवी प्रकट हुनुभयो। उहाँको बिजुली समान चम्किलो कान्तिले सम्पूर्ण दिशाहरू जगमगाए ।।८।।
तस्यां चक्रुः स्पृहां सर्वे ससुरासुरमानवाः ।
रूपौदार्यवयोवर्ण महिमाक्षिप्तचेतसः ॥ ९ ॥
नेपाली भावानुवादः उहाँको रूप, औदार्य, यौवन, वर्ण र महिमाले सबैको चित्त आकर्षित गरेको थियो। देवता, असुर र मानव सबैले उहाँलाई प्राप्त गर्ने इच्छा गरे ।।९।।
तस्या आसनमानिन्ये महेन्द्रो महदद्भुरतम् ।
मूर्तिमत्यः सरित् श्रेष्ठा हेमकुम्भैर्जलं शुचि ॥ १० ॥
नेपाली भावानुवादः देवराज इन्द्रले उहाँका लागि एउटा अद्भुत आसन अर्पण गरे। मूर्तिमान् भएका श्रेष्ठ नदीहरूले लक्ष्मीजीको अभिषेकका लागि स्वर्ण कलशमा पवित्र जल लिएर आए ।।१०।।
आभिषेचनिका भूमिः आहरत् सकलौषधीः ।
गावः पञ्च पवित्राणि वसन्तो मधुमाधवौ ॥ ११ ॥
नेपाली भावानुवादः पृथ्वीले अभिषेकका लागि आवश्यक सम्पूर्ण औषधिहरू प्रदान गरिन्। गाईहरूले पञ्चगव्य र वसन्त ऋतुले चैत-वैशाखमा फुल्ने पुष्प तथा फलहरू उपहारस्वरूप अर्पण गरे ।।११।।
ऋषयः कल्पयां चक्रुः अभिषेकं यथाविधि ।
जगुर्भद्राणि गन्धर्वा नट्यश्च ननृतुर्जगुः ॥ १२ ॥
नेपाली भावानुवादः ती सामग्रीहरूद्वारा ऋषिहरूले विधिपूर्वक उहाँको अभिषेक गरे। गन्धर्वहरूले मङ्गलमय सङ्गीत गाए र नर्तकीहरू नाच्न लागे ।।१२।।
मेघा मृदंगपणव मुरजानकगोमुखान् ।
व्यनादयत् शंखवेणु वीणास्तुमुलनिःस्वनान् ॥ १३ ॥
नेपाली भावानुवादः आकाशमा बादलहरूले मृदङ्ग, पणव, मुरज, आनक र गोमुख जस्ता वाद्यवादनका साथै शङ्ख, बाँसुरी र वीणाको गम्भीर ध्वनि गुञ्जायमान गराए ।।१३।।
ततोऽभिषिषिचुर्देवीं श्रियं पद्मकरां सतीम् ।
दिगिभाः पूर्णकलशैः सूक्तवाक्यैर्द्विजेरितैः ॥ १४ ॥
नेपाली भावानुवादः त्यसपछि हातमा कमल लिएकी ती सती साध्वी लक्ष्मीदेवीलाई दिग्गज (हात्ती) हरूले जलले भरिएका कलशद्वारा अभिषेक गराए। त्यस समय ब्राह्मणहरूले वेदका सूक्तहरू पाठ गरिरहेका थिए ।।१४।।
समुद्रः पीतकौशेय वाससी समुपाहरत् ।
वरुणः स्रजं वैजयन्तीं मधुना मत्तषट्पदाम् ॥ १५ ॥
नेपाली भावानुवादः समुद्रले उहाँलाई लगाउनका लागि पहेंलो रेशमी वस्त्र अर्पण गरे। वरुणले वैजयन्ती माला अर्पण गरे, जसमा मकरन्दको सुगन्धले भ्रमरहरू झुम्मिरहेका थिए ।।१५।।
भूषणानि विचित्राणि विश्वकर्मा प्रजापतिः ।
हारं सरस्वती पद्मं अजो नागाश्च कुण्डले ॥ १६ ॥
नेपाली भावानुवादः प्रजापति विश्वकर्माले अनेक थरीका गहना, सरस्वतीले मोतीको हार, ब्रह्माजीले कमल र नागहरूले दुईवटा कुण्डल अर्पण गरे ।।१६।।
ततः कृतस्वस्त्ययनोत्पलस्रजं
नदद् द्विरेफां परिगृह्य पाणिना ।
चचाल वक्त्रं सुकपोलकुण्डलम
सव्रीडहासं दधती सुशोभनम् ॥ १७ ॥
नेपाली भावानुवादः ब्राह्मणहरूबाट स्वस्तिवाचन गराइसकेपछि, लक्ष्मीजीले आफ्नो हातमा कमलको माला लिई योग्य वरको खोजीमा निस्कनुभयो। मालाको वरिपरि सुगन्धले मात्तिएका भ्रमरहरू गुञ्जायमान थिए। सुन्दर गालामा कुण्डलहरू टल्किरहेका र मन्द मुस्कानका साथ लजाउँदै हिंडिरहनुभएकी लक्ष्मीजीको मुखमण्डल अत्यन्त शोभायमान देखिएको थियो ।।१७।।
स्तनद्वयं चातिकृशोदरी समं
निरन्तरं चन्दनकुंमोक्षितम् ।
ततस्ततो नूपुरवल्गु शिञ्जितैः
विसर्पती हेमलतेव सा बभौ ॥ १८ ॥
नेपाली भावानुवादः उहाँको कम्मर अत्यन्त पातलो थियो र चन्दन तथा केशरको लेप लगाइएको वक्षःस्थल सुशोभित थियो। यताउता हिंड्दा पाउजेबको मधुर झङ्कार सुनिन्थ्यो। त्यस समय उहाँ स्वर्णलहरीजस्तै शोभायमान देखिनुहुन्थ्यो ।।१८।।
विलोकयन्ती निरवद्यमात्मनः
पदं ध्रुवं चाव्यभिचारिसद्गुणम् ।
गन्धर्वसिद्धासुरयक्षचारण
त्रैविष्टपेयादिषु नान्वविन्दत ॥ १९ ॥
नेपाली भावानुवादः उहाँले आफ्नो आश्रयका लागि कुनै दोषरहित, नित्य र सद्गुणी पुरुषको खोजी गर्नुभयो। उहाँले गन्धर्व, सिद्ध, असुर, यक्ष, चारण र देवताहरूका माझमा धेरै खोज्नुभयो, तर आफ्नो अनुकूलको कोही पनि भेट्नुभएन ।।१९।।
नूंन तपो यस्य न मन्युनिर्जयो
ज्ञानं क्वचित् तच्च न संगवर्जितम् ।
कश्चिन्महान् तस्य न कामनिर्जयः
स ईश्वरः किं परतो व्यपाश्रयः ॥ २० ॥
नेपाली भावानुवादः उहाँले मनमनै विचार गर्नुभयो– कसैको तपस्या त छ तर क्रोधमाथि विजय छैन। कतै ज्ञान छ तर त्यो आसक्तिबाट मुक्त छैन। कोही महान् त छन् तर उनले कामवासनालाई जित्न सकेका छैनन्। कोही ईश्वर (समर्थ) त छन् तर उनीहरू पनि अरूकै आश्रयमा रहेका छन् ।।२०।।
धर्मः क्वचित् तत्र न भूतसौहृदं
त्यागः क्वचित् तत्र न मुक्तिकारणम् ।
वीर्यं न पुंसोऽस्त्यजवेगनिष्कृतं
न हि द्वितीयो गुणसंगवर्जितः ॥ २१ ॥
नेपाली भावानुवादः कतै धर्म त छ तर प्राणीहरू प्रति दया र मैत्रीभाव छैन। कतै त्याग त छ तर त्यो मुक्तिको कारण बन्न सकेको छैन। कतै वीरता त छ तर त्यो कालको वेगबाट सुरक्षित छैन। कोही गुणहरूको सङ्गतबाट मुक्त त छन् तर उनीहरूमा अरूका लागि कुनै आकर्षण छैन ।।२१।।
क्वचित् चिरायुर्न हि शीलमंगलं
क्वचित् तदप्यस्ति न वेद्यमायुषः ।
यत्रोभयं कुत्र च सोऽप्यमंगलः
सुमंगलः कश्च न कांक्षते हि माम् ॥ २२ ॥
नेपाली भावानुवादः कसैको आयु लामो छ तर स्वभाव (शील) राम्रो छैन। कतै स्वभाव राम्रो छ तर आयुको ठेगान छैन। कतै यी दुवै छन् भने पनि उनीहरूको भेष वा आचरण अमङ्गलकारी छ। जसको स्वरूप अत्यन्त मङ्गलमय छ (भगवान् विष्णु), उहाँले त मलाई वास्तै गर्नुहुन्न (मलाई चाहनुहुन्न) ।।२२।।
एवं विमृश्याव्यभिचारिसद्गुणैः
वरं निजैकाश्रयतया गुणाश्रयम् ।
वव्रे वरं सर्वगुणैरपेक्षितं रमा
मुकुन्दं निरपेक्षमीप्सितम् ॥ २३ ॥
नेपाली भावानुवादः यसरी धेरै सोच-विचार गरिसकेपछि लक्ष्मीजीले समस्त सद्गुणका आधार, मायाका स्वामी र निरपेक्ष हुनुभए तापनि सबैका आकांक्षित भगवान् मुकुन्द (विष्णु) लाई नै आफ्नो वरका रूपमा वरण गर्नुभयो ।।२३।।
तस्यां सदेश उशतीं नवकञ्जमालां
माद्यन्मधुव्रतवरूथगिरोपघुष्टाम् ।
तस्थौ निधाय निकटे तदुरः स्वधाम
सव्रीडहासविकसन् नयनेन याता ॥ २४ ॥
नेपाली भावानुवादः लक्ष्मीजीले भगवान्को काँधमा भ्रमरहरूले गुञ्जन गरिरहेको सुन्दर नवीन कमलको माला पहि¥याइदिनुभयो। त्यसपछि लज्जापूर्ण मुस्कान र प्रेमपूर्ण दृष्टिले आफ्नो वास्तविक निवासस्थान भगवान्को वक्षःस्थललाई रोज्दै उहाँकै समीपमा खडा हुनुभयो ।।२४।।
तस्याः श्रियस्त्रिजगतो जनको जनन्या
वक्षो निवासमकरोत् परमं विभूतेः ।
श्रीः स्वाः प्रजाः सकरुणेन निरीक्षणेन
यत्र स्थितैधयत साधिपतीन् त्रिलोकान् ॥ २५ ॥
नेपाली भावानुवादः जगत्पिता भगवान्ले पनि त्रिलोकीकी जननी एवं विभूतिकी अधिष्ठात्री लक्ष्मीजीलाई आफ्नो वक्षःस्थलमा सधैंका लागि स्थान दिनुभयो। भगवान्को हृदयमा स्थित भएर लक्ष्मीजीले आफ्नो करुणामयी दृष्टिद्वारा तीनै लोक र त्यहाँका प्रजाको समृद्धि बढाउनुभयो ।।२५।।
शंखतूर्यमृदंगानां वादित्राणां पृथुः स्वनः ।
देवानुगानां सस्त्रीणां नृत्यतां गायतामभूत् ॥ २६ ॥
नेपाली भावानुवादः त्यस समय शङ्ख, तुरही, मृदङ्ग आदि वाद्यवादनको भीषण ध्वनि भयो। देवताका अनुगामीहरू आफ्ना पत्नीहरूसहित नाच्न र गाउन लागे ।।२६।।
ब्रह्मरुद्राङ्गिरोमुख्याः सर्वे विश्वसृजो विभुम् ।
ईडिरेऽवितथैर्मन्त्रैः तल्लिङ्गैः पुष्पवर्षिणः ॥ २७ ॥
नेपाली भावानुवादः ब्रह्मा, शिव र अङ्गिरा आदि मुख्य प्रजापतिहरूले पुष्प वृष्टि गर्दै भगवान्को महिमाका सत्य मन्त्रहरूद्वारा स्तुति गरे ।।२७।।
श्रियावलोकिता देवाः सप्रजापतयः प्रजाः ।
शीलादिगुणसंपन्ना लेभिरे निर्वृतिं पराम् ॥ २८ ॥
नेपाली भावानुवादः लक्ष्मीजीको कृपादृष्टि पाएर देवता, प्रजापति र सबै प्रजाहरू शील आदि उत्तम गुणले सम्पन्न भए र परम शान्ति प्राप्त गरे ।।२८।।
निःसत्त्वा लोलुपा राजन् निरुद्योगा गतत्रपाः ।
यदा चोपेक्षिता लक्ष्म्या बभूवुर्दैत्यदानवाः ॥ २९ ॥
नेपाली भावानुवादः हे राजन्! अर्कातर्फ लक्ष्मीजीले उपेक्षा गरेका कारण दैत्य र दानवहरू तेजहीन, लोभी, अल्छी र निर्लज्ज बन्न पुगे ।।२९।।
अथासीत् वारुणी देवी कन्या कमललोचना ।
असुरा जगृहुस्तां वै हरेरनुमतेन ते ॥ ३० ॥
नेपाली भावानुवादः त्यसपछि समुद्रबाट कमलजस्ता आँखा भएकी 'वारुणी' नामकी कन्या प्रकट भइन्। भगवान्को अनुमतिले ती कन्यालाई दैत्यहरूले ग्रहण गरे ।।३०।।
अथ उदधेर्मथ्यमानात् काश्यपैः अमृतार्थिभिः ।
उदतिष्ठन् महाराज पुरुषः परमाद्भुतः ॥ ३१ ॥
दीर्घपीवरदोर्दण्डः कम्बुग्रीवोऽरुणेक्षणः ।
श्यामलस्तरुणः स्रग्वी सर्वाभरणभूषितः ॥ ३२ ॥
पीतवासा महोरस्कः सुमृष्टमणिकुण्डलः ।
स्निग्धकुञ्चितकेशान्त सुभगः सिंहविक्रमः ॥ ३३ ॥
नेपाली भावानुवादः हे महाराज! त्यसपछि अमृतको इच्छाले पुनः समुद्र मन्थन गर्दा त्यहाँबाट एक अत्यन्त अद्भुत पुरुष प्रकट भए। उहाँका हातहरू लामा र बलिया थिए, घाँटी शङ्खजस्तै थियो र आँखा राता थिए। उहाँको वर्ण श्याम थियो, उहाँ युवा हुनुहुन्थ्यो र माला एवं गहनाहरूले सुसज्जित हुनुहुन्थ्यो। पहेँलो वस्त्र लगाउनुभएका, चौडा छाती भएका र कानमा मणिमय कुण्डल टल्काउनुभएका ती सिंहजस्तै पराक्रमी पुरुषको कपाल घुम्रिएको र अत्यन्त सुन्दर थियो ।।३३।।
अमृतापूर्णकलशं बिभ्रद् वलयभूषितः ।
स वै भगवतः साक्षात् विष्णोरंशांशसम्भवः ॥ ३४ ॥
नेपाली भावानुवादः उहाँले आफ्नो हातमा अमृतले भरिएको कलश धारण गर्नुभएको थियो। उहाँ साक्षात् भगवान् विष्णुका अंश 'धन्वन्तरि' हुनुहुन्थ्यो ।।३४।।
धन्वन्तरिरिति ख्यात आयुर्वेददृगिज्यभाक् ।
तं आलोक्यासुराः सर्वे कलसं चामृताभृतम् ॥ ३५ ॥
लिप्सन्तः सर्ववस्तूनि कलसं तरसाहरन् ।
नीयमानेऽसुरैस्तस्मिन् कलसेऽमृतभाजने ॥ ३६ ॥
विषण्णमनसो देवा हरिं शरणमाययुः ।
इति तद् दैन्यमालोक्य भगवान् भृत्यकामकृत् ।
मा खिद्यत मिथोऽर्थं वः साधयिष्ये स्वमायया ॥ ३७ ॥
नेपाली भावानुवादः उहाँ आयुर्वेदका प्रवर्तक र यज्ञको भाग पाउने धन्वन्तरिका रूपमा प्रसिद्ध हुनुभयो। उहाँ र उहाँको हातमा रहेको अमृतको कलशलाई देख्नेबित्तिकै लोभी दैत्यहरूले तुरुन्तै त्यो कलश खोसेर लगे। असुरहरूले कलश लगेपछि देवताहरू दुःखी भई भगवान्को शरणमा गए। आफ्ना भक्तहरूको दुःख देखेर भगवान्ले भन्नुभयो– "तिमीहरू चिन्ता नगर, म आफ्नो मायाद्वारा उनीहरूका बीचमा कलह गराएर तिमीहरूको काम सिद्ध गरिदिनेछु" ।।३५–३७।।
मिथः कलिरभूत्तेषां तदर्थे तर्षचेतसाम् ।
अहं पूर्वं अहं पूर्वं न त्वं न त्वं इति प्रभो ॥ ३८ ॥
नेपाली भावानुवादः हे प्रभु! अमृतका लोभी ती दैत्यहरूका बीचमा अमृतका लागि झगडा सुरु भयो। उनीहरू "पहिले म खान्छु, पहिले म खान्छु, तँ होइन" भन्दै एकआपसमा कराउन लागे ।।३८।।
देवाः स्वं भागमर्हन्ति ये तुल्यायासहेतवः ।
सत्रयाग इवैतस्मिन् एष धर्मः सनातनः ॥ ३९ ॥
इति स्वान् प्रत्यषेधन्वै दैतेया जातमत्सराः ।
दुर्बलाः प्रबलान् राजन् गृहीतकलशान् मुहुः ॥ ४० ॥
नेपाली भावानुवादः त्यस समयमा केही कमजोर दैत्यहरूले बलिया दैत्यहरूलाई रोक्दै भने– "हे राजन्! यो अमृत प्राप्त गर्न देवताहरूले पनि उत्तिकै परिश्रम गरेका छन्। त्यसैले यज्ञमा जस्तै यसमा पनि उनीहरूले भाग पाउनुपर्छ, यही नै सनातन धर्म हो।" यसरी ईर्ष्यावश उनीहरूले एकअर्कालाई रोकिरहेका थिए ।।४०।।
एतस्मिन् अंतरे विष्णुः सर्वोपायविदीश्वरः ।
योषिद् रूपमनिर्देश्यं दधारपरमाद्भुीतम् ॥ ४१ ॥
प्रेक्षणीयोत्पलश्यामं सर्वावयवसुन्दरम् ।
समानकर्णाभरणं सुकपोलोन्नसाननम् ॥ ४२ ॥
नेपाली भावानुवादः त्यही समयमा सबै उपाय जान्ने भगवान् विष्णुले एउटा अत्यन्त अद्भुत र अवर्णनीय स्त्री (मोहिनी) को रूप धारण गर्नुभयो। उहाँको शरीर नीलकमलजस्तै श्याम वर्णको र अत्यन्त आकर्षक थियो। सबै अङ्गहरू सुन्दर थिए, नाक सुलुत्त परेको थियो र कानमा कुण्डलहरू शोभिएका थिए ।।४२।।
नवयौवननिर्वृत्त स्तनभारकृशोदरम् ।
मुखामोदानुरक्तालि झंकारोद्विग्नलोचनम् ॥ ४३ ॥
नेपाली भावानुवादः नवयौवनका कारण पुष्ट वक्षःस्थल र पातलो कम्मरले उहाँको शोभा बढाइरहेको थियो। मुखबाट निस्किएको सुगन्धका कारण भ्रमरहरू वरिपरि गुञ्जिरहेका थिए, जसले गर्दा उहाँका आँखा केही चञ्चल देखिन्थे ।।४३।।
बिभ्रत् स्वकेशभारेण मालां उत्फुल्लमल्लिकाम् ।
सुग्रीवकण्ठाभरणं सुभुजाङ्गदभूषितम् ॥ ४४ ॥
विराजम्बरसंवीत नितम्बद्वीपशोभया ।
काञ्च्या प्रविलसद्वल्गु चलच्चरणनूपुरम् ॥ ४५ ॥
नेपाली भावानुवादः उहाँले आफ्नो केशमा मल्लिका पुष्पको माला लगाउनुभएको थियो। घाँटीमा सुन्दर आभूषण र हातमा केयूर (बाजु) हरू सुशोभित थिए। सुन्दर वस्त्र, कम्मरमा करधनी र खुट्टामा बजिरहेका पाउजेबहरूले उहाँको दिव्य स्वरूपलाई झन् मनोहर बनाइरहेका थिए ।।४५।।
सव्रीडस्मितविक्षिप्त भ्रूविलासावलोकनैः ।
दैत्ययूथपचेतःसु कामं उद्दीपयन् मुहुः ॥ ४६ ॥
नेपाली भावानुवादः आफ्नो लज्जापूर्ण मुस्कान र कटाक्षपूर्ण हेराइद्वारा ती मोहिनी रूपधारी भगवान्ले दैत्य सेनापतिहरूको मनमा बारम्बार कामवासना जगाउन थाल्नुभयो ।।४६।।
यस अध्यायको सारांश :
श्रीमद्भागवत महापुराणको यो आठौँ अध्याय समुद्र मन्थनको अत्यन्त महत्त्वपूर्ण प्रसङ्ग हो। जब भगवान् शिवले हलाहल विष पान गरेर जगतको रक्षा गर्नुभयो, तब देवता र असुरहरूले पुनः उत्साहका साथ समुद्र मन्थन सुरु गरे। यस मन्थनबाट सर्वप्रथम हविर्धानी (कामधेनु) गाई प्रकट भइन्, जसलाई यज्ञ कार्यका लागि ऋषिहरूले ग्रहण गरे। त्यसपछि उच्चैःश्रवा नामक श्वेत घोडा र ऐरावत नामक चारवटा दाँत भएको हात्ती प्रकट भए। समुद्रबाटै कौस्तुभ मणि र कल्पवृक्ष (पारिजात) को उत्पत्ति भयो। यी दिव्य वस्तुहरू पछि अप्सराहरूको समूह प्रकट भयो, जसले स्वर्गको शोभा बढायो। यसै क्रममा साक्षात् लक्ष्मीदेवीको प्राकट्य भयो, जसको दिव्य कान्तिले सबैलाई मोहित तुल्यायो। लक्ष्मीजीको अभिषेकका लागि सबै तीर्थ र नदीहरूले पवित्र जल ल्याए भने दिग्पालहरूले उहाँको सेवा गरे। लक्ष्मीजीले सबै देवता, सिद्ध र ऋषिहरूमा गुण र दोषको विचार गर्नुभयो। उहाँले कोही तपस्वी भए पनि क्रोधी भएको, कोही ज्ञानी भए पनि सङ्गमा फसेको र कोही महान् भए पनि अरूको आश्रित भएको पाउनुभयो। अन्त्यमा, सबै सद्गुणका आधार भगवान् विष्णुलाई नै आफ्नो योग्य वरका रूपमा वरण गर्नुभयो। भगवान्ले पनि लक्ष्मीजीलाई आफ्नो वक्षःस्थलमा सधैंका लागि स्थान दिनुभयो। लक्ष्मीजीको कृपादृष्टिले देवताहरू धन-धान्यले सम्पन्न भए भने उपेक्षित भएका असुरहरू निर्बल र लोभी बन्न पुगे। मन्थन जारी रहँदा 'वारुणी' देवी प्रकट भइन्, जसलाई असुरहरूले लगे। त्यसपछि अत्यन्त तेजस्वी र अद्भुत पुरुष धन्वन्तरि अमृतको कलश लिएर प्रकट हुनुभयो। उहाँ साक्षात् विष्णुको अंश र आयुर्वेदका प्रवर्तक हुनुहुन्थ्यो। अमृतको कलश देख्नेबित्तिकै असुरहरूले बलपूर्वक त्यसलाई खोसेर लगे। असुरहरूमा अमृत कसले पहिले खाने भन्ने विषयमा ठूलो झगडा सुरु भयो। देवताहरू निराश भएर भगवान्को शरणमा पुगेपछि भगवान्ले उनीहरूलाई धैर्य धारण गर्न भन्नुभयो। भगवान्ले असुरहरूलाई मोहित पार्नका लागि विश्वकै सुन्दरी 'मोहिनी' को रूप धारण गर्नुभयो। मोहिनीको त्यो दिव्य रूप र कटाक्षले असुरहरू पूर्ण रूपमा मोहित भए। यसरी भगवान्ले आफ्नो मायाद्वारा असुरहरूलाई अलमल्याएर देवताहरूको कार्य सिद्ध गर्ने आधार तयार गर्नुभयो।
यस अध्यायको दार्शनिक पक्ष :
समुद्र मन्थनको यो अध्यायले मानव जीवनको आन्तरिक सङ्घर्ष र आध्यात्मिक प्रगतिको गहन दर्शन प्रस्तुत गर्दछ। समुद्रलाई मनको प्रतीक मान्न सकिन्छ, जहाँ विचारहरूको मन्थनबाटै विभिन्न उपलब्धिहरू प्राप्त हुन्छन्। लक्ष्मीले भगवान् विष्णुलाई रोज्नुको दार्शनिक अर्थ यो हो कि साँचो सम्पत्ति र वैभव सधैं पुरुषार्थ र सत्त्वगुण (विष्णु) को आश्रयमा रहन्छ। यसले संसारमा कोही पनि पूर्ण छैन भन्ने कुरा बुझाउँछ, किनकि लक्ष्मीले पनि सबै देवताहरूमा कुनै न कुनै कमी देख्नुभयो। धन्वन्तरिको प्राकट्यले आरोग्य र जीवनको मूल्यलाई दर्शाउँछ। अमृतको खोसाखोसले मानवको असीम तृष्णा र लोभलाई सङ्केत गर्दछ। मोहिनी रूपको वर्णनले संसारको 'माया' कति शक्तिशाली छ र यसले कसरी विवेकलाई ढाक्छ भन्ने देखाउँछ। असुरहरू बाहिरी रूपमा अल्झिएकाले वास्तविक अमृतबाट वञ्चित भए, जुन आध्यात्मिक अज्ञानताको पराकाष्ठा हो। अन्ततः यो कथाले यो सन्देश दिन्छ कि सफलता र अमरत्व केवल ती मानिसहरूले पाउँछन् जो भगवान्को शरणमा जान्छन्। यसले 'योगः कर्मसु कौशलम्' अर्थात् कुशलतापूर्वक गरिएको कर्म र ईश्वरार्पण बुद्धिको महत्त्वलाई पुष्टि गर्दछ। यो अध्यायले भौतिक प्राप्तिभन्दा आध्यात्मिक स्थिरता र सत्सङ्ग नै श्रेष्ठ हो भन्ने कुरा स्पष्ट पार्दछ।
No comments:
Post a Comment