#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः - नवमोऽध्यायः

श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - नवमोऽध्यायः


ब्रह्मोवाच–
(वसंततिलका)
ज्ञातोऽसि मेऽद्य सुचिरान्ननु देहभाजां
            न ज्ञायते भगवतो गतिरित्यवद्यम् ।
नान्यत्त्वदस्ति भगवन्नपि तन्न शुद्धं
            मायागुणव्यतिकराद् यदुरुर्विभासि ॥ १ ॥

ब्रह्माजीले भन्नुभयो —
प्रभु! धेरै दिनपछि आज मैले हजूरलाई जान्न सके । अहो! देहधारी जीव हजूरको स्वरूपलाई जान्न सक्तैनन यो दुर्भाग्यको कुरा हो । भगवन्! हजूर बाहेक अरु कुनै वस्तु छैन । जुन वस्तु देखिन्छ त्यो पनि वास्तवमा सत्य होइन किनकि मायाको गुणमा भएको सम्बन्धले हजूर नै अनेकरूपमा देखिनुहुन्छ ।।१।।

रूपं यदेतदवबोधरसोदयेन ।
            शश्वन्निवृत्ततमसः सदनुग्रहाय ।
आदौ गृहीतमवतारशतैकबीजं ।
            यन्नाभिपद्मभवनाद् अहमाविरासम् ॥ २ ॥

हजूरको चित्त शक्तिले प्रकाशित भएको कारण, अज्ञान हजूरबाट सधै टाढा रहन्छ । मेरो यो रूप जस्को नाभिकमल बाट प्रकट भएको छ, त्यो हजूरको सयकडौं अवतारको मूल कारण हो । सज्जनहरुलाई कृपा गर्नको लागि नै पहिलो पटक यो रूप धारण गर्नुभएको हो ।।२।।

नातः परं परम यद्भवतः स्वरूपम् ।
             आनन्दमात्रमविकल्पमविद्धवर्चः ।
पश्यामि विश्वसृजमेकमविश्वमात्मन् ।
            भूतेन्द्रियात्मकमदस्त उपाश्रितोऽस्मि ॥ ३ ॥

हे परमात्मन! हजूरको जुन आनन्दमात्र, भेदरहित, अखण्ड, तेजोमय स्वरूप छ त्यसमा म हजूरको यसरूप बाट भिन्न देख्दिन । यहि सम्पूर्ण भूत र इन्द्रियको पनि अधिष्ठान हो त्यसैले म विश्वको रचना गर्ने भएर पनि हजूरको यो विश्वातीत, अद्वितीय रूपको शरण लिन्छु ।।।३।।

तद्वा इदं भुवनमङ्गल मङ्गलाय ।
            ध्याने स्म नो दर्शितं त उपासकानाम् ।
तस्मै नमो भगवतेऽनुविधेम तुभ्यं ।
            योऽनादृतो नरकभाग्भिरसत्प्रसङ्गैः ॥ ४ ॥

हे भूवन मंङ्गल! म हजूरको उपासक हुँ । हजूरले मेरो कल्याणको लागि मलाई ध्यानमा यो रूप देखाउनु भएको छ, जुन पापात्मा विषयाशक्त जीव छन्, उनीहरू नै यसको अनादर गर्दछन । म हजूरको यसै रूपलाई वारंवार नमस्कार गर्दछु ।।४।।

ये तु त्वदीयचरणाम्बुजकोशगन्धं ।
            जिघ्रन्ति कर्णविवरैः श्रुतिवातनीतम् ।
भक्त्या गृहीतचरणः परया च तेषां ।
            नापैषि नाथ हृदयाम्बुरुहात्स्वपुंसाम् ॥ ५ ॥

जो मानिस वेदरूप वायुले ल्याएको हजूरको चरणरूप कमलकोषको गन्धलाई आफ्नो कानको प्वालले ग्रहण गर्दछ । त्यो आफ्नो भक्तजनको हृदय कमलबाट कहिलेपनि टाढा हुदैन किनकि पराभक्तिरूप डोरीले हजूरको पादपद्म लाई बाँधिरहन्छन ।।५।।

तावद्भयं द्रविणगेहसुहृन्निमित्तं ।
            शोकः स्पृहा परिभवो विपुलश्च लोभः ।
तावन्ममेत्यसदवग्रह आर्तिमूलं ।
            यावन्न तेऽङ्घ्रिमभयं प्रवृणीत लोकः ॥ ६ ॥

जवसम्म मानिस हजूरको अभयप्रद चरणारविन्द को आश्रय लिदैन तवसम्म उसलाई धन, घर, र वन्धुजनको कारणले गर्दा आउने डर, शोक, लालसा, दीनता र अत्यन्त लोभ आदिले सताउँछ त्यतिवेला सम्म उसमा मेरो पनको दुराग्रह रहन्छ, जुन दुःखको एकमात्र कारण हो ।।६।।

दैवेन ते हतधियो भवतः प्रसङ्गात् ।
            सर्वाशुभोपशमनाद् विमुखेन्द्रिया ये ।
कुर्वन्ति कामसुखलेशलवाय दीना ।
            लोभाभिभूतमनसोऽकुशलानि शश्वत् ॥ ७ ॥

जुन ब्यक्ति सबैप्रकारको अमङ्गललाई नाश गर्ने हजूरको श्रवण, कीर्तन आदि चर्चाबाट इन्द्रियलाई हटाएर लेस मात्र विषय सुखका लागि दीन भएर मनमनै लालयीत भएर निरन्तर दुष्कर्ममा लागिरहन्छ त्यस विचराको बुध्दि दैवले हरेको मान्नु पर्दछ ।।७।।

क्षुत्तृट्त्रधातुभिरिमा मुहुरर्द्यमानाः ।
            शीतोष्णवातवर्षैरितरेतराच्च ।
कामाग्निनाच्युत रुषा च सुदुर्भरेण ।
            सम्पश्यतो मन उरुक्रम सीदते मे ॥ ८ ॥

अच्युत! उरुक्रम!  भोक, प्यास, वात, पित्त, कफ, सर्दि, गर्मी, हावा र वर्षाका कारण, परस्पर एक अर्काले तथा कामाग्नि दुःसह, क्रोधका कारण वारंवार कष्ट उठाएको देखेर मेरो मन धेरै खिन्न भएको छ ।।८।।

यावत् पृथक्त्वमिदमात्मन इन्द्रियार्थ ।
            मायाबलं भगवतो जन ईश पश्येत् ।
तावन्न संसृतिरसौ प्रतिसङ्क्रमेत ।
            व्यर्थापि दुःखनिवहं वहती क्रियार्था ॥ ९ ॥

हे इश! जवसम्म मानिस इन्द्रिय र विषय रुपि मायाको प्रभावबाट हजुर र आफुमा भिन्न देख्तछ तवसम्म उसका लागि यस संसार चक्रको निवृति हुदैन । यद्यपि यो मिथ्या हो । तापनि कर्मफल भोगको क्षेत्र भएका कारण नानाप्रकारको दुःखमा पर्दछ ।।९।।

अह्न्यापृतार्तकरणा निशि निःशयाना ।
           नानामनोरथधिया क्षणभग्ननिद्राः ।
दैवाहतार्थरचना ऋषयोऽपि देव ।
           युष्मत् प्रसङ्गविमुखा इह संसरन्ति ॥ १० ॥

देव! अरुको त कुरा नै के भयो र जो सक्षात मुनि छन् उनीहरू पनि हजूरको कथा प्रशंगबाट विमुख हुन्छन भने त उनीहरूलाई पनि ससारमा फस्नुपर्दछ । उनीहरूको अनेक किसिमका काममा मन लिप्त हुँनाले रात्रीमा निद्रमा अचेत भएर रहन्छन त्यसकारण पनि अनेका किसिमका मनोरथका कारण क्षण क्षणमा निद्रा भंग हुन्छ र दैववश उसको सबै ब्यापारको प्रयास पनि असफल हुन्छ ।।१०।।

त्वं भक्तियोगपरिभावितहृत्सरोज ।
            आस्से श्रुतेक्षितपथो ननु नाथ पुंसाम् ।
यद् यद् धिया ते उरुगाय विभावयन्ति ।
            तत्तद् वपुः प्रणयसे सदनुग्रहाय ॥ ११ ॥

हे नाथ ! हजूरको मार्ग केवल गुण श्रवणबाट नै जान्न सकिन्छ । हजूर मानिसको भक्तियोगद्वारा सुध्द भएको हृदयकमलमा निवास गर्नु हुन्छ । पुण्यश्लोक प्रभो! हजूरका भक्तहरू जुनजुन भावनाले हजूरको चिन्तन गर्दछन् ती साधुहरू माथि अनुग्रह गर्नका लागि हजूर त्यहि त्यहि रूप धारण गर्नुहुन्छ ।।११।।

नातिप्रसीदति तथोपचितोपचारैः ।
            आराधितः सुरगणैर्हृदि बद्धकामैः ।
यत्सर्वभूतदययासदलभ्ययैको ।
            नानाजनेष्ववहितः सुहृदन्तरात्मा ॥ १२ ॥

भगवान्! हजूर एक हुनुहुन्छ तथा सम्पूर्ण प्राणीको अन्तःकरणमा स्थित उसको परम हितकारी अन्तरात्मा हुनुहुन्छ । त्यसैले देवताहरू पनि विभिन्न कामनाका लागि विभिन्न सामग्रीले हजूरको पूजा गर्दा पनि हजूर प्रशन्न हुनुहुन्छ । जति प्राणी मात्रमा दया गर्दा हुन्छ । तर सबै जीव माथिको दया असत् पुरुषका लागि अत्यन्त दुर्लभ छ ।।१२।।

पुंसामतो विविधकर्मभिरध्वराद्यैः ।
            दानेन चोग्रतपसा परिचर्यया च ।
आराधनं भगवतस्तव सत्क्रियार्थो ।
            धर्मोऽर्पितः कर्हिचिद् ध्रियते न यत्र ॥ १३ ॥

जुन कर्म हजूरमा अर्पण गरिन्छ त्यसको कहिल्यै खेर जादैन, त्यो अक्षय हुन्छ । त्यसैले विभिन्न प्रकारको कर्म, यज्ञ, दान, कठिन तपस्या र ब्रत हरूद्वारा आफ्नो प्रशन्नता प्राप्त गर्नु नै मानिसको सबभन्दा राम्रो कर्मफल हो, किनकि हजूर प्रशन्न हुनुभएपछि प्राप्त हुन नसक्ने त्यस्तो फल कुनैपनि छैन ।।१३।।

शश्वत्स्वरूपमहसैव निपीतभेद ।
            मोहाय बोधधिषणाय नमः परस्मै ।
विश्वोद्भवस्थितिलयेषु निमित्तलीला ।
            रासाय ते नम इदं चकृमेश्वराय ॥ १४ ॥

हजूर सर्बदा आफ्नो स्वरूपको प्रकाशले प्राणीहरूको भेद–भ्रमरूप अन्धकारलाई नाश गर्नुहुन्छ तथा ज्ञानको साक्षात परमपुरुष हुनुहुन्छ । म हजूरलाई नमस्कार गर्दछु । संसारको उत्पत्ति, स्थिति र लयको निमित्त जुन मायाको लीला हुन्छ त्यो हजूरकै खेल हो, त्यसैले हजूरलाई म वारंवार नमस्कार गर्दछु ।।१४।।

यस्यावतार गुणकर्मविडम्बनानि ।
            नामानि येऽसुविगमे विवशा गृणन्ति ।
तेऽनैकजन्मशमलं सहसैव हित्वा ।
            संयान्त्यपावृतामृतं तमजं प्रपद्ये ॥ १५ ॥

जुन मानिस प्राण त्यागको समयमा हजूरको अवतरण गुण र कर्मको सूचित गर्ने देवकीनन्दन, जनार्दन, आदि नामको उच्चारण गर्दछ भने उसले अनेको जन्मको पापबाट तत्कालै छुटकारा पाउदछ र मायादि आवरणबाट रहित भएको ब्रह्मपद पाउदछ । हजूर नित्य अजन्मा हुनुहुन्छ म हजूरको शरण पर्दछु ।।१५।।

यो वा अहं च गिरिशश्च विभुः स्वयं च ।
            स्थित्युद्भवप्रलयहेतव आत्ममूलम् ।
भित्त्वा त्रिपाद्ववृध एक उरुप्ररोहः ।
            तस्मै नमो भगवते भुवनद्रुमाय ॥ १६ ॥

भगवन्! हजूर यस विश्व वृक्षकोरूपमा विराजमान हुनुहुन्छ । हजूर आफ्नो मूल प्रकृतिलाई स्वीकार गरेर जगतको उत्पत्ति, स्थिति र प्रलयको लागि मेरो, आफ्नो र महादेवको रूपमा तीन प्रधान शाखामा विभक्त हुनुभएको छ । र फेरी प्रजापति मुनुआदि शाखा र उपशाखामा फैलिएर विस्तृत हुनुभएको छ, म हजूरलाई नमस्कार गर्दछु ।।१६।।

लोको विकर्मनिरतः कुशले प्रमत्तः ।
            कर्मण्ययं त्वदुदिते भवदर्चने स्वे ।
यस्तावदस्य बलवान् इह जीविताशां ।
            सद्यश्छिनत्त्यनिमिषाय नमोऽस्तु तस्मै ॥ १७ ॥

भगवन्! हजूरले आफ्नो आराधनालाई नै मानिसको कल्याणकारी धर्म बताउनु भएको छ तर जो यसबाट उदासिन भएर विपरित (निषिध्द) कर्ममा लाग्दछन् । यस्तो अवस्थामा परेका जीवहरूको जीवन आशालाई सधै सावधान भएर छिटो छिटो काटिरहेको हुन्छ, त्यो वलवान काल पनि हजूरको रूप हो, म त्यसलाई नमस्कार गर्दछु । ।१७।।

यस्माद्बिभेम्यहमपि द्विपरार्धधिष्ण्यं ।
            अध्यासितः सकललोकनमस्कृतं यत् ।
तेपे तपो बहुसवोऽवरुरुत्समानः ।
            तस्मै नमो भगवतेऽधिमखाय तुभ्यम् ॥ १८ ॥ 

म सत्यलोकको अधिष्ठाता हुँ, दुई परार्ध सम्म रहने भएका र सबै लोकको बन्दनीय छु तापनि हजूरको कालरूपबाट डराईरहेको छु त्यसबाट बच्न र हजूरलाई पाउनका लागि नै मैले धेरै समय सम्म तपस्या गरें । हजूर अधि यज्ञरूपले मेरो साक्षी हुनुहुन्छ, म हजूरलाई नमस्कार गर्दछु ।।१८।।

तिर्यङ्मनुष्यविबुधादिषु जीवयोनि ।
            ष्वात्मेच्छयात्मकृतसेतुपरीप्सया यः ।
रेमे निरस्तविषयोऽप्यवरुद्धदेहः ।
            तस्मै नमो भगवते पुरुषोत्तमाय ॥ १९ ॥

हजूरलाई कुनैपनि विषय सुखको चिन्ता छैन तापनि आफुले बनाएको धर्म मर्यादाको रक्षाको लागि पशु, पंक्षी, मनुस्य र देवता आदि जीव योनीमा आफ्नै इच्छाले शरीर धारण गरेर अनेक लीला गर्नुहुन्छ त्यस्ता पुरुषोत्तम भगवान् लाई म नमस्कार गर्दछु ।।१९।।

योऽविद्ययानुपहतोऽपि दशार्धवृत्त्या ।
            निद्रामुवाह जठरीकृतलोकयात्रः ।
अन्तर्जलेऽहिकशिपुस्पर्शानुकूलां ।
            भीमोर्मिमालिनि जनस्य सुखं विवृण्वन् ॥ २० ॥

प्रभो! अविद्या, अस्मिता, राग, द्वेष र अभिनिवेश यी अविद्याका पाँच बृत्ति मध्दे कुनैको अधिनमा पनि हुनुहुन्न, तापनि यस समयमा सारा संसारलाई आफ्नो पेटमा लीन गरेर भयंकर तरंगमालाले युक्त प्रलयकालिन जलको कोमल शैयामा सयन गर्नुहुन्छ, त्यो पूर्व कल्पको परंपरामा थकित भएका जीवलाई विश्राम दिनका लागि नै हो ।।२०।।

यन्नाभिपद्मभवनाद् अहमासमीड्य ।
            लोकत्रयोपकरणो यदनुग्रहेण ।
तस्मै नमस्त उदरस्थभवाय योग ।
            निद्रावसानविकसन् नलिनेक्षणाय ॥ २१ ॥

हजूरको नाभिकमलरूप भवनमा मेरो जन्म भएको छ, हजूरको पेटमा लीन भएको तीनैलोकको रचनारूप उपकारमा प्रबृत्त भएको हुँ । यस समयमा भोग निद्राको अन्त्य भएको कारण नेत्र कमल विकशित भै रहेको छ, हजूरलाई मेरो नमस्कार छ ।।२१।।

सोऽयं समस्तजगतां सुहृदेक आत्मा ।
            सत्त्वेन यन्मृडयते भगवान् भगेन ।
तेनैव मे दृशमनुस्पृशताद्यथाहं ।
            स्रक्ष्यामि पूर्ववदिदं प्रणतप्रियोऽसौ ॥ २२ ॥

हजूर सम्पूर्ण जगतको एकमात्र सुहृद र आत्मा हुनुहुन्छ र शरणागत प्रति कृपा गर्नुहुन्छ । त्यसैले हजूरको जुन ज्ञान र ऐश्वर्यले विश्वलाई आनन्दित गर्नुहुन्छ त्यसैमा मेरो बुध्दिपनि अभिनन्दन गर्नुहोस, जसबाट म पूर्वकल्पको जसरी नै यस समयमा पनि जगतको रचना गर्न सकुँ ।।२२।।

एष प्रपन्नवरदो रमयात्मशक्त्या ।
            यद्यत् करिष्यति गृहीतगुणावतारः ।
तस्मिन्स्वविक्रममिदं सृजतोऽपि चेतो ।
            युञ्जीत कर्मशमलं च यथा विजह्याम् ॥ २३ ॥

हजूर भक्तहरुको इच्छा पूर्ण गर्ने हुनुहुन्छ । हजूरको शक्ति लक्ष्मीजी सहित भएर अनेक अवतार लिएर हजूर जुन जुन अद्भुत कर्म गर्नुहुन्छ, जगतको रचना गर्ने मेरो यो कामपनि जसमध्दे एक हो, त्यसैले यसलाई रच्नमा मेरो चित्त प्रेरित गर्नुहोस, जसबाट म सृष्टि रचना विषयको अभिमानरूप मन बाट टाढै राख्न सकुँ ।।२३।।

नाभिह्रदादिह सतोऽम्भसि यस्य पुंसो ।
            विज्ञानशक्तिरहमासमनन्तशक्तेः ।
रूपं विचित्रमिदमस्य विवृण्वतो मे ।
            मा रीरिषीष्ट निगमस्य गिरां विसर्गः ॥ २४ ॥

प्रभो! यस प्रलयकालिन जलमा सयन गर्नुहुने हजूर अनन्तशक्ति परम पुरुषको नाभिकमलबाट मेरो प्रादुर्भाव भएको हो र म पनि हजूरको विज्ञान शक्ति हुँ, त्यसैले यस जगतको विचित्ररूपको विस्तार गर्ने समय हजूरको कृपाले मेरो वेदरूपवाणी लुप्त नहोस ।।२४।।

सोऽसौ अदभ्रकरुणो भगवान् विवृद्ध ।
            प्रेमस्मितेन नयनाम्बुरुहं विजृम्भन् ।
उत्थाय विश्वविजयाय च नो विषादं ।
            माध्व्या गिरापनयतात्पुरुषः पुराणः ॥ २५ ॥

हजूर अपार करुणामय पुराणपुरुष हुनुहुन्छ । हजूर परम प्रेममयी मुस्कान सहित आफ्नो आँखा खोल्नुहोस र शेष शैयाबाट उठेर विश्वको उद्भवका लागि आफ्नो समधुर वाणीले मेरो खेदलाई हटाइदिनुहोस ।।२५।।

मैत्रेय उवाच–
(अनुष्टुप)
स्वसम्भवं निशाम्यैवं तपोविद्यासमाधिभिः ।
यावन्मनोवचः स्तुत्वा विरराम स खिन्नवत् ॥ २६ ॥

मैत्रेयजीले भने—
विदुरजी! यस प्रकार तप, विद्या र समाधिद्वारा आफ्नो उत्पत्ति स्थान श्री भगवान् लाई देखेर तथा आफ्नो मन वाणी र शक्तिका अनुसार वहाँको स्तुति गरेर ब्रह्माजी थाकेझैं गरि चुप लाग्नुभयो ।।२६।।

अथाभिप्रेतमन्वीक्ष्य ब्रह्मणो मधुसूदनः ।
विषण्णचेतसं तेन कल्पव्यतिकराम्भसा ॥ २७ ॥

लोकसंस्थानविज्ञान आत्मनः परिखिद्यतः ।
तमाहागाधया वाचा कश्मलं शमयन्निव ॥ २८ ॥

श्री मदुसूदन भगवानले देख्नुभयो कि ब्रह्माजी यस प्रलय जलराशी बाट धेरै हडबडाएर लोक रचना आदि विषयका बारेमा निश्चत विचार नभएका कारण उनको चित्त खिन्न भएको देख्नुभयो । अनि उनको अभिप्राय बुझेर वहाँले आफ्नो गभिर वाणीले उनको खेदलाई शान्त गराउदै भन्नलाग्नु भयो ।।२७।२८।।

श्रीभगवानुवाच–
मा वेदगर्भ गास्तन्द्रीं सर्ग उद्यममावह ।
तन्मयाऽऽपादितं ह्यग्रे यन्मां प्रार्थयते भवान् ॥ २९ ॥

भगवानले भन्नुभयो—
वेदगर्भ! तिमी खिन्न नहोउ, आलस्य नगर, सृष्टि रचनाको उद्येगमा तत्पर होउ, तिमी मसंग जे कुरा चहान्छौ त्यो त मैले पहिले नै दिइसकेको छु ।।२९।।

भूयस्त्वं तप आतिष्ठ विद्यां चैव मदाश्रयाम् ।
ताभ्यां अन्तर्हृदि ब्रह्मन् लोकान् द्रक्ष्यसि अपावृतान् ॥ ३० ॥

तिमी एकपटक फेरी तप गर र भगवद् ज्ञानको अनुष्ठान गर । यसबाट तिमी सबै लोकलाई स्पष्टरूपमा आफ्नो अन्तःकरणमा देख्दछौ ।।३०।।

तत आत्मनि लोके च भक्तियुक्तः समाहितः ।
द्रष्टासि मां ततं ब्रह्मन् मयि लोकान् त्वमात्मनः ॥ ३१ ॥

फेरी भक्तियुक्त र समाहित चित्त भएर तिमी सम्पूर्ण लोक र आफुमा मलाइ ब्याप्त भएको देख्दछौ तथा म मै सम्पूर्ण लोक र आफुमा मलाई ब्याप्त भएको देख्दछौ ।।३१।।

यदा तु सर्वभूतेषु दारुष्वग्निमिव स्थितम् ।
प्रतिचक्षीत मां लोको जह्यात्तर्ह्येव कश्मलम् ॥ ३२ ॥

जुन समय जीव काठमा ब्याप्त अग्नि समान सबै भूतमा म नै स्थित भएको देख्दछ । त्यस समयमा त्यो आफ्नो अज्ञानरूप मलबाट मुक्त हुन्छ ।।३२।।

यदा रहितमात्मानं भूतेन्द्रियगुणाशयैः ।
स्वरूपेण मयोपेतं पश्यन् स्वाराज्यमृच्छति ॥ ३३ ॥

जव त्यो आफुलाई भूत, इन्द्रिय र अन्तःकरणले रहित तथा सुध्द आत्मा म बाट अभिन्न देख्दछ त्यसले मोक्ष प्राप्त गर्दछ ।।३३।।

नानाकर्मवितानेन प्रजा बह्वीः सिसृक्षतः ।
नात्मावसीदत्यस्मिन् ते वर्षीयान् मदनुग्रहः ॥ ३४ ॥

ब्रह्मन्! विभिन्न प्रकारको कर्म संस्कार अनुसार अनेक प्रकारको जीव सृष्टिको रचना गर्ने इच्छा भएपछि पनि तिम्रो चित्त मोहित हुदैन । यो मेरो अतिशय कृपाको फल हो ।।३४।।

ऋषिमाद्यं न बध्नाति पापीयान् त्वां रजोगुणः ।
यन्मनो मयि निर्बद्धं प्रजाः संसृजतोऽपि ते ॥ ३५ ॥

प्रजाहरू उत्पन्न गर्ने समयमा पनि तिम्रो मन ममा नै लागिरहने छ । यसबाट पापमय रजोगुणले तिमीलाई बाँध्ने छैन ।।३५।।

ज्ञातोऽहं भवता त्वद्य दुर्विज्ञेयोऽपि देहिनाम् ।
यन्मां त्वं मन्यसेऽयुक्तं भूतेन्द्रियगुणात्मभिः ॥ ३६ ॥

तिमी मलाई भूत, इन्द्रिय, गुण र अन्तःकरणबाट रहित सम्झन्छौ । यद्यपि देहधारी जीवलाई मेरो ज्ञान हुन धेरै मुस्किल छ । तापनि तिमीले मलाई जान्यौं ।।३६।।

तुभ्यं मद्विचिकित्सायां आत्मा मे दर्शितोऽबहिः ।
नालेन सलिले मूलं पुष्करस्य विचिन्वतः ॥ ३७ ॥

मेरो आश्रय कुनै छ वा छैन यस सन्देहबाट तिमी कमलनाल द्वारा जलमा त्यसको मूल पत्ता लगाउन लागिरहेका थियौ त्यसैले यो मेरो स्वरूपलाइ तिम्रै अन्तःकरणमा देखाएको हुँ ।।३७।।

यच्चकर्थाङ्ग मत्स्तोत्रं मत्कथा अभ्युदयांकितम् ।
यद्वा तपसि ते निष्ठा स एष मदनुग्रहः ॥ ३८ ॥

प्यारा ब्रह्मा! तिमीले मेरो कथाहरूको वैभवलेयुक्त मेरो स्तुति ग¥यौ र मेरो तपस्यामा जुन तिम्रो रुचि भयो यो पनि मेरै कृपाको फल हो ।।३८।।

प्रीतोऽहमस्तु भद्रं ते लोकानां विजयेच्छया ।
यद् अस्तौषीर्गुणमयं निर्गुणं मानुवर्णयन् ॥ ३९ ॥

लोक रचनाको इच्छाले तिमीले मेरो सगुण प्रतित भएर पनि जुन निर्गणरूपले मेरो वर्णन गर्दै स्तुति ग¥यौ त्यसबाट म प्रशन्न छु तिम्रो कल्याण होओस ।।३९।।

य एतेन पुमान्नित्यं स्तुत्वा स्तोत्रेण मां भजेत् ।
तस्याशु सम्प्रसीदेयं सर्वकामवरेश्वरः ॥ ४० ॥

म सबै कामना र मनोरथलाई पूर्ण गर्न समर्थ छु । जो पुरुष नित्य यस स्तोत्रद्वारा स्तुति गरेर मेरो भजन गर्दछ उ माथि म चाडै नै प्रशन्न हुनेछु ।।४०।।

पूर्तेन तपसा यज्ञैः दानैर्योगसमाधिना ।
राद्धं निःश्रेयसं पुंसां मत्प्रीतिः तत्त्वविन्मतम् ॥ ४१ ॥

तत्व वेत्ताहरूको मत छ कि पूर्त, तप, यज्ञ, दान, योग र समाधि आदि साधनाले प्राप्त हुने जुन परम कल्याणमय फल छ त्यो मेरै प्रश्न्नताले हो ।।४२।।

अहमात्मात्मनां धातः प्रेष्ठः सन् प्रेयसामपि ।
अतो मयि रतिं कुर्याद् देहादिर्यत्कृते प्रियः ॥ ४२ ॥

ब्रह्माजी! म आत्माहरूको पनि आत्मा र स्त्री पुत्रादि पृयहरूको पनि पृय हुँ । त्यसैले मलाई नै प्रेम गर्नु पर्दछ मेरो आत्माको संयोगले नै देह प्यारो हुन्छ ।।४२।।

सर्ववेदमयेनेदं आत्मनाऽऽत्माऽऽत्मयोनिना ।
प्रजाः सृज यथापूर्वं याश्च मय्यनुशेरते ॥ ४३ ॥

ब्रह्माजी! तीनैलोक तथा जुन प्रजा यससमयमा ममा लीन भएका छन, त्यसका तिमी पूर्वकल्प समान म बाट उत्पन्न भएका आफ्नो सर्बैदेवमय स्वरूपबाट स्वयं रचना गर ।।४३।।

मैत्रेय उवाच–
तस्मा एवं जगत्स्रष्ट्रे प्रधानपुरुषेश्वरः ।
व्यज्येदं स्वेन रूपेण कञ्जनाभस्तिरोदधे ॥ ४४ ॥

मैत्रेयजीले भने

प्रकृति पुरुषका स्वामी कमलनाभ भगवान् ले सृष्टिकर्ता ब्रम्हाजीलाई यसप्रकार जगतको अभिब्यक्ति गराउँनु भयो त्यसपछि आफ्नो उहि नारायणरुपमा अदृष्य हुनुभयो ।।४४।।


तृतीयस्कन्धे नवमोऽध्यायः ॥ ९ ॥