/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

दशमस्कन्धः –अथाष्टपञ्चाशत्तमोऽध्यायः

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः –अथाष्टपञ्चाशत्तमोऽध्यायः


श्रीशुक उवाच
एकदा पाण्डवान् द्रष्टुं प्रतीतान् पुरुषोत्तमः ।
इन्द्रप्रस्थं गतः श्रीमान् युयुधानादिभिर्वृतः ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छहे महाराज परीक्षित्! पाण्डवहरू लाक्षागृहको डढेलोबाट बचेका छन् भन्ने थाहा पाएपछि श्रीमान् पुरुषोत्तम श्रीकृष्ण सात्यकि आदि यदुवंशीहरूका साथ उनीहरूलाई भेट्न इन्द्रप्रस्थ जानुभयो ।।१।।
 
दृष्ट्वा तमागतं पार्था मुकुन्दमखिलेश्वरम् ।
उत्तस्थुर्युगपद् वीराः प्राणा मुख्यमिवागतम् ॥ २ ॥
नेपाली भावानुवादः शरीरमा मुख्य प्राणको सञ्चार भएपछि इन्द्रियहरू जागे झैँ, अखिलेश्वर भगवान् मुकुन्द पाण्डवहरूकहाँ आउनुभएको देखेर ती वीर पाण्डवहरू हर्षका साथ एकै पटक आफ्नो आसनबाट उठे ।।२।।
 
परिष्वज्याच्युतं वीरा अङ्‌गसङ्‌गहतैनसः ।
सानुरागस्मितं वक्त्रं वीक्ष्य तस्य मुदं ययुः ॥ ३ ॥
नेपाली भावानुवादः ती वीरहरूले अच्युत भगवान्लाई आलिङ्गन गरे । भगवान्को अङ्गस्पर्श हुनानाले उनीहरूका सबै पाप नष्ट भए । भगवान्को प्रेमपूर्ण मुस्कानयुक्त मुखकमल हेरेर उनीहरू अत्यन्त आनन्दित भए ।।३।।
 
युधिष्ठिरस्य भीमस्य कृत्वा पादाभिवन्दनम् ।
फाल्गुनं परिरभ्याथ यमाभ्यां चाभिवन्दितः ॥ ४ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णले युधिष्ठिर र भीमसेनको चरणमा अभिवादन गर्नुभयो र अर्जुनलाई आलिङ्गन गर्नुभयो । त्यसपछि नकुल र सहदेवले पनि भगवान्को चरणमा प्रणाम गरे ।।४।।
 
परमासन आसीनं कृष्णा कृष्णमनिन्दिता ।
नवोढा व्रीडिता किञ्चिच्छनैरेत्याभ्यवन्दत ॥ ५ ॥
नेपाली भावानुवादः भगवान् उत्तम आसनमा विराजमान हुनुभएको समयमा, नवविवाहिता तथा अनिन्दिता द्रौपदीले केही लजाउँदै बिस्तारै आएर भगवान् श्रीकृष्णलाई अभिवादन गरिन् ।।५।।
 
तथैव सात्यकिः पार्थैः पूजितश्चाभिवन्दितः ।
निषसादासनेऽन्ये च पूजिताः पर्युपासत ॥ ६ ॥
नेपाली भावानुवादः त्यसैगरी पाण्डवहरूद्वारा पूजित र अभिनन्दित भएर सात्यकि आसनमा बसे । अन्य यदुवंशीहरू पनि यथायोग्य सत्कार पाएर नजिकैका आसनहरूमा बसे ।।६।।
 
पृथां समागत्य कृताभिवादन-
    स्तयातिहार्दार्द्रदृशाभिरम्भितः ।
आपृष्टवांस्तां कुशलं सहस्नुषां
    पितृष्वसारं परिपृष्टबान्धवः ॥ ७ ॥
नेपाली भावानुवादः त्यसपछि भगवान् श्रीकृष्णले आफ्नी फुपू कुन्तीकहाँ गएर उहाँलाई प्रणाम गर्नुभयो । कुन्तीले पनि अत्यन्त प्रेम र हर्षाश्रुपूर्ण आँखाले भगवान्लाई अङ्कमाल गरिन् । भगवान्ले आफ्नी फुपू र बुहारी (द्रौपदी) को कुशल मङ्गल सोध्दै अन्य आफन्तहरूको बारेमा पनि सोधपुछ गर्नुभयो ।।७।।
 
तमाह प्रेमवैक्लव्यरुद्धकण्ठाश्रुलोचना ।
स्मरन्ती तान् बहून् क्लेशान् क्लेशापायात्मदर्शनम् ॥ ८ ॥
नेपाली भावानुवादः दुःखको नाश गर्ने भगवान्को दर्शन पाउँदा कुन्तीका पुराना दुःखका दिनहरूको सम्झना भयो । प्रेमको विह्वलताले गर्दा कण्ठ अवरुद्ध भयो र आँखाबाट आँसु बगाउँदै उनले श्रीकृष्णलाई भनिन् ।।८।।
 
तदैव कुशलं नोऽभूत् सनाथास्ते कृता वयम् ।
ज्ञातीन् नः स्मरता कृष्ण भ्राता मे प्रेषितस्त्वया ॥ ९ ॥
नेपाली भावानुवादः हे कृष्ण! जब हजुरले हाम्रा आफन्तहरूको सम्झना गर्दै मेरो भाइ (अक्रुर) लाई समाचार बुझ्न पठाउनुभयो, तबदेखि नै हामी सनाथ भयौँ र हाम्रो कल्याण भयो ।।९।।
 
न तेऽस्ति स्वपरभ्रान्तिर्विश्वस्य सुहृदात्मनः ।
तथापि स्मरतां शश्वत् क्लेशान् हंसि हृदि स्थितः ॥ १० ॥
नेपाली भावानुवादः हजुर सम्पूर्ण विश्वको सुहृद् र आत्मा हुनुहुन्छ, त्यसैले हजुरमा 'आफ्नो' 'पराई' भन्ने भ्रम छैन । तैपनि हजुरलाई निरन्तर स्मरण गर्ने भक्तहरूको हृदयमा निवास गरी हजुरले उनीहरूको दुःख नाश गरिदिनुहुन्छ ।।१०।।
 
युधिष्ठिर उवाच
किं न आचरितं श्रेयो न वेदाहमधीश्वर ।
योगेश्वराणां दुर्दर्शो यन्नो दृष्टः कुमेधसाम् ॥ ११ ॥
नेपाली भावानुवादः युधिष्ठिरले भन्नुभयोहे अधीश्वर! हामीले कुन शुभकर्म गरेका थियौँ, त्यो मलाई थाहा छैन । तर ठूला-ठूला योगेश्वरहरूका लागि पनि दुर्लभ हजुरको दर्शन आज हामी जस्ता मन्दबुद्धि भएकाहरूले सजिलै पायौँ ।।११।।
 
इति वै वार्षिकान् मासान् राज्ञा सोऽभ्यर्थितः सुखम् ।
 जनयन् नयनानन्दमिन्द्रप्रस्थौकसां विभुः ॥ १२ ॥
नेपाली भावानुवादः यसरी राजा युधिष्ठिरद्वारा प्रार्थित भएपछि इन्द्रप्रस्थवासीहरूको आँखालाई आनन्द दिँदै सर्वसमर्थ भगवान् श्रीकृष्ण त्यहाँ वर्षा ऋतुका चार महिनासम्म सुखपूर्वक बस्नुभयो ।।१२।।
 
एकदा रथमारुह्य विजयो वानरध्वजम् ।
गाण्डीवं धनुरादाय तूणौ चाक्षयसायकौ ॥ १३ ॥
साकं कृष्णेन सन्नद्धो विहर्तुं विपिनं वनम् ।
बहुव्यालमृगाकीर्णं प्राविशत् परवीरहा ॥ १४ ॥
नेपाली भावानुवादः एक पटक शत्रुहरूको संहार गर्ने अर्जुनले हनुमानको चिह्न भएको ध्वजासहितको रथमा सवार भई, गाण्डीव धनुष र अक्षय बाण भएका दुईवटा ढोक्रा लिएर, श्रीकृष्णका साथ शिकार खेल्न वनतर्फ प्रस्थान गर्नुभयो । उहाँ धेरै हिंस्रक जनावरहरू भएको घना जङ्गलमा प्रवेश गर्नुभयो ।।१३१४।।
 
तत्राविध्यच्छरैर्व्याघ्रान् शूकरान् महिषान् रुरून् ।
शरभान् गवयान् खड्गान् हरिणाञ्छशशल्लकान् ॥ १५ ॥
नेपाली भावानुवादः त्यहाँ उहाँले बाघ, बँदेल, भैँसी, रुरु (मृग), शरभ, निलगाई, गैँडा, हरिण, खरायो र शल्लकी (दुम्सी) आदि जनावरहरूमाथि बाण प्रहार गर्नुभयो ।।१५।।
 
तान् निन्युः किङ्‌करा राज्ञे मेध्यान् पर्वण्युपागते ।
तृट्परीतः परिश्रान्तो बिभत्सुर्यमुनामगात् ॥ १६ ॥
नेपाली भावानुवादः अर्जुनले शिकार गरेका यज्ञयोग्य पशुहरू सेवकहरूले राजा युधिष्ठिरकहाँ पुर्‍याए । शिकार गर्दा थकित भएका र प्यास लागेका अर्जुन (विभत्सु) त्यसपछि यमुनाको किनारमा जानुभयो ।।१६।।
 
तत्रोपस्पृश्य विशदं पीत्वा वारि महारथौ ।
कृष्णौ ददृशतुः कन्यां चरन्तीं चारुदर्शनाम् ॥ १७ ॥
नेपाली भावानुवादः त्यहाँ दुवै महारथी श्रीकृष्ण र अर्जुनले शुद्ध जलले आचमन गरी पानी पिए । त्यसै समयमा उनीहरूले त्यहाँ तपस्या गरिरहेकी एक अत्यन्त सुन्दरी कन्यालाई देखे ।।१७।।
 
तामासाद्य वरारोहां सुद्विजां रुचिराननाम् ।
पप्रच्छ प्रेषितः सख्या फाल्गुनः प्रमदोत्तमाम् ॥ १८ ॥
नेपाली भावानुवादः ती सुन्दरीका दाँत र मुख अत्यन्तै मनमोहक थिए । श्रीकृष्णको आग्रहमा अर्जुनले उनीकहाँ गएर सोधपुछ गरे ।।१८।।
 
का त्वं कस्यासि सुश्रोणि कुतो वा किं चिकीर्षसि ।
मन्ये त्वां पतिमिच्छन्तीं सर्वं कथय शोभने ॥ १९ ॥
नेपाली भावानुवादः हे सुन्दरी! तिमी को हौ? कसकी छोरी हौ? कहाँबाट आएकी हौ र तिम्रो उद्देश्य के हो? मलाई लाग्छ तिमी उपयुक्त पतिको खोजीमा छौ, त्यसैले सबै कुरा स्पष्ट भन ।।१९।।
 
कालिन्द्युवाच
अहं देवस्य सवितुर्दुहिता पतिमिच्छती ।
विष्णुं वरेण्यं वरदं तपः परममास्थितः ॥ २० ॥
नेपाली भावानुवादः कालिन्दीले भनिन्म सूर्यदेवकी पुत्री हुँ । म वरदायक भगवान् विष्णुलाई पतिको रूपमा प्राप्त गर्ने इच्छाले यो कठोर तपस्यामा लीन भएकी छु ।।२०।।
 
नान्यं पतिं वृणे वीर तमृते श्रीनिकेतनम् ।
तुष्यतां मे स भगवान् मुकुन्दोऽनाथसंश्रयः ॥ २१ ॥
नेपाली भावानुवादः हे वीर! लक्ष्मीका निवासस्थान भगवान् बाहेक म अन्य कसैलाई पति स्वीकार गर्दिनँ । अनाथहरूका सहारा भगवान् मुकुन्द ममाथि प्रसन्न हुनुहोस् ।।२१।।
 
कालिन्दीति समाख्याता वसामि यमुनाजले ।
निर्मिते भवने पित्रा यावदच्युतदर्शनम् ॥ २२ ॥
नेपाली भावानुवादः मेरो नाम कालिन्दी हो । मेरा पिताले बनाइदिनुभएको यमुनाको जलभित्रको भवनमा म तबसम्म बस्छु, जबसम्म मलाई अच्युत भगवान्को दर्शन हुँदैन ।।२२।।
 
तथावदद् गुडाकेशो वासुदेवाय सोऽपि ताम् ।
रथमारोप्य तद् विद्वान् धर्मराजमुपागमत् ॥ २३ ॥
नेपाली भावानुवादः अर्जुन (गुडाकेश) ले यो सबै कुरा वासुदेव श्रीकृष्णलाई सुनाउनुभयो । सबै कुरा जान्नुहुने भगवान् श्रीकृष्णले कालिन्दीलाई रथमा राखी धर्मराज युधिष्ठिरकहाँ ल्याउनुभयो ।।२३।।
 
यदैव कृष्णः सन्दिष्टः पार्थानां परमाद्‌भुतम् ।
कारयामास नगरं विचित्रं विश्वकर्मणा ॥ २४ ॥
नेपाली भावानुवादः जब पाण्डवहरूले आग्रह गरे, तब भगवान् श्रीकृष्णले विश्वकर्माद्वारा उनीहरूका लागि अत्यन्तै अद्भुत र विचित्र नगर (इन्द्रप्रस्थ) निर्माण गराउनुभयो ।।२४।।
 
भगवांस्तत्र निवसन् स्वानां प्रियचिकीर्षया ।
अग्नये खाण्डवं दातुमर्जुनस्यास सारथिः ॥ २५ ॥
नेपाली भावानुवादः आफ्ना आत्मीय पाण्डवहरूको हितका लागि त्यहाँ बस्नुभएका भगवान्, अग्निदेवलाई खाण्डव वन तृप्त गराउनका लागि अर्जुनको सारथी बन्नुभयो ।।२५।।
 
सोऽग्निस्तुष्टो धनुरदाद्धयाञ्छ्वे तान् रथं नृप ।
अर्जुनायाक्षयौ तूणौ वर्म चाभेद्यमस्त्रिभिः ॥ २६ ॥
नेपाली भावानुवादः हे राजन्! खाण्डव वनको दहनबाट सन्तुष्ट भएका अग्निदेवले अर्जुनलाई गाण्डीव धनुष, चारवटा सेता घोडा भएको रथ, अक्षय बाणयुक्त दुईवटा ढोक्रा र अभेद्य कवच प्रदान गरे ।।२६।।
 
मयश्च मोचितो वह्नेः सभां सख्य उपाहरत् ।
यस्मिन् दुर्योधनस्यासीज्जलस्थलदृशिभ्रमः ॥ २७ ॥
नेपाली भावानुवादः आगोबाट बचाइएका मय दानवने कृतज्ञतास्वरूप अर्जुनका लागि एउटा अद्भुत सभा भवन निर्माण गरिदिए, जहाँ दुर्योधनलाई स्थलमा जल र जलमा स्थलको भ्रम भएको थियो ।।२७।।
 
स तेन समनुज्ञातः सुहृद्‌भिश्चानुमोदितः ।
आययौ द्वारकां भूयः सात्यकिप्रमखैर्वृतः ॥ २८ ॥
नेपाली भावानुवादः केही समयपछि अर्जुन र अन्य सुहृदहरूको अनुमति लिई भगवान् श्रीकृष्ण सात्यकि आदिका साथ पुनः द्वारका फर्कनुभयो ।।२८।।
 
अथोपयेमे कालिन्दीं सुपुण्यर्त्वृक्ष ऊर्जिते ।
वितन्वन् परमानन्दं स्वानां परममङ्‌गलम् ॥ २९ ॥
नेपाली भावानुवादः त्यसपछि शुभ नक्षत्र र उत्तम समयमा, आफ्ना आफन्तहरूलाई परमानन्द र मङ्गल प्रदान गर्दै भगवान्ले कालिन्दीसँग विधिवत् विवाह गर्नुभयो ।।२९।।
 
विन्दानुविन्दावावन्त्यौ दुर्योधनवशानुगौ ।
स्वयंवरे स्वभगिनीं कृष्णे सक्तां न्यषेधताम् ॥ ३० ॥
नेपाली भावानुवादः अवन्ती देशका राजा विन्द र अनुविन्द दुर्योधनका अनुयायी थिए । उनीहरूले श्रीकृष्णप्रति अनुरक्त आफ्नी बहिनी मित्रविन्दालाई स्वयंवरमा श्रीकृष्ण रोज्नबाट रोके ।।३०।।
 
राजाधिदेव्यास्तनयां मित्रविन्दां पितृष्वसुः ।
प्रसह्य हृतवान् कृष्णो राजन् राज्ञां प्रपश्यताम् ॥ ३१ ॥
नेपाली भावानुवादः हे राजन्! आफ्नी फुपू राजाधिदेवीकी पुत्री मित्रविन्दालाई भगवान् श्रीकृष्णले उपस्थित राजाहरूले हेर्दाहेर्दै बलपूर्वक हरण गरेर लैजानुभयो ।।३१।।
 
नग्नजिन्नाम कौसल्य आसीद् राजातिधार्मिकः ।
तस्य सत्याभवत् कन्या देवी नाग्नजिती नृप ॥ ३२ ॥
नेपाली भावानुवादः कोसल देशमा नग्नजित् नामका अत्यन्तै धार्मिक राजा थिए । हे नृप! उनकी 'सत्या' नामकी कन्या थिइन्, जसलाई नाग्नजिती पनि भनिन्थ्यो ।।३२।।
 
न तां शेकुर्नृपा वोढुमजित्वा सप्त गोवृषान् ।
तीक्ष्णशृङ्‌गान् सुदुर्धर्षान् वीर्यगन्धासहान् खलान् ॥ ३३ ॥
नेपाली भावानुवादः सातवटा तीखा सिङ भएका, दुर्दम्य र अपरिचित वीरको गन्धसम्म पनि सहन नसक्ने दुष्ट साँढेहरूलाई नजिती कोही पनि राजाले ती कन्यालाई विवाह गर्न सकेका थिएनन् ।।३३।।
 
तां श्रुत्वा वृषजिल्लभ्यां भगवान् सात्वतां पतिः ।
जगाम कौसल्यपुरं सैन्येन महता वृतः ॥ ३४ ॥
नेपाली भावानुवादः ती कन्यालाई साँढेहरू जितेर मात्र प्राप्त गर्न सकिन्छ भन्ने सुनेपछि, यदुनाथ भगवान् श्रीकृष्ण ठूलो सेनाका साथ कोसलपुर जानुभयो ।।३४।।
 
स कोसलपतिः प्रीतः प्रत्युत्थानासनादिभिः ।
अर्हणेनापि गुरुणा पूजयन् प्रतिनन्दितः ॥ ३५ ॥
नेपाली भावानुवादः कोसलराज नग्नजितले प्रसन्न भएर आसन र महान् पूजा सामग्रीद्वारा भगवान्को सत्कार गरे । भगवान्ले पनि उनलाई अभिनन्दन गर्नुभयो ।।३५।।
 
वरं विलोक्याभिमतं समागतं
    नरेन्द्रकन्या चकमे रमापतिम् ।
भूयादयं मे पतिराशिषोऽमलाः
    करोतु सत्या यदि मे धृतो व्रतैः ॥ ३६ ॥
नेपाली भावानुवादः आफ्नो मनले चिताएको वर रमापति श्रीकृष्णलाई आएको देखेर ती राजकुमारीले मनमनै कामना गरिन्– "यदि मैले सत्यनिष्ठाका साथ व्रतहरूको पालना गरेकी छु भने मेरा ती पुण्यहरू सफल होऊन् र यी श्रीकृष्ण नै मेरो पति बनून्" ।।३६।।
 
यत्पादपङ्‌कजरजः शिरसा बिभर्ति
    श्रीरब्यजः सगिरिशः सह लोकपालैः ।
लीलातनुः स्वकृतसेतुपरीप्सयेशः काले
    दधत् स भगवान् मम केन तुष्येत् ॥ ३७ ॥
नेपाली भावानुवादः जसको चरणकमलको धुलो लक्ष्मी, ब्रह्मा, महादेव र लोकपालहरू शिरमा धारण गर्छन् र जसले धर्ममर्यादा रक्षाका लागि समय-समयमा अवतार लिनुहुन्छ, ती भगवान् म जस्ती सामान्य कन्याको कुन चाहिँ सेवाले प्रसन्न हुनुहोला र? ।।३७।।
 
अर्चितं पुनरित्याह नारायण जगत्पते ।
आत्मानन्देन पूर्णस्य करवाणि किमल्पकः ॥ ३८ ॥
नेपाली भावानुवादः हे महाराज! राजा नग्नजितले फेरि पनि भगवान्को अर्चना गर्दै भने– "हे नारायण! हे जगत्पते! हजुर त आत्मानन्दमा पूर्ण हुनुहुन्छ, म जस्तो तुच्छ व्यक्तिले हजुरको के सेवा गर्न सक्छु र?" ।।३८।।
 
श्रीशुक उवाच
तमाह भगवान् हृष्टः कृतासनपरिग्रहः ।
मेघगम्भीरया वाचा सस्मितं कुरुनन्दन ॥ ३९ ॥
नेपाली भावानुवादः श्रीशुकदेव भन्नुहुन्छहे कुरुनन्दन! राजाले दिएको आसन ग्रहण गरिसकेपछि भगवान् श्रीकृष्णले मुस्कुराउँदै मेघ जस्तै गम्भीर स्वरमा भन्नुभयो ।।३९।।
 
श्रीभगवानुवाच
नरेन्द्र याच्ञा कविभिर्विगर्हिता
    राजन्यबन्धोर्निजधर्मवर्तिनः ।
तथापि याचे तव सौहृदेच्छया कन्यां
    त्वदीयां न हि शुल्कदा वयम् ॥ ४० ॥
नेपाली भावानुवादः भगवान्ले भन्नुभयोहे राजन्! आफ्नो धर्ममा रहने क्षत्रियका लागि कसैसँग माग्नु (याचना गर्नु) निन्दनीय मानिन्छ । तैपनि मित्रताको इच्छाले म तपाईंसँग आपकी कन्या माग्दैछु । तर म यसको बदलामा कुनै शुल्क (दाइजो/पैसा) भने दिने छैन ।।४०।।
 
राजोवाच
कोऽन्यस्तेऽभ्यधिको नाथ कन्यावर इहेप्सितः ।
गुणैकधाम्नो यस्याङ्‌गे श्रीर्वसत्यनपायिनी ॥ ४१ ॥
नेपाली भावानुवादः राजा नग्नजितले भनेहे नाथ! हजुर त समस्त गुणका खानी हुनुहुन्छ र हजुरको वक्षस्थलमा लक्ष्मीको निरन्तर वास छ । हजुरभन्दा योग्य वर मेरी छोरीका लागि अरू को हुन सक्छ? ।।४१।।
 
किं त्वस्माभिः कृतः पूर्वं समयः सात्वतर्षभ ।
पुंसां वीर्यपरीक्षार्थं कन्यावरपरीप्सया ॥ ४२ ॥
नेपाली भावानुवादः हे यदुवंशशिरोमणि! तर हामीले पहिले नै वरको वीरता परीक्षाका लागि एउटा शर्त (प्रतिज्ञा) राखेका छौँ ।।४२।।
 
सप्तैते गोवृषा वीर दुर्दान्ता दुरवग्रहाः ।
एतैर्भग्नाः सुबहवो भिन्नगात्रा नृपात्मजाः ॥ ४३ ॥
नेपाली भावानुवादः हे वीर! यहाँ यी सातवटा साँढेहरू अत्यन्तै उद्दण्ड र वशमा पार्न कठिन छन् । यिनले धेरै राजकुमारहरूका अङ्गभङ्ग पारिदिएका छन् ।।४३।।
 
यदिमे निगृहीताः स्युस्त्वयैव यदुनन्दन ।
वरो भवानभिमतो दुहितुर्मे श्रियः पते ॥ ४४ ॥
नेपाली भावानुवादः हे यदुनन्दन! यदि हजुरले यी साँढेहरूलाई नियन्त्रणमा लिनुभयो भने, हे श्रीपते! हजुर नै मेरी छोरीका लागि उपयुक्त वर ठहरिनुहुनेछ ।।४४।।
 
एवं समयमाकर्ण्य बद्ध्वा परिकरं प्रभुः ।
आत्मानं सप्तधा कृत्वा न्यगृह्णाल्लीलयैव तान् ॥ ४५ ॥
नेपाली भावानुवादः राजाको शर्त सुनेर प्रभुले कम्मर कसेर आफूलाई सात रूपमा प्रकट गर्नुभयो र ती साँढेहरूलाई खेलझैँ सजिलै नियन्त्रणमा लिनुभयो ।।४५।।
 
बद्ध्वा तान् दामभिः शौरिर्भग्नदर्पान् हतौजसः ।
व्यकर्सल्लीलया बद्धान् बालो दारुमयान् यथा ॥ ४६ ॥
नेपाली भावानुवादः भगवान्ले ती अहङ्कारी र बलहीन भएका साँढेहरूलाई डोरीले बाँधी त्यसरी नै घिसार्नुभयो, जसरी बालकले काठका खेलौना-साँढेहरूलाई तान्छ ।।४६।।
 
ततः प्रीतः सुतां राजा ददौ कृष्णाय विस्मितः ।
तां प्रत्यगृह्णाद्‌ भगवान् विधिवत् सदृशीं प्रभुः ॥ ४७ ॥
नेपाली भावानुवादः राजा नग्नजित आश्चर्यचकित र प्रसन्न भई श्रीकृष्णलाई आफ्नी कन्या सुम्पे । भगवान्ले पनि आफू समानकी ती कन्यालाई विधिवत् स्वीकार गर्नुभयो ।।४७।।
 
राजपत्न्यअश्च दुहितुः कृष्णं लब्ध्वा प्रियं पतिम् ।
लेभिरे परमानन्दं जातश्च परमोत्सवः ॥ ४८ ॥
नेपाली भावानुवादः छोरीले श्रीकृष्ण जस्तो प्रिय पति पाएकोमा रानीहरू अत्यन्त खुसी भए र त्यहाँ ठूलो उत्सव मनाइयो ।।४८।।
 
शङ्खभेर्यानका नेदुर्गीतवाद्यद्विजाशिषः ।
नरा नार्यः प्रमुदिताः सुवासःस्रगलङ्‌कृताः ॥ ४९ ॥
नेपाली भावानुवादः शङ्ख, भेरी, नगाडा आदि बज्न थाले, गीत र वाद्यवादनका साथै ब्राह्मणहरूले आशीर्वाद दिए । नगरका स्त्री-पुरुषहरू राम्रा लुगा र गहना लगाएर आनन्दित भए ।।४९।।
 
दशधेनुसहस्राणि पारिबर्हमदाद् विभुः ।
युवतीनां त्रिसाहस्रं निष्कग्रीवसुवाससम् ॥ ५० ॥
नवनागसहस्राणि नागाच्छतगुणान् रथान् ।
रथाच्छतगुणानश्वानश्वाच्छतगुणान् नरान् ॥ ५१ ॥
नेपाली भावानुवादः राजा नग्नजितले दाइजोस्वरूप दश हजार गाई, सुनका गहना लगाएका तीन हजार सुन्दरी दासी, नौ हजार हात्ती, नौ लाख रथ, नौ करोड घोडा र नौ अर्ब सेवकहरू प्रदान गरे ।।५०५१।।
 
दम्पती रथमारोप्य महत्या सेनया वृतौ ।
स्नेहप्रक्लिन्नहृदयो यापयामास कोसलः ॥ ५२ ॥
नेपाली भावानुवादः स्नेही हृदय भएका कोसलराजले दम्पतीलाई रथमा चढाएर विशाल सेनाका साथ बिदा गरे ।।५२।।
 
श्रुत्वैतद् रुरुधुर्भूपा नयन्तं पथि कन्यकाम् ।
भग्नवीर्याः सुदुर्मर्षा यदुभिर्गोवृषैः पुरा ॥ ५३ ॥
नेपाली भावानुवादः पहिले यदुवंशी र साँढेहरूबाट पराजित भएका राजाहरूले जब यो समाचार सुने, तब उनीहरूले बाटोमा कन्या लिएर जाँदै गरेका श्रीकृष्णलाई घेरे ।।५३।।
 
तानस्यतः शरव्रातान् बन्धुप्रियकृदर्जुनः ।
गाण्डीवी कालयामास सिंहः क्षुद्रमृगानिव ॥ ५४ ॥
नेपाली भावानुवादः बाण प्रहार गर्ने ती राजाहरूलाई आफ्नो मित्रको प्रिय गर्ने अर्जुनले गाण्डीव धनुषद्वारा त्यसरी नै धपाए, जसरी सिंहले साना मृगहरूलाई भगाउँछ ।।५४।।
 
पारिबर्हमुपागृह्य द्वारकामेत्य सत्यया ।
रेमे यदूनामृषभो भगवान् देवकीसुतः ॥ ५५ ॥
नेपाली भावानुवादः दाइजो र सत्यालाई साथमा लिई द्वारका पुगेर यदुश्रेष्ठ भगवान् देवकीनन्दन उनीसँग सुखपूर्वक रहनुभयो ।।५५।।
 
श्रुतकीर्तेः सुतां भद्रामुपयेमे पितृष्वसुः ।
कैकेयीं भ्रातृभिर्दत्तां कृष्णः सन्तर्दनादिभिः ॥ ५६ ॥
नेपाली भावानुवादः आफ्नी फुपू श्रुतकीर्तिकी कन्या भद्रालाई उनका दाजुहरू सन्तर्दन आदिले श्रीकृष्णलाई नै दिए । भगवान्ले ती कैकेयी (केकय देशकी) भद्रासँग विवाह गर्नुभयो ।।५६।।
 
सुतां च मद्राधिपतेर्लक्ष्मणां लक्षणैर्युताम् ।
स्वयंवरे जहारैकः स सुपर्णः सुधामिव ॥ ५७ ॥
नेपाली भावानुवादः मद्र देशका राजाकी पुत्री लक्ष्मणालाई, जो सुलक्षणा थिइन्, भगवान्ले स्वयंवरबाट एक्लै त्यसरी हरण गर्नुभयो, जसरी गरुड (सुपर्ण) ले अमृत हरण गरेका थिए ।।५७।।
 
अन्याश्चैवंविधा भार्याः कृष्णस्यासन् सहस्रशः ।
भौमं हत्वा तन्निरोधादाहृताश्चारुदर्शनाः ॥ ५८ ॥
नेपाली भावानुवादः हे महाराज! यसबाहेक भौमासुरलाई मारेर उसको बन्दीगृहबाट मुक्त गरिएका अन्य हजारौँ सुन्दरी कन्याहरू पनि भगवान्का पत्नीहरू बने ।।५८।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे उत्तरार्धे अष्टमहिष्युद्वाहो नाम अष्टपञ्चाशत्तमोऽध्यायः ।। ५८ ।।
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

श्रीमद्भागवत महापुराणको दशम स्कन्धको यस ५८औँ अध्यायमा भगवान् श्रीकृष्णको इन्द्रप्रस्थ यात्रा र उहाँका विभिन्न विवाहहरूको विस्तृत वर्णन गरिएको छ । पाण्डवहरू लाक्षागृहको षड्यन्त्रबाट बचेर इन्द्रप्रस्थमा रहेको थाहा पाएपछि श्रीकृष्ण उनीहरूलाई भेट्न जानुहुन्छ । त्यहाँ पाण्डवहरूले उहाँलाई प्राण आएको शरीरले झैँ अत्यन्त हर्षका साथ स्वागत गर्दछन् । कुन्तीले आफ्ना विगतका कष्टहरू स्मरण गर्दै भगवान्को दर्शनले नै आफूहरू सनाथ भएको भाव प्रकट गर्छिन् । यसै क्रममा अर्जुनसँग यमुनाको किनारमा घुम्न जाँदा श्रीकृष्णले सूर्यपुत्री कालिन्दीलाई तपस्या गरिरहेको अवस्थामा देख्नुहुन्छ । कालिन्दीले विष्णुलाई पतिका रूपमा पाउन गरेको कठोर तपस्या सफल हुन्छ र श्रीकृष्णले उहाँलाई द्वारका लगेर विवाह गर्नुहुन्छ । त्यसपछि भगवान्ले मित्रविन्दालाई स्वयंवरबाट हरण गर्नुहुन्छ । अर्को महत्त्वपूर्ण प्रसङ्ग कोसल देशका राजा नग्नजितकी पुत्री सत्यासँगको विवाहको छ । राजाको शर्तअनुसार सातवटा उद्दण्ड साँढेहरूलाई एकैसाथ सात रूप धारण गरी श्रीकृष्णले दमन गर्नुहुन्छ र वीरतापूर्वक सत्यालाई पत्नीका रूपमा प्राप्त गर्नुहुन्छ । अध्यायको अन्त्यतिर भद्रालक्ष्मणा र भौमासुरको कैदबाट मुक्त गरिएका १६,००० कन्याहरूसँगको विवाहको सङ्क्षिप्त चर्चा गरिएको छ । यसरी यो अध्यायले श्रीकृष्णको ऐश्वर्यवीरता र भक्तवात्सल्यलाई प्रस्तुत गर्दछ । भगवान्ले कसरी आफ्ना भक्तहरूको इच्छा पूर्ण गर्नुहुन्छ र अधर्मको नाश गर्दै धर्मको मर्यादा राख्नुहुन्छ भन्ने कुरा यहाँ स्पष्ट पारिएको छ । पाण्डवहरूसँगको सम्बन्ध र विवाहका यी प्रसङ्गहरूले श्रीकृष्णको गृहस्थ लीलाको माधुर्यलाई समेत उजागर गरेका छन् ।

दार्शनिक पक्ष

यस अध्यायको दार्शनिक पक्ष अत्यन्त गहिरो छ । कुन्तीको स्तुतिले भगवान्को समदर्शिता र भक्तवात्सल्यको सिद्धान्तलाई स्पष्ट पारेको छ— अर्थात् भगवान् कसैको पक्षपाती हुनुहुन्नतर जसले उहाँलाई सम्झन्छउहाँ उसको हृदयमा प्रकट हुनुहुन्छ । कालिन्दीको तपस्याले जीवात्मा र परमात्माको मिलनका लागि आवश्यक अनन्य भक्तिको मार्ग देखाउँछ । सातवटा साँढेहरूको दमनले मनुष्यभित्र रहेका सात विकार वा इन्द्रियजन्य उच्छृङ्खलतालाई भगवान्को शरण परेर मात्र जित्न सकिन्छ भन्ने सङ्केत गर्दछ । श्रीकृष्णका धेरै विवाहहरूले उहाँको योगेश्वर रूप र अनन्त शक्तिलाई दर्शाउँछन्जहाँ उहाँ एकैसाथ अनेक रूपमा प्रकट भई हरेक जीवको इच्छा पूर्ण गर्नुहुन्छ । संसारमा रहेर पनि निर्लिप्त रहने र मर्यादा पुरुषोत्तमका रूपमा धर्मको रक्षा गर्ने उहाँको अवतारको मुख्य उद्देश्य यस अध्यायमा प्रतिविम्बित भएको छ ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...