/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

दशमस्कन्धः – षडशीतितमोऽध्यायः

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः – षडशीतितमोऽध्यायः



राजोवाच
ब्रह्मन् वेदितुमिच्छामः स्वसारं रामकृष्णयोः ।
यथोपयेमे विजयो या ममासीत् पितामही ॥ १ ॥
नेपाली भावानुवादः राजा परीक्षित्ले सोधे– "हे ब्रह्मज्ञानी भगवन्! मेरा पितामह अर्जुनले बलराम र श्रीकृष्णकी बहिनी सुभद्रासँग कसरी विवाह गर्नुभयो? मलाई यस प्रसङ्गका बारेमा जान्ने इच्छा छ" ।। १ ।।
 
श्रीशुक उवाच
अर्जुनस्तीर्थयात्रायां पर्यटन्नवनीं प्रभुः ।
गतः प्रभासमशृणोन्मातुलेयीं स आत्मनः ॥ २ ॥
दुर्योधनाय रामस्तां दास्यतीति न चापरे ।
तल्लिप्सुः स यतिर्भूत्वा त्रिदण्डी द्वारकामगात् ॥ ३ ॥
नेपाली भावानुवादः श्रीशुकदेवले भन्नुभयो– "हे महाराज परीक्षित्! एक पटक वीर अर्जुन तीर्थयात्राका क्रममा पृथ्वीको भ्रमण गर्दै प्रभास क्षेत्रमा पुगेका बखत उनले बलरामले आफ्नी मामाकी छोरी सुभद्रालाई दुर्योधनसँग विवाह गराउन चाहेको, तर वसुदेव र श्रीकृष्णको यसमा सहमति नभएको भन्ने सुने । त्यसपछि अर्जुन सुभद्रालाई पाउने इच्छाले त्रिदण्डी वैष्णव रूप धारण गरेर द्वारका गए" ।। २३ ।।
 
तत्र वै वार्षिकान् मासानवात्सीत् स्वार्थसाधकः ।
पौरैः सभाजितोऽभीक्ष्णं रामेणाजानता च सः ॥ ४ ॥
नेपाली भावानुवादः उनी आफ्नो इच्छा पूरा गर्न चार महिनासम्म द्वारकामा बसे । बलरामसहित द्वारकावासीहरूले उनी अर्जुन हुन् भन्ने थाहा पाएनन्; त्यसैले उनीहरूले उनको धेरै सेवा गरे ।। ४ ।।
 
एकदा गृहमानीय आतिथ्येन निमंत्र्य तम् ।
श्रद्धयोपहृतं भैक्ष्यं बलेन बुभुजे किल ॥ ५ ॥
नेपाली भावानुवादः एक दिन बलरामले त्रिदण्डधारी अर्जुनलाई आफ्नो घरमा लगेर धेरै श्रद्धापूर्वक भोजन गराउनुभयो ।। ५ ।।
 
सोऽपश्यत्तत्र महतीं कन्यां वीरमनोहराम् ।
प्रीत्युत्फुल्लेक्षणस्तस्यां भावक्षुब्धं मनो दधे ॥ ६ ॥
नेपाली भावानुवादः अर्जुनले खाना खान लागेको बखतमा सुभद्रालाई देखे । ती सुभद्रा विवाह गर्ने बेला भएकी एक परम सुन्दरी नारी थिइन् । उनको सौन्दर्य देखेर अर्जुनका आँखा उनीतिरै तानिए । उनले सुभद्रालाई विवाह गर्ने निश्चय गरे ।। ६ ।।
 
सापि तं चकमे वीक्ष्य नारीणां हृदयङ्‌गमम् ।
हसन्ती व्रीडितापाङ्‌गी तन्न्यस्तहृदयेक्षणा ॥ ७ ॥
नेपाली भावानुवादः हे राजन् परीक्षित्! तपाईंका पितामह अर्जुन शारीरिक रूपले अत्यन्त आकर्षक थिए । सुभद्राले पनि अर्जुनलाई लज्जायुक्त कटाक्षले मुस्कुराउँदै हेरिन् र मनमनै उनलाई आफ्नो पतिका रूपमा स्वीकार गरिन् ।। ७ ।।
ताम् परं समनुध्यायन्नन्तरं प्रेप्सुरर्जुनः ।
न लेभे शं भ्रमच्चित्तः कामेनातिबलीयसा ॥ ८ ॥
नेपाली भावानुवादः त्यसपछिका दिनमा अर्जुनले सुभद्रालाई पाउनका लागि उपाय र अवसरको खोजी गर्न थाले । सुभद्राका बारेमा चिन्तन गर्दागर्दै उनको मन अशान्त भएको थियो ।। ८ ।।
 
महत्यां देवयात्रायां रथस्थां दुर्गनिर्गताम् ।
जहारानुमतः पित्रोः कृष्णस्य च महारथः ॥ ९ ॥
नेपाली भावानुवादः एक दिन देवयात्रा (मेला) भर्ने मनसायले सुभद्रा रथमा चढेर किल्लाबाट बाहिर निस्केको बखतमा अर्जुनले वसुदेव र कृष्णको अनुमति लिएर रथबाटै सुभद्राको हरण गरे ।। ९ ।।
 
रथस्थो धनुरादाय शूरांश्चारुन्धतो भटान् ।
विद्राव्य क्रोशतां स्वानां स्वभागं मृगराडिव ॥ १० ॥
नेपाली भावानुवादः यसरी सुभद्राको सुरक्षाका लागि आएका र रोइकराई गरिरहेका रक्षकहरूलाई हटाउँदै अर्जुनले त्यसरी नै सुभद्रालाई लिएर गए, जसरी सिंहले आफ्नो भाग लिएर जान्छ ।। १० ।।
 
तच्छ्रुत्वा क्षुभितो रामः पर्वणीव महार्णवः । गृ
हीतपादः कृष्णेन सुहृद्‌भिश्चान्वशाम्यत ॥ ११ ॥
नेपाली भावानुवादः अर्जुनले सुभद्रालाई हरण गरेको समाचार सुनेर बलराम पूर्णिमाको समुद्र क्षुब्ध भएझैँ धेरै रिसाउनुभयो । पछि कृष्ण लगायत आफन्तहरूले धेरै सम्झाएपछि उहाँ शान्त हुनुभयो ।। ११ ।।
 
प्राहिणोत् पारिबर्हाणि वरवध्वोर्मुदा बलः ।
महाधनोपस्करेभरथाश्वनरयोषितः ॥ १२ ॥
नेपाली भावानुवादः त्यसपछि बलरामजीले खुसी भएर वर र वधुलाई हात्ती, घोडा, रथ तथा दास-दासीसहित धेरै दाइजो र उपहारहरू पठाइदिनुभयो ।। १२ ।।
 
श्रीशुक उवाच
कृष्णस्यासीद् द्विजश्रेष्ठः श्रुतदेव इति श्रुतः ।
कृष्णैकभक्त्या पूर्णार्थः शान्तः कविरलम्पटः ॥ १३ ॥
नेपाली भावानुवादः श्रीशुकदेवले भन्नुभयो– "हे राजा परीक्षित्! श्रीकृष्णका श्रुतदेव नामका एक प्रसिद्ध श्रेष्ठ ब्राह्मण भक्त थिए । अनन्य कृष्णभक्तिका कारण उनी पूर्णकाम, शान्त, विद्वान् र विरक्त थिए" ।। १३ ।।
 
स उवास विदेहेषु मिथिलायां गृहाश्रमी ।
अनीहयाऽऽगताहार्यनिर्वर्तितनिजक्रियः ॥ १४ ॥
नेपाली भावानुवादः ती ब्राह्मण श्रुतदेव विदेह जनपदको मिथिला नगरीमा गृहस्थाश्रममा बस्दथे । उनी कुनै इच्छाविना नै प्रारब्धवश प्राप्त भएको वस्तुद्वारा आफ्नो निर्वाह गर्दथे ।। १४ ।।
 
यात्रामात्रं त्वहरहर्दैवादुपनमत्युत ।
 नाधिकं तावता तुष्टः क्रियश्चक्रे यथोचिताः ॥ १५ ॥
नेपाली भावानुवादः प्रारब्धले नै उनलाई जीवन निर्वाहका लागि आवश्यक सामग्री मात्र प्राप्त हुन्थ्यो । उनी त्यतिमै सन्तुष्ट भएर आफ्नो वर्णाश्रम धर्मको विधिवत् पालन गर्दथे ।। १५ ।।
 
तथा तद्‌राष्ट्रपालोऽङ्‌ग बहुलाश्व इति श्रुतः ।
मैथिलो निरहम्मान उभावप्यच्युतप्रियौ ॥ १६ ॥
नेपाली भावानुवादः हे राजन्! त्यस देशका राजा बहुलाश्व पनि ती ब्राह्मण जस्तै भक्त थिए । उनीमा कुनै अहङ्कार थिएन । ती राजा बहुलाश्व र ब्राह्मण श्रुतदेव दुवै भगवान् श्रीकृष्णका अत्यन्त प्रिय थिए ।। १६ ।।
 
तयोः प्रसन्नो भगवान् दारुकेणाहृतं रथम् ।
आरुह्य साकं मुनिभिर्विदेहान् प्रययौ प्रभुः ॥ १७ ॥
नेपाली भावानुवादः ती दुवै भक्तमाथि प्रसन्न भएर भगवान् श्रीकृष्ण दारुकले ल्याएको रथमा चढेर मुनिहरूका साथ विदेह देशतर्फ लाग्नुभयो ।। १७ ।।
 
नारदो वामदेवोऽत्रिः कृष्णो रामोऽसितोऽरुणिः ।
अहं बृहस्पतिः कण्वो मैत्रेयश्च्यवनादयः ॥ १८ ॥
नेपाली भावानुवादः भगवान्को साथमा देवर्षि नारद, वामदेव, अत्रि, व्यास, परशुराम, असित, अरुणि, बृहस्पति, कण्व, मैत्रेय, च्यवन आदि ऋषिहरू थिए र म (शुकदेव) पनि सँगै थिएँ ।। १८ ।।
 
तत्र तत्र तमायान्तं पौरा जानपदा नृप ।
उपतस्थुः सार्घ्यहस्ता ग्रहैः सूर्यमिवोदितम् ॥ १९ ॥
नेपाली भावानुवादः हे नृप! भगवान् जुन जुन ठाउँमा पुग्नुहुन्थ्यो, त्यहाँका नगरवासी र गाउँलेहरू हातमा अर्घ्य लिएर उहाँको स्वागतमा उपस्थित हुन्थे । उनीहरूलाई भगवान्को दर्शन हुँदा उदित भइरहेको सूर्यको दर्शन गरेझैँ लाग्दथ्यो ।। १९ ।।
 
आनर्तधन्वकुरुजाङ्‌गलकङ्‌कमत्स्य-
    पाञ्चालकुन्तिमधुकेकयकोसलार्णाः ।
अन्ये च तन्मुखसरोजमुदारहास-
    स्निग्धेक्षणं नृप पपुर्दृशिभिर्नृनार्यः ॥ २० ॥
नेपाली भावानुवादः हे राजन्! त्यस यात्राका क्रममा आनर्त, धन्व, कुरुजाङ्गल, कङ्क, मत्स्य, पाञ्चाल, कुन्ती, मधु, केकय, कोसल, अर्ण आदि विभिन्न देशका स्त्री-पुरुषहरूले भगवान्को मन्द मुस्कानयुक्त कमल समान मुखमण्डलको दर्शन गरे ।। २० ।।
 
तेभ्यः स्ववीक्षणविनष्टतमिस्रदृग्भ्यः
    क्षेमं त्रिलोकगुरुरर्थदृशं च यच्छन् ।
शृणवन् दिगन्तधवलं स्वयशोऽशुभघ्नं
    गीतं सुरैर्नृभिरगाच्छनकैर्विदेहान् ॥ २१ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णको दर्शनले उनीहरूको अज्ञान रूपी अन्धकार नष्ट भयो । त्रिलोकगुरु भगवान्ले उनीहरूलाई आत्मज्ञान र कल्याण प्रदान गर्दै जानुभयो । आफ्नो पापनाशक यशको कीर्तन सुन्दै उहाँ बिस्तारै विदेह (मिथिला) पुग्नुभयो ।। २१ ।।
 
तेऽच्युतं प्राप्तमाकर्ण्य पौरा जानपदा नृप ।
अभीयुर्मुदितास्तस्मै गृहीतार्हणपाणयः ॥ २२ ॥
नेपाली भावानुवादः हे महाराज परीक्षित्! श्रीकृष्ण आएको खबर सुनेर मिथिलाका मानिसहरू अत्यन्त खुसी हुँदै हातमा पूजा सामग्री लिएर स्वागतका लागि आए ।। २२ ।।
 
दृष्ट्वाभ त उत्तमश्लोकं प्रीत्युत्फुल्लाननाशयाः ।
कैर्धृताञ्जलिभिर्नेमुः श्रुतपूर्वांस्तथा मुनीन् ॥ २३ ॥
नेपाली भावानुवादः भगवान्को दर्शन पाउँदा उनीहरूको मुख र मन प्रसन्नताले प्रफुल्लित भयो । उनीहरूले भगवान् र यसअघि नाम मात्र सुनेका ऋषिहरूलाई हात जोडेर शिर झुकाउँदै प्रणाम गरे ।। २३ ।।
 
स्वानुग्रहाय सम्प्राप्तं मन्वानौ तं जगद्‌गुरुम् ।
मैथिलः श्रुतदेवश्च पादयोः पेततुः प्रभोः ॥ २४ ॥
नेपाली भावानुवादः मिथिलाका राजा बहुलाश्व र ब्राह्मण श्रुतदेवले जगद्गुरु भगवान् श्रीकृष्णलाई आफूमाथि कृपा गर्न आएको ठानेर उहाँको चरणमा साष्टाङ्ग प्रणाम गरे ।। २४ ।।
 
न्यमन्त्रयेतां दाशार्हमातिथ्येन सह द्विजैः ।
मैथिलः श्रुतदेवश्च युगपत् संहताञ्जली ॥ २५ ॥
नेपाली भावानुवादः बहुलाश्व र श्रुतदेव दुवैले हात जोडेर भगवान् श्रीकृष्णलाई मुनिहरूका साथमा आतिथ्य ग्रहण गर्नका लागि एकै पटक निमन्त्रणा गरे ।। २५ ।।
 
भगवान् तदभिप्रेत्य द्वयोः प्रियचिकीर्षया ।
उभयोराविशद्‌ गेहमुभाभ्यां तदलक्षितः ॥ २६ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णले ती दुवैको प्रिय गर्ने इच्छाले एकै समयमा दुवैको घरमा प्रवेश गर्नुभयो । तर, एकले अर्काको घरमा भगवान् गएको थाहा पाएनन् (अर्थात् भगवान् दुई रूपमा प्रकट हुनुभयो) ।। २६ ।।
 
श्रोतुमप्यसतां दूरान् जनकः स्वगृहागतान् ।
आनीतेष्वासनाग्र्येषु सुखासीनान् महामनाः ॥ २७ ॥
प्रवृद्धभक्त्या उद्धर्षहृदयास्राविलेक्षणः ।
नत्वा तदङ्‌घ्रीन् प्रक्षाल्य तदपो लोकपावनीः ॥ २८ ॥
सकुटुम्बो वहन् मूर्ध्ना पूजयां चक्र ईश्वरान् ।
गन्धमाल्याम्बराकल्पधूपदीपार्घ्यगोवृषैः ॥ २९ ॥
नेपाली भावानुवादः दुर्जनहरूका लागि दुर्लभ भगवान् र मुनिहरूलाई आफ्नै घरमा आएको देखेर उदारमना राजा बहुलाश्वले उत्तम आसनमा उहाँहरूलाई बसाउनुभयो । भक्तिका कारण उनको हृदय भरिएर आयो र आँखाबाट प्रेमाश्ररु बग्न थाले । उनले सपरिवार भगवान् र ऋषिहरूको पाउ पखाली त्यो लोकपावन जल शिरमा धारण गरे र गन्ध, माला, वस्त्र, धूप, दीप आदिले पूजा गरे ।। २७२९ ।।
 
वाचा मधुरया प्रीणन्निदमाहान्नतर्पितान् ।
पादावङ्‌कगतौ विष्णोः संस्पृशञ्छनकैर्मुदा ॥ ३० ॥
नेपाली भावानुवादः भोजनद्वारा तृप्त भएपछि राजा बहुलाश्वले विष्णुस्वरूप श्रीकृष्णको चरण आफ्नो काखमा राखेर बिस्तारै मिच्न थाले र मधुर वाणीले स्तुति गर्न लागे ।। ३० ।।
 
बहुलाश्व उवाच भवान्हि सर्वभूतानामात्मा साक्षी स्वदृग् विभो । अथ नस्त्वत्पदाम्भोजं स्मरतां दर्शनं गतः ॥ ३१ ॥
नेपाली भावानुवादः राजा बहुलाश्वले भने– "हे विभो! हजुर सबै प्राणीका आत्मा, साक्षी र स्वयंप्रकाश हुनुहुन्छ । आज हजुरले हजुरको चरणकमलको स्मरण गर्ने हामीलाई दर्शन दिएर कृतार्थ गर्नुभयो" ।। ३१ ।।
 
स्ववचस्तदृतं कर्तुमस्मद्‌दृग्गोचरो भवान् ।
यदात्थैकान्तभक्तान् मे नानन्तः श्रीरजः प्रियः ॥ ३२ ॥
नेपाली भावानुवादः "हे भगवन्! हजुरले मेरा अनन्य भक्तहरू मलाई शेषनाग, लक्ष्मी वा ब्रह्माभन्दा पनि प्रिय छन् भन्नुभएको थियो । त्यही आफ्नो वचन सत्य सिद्ध गर्न आज हामीलाई दर्शन दिनुभयो" ।। ३२ ।।
 
को नु त्वच्चरणाम्भोजमेवंविद् विसृजेत् पुमान् ।
निष्किञ्चनानां शान्तानां मुनीनां यस्त्वमात्मदः ॥ ३३ ॥
नेपाली भावानुवादः "हजुरको यस्तो कृपालु स्वभाव थाहा पाएपछि कुन मानिसले हजुरको चरण त्याग्ला र? हजुर त सबै कुरा त्यागेका शान्त मुनिहरूलाई आफ्नो स्वरूप नै प्रदान गरिदिनुहुन्छ" ।। ३३ ।।
 
योऽवतीर्य यदोर्वंशे नृणां संसरतामिह ।
यशो वितेने तच्छान्त्यै त्रैलोक्यवृजिनापहम् ॥ ३४ ॥
नेपाली भावानुवादः "हजुरले संसारचक्रको तापले पिल्सिएका प्राणीहरूको उद्धारका लागि यदुवंशमा अवतार लिएर त्रिलोकको पाप नास गर्ने आफ्नो पावन यश विस्तार गर्नुभयो" ।। ३४ ।।
 
नमस्तुभ्यं भगवते कृष्णायाकुण्ठमेधसे ।
नारायणाय ऋषये सुशान्तं तप ईयुषे ॥ ३५ ॥
नेपाली भावानुवादः "अनन्त ज्ञान र ऐश्वर्यका धनी भगवान् श्रीकृष्णलाई मेरो नमस्कार छ । लोककल्याणका लागि शान्त तपस्यामा लीन रहने ऋषि नारायणलाई म प्रणाम गर्दछु" ।। ३५ ।।
 
दिनानि कतिचिद्‌ भूमन् गृहान् नो निवस द्विजैः ।
समेतः पादरजसा पुनीहीदं निमेः कुलम् ॥ ३६ ॥
नेपाली भावानुवादः "हे सर्वव्यापक भगवन्! केही दिन मुनिहरूका साथ हाम्रो निवासमा रहनुहोस् र आफ्नो चरणधुलोले यो निमिको वंशलाई पवित्र पारिदिनुहोस्" ।। ३६ ।।
 
इत्युपामन्त्रितो राज्ञा भगवान् लोकभावनः ।
उवास कुर्वन् कल्याणं मिथिलानरयोषिताम् ॥ ३७ ॥
नेपाली भावानुवादः यसरी राजाको प्रार्थना स्वीकार गरी लोकभावन भगवान् श्रीकृष्ण मिथिलावासीहरूको कल्याण गर्दै केही दिन त्यहाँ बस्नुभयो ।। ३७ ।।
 
श्रुतदेवोऽच्युतं प्राप्तं स्वगृहाञ्जनको यथा ।
नत्वा मुनीन् सुसंहृष्टो धुन्वन् वासो ननर्त ह ॥ ३८ ॥
नेपाली भावानुवादः उता, भगवान् मुनिहरूका साथ आफ्नो घरमा आएको देखेर ब्राह्मण श्रुतदेव पनि राजा बहुलाश्व झैँ अत्यन्त हर्षित भए र खुसीले आफ्नो लुगा हल्लाउँदै नाच्न थाले ।। ३८ ।।
 
तृणपीठबृसीष्वेतानानीतेषूपवेश्य सः ।
स्वागतेनाभिनन्द्याङ्‌घ्रीन् सभार्योऽवनिजे मुदा ॥ ३९ ॥
नेपाली भावानुवादः श्रुतदेवले कुशको आसन र पिराहरू ओछ्याएर सबैलाई बसाए र स्वागत गरे । त्यसपछि पत्नीका साथ खुसी हुँदै उहाँहरूका पाउ पखाले ।। ३९ ।।
 
तदम्भसा महाभाग आत्मानं सगृहान्वयम् ।
स्नापयाञ्चक्र उद्धर्षो लब्धसर्वमनोरथः ॥ ४० ॥
नेपाली भावानुवादः ती भाग्यमानी ब्राह्मणले त्यस जलले आफूलाई र परिवारलाई अभिषेक गरे । त्यस बेला उनले आफ्नो सबै मनोरथ पूर्ण भएको सम्झेर हर्षित भए ।। ४० ।।
 
फलार्हणोशीरशिवामृताम्बुभि-
    र्मृदा सुरभ्या तुलसीकुशाम्बुजैः ।
आराधयामास यथोपपन्नया
    सपर्यया सत्त्वविवर्धनान्धसा ॥ ४१ ॥
नेपाली भावानुवादः उनले फलफूल, चन्दन, सुगन्धित जल, तुलसी, कुश र कमल आदि सामग्रीका साथै सात्त्विक भोजनद्वारा सबैको यथाशक्ति आराधना गरे ।। ४१ ।।
 
स तर्कयामास कुतो ममान्वभूद्
    गृहान्धकूपे पतितस्य सङ्‌गमः ।
यः सर्वतीर्थास्पदपादरेणुभिः
    कृष्णेन चास्यात्मनिकेतभूसुरैः ॥ ४२ ॥
नेपाली भावानुवादः श्रुतदेवले विचार गरे– "म जस्तो गृहस्थी रूपी अँध्यारो इनारमा खसेको व्यक्तिका लागि सबै तीर्थका आश्रय भगवान् श्रीकृष्ण र यी ऋषिहरूको दर्शन कसरी सम्भव भयो?" ।। ४२ ।।
 
सूपविष्टान् कृतातिथ्यान् श्रुतदेव उपस्थितः ।
सभार्यस्वजनापत्य उवाचाङ्‌घ्र्यभिमर्शनः ॥ ४३ ॥
नेपाली भावानुवादः अतिथि सत्कार गरिसकेपछि श्रुतदेव आफ्ना पत्नी र छोराछोरीसहित भगवान्को चरण स्पर्श गर्दै यसरी भन्न लागे ।। ४३ ।।
 
श्रुतदेव उवाच
नाद्य नो दर्शनं प्राप्तः परं परमपूरुषः ।
यर्हीदं शक्तिभिः सृष्ट्वा प्रविष्टो ह्यात्मसत्तया ॥ ४४ ॥
नेपाली भावानुवादः श्रुतदेवले भने– "हे परमपुरुष! हजुरले हामीलाई आज मात्र दर्शन दिनुभएको होइन, जब हजुरले आफ्नो शक्तिद्वारा यस जगत्को सृष्टि गरेर यसमा आत्मसत्ताका रूपमा प्रवेश गर्नुभयो, तबदेखि नै हजुर यहाँ हुनुहुन्छ" ।। ४४ ।।
 
यथा शयानः पुरुषो मनसैवात्ममायया ।
सृष्वा लोकं परं स्वाप्नमनुविश्यावभासते ॥ ४५ ॥
नेपाली भावानुवादः "जसरी सुतेको व्यक्तिले स्वप्नमा आफ्नो मनले जगत्को सृष्टि गर्छ र आफैँ त्यसमा प्रवेश गरी अनेक रूपमा देखिन्छ, त्यसरी नै हजुरले पनि आफ्नो मायाले जगत् रचना गरी यसमा प्रवेश गरेर लीला गर्नुहुन्छ" ।। ४५ ।।
 
शृणतां गदतां शश्वदर्चतां त्वाभिवन्दताम् ।
नृणां संवदतामन्तर्हृदि भास्यमलात्मनाम् ॥ ४६ ॥
नेपाली भावानुवादः "जसले नित्य हजुरको कथा सुन्छन्, कीर्तन गर्छन्, पूजा र वन्दना गर्छन्, त्यस्ता शुद्ध अन्तःकरण भएका व्यक्तिहरूको हृदयमा हजुर सधैँ प्रकाशित हुनुहुन्छ" ।। ४६ ।।
 
हृदिस्थोऽप्यतिदूरस्थः कर्मविक्षिप्तचेतसाम् ।
आत्मशक्तिभिरग्राह्योऽप्यन्त्युपेतगुणात्मनाम् ॥ ४७ ॥
नेपाली भावानुवादः "जसको चित्त कर्मवासनाले गर्दा विक्षिप्त छ, उनीहरूका लागि हृदयमै भए पनि हजुर टाढा हुनुहुन्छ । तर जसले हजुरको गुणगान गर्छन्, उनीहरूका लागि हजुर अत्यन्त नजिक हुनुहुन्छ" ।। ४७ ।।
 
नमोऽस्तु तेऽध्यात्मविदां परात्मने
    अनात्मने स्वात्मविभक्तमृत्यवे ।
सकारणाकारणलिङ्‌गमीयुषे
    स्वमाययासंवृतरुद्धदृष्टये ॥ ४८ ॥
नेपाली भावानुवादः "आत्मज्ञानीहरूका लागि परमात्मा र देहाभिमानीहरूका लागि मृत्युरूप हजुरलाई नमस्कार छ । हजुर कारण र कार्य दुवैका नियामक हुनुहुन्छ र आफ्नो मायाले अज्ञानीहरूको दृष्टि ढाकिदिनुहुन्छ" ।। ४८ ।।
 
स त्वं शाधि स्वभृत्यान् नः किं देव करवाम हे ।
एतदन्तो नृणां क्लेशो यद्‌भवानक्षिगोचरः ॥ ४९ ॥
नेपाली भावानुवादः "हे प्रभु! हामी हजुरका सेवक हौँ, आज्ञा दिनुहोस् हामी के सेवा गरौँ? हजुरको दर्शन हुनु नै सबै क्लेशहरूको अन्त्य हुनु हो" ।। ४९ ।।
 
श्रीशुक उवाच
तदुक्तमित्युपाकर्ण्य भगवान् प्रणतार्तिहा ।
गृहीत्वा पाणिना पाणिं प्रहसंस्तमुवाच ह ॥ ५० ॥
नेपाली भावानुवादः श्रीशुकदेव भन्नुहुन्छ– "हे परीक्षित्! भक्तको दुःख हरण गर्ने भगवान् श्रीकृष्णले श्रुतदेवको हात समातेर मुस्कुराउँदै भन्नुभयो" ।। ५० ।।
 
श्रीभगवानुवाच
ब्रह्मंस्तेऽअनुग्रहार्थाय सम्प्राप्तान् विद्ध्यमून् मुनीन् ।
सञ्चरन्ति मया लोकान् पुनन्तः पादरेणुभिः ॥ ५१ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णले भन्नुभयो– "हे ब्राह्मण! तिमीलाई अनुग्रह गर्न यी मुनिहरू यहाँ आएका हुन् । उनीहरू आफ्नो चरणधुलोले लोकलाई पवित्र पार्दै मेरो साथमा भ्रमण गर्दछन्" ।। ५१ ।।
 
देवाः क्षेत्राणि तीर्थानि दर्शनस्पर्शनार्चनैः ।
शनैः पुनन्ति कालेन तदप्यर्हत्तमेक्षया ॥ ५२ ॥
नेपाली भावानुवादः "देवता, तीर्थ र क्षेत्रहरूको दर्शन एवं पूजनले लामो समयपछि मात्र मानिस पवित्र हुन्छन्, तर सन्तहरूको दर्शनले मानिस तत्काल पवित्र हुन्छ" ।। ५२ ।।
 
ब्राह्मणो जन्मना श्रेयान् सर्वेषां प्राणिनामिह ।
तपसा विद्यया तुष्ट्या किमु मत्कलया युतः ॥ ५३ ॥
नेपाली भावानुवादः "यस जगत्मा ब्राह्मण जन्मले नै श्रेष्ठ हुन्छन् । त्यसमा पनि यदि उनीहरूमा तपस्या, विद्या, सन्तोष र मेरो भक्ति छ भने त झन् के कुरा भयो र?" ।। ५३ ।।
 
न ब्राह्मणान्मे दयितं रूपमेतच्चतुर्भुजम् ।
सर्ववेदमयो विप्रः सर्वदेवमयो ह्यहम् ॥ ५४ ॥
नेपाली भावानुवादः "मलाई मेरो यो चतुर्भुज रूपभन्दा पनि ब्राह्मण बढी प्रिय छन् । किनकि ब्राह्मण सर्ववेदमय हुन् र म सर्वदेवमय हुँ" ।। ५४ ।।
 
दुष्प्रज्ञा अविदित्वैवमवजानन्त्यसूयवः ।
गुरुं मां विप्रमात्मानमर्चादाविज्यदृष्टयः ॥ ५५ ॥
नेपाली भावानुवादः "तर अज्ञानी मानिसहरूले यो रहस्य नबुझेर केवल प्रतिमामा मात्र मलाई खोज्छन् र मेरो स्वरूप रहेका ब्राह्मणहरूको अपमान गर्दछन्" ।। ५५ ।।
 
चराचरमिदं विश्वं भावा ये चास्य हेतवः ।
मद् रूपाणीति चेतस्याधत्ते विप्रो मदीक्षया ॥ ५६ ॥
नेपाली भावानुवादः "ज्ञानी ब्राह्मणले यस चराचर जगत् र यसका कारणहरूलाई मेरै स्वरूप ठानेर सबैमा मलाई नै देख्दछन्" ।। ५६ ।।
 
तस्माद्‌ ब्रह्मऋषीनेतान् ब्रह्मन् मच्छ्रद्धयार्चय ।
एवं चेदर्चितोऽस्म्यद्धा नान्यथा भूरिभूतिभिः ॥ ५७ ॥
नेपाली भावानुवादः "त्यसैले हे श्रुतदेव! तिमीले यी ब्रह्मर्षिहरूलाई मेरै रूप सम्झेर श्रद्धापूर्वक पूजा गर । यसरी पूजा गर्दा मेरो वास्तविक पूजा हुन्छ, केवल बहुमूल्य सामग्री चढाएर मात्र म खुसी हुन्नँ" ।। ५७ ।।
 
श्रीशुक उवाच
स इत्थं प्रभुणाऽऽदिष्टः सहकृष्णान् द्विजोत्तमान् ।
आराध्यैकात्मभावेन मैथिलश्चाप सद्‌गतिम् ॥ ५८ ॥
नेपाली भावानुवादः श्रीशुकदेव भन्नुहुन्छ– "हे परीक्षित्! भगवान्को आज्ञा पाएर श्रुतदेवले श्रीकृष्ण र ऋषिहरूको अनन्य भावले आराधना गरे र सद्गति प्राप्त गरे" ।। ५८ ।।
 
एवं स्वभक्तयो राजन् भगवान् भक्तभक्तिमान् ।
उषित्वाऽऽदिश्य सन्मार्गं पुनर्द्वारवतीमगात् ॥ ५९ ॥
नेपाली भावानुवादः "हे राजन्! यसरी भक्तवत्सल भगवान् आफ्ना दुवै भक्तलाई कृतार्थ पारेर र सन्मार्गको उपदेश दिएर पुनः द्वारका फर्कनुभयो" ।। ५९ ।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे उत्तरार्धे श्रुतदेवानुग्रहो नाम षडशीतितमोऽध्यायः ।। ८६ ।।
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

यस अध्यायमा दुई मुख्य प्रसङ्गहरू समेटिएका छन् । पहिलो प्रसङ्गमा अर्जुनले सुभद्रासँग गरेको विवाहको वर्णन छ । तीर्थयात्राको क्रममा प्रभास क्षेत्र पुगेका अर्जुनले बलरामले सुभद्राको विवाह दुर्योधनसँग गराउन खोजेको कुरा थाहा पाउँछन् । सुभद्रालाई पाउने इच्छाले अर्जुनले त्रिदण्डी सन्न्यासीको रूप धारण गरी द्वारका प्रवेश गर्छन् । उनको वास्तविक परिचय थाहा नपाएका बलरामले उनलाई चातुर्मासभरि सेवा गर्छन् र आफ्नै घरमा भोजनका लागि निमन्त्रणा दिन्छन् । त्यहीँ अर्जुन र सुभद्राको भेट हुन्छ र दुवै एकअर्काप्रति आकर्षित हुन्छन् । पछिएक उत्सवको अवसरमा अर्जुनले सुभद्रालाई रथमा राखेर हरण गर्छन् । यसबाट क्रोधित भएका बलरामलाई श्रीकृष्ण र अन्य आफन्तले सम्झाएपछि विवाद शान्त हुन्छ र धूमधामका साथ दाइजोसहित सुभद्रालाई बिदाइ गरिन्छ ।

दोस्रो प्रसङ्गमा भगवान् श्रीकृष्णले आफ्ना दुई अनन्य भक्तहरू राजा बहुलाश्व र ब्राह्मण श्रुतदेवमाथि गरेको कृपाको वर्णन छ । मिथिलाका यी दुवै भक्तहरू अत्यन्त निष्काम र श्रद्धावान् थिए । भगवान् उनीहरूको प्रेमबाट तानिएर ऋषिमुनिहरूका साथ मिथिला प्रस्थान गर्नुहुन्छ । भगवान्को स्वागतमा सारा मिथिलावासीहरू उमङ्गका साथ सहभागी हुन्छन् । राजा र ब्राह्मण दुवैले एकै समयमा भगवान्को आतिथ्य सत्कार गर्न चाहेपछि भगवान्ले दुई रूप धारण गरी दुवैको घरमा एकैसाथ प्रवेश गर्नुहुन्छ । राजा बहुलाश्वले ऐश्वर्यपूर्ण ढङ्गले र ब्राह्मण श्रुतदेवले आफ्नो गरिबीमा पनि अत्यन्त श्रद्धाका साथ भगवान्को पूजा गर्छन् । भगवान्ले ती दुवै भक्तलाई सन्तुष्ट पारी ब्राह्मणको महत्त्व र सन्त सेवाको महिमा बताउनुहुन्छ । अन्त्यमादुवै भक्तलाई परम पदको आशीर्वाद दिएर भगवान् द्वारका फर्कनुहुन्छ ।

दार्शनिक पक्ष

यस अध्यायले भगवान्को भक्तवत्सलता र अनन्य भक्तिको पराकाष्ठालाई प्रस्तुत गरेको छ । भगवान् निराकार र सर्वव्यापी भए तापनि भक्तको प्रेमको बन्धनमा बाँधिएर सगुण रूपमा प्रकट हुनुहुन्छ भन्ने कुरा यहाँ पुष्टि हुन्छ । राजाको ऐश्वर्य र ब्राह्मणको दरिद्रता दुवैमा भगवान्को समभाव रहनुले भक्तिमा भौतिक सम्पत्तिको भन्दा भावको प्रधानता हुन्छ भन्ने सन्देश दिन्छ । "एकै समयमा दुई ठाउँमा प्रकट हुनु" ले भगवान्को अचिन्त्य शक्ति र विभुतालाई दर्शाउँछ । साथैयस अध्यायले ब्राह्मण र सन्तहरूको महिमा गाउँदै उनीहरूलाई भगवान्को जीवन्त स्वरूपका रूपमा सम्मान गर्नुपर्ने कुरामा जोड दिएको छ । सन्तहरूको सेवा नै भगवान्को वास्तविक सेवा हो भन्ने यसको मूल दार्शनिक निष्कर्ष हो ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...