श्रीमद्भागवत महापुराण
दशमः स्कंधः –नवमोऽध्यायः
(अनुष्टुप्)
शुक उवाच–
एकदा गृहदासीषु यशोदा नन्दगेहिनी ।
कर्मान्तरनियुक्तासु निर्ममन्थ स्वयं दधि ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! एक दिनको कुरा हो, घरमा दासीहरु नभएका बखतमा यशोदाजीले आफैं दही मथ्न थालिन् ।।१।।
यानि यानीह गीतानि तद्बा्लचरितानि च ।
दधिनिर्मन्थने काले स्मरन्ती तान्यगायत ॥२॥
दहि मथ्ने क्रममा उनले श्रीकृष्णका सबै बाललीलाहरु सम्झदैं गाउन थालिन् ।।२।।
(मंदाक्रांता)
क्षौमं वासः पृथुकटितटे बिभ्रती सूत्रनद्धं ।
पुत्रस्नेहस्नुतकुचयुगं जातकम्पं च सुभ्रूः ।
रज्ज्वाकर्षश्रमभुजचलत् कङ्कणौ कुण्डले च
स्विन्नं वक्त्रं कबरविगलन्मालती निर्ममन्थ ॥३॥
उनले आफ्नो पुष्ट कम्मरमा मेखला भएको रेशमी साडी लगाएकी थिइन् । छोराको मायाका कारण उनको स्तनबाट दूध रसाइरहेको थियो । नेति तान्दा पाखुरा अलि थाकेका थिए भने हातमा बाला र कानमा झुम्का हल्लिरहेका थिए । अनुहार पसिनाले भिजेको थियो । कपालको चुल्ठो फुस्कनाले खस्नलागेको मालती जस्तो फूल लगाएकी सुन्दर आँखा भएकी यशोदाले दही मथिन् ।।३।।
(अनुष्टुप्)
तां स्तन्यकाम आसाद्य मथ्नन्तीं जननीं हरिः ।
गृहीत्वा दधिमन्थानं न्यषेधत् प्रीतिमावहन् ॥४॥
यसरी दही मथीरहेको समयमा भगवान कृष्ण दुध चुस्ने इच्छाले आफ्नो आमा भएको ठाँउमा पुग्नुभयो र मदानी समातेर मन्थन गर्न रोकिदिनुभयो ।।४।।
(मिश्र)
तमङ्कमारूढमपाययत् स्तनं
स्नेहस्नुतं सस्मितमीक्षती मुखम् ।
अतृप्तमुत्सृज्य जवेन सा यया–
वुत्सिच्यमाने पयसि त्वधिश्रिते ॥५॥
श्रीकृष्ण माता यशोदाजीको काखमा बस्नुभयो । छोराप्रतिको मायाले गर्दा वहाँको स्तनबाट दूध बगिरहेको थियो । वहाँले श्रीकृष्णलाई दूध चुसाउनु भयो त्यसै समयमा चुलोमा तताउन राखिएको दूध उम्लिएकोले कृष्णलाई दूध चुसाउन छाडेर यशोदा दूध उम्लिए तिर जानुभयो ।।५।।
सञ्जातकोपः स्फुरितारुणाधरं
सन्दश्य दद्भिर्दधिमन्थभाजनम् ।
भित्त्वा मृषाश्रुर्दृषदश्मना रहो
जघास हैयङ्गवमन्तरं गतः ॥६॥
जसले गर्दा श्रीकृष्ण देखावटि आँसु झारेर अलि रिसाउनु भयो । ओठलाई दाँतले टोकेर दहिको ठेकीलाई पनि ढुंगाले हानेर फुटाइदिनु भयो । त्यसपछि वहाँ एक्लै बसेर नौनी खान थाल्नुभयो । यशोदा पनि उम्लिएको दूध निकालेर दही मथ्न फर्कनुभयो वहाँले त्यहाँ दहीको भाँडो फुटेको देख्नुभयो ।।६।।
उत्तार्य गोपी सुशृतं पयः पुनः
प्रविश्य संदृश्य च दध्यमत्रकम् ।
भग्नं विलोक्य स्वसुतस्य कर्म तत्–
जहास तं चापि न तत्र पश्यती ॥७॥
यशोदाजी उम्लिएको दूध निकालेर दहि मथेको ठाउँमा फर्कदा दहि मथ्ने ठेकी फुटेको देखिन् र छोरालाई पनि नदेख्दा हास्न लाग्नुभयो ।।७।।
उलूखलाङ्घ्रेरुपरि व्यवस्थितं
मर्काय कामं ददतं शिचि स्थितम् ।
हैयङ्गवं चौर्यविशङ्कितेक्षणं
निरीक्ष्य पश्चात् सुतमागमच्छनैः ॥८॥
यशोदाले श्रीकृष्ण ओखलमा बसेर नौनीको भाँडोबाट नौनी निकल्दै बाँदरलाई नौनी बाँडिरहेको देख्नुभयो त्यसपछि वहाँ पछाडि बाट छोरा भएतिर नजिकमा आउँनुभयो ।।८।।
तामात्तयष्टिं प्रसमीक्ष्य सत्वर(
स्ततोऽवरुह्यापससार भीतवत् ।
गोप्यन्वधावन्न यमाप योगिनां
क्षमं प्रवेष्टुं तपसेरितं मनः ॥९॥
हातमा लठ्ठी लिएर झम्टिदै आमा आफुतिर आउन लागेको देखेर श्रीकृष्ण डराउदै ओखलबाट हामफालेर भाग्न थाल्नुभयो । ठुला ठुला योगीहरु आफ्नो तपस्याको बल र प्रभावले जुन परमात्मालाई प्राप्त गर्न सक्तैनन्, उनैलाई भेट्टाउन यशोदा पछि पछि दौडिनथाल्नुभयो ।।९।।
अन्वञ्चमाना जननी बृहच्चल–
च्छ्रोणीभराक्रान्तगतिः सुमध्यमा ।
जवेन विस्रंसितकेशबन्धन–
च्युतप्रसूनानुगतिः परामृशत् ॥१०॥
यशोदा यसरी श्रीकृष्णको पछि दौडादा वहाँको ठुलो नितम्ब हल्लिरहेका कारण केही समयमै हिँडाइको बेग कम भयो । कपालको चुल्ठोबाट फूल खस्दा समेत दौडेर कृष्णलाई समातेरै छाड्नुभयो ।।१०।।
कृतागसं तं प्ररुदन्तमक्षिणी
कर्षन्तमञ्जन्मषिणी स्वपाणिना ।
उद्वीक्षमाणं भयविह्वलेक्षणं
हस्ते गृहीत्वा भिषयन्त्यवागुरत् ॥११॥
आफ्नो गल्ति भएका कारण श्रीकृष्ण पनि आँसु खसाल्दै रुन थाल्नुभयो । आँसुले गर्दा आँखामा गाजल लतपतिएको थियो । यसरी डराइरहेका श्रीकृष्णको हात समातेर लठ्ठी उज्याउँदै अझ डर देखाउन थालिन् ।।११।।
(अनुष्टुप्)
त्यक्त्वा यष्टिं सुतं भीतं विज्ञायार्भकवत्सला ।
इयेष किल तं बद्धुं दाम्नातद्वीर्यकोविदा ॥१२॥
त्यतिबेला श्रीकृष्णको अनुहार हेर्न लाएक थियो । छोराको मायाका कारण यशोदाजीले हातको लठ्ठी फ्याकेर दाम्लोले बाँध्न लागिन् ।।१२।।
न चान्तर्न बहिर्यस्य न पूर्वं नापि चापरम् ।
पूर्वापरं बहिश्चान्तः जगतो यो जगच्च यः ॥१३॥
तं मत्वात्मजमव्यक्तं मर्त्यलिङ्गमधोक्षजम् ।
गोपिकोलूखले दाम्ना बबन्ध प्राकृतं यथा ॥१४॥
श्रीकृष्ण परमात्मा न बाहिर हुनुहुन्छ, न भित्र हुनुहुन्छ, न आदि न अन्त नै हुनुहुन्छ । वहाँ जगतका स्वरुप र इन्द्रिय भन्दा पर अव्यक्त हुनुहुन्छ । यस्ता भगवान्लाई मेरो छोरो भन्ने सम्झेर सामान्य बालक जस्तै ठानेर यशोदाले दाम्लोले ओखलमा बाध्न थालिन् ।।१३–१४।।
तद्दाम बध्यमानस्य स्वार्भकस्य कृतागसः ।
द्व्यङ्गुलोनमभूत्तेन सन्दधेऽन्यच्च गोपिका ॥१५॥
आफुले गल्ति गरेका कारण श्रीकृष्ण ओखलमा बाधिन लाग्नुभयो । यशोदा माताले दाम्लो लिएर बाँध्न थाल्नु भयो तर डोरी दुइ अंगुल कम भयो । त्यसपछि उनले अर्को डोरी गाँसिन् ।।१५।।
यदाऽऽसीत् तदपि न्यूनं तेनान्यदपि सन्दधे ।
तदपि द्व्यङ्गुलं न्यूनं यद् यदादत्त बन्धनम् ॥१६॥
यसरी उनले धेरै डोरी थप्दै गइन् तरपनि दुइ अंगुल नपुग नै भयो ।।१६।।
एवं स्वगेहदामानि यशोदा सन्दधत्यपि ।
गोपीनां सुस्मयन्तीनां स्मयन्ती विस्मिताभवत् ॥१७॥
यशोदाले घरका सबै दाम्लो डोरीले ल्याएर बाँधिन तैपनि श्रीकृष्णलाई बाँध्न सकिनन् । यसरी बाँध्न लागेको देखेरै सबै गोपीहरु आश्चयमा परेर हेरिरहेका थिए । यशोदा पनि आफ्नो सबै प्रयास असफल देखेर आश्चर्यमा परि हाँस्न थालिन् ।।१७।।
स्वमातुः स्विन्नगात्राया विस्रस्तकबरस्रजः ।
दृष्ट्वा परिश्रमं कृष्णः कृपयाऽऽसीत् स्वबन्धने ॥१८॥
भगवान श्री कृष्णले आफ्नी आमाको शरीर पसिनाले भिजेको चुल्ठोमा घुसारेको फूल पनि खसेको देखेर आमाको परिश्रमलाई दया गरी आफैं बाँधिनुभयो ।।१८।।
एवं सन्दर्शिता ह्यङ्ग हरिणा भृत्यवश्यता ।
स्ववशेनापि कृष्णेन यस्येदं सेश्वरं वशे ॥१९॥
हे राजन् परीक्षित ! भगवान श्रीकृष्ण परम स्वतन्त्र हुनुहुन्छ । सबै लोकपालहरु वहाँकै अधिनमा छ तैपनि आफैं बाँधिएर म भक्तको अधिनमा छु भनेर लोकलाई देखाउनु भयो ।।१९।।
नेमं विरिञ्चो न भवो न श्रीरप्यङ्गसंश्रया ।
प्रसादं लेभिरे गोपी यत् तत्प्राप विमुक्तिदात् ॥२०॥
यशोदाजीले मुक्तिदाता भगवान् श्रीकृष्णबाट जुन प्रसाद प्राप्त गरिन त्यो ब्रह्माजी, शंकरजी तथा स्वयं वक्षस्थलमा बस्ने लक्ष्मीले पाउनु भएन ।।२०।।
नायं सुखापो भगवान् देहिनां गोपिकासुतः ।
ज्ञानिनां चात्मभूतानां यथा भक्तिमतामिह ॥२१॥
यी यशोदाका छोरा भक्तहरुका लागि जसरी पाउँन सजिलो हुन्छ त्यति सजिलो अरु देहाभिमानि कर्ममा आशक्त भएकाका लागि र तपस्वी एवं ज्ञानीहरुका लागि समेत पाउन सजिलो छैन ।।२१।।
कृष्णस्तु गृहकृत्येषु व्यग्रायां मातरि प्रभुः ।
अद्राक्षीदर्जुनौ पूर्वं गुह्यकौ धनदात्मजौ ॥२२॥
पुरा नारदशापेन वृक्षतां प्रापितौ मदात् ।
नलकूबरमणिग्रीवौ इति ख्यातौ श्रियान्वितौ ॥२३॥
यसपछि यशोदाजी घरको काममा अल्मलिइन् तव ओखलमा बाँधिएका भगवान् श्रीकृष्णले यक्षराज कुबेरका नलकुवर र मणिग्रीव नामका छोरालाई मुक्त गर्ने विचार गर्नुभयो । उनीसँग धन, सौन्दर्य र ऐश्वर्यले युक्त भएर पनि घमण्डका कारण नारदजीबाट श्राप पाएर रुख बनेका थिए ।।२२–२३।।
इति श्रीमद्भावगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे नवमोऽध्यायः ॥९॥