श्रीमद्भागवत महापुराण
दशमस्कन्धः – अष्टषष्टितमोऽध्यायः
(अनुष्टुप्)
दुर्योधनसुतां राजन् लक्ष्मणां समितिंजयः ।
स्वयंवरस्थामहरत् सांबो जाम्बवतीसुतः ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे राजन् ! जाम्बवतीका पुत्र तथा युद्धविजयी वीर साम्बले दुर्योधनकी छोरी लक्ष्मणालाई स्वयंवर स्थलबाटै अपहरण गरी लिएर गए ।।१।।
कौरवाः कुपिता ऊचुः दुर्विनीतोऽयमर्भकः ।
कदर्थीकृत्य नः कन्यामकामामहरद् बलात् ॥ २ ॥
नेपाली भावानुवादः साम्बको यस्तो साहस देखेर कौरवहरूले क्रोधित हुँदै भने– यो उद्दण्ड बालकले हामीलाई अपमानित गर्दै हाम्रो इच्छाविपरीत कन्यालाई जबरजस्ती लिएर गयो ।।२।।
बध्नीतेमं दुर्विनीतं किं करिष्यन्ति वृष्णयः ।
येऽस्मत्प्रसादोपचितां दत्तां नो भुञ्जते महीम् ॥ ३ ॥
नेपाली भावानुवादः यस अशिष्ट बालकलाई समातेर बाँध, यदुवंशीहरूले हाम्रो के नै बिगार्न सक्छन् र? हाम्रै कृपाले प्राप्त भएको र हामीले नै दिएको यस पृथ्वीको भोग त उनीहरूले गरिरहेका छन् ।।३।।
निगृहीतं सुतं श्रुत्वा यद्येष्यन्तीह वृष्णयः ।
भग्नदर्पाः शमं यान्ति प्राणा इव सुसंयताः ॥ ४ ॥
नेपाली भावानुवादः यदि आफ्नो पुत्र समातिएको खबर सुनेर यदुवंशीहरू यहाँ आए भने हामी उनीहरूको घमण्ड त्यसरी नै शान्त पारिदिनेछौँ, जसरी प्राणायामद्वारा इन्द्रियहरू संयमित र शान्त हुन्छन् ।।४।।
इति कर्णः शलो भूरिः यज्ञकेतुः सुयोधनः ।
साम्बमारेभिरे बद्धुं कुरुवृद्धानुमोदिताः ॥ ५ ॥
नेपाली भावानुवादः यस्तो निश्चय गरी कुरुवृद्धहरूको अनुमति लिएर कर्ण, शल, भूरिश्रवा, यज्ञकेतु र दुर्योधनले साम्बलाई बन्दी बनाउने तयारी गरे ।।५।।
दृष्ट्वाऽनुधावतः साम्बो धार्तराष्ट्रान् महारथः ।
प्रगृह्य रुचिरं चापं तस्थौ सिंह इवैकलः ॥ ६ ॥
नेपाली भावानुवादः धृतराष्ट्रका छोराहरू (कौरवहरू) आफूलाई पक्रन पछि लागेको देखेर महारथी साम्बले हातमा सुन्दर धनुष लिए र उनीहरूको सामना गर्न सिंह झैँ एक्लै उभिए ।।६।।
तं ते जिघृक्षवः क्रुद्धास्तिष्ठ तिष्ठेति भाषिणः ।
आसाद्य धन्विनो बाणैः कर्णाग्रण्यः समाकिरन् ॥ ७ ॥
नेपाली भावानुवादः साम्बलाई समात्न चाहने ती क्रुद्ध कौरवहरूले "पर्ख! पर्ख!" भन्दै उनीमाथि बाणको वर्षा गर्न थाले, जसमा कर्ण सबैभन्दा अगाडि थिए ।।७।।
सोऽपविद्धः कुरुश्रेष्ठ कुरुभिर्यदुनन्दनः ।
नामृष्यत् तदचिन्त्यार्भः सिंह क्षुद्रमृगैरिव ॥ ८ ॥
नेपाली भावानुवादः हे कुरुश्रेष्ठ परीक्षित् ! साना पशुहरूले तिरस्कार गर्दा सिंहले सहँदैन, त्यसरी नै कौरवहरूले गरेको प्रहारलाई यदुनन्दन साम्बले सहन सकेनन्, किनभने उनको सामर्थ्य अचिन्त्य थियो ।।८।।
विस्फूर्ज्य रुचिरं चापं सर्वान् विव्याध सायकैः ।
कर्णादीन् षड्रथान् वीरांस्तावद्भिर्युगपत् पृथक् ॥ ९ ॥
नेपाली भावानुवादः वीर साम्बले आफ्नो सुन्दर धनुषको टङ्कार गर्दै कर्णसहित छ जना महारथीहरूलाई छुट्टाछुट्टै बाण प्रहार गरी घाइते बनाइदिए ।।९।।
चतुर्भिश्चतुरो वाहानेकैकेन च सारथीन् ।
रथिनश्च महेष्वासांस्तस्य तत्तेऽभ्यपूजयन् ॥ १० ॥
नेपाली भावानुवादः उनले चारवटा बाणले चारै घोडालाई, एक-एक बाणले सारथीहरूलाई र एक-एक बाणले ती महारथीहरूलाई प्रहार गरे । उनको यो अद्भुत रणकौशल देखेर कौरवहरूले समेत उनको मनमनै प्रशंसा गरे ।।१०।।
तं तु ते विरथं चक्रुश्चत्वारश्चतुरो हयान् ।
एकस्तु सारथिं जघ्ने चिच्छेदान्यः शरासनम् ॥ ११ ॥
नेपाली भावानुवादः त्यसपछि ती सबैले मिलेर साम्बलाई रथविहीन बनाए । चार जनाले उनका चार घोडा मारे, एकले सारथीलाई र अर्कोले साम्बको धनुष काटिदिए ।।११।।
तं बद्ध्वा विरथीकृत्य कृच्छ्रेण कुरवो युधि ।
कुमारं स्वस्य कन्यां च स्वपुरं जयिनोऽविशन् ॥ १२ ॥
नेपाली भावानुवादः यसरी कौरवहरूले युद्धमा कठिनताका साथ साम्बलाई रथविहीन पारेर बाँधे र विजयको उल्लास मनाउँदै कन्या लक्ष्मणासहित हस्तिनापुर प्रवेश गरे ।।१२।।
तच्छ्रुत्वा नारदोक्तेन राजन् सञ्जातमन्यवः ।
कुरून् प्रत्युद्यमं चक्रुरुग्रसेनप्रचोदिताः ॥ १३ ॥
नेपाली भावानुवादः हे महाराज ! देवर्षि नारदबाट यो समाचार सुनेपछि यदुवंशीहरू अत्यन्त क्रुद्ध भए र राजा उग्रसेनको आज्ञा लिएर कौरवहरूमाथि आक्रमण गर्ने तयारी गर्न थाले ।।१३।।
सान्त्वयित्वा तु तान् रामः सन्नद्धान् वृष्णिपुङ्गवान् ।
नैच्छत् कुरूणां वृष्णीनां कलिं कलिमलापहः ॥ १४ ॥
जगाम हास्तिनपुरं रथेनादित्यवर्चसा ।
ब्राह्मणैः कुलवृद्धैश्च वृतश्चन्द्र इव ग्रहैः ॥ १५ ॥
नेपाली भावानुवादः कलियुगको पाप नाश गर्ने भगवान् बलरामले कुरु र यदुवंशीहरूबीच युद्ध भएको निको मान्नुभएन । उहाँले युद्धका लागि तयार भएका यादवहरूलाई शान्त पार्नुभयो र ब्राह्मण एवं कुलवृद्धहरूका साथ सूर्य झैँ तेजस्वी रथमा चढेर हस्तिनापुरतर्फ लाग्नुभयो ।।१४-१५।।
गत्वा गजाह्वयं रामो बाह्योपवनमास्थितः ।
उद्धवं प्रेषयामास धृतराष्ट्रं बुभुत्सया ॥ १६ ॥
नेपाली भावानुवादः हस्तिनापुर (गजाह्वय) पुगेपछि बलरामजी सहर बाहिरको बगैँचामा बस्नुभयो र कौरवहरूको मनसाय बुझ्नका लागि उद्धवलाई धृतराष्ट्रकहाँ पठाउनुभयो ।।१६।।
सोऽभिवन्द्याम्बिकापुत्रं भीष्मं द्रोणं च बाह्लिकम् ।
दुर्योधनं च विधिवद् राममागतमब्रवीत् ॥ १७ ॥
नेपाली भावानुवादः उद्धवले सभामा पुगेर धृतराष्ट्र, भीष्म, द्रोण, बाह्लिक र दुर्योधनलाई विधिवत् अभिवादन गरी बलरामजी पाल्नुभएको समाचार सुनाउनुभयो ।।१७।।
तेऽतिप्रीतास्तमाकर्ण्य प्राप्तं रामं सुहृत्तमम् ।
तमर्चयित्वाभिययुः सर्वे मङ्गलपाणयः ॥ १८ ॥
नेपाली भावानुवादः आफ्ना परम हितैषी बलरामजीको आगमन सुनेर कौरवहरू प्रसन्न भए र हातमा मङ्गलकारी सामग्रीहरू लिएर उहाँलाई स्वागत गर्न आए ।।१८।।
तं सङ्गम्य यथान्यायं गामर्घ्यं च न्यवेदयन् ।
तेषां ये तत्प्रभावज्ञाः प्रणेमुः शिरसा बलम् ॥ १९ ॥
नेपाली भावानुवादः उनीहरूले बलरामजीलाई भेटेर शास्त्रोक्त विधिले गाई र अर्घ्य अर्पण गरी पूजा गरे । बलरामजीको वास्तविक प्रभाव जान्नेहरूले उहाँको चरणमा शिर झुकाएर प्रणाम गरे ।।१९।।
बन्धून् कुशलिनः श्रुत्वा पृष्ट्वा शिवमनामयम् ।
परस्परमथो रामो बभाषेऽविक्लवं वचः ॥ २० ॥
नेपाली भावानुवादः एक-अर्काको कुशल मङ्गल सोधपुछ गरिसकेपछि बलरामजीले धैर्यका साथ गम्भीर वाणीमा भन्नुभयो ।।२०।।
उग्रसेनः क्षितीशेशो यद् व आज्ञापयत् प्रभुः ।
तदव्यग्रधियः श्रुत्वा कुरुध्वं माविलम्बितम् ॥ २१ ॥
नेपाली भावानुवादः राजाहरूका पनि राजा प्रभु उग्रसेनले तिमीहरूलाई जुन आज्ञा दिनुभएको छ, त्यसलाई एकाग्र चित्त भएर सुन र ढिला नगरी पालना गर ।।२१।।
यद् यूयं बहवस्त्वेकं जित्वाधर्मेण धार्मिकम् ।
अबध्नीताथ तन्मृष्ये बन्धूनामैक्यकाम्यया ॥ २२ ॥
नेपाली भावानुवादः उहाँको आज्ञा छ– "तिमीहरू धेरै मिलेर एक्लो धार्मिक साम्बलाई अधर्मपूर्वक जितेर जुन बन्दी बनायौ, कुलको एकताका लागि मैले त्यो सहन गरेँ, अब उसलाई मुक्त गर" ।।२२।।
वीर्यशौर्यबलोन्नद्धमात्मशक्तिसमं वचः ।
कुरवो बलदेवस्य निशम्योचुः प्रकोपिताः ॥ २३ ॥
नेपाली भावानुवादः वीरता र शक्तिले उन्मत्त भएका कौरवहरूले बलरामजीको यस्तो प्रभावशाली वचन सुनेर क्रोधित हुँदै भने ।।२३।।
अहो महच्चित्रमिदं कालगत्या दुरत्यया ।
आरुरुक्षत्युपानद् वै शिरो मुकुटसेवितम् ॥ २४ ॥
नेपाली भावानुवादः अहो! यो त अनौठो कुरा भयो, कालको गति बुझ्न कठिन छ । आज खुट्टाको जुत्ता मुकुटले सुशोभित हुने शिरमा चढ्न खोज्दै छ ।।२४।।
एते यौनेन संबद्धाः सहशय्यासनाशनाः ।
वृष्णयस्तुल्यतां नीता अस्मद्दत्तनृपासनाः ॥ २५ ॥
नेपाली भावानुवादः हामीसँग वैवाहिक सम्बन्ध गाँसिएका कारण यी यादवहरू हामीसँगै बस्ने, सुत्ने र खाने भए । हाम्रै कृपाले यिनीहरूले राजसिंहासन पाएर हामी समान बन्न पुगे ।।२५।।
चामरव्यजने शङ्खमातपत्रं च पाण्डुरम् ।
किरीटमासनं शय्यां भुञ्जन्त्यस्मदुपेक्षया ॥ २६ ॥
नेपाली भावानुवादः चामर, पङ्खा, शङ्ख, श्वेत छत्र, मुकुट र राजसी ओछ्यान– यी सबै यिनीहरूले हाम्रै उपेक्षा (छुट) का कारण उपभोग गरिरहेका छन् ।।२६।।
(इंद्रवंशा)
अलं यदूनां नरदेवलाञ्छनै-
र्दातुः प्रतीपैः फणिनामिवामृतम् ।
येऽस्मत्प्रसादोपचिता हि यादवा
आज्ञापयन्त्यद्य गतत्रपा बत ॥ २७ ॥
नेपाली भावानुवादः सर्पलाई दूध पिलाए झैँ यिनीहरूलाई राजचिन्ह दिनु नै बेकार भयो, किनभने यिनीहरू दाताकै विरुद्धमा खनिएका छन् । हाम्रै अनुग्रहले सम्पन्न भएका यादवहरू आज निर्लज्ज भएर हामीलाई नै आज्ञा दिँदै छन् ।।२७।।
(अनुष्टुप्)
कथमिन्द्रोऽपि कुरुभिर्भीष्मद्रोणार्जुनादिभिः ।
अदत्तमवरुन्धीत सिंहग्रस्तमिवोरणः ॥ २८ ॥
नेपाली भावानुवादः जसरी सिंहको मुखमा परेको शिकार भेडाले खोस्न सक्दैन, त्यसरी नै भीष्म, द्रोण र अर्जुन जस्ता वीरहरूले नदिएको वस्तु इन्द्रले त लिन सक्दैनन् भने अरूको के कुरा? ।।२८।।
शुक उवाच–
जन्मबन्धुश्रीयोन्नद्धमदास्ते भरतर्षभ ।
आश्राव्य रामं दुर्वाच्यमसभ्याः पुरमाविशन् ॥ २९ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे भरतवंशी परीक्षित् ! जन्म, बन्धु र ऐश्वर्यको घमण्डमा मात्तिएका ती असभ्य कौरवहरू बलरामजीलाई कटु वचन सुनाएर सहरभित्र पसे ।।२९।।
दृष्ट्वा स कुरूनां दौःशील्यं श्रुत्वावाच्यानि चाच्युतः ।
अवोचत् कोपसंरब्धो दुष्प्रेक्ष्यः प्रहसन् मुहुः ॥ ३० ॥
नेपाली भावानुवादः कौरवहरूको यस्तो दुष्टता र अवाच्य शब्द सुनेर भगवान् बलराम अत्यन्त क्रोधित हुनुभयो । उहाँको स्वरूप भयानक देखियो र उहाँले अट्टहास गर्दै भन्नुभयो ।।३०।।
नूँन नानामदोन्नद्धाः शान्तिं नेच्छन्त्यसाधवः ।
तेषां हि प्रशमो दण्डः पशूनां लगुडो यथा ॥ ३१ ॥
नेपाली भावानुवादः वास्तवमा विभिन्न घमण्डले उन्मत्त भएका दुष्टहरू शान्ति चाहँदैनन् । पशुलाई तह लगाउन लौरो चाहिए झैँ यिनीहरूलाई पनि दण्ड नै आवश्यक छ ।।३१।।
अहो यदून् सुसंरब्धान् कृष्णं च कुपितं शनैः ।
सान्त्वयित्वाहमेतेषां शममिच्छन्निहागतः ॥ ३२ ॥
नेपाली भावानुवादः हेर त! म त युद्धका लागि आतुर यादवहरू र क्रुद्ध श्रीकृष्णलाई समेत शान्त पारेर यिनीहरूको भलोका लागि यहाँ आएको थिएँ ।।३२।।
त इमे मन्दमतयः कलहाभिरताः खलाः ।
तं मामवज्ञाय मुहुर्दुर्भाषान् मानिनोऽब्रुवन् ॥ ३३ ॥
नेपाली भावानुवादः तर यी मन्दबुद्धि र झगडालु दुष्टहरूले मलाई नै अपमानित गरेर बारम्बार कटु वचन बोले ।।३३।।
नोग्रसेनः किल विभुर्भोजवृष्ण्यन्धकेश्वरः ।
शक्रादयो लोकपाला यस्यादेशानुवर्तिनः ॥ ३४ ॥
नेपाली भावानुवादः इन्द्रादि लोकपालहरू जसको आज्ञा पालन गर्छन्, ती उग्रसेन के राजा हुन योग्य छैनन्? जो भोज, वृष्णि र अन्धक वंशका स्वामी हुन् ।।३४।।
सुधर्माऽऽक्रम्यते येन पारिजातोऽमराङ्घ्रिपः ।
आनीय भुज्यते सोऽसौ न किलाध्यासनार्हणः ॥ ३५ ॥
नेपाली भावानुवादः जसले इन्द्रको सुधर्मा सभामा अधिकार गर्नुभयो र देववृक्ष पारिजात ल्याएर भोग गर्नुभयो, ती श्रीकृष्ण के राजसिंहासनका अधिकारी हुनुहुन्न? ।।३५।।
यस्य पादयुगं साक्षात् श्रीरुपास्तेऽखिलेश्वरी ।
स नार्हति किल श्रीशो नरदेवपरिच्छदान् ॥ ३६ ॥
नेपाली भावानुवादः जसको चरणकमलको सेवा साक्षात् लक्ष्मीजीले गर्नुहुन्छ, ती लक्ष्मीपति श्रीकृष्ण के यी तुच्छ राजचिन्हका योग्य हुनुहुन्न? ।।३६।।
(वसंततिलका)
यस्याङ्घ्रिपङ्कजरजोऽखिललोकपालै-
र्मौल्युत्तमैर्धृतमुपासिततीर्थतीर्थम् ।
ब्रह्मा भवोऽहमपि यस्य कलाः कलायाः
श्रीश्चोद्वहेम चिरमस्य नृपासनं क्व ॥ ३७ ॥
नेपाली भावानुवादः जसको चरणधुलि तीर्थहरूलाई पनि पवित्र बनाउने खालको छ र लोकपालहरूले आफ्नो मुकुटमा धारण गर्छन्, जसको अंशका पनि अंश हामी ब्रह्मा, शङ्कर र म तथा लक्ष्मीजी समेत चरणधुलि शिरमा बोक्छौँ, उहाँका लागि यो राजसिंहासन के नै हो र? ।।३७।।
(अनुष्टुप्)
भुञ्जते कुरुभिर्दत्तं भूखण्डं वृष्णयः किल ।
उपानहः किल वयं स्वयं तु कुरवः शिरः ॥ ३८ ॥
नेपाली भावानुवादः यादवहरू कौरवले दिएको जमिन भोग्छन् रे! हामी जुत्ता हौँ र कुरुहरू शिर हुन् रे! ।।३८।।
अहो ऐश्वर्यमत्तानां मत्तानामिव मानिनाम् ।
असंबद्धा गिरो रुक्षाः कः सहेतानुशासीता ॥ ३९ ॥
नेपाली भावानुवादः ऐश्वर्यले मत्त भएका यी अभिमानीहरूको यस्तो असम्बन्धित र रूखो बोली कुन शासकले सहन सक्ला र? ।।३९।।
अद्य निष्कौरवं पृथ्वीं करिष्यामीत्यमर्षितः ।
गृहीत्वा हलमुत्तस्थौ दहन्निव जगत्त्रयम् ॥ ४० ॥
नेपाली भावानुवादः "आज म यो पृथ्वीलाई कौरवविहीन बनाउनेछु" भन्दै अत्यन्त क्रुद्ध हुनुभएका बलरामजी तीनै लोकलाई भष्म पार्ने तेजका साथ हलो लिएर उठ्नुभयो ।।४०।।
लाङ्गलाग्रेण नगरं उद्विदार्य गजाह्वयम् ।
विचकर्ष स गङ्गायां प्रहरिष्यन्नमर्षितः ॥ ४१ ॥
नेपाली भावानुवादः उहाँले हलोको टुप्पाले हस्तिनापुर सहरलाई जगैदेखि उखेलेर गङ्गा नदीमा बगाइदिनका लागि तान्न थाल्नुभयो ।।४१।।
जलयानमिवाघूर्णं गङ्गायां नगरं पतत् ।
आकृष्यमाणमालोक्य कौरवाः जातसंभ्रमाः ॥ ४२ ॥
नेपाली भावानुवादः पानीमा डुङ्गा हल्लिए झैँ हस्तिनापुर सहर हल्लिँदै गङ्गामा खस्न लागेको देखेर कौरवहरू निकै अत्तालिए ।।४२।।
तमेव शरणं जग्मुः सकुटुम्बा जिजीविषवः ।
सलक्ष्मणं पुरस्कृत्य साम्बं प्राञ्जलयः प्रभुम् ॥ ४३ ॥
नेपाली भावानुवादः त्यसपछि जीवन रक्षाका लागि कौरवहरू सपरिवार लक्ष्मणा र साम्बलाई अगाडि सारेर हात जोड्दै भगवान् बलरामको शरणमा आए ।।४३।।
राम रामाखिलाधार प्रभावं न विदाम ते ।
मूढानां नः कुबुद्धीनां क्षन्तुमर्हस्यतिक्रमम् ॥ ४४ ॥
नेपाली भावानुवादः उनीहरूले भने– हे राम! हे सम्पूर्ण ब्रह्माण्डका आधार! हामीले हजुरको प्रभाव बुझ्न सकेनौँ । हामी मूढ र कुबुद्धि भएकाहरूको अपराध क्षमा गर्नुहोस् ।।४४।।
स्थित्युत्पत्त्यप्ययानां त्वमेको हेतुर्निराश्रयः ।
लोकान् क्रीडनकानीश क्रीडतस्ते वदन्ति हि ॥ ४५ ॥
नेपाली भावानुवादः हजुर नै यस जगतको सृष्टि, स्थिति र विनाशका एकमात्र कारण हुनुहुन्छ । यो सम्पूर्ण विश्व हजुरको खेलौना हो भनी विद्वानहरू भन्दछन् ।।४५।।
(मिश्र)
त्वमेव मूर्ध्नीदमनन्त लीलया
भूमण्डलं बिभर्षि सहस्रमूर्धन् ।
अन्ते च यः स्वात्मनि रुद्धविश्वः
नेपाली भावानुवादः हे सहस्रशीर्ष अनन्तदेव! हजुरले नै यो भूमण्डललाई लीलापूर्वक शिरमा धारण गर्नुभएको छ र प्रलयकालमा सारा विश्वलाई आफूमा लीन गराई अद्वितीय रूपमा शेष रहनुहुन्छ ।।४६।।
(अनुष्टुप्)
कोपस्तेऽखिलशिक्षार्थं न द्वेषान्न च मत्सरात् ।
बिभ्रतो भगवन् सत्त्वं स्थितिपालनतत्परः ॥ ४७ ॥
नेपाली भावानुवादः हे भगवान्! जगतको रक्षाका लागि शुद्ध सत्त्वमय शरीर धारण गर्नुभएको हजुरको यो क्रोध कसैप्रतिको द्वेषले होइन, बरु सबैलाई शिक्षा दिनका लागि मात्र हो ।।४७।।
नमस्ते सर्वभूतात्मन् सर्वशक्तिधराव्यय ।
विश्वकर्मन् नमस्तेऽस्तु त्वां वयं शरणं गताः ॥ ४८ ॥
नेपाली भावानुवादः हे सर्वभूतका आत्मा, हे सर्वशक्तिमान् अविनाशी प्रभु! हामी हजुरलाई नमस्कार गर्दछौँ । हामी हजुरको शरणमा आएका छौँ, हाम्रो रक्षा गर्नुहोस् ।।४८।।
श्रीशुक उवाच– एवं प्रपन्नैः संविग्नैः वेपमानायनैर्बलः ।
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– यसरी अत्तालिएर शरणमा आएका कौरवहरूले प्रार्थना गरेपछि बलरामजी प्रसन्न हुनुभयो र "नडराओ" भन्दै उनीहरूलाई अभयदान दिनुभयो ।।४९।।
दुर्योधनः पारिबर्हं कुञ्जरान् षष्टिहायनान् ।
ददौ च द्वादशशतान्ययुतानि तुरङ्गमान् ॥ ५० ॥
रथानां षट्सहस्राणि रौक्माणां सूर्यवर्चसाम् ।
दासीनां निष्ककण्ठीनां सहस्रं दुहितृवत्सलः ॥ ५१ ॥
नेपाली भावानुवादः पुत्रीवत्सल दुर्योधनले दाइजोका रूपमा साठी वर्ष पुगेका बाह्र सय हात्ती, दश हजार घोडा, सूर्य झैँ चम्किला छ हजार सुनका रथ र सुनको हार लगाएका एक हजार दासीहरू प्रदान गरे ।।५०-५१।।
प्रतिगृह्य तु तत्सर्वे भगवान् सात्वतर्षभः ।
ससुतः सस्नुषः प्रायात् सुहृद्भिरभिनन्दितः ॥ ५२ ॥
नेपाली भावानुवादः ती सबै उपहार स्वीकार गरी भगवान् बलराम पुत्र साम्ब र बुहारी लक्ष्मणालाई लिएर सुहृदहरूबाट अभिनन्दित हुँदै द्वारकातर्फ प्रस्थान गर्नुभयो ।।५२।।
(मिश्र)
ततः प्रविष्टः स्वपुरं हलायुधः
समेत्य बन्धूननुरक्तचेतसः ।
शशंस सर्वं यदुपुङ्गवानां
मध्ये सभायां कुरुषु स्वचेष्टितम् ॥ ५३ ॥
नेपाली भावानुवादः द्वारका पुगेपछि हलायुध बलरामले आफ्ना बन्धुबान्धवहरूलाई भेट्नुभयो र यदुवंशीहरूको सभामा हस्तिनापुरमा आफूले गरेको सबै वृत्तान्त सुनाउनुभयो ।।५३।।
(अनुष्टुप्)
अद्यापि च पुरं ह्येतत् सूचयद् रामविक्रमम् ।
समुन्नतं दक्षिणतो गङ्गायामनुदृश्यते ॥ ५४ ॥
नेपाली भावानुवादः बलरामजीको त्यो पराक्रमको सूचकका रूपमा आज पनि हस्तिनापुर सहर गङ्गाको किनारमा दक्षिणतर्फ केही उठेको र ढल्केको देखिन्छ ।।५४।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको दशम स्कन्ध अन्तर्गत अष्टषष्टितम (६८ औँ) अध्यायमा भगवान् बलरामको अद्भुत पराक्रम र हस्तिनापुरलाई गङ्गामा तान्ने चेष्टाको वर्णन गरिएको छ। कथाको सुरुवात जाम्बवतीका पुत्र साम्बले दुर्योधनकी पुत्री लक्ष्मणालाई स्वयंवर स्थलबाट अपहरण गरेपछि हुन्छ। यस घटनाले क्रुद्ध भएका कौरवहरूले साम्बलाई एक्लै पारी अन्यायपूर्ण तरिकाले युद्ध गरेर बन्दी बनाए र हस्तिनापुर लगे। जब यदुवंशीहरूले यो खबर थाहा पाए, उनीहरू कौरवहरूमाथि आक्रमण गर्न तयार भए। तर, भगवान् बलरामले कुलको एकता जोगाउन र रक्तपात रोक्नका लागि आफैँ मध्यस्थता गर्न हस्तिनापुर जाने निर्णय गर्नुभयो। हस्तिनापुर पुगेपछि बलरामजीले उद्धवमार्फत धृतराष्ट्रलाई समाचार पठाउनुभयो र कुरुहरूलाई राजा उग्रसेनको आज्ञा पालन गर्दै साम्बलाई मुक्त गर्न आग्रह गर्नुभयो।
कौरवहरू आफ्नो शक्ति र ऐश्वर्यको घमण्डमा यसरी अन्धा भएका थिए कि उनीहरूले बलरामजीको नम्रतालाई कमजोरी ठाने। उनीहरूले यादवहरूलाई 'जुत्ता' र आफूलाई 'शिर' भन्दै अपमानजनक शब्दहरू प्रयोग गरे। कौरवहरूले यादवहरूलाई आफ्नै कृपाले राजसुख भोग्ने तुच्छ सेवकको संज्ञा दिए र बलरामजीलाई अपहेलना गर्दै सहरभित्र पसे। कौरवहरूको यो अशिष्ट व्यवहार र मर्यादाहीन वाणी सुनेर बलरामजी अत्यन्त क्रुद्ध हुनुभयो। उहाँले 'कौरवविहीन पृथ्वी' बनाउने संकल्प गर्दै आफ्नो हलो (लाङ्गल) उठाउनुभयो। बलरामजीले आफ्नो हलोको टुप्पाले हस्तिनापुरलाई जगैदेखि उखेलेर गङ्गा नदीमा डुबाउनका लागि तान्न थाल्नुभयो।
जब पूरै हस्तिनापुर सहर पानीको डुङ्गा झैँ हल्लिन थाल्यो र विनाशको सम्मुख पुग्यो, तब कौरवहरूको घमण्ड चूर भयो। उनीहरू सपरिवार साम्ब र लक्ष्मणालाई लिएर बलरामजीको शरणमा आए। उनीहरूले हात जोडेर बलरामजीलाई ब्रह्माण्डको आधार र सर्वशक्तिमान् ईश्वरको रूपमा स्तुति गर्दै आफ्नो अपराधको क्षमा मागे। बलरामजी भक्तवत्सल र दयालु हुनुभएकाले उनीहरूलाई अभयदान दिनुभयो। अन्ततः दुर्योधनले भव्य दाइजोका साथ आफ्नी छोरी लक्ष्मणा र साम्बलाई बिदा गरे। बलरामजीले पुत्र र बुहारीसहित द्वारका फर्केर सबै वृत्तान्त सुनाउनुभयो। यो कथाले ईश्वरको असीम शक्ति र घमण्डको अन्त्य कसरी हुन्छ भन्ने सन्देश दिन्छ।
दार्शनिक पक्ष
यस अध्यायको दार्शनिक पक्षले मुख्यतया 'अहंकार' र 'ईश्वरीय सत्ता' को सम्बन्धलाई उजागर गर्दछ। कौरवहरूको व्यवहारले जीवको त्यो अवस्थालाई दर्शाउँछ, जहाँ भौतिक ऐश्वर्य र पारिवारिक शक्तिको मातले गर्दा मानिसले वास्तविक सत्य (ईश्वर) लाई चिन्न सक्दैन। 'शिर र जुत्ता' को उपमा दिएर कुरुहरूले जुन भेदभाव गरे, त्यो द्वैतवादी र अहंकारी सोचको पराकाष्ठा हो। दर्शनको दृष्टिले बलरामजी 'अनन्त' वा 'शेष' हुनुहुन्छ, जसले सारा ब्रह्माण्डलाई आफ्नो शिरमा धारण गर्नुहुन्छ। उहाँले हस्तिनापुर तान्नुको सांकेतिक अर्थ यो हो कि जब संसारमा अधर्म र अहंकारको भार बढ्छ, तब ईश्वरले त्यसको आधार नै हल्लाइदिनुहुन्छ।
कौरवहरूले बलरामजीको शान्तिपूर्ण प्रस्तावलाई कमजोरी ठाने, जसले यो बुझाउँछ कि दुष्टहरूले साम र दानको भाषा बुझ्दैनन्, उनीहरूका लागि दण्ड नै आवश्यक हुन्छ। यस अध्यायले 'शरणगति' को महत्त्वलाई पनि पुष्टि गर्दछ। जतिसुकै ठूलो अपराधी भए पनि यदि ऊ सच्चा हृदयले भगवानको शरणमा जान्छ भने ईश्वरले उसलाई क्षमा गर्नुहुन्छ। बलरामजीको क्रोध व्यक्तिगत स्वार्थका लागि नभई जगतलाई मर्यादा सिकाउनका लागि थियो भन्ने कुरा कुरुहरूको स्तुतिबाट प्रष्ट हुन्छ। अन्त्यमा, यो अध्यायले यो सत्य प्रतिपादन गर्दछ कि भौतिक सत्ता ईश्वरीय सत्ताको अगाडि नगण्य छ र अन्तिम विजय सधैँ धर्मकै हुन्छ।
No comments:
Post a Comment