श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – चतुर्चत्वारिंशोऽध्यायः
(अनुष्टुप्)
एवं चर्चितसङ्कल्पो भगवान् मधुसूदनः ।
आससादाथ चणूरं मुष्टिकं रोहिणीसुतः ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित्! यसरी मल्ल युद्धका लागि सङ्कल्प गरिसकेपछि भगवान् मधुसूदन श्रीकृष्णले चाणूरलाई र रोहिणीपुत्र बलरामले मुष्टिकलाई आफ्नो प्रतिद्वन्द्वीका रूपमा सामना गर्नुभयो ।। १ ।।
हस्ताभ्यां हस्तयोर्बद्ध्वा पद्भ्यामेव च पादयोः ।
विचकर्षतुरन्योन्यं प्रसह्य विजिगीषया ॥ २ ॥
नेपाली भावानुवादः जित्ने इच्छाले ती दुवै पक्षले एक–अर्काका हातमा हात र खुट्टामा खुट्टा बाँधेर (अठ्याएर) जोडसँग तानातान गर्न लागे ।। २ ।।
अरत्नी द्वे अरत्निभ्यां जानुभ्यां चैव जानुनी ।
शिरः शीर्ष्णोरसोरस्तावन्योन्यमभिजघ्नतुः ॥ ३ ॥
नेपाली भावानुवादः त्यसपछि उनीहरूले हातका कुहिना, घुँडा, टाउको र छातीले एक–अर्कामाथि बज्रझैँ प्रहार गर्न लागे ।। ३ ।।
परिभ्रामणविक्षेपपरिरम्भावपातनैः ।
उत्सर्पणापसर्पणैश्चान्योन्यं प्रत्यरुन्धताम् ॥ ४ ॥
नेपाली भावानुवादः उनीहरूले एक–अर्कालाई समातेर घुमाउने, हुत्याउने, अँगालो हाल्ने, पछार्ने, अगाडि बढ्ने र पछि हट्ने आदि दाउपेचद्वारा एक–अर्कालाई रोक्न थाले ।। ४ ।।
उत्थापनैरुन्नयनैश्चालनैः स्थापनैरपि ।
परस्परं जिगीषन्तावपचक्रतुरात्मनः ॥ ५ ॥
नेपाली भावानुवादः परस्पर जित्ने अभिलाषाले उनीहरूले एक–अर्कालाई उठाउने, उचाल्ने, हल्लाउने र थिच्ने गर्दै शरीरमा पीडा दिन लागे ।। ५ ।।
तद्बलाबलवद्युद्धं समेताः सर्वयोषितः ।
ऊचुः परस्परं राजन् सानुकम्पा वरूथशः ॥ ६ ॥
नेपाली भावानुवादः हे राजन्! बलिया र निर्धाहरूका बीचमा भइरहेको त्यो विषम युद्ध देखेर त्यहाँ भेला भएका सम्पूर्ण महिलाहरू दयावश समूह–समूहमा विभाजित भई आपसमा कुरा गर्न लागे ।। ६ ।।
महानयं बताधर्म एषां राजसभासदाम् ।
ये बलाबलवद्युद्धं राज्ञोऽन्विच्छन्ति पश्यतः ॥ ७ ॥
नेपाली भावानुवादः अहो! यी राजसभाका सदस्यहरू कति ठुलो अधर्म गरिरहेका छन्; जो राजाका अगाडि नै यो असमान शक्तिबीचको युद्ध हेरिरहन चाहन्छन् र यसलाई अनुमोदन गर्दछन् ।। ७ ।।
क्व वज्रसारसर्वाङ्गौ मल्लौ शैलेन्द्रसन्निभौ ।
क्व चातिसुकुमाराङ्गौ किशोरौ नाप्तयौवनौ ॥ ८ ॥
नेपाली भावानुवादः कहाँ पहाडजस्ता विशाल र वज्र समान कठोर शरीर भएका यी मल्लहरू, कहाँ कलिला र सुकुमार अङ्ग भएका किशोरहरू, जसको पूर्ण यौवनसमेत प्राप्त भएको छैन ।। ८ ।।
धर्मव्यतिक्रमो ह्यस्य समाजस्य ध्रुवं भवेत् ।
यत्राधर्मः समुत्तिष्ठेन्न स्थेयं तत्र कर्हिचित् ॥ ९ ॥
नेपाली भावानुवादः निश्चय नै यस समाज (सभा) को धर्म नष्ट भएको छ; जहाँ अधर्म उत्पन्न हुन्छ, त्यहाँ कहिल्यै पनि बस्नु हुँदैन ।। ९ ।।
न सभां प्रविशेत् प्राज्ञः सभ्यदोषाननुस्मरन् ।
अब्रुवन् विब्रुवन्नज्ञो नरः किल्बिषमश्नुते ॥ १० ॥
नेपाली भावानुवादः सभाका दोषहरू थाहा पाउने बुद्धिमान् मानिस सभामा प्रवेश नै गर्नु हुँदैन; यदि प्रवेश गरिहाल्यो भने पनि सत्य नबोल्ने वा अन्यथा बोल्ने मानिस अज्ञानी र पापको भागी बन्दछ ।। १० ।।
वल्गतः शत्रुमभितः कृष्णस्य वदनाम्बुजम् ।
वीक्ष्यतां श्रमवार्युप्तं पद्मकोशमिवाम्बुभिः ॥ ११ ॥
नेपाली भावानुवादः हेर हेर! शत्रुको वरिपरि घुमिरहनुभएका श्रीकृष्णको मुखकमल पसिनाका थोपाहरूले यसरी भिजेको छ, मानो कमलको कोपिलामा शीतका थोपाहरू सजिएका हुन् ।। ११ ।।
किं न पश्यत रामस्य मुखमाताम्रलोचनम् ।
मुष्टिकं प्रति सामर्षं हाससंरम्भशोभितम् ॥ १२ ॥
नेपाली भावानुवादः तिमीहरू मुष्टिकप्रति क्रुद्ध हुनुभएका बलरामको राता आँखा भएको मुखमण्डल किन देख्दैनौ? जसमा क्रोध र हास्यको अद्भुत मिश्रणले शोभा बढाइरहेको छ ।। १२ ।।
(वसंततिलका)
पुण्या बत व्रजभुवो यदयं नृलिङ्ग–
गाः पालयन् सहबलः क्वणयंश्च वेणुं
विक्रीडयाञ्चति गिरित्ररमार्चिताङ्घ्रिः ॥ १३ ॥
नेपाली भावानुवादः अहो! व्रजभूमि कति धन्य र पवित्र छ, जहाँ महादेव र लक्ष्मीद्वारा पूजित भगवान् स्वयं मनुष्यको रूप धारण गरी लुक्नुभएको छ । उहाँ बलरामका साथ विचित्र वनमाला पहिरिएर, गाई चराउँदै र बाँसुरी बजाउँदै आनन्दले लीला गर्नुहुन्छ ।। १३ ।।
गोप्यस्तपः किमचरन् यदमुष्य रूपं
लावण्यसारमसमोर्ध्वमनन्यसिद्धम् ।
दृग्भिः पिबन्त्यनुसवाभिनवं दुराप–
नेपाली भावानुवादः ब्रजका गोपिनीहरूले त्यस्तो कुन तपस्या गरेका होलान् र! जसका कारण उनीहरूले भगवान्को त्यो अनुपम, लावण्ययुक्त र सदैव नवीन लाग्ने सौन्दर्यलाई आफ्ना आँखाले पान गरिरहेका छन्; जुन रूप यश, लक्ष्मी र ऐश्वर्यको एकमात्र आश्रय हो र अत्यन्त दुर्लभ छ ।। १४ ।।
या दोहनेऽवहनने मथनोपलेप–
गायन्ति चैनमनुरक्तधियोऽश्रुकण्ठ्यो ध
न्या व्रजस्त्रिय उरुक्रमचित्तयानाः ॥ १५ ॥
नेपाली भावानुवादः ती गोपिनीहरू साँच्चै धन्य छन्, जो गाई दुहुँदा, धान कुट्दा, दही मथ्दा, घर लिप्दा, बालकलाई झोलुङ्गोमा हल्लाउँदा वा घर सफा गर्दा समेत तल्लीन भएर उहाँकै गुणगान गर्दछन् र प्रेमको आँसुले गला अवरुद्ध हुँदा पनि भगवान्कै स्मरणमा मग्न रहन्छन् ।। १५ ।।
प्रातर्व्रजाद् व्रजत आविशतश्च सायं
गोभिः समं क्वणयतोऽस्य निशम्य वेणुम् ।
निर्गम्य तूर्णमबलाः पथि भूरिपुण्याः
पश्यन्ति सस्मितमुखं सदयावलोकम् ॥ १६ ॥
नेपाली भावानुवादः बिहान गाई चराउन वनतर्फ जाँदा र साँझ फर्कँदा भगवान्को बाँसुरीको स्वर सुनेर ती पुण्यवती गोपिनीहरू हतारिँदै बाटोमा निस्कन्छन् र उहाँको मुस्कानयुक्त मुखमण्डल एवं कृपापूर्ण दृष्टिको दर्शन गर्दछन् ।। १६ ।।
(अनुष्टुप्)
एवं प्रभाषमाणासु स्त्रीषु योगेश्वरो हरिः ।
शत्रुं हन्तुं मनश्चक्रे भगवान् भरतर्षभ ॥ १७ ॥
नेपाली भावानुवादः हे भरतर्षभ परीक्षित्! जब नगरका नारीहरू यसरी कुरा गरिरहेका थिए, तब योगेश्वर भगवान् श्रीकृष्णले शत्रुलाई मार्ने निश्चय गर्नुभयो ।। १७ ।।
सभयाः स्त्रीगिरः श्रुत्वा पुत्रस्नेहशुचाऽऽतुरौ ।
पितरावन्वतप्येतां पुत्रयोरबुधौ बलम् ॥ १८ ॥
नेपाली भावानुवादः नारीहरूका भयभीत कुरा सुनेर आफ्ना पुत्रहरूको वास्तविक बल थाहा नपाएका देवकी र वसुदेव पुत्रस्नेहका कारण व्याकुल भई चिन्ता गर्न लागे ।। १८ ।।
तैस्तैर्नियुद्धविधिभिर्विविधैरच्युतेतरौ ।
युयुधाते यथान्योन्यं तथैव बलमुष्टिकौ ॥ १९ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्ण र उहाँका प्रतिद्वन्द्वी चाणूर तथा बलराम र मुष्टिकले मल्ल युद्धका ती विभिन्न विधिहरूद्वारा एक–अर्कासँग युद्ध गरिरहे ।। १९ ।।
भगवद्गोत्रनिष्पातैर्वज्रनिष्पेषनिष्ठुरैः ।
चाणूरो भज्यमानाङ्गो मुहुर्ग्लानिमवाप ह ॥ २० ॥
नेपाली भावानुवादः भगवान्का वज्र समान कठोर मुड्कीको प्रहारले चाणूरका अङ्गहरू शिथिल भए र उसले बारम्बार पीडा तथा थकान महसुस गर्न थाल्यो ।। २० ।।
स श्येनवेग उत्पत्य मुष्टीकृत्य करावुभौ ।
भगवन्तं वासुदेवं क्रुद्धो वक्षस्यबाधत ॥ २१ ॥
नेपाली भावानुवादः त्यसपछि उसले बाजझैँ वेगले उफ्रिएर दुवै मुड्कीले भगवान् वासुदेवको छातीमा प्रहार गर्यो ।। २१ ।।
नाचलत्तत्प्रहारेण मालाहत इव द्विपः ।
बाह्वोर्निगृह्य चाणूरं बहुशो भ्रामयन् हरिः ॥ २२ ॥
भूपृष्ठे पोथयामास तरसा क्षीणजीवितम् ।
विस्रस्ताकल्पकेशस्रगिन्द्रध्वज इवापतत् ॥ २३ ॥
नेपाली भावानुवादः तर जसरी फूलको मालाले हिर्काउँदा हात्ती अलिकति पनि विचलित हुँदैन, त्यसैगरी भगवान् पनि उसको प्रहारबाट अलिकति पनि डग्नुभएन । त्यसपछि श्रीकृष्णले चाणूरका दुवै हात समाती आकाशमा जोडसँग घुमाएर भुइँमा पछारिदिनुभयो । घुमाउँदा घुमाउँदै उसको प्राण गइसकेको थियो र उसको वेशभूषा, कपाल तथा माला अस्तव्यस्त भएर ऊ इन्द्रध्वज झैँ ढल्यो ।। २२–२३ ।।
तथैव मुष्टिकः पूर्वं स्वमुष्ट्याभिहतेन वै ।
बलभद्रेण बलिना तलेनाभिहतो भृशम् ॥ २४ ॥
नेपाली भावानुवादः त्यसैगरी मुष्टिकले सुरुमा बलरामलाई मुड्कीले हिर्कायो । प्रतिउत्तरमा शक्तिशाली बलरामले उसलाई बडो जोडसँग हत्केलाले प्रहार गर्नुभयो ।। २४ ।।
प्रवेपितः स रुधिरमुद्वमन् मुखतोऽर्दितः ।
व्यसुः पपातोर्व्युपस्थे वाताहत इवाङ्घ्रिपः ॥ २५ ॥
नेपाली भावानुवादः बलरामको प्रहारले ऊ थरथर काम्न थाल्यो र मुखबाट रगत छाद्दै, हावाको वेगले उखेलिएको रुखझैँ प्राणहीन भई जमिनमा ढल्यो ।। २५ ।।
ततः कूटमनुप्राप्तं रामः प्रहरतां वरः ।
अवधील्लीलया राजन् सावज्ञं वाममुष्टिना ॥ २६ ॥
नेपाली भावानुवादः हे राजन्! त्यसपछि योद्धामा श्रेष्ठ बलरामले आफ्नो सामुन्ने आएको कूट नामको मल्ललाई खेलवाड गरेझैँ बायाँ मुड्कीको प्रहारले सजिलै मारिदिनुभयो ।। २६ ।।
तर्ह्येव हि शलः कृष्णपदापहतशीर्षकः ।
द्विधा विदीर्णस्तोशलक उभावपि निपेततुः ॥ २७ ॥
नेपाली भावानुवादः त्यही समयमा श्रीकृष्णको लात्तीको प्रहारले शलको टाउको फुट्यो र तोशलकलाई पनि उहाँले दुई टुक्रा पारिदिनुभयो, जसले गर्दा ती दुवै मरेर ढले ।। २७ ।।
चाणूरे मुष्टिके कूटे शले तोशलके हते ।
शेषाः प्रदुद्रुवुर्मल्लाः सर्वे प्राणपरीप्सवः ॥ २८ ॥
नेपाली भावानुवादः चाणूर, मुष्टिक, कूट, शल र तोशलक मारिएपछि बाँकी रहेका अन्य सबै मल्लहरू ज्यान जोगाउन त्यहाँबाट भागे ।। २८ ।।
गोपान् वयस्यानाकृष्य तैः संसृज्य विजह्रतुः ।
वाद्यमानेषु तूर्येषु वल्गन्तौ रुतनूपुरौ ॥ २९ ॥
नेपाली भावानुवादः त्यसपछि श्रीकृष्ण र बलरामले आफ्ना गोठाला साथीहरूलाई मञ्चमा तानेर, बाजाको तालमा पाउजुको छमछम स्वर निकाल्दै विजयोत्सव मनाउन लाग्नुभयो ।। २९ ।।
जनाः प्रजहृषुः सर्वे कर्मणा रामकृष्णयोः ।
ऋते कंसं विप्रमुख्याः साधवः साधु साध्विति ॥ ३० ॥
नेपाली भावानुवादः श्रीकृष्ण र बलरामको यो अद्भुत पराक्रम देखेर कंसबाहेक त्यहाँ उपस्थित अन्य ब्राह्मण तथा साधु–सज्जनहरू "साधु–साधु" भन्दै खुसी भए ।। ३० ।।
हतेषु मल्लवर्येषु विद्रुतेषु च भोजराट् ।
न्यवारयत् स्वतूर्याणि वाक्यं चेदमुवाच ह ॥ ३१ ॥
नेपाली भावानुवादः आफ्ना मुख्य मल्लहरू मारिएपछि र अरू भागेपछि भोजराज कंसले बाजा बजाउन बन्द गराई यस्तो वचन भन्यो ।। ३१ ।।
निःसारयत दुर्वृत्तौ वसुदेवात्मजौ पुरात् ।
धनं हरत गोपानां नन्दं बध्नीत दुर्मतिम् ॥ ३२ ॥
नेपाली भावानुवादः यी दुष्ट वसुदेवका पुत्रहरूलाई तुरुन्तै सहरबाट बाहिर निकाल, गोठालाहरूको सबै धन सम्पत्ति कब्जा गर र त्यो दुर्बुद्धि भएको नन्दलाई बन्दी बनाऊ ।। ३२ ।।
वसुदेवस्तु दुर्मेधा हन्यतामाश्वसत्तमः ।
उग्रसेनः पिता चापि सानुगः परपक्षगः ॥ ३३ ॥
नेपाली भावानुवादः त्यो दुष्ट बुद्धिको वसुदेवलाई तुरुन्तै मारिहाल र शत्रुको पक्ष लिने मेरा पिता उग्रसेनलाई पनि उनका अनुयायीसहित समाप्त पार ।। ३३ ।।
एवं विकत्थमाने वै कंसे प्रकुपितोऽव्ययः ।
लघिम्नोत्पत्य तरसा मञ्चमुत्तुङ्गमारुहत् ॥ ३४ ॥
नेपाली भावानुवादः कंसले यसरी बकवास गरिरहेको बेलामा अविनाशी भगवान् श्रीकृष्णले क्रोधित भई उफ्रिएर तुरुन्तै कंस बसेको अग्लो मञ्चमा चढ्नुभयो ।। ३४ ।।
तमाविशन्तमालोक्य मृत्युमात्मन आसनात् । म
नस्वी सहसोत्थाय जगृहे सोऽसिचर्मणी ॥ ३५ ॥
नेपाली भावानुवादः आफ्नो मृत्युस्वरूप श्रीकृष्णलाई सामुन्ने आएको देखेर बुद्धिमान् कंस हत्तपत्त आसनबाट उठ्यो र आफ्नो ढाल–तरबार समात्यो ।। ३५ ।।
(मिश्र)
तं खड्गपाणिं विचरन्तमाशु
श्येनं यथा दक्षिणसव्यमम्बरे ।
समग्रहीद् दुर्विषहोग्रतेजा
यथोरगं तार्क्ष्यसुतः प्रसह्य ॥ ३६ ॥
नेपाली भावानुवादः हातमा तरबार लिएर बाजझैँ दायाँ–बायाँ चपलताका साथ घुमिरहेको कंसलाई तेजस्व र शक्तिशाली श्रीकृष्णले गरुडले सर्पलाई झम्टेझैँ समात्नुभयो ।। ३६ ।।
प्रगृह्य केशेषु चलत्किरीटं
निपात्य रङ्गोपरि तुङ्गमञ्चात् ।
तस्योपरिष्टात् स्वयम्सब्जनाभः
पपात विश्वाश्रय आत्मतन्त्रः ॥ ३७ ॥
नेपाली भावानुवादः संसारका आश्रय तथा स्वतन्त्र भगवान् श्रीकृष्णले कंसको कपालमा समातेर उसको मुकुट खसाली दिनुभयो र उसलाई अग्लो मञ्चबाट रगंशालाको भुइँमा पछारिदिनुभयो । त्यसपछि उहाँ आफैँ पनि उसको शरीरमाथि हाम फाल्नुभयो ।। ३७ ।।
तं सम्परेतं विचकर्ष भूमौ
हरिर्यथेभं जगतो विपश्यतः ।
हा हेति शब्दः सुमहांस्तदाभूद्
उदीरितः सर्वजनैर्नरेन्द्र ॥ ३८ ॥
नेपाली भावानुवादः हे नरेन्द्र! भगवान्को भारले थिचिएर कंस तत्कालै मर्न पुग्यो । त्यसपछि सबैका सामुन्ने सिंहले हात्तीलाई घिसारेझैँ श्रीकृष्णले उसको मृत शरीरलाई भुइँमा घिसार्न थाल्नुभयो । त्यो दृश्य देखेर सबै मानिसहरू "हा! हा!" भन्दै चिच्याउन लागे ।। ३८ ।।
स नित्यदोद्विग्नधिया तमीश्वरं
पिबन् वदन् वा विचरन् स्वपञ्छ्वसन् ।
ददर्श चक्रायुधमग्रतो यस्–
नेपाली भावानुवादः भयका कारण कंसले खाँदा, पिउँदा, हिँड्दा वा सुत्दा सधैँ हातमा चक्र लिएका भगवान् श्रीकृष्णलाई नै देख्ने गर्दथ्यो (अर्थात् उहाँकै ध्यान गर्दथ्यो); त्यसैले मरेपछि उसले उही दुर्लभ स्वरूप (सारूप्य मुक्ति) प्राप्त गर्यो ।। ३९ ।।
(अनुष्टुप्)
तस्यानुजा भ्रातरोऽष्टौ कङ्कन्यग्रोधकादयः ।
अभ्यधावन्नतिक्रुद्धा भ्रातुर्निर्वेशकारिणः ॥ ४० ॥
नेपाली भावानुवादः कंसका कङ्क, न्यग्रोधक आदि आठ भाइहरू आफ्ना दाजुको हत्याको बदला लिन अत्यन्त क्रुद्ध भएर श्रीकृष्ण र बलरामतिर जाइलागे ।। ४० ।।
तथातिरभसांस्तांस्तु संयत्तान् रोहिणीसुतः ।
अहन् परिघमुद्यम्य पशूनिव मृगाधिपः ॥ ४१ ॥
नेपाली भावानुवादः वेगका साथ युद्धका लागि आएका ती भाइहरूलाई रोहिणीपुत्र बलरामले सिंहले पशुहरूलाई मारेझैँ फलामको परिघले प्रहार गरी मारिदिनुभयो ।। ४१ ।।
नेदुर्दुन्दुभयो व्योम्नि ब्रह्मेशाद्या विभूतयः ।
पुष्पैः किरन्तस्तं प्रीताः शशंसुर्ननृतुः स्त्रियः ॥ ४२ ॥
नेपाली भावानुवादः त्यस समयमा आकाशमा देव–दुन्दुभी बज्न थाले । ब्रह्मा, शङ्कर आदि देवताहरू प्रसन्न भई पुष्पवृष्टि गर्दै स्तुति गर्न लागे र अप्सराहरू नाच्न थाले ।। ४२ ।।
तेषां स्त्रियो महाराज सुहृन्मरणदुःखिताः ।
तत्राभीयुर्विनिघ्नन्त्यः शीर्षाण्यश्रुविलोचनाः ॥ ४३ ॥
नेपाली भावानुवादः हे महाराज! आफ्ना प्रियजनको मृत्युले दुखित भएका कंस र उसका भाइका पत्नीहरू रुँदै र टाउको पिट्दै त्यहाँ आइपुगे ।। ४३ ।।
शयानान् वीरशय्यायां पतीनालिङ्ग्य शोचतीः ।
विलेपुः सुस्वरं नार्यो विसृजन्त्यो मुहुः शुचः ॥ ४४ ॥
नेपाली भावानुवादः रणभूमिमा वीरगति प्राप्त गरी लडिरहेका आफ्ना पतिहरूलाई अँगालो हालेर ती नारीहरू ठुलो स्वरले विलाप गर्न लागे ।। ४४ ।।
हा नाथ प्रिय धर्मज्ञ करुणानाथवत्सल ।
त्वया हतेन निहता वयं ते सगृहप्रजाः ॥ ४५ ॥
नेपाली भावानुवादः "हा स्वामी! हे प्यारा! हे धर्मज्ञ! हे करुणासागर! हजुर मारिएपछि हामी, हाम्रा छोराछोरी र घर सबै अनाथ भयौँ" ।। ४५ ।।
त्वया विरहिता पत्या पुरीयं पुरुषर्षभ । न
शोभते वयमिव निवृत्तोत्सवमङ्गला ॥ ४६ ॥
नेपाली भावानुवादः "हे पुरुषश्रेष्ठ! हजुरबिना यो मथुरापुरी हामीझैँ विधवाजस्तै शोभाहीन भएको छ र यसका सम्पूर्ण मङ्गल एवं उत्सवहरू समाप्त भएका छन्" ।। ४६ ।।
अनागसां त्वं भूतानां कृतवान् द्रोहमुल्बणम् ।
तेनेमां भो दशां नीतो भूतध्रुक् को लभेत शम् ॥ ४७ ॥
नेपाली भावानुवादः "स्वामी! हजुरले निरपराधी प्राणीहरूसँग घोर शत्रुता गर्नुभयो, त्यसैले हजुरको यो हालत भयो । वास्तवमा प्राणीहरूको द्रोह गर्नेले कहिल्यै सुख–शान्ति पाउँदैन" ।। ४७ ।।
सर्वेषामिह भूतानामेष हि प्रभवाप्ययः ।
गोप्ता च तदवध्यायी न क्वचित् सुखमेधते ॥ ४८ ॥
नेपाली भावानुवादः "सम्पूर्ण प्राणीको सृष्टि, स्थिति र संहारका कारण यिनै श्रीकृष्ण हुन्; उहाँको अपमान गर्नेले कहिल्यै पनि सुख प्राप्त गर्न सक्दैन" ।। ४८ ।।
शुक उवाच–
यामाहुर्लौकिकीं संस्थां हतानां समकारयत् ॥ ४९ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे राजन्! त्यसपछि लोकका कल्याणकर्ता भगवान् श्रीकृष्णले ती नारीहरूलाई सान्त्वना दिनुभयो र शास्त्र एवं लोक–मर्यादाअनुसार मृतकहरूको अन्त्येष्टि कर्म सम्पन्न गराउनुभयो ।। ४९ ।।
मातरं पितरं चैव मोचयित्वाथ बन्धनात् ।
कृष्णरामौ ववन्दाते शिरसास्पृश्य पादयोः ॥ ५० ॥
नेपाली भावानुवादः त्यसपछि श्रीकृष्ण र बलरामले माता देवकी र पिता वसुदेवलाई बन्धनबाट मुक्त गराउनुभयो र उहाँहरूको चरण स्पर्श गरी शिर झुकाएर प्रणाम गर्नुभयो ।। ५० ।।
देवकी वसुदेवश्च विज्ञाय जगदीश्वरौ ।
कृतसंवन्दनौ पुत्रौ सस्वजाते न शङ्कितौ ॥ ५१ ॥
नेपाली भावानुवादः तर आफ्ना अगाडि शिर निहुराएका पुत्रहरूलाई जगदीश्वरका रूपमा चिनेका हुनाले देवकी र वसुदेवले प्रेमपूर्वक अँगालो हाल्न सक्नुभएन (उहाँहरूमा ईश्वरीय ऐश्वर्यको ज्ञान भएकाले संकोच भयो) ।। ५१ ।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको दशम स्कन्ध अन्तर्गतको चौवालिसौँ अध्यायमा अधर्मको प्रतीक कंसको अन्त्य र भगवान् श्रीकृष्णको अलौकिक पराक्रमको वर्णन गरिएको छ । मथुराको रङ्गशालामा मुष्टिक र चाणूरजस्ता शक्तिशाली मल्लहरूसँग श्रीकृष्ण र बलरामको मल्ल युद्धबाट अध्यायको प्रारम्भ हुन्छ । ती मल्लहरू पहाडजस्ता विशाल भए पनि सुकुमार किशोर देखिने भगवान्का अगाडि टिक्न सक्दैनन् । रङ्गशालामा उपस्थित नारीहरूले यो असमान युद्ध देखेर मथुराको सभा र राजा कंसको अधर्मको कडा आलोचना गर्दछन् र श्रीकृष्णको मधुर रूप एवं व्रजभूमिको धन्यताको स्मरण गर्दछन् । भगवान् श्रीकृष्णले चाणूरलाई आकाशमा घुमाएर पछारी उसको प्राण लिनुहुन्छ भने बलरामले मुष्टिक र कूटलाई मारिदिनुहुन्छ । अन्य मल्लहरू शल र तोशलकको पनि भगवान्को हातबाट अन्त्य हुन्छ । आफ्ना प्रमुख योद्धाहरू मारिएपछि क्रोधित कंसले बाजा बन्द गराएर नन्दलाई बन्दी बनाउने र वसुदेव–उग्रसेनलाई मार्ने आदेश दिन्छ । त्यही समयमा भगवान् श्रीकृष्ण उफ्रिएर कंसको मञ्चमा पुग्नुहुन्छ र उसलाई कपालमा समातेर भुइँमा पछारी उसैमाथि हाम फाल्नुहुन्छ, जसबाट कंसको तत्काल मृत्यु हुन्छ । कंसका अन्य आठ भाइहरूले आक्रमण गर्दा बलरामले उनीहरूलाई पनि सहजै समाप्त पार्नुहुन्छ । कंसको मृत्युपछि उसकी पत्नीहरूले विलाप गर्दै भगवान्को महिमा र अधर्मको परिणाम स्वीकार गर्दछन् । अन्तमा, भगवान्ले आफ्ना माता–पिता देवकी र वसुदेवलाई कारागारको बन्धनबाट मुक्त गरी प्रणाम गर्नुहुन्छ, तर ईश्वरत्वको बोध भएकाले उहाँहरूले पुत्रका रूपमा अँगालो हाल्न संकोच मान्नुहुन्छ ।
दार्शनिक पक्ष
यस अध्यायले 'विनाशकाले विपरीत बुद्धि' र 'अधर्ममाथि धर्मको विजय' भन्ने शाश्वत दार्शनिक सत्यलाई उजागर गरेको छ । कंसले सधैँ भयका कारण श्रीकृष्णको ध्यान गर्दथ्यो, जसलाई शास्त्रमा 'विद्वेष भक्ति' भनिन्छ र यही निरन्तर चिन्तनका कारण उसले भगवान्को हातबाट मृत्युवरण गरी 'सारूप्य मुक्ति' प्राप्त गर्यो । यसले भगवान्प्रतिको जस्तोसुकै भावले गरिने एकाग्र चिन्तनले पनि जीवलाई मोक्षको मार्गमा लैजान्छ भन्ने दार्शनिक गाम्भीर्य बोकेको छ । यसका साथै, जहाँ अधर्म हुन्छ त्यहाँ बस्नु पनि पापको भागी हुनु हो भन्ने सभ्यहरूको कर्तव्यलाई यहाँ नारीहरूको संवादमार्फत स्पष्ट पारिएको छ । अन्त्यमा, देवकी र वसुदेवले आफ्ना छोराहरूलाई जगदीश्वरका रूपमा चिनेर अँगालो हाल्न नसक्नुले वात्सल्य प्रेम र ऐश्वर्य ज्ञानबीचको द्वन्द्वलाई दर्साउँछ । यसले ईश्वरलाई जब ऐश्वर्यको चस्माबाट हेरिन्छ, तब प्रेममा संकोच आउँछ र जब केवल सम्बन्धको रूपमा हेरिन्छ, तब मात्र आत्मीयता प्रगाढ हुन्छ भन्ने दर्शनलाई पुष्टि गर्दछ ।
No comments:
Post a Comment