श्रीमद्भागवत महापुराण
भगवन्तं हरिं प्रायो न भजन्त्यात्मवित्तमाः ।
तेषामशान्तकामानां का निष्ठाविजितात्मनाम् ।। १ ।।
नेपाली भावानुवादः राजा निमिले सोधे– हे योगीश्वरहरू! तपाईंहरू आत्मज्ञानी हुनुहुन्छ। जो मानिस भगवान्को भजन गर्दैनन्, जसका बाह्य र भित्री इन्द्रियहरू वशमा छैनन् र जसका कामनाहरू कहिल्यै शान्त हुँदैनन्, त्यस्ता व्यक्तिहरूको के गति हुन्छ? ।।१।।
चमस उवाच
मुखबाहूरुपादेभ्यः पुरुषस्याश्रमैः सह ।
चत्वारो जज्ञिरे वर्णा गुणैर्विप्रादयः पृथक् ।। २ ।।
नेपाली भावानुवादः चमस योगीले भन्नुभयो– विराट् पुरुष भगवान्को मुख, बाहु, तिघ्रा र पाउबाट क्रमशः सत्त्व, रज र तम गुण अनुसार ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र गरी चार वर्णहरू उत्पन्न भए। त्यसै गरी उहाँको जाँघबाट गृहस्थाश्रम, हृदयबाट ब्रह्मचर्य, वक्षस्थलबाट वानप्रस्थ र मस्तकबाट सन्न्यासाश्रम गरी चार आश्रमहरू अलग–अलग उत्पन्न भए ।।२।।
य एषां पुरुषं साक्षादात्मप्रभवमीश्वरम् ।
न भजन्त्यवजानन्ति स्थानाद् भ्रष्टाः पतन्त्यधः ।। ३ ।।
नेपाली भावानुवादः यसरी आफूलाई उत्पन्न गराउने साक्षात् ईश्वरको जसले भजन गर्दैनन् र जानेर पनि उहाँको अनादर गर्छन्, त्यस्ता व्यक्तिहरू आफ्नो स्थानबाट भ्रष्ट भई तल खस्दछन् ।।३।।
दूरे हरिकथाः केचिद् दूरे चाच्युतकीर्तनाः ।
स्त्रियः शूद्रादयश्चैव तेऽनुकम्प्या भवादृशाम् ।। ४ ।।
नेपाली भावानुवादः जो भगवान्को कथा र कीर्तन आदिबाट टाढा रहेका छन्, त्यस्ता स्त्री र शूद्र आदिमाथि पनि तपाईंहरू जस्ता भक्तहरूले दया गरी उनीहरूलाई भक्तिको मार्गमा लगाउनुपर्दछ ।।४।।
विप्रो राजन्यवैश्यौ च हरेः प्राप्ताः पदान्तिकम् ।
श्रौतेन जन्मनाथापि मुह्यान्त्याम्नायवादिनः ।। ५ ।।
नेपाली भावानुवादः ब्राह्मण, क्षत्रीय र वैश्यहरू द्विजाति जन्म र वेदाध्ययनद्वारा भगवान्को समीप पुगेका हुन्छन्, तापनि कतिपय मानिसहरू वैदिक अर्थवादका मीठा वचनमा भुलेर स्वर्ग आदि भोगमै मोहित हुन पुग्छन् ।।५।।
कर्मण्यकोविदाः स्तब्धा मूर्खाः पण्डितमानिनः ।
वदन्ति चाटुकान् मूढा यया माध्व्या गिरोत्सुकाः ।। ६ ।।
नेपाली भावानुवादः कर्मको वास्तविक मर्म नबुझेका, घमण्डी र आफूलाई ठुलो विद्वान् ठान्ने मूर्खहरू वेदका फलश्रुति रूपी मीठा वाणीबाट मोहित भई अरूलाई पनि त्यस्तै लोभलाग्दा कुरा सुनाउँछन् ।।६।।
रजसा घोरसङ्कल्पाः कामुका अहिमन्यवः ।
दाम्भिका मानिनः पापा विहसन्त्यच्युतप्रियान् ।। ७ ।।
नेपाली भावानुवादः रजोगुणका कारण खराब सङ्कल्प बोकेका, अत्यन्त कामुक, सर्प जस्तै क्रोधी, पाखण्डी र अभिमानी पापीहरू भगवान्का प्रिय भक्तहरूको उपहास गर्दछन् ।।७।।
वदन्ति तेऽन्योन्यमुपासितस्त्रियो
गृहेषु मैथुन्यपरेषु चाशिषः ।
यजन्त्यसृष्टान्नविधानदक्षिणं
वृत्त्यै परं घ्नन्ति पशूनतद्विदः ।। ८ ।।
नेपाली भावानुवादः ती स्त्रीलम्पट व्यक्तिहरू मैथुनसुख नै प्रधान मानिने घरहरूमा गएर त्यस्तै विषयभोगका कुरा गर्छन्। तिनीहरू शास्त्रोक्त विधि, अन्नदान र दक्षिणा बिना नै केवल जीविकाका लागि यज्ञको ढोंग गर्छन् र अज्ञानतावश पशुहरूको हत्या गर्छन् ।।८।।
श्रिया विभूत्याभिजनेन विद्यया
त्यागेन रूपेण बलेन कर्मणा ।
जातस्मयेनान्धधियः सहेश्वरान्
सतोऽवमन्यन्ति हरिप्रियान् खलाः ।। ९ ।।
नेपाली भावानुवादः धन, ऐश्वर्य, उच्च कुल, विद्या, त्याग, रूप, बल र कर्मको घमण्डले अन्धो भएका ती दुष्ट व्यक्तिहरू भगवान्का भक्त र स्वयं ईश्वरको पनि अपमान गर्दछन् ।।९।।
सर्वेषु शश्वत् तनुभृत्स्ववस्थितं
यथा खमात्मानमभीष्टमीश्वरम् ।
न वेदोपगीतं च न शृण्वतेऽबुधा
मनोरथानां प्रवदन्ति वार्तया ।। १० ।।
नेपाली भावानुवादः आकाश जस्तै सर्वत्र व्याप्त र सबै प्राणीका हृदयमा अन्तर्यामी रूपले रहनुहुने वेदप्रतिपादित भगवान्का बारेमा ती मूर्खहरू सुन्न चाहँदैनन्; बरु आफ्ना सांसारिक इच्छाहरू पूरा गर्ने गफमै मग्न रहन्छन् ।।१०।।
लोके व्यवायामिषमद्यसेवा
नित्यास्तु जन्तोर्न हि तत्र चोदना ।
व्यवस्थितिस्तेषु विवाहयज्ञ–
सुराग्रहैरासु निवृत्तिरिष्टा ।। ११ ।।
नेपाली भावानुवादः संसारमा जीवहरूको स्त्री–प्रसङ्ग, मांस–भक्षण र मद्यपानमा स्वाभाविक प्रवृत्ति हुन्छ, यसका लागि वेदको आज्ञा चाहिँदैन। शास्त्रले त विवाहद्वारा स्त्री–सम्बन्ध, यज्ञद्वारा मांस र सौत्रामणि यज्ञद्वारा मदिराको नियमन गरी मानिसलाई क्रमशः यी विषयबाट निवृत्त गराउने उद्देश्य राखेको हुन्छ ।।११।।
धनं च धर्मैकफलं यतो वै ज्ञानं सविज्ञानमनुप्रशान्ति ।
गृहेषु युञ्जन्ति कलेवरस्य मृत्युं न पश्यन्ति दुरन्तवीर्यम् ।। १२ ।।
नेपाली भावानुवादः धनको मुख्य फल धर्म हो, किनकि धर्मबाटै विज्ञानसहितको ज्ञान र परम शान्ति मिल्दछ। तर मानिसहरू धनको उपयोग केवल शरीर पोषण र घरव्यवहारमा मात्र गर्छन् र उनीहरूले आफूमाथि आइलाग्ने अनिवार्य मृत्युलाई देख्न सक्दैनन् ।।१२।।
यद् घ्राणभक्षो विहितः सुराया–
स्तथा पशोरालभनं न हिंसा ।
एवं व्यवायः प्रजया न रत्या
इमं विशुद्धं न विदुः स्वधर्मम् ।। १३ ।।
नेपाली भावानुवादः यज्ञमा मदिरा सुँघ्ने मात्र विधान छ, पिउने होइन। पशुको स्पर्श (आलभन) गर्ने विधान छ, हत्या गर्ने होइन। त्यसै गरी सन्तान उत्पादनका लागि मात्र स्त्री–सहवासको अनुमति छ, केवल कामसुखका लागि होइन। यसरी आफ्नो विशुद्ध धर्मलाई ती अज्ञानीहरूले बुझेका हुँदैनन् ।।१३।।
ये त्वनेवंविदोऽसन्तः स्तब्धाः सदभिमानिनः ।
पशून् द्रुह्यान्ति विस्रब्धाः प्रेत्य खादन्ति ते च तान् ।। १४ ।।
नेपाली भावानुवादः यस वास्तविक धर्मलाई नजान्ने, आफूलाई ठुलो ठान्ने र घमण्डी दुर्जनहरू निर्धक्कसँग पशुहिंसा गर्छन्। मृत्युपश्चात् तिनै पशुहरूले ती हिंसक व्यक्तिहरूलाई खान्छन् ।।१४।।
द्विषन्तः परकायेषु स्वात्मानं हरिमीश्वरम् ।
मृतके सानुबन्धेऽस्मिन् बद्धस्नेहाः पतन्त्यधः ।। १५ ।।
नेपाली भावानुवादः जो मानिस अरूको शरीरमा अन्तर्यामी रूपले रहने श्रीहरिसँग द्वेष गर्छन् र आफ्नै मरणशील शरीर तथा नातागोताको मोहमा मात्र डुबिरहन्छन्, तिनीहरू नरकमा खस्दछन् ।।१५।।
ये कैवल्यमसम्प्राप्ता ये चातीताश्च मूढताम् ।
त्रैवर्गिका ह्यक्षणिका आत्मानं घातयन्ति ते ।। १६ ।।
नेपाली भावानुवादः जो व्यक्तिले न त पूर्ण ज्ञान प्राप्त गरेर मोक्ष पाएका छन्, न त उनीहरू पूर्ण अज्ञानी नै हुन्; यस्ता धर्म, अर्थ र काममा मात्र अलमलिएका चञ्चल व्यक्तिहरूले आफ्नै आत्माको पतन गराइरहेका हुन्छन् ।।१६।।
एत आत्महनोऽशान्ता अज्ञाने ज्ञानमानिनः ।
सीदन्त्यकृतकृत्या वै कालध्वस्तमनोरथाः ।। १७ ।।
नेपाली भावानुवादः यस्ता अज्ञानलाई नै ज्ञान मान्ने, आत्मघाती र अशान्त व्यक्तिहरूका मनोरथ कालले नष्ट गरिदिन्छ। उनीहरू आफ्नो कर्तव्य पूरा गर्न नसकी सधैँ दुःखी रहन्छन् ।।१७।।
हित्वात्यायासरचिता गृहापत्यसुहृच्छ्रियः ।
तमो विशन्त्यनिच्छन्तो वासुदेवपराङ्मुखाः ।। १८ ।।
नेपाली भावानुवादः भगवान् वासुदेवबाट विमुख भएका व्यक्तिहरू अत्यन्त परिश्रमले आर्जेका घर, सन्तान, मित्र र धनसम्पत्ति सबै यहीँ छोडेर अनिच्छापूर्वक अन्धकारमय नरकमा प्रवेश गर्दछन् ।।१८।।
राजोवाच
कस्मिन् काले स भगवान् किं वर्णः कीदृशो नृभिः ।
नाम्ना वा केन विधिना पूज्यते तदिहोच्यताम् ।। १९ ।।
नेपाली भावानुवादः राजा निमिले सोधे– ती भगवान् कुन समयमा कस्तो वर्ण र रूप धारण गर्नुहुन्छ? मानिसहरूले कुन नाम र विधिले उहाँको पूजा गर्छन्? कृपया बताउनुहोस् ।।१९।।
करभाजन उवाच
कृतं त्रेता द्वापरं च कलिरित्येषु केशवः ।
नानावर्णाभिधाकारो नानैव विधिनेज्यते ।। २० ।।
नेपाली भावानुवादः करभाजन योगीले भन्नुभयो– सत्य, त्रेता, द्वापर र कलि– यी चारै युगमा भगवान् केशवका अनेक वर्ण, नाम र आकार हुन्छन् र उहाँको पूजा पनि विभिन्न विधिले गरिन्छ ।।२०।।
कृते शुक्लश्चतुर्बाहुर्जटिलो वल्कलाम्बरः ।
कृष्णाजिनोपवीताक्षान् बिभ्रद् दण्डकमण्डलू ।। २१ ।।
नेपाली भावानुवादः सत्ययुगमा भगवान्को वर्ण सेतो हुन्छ। उहाँका चार हात र शिरमा जटा हुन्छ। उहाँले वृक्षका बोक्रा (वल्कल) को वस्त्र, मृगचर्म, जनै, रुद्राक्ष माला, दण्ड र कमण्डलु धारण गर्नुहुन्छ ।।२१।।
मनुष्यास्तु तदा शान्ता निर्वैराः सुहृदः समाः ।
यजन्ति तपसा देवं शमेन च दमेन च ।। २२ ।।
नेपाली भावानुवादः हे राजन्! त्यस समयका मानिसहरू शान्त, वैरभाव निकलिएका, सबैका हितैषी र समदर्शी हुन्थे। उनीहरू शम, दम र तपस्याद्वारा इन्द्रिय संमय गरी भगवान्को आराधना गर्थे ।।२२।।
हंसः सुपर्णो वैकुण्ठो धर्मो योगेश्वरोऽमलः ।
ईश्वरः पुरुषोऽव्यक्तः परमात्मेति गीयते ।। २३ ।।
नेपाली भावानुवादः त्यस युगमा भगवान्लाई हंस, सुपर्ण, वैकुण्ठ, धर्म, योगेश्वर, अमल, ईश्वर, पुरुष, अव्यक्त र परमात्मा जस्ता नामहरूले पुकारिन्थ्यो ।।२३।।
त्रेतायां रक्तवर्णोऽसौ चतुर्बाहुस्त्रिमेखलः ।
हिरण्यकेशस्त्रय्यात्मा सुक्सुवाद्युपलक्षणः ।। २४ ।।
नेपाली भावानुवादः त्रेतायुगमा भगवान्को श्रीविग्रह रातो वर्णको हुन्छ। उहाँका चार हात र कम्मरमा तीन मेखला हुन्छन्। उहाँको केश सुनौलो हुन्छ र उहाँ यज्ञस्वरुप भई स्रुक तथा स्रुव आदि यज्ञपात्र धारण गर्नुहुन्छ ।।२४।।
तं तदा मनुजा देवं सर्वदेवमयं हरिम् ।
यजन्ति विद्यया त्रय्या धर्मिष्ठा ब्रह्मवादिनः ।। २५ ।।
नेपाली भावानुवादः त्यस युगमा धर्मनिष्ठ र ब्रह्मज्ञानी मनुष्यहरूले ऋग्वेद, यजुर्वेद र सामवेदमा बताइएका मन्त्रहरूद्वारा सर्वदेवस्वरूप श्रीहरिको पूजा गर्दछन् ।।२५।।
विष्णुर्यज्ञः पृश्निगर्भः सर्वदेव उरुक्रमः ।
वृषाकपिर्जयन्तश्च उरुगाय इतीर्यते ।। २६ ।।
नेपाली भावानुवादः त्रेतायुगमा उहाँलाई विष्णु, यज्ञ, पृश्निगर्भ, सर्वदेव, उरुक्रम, वृषाकपि, जयन्त र उरुगाय आदि नामले सम्बोधन गरिन्छ ।।२६।।
द्वापरे भगवाञ्छ्यामः पीतवासा निजायुधः ।
श्रीवत्सादिभिरङ्कुश्च लक्षणैरुपलक्षितः ।। २७ ।।
नेपाली भावानुवादः द्वापरयुगमा भगवान् श्यामवर्णको हुनुहुन्छ। उहाँले पहेँलो वस्त्र (पीताम्बर) र आफ्ना आयुधहरू धारण गर्नुहुन्छ। उहाँको वक्षस्थलमा श्रीवत्स र कौस्तुभ मणि आदि विशेष चिह्नहरू हुन्छन् ।।२७।।
तं तदा पुरुषं मत्र्या महाराजोपलक्षणम् ।
नेपाली भावानुवादः हे राजा! त्यस समयमा परमात्मालाई जान्न चाहने मनुष्यहरूले महाराजका जस्ता छत्र–चामरादि लक्षणले युक्त भगवान्को वैदिक र तान्त्रिक दुवै विधिले पूजा गर्दछन् ।।२८।।
नमस्ते वासुदेवाय नमः सङ्कर्षणाय च ।
प्रद्युम्न्नायानिरुद्धाय तुभ्यं भगवते नमः ।। २९ ।।
नेपाली भावानुवादः भगवान् वासुदेव, सङ्कर्षण, प्रद्युम्न र अनिरुद्ध स्वरूप तपाईं भगवान्लाई नमस्कार छ ।।२९।।
नारायणाय ऋषये पुरुषाय महात्मने ।
विश्वेश्वराय विश्वाय सर्वभूतात्मने नमः ।। ३० ।।
नेपाली भावानुवादः नारायण ऋषि, महात्मा पुरुष, विश्वेश्वर, विश्वरूप र सर्वभूतात्मा भगवान्लाई नमस्कार छ भन्दै स्तुति गर्दछन् ।।३०।।
इति द्वापर उर्वीश स्तुवन्ति जगदीश्वरम् ।
नानातन्त्रविधानेन कलावपि यथा शृणु ।। ३१ ।।
नेपाली भावानुवादः हे पृथ्वीपति! द्वापरयुगमा यसरी शास्त्रको विधान अनुसार जगदीश्वरको स्तुति गरिन्छ। अब कलियुगमा जसरी पूजा गरिन्छ, त्यो सुन्नुहोस् ।।३१।।
कृष्णवर्णं त्विषाकृष्णं साङ्गोपाङ्गास्त्रपार्षदम् ।
यज्ञैः सङ्कीर्तनप्रायैर्यजन्ति हि सुमेधसः ।। ३२ ।।
नेपाली भावानुवादः कलियुगमा भगवान्को वर्ण (नाम) कृष्ण भए पनि उहाँ इन्द्रनीलमणि जस्तै कान्तिमय उज्यालो हुनुहुन्छ। उहाँ आफ्ना अङ्ग, उपाङ्ग, अस्त्र र पार्षदहरूले युक्त हुनुहुन्छ। बुद्धिमान् मानिसहरू सङ्कीर्तन प्रधान यज्ञद्वारा उहाँको आराधना गर्दछन् ।।३२।।
ध्येयं सदा परिभवघ्नमभीष्टदोहं
तीर्थास्पदं शिवविरिञ्चिनुतं शरण्यम् ।
भृत्यार्तिहं प्रणतपाल भवाब्धिपोतं
वन्दे महापुरुष ते चरणारविन्दम् ।। ३३ ।।
नेपाली भावानुवादः हे भक्तवत्सल महापुरुष! संसारको तिरस्कारलाई नाश गर्ने, सबै इच्छाहरू पूरा गर्ने, समस्त तीर्थहरूको आश्रयस्थल, शिव र ब्रह्माद्वारा वन्दित, शरणागतको रक्षा गर्ने, सेवकहरूको दुःख हर्ने र भवसागर तर्ने डुङ्गा समान तपाईंको चरणकमलको म वन्दना गर्दछु ।।३३।।
त्यक्त्वा सुदुस्त्यजसुरेप्सितराज्यलक्ष्मीं
धर्मिष्ठ आर्यवचसा यदगादरण्यम् ।
मायामृगं दयितयेप्सितमन्वधावद्
वन्दे महापुरुष ते चरणारविन्दम् ।। ३४ ।।
नेपाली भावानुवादः हे धर्मनिष्ठ महापुरुष! तपाईंले पिताको वचन शिरोधार्य गरी देवताहरूले समेत इच्छा गर्ने दुर्लभ राज्यलक्ष्मी त्यागेर वनवास जानुभयो र आफ्नी प्रिया सीताको इच्छाका लागि मायामृगको पछि दौडनुभयो; त्यस्ता तपाईंको चरणकमलमा म वन्दना गर्दछु ।।३४।।
एवं युगानुरूपाभ्यां भगवान् युगवर्तिभिः ।
मनुजैरिज्यते राजन् श्रेयसामीश्वरो हरिः ।। ३५ ।।
नेपाली भावानुवादः हे राजन्! यसरी विभिन्न युगमा त्यहाँका मानिसहरूले युग अनुसारका नाम र रूपद्वारा सबैका कल्याणकारी श्रीहरिको पूजा गर्दछन् ।।३५।।
कलिं सभाजयन्त्यार्या गुणज्ञाः सारभागिनः ।
यत्र सङ्कीर्तनेनैव सर्वः स्वार्थोऽभिलभ्यते ।। ३६ ।।
नेपाली भावानुवादः सार बुझ्ने गुणग्राही महानुभावहरू कलियुगको प्रशंसा गर्छन्, किनकि यस युगमा केवल नाम सङ्कीर्तनबाटै सबै मनोरथहरू सिद्ध हुन्छन् ।।३६।।
न ह्यतः परमो लाभो देहिनां भ्राम्यतामिह ।
यतो विन्देत परमां शान्तिं नश्यति संसृतिः ।। ३७ ।।
नेपाली भावानुवादः यस संसारमा भटकिएका जीवहरूका लागि हरिकीर्तन भन्दा ठुलो अर्को लाभ छैन, किनकि यसबाट परम शान्ति मिल्छ र जन्म–मरणको चक्र नष्ट हुन्छ ।।३७।।
कृतादिषु प्रजा राजन् कलाविच्छन्ति सम्भवम् ।
कलौ खलु भविष्यन्ति नारायणपरायणाः ।। ३८ ।।
नेपाली भावानुवादः हे राजा! सत्य आदि युगका मानिसहरू पनि कलियुगमा जन्म लिन चाहन्छन्, किनकि कलियुगमा नारायणका परम भक्तहरू धेरै हुनेछन् ।।३८।।
क्वचित् क्वचिन्महाराज द्रविडेषु च भूरिशः ।
ताम्रपर्णी नदी यत्र कृतमाला पयस्विनी ।। ३९ ।।
कावेरी च महापुण्या प्रतीची च महानदी ।
ये पिबन्ति जलं तासां मनुजा मनुजेश्वर ।
प्रायो भक्ता भगवति वासुदेवेऽमलाशयाः ।। ४० ।।
नेपाली भावानुवादः हे महाराज! विशेष गरी द्रविड देशमा जहाँ ताम्रपर्णी, कृतमाला, पयस्विनी, कावेरी र प्रतीची जस्ता पवित्र नदीहरू बग्दछन्, त्यहाँका मानिसहरू ती नदीको जल पिउनाले शुद्ध अन्तःकरणका भई भगवान् वासुदेवका भक्त बन्दछन् ।।३९–४०।।
देवर्षिभूताप्तनृणां पितृणां
न किङ्करो नायमृणी च राजन् ।
सर्वात्मना यः शरणं शरण्यं
गतो मुकुन्दं परिहृत्य कर्तम् ।। ४१ ।।
नेपाली भावानुवादः हे राजा! जो व्यक्ति आफ्ना सबै सांसारिक कर्तव्यहरू त्यागेर सर्वतोभावले शरणागतवत्सल भगवान् मुकुन्दको शरणमा पर्छ, ऊ देवता, ऋषि, प्राणी, कुटुम्ब र पितृहरूको ऋणबाट मुक्त हुन्छ; ऊ कसैको किङ्कर (दास) रहँदैन ।।४१।।
स्वपादममूलं भजतः प्रियस्य
त्यक्तान्यभावस्य हरिः परेशः ।
विकर्म यच्चोत्पतितं कथञ्चिद्
धुनोति सर्वं हृदि सन्निविष्टः ।। ४२ ।।
नेपाली भावानुवादः अन्य सबै आश्रय छोडेर अनन्य भावले भगवान्को चरणकमलको भजन गर्ने प्रिय भक्तबाट यदि कहिलेकाहीँ भूलवश कुनै निषिद्ध कर्म हुन गएमा पनि हृदयमा रहनुहुने परमेश्वर श्रीहरिले त्यसलाई नष्ट गरिदिनुहुन्छ ।।४२।।
नारद उवाच
धर्मान् भागवतानित्थं श्रुत्वाथ मिथिलेश्वरः ।
जायन्तेयान् मुनीन् प्रीतः सोपाध्यायो ह्यपूजयत् ।। ४३ ।।
नेपाली भावानुवादः नारदजीले भन्नुभयो– यसरी भागवत धर्मको महिमा सुनेपछि मिथिलाका राजा जनकले प्रसन्न भई आफ्ना पुरोहितसहित ती नवयोगीश्वरहरूको विधिपूर्वक पूजा गरे ।।४३।।
ततोऽन्तर्दधिरे सिद्धाः सर्वलोकस्य पश्यतः ।
राजा धर्मानुपातिष्ठन्नवाप परमां गतिम् ।। ४४ ।।
नेपाली भावानुवादः त्यसपछि ती सिद्ध योगीहरू सबैले देख्दादेख्दै अन्तर्ध्यान भए। राजा निमिले पनि उनीहरूले बताएको धर्मको पालना गरी परमगति प्राप्त गरे ।।४४।।
त्वमप्येतान् महाभाग धर्मान् भागवताञ्छ्रुतान् ।
आस्थितः श्रद्धया युक्तो निःसङ्गो यास्यसे परम् ।। ४५ ।।
नेपाली भावानुवादः हे महाभाग वसुदेव! तपाईंले पनि यी सुनेका भागवत धर्महरूलाई श्रद्धापूर्वक आचरण गरी आसक्तिरहित भई परमपद प्राप्त गर्नुहुनेछ ।।४५।।
युवयोः खलु दम्पत्योर्यशसा पूरितं जगत् ।
पुत्रतामगमद् यद् वां भगवानीश्वरो हरिः ।। ४६ ।।
नेपाली भावानुवादः तपाईं दम्पतीको यशले यो संसार भरिएको छ, किनकि साक्षात् ईश्वर श्रीहरि तपाईंहरूको पुत्रका रूपमा प्रकट हुनुभएको छ ।।४६।।
आत्मा वां पावितः कृष्णे पुत्रस्नेहं प्रकुर्वतोः ।। ४७ ।।
नेपाली भावानुवादः श्रीकृष्णलाई पुत्रका रूपमा स्नेह गर्दागर्दै उहाँको दर्शन, आलिङ्गन, संवाद, सँगै सुत्ने र खाने आदि कारणले तपाईंहरूका आत्मा पूर्ण रूपमा पवित्र भइसकेका छन् ।।४७।।
वैरेण यं नृपतयः शिशुपालपौण्ड्र–
मापत्यबुद्धिमकृथाः कृष्णे सर्वात्मनीश्वरे ।
मायामनुष्यभावेन गूढैश्वर्ये परेऽव्यये ।। ४९ ।।
नेपाली भावानुवादः श्रीकृष्णलाई केवल आफ्नो छोरो मात्र नठान्नुहोस्। उहाँ त मायाले मनुष्य रूप धारण गर्नुभएका, आफ्नो ऐश्वर्य लुकाउनुभएका, सम्पूर्ण जगत्का आत्मा र अविनाशी परमेश्वर हुनुहुन्छ ।।४९।।
भूभारासुरराजन्यहन्तवे गुप्तये सताम् ।
अवतीर्णस्य निर्वृत्यै यशो लोके वितन्यते ।। ५० ।।
नेपाली भावानुवादः पृथ्वीको भार स्वरूप रहेका असुर रूपी राजाहरूको विनाश गर्न, सज्जनहरूको रक्षा गर्न र भक्तहरूलाई मोक्ष दिनका लागि अवतार लिनुभएका भगवान्को कीर्ति संसारभरि फैलिएको छ ।।५०।।
श्रीशुक उवाच
एतच्छ्रुत्वा महाभागो वसुदेवोऽतिविस्मितः ।
देवकी च महाभागा जहतुर्मोहमात्मनः ।। ५१ ।।
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– यो कुरा सुनेर महाभाग्यवान् वसुदेव र देवकी अत्यन्त विस्मित भए र उनीहरूले आफ्नो मोह पूर्ण रूपमा त्याग गरे ।।५१।।
इतिहासमिमं पुण्यं धारयेद् यः समाहितः ।
स विधूयेह शमलम ब्रह्मभूयाय कल्पते ।। ५२ ।।
नेपाली भावानुवादः जसले यस पवित्र इतिहासलाई एकाग्रचित्त भई धारण गर्दछ, उसले आफ्ना सबै पापहरू पखालेर ब्रह्मपद प्राप्त गर्दछ ।।५२।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको एकादश स्कन्ध अन्तर्गतको पाँचौँ अध्याय आध्यात्मिक र दार्शनिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ। यस अध्यायमा राजा निमि र नवयोगीश्वरहरू बीचको संवादको उपसंहार गरिएको छ। संवादको प्रारम्भमा राजा निमिले भगवान्को भजन नगर्ने र इन्द्रियहरूलाई वशमा नराख्ने व्यक्तिहरूको गति के हुन्छ भनी जिज्ञासा राख्छन्। यसको उत्तरमा चमस योगीले वर्णाश्रम धर्मको उत्पत्ति र भगवान्को अनादर गर्नेहरूको पतनका बारेमा विस्तृत व्याख्या गर्नुभएको छ। उहाँले बताउनुभयो कि विराट् पुरुषको विभिन्न अङ्गबाट उत्पन्न भएका चार वर्ण र चार आश्रमका मानिसहरूले यदि आफ्ना उत्पत्तिकर्ता भगवान्को आराधना गर्दैनन् भने उनीहरू आफ्नो स्थानबाट भ्रष्ट हुन्छन्। विशेष गरी कर्मकाण्डको अहङ्कारमा फसेका र सांसारिक सुखमा मात्र भुलेका व्यक्तिहरू कसरी नरकगामी हुन्छन् भन्ने कुरा यस अध्यायमा स्पष्ट पारिएको छ।
त्यसपछि राजा निमिले विभिन्न युगमा भगवान्को अवतार, वर्ण, नाम र पूजा विधिको बारेमा प्रश्न गर्नुहुन्छ। करभाजन योगीले यसको सविस्तार वर्णन गर्दै सत्य, त्रेता, द्वापर र कलियुगमा भगवान्का फरक–फरक स्वरूप र साधना पद्धतिका बारेमा बताउनुभएको छ। सत्ययुगमा ध्यान, त्रेतामा यज्ञ र द्वापरमा अर्चना पद्धतिको प्रधानता थियो भने कलियुगमा केवल 'नाम सङ्कीर्तन' नै सर्वश्रेष्ठ साधन भएको उल्लेख गरिएको छ। कलियुगमा शास्त्रका जटिल विधिहरू पालना गर्न कठिन हुने भएकाले भगवान्को नाम जप र कीर्तनबाटै पूर्ण फल प्राप्त हुने कुरामा जोड दिइएको छ। त्यसैले अन्य युगका ज्ञानीहरू पनि कलियुगमा जन्म लिन लालायित हुन्छन् भन्ने रोचक तथ्य यहाँ प्रस्तुत गरिएको छ।
अध्यायको अन्त्यमा नारदजीले वसुदेव र देवकीलाई यो प्रसङ्ग सुनाउँदै श्रीकृष्णलाई केवल पुत्रको रूपमा मात्र नहेरी साक्षात् परमेश्वरका रूपमा बुझ्न आग्रह गर्नुहुन्छ। शत्रुता भावले ध्यान गर्नेहरूले त मुक्ति पाउँछन् भने वात्सल्य भावले सेवा गर्ने वसुदेव र देवकीको त झन् परम कल्याण निश्चित छ। अन्त्यमा यस पवित्र इतिहासको श्रवण र मननले मानिसलाई ब्रह्मपद प्राप्त हुने फलश्रुति दिइएको छ।
दार्शनिक पक्ष
यस अध्यायको दार्शनिक पक्षले मुख्यतया 'भागवत धर्म' र 'शरणागति' को सिद्धान्तलाई उजागर गर्दछ। पहिलो दार्शनिक निचोड यो हो कि मानिसको सामाजिक र आध्यात्मिक स्थिति जेसुकै भए पनि उसको अन्तिम लक्ष्य ईश्वरको सेवा र भजन नै हुनुपर्दछ। केवल कर्मकाण्डीय विधि र अहङ्कारले मानिसलाई मुक्त गर्न सक्दैन। दोस्रो महत्वपूर्ण पक्ष भनेको 'काल सापेक्ष साधना' हो, जसमा कलियुगका लागि भक्ति र सङ्कीर्तनलाई सबैभन्दा सुलभ र प्रभावकारी मार्ग मानिएको छ। तेस्रो पक्षमा शरणागतिको महिमा गाइएको छ; जसले भगवान् मुकुन्दको पूर्ण आश्रय लिन्छ, ऊ सबै प्रकारका ऋण र सांसारिक बन्धनबाट मुक्त हुन्छ। यसले अद्वैत र द्वैत भक्तिको सुन्दर समन्वय प्रस्तुत गर्दै जीवात्मा र परमात्माको सम्बन्धलाई स्पष्ट पारेको छ।
No comments:
Post a Comment