श्रीमद्भागवत महापुराण
दशमः स्कंधः–तृतीयोध्याऽयः
अथ सर्वगुणोपेतः कालः परमशोभनः ।
यर्ह्येवाजनजन्मर्क्षं शान्तर्क्षग्रहतारकम् ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित् ! अब सबै शुभ गुणहरूले सम्पन्न परम सुन्दर समय आयो । रोहिणी नक्षत्र थियो । आकाशका सबै नक्षत्र, ग्रह र ताराहरू शान्त एवं अनुकूल थिए ।। १ ।।
दिशः प्रसेदुर्गगनं निर्मलोडुगणोदयम् ।
मही मङ्गलभूयिष्ठपुरग्रामव्रजाकरा ॥ २ ॥
नेपाली भावानुवादः दिशाहरू प्रसन्न (निर्मल) थिए । आकाशमा ताराहरू चम्किरहेका थिए । पृथ्वीका ठूलासाना सहर, गाउँ, गोठ र खानीहरू मंगलमय देखिन्थे ।। २ ।।
नद्यः प्रसन्नसलिला ह्रदा जलरुहश्रियः ।
द्विजालिकुलसन्नादस्तबका वनराजयः ॥ ३ ॥
नेपाली भावानुवादः नदीहरूमा निर्मल जल प्रवाहित थियो । पोखरीहरू कमलको शोभाले युक्त थिए । वनका पंक्तिहरू फुलका झुप्पा, चराचुरुङ्गीहरूको मधुर स्वर र भमराहरूको गुञ्जनले भरिएका थिए ।। ३ ।।
ववौ वायुः सुखस्पर्शः पुण्यगन्धवहः शुचिः ।
अग्नयश्च द्विजातीनां शान्तास्तत्र समिन्धत ॥ ४ ॥
नेपाली भावानुवादः सुगन्धित, पवित्र र सुखद स्पर्श भएको मन्द वायु चल्न थाल्यो । कंसको अत्याचारले निभेका ब्राह्मणहरूका अग्निहोत्रका अग्निहरू स्वतः प्रज्वलित हुन थाले ।। ४ ।।
मनांस्यासन् प्रसन्नानि साधूनामसुरद्रुहाम् ।
जायमानेऽजने तस्मिन् नेदुर्दुन्दुभयो दिवि ॥ ५ ॥
नेपाली भावानुवादः जब अजन्मा भगवान् प्रकट हुने समय आयो, तब असुरहरूबाट पीडित साधु र देवताहरूको मन प्रसन्न भयो । स्वर्गमा दुन्दुभि आदि बाजाहरू बज्न थाले ।। ५ ।।
जगुः किन्नरगन्धर्वास्तुष्टुवुः सिद्धचारणाः ।
विद्याधर्यश्च ननृतुरप्सरोभिः समं तदा ॥ ६ ॥
नेपाली भावानुवादः किन्नर र गन्धर्वहरू मधुर स्वरमा गायन गर्न थाले । सिद्ध र चारणहरूले भगवान्को स्तुति गरे । विद्याधरीहरू अप्सराहरूसँगै नाच्न थाले ।। ६ ।।
मुमुचुर्मुनयो देवाः सुमनांसि मुदान्विताः । मन्दं मन्दं जलधरा जगर्जुरनुसागरम् ॥ ७ ॥
नेपाली भावानुवादः मुनि र देवताहरूले अत्यन्त हर्षित भएर पुष्पवृष्टि गरे । जलले भरिएका बादलहरू समुद्रको गर्जन झैँ मन्द–मन्द स्वरमा गर्जन थाले ।। ७ ।।
देवक्यां देवरूपिण्यां विष्णुः सर्वगुहाशयः ।
आविरासीद् यथा प्राच्यां दिशि इन्दुरिव पुष्कलः ॥ ८ ॥
नेपाली भावानुवादः चारैतिर अन्धकार व्याप्त भएको अर्धरात्रिमा सबैको हृदयमा विराजमान भगवान् विष्णु देवकीको गर्भबाट प्रकट हुनुभयो । जसरी पूर्व दिशामा पूर्ण चन्द्रमा उदय हुन्छन्, त्यसरी नै दिव्यस्वरूपा देवकीबाट भगवान् जनार्दनको प्राकट्य भयो ।। ८ ।।
तमद्भुतं बालकमम्बुजेक्षणं
चतुर्भुजं शंखगदार्युदायुधम् ।
श्रीवत्सलक्ष्मं गलशोभिकौस्तुभं
पीताम्बरं सान्द्रपयोदसौभगम् ॥ ९ ॥
महार्हवैदूर्यकिरीटकुण्डल–
उद्दामकाञ्च्यङ्गदकङ्कणादिभि
र्विरोचमानं वसुदेव ऐक्षत ॥ १० ॥
नेपाली भावानुवादः वसुदेवजीले आफ्नो सम्मुख एक अद्भुत बालक देख्नुभयो । उहाँका नेत्र कमल झैँ विशाल थिए, चार हातमा शंख, चक्र, गदा र पद्म थिए । वक्षस्थलमा श्रीवत्सको चिह्न र गलामा कौस्तुभमणि सुशोभित थियो । वर्षाकालीन बादल झैँ सुन्दर श्यामवर्णका ती बालकले पीताम्बर धारण गर्नुभएको थियो । बहुमूल्य वैदूर्यमणिको मुकुट र कुण्डलको कान्तिले कपाल चम्किरहेको थियो । अत्यन्त शोभायमान कम्मरपेटी, बाजू र कंगन आदि आभूषणहरूले सजिएका ती प्रभुलाई वसुदेवजीले टुलुटुलु हेरिरहनुभयो ।। ९–१० ।।
स विस्मयोत्फुल्लविलोचनो हरिं
सुतं विलोक्यानकदुन्दुभिस्तदा ।
कृष्णावतारोत्सवसंभ्रमोऽस्पृशन्
मुदा द्विजेभ्योऽयुतमाप्लुतो गवाम् ॥ ११ ॥
नेपाली भावानुवादः आश्चर्यले आँखा फैलाउँदै वसुदेवजीले ती हरि (भगवान्) लाई पुत्रको रूपमा देख्नुभयो । श्रीकृष्णको अवतारको उत्सव मनाउने उत्साहमा उनले मनमनै ब्राह्मणहरूका लागि १०,००० गाई दान गर्ने सङ्कल्प गरे ।। ११ ।।
अथैनमस्तौदवधार्य पूरुषं
परं नताङ्गः कृतधीः कृताञ्जलिः ।
स्वरोचिषा भारत सूतिकागृहं
विरोचयन्तं गतभीः प्रभाववित् ॥ १२ ॥
नेपाली भावानुवादः हे भरतवंशी परीक्षित् ! ती बालकले आफ्नो कान्तिले सूतिकागृहलाई प्रकाशित गरिरहेका थिए । उहाँको प्रभाव बुझेका वसुदेवजीको सबै डर हरायो । उहाँले हात जोडेर, विनम्र भई स्थिर बुद्धिले ती परम पुरुषको स्तुति गर्न थाल्नुभयो ।। १२ ।।
वसुदेव उवाच –
विदितोऽसि भवान् साक्षात् पुरुषः प्रकृतेः परः ।
केवलानुभवानन्दस्वरूपः सर्वबुद्धिदृक् ॥ १३ ॥
नेपाली भावानुवादः वसुदेवजीले भन्नुभयो– हजुर प्रकृतिभन्दा परका साक्षात् परम पुरुष हुनुहुन्छ भन्ने मैले बुझेँ । हजुर केवल अनुभवगम्य आनन्दस्वरूप र सबै बुद्धिका साक्षी हुनुहुन्छ ।। १३ ।।
स एव स्वप्रकृत्येदं सृष्ट्वाग्रे त्रिगुणात्मकम् ।
तदनु त्वं ह्यप्रविष्टः प्रविष्ट इव भाव्यसे ॥ १४ ॥
नेपाली भावानुवादः हजुरले नै सुरुमा आफ्नो प्रकृतिद्वारा यस त्रिगुणात्मक जगत्को सृष्टि गर्नुभयो । वास्तवमा हजुर निर्विकार हुनाले त्यसमा प्रवेश नगरे पनि प्रवेश गरेको जस्तो प्रतीत हुनुहुन्छ ।। १४ ।।
यथेमेऽविकृता भावास्तथा ते विकृतैः सह ।
नानावीर्याः पृथग्भूता विराजं जनयन्ति हि ॥ १५ ॥
सन्निपत्य समुत्पाद्य दृश्यन्तेऽनुगता इव ।
प्रागेव विद्यमानत्वान्न तेषामिह संभवः ॥ १६ ॥
नेपाली भावानुवादः जसरी महत्तत्त्व आदि कारणहरू पहिले अलग–अलग हुन्छन् र पछि विकारहरूसँग मिलेर ब्रह्माण्डको निर्माण गर्दा त्यसमा अनुगत (प्रविष्ट) भए झैँ देखिन्छन्, तर ती पहिले देखि नै विद्यमान हुने भएकाले वास्तवमा तिनको नयाँ प्रवेश सम्भव छैन (त्यस्तै हजुर पनि सर्वत्र हुनुहुन्छ) ।। १५–१६ ।।
एवं भवान् बुद्ध्यनुमेयलक्षणै
र्ग्राह्यैर्गुणैः सन्नपि तद्गुणाग्रहः ।
अनावृतत्वाद् बहिरन्तरं न ते
सर्वस्य सर्वात्मन आत्मवस्तुनः ॥ १७ ॥
नेपाली भावानुवादः बुद्धिद्वारा अनुमान गरिने गुणहरूबाट हजुरको अस्तित्व बोध भए तापनि हजुर ती गुणहरूबाट अलग हुनुहुन्छ । सबैका आत्मा हुनाले हजुरमा भित्र र बाहिर भन्ने भेद छैन, त्यसैले हजुरको प्रवेश वा अप्रवेशको प्रश्न नै रहँदैन ।। १७ ।।
य आत्मनो दृश्यगुणेषु सन्निति
व्यवस्यते स्वव्यतिरेकतोऽबुधः ।
विनानुवादं न च तन्मनीषितं
सम्यग् यतस्त्यक्तमुपाददत् पुमान् ॥ १८ ॥
नेपाली भावानुवादः जसले यी दृश्य गुणहरूलाई आत्माभन्दा भिन्न र सत्य मान्छ, त्यो अज्ञानी हो । जसले विवेकीहरूद्वारा त्यागिएको यस असत्य संसारलाई सत्य ठान्छ, उसले भ्रम मात्र प्राप्त गर्दछ ।। १८ ।।
त्वत्तोऽस्य जन्मस्थितिसंयमान् विभो
वदन्त्यनीहादगुणादविक्रियात् ।
त्वयीश्वरे ब्रह्मणि नो विरुध्यते
त्वदाश्रयत्वादुपचर्यते गुणैः ॥ १९ ॥
नेपाली भावानुवादः हे विभो ! हजुर स्वयं चेष्टाशून्य, निर्गुण र निर्विकार भए तापनि यस जगत्को सृष्टि, स्थिति र लय हजुरबाटै हुन्छ भनिन्छ । हजुर नै सबैका आश्रय हुनाले हजुरमा यी विरोधाभासहरू पनि सम्भव छन् ।। १९ ।।
स त्वं त्रिलोकस्थितये स्वमायया
बिभर्षि शुक्लं खलु वर्णमात्मनः ।
सर्गाय रक्तं रजसोपबृंहितं
कृष्णं च वर्णं तमसा जनात्यये ॥ २० ॥
नेपाली भावानुवादः हजुरले जगत्को रक्षाका लागि सत्त्वगुणद्वारा शुक्ल वर्ण (विष्णु), सृष्टिका लागि रजोगुणद्वारा रक्त वर्ण (ब्रह्मा) र संहारका लागि तमोगुणद्वारा कृष्ण वर्ण (रुद्र) धारण गर्नुहुन्छ ।। २० ।।
त्वमस्य लोकस्य विभो रिरक्षिषु
र्गुहेऽवतीर्णोऽसि ममाखिलेश्वर ।
राजन्यसंज्ञासुरकोटियूथपै
र्निर्व्यूह्यमाना निहनिष्यसे चमूः ॥ २१ ॥
नेपाली भावानुवादः हे अखिलेश्वर ! हजुर यस लोकको रक्षाका लागि मेरो घरमा अवतरण हुनुभएको हो । राजाका नाममा रहेका करोडौँ असुर सेनाहरूलाई हजुरले संहार गर्नुहुनेछ ।। २१ ।।
अयं त्वसभ्यस्तव जन्म नौ गृहे
श्रुत्वाग्रजांस्ते न्यवधीत् सुरेश्वर ।
स तेऽवतारं पुरुषैः समर्पितं
श्रुत्वाधुनैवाभिसरत्युदायुधः ॥ २२ ॥
नेपाली भावानुवादः हे सुरेश्वर ! यो दुष्ट कंसले हाम्रो घरमा हजुरको जन्म हुने कुरा सुनेर हजुरका दाजुहरूलाई मारिदियो । अहिले हजुर प्रकट भएको समाचार सुनेर ऊ हातमा हतियार लिई यहाँ आउनेछ ।। २२ ।।
शुक उवाच –
अथैनमात्मजं वीक्ष्य महापुरुषलक्षणम् ।
देवकी तमुपाधावत् कंसाद् भीता सुचिस्मिता ॥ २३ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित् ! महापुरुषका लक्षणले युक्त पुत्रलाई देखेपछि कंससँग डराएकी देवकीले मुसुक्क हाँस्दै स्तुति गर्न थाल्नुभयो ।। २३ ।।
देवक्युवाच –
रूपं यत् तत् प्राहुरव्यक्तमाद्यं
ब्रह्म ज्योतिर्निर्गुणं निर्विकारम् ।
सत्तामात्रं निर्विशेषं निरीहं स
त्वं साक्षात् विष्णुरध्यात्मदीपः ॥ २४ ॥
नेपाली भावानुवादः माता देवकीले भन्नुभयो– जसलाई शास्त्रहरूले अव्यक्त, आदि, निर्गुण, निर्विकार, सत्तामात्र र निरीह ब्रह्म भन्दछन्, ती बुद्धिका प्रकाशक साक्षात् विष्णु हजुर नै हुनुहुन्छ ।। २४ ।।
नष्टे लोके द्विपरार्धावसाने
महाभूतष्व्वादिभूतं गतेषु ।
व्यक्तेऽव्यक्तं कालवेगेन याते
भवानेकः शिष्यते शेषसंज्ञः ॥ २५ ॥
नेपाली भावानुवादः ब्रह्माको आयु समाप्त भएपछि जब सारा जगत् र पञ्चतत्त्वहरू प्रकृतिमा लीन हुन्छन्, तब केवल हजुर मात्र शेष रहनुहुन्छ, त्यसैले हजुरलाई 'शेष' भनिन्छ ।। २५ ।।
योऽयं कालस्तस्य तेऽव्यक्तबन्धो
चेष्टामाहुश्चेष्टते येन विश्वम् ।
निमेषादिर्वत्सरान्तो महीयांस्तं
त्वेशानं क्षेमधाम प्रपद्ये ॥ २६ ॥
नेपाली भावानुवादः हे प्रभु ! निमेषदेखि वर्षसम्मका विभागमा बाँडिएको यो काल हजुरकै चेष्टा हो, जसको आधारमा यो विश्व गतिशील छ । म हजुर जस्तो सर्वशक्तिमान् र कल्याणकारी प्रभुको शरण पर्दछु ।। २६ ।।
मर्त्यो मृत्युव्यालभीतः पलायन्
लोकान् सर्वान्निर्भयं नाध्यगच्छत् ।
त्वत्पादाब्जं प्राप्य यदृच्छयाद्य
स्वस्थः शेते मृत्युरस्मादपैति ॥ २७ ॥
नेपाली भावानुवादः हे नाथ ! यो मरणशील जीव मृत्यु रूपी सर्पबाट डराएर सर्वत्र भौँतारिँदा पनि कतै अभय प्राप्त गर्न सक्दैन । आज सौभाग्यवश हजुरको चरण प्राप्त गर्नाले ऊ स्वस्थ र निर्भय हुन्छ र मृत्यु पनि उसबाट भाग्दछ ।। २७ ।।
स त्वं घोरादुग्रसेनात्मजान्न
स्त्राहि त्रस्तान् भृत्यवित्रासहासि ।
रूपं चेदं पौरुषं ध्यानधिष्ण्यं
मा प्रत्यक्षं मांसदृशां कृषीष्ठाः ॥ २८ ॥
नेपाली भावानुवादः हजुर भक्तको भय भगाउने हुनुहुन्छ, त्यसैले उग्रसेनको छोरो कंसबाट डराएका हाम्रो रक्षा गर्नुहोस् । हजुरको यो चतुर्भुज दिव्य रूप ध्यानका लागि योग्य छ, यसलाई साधारण मानिसका अगाडि प्रकट नगर्नुहोस् ।। २८ ।।
जन्म ते मय्यसौ पापो मा विद्यान्मधुसूदन ।
समुद्विजे भवद्धेतोः कंसादहमधीरधीः ॥ २९ ॥
नेपाली भावानुवादः हे मधुसूदन ! हजुर मेरो गर्भबाट जन्मनुभएको कुरा त्यस पापी कंसले थाहा नपाओस् । हजुरको सुरक्षाको चिन्ताले म अत्यन्तै व्याकुल भएकी छु ।। २९ ।।
उपसंहर विश्वात्मन्नदो रूपमलौकिकम् ।
शंखचक्रगदापद्मश्रिया जुष्टं चतुर्भुजम् ॥ ३० ॥
नेपाली भावानुवादः हे विश्वात्मा ! शंख, चक्र, गदा र पद्मको शोभाले युक्त आफ्नो यस अलौकिक चतुर्भुज रूपलाई लुकाउनुहोस् ।। ३० ।।
विश्वं यदेतत् स्वतनौ निशान्ते
यथावकाशं पुरुषः परो भवान् ।
बिभर्ति सोऽयं मम गर्भगोऽभू
दहो नृलोकस्य विडंबनं हि तत् ॥ ३१ ॥
नेपाली भावानुवादः प्रलयकालमा सम्पूर्ण ब्रह्माण्डलाई आफ्नो शरीरमा राख्ने हजुर जस्तो परम पुरुष अहिले मेरो गर्भमा आउनुभयो, यो हजुरको कस्तो अद्भुत लीला हो ! ।। ३१ ।।
श्रीभगवानुवाच –
त्वमेव पूर्वसर्गेऽभूः पृश्निः स्वायंभुवे सति ।
तदायं सुतपा नाम प्रजापतिरकल्मषः ॥ ३२ ॥
नेपाली भावानुवादः श्रीभगवान्ले भन्नुभयो– हे देवी ! स्वायम्भुव मन्वन्तरको पहिलो सृष्टिमा तिमी 'पृश्नि' थियौ र यी वसुदेव 'सुतपा' नामका निष्पाप प्रजापति थिए ।। ३२ ।।
युवां वै ब्रह्मणाऽऽदिष्टौ प्रजासर्गे यदा ततः ।
सन्नियम्येन्द्रियग्रामं तेपाथे परमं तपः ॥ ३३ ॥
नेपाली भावानुवादः जब ब्रह्माजीले तिमीहरूलाई प्रजा उत्पन्न गर्ने आदेश दिनुभयो, तब तिमीहरूले इन्द्रियहरूलाई वशमा पारी कठोर तपस्या गर्यौ ।। ३३ ।।
वर्षवातातपहिमघर्मकालगुणाननु ।
सहमानौ श्वासरोधविनिर्धूतमनोमलौ ॥ ३४ ॥
नेपाली भावानुवादः वर्षा, वायु, घाम र जाडो जस्ता प्रकृतिका द्वन्द्वहरू सहँदै प्राणायामद्वारा तिमीहरूले मनका सारा मल धुन्यौ ।। ३४ ।।
शीर्णपर्णानिलाहारावुपशान्तेन चेतसा ।
मत्तः कामानभीप्सन्तौ मदाराधनमीहतुः ॥ ३५ ॥
नेपाली भावानुवादः कहिले सुकेका पात र कहिले हावा मात्र खाएर शान्त मनले तिमीहरूले मबाट पुत्र प्राप्तिको इच्छा राखी मेरो आराधना गर्यौ ।। ३५ ।।
एवं वां तप्यतोस्तीव्रं तपः परमदुष्करम् ।
दिव्यवर्षसहस्राणि द्वादशेयुर्मदात्मनोः ॥ ३६ ॥
नेपाली भावानुवादः ममा नै मन लगाएर यसरी अत्यन्त कठिन तपस्या गर्दागर्दै १२,००० दिव्य वर्ष बिते ।। ३६ ।।
प्रादुरासं वरदराड् युवयोः कामदित्सया ।
व्रियतां वर इत्युक्ते मादृशो वां वृतः सुतः ॥ ३८ ॥
नेपाली भावानुवादः हे अनघे ! तिमीहरूको श्रद्धा र भक्तिले प्रसन्न भई वरदान दिनका लागि म यही स्वरूपमा प्रकट भएँ । मैले 'वर माग' भन्दा तिमीहरूले म जस्तै पुत्र माग्यौ ।। ३७–३८ ।।
अजुष्टग्राम्यविषयावनपत्यौ च दम्पती ।
न वव्राथेऽपवर्गं मे मोहितौ मम मायया ॥ ३९ ॥
नेपाली भावानुवादः सन्तान नभएका कारण र मेरो मायाले मोहित भएकाले तिमीहरूले त्यसबेला मसँग मोक्ष मागेनौ ।। ३९ ।।
गते मयि युवां लब्ध्वा वरं मत्सदृशं सुतम् ।
ग्राम्यान् भोगानभुञ्जाथां युवां प्राप्तमनोरथौ ॥ ४० ॥
नेपाली भावानुवादः म जस्तै पुत्र पाउने वरदान पाएपछि आफ्नो मनोरथ पूर्ण भएको सम्झी तिमीहरू लौकिक सुख भोग्न थाल्यौ ।। ४० ।।
अदृष्ट्वा्न्यतमं लोके शीलौदार्यगुणैः समम् ।
अहं सुतो वामभवं पृश्निगर्भ इति श्रुतः ॥ ४१ ॥
नेपाली भावानुवादः संसारमा शील र उदारतामा म जस्तो अरू कोही नदेखेकाले म नै तिमीहरूको 'पृश्निगर्भ' नामको पुत्र भएर जन्मिएँ ।। ४१ ।।
तयोर्वां पुनरेवाहमदित्यामास कश्यपात् ।
उपेन्द्र इति विख्यातो वामनत्वाच्च वामनः ॥ ४२ ॥
नेपाली भावानुवादः त्यसपछि दोस्रो जन्ममा तिमीहरू कश्यप र अदिति भयौ । त्यसबेला म 'उपेन्द्र' नामले प्रसिद्ध भएँ र होचो कदका कारण मलाई 'वामन' पनि भनियो ।। ४२ ।।
तृतीयेऽस्मिन् भवेऽहं वै तेनैव वपुषाथ वाम् ।
जातो भूयस्तयोरेव सत्यं मे व्याहृतं सति ॥ ४३ ॥
नेपाली भावानुवादः हे सती ! यो तेस्रो जन्ममा पनि म फेरि तिमीहरूकै पुत्रका रूपमा त्यही दिव्य स्वरूप लिएर आएको छु । मेरो यो वचन सत्य हो ।। ४३ ।।
एतद् वां दर्शितं रूपं प्राग्जन्मस्मरणाय मे ।
नान्यथा मद्भशवं ज्ञानं मर्त्यलिङ्गेन जायते ॥ ४४ ॥
नेपाली भावानुवादः मैले तिमीहरूलाई यो रूप देखाउनुको कारण तिमीहरूलाई पूर्वजन्मको स्मरण गराउनु हो । अन्यथा, मनुष्य शरीर मात्र देख्दा मेरो वास्तविक स्वरूपको ज्ञान हुन गाह्रो हुन्छ ।। ४४ ।।
युवां मां पुत्रभावेन ब्रह्मभावेन चासकृत् ।
चिन्तयन्तौ कृतस्नेहौ यास्येथे मद्गातिं पराम् ॥ ४५ ॥
नेपाली भावानुवादः तिमीहरूले मलाई पुत्रभाव र ब्रह्मभाव दुवैले निरन्तर चिन्तन र प्रेम गर, जसले गर्दा तिमीहरूले मेरो परम धाम प्राप्त गर्नेछौ ।। ४५ ।।
शुक उवाच – इत्युक्त्वासीद्धरिस्तूष्णीं भगवानात्ममायया ।
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– यति भनिसकेपछि भगवान् मौन हुनुभयो र मातापिताले हेर्दाहेर्दै आफ्नो योगमायाले एक साधारण बालकको रूप धारण गर्नुभयो ।। ४६ ।।
ततश्च शौरिः भगवत्प्रचोदितः
सुतं समादाय स सूतिकागृहात् ।
यदा बहिर्गन्तुमियेष तर्ह्यजा
या योगमायाजनि नन्दजायया ॥ ४७ ॥
नेपाली भावानुवादः त्यसपछि भगवान्को प्रेरणाले वसुदेवजीले बालकलाई लिएर सूतिकागृहबाट बाहिर निस्कने इच्छा गर्नुभयो । ठिक त्यही समयमा नन्दकी पत्नी यशोदाको गर्भबाट अजन्मा योगमायाको जन्म भयो ।। ४७ ।।
तया हृतप्रत्ययसर्ववृत्तिषु द्वाःस्थेषु पौरेष्वपि शायितेष्वथ । द्वारस्तु सर्वाः पिहिता दुरत्यया बृहत्कपाटायसकीलशृंखलैः ॥ ४८ ॥
ताः कृष्णवाहे वसुदेव आगते
स्वयं व्यवर्यन्त यथा तमो रवेः ।
ववर्ष पर्जन्य उपांशुगर्जितः
शेषोऽन्वगाद् वारि निवारयन् फणैः ॥ ४९ ॥
नेपाली भावानुवादः ती योगमायाले गर्दा सबै द्वारपाल र पुरवासीहरूको इन्द्रियवृत्ति र चेतना हरण भयो र उनीहरू मस्त निद्रामा परे । कारागारका ती ठूला ढोकाहरू, फलामका साङ्ला र ताल्चाहरूले बलियो गरी बन्द थिए । तर कृष्णलाई बोकेर वसुदेवजी नजिक पुग्नासाथ सूर्यको उदयले अन्धकार हराए झैँ ती ढोकाहरू आफैँ खुले । बाहिर बादलले मन्द स्वरमा गर्जन गर्दै पानी पराइरहेको थियो भने शेषनागले आफ्ना फणाद्वारा छाता झैँ ओढाएर पानीबाट जोगाउँदै वसुदेवजीको पछिपछि लाग्नुभयो ।। ४८–४९ ।।
मघोनि वर्षत्यसकृत् यमानुजा
गंभीरतोयौघजवोर्मिफेनिला ।
भयानकावर्तशताकुला नदी
मार्गं ददौ सिन्धुरिव श्रियः पतेः ॥ ५० ॥
नेपाली भावानुवादः इन्द्रले बारम्बार वर्षा गराइरहेकाले यमुनाजीको बहाव बढेको थियो, जसमा भयानक भुमरी र फिँजहरू उठिरहेका थिए । तर जसरी पहिले समुद्रले श्रीपति रामलाई बाटो दिएको थियो, त्यसैगरी यमुना नदीले पनि भगवान् कृष्णलाई बाटो दिइन् ।। ५० ।।
नन्दव्रजं शौरिरुपेत्य तत्र तान्
गोपान् प्रसुप्तानुपलभ्य निद्रया ।
सुतं यशोदाशयने निधाय
तत्सुतामुपादाय पुनर्गृहानगात् ॥ ५१ ॥
नेपाली भावानुवादः नन्दको गोकुल पुगेपछि वसुदेवजीले त्यहाँका सबै गोप–गोपिनीहरू निद्रामा परेको देख्नुभयो । उहाँले बालकलाई यशोदाको ओछ्यानमा सुताइदिनुभयो र उनकी नवजात छोरीलाई लिएर पुनः कारागार फर्कनुभयो ।। ५१ ।।
देवक्याः शयने न्यस्य वसुदेवोऽथ दारिकाम् ।
प्रतिमुच्य पदोर्लोहमास्ते पूर्ववदावृतः ॥ ५२ ॥
नेपाली भावानुवादः कारागार पुगेर वसुदेवजीले ती बालिकालाई देवकीको ओछ्यानमा राख्नुभयो र आफ्नो खुट्टामा पुनः साङ्ला लगाएर पहिले झैँ बन्दी भएर बस्नुभयो ।। ५२ ।।
यशोदा नन्दपत्नी च जातं परमबुध्यत ।
न तल्लिङ्गं परिश्रान्ता निद्रयापगतस्मृतिः ॥ ५३ ॥
नेपाली भावानुवादः यता नन्दपत्नी यशोदाले सन्तान जन्मेको त थाहा पाइन्, तर प्रसव वेदना र निद्राको थकानका कारण उनी अचेत थिइन्, त्यसैले जन्मेको सन्तान छोरा हो कि छोरी, उनले थाहा पाउन सकिनन् ।। ५३ ।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको दशम स्कन्धको तेस्रो अध्यायमा भगवान् श्रीकृष्णको अलौकिक प्राकट्यको वर्णन गरिएको छ । जब पृथ्वीमा अधर्मको भार बढ्यो र कंस जस्ता असुरहरूको अत्याचार सीमा नाघ्यो, तब भगवान् विष्णुले देवकी र वसुदेवको कारागारमा अवतार लिनुभयो । भगवान् प्रकट हुनुअघि प्रकृतिमा अत्यन्त शुभ लक्षणहरू देखिए । आकाशमा निर्मल ताराहरू चम्किए, नदीहरूमा स्वच्छ जल प्रवाहित भयो र दिशा–दिशाहरू प्रसन्न भए । भाद्र कृष्ण अष्टमीको रोहिणी नक्षत्रयुक्त अर्धरात्रिमा भगवान् विष्णुले शंख, चक्र, गदा र पद्म धारण गरेको चतुर्भुज रूपमा दर्शन दिनुभयो । उहाँको दिव्य स्वरूप देखेर वसुदेव र देवकीले विस्मय र भक्तिपूर्वक स्तुति गरे । वसुदेवजीले उहाँलाई प्रकृतिभन्दा परको परम पुरुषका रूपमा चिन्नुभयो भने देवकीले कंसको डरले आफ्नो यो दिव्य रूप लुकाउन प्रार्थना गरिन् ।
भगवान्ले उनीहरूलाई पूर्वजन्मको स्मरण गराउँदै बताउनुभयो कि उनीहरूले सुतपा र पृश्नि हुँदा गरेको कठोर तपस्याका कारण नै उहाँ तीनपटक उनीहरूको पुत्रका रूपमा जन्मनुभएको हो । पहिलो जन्ममा पृश्निगर्भ, दोस्रोमा वामन र अहिले कृष्णका रूपमा । भगवान्को आज्ञा र योगमायाको प्रभावले कारागारका सबै ढोकाहरू आफैँ खुले र पहरेदारहरू निद्रामा परे । मुसलधारे वर्षाका बीच वसुदेवजीले बालक कृष्णलाई टोकरीमा राखेर यमुना पार गराई गोकुल लैजानुभयो । यमुनाजीले उहाँलाई बाटो दिइन् भने शेषनागले जलबाट रक्षा गरे । गोकुलमा यशोदाको ओछ्यानमा कृष्णलाई सुताएर त्यहाँ जन्मेकी योगमाया रूपी बालिकालाई लिएर वसुदेव पुनः कारागार फर्किनुभयो । यसरी भगवान्को मनुष्य लीलाको आरम्भ भयो र भक्तहरूको कल्याणका लागि उहाँले धर्तीमा पाइला टेक्नुभयो ।
दार्शनिक पक्ष
यस अध्यायले भगवान्को स्वरूप र जीवको मुक्तिको गहिरो दार्शनिक सन्देश दिन्छ । पहिलो कुरा, भगवान् 'अजन्मा' भएर पनि भक्तको प्रेम र तपस्याका कारण 'जन्म' लिए झैँ प्रकट हुनुहुन्छ, जसलाई 'प्राकट्य' भनिन्छ । वसुदेवको स्तुतिमा भनिएको छ कि भगवान् जगत्को सृष्टि र प्रवेश दुवै गरे जस्तो देखिए पनि वास्तवमा उहाँ निर्विकार र सर्वव्यापी हुनुहुन्छ । दोस्रो पक्ष, योगमायाको शक्ति हो, जसले अज्ञानीलाई मोहमा पार्छ भने भक्तलाई भगवान्को लीलामा सहभागी गराउँछ । यसले के प्रस्ट पार्छ भने संसार एउटा भ्रम (माया) हो र सत्य केवल परमात्मा मात्र हुनुहुन्छ । जबसम्म जीवले भगवान्लाई पुत्रभाव वा ब्रह्मभावले चिन्तन गर्दैन, तबसम्म उसले मृत्युको भयबाट मुक्ति पाउँदैन ।
No comments:
Post a Comment