श्रीमद्भागवत महापुराण
दशमः स्कंधः –एकोनचत्वारिंशोऽध्यायः
(अनुष्टुप्)
सुखोपविष्टः पर्यङ्के रामकृष्णोरुमानितः ।
लेभे मनोरथान् सर्वान् पथि यान् स चकार ह ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– भगवान् श्रीकृष्ण र बलरामबाट सम्मानित भएर अक्रुरजी पलङमा सुखपूर्वक विराजमान भए । मथुरा आउने बाटोमा उनले जे–जे अभिलाषा राखेका थिए, ती सबै पूर्ण भए ।। १ ।।
किमलभ्यं भगवति प्रसन्ने श्रीनिकेतने ।
तथापि तत्परा राजन्न हि वाञ्छन्ति किञ्चन ॥ २ ॥
नेपाली भावानुवादः हे महाराज परीक्षित् ! लक्ष्मीका आश्रयस्थान भगवान् श्रीकृष्ण प्रसन्न भएपछि अप्राप्य वस्तु के नै छ र? तैपनि उहाँका अनन्य प्रेमी भक्तजनहरू कुनै पनि सांसारिक वस्तुको कामना गर्दैनन् ।। २ ।।
सायंतनाशनं कृत्वा भगवान् देवकीसुतः ।
सुहृत्सु वृत्तं कंसस्य पप्रच्छान्यच्चिकीर्षितम् ॥ ३ ॥
नेपाली भावानुवादः देवकीपुत्र भगवान् श्रीकृष्णले साँझको भोजन गरिसकेपछि अक्रुरजीका नजिक गएर आफ्ना आत्मीय स्वजनहरूको अवस्था र कंसका आगामी योजनाका बारेमा सोधपुछ गर्नुभयो ।। ३ ।।
श्रीभगवानुवाच–
तात सौम्यागतः कच्चित् स्वागतं भद्रमस्तु वः ।
अपि स्वज्ञातिबन्धूनामनमीवमनामयम् ॥ ४ ॥
नेपाली भावानुवादः श्रीभगवान्ले भन्नुभयो– हे सौम्य काका ! तपाईंको आगमन सुखद रह्यो त? तपाईंको स्वागत छ, कल्याण होस् । हाम्रा ज्ञात–बान्धवहरू सबै रोग र शोकबाट मुक्त भई सकुशल त छन् नि? ।। ४ ।।
किं नु नः कुशलं पृच्छे एधमाने कुलामये ।
कंसे मातुलनाम्न्यङ्ग स्वानां नस्तत्प्रजासु च ॥ ५ ॥
नेपाली भावानुवादः हे काका ! कंस त हाम्रा कुलका निम्ति असाध्य रोगजस्तै हो । जबसम्म मामा नामको त्यो शत्रु शक्तिशाली भई बाँचिरहन्छ, तबसम्म हामीले आफ्ना वंश, प्रजा र बालबच्चाको कुशल मङ्गलका बारेमा के नै सोध्न सक्छौँ र? ।। ५ ।।
अहो अस्मदभूद् भूरि पित्रोर्वृजिनमार्ययोः ।
यद्धेतोः पुत्रमरणं यद्धेतोर्बन्धनं तयोः ॥ ६ ॥
नेपाली भावानुवादः अहो ! हाम्रै कारणले पूजनीय मातापिताले धेरै कष्ट भोग्नुपर्यो । हाम्रै कारणले उहाँहरूका पुत्रहरूको वध भयो र उहाँहरूले लामो समयसम्म बन्धनमा बस्नुपर्यो, यसका लागि मलाई निकै दुःख छ ।। ६ ।।
दिष्ट्याद्य दर्शनं स्वानां मह्यं वः सौम्य काङ्क्षितम् ।
सञ्जातं वर्ण्यतां तात तवागमनकारणम् ॥ ७ ॥
नेपाली भावानुवादः हे सौम्य काका ! म धेरै समयदेखि हजुरजस्ता आत्मीयजनको दर्शनको प्रतीक्षामा थिएँ । आज सौभाग्यवश हजुरको दर्शन पाउँदा मेरा सबै अभिलाषा पूर्ण भएका छन् । अब हजुर यहाँ आउनुको मुख्य कारण बताउनुहोस् ।। ७ ।।
शुक उवाच–
पृष्टो भगवता सर्वं वर्णयामास माधवः ।
वैरानुबन्धं यदुषु वसुदेववधोद्यमम् ॥ ८ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे राजन् ! भगवान्ले यसरी सोधेपछि अक्रुरले यदुवंशीहरूसँग कंसको शत्रुता र वसुदेवको हत्या गर्ने प्रयास लगायतका सबै कुरा विस्तारमा बताउनुभयो ।। ८ ।।
यत्सन्देशो यदर्थं वा दूतः सम्प्रेषितः स्वयम् ।
यदुक्तं नारदेनास्य स्वजन्मानकदुन्दुभेः ॥ ९ ॥
नेपाली भावानुवादः कंसले के सन्देश दिएर आफूलाई दूतका रूपमा पठाएको हो र देवर्षि नारदले वसुदेवबाट भगवान्को जन्म भएको रहस्य कंसलाई बताएपछि जे–जस्ता घटनाक्रम विकसित भए, ती सबै अक्रुरले सुनाउनुभयो ।। ९ ।।
श्रुत्वाक्रूरवचः कृष्णो बलश्च परवीरहा ।
प्रहस्य नन्दं पितरं राज्ञाऽऽदिष्टं विजज्ञतुः ॥ १० ॥
नेपाली भावानुवादः शत्रुदमन गर्ने भगवान् श्रीकृष्ण र बलरामले अक्रुरका कुरा सुनेर मन्द मुस्कानका साथ आफ्ना पिता नन्द बाबालाई राजा कंसको धनुर्यज्ञ र मथुरा जानका लागि आएको आदेशका बारेमा जानकारी दिनुभयो ।। १० ।।
गोपान् समादिशत् सोऽपि गृह्यतां सर्वगोरसः ।
उपायनानि गृह्णीध्वं युज्यन्तां शकटानि च ॥ ११ ॥
नेपाली भावानुवादः त्यसपछि नन्द बाबाले पनि सबै गोपहरूलाई राजाका लागि उपहार स्वरूप दही, दूध र घिउ जम्मा गर्न तथा गाडाहरू तयार पार्न आज्ञा दिनुभयो ।। ११ ।।
यास्यामः श्वो मधुपुरीं दास्यामो नृपते रसान् ।
द्रक्ष्यामः सुमहत्पर्व यान्ति जानपदाः किल ।
एवमाघोषयत्क्षत्रा नन्दगोपः स्वगोकुले ॥ १२ ॥
नेपाली भावानुवादः हामी भोलि बिहानै मथुरा प्रस्थान गर्नेछौँ र राजालाई गोरसहरू टक्र्याउनेछौँ । त्यहाँ हुने भव्य उत्सव हेर्न सबै जनपदवासीहरू जाँदै छन्, हामी पनि जानेछौँ भनेर नन्दले गोकुलभरि उद्घोष गराउनुभयो ।। १२ ।।
गोप्यस्तास्तद् उपश्रुत्य बभूवुर्व्यथिता भृशम् ।
रामकृष्णौ पुरीं नेतुमक्रूरं व्रजमागतम् ॥ १३ ॥
नेपाली भावानुवादः श्रीकृष्ण र बलरामलाई लिन अक्रुरजी ब्रजमा आएका हुन् भन्ने समाचार सुनेर गोपिनीहरू अत्यन्तै व्यथित भए ।। १३ ।।
काश्चित् तत्कृतहृत्तापश्वासम्लानमुखश्रियः ।
स्रंसद्दुकूलवलयकेशग्रन्थ्यश्च काश्चन ॥ १४ ॥
नेपाली भावानुवादः श्रीकृष्ण मथुरा जान लाग्नुभएको खबरले गोपिनीहरूको हृदय दग्ध भयो । कसैले लामो सुस्केरा हाल्न थाले जसले गर्दा उनीहरूको मुखको कान्ति हरायो, कसैका वस्त्र, कंगन र कपालको गाँठो फुस्किएको समेत उनीहरूलाई पत्तो भएन ।। १४ ।।
अन्याश्च तदनुध्याननिवृत्ताशेषवृत्तयः ।
नाभ्यजानन्निमं लोकमात्मलोकं गता इव ॥ १५ ॥
नेपाली भावानुवादः कोही गोपिनीहरू त भगवान्कै ध्यानमा यसरी मग्न भए कि उनीहरूका सम्पूर्ण इन्द्रियवृत्तिहरू रोकिए र समाधिस्थ योगीले झैँ उनीहरूले बाह्य जगत् र आफ्नो शरीरको समेत होस राखेनन् ।। १५ ।।
स्मरन्त्यश्चापराः शौरेरनुरागस्मितेरिताः ।
हृदिस्पृशश्चित्रपदा गिरः संमुमुहुः स्त्रियः ॥ १६ ॥
नेपाली भावानुवादः कोही गोपिनीहरू श्रीकृष्णको प्रेमपूर्ण मुस्कान र हृदयस्पर्शी विचित्र वाणीहरू सम्झिएर मोहमुग्ध भए ।। १६ ।।
गतिं सुललितां चेष्टां स्निग्धहासावलोकनम् ।
शोकापहानि नर्माणि प्रोद्दामचरितानि च ॥ १७ ॥
चिन्तयन्त्यो मुकुन्दस्य भीता विरहकातराः ।
समेताः सङ्घशः प्रोचुरश्रुमुख्योऽच्युताशयाः ॥ १८ ॥
नेपाली भावानुवादः भगवान्को मनोहर चाल, हाउभाउ, प्रेमपूर्ण हेराइ, शोकनाशक ठट्टा र अलौकिक चरित्रका बारेमा चिन्तन गर्दागर्दै उनीहरू विरहले व्याकुल भए । श्रीकृष्णसँगको वियोगको डरले ती गोपिनीहरू समूहमा भेला भई अश्रुपूरित नेत्रले विलाप गर्न थाले ।। १७–१८ ।।
श्रीगोप्य ऊचुः –
(मिश्र)
अहो विधातस्तव न क्वचिद् दया
संयोज्य मैत्र्या प्रणयेन देहिनः ।
तांश्चाकृतार्थान् वियुनङ्क्ष्यपार्थकं
विक्रीडितं तेऽर्भकचेष्टितं यथा ॥ १९ ॥
नेपाली भावानुवादः गोपिनीहरू भन्न लागे– हे विधाता ! तिम्रो हृदयमा कत्ति पनि दया छैन । तिमीले पहिले प्राणीहरूलाई प्रेम र मित्रताको बन्धनमा गाँस्छौ र उनीहरूको अभिलाषा पूर्ण नहुँदै बिनाकारण वियोग गराइदिन्छौ । तिम्रो यो कृत्य बालकको खेलजस्तै अर्थहीन छ ।। १९ ।।
यस्त्वं प्रदर्श्यासितकुन्तलावृतं
मुकुन्दवक्त्रं सुकपोलमुन्नसम् ।
शोकापनोदस्मितलेशसुन्दरं
करोषि पारोक्ष्यमसाधु ते कृतम् ॥ २० ॥
नेपाली भावानुवादः हे विधाता ! तिमीले नै हामीलाई श्रीकृष्णको घुम्रिएको कपाल, सुन्दर गाला र शोक हटाउने मन्द मुस्कानयुक्त मुखकमल देखायौ र अहिले फेरि त्यसलाई हामीबाट टाढा लैजाँदै छौ, यो तिम्रो अनुचित कार्य हो ।। २० ।।
क्रूरस्त्वमक्रूरसमाख्यया स्म न-
श्चक्षुर्हि दत्तं हरसे बताज्ञवत् ।
येनैकदेशेऽखिलसर्गसौष्ठवं
त्वदीयमद्राक्ष्म वयं मधुद्विषः ॥ २१ ॥
नेपाली भावानुवादः यी अक्रुर त नामका मात्र अक्रुर हुन्, वास्तवमा त तिमी नै क्रूर हौ । तिमीले नै हामीलाई आँखा दियौ, जसबाट हामीले सृष्टिको सम्पूर्ण सौन्दर्य श्रीकृष्णमा देख्यौँ, तर अहिले तिमीले अज्ञानीले झैँ ती आँखा (दर्शन) खोसेर लैजाँदै छौ ।। २१ ।।
न नन्दसूनुः क्षणभङ्गसौहृदः
समीक्षते नः स्वकृतातुरा बत ।
विहाय गेहान् स्वजनान् सुतान् पती-
स्तद्दास्यमद्धोपगता नवप्रियः ॥ २२ ॥
नेपाली भावानुवादः हामीले आफ्ना घर, आफन्त, सन्तान र पति सबै त्यागेर श्रीकृष्णको शरण लियौँ, तर नन्दकुमार त क्षणभरमै स्नेह भुल्ने हुनुभएको रहेछ । उहाँ अहिले नयाँ मित्रहरूको मोहमा परेर हामी विरहीहरूलाई हेर्न पनि चाहनुहुन्न ।। २२ ।।
सुखं प्रभाता रजनीयमाशिषः
सत्या बभूवुः पुरयोषितां ध्रुवम् ।
याः संप्रविष्टस्य मुखं व्रजस्पतेः
पास्यन्त्यपाङ्गोत्कलितस्मितासवम् ॥ २३ ॥
नेपाली भावानुवादः निश्चय नै यो रातपछिको बिहानी मथुराका नारीहरूका लागि सौभाग्यशाली हुनेछ । मथुरा पुग्नुभएका व्रजराज श्रीकृष्णको कटाक्षपूर्ण दृष्टि र मन्द मुस्कानयुक्त मुखमण्डलको दर्शन गरेर उनीहरू धन्य हुनेछन् ।। २३ ।।
तासां मुकुन्दो मधुमञ्जुभाषितै-
र्गृहीतचित्तः परवान् मनस्व्यपि ।
कथं पुनर्नः प्रतियास्यतेऽबला
ग्राम्याः सलज्जस्मितविभ्रमैर्भ्रमन् ॥ २४ ॥
नेपाली भावानुवादः मथुराका युवतीहरूले आफ्नो मधुर वाणी र लज्जायुक्त भावभङ्गीले श्रीकृष्णको चित्त मोहित पार्नेछन् । त्यसपछि उहाँ हामीजस्ता ग्रामीण गोपिनीहरूलाई सम्झेर फेरि कसरी फर्केर आउनुहोला र? ।। २४ ।।
अद्य ध्रुवं तत्र दृशो भविष्यते
दाशार्हभोजान्धकवृष्णिसात्वताम् ।
महोत्सवः श्रीरमणं गुणास्पदं
द्रक्ष्यन्ति ये चाध्वनि देवकीसुतम् ॥ २५ ॥
नेपाली भावानुवादः आज मथुराका दाशार्ह, भोज, अन्धक र वृष्णिवंशी यादवहरूका आँखाले उत्सव मनाउनेछन्, किनकि उनीहरूले लक्ष्मीपति एवं सद्गुणका खानी श्रीकृष्णको दर्शन पाउनेछन् ।। २५ ।।
मैतद्विधस्याकरुणस्य नाम भू-
दक्रूर इत्येतदतीव दारुणः ।
योऽसावनाश्वास्य सुदुःखितं जनं
प्रियात्प्रियं नेष्यति पारमध्वनः ॥ २६ ॥
नेपाली भावानुवादः यी व्यक्ति अत्यन्तै निर्दयी छन्, यिनको नाम अक्रुर हुनै सक्दैन । यस्तो दुःखको घडीमा हामीलाई सान्त्वना दिनुको सट्टा यिनले हाम्रा प्राणप्यारा श्रीकृष्णलाई हामीबाट टाढा लैजाँदै छन् ।। २६ ।।
अनार्द्रधीरेष समास्थितो रथं
तमन्वमी च त्वरयन्ति दुर्मदाः ।
गोपा अनोभिः स्थविरैरुपेक्षितं
दैवं च नोऽद्य प्रतिकूलमीहते ॥ २७ ॥
नेपाली भावानुवादः हाम्रा कृष्ण पनि कम कठोर छैनन्, किनकि उनी रथमा चढिसके । अरू गोठालोहरू पनि मथुरा जान हतार गरिरहेका छन् । आज त दैव पनि हाम्रा लागि प्रतिकूल छ, जसले गर्दा कसैले पनि यो यात्रा रोक्ने प्रयास गरेनन् ।। २७ ।।
निवारयामः समुपेत्य माधवं
किं नोऽकरिष्यन् कुलवृद्धबान्धवाः ।
मुकुन्दसङ्गान्निमिषार्धदुस्त्यजाद्
दैवेन विध्वंसितदीनचेतसाम् ॥ २८ ॥
नेपाली भावानुवादः ए सखीहरू ! अब हामी आफैँ गएर श्रीकृष्णलाई रोकौँ । उहाँको वियोगमा हामी आधा क्षण पनि बाँच्न सक्दैनौँ । उहाँलाई रोक्दा हाम्रा कुलका ठूला–बडाले के नै गर्लान् र? ।। २८ ।।
( वसंततिलका )
यस्यानुरागललितस्मितवल्गुमन्त्र-
लीलावलोकपरिरम्भणरासगोष्ठाम् ।
नीताः स्म नः क्षणमिव क्षणदा विना तं
गोप्यः कथं न्वतितरेम तमो दुरन्तम् ॥ २९ ॥
नेपाली भावानुवादः जसको प्रेमपूर्ण मुस्कान, मधुर कुराकानी, हेराइ र आलिङ्गनका कारण हामीले रासक्रीडाका लामा रातहरू पनि एक क्षणजस्तै गरी बिताएका थियौँ, अब उहाँबिनाको यो विरहको अन्धकार हामी कसरी पार गरौँला? ।। २९ ।।
योऽह्नः क्षये व्रजमनन्तसखः परीतो
गोपैर्विशन् खुररजश्छुरितालकस्रक् ।
वेणुं क्वणन् स्मितकटाक्षनिरीक्षणेन
चित्तं क्षिणोत्यमुमृते नु कथं भवेम ॥ ३० ॥
नेपाली भावानुवादः साँझको समयमा जब श्रीकृष्ण गाई चराएर फर्कनुहुन्थ्यो, उहाँको घुम्रिएको कपाल गाईको खुरले उडाएको धूलोले ढाकिएको हुन्थ्यो । त्यतिबेला बाँसुरी बजाउँदै र मुसुमुसु हाँस्दै उहाँले हाम्रो चित्त चोर्नुहुन्थ्यो । अब उहाँबिना हामी कसरी जीवित रहन सकौँला? ।। ३० ।।
शुक उवाच -
( मिश्र )
एवं ब्रुवाणा विरहातुरा भृशं
व्रजस्त्रियः कृष्णविषक्तमानसाः ।
विसृज्य लज्जां रुरुदुः स्म सुस्वरं
गोविन्द दामोदर माधवेति ॥ ३१ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे राजन् ! यसरी श्रीकृष्णमा मग्न भएका व्रजका गोपिनीहरूले विरहले व्याकुल भई लोकलाज त्यागेर 'हे गोविन्द ! हे दामोदर ! हे माधव !' भन्दै उच्च स्वरमा रुन लागे ।। ३१ ।।
(अनुष्टुप्)
स्त्रीणामेवं रुदन्तीनामुदिते सवितर्यथ ।
अक्रूरश्चोदयामास कृतमैत्रादिको रथम् ॥ ३२ ॥
नेपाली भावानुवादः यसरी गोपिनीहरू विलाप गरिरहँदा सूर्योदय भयो र अक्रुरले नित्यकर्म सिध्याएर रथ अगाडि बढाए ।। ३२ ।।
गोपास्तमन्वसज्जन्त नन्दाद्याः शकटैस्ततः ।
आदायोपायनं भूरि कुम्भान् गोरससम्भृतान् ॥ ३३ ॥
नेपाली भावानुवादः नन्द बाबा लगायतका गोपहरू पनि उपहारका लागि दही, दूध र घिउका घैँटाहरू गाडामा राखेर रथको पछि–पछि लागे ।। ३३ ।।
गोप्यश्च दयितं कृष्णमनुव्रज्यानुरञ्जिताः ।
प्रत्यादेशं भगवतः काङ्क्षन्त्यश्चावतस्थिरे ॥ ३४ ॥
नेपाली भावानुवादः आफ्ना प्राणप्रिय श्रीकृष्णको वियोगमा तड्पिएका गोपिनीहरू पनि रथको पछि–पछि गए र भगवान्बाट कुनै सान्त्वनाको आशामा एक ठाउँमा उभिए ।। ३४ ।।
तास्तथा तप्यतीर्वीक्ष्य स्वप्रस्थाने यदूत्तमः ।
सान्त्वयामस सप्रेमैरायास्य इति दौत्यकैः ॥ ३५ ॥
नेपाली भावानुवादः आफू मथुरा जान लाग्दा गोपिनीहरूलाई अत्यन्तै दुःखी भएको देखेर यदुवंशमणि श्रीकृष्णले 'म फेरि फर्केर आउनेछु' भन्ने प्रेमपूर्ण सन्देश पठाई उनीहरूलाई सान्त्वना दिनुभयो ।। ३५ ।।
यावदालक्ष्यते केतुर्यावद् रेणू रथस्य च ।
अनुप्रस्थापितात्मानो लेख्यानीवोपलक्षिताः ॥ ३६ ॥
नेपाली भावानुवादः गोपिनीहरूले आफ्नो मन त श्रीकृष्णसँगै पठाइसकेका थिए, त्यसैले उनीहरू रथको झन्डा र धूलो देखुन्जेलसम्म चित्रमा कोरिएका मूर्तिझैँ टुलुटुलु हेरिरहे ।। ३६ ।।
ता निराशा निववृतुर्गोविन्दविनिवर्तने ।
विशोका अहनी निन्युर्गायन्त्यः प्रियचेष्टितम् ॥ ३७ ॥
नेपाली भावानुवादः जब रथ ओझेल भयो, श्रीकृष्ण तत्कालै फर्केर आउनुहुन्न भन्ने निश्चित भएपछि उनीहरू निराश भई घर फर्के र आफ्ना प्रियतमका लीलाहरूको गान गर्दै दिनहरू बिताउन थाले ।। ३७ ।।
भगवानपि सम्प्राप्तो रामाक्रूरयुतो नृप ।
रथेन वायुवेगेन कालिन्दीमघनाशिनीम् ॥ ३८ ॥
नेपाली भावानुवादः हे राजन् ! उता श्रीकृष्ण र बलराम पनि अक्रुरका साथ वायुवेगको रथमा सवार भई पापमोचिनी यमुनाजीको किनारमा पुग्नुभयो ।। ३८ ।।
तत्रोपस्पृश्य पानीयं पीत्वा मृष्टं मणिप्रभम् ।
वृक्षषण्डमुपव्रज्य सरामो रथमाविशत् ॥ ३९ ॥
नेपाली भावानुवादः त्यहाँ उहाँहरूले हातमुख धोएर यमुनाको निर्मल जल पिउनुभयो र वृक्षको छहारीमा रहेको रथमा फेरि विराजमान हुनुभयो ।। ३९ ।।
अक्रूरस्तावुपामन्त्र्य निवेश्य च रथोपरि ।
कालिन्द्या ह्रदमागत्य स्नानं विधिवदाचरत् ॥ ४० ॥
नेपाली भावानुवादः त्यसपछि अक्रुरले श्रीकृष्ण र बलरामलाई रथमा बस्न अनुरोध गरी आफू चाहिँ विधिवत् स्नान गर्नका लागि यमुनाको दहमा गए ।। ४० ।।
निमज्ज्य तस्मिन् सलिले जपन् ब्रह्म सनातनम् ।
तावेव ददृशेऽक्रूरो रामकृष्णौ समन्वितौ ॥ ४१ ॥
नेपाली भावानुवादः यमुनाको जलमा डुबुल्की मारी गायत्री मन्त्र जप गरिरहेका अक्रुरले जलभित्रै तिनै श्रीकृष्ण र बलरामलाई सँगै रहेको देखे, जसलाई उनले भर्खरै रथमा छोडेर आएका थिए ।। ४१ ।।
तौ रथस्थौ कथमिह सुतावानकदुन्दुभेः ।
तर्हि स्वित् स्यन्दने न स्त इत्युन्मज्ज्य व्यचष्ट सः ॥ ४२ ॥
नेपाली भावानुवादः 'मैले वसुदेवका पुत्रहरूलाई रथमा छोडेको थिएँ, उनीहरू यहाँ जलभित्र कसरी आए? कतै उनीहरू रथमा छैनन् कि?' भन्ने सोचेर उनले जलबाट टाउको बाहिर निकालेर हेरे ।। ४२ ।।
तत्रापि च यथापूर्वमासीनौ पुनरेव सः ।
न्यमज्जद् दर्शनं यन्मे मृषा किं सलिले तयोः ॥ ४३ ॥
नेपाली भावानुवादः बाहिर हेर्दा उहाँहरू पहिलेजस्तै रथमै विराजमान हुनुहुन्थ्यो । 'के मैले जलभित्र देखेको दृश्य भ्रम थियो त?' भनी द्विविधामा परेर अक्रुर फेरि जलमा डुबे ।। ४३ ।।
भूयस्तत्रापि सोऽद्राक्षीत् स्तूयमानमहीश्वरम् ।
सिद्धचारणगन्धर्वैरसुरैर्नतकन्धरैः ॥ ४४ ॥
नेपाली भावानुवादः पुनः जलमा डुब्दा उनले अनन्त नाग (शेषनाग) लाई देखे, जसको सिद्ध, चारण, गन्धर्व र असुरहरूले शिर निहुराएर स्तुति गरिरहेका थिए ।। ४४ ।।
सहस्रशिरसं देवं सहस्रफणमौलिनम् ।
नीलाम्बरं विसश्वेतं शृङ्गैः श्वेतमिव स्थितम् ॥ ४५ ॥
नेपाली भावानुवादः ती देवका हजारौँ शिर र फणहरू थिए, जसमा मुकुटहरू शोभायमान थिए । उनी नीलो वस्त्र लगाएका र श्वेत वर्णका हुनाले चाँदीको शिखर भएको कैलाश पर्वतझैँ देखिन्थे ।। ४५ ।।
तस्योत्सङ्गे घनश्यामं पीतकौशेयवाससम् ।
पुरुषं चतुर्भुजं शान्तं पद्मपत्रारुणेक्षणम् ॥ ४६ ॥
चारुप्रसन्नवदनं चारुहासनिरीक्षणम् ।
सुभ्रून्नसं चरुकर्णं सुकपोलारुणाधरम् ॥ ४७ ॥
प्रलम्बपीवरभुजं तुङ्गांसोरःस्थलश्रियम् ।
कम्बुकण्ठं निम्ननाभिं वलिमत्पल्लवोदरम् ॥ ४८ ॥
नेपाली भावानुवादः ती शेषनागको काखमा अक्रुरले मेघझैँ श्याम वर्णका, पहेँलो रेशमी वस्त्र पहिरिएका, चार हात भएका र कमलको पत्रझैँ राता आँखा भएका शान्त पुरुषोत्तम भगवान्लाई देखे । उहाँको मुखमण्डल प्रसन्न, मुस्कान मनोहर, कान र गाला सुन्दर तथा ओठ राता थिए ।। ४६–४८ ।।
बृहत्कटितटश्रोणिकरभोरुद्वयान्वितम् ।
चारुजानुयुगं चारुजङ्घायुगलसंयुतम् ॥ ४९ ॥
तुङ्गगुल्फारुणनखव्रातदीधितिभिर्वृतम् ।
नवाङ्गुल्यङ्गुष्ठदलैर्विलसत्पादपङ्कजम् ॥ ४९-५० ॥
नेपाली भावानुवादः उहाँका तिघ्रा, घुँडा र पिँडुलाहरू अत्यन्तै आकर्षक थिए । राता नङहरूको कान्तिले युक्त उहाँका चरणकमलहरू दिव्य देखिन्थे ।। ४९–५० ।।
सुमहार्हमणिव्रातकिरीटकटकाङ्गदैः ।
कटिसूत्रब्रह्मसूत्रहारनूपुरकुण्डलैः ॥ ५१ ॥
भ्राजमानं पद्मकरं शङ्खचक्रगदाधरम् ।
श्रीवत्सवक्षसं भ्राजत्कौस्तुभं वनमालिनम् ॥ ५२ ॥
नेपाली भावानुवादः भगवान् बहुमूल्य मणिजडित मुकुट, बाजूबन्द, कर्दनी, हार र कुण्डलले सुशोभित हुनुहुन्थ्यो । उहाँले शङ्ख, चक्र, गदा र पद्म धारण गर्नुभएको थियो भने छातीमा श्रीवत्सको चिह्न र गलामा कौस्तुभ मणि तथा वनमाला झल्किरहेको थियो ।। ५१–५२ ।।
सुनन्दनन्दप्रमुखैः पर्षदैः सनकादिभिः ।
सुरेशैर्ब्रह्मरुद्राद्यैर्नवभिश्च द्विजोत्तमैः ॥ ५३ ॥
प्रह्रादनारदवसुप्रमुखैर्भागवतोत्तमैः ।
स्तूयमानं पृथग्भावैर्वचोभिरमलात्मभिः ॥ ५४ ॥
नेपाली भावानुवादः त्यहाँ सुनन्द, नन्द आदि पार्षदहरू, सनकादि ऋषिहरू, ब्रह्मा र शिव आदि देवताहरू तथा प्रह्लाद, नारद र अष्टवसु जस्ता परम भक्तहरूले भिन्न–भिन्न भावले भगवान्को स्तुति गरिरहेका थिए ।। ५३–५४ ।।
श्रिया पुष्ट्या गिरा कान्त्या कीर्त्या तुष्ट्येलयोर्जया ।
विद्ययाविद्यया शक्त्या मायया च निषेवितम् ॥ ५५ ॥
नेपाली भावानुवादः साथै श्री, पुष्टि, सरस्वती, कान्ति, कीर्ति, तुष्टि, भूदेवी र ऊर्जाशक्ति जस्ता दिव्य शक्तिहरूले भगवान्को सेवा गरिरहेका थिए ।। ५५ ।।
विलोक्य सुभृशं प्रीतो भक्त्या परमया युतः ।
हृष्यत्तनूरुहो भाव परिक्लिन्नात्मलोचनः ॥ ५६ ॥
गिरा गद्गूदयास्तौषीत् सत्त्वमालम्ब्य सात्वतः ।
प्रणम्य मूर्ध्नावहितः कृताञ्जलिपुटः शनैः ॥ ५७ ॥
नेपाली भावानुवादः भगवान्को यस्तो अलौकिक रूप देखेर अक्रुर भक्तिको आनन्दमा डुबे । उनको शरीरका रौँहरू ठडा भए, आँखा हर्षले भरिए र हृदय गद्गद् भयो । उनले धैर्य धारण गरी टाउको निहुराएर भगवान्लाई दण्डवत् प्रणाम गरे र हात जोडी मधुर स्वरमा स्तुति गर्न थाले ।। ५६–५७ ।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको यो अध्याय अक्रुरको ब्रज आगमन र श्रीकृष्णको मथुरा प्रस्थानको घटनामा केन्द्रित छ । अक्रुरले ब्रजमा आएर श्रीकृष्ण र बलरामको दर्शन पाउँछन् र उहाँहरूबाट उचित सम्मान प्राप्त गर्छन् । भोजनपश्चात् श्रीकृष्णले मथुराको अवस्था र कंसको षड्यन्त्रका बारेमा सोध्नुहुन्छ । अक्रुरले कंसले यदुवंशीहरूलाई दिएको दुःख र नारदजीमार्फत कृष्णको जन्मको रहस्य थाहा पाएको सबै वृत्तान्त सुनाउँछन् । त्यसपछि नन्द बाबाले गोकुलमा मथुरा प्रस्थानको घोषणा गर्छन् । श्रीकृष्ण मथुरा जान लाग्नुभएको खबरले ब्रजका गोपिनीहरूमा हाहाकार मच्चिन्छ । उनीहरू विरहले व्याकुल हुन्छन् र विधातालाई क्रूर भन्दै विलाप गर्छन् । उनीहरूले कृष्णसँग बिताएका क्षणहरू सम्झन्छन् र उहाँ मथुराका नारीहरूको प्रेममा परेर ब्रजलाई भुल्नुहुने हो कि भन्ने डर व्यक्त गर्छन् । भोलिपल्ट बिहानै अक्रुरले श्रीकृष्ण र बलरामलाई रथमा राखेर मथुरातिर लैजान्छन् । गोपिनीहरू रथको धुलो देखुन्जेलसम्म पछ्याउँदै रुन्छन् । बाटोमा यमुनाको किनारमा पुगेपछि अक्रुर स्नान गर्न यमुनाको दहमा पस्छन् । त्यहाँ उनले अनौठो दृश्य देख्छन् । उनले जलभित्रै श्रीकृष्ण र बलरामलाई शेषनागको शय्यामा विराजमान भएको पाउँछन् । उनलाई पहिले त भ्रम हुन्छ, तर फेरि डुबुल्की मार्दा भगवान्को चतुर्भुज रूप र उहाँको स्तुति गरिरहेका देवता तथा भक्तहरूको दर्शन पाउँछन् । यो अलौकिक दृश्य देखेर अक्रुरको हृदय भक्तिले भरिन्छ र उनले भगवान्को स्तुति गर्न थाल्छन् । यो अध्यायले एकातिर भक्तको विरह र अर्कोतिर भगवान्को ऐश्वर्यको सुन्दर चित्रण गरेको छ । गोपिनीहरूको प्रेम निस्वार्थ र अनन्य छ भने अक्रुरको दर्शन भगवान्को व्यापकताको प्रतीक हो । यसरी यो अध्यायले भक्तिको सर्वोच्च शिखर र भगवान्को स्वरूपलाई उजागर गर्दछ ।
No comments:
Post a Comment