श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः – अष्टमोऽध्यायः
मैत्रेय उवाच –
(अनुष्टुप्)
सनकाद्या नारदश्च ऋभुर्हंसोऽरुणिर्यतिः ।
नैते गृहान् ब्रह्मसुता ह्यावसउ ऊर्ध्वरेतसः ॥ १ ॥
मृषाधर्मस्य भार्यासीद् दम्भं मायां च शत्रुहन् ।
असूत मिथुनं तत्तु निर्ऋतिर्जगृहेऽप्रजः ॥ २ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयो— हे विदुरजी! ब्रह्माजीका मानसमय छोराहरू सनकादि, नारद, ऋभु, हंस, अरुणि र यति नैष्ठिक ब्रह्मचारी भएकाले उनीहरूले गृहस्थाश्रममा प्रवेश गरेनन् र उनीहरूको कुनै सन्तान पनि भएनन्। हे शत्रुहन्ता! अधर्म (जो ब्रह्माकै सन्तान हुन्) की पत्नीको नाम मृषा हो। उनीहरूबाट दम्भ नामको छोरा र माया नामकी छोरी जन्मिए। सन्तान नभएका कारण निर्ऋतिले ती दुवैलाई धर्मपुत्रका रूपमा लिएर गए ।।१-२।।
तयोः समभवल्लोभो निकृतिश्च महामते ।
ताभ्यां क्रोधश्च हिंसा च यद्दुरुक्तिः स्वसा कलिः ॥ ३ ॥
नेपाली भावानुवादः हे महामते! दम्भ र मायाबाट लोभ र निकृति (शठता) जन्मिए। ती दुवैबाट क्रोध र हिंसाको जन्म भयो र उनीहरूबाट कलि तथा उनकी बहिनी दुरुक्ति (गाली) को जन्म भयो ।।३।।
दुरुक्तौ कलिराधत्त भयं मृत्युं च सत्तम ।
तयोश्च मिथुनं जज्ञे यातना निरयस्तथा ॥ ४ ॥
नेपाली भावानुवादः हे साधु शिरोमणि! कलिले दुरुक्तिको गर्भबाट भय र मृत्युलाई उत्पन्न गरे। ती दुवैको संयोगबाट यातना र निरय (नरक) को जन्म भयो ।।४।।
सङ्ग्रहेण मयाऽऽख्यातः प्रतिसर्गस्तवानघ ।
त्रिः श्रुत्वैतत्पुमान् पुण्यं विधुनोत्यात्मनो मलम् ॥ ५ ॥
नेपाली भावानुवादः हे निष्पाप विदुर! मैले संक्षेपमा यो तामस सृष्टिको वर्णन गरेँ। यो वर्णनलाई तीन पटक सुन्नाले मानिसले आफ्नो मनको मलिनतालाई पखालेर पुण्य आर्जन गर्दछ ।।५।।
अथातः कीर्तये वंशं पुण्यकीर्तेः कुरूद्वह ।
स्वायम्भुवस्यापि मनोः हरेरंशांशजन्मनः ॥ ६ ॥
नेपाली भावानुवादः हे कुरुनन्दन! अब म श्रीहरिको अंश र ब्रह्माजीबाट उत्पन्न भएका पवित्रकीर्ति महाराज स्वायम्भुव मनुको वंशको वर्णन गर्दछु ।।६।।
प्रियव्रतोत्तानपादौ शतरूपापतेः सुतौ ।
वासुदेवस्य कलया रक्षायां जगतः स्थितौ ॥ ७ ॥
नेपाली भावानुवादः महाराज मनु र महारानी शतरूपाबाट प्रियव्रत र उत्तानपाद नाम गरेका दुई छोरा भए। भगवान् वासुदेवको अंश-कलाबाट उत्पन्न भएका कारण उनीहरू जगत्को रक्षाका लागि सधैँ तत्पर रहन्थे ।।७।।
जाये उत्तानपादस्य सुनीतिः सुरुचिस्तयोः ।
सुरुचिः प्रेयसी पत्युः नेतरा यत्सुतो ध्रुवः ॥ ८ ॥
नेपाली भावानुवादः राजा उत्तानपादका सुनीति र सुरुचि नामका दुई रानी थिए। तीमध्ये सुरुचि राजालाई ज्यादै प्यारी थिइन्, तर सुनीति (ध्रुवकी आमा) राजालाई त्यति प्यारी थिइनन् ।।८।।
एकदा सुरुचेः पुत्रं अङ्कमारोप्य लालयन् ।
उत्तमं नारुरुक्षन्तं ध्रुवं राजाभ्यनन्दत ॥ ९ ॥
नेपाली भावानुवादः एक पटक राजा उत्तानपादले सुरुचिका छोरा उत्तमलाई काखमा लिएर प्यार गरिरहेका थिए। त्यसै समयमा सुनीतिका छोरा ध्रुव पनि बाबुको काखमा चढ्न खोजे, तर राजाले उनलाई वास्ता गरेनन् ।।९।।
تथा चिकीर्षमाणं तं सपत्न्यास्तनयं ध्रुवम् ।
सुरुचिः शृण्वतो राज्ञः सेर्ष्यमाहातिगर्विता ॥ १० ॥
नेपाली भावानुवादः सौताको छोरा ध्रुवलाई महाराजको काखमा चढ्न खोजेको देखेर अहङ्कारी सुरुचिले राजाकै अगाडि ईर्ष्यापूर्वक भनिन् ।।१०।।
न वत्स नृपतेर्धिष्ण्यं भवान् आरोढुमर्हति ।
न गृहीतो मया यत्त्वं कुक्षौ अपि नृपात्मजः ॥ ११ ॥
नेपाली भावानुवादः ए बालक! तिमी राजाका छोरा भए तापनि यो सिंहासनमा बस्ने अधिकार तिमीलाई छैन। किनकि तिमीले मेरो कोखबाट जन्म लिएका छैनौ ।।११।।
बालोऽसि बत नात्मानं अन्यस्त्रीगर्भसम्भृतम् ।
नूनं वेद भवान् यस्य दुर्लभेऽर्थे मनोरथः ॥ १२ ॥
नेपाली भावानुवादः तिमी अझै बालक नै छौ, तिमीलाई अर्को स्त्रीको गर्भबाट जन्मिएको कुरा थाहा छैन। त्यसैले तिमी यस्तो दुर्लभ वस्तुको इच्छा गरिरहेका छौ ।।१२।।
तपसाऽऽराध्य पुरुषं तस्यैवानुग्रहेण मे ।
गर्भे त्वं साधयात्मानं यदीच्छसि नृपासनम् ॥ १३ ॥
नेपाली भावानुवादः यदि तिमीलाई राजसिंहासनकै इच्छा छ भने परमपुरुष श्रीनारायणको तपस्या गर र उहाँको अनुग्रहले मेरो कोखबाट जन्म लिएर आऊ ।।१३।।
मैत्रेय उवाच –
(इंद्रवज्रा)
मातुः सपत्न्याः स दुरुक्तिविद्धः
श्वसन् रुषा दण्डहतो यथाहिः ।
हित्वा मिषन्तं पितरं सन्नवाचं
जगाम मातुः प्ररुदन् सकाशम् ॥ १४ ॥
नेपाली भावानुवादः विदुरजी! जसरी लठ्ठीको चोट खाएको सर्प क्रोधले फु-फु गर्दछ, त्यसैगरी सौतेनी आमाको कठोर वचनले मर्माहत भई ध्रुव लामो सुस्केरा हाल्न लागे। उनका पिता केही नबोली चुपचाप हेरिरहे। ध्रुव रुँदै आफ्नी आमा सुनीति भए ठाउँमा गए ।।१४।।
तं निःश्वसन्तं स्फुरिताधरोष्ठं
सुनीतिरुत्सङ्ग उदूह्य बालम् ।
निशम्य तत्पौरमुखान्नितान्तं
सा विव्यथे यद्गदितं सपत्न्या ॥ १५ ॥
नेपाली भावानुवादः रिसले ओठ कमाउँदै लामो सास फेरिरहेका ध्रुवलाई सुनीतिले काखमा लिइन्। दासीहरूबाट सुरुचिको कठोर वचनका बारेमा सुनेर उनी अत्यन्तै दुःखी भइन् ।।१५।।
सोत्सृज्य धैर्यं विललाप शोक
दावाग्निना दावलतेव बाला ।
वाक्यं सपत्न्याः स्मरती सरोज
श्रिया दृशा बाष्पकलामुवाह ॥ १६ ॥
नेपाली भावानुवादः सुनीतिको धैर्य टुट्यो र उनी डढेलोले डढेको लहरा झैँ शोकले विलाप गर्न लागिन्। सौताका ती तीता कुरा सम्झँदा उनका कमल जस्ता आँखाबाट आँसुका धारा बग्न थाले ।।१६।।
दीर्घं श्वसन्ती वृजिनस्य पारं
अपश्यती बालकमाह बाला ।
मामङ्गलं तात परेषु मंस्था
भुङ्क्ते जनो यत्परदुःखदस्तत् ॥ १७ ॥
नेपाली भावानुवादः यस दुःखको पार नदेखेर उनले ध्रुवलाई भनिन्— छोरा! तिमी अरूका लागि कहिल्यै अमङ्गल चिताउने काम नगर। जसले अरूलाई दुःख दिन्छ, उसले आफैँ त्यसको फल भोग्नुपर्दछ ।।१७।।
सत्यं सुरुच्याभिहितं भवान्मे
यद् दुर्भगाया उदरे गृहीतः ।
स्तन्येन वृद्धश्च विलज्जते यां
भार्येति वा वोढुमिडस्पतिर्माम् ॥ १८ ॥
नेपाली भावानुवादः सुरुचिले जे भनिन्, त्यो सत्य नै हो; किनकि म अभागिनीको कोखबाट तिमी जन्मियौ र मेरो दूध खाएर हुर्कियौ। राजा त मलाई पत्नीका रूपमा स्वीकार गर्न पनि लजाउनुहुन्छ ।।१८।।
आतिष्ठ तत्तात विमत्सरस्त्वं
उक्तं समात्रापि यदव्यलीकम् ।
आराधयाधोक्षजपादपद्मं
यदीच्छसेऽध्यासनमुत्तमो यथा ॥ १९ ॥
नेपाली भावानुवादः छोरा! सुरुचि तिम्री सौतेनी आमा भए तापनि उनले दिएको सल्लाह हितकारी छ। त्यसैले यदि उत्तम जस्तै राजसिंहासन चाहन्छौ भने द्वेष त्यागेर श्रीहरिको चरणकमलको आराधना गर ।।१९।।
यस्याङ्घ्रिपद्मं परिचर्य विश्व
विभावनायात्तगुणाभिपत्तेः ।
अजोऽध्यतिष्ठत्खलु पारमेष्ठ्यं
पदं जितात्मश्वसनाभिवन्द्यम् ॥ २० ॥
नेपाली भावानुवादः संसारको सृष्टिका लागि रजोगुण अङ्गीकार गर्ने तिम्रा जिजुबुबा ब्रह्माजीले श्रीहरिकै आराधनाबाट सर्वश्रेष्ठ पद प्राप्त गर्नुभएको थियो, जो संयमी मुनिहरूका लागि पनि वन्दनीय हुनुहुन्छ ।।२०।।
तथा मनुर्वो भगवान्पितामहो
यमेकमत्या पुरुदक्षिणैर्मखैः ।
इष्ट्वाभिपेदे दुरवापमन्यतो
भौमं सुखं दिव्यमथापवर्ग्यम् ॥ २१ ॥
नेपाली भावानुवादः यसैगरी तिम्रा हजुरबुबा स्वायम्भूव मनुले पनि ठुला-ठुला यज्ञद्वारा उनै भगवान्को आराधना गर्नुभएको थियो र त्यसैबाट अत्यन्त दुर्लभ सांसारिक सुख, दिव्य ऐश्वर्य र मोक्ष प्राप्त गर्नुभयो ।।२१।।
तमेव वत्साश्रय भृत्यवत्सलं
मुमुक्षुभिर्मृग्यपदाब्जपद्धतिम् ।
अनन्यभावे निजधर्मभाविते
मनस्यवस्थाप्य भजस्व पूरुषम् ॥ २२ ॥
नेपाली भावानुवादः छोरा! तिमी पनि उनै भक्तवत्सल भगवान्को आश्रय लेऊ। मुमुक्षुहरूले खोज्ने उहाँको चरणकमललाई आफ्नो हृदयमा बसाली अनन्य भावले भजन गर ।।२२।।
नान्यं ततः पद्मपलाशलोचनाद्
दुःखच्छिदं ते मृगयामि कञ्चन ।
यो मृग्यते हस्तगृहीतपद्मया
श्रियेतरैरङ्ग विमृग्यमाणया ॥ २३ ॥
नेपाली भावानुवादः छोरा! ती कमल नयन श्रीहरिबाहेक तिम्रो दुःख मेटाउने अर्को कसैलाई म देख्दिनँ। स्वयं लक्ष्मीजी पनि कमल लिएर सधैँ उहाँकै सेवामा रहनुहुन्छ ।।२३।।
मैत्रेय उवाच –
(अनुष्टुप्)
एवं सञ्जल्पितं मातुः आकर्ण्यार्थागमं वचः ।
सन्नियम्यात्मनाऽऽत्मानं निश्चक्राम पितुः पुरात् ॥ २४ ॥
नेपाली भावानुवादः मैत्रेयजी भन्नुहुन्छ— आमा सुनीतिको यस्तो अर्ति सुनेपछि ध्रुवले आफ्नो मनलाई दृढ बनाए र पिताको नगरबाट वनतर्फ निस्किए ।।२४।।
नारदस्तदुपाकर्ण्य ज्ञात्वा तस्य चिकीर्षितम् ।
स्पृष्ट्वा मूर्धन्यघघ्नेन पाणिना प्राह विस्मितः ॥ २५ ॥
नेपाली भावानुवादः ध्रुवको सङ्कल्प बुझेर नारदजी त्यहाँ पुग्नुभयो। उहाँले ध्रुवको शिरमा आफ्नो पवित्र हात राखी अचम्म मान्दै भन्नुभयो ।।२५।।
अहो तेजः क्षत्रियाणां मानभङ्गममृष्यताम् ।
बालोऽपययं हृदा धत्ते यत्समातुरसद्वचः ॥ २६ ॥
नेपाली भावानुवादः अहो! क्षत्रियको कस्तो अद्भुत तेज! यो सानो बालकले पनि मानभङ्गलाई सहन सकेन र सौतेनी आमाको वचनलाई हृदयमा लिएको छ ।।२६।।
नारद उवाच –
नाधुनाप्यवमानं ते सम्मानं वापि पुत्रक ।
लक्षयामः कुमारस्य सक्तस्य क्रीडनादिषु ॥ २७ ॥
नेपाली भावानुवादः नारदजीले भन्नुभयो— बाबु! तिमी त अझै बालक हौ र खेलकुदमै रमाउने उमेर छ, तिम्रा लागि मान र अपमानको के अर्थ छ र? ।।२७।।
विकल्पे विद्यमानेऽपि न ह्यसन्तोषहेतवः ।
पुंसो मोहमृते भिन्ना यल्लोके निजकर्मभिः ॥ २८ ॥
नेपाली भावानुवादः बाबु! मानिसले आफ्नो कर्मअनुसार सुख-दुःख पाउँछ। त्यसैले यो मान-अपमानको कुरा त केवल मोह मात्र हो ।।२८।।
परितुष्येत् ततस्तात तावन्मात्रेण पूरुषः ।
दैवोपसादितं यावद् वीक्ष्येश्वरगतिं बुधः ॥ २९ ॥
नेपाली भावानुवादः ईश्वरको गति विचित्र छ। त्यसैले बुद्धिमान् मानिसले दैववश जे आइपर्छ, त्यसैमा सन्तुष्ट हुनुपर्दछ ।।२९।।
अथ मात्रोपदिष्टेन योगेनावरुरुत्ससि ।
यत्प्रसादं स वै पुंसां दुराराध्यो मतो मम ॥ ३० ॥
नेपाली भावानुवादः अब आमाको उपदेशअनुसार तिमी जुन भगवान्को कृपा पाउन खोज्दै छौ, उहाँलाई प्रसन्न पार्न साधारण मानिसका लागि निकै कठिन छ ।।३०।।
मुनयः पदवीं यस्य निःसङ्गेनोरुजन्मभिः ।
न विदुर्मृगयन्तोऽपि तीव्रयोगसमाधिना ॥ ३१ ॥
नेपाली भावानुवादः ठुला-ठुला मुनिहरूले अनेकौँ जन्मसम्म कठोर योगसाधना गर्दा पनि भगवान्को मार्ग पत्ता लगाउन सकेका छैनन् ।।३१।।
अतो निवर्ततामेष निर्बन्धस्तव निष्फल: ।
यतिष्यति भवान् काले श्रेयसां समुपस्थिते ॥ ३२ ॥
नेपाली भावानुवादः त्यसैले अहिले यो हठ छोडेर घर फर्क। पछि उमेर पुगेपछि भगवान्को साधना गर्नू ।।३२।।
यस्य यद् दैवविहितं स तेन सुखदुःखयोः ।
आत्मानं तोषयन् देही तमसः पारमृच्छति ॥ ३३ ॥
नेपाली भावानुवादः दैवले जे जुराउँछ, त्यसैमा सन्तुष्ट रहने मानिसले मात्र यो अज्ञानरूपी संसारबाट पार पाउँछ ।।३३।।
गुणाधिकान्मुदं लिप्सेद् अनुक्रोशं गुणाधमात् ।
मैत्रीं समानादन्विच्छेत् न तापैरभिभूयते ॥ ३४ ॥
नेपाली भावानुवादः आफूभन्दा बढी गुणवान्लाई देखेर खुसी हुनु, कम गुणवान्लाई दया गर्नु र समान गुणवान्सँग मित्रता राख्नु; यसो गर्ने मानिसलाई कहिल्यै दुःख हुँदैन ।।३४।।
सोऽयं शमो भगवता सुखदुःखहतात्मनाम् ।
दर्शितः कृपया पुंसां दुर्दर्शोऽस्मद्विधैस्तु यः ॥ ३५ ॥
नेपाली भावानुवादः ध्रुवले भने— भगवन्! तपाईँले बताउनुभएको यो शान्तिको उपाय त उत्तम छ, तर म जस्तो संसारी दुःखले आहत भएको व्यक्तिका लागि यो बुझ्न कठिन छ ।।३५।।
अथापि मेऽविनीतस्य क्षात्त्रं घोरमुपेयुषः ।
सुरुच्या दुर्वचोबाणैः न भिन्ने श्रयते हृदि ॥ ३६ ॥
नेपाली भावानुवादः ममा क्षत्रिय स्वभाव भएकाले विनयको कमी छ र सुरुचिको कठोर वचनले मेरो हृदय छियाछिया भएको छ। त्यसैले मलाई तपाईँको यो उपदेशले शान्ति मिल्न सकेन ।।३६।।
पदं त्रिभुवनोत्कृष्टं जिगीषोः साधु वर्त्म मे ।
ब्रूहि अस्मत् पितृभिर्ब्रह्मन् अन्यैरप्यनधिष्ठितम् ॥ ३७ ॥
नेपाली भावानुवादः हे ब्रह्मन्! म त यस्तो पद प्राप्त गर्न चाहन्छु जुन मेरा पिता वा अरू कसैले पनि अहिलेसम्म पाएका छैनन्। मलाई त्यसको उपाय बताइदिनुहोस् ।।३७।।
नूनं भवान् भगवतो योऽङ्गजः परमेष्ठिनः ।
वितुदन्नटते वीणां हिताय जगतोऽर्कवत् ॥ ३८ ॥
नेपाली भावानुवादः तपाईँ ब्रह्माजीका छोरा हुनुहुन्छ र संसारको हितका लागि वीणा बजाउँदै सूर्य झैँ घुमिरहनुहुन्छ, मलाई सहयोग गर्नुहोस् ।।३८।।
मैत्रेय उवाच –
इत्युदाहृतमाकर्ण्य भगवान् नारदस्तदा ।
प्रीतः प्रत्याह तं बालं सद्वाक्यं अनुकम्पया ॥ ३९ ॥
नेपाली भावानुवादः ध्रुवको सङ्कल्प देखेर नारदजी प्रसन्न हुनुभयो र उनीमाथि कृपा गर्दै उपदेश दिन थाल्नुभयो ।।३९।।
नारद उवाच –
जनन्याभिहितः पन्थाः स वै निःश्रेयसस्य ते ।
भगवान् वासुदेवस्तं भज तं प्रवणात्मना ॥ ४० ॥
नेपाली भावानुवादः नारदजीले भन्नुभयो— बाबु! तिम्री आमाले देखाएको बाटो नै तिम्रो कल्याणको मार्ग हो। त्यसैले भगवान् वासुदेवको एकाग्र मनले भजन गर ।।४०।।
धर्मार्थकाममोक्षाख्यं य इच्छेत् श्रेय आत्मनः ।
एकं ह्येव हरेस्तत्र कारणं पादसेवनम् ॥ ४१ ॥
नेपाली भावानुवादः धर्म, अर्थ, काम र मोक्ष चाहने मानिसका लागि भगवान् श्रीहरिको चरण सेवा नै एकमात्र उपाय हो ।।४१।।
तत्तात गच्छ भद्रं ते यमुनायास्तटं शुचि ।
पुण्यं मधुवनं यत्र सान्निध्यं नित्यदा हरेः ॥ ४२ ॥
नेपाली भावानुवादः बाबु! तिम्रो कल्याण होस्। तिमी यमुनाको तटमा रहेको पवित्र मधुवनमा जाऊ, जहाँ भगवान्को सधैँ वास हुन्छ ।।४२।।
स्नात्वानुसवनं तस्मिन् कालिन्द्याः सलिले शिवे ।
कृत्वोचितानि निवसन् आत्मनः कल्पितासनः ॥ ४३ ॥
नेपाली भावानुवादः त्यहाँ पुगेर कालिन्दी (यमुना) को निर्मल जलमा स्नान गरी नित्यकर्म सकेर स्थिर आसनमा बस्नू ।।४३।।
प्राणायामेन त्रिवृता प्राणेन्द्रियमनोमलम् ।
शनैर्व्युदस्याभिध्यायेन् मनसा गुरुणा गुरुम् ॥ ४४ ॥
नेपाली भावानुवादः त्यसपछि प्राणायामद्वारा इन्द्रिय र मनको मयल हटाई धैर्यपूर्वक भगवान्को ध्यान गर्नू ।।४४।।
प्रसादाभिमुखं शश्वत् प्रसन्नवदनेक्षणम् ।
सुनासं सुभ्रुवं चारु कपोलं सुरसुन्दरम् ॥ ४५ ॥
नेपाली भावानुवादः भगवान्को अनुहार र आँखा सधैँ प्रसन्न रहन्छन्। उहाँको नाक, आँखा र कपाल अत्यन्तै सुन्दर छन् र उहाँ भक्तलाई वर दिन सधैँ तत्पर हुनुहुन्छ ।।४५।।
तरुणं रमणीयाङ्गं अरुणोष्ठेक्षणाधरम् ।
प्रणताश्रयणं नृम्णं शरण्यं करुणार्णवम् ॥ ४६ ॥
नेपाली भावानुवादः उहाँ सधैँ तरुण देखिनुहुन्छ र उहाँका अङ्गहरू अत्यन्त आकर्षक छन्। उहाँ करुणाका सागर र शरणागतका रक्षक हुनुहुन्छ ।।४६।।
श्रीवत्साङ्कं घनश्यामं पुरुषं वनमालिनम् ।
शङ्खचक्रगदापद्मैः अभिव्यक्तचतुर्भुजम् ॥ ४७ ॥
नेपाली भावानुवादः उहाँको वक्षस्थलमा श्रीवत्सको चिह्न छ, शरीरको वर्ण घनश्याम (बादल जस्तो) छ। उहाँले चार हातमा शङ्ख, चक्र, गदा र पद्म धारण गर्नुभएको छ ।।४७।।
किरीटिनं कुण्डलिनं केयूरवलयान्वितम् ।
कौस्तुभाभरणग्रीवं पीतकौशेयवाससम् ॥ ४८ ॥
नेपाली भावानुवादः उहाँले मुकुट, कुण्डल र कौस्तुभमणि धारण गर्नुभएको छ र शरीरमा पीताम्बर सुशोभित छ ।।४८।।
काञ्चीकलापपर्यस्तं लसत्काञ्चन नूपुरम् ।
दर्शनीयतमं शान्तं मनोनयनवर्धनम् ॥ ४९ ॥
नेपाली भावानुवादः उहाँको कम्मरमा सुनको पेटी र गोडामा सुनको कल्ली छ। भगवान्को यो रूप अति नै शान्त र आनन्ददायक छ ।।४९।।
पद्भ्यां नखमणिश्रेण्या विलसद्भ्यां समर्चताम् ।
हृत्पद्मकर्णिकाधिष्ण्यं आक्रम्यात् मन्यवस्थितम् ॥ ५० ॥
नेपाली भावानुवादः आफ्ना भक्तहरूको हृदयकमलमा विराजमान भगवान्को ती नखमणि जस्तै चम्किला चरणहरूको मानस पूजा गर्नू ।।५०।।
स्मयमानं अभिध्यायेत् सानुरागावलोकनम् ।
नियतेनैकभूतेन मनसा वरदर्षभम् ॥ ५१ ॥
नेपाली भावानुवादः मुस्कुराइरहनुभएका र करुणाले हेरिरहनुभएका ती वरदायक प्रभुको एकाग्र मनले ध्यान गर्नू ।।५१।।
एवं भगवतो रूपं सुभद्रं ध्यायतो मनः ।
निर्वृत्या परया तूर्णं सम्पन्नं न निवर्तते ॥ ५२ ॥
नेपाली भावानुवादः यसरी भगवान्को मङ्गलमयी मूर्तिको ध्यान गर्नाले मन परमानन्दमा लीन हुन्छ र कतै भट्किँदैन ।।५२।।
जपश्च परमो गुह्यः श्रूयतां मे नृपात्मज ।
यं सप्तरात्रं प्रपठन् पुमान् पश्यति खेचरान् ॥ ५३ ॥
नेपाली भावानुवादः हे राजकुमार! अब म तिमीलाई एउटा गोप्य मन्त्र बताउँछु। यसलाई सात रातसम्म जप गर्नाले मानिसले सिद्ध पुरुषहरूको दर्शन पाउँछ ।।५३।।
ॐ नमो भगवते वासुदेवाय ।
मन्त्रेणानेन देवस्य कुर्याद् द्रव्यमयीं बुधः ।
सपर्यां विविधैर्द्रव्यैः देशकालविभागवित् ॥ ५४ ॥
नेपाली भावानुवादः त्यो मन्त्र हो— "ॐ नमो भगवते वासुदेवाय"। बुद्धिमान् पुरुषले यस मन्त्रद्वारा देश र कालअनुसार प्राप्त सामग्रीले भगवान्को पूजा गर्नुपर्दछ ।।५४।।
सलिलैः शुचिभिर्माल्यैः वन्यैर्मूलफलादिभिः ।
शस्ताङ्कुरांशुकैश्चार्चेत् तुलस्या प्रियया प्रभुम् ॥ ५५ ॥
नेपाली भावानुवादः पवित्र जल, फूलको माला, वनका फलफूल र भगवान्लाई प्रिय पर्ने तुलसीले पूजा गर्नू ।।५५।।
लब्ध्वा द्रव्यमयीमर्चां क्षित्यम्ब्वादिषु वार्चयेत् ।
आभृतात्मा मुनिः शान्तो यतवाङ्मितवन्यभुक् ॥ ५६ ॥
नेपाली भावानुवादः भगवान्को प्रतिमा नभएमा जमिन वा जलमै भए पनि पूजा गर्न सकिन्छ। मनलाई शान्त राखेर थोरै वनका फलहरू मात्र आहार गर्नू ।।५६।।
स्वेच्छावतारचरितैः अचिन्त्यनिजमायया ।
करिष्यति उत्तमश्लोकः तद् ध्यायेद् हृदयङ्गमम् ॥ ५७ ॥
परिचर्या भगवतो यावत्यः पूर्वसेविताः ।
ता मंत्रहृदयेनैव प्रयुञ्ज्यान् मंत्रमूर्तये ॥ ५८ ॥
नेपाली भावानुवादः भगवान्ले आफ्ना विभिन्न अवतारमा गर्नुभएका लीलाहरूको चिन्तन गर्नू। पूजाका सबै उपचारहरू यसै द्वादशाक्षरी मन्त्रले अर्पण गर्नू ।।५७-५८।।
एवं कायेन मनसा वचसा च मनोगतम् ।
परिचर्यमाणो भगवान् भक्तिमत्परिचर्यया ॥ ५९ ॥
पुंसां अमायिनां सम्यक् भजतां भाववर्धनः ।
श्रेयो दिशत्यभिमतं यद्धर्मादिषु देहिनाम् । ॥ ६० ॥
नेपाली भावानुवादः यसरी मन, वचन र शरीरले निष्कपट भई भक्ति गर्नेहरूको भगवान्ले मनोरथ पूरा गरिदिनुहुन्छ र उनीहरूलाई धर्म, अर्थ, काम र मोक्ष प्रदान गर्नुहुन्छ ।।५९-६०।।
विरक्तश्चेन्द्रियरतौ भक्तियोगेन भूयसा ।
तं निरन्तरभावेन भजेताद्धा विमुक्तये । ॥ ६१ ॥
नेपाली भावानुवादः यदि कोही संसारबाट विरक्त छ भने उसले मोक्षका लागि अटल भावले भगवान्को भजन गर्नुपर्दछ ।।६१।।
इत्युक्तस्तं परिक्रम्य प्रणम्य च नृपार्भकः ।
ययौ मधुवनं पुण्यं हरेश्वरणचर्चितम् । ॥ ६२ ॥
नेपाली भावानुवादः नारदजीको यस्तो उपदेश पाएपछि ध्रुवले उहाँलाई परिक्रमा र नमस्कार गरी पवित्र मधुवनतर्फ प्रस्थान गरे ।।६२।।
तपोवनं गते तस्मिन् प्रविष्टोऽन्तःपुरं मुनिः । अर्हितार्हणको राज्ञा सुखासीन उवाच तम् । ॥ ६३ ॥
नेपाली भावानुवादः ध्रुव वनतर्फ लागेपछि नारदजी राजा उत्तानपादको दरबारमा पुग्नुभयो। राजाले उहाँलाई सत्कारपूर्वक आसनमा बसालेपछि उहाँले सोध्नुभयो ।।६३।।
नारद उवाच –
राजन् किं ध्यायसे दीर्घं मुखेन परिशुष्यता ।
किं वा न रिष्यते कामो धर्मो वार्थेन संयुतः । ॥ ६४ ॥
नेपाली भावानुवादः नारदजीले भन्नुभयो— हे राजन्! तपाईँ किन यति धेरै चिन्तित देखिनुहुन्छ? तपाईँको धर्म, अर्थ वा काममा कुनै बाधा त परेको छैन? ।।६४।।
राजोवाच –
सुतो मे बालको ब्रह्मन् स्त्रैणेनाकरुणात्मना ।
निर्वासितः पञ्चवर्षः सह मात्रा महान्कविः । ॥ ६५ ॥
नेपाली भावानुवादः राजाले भने— हे ब्रह्मन्! म कस्तो स्त्रीलम्पट र निर्दयी रहेछु! मैले आफ्नो पाँच वर्षको बुद्धिमान् छोरालाई उसकी आमासहित घरबाट निकालिदिएँ ।।६५।।
अप्यनाथं वने ब्रह्मन् मा स्मादन्त्यर्भकं वृकाः ।
श्रान्तं शयानं क्षुधितं परिम्लानमुखाम्बुजम् ॥ ६६ ॥
नेपाली भावानुवादः हे ब्रह्मन्! त्यो असहाय बालक वनमा भोक र थकाइले कतै सुतेको होला, उसलाई जङ्गली जनावरले नखाऊन् भन्ने डर लाग्छ ।।६६।।
अहो मे बत दौरात्म्यं स्त्रीजितस्योपधारय ।
योऽङ्कं प्रेम्णाऽऽरुरुक्षन्तं नाभ्यनन्दमसत्तमः । ॥ ६७ ॥
नेपाली भावानुवादः मेरो कठोरता त हेर्नुहोस्, काखमा बस्न खोज्ने छोरालाई मैले अलिकति पनि माया देखाउन सकिनँ ।।६७।।
नारद उवाच –
मा मा शुचः स्वतनयं देवगुप्तं विशाम्पते ।
तत्प्रभावं अविज्ञाय प्रावृङ्क्ते यद्यशो जगत् । ॥ ६८ ॥
नेपाली भावानुवादः नारदजीले भन्नुभयो— हे राजन्! तपाईँ छोराको चिन्ता नगर्नुहोस्, उसको रक्षा भगवान्ले गर्नुहुन्छ। तपाईँलाई उसको प्रभावका बारेमा थाहा छैन, उसको यशले सारा जगत् ढाक्नेछ ।।६८।।
सुदुष्करं कर्म कृत्वा लोकपालैरपि प्रभुः ।
ऐष्यत्यचिरतो राजन् यशो विपुलयंस्तव । ॥ ६९ ॥
नेपाली भावानुवादः त्यो बालकले यस्तो कठिन कार्य गर्नेछ जुन लोकपालहरूले पनि गर्न सकेका छैनन्। ऊ चाँडै फर्केर आउनेछ र तपाईँको कीर्ति बढाउनेछ ।।६९।।
मैत्रेय उवाच –
इति देवर्षिणा प्रोक्तं विश्रुत्य जगतीपतिः ।
राजलक्ष्मीमनादृत्य पुत्रं एवान्वचिन्तयत् ॥ ७० ॥
नेपाली भावानुवादः मैत्रेयजी भन्नुहुन्छ— नारदजीको कुरा सुनेर महाराज उत्तानपाद राजकाजमा उदासीन भई छोराकै सम्झनामा रहन लागे ।।७०।।
समाहितः पर्यचर दृष्यादेशेन पूरुषम् ॥ ७१ ॥
नेपाली भावानुवादः उता ध्रुवले मधुवन पुगेर यमुनामा स्नान गरी नारदजीले बताएअनुसार एकाग्र चित्तले भगवान्को उपासना सुरु गरे ।।७१।।
त्रिरात्रान्ते त्रिरात्रान्ते कपित्थबदराशनः ।
आत्मवृत्त्यनुसारेण मासं निन्येऽर्चयन् हरिम् ॥ ७२ ॥
नेपाली भावानुवादः पहिलो महिनामा उनले तीन-तीन दिनको अन्तरमा कैँथ र बयरको फल खाएर भगवान्को आराधना गरे ।।७२।।
द्वितीयं च तथा मासं षष्ठे षष्ठेऽर्भको दिने ।
तृणपर्णादिभिः शीर्णैः कृतान्नोऽभ्यर्चयन् विभुम् ॥ ७३ ॥
नेपाली भावानुवादः दोस्रो महिनामा उनले छ-छ दिनको अन्तरमा सुकेका घाँस र पातहरू खाएर भगवान्को पूजा गरे ।।७३।।
तृतीयं चानयन् मासं नवमे नवमेऽहनि ।
अब्भक्ष उत्तमश्लोकं उपाधावत्समाधिना ॥ ७४ ॥
नेपाली भावानुवादः तेस्रो महिनामा नौ-नौ दिनको अन्तरमा पानी मात्र पिएर उनी समाधिमा लीन भए ।।७४।।
चतुर्थमपि वै मासं द्वादशे द्वादशेऽहनि ।
वायुभक्षो जितश्वासो ध्यायन् देवमधारयत् ॥ ७५ ॥
नेपाली भावानुवादः चौथो महिनामा उनले बाह्र-बाह्र दिनको अन्तरमा वायु मात्र खाएर श्वासलाई जित्दै ध्यान गरे ।।७५।।
पञ्चमे मास्यनुप्राप्ते जितश्वासो नृपात्मजः ।
ध्यायन् ब्रह्म पदैकेन तस्थौ स्थाणुरिवाचलः ॥ ७६ ॥
नेपाली भावानुवादः पाँचौँ महिना लागेपछि ध्रुवले श्वास रोकेर एउटा खुट्टाले उभिँदै खम्बा झैँ निश्चल भई परब्रह्मको चिन्तन गरे ।।७६।।
सर्वतो मन आकृष्य हृदि भूतेन्द्रियाशयम् ।
ध्यायन् भगवतो रूपं नाद्राक्षीत् किंचनापरम् ॥ ७७ ॥
नेपाली भावानुवादः उनले सबै इन्द्रिय र मनलाई खिचेर हृदयमा भगवान्को रूपलाई मात्र स्थापित गरे र बाहिरी संसारलाई पूर्णतः बिर्सिए ।।७७।।
आधारं महदादीनां प्रधानपुरुषेश्वरम् ।
ब्रह्म धारयमाणस्य त्रयो लोकाश्चकम्पिरे ॥ ७८ ॥
नेपाली भावानुवादः जब उनले सबैका आधार परब्रह्मलाई आफ्नो हृदयमा धारण गरे, तब उनको तपोबलका कारण तिनै लोक थरथर काम्न थाले ।।७८।।
(इंद्रवज्रा)
यदैकपादेन स पार्थिवार्भकः
तस्थौ तदङ्गुष्ठनिपीडिता मही ।
ननाम तत्रार्धमिभेन्द्रधिष्ठिता
तरीव सव्येतरतः पदे पदे ॥ ७९ ॥
नेपाली भावानुवादः ध्रुव एउटा खुट्टाले उभिँदा उनको खुट्टाको औँलाले थिचिएर पृथ्वी त्यसरी हल्लिन थालिन् जसरी एउटा हात्ती चढ्दा डुङ्गा दायाँ-बायाँ हल्लिन्छ ।।७९।।
तस्मिन् अभिध्यायति विश्वमात्मनो
द्वारं निरुध्यासमनन्यया धिया ।
लोका निरुच्छ्वासनिपीडिता भृशं
सलोकपालाः शरणं ययुर्हरिम् ॥ ८० ॥
नेपाली भावानुवादः ध्रुवले श्वास र प्राण रोकेर एकाग्र मनले ध्यान गर्दा सारा संसारकै श्वास रोकिए झैँ भयो। सबै लोकवासी पीडित भएर भगवान्को शरणमा गए ।।८०।।
देवा ऊचुः –
नैवं विदामो भगवन् प्राणरोधं
चराचरस्याखिलसत्त्वधाम्नः ।
विधेहि तन्नो वृजिनाद्विमोक्षं
प्राप्ता वयं त्वां शरणं शरण्यम् ॥ ८१ ॥
नेपाली भावानुवादः देवताहरूले भने— हे भगवन्! सबै चराचर जीवहरूको श्वास एकै पटक रोकिएको छ, यस्तो हामीले कहिल्यै अनुभव गरेका थिएनौँ। हाम्रो रक्षा गर्नुहोस् ।।८१।।
श्रीभगवानुवाच –
मा भैष्ट बालं तपसो दुरत्ययान्
निवर्तयिष्ये प्रतियात स्वधाम ।
यतो हि वः प्राणनिरोध आसीत्
औत्तानपादिर्मयि सङ्गतात्मा ॥ ८२ ॥
नेपाली भावानुवादः भगवान्ले भन्नुभयो— हे देवताहरू! तिमीहरू नडराऊ। ध्रुवले आफ्नो चित्त ममा लीन गरेकाले उनको प्राण रोकिँदा सारा जगत्कै श्वास रोकिएको हो। म गएर उनको तपस्या पूरा गराउँछु, तिमीहरू ढुक्क भएर आफ्नो लोकमा जाऊ ।।८२।।
यस अध्यायको सारांश :
श्रीमद्भागवतको चतुर्थ स्कन्धको आठौँ अध्यायमा ध्रुवको वन गमन र उनको अटल सङ्कल्पको प्रेरणादायी कथा छ। ब्रह्माजीका छोराहरू सनकादि आदिको वर्णनबाट सुरु भएको यो अध्यायमा अधर्मको वंशको पनि चर्चा छ। मुख्य कथा महाराज उत्तानपादका दुई रानी सुनीति र सुरुचिसँग सम्बन्धित छ। राजाले सुरुचिलाई बढी माया गर्थे, त्यसैले एक पटक सुरुचिका छोरा उत्तमलाई काखमा लिएका बेला सुनीतिका छोरा ध्रुव पनि काखमा बस्न खोज्दा सुरुचिले उनलाई अपमानित गरिन्। सुरुचिले ध्रुवलाई भनिन् कि राजाको काख वा सिंहासनमा बस्नका लागि उनले उनको कोखबाट जन्म लिनुपर्थ्यो। यो कुराले ध्रुवको बालहृदयमा गहिरो चोट लाग्यो। उनी रुँदै आफ्नी आमा सुनीति भए ठाउँमा गए। सुनीतिले छोरालाई सम्झाउँदै भनिन् कि सुरुचिले भने झैँ यदि उनी सर्वश्रेष्ठ पद चाहन्छन् भने उनले भगवान् श्रीहरिकै शरण लिनुपर्छ।
आमाको अर्ति शिरोपर गरी पाँच वर्षका ध्रुव वनतर्फ लागे। बाटोमा उनलाई देवर्षि नारद भेटिए। नारदले सुरुमा ध्रुवको परीक्षा लिए र उनलाई बालक भएकाले घर फर्कन सल्लाह दिए, तर ध्रुवको सङ्कल्प दृढ थियो। ध्रुवको दृढता देखेर नारदले उनलाई 'ॐ नमो भगवते वासुदेवाय' मन्त्रको उपदेश दिए र यमुनाको तटमा रहेको मधुवनमा गएर तपस्या गर्न सिकाए। ध्रुवले मधुवनमा गएर अत्यन्त कठोर तपस्या गरे। उनले खानपान घटाउँदै लगे र अन्त्यमा वायु मात्र खाएर र पछि श्वास नै रोकेर भगवान्को ध्यान गरे। उनको तपस्याको शक्तिले पृथ्वी डगमगाउन थाली र सारा ब्रह्माण्डकै श्वास रोकिएपछि देवताहरू आत्तिएर भगवान् विष्णुको शरणमा पुगे। भगवान्ले देवताहरूलाई धैर्य धारण गर्न भन्नुभयो र ध्रुवको मनोकामना पूरा गर्ने आश्वासन दिनुभयो।
यस अध्यायको दार्शनिक पक्ष :
यस अध्यायले मानिसको जीवनमा सङ्कल्पको महत्त्वलाई दर्साउँछ। ध्रुवको कथाले देखाउँछ कि यदि लक्ष्य स्पष्ट र सङ्कल्प दृढ छ भने उमेरले कुनै बाधा पुर्याउँदैन। यहाँ सुरुचिको कटु वचन 'निमित्त' मात्र हो, जसले ध्रुवलाई सांसारिक सुखभन्दा माथि उठेर परमात्माको खोजी गर्न प्रेरित गर्यो। आमा सुनीतिले दिएको उपदेशले देखाउँछ कि दुःखको समयमा बदलाको भावना राख्नुभन्दा ईश्वरको आश्रय लिनु नै श्रेयस्कर हुन्छ। नारदजीले दिएको 'द्वादशाक्षरी मन्त्र' र ध्यानको विधिले योगसाधनाको शास्त्रीय पक्षलाई स्पष्ट पार्दछ। ध्रुवको श्वास रोकिँदा सारा जगत्कै श्वास रोकिनुले 'पिण्ड' र 'ब्रह्माण्ड' बीचको सम्बन्धलाई पुष्टि गर्दछ; अर्थात् एक व्यक्तिको आत्मा र परमात्माको मिलन हुँदा सारा सृष्टिमा त्यसको प्रभाव पर्दछ। यसले 'अद्वैत' दर्शनलाई पनि स्पर्श गर्दछ, जहाँ उपासक र उपास्यको अभेद अवस्था सिर्जना हुन्छ। अन्त्यमा, यो अध्यायले अहंकार (दम्भ) बाट दुःख र भक्ति (ध्रुव) बाट परमानन्द प्राप्त हुन्छ भन्ने शाश्वत सत्यलाई स्थापित गर्दछ।