/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

दशमः स्कंधः – सप्तचत्वारिंशोऽध्यायः

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – सप्तचत्वारिंशोऽध्यायः


शुक उवाच

तं वीक्ष्य कृष्कानुचरं व्रजस्त्रियः
    प्रलम्बबाहुं नवकञ्जलोचनम् ।
पीताम्बरं पुष्करमालिनं लस-
    न्मुखारविन्दं मणिमृष्टकुण्डलम् ॥ १ ॥
सुचिस्मिताः कोऽयमपीच्यदर्शनः
    कुतश्च कस्याच्युतवेषभूषणः ।
इति स्म सर्वाः परिवव्रुरुत्सुका-
    स्तमुत्तमःश्लोकपदाम्बुजाश्रयम् ॥ २ ॥
नेपाली भावानुवादः कमलको फूलको माला लगाएका, पीताम्बर धारण गरेका, कानमा मणिजडित कुण्डल भएका, नवकमल जस्तै नेत्र भएका, देदीप्यमान मुखारविन्द भएका तथा श्रीकृष्णको जस्तै वेशभूषा र आभूषण लगाएका ती कृष्णानुचर (उद्धव) लाई देखेर गोपिनीहरू "यी अति सुन्दर पुरुष को हुन्, कहाँबाट आएका हुन् र कसका दूत हुन्?" भन्दै उत्सुकतापूर्वक चारैतिरबाट घेर्न लागे ।। १-२ ।।
 
तं प्रश्रयेणावनताः सुसत्कृतं
    सव्रीडहासेक्षणसूनृतादिभिः ।
रहस्यपृच्छन्नुपविष्टमासने
    विज्ञाय सन्देशहरं रमापतेः ॥ ३ ॥
नेपाली भावानुवादः ती आगन्तुकलाई लक्ष्मीपति श्रीकृष्णको सन्देशवाहक हो भन्ने थाहा पाएपछि गोपिनीहरूले विनयपूर्वक झुकेर, लज्जा मिश्रित मुस्कान र मधुर वाणीद्वारा उनको सत्कार गरे। त्यसपछि उनलाई सुखद आसनमा बसाएर एकान्तमा सोध्न लागे ।। ३ ।।
 
जानीमस्त्वां यदुपतेः पार्षदं समुपागतम् ।
भर्त्रेह प्रेषितः पित्रोर्भवान् प्रियचिकीर्षया ॥ ४ ॥
नेपाली भावानुवादः हामी जान्दछौँ, तपाईं यदुपति श्रीकृष्णको पार्षद हुनुहुन्छ। आफ्ना मातापितालाई खुसी पार्नका निम्ति नै स्वामीले तपाईंलाई यहाँ पठाउनुभएको हो ।। ४ ।।
 
अन्यथा गोव्रजे तस्य स्मरणीयं न चक्ष्महे ।
स्नेहानुबन्धो बन्धूनां मुनेरपि सुदुस्त्यजः ॥ ५ ॥
नेपाली भावानुवादः नत्र भने मातापिता बाहेक यस गोकुलमा उहाँले सम्झनुपर्ने अरू केही छ जस्तो हामीलाई लाग्दैन। किनकि आफ्ना नाता-कुटुम्बप्रतिको स्नेह बन्धन त्याग्न त मुनिहरूलाई पनि कठिन हुन्छ ।। ५ ।।
 
अन्येष्वर्थकृता मैत्री यावदर्थविडम्बनम् ।
पुम्भिः स्त्रीषु कृता यद्वत् सुमनःस्स्विव षट्पदैः ॥ ६ ॥
नेपाली भावानुवादः अरू व्यक्तिहरूसँगको मित्रता त प्रयोजन सिद्ध नहुन्जेलसम्मका लागि मात्र हुने गर्दछ। जसरी भ्रमराले फूलको रस सकिएपछि त्यसलाई छाडिदिन्छ, त्यसैगरी पुरुषहरूले पनि स्त्रीहरूसँग स्वार्थका लागि मात्र सम्बन्ध राख्दछन् ।। ६ ।।
 
निःस्वं त्यजन्ति गणिका अकल्पं नृपतिं प्रजाः ।
अधीतविद्या आचार्यमृत्विजो दत्तदक्षिणम् ॥ ७ ॥
नेपाली भावानुवादः धन सकिएपछि वेश्याले निर्धन प्रेमीलाई छाडिदिन्छिन्। रक्षा गर्न असमर्थ राजालाई प्रजाले त्यागिदिन्छन्। विद्या पढिसकेपछि शिष्यले गुरुको वास्ता गर्दैनन् र दक्षिणा पाएपछि पुरोहितले यजमानलाई छोडिदिन्छन् ।। ७ ।।
 
खगा वीतफलं वृक्षं भुक्त्वा चातिथयो गृहम् ।
दग्धं मृगास्तथारण्यं जारो भुक्त्वा रतां स्त्रियम् ॥ ८ ॥
नेपाली भावानुवादः फल सकिएपछि चराहरूले रुखलाई, भोजनपछि अतिथिले गृहस्थको घरलाई, डडेलो लागेपछि मृगहरूले वनलाई र कामवासना तृप्त भएपछि जार पुरुषले स्त्रीलाई त्यागिदिन्छन् ।। ८ ।।
 
इति गोप्यो हि गोविन्दे गतवाक्कायमानसाः ।
कृष्णदूते समायाते उद्धवे त्यक्तलौकिकाः ॥ ९ ॥
गायन्त्यः प्रीयकर्माणि रुदन्त्यश्च गतह्रियः ।
तस्य संस्मृत्य संस्मृत्य यानि कैशोरबाल्ययोः ॥ १० ॥
नेपाली भावानुवादः यस प्रकार श्रीकृष्णमा मन, वचन र शरीर समर्पित गरेका ती गोपिनीहरूले कृष्णदूत उद्धवलाई आएको देखेपछि लोकलाज त्यागेर कृष्णका बाल्यकाल र किशोर अवस्थाका लीलाहरू सम्झँदै गाउन र रुन थाले ।। ९-१० ।।
 
काचिन्मधुकरं दृष्ट्वा ध्यायन्ती कृष्णसङ्‌गमम् ।
प्रियप्रस्थापितं दूतं कल्पयित्वेदमब्रवीत् ॥ ११ ॥
नेपाली भावानुवादः तीमध्ये एक गोपिनी कृष्णको मिलनलाई ध्यान गरिरहेकी थिइन्। त्यही समयमा एउटा भ्रमरालाई देखेर उनले त्यसलाई आफ्ना प्रियतमले पठाएको दूत सम्झिइन् र यसरी भन्न थालिन् ।। ११ ।।
 
गोप्युवाच
मधुप कितवबन्धो मा स्पृशङ्‌घ्रिं सपत्न्याः
कुचविलुलितमालाकुङ्‌कुमश्मश्रुभिर्नः ।
वहतु मधुपतिस्तन्मानिनीनां प्रसादं
यदुसदसि विडम्ब्यं यस्य दूतस्त्वमीदृक् ॥ १२ ॥
नेपाली भावानुवादः गोपिनीले भनिन्ए भ्रमरा! तँ कपटीको साथी होस्। हाम्रा खुट्टा नछो। तेरो जुँगामा हाम्रा सौताका स्तनमा घोटिँदा लत्पतिएको कुङ्कुमरूपी श्रीकृष्णको मालाको रङ्ग लागेको छ। मथुराका मानिनी स्त्रीहरूको त्यो प्रसाद श्रीकृष्णले नै धारण गरून्, जसका दूत तँ जस्ता छौ, उनी यादवहरूको सभामा उपहासका पात्र बन्नेछन् ।। १२ ।।
 
सकृदधरसुधां स्वां मोहिनीं पाययित्वा
सुमनस इव सद्यस्तत्यजेऽस्मान् भवादृक् ।
परिचरति कथं तत्पादपद्मं नु पद्मा
ह्यपि बत हृतचेता ह्युत्तमःश्लोकजल्पैः ॥ १३ ॥
नेपाली भावानुवादः तँ र तेरा मालिक एकै हौ। जसरी तँ फूलको रस लिएर उडिहाल्छस्, त्यसरी नै उहाँले पनि हामीलाई एक पटक मोहिनी अधरामृत पान गराएर चटक्कै छाडिदिनुभयो। चञ्चला लक्ष्मीले उहाँको चरणकमलको सेवा किन गरिरहेकी होलिन्, अचम्म लाग्छ! सायद उत्तमश्लोक भगवानका मिठा कुराले उनको चित्त हरण गर्यो होला ।। १३ ।।
 
किमिह बहु षडङ्‌घ्रे गायसि त्वं यदूना-
    मधिपतिमगृहाणामग्रतो नः पुराणम् ।
विजयसखसखीनां गीयतां तत्प्रसङ्‌गः
    क्षपितकुचरुजस्ते कल्पयन्तीष्टमिष्टाः ॥ १४ ॥
नेपाली भावानुवादः हे षट्पद (छ खुट्टे भ्रमरा)! घरबारविहीन हामी वनवासीका अगाडि आएर यदुपतिको पुरानो कथा किन गाइरहन्छौ? बरु ती मथुराका नयाँ सखीहरूका अगाडि गएर यो गुणगान गाऊ, जसको विरह-व्यथा श्रीकृष्णले शान्त गरिदिनुभएको छ र जसले तिम्रो इच्छा पूरा गरिदिनेछन् ।। १४ ।।
 
दिवि भुवि च रसायां काः स्त्रियस्तद्दुरापाः
    कपटरुचिरहासभ्रूविजृम्भस्य याः स्युः ।
चरणरज उपास्ते यस्य भूतिर्वयं का
    अपि च कृपणपक्षे ह्युत्तमश्लोकशब्दः ॥ १५ ॥
नेपाली भावानुवादः स्वर्ग, पृथ्वी र पातालमा यस्ता कुन स्त्री होलान् जो उहाँको कपटपूर्ण मुस्कान र भ्रूभङ्गिमाबाट आकर्षित नहुन्? साक्षात् लक्ष्मी जसको चरणधुलिको सेवा गर्छिन्, उहाँका अगाडि हामी सामान्य स्त्रीहरू के नै हौँ र? तर दीनदुःखीमाथि दया गर्ने हुनाले नै उहाँलाई 'उत्तमश्लोक' भनिएको होला ।। १५ ।।
 
विसृज शिरसि पादं वेद्म्यहं चाटुकारै-
    रनुनयविदुषस्तेऽभ्येत्य दौत्यैर्मुकुन्दात् ।
स्वकृत इह विसृष्टापत्यपत्यन्यलोका
    व्यसृजदकृतचेताः किं नु सन्धेयमस्मिन् ॥ १६ ॥
नेपाली भावानुवादः मेरो खुट्टामा शिर राखेर अनुनय-विनय नगर, मलाई थाहा छश्रीकृष्णबाट दूतकर्म सिकेर तिमी फकाउनमा सिपालु भएका छौ। जसका लागि हामीले आफ्ना पति, पुत्र र लोक-परलोक सबै त्याग्यौँ, उनैले हामीलाई बिचल्लीमा पारेर छाडिदिए। यस्ता कृतघ्नसँग अब के सन्धि (सम्बन्ध) गर्ने? ।। १६ ।।
 
मृगयुरिव कपीन्द्रं विव्यधे लुब्धधर्मा
    स्त्रियमकृत विरूपां स्त्रीजितः कामयानाम् ।
बलिमपि बलिमत्त्वावेष्टयद् ध्वाङ्‌क्षवद् य-
    स्तदलमसितसख्यैर्दुस्त्यजस्तत्कथार्थः ॥ १७ ॥
नेपाली भावानुवादः उहाँ साह्रै निष्ठुरी हुनुहुन्छ। राम अवतारमा व्याधाले झैँ लुकेर बालीलाई मार्नुभयो, कामिनी शूर्पणखाको नाक-कान काटेर कुरूप बनाइदिनुभयो। वामन अवतारमा बलि राजाको पूजा ग्रहण गरेर पनि उनलाई वरुणपाशले बाँध्नुभयो। यस्ता काला (कृष्ण) को मित्रता हामीलाई चाहिँदैन, तर के गर्नुउहाँको कथा यस्तो छ कि त्यसलाई छाड्न मनै मान्दैन ।। १७ ।।
 
यदनुचरितलीलाकर्णपीयूषविप्रुट्-
    सकृददनविधूतद्वन्द्वधर्मा विनष्टाः ।
सपदि गृहकुटुम्बं दीनमुत्सृज्य दीना
    बहव इह विहङ्‌गा भिक्षुचर्यां चरन्ति ॥ १८ ॥
नेपाली भावानुवादः जसको कर्णप्रिय लीला-अमृतको एक थोपा मात्र पान गर्नाले पनि मानिसहरूले सांसारिक मोह र द्वन्द्वलाई त्याग्दछन् र आफ्ना आश्रित परिवारलाई छाडेर पक्षी झैँ विरक्त भई भिक्षु बनेर हिँड्छन्, त्यस्ताको कथा कसरी छोड्न सकिन्छ र? ।। १८ ।।
 
वयमृतमिव जिह्मव्याहृतं श्रद्दधानाः
    कुलिकरुतमिवाज्ञाः कृष्णवध्वो हरिण्यः ।
ददृशुरसकृदेतत्तन्नखस्पर्शतीव्र-
    स्मररुज उपमन्त्रिन् भण्यतामन्यवार्ता ॥ १९ ॥
नेपाली भावानुवादः जसरी व्याधाको मधुर गानमा विश्वास गर्दा हरिणीहरू संकटमा पर्छन्, त्यसैगरी हामी अबलाहरू पनि श्रीकृष्णका झुटो तर मधुर कुरामा विश्वास गरेर उहाँको नखस्पर्शले उत्पन्न काम-व्यथाले पीडित छौँ। त्यसैले हे दूत! अब उहाँको होइन, अर्कै कुनै कुरा गर ।। १९ ।।
 
प्रियसख पुनरागाः प्रेयसा प्रेषितः किं
    वरय किमनुरुन्धे माननीयोऽसि मेऽङ्‌ग ।
नयसि कथमिहास्मान् दुस्त्यजद्वन्द्वपार्श्वं
    सततमुरसि सौम्य श्रीर्वधूः साकमास्ते ॥ २० ॥
नेपाली भावानुवादः हे प्रियसखा भ्रमरा! के तिमी फेरि प्रियतमबाटै पठाइएर आएका हौ? तिमी हाम्रा लागि पूजनीय छौ, के इच्छा छ माग। तर तिमी हामीलाई त्यस्ता व्यक्तिकहाँ कसरी लैजान्छौ, जसको छातीमा सधैँ लक्ष्मी विराजमान छिन्? ।। २० ।।
 
अपि बत मधुपुर्यामार्यपुत्रोऽधुनाऽऽस्ते
    स्मरति स पितृगेहान् सौम्य बन्धूंश्च गोपान् ।
क्वचिदपि स कथा नः किङ्‌करीणां गृणीते
    भुजमगुरुसुगन्धं मूर्ध्न्यधास्यत्कदा नु ॥ २१ ॥
नेपाली भावानुवादः हे सौम्य! के श्रीकृष्ण अहिले मथुरामा सुखपूर्वक हुनुहुन्छ? के उहाँले कहिलेकाहीँ नन्दबाबाको घर र गोठका साथीहरूलाई सम्झनुहुन्छ? हामी दासीहरूको चर्चा कहिल्यै चल्छ कि चल्दैन? अगरुको सुगन्ध आउने आफ्ना हात हाम्रा शिरमा उहाँले कहिले राख्नुहोला? ।। २१ ।।
 
शुक उवाच
अथोद्धवो निशम्यैवं कृष्णदर्शनलालसाः ।
सान्त्वयन् प्रियसन्देशैर्गोपीरिदमभाषत ॥ २२ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छकृष्ण दर्शनका लागि आतुर गोपिनीहरूको यस्तो विरहपूर्ण कुरा सुनेपछि उद्धवजीले प्रियतम श्रीकृष्णको सन्देश सुनाउँदै यसरी सान्त्वना दिन थाल्नुभयो ।। २२ ।।
 
उद्धव उवाच
अहो यूयं स्म पूर्णार्था भवत्यो लोकपूजिताः ।
वासुदेवे भगवति यासामित्यर्पितं मनः ॥ २३ ॥
नेपाली भावानुवादः उद्धवजीले भन्नुभयोअहो! तपाईंहरू कृतकृत्य हुनुहुन्छ र संसारकै लागि पूजनीय हुनुहुन्छ, किनकि तपाईंहरूले आफ्नो सम्पूर्ण मन भगवान् वासुदेवमा अर्पण गर्नुभएको छ ।। २३ ।।
 
दानव्रततपोहोमजपस्वाध्यायसंयमैः ।
श्रेयोभिर्विविधैश्चान्यैः कृष्णे भक्तिर्हि साध्यते ॥ २४ ॥
नेपाली भावानुवादः दान, व्रत, तप, होम, जप, स्वाध्याय र इन्द्रिय दमन जस्ता अनेकौँ शुभ कर्महरूद्वारा मानिसहरू श्रीकृष्णको भक्ति प्राप्त गर्ने प्रयत्न गर्दछन् ।। २४ ।।
 
भगवत्युत्तमश्लोके भवतीभिरनुत्तमा ।
भक्तिः प्रवर्तिता दिष्ट्या मुनीनामपि दुर्लभा ॥ २५ ॥
नेपाली भावानुवादः तर तपाईंहरूले मुनिहरूका लागि पनि दुर्लभ रहेको सर्वोत्तम भक्ति भगवान् श्रीकृष्णमा स्वतः प्राप्त गरिसक्नुभएको छ, यो ठुलो सौभाग्य हो ।। २५ ।।
 
दिष्ट्या पुत्रान् पतीन् देहान् स्वजनान् भवनानि च ।
हित्वावृनीत यूयं यत् कृष्णाख्यं पुरुषं परम् ॥ २६ ॥
नेपाली भावानुवादः तपाईंहरूले छोराछोरी, पति, शरीर, स्वजन र घरसंसार सबै त्यागेर केवल पुरुषोत्तम श्रीकृष्णलाई रोज्नुभयो, यो साह्रै प्रशंसनीय कार्य हो ।। २६ ।।
 
सर्वात्मभावोऽधिकृतो भवतीनामधोक्षजे ।
विरहेण महाभागा महान्मेऽनुग्रहः कृतः ॥ २७ ॥
नेपाली भावानुवादः हे महाभाग्यमानी गोपिनीहरू! विरहका कारण तपाईंहरूले भगवान् अधोक्षज (इन्द्रियातीत) प्रति जुन सर्वात्मभाव (अनन्य प्रेम) देखाउनुभयो, यसले ममाथि ठुलो अनुग्रह भएको छ ।। २७ ।।
 
श्रूयतां प्रियसन्देशो भवतीनां सुखावहः ।
यमादायागतो भद्रा अहं भर्तू रहस्करः ॥ २८ ॥
नेपाली भावानुवादः म मेरो स्वामीको गोप्य सन्देश लिएर आएको छु। तपाईंहरूलाई सुख प्रदान गर्ने प्रियतमको त्यो सन्देश ध्यान दिएर सुन्नुहोस् ।। २८ ।।
 
श्रीभगवानुवाच
भवतीनां वियोगो मे न हि सर्वात्मना क्वचित् ।
यथा भूतानि भूतेषु खं वाय्वग्निर्जलं मही ।
तथाहं च मनःप्राणभूतेन्द्रियगुणाश्रयः ॥ २९ ॥
नेपाली भावानुवादः श्रीभगवान् भन्नुहुन्छमेरो र तपाईंहरूको कहिल्यै वियोग हुन सक्दैन, किनकि म सबैको आत्मा हुँ। जसरी पञ्चमहाभूत (आकाश, वायु, अग्नि, जल र पृथ्वी) सबै भौतिक वस्तुमा व्याप्त छन्, त्यसैगरी म पनि मन, प्राण, इन्द्रिय र गुणहरूको आश्रयका रूपमा सबैतिर व्याप्त छु ।। २९ ।।
 
आत्मन्येवात्मनात्मानं सृजे हन्म्यनुपालये ।
आत्ममायानुभावेन भूतेन्द्रियगुणात्मना ॥ ३० ॥
नेपाली भावानुवादः म नै आफ्नो मायाको शक्तिले पञ्चभूत, इन्द्रिय र गुणका रूपमा आफूद्वारा नै सृजना, पालन र संहार गर्दछु ।। ३० ।।
 
आत्मा ज्ञानमयः शुद्धो व्यतिरिक्तोऽगुणान्वयः ।
सुषुप्तिस्वप्नजाग्रद्‌भिर्मायावृत्तिभिरीयते ॥ ३१ ॥
नेपाली भावानुवादः आत्मा शुद्ध, ज्ञानमय र शरीरभन्दा भिन्न छ। यसको प्राकृतिक गुणसँग कुनै सम्बन्ध छैन। जाग्रत्, स्वप्न र सुषुप्ति जस्ता मायाका वृत्तिहरूद्वारा मात्र यो शरीरको आभास हुन्छ ।। ३१ ।।
 
येनेन्द्रियार्थान् ध्यायेत मृषा स्वप्नवदुत्थितः ।
तन्निरुन्ध्यादिन्द्रियाणि विनिद्रः प्रत्यपद्यत ॥ ३२ ॥
नेपाली भावानुवादः जसरी ब्यूँझिएको मानिसले सपनाका कुरालाई झुटो ठान्छ, त्यसैगरी जसले मन र इन्द्रियहरूलाई वशमा राखेर विषयहरूको चिन्तन गर्दैन, उसले मलाई (ब्रह्मलाई) प्राप्त गर्दछ ।। ३२ ।।
 
एतदन्तः समाम्नायो योगः साङ्‌ख्यं मनीषिणाम् ।
त्यागस्तपो दमः सत्यं समुद्रान्ता इवापगाः ॥ ३३ ॥
नेपाली भावानुवादः जसरी सबै नदीहरू अन्त्यमा समुद्रमा नै मिसिन्छन्, त्यसैगरी वेद, योग, साङ्ख्य, त्याग, तपस्या, इन्द्रिय दमन र सत्य जस्ता सबै साधनको अन्तिम लक्ष्य मलाई प्राप्त गर्नु नै हो ।। ३३ ।।
 
यत्त्वहं भवतीनां वै दूरे वर्ते प्रियो दृशाम् ।
मनसः सन्निकर्षार्थं मदनुध्यानकाम्यया ॥ ३४ ॥
नेपाली भावानुवादः म तपाईंहरूको आँखाबाट टाढा रहनुको कारण तपाईंहरूले मलाई झन् बढी सम्झनुहोस् र मन सधैँ ममा नै लागिरहोस् भन्नका लागि हो ।। ३४ ।।
 
यथा दूरचरे प्रेष्ठे मन आविश्य वर्तते ।
स्त्रीणां च न तथा चेतः सन्निकृष्टेऽक्षिगोचरे ॥ ३५ ॥
नेपाली भावानुवादः किनकि प्रियतम टाढा हुँदा स्त्रीहरूको मन जति प्रगाढ रूपमा उहाँमा तल्लीन हुन्छ, नजिक हुँदा वा आँखाका अगाडि हुँदा त्यति हुँदैन ।। ३५ ।।
 
मय्यावेश्य मनः कृत्स्नं विमुक्ताशेषवृत्ति यत् ।
अनुस्मरन्त्यो मां नित्यमचिरान्मामुपैष्यथ ॥ ३६ ॥
नेपाली भावानुवादः यस प्रकार सबै सांसारिक वृत्तिहरूलाई त्यागेर ममा नै मन एकाग्र गराई निरन्तर मेरो स्मरण गर्नाले तपाईंहरूले मलाई छिट्टै प्राप्त गर्नुहुनेछ ।। ३६ ।।
 
या मया क्रीडता रात्र्यां वनेऽस्मिन् व्रज आस्थिताः ।
अलब्धरासाः कल्याण्यो माऽऽपुर्मद्वीर्यचिन्तया ॥ ३७ ॥
नेपाली भावानुवादः हे कल्याणीहरू! जुन रात मैले वृन्दावनमा रासलीला गरेको थिएँ, त्यस समयमा घरमै रोकिनुपरेका गोपिनीहरूले पनि मेरो स्वरूपको ध्यान गरेर नै मलाई प्राप्त गरेका थिए ।। ३७ ।।
 
शुक उवाच
एवं प्रियतमादिष्टमाकर्ण्य व्रजयोषितः ।
ता ऊचुरुद्धवं प्रीतास्तत्सन्देशागतस्मृतीः ॥ ३८ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छआफ्ना प्रियतम श्रीकृष्णको यस्तो सन्देश सुनेपछि गोपिनीहरू प्रसन्न भए। उनीहरूलाई कृष्णका पुराना लीलाहरूको स्मरण भयो र उद्धवजीसँग यसरी भन्न थाले ।। ३८ ।।
 
गोप्य ऊचुः
दिष्ट्याहितो हतः कंसो यदूनां सानुगोऽघकृत् ।
दिष्ट्याप्तैर्लब्धसर्वार्थैः कुशल्यास्तेऽच्युतोऽधुना ॥ ३९ ॥
नेपाली भावानुवादः गोपिनीहरूले भनेयादवहरूका शत्रु पापी कंश आफ्ना अनुयायीहरूसहित मारिनु साह्रै खुसीको कुरा हो। श्रीकृष्ण अहिले आफ्ना सफल मनोरथ भएका आफन्तहरूसँग कुशल हुनुहुन्छ, यो पनि हाम्रो लागि गौरवको विषय हो ।। ३९ ।।
 
कच्चिद् गदाग्रजः सौम्य करोति पुरयोषिताम् ।
प्रीतिं नः स्निग्धसव्रीडहासोदारेक्षणार्चितः ॥ ४० ॥
नेपाली भावानुवादः तर हे सौम्य उद्धव! के हाम्रा कृष्णले अहिले त्यहाँका सहरिया स्त्रीहरूलाई आफ्नो मधुर मुस्कान र सुन्दर कटाक्षद्वारा आनन्दित पार्दै प्रेम गर्नुहुन्छ त? ।। ४० ।।
 
कथं रतिविशेषज्ञः प्रियश्च पुरयोषिताम् ।
नानुबध्येत तद्वाक्यैर्विभ्रमैश्चानुभाजितः ॥ ४१ ॥
नेपाली भावानुवादः प्रेम कलामा निपुण र सहरिया स्त्रीहरूका प्रिय श्रीकृष्ण उनीहरूका मीठा कुरा र हाउभाउको बन्धनमा कसरी नपर्नुहोला र? ।। ४१ ।।
 
अपि स्मरति नः साधो गोविन्दः प्रस्तुते क्वचित् ।
गोष्ठिमध्ये पुरस्त्रीणां ग्राम्याः स्वैरकथान्तरे ॥ ४२ ॥
नेपाली भावानुवादः हे साधु उद्धव! के मथुराका स्त्रीहरूका बीचमा कुराकानी हुँदा गोविन्दले कहिल्यै हामी गाउँले गोपिनीहरूलाई पनि सम्झनुहुन्छ? ।। ४२ ।।
 
ताः किं निशाः स्मरति यासु तदा प्रियाभि-
    र्वृन्दावने कुमुदकुन्दशशाङ्‌करम्ये ।
रेमे क्वणच्चरणनूपुररासगोष्ठ्या-
    मस्माभिरीडितमनोज्ञकथः कदाचित ॥ ४३ ॥
नेपाली भावानुवादः कुमुद र कुन्द फूलहरू फुलेको तथा चन्द्रमाको शीतल प्रकाशले सुन्दर बनेको वृन्दावनको त्यो रात, जहाँ हाम्रो पाउजुको छमछम आवाजका बीच उहाँले हामीसँग रास नृत्य गर्नुभएको थियो, के उहाँले त्यो कहिल्यै सम्झनुहुन्छ? ।। ४३ ।।
 
अप्येष्यतीह दाशार्हस्तप्ताः स्वकृतया शुचा ।
सञ्जीवयन्नु नो गात्रैर्यथेन्द्रो वनमम्बुदैः ॥ ४४ ॥
नेपाली भावानुवादः विरहको आगोले जलिरहेका हामीलाई शीतल जल बर्साएर इन्द्रले डढेको वनलाई बचाए जस्तै, श्रीकृष्णले आफ्नो साक्षात् स्पर्शद्वारा जीवन दान दिन के फेरि यहाँ आउनुहोला? ।। ४४ ।।
 
कस्मात् कृष्ण इहायाति प्राप्तराज्यो हताहितः ।
नरेन्द्रकन्या उद्वाह्य प्रीतः सर्वसुहृद्‌वृतः ॥ ४५ ॥
नेपाली भावानुवादः अब त उहाँले राज्य प्राप्त गर्नुभएको छ र शत्रुहरू मारिएका छन्। राजकुमारीहरूसँग विवाह गरेर आफ्ना साथीभाइका साथ रमाउनुभएका उहाँ यहाँ किन आइरहनुहुन्थ्यो र? ।। ४५ ।।
 
किमस्माभिर्वनौकोभिरन्याभिर्वा महात्मनः ।
श्रीपतेराप्तकामस्य क्रियेतार्थः कृतात्मनः ॥ ४६ ॥
नेपाली भावानुवादः साक्षात् लक्ष्मीपति र पूर्णकाम (सबै इच्छा पूरा भएका) ती महात्मा श्रीकृष्णका लागि हामी वनवासी स्त्रीहरूको अब के नै प्रयोजन रह्यो र? ।। ४६ ।।
 
परं सौख्यं हि नैराश्यं स्वैरिण्यप्याह पिङ्‌गला ।
तज्जानतीनां नः कृष्णे तथाप्याशा दुरत्यया ॥ ४७ ॥
नेपाली भावानुवादः पिङ्गला वेश्याले 'आशा त्याग्नु नै परम सुख हो' भनेकी थिइन्, त्यो कुरा थाहा पाउँदापाउँदै पनि हामी कृष्ण फर्केर आउनुहोला भन्ने आशा त्याग्न सकिरहेका छैनौँ ।। ४७ ।।
 
क उत्सहेत सन्त्यक्तुमुत्तमःश्लोकसंविदम् ।
अनिच्छतोऽपि यस्य श्रीरङ्‌गान्न च्यवते क्वचित ॥ ४८ ॥
नेपाली भावानुवादः भगवान्ले गरेका ती प्रेममय कुराहरूलाई कसले बिर्सन सक्छ र? उहाँ नचाहँदा पनि साक्षात् लक्ष्मी उहाँको शरीर (छाती) छोडेर कतै जाँदिनन् ।। ४८ ।।
 
सरिच्छैलवनोद्देशा गावो वेणुरवा इमे । सङ्‌कर्षणसहायेन कृष्णेनाचरिताः प्रभो ॥ ४९ ॥
नेपाली भावानुवादः हे प्रभु! यी नदी, पर्वत, वन, गाईहरू र यो बाँसुरीको धुनयी सबैमा बलराम र श्रीकृष्णका स्मृतिहरू जोडिएका छन् ।। ४९ ।।
 
पुनः पुनः स्मारयन्ति नन्दगोपसुतं बत ।
श्रीनिकेतैस्तत्पदकैर्विस्मर्तुं नैव शक्नुमः ॥ ५० ॥
नेपाली भावानुवादः यी वन र पर्वतमा रहेका उहाँका सुन्दर चरणचिह्नहरूले हामीलाई बारम्बार नन्दनन्दनको सम्झना गराउँछन्, त्यसैले हामी उहाँलाई बिर्सन सक्दैनौँ ।। ५० ।।
 
गत्या ललितयोदारहासलीलावलोकनैः ।
माध्व्या गिरा हृतधियः कथं तं विस्मरामहे ॥ ५१ ॥
नेपाली भावानुवादः उहाँको सुन्दर चाल, उदार मुस्कान, मनोहर हेराई र मधुर वाणीले हाम्रो चित्त हरण गरिसकेको छ, यस्तो अवस्थामा हामी उहाँलाई कसरी भुल्न सक्छौँ? ।। ५१ ।।
 
हे नाथ हे रमानाथ व्रजनाथार्तिनाशन । मग्नमुद्धर गोविन्द गोकुलं वृजिनार्णवात् ॥ ५२ ॥
नेपाली भावानुवादः हे नाथ! हे लक्ष्मीनाथ! हे व्रजेश्वर! हे दुःखनाशक गोविन्द! दुःखको सागरमा डुबेको यस गोकुलको उद्धार गर्नुहोस् ।। ५२ ।।
 
शुक उवाच
ततस्ताः कृष्णसन्देशैर्व्यपेतविरहज्वराः ।
उद्धवं पूजयाश्चक्रुर्ज्ञात्वाऽऽत्मानमधोक्षजम् ॥ ५३ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छकृष्णको सन्देश सुनेपछि गोपिनीहरूको विरह-ताप शान्त भयो। उनीहरूले श्रीकृष्णलाई नै सबैको आत्मामा व्याप्त सम्झेर दूत उद्धवको विधिवत् पूजा गरे ।। ५३ ।।
 
उवास कतिचिन्मासान् गोपीनां विनुदञ्छुचः ।
कृष्णलीलाकथां गायन् रमयामास गोकुलम् ॥ ५४ ॥
नेपाली भावानुवादः गोपिनीहरूको शोक हटाउनका लागि उद्धवजी केही महिना व्रजमै बसे र कृष्णका लीलाहरूको गान गरेर सम्पूर्ण गोकुललाई आनन्दित तुल्याए ।। ५४ ।।
 
यावन्त्यहानि नन्दस्य व्रजेऽवात्सीत् स उद्धवः ।
व्रजौकसां क्षणप्रायाण्यासन् कृष्णस्य वार्तया ॥ ५५ ॥
नेपाली भावानुवादः उद्धवजी जति दिन नन्दको गोकुलमा बसे, कृष्णका कुराहरू सुन्दासुन्दै ब्रजवासीहरूका ती दिनहरू एक क्षण जस्तै बिते ।। ५५ ।।
 
सरिद्वनगिरिद्रोणीर्वीक्षन् कुसुमितान् द्रुमान् ।
कृष्णं संस्मारयन् रेमे हरिदासो व्रजौकसाम् ॥ ५६ ॥
नेपाली भावानुवादः भगवान्का सेवक उद्धवजीले नदी, वन, पर्वत, गुफा र ढकमक्क फुलेका रुखहरूको शोभा हेर्दै ब्रजवासीहरूलाई कृष्णको सम्झना दिलाएर त्यहाँ रमाए ।। ५६ ।।
 
दृष्ट्वैवमादि गोपीनां कृष्णावेशात्मविक्लवम् ।
उद्धवः परमप्रीतस्ता नमस्यन्निदं जगौ ॥ ५७ ॥
नेपाली भावानुवादः गोपिनीहरूको श्रीकृष्णप्रतिको यस्तो तन्मयता र प्रेम देखेर उद्धवजी अत्यन्त प्रसन्न भए र उनीहरूलाई प्रणाम गर्दै यसरी गाउन थाले ।। ५७ ।।
 
एताः परं तनुभृतो भुवि गोपवध्वो
    गोविन्द एव निखिलात्मनि रूढभावाः ।
वाञ्छन्ति यद् भवभियो मुनयो वयं च
    किं ब्रह्मजन्मभिरनन्तकथारसस्य ॥ ५८ ॥
नेपाली भावानुवादः यस संसारमा यी गोपिनीहरूले नै वास्तविक शरीर धारण गरेको सार्थक गरेका छन्, जसको प्रेम सम्पूर्ण आत्माका पनि आत्मा गोविन्दमा दृढ भएको छ। यस्तो प्रेमको इच्छा त संसारदेखि डराउने मुनिहरू र हामी भक्तहरू पनि गर्दछौँ। जसलाई कृष्ण-कथाको रस मिलिसक्यो, उसलाई ब्राह्मण कुलको जन्मको पनि के अर्थ? ।। ५८ ।।
 
क्वेमाः स्त्रियो वनचरीर्व्यभिचारदुष्टाः
    कृष्णे क्व चैष परमात्मनि रूढभावः ।
नन्वीश्वरोऽनुभजतोऽविदुषोऽपि साक्षा-
    च्छ्रेयस्तनोत्यगदराज इवोपयुक्तः ॥ ५९ ॥
नेपाली भावानुवादः कहाँ यी शास्त्रज्ञान नभएका वनचर स्त्रीहरू र कहाँ परमात्मा कृष्णप्रतिको यस्तो अनन्य प्रेम! सत्य हो, जसरी अनजानमै सेवन गरिएको अमृत वा उत्तम औषधिले पनि कल्याण गर्छ, त्यसैगरी स्वरूप नबुझी गरिएको भगवान्को भजनले पनि मानिसको परम कल्याण गर्दछ ।। ५९ ।।
 
नायं श्रियोऽङ्‌ग उ नितान्तरतेः प्रसादः
    स्वर्योषितां नलिनगन्धरुचां कुतोऽन्याः ।
रासोत्सवेऽस्य भुजदण्डगृहीतकण्ठ-
    लब्धाशिषां य उदगाद् व्रजवल्लवीनाम् ॥ ६० ॥
नेपाली भावानुवादः रासलीलाका समयमा श्रीकृष्णले गोपिनीहरूको काँधमा हात राखेर जुन कृपा-प्रसाद दिनुभयो, त्यस्तो प्रेम त सधैँ उहाँको वक्षस्थलमा रहने लक्ष्मीले वा स्वर्गका अप्सराहरूले पनि पाएका छैनन्, अरूको त कुरै छाडौँ ।। ६० ।।
 
आसामहो चरणरेणुजुषामहं स्यां
    वृन्दावने किमपि गुल्मलतौषधीनाम् ।
या दुस्त्यजं स्वजनमार्यपथं च हित्वा
    भेजुर्मुकुन्दपदवीं श्रुतिभिर्विमृग्याम् ॥ ६१ ॥
नेपाली भावानुवादः मलाई त लाग्छम यस वृन्दावनको कुनै बुट्यान, लहरा वा घाँस भएर जन्मूँ, जसले गर्दा यी गोपिनीहरूको चरणधुलि प्राप्त गर्न सकूँ। किनकि यिनीहरूले आफ्ना नातागोता र मर्यादाको मार्ग त्यागेर वेदले समेत खोजिरहने मुकुन्दको पदवी (प्रेम) प्राप्त गरेका छन् ।। ६१ ।।
 
या वै श्रियार्चितमजादिभिराप्तकामै-
    र्योगेश्वरैरपि यदात्मनि रासगोष्ठ्याम् ।
कृष्णस्य तद् भगवतः चरणारविन्दं
    न्यस्तं स्तनेषु विजहुः परिरभ्य तापम् ॥ ६२ ॥
नेपाली भावानुवादः जुन चरणकमललाई लक्ष्मी, ब्रह्मा र महादेव जस्ता योगेश्वरहरूले पनि हृदयमा राखेर पूजा गर्दछन्, तिनै चरणकमललाई रासलीलामा गोपिनीहरूले आफ्नो हृदयमा राखेर विरहको ताप शान्त गरेका थिए ।। ६२ ।।
 
वन्दे नन्दव्रजस्त्रीणां पादरेणुमभीक्ष्णशः ।
यासां हरिकथोद्गीतं पुनाति भुवनत्रयम् ॥ ६३ ॥
नेपाली भावानुवादः जुन गोपिनीहरूले गाएको हरिकथाको गानले तीनै लोकलाई पवित्र पार्दछ, म ती नन्द-व्रजका गोपिनीहरूको चरणधुलिलाई बारम्बार वन्दना गर्दछु ।। ६३ ।।
 
शुक उवाच
अथ गोपीरनुज्ञाप्य यशोदां नन्दमेव च ।
गोपानामन्त्र्य दाशार्हो यास्यन्नारुरुहे रथम् ॥ ६४ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छत्यसपछि उद्धवजीले गोपिनी, यशोदा र नन्दबाबासँग अनुमति लिएर मथुरा फर्कनका निम्ति रथमा चढ्नुभयो ।। ६४ ।।
 
तं निर्गतं समासाद्य नानोपायनपाणयः ।
नन्दादयोऽनुरागेण प्रावोचन्नश्रुलोचनाः ॥ ६५ ॥
नेपाली भावानुवादः उहाँ जान लाग्दा नन्दबाबा लगायतका गोपहरुले अनेक प्रकारका उपहार हातमा लिएर, आँखाभरि आँसु पार्दै अनुनय गर्न लागे ।। ६५ ।।
 
मनसो वृत्तयो नः स्युः कृष्ण पादाम्बुजाश्रयाः ।
वाचोऽभिधायिनीर्नाम्नां कायस्तत्प्रह्वणादिषु ॥ ६६ ॥
नेपाली भावानुवादः हाम्रो मनका सबै वृत्तिहरू सधैँ कृष्णको चरणकमलमा आश्रित रहुन्, हाम्रो वाणीले सधैँ उहाँकै नाम उच्चारण गरोस् र हाम्रो शरीर उहाँकै सेवा र नमस्कारमा समर्पित रहोस् ।। ६६ ।।
 
कर्मभिर्भ्राम्यमाणानां यत्र क्वापीश्वरेच्छया ।
मङ्‌गलाचरितैर्दानै रतिर्नः कृष्ण ईश्वरे ॥ ६७ ॥
नेपाली भावानुवादः ईश्वरको इच्छा र कर्मको गतिले हामी जुनसुकै योनीमा जन्मिए पनि हाम्रा शुभ कर्म र दानको प्रभावले भगवान् श्रीकृष्णमा हाम्रो सधैँ अनुराग रहिरहोस् ।। ६७ ।।
 
एवं सभाजितो गोपैः कृष्णभक्त्या नराधिप ।
उद्धवः पुनरागच्छन्मथुरां कृष्णपालिताम् ॥ ६८ ॥
नेपाली भावानुवादः हे राजा! यस प्रकार गोपहरुद्वारा सत्कार गरिएका उद्धवजी कृष्णद्वारा संरक्षित मथुरापुरीमा फर्केर आउनुभयो ।। ६८ ।।
 
कृष्णाय प्रणिपत्याह भक्त्युद्रेकं व्रजौकसाम् ।
वसुदेवाय रामाय राज्ञे चोपायनान्यदात् ॥ ६९ ॥
नेपाली भावानुवादः मथुरा पुगेर उहाँले श्रीकृष्णलाई प्रणाम गरी ब्रजवासीहरूको अनन्य भक्तिको वर्णन गर्नुभयो। त्यसपछि नन्दबाबाले पठाएका कोसेलीहरू वसुदेव, बलराम र राजा उग्रसेनलाई हस्तान्तरण गर्नुभयो ।। ६९ ।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे पूर्वार्धे उद्धवप्रतियाने सप्तचत्वारिंशोऽध्यायः ।। ४७ ।।
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

श्रीमद्भागवत महापुराणको दशम स्कन्ध अन्तर्गतको ४७ औँ अध्याय "भ्रमरगीत" र "उद्धव सन्देश" का लागि प्रसिद्ध छ। यस कथामा भगवान् श्रीकृष्णका परम भक्त र ज्ञानी सखा उद्धवजी गोकुल पुगेपछि गोपिनीहरूसँग भएको संवादलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ। कथाको प्रारम्भमा उद्धवको सुन्दर स्वरूप देखेर गोपिनीहरू उनी को हुन् भन्ने जिज्ञासा राख्छन्। जब उनी कृष्णका दूत हुन् भन्ने थाहा हुन्छगोपिनीहरूले उनलाई प्रेमपूर्वक स्वागत गर्छन् र कृष्णको सम्झनामा भावविह्वल हुन्छन्। गोपिनीहरूले संसारको स्वार्थी प्रेम र कृष्णको निष्ठुरीपनको चर्चा गर्दै उहाँलाई बिर्सन नसकेको पीडा व्यक्त गर्छन्। यही क्रममा एउटा भ्रमरालाई देखेर उनीहरूले त्यसलाई कृष्णको दूत मानी "भ्रमरगीत" गाउँछन्जुन भक्ति साहित्यको सर्वोत्कृष्ट नमुना हो। उनीहरूले कृष्णलाई मधुकर (भ्रमरा) जस्तै चञ्चल र निष्ठुरी भनेर व्यङ्ग्य गर्छन्। गोपिनीहरूको यस्तो प्रगाढ विरह र अनन्य प्रेम देखेर उद्धवजी चकित पर्छन्। उद्धवजीले कृष्णको सन्देश सुनाउँदै भन्नुहुन्छ कि भगवान् कतै जानुभएको छैनउहाँ त आत्माका रूपमा सर्वत्र व्याप्त हुनुहुन्छ। कृष्णको यो ज्ञान-सन्देशले गोपिनीहरूको विरह-ताप केही हदसम्म शान्त हुन्छ। उद्धवजी केही महिना व्रजमै बसेर कृष्णका लीलाहरूको चर्चा गर्छन् र व्रजवासीलाई आनन्दित तुल्याउँछन्। अन्त्यमा उद्धवजीले गोपिनीहरूको प्रेम देखेर आफूलाई धन्य महसुस गर्छन् र उनीहरूको चरणधुलि प्राप्त गर्न वृन्दावनको घाँस वा बुट्यान बन्ने इच्छा प्रकट गर्छन्। उद्धवको अहंकार र ज्ञानको अभिमान गोपिनीहरूको शुद्ध प्रेमका अगाडि समाप्त हुन्छ। यो कथाले भक्त र भगवान् बीचको अटुट सम्बन्ध र विरहमा पनि मिल्ने आनन्दको चित्रण गरेको छ। यसले मथुराको ऐश्वर्यभन्दा वृन्दावनको प्रेम उच्च रहेको पुष्टि गर्दछ। समग्रमा यो अध्याय प्रेमभक्ति र ज्ञानको एउटा अद्भुत सङ्गम हो।

दार्शनिक पक्ष

यस अध्यायको दार्शनिक पक्ष अत्यन्त गहिरो छजसमा 'सगुण भक्तिर 'निर्गुण ज्ञानबीचको सुन्दर समन्वय देखाइएको छ। उद्धवजीले निराकार र सर्वव्यापी ब्रह्मको उपदेश दिँदा गोपिनीहरूले त्यसलाई अस्वीकार गर्दै सगुण र साकार कृष्णको प्रेमलाई प्राथमिकता दिन्छन्। यसले के स्पष्ट पार्छ भने तर्क र ज्ञानभन्दा हृदयको अनुभूति र प्रेम धेरै शक्तिशाली हुन्छ। भगवान् सर्वत्र व्याप्त हुनुहुन्छ भन्ने अद्वैत दर्शनलाई कृष्णको सन्देशमा राखिएको छजसले आत्मा र परमात्माको अभेद सम्बन्धलाई पुष्टि गर्छ। भ्रमरगीतको माध्यमबाट मानिसको चञ्चल मन र संसारको क्षणभङ्गुर स्वार्थलाई व्यङ्ग्य गरिएको छ। गोपिनीहरूको 'सर्वात्मभावले यो सिकाउँछ कि जब सम्पूर्ण चित्त परमात्मामा समर्पित हुन्छतब साधक र साध्य बीचको दूरी मेटिन्छ। उद्धवको ज्ञानको घमण्ड गोपिनीहरूको प्रेमका अगाडि पग्लिनुले प्रेमलाई नै पञ्चम पुरुषार्थका रूपमा स्थापित गर्दछ। यसमा बताइएको विरह वास्तवमा परमात्मासँग मिल्ने एउटा सूक्ष्म प्रक्रिया होजहाँ भक्तले आफ्नो अस्तित्व नै भगवान्मा विलय गराउँछ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...