श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः – त्रिंशोऽध्यायः
(अनुष्टुप्)
ये त्वयाभिहिता ब्रह्मन् सुताः प्राचीनबर्हिषः ।
ते रुद्रगीतेन हरिं सिद्धिमापुः प्रतोष्य काम् ॥ १ ॥
नेपाली भावानुवादः विदुरजीले सोध्नुभयो— "हे ब्रह्मन्! हजुरले राजा प्राचीनबर्हिका छोराहरूका बारेमा जुन वर्णन गर्नुभयो, उनीहरूले रुद्रगीतद्वारा श्रीहरिको स्तुति गरेर कुन सिद्धि प्राप्त गरे?" ।।१।।
(इन्द्रवज्रा)
आसाद्य देवं गिरिशं यदृच्छया
नेपाली भावानुवादः "हे वृहस्पतिका शिष्य मैत्रेयजी! कैवल्यनाथ नारायणका अत्यन्त प्रिय भगवान् शङ्करको सामीप्य प्राप्त गरेर प्रचेताहरूले पक्कै पनि परम पद प्राप्त गरे होलान्। यस लोक वा परलोकमा उनीहरूले अरू के–के प्राप्त गरे, त्यो कृपा गरी मलाई बताउनुहोस्" ।।२।।
मैत्रेय उवाच –
(अनुष्टुप्)
प्रचेतसोऽन्तरुदधौ पितुरादेशकारिणः ।
अपयज्ञेन तपसा पुरञ्जनण् अतोषयन् ॥ ३ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयो— "हे विदुर! पिताको आज्ञा पालना गर्ने प्रचेताहरूले समुद्रभित्र रहेर रुद्रगीतको जपयज्ञ र तपस्याद्वारा श्रीहरिलाई प्रसन्न तुल्याए" ।।३।।
दशवर्षसहस्रान्ते पुरुषस्तु सनातनः ।
तेषां आविरभूत् कृच्छ्रं शान्तेन शमयन् रुचा ॥ ४ ॥
नेपाली भावानुवादः "तपस्यामा दश हजार वर्ष बितेपछि पुराण पुरुष श्रीनारायणले आफ्नो शान्त कान्तिद्वारा उनीहरूको तपस्याजनित कष्टलाई शान्त पार्दै सौम्य स्वरूपमा दर्शन दिनुभयो" ।।४।।
सुपर्णस्कन्धमारूढो मेरुश्रूङ्गमिवाम्बुदः ।
पीतवासा मणिग्रीवः कुर्वन् वितिमिरा दिशः ॥ ५ ॥
नेपाली भावानुवादः "गरुडको काँधमा आरूढ भगवान् त्यस बेला सुमेरु शिखरमा बसेको श्याम मेघ झैँ देखिनुहुन्थ्यो। उहाँको श्रीविग्रहमा मनोहर पीताम्बर र कण्ठमा कौस्तुभमणि सुशोभित थियो। उहाँको दिव्य प्रभाले सबै दिशाको अन्धकार मेटियो" ।।५।।
(वसन्तिलका)
काशिष्णुना कनकवर्णविभूषणेन
भ्राजत्कपोलवदनो विलसत्किरीटः ।
अष्टायुधैरनुचरैर्मुनिभिः सुरेन्द्रैः
आसेवितो गरुडकिन्नरगीतकीर्तिः ॥ ६ ॥
पीनायताष्टभुजमण्डल मध्यलक्ष्म्या
स्पर्धच्छ्रिया परिवृतो वनमालयाऽऽद्यः ।
बर्हिष्मतः पुरुष आह सुतान् प्रपन्नान्
पर्जन्यनादरुतया सघृणावलोकः ॥ ७ ॥
नेपाली भावानुवादः "चम्किला स्वर्णमय आभूषणहरू, सुन्दर कपोल र मनोहर मुखमण्डलले युक्त हुनुभएका उहाँले मस्तकमा झलमल गर्ने मुकुट धारण गर्नुभएको थियो। आफ्ना आठ लामा भुजाहरूमा शस्त्र–अस्त्र लिएर वनमालाद्वारा सुशोभित आदिपुरुष श्रीनारायणले शरणागत प्रचेताहरूलाई दयादृष्टिले हेर्दै मेघ समान गम्भीर वाणीमा भन्नुभयो" ।।६–७।।
श्रीभगवानुवाच –
(अनुष्टुप्) वरं वृणीध्वं भद्रं वो यूयं मे नृपनन्दनाः ।
सौहार्देनापृथग्धर्माः तुष्टोऽहं सौहृदेन वः ॥ ८ ॥
नेपाली भावानुवादः भगवान्ले भन्नुभयो— "तिमीहरूको कल्याण होस्! हे राजकुमारहरू! तिमीहरू आपसमा धेरै प्रेम गर्छौ र स्नेहवश सबैले एउटै धर्मको पालना गरिरहेका छौ। तिमीहरूको यो मित्रता र सौहार्दतादेखि म निकै प्रसन्न छु, त्यसैले इच्छित वर माग" ।।८।।
योऽनुस्मरति सन्ध्यायां युष्मान् अनुदिनं नरः ।
तस्य भ्रातृष्वात्मसाम्यं तथा भूतेषु सौहृदम् ॥ ९ ॥
ये तु मां रुद्रगीतेन सायं प्रातः समाहिताः ।
स्तुवन्त्यहं कामवरान् दास्ये प्रज्ञां च शोभनाम् ॥ १० ॥
यद्यूयं पितुरादेशं अग्रहीष्ट मुदान्विताः ।
अथो व उशती कीर्तिः लोकाननु भविष्यति ॥ ११ ॥
नेपाली भावानुवादः "जसले सन्ध्याकालमा प्रतिदिन तिमीहरूको स्मरण गर्दछ, उसका दाजुभाइहरूमा पनि तिमीहरूको जस्तै प्रेम हुनेछ। जो मानिस एकाग्र चित्त भई साझ–बिहान रुद्रगीतद्वारा मेरो स्तुति गर्दछ, उसलाई म इच्छा अनुसारको वर र निर्मल बुद्धि प्रदान गर्नेछु। तिमीहरूले प्रसन्नतापूर्वक पिताको आज्ञा शिरोपर गर्यौ, त्यसैले तिमीहरूको यश संसारभरि फैलनेछ" ।।९–११।।
भविता विश्रुतः पुत्रो ऽनवमो ब्रह्मणो गुणैः ।
य एतां आत्मवीर्येण त्रिलोकीं पूरयिष्यति ॥ १२ ॥
नेपाली भावानुवादः "तिमीहरूको एउटा प्रसिद्ध पुत्र हुनेछ, जो गुणमा ब्रह्माजीभन्दा कम हुने छैन। उसका सन्तानले तीनै लोक पूर्ण गर्नेछन्" ।।१२।।
कण्डोः प्रम्लोचया लब्धा कन्या कमललोचना ।
तां चापविद्धां जगृहुः भूरुहा नृपनन्दनाः ॥ १३ ॥
नेपाली भावानुवादः "हे राजकुमारहरू! कण्डु ऋषिको तपस्या भङ्ग गर्न इन्द्रले पठाएकी प्रम्लोचा अप्सराबाट एउटी कमलनयनी कन्या उत्पन्न भएकी थिइन्। उनलाई वनमा छोडेर अप्सरा स्वर्ग गइन् र ती कन्याको पालनपोषण वृक्षहरूले गरे" ।।१३।।
क्षुत्क्षामाया मुखे राजा सोमः पीयूषवर्षिणीम् ।
देशिनीं रोदमानाया निदधे स दयान्वितः ॥ १४ ॥
नेपाली भावानुवादः "जब ती कन्या भोकले व्याकुल भई रुन थालिन्, तब औषधिहरूका राजा चन्द्रमाले दया गरी उनको मुखमा अमृत वर्षाउने आफ्नो तर्जनी औँला राखिदिए" ।।१४।।
प्रजाविसर्ग आदिष्टाः पित्रा मां अनुवर्तता ।
तत्र कन्यां वरारोहां तां उद्वहत मा चिरम् ॥ १५ ॥
नेपाली भावानुवादः "तिम्रा पिता अहिले मेरो भक्तिमा लागेका छन्। उनले तिमीहरूलाई सन्तान उत्पन्न गर्ने आज्ञा दिएका थिए, अतः ढिला नगरी ती सुन्दरी कन्यालाई पत्नीका रूपमा स्वीकार गर" ।।१५।।
अपृथग्धर्मशीलानां सर्वेषां वः सुमध्यमा ।
अपृथग्धर्मशीलेयं भूयात् पत्न्यर्पिताशया ॥ १६ ॥
नेपाली भावानुवादः "तिमीहरू सबैको धर्म र स्वभाव एउटै छ, त्यसैले एउटै स्वभाव भएकी ती कन्या तिमीहरू सबैकी पत्नी हुनेछिन् र तिमीहरू सबैको उनीमा समान अनुराग रहनेछ" ।।१६।।
दिव्यवर्षसहस्राणां सहस्रमहतौजसः ।
भौमान् भोक्ष्यथ भोगान् वै दिव्यान् चानुग्रहान्मम ॥ १७ ॥
नेपाली भावानुवादः "मेरो कृपाले तिमीहरू दश लाख दिव्य वर्षसम्म पूर्ण बलशाली भई पृथ्वीका अनेकौँ दिव्य भोगहरू भोग्नेछौ" ।।१७।।
अथ मय्यनपायिन्या भक्त्या पक्वगुणाशयाः ।
उपयास्यथ मद्धाम निर्विद्य निरयादतः ॥ १८ ॥
नेपाली भावानुवादः "अन्तमा मेरो अविचल भक्तिले हृदयका समस्त वासनाहरू नष्ट भएपछि तिमीहरू संसारका यी नरक तुल्य भोगहरूबाट विरक्त भई मेरो परमधाममा आउनेछौ" ।।१८।।
गृहेष्वाविशतां चापि पुंसां कुशलकर्मणाम् ।
मद् वार्तायातयामानां न बन्धाय गृहा मताः ॥ १९ ॥
नेपाली भावानुवादः "जुन व्यक्तिले आफ्ना कर्महरू मलाई अर्पण गर्दछ र जसको समय मेरो कथा–वार्तामा बित्दछ, उसको लागि गृहाश्रम बन्धन बन्दैन" ।।१९।।
नव्यवद् हृदये यज्ज्ञो ब्रह्मैतद्ब्रह्मवादिभिः ।
न मुह्यन्ति न शोचन्ति न हृष्यन्ति यतो गताः ॥ २० ॥
नेपाली भावानुवादः "जसले नित्य मेरो लीलाहरू सुन्दछ, ब्रह्मवेत्ताहरूले बताए झैँ म ज्ञानस्वरूप परब्रह्म उसको हृदयमा सधैँ प्रकाशित हुनेछु। मलाई पाएपछि जीव फेरि कहिल्यै मोहित हुँदैन र शोक वा हर्षमा पर्दैन" ।।२०।।
मैत्रेय उवाच –
एवं ब्रुवाणं पुरुषार्थभाजनं
जनार्दनं प्राञ्जलयः प्रचेतसः ।
तद्दर्शनध्वस्ततमोरजोमला
गिरागृणन् गद्गदया सुहृत्तमम् ॥ २१ ॥
नेपाली भावानुवादः मैत्रेयजी भन्नुहुन्छ— "भगवान्को दर्शनले प्रचेताहरूको रज र तम गुण रूपी मल नष्ट भइसकेको थियो। जब सकल पुरुषार्थका आश्रय र परम सुहृद श्रीहरिले यसो भन्नुभयो, तब प्रचेताहरू हात जोडी गद्गद स्वरमा स्तुति गर्न थाले" ।।२१।।
प्रचेतस ऊचुः –
नमो नमः क्लेशविनाशनाय
निरूपितोदारगुणाह्वयाय । म
नोवचोवेगपुरोजवाय
सर्वाक्षमार्गैरगताध्वने नमः ॥ २२ ॥
नेपाली भावानुवादः प्रचेताहरूले भने— "हे प्रभो! हजुर भक्तहरूको क्लेश नाश गर्नुहुन्छ, हामी हजुरलाई नमस्कार गर्दछौँ। हजुरको गति मन र वाणीको वेगभन्दा पनि तीव्र छ र हजुरको स्वरूप इन्द्रियहरूको पहुँचभन्दा बाहिर छ, हामी हजुरलाई बारम्बार ढोग गर्दछौँ" ।।२२।।
शुद्धाय शान्ताय नमः स्वनिष्ठया
मनस्यपार्थं विलसद्द्वयाय ।
नमो जगत्स्थानलयोदयेषु
गृहीतमायागुणविग्रहाय ॥ २३ ॥
नेपाली भावानुवादः "आफ्नै स्वरूपमा स्थित हुनाले हजुर नित्य शुद्ध र शान्त हुनुहुन्छ। मनका कारण मात्र हामी हजुरमा द्वैत भाव देख्छौँ। वास्तवमा जगत्को उत्पत्ति, स्थिति र लयका लागि हजुरले नै मायाका गुणहरूलाई स्वीकार गरी ब्रह्मा, विष्णु र महादेवको रूप धारण गर्नुहुन्छ। हजुरलाई नमस्कार छ" ।।२३।।
(अनुष्टुप्)
नमो विशुद्धसत्त्वाय हरये हरिमेधसे ।
वासुदेवाय कृष्णाय प्रभवे सर्वसात्वताम् ॥ २४ ॥
नमः कमलनाभाय नमः कमलमालिने ।
नमः कमलपादाय नमस्ते कमलेक्षण ॥ २५ ॥
नेपाली भावानुवादः "हजुर विशुद्ध सत्त्व स्वरूप हुनुहुन्छ, जसको ज्ञानले संसारको बन्धन काटिदिन्छ। हजुर सबै भक्तहरूका प्रभु वासुदेव श्रीकृष्ण हुनुहुन्छ। हजुरको नाभिबाट ब्रह्माण्ड रूपी कमल प्रकट भएको छ। हजुरको कण्ठमा कमलको माला सुशोभित छ र चरणहरू कमल झैँ कोमल छन्। हे कमलनयन! हजुरलाई कोटी–कोटी नमस्कार छ" ।।२४–२५।।
नमः कमलकिञ्जल्क पिशङ्गामलवाससे ।
र्वभूतनिवासाय नमोऽयुङ्क्ष्महि साक्षिणे ॥ २६ ॥
नेपाली भावानुवादः "हजुरले कमलको केसर झैँ पहेँलो र स्वच्छ पीताम्बर धारण गर्नुभएको छ। हजुर नै सबै प्राणीका आश्रय र साक्षी हुनुहुन्छ, हामी हजुरलाई नमस्कार गर्दछौँ" ।।२६।।
रूपं भगवता त्वेतद् अशेषक्लेशसङ्क्षयम् ।
आविष्कृतं नः क्लिष्टानां किं अन्यद् अनुकंपितम् ॥ २७ ॥
नेपाली भावानुवादः "हे भगवन्! हजुरको यो स्वरूपले सम्पूर्ण क्लेशहरूलाई नष्ट गर्दछ। हामी अविद्या, राग र द्वेषले पीडित भएकाहरूका अगाडि हजुर यसरी प्रकट हुनुभयो, योभन्दा ठुलो कृपा हाम्रो लागि अरू के हुन सक्छ?" ।।२७।।
एतावत्त्वं हि विभुभिः भाव्यं दीनेषु वत्सलैः ।
यदनुस्मर्यते काले स्वबुद्ध्याभद्ररन्धन ॥ २८ ॥
नेपाली भावानुवादः "हे अमङ्गलहारी प्रभो!
येनोपशान्तिर्भूतानां क्षुल्लकानामपीहताम् ।
अन्तर्हितोऽन्तर्हृदये कस्मान्नो वेद नाशिषः ॥ २९ ॥
नेपाली भावानुवादः "हजुर त तुच्छ प्राणीहरूको अन्तःकरणमा पनि अन्तर्यामी रूपले विराजमान हुनुहुन्छ। यसबाट आश्रितहरूको चित्त शान्त हुन्छ। हजुरका उपासक हामीले जे–जे इच्छा राखेका छौँ, त्यो हजुरलाई थाहा नहुने कुरै छैन" ।।२९।।
असौ एव वरोऽस्माकं ईप्सितो जगतः पते ।
प्रसन्नो भगवान्येषां अपवर्गः गुरुर्गतिः ॥ ३० ॥
नेपाली भावानुवादः "हे जगदीश्वर! हजुर मोक्षको मार्ग देखाउने गुरु र स्वयं पुरुषार्थ स्वरूप हुनुहुन्छ। हाम्रो लागि सबैभन्दा ठुलो वरदान नै हजुर प्रसन्न हुनु हो" ।।३०।।
वरं वृणीमहेऽथापि नाथ त्वत्परतः परात् ।
न ह्यन्तस्त्वद् विभूतीनां सोऽनन्त इति गीयसे ॥ ३१ ॥
नेपाली भावानुवादः "तथापि हे नाथ! हामी हजुरसँग एउटा वर अवश्य माग्दछौँ। हजुर प्रकृतिभन्दा पनि पर हुनुहुन्छ र हजुरका विभूतिहरूको कुनै अन्त्य छैन, त्यसैले हजुरलाई 'अनन्त' भनिन्छ" ।।३१।।
पारिजातेऽञ्जसा लब्धे सारङ्गोऽन्यन्न सेवते ।
त्वदङ्घ्रिमूलमासाद्य साक्षात्किं किं वृणीमहि ॥ ३२ ॥
नेपाली भावानुवादः "जसरी भ्रमराले पारिजात फूल पाएपछि अरू फूलको खोजी गर्दैन, त्यसरी नै हजुरको चरणको शरण पाएपछि अब हामीले के माग्ने?" ।।३२।।
यावत्ते मायया स्पृष्टा भ्रमाम इह कर्मभिः ।
तावद्भवत् प्रसङ्गानां सङ्गः स्यान्नो भवे भवे ॥ ३३ ॥
नेपाली भावानुवादः "हामी हजुरसँग यति मात्र माग्छौँ कि जबसम्म हजुरको मायाले मोहित भई हामी कर्म अनुसार संसारमा भड्किरहन्छौँ, तबसम्म हरेक जन्ममा हामीलाई हजुरका भक्तहरूको सत्सङ्ग प्राप्त भइरहोस्" ।।३३।।
तुलयाम लवेनापि न स्वर्गं न अपुनर्भवम् ।
गवत् सङ्गिसङ्गस्य मर्त्यानां किमुताशिषः ॥ ३४ ॥
नेपाली भावानुवादः "हामी त भगवद्भक्तको क्षणभरको सङ्गतसँग स्वर्ग वा मोक्षलाई पनि तुलना गर्न सक्दैनौँ भने मरणशील मानिसका तुच्छ भोगहरूको त के कुरा भयो र?" ।।३४।।
यत्रेड्यन्ते कथा मृष्टाः तृष्णायाः प्रशमो यतः ।
निर्वैरं यत्र भूतेषु नोद्वेगो यत्र कश्चन ॥ ३५ ॥
नेपाली भावानुवादः "जहाँ भक्तहरूको समाजमा भगवान्का मधुर कथाहरू भइरहन्छन्, त्यसको श्रवणले विषय–तृष्णा शान्त हुन्छ। त्यहाँ प्राणीहरूमा कुनै वैरभाव वा उद्वेग हुँदैन" ।।३५।।
यत्र नारायणः साक्षाद् भगवान् न्यासिनां गतिः ।
संस्तूयते सत्कथासु मुक्तसङ्गैः पुनः पुनः ॥ ३६ ॥
नेपाली भावानुवादः "सत्कथाहरूको माध्यमबाट निष्काम संन्यासीहरूका एकमात्र आश्रय साक्षात् श्रीनारायणको बारम्बार गुणगान भइरहन्छ" ।।३६।।
तेषां विचरतां पद्भ्यां तीर्थानां पावनेच्छया ।
भीतस्य किं न रोचेत तावकानां समागमः ॥ ३७ ॥
नेपाली भावानुवादः "तीर्थहरूलाई समेत पवित्र पार्न पृथ्वीमा पैदल भ्रमण गर्ने हजुरका भक्तहरूको सङ्गत संसारबाट डराएका मानिसलाई किन मन नपर्ला र?" ।।३७।।
(इन्द्रवज्रा) व
यं तु साक्षाद्भगवन् भवस्य
प्रियस्य सख्युः क्षणसङ्गमेन ।
सुदुश्चिकित्स्यस्य भवस्य मृत्योः
भिषक्तमं त्वाद्य गतिं गताः स्म ॥ ३८ ॥
नेपाली भावानुवादः "हे भगवन्! हजुरका प्रिय सखा भगवान् शङ्करसँग क्षणभरको सङ्गत हुनाले नै आज हामीले हजुरको साक्षात् दर्शन पाउने सौभाग्य प्राप्त गर्यौँ। हजुर यो जन्म–मरण रूपी असाध्य रोगका सर्वश्रेष्ठ वैद्य हुनुहुन्छ, त्यसैले हामीले हजुरको शरण लिएका हौँ" ।।३८।।
यन्नः स्वधीतं गुरवः प्रसादिता
विप्राश्च वृद्धाश्च सदानुवृत्त्या ।
आर्या नताः सुहृदो भ्रातरश्च
सर्वाणि भूतान्यनसूययैव ॥ ३९ ॥
यन्नः सुतप्तं तप एतदीश
निरन्धसां कालमदभ्रमप्सु ।
सर्वं तदेतत्पुरुषस्य भूम्नो
वृणीमहे ते परितोषणाय ॥ ४० ॥
नेपाली भावानुवादः "हे ईश! हामीले गरेको अध्ययन, गुरु, ब्राह्मण र वृद्धहरूको सेवाबाट प्राप्त प्रसन्नता, श्रेष्ठ पुरुष, सुहृद र सबै प्राणीहरूलाई गरेको वन्दना तथा लामो समयसम्म पानीमा निराहार बसी गरेको कठिन तपस्या— यी सबैको फल स्वरूप हामी हजुरकै सन्तुष्टि चाहन्छौँ" ।।३९–४०।।
मनुः स्वयम्भूर्भगवान् भवश्च
येऽन्ये तपोज्ञानविशुद्धसत्त्वाः ।
अदृष्टपारा अपि यन्महिम्नः
स्तुवन्त्यथो त्वात्मसमं गृणीमः ॥ ४१ ॥
नेपाली भावानुवादः "स्वामी! हजुरको महिमाको पार नपाएर पनि स्वयम्भू मनु, ब्रह्माजी र भगवान् शङ्करले हजुरको स्तुति गर्दछन्। त्यसैले हामी पनि आफ्नो बुद्धि अनुसार हजुरको गुणगान गर्दछौँ" ।।४१।।
(अनुष्टुप्)
नमः समाय शुद्धाय पुरुषाय पराय च ।
वासुदेवाय सत्त्वाय तुभ्यं भगवते नमः ॥ ४२ ॥
नेपाली भावानुवादः "हजुर सर्वत्र समान, शुद्धस्वरूप र परम पुरुष हुनुहुन्छ। सत्त्वमूर्ति भगवान् वासुदेवलाई हामी नमस्कार गर्दछौँ" ।।४२।।
मैत्रेय उवाच –
(इन्द्रवज्रा)
ति प्रचेतोभिरभिष्टुतो हरिः
प्रीतस्तथेत्याह शरण्यवत्सलः ।
अनिच्छतां यान् अमतृप्तचक्षुषां
ययौ स्वधामानपवर्गवीर्यः ॥ ४३ ॥
नेपाली भावानुवादः मैत्रेयजी भन्नुहुन्छ— "हे विदुर! प्रचेताहरूले यसरी स्तुति गरेपछि शरणागतवत्सल भगवान्ले प्रसन्न भई 'तथास्तु' भन्नुभयो। प्रचेताहरूको तिर्खा अझै मेटिएको थिएन, तरैपनि भगवान् आफ्नो परमधाम प्रस्थान गर्नुभयो" ।।४३।।
(अनुष्टुप्)
अथ निर्याय सलिलात् प्रचेतस उदन्वतः ।
वीक्ष्याकुप्यन् द्रुमैछन्नां गां गां रोद्धुः इवोच्छ्रितैः ॥ ४४ ॥
नेपाली भावानुवादः "त्यसपछि प्रचेताहरू समुद्रको जलबाट बाहिर निस्किए। उनीहरूले पूरै पृथ्वीलाई विशाल वृक्षहरूले ढाकेको देखे। ती वृक्षहरू यति अग्ला थिए कि उनीहरूले आकाशै रोकेका छन् जस्तो देखिन्थ्यो। यो देखेर उनीहरू वृक्षहरूमाथि रिसले आगो भए" ।।४४।।
ततोऽग्निमारुतौ राजन् अमुञ्चन्मुखतो रुषा ।
महीं निर्वीरुधं कर्तुं संवर्तक इवात्यये ॥ ४५ ॥
नेपाली भावानुवादः "त्यसपछि उनीहरूले पृथ्वीलाई वृक्ष र लहराबाट मुक्त गराउन आफ्नो मुखबाट प्रचण्ड वायु र अग्निको ज्वाला निकाले, जसरी प्रलयकालमा रुद्रले अग्नि छोड्नुहुन्छ" ।।४५।।
भस्मसात् क्रियमाणान् तान् द्रुमान् वीक्ष्य पितामहः ।
आगतः शमयामास पुत्रान् बर्हिष्मतो नयैः ॥ ४६ ॥
नेपाली भावानुवादः "वृक्षहरू भस्म हुन थालेको देखेर ब्रह्माजी त्यहाँ आउनुभयो र प्राचीनबर्हिका छोराहरूलाई युक्तिपूर्वक सम्झाएर शान्त पार्नुभयो" ।।४६।।
तत्रावशिष्टा ये वृक्षा भीता दुहितरं तदा ।
उज्जह्रुस्ते प्रचेतोभ्य उपदिष्टाः स्वयम्भुवा ॥ ४७ ॥
नेपाली भावानुवादः "त्यहाँ बाँकी रहेका डराएका वृक्षहरूले ब्रह्माजीको सल्लाह अनुसार आफ्नी कन्या प्रचेताहरूलाई सुम्पिदिए" ।।४७।।
ते च ब्रह्मण आदेशान् मारिषामुपयेमिरे ।
यस्यां महदवज्ञानाद् अजन्यजनयोनिजः ॥ ४८ ॥
नेपाली भावानुवादः "प्रचेताहरूले ब्रह्माजीको आदेश मान्दै मारिषा नामकी ती कन्यालाई विवाह गरे। ती मारिषाकै गर्भबाट दक्षले पुनर्जन्म लिए, जसले पूर्वजन्ममा महादेवको अपमान गरेका कारण शरीर त्याग गरेका थिए" ।।४८।।
चाक्षुषे त्वन्तरे प्राप्ते प्राक्सर्गे कालविद्रुते ।
यः ससर्ज प्रजा इष्टाः स दक्षो दैवचोदितः ॥ ४९ ॥
नेपाली भावानुवादः "चाक्षुष मन्वन्तर सुरु भएपछि जब समयको प्रभावले पूर्व सृष्टि नष्ट भयो, तब यिनै दक्षले भगवान्को प्रेरणाले नयाँ प्रजा उत्पन्न गरे" ।।४९।।
यो जायमानः सर्वेषां तेजस्तेजस्विनां रुचा ।
स्वयोपादत्त दाक्ष्याच्च कर्मणां दक्षमब्रुवन् ॥ ५० ॥
नेपाली भावानुवादः "जन्मने बित्तिकै आफ्नो कान्तिले सबै तेजस्वीहरूको तेज छिनेका र कर्ममा निकै सिपालु भएकाले उनलाई 'दक्ष' भनियो" ।।५०।।
तं प्रजासर्गरक्षायां अनादिरभिषिच्य च ।
युयोज युयुजेऽन्यांश्च स वै सर्वप्रजापतीन् ॥ ५१ ॥
नेपाली भावानुवादः "ब्रह्माजीले उनलाई प्रजापतिहरूको नायक पदमा अभिषेक गरी सृष्टिको रक्षामा नियुक्त गर्नुभयो र उनले अरू प्रजापतिहरूलाई आ–आफ्नो कार्यमा लगाए" ।।५१।।
यस अध्यायको सारांश :
श्रीमद्भागवत महापुराणको यो तीसौँ अध्याय प्रचेताहरूको तपस्या, भगवान् विष्णुको दर्शन र उनीहरूले प्राप्त गरेको वरदानमा केन्द्रित छ। राजा प्राचीनबर्हिका दश जना छोराहरू (प्रचेताहरू) आफ्ना पिताको आज्ञा शिरोपर गरी सन्तान वृद्धिका लागि तपस्या गर्न समुद्रमा पसेका थिए। उनीहरूले बाटोमा भगवान् शिवसँग भेट गरी 'रुद्रगीत' को उपदेश प्राप्त गरेका थिए। सोही रुद्रगीतको दश हजार वर्षसम्म कठोर जप र तपस्या गरेपछि भगवान् विष्णु प्रसन्न भई गरुडमा सवार भएर उनीहरूको अगाडि प्रकट हुनुभयो।
भगवान्ले प्रचेताहरूको आपसी एकता र भ्रातृप्रेमको प्रशंसा गर्दै उनीहरूलाई इच्छित वर माग्न भन्नुभयो। प्रचेताहरूले भगवान्को दर्शन नै सबैभन्दा ठुलो सिद्धि भएको बताए पनि भगवान्ले उनीहरूलाई पृथ्वीको भोग भोग्न र मारिषा नामकी कन्या विवाह गर्न आदेश दिनुभयो। प्रचेताहरूले भगवान्को दर्शन पाएपछि आफ्नो अहोभाग्य मान्दै सत्सङ्गको वरदान मागे। उनीहरूका अनुसार स्वर्ग वा मोक्षभन्दा पनि भगवान्का भक्तहरूको क्षणभरको सत्सङ्ग धेरै मूल्यवान् छ। भगवान् अन्तर्धान भएपछि प्रचेताहरू समुद्रबाट बाहिर निस्कँदा पूरै पृथ्वी विशाल वृक्षहरूले ढाकिएको देखे। उनीहरूले रिसको आवेगमा मुखबाट अग्नि र वायु निकालेर वृक्षहरू भस्म पार्न थाले। त्यसबेला ब्रह्माजीले प्रकट भई उनीहरूलाई सम्झाउनुभयो र बाँकी वृक्षहरूले मारिषा नामकी कन्या प्रचेताहरूलाई सुम्पिए। ती मारिषाबाट नै प्रसिद्ध प्रजापति दक्षको जन्म भयो, जसले पछि सृष्टिको विस्तार गरे। यो कथाले आज्ञापालन, आपसी मेलमिलाप र सत्सङ्गको महिमालाई उजागर गर्दछ।
यस अध्यायको दार्शनिक पक्ष :
यस अध्यायको दार्शनिक पक्ष निकै गहिरो छ। पहिलो कुरा, यसले 'भक्त–सत्सङ्ग' को महिमालाई स्वर्ग र मोक्षभन्दा पनि माथि राखेको छ। प्रचेताहरूले 'क्षणसङ्गत' (एक क्षणको सत्सङ्ग) लाई जीवनको वास्तविक औषधि मानेका छन्, जसले संसार रूपी असाध्य रोग निको पार्छ। दोस्रो, यसले 'रुद्रगीत' को माध्यमबाट शिव र विष्णुको अभेदतालाई पुष्टि गर्दछ; अर्थात् विष्णुलाई प्रसन्न पार्न शिवको कृपा अनिवार्य छ।
यहाँ 'दक्ष' को पुनर्जन्मको चर्चाले कर्मको सिद्धान्त र अहंकारको परिणामलाई पनि संकेत गर्दछ। अर्को महत्वपूर्ण पक्ष भगवान् विष्णुले प्रचेताहरूलाई दिएको उपदेश हो— "जसले आफ्नो कर्म मलाई अर्पण गर्दछ, उसको लागि गृहाश्रम बन्धन हुँदैन।" यसले निष्काम कर्मयोगको दर्शन प्रस्तुत गर्दछ। दार्शनिक रूपमा यो अध्यायले जीवले कसरी सकाम कर्मबाट निस्काम भक्तितर्फ पाइला चाल्नुपर्छ र कसरी ईश्वरको अनुग्रहले मात्र अविद्याको नाश हुन्छ भन्ने कुरालाई स्पष्ट पारेको छ। प्रचेताहरूले भगवान्लाई 'साक्षी' र 'शुद्ध–सत्त्व' भन्नुले उहाँको निर्गुण र सगुण दुवै स्वरूपको स्वीकारोक्तिलाई दर्शाउँछ।
No comments:
Post a Comment