#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः –षट्‌पञ्चाशत्तमोऽध्यायः

 
श्रीमद्‌भागवत महापुराण
दशमस्कन्धः –षट्‌पञ्चाशत्तमोऽध्यायः



श्रीशुक उवाच– 
(अनुष्टुप्)
सत्राजितः स्वतनयां कृष्णाय कृतकिल्बिषः ।
स्यमन्तकेन मणिना स्वयमुद्यम्य दत्तवान् ॥ १ ॥
सत्राजितले भगवान् कृष्णलाई झूटो आरोप लगाइएका थिए । त्यसपछि, त्यो अपराधको प्रायश्चित गर्न उनले स्यमन्तक मणि सहित आफ्नी छोरी सत्यभामालाई भगवान कृष्णलाई सुम्पिदिए ।।१।। 

राजोवाच–
सत्राजितः किमकरोद् ब्रह्मन् कृष्णस्य किल्बिषम् ।
स्यमन्तकः कुतस्तस्य कस्माद् दत्ता सुता हरेः ॥ २ ॥
राजा परीक्षितले सोधे– हे ब्रह्मदेव ! सत्राजितले भगवान कृष्ण विरुद्ध के अपराध गरेका थिए ? उनले स्यामन्तक मणि कहाँबाट पाएका थिए ? अनि उनले किन आफ्नी छोरी सत्यभामा श्रीकृष्णलाई प्रदान गरे ? ।।२।। 

श्रीशुक उवाच–
आसीत् सत्राजितः सूर्यो भक्तस्य परमः सखा ।
प्रीतस्तस्मै मणिं प्रादात् सूर्यस्तुष्टः स्यमन्तकम् ॥ ३ ॥
श्रीशुकदेवजीले भन्नुभयो– हे महाराज परीक्षित ! सत्राजित सूर्य भगवानका महान भक्त थिए त्यसैले सूर्यदेव मित्र जस्तै हुनुहुन्थ्यो । उनको तपस्याबाट प्रसन्न भए र सूर्यदेवले उनलाई प्रेमले स्यमन्तक मणि दिनुभयो ।।३।। 

स तं बिभ्रन् मणिं कण्ठे भ्राजमानो यथा रविः ।
प्रविष्टो द्वारकां राजंस्तेजसा नोपलक्षितः ॥ ४ ॥
हे परीक्षित– सत्राजितले त्यो मणिलाई आफ्नो घाँटीमा लगाउदा उनी सूर्य जस्तै प्रकाशमान देखिन्थे । एकदिन त्यो मणि घाटीमा लगाएर द्वारकामा आएका बखतमा मणिको प्रकाशको तेजका कारण द्वारकावासीले उनलाई चिन्न सकेनन् ।।४।। 

तं विलोक्य जना दूरात्तेजसा मुष्टदृष्टयः ।
दीव्यतेऽक्षैर्भगवते शशंसुः सूर्यशङ्‌किताः ॥ ५ ॥
द्वारकामा प्रवेश गर्दा सत्राजितलाई मानिसले टाढाबाट देख्दा उनको तेजका कारण मानिसको आँखा तिरमिर्याउन थाल्यो । उनीहरुलाई सूर्यनारायण नै आउनुभएको जस्तो भान भयो । यसैले ्दवारकामा बसिरहेका मानिसले जुवा खेलिरहनुभएका भगवान् श्रीकृष्णलाई यो कुरा सुनाए ।।५।। 

नारायण नमस्तेऽस्तु शङ्खचक्रगदाधर ।
दामोदरारविन्दाक्ष गोविन्द यदुनन्दन ॥ ६ ॥
मानिसहरुले भने– हे शंख, चक्र र गदा धारण गर्नुभएका नारायण ! कमल जस्तो आँखा भएको दामोदर ! हे यदुवंश शिरोमणी गोविन्द ! हजुरलाई हामी नमस्कार गर्दछौं ।।६।। 

एष आयाति सविता त्वां दिदृक्षुर्जगत्पते ।
मुष्णन् गभस्तिचक्रेण नृणां चक्षूंषि तिग्मगुः ॥ ७ ॥
हे भगवान जगदीश्वर ! हेर्नुहोस्, चम्किलो प्रकाश हुनुभएका सूर्यदेव आफ्नो तेजले मानिसहरुको आँखालाई तिरमिर्याउदै हजुरको दर्शनका लागि आउँदै हुनुहुन्छ ।।७।। 

नन्वन्विच्छन्ति ते मार्गं त्रिलोक्यां विबुधर्षभाः ।
ज्ञात्वाद्य गूढं यदुषु द्रष्टुं त्वां यात्यजः प्रभो ॥ ८ ॥
हे प्रभु ! ब्रह्मा आदि गरिएका श्रेष्ठ देवताहरू तीनै लोकमा हजुरको दर्शन गर्ने मार्गको खोजि गरिरहेका हुन्छन् । अहिले हजुर आफ्नो स्वरुपलाई बदलेर यदुकुलमा रहनु भएको थाहा पएर सूर्यनारायण स्वयं हजुरलाई भेट्न आइरहनु भएकोछ ।।८।। 

श्रीशुक उवाच–
निशम्य बालवचनं प्रहस्याम्बुजलोचनः ।
प्राह नासौ रविर्देवः सत्राजिन्मणिना ज्वलन् ॥ ९ ॥
श्रीशुकदेवजीले भन्नुभयो– हे परीक्षित ! ती मानिसहरूको यस्तो यी कुरा सुनेर, कमल जस्ता आँखा हुन भएका भगवान कृष्ण हाँस्दै भन्नुभयो– हेर, यो सूर्य देवता होइन । यो सत्राजित हो, जो मणिको कारणले यति धेरै चम्किरहेको हो ।।९।।

सत्राजित् स्वगृहं श्रीमत् कृतकौतुकमङ्‌गलम् ।
प्रविश्य देवसदने मणिं विप्रैर्न्यवेशयत् ॥ १० ॥
यसपछि सत्राजित आफ्नो घरमा फर्किए । उनको घरमा शुभ मंगल उत्सव मनाइँदै थियो । उनले ब्राह्मणहरू मार्फत स्यमन्तक मणिलाई सूर्यको मन्दिरमा स्थापित गरे  ।।१०।। 

दिने दिने स्वर्णभारानष्टौ स सृजति प्रभो ।
दुर्भिक्षमार्यरिष्टानि सर्पाधिव्याधयोऽशुभाः ।
न सन्ति मायिनस्तत्र यत्रास्तेऽभ्यर्चितो मणिः ॥ ११ ॥
हे महाराज परीक्षित ! त्यो मणिले हरेक दिन आठ भार (साढे नौ किलो) सुन दिने गर्दथ्यो । त्यति मात्र नभएर जहाँ यस मणिको पूजा हुन्थ्यो त्यहाँ अनिकाल, महामारी, ग्रहको पीडा, सर्पको डर, मानसिक र शारीरिक पीडा, भ्रम, अशान्ति जस्ता कुनै अशुभ कुरा हुदैनथ्यो ।।११।।

स याचितो मणिं क्वापि यदुराजाय शौरिणा ।
नैवार्थकामुकः प्रादाद् याच्ञाभङ्‌गमतर्कयन् ॥ १२ ॥
एक पटक भगवान कृष्णले सत्रजितलाई त्यो मणि राजा उग्रसेनलाई देऊ भनेर भन्नुभयो तर धनको लोभी भएका  भएको सत्राजितले भगवान्को आज्ञा उल्लङ्घन गरेर दिन मानेन ।।१२।।

तमेकदा मणिं कण्ठे प्रतिमुच्य महाप्रभम् ।
प्रसेनो हयमारुह्य मृगायां व्यचरद् वने ॥ १३ ॥
एक दिन, सत्राजितका भाइ प्रसेनले त्यो अत्यन्तै चम्किला मणि आफ्नो घाँटीमा लगाएर घोडामा चढेर शिकार गर्न भनि वनमा गयो ।।१३।।

प्रसेनं सहयं हत्वा मणिमाच्छिद्य केसरी ।
गिरिं विशन्जाम्बवता निहतो मणिमिच्छता ॥ १४ ॥
त्यहाँ एउटा सिंहले प्रसेन सहित उसको घोडालाई मार्यो र मणि लिएर गएको बखतमा त्यो सिंह पहाडको गुफामा प्रवेश गर्दै गर्दा ऋक्षराज जाम्बवनले उसलाई मरिदिए ।।१४।। 

सोऽपि चक्रे कुमारस्य मणिं क्रीडनकं बिले ।
अपश्यन् भ्रातरं भ्राता सत्राजित् पर्यतप्यत ॥ १५ ॥
जाम्बवानले त्यो मणिआफ्नो गुफामा लग्यो र बच्चालाई खेल्न दियो । यता आफ्नो भाइ प्रसेन नफर्केकोमा सत्राजित धेरै दुःखी भयो ।।१५।। 

प्रायः कृष्णेन निहतो मणिग्रीवो वनं गतः ।
भ्राता ममेति तच्छ्रुत्वा कर्णे कर्णेऽजपञ्जनाः ॥ १६ ॥
सत्राजितले भन्नथाल्यो कि मेरो भाई घाँटीमा मणि लगाएर वनमा गएका बखतमा मणि लिनका लागि कृष्ण्ले नै प्रसेनलाई मारेको हुनुपर्दछ । सत्राजितको यस्तो कुरा सुनेर मानिसहरू आपसमा कानेखुसी गर्न थाले ।।१६।।
 
भगवांस्तदुपश्रुत्य दुर्यशो लिप्तमात्मनि ।
मार्ष्टुं प्रसेनपदवीमन्वपद्यत नागरैः ॥ १७ ॥
जब भगवान कृष्णले सत्राजितले आफुमाथि यस्तो आरोप लगाएको सुन्नुभयो तब आफुलाई लगाइएको आरोप मेटाउनको लागि प्रसेनलाई खोज्ने उद्देश्यले नगरवासीहरुलाई साथमा लिएर वनमा गएर खोज्न थाल्नुभयो ।।१७।। 

हतं प्रसेनमश्वं च वीक्ष्य केसरिणा वने ।
तं चाद्रिपृष्ठे निहतमृक्षेण ददृशुर्जनाः ॥ १८ ॥
यसरी त्यहाँ खोज्दै जाँदा घना जङ्गलमा सिंहले प्रसेन र उसको घोडालाई मारिएको कुरा त्यहाँ आएका मानिसहरुले देखे । अब त्यो सिंहको सिंहको पाइला पछ्याउँदै अगाडि बढ्दै जाँदा उनीहरुले ऋक्षवान पहाडमा ऋक्षराज जाम्बवानद्वार त्यस सिंहलाई मारिएको पनि देखे ।।१८।। 

ऋक्षराजबिलं भीममन्धेन तमसाऽऽवृतम् ।
एको विवेश भगवानवस्थाप्य बहिः प्रजाः ॥ १९ ॥
भगवान कृष्णले सबैलाई बाहिर बस्न लगाउनुभयो र एक्लै ऋक्षराजको भयानक डरलाग्दो गुफामा प्रवेश गर्नुभयो जुन घोर अन्धकारले व्याप्त थियो ।।१९।।

तत्र दृष्ट्वाु मणिप्रेष्ठं बालक्रीडनकं कृतम् ।
हर्तुं कृतमतिस्तस्मिन्नवतस्थेऽर्भकान्तिके ॥ २० ॥
भगवान त्यहाँ मणिलाई हरण गर्ने इच्छाले प्रवेश गर्नु हुँदा उहाँले त्यस स्यमन्तक मणिलाई जाम्ववानका बच्चाहरूले खेलौना बनाएर खेलिराखेको देख्नुभयो । र वहाँ ती बालकको नजिकै उभिनुभयो ।।२०।। 

तमपूर्वं नरं दृष्ट्वाु धात्री चुक्रोश भीतवत् ।
तच्छ्रुत्वाभ्यद्रवत् क्रुद्धो जाम्बवान् बलिनां वरः ॥ २१ ॥
त्यस गुफाभित्र यसरी कहिले नदेखेको श्रीकृष्णलाई गुफाभित्र देखेर बच्चकी धाई डरले चिच्याएर कराउन थाली ।  उनको चिच्याहट सुनेर, अत्यन्त शक्तिशाली ऋक्षराज जाम्बवन रिसाएर त्यहाँ दौडिएर आयो ।।२१।।

स वै भगवता तेन युयुधे स्वामीनाऽऽत्मनः ।
पुरुषं प्राकृतं मत्वा कुपितो नानुभाववित् ॥ २२ ॥
हे परीक्षित् ! त्यतिबेला जाम्बवन धेरै रिसाएको थियो । उसलाई भगवानको महिमा र उहाँको प्रभावका बारेमा थाहा थिएन । उसले साधारण मानिस ठाने र आफ्ना स्वामी भगवान कृष्णसँग युध्द गर्न थाल्यो ।।२२।। 

द्वन्द्वयुद्धं सुतुमुलंमुभयोर्विजिगीषतोः ।
आयुधाश्मद्रुमैर्दोर्भिः क्रव्यार्थे श्येनयोरिव ॥ २३ ॥
आसीत्तदष्टाविंशाहमितरेतरमुष्टिभिः ।
वज्रनिष्पेषपरुषैरविश्रममहर्निशम् ॥ २४ ॥
जसरी दुई चीलहरू मासुको लागि लड्छन्, त्यसरी नै विजयको चाहना राख्ने भगवान कृष्ण र जाम्बवन बिच अठ्ठाइस दिनसम्म भयंकर युद्ध भयो । यो युध्दमा उनीहरु एक आर्कोमा कहिले ढुंगा हानेर, कहिले वृक्षले हानेर त कमिले मुक्का प्रहार गरेर घमासान लडाइ भयो ।।२३–२४।।   

कृष्णमुष्टिविनिष्पातनिष्पिष्टाङ्‌गोरुबन्धनः ।
क्षीणसत्त्वः स्विन्नगात्रस्तमाहातीव विस्मितः ॥ २५ ॥
अन्ततः भगवान कृष्णको मुक्काको प्रहारले गर्दा, जाम्बवनको शरीरको हरेक अंगहरु सिथिल हुँदै गयो र युध्दको उत्साह घट्दै गयो । शरीर पसिनाले निथ्रुक्क भिज्यो । त्यसपछि उसले अत्यन्तै आश्चर्यचकित भए र भगवान कृष्णलाई भन्यो– ।।२५।।

जाने त्वां सर्वभूतानां प्राण ओजः सहो बलम् ।
विष्णुं पुराणपुरुषं प्रभविष्णुमधीश्वरम् ॥ २६ ॥
हे प्रभु ! हजुर सबै जीवित प्राणीहरूका स्वामी, रक्षक र पुराणपुरुष हुनुहुन्छ । हजुर सबैको जीवन, इन्द्रिय शक्ति, मानसिक शक्ति र शारीरिक शक्ति हुनुहुन्छ भन्ने कुरा मैले जाने ।।२६।। 

त्वं हि विश्वसृजां स्रष्टा सृष्टानामपि यच्च सत् ।
कालः कलयतामीशः पर आत्मा तथात्मनाम् ॥ २७ ॥
हजुर ब्रह्माण्डको सृष्टिकर्ता हुनुहुन्छ र ब्रह्मा आदिका पनि सृष्टिकर्ता हुनुहुन्छ । हजुर सृष्टिका गरिएका वस्तुहरूमा पनि उपादान कारणरुप शक्तिको रूपमा हजुर नै हुनुहुन्छ । हजुर पालन गर्ने र संहार गर्ने पनि हजुर नै हुनुहुन्छ । शरीरको भिन्नताका कारण फरक देखिने जीवात्माको भित्री आत्मा (परमात्मा) पनि हजुर नै हुनुहुन्छ तापनि त्यसबाट टाढा रहनुहुन्छ ।।२७।।
 
(वसंततिलका)
यस्येषदुत्कलितरोषकटाक्षमोक्षै(
     र्वर्त्मादिशत् क्षुभितनक्रतिमिङ्‌गलोऽब्धिः ।
सेतुः कृतः स्वयश उज्ज्वलिता च लङ्‌का
     रक्षःशिरांसि भुवि पेतुरिषुक्षतानि ॥ २८ ॥
हे प्रभु ! हजुरले हल्का रिसको भाव लिएर समुद्रतिर हेरेका अवस्थामा समुद्र भित्र बस्ने ठूला गोही, ग्राह तिमिंगल आदि छटपटाएका थिए । त्यतिबेला समुद्रले हजुरलाई बाटो दिएका थिए । त्यसमाथि पुल बनाएर हजुरले ठूलो कीर्ति स्थापित गरे र लंकालाई डढाएर नष्ट गर्नुभएको थियो । त्यसबेला हजुरको बाणले काटिएर राक्षसहरूको टाउको भुइँमा यत्रतत्र खसेका थिए । हजुर पक्कै पनि मेरा स्वामी श्रीकृष्णको रूपमा आउनुभएको छ ।२८।।
 
(अनुष्टुप्)
इति विज्ञातविज्ञानमृक्षराजानमच्युतः ।
व्याजहार महाराज भगवान् देवकीसुतः ॥ २९ ॥
अभिमृश्यारविन्दाक्षः पाणिना शंकरेण तम् ।
कृपया परया भक्तं मेघगम्भीरया गिरा ॥ ३० ॥
हे परीक्षित ! जब ऋक्षराज जाम्बवानले भगवानलाई चिन्यो तब कमलनयन भगवान श्रीकृष्णले आफ्नो शीतल कर कमलले उसको शरीरमा स्पर्श गरिदिनुभयो र त्यसपछि अति कृपापूर्वक दयाले भरिएर प्रेमपूर्ण र गम्भीर वाणीद्वारा आफ्ना आफ्ना भक्त जाम्बवनजीलाई भन्नुभयो ।।२९–३०।। 

मणिहेतोरिह प्राप्ता वयमृक्षपते बिलम् ।
मिथ्याभिशापं प्रमृजन्नात्मनो मणिनामुना ॥ ३१ ॥
हे ऋक्षराज ! हामी विरुद्धमा जुन झुटो कलंक लगाइएको छ, त्यो मेटाउनको लागि मणि लिन भनेर म यहाँ आएको हुँ ।।३१।।

इत्युक्तः स्वां दुहितरं कन्यां जाम्बवतीं मुदा ।
अर्हणार्थं स मणिना कृष्णायोपजहार ह ॥ ३२ ॥
भगवानबाट यस्तो कुरा सुनेर, जाम्बवनले ठूलो आनन्दका वहाँको पूजाको लागि मणि सहित आफ्नी जाम्बाती नाम गरेकी कुमारी छोरी भगवानमा समर्पण गर्यो ।।३२।। 

अदृष्ट्वा२ निर्गमं शौरेः प्रविष्टस्य बिलं जनाः ।
प्रतीक्ष्य द्वादशाहानि दुःखिताः स्वपुरं ययुः ॥ ३३ ॥
भगवान कृष्णले गुफा बाहिर छोडेका मानिसहरूले बाह्र दिनसम्म उनको प्रतीक्षा गरे । तर भगवान् निस्कनु नभएपछि उनीहरु धेरै दुःखी भएर आफ्नो नगर द्वारकामा फर्किए ।।३३।।

निशम्य देवकी देवी रक्मिण्यानकदुन्दुभिः ।
सुहृदो ज्ञातयोऽशोचन् बिलात् कृष्णमनिर्गतम् ॥ ३४ ॥
गुफाबाट फर्केर द्वारका आएका मानिसहरुले श्रीकृष्ण गुफा भित्रबाट बाहिर निस्कनु भएन भन्ने खवर सुनेर आमा देवकी, रुक्मिणी, वासुदेवजी र अन्य आफन्त र परिवारका सदस्यहरू धेरै दुःखी भए ।।३४।। 

सत्राजितं शपन्तस्ते दुःखिता द्वारकौकसः ।
उपतस्थुर्महामायां दुर्गां कृष्णोपलब्धये ॥ ३५ ॥
द्वारकाका सबै बासिन्दाहरू धेरै दुःखी भए र सत्राजितलाई धेरै गाली गर्न थाले र भगवान कृष्णलाई प्राप्तिका लागि महामाया दुर्गा देवीको शरणमा पुगेर स्तुति गर्न थाले ।।३५।।
 
तेषां तु देव्युपस्थानात् प्रत्यादिष्टाशिषा स च ।
प्रादुर्बभूव सिद्धार्थः सदारो हर्षयन् हरिः ॥ ३६ ॥
उनीहरुको स्तुतिबाट प्रसन्न भएर जब दुर्गादेवीले आशिर्वाद दिनुभयो, त्यही बखतमा नै नववधु जाम्बवती सहित श्रीकृष्ण त्यहाँ प्रकट हुनुभयो । श्रीकृष्ण फर्केर आएको देखेर द्वारकावासीहरु धेरै खुसि भए ।।३६।।
 
उपलभ्य हृषीकेशं मृतं पुनरिवागतम् ।
सह पत्न्याी मणिग्रीवं सर्वे जातमहोत्सवाः ॥ ३७ ॥
जसरी मर्यो भनेको मानिस फर्केर आयोभने आफ्ना बन्धुजन खुसीहुन्छन् त्यसरी नै भगवान श्रीकृष्ण पनि मणि गलामा धारण गरेर नया श्रीमति जाम्ववतिलाई सहित लिएर आउनु भएको देखेर द्वारकावासीहरुले धेरै खुसिले आनन्दित भए ।।३७।।

सत्राजितं समाहूय सभायां राजसन्निधौ ।
प्राप्तिं चाख्याय भगवान् मणिं तस्मै न्यवेदयत् ॥ ३८ ॥
त्यसपछि भगवानले सत्राजितलाई राजा उग्रसेनको दरबारमा बोलाउनुभयो र मणि कसरी प्राप्त भयो भन्ने सम्पूर्ण कथा सुनाएपछि, उहाँले त्यो मणि सत्राजितलाई सुम्पनुभयो ।।३८।।

स चातिव्रीडितो रत्नं  गृहीत्वावाङ्‌मुखस्ततः ।
अनुतप्यमानो भवनमगमत् स्वेन पाप्मना ॥ ३९ ॥
भगवान्को आज्ञा नमानेर उल्टै मिथ्या अपवाद फैलाएकोमा सत्राजितलाई अत्यन्तै लज्जित महसुस भयो । उसले मणि त लियो तर पछुताएर उधो मुण्टो लगाउदै उग्रसेनको राजसभाबाट फर्केर आफ्नो घरतिर लाग्यो ।।३९।। 

सोऽनुध्यायंस्तदेवाघं बलवद्‌विग्रहाकुलः ।
कथं मृजाम्यात्मरजः प्रसीदेद् वाच्युतः कथम् ॥ ४० ॥
किंकृत्वा साधु मह्यं स्यात् न शपेद् वा जनो यथा ।
अदीर्घदर्शनं क्षुद्रं मूढं द्रविणलोलुपम् ॥ ४१ ॥
सत्राजितको आँखाको अगाडि उसको अपराध नाचिरह्यो । बलबान ब्यक्तिसंग विरोध गरेका कारण उ धेरै डरायो । उसले अब म मेरो अपराधको प्रायश्चित कसरी गरौं? के गर्दा भगवान श्रीकृष्ण मसंग प्रसन्न हुनुहोला ? म धेरै मुढ रहेछु अब मेरो कल्याणको बाटो के होला ? मेरो निच कर्मको बारेमा द्वारकावासीहरुले मलाई निन्दा नगरुन भनेर सोच्नथाल्यो ।।४०–४१।।
 
दास्ये दुहितरं तस्मै स्त्रीरत्नं  रत्नेमेव च ।
उपायोऽयं समीचीनस्तस्य शान्तिर्न चान्यथा ॥ ४२ ॥
अब म मेरी छोरी सत्यभामा र त्यो स्यमन्तक मणिदुवै लगेर श्रीकृष्णलाई समर्पण गर्दछु । मेरो अपराध मेटाउने यो नै उत्तम उपाय हो यो भन्दा अर्को कुनै उपाय छैन ।।४२।।

एवं व्यवसितो बुद्ध्या सत्राजित् स्वसुतां शुभाम् ।
मणिं च स्वयमुद्यम्य कृष्णायोपजहार ह ॥ ४३ ॥
सत्राजितले आफ्नो विवेक र बुद्धिमत्ताका साथ यो काम आफैं गर्ने निर्णय गरेर आफ्नी छोरी र स्यमन्तक मणि दुवै श्रीकृष्णलाई अर्पण गर्यो ।।४३।। 

तां सत्यभामां भगवानुपयेमे यथाविधि ।
बहुभिर्याचितां शीलरूपौदार्यगुणान्विताम् ॥ ४४ ॥
सत्यभामाको विनम्र स्वभाव, सुन्दरता, उदारता आदि जस्ता धेरै राम्रा गुणहरूले युक्त थिइन् । धेरै पुरुषहरुले सत्यभामासंग विवाह गर्न चाहेका थिए । अब भगवानले उनलाई स्वीकार गरेर बिधिपूर्वक विवाह गर्नुभयो ।।४४।।

भगवानाह न मणिं प्रतीच्छामो वयं नृप ।
तवास्तां देवभक्तस्य वयं च फलभागिनः ॥ ४५ ॥
हे राजन परीक्षित ! भगवान श्रीकृष्णले सत्राजितलाई भन्नुभयो– हामी स्यामन्तक मणि लिने छैन । तपाई सूर्य भगवानको भक्त हुनुहुन्छ त्यसैले त्यो मणि तपाईसंगै रहेस् । तपाईको छोरा नभएकोले यस मणिबाट निक्लिने सुनको भागीदार चाही हामी नै हौं ।।४५।।

इति श्रीमद्भा।गवते महापुराणे पारमहंस्यांसंहितायां दशमस्कन्धे उत्तरार्धे
स्यमंतकोपाख्याने षट्पञ्चाशत्तमोऽध्यायः ॥ ५६ ॥