श्रीमद्भागवत महापुराण
पञ्चमः स्कन्धः – प्रथमोऽध्यायः
राजोवाच – प्रियव्रतो भागवत आत्मारामः कथं मुने । गृहेऽरमत यन्मूलः कर्मबन्धः पराभवः ॥ १ ॥
न नूनं मुक्तसङ्गानां तादृशानां द्विजर्षभ ।
गृहेष्वभिनिवेशोऽयं पुंसां भवितुमर्हति ॥ २ ॥
नेपाली भावानुवादः हे द्विजश्रेष्ठ! प्रियव्रतजस्ता आसक्तिरहित महापुरुषहरूका लागि यस प्रकार घरव्यवहारमा फस्नु निश्चय नै उचित देखिँदैन ।। २ ।।
महतां खलु विप्रर्षे उत्तमश्लोकपादयोः ।
छायानिर्वृतचित्तानां न कुटुम्बे स्पृहामतिः ॥ ३ ॥
नेपाली भावानुवादः हे विप्रर्षे! यसमा कुनै सन्देह छैन कि जसको चित्त पुण्यकीर्ति श्रीहरिको चरणकमलको शीतल छायाको आश्रय लिएर शान्त भएको हुन्छ, त्यस्ता महापुरुषहरूको कुटुम्बप्रति कुनै प्रकारको आशक्ति हुँदैन ।। ३ ।।
संशयोऽयं महान् ब्रह्मन्दारागारसुतादिषु ।
सक्तस्य यत्सिद्धिरभूत्कृष्णे च मतिरच्युता ॥ ४ ॥
नेपाली भावानुवादः हे ब्रह्मन्! महाराज प्रियव्रत स्त्री, घर र छोराछोरीमा आसक्त हुँदाहुँदै पनि उहाँले कसरी सिद्धि प्राप्त गर्नुभयो र कसरी उहाँको भगवान् श्रीकृष्णमा अविचल भक्ति रहिरह्यो? यसमा मलाई ठूलो सन्देह छ ।। ४ ।।
श्रीशुक उवाच – बाढमुक्तं भगवत उत्तमश्लोकस्य श्रीमच्चरणारविन्दमकरन्दरस आवेशितचेतसो भागवतपरमहंसदयितकथां किञ्चिदन्तरायविहतां स्वां शिवतमां पदवीं न प्रायेण हिन्वन्ति ॥ ५ ॥
यर्हि वाव ह राजन् स राजपुत्रः प्रियव्रतः परमभागवतो नारदस्य चरणोपसेवयाञ्जसावगतपरमार्थसतत्त्वो ब्रह्मसत्रेण दीक्षिष्यमाणोऽवनि-तलपरिपालनायाम्नातप्रवरगुणगणैकान्तभाजनतया स्वपित्रोपामन्त्रितो भगवति वासुदेव एवाव्यवधानसमाधियोगेन समावेशितसकलकारकक्रियाकलापो नैवाभ्यनन्दद्यद्यपितदप्रत्याम्नातव्यं तदथिकरण आत्मनोऽन्यस्मादसतोऽपि पराभवमन्वीक्षमाणः ॥ ६ ॥
नेपाली भावानुवादः राजन्! राजकुमार प्रियव्रत भगवान्का ठूला भक्त थिए। नारदजीको चरण सेवा गर्नाले उनलाई सजिलै परमार्थको बोध भएको थियो। उनले निरन्तर ब्रह्माभ्यासमा जीवन बिताउने निश्चय गरेका बेलामा उनका पिता स्वायम्भुव मनुले उनलाई पृथ्वी पालनका लागि शास्त्रोक्त सबै गुणले सम्पन्न देखेर राज्य शासनका लागि आज्ञा दिए। तर प्रियव्रतले अखण्ड समाधियोगद्वारा आफ्ना सबै इन्द्रिय र कर्मलाई भगवान्को चरणमा समर्पण गरिसकेका थिए। त्यसैले पिताको आज्ञा उल्लङ्घन गर्न नहुने भए तापनि, राज्य र कुटुम्बको चिन्तामा फसेर आत्मस्वरूप बिर्सिने डरले उनले त्यसलाई खुसीसाथ स्वीकार गरेनन् ।। ६ ।।
अथ ह भगवानादिदेव एतस्य गुणविसर्गस्य परिबृंहणानुध्यानव्यवसितसकलजगदभिप्राय आत्मयोनिरखिलनिगमषिजगणपरिवेष्टितः स्वभवनादवततार ॥ ७ ॥
नेपाली भावानुवादः आदिदेव स्वयम्भू भगवान् ब्रह्माजीलाई यो त्रिगुणमय संसारको वृद्धि कसरी गर्ने भन्ने चिन्ता रहन्छ। उहाँ सबै जीवका अभिप्रायलाई जान्नुहुन्छ। जब उहाँले प्रियव्रतको यस्तो भाव देख्नुभयो, तब उहाँ चारै वेद र मरीचि आदि पार्षदहरूका साथ आफ्नो लोकबाट तल ओर्लनुभयो ।। ७ ।।
स तत्र तत्र गगनतल उडुपतिरिव विमानावलिभिरनुपथममरपरिवृढैरभिपूज्यमानः पथि पथि च वरूथशः सिद्धगन्धर्वसाध्यचारणमुनिगणैरुपगीयमानो गन्धमादनद्रोणीमवभासयन्नुपससर्प ॥ ८ ॥
नेपाली भावानुवादः आकाशमा जताततै विमानमा चढेका इन्द्रादि देवताहरूले उहाँको पूजा गरे भने बाटोभरि सिद्ध, गन्धर्व, साध्य, चारण र मुनिहरूले स्तुति गरे। यसरी ठाउँ-ठाउँमा आदर पाउँदै उहाँ चन्द्रमा समान चमकका साथ गन्धमादन पर्वतको गुफालाई उज्यालो पार्दै प्रियव्रत भएकै ठाउँमा पुग्नुभयो ।। ८ ।।
तत्र ह वा एनं देवर्षिर्हंसयानेन पितरं भगवन्तं हिरण्यगर्भमुपलभमानः सहसैवोत्थायार्हणेन सह पितापुत्राभ्यामवहिताञ्जलिरुपतस्थे ॥ ९ ॥
नेपाली भावानुवादः त्यहाँ नारदजी पनि प्रियव्रतलाई आत्मविद्याको उपदेश दिइरहनुभएको थियो। ब्रह्माजीको वाहन हाँसलाई देख्नासाथ आफ्ना पिता आउनुभएको थाहा पाई नारदजी, स्वायम्भुव मनु र प्रियव्रत सबैजना आदरका साथ उठेर हात जोडी उभिनुभयो र पूजा सामग्रीसहित उहाँलाई प्रणाम गर्नुभयो ।। ९ ।।
भगवानपि भारत तदुपनीतार्हणः सूक्तवाकेनातितरामुदितगुणगणावतारसुजयः प्रियव्रतमादिपुरुषस्तं सदयहासावलोक इति होवाच ॥ १० ॥
नेपाली भावानुवादः हे परीक्षित! ब्रह्माजीले उनीहरूले चढाएको पूजा ग्रहण गर्नुभयो। नारदजीले मधुर वचनले उहाँको गुण र अवतारको महिमा गाउनुभयो। त्यसपछि आदि पुरुष ब्रह्माजीले मन्द मुस्कुराउँदै कृपादृष्टिले प्रियव्रतलाई हेरेर यस प्रकार भन्नुभयो ।। १० ।।
श्रीभगवानुवाच – निबोध तातेदमृतं ब्रवीमि मासूयितुं देवमर्हस्यप्रमेयम् । वयं भवस्ते तत एष महर्षिर्वहाम सर्वे विवशा यस्य दिष्टम् ॥ ११ ॥
न तस्य कश्चित्तपसा विद्यया वा
न योगवीर्येण मनीषया वा ।
नैवार्थधर्मैः परतः स्वतो वा
कृतं विहन्तुं तनुभृद्विभूयात् ॥ १२ ॥
नेपाली भावानुवादः उनको विधानलाई कुनै पनि देहधारीले तपस्या, विद्या, योगबल, बुद्धिबल वा धर्मको शक्तिले, न त आफैँ न त अरूको सहायताले नै टार्न सक्छन् ।। १२ ।।
भवाय नाशाय च कर्म कर्तुं
शोकायमोहाय सदा भयाय ।
सुखाय दुःखाय च देहयोग
मव्यक्तदिष्टं जनताङ्ग धत्ते ॥ १३ ॥
नेपाली भावानुवादः प्रिय बालक! उनै अव्यक्त ईश्वरको इच्छाले प्राप्त भएको यो शरीरलाई सबै जीवले जन्म, मरण, शोक, मोह, भय, सुख र दुःख भोग्न तथा कर्म गर्नका लागि धारण गर्दछन् ।। १३ ।।
यद्वाचि तन्त्यां गुणकर्मदामभिः
सुदुस्तरैर्वत्स वयं सुयोजिताः ।
सर्वे वहामो बलिमीश्वराय
प्रोता नसीव द्विपदे चतुष्पदः ॥ १४ ॥
नेपाली भावानुवादः जसरी नाकमा डोरी उनिएको पशु मानिसको वशमा रही भारी बोक्छ, त्यसै गरी परमात्माको वेदवाणी रूपी डोरीमा गुण र कर्मका सुदृढ बन्धनले बाँधिएका हामी सबै उनैको इच्छा अनुसार कर्म गर्दछौँ ।। १४ ।।
ईशाभिसृष्टं ह्यवरुन्ध्महेऽङ्ग
दुःखं सुखं वा गुणकर्मसङ्गात् ।
आस्थाय तत्तद्यदयुङ्क्त नाथ
श्चक्षुष्मतान्धा इव नीयमानाः ॥ १५ ॥
नेपाली भावानुवादः आँखा देख्ने मानिसले अन्धालाई डोर्याए झैँ, प्रभुले हाम्रो गुण र कर्म अनुसार हामीलाई जुन परिस्थितिमा राख्नुहुन्छ, त्यसैलाई स्वीकार गरेर हामी सुख वा दुःख भोग्दछौँ। हामीले उहाँकै इच्छाको अनुसरण गर्नुपर्दछ ।। १५ ।।
मुक्तोऽपि तावद्बिभृयात्स्वदेह
मारब्धधमश्नन्नभिमानशून्यः ।
यथानुभूतं प्रतियातनिद्रः
किंत्वन्यदेहाय गुणान्न वृङ्क्ते ॥ १६ ॥
नेपाली भावानुवादः जसरी निद्रा खुलेपछि पनि मानिसले सपनाको अनुभवलाई सम्झन्छ, त्यसै गरी जीवनमुक्त पुरुषले पनि अभिमानरहित भई प्रारब्ध अनुसार यो शरीर धारण गर्दछन्। उनी फेरि जन्म गराउने गुण र संस्कारहरूको वशमा पर्दैनन् ।। १६ ।।
भयं प्रमत्तस्य वनेष्वपि स्याद्
यतः सआस्ते सहषट्सपत्नः ।
जितेन्द्रियस्यात्मरतेर्बुधस्य
गृहाश्रमः किं नु करोत्यवद्यम् ॥ १७ ॥
नेपाली भावानुवादः इन्द्रियहरू वशमा नभएका मानिसलाई वनमा बस्दा पनि भय रहन्छ, किनकि काम-क्रोध आदि छ शत्रुहरूले उसलाई छोड्दैनन्। तर जो जितेन्द्रिय भई आफ्नै आत्मामा रम्छ, त्यस्तो बुद्धिमान् पुरुषलाई गृहस्थाश्रमले के बिगार्न सक्छ र? ।। १७ ।।
यः षट्सपत्नान् विजिगीषमाणो
गृहेषु निर्विश्य यतेत पूर्वम् ।
अत्येति दुर्गाश्रित ऊर्जितारीन्
क्षीणेषु कामं विचरेद्विपश्चित् ॥ १८ ॥
नेपाली भावानुवादः यी छ शत्रुहरूलाई जित्न चाहनेले पहिले घरमै बसेर संयमपूर्वक अभ्यास गर्नुपर्छ। जसरी किल्लामा बसेको राजाले बलियो शत्रुलाई पनि जित्न सक्छ, त्यसै गरी घर रूपी किल्लामा बसेर काम-क्रोधादि शत्रुहरूको बल क्षीण भएपछि मात्र विद्वान् पुरुषले स्वेच्छाले विचरण गर्नुपर्दछ ।। १८ ।।
त्वं त्वब्जनाभाङ्घ्रिसरोजकोश
दुर्गाश्रितो निर्जितषट्सपत्नः ।
भुङ्क्ष्येह भोगान् पुरुषातिदिष्टान्
विमुक्तसङ्गः प्रकृतिं भजस्व ॥ १९ ॥
नेपाली भावानुवादः तिमीले भगवान् श्रीहरिको चरणकमल रूपी किल्लाको आश्रय लिई यी छ शत्रुहरूलाई जितिसकेका छौ। त्यसैले अब प्रभुले नै दिएको यो भोगलाई भोग र पछि निःसङ्ग भई आफ्नै आत्मस्वरूपमा स्थित होऊ ।। १९ ।।
श्रीशुक उवाच –
इति समभिहितो महाभागवतो भगवतस्त्रिभुवनगुरोरनुशासनमात्मनो लघुतयावनतशिरोधरो बाढमितिसबहुमानमुवाह ॥ २० ॥
नेपाली भावानुवादः शुकदेवजी भन्नुहुन्छ– जब त्रिभुवनका गुरु ब्रह्माजीले यस प्रकार भन्नुभयो, तब परम भागवत प्रियव्रतले विनम्र भई शिर निहुराएर उहाँको आज्ञालाई ससम्मान स्वीकार गर्नुभयो ।। २० ।।
अथ च दुहितरं प्रजापतेर्विश्वकर्मण उपयेमे बर्हिष्मतीं नाम तस्यामु ह वाव आत्मजानात्मसमानशीलगुणकर्मरूपवीर्योदारान्दश भावयाम्बभूव कन्यां च यवीयसीमूर्जस्वतीं नाम ॥ २४ ॥
नेपाली भावानुवादः त्यसपछि उहाँले विश्वकर्माकी छोरी बर्हिष्मतीसँग विवाह गर्नुभयो। उनीबाट उहाँकै समान शील, गुण र पराक्रम भएका दस छोराहरू र उर्जस्वती नामकी एक छोरी जन्मिए ।। २४ ।।
आग्नीध्रेध्मजिह्वयज्ञबाहुमहावीरहिरण्यरेतोघृतपृष्ठसवनमेधातिथिवीतिहोत्रकवय इति सर्व एवाग्निनामानः ॥ २५ ॥
नेपाली भावानुवादः ती छोराहरूको नाम आग्नीध्र, इध्मजिह्व, यज्ञबाहु, महावीर, हिरण्यरेता, घृतपृष्ठ, सवन, मेधातिथि, वीतिहोत्र र कवि थियो। यी सबै नाम अग्निका पनि हुन् ।। २५ ।।
एतेषां कविर्महावीरः सवन इति त्रयआसन्नूर्ध्वरेतसस्त आत्मविद्यायामर्भभावादारभ्यकृतपरिचयाः पारमहंस्यमेवाश्रममभजन् ॥ २६ ॥
नेपाली भावानुवादः तीमध्ये कवि, महावीर र सवन नामका तीन छोराहरू नैष्ठिक ब्रह्मचारी थिए। उनीहरूले बाल्यकालदेखि नै आत्मविद्याको अभ्यास गरी सन्न्यासाश्रम स्वीकार गरे ।। २६ ।।
तस्मिन्नु ह वा उपशमशीलाः परमर्षयः सकलजीवनिकायावासस्य भगवतो वासुदेवस्य भीतानां शरणभूतस्य श्रीमच्चरणारविन्दाविरतस्मरणाविगलितपरमभक्तियोगानुभावेन परिभावितान्तर्हृदयाधिगते भगवति सर्वेषां भूतानामात्मभूते प्रत्यगात्मन्येवात्मनस्तादात्म्य मविशेषेणसमीयुः ॥ २७ ॥
नेपाली भावानुवादः यी शान्त स्वभावका महर्षिहरूले भगवान् वासुदेवको चरणकमलको निरन्तर चिन्तन गरी श्रेष्ठ भक्तियोगद्वारा आफ्नो अन्तःकरण शुद्ध बनाए र अन्त्यमा परमात्मामा लीन भए ।। २७ ।।
अन्यस्यामपि जायायां त्रयः पुत्रा आसन् उत्तमस्तामसो रैवत इति मन्वन्तराधिपतयः ॥ २८ ॥
नेपाली भावानुवादः महाराज प्रियव्रतकी अर्की पत्नीबाट उत्तम, तामस र रैवत नामका तीन छोराहरू भए, जो पछि आ-आफ्नो नामका मन्वन्तरका अधिपति बने ।। २८ ।।
एवमुपशमायनेषु स्वतनयेष्वथ जगतीपतिर्जगतीमर्बुदान्येकादश परिवत्सराणामव्याहता-खिलपुरुषकारसारसम्भृतदोर्दण्डयुगलापीडितमौर्वीगुणस्तनितविरमितधर्मप्रतिपक्षो बर्हिष्मत्याश्चानुदिनमेधमानप्रमोदप्रसरणयौषिण्यव्रीडाप्रमुषितहासावलोकरुचिरक्ष्वेल्यादिभिः पराभूयमानविवेक इवानवबुध्यमान इव महामना बुभुजे ॥ २९ ॥
नेपाली भावानुवादः प्रियव्रतले एघार अर्बुद वर्षसम्म पृथ्वीमा शासन गरे। उहाँको धनुषको टङ्कार सुन्नासाथ धर्मविरोधीहरू भाग्दथे। महारानी बर्हिष्मतीको प्रेम र हावभावले गर्दा उहाँ कहिलेकाहीँ विवेकहीन व्यक्ति झैँ भोगमा मग्न देखिए तापनि वास्तवमा उहाँको चित्त भगवान्मै थियो ।। २९ ।।
यावदवभासयति सुरगिरिमनुपरिक्रामन् भगवानादित्यो वसुधातलमर्धेनैव प्रतपत्यर्धेनावच्छादयति तदा हि भगवदुपासनोपचितातिपुरुषप्रभावस्तदनभिनन्दन् समजवेन रथेन ज्योतिर्मयेन रजनीमपि दिनं करिष्यामीति सप्तकृत्वस्तरणिमनुपर्यक्रामद् द्वितीय इव पतङ्गः ॥ ३० ॥
नेपाली भावानुवादः एकपटक सूर्यले सुमेरुको परिक्रमा गर्दा पृथ्वीको आधा भाग मात्र उज्यालो र आधा भाग अँध्यारो भएको देख्दा प्रियव्रतलाई चित्त बुझेन। उहाँले "म रातलाई पनि दिन बनाइदिन्छु" भन्ने सङ्कल्प गरी सूर्य जत्तिकै तीव्र वेग भएको रथमा चढेर सात पटक सूर्यको परिक्रमा गर्नुभयो ।। ३० ।।
ये वा उ ह तद्रथचरणनेमिकृतपरिखातास्ते सप्तसिन्धव आसन् यत एव कृताः सप्त भुवो द्वीपाः ॥ ३१ ॥
नेपाली भावानुवादः त्यस समय उहाँको रथको पाङ्ग्राले जमिनमा पारेका सातवटा खाल्डाहरू नै पछि सात समुद्र बने र ती समुद्रहरूले गर्दा पृथ्वी सात द्वीपमा विभाजित भयो ।। ३१ ।।
जम्बूप्लक्षशाल्मलिकुशक्रौञ्चशाकपुष्करसंज्ञास्तेषां परिमाणं पूर्वस्मात्पूर्वस्मादुत्तर उत्तरो यथासंख्यं द्विगुणमानेन बहिः समन्तत उपक्लृप्ताः ॥ ३२ ॥
नेपाली भावानुवादः ती सात द्वीपहरू जम्बू, प्लक्ष, शाल्मली, कुश, क्रौञ्च, शाक र पुष्कर हुन्। यिनको क्षेत्रफल अघिल्लोको तुलनामा पछिल्लोको दोब्बर छ ।। ३२ ।।
क्षारोदेक्षुरसोदसुरोदघृतोदक्षीरोददधिमण्डोदशुद्धोदाः सप्त जलधयः सप्त द्वीपपरिखा इवाभ्यन्तद्वीपसमाना एकैकश्येन यथानुपूर्वं सप्तस्वपि बहिर्द्वीपेषु पृथक्परित उपकल्पितास्तेषु जम्ब्वादिषु बर्हिष्मतीपतिरनुव्रतानात्मजानाग्नीधेध्मजिह्वयज्ञबाहुहिरण्यरेतोघृतपृष्ठमेधातिथिवीतिहोत्रसंज्ञान्यथासंख्येनैकैकस्मिन्नेकमेवाधिपतिं विदधे ॥ ३३ ॥
नेपाली भावानुवादः नुनिलो पानी, उखुको रस, मदिरा, घिउ, दूध, दही र शुद्ध जल गरी सात समुद्रहरूले यी द्वीपहरूलाई घेरेका छन्। महाराज प्रियव्रतले आफ्ना छोराहरूलाई क्रमशः यी द्वीपहरूको राजा बनाइदिनुभयो ।। ३३ ।।
दुहितरं चोर्जस्वतीं नामोशनसे प्रायच्छद्यस्यामासीद् देवयानी नाम काव्यसुता ॥ ३४ ॥
नेपाली भावानुवादः उहाँले आफ्नी छोरी उर्जस्वतीको विवाह शुक्राचार्यसँग गरिदिनुभयो, जसबाट देवयानीको जन्म भयो ।। ३४ ।।
नैवंविधः पुरुषकार उरुक्रमस्य पुंसां तदङ्घ्रिरजसा जितषड्गुणानाम् । चित्रं विदूरविगतः सकृदाददीत यन्नामधेयमधुना स जहाति बन्धम् ॥ ३५ ॥
नेपाली भावानुवादः हे राजन्! जसले भगवान्को चरणको धुलोको प्रभावले इन्द्रिय र भोक-प्यास आदि छ शत्रुहरूलाई जितेका छन्, उनीहरूका लागि यस्तो पराक्रम गर्नु कुनै आश्चर्यको कुरा होइन। जसको नाम एक पटक लिँदा मात्रै पनि मानिस संसारको बन्धनबाट मुक्त हुन्छ, उहाँका भक्तको सामर्थ्य कति होला? ।। ३५ ।।
स एवमपरिमितबलपराक्रम एकदा तु देवर्षिचरणानुशयनानुपतितगुणविसर्गसंसर्गेणानिर्वृतमिवात्मानं मन्यमान आत्मनिर्वेद इदमाह ॥ ३६ ॥
नेपाली भावानुवादः यति धेरै बल र पराक्रम भए तापनि, एक दिन राजालाई नारदजीको उपदेश भुलेर राज्यको भोगमा फसेकोमा वैराग्य जाग्यो र उहाँले आफूलाई धिक्कार गर्दै यसो भन्नुभयो ।। ३६ ।।
अहो असाध्वनुष्ठितं यदभिनिवेशितोऽहमिन्द्रियैरविद्यारचितविषमविषयान्धकूपे तदलमलममुष्या वनिताया विनोदमृगं मां धिग्धिगिति गर्हयाश्चकार ॥ ३७ ॥
नेपाली भावानुवादः "अहो! मैले कस्तो नराम्रो काम गरेँ! इन्द्रियहरूले मलाई अविद्या रूपी अन्धकुवामा खसालिदिए। म त पत्नीको हातको खेलौना मृग जस्तो भएछु। मलाई धिक्कार छ!" ।। ३७ ।।
परदेवताप्रसादाधिगतात्मप्रत्यवमर्शेनानुप्रवृत्तेभ्यः पुत्रेभ्य इमां यथादायं विभज्य भुक्तभोगां च महिषीं मृतकमिव सहमहाविभूतिमपहाय स्वयं निहितनिर्वेदो हृदि गृहीतहरिविहारानुभावो भगवतो नारदस्य पदवीं पुनरेवानुससार ॥ ३८ ॥
नेपाली भावानुवादः भगवान्को कृपाले उहाँको विवेक जागृत भयो। उहाँले आफ्ना छोराहरूलाई राज्य बाँडिदिनुभयो र आफ्नो भोग-विलास तथा साम्राज्यलाई मरेको शरीर झैँ त्यागेर नारदजीले देखाएको मार्गमा लाग्नुभयो ।। ३८ ।।
तस्य ह वा एते श्लोकाः –
यो नेमिनिम्नैरकरोच्छायां घ्नन् सप्त वारिधीन् ॥ ३९ ॥
नेपाली भावानुवादः महाराज प्रियव्रतका बारेमा यो श्लोक प्रसिद्ध छ– "प्रियव्रतले गरेको जस्तो काम ईश्वर बाहेक अरू कसले गर्न सक्छ र? उहाँले रातको अँध्यारो हटाउन खोज्दा रथको पाङ्ग्राले सात समुद्र बनाइदिनुभयो" ।। ३९ ।।
भूसंस्थानं कृतं येन सरिद्गिरिवनादिभिः ।
सीमा च भूतनिर्वृत्यै द्वीपे द्वीपे विभागशः ॥ ४० ॥
नेपाली भावानुवादः उहाँले नै प्राणीहरूको सुखका लागि पृथ्वीमा नदी, पर्वत र वनहरूद्वारा द्वीपहरूको सीमा निर्धारण गर्नुभयो ।। ४० ।।
भौमं दिव्यं मानुषं च महित्वं कर्मयोगजम् ।
यश्चक्रे निरयौपम्यं पुरुषानुजनप्रियः ॥ ४१ ॥
नेपाली भावानुवादः नारदजीका प्रिय भक्त ती महाराजले पाताल, स्वर्ग र मत्र्यलोकका सबै ऐश्वर्यलाई नरक जस्तै तुच्छ सम्झिनुभयो र परमात्माकै शरण लिनुभयो ।। ४१ ।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवतको पञ्चम स्कन्धको पहिलो अध्यायमा महाराज प्रियव्रतको महान् चरित्र र उहाँको गृहस्थाश्रम प्रवेशको रोचक प्रसङ्ग वर्णन गरिएको छ। स्वायम्भुव मनुका पुत्र प्रियव्रत सानैदेखि नारदजीको सत्सङ्गले गर्दा परम ज्ञानी र विरक्त हुनुहुन्थ्यो। जब उहाँका पिता मनुले उहाँलाई राज्यभार सम्हाल्न आग्रह गर्नुभयो, प्रियव्रतले बन्धनमा फसिने डरले त्यसलाई अस्वीकार गर्नुभयो। त्यसपछि स्वयं भगवान् ब्रह्माजी आफ्नो लोकबाट ओर्लिएर प्रियव्रतलाई सम्झाउन आउनुभयो। ब्रह्माजीले सम्झाउनुभयो कि ईश्वरको इच्छालाई कसैले पनि टार्न सक्दैन र जितेन्द्रिय पुरुषका लागि घर होस् वा वन, दुवै समान हुन्छन्। ब्रह्माजीको आज्ञालाई शिरोधार्य गर्दै प्रियव्रतले गृहस्थाश्रम स्वीकार गर्नुभयो र बर्हिष्मतीसँग विवाह गरी राज्य सञ्चालन गर्न थाल्नुभयो। उहाँबाट दश छोरा र एक छोरीको जन्म भयो।
प्रियव्रतले एघार अर्बुद वर्षसम्म न्यायपूर्वक शासन गर्नुभयो। उहाँको पराक्रम यति अलौकिक थियो कि उहाँले सूर्यले नउज्यालो पारेको भागमा पनि उज्यालो पार्न रथमा चढेर सूर्यको परिक्रमा गर्नुभयो। त्यस समय रथको पाङ्ग्राले जमिनमा पारेका खाल्डाहरूबाट सात समुद्र र सात द्वीपको निर्माण भयो। उहाँले आफ्ना छोराहरूलाई ती द्वीपहरूको राजा बनाउनुभयो। लामो समय राज्य भोग गरेपछि उहाँमा पुनः वैराग्य जागृत भयो। उहाँले आफूलाई विषयवासनामा फसेको भन्दै धिक्कार गर्नुभयो र सबै राजसी सुख त्यागेर भगवान् श्रीहरिको भक्तिमा लाग्नुभयो। उहाँको यो चरित्रले देखाउँछ कि भगवान्को भक्तले राज्यभोग गर्दा पनि हृदयले जहिल्यै प्रभुको स्मरण गरिरहन्छ। अन्त्यमा प्रियव्रतले सबै बन्धन त्यागेर आत्मज्ञान प्राप्त गर्नुभयो र परलोक जानुभयो।
दार्शनिक पक्ष
यस अध्यायले गृहस्थाश्रम र अध्यात्मका बीचको सुन्दर सन्तुलनलाई दार्शनिक रूपमा प्रस्तुत गरेको छ। ब्रह्माजीको उपदेशबाट यो प्रष्ट हुन्छ कि मन र इन्द्रियहरू नियन्त्रणमा छैनन् भने वनमा बस्नु पनि व्यर्थ छ, तर जसले मनलाई जितेको छ उसलाई घरले पनि कुनै बाधा पुर्याउँदैन। यहाँ गृहस्थाश्रमलाई एक 'किल्ला' का रूपमा व्याख्या गरिएको छ, जहाँ बसेर साधकले काम-क्रोधादि शत्रुहरूलाई सजिलै परास्त गर्न सक्छ। ईश्वरको इच्छा (प्रारब्ध) लाई टार्न नसकिने हुनाले ज्ञानी पुरुषले त्यसलाई स्वीकार गर्दै अनासक्त भावले कर्म गर्नुपर्छ भन्ने यसको मुख्य दर्शन हो। प्रियव्रतको चरित्रले 'कर्मयोग' को आदर्श नमुना प्रस्तुत गर्दछ। उहाँले भोग र मोक्ष दुवैलाई जीवनमा कसरी स्थान दिनुपर्छ भन्ने सिकाउनुभएको छ। भौतिक ऐश्वर्य जतिसुकै विशाल भए पनि त्यो अन्त्यमा त्याज्य र नश्वर छ भन्ने बोध नै वास्तविक ज्ञान हो। यस अध्यायले भक्ति र ज्ञानको मार्गमा लागेको व्यक्ति परिस्थितिवश सांसारिक कर्ममा लागे तापनि उसको हृदयको ईश्वरप्रतिको प्रेम कहिल्यै घट्दैन भन्ने कुरालाई जोड दिएको छ।
No comments:
Post a Comment