श्रीमद्भागवत महापुराण
दशमस्न्धः पञ्चपञ्चाशत्तमोऽध्यायः
देहोपपत्तये भूयस्तमेव प्रत्यपद्यत ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित् ! पहिले भगवान् रुद्रको क्रोधले डढेर भस्म भएका कामदेव वासुदेवका अंश हुन् । उनै कामदेव पुनः शरीर प्राप्त गर्नका लागि भगवान्कै अंश प्रद्युम्नका रूपमा प्रकट भए ।। १ ।।
स एव जातो वैदर्भ्यां कृष्णवीर्यसमुद्भवः ।
प्रद्युम्न इति विख्यातः सर्वतोऽनवमः पितुः ॥ २ ॥
नेपाली भावानुवादः यस पटक तिनै कामदेव रुक्मिणीको गर्भबाट भगवान् कृष्णको वीर्यद्वारा जन्मिए र प्रद्युम्नका नामले संसारमा प्रसिद्ध भए । सुन्दरता, वीरता तथा चरित्र आदि गुणहरूमा उनी आफ्ना पिता भगवान् श्रीकृष्णभन्दा कुनै पनि कुरामा कम थिएनन् ।। २ ।।
तं शम्बरः कामरूपी हृत्वा तोकमनिर्दशम् ।
स विदित्वाऽऽत्मनः शत्रुं प्रास्योदन्वत्यगाद् गृहम् ॥ ३ ॥
नेपाली भावानुवादः इच्छा अनुसार रूप बदल्न सक्ने शम्बरासुरले प्रद्युम्न दश दिनको पनि नहुँदै उनलाई आफ्नो शत्रु सम्झेर सुत्केरी घरबाटै अपहरण गर्यो र समुद्रमा फ्याँकिदिएर आफ्नो घर फर्कियो ।। ३ ।।
तं निर्जगार बलवान् मीनः सोऽप्यपरैः सह ।
वृतो जालेन महता गृहीतो मत्स्यजीविभिः ॥ ४ ॥
नेपाली भावानुवादः समुद्रमा फ्याँकिएका ती बालक प्रद्युम्नलाई एउटा बलवान् माछाले निल्यो । पछि माझीहरूले समुद्रमा फ्याँकेको ठूलो जालमा अन्य माछाहरूसँगै त्यो माछा पनि पर्यो र माझीहरूद्वारा समातियो ।। ४ ।।
तं शम्बराय कैवर्ता उपाजह्रुरुपायनम् ।
सूदा महानसं नीत्वावद्यन् स्वधितिनाद्भुतम् ॥ ५ ॥
नेपाली भावानुवादः माझीहरूले सो माछा शम्बरासुरलाई उपहारका रूपमा टक्र्याए । त्यसपछि भान्सेहरूले त्यो अद्भुत माछालाई भान्सामा लगेर हतियारले काट्न थाले ।। ५ ।।
दृष्ट्वा तदुदरे बालं मायावत्यै न्यवेदयन् ।
नारदोऽकथयत् सर्वं तस्याः शङ्कितचेतसः ।
बालस्य तत्त्वमुत्पत्तिं मत्स्योदरनिवेशनम् ॥ ६ ॥
नेपाली भावानुवादः भान्सेहरूले माछाको पेटभित्र एउटा जीवित बालक देखेर आश्चर्य मान्दै शम्बरासुरकी दासी मायावतीलाई सुम्पिदिए । मायावतीको मनमा बालकका बारेमा शङ्का उत्पन्न भएपछि देवर्षि नारदले त्यहाँ आएर ती बालकका बारेमा, उनको उत्पत्ति र माछाको पेटमा पुग्नुको सम्पूर्ण रहस्य बताइदिनुभयो ।। ६ ।।
सा च कामस्य वै पत्नी रतिर्नाम यशस्विनी ।
पत्युर्निर्दग्धदेहस्य देहोत्पत्तिं प्रतीक्षती ॥ ७ ॥
नेपाली भावानुवादः ती मायावती वास्तवमा कामदेवकी सुप्रसिद्ध पत्नी रति थिइन् । उनी शिवको कोपाग्निले भस्म भएका आफ्ना पतिका पुनर्जन्मको प्रतीक्षा गरिरहेकी थिइन् ।। ७ ।।
निरूपिता शम्बरेण सा सूदौदनसाधने ।
कामदेवं शिशुं बुद्ध्वा चक्रे स्नेहं तदार्भके ॥ ८ ॥
नेपाली भावानुवादः शम्बरासुरले ती रतिलाई भान्सेको काममा नियुक्त गरेको थियो । जब उनले नारदजीको मुखबाट ती बालक आफ्नै पति हुन् भन्ने कुरा थाहा पाइन्, तब उनीमाथि प्रगाढ स्नेह गर्न थालिन् ।। ८ ।।
नातिदीर्घेण कालेन स कार्ष्णि रूढयौवनः ।
जनयामास नारीणां वीक्षन्तीनां च विभ्रमम् ॥ ९ ॥
नेपाली भावानुवादः श्रीकृष्णपुत्र प्रद्युम्न थोरै समयमै युवावस्थामा पुगे । उनको रूप र यौवन यति अद्भुत थियो कि उनलाई देख्ने कुनै पनि स्त्रीहरूको मनमा कामभाव जागृत हुन्थ्यो ।। ९ ।।
सा तं पतिं पद्मदलायतेक्षणं
प्रलम्बबाहुं नरलोकसुन्दरम् ।
सव्रीडहासोत्तभितभ्रुवेक्षती
प्रीत्योपतस्थे रतिरङ्ग सौरतैः ॥ १० ॥
नेपाली भावानुवादः कमलका पत्रजस्तै लामा आँखा भएका, अजुलबाहु र संसारकै सुन्दर ती पतिलाई देखेर रतिले लाज र मन्द मुस्कानका साथ आफ्ना आँखीभौँ उचाल्दै प्रेमपूर्ण भावले उनको सेवा र सान्निध्यको इच्छा व्यक्त गरिन् ।। १० ।।
तामह भगवान् कार्ष्णिः मातस्ते मतिरन्यथा ।
मातृभावमतिक्रम्य वर्तसे कामिनी यथा ॥ ११ ॥
नेपाली भावानुवादः ती मायावतीको व्यवहारमा परिवर्तन देखेर श्रीकृष्णनन्दन प्रद्युम्नले भने– "हे माता ! तपाईंको बुद्धि विपरीत भएको देख्छु । तपाईंले मातृभाव त्यागेर मप्रति एक कामिनी स्त्रीले जस्तै व्यवहार गरिरहनुभएको छ" ।। ११ ।।
रतिरुवाच–
अहं तेऽधिकृता पत्नी रतिः कामो भवान् प्रभो ॥ १२ ॥
नेपाली भावानुवादः रतिले भनिन्– "हे स्वामी ! हजुर साक्षात् नारायण स्वरूप श्रीकृष्णका पुत्र हुनुहुन्छ । शम्बरासुरले हजुरलाई सुत्केरी घरबाटै चोरेर ल्याएको थियो । म हजुरकी शास्त्रसम्मत पत्नी रति हुँ र हजुर मेरा पति कामदेव हुनुहुन्छ" ।। १२ ।।
एष त्वानिर्दशं सिन्धावक्षिपच्छम्बरोऽसुरः ।
मत्स्योऽग्रसीत्तदुदरादिह प्राप्तो भवान् प्रभो ॥ १३ ॥
नेपाली भावानुवादः "हे प्रभु ! हजुर जन्मेको दश दिन पनि नहुँदै यसै शम्बरासुरले हजुरलाई समुद्रमा फ्याँकिदिएको थियो । त्यहाँ एउटा माछोले हजुरलाई निल्यो र त्यसैको पेटबाट प्राप्त भएर हजुर यहाँसम्म आइपुग्नुभएको हो" ।। १३ ।।
तमिमं जहि दुर्धर्षं दुर्जयं शत्रुमात्मनः ।
मायाशतविदं तं च मायाभिर्मोहनादिभिः ॥ १४ ॥
नेपाली भावानुवादः "अब हजुरले आफ्नो यो अजेय शत्रु शम्बरासुरलाई मार्नुहोस् । ऊ सयौँ प्रकारका माया जान्दछ, त्यसैले हजुरले पनि माया र आफ्नो पराक्रमको प्रयोग गरेर उसलाई समाप्त पारिदिनुहोस्" ।। १४ ।।
परीशोचति ते माता कुररीव गतप्रजा ।
पुत्रस्नेहाकुला दीना विवत्सा गौरिवातुरा ॥ १५ ॥
नेपाली भावानुवादः "हे स्वामी ! यता हजुरकी माता रुक्मिणी आफ्नो हराएको छोराको वियोगमा सन्तानविहीन कुररी पक्षी र बाच्छो हराएकी गाईले जस्तै गरी अत्यन्तै शोकमा डुबिरहनुभएको छ" ।। १५ ।।
प्रभाष्यैवं ददौ विद्यां प्रद्युम्नाय महात्मने ।
मायावती महामायां सर्वमायाविनाशिनीम् ॥ १६ ॥
नेपाली भावानुवादः यति बताएर मायावतीले महात्मा प्रद्युम्नलाई सबै प्रकारका मायावी शक्तिहरूलाई नष्ट गर्ने 'महामाया' नामक विद्या प्रदान गरिन् ।। १६ ।।
स च शम्बरमभ्येत्य संयुगाय समाह्वयत् ।
अविषह्यैस्तमाक्षेपैः क्षिपन् सञ्जनयन् कलिम् ॥ १७ ॥
नेपाली भावानुवादः त्यसपछि प्रद्युम्न शम्बरासुरको नजिकै पुगेर उसलाई सहनै नसकिने कठोर वचनहरूद्वारा तिरस्कार गर्दै युद्धका लागि चुनौती दिए ।। १७ ।।
सोऽधिक्षिप्तो दुर्वाचोभिः पदाहत इवोरगः ।
निश्चक्राम गदापाणिरमर्षात्ताम्रलोचनः ॥ १८ ॥
नेपाली भावानुवादः प्रद्युम्नका ती कटु वचनले अपमानित भएको शम्बरासुर खुट्टाले किल्चिएको सर्पजस्तै क्रुद्ध भयो र क्रोधले आँखा रातो पार्दै हातमा गदा लिएर बाहिर निस्कियो ।। १८ ।।
गदामाविध्य तरसा प्रद्युम्नाय महात्मने ।
प्रक्षिप्य व्यनदन्नादं वज्रनिष्पेषनिष्ठुरम् ॥ १९ ॥
नेपाली भावानुवादः शम्बरासुरले आफ्नो गदालाई बेगसँग घुमाएर प्रद्युम्नमाथि प्रहार गर्यो र वज्र प्रहार भए जस्तै भीषण आवाजमा गर्जन थाल्यो ।। १९ ।।
तामापतन्तीं भगवान् प्रद्युम्नो गदया गदाम् ।
अपास्य शत्रवे क्रुद्धः प्राहिणोत् स्वगदां नृप ॥ २० ॥
नेपाली भावानुवादः हे राजन ! आफूतिर आउँदै गरेको गदालाई भगवान् प्रद्युम्नले आफ्नै गदाले रोकिदिए र क्रुद्ध हुँदै शत्रु शम्बरासुरमाथि गदा प्रहार गरे ।। २० ।।
स च मायां समाश्रित्य दैतेयीं मयदर्शितम् ।
मुमुचेऽस्त्रमयं वर्षं कार्ष्णौ वैहायसोऽसुरः ॥ २१ ॥
नेपाली भावानुवादः त्यसपछि सो असुरले मय दानवले सिकाएको दैत्य मायाको सहारा लिँदै आकाशमा गएर प्रद्युम्नमाथि हतियारहरूको वर्षा गर्न थाल्यो ।। २१ ।।
बाध्यमानोऽस्त्रवर्षेण रौक्मिणेयो महारथः ।
सत्त्वात्मिकां महाविद्यां सर्वमायोपमर्दिनीम् ॥ २२ ॥
नेपाली भावानुवादः अस्त्रहरूको वर्षाबाट प्रभावित भएपछि महारथी रुक्मिणीनन्दन प्रद्युम्नले सबै मायालाई नष्ट गर्ने सत्त्वगुणमयी महाविद्याको प्रयोग गरे ।। २२ ।।
ततो गौह्यकगान्धर्वपैशाचोरगराक्षसीः ।
प्रायुङ्क्त शतशो दैत्यः कार्ष्णिर्व्यधमयत् स ताः ॥ २३ ॥
नेपाली भावानुवादः त्यसपछि सो दैत्यले गुह्यक, गन्धर्व, पिशाच, नाग र राक्षस सम्बन्धी सयौँ मायाहरू प्रयोग गर्यो, तर श्रीकृष्णपुत्र प्रद्युम्नले ती सबैलाई नष्ट गरिदिए ।। २३ ।।
निशातमसिमुद्यम्य सकिरीटं सकुण्डलम् ।
शम्बरस्य शिरः कायात् ताम्रश्मश्र्वोजसाहरत् ॥ २४ ॥
नेपाली भावानुवादः अन्ततः प्रद्युम्नले एउटा धारिलो तरवार लिएर मुकुट र कुण्डलले सजिएको तथा तामा जस्तै रातो दाह्री-जुँगा भएको शम्बरासुरको टाउको शरीरबाट छिनाली दिए ।। २४ ।।
आकीर्यमाणो दिविजैः स्तुवद्भिः कुसुमोत्करैः ।
भार्ययाम्बरचारिण्या पुरं नीतो विहायसा ॥ २५ ॥
नेपाली भावानुवादः शम्बरासुर मारिएपछि देवताहरूले प्रद्युम्नको स्तुति गर्दै पुष्पवृष्टि गरे । त्यसपछि आकाशगामी विद्या जान्ने उनकी पत्नी मायावतीले प्रद्युम्नलाई आकाश मार्गबाटै द्वारकापुरी पुर्याइन् ।। २५ ।।
अन्तःपुरवरं राजन् ललनाशतसङ्कुलम् ।
विवेश पत्न्या गगनाद् विद्युतेव बलाहकः ॥ २६ ॥
नेपाली भावानुवादः हे राजन परीक्षित ! मायावतीका साथमा श्याम वर्णका प्रद्युम्न बिजुली सहितको बादल जस्तै शोभायमान देखिन्थे । यसरी उनी आफ्नी पत्नीका साथ द्वारकास्थित सयौँ सुन्दरीहरूले भरिएको रुक्मिणीको अन्तःपुरमा प्रवेश गरे ।। २६ ।।
तं दृष्ट्वा जलदश्यामं पीतकौशेयवाससम् ।
प्रलम्बबाहुं ताम्राक्षं सुस्मितं रुचिराननम् ॥ २७ ॥
स्वलङ्कृतमुखाम्भोजं नीलवक्रालकालिभिः ।
कृष्णं मत्वा स्त्रियो ह्रीता निलिल्युस्तत्र तत्र ह ॥ २८ ॥
नेपाली भावानुवादः बादल जस्तै श्याम वर्ण, पहेंलो रेशमी वस्त्र, लामो हात, रातो आँखा, मधुर मुस्कान र घुम्रिएको कपालले सुशोभित प्रद्युम्नलाई देखेर त्यहाँका महिलाहरूले उनलाई साक्षात् श्रीकृष्ण सम्झी लाजले यताउता लुक्न थाले ।। २७-२८ ।।
अवधार्य शनैरीषद्वैलक्षण्येन योषितः ।
उपजग्मुः प्रमुदिताः सस्त्रीरत्नं सुविस्मिताः ॥ २९ ॥
नेपाली भावानुवादः पछि उनीहरूले केही फरक लक्षण देखेर यी श्रीकृष्ण होइनन् भन्ने थाहा पाए र ती स्त्री रत्न (रति) सहितका प्रद्युम्नलाई देखेर आश्चर्य मान्दै खुसीसाथ नजिक आए ।। २९ ।।
अथ तत्रासितापाङ्गी वैदर्भी वल्गुभाषिणी ।
अस्मरत् स्वसुतं नष्टं स्नेहस्नुतपयोधरा ॥ ३० ॥
नेपाली भावानुवादः त्यही समयमा मधुर भाषिणी रुक्मिणी पनि त्यहाँ आइपुग्नुभयो । प्रद्युम्नलाई देख्नासाथ उनलाई आफ्नो हराएको छोराको सम्झना आयो र वात्सल्य प्रेमले गर्दा उनको स्तनबाट दूध बग्न थाल्यो ।। ३० ।।
को न्वयं नरवैदूर्यः कस्य वा कमलेक्षणः ।
धृतः कया वा जठरे केयं लब्धा त्वनेन वा ॥ ३१ ॥
नेपाली भावानुवादः रुक्मिणीले मनमनै सोचिन्– "यो कमल जस्तो आँखा भएको नररत्न कसको छोरा होला ? कुन नारीले यिनलाई आफ्नो गर्भमा धारण गरिन् होला ? अनि यिनको साथमा रहेकी यी सुन्दरी को हुन् ?" ।। ३१ ।।
मम चाप्यात्मजो नष्टो नीतो यः सूतिकागृहात् ।
एतत्तुल्यवयोरूपो यदि जीवति कुत्रचित् ॥ ३२ ॥
नेपाली भावानुवादः "मेरो पनि एउटा छोरा सुत्केरी घरबाटै हराएको थियो । यदि उ कतै जीवितै भएको भए उसको उमेर र रूप पनि ठ्याक्कै यस्तै हुन्थ्यो होला" ।। ३२ ।।
कथं त्वनेन संप्राप्तं सारूप्यं शार्ङ्गधन्वनः ।
आकृत्यावयवैर्गत्या स्वरहासावलोकनैः ॥ ३३ ॥
नेपाली भावानुवादः "यस पुरुषको शरीरको बनावट, हिँडाइ, बोली, मुस्कान र हेराइ कसरी भगवान् श्रीकृष्णसँग यति धेरै मिल्दोभयो होला ?" ।। ३३ ।।
स एव वा भवेन्नूनं यो मे गर्भे धृतोऽर्भकः ।
अमुष्मिन् प्रीतिरधिका वामः स्फुरति मे भुजः ॥ ३४ ॥
नेपाली भावानुवादः "सायद यो बालक मेरै गर्भबाट जन्मेको छोरा हुनुपर्छ, किनकि यिनलाई देख्दा मेरो मनमा अत्यधिक ममता जागिरहेको छ र मेरो देब्रे हात पनि शुभ सङ्केत गर्दै फरफराइरहेको छ" ।। ३४ ।।
एवं मीमांसमणायां वैदर्भ्यां देवकीसुतः ।
देवक्यानकदुन्दुभ्यां उत्तमःश्लोक आगमत् ॥ ३५ ॥
नेपाली भावानुवादः रुक्मिणीले यसरी विचार गरिरहँदा पुण्यकीर्ति भगवान् श्रीकृष्ण आफ्ना मातापिता देवकी र वसुदेवका साथ त्यहाँ आइपुग्नुभयो ।। ३५ ।।
विज्ञातार्थोऽपि भगवान् तूष्णीमासजनार्दनः ।
नारदोऽकथयत् सर्वं शम्बराहरणादिकम् ॥ ३६ ॥
नेपाली भावानुवादः सबै कुरा थाहा भएर पनि भगवान् श्रीकृष्ण मौन रहनुभयो । त्यही समयमा देवर्षि नारदले त्यहाँ आएर शम्बरासुरले प्रद्युम्नलाई अपहरण गरेको देखि माछाको पेटमा पुगेको र अन्त्यमा फर्केर आएको सम्पूर्ण वृत्तान्त बताइदिनुभयो ।। ३६ ।।
तच्छ्रुत्वा महदाश्चर्यं कृष्णान्तःपुरयोषितः ।
अभ्यनन्दन् ब्बहूनब्दान् नष्टं मृतमिवागतम् ॥ ३७ ॥
नेपाली भावानुवादः नारदजीको कुरा सुनेर अन्तःपुरका सबै स्त्रीहरू आश्चर्यचकित भए । धेरै वर्ष पहिले हराएको छोरा मृत्युबाटै फर्केर आए जस्तो लागेकाले सबैले प्रद्युम्नको भव्य अभिनन्दन गरे ।। ३७ ।।
देवकी वसुदेवश्च कृष्णरामौ तथा स्त्रियः ।
दम्पती तौ परिष्वज्य रुक्मिणी च ययुर्मुदम् ॥ ३८ ॥
नेपाली भावानुवादः देवकी, वसुदेव, श्रीकृष्ण, बलराम र रुक्मिणी लगायत सबैले ती दम्पती (प्रद्युम्न र रति) लाई अङ्गालो हालेर ठूलो खुसी मनाए ।। ३८ ।।
नष्टं प्रद्युम्नमायातमाकर्ण्य द्वारकौकसः ।
अहो मृत इवायातो बालो दिष्ट्येति हाब्रुवन् ॥ ३९ ॥
नेपाली भावानुवादः हराएको प्रद्युम्न सकुशल फर्किएको खबर सुनेर द्वारकावासीहरूले "भाग्यवश मरेको बालक जीवितै फर्किए झैँ भयो" भन्दै हर्ष प्रकट गरे ।। ३९ ।।
यं वै मुहुः पितृसरूपनिजेशभावा–
चित्रं न तत् खलु रमास्पदबिम्बबिम्बे
कामे स्मरेऽक्षविषये किमुतान्यनार्यः ॥ ४० ॥
नेपाली भावानुवादः हे महाराज परीक्षित ! प्रद्युम्नको रूप आफ्ना पिता श्रीकृष्णसँग यति मिल्थ्यो कि उनलाई देखेर द्वारकाका माताहरूमा समेत कहिलेकाहीँ भ्रमवस पतिभाव जागृत हुन्थ्यो । जब श्रीकृष्णका साक्षात् प्रतिबिम्ब जस्ता प्रद्युम्नलाई देखेर आफ्नै माताहरू त मोहित हुन्थे भने अरु सामान्य नारीहरू मोहित हुनुमा के आश्चर्य हुन सक्छ र ? ।। ४० ।।
No comments:
Post a Comment