श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः–एकविंशोऽध्यायः
विदुर उवाच –
स्वायम्भुवस्य च मनोः अंशः परमसम्मतः ।
कथ्यतां भगवन्यत्र मैथुनेनैधिरे प्रजाः ॥ १ ॥
नेपाली भावानुवादः विदुरजीले सोध्नुभयो— हे भगवान्! स्वायम्भुव मनुको वंशलाई अत्यन्त आदरणीय मानिन्छ। यस वंशमा मैथुन धर्मबाट प्रजाको वृद्धि कसरी भयो? कृपया मलाई त्यही कथा सुनाउनुहोस् ।।१।।
प्रियव्रतोत्तानपादौ सुतौ स्वायम्भुवस्य वै ।
यथाधर्मं जुगुपतुः सप्तद्वीपवतीं महीम् ॥ २ ॥
नेपाली भावानुवादः हे ब्रह्मन्! तपाईंले भन्नुभएको थियो कि स्वायम्भुव मनुका दुई छोराहरू प्रियव्रत र उत्तानपादले सात द्वीपले युक्त यस पृथ्वीको धर्मपूर्वक रक्षा गरेका थिए ।।२।।
तस्य वै दुहिता ब्रह्मन् देवहूतीति विश्रुता ।
पत्नी प्रजापतेरुक्ता कर्दमस्य त्वयानघ ॥ ३ ॥
नेपाली भावानुवादः हे निष्पाप ब्रह्मन्! उनै मनुकी छोरी देवहूति नामले प्रख्यात थिइन्। तपाईंले नै भन्नुभएको थियो कि उनी प्रजापति कर्दमकी पत्नी बनेकी थिइन् ।।३।।
तस्यां स वै महायोगी युक्तायां योगलक्षणैः ।
ससर्ज कतिधा वीर्यं तन्मे शुश्रूषवे वद ॥ ४ ॥
नेपाली भावानुवादः देवहूति यम-नियमादि योगका लक्षणहरूले सम्पन्न थिइन्। महायोगी कर्दमले उनीबाट कति सन्तानहरू उत्पन्न गरे? मलाई यो प्रसङ्ग सुन्ने ठुलो इच्छा छ, कृपया सुनाउनुहोस् ।।४।।
रुचिर्यो भगवान् ब्रह्मन् दक्षो वा ब्रह्मणः सुतः ।
यथा ससर्ज भूतानि लब्ध्वा भार्यां च मानवीम् ॥ ५ ॥
नेपाली भावानुवादः हे ब्रह्मन्! भगवान् रुचि र ब्रह्माजीका पुत्र दक्ष प्रजापतिले पनि मनुकी छोरीहरूसँग विवाह गरेर कसरी सृष्टिको विस्तार गरे? ती सबै चरित्रका बारेमा मलाई विस्तारपूर्वक भन्नुहोस् ।।५।।
मैत्रेय उवाच –
प्रजाः सृजेति भगवान् कर्दमो ब्रह्मणोदितः ।
सरस्वत्यां तपस्तेपे सहस्राणां समा दश ॥ ६ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयो— हे विदुरजी! जब ब्रह्माजीले भगवान् कर्दमलाई सन्तान उत्पन्न गर्ने आज्ञा दिनुभयो, तब उहाँले सरस्वती नदीको तटमा दश हजार वर्षसम्म कठोर तपस्या गर्नुभयो ।।६।।
ततः समाधियुक्तेन क्रियायोगेन कर्दमः ।
सम्प्रपेदे हरिं भक्त्या प्रपन्नवरदाशुषम् ॥ ७ ॥
नेपाली भावानुवादः त्यसपछि कर्दमजीले एकाग्र चित्त र भक्तिपूर्वक शरणागतलाई वरदान दिने श्रीहरिको क्रियायोगद्वारा आराधना गर्न थाल्नुभयो ।।७।।
तावत्प्रसन्नो भगवान् पुष्कराक्षः कृते युगे ।
दर्शयामास तं क्षत्तः शाब्दं ब्रह्म दधद्वपुः ॥ ८ ॥
नेपाली भावानुवादः हे विदुर! सत्ययुगको आरम्भमा कमलनयन भगवान् श्रीहरि उनको तपस्याबाट प्रसन्न हुनुभयो र शब्दब्रह्ममय मूर्त स्वरूप धारण गरी कर्दमलाई दर्शन दिनुभयो ।।८।।
स तं विरजमर्काभं सितपद्मोत्पलस्रजम् ।
स्निग्धनीलालकव्रात वक्त्राब्जं विरजोऽम्बरम् ॥ ९ ॥
नेपाली भावानुवादः भगवान्को त्यो स्वरूप सूर्य समान तेजस्वी थियो। उहाँले गलामा सेतो कमल र कुमुदको माला धारण गर्नुभएको थियो। उहाँको मुखकमल नीलो र घुम्रिएको अलकावलीले सुशोभित थियो भने शरीरमा निर्मल पीताम्बर थियो ।।९।।
किरीटिनं कुण्डलिनं शङ्खचक्रगदाधरम् ।
श्वेतोत्पलक्रीडनकं मनःस्पर्शस्मितेक्षणम् ॥ १० ॥
नेपाली भावानुवादः शिरमा सुवर्ण मुकुट, कानमा कुण्डल र हातमा शङ्ख, चक्र, गदा आदि धारण गर्नुभएका भगवान्को मुस्कानयुक्त हेराइले मन हरण गरिरहेको थियो ।।१०।।
विन्यस्तचरणाम्भोजं अंसदेशे गरुत्मतः ।
दृष्ट्वा खेऽवस्थितं वक्षः श्रियं कौस्तुभकन्धरम् ॥ ११ ॥
नेपाली भावानुवादः आकाशमा गरुडको काँधमा चरणकमल राखेर उभिनुभएका भगवान्को वक्षस्थलमा श्रीवत्स र लक्ष्मीजी एवं कण्ठमा कौस्तुभ मणि सुशोभित थियो ।।११।।
जातहर्षोऽपतन्मूर्ध्ना क्षितौ लब्धमनोरथः ।
गीर्भिस्त्वभ्यगृणात्प्रीति स्वभावात्मा कृताञ्जलिः ॥ १२ ॥
नेपाली भावानुवादः प्रभुको यस्तो मनोहर मूर्तिको दर्शन पाएर कर्दमजीका सम्पूर्ण मनोरथहरू पूर्ण भए। उहाँले हर्षित हुँदै भुइँमा दण्डवत् प्रणाम गर्नुभयो र हात जोडी प्रेमपूर्वक स्तुति गर्न थाल्नुभयो ।।१२।।
ऋषिरुवाच –
जुष्टं बताद्याखिलसत्त्वराशेः
सांसिध्यमक्ष्णोस्तव दर्शनान्नः ।
यद्दर्शनं जन्मभिरीड्य सद्भिः
आशासते योगिनो रूढयोगाः ॥ १३ ॥
नेपाली भावानुवादः कर्दमजीले भन्नुभयो— हे स्तुति योग्य परमेश्वर! हजुर सम्पूर्ण सत्त्वगुणका आधार हुनुहुन्छ। कैयौँ जन्मसम्म योग साधना गरेर सिद्ध योगीहरू हजुरको जुन स्वरूपको दर्शन चाहन्छन्, आज त्यही दर्शन पाएर मेरा आँखा धन्य भएका छन् ।।१३।।
ये मायया ते हतमेधसस्त्वत्
पादारविन्दं भवसिन्धुपोतम् ।
उपासते कामलवाय तेषां
रासीश कामान् निरयेऽपि ये स्युः ॥ १४ ॥
नेपाली भावानुवादः हजुरको चरणकमल भवसागर तर्नका लागि एउटा जहाज हो। जसको बुद्धि हजुरको मायाले हरण गरेको छ, उनीहरू नै नरकमा पनि प्राप्त हुन सक्ने तुच्छ विषयसुखका लागि हजुरको उपासना गर्छन् ।।१४।।
तथा स चाहं परिवोढुकामः
समानशीलां गृहमेधधेनुम् ।
उपेयिवान् मूलमशेषमूलं
प्रजापतेस्ते वचसाधीश तन्त्या
लोकः किलायं कामहतोऽनुबद्धः ।
अहं च लोकानुगतो वहामि
बलिं च शुक्लानिमिषाय तुभ्यम् ॥ १६ ॥
नेपाली भावानुवादः हे सर्वेश्वर! हजुर लोकका अधिपति हुनुहुन्छ। यो संसार हजुरको वेदवाणीरूपी डोरीमा बाँधिएको छ। म पनि त्यही लोकको अनुसरण गर्दै कालरूपी हजुरको आज्ञा पालन गर्न पूजोपहार समर्पित गर्दछु ।।१६।।
लोकांश्च लोकानुगतान् पशूंश्च
हित्वा श्रितास्ते चरणातपत्रम् ।
परस्परं त्वद्गुणवादसीधु
पीयूषनिर्यापितदेहधर्माः ॥ १७ ॥
नेपाली भावानुवादः हे प्रभो! हजुरका भक्तहरू विषयाशक्त व्यक्ति र तिनको मार्ग त्यागेर हजुरको चरणरूपी छत्रको आश्रय लिन्छन्। उनीहरू आपसमा हजुरको गुणगानरूपी अमृतपान गरेर भोक-प्यास आदि देहधर्मलाई बिर्सिदिन्छन् ।।१७।।
न तेऽजराक्षभ्रमिरायुरेषां
त्रयोदशारं त्रिशतं षष्टिपर्व ।
षण्नेम्यनन्तच्छदि यत्त्रिणाभि
करालस्रोतो जगदाच्छिद्य धावत् ॥ १८ ॥
नेपाली भावानुवादः प्रभो! यो तेह्र महिना (अधिकमाससहित), तीन सय साठी दिन, ६ ऋतु र ३ चौमासारूपी नाभि भएको सम्बत्सर कालचक्र निकै वेगवान् छ। यसले संसारको आयु काट्दै दौडिरहेको छ, तर हजुरका भक्तहरूको आयुलाई यसले छुन सक्दैन ।।१८।।
एकः स्वयं सन्जगतः सिसृक्षया
अद्वितीययात्मन् अधि योगमायाया ।
सृजस्यदः पासि पुनर्ग्रसिष्यसे
यथोर्णनाभिः भगवन् स्वशक्तिभिः ॥ १९ ॥
नेपाली भावानुवादः हे भगवन्! जसरी माकुराले आफैँ जाल फैलाउँछ र फेरि आफैँ निल्दछ, त्यसै गरी हजुरले पनि आफ्नै योगमायाको सहाराले यस जगतको रचना, पालन र संहार गर्नुहुन्छ ।।१९।।
नैतद्बताधीश पदं तवेप्सितं
यन्मायया नस्तनुषे भूतसूक्ष्मम् ।
अनुग्रहायास्त्वपि यर्हि मायया
लसत्तुलस्या तनुवा विलक्षितः ॥ २० ॥
नेपाली भावानुवादः हे ईश! हजुरले मलाई आफ्नो तुलसीमाला मण्डित सगुण स्वरूपको दर्शन दिनुभयो। हजुरले हामीलाई जुन विषयादि सुख दिनुहुन्छ, त्यो मायिक भए पनि हामीमाथि अनुग्रह गर्नका लागि नै होस् ।।२०।।
तं त्वानुभूत्योपरतक्रियार्थं
स्वमायया वर्तितलोकतन्त्रम् ।
नमाम्यभीक्ष्णं नमनीयपाद
सरोजमल्पीयसि कामवर्षम् ॥ २१ ॥
नेपाली भावानुवादः हजुर स्वयम् निष्कृय भए पनि मायाद्वारा संसारको व्यवहार चलाउनुहुन्छ र थोरै उपासना गर्नेलाई पनि इच्छित फल दिनुहुन्छ। हजुरको वन्दनीय चरणकमलमा म बारम्बार नमस्कार गर्दछु ।।२१।।
मैत्रेय उवाच –
इत्यव्यलीकं प्रणुतोऽब्जनाभः
तं आबभाषे वचसामृतेन ।
सुपर्णपक्षोपरि रोचमानः
प्रेमस्मित उद्वीक्षणविभ्रमद्भ्रूः ॥ २२ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयो— जब कर्दमजीले यसरी निष्कपट भावले स्तुति गर्नुभयो, तब गरुडमा सवार भगवान् श्रीहरिले प्रेमपूर्ण मुस्कानका साथ उहाँलाई अमृतमय वाणीले भन्नुभयो ।।२२।।
श्रीभगवानुवाच –
विदित्वा तव चैत्यं मे पुरैव समयोजि तत् ।
यदर्थं आत्मनियमैः त्वयैवाहं समर्चितः ॥ २३ ॥
नेपाली भावानुवादः श्रीभगवान्ले भन्नुभयो— जुन प्रयोजनका लागि तिमीले आत्मसंयमका साथ मेरो आराधना गर्यौ, तिम्रो हृदयको त्यो भावलाई बुझेर मैले पहिले नै त्यसको व्यवस्था गरिसकेको छु ।।२३।।
न वै जातु मृषैव स्यात् प्रजाध्यक्ष मदर्हणम् ।
भवद्विधेष्वतितरां मयि सङ्गृभितात्मनाम् ॥ २४ ॥
नेपाली भावानुवादः हे प्रजापते! मेरो आराधना कहिल्यै निष्फल हुँदैन। अझ तिमी जस्ता निरन्तर ममा नै चित्त लगाउने महात्माहरूको उपासना त झन् बढी फलदायी हुन्छ ।।२४।।
प्रजापतिसुतः सम्राट् मनुर्विख्यातमङ्गलः ।
ब्रह्मावर्तं योऽधिवसन् शास्ति सप्तार्णवां महीम् ॥ २५ ॥
नेपाली भावानुवादः प्रजापति ब्रह्माका पुत्र यशस्वी सम्राट स्वयम्भुव मनु अहिले ब्रह्मावर्तमा बसेर सात समुद्रले घेरिएको यस पृथ्वीमा शासन गरिरहेका छन् ।।२५।।
स चेह विप्र राजर्षिः महिष्या शतरूपया ।
आयास्यति दिदृक्षुस्त्वां परश्वो धर्मकोविदः ॥ २६ ॥
नेपाली भावानुवादः हे विप्रवर! ती परम धर्मज्ञ राजर्षि मनु आफ्नी महारानी शतरूपासँगै तिमीलाई भेट्न पर्सि यहाँ आउनेछन् ।।२६।।
आत्मजां असितापाङ्गीं वयःशीलगुणान्विताम् ।
मृगयन्तीं पतिं दास्यति अनुरूपाय ते प्रभो ॥ २७ ॥
नेपाली भावानुवादः उनकी एउटी रूप, यौवन र गुणले सम्पन्न छोरी छिन्, जो अहिले विवाहका लागि योग्य छिन्। उनले ती कन्या अनुरूप वर सम्झेर तिमीलाई नै अर्पण गर्नेछन् ।।२७।।
समाहितं ते हृदयं यत्र इमान् परिवत्सरान् ।
सा त्वां ब्रह्मन् नृपवधूः काममाशु भजिष्यति ॥ २८ ॥
नेपाली भावानुवादः हे ब्रह्मन्! धेरै वर्षदेखि तिम्रो चित्तले जस्ती पत्नीको कामना गरेको थियो, ती राजकन्याले त्यसै गरी तिम्रो सेवा गर्नेछिन् ।।२८।।
या ते आत्मभृतं वीर्यं नवधा प्रसविष्यति ।
वीर्ये त्वदीये ऋषय आधास्यन्ति अञ्जसात्मनः ॥ २९ ॥
नेपाली भावानुवादः तिमीबाट उनीबाट नौवटी छोरीहरू जन्मनेछन्। पछि ती छोरीहरूसँग मरिचि आदि ऋषिहरूले विवाह गरी सन्तान उत्पन्न गर्नेछन् ।।२९।।
त्वं च सम्यग् अनुष्ठाय निदेशं मे उशत्तमः ।
मयि तीर्थीकृताशेष क्रियार्थो मां प्रपत्स्यसे ॥ ३० ॥
नेपाली भावानुवादः तिमीले मेरा आज्ञा पालना गरी शुद्ध हुनेछौ र आफ्ना सम्पूर्ण कर्मका फल मलाई नै अर्पण गरेर अन्तमा मलाई प्राप्त गर्नेछौ ।।३०।।
कृत्वा दयां च जीवेषु दत्त्वा चाभयमात्मवान् ।
मय्यात्मानं सह जगद् द्रक्ष्यस्यात्मनि चापि माम् ॥ ३१ ॥
नेपाली भावानुवादः जीवहरूमाथि दया र अभयदान दिएर तिमीले आत्मज्ञान पाउनेछौ। त्यसपछि सम्पूर्ण संसार ममा र मलाई आफ्नै आत्मामा देख्नेछौ ।।३१।।
सहाहं स्वांशकलया त्वद्वीर्येण महामुने ।
तव क्षेत्रे देवहूत्यां प्रणेष्ये तत्त्वसंहिताम् ॥ ३२ ॥
नेपाली भावानुवादः हे महामुने! म आफैँ पनि आफ्नो अंशकला (कपिल) का रूपमा तिम्री पत्नी देवभूतिको गर्भबाट अवतरित हुनेछु र साङ्ख्य शास्त्रको रचना गर्नेछु ।।३२।।
मैत्रेय उवाच –
एवं तं अनुभाष्याथ भगवान् प्रत्यगक्षजः ।
जगाम बिन्दुसरसः सरस्वत्या परिश्रितात् ॥ ३३ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयो— हे विदुर! कर्दम ऋषिसँग यसरी संवाद गरी भगवान् श्रीहरि सरस्वती नदीले घेरिएको बिन्दु सरोवरबाट आफ्नो धाम प्रस्थान गर्नुभयो ।।३३।।
निरीक्षतस्तस्य ययावशेष सिद्धेश्वराभिष्टुतसिद्धमार्गः ।
आकर्णयन् पत्ररथेन्द्रपक्षैः उच्चारितं स्तोममुदीर्णसाम ॥ ३४ ॥
नेपाली भावानुवादः कर्दमजीले हेर्दाहेर्दै भगवान् बैकुण्ठतर्फ लाग्नुभयो। त्यस समयमा गरुडको प्वाँखबाट निस्किएको सामवेदको सुमधुर ध्वनि गुञ्जिरहेको थियो ।।३४।।
अथ सम्प्रस्थिते शुक्ले कर्दमो भगवान् ऋषिः ।
आस्ते स्म बिन्दुसरसि तं कालं प्रतिपालयन् ॥ ३५ ॥
नेपाली भावानुवादः श्रीहरि गइसकेपछि कर्दम ऋषि भगवान्ले बताएको समयको प्रतीक्षा गर्दै बिन्दु सरोवरमै बसिरहनुभयो ।।३५।।
मनुः स्यन्दनमास्थाय शातकौम्भपरिच्छदम् ।
आरोप्य स्वां दुहितरं सभार्यः पर्यटन् महीम् ॥ ३६ ॥
नेपाली भावानुवादः उता मनुजी पनि महारानी शतरूपा र आफ्नी छोरीलाई सुनौलो रथमा राखेर पृथ्वीको भ्रमणमा निस्कनुभयो ।।३६।।
तस्मिन् सुधन्वन्नहनि भगवान् यत्समादिशत् ।
उपायादाश्रमपदं मुनेः शान्तव्रतस्य तत् ॥ ३७ ॥
नेपाली भावानुवादः हे विदुर! भगवान्ले बताएको ठिक त्यही दिनमा महाराज मनु महर्षि कर्दमको आश्रममा आइपुग्नुभयो ।।३७।।
यस्मिन्भगवतो नेत्रान् न्यपतन् अश्रुबिन्दवः ।
कृपया सम्परीतस्य प्रपन्नेऽर्पितया भृशम् ॥ ३८ ॥
तद्वै बिन्दुसरो नाम सरस्वत्या परिप्लुतम् ।
पुण्यं शिवामृतजलं महर्षिगणसेवितम् ॥ ३९ ॥
नेपाली भावानुवादः सरस्वतीको जलले घेरिएको त्यो बिन्दु सरोवर त्यस्तो पवित्र स्थान हो, जहाँ भक्त कर्दमप्रति करुणा जागेर भगवान्का आँखाबाट आँसुका थोपाहरू झरेका थिए। यसको जल अमृत समान मधुर र कल्याणकारी छ ।।३८-३९।।
पुण्यद्रुमलताजालैः कूजत् पुण्यमृगद्विजैः ।
सर्वर्तुफलपुष्पाढ्यं वनराजिश्रियान्वितम् ॥ ४० ॥
नेपाली भावानुवादः बिन्दु सरोवर क्षेत्र पवित्र वृक्ष, लहरा, र मधुर स्वरमा बोल्ने मृग तथा चराचुरुङ्गीहरूले भरिएको थियो। त्यहाँ सबै ऋतुका फलफूलहरू पाइन्थे ।।४०।।
मत्तद्विजगणैर्घुष्टं मत्तभ्रमर विभ्रमम् ।
मत्तबर्हिनटाटोपं आह्वयन् मत्तकोकिलम् ॥ ४१ ॥
नेपाली भावानुवादः त्यहाँ चराहरूको मधुर स्वर, भमराहरूको गुन्जन, मयुरहरूको नृत्य र कोइलीको कुहु-कुहु आवाजले वनको शोभा बढाएको थियो ।।४१।।
कदम्ब चम्पकाशोक करञ्ज बकुलासनैः ।
कुन्दमन्दारकुटजैः चूतपोतैः अलङ्कृतम् ॥ ४२ ॥
नेपाली भावानुवादः कदम्ब, चम्पक, अशोक, बकुल र आँपका नयाँ बोटहरूले त्यो आश्रम निकै सुन्दर देखिन्थ्यो ।।४२।।
कारण्डवैः प्लवैर्हंसैः कुररैः जलकुक्कुटैः ।
सारसैः चक्रवाकैश्च चकोरैः वल्गु कूजितम् ॥ ४३ ॥
नेपाली भावानुवादः हाँस, सारस, चखेवा र चकोर जस्ता जलचर तथा स्थलचर पक्षीहरूको कलरवले आश्रम गुन्जायमान थियो ।।४३।।
तथैव हरिणैः क्रोडैः श्वावित् गवय कुञ्जरैः ।
गोपुच्छैः हरिभिः मर्कैः नकुलैः नाभिभिर्वृतम् ॥ ४४ ॥
नेपाली भावानुवादः मृग, बँदेल, निलगाई, हात्ती, बाँदर र कस्तूरी मृग जस्ता वनचरहरूले त्यो आश्रम घेरिएको थियो ।।४४।।
प्रविश्य तत्तीर्थवरं आदिराजः सहात्मजः ।
ददर्श मुनिमासीनं तस्मिन् हुतहुताशनम् ॥ ४५ ॥
नेपाली भावानुवादः महाराज मनुले आश्रममा प्रवेश गर्दा महर्षि कर्दम अग्निहोत्र सकेर बसिरहनुभएको देख्नुभयो ।।४५।।
विद्योतमानं वपुषा तपसि उग्रयुजा चिरम् ।
नातिक्षामं भगवतः स्निग्धापाङ्गावलोकनात् ।
तद्व्याहृतामृतकला पीयूषश्रवणेन च ॥ ४६ ॥
नेपाली भावानुवादः लामो समयको कठोर तपस्याले कर्दमजीको शरीर तेजस्वी देखिए पनि भगवान्को कृपापूर्ण हेराइ र वचनले गर्दा उहाँमा कुनै कमजोरी देखिएको थिएन ।।४६।।
प्रांशुं पद्मपलाशाक्षं जटिलं चीरवाससम् ।
उपसंश्रित्य मलिनं यथार्हणं असंस्कृतम् ॥ ४७ ॥
नेपाली भावानुवादः उहाँको शरीर अग्लो, आँखा कमल जस्ता ठुला, शिरमा जटा र कम्मरमा साधारण वस्त्र थियो। उहाँ नमाजिएको बहुमूल्य मणि जस्तै देखिनुहुन्थ्यो ।।४७।।
अथोटजमुपायातं नृदेवं प्रणतं पुरः ।
सपर्यया पर्यगृह्णात् प्रतिनन्द्यानुरूपया ॥ ४८ ॥
नेपाली भावानुवादः महाराज मनुले कुटीमा आएर प्रणाम गरेपछि ऋषिले आशीर्वाद दिनुभयो र उहाँको यथोचित स्वागत सत्कार गर्नुभयो ।।४८।।
गृहीतार्हणमासीनं संयतं प्रीणयन् मुनिः ।
स्मरन् भगवदादेशं इत्याह श्लक्ष्णया गिरा ॥ ४९ ॥
नेपाली भावानुवादः जब मनुजी आतिथ्य ग्रहण गरी बस्नुभयो, तब कर्दम ऋषिले भगवान्को आज्ञा सम्झेर मधुर वाणीमा भन्न थाल्नुभयो ।।४९।।
नूनं चङ्क्रमणं देव सतां संरक्षणाय ते ।
वधाय चासतां यस्त्वं हरेः शक्तिर्हि पालिनी ॥ ५० ॥
नेपाली भावानुवादः हे देव! तपाईं भगवान् विष्णुको पालन शक्तिको स्वरूप हुनुहुन्छ। त्यसैले तपाईंको भ्रमण सज्जनको रक्षा र दुष्टको संहारका लागि नै हो ।।५०।।
योऽर्केन्दु अग्नीन्द्रवायूनां यमधर्मप्रचेतसाम् ।
रूपाणि स्थान आधत्से तस्मै शुक्लाय ते नमः ॥ ५१ ॥
नेपाली भावानुवादः तपाईंले समयअनुसार सूर्य, चन्द्र, इन्द्र, वरुण आदिको रूप धारण गरी लोकको रक्षा गर्नुहुन्छ। हजुरलाई मेरो नमस्कार छ ।।५१।।
न यदा रथमास्थाय जैत्रं मणिगणार्पितम् ।
विस्फूर्जत् चण्डकोदण्डो रथेन त्रासयन् अघान् ॥ ५२ ॥
नेपाली भावानुवादः जब तपाईं मणियुक्त विजय रथमा सवार भएर आफ्नो भीषण धनुषको टङ्कार गर्नुहुन्छ, त्यसले पापीहरूलाई थरथर कमाउँछ ।।५२।।
स्वसैन्यचरणक्षुण्णं वेपयन् मण्डलं भुवः ।
विकर्षन् बृहतीं सेनां पर्यटसि अंशुमानिव ॥ ५३ ॥
नेपाली भावानुवादः तपाईं विशाल सेनाका साथ पृथ्वीमा सूर्य जस्तै घुम्नुहुन्छ, जसको पदचापले भूमण्डल काँप्दछ ।।५३।।
तदैव सेतवः सर्वे वर्णाश्रमनिबन्धनाः ।
भगवद् रचिता राजन् भिद्येरन् बत दस्युभिः ॥ ५४ ॥
नेपाली भावानुवादः हे राजन्! यदि तपाईंले यसरी लोक रक्षा नगर्ने हो भने भगवान्ले बनाएको वर्णाश्रम धर्मको मर्यादा दुष्टहरूले तत्कालै नष्ट गरिदिनेछन् ।।५४।।
अधर्मश्च समेधेत लोलुपैर्व्यङ्कुशैर्नृभिः ।
शयाने त्वयि लोकोऽयं दस्युग्रस्तो विनङ्क्ष्यति ॥ ५५ ॥
नेपाली भावानुवादः यदि तपाईं राज्यसुखमा मात्र लाग्नुभयो भने अधर्मीहरूका कारण यो संसार नष्ट हुनेछ ।।५५।।
अथापि पृच्छे त्वां वीर यदर्थं त्वं इहागतः ।
तद्वयं निर्व्यलीकेन प्रतिपद्यामहे हृदा ॥ ५६ ॥
नेपाली भावानुवादः हे वीर राजन्! तैपनि म सोध्छु, हजुरको यहाँ आगमनको उद्देश्य के हो? हजुरको जो आज्ञा हुन्छ, म त्यसलाई निष्कपट भावले पालना गर्नेछु ।।५६।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
यस अध्यायमा विदुरजीले मैत्रेयजीलाई स्वायम्भुव मनुको वंश र मैथुन सृष्टिको विस्तारका बारेमा सोध्नुहुन्छ। विदुरको जिज्ञासापछि मैत्रेयजीले कर्दम ऋषि र देवहूतिको विवाहको पृष्ठभूमि वर्णन गर्नुहुन्छ। ब्रह्माजीको आज्ञा पाएर कर्दम ऋषिले सन्तान उत्पत्तिका लागि सरस्वती नदीको तटमा कठोर तपस्या गर्नुभयो। उहाँले दश हजार वर्षसम्म भगवान् विष्णुको भक्तिपूर्वक आराधना गर्नुभयो। कर्दमको तपस्याबाट प्रसन्न भई भगवान् विष्णुले गरुडमा सवार भएर उहाँलाई प्रत्यक्ष दर्शन दिनुभयो। भगवान्को तेज सूर्य जस्तै प्रखर थियो र उहाँको गलामा कौस्तुभ मणि सुशोभित थियो। भगवान्लाई देख्नेबित्तिकै कर्दमजीले भावविह्वल भई दण्डवत् प्रणाम गर्नुभयो। कर्दमजीले स्तुति गर्दै भन्नुभयो कि हजुरको दर्शन पाउनु नै मानव जीवनको अन्तिम लक्ष्य हो। उहाँले आफ्नो हृदयमा अझै विवाहको कामना रहेको र अनुरूप पत्नी पाउन हजुरको शरणमा आएको कुरा व्यक्त गर्नुभयो। भगवान्ले कर्दमको मनोभाव बुझेर भन्नुभयो कि मैले तिम्रो विवाहको व्यवस्था पहिले नै गरिसकेको छु। भगवान्ले पर्सिपल्ट सम्राट स्वायम्भुव मनु आफ्नी छोरी देवहूति लिएर आश्रममा आउने जानकारी दिनुभयो। मनुले आफ्नी गुणवती छोरी देवहूति कर्दमलाई अर्पण गर्नेछन् भनी भगवान्ले भविष्यवाणी गर्नुभयो। कर्दम र देवहूतिबाट नौवटी छोरीहरू जन्मनेछन्, जसको विवाह मरिचि आदि ऋषिहरूसँग हुनेछ। भगवान्ले कर्दमलाई आश्वासन दिनुभयो कि म आफैँ पनि तिम्रो छोराका रूपमा अवतरित हुनेछु। भगवान् कपिलका रूपमा जन्म लिएर साङ्ख्य शास्त्रको उपदेश दिने कुरा विष्णुले बताउनुभयो। यसरी वरदान दिएर भगवान् गरुडमा सवार भई बैकुण्ठ प्रस्थान गर्नुभयो। कर्दम ऋषि बिन्दु सरोवरमा बसी मनुको आगमनको प्रतीक्षा गर्न थाल्नुभयो। उता मनु महाराज पनि आफ्नी पत्नी शतरूपा र छोरी देवहूतिसँगै रथमा चढी आश्रमतिर लाग्नुभयो। बिन्दु सरोवर भगवान्को करुणाले उत्पन्न भएको आँसुबाट बनेको हुनाले निकै पवित्र थियो। त्यो क्षेत्र फलफूल, चराचुरुङ्गी र वनचर प्राणीहरूले भरिएको अत्यन्त रमणीय थियो। मनु महाराजले आश्रममा पुगेर तेजस्वी महर्षि कर्दमलाई भेट्नुभयो। कर्दमजी लामो समय तपस्या गरे पनि भगवान्को कृपाले निकै स्वस्थ र कान्तियुक्त देखिनुहुन्थ्यो। कर्दम ऋषिले महाराज मनुको यथोचित स्वागत र सत्कार गर्नुभयो। ऋषिले मनुलाई भगवान् विष्णुको पालन शक्तिको स्वरूप मानेर प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो कि राजाको भ्रमणले नै संसारमा धर्मको रक्षा र दुष्टको विनाश हुन्छ। यदि राजाले शासन नगर्ने हो भने समाजमा अराजकता र अधर्म फैलिने कुरा कर्दमले बताउनुभयो। ऋषिले मनुलाई आफ्नो कुटीमा आउनुको विशेष कारण सोध्नुभयो। उहाँले राजाको जो इच्छा छ, त्यसलाई आफूले खुसीसाथ स्वीकार गर्ने वचन दिनुभयो। यस अध्यायले गृहस्थ धर्ममा प्रवेश गर्नुअघि ईश्वरको आज्ञा र तपस्याको महत्त्व दर्शाउँछ। यसरी कर्दम ऋषि र मनु महाराजको भेटसँगै मैथुन सृष्टिको नयाँ अध्याय सुरु हुन्छ।
दार्शनिक पक्ष
यस अध्यायले तपस्या र भक्तिबाट असम्भव कुरा पनि सम्भव हुन्छ भन्ने दार्शनिक सत्य स्थापित गर्दछ। कर्दम ऋषिले विषयसुख (विवाह) को इच्छा राख्दा पनि पहिले ईश्वरको आराधना गर्नुले 'पहिले योग अनि मात्र भोग' को सिद्धान्त बुझाउँछ। 'बिन्दु सरोवर' को उत्पत्ति भगवान्को करुणाबाट हुनुले ईश्वर र भक्तको भावनात्मक सम्बन्धलाई दर्शाउँछ। कालचक्रको वर्णनले संसारको अनित्यता र समयको अमोघ शक्तिलाई प्रस्ट पारेको छ। भगवान् विष्णुले भक्तको हृदयको कुरा पहिल्यै थाहा पाउनुले उहाँको सर्वज्ञतालाई प्रमाणित गर्दछ। राजालाई विष्णुको अंश मान्नुले समाजमा कानुन र व्यवस्थाको दैवी महत्त्वलाई सङ्केत गर्दछ। साङ्ख्य शास्त्रको अवतरणको पृष्ठभूमिले ज्ञानको अपरिहार्यतालाई संकेत गर्दछ। गृहस्थ जीवनलाई पनि धर्म र तपस्याको अङ्ग मानिनु यस अध्यायको महत्त्वपूर्ण पक्ष हो। माकुराको उदाहरणबाट ईश्वरले नै सृष्टि गर्ने र आफैँमा लय गर्ने अद्वैत दर्शन बुझिन्छ। अन्ततः सबै कर्महरू ईश्वरमा अर्पण गरेर मात्र मोक्ष सम्भव छ भन्ने नै यसको सार हो।