श्रीमद्भागवत महापुराण
दशमस्कन्धः – सप्ततितमोऽध्यायः
गृहीतकण्ठ्यः पतिभिर्माधव्यो विरहातुराः ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित्! बिहानीपख उज्यालो हुन लाग्दा भाले बास्न थालेपछि, आफ्ना पतिसँग अङ्गालोमा रहेका श्रीकृष्णका पत्नीहरूले अब पतिसँग छुट्टिनुपर्ने भयो भन्ने चिन्ताले बास्न थालेका भालेहरूलाई सराप्न थाले ।।१।।
वयांस्यरूरुवन् कृष्णं बोधयन्तीव वन्दिनः ।
गायत्स्वलिष्वनिद्राणि मन्दारवनवायुभिः ॥ २ ॥
नेपाली भावानुवादः त्यस बेला पारिजातको सुगन्धले भरिएको मन्द वायुका कारण भ्रमरहरू बिउँझिएर गुञ्जन गर्न थाले । भ्रमरको आवाज सुनेर चराहरू पनि बिउँझिए र बन्दीजनले स्तुति गरेझैँ आफ्नो लयबद्ध स्वरमा श्रीकृष्णलाई जगाउन चिरबिर गर्न थाले ।।२।।
मुहूर्तं तं तु वैदर्भी नामृष्यदतिशोभनम् ।
परिरम्भणविश्लेषात् प्रियबाह्वन्तरं गता ॥ ३ ॥
नेपाली भावानुवादः आफ्ना प्रियतमको अङ्गालोमा बाँधिएकी रुक्मिणीले अङ्गालोबाट छुट्टिनुपर्ने डरले त्यो अति शोभनीय ब्राह्ममुहूर्तलाई पनि सहन सकिनन् ।।३।।
ब्राह्मे मुहूर्त उत्थाय वार्युपस्पृश्य माधवः ।
दध्यौ प्रसन्नकरण आत्मानं तमसः परम् ॥ ४ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्ण हरेक दिन ब्राह्ममुहूर्तमा उठ्नुहुन्थ्यो र शौच–स्नानादि नित्यकर्मपछि प्रसन्न चित्तले प्रकृतिभन्दा पर रहेका आफ्नै दिव्य आत्मस्वरूपको ध्यान गर्नुहुन्थ्यो ।।४।।
एकं स्वयंज्योतिरनन्यमव्ययं
स्वसंस्थया नित्यनिरस्तकल्मषम् ।
ब्रह्माख्यमस्योद्भवनाशहेतुभिः
स्वशक्तिभिर्लक्षितभावनिर्वृतिम् ॥ ५ ॥
नेपाली भावानुवादः जो स्वयंप्रकाश, अद्वितीय र अविनाशी हुनुहुन्छ, जो सधैँ मायारहित र आफ्नै स्वरूपमा स्थित हुनुहुन्छ, जसको आनन्दमय स्वरूप यस जगत्को उत्पत्ति र विनाश गर्ने आफ्नै शक्तिहरूद्वारा लक्षित हुन्छ— त्यस्तो 'ब्रह्म' नामले चिनिने आफ्नै आत्मतत्त्वको श्रीकृष्ण ध्यान गर्नुहुन्थ्यो ।।५।।
अथाप्लुतोऽम्भस्यमले यथाविधि
क्रियाकलापं परिधाय वाससी ।
चकार सन्ध्योपगमादि सत्तमो
हुतानलो ब्रह्म जजाप वाग्यतः ॥ ६ ॥
नेपाली भावानुवादः त्यसपछि परम उत्तम पुरुष भगवान् श्रीकृष्णले विधिपूर्वक निर्मल जलमा स्नान गरी शुद्ध धोती र उत्तरीय वस्त्र धारण गर्नुभयो । उहाँले सन्ध्योपासना आदि दैनिक अनुष्ठान गर्नुभयो, अग्निहोत्र (हवन) गर्नुभयो र मौन रहेर गायत्री मन्त्रको जप गर्नुभयो ।।६।।
उपस्थायार्कमुद्यन्तं तर्पयित्वाऽऽत्मनः कलाः ।
देवानृषीन् पितॄन् वृद्धान् विप्रानभ्यर्च्य चात्मवान् ॥ ७ ॥
धेनूनां रुक्मशृङ्गीणां साध्वीनां मौक्तिकस्रजाम् ।
पयस्विनीनां गृष्टीनां सवत्सानां सुवाससाम् ॥ ८ ॥
ददौ रूप्यखुराग्राणां क्षौमाजिनतिलैः सह ।
अलङ्कृतेभ्यो विप्रेभ्यो बद्वं बद्वं दिने दिने ॥ ९ ॥
नेपाली भावानुवादः त्यसपछि भगवान्ले उदय हुँदै गरेका सूर्यको उपासना गरी आफ्ना अंशस्वरूप देवता, ऋषि र पितृहरूलाई तर्पण दिनुभयो । जितेन्द्रिय श्रीकृष्णले मान्यजन र ब्राह्मणहरूको अर्चना गर्नुभयो । उहाँले हरेक दिन सीङमा सुन र खुरमा चाँदी मढिएका, मोतीको माला पहिराइएका, रेशमी कपडा ओढाइएका, पहिलो पटक ब्याएका दूधालु र शान्त १३,०८४ गाईहरू ब्राह्मणलाई दान गर्नुहुन्थ्यो । गाईका साथमा रेशमी वस्त्र, मृगचर्म र तिल पनि प्रदान गर्नुहुन्थ्यो ।।७–९।।
गोविप्रदेवतावृद्धगुरून् भूतानि सर्वशः ।
नमस्कृत्यात्मसंभूतीर्मङ्गलानि समस्पृशत् ॥ १० ॥
नेपाली भावानुवादः त्यसपछि आफ्नै विभूतिस्वरूप गाई, ब्राह्मण, देवता, वृद्धजन, गुरु र समस्त प्राणीहरूलाई नमस्कार गरेर उहाँले मङ्गलमय वस्तुहरू (घिउ, ऐना आदि) स्पर्श गर्नुभयो ।।१०।।
आत्मानं भूषयामास नरलोकविभूषणम् ।
वासोभिर्भूषणैः स्वीयैः दिव्यस्रगनुलेपनैः ॥ ११ ॥
नेपाली भावानुवादः भगवान्को शरीर स्वयं मानवलोकको आभूषण थियो । तैपनि उहाँले पीताम्बर, दिव्य माला, सुगन्धित अनुलेपन र कौस्तुभ आदि आभूषणहरूद्वारा आफूलाई सजाउनुभयो ।।११।।
अवेक्ष्याज्यं तथाऽऽदर्शं गोवृषद्विजदेवताः ।
कामांश्च सर्ववर्णानां पौरान्तःपुरचारिणाम् ।
प्रदाप्य प्रकृतीः कामैः प्रतोष्य प्रत्यनन्दत ॥ १२ ॥
नेपाली भावानुवादः त्यसपछि उहाँले घिउ र ऐनामा आफ्नो स्वरूप हेर्नुभयो । गाई, साँढे, ब्राह्मण र देवताहरूको दर्शन गरी नगरवासी र अन्तःपुरका सेवकहरूको इच्छाअनुसारका वस्तुहरू दान गरी उनीहरूलाई सन्तुष्ट बनाएर प्रसन्न हुनुभयो ।।१२।।
संविभज्याग्रतो विप्रान् स्रक्ताम्बूलानुलेपनैः ।
सुहृदः प्रकृतीःदारानुपायुङ्क्त ततः स्वयम् ॥ १३ ॥
नेपाली भावानुवादः भगवान्ले सर्वप्रथम ब्राह्मण, मित्र, मन्त्री र रानीहरूलाई माला, ताम्बुल (पान) र चन्दन आदि वितरण गर्नुभयो र त्यसपछि मात्र आफूले उपभोग गर्नुभयो ।।१३।।
तावत् सूत उपानीय स्यन्दनं परमाद्भुतम् ।
सुग्रीवाद्यैर्हयैर्युक्तं प्रणम्यावस्थितोऽग्रतः ॥ १४ ॥
नेपाली भावानुवादः त्यतिन्जेलसम्म दारुक सारथीले सुग्रीव आदि घोडाहरू जोतिएको अत्यन्त अद्भुत रथ ल्याएर भगवान्को अगाडि प्रणाम गरी उभिसकेका हुन्थे ।।१४।।
गृहीत्वा पाणिना पाणी सारथेस्तमथारुहत् ।
सात्यक्युद्धवसंयुक्तः पूर्वाद्रिमिव भास्करः ॥ १५ ॥
नेपाली भावानुवादः त्यसपछि भगवान् श्रीकृष्णले सारथीको हात समातेर सात्यकि र उद्धवका साथमा उदय पर्वतमा सूर्य चढेझैँ रथमा सवार हुनुभयो ।।१५।।
ईक्षितोऽन्तःपुरस्त्रीणां सव्रीडप्रेमवीक्षितैः ।
कृच्छ्राद् विसृष्टो निरगाज्जातहासो हरन् मनः ॥ १६ ॥
नेपाली भावानुवादः त्यस समयमा अन्तःपुरका स्त्रीहरूले लज्जा र प्रेमपूर्ण दृष्टिले उहाँलाई हेर्थे । उनीहरूले अत्यन्त कष्का साथ उहाँलाई बिदा गर्थे । भगवान् भने मन्द मुस्कानका साथ उनीहरूको मन हरण गर्दै दरबारबाट बाहिर निस्कनुहुन्थ्यो ।।१६।।
सुधर्माख्यां सभां सर्वैर्वृष्णिभिः परिवारितः ।
प्राविशद् यन्निविष्टानां न सन्त्यङ्ग षडूर्मयः ॥ १७ ॥
नेपाली भावानुवादः हे राजन्! त्यसपछि भगवान् श्रीकृष्ण समस्त यदुवंशीहरूका साथ 'सुधर्मा' नामको सभामा प्रवेश गर्नुभयो । त्यस सभामा बस्नेहरूलाई भोक, तिर्खा, शोक, मोह, वृद्धावस्था र मृत्यु जस्ता छवटा लहर (षडूर्मि) ले सताउँदैनथे ।।१७।।
तत्रोपविष्टः परमासने विभु
र्बभौ स्वभासा ककुभोऽवभासयन् ।
वृतो नृसिंहैर्यदुभिर्यदूत्तमो
यथोडुराजो दिवि तारकागणैः ॥ १८ ॥
नेपाली भावानुवादः त्यहाँ सुधर्मा सभामा पुगेपछि यदुश्रेष्ठ भगवान् श्रीकृष्ण उच्च सिंहासनमा विराजमान हुनुभयो । यदुवंशी वीरहरूका बीचमा विराजमान भगवान्, ताराहरूले घेरिएको चन्द्रमाझैँ आफ्नै चमकले सबै दिशालाई उज्यालो पार्दै सुशोभित हुनुभयो ।।१८।।
तत्रोपमंत्रिणो राजन् नानाहास्यरसैर्विभुम् ।
उपतस्थुर्नटाचार्या नर्तक्यस्ताण्डवैः पृथक् ॥ १९ ॥
नेपाली भावानुवादः हे महाराज! त्यस सभामा विदूषकहरूले हास्यव्यङ्ग्यद्वारा र नर्तकीहरूले नृत्य प्रदर्शन गरेर भगवान्को सेवा गर्दथे ।।१९।।
मृदङ्गवीणामुरजवेणुतालदरस्वनैः ।
ननृतुर्जगुस्तुष्टुवुश्च सूतमागधवन्दिनः ॥ २० ॥
नेपाली भावानुवादः मृदङ्ग, वीणा, बाँसुरी, झ्याली र शङ्खको ध्वनिबीच सूत, मागध र वन्दीजनहरूले स्तुति गान र नृत्य गर्दथे ।।२०।।
तत्राहुर्ब्राह्मणाः केचित् आसीना ब्रह्मवादिनः ।
पूर्वेषां पुण्ययशसां राज्ञां चाकथयन् कथाः ॥ २१ ॥
नेपाली भावानुवादः त्यहाँ बसिरहेका कतिपय ब्रह्मज्ञानी ब्राह्मणहरूले वेदको व्याख्या गर्थे भने कोही ब्राह्मणहरूले प्राचीन पुण्यश्लोक राजाहरूको इतिहास सुनाउँथे ।।२१।।
तत्रैकः पुरुषो राजन्नागतोऽपूर्वदर्शनः ।
विज्ञापितो भगवते प्रतीहारैः प्रवेशितः ॥ २२ ॥
नेपाली भावानुवादः हे राजन्! एक पटक द्वारकामा एक अपरिचित पुरुष आए । द्वारपालले भगवान्लाई उनको आगमनको सूचना दिएपछि उनलाई सभामा प्रवेश गराइयो ।।२२।।
स नमस्कृत्य कृष्णाय परेशाय कृताञ्जलिः ।
राज्ञामावेदयद् दुखं जरासन्धनिरोधजम् ॥ २३ ॥
ये च दिग्विजये तस्य सन्नतिं न ययुर्नृपाः ।
प्रसह्य रुद्धास्तेनासन्नयुते द्वे गिरिव्रजे ॥ २४ ॥
नेपाली भावानुवादः ती पुरुषले परमेश्वर श्रीकृष्णलाई हात जोडेर दण्डवत् प्रणाम गरे र जरासन्धद्वारा बन्दी बनाइएका राजाहरूको दुःख सुनाए । जरासन्धले आफ्नो दिग्विजयका क्रममा आफूसमक्ष शिर नझुकाउने २०,००० राजाहरूलाई बलपूर्वक पक्रिएर गिरिव्रज (राजगिरि) मा कैद गरेको वृत्तान्त उनले सुनाए ।।२३–२४।।
राजान ऊचुः—
वयं त्वां शरणं यामो भवभीताः पृथग्धियः ॥ २५ ॥
नेपाली भावानुवादः बन्दी राजाहरूले भनेका थिए— हे कृष्ण! हजुरको स्वरूप अपरम्पार छ । हजुर शरणागतको भय नष्ट गर्नुहुन्छ । हामी संसारबाट डराएका छौँ र हजुरको शरणमा आएका छौँ ।।२५।।
लोको विकर्मनिरतः कुशले प्रमत्तः
कर्मण्ययं त्वदुदिते भवदर्चने स्वे ।
यस्तावदस्य बलवानिह जीविताशां
सद्यश्छिनत्त्यनिमिषाय नमोऽस्तु तस्मै ॥ २६ ॥
नेपाली भावानुवादः हे प्रभु! यो संसार गलत कर्ममा डुबेको छ र हजुरले बताउनुभएको आत्मिक कल्याणको मार्गमा प्रमाद गरिरहेको छ । बलवान् कालले जसरी मानिसको बाँच्ने आशालाई क्षणभरमै चुँडाइदिन्छ, त्यस्ता कालस्वरूप हजुरलाई हाम्रो नमस्कार छ ।।२६।।
लोके भवाञ्जगदिनः कलयावतीर्णः
कश्चित् त्वदीयमतियाति निदेशमीश
किं वा जनः स्वकृतमृच्छति तन्न विद्मः ॥ २७ ॥
नेपाली भावानुवादः हजुर समस्त जगत्का स्वामी हुनुहुन्छ र सन्तहरूको रक्षा एवं दुष्टहरूको विनाशका लागि अंश अवतार लिनुभएको छ । हजुरको आज्ञा कसैले उल्लङ्घन गर्न सक्दैन । तैपनि मानिसले आफ्नै कर्मको फल भोग्ने हो वा अन्य कुनै कारणले दुःख पाएको हो, यो हामी बुझ्न सक्दैनौँ ।।२७।।
स्वप्नायितं नृपसुखं परतंत्रमीश
शश्वद्भयेन मृतकेन धुरं वहामः ।
हित्वा तदात्मनि सुखं त्वदनीहलभ्यं
क्लिश्यामहेऽतिकृपणास्तव माययेह ॥ २८ ॥
नेपाली भावानुवादः हे ईश्वर! हामी हजुरको मायाबाट मोहित भएर आफ्नै आत्मामा रहेको सुखलाई बिर्सी यो नश्वर शरीरको भारी बोकिरहेका छौँ । स्वप्नतुल्य र पराधीन राज्यसुखको पछाडि लागेकाले हामी अत्यन्त दुःखी भएका छौँ ।।२८।।
तन्नो भवान् प्रणतशोकहराङ्घ्रियुग्मो
बद्धान् वियुङ्क्ष्व मगधाह्वयकर्मपाशात् ।
यो भूभुजोऽयुतमतङ्गजवीर्यमेको
बिभ्रद् रुरोध भवने मृगराडिवावीः ॥ २९ ॥
नेपाली भावानुवादः हे प्रभु! हजुरको चरणले शरणागतको शोक नष्ट गर्छ । त्यसैले कृपया हामीलाई जरासन्धको बन्धनबाट मुक्त गर्नुहोस् । दश हजार हात्तीको बल भएको जरासन्धले हामीलाई सिंहले भेडालाई थुनेझैँ कारागारमा थुनेर राखेको छ ।।२९।।
यो वै त्वया द्विनवकृत्व उदात्तचक्र
भग्नो मृधे खलु भवन्तमनन्तवीर्यम् ।
जित्वा नृलोकनिरतं सकृदूढदर्पो
युष्मत्प्रजा रुजति नोऽजित तद् विधेहि ॥ ३० ॥
नेपाली भावानुवादः हे चक्रधारी! हजुरले जरासन्धलाई सत्र पटक युद्धमा हराउनुभयो, तर एक पटक हजुरले उसलाई जित्न दिएकाले ऊ अति घमण्डी भएको छ र हजुरका प्रजाहरूलाई सताइरहेको छ । अब हजुरले नै उचित व्यवस्था गर्नुहोस् ।।३०।।
दूत उवाच– इति मागधसंरुद्धा भवद्दर्शनकाङ्क्षिणः ।
नेपाली भावानुवादः दूतले भन्यो– हे प्रभु! जरासन्धद्वारा बन्दी बनाइएका ती राजाहरू हजुरको दर्शनको अभिलाषा राख्छन् । हजुरको शरणमा परेका ती दुःखी राजाहरूको कल्याण गर्नुहोस् ।।३१।।
श्रीशुक उवाच– राजदूते ब्रुवत्येवं देवर्षिः परमद्युतिः ।
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित्! राजद्रूतले यसरी कुरा गरिरहेकै समयमा पहेँलो जटा धारण गर्नुभएका परम तेजस्वी देवर्षि नारद सूर्य उदय भएझैँ त्यहाँ प्रकट हुनुभयो ।।३२।।
तं दृष्ट्वा भगवान् कृष्णः सर्वलोकेश्वरेश्वरः ।
ववन्द उत्थितः शीर्ष्णा ससभ्यः सानुगो मुदा ॥ ३३ ॥
नेपाली भावानुवादः सबै लोकका स्वामी भगवान् श्रीकृष्णले उहाँलाई देख्नेबित्तिकै सभाका सदस्य र सेवकसहित खुसी हुँदै उठेर शिर निहुराई वन्दना गर्नुभयो ।।३३।।
सभाजयित्वा विधिवत् कृतासनपरिग्रहम् ।
बभाषे सुनृतैर्वाक्यैः श्रद्धया तर्पयन् मुनिम् ॥ ३४ ॥
नेपाली भावानुवादः नारदजीले आसन ग्रहण गरेपछि भगवान्ले विधिपूर्वक उहाँको पूजा र स्वागत गर्नुभयो । त्यसपछि मुनिलाई प्रसन्न पार्दै श्रीकृष्णले मधुर शब्दमा भन्नुभयो ।।३४।।
अपि स्विदद्य लोकानां त्रयाणामकुतोभयम् ।
ननु भूयान् भगवतो लोकान् पर्यटतो गुणः ॥ ३५ ॥
नेपाली भावानुवादः हे देवर्षि! के अचेल तीनै लोकमा सबथोक कुशल छ? हजुर तीनै लोकमा भ्रमण गरिरहनुहुन्छ, त्यसैले हजुरलाई सबै जानकारी हुन्छ । घरमै बसेका हामीलाई पनि केही समाचार सुनाउनुहोस् ।।३५।।
न ही तेऽविदितं किञ्चित् लोकेष्वीश्वरकर्तृषु ।
अथ पृच्छामहे युष्मान् पाण्डवानां चिकीर्षितम् ॥ ३६ ॥
नेपाली भावानुवादः ईश्वरले रचेको यो संसारमा हजुरलाई थाहा नभएको कुनै कुरा छैन । त्यसैले पाण्डवहरू अहिले के गर्ने विचार गर्दै छन्, त्यो जान्न चाहन्छौँ ।।३६।।
नारद उवाच–
माया विभो विश्वसृजश्च मायिनः ।
भूतेषु भूमंश्चरतः स्वशक्तिभि
र्वह्नेरिवच्छन्नरुचो न मेऽद्भुतम् ॥ ३७ ॥
नेपाली भावानुवादः देवर्षि नारदजीले भन्नुभयो– हे सर्वव्यापी विभु! हजुर ब्रह्माण्डको सृष्टिकर्ता हुनुहुन्छ । हजुरको माया अत्यन्त कठिन छ, जसले ब्रह्माजीलाई समेत मोहित पार्छ । काठभित्र अग्नि लुकेझैँ हजुर सबै प्राणीमा व्याप्त हुनुहुन्छ । सबै कुरा जानेर पनि नजानेझैँ गरी पाण्डवका बारेमा सोध्नु हजुरको लीला हो, यसमा मलाई कुनै आश्चर्य छैन ।।३७।।
तवेहितं कोऽर्हति साधु वेदितुं
स्वमाययेदं सृजतो नियच्छतः ।
यद् विद्यमानात्मतयावभासते
तस्मै नमस्ते स्वविलक्षणात्मने ॥ ३८ ॥
नेपाली भावानुवादः हे भगवान्! हजुरको लीलालाई कसले पूर्ण रूपमा बुझ्न सक्छ र? हजुरले आफ्नै मायाले यस जगत्को सृष्टि र संहार गर्नुहुन्छ । यो जगत् असत्य भए पनि हजुरकै सत्ताले गर्दा सत्यझैँ भासिएको छ । त्यस्ता विलक्षण स्वरूप भएका हजुरलाई म नमस्कार गर्दछु ।।३८।।
जीवस्य यः संसरतो विमोक्षणं
न जानतोऽनर्थवहाच्छरीरतः ।
लीलावतारैः स्वयशःप्रदीपकं
प्राज्वालयत्त्वा तमहं प्रपद्ये ॥ ३९ ॥
नेपाली भावानुवादः यो संसारमा जन्म–मृत्युको चक्रमा फसेका जीवहरूले यस दुःखदायी शरीरबाट मुक्ति पाउने उपाय जान्दैनन् । उनीहरूको कल्याणका लागि हजुरले अनेकौँ अवतार लिएर आफ्नो यशरूपी ज्योति जगाउनुभएको छ । म हजुरको शरणमा पर्दछु ।।३९।।
अथाप्याश्रावये ब्रह्म नरलोकविडम्बनम् ।
राज्ञः पैतृष्वसेयस्य भक्तस्य च चिकीर्षितम् ॥ ४० ॥
नेपाली भावानुवादः हे परब्रह्म! हजुर मानिसको जस्तो अभिनय गर्दै हुनुहुन्छ । अब म हजुरको फुपूका छोरा तथा हजुरका परम भक्त राजा युधिष्ठिरको इच्छा सुनाउँछु ।।४०।।
यक्ष्यति त्वां मखेन्द्रेण राजसूयेन पाण्डवः ।
पारमेष्ठ्यकामो नृपतिस्तद् भवाननुमोदताम् ॥ ४१ ॥
नेपाली भावानुवादः चक्रवर्ती साम्राज्यको अभिलाषा राख्ने पाण्डुपुत्र युधिष्ठिरले राजसूय यज्ञ गरेर हजुरको आराधना गर्न चाहन्छन् । कृपया हजुरले उनको यो इच्छालाई अनुमोदन गरिदिनुहोस् ।।४१।।
तस्मिन् देव क्रतुवरे भवन्तं वै सुरादयः ।
दिदृक्षवः समेष्यन्ति राजानश्च यशस्विनः ॥ ४२ ॥
नेपाली भावानुवादः हे भगवान्! त्यो महान् यज्ञमा हजुरको दर्शन गर्न ठूला–ठूला देवता र प्रसिद्ध राजाहरू भेला हुनेछन् ।।४२।।
श्रवणात् कीर्तनाद् ध्यानात् पूयन्तेऽन्तेवसायिनः ।
तव ब्रह्ममयस्येश किमुतेक्षाभिमर्शिनः ॥ ४३ ॥
नेपाली भावानुवादः हे ईश्वर! हजुरको नाम र लीलाको श्रवण, कीर्तन र ध्यान गर्नाले चण्डालहरू समेत पवित्र हुन्छन् भने हजुरलाई प्रत्यक्ष देख्ने र स्पर्श गर्नेहरूका बारेमा त के भन्नु र! ।।४३।।
यस्यामलं दिवि यशः प्रथितं रसायां
भूमौ च ते भुवनमङ्गल दिग्वितानम् ।
मन्दाकिनीति दिवि भोगवतीति चाधो
गङ्गेति चेह चरणाम्बु पुनाति विश्वम् ॥ ४४ ॥
नेपाली भावानुवादः हे भुवनमङ्गल! हजुरको निर्मल कीर्ति स्वर्ग, मर्त्य र पाताल तीनै लोकमा फैलिएको छ । हजुरको चरणको जल आकाशमा मन्दाकिनी, पातालमा भोगवती र पृथ्वीमा गङ्गाका नामले बगेर सम्पूर्ण विश्वलाई पवित्र बनाइरहेको छ ।।४४।।
श्रीशुक उवाच–
वाचः पेशैः स्मयन् भृत्यमुद्धवं प्राह केशवः ॥ ४५ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित्! त्यहाँ उपस्थित यदुवंशीहरू जरासन्धलाई जितेर मात्र अन्यत्र जाने पक्षमा थिए । उनीहरूको मनसाय बुझेर भगवान् श्रीकृष्णले मुस्कुराउँदै आफ्ना मन्त्री एवं मित्र उद्धवलाई भन्नुभयो– ।।४५।।
श्रीभगवानुवाच–
अथात्र ब्रूह्यनुष्ठेयं श्रद्दध्मः करवाम तत् ॥ ४६ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णले भन्नुभयो– हे उद्धव! तिमी हाम्रो परम आँखा हौ र मन्त्रणाको रहस्य जान्ने हितैषी मित्र हौ । अब यस विषयमा हामीले के गर्नुपर्छ, भन । हामी तिम्रो सल्लाहलाई श्रद्धापूर्वक पालना गर्नेछौँ ।।४६।।
इत्युपामंत्रितो भर्त्रा सर्वज्ञेनापि मुग्धवत् ।
निदेशं शिरसाऽऽधाय उद्धवः प्रत्यभाषत ॥ ४७ ॥
नेपाली भावानुवादः आफू सर्वज्ञ भएर पनि साधारण मानिसले झैँ सोध्नुभएका भगवान्को आज्ञालाई शिरोधार्य गरी उद्धवले जवाफ दिन थाले ।।४७।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको दशम स्कन्ध अन्तर्गतको यस सत्तरीऔँ अध्यायमा भगवान् श्रीकृष्णको आदर्श र पवित्र दिनचर्याका साथै भक्तहरूको दुःख निवारणका लागि उहाँले गर्ने मन्त्रणाको वर्णन गरिएको छ । कथाको प्रारम्भमा द्वारकाका रानीहरूको विरह र ब्राह्ममुहूर्तमा श्रीकृष्णको जागरणबाट हुन्छ । भगवान् श्रीकृष्ण स्वयं पूर्ण पुरुषोत्तम भएर पनि साधारण मनुष्यलाई शिक्षा दिनका लागि आदर्श ब्राह्मकर्मको पालना गर्नुहुन्छ । उहाँ झिसमिसेमै उठेर आत्मचिन्तन गर्नुहुन्छ, स्नान र सन्ध्योपासना गर्नुहुन्छ तथा अग्निमा हवन गर्नुहुन्छ । यसपछि उहाँले हजारौँको सङ्ख्यामा गाईहरू ब्राह्मणलाई दान गरेर उदारताको पराकाष्ठा देखाउनुहुन्छ । आफ्ना अग्रज र मान्यजनलाई ढोगेर शुभ वस्तुको दर्शन गरेपछि उहाँ सुधर्मा सभामा प्रवेश गर्नुहुन्छ । सुधर्मा सभाको महिमा यस्तो छ कि त्यहाँ उपस्थित हुनेलाई मानवीय कष्टहरूले सताउँदैनन् । सभामा बसिरहेका बेला जरासन्धद्वारा बन्दी बनाइएका २०,००० राजाहरूको दूत त्यहाँ आइपुग्छ । उसले ती राजाहरूको कारुणिक अवस्था र श्रीकृष्णप्रतिको उनीहरूको समर्पण भाव व्यक्त गर्दछ । लगत्तै देवर्षि नारदको आगमन हुन्छ र उहाँले राजा युधिष्ठिरले राजसूय यज्ञ गर्न लागेको र श्रीकृष्णको उपस्थिति चाहेको सन्देश सुनाउनुहुन्छ । एकातिर पीडित राजाहरूको पुकार र अर्कोतिर भक्त युधिष्ठिरको यज्ञ— यी दुई कार्यमध्ये कुन पहिले गर्ने भन्ने विषयमा श्रीकृष्णले उद्धवसँग सल्लाह माग्नुहुन्छ । यस अध्यायले भगवान्को ऐश्वर्य, उहाँको भक्तवत्सलता र एउटा आदर्श गृहस्थले पालना गर्नुपर्ने मर्यादालाई सुन्दर ढङ्गले प्रस्तुत गरेको छ । अन्त्यमा उद्धवको सल्लाह बमोजिम युधिष्ठिरको यज्ञमा जाँदा जरासन्धको वध पनि हुने र राजाहरूको मुक्ति पनि हुने निष्कर्षका साथ कथा अगाडि बढ्छ ।
दार्शनिक पक्ष
यस अध्यायको दार्शनिक पक्ष अत्यन्त गहन र शिक्षाप्रद छ । पहिलो कुरा, भगवान् श्रीकृष्णको दिनचर्याले 'कर्मयोग' र 'ज्ञानयोग' को समन्वयलाई दर्शाउँछ । स्वयं ईश्वर भएर पनि उहाँले शास्त्रीय नियमको पालना गर्नु भनेको मनुष्यका लागि 'आचरण नै सबैभन्दा ठूलो उपदेश हो' भन्ने सन्देश दिनु हो । भगवान्ले गर्ने आत्मध्यानले जीवलाई आफ्नो वास्तविक स्वरूप पहिचान गर्न प्रेरित गर्छ । अध्यायमा वर्णित 'षडूर्मि' (भोक, तिर्खा, शोक, मोह, जरा र मृत्यु) बाट मुक्त सुधर्मा सभाले साङ्केतिक रूपमा मोक्षको अवस्थालाई बुझाउँछ, जहाँ पुगेपछि जीव संसारका द्वन्द्वबाट मुक्त हुन्छ । बन्दी राजाहरूको प्रार्थनाले यो स्पष्ट पार्छ कि अहंकार (जरासन्ध) ले जीवलाई जबसम्म बन्धनमा राख्छ, तबसम्म जीव दुःखी रहन्छ र जब उसले पूर्ण रूपमा ईश्वरको शरणागति लिन्छ, तब मात्र मुक्तिको मार्ग खुल्छ । नारदजीको स्तुतिले भगवान्को निराकार र साकार दुवै रूपको महिमा गाउँदै ईश्वर सर्वव्यापी हुनुहुन्छ भन्ने अद्वैत दर्शनलाई पुष्टि गरेको छ । अन्त्यमा, श्रीकृष्णले उद्धवसँग सल्लाह माग्नुले 'लोकसङ्ग्रह' र विनम्रताको दार्शनिक महत्त्व झल्काउँछ, जसले जतिसुकै समर्थ भए पनि नीति र परामर्शको महत्त्व हुन्छ भन्ने सिकाउँछ ।
No comments:
Post a Comment