श्रीमद्भागवत महापुराण
षष्ठः स्कन्धः – अष्टादशोऽध्यायः
श्रीशुक उवाच –
अग्निहोत्रं पशुं सोमं चातुर्मास्यं महामखान् ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ— हे परीक्षित्! सविताकी पत्नी पृश्नीको गर्भबाट सावित्री, व्याहृति, त्रयी, अग्निहोत्र, पशु, सोम, चातुर्मास्य र पञ्चमहायज्ञ गरी आठ सन्तान भए ।। १ ।।
सिद्धिर्भगस्य भार्याङ्ग महिमानं विभुं प्रभुम् ।
आशिषं च वरारोहां कन्यां प्रासूत सुव्रताम् ॥ २ ॥
नेपाली भावानुवादः भगकी पत्नी सिद्धिले महिमा, विभु र प्रभु नामका तीन छोरा र आशी नामकी कन्या उत्पन्न गरिन्। ती कन्या अत्यन्त सुन्दरी र सदाचारिणी थिइन् ।। २ ।।
धातुः कुहूः सिनीवाली राका चानुमतिस्तथा ।
सायं दर्शमथ प्रातः पूर्णमासमनुक्रमात् ॥ ३ ॥
नेपाली भावानुवादः धाताका कुहू, सिनीवाली, राका र अनुमति नामका चार पत्नीहरू थिए। उनीहरूबाट क्रमशः सायं, दर्श, प्रातः र पूर्णमास नामका चार छोरा जन्मिए ।। ३ ।।
अग्नीन् पुरीष्यानाधत्त क्रियायां समनन्तरः । च
र्षणी वरुणस्यासीद् यस्यां जातो भृगुः पुनः ॥ ४ ॥
नेपाली भावानुवादः धाताका भाइ विधाताले आफ्नी पत्नी क्रियाबाट पुरीष्य नाम गरेका पाँच अग्निको उत्पत्ति गराए। वरुणकी पत्नी चर्षणीबाट भृगुजीले पुनः जन्म लिए; यसभन्दा पहिले उनी ब्रह्माजीका मानसपुत्र थिए ।। ४ ।।
वाल्मीकिश्च महायोगी वल्मीकाद् अभवत्किल ।
अगस्त्यश्च वसिष्ठश्च मित्रावरुणयोः ऋषी ॥ ५ ॥
रेतः सिषिचतुः कुम्भे उर्वश्याः सन्निधौ द्रुतम् ।
रेवत्यां मित्र उत्सर्गं अरिष्टं पिप्पलं व्यधात् ॥ ६ ॥
नेपाली भावानुवादः महायोगी वाल्मीकि पनि वरुणकै छोरा थिए, धमिराको देवल (वल्मीक) बाट निस्किएकाले उनको नाम वाल्मीकि रहन गयो। उर्वशीलाई देखेर मित्र र वरुण दुवैको वीर्य स्खलित भयो, जसलाई उनीहरूले घडामा राखे। त्यसैबाट अगस्त्य र वसिष्ठ ऋषिको जन्म भयो। मित्रकी पत्नी रेवतीबाट उत्सर्ग, अरिष्ट र पिप्पल नामका तीन छोरा जन्मिए ।। ५-६ ।।
पौलोम्यामिन्द्र आधत्त त्रीन् पुत्रानिति नः श्रुतम् ।
जयन्तं ऋषभं तात तृतीयं मीढुषं प्रभुः ॥ ७ ॥
उरुक्रमस्य देवस्य मायावामनरूपिणः ।
कीर्तौ पत्न्यां बृहच्छ्लोकः तस्यासन् सौभगादयः ॥ ८ ॥
नेपाली भावानुवादः हे तात! देवराज इन्द्रकी पत्नी पौलोमी (शची) बाट जयन्त, ऋषभ र मीढुष गरी तीन पुत्र जन्मिए। भगवान्ले वामन रूप धारण गरी बलि राजासँग तीन पाउ पृथ्वी मागेर इन्द्रलाई स्वर्ग फिर्ता गराउनुभएको थियो। तिनै वामन भगवान्की पत्नी कीर्तिबाट बृहच्छ्लोक नामका छोरा भए, जसका सौभग आदि अनेकौँ सन्तान भए ।। ७-८ ।।
तत्कर्मगुणवीर्याणि काश्यपस्य महात्मनः ।
पश्चाद् वक्ष्यामहेऽदित्यां यथा वावततार ह ॥ ९ ॥
नेपाली भावानुवादः कश्यपपुत्र भगवान् वामनले अदितिको गर्भबाट किन र कसरी अवतार लिनुभयो र उहाँका ती अद्भुत लीलाहरूको वर्णन म पछि अष्टम स्कन्धमा गर्नेछु ।। ९ ।।
अथ कश्यपदायादान् दैतेयान् कीर्तयामि ते ।
यत्र भागवतः श्रीमान् प्रह्रादो बलिरेव च ॥ १० ॥
नेपाली भावानुवादः परीक्षित्! अब म कश्यपकी अर्की पत्नी दितिबाट सुरु भएको वंश परम्पराको वर्णन गर्दछु, जसमा भक्तराज प्रह्लाद र बलिको जन्म भएको थियो ।। १० ।।
दितेर्द्वावेव दायादौ दैत्यदानववन्दितौ ।
हिरण्यकशिपुर्नाम हिरण्याक्षश्च कीर्तितौ ॥ ११ ॥
नेपाली भावानुवादः दितिका हिरण्यकशिपु र हिरण्याक्ष नामका दुई प्रसिद्ध छोरा थिए। यिनको वर्णन मैले तिमीलाई तेस्रो अध्यायमा नै गरिसकेको छु ।। ११ ।।
हिरण्यकशिपोर्भार्या कयाधुर्नाम दानवी ।
जम्भस्य तनया दत्ता सुषुवे चतुरः सुतान् ॥ १२ ॥
संह्रादं प्रागनुह्रादं ह्रादं प्रह्रादमेव च ।
तत्स्वसा सिंहिका नाम राहुं विप्रचितोऽग्रहीत् ॥ १३ ॥
नेपाली भावानुवादः हिरण्यकशिपुकी पत्नी कयाधु (दानव जम्भकी छोरी) थिइन्। कयाधुबाट संह्लाद, अनुह्लाद, ह्लाद र प्रह्लाद गरी चार छोरा जन्मिए। उनीहरूको बहिनी सिंहिकाको विवाह विप्रचित्तिसँग भयो, जसबाट राहुको जन्म भयो ।। १२-१३ ।।
शिरोऽहरद्यस्य हरिः चक्रेण पिबतोऽमृतम् ।
संह्रादस्य कृतिर्भार्या सूत पञ्चजनं ततः ॥ १४ ॥
ह्रादस्य धमनिर्भार्या सूत वातापिमिल्वलम् ।
योऽगस्त्याय त्वतिथये पेचे वातापिमिल्वलः ॥ १५ ॥
नेपाली भावानुवादः अमृत पान गरिरहेका तिनै राहुको टाउको भगवान्ले मोहिनी रूप धारण गरी चक्रद्वारा काटिदिनुभएको थियो। संह्लादकी पत्नी कृतिले पञ्चजनलाई जन्म दिइन्। ह्लादकी पत्नी धमनिबाट वातापि र इल्वल जन्मिए। इल्वलले महर्षि अगस्त्य अतिथिका रूपमा आउँदा वातापिलाई बाख्रा बनाएर पकाएर खुवाएका थिए ।। १४-१५ ।।
अनुह्रादस्य सूर्यायां बाष्कलो महिषस्तथा ।
विरोचनस्तु प्राह्रादिः देव्याः तस्याभवद्बलिः ॥ १६ ॥
नेपाली भावानुवादः अनुह्लादकी पत्नी सूर्याको गर्भबाट बाष्कल र महिष जन्मिए। प्रह्लादका पुत्र विरोचन थिए र विरोचनकी पत्नी देवीबाट दैत्यराज बलिको जन्म भयो ।। १६ ।।
बाणज्येष्ठं पुत्रशतं अशनायां ततोऽभवत् ।
तस्यानुभावं सुश्लोक्यः पश्चादेवाभिधास्यते ॥ १७ ॥
नेपाली भावानुवादः बलिकी पत्नी अशनाबाट बाण आदि सय छोरा जन्मिए। महात्मा बलिको महिमाको वर्णन म पछि आठौँ स्कन्धमा गर्नेछु ।। १७ ।।
बाण आराध्य गिरिशं लेभे तद्गणमुख्यताम् ।
यत्पार्श्वे भगवानास्ते ह्यद्यापि पुरपालकः ॥ १८ ॥
नेपाली भावानुवादः बलिपुत्र बाणासुरले भगवान् शिवको आराधना गरी उहाँको गणको मुख्य पद पाए। अहिले पनि भगवान् शिव बाणासुरको नगर रक्षाका लागि त्यहीँ बस्नुहुन्छ ।। १८ ।।
मरुतश्च दितेः पुत्राः चत्वारिंशत् नवाधिकाः ।
ते आसन् अप्रजाः सर्वे नीता इन्द्रेण सात्मताम् ॥ १९ ॥
नेपाली भावानुवादः दितिका उनान्चास अरु छोराहरू पनि थिए, जसलाई मरुद्गण भनिन्छ। उनीहरू सबै निःसन्तान भए। देवराज इन्द्रले उनीहरूलाई आफू समान देवता बनाए ।। १९ ।।
कथं त आसुरं भावं अपोह्यौत्पत्तिकं गुरो ।
इन्द्रेण प्रापिताः सात्म्यं किं तत्साधु कृतं हि तैः ॥ २० ॥
नेपाली भावानुवादः राजा परीक्षित्ले सोधे— हे गुरुदेव! जन्मजात असुर स्वभाव भएका मरुद्गणले त्यस्तो के पुण्य कर्म गरे, जसका कारण इन्द्रले उनीहरूलाई आफू समान देवता बनाए? ।। २० ।।
इमे श्रद्दधते ब्रह्मन् ऋषयो हि मया सह ।
परिज्ञानाय भगवन् तन्नो व्याख्यातुमर्हसि ॥ २१ ॥
नेपाली भावानुवादः हे ब्रह्मन्! म लगायत यहाँ उपस्थित सबै ऋषिहरू यो रहस्य जान्न अत्यन्त उत्सुक छौँ, कृपया विस्तारपूर्वक बताइदिनुहोस् ।। २१ ।।
श्रीसूत उवाच –
तद्विष्णुरातस्य स बादरायणिः
वचो निशम्यादृतमल्पमर्थवत् ।
सभाजयन् सन्निभृतेन चेतसा
जगाद सत्रायण सर्वदर्शनः ॥ २२ ॥
नेपाली भावानुवादः सूतजी भन्नुहुन्छ— हे शौनक! सर्वद्रष्टा शुकदेवजीले राजा परीक्षितको सारगर्भित प्रश्न सुनेर प्रसन्न चित्तले उत्तर दिन थाल्नुभयो ।। २२ ।।
श्रीशुक उवाच –
हतपुत्रा दितिः शक्र पार्ष्णिग्राहेण विष्णुना ।
मन्युना शोकदीप्तेन ज्वलन्ती पर्यचिन्तयत् ॥ २३ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ— इन्द्रको पक्ष लिई भगवान् विष्णुले आफ्ना पुत्रहरू हिरण्यकशिपु र हिरण्याक्षलाई मारेको शोकले दिति क्रोधित भई यसरी विचार गर्न लागिन् ।। २३ ।।
कदा नु भ्रातृहन्तारं इन्द्रियाराममुल्बणम् ।
अक्लिन्नहृदयं पापं घातयित्वा शये सुखम् ॥ २४ ॥
नेपाली भावानुवादः इन्द्र अत्यन्त विषयी र कठोर हृदयको छ। त्यस पापीले मेरा छोराहरूलाई मार्न लगायो। त्यसलाई मारेर म कहिले सुखले सुत्न पाउँला? ।। २४ ।।
कृमिविड्भस्मसंज्ञाऽऽसीद् यस्येशाभिहितस्य च ।
भूतध्रुक् तत्कृते स्वार्थं किं वेद निरयो यतः ॥ २५ ॥
नेपाली भावानुवादः मानिसहरू राजा वा देवताको शरीरलाई 'प्रभु' भन्दछन्, तर मरेपछि यो कि त कीरा पर्छ, कि बिष्ठा बन्छ वा खरानी हुन्छ। यस्तो क्षणभङ्गुर शरीरका लागि अरूलाई सताउनेले आफ्नो हित जान्दैन, ऊ नरककै भागी हुन्छ ।। २५ ।।
आशासानस्य तस्येदं ध्रुवं उन्नद्धचेतसः ।
मदशोषक इन्द्रस्य भूयाद्येन सुतो हि मे ॥ २६ ॥
नेपाली भावानुवादः त्यसैले इन्द्रको घमण्ड तोड्ने र उसलाई मार्ने एउटा छोरा मलाई प्राप्त होस् भनी म उपाय गर्नेछु ।। २६ ।।
इति भावेन सा भर्तुः आचचारासकृत्प्रियम् ।
शुश्रूषयानुरागेण प्रश्रयेण दमेन च ॥ २७ ॥
नेपाली भावानुवादः यस्तो सङ्कल्प गरी दितिले सेवा, प्रेम, विनय र इन्द्रिय संयमद्वारा आफ्ना पति कश्यपलाई प्रसन्न पार्न थालिन् ।। २७ ।।
भक्त्या परमया राजन् मनोज्ञैर्वल्गुभाषितैः ।
मनो जग्राह भावज्ञा सस्मितापाङ्गवीक्षणैः ॥ २८ ॥
नेपाली भावानुवादः दितिले पतिको मन बुझेर मीठो बोली र मुसुक्क हाँसेर कटाक्ष गर्दै पतिको हृदय आफ्नो वशमा पारिन् ।। २८ ।।
एवं स्त्रिया जडीभूतो विद्वानपि विदग्धया ।
बाढमित्याह विवशो न तच्चित्रं हि योषिति ॥ २९ ॥
नेपाली भावानुवादः विद्वान् भए तापनि कश्यप ऋषि दितिको चतुर सेवाबाट मोहित भए। उनले विवश भई "हुन्छ" भनी दितिको इच्छा पूरा गर्ने वचन दिए, जुन स्त्रीमोहमा परेका पुरुषका लागि कुनै आश्चर्य होइन ।। २९ ।।
विलोक्यैकान्तभूतानि भूतान्यादौ प्रजापतिः ।
स्त्रियं चक्रे स्वदेहार्धं यया पुंसां मतिर्हृता ॥ ३० ॥
नेपाली भावानुवादः सृष्टिको आदिमा ब्रह्माजीले एक्लो जीवलाई देखी आफ्नो शरीरको आधा भागबाट स्त्रीको सृष्टि गर्नुभयो, जसले पुरुषको बुद्धिलाई आकर्षित गर्दछिन् ।। ३० ।।
एवं शुश्रूषितस्तात भगवान् कश्यपः स्त्रिया ।
प्रहस्य परमप्रीतो दितिमाहाभिनन्द्य च ॥ ३१ ॥
नेपाली भावानुवादः दितिको सेवाबाट अत्यन्त सन्तुष्ट भएका कश्यप ऋषिले हाँस्दै दितिलाई अभिनन्दन गरी यसो भने ।। ३१ ।।
श्रीकश्यप उवाच –
वरं वरय वामोरु प्रीतस्तेऽहमनिन्दिते ।
स्त्रिया भर्तरि सुप्रीते कः काम इह चागमः ॥ ३२ ॥
नेपाली भावानुवादः कश्यपले भने— सुन्दरी! म तिमीसँग प्रसन्न छु, वर माग। पति प्रसन्न भएमा पत्नीका लागि यस लोक र परलोकमा के नै दुर्लभ हुन्छ र? ।। ३२ ।।
पतिरेव हि नारीणां दैवतं परमं स्मृतम् ।
मानसः सर्वभूतानां वासुदेवः श्रियः पतिः ॥ ३३ ॥
नेपाली भावानुवादः नारीहरूका लागि पति नै परम देवता हुन्। लक्ष्मीपति भगवान् वासुदेव नै सबै प्राणीका हृदयमा विराजमान हुनुहुन्छ ।। ३३ ।।
स एव देवतालिङ्गैः नामरूपविकल्पितैः ।
इज्यते भगवान् पुम्भिः स्त्रीभिश्च पतिरूपधृक् ॥ ३४ ॥
नेपाली भावानुवादः भगवान्ले नै विभिन्न नाम र रूप धारण गरी देवताका रूपमा पूजा पाउनुहुन्छ। त्यसैगरी स्त्रीका लागि उहाँ पतिस्वरूप हुनुहुन्छ ।। ३४ ।।
तस्मात् पतिव्रता नार्यः श्रेयस्कामाः सुमध्यमे ।
यजन्तेऽनन्यभावेन पतिमात्मानमीश्वरम् ॥ ३५ ॥
नेपाली भावानुवादः त्यसैले कल्याण चाहने पतिव्रता स्त्रीहरूले आफ्ना पतिलाई नै ईश्वर मानी अनन्य भावले सेवा गर्दछन् ।। ३५ ।।
सोऽहं त्वयार्चितो भद्रे ईदृग्भावेन भक्तितः ।
तं ते सम्पादये कामं असतीनां सुदुर्लभम् ॥ ३६ ॥
नेपाली भावानुवादः तिमीले मेरो भक्तिपूर्वक सेवा गर्यौ, त्यसैले म तिम्रो त्यो इच्छा पूरा गर्नेछु जुन असतीहरूका लागि असम्भव छ ।। ३६ ।।
दितिरुवाच –
वरदो यदि मे ब्रह्मन् पुत्रं इन्द्रहणं वृणे ।
अमृत्युं मृतपुत्राहं येन मे घातितौ सुतौ ॥ ३७ ॥
नेपाली भावानुवादः दितिले भनिन्— हे ब्रह्मन्! यदि मलाई वर दिनुहुन्छ भने इन्द्रलाई मार्न सक्ने एउटा अमर छोरा दिनुहोस्, किनकि इन्द्रले नै मेरा छोराहरूलाई मार्न लगाएको हो ।। ३७ ।।
निशम्य तद्वचो विप्रो विमनाः पर्यतप्यत ।
अहो अधर्मः सुमहान् अद्य मे समुपस्थितः ॥ ३८ ॥
नेपाली भावानुवादः दितिको कुरा सुनेर कश्यप चिन्तित भए। उनी सोच्न थाले— "अहो! आज ममाथि कस्तो ठुलो अधर्म आइलाग्यो?" ।। ३८ ।।
अहो अद्येन्द्रियारामो योषिन् मय्येह मायया ।
गृहीतचेताः कृपणः पतिष्ये नरके ध्रुवम् ॥ ३९ ॥
नेपाली भावानुवादः इन्द्रिय सुखमा लिप्त भएको मलाई स्त्रीरूपिणी मायाले वशमा पारिन्। अब म निश्चय नै नरकमा पर्ने भएँ ।। ३९ ।।
कोऽतिक्रमोऽनुवर्तन्त्याः स्वभावमिह योषितः ।
धिङ्मां बताबुधं स्वार्थे यदहं त्वजितेन्द्रियः ॥ ४० ॥
नेपाली भावानुवादः यसमा दितिको दोष छैन, उनले आफ्नो स्वभावअनुसार काम गरिन्। धिक्कार छ मलाई, जसले इन्द्रियहरूलाई वशमा राख्न नसकेर आफ्नो परमार्थ बिर्सिएँ ।। ४० ।।
शरत्पद्मोत्सवं वक्त्रं वचश्च श्रवणामृतम् ।
हृदयं क्षुरधाराभं स्त्रीणां को वेद चेष्टितम् ॥ ४१ ॥
नेपाली भावानुवादः स्त्रीको चरित्र बुझ्न गाह्रो छ; मुख शरदको कमल झैँ सुन्दर र बोली अमृत झैँ मिठो हुन्छ, तर हृदय भने छुराको धार झैँ तिखो हुन्छ ।। ४१ ।।
न हि कश्चित्प्रियः स्त्रीणां अञ्जसा स्वाशिषात्मनाम् ।
पतिं पुत्रं भ्रातरं वा घ्नन्त्यर्थे घातयन्ति च ॥ ४२ ॥
नेपाली भावानुवादः आफ्नो स्वार्थका लागि स्त्रीहरू कसैको माया गर्दैनन्। उनीहरूले आफ्नै पति, छोरा वा भाइलाई पनि मार्न वा मार्न लगाउन सक्छन् ।। ४२ ।।
प्रतिश्रुतं ददामीति वचस्तन्न मृषा भवेत् ।
वधं नार्हति चेन्द्रोऽपि तत्रेदमुपकल्पते ॥ ४३ ॥
नेपाली भावानुवादः मैले वचन दिइसकेँ, जुन झुटो हुनु हुँदैन। तर इन्द्रलाई मार्नु पनि उचित छैन। त्यसैले अब म एउटा उपाय निकाल्नेछु ।। ४३ ।।
इति सञ्चिन्त्य भगवान् मारीचः कुरुनन्दन ।
उवाच किञ्चित् कुपित आत्मानं च विगर्हयन् ॥ ४४ ॥
नेपाली भावानुवादः हे कुरुनन्दन! कश्यप ऋषिले मनमनै विचार गरी दितिसँग यसो भने ।। ४४ ।।
श्रीकश्यप उवाच –
पुत्रस्ते भविता भद्रे इन्द्रहा देवबान्धवः ।
संवत्सरं व्रतमिदं यद्यञ्जो धारयिष्यसि ॥ ४५ ॥
नेपाली भावानुवादः कल्याणी! यदि तिमीले एक वर्षसम्म एउटा कठिन व्रत विधिपूर्वक पालन गर्यौ भने इन्द्रलाई मार्न सक्ने छोरा प्राप्त हुनेछ, तर नियममा त्रुटि भएमा त्यो छोरा देवताकै मित्र बन्नेछ ।। ४५ ।।
दितिरुवाच –
धारयिष्ये व्रतं ब्रह्मन् ब्रूहि कार्याणि यानि मे ।
यानि चेह निषिद्धानि न व्रतं घ्नन्ति यानि तु ॥ ४६ ॥
नेपाली भावानुवादः दितिले भनिन्— हे ब्रह्मन्! म त्यो व्रतको पालन गर्नेछु। मैले के-के गर्नुपर्छ र के-के गर्नु हुँदैन, कृपया बताइदिनुहोस् ।। ४६ ।।
श्रीकश्यप उवाच –
न हिंस्याद् भूतजातानि न शपेन्नानृतं वदेत् ।
न छिन्द्याद् नखरोमाणि न स्पृशेद् यदमङ्गलम् ॥ ४७ ॥
नेपाली भावानुवादः कश्यपले भने— कसैको हिंसा नगर्नु, कसैलाई श्राप वा गाली नगर्नु र झुटो नबोल्नु। नङ र कपाल नकाट्नु र कुनै पनि अमङ्गल वस्तुलाई नछुनु ।। ४७ ।।
नाप्सु स्नायान्न कुप्येत न सम्भाषेत दुर्जनैः ।
न वसीताधौतवासः स्रजं च विधृतां क्वचित् ॥ ४८ ॥
नेपाली भावानुवादः पानीभित्र डुबेर स्नान नगर्नु, रिस नगर्नु र दुष्टहरूसँग कुरा नगर्नु। मैलो लुगा नलगाउनु र अरूले लगाएको माला नलगाउनु ।। ४८ ।।
नोच्छिष्टं चण्डिकान्नं च सामिषं वृषलाहृतम् ।
भुञ्जीतोदक्यया दृष्टं पिबेदञ्जलिना त्वपः ॥ ४९ ॥
नोच्छिष्टास्पृष्टसलिला सन्ध्यायां मुक्तमूर्धजा ।
अनर्चितासंयतवाङ् नासंवीता बहिश्चरेत् ॥ ५० ॥
नेपाली भावानुवादः जुठो, मासु वा अभक्ष अन्न नखानु। सन्ध्याको समयमा कपाल खुला राखेर, विना शृङ्गार र विना ओढ्ने घर बाहिर ननिस्कनु। अञ्जलीले पानी नपिउनु ।। ४९-५० ।।
नाधौतपादाप्रयता नार्द्रपादा उदक्शिराः ।
शयीत नापराङ्नान्यैः न नग्ना न च सन्ध्ययोः ॥ ५१ ॥
नेपाली भावानुवादः हातगोडा नधोई, चिसो खुट्टाले, उत्तर वा पश्चिम शिर गरेर, अरूसँग वा नग्न भएर सुत्नु हुँदैन ।। ५१ ।।
धौतवासा शुचिर्नित्यं सर्वमङ्गलसंयुता ।
पूजयेत् प्रातराशात् प्राग् गोविप्रान् श्रियमच्युतम् ॥ ५२ ॥
नेपाली भावानुवादः सधैँ पवित्र रही चोखो लुगा र सौभाग्यका वस्तुहरू लगाएर बस्नु। बिहान सबेरै गाई, ब्राह्मण, लक्ष्मी र नारायणको पूजा गर्नु ।। ५२ ।।
स्त्रियो वीरवतीश्चार्चेत् स्रग्गन्धबलिमण्डनैः ।
पतिं चार्च्योपतिष्ठेत ध्यायेत्कोष्ठगतं च तम् ॥ ५३ ॥
नेपाली भावानुवादः सधवा स्त्रीहरूको पूजा गर्नु, पतिको सेवामा लाग्नु र पतिको तेज मेरो गर्भमा छ भनी ध्यान गर्नु ।। ५३ ।।
सांवत्सरं पुंसवनं व्रतमेतदविप्लुतम् ।
धारयिष्यसि चेत्तुभ्यं शक्रहा भविता सुतः ॥ ५४ ॥
नेपाली भावानुवादः यस 'पुंसवन' व्रतलाई एक वर्षसम्म त्रुटिरहित पालना गर्यौ भने तिमीले इन्द्रलाई मार्न सक्ने छोरा पाउनेछौ ।। ५४ ।।
बाढमित्यभ्युपेत्याथ दिती राजन् महामनाः ।
कश्यपाद्गर्भमाधत्त व्रतं चाञ्जो दधार सा ॥ ५५ ॥
नेपाली भावानुवादः दितिले स्वीकार गरिन् र कश्यपबाट गर्भ धारण गरी व्रतका नियमहरू पालना गर्न थालिन् ।। ५५ ।।
मातृषु असुरभिप्रायं इन्द्र आज्ञाय मानद ।
शुश्रूषणेनाश्रमस्थां दितिं पर्यचरत्कविः ॥ ५६ ॥
नेपाली भावानुवादः इन्द्रले दितिको मनसाय बुझेर भेष बदलेर आश्रममा पुगी दितिको सेवा गर्न थाले ।। ५६ ।।
नित्यं वनात्सुमनसः फलमूलसमित्कुशान् ।
पत्राङ्कुरमृदोऽपश्च काले काल उपाहरत् ॥ ५७ ॥
नेपाली भावानुवादः उनले सधैँ वनबाट फलफूल, कन्दमूल, कुश, पानी र समिधाहरू ल्याएर दितिलाई दिन्थे ।। ५७ ।।
एवं तस्या व्रतस्थाया व्रतच्छिद्रं हरिर्नृप ।
प्रेप्सुः पर्यचरज्जिह्मो मृगहेव मृगाकृतिः ॥ ५८ ॥
नेपाली भावानुवादः जसरी सिकारीले मृगलाई धोका दिन मृगकै भेष धारण गर्छ, त्यसरी नै इन्द्रले दितिको व्रतमा गल्ती खोज्न सेवाको बहाना गरे ।। ५८ ।।
नाध्यगच्छद् व्रतच्छिद्रं तत्परोऽथ महीपते ।
चिन्तां तीव्रां गतः शक्रः केन मे स्याच्छिवं त्वइ ॥ ५९ ॥
नेपाली भावानुवादः दितिको व्रतमा कुनै गल्ती नभेटेपछि इन्द्रलाई निकै चिन्ता भयो ।। ५९ ।।
एकदा सा तु सन्ध्यायां उच्छिष्टा व्रतकर्शिता ।
अस्पृष्टवार्यधौताङ्घ्रिः सुष्वाप विधिमोहिता ॥ ६० ॥
नेपाली भावानुवादः एकदिन व्रतले कमजोर भएकी दिति सन्ध्याकालमा आचमन नगरी र गोडा नधोई निदाइन् ।। ६० ।।
लब्ध्वा तदन्तरं शक्रो निद्रापहृतचेतसः ।
दितेः प्रविष्ट उदरं योगेशो योगमायया ॥ ६१ ॥
नेपाली भावानुवादः त्यही मौका छोपी इन्द्रले योगमायाद्वारा दितिको गर्भमा प्रवेश गरे ।। ६१ ।।
चकर्त सप्तधा गर्भं वज्रेण कनकप्रभम् ।
रुदन्तं सप्तधैकैकं मा रोदीरिति तान् पुनः ॥ ६२ ॥
नेपाली भावानुवादः उनले दितिको गर्भलाई वज्रले सात टुक्रा पारिदिए। गर्भ रुन थालेपछि नरोऊ भन्दै सातै टुक्रालाई पुनः सात-सात टुक्रा पारिदिए ।। ६२ ।।
ते तमूचुः पाट्यमानाः सर्वे प्राञ्जलयो नृप ।
नो जिघांससि किमिन्द्र भ्रातरो मरुतस्तव ॥ ६३ ॥
नेपाली भावानुवादः टुक्रा पारिएका ती बालकहरूले भने— हे इन्द्र! हामीलाई किन मार्छौ? हामी तिम्रै भाइ मरुद्गण हौँ ।। ६३ ।।
मा भैष्ट भ्रातरो मह्यं यूयमित्याह कौशिकः ।
अनन्यभावान्पार्षदान् आत्मनो मरुतां गणान् ॥ ६४ ॥
नेपाली भावानुवादः इन्द्रले उनीहरूलाई आफ्ना पार्षद बनाएर भने— नडराओ भाइ हो, तिमीहरू मेरा हौ ।। ६४ ।।
न ममार दितेर्गर्भः श्रीनिवासानुकम्पया ।
बहुधा कुलिशक्षुण्णो द्रौण्यस्त्रेण यथा भवान् ॥ ६५ ॥
नेपाली भावानुवादः भगवान्को कृपाले वज्रले टुक्रा-टुक्रा पार्दा पनि दितिको गर्भ मरेन, जसरी अश्वत्थामाको अस्त्रबाट तिमी मरेनौ ।। ६५ ।।
सकृदिष्ट्वाऽऽदिपुरुषं पुरुषो याति साम्यताम् ।
संवत्सरं किञ्चिदूनं दित्या यद् हरिरर्चितः ॥ ६६ ॥
नेपाली भावानुवादः एक पटकको आराधनाले त मुक्ति मिल्छ भने दितिले त एक वर्षसम्म भगवान्को सेवा गरेकी थिइन्, त्यसैले गर्भ सुरक्षित रह्यो ।। ६६ ।।
सजूरिन्द्रेण पञ्चाशद् देवास्ते मरुतोऽभवन् ।
व्यपोह्य मातृदोषं ते हरिणा सोमपाः कृताः ॥ ६७ ॥
नेपाली भावानुवादः ती उनान्चास बालकहरू इन्द्रसँग मिलेर सोम पिउने देवता (मरुद्गण) बने ।। ६७ ।।
दितिरुत्थाय ददृशे कुमाराननलप्रभान् ।
इन्द्रेण सहितान् देवी पर्यतुष्यदनिन्दिता ॥ ६८ ॥
नेपाली भावानुवादः ब्युँझिएपछि दितिले आफ्ना तेजस्वी छोराहरूलाई इन्द्रका साथमा देखी खुसी भइन् ।। ६८ ।।
अथेन्द्रमाह ताताहं आदित्यानां भयावहम् ।
अपत्यमिच्छन्त्यचरं व्रतमेतत् सुदुष्करम् ॥ ६९ ॥
नेपाली भावानुवादः उनले भनिन्— छोरा! मैले तिमीलाई भयभीत पार्ने छोरा पाउन यो व्रत गरेकी थिएँ ।। ६९ ।।
एकः सङ्कल्पितः पुत्रः सप्त सप्ताभवन् कथम् ।
यदि ते विदितं पुत्र सत्यं कथय मा मृषा ॥ ७० ॥
नेपाली भावानुवादः एउटा छोरा मागेकोमा उनान्चास कसरी भए? छोरा, सत्य कुरा बताऊ ।। ७० ।।
इन्द्र उवाच –
अम्ब तेऽहं व्यवसितं उपधार्यागतोऽन्तिकम् ।
लब्धान्तरोऽच्छिदं गर्भं अर्थबुद्धिर्न धर्मवित् ॥ ७१ ॥
नेपाली भावानुवादः इन्द्रले भने— आमा! मैले स्वार्थवश तपाईँको व्रतमा गल्ती भेटेपछि गर्भलाई टुक्रा पारिदिएँ ।। ७१ ।।
कृत्तो मे सप्तधा गर्भ आसन् सप्त कुमारकाः ।
तेऽपि चैकैकशो वृक्णाः सप्तधा नापि मम्रिरे ॥ ७२ ॥
नेपाली भावानुवादः मैले सात टुक्रा पारेँ र फेरि सातैलाई सात-सात टुक्रा पारेँ, तर भगवान्को कृपाले उनीहरू मरेनन् र उनान्चास बालक बने ।। ७२ ।।
ततस्तत् परमाश्चर्यं वीक्ष्य व्यवसितं मया ।
महापुरुषपूजायाः सिद्धिः काप्यानुषङ्गिणी ॥ ७३ ॥
नेपाली भावानुवादः यो त तपाईँले गर्नुभएको भगवान्को पूजाको प्रभाव हो भन्ने मैले बुझेँ ।। ७३ ।।
आराधनं भगवत ईहमाना निराशिषः ।
ये तु नेच्छन्त्यपि परं ते स्वार्थकुशलाः स्मृताः ॥ ७४ ॥
नेपाली भावानुवादः जसले निष्काम भावले भगवान्को सेवा गर्छ, उसलाई मोक्ष पनि चाहिँदैन, ऊ नै वास्तविक कुशल पुरुष हो ।। ७४ ।।
आराध्यात्मप्रदं देवं स्वात्मानं जगदीश्वरम् ।
को वृणीत गुणस्पर्शं बुधः स्यान्नरकेऽपि यत् ॥ ७५ ॥
नेपाली भावानुवादः आफूलाई समेत अर्पण गर्ने भगवान्सँग कसले पो विषय-भोग माग्ला र? यस्तो सुख त नरकमा पनि मिल्छ ।। ७५ ।।
तदिदं मम दौर्जन्यं बालिशस्य महीयसि ।
क्षन्तुमर्हसि मातस्त्वं दिष्ट्या गर्भो मृतोत्थितः ॥ ७६ ॥
नेपाली भावानुवादः मैले मुर्ख भएर गरेको अपराधलाई क्षमा गर्नुहोस्, सौभाग्यले तपाईँको गर्भ जीवित रह्यो ।। ७६ ।।
श्रीशुक उवाच –
इन्द्रस्तयाभ्यनुज्ञातः शुद्धभावेन तुष्टया ।
मरुद्भिः सह तां नत्वा जगाम त्रिदिवं प्रभुः ॥ ७७ ॥
नेपाली भावानुवादः दिति सन्तुष्ट भइन् र
इन्द्र मरुद्गणका साथ उनलाई ढोगेर स्वर्ग फर्किए ।। ७७ ।।
एवं ते सर्वमाख्यातं यन्मां त्वं परिपृच्छसि ।
मङ्गलं मरुतां जन्म किं भूयः कथयामि ते ॥ ७८ ॥
नेपाली भावानुवादः हे राजन्! मरुद्गणको जन्मको कथा यही हो, अब अरू के सुन्न चाहन्छौ? ।। ७८ ।।
यस अध्यायको सारांश :
श्रीमद्भागवतको यस अठारौँ अध्यायमा कश्यप ऋषिको वंश र मरुद्गणको जन्मको अद्भुत कथा वर्णन गरिएको छ। सुरुमा शुकदेवजीले सविता, भग, धाता र विधाताका सन्तानहरूको चर्चा गर्नुभयो। त्यसपछि कश्यपकी पत्नी दितिको प्रसङ्ग आउँछ, जसका पुत्रहरू हिरण्यकशिपु र हिरण्याक्षलाई भगवान् विष्णुले इन्द्रको पक्ष लिएर मारेका थिए। छोराहरूको मृत्युको शोक र क्रोधमा डुबेकी दितिले इन्द्रलाई मार्न सक्ने छोरा प्राप्त गर्ने सङ्कल्प गरिन्। उनले आफ्ना पति कश्यप ऋषिलाई अत्यन्त निष्ठा र सेवाले प्रसन्न पारिन्। कश्यपले प्रसन्न भई वर माग्न भन्दा दितिले इन्द्रहन्ता पुत्रको वरदान मागिन्। कश्यप ऋषिले आफ्नो वचन र इन्द्रको प्राण रक्षाको दोधारमा परी एउटा जुक्ति निकाले। उनले दितिलाई 'पुंसवन' नामक एक कठिन व्रतको विधि बताए र यसलाई एक वर्षसम्म त्रुटिरहित पालन गरेमा मात्र इन्द्रलाई मार्ने छोरा जन्मने बताए। दितिले कडा नियमका साथ व्रत सुरु गरिन्। इन्द्रले दितिको मनसाय बुझेर सेवकको भेषमा उनको सेवा गर्न थाले, तर उनको वास्तविक उद्देश्य व्रतमा गल्ती खोज्नु थियो। इन्द्रले लामो समयसम्म दितिको सेवा गर्दै कुनै कमजोरी फेला पार्न सकेनन्। एकदिन थकानका कारण दिति सन्ध्याकालमा आचमन र खुट्टा नधोई अपवित्र अवस्थामा निदाइन्। यही मौका छोपी इन्द्रले योगशक्तिद्वारा दितिको गर्भमा प्रवेश गरे र आफ्नो वज्रले गर्भलाई सात टुक्रा पारिदिए। गर्भका ती टुक्राहरू रुन थालेपछि इन्द्रले 'मा रुद' (नरोऊ) भन्दै प्रत्येक टुक्रालाई पुनः सात-सात टुक्रा पारिदिए। तर दितिले गरेको भगवान्को पूजाको प्रभावले ती कुनै पनि टुक्रा मरेनन् र उनान्चास जीवित बालक बने। ती बालकहरूले आफूलाई इन्द्रका भाइ बताएपछि इन्द्रले उनीहरूलाई मरुद्गणका रूपमा स्वीकार गरे। ब्युँझिएपछि दितिले आफ्ना छोराहरूलाई इन्द्रका साथमा देखिन् र सबै वृत्तान्त थाहा पाइन्। इन्द्रले आफ्नो अपराध स्वीकार गर्दै दितिसँग क्षमा मागे। दितिले पनि शुद्ध हृदयले इन्द्रलाई क्षमा दिइन् र ती बालकहरू सोमपान गर्ने देवता बने। यसरी असुर योनिमा जन्मिनुपर्ने बालकहरू भक्तिको प्रभावले देवताको कोटीमा पुगे। शुकदेवजीले यो कथा सुनाउँदै भक्तिको महिमा अपरम्पार भएको पुष्टि गर्नुभयो। यो कथाले कसरी सङ्कटमा पनि भगवान्को आश्रयले रक्षा गर्छ भन्ने देखाउँछ।
यस अध्यायको दार्शनिक पक्ष :
यस अध्यायले 'भक्ति र सङ्कल्प' को शक्तिलाई दार्शनिक रूपमा प्रस्तुत गरेको छ। दितिको क्रोध र कश्यपको विवशताले संसारमा 'माया' को प्रभाव कति बलियो हुन्छ भन्ने देखाउँछ। कश्यप ऋषिले स्त्रीको चरित्रका बारेमा गरेको टिप्पणीले आसक्तिले विवेक नष्ट गर्ने दर्शन बुझाउँछ। 'पुंसवन' व्रतले मानसिक र शारीरिक शुद्धिको महत्त्वलाई प्रस्ट पारेको छ। इन्द्रको कपटपूर्ण सेवाले स्वार्थका लागि मानिस कुन हदसम्म गिर्न सक्छ भन्ने कुराको चित्रण गर्छ। गर्भलाई वज्रले काट्दा पनि नमर्नुले 'दैवी रक्षा' को सिद्धान्तलाई पुष्टि गर्छ, जहाँ साधनाले प्रारब्धलाई पनि बदल्न सक्छ। मरुद्गणको जन्मले शत्रुतालाई पनि भ्रातृत्वमा बदल्न सकिन्छ भन्ने सन्देश दिन्छ। इन्द्रले आफ्नो गल्ती महसुस गरी क्षमा माग्नुले पश्चात्तापको दार्शनिक महत्त्व झल्काउँछ। दितिको क्षमाशीलताले क्रोधमाथि शान्तिको विजय भएको सङ्केत गर्छ। अन्ततः, सबै घटनाक्रम भगवान्कै इच्छा र भक्तिको फल हुन् भन्ने नै यसको सार हो।
No comments:
Post a Comment