#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – प्रथमोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
दशमः स्कंधः – प्रथमोऽध्यायः

राजोवाच –

(अनुष्टुप्)
कथितो वंशविस्तारो भवता सोमसूर्ययोः ।
राज्ञां चोभयवंश्यानां चरितं परमाद्भुःतम् ॥१॥

यदोश्च धर्मशीलस्य नितरां मुनिसत्तम ।
तत्रांशेनावतीर्णस्य विष्णोर्वीर्याणि शंस नः ॥२॥

राजा परीक्षितले सोधे– 
हे प्रभु ! तपाईंले चन्द्रवंश र सूर्यवंशको विस्तार र दुवै वंशका राजाहरूको अद्भुत चरित्रको बारेमा वर्णन गर्नुभयो । हे मुनिवर ! तपाईंले स्वभावैले धर्मप्रेमी यदुवंशको पनि विस्तृत वर्णन गरी बताउनु भयो । यही वंशमा बलरामजीका साथ अवतीर्ण हुनुभएका श्रीकृष्णका अवतार र पवित्र चरित्रको बारेमा सुनाउँनु होस् ।।१–२।। 

अवतीर्य यदोर्वंशे भगवान् भूतभावनः ।
कृतवान् यानि विश्वात्मा तानि नो वद विस्तरात् ॥३॥

भगवान श्रीकृष्ण सबै प्राणीहरूका जीवनदाता र परंआत्मा हुनुहुन्छ, वहाँले यदुकुलमा अवतार लिएर जुन जुन लीलाहरू गर्नुभयो त्यस बारेमा विस्तार पूर्वक हामीलाई सुनाउनुहोस ।।३।। 
(उपेंद्रवज्रा)

निवृत्ततर्षैः उपगीयमानाद्
     भवौषधात्छ्रोत्रमनोऽभिरामात् ।
क उत्तमश्लोकगुणानुवादात्
     पुमान् विरज्येत विना पशुघ्नात् ॥४॥

जो तृष्णरुपी प्यासबाट लागि सदा टाढा रहन्छन् तिनीहरू नै जीवनमुक्त महापुरुष हुन् । जसको बारेमा हामी अतृप्त रुपले गाना गाउँछौं, यस्ता जीवनमुक्त मुनिसंग भवरोगबाट पार गराउने रामबाण औषधि हुन्छ र जसले विषयी पुरुषका कान र मनलाई पनि परम आनन्द दिन्छ । भगवान्को यस्तो रसिलो अनुवादलाई मन नपराउने पशु हत्या गर्ने र आत्माघात गर्ने ब्यक्ति बाहेक अरु को हुन्छ र ? ।।४।।

(वंशस्थ)
पितामहा मे समरेऽमरञ्जयै –
     र्देवव्रताद्यातिरथैस्तिमिङ्‌गिलैः ।
दुरत्ययं कौरवसैन्यसागरं
     कृत्वातरन् वत्सपदं स्म यत्प्लवाः ॥५॥

श्रीकृष्ण ता मेरो कुल देवता नै हुनुहुन्छ । जतिबेला कुरुक्षेत्रमा महाभारत युद्ध भइरहेको थियो, देवताहरुलाई पनि जित्नसक्ने भिष्मपितामह जस्ता अतिरथिहरुसंग मेरा हजुरबुवा पाण्डवहरू युध्द लडिरहेका थिए, त्यसबेला कौरवहरूको सेना विशाल सागर जस्तै थियो । जसमा भीष्म जस्ता धेरै ठूला वीरहरू थिए, जसले ठूला–ठूला माछाहरूलाई पनि निल्न सक्ने माछा जस्तै गरी भय उत्पन्न गराउँदथे । तर मेरा स्वनामधन्य हजुरबुवाले भगवान श्री कृष्णको चरणकमलरुपी डुङ्गाको शरण लिएर त्यो समुन्द्रलाई बाटो हिँड्ने व्यक्तिले बाछोको खुरले पारेको खोविल्डा लाई पार गरेझैं सहजै पार गर्नुभयो ।।५।।

(इंद्रवज्रा)
द्रौण्यस्त्रविप्लुष्टमिदं मदङ्‌गं
     सन्तानबीजं कुरुपाण्डवानाम् ।
जुगोप कुक्षिङ्‌ गत आत्तचक्रो
     मातुश्च मे यः शरणं गतायाः ॥६॥

हे महाराज ! कौरव र पाण्डवको वीज भएका मेरो यो शरीर यस अगाडि नै अश्वत्थामाको ब्रह्मास्त्रले जलाएको थियो । त्यतिखेर जब मेरी आमाले भगवानको शरण लिनुभयो, उहाँले आफ्नो हातमा चक्र लिएर मेरी आमाको गर्भमा प्रवेश गर्नुभयो र मेरो रक्षा गर्नुभयो ।।६।।

वीर्याणि तस्याखिलदेहभाजा –
     मन्तर्बहिः पूरुषकालरूपैः ।
प्रयच्छतो मृत्युमुतामृतं च
     मायामनुष्यस्य वदस्व विद्वन् ॥७॥

उहाँ सबै प्राणीहरूमा अन्तरयामी रूपमा भित्र बसेर मोक्ष दिनुहुनेछ र काल रूपले बाहिर बसेर मृत्यु दिनुहुन्छ । यस्ता मायाद्वारा मनुष्य रूप धारण गर्नुहुने भगवानको चरित्रहरुको बारेमा वर्णन गरेर सुनाउँनु होस ।।७।।

(अनुष्टुप्)
रोहिण्यास्तनयः प्रोक्तो रामः संकर्षणस्त्वया ।
देवक्या गर्भसंबंधः कुतो देहान्तरं विना ॥८॥

हे प्रभु ! हजुरले भर्खरै बलरामजी रोहिणीका छोरा हुन् भनेर भन्नुभयो भने उनलाई पनि देवकीका छोरा हुन भनेर पनि भन्नुभयो । अर्को शरीर धारण नगरी एकै गर्भबाट यो कसरी सम्भव भयो ? ।।८।।

कस्मान्मुकुन्दो भगवान् पितुर्गेहाद् व्रजं गतः ।
क्व वासं ज्ञातिभिः सार्धं कृतवान् सात्वतां पतिः ॥९॥

मुकुन्द भगवान् श्रीकृष्ण आफ्नो पिताको घर छोडेर व्रजमा (गोकुल) किन जानुभयो ? यदुवंश शिरोमणि भक्तवत्सल वहाँ आफ्ना बान्धवहरु संग रहँदा कहाँ बस्नुभयो ? ।।९।।

व्रजे वसन् किमकरोन्मधुपुर्यां च केशवः ।
भ्रातरं चावधीत् कंसं मातुरद्धातदर्हणम् ॥१०॥

भगवानले व्रज र मथुरामा रहँदा के–के काम गर्नुभयो ? अनि महाराज ! आफ्नै हातले आमाको भाइ  (मामा) कंसलाई किन मार्नुभयो ?।।१०।

देहं मानुषमाश्रित्य कति वर्षाणि वृष्णिभिः ।
यदुपुर्यां सहावात्सीत् पत्न्यःि कत्यभवन् प्रभोः ॥११॥

भगवान् मानव शरीर धारण गरेर यदुवंशीहरूसँग द्वारकापुरीमा कति वर्ष बस्नुभयो ? र वहाँ प्रभुका कति पत्नीहरू थिए ? ।।११।।

एतदन्यच्च सर्वं मे मुने कृष्णविचेष्टितम् ।
वक्तुमर्हसि सर्वज्ञ श्रद्दधानाय विस्तृतम् ॥१२॥

हे सर्वज्ञ मुने ! मैले सोधेका र न सोधेका पनि श्रीकृष्णका सबै चरित्रहरू मलाई विस्तृत रूपमा बताउनुहोस् किनकी म सबै कथाहरु भक्तिपूर्वक सुन्न चाहन्छु ।।१२।।

नैषातिदुःसहा क्षुन्मां त्यक्तोदमपि बाधते ।
पिबन्तं त्वन्मुखाम्भोजच्युतं हरिकथामृतम् ॥१३॥

हे प्रभो ! मैले खानेकुरा बिर्सिदिएको छु, पानी समेत त्यागेको छु । तैपनि मलाई त्यो असह्य भोक र तिर्खाले अलिकति पनि सताउँदैन; किनकी तपाईको मुखबाट निस्केको अमृतरुपी भगवानका लीलाकथा पिइरहेको छु ।।१३।।

सूत उवाच–
(वसंततिलका)
एवं निशम्य भृगुनन्दन साधुवादं
     वैयासकिः स भगवानथ विष्णुरातम् ।
प्रत्यर्च्य कृष्णचरितं कलिकल्मषघ्नं
     व्याहर्तुमारभत भागवतप्रधानः ॥१४॥

सुतजी भदछन् – हे शौनकजी ! परीक्षित बाट यस्तो कुरा सुनेर भगवतका अग्रगण्यप्रेमी श्री शुकदेवजी महाराजले कलिको मललाई नाश गर्ने भगवानको ती लीला कथाहरुको बारेमा वर्णन गर्न थाल्नुभयो ।।१४।।

शुक उवाच–
(अनुष्टुप्)
सम्यग्व्यवसिता बुद्धिस्तव राजर्षिसत्तम ।
वासुदेवकथायां ते यज्जाता नैष्ठिकी रतिः ॥१५॥

श्रीशुकदेवजीले भन्नुभयो–  हे राजाहरूमा श्रेष्ठ महाराज परीक्षत ! तपाईंले निर्मल बुध्दिले भगवान्को लीला कथा सुन्ने जुन निर्णय गर्नुभयो त्यो सम्मानजनक छ; किनकि वासुदेवको लीला कथामा तपाईको बलियो प्रेम भैसकेको छ ।।१५।।

वासुदेवकथाप्रश्नः पुरुषांस्त्रीन् पुनाति हि ।
वक्तारं पृच्छकं श्रोतॄंस्तत्पादसलिलं यथा ॥१६॥

जसरी गंगाको जल वा भगवान शालग्रामको चरणको अमृतले सबैलाई पवित्र बनाउँछ त्यसरी नै भगवान श्रीकृष्णको कथाको बारेमा प्रश्न सोध्दा वक्ता, प्रश्नकर्ता र श्रोता तीनैजना पवित्र हुन्छन् । ।।१६।।

भूमिर्दृप्तनृपव्याजदैत्यानीकशतायुतैः ।
आक्रान्ता भूरिभारेण ब्रह्माणं शरणं ययौ ॥१७॥

हे परीक्षित ! त्यसबेला हजारौं राक्षसहरूको समुहले राजाको रूप धारण गरी पृथ्वीमा आक्रमण गरेका कारण यसबाट मुक्ति पाउनको लागि पृथ्वी ब्रह्माको शरणमा गइन्  ।।१७।।

गौर्भूत्वाश्रुमुखी खिन्ना क्रन्दन्ती करुणं विभोः ।
उपस्थितान्तिके तस्मै व्यसनं स्वमवोचत ॥१८॥

त्यतिबेला पृथ्वीले गाईको रूप धारण गरेकी पृथ्वीले आँखाबाट आँसु बगाउदै । उनी भगवान ब्रह्माकहाँ गए र आफ्नो दुःखको बारेमा बताईन ।।१८।।

ब्रह्मा तदुपधार्याथ सह देवैस्तया सह ।
जगाम सत्रिनयनस्तीरं क्षीरपयोनिधेः ॥१९॥

ब्रह्माजीले उनको कुरा सहानुभूतिपूर्वक सुनिसकेपछि शंकर र अन्य देवताहरू सहित गाईको रूपमा आएकी पृथ्वीलाई संगै लिएर क्षीरसागरको किनारमा जानुभयो ।।१९।। 

तत्र गत्वा जगन्नाथं देवदेवं वृषाकपिम् ।
पुरुषं पुरुषसूक्तेन उपतस्थे समाहितः ॥२०॥

क्षीरसागरको किनारमा पुगेपछि देवताहरू सहित भएर ब्रह्माजीले पुरुषसूक्तद्वारा देवाधिदेव परमपुरुष जगन्नाथ भगवानको स्तुति गर्नुभयो ।।२०।। 

 (वंशस्थ)
गिरं समाधौ गगने समीरितां
     निशम्य वेधास्त्रिदशानुवाच ह ।
गां पौरुषीं मे शृणुतामराः पुन–
     र्विधीयतामाशु तथैव मा चिरम् ॥२१॥

समाधि अवस्थामा रहनुभएका ब्रहजीले आकाशवाणीबाट भएका कुरा सुन्नुभयो । यसपछि जगतका रचयिता ब्रह्माजीले देवताहरूलाई भन्नुभयो– हे देवताहरू ! भगवान्ले भन्नुभएको कुरा मैले सुनें अब तपाईंहले पनि मबाट सो कुरा सुन्नुहोस् र यसलाई चाँढै नै पालना गर्नुहोस् ।।२१।। 

पुरैव पुंसावधृतो धराज्वरो
     भवद्‌भिरंशैर्यदुषूपजन्यताम् ।
स यावदुर्व्या भरमीश्वरेश्वरः
     स्वकालशक्त्या क्षपयंश्चरेद् भुवि ॥२२॥

भगवान्लाई पृथ्वीको कष्टको बारेमा पहिले नै थाहा पाइसक्नु भएकोछ । त्यसैले पृथ्वीको भार हटाउनका लागि जबसम्म उहाँले आफ्नो काल शक्तिद्वारा पृथ्वीमा अवतार लिएर आफ्ना रहनु हुन्छ, त्यहिले सम्म तपाईहरू पनि आफ्ना वहाँको अंशावतारको रुपमा यदु कुलमा जन्म लिएर उहाँको कार्यमा सहयोग गर्नुपर्छ ।।२२।।
 
(अनुष्टुप्)
वसुदेवगृहे साक्षाद् भगवान् पुरुषः परः ।
जनिष्यते तत्प्रियार्थं संभवन्तु सुरस्त्रियः ॥२३॥

वासुदेवजीको घरमा साक्षात पुरुषोत्तम भगवान स्वयं प्रकट हुनेछन् । देवांगनाहरूले पनि उहाँको सेवा गर्नको लागि जन्म लिनुहोस् ।।२३।।

वासुदेवकलानन्तः सहस्रवदनः स्वराट् ।
अग्रतो भविता देवो हरेः प्रियचिकीर्षया ॥२४॥

भगवानको सहयोगका लागि भगवान् कै अंशका रुपमा हजारौं मुख भएका स्वयम्प्रकाश भगवान अनन्तको वहाँभन्दा अगाडि नै जेठो भाइको रूपमा अवतार हुनेछ ।।२४।।

विष्णोर्माया भगवती यया सम्मोहितं जगत् ।
आदिष्टा प्रभुणांशेन कार्यार्थे संभविष्यति ॥२५॥

जगतलाई नै मोहित गराउने योगमाया पनि भगवान्को लीला कार्यलाई सघाउनको लागि, उहाँको आदेश लिएर अंशका रूपमा अवतार लिनुहुन्छ ।।२५।।

शुक उवाच–
इत्यादिश्यामरगणान् प्रजापतिपतिर्विभुः ।
आश्वास्य च महीं गीर्भिः स्वधाम परमं ययौ ॥२६॥

श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! प्रजापतिहरूका स्वामी ब्रह्मजीले देवताहरूलाई यसरी आदेश दिनुभयो र पृथ्वीलाई सम्झाएर आफ्नो परमधाममा जानुभयो ।।२६।।

शूरसेनो यदुपतिर्मथुरामावसन् पुरीम् ।
माथुराञ्छूरसेनांश्च विषयान् बुभुजे पुरा ॥२७॥

प्राचीन कालमा यदुवंशी शुरसेन राजा थिए । उनी मथुरापुरीमा बसेर सुरसेन लगायतका राज्यहरुमा राज्य गर्दथे ।।२७।।

राजधानी ततः साभूत् सर्वयादवभूभुजाम् ।
मथुरा भगवान् यत्र नित्यं सन्निहितो हरिः ॥२८॥

त्यसबेलादेखि नै श्रीहरि वास गर्ने मथुरा यदुवंशी राजारूको राजधानी बन्यो ।।२८।।

तस्यां तु कर्हिचिच्छौरिर्वसुदेवः कृतोद्‌वहः ।
देवक्या सूर्यया सार्धं प्रयाणे रथमारुहत् ॥२९॥

एक पटक मथुरामा शुरका छोरा वसुदेवजीले विवाह गरे र आफ्नी नवविवाहिता पत्नी देवकीसँग घर जानका लागि रथमा चढे ।।२९।। 

उग्रसेनसुतः कंसः स्वसुः प्रियचिकीर्षया ।
रश्मीन् हयानां जग्राह रौक्मै रथशतैर्वृतः ॥३०॥

त्यसबखत स्वर्णद्वारा जडान गरिएका अनेकौं रथका बिचमा रहेको उग्रसेनको छोरो कंस आफ्नी बहिनी देवकीलाई खुसी पार्न उनलाई घर पुर्याउन भनि बहिनी ज्वाई चढेको रथको घोडाको लगाम समात्यो ।।३०।। 

चतुःशतं पारिबर्हं गजानां हेममालिनाम् ।
अश्वानामयुतं सार्धं रथानां च त्रिषट्शतम् ॥३१॥

दासीनां सुकुमारीणां द्वे शते समलङ्कृशते ।
दुहित्रे देवकः प्रादात् याने दुहितृवत्सलः ॥३२॥

देवकीका पिता देवक थिए । छोरीप्रति उनको ठूलो माया थियो । दुलहीलाई बिदाइ गर्दा उनले सुनको हारले सजिएका चार सय हात्ती, पन्ध्र हजार घोडा, अठार सय रथ र दुई सय सुन्दरी दासीहरू दाइजोको रुपमा दिए ।।३१–३२।। 

शंखतूर्यमृदङ्‌गाश्च नेदुर्दुन्दुभयः समम् ।
प्रयाणप्रक्रमे तावत् वरवध्वोः सुमङ्‌गलम् ॥३३॥

विदाईका बेला दुलाहा र दुलहीको शुभकामनाका लागि शंख, तुरही, मृदंग र दुन्दुभी एकैसाथ बज्न थाले ।।३३।।

पथि प्रग्रहिणं कंसमाभाष्याहाशरीरवाक् ।
अस्यास्त्वामष्टमो गर्भो हन्ता यां वहसेऽबुध ॥३४॥

बाटोमा कंसले घोडाको लगाम समातेर रथ चलाइरहेको बेलामा उसलाई सम्बोधन गर्दै आकाशवाणी भयो– हे मुर्ख कंस ! तैले जसलाई पुर्याउन भनि रथमा लिएर हिडेकोछस् उनैको आठौं गर्भको बालक बाट तेरो हत्या हुनेछ ।।३४।।

इत्युक्तः स खलः पापो भोजानां कुलपांसनः ।
भगिनीं हन्तुमारब्धः खड्गपाणिः कचेऽग्रहीत् ॥३५॥

यस्तो आकाशवाणी सुनेर त्यो भोजवंशको कलंक दुष्ट कंसले आफ्नी बहिनी देवकीलाई मार्न भनि हातका तरवार उठाएर कपालको चुल्ठो समात्यो ।।३५।।

तं जुगुप्सितकर्माणं नृशंसं निरपत्रपम् ।
वसुदेवो महाभाग उवाच परिसान्त्वयन् ॥३६॥

अति निर्दयी काम गर्ने निर्लज्ज त्यो कंसलाई खुसी पार्नको लागि महात्मा वसुदेवले उसलाई शान्त पार्दै भने– ।।३६।।

वसुदेव उवाच–
श्लाघनीयगुणः शूरैर्भवान् भोजयशस्करः ।
स कथं भगिनीं हन्यात् स्त्रियमुद्‌वाहपर्वणि ॥३७॥

वसुदेवजीले भने– हे राजकुमार ! तपाईं भोज वंशको एक आशाजनक पात्र हुनुहुन्छ । यिनी पहिलो महिला हनु दोस्रो तपाईकी बहिनी हुन र तेस्रो यो विवाहको यस्तो शुभअवसर अवस्थामा यिनलाई करी मार्नुहुन्छ ? ।।३७।। 

मृत्युर्जन्मवतां वीर देहेन सह जायते ।
अद्य वाब्दशतान्ते वा मृत्युर्वै प्राणिनां ध्रुवः ॥३८॥

हे वीर ! जसको जन्म हुन्छ उसको मृत्यु पनि अवस्य हुन्छ ।  मृत्यु त शरीरसँगै आएको हुन्छ । आज होस् वा सय वर्षपछि जीवित प्राणीको मृत्यु अवश्य हुन्छ ।।३८।। 

देहे पञ्चत्वमापन्ने देही कर्मानुगोऽवशः ।
देहान्तरमनुप्राप्य प्राक्तनं त्यजते वपुः ॥३९॥

कर्मको वशमा रहेका जीवको मृत्यु पश्चात यो शरीर छाडेर अर्को शरीर धारण गर्दछ र यस शरीरलाई छोड्दछ ।।३९।। 

व्रजंस्तिष्ठन् पदैकेन यथैवैकेन गच्छति ।
यथा तृणजलूकैवं देही कर्मगतिं गतः ॥४०॥

जसरी मानिस हिड्दा एउटा खुट्टा पहिलेको ठाउँमै टेकेर मात्रै उठ्दछ र जसरी जुकाले अर्को टेक्ने आधार पाएपछि मात्र  टेकेको ठाँउ छोड्छ, त्यसैगरी जीवले पनि कर्मगतिको आधार पाएपछि जन्मजन्मान्तर भट्कदै हिड्ने जीवले यो शरीर छोड्छ ।।४०।।
 
(इंद्रवंशा)
स्वप्ने यथा पश्यति देहमीदृशं
     मनोरथेनाभिनिविष्टचेतनः ।
दृष्टश्रुताभ्यां मनसानुचिन्तयन्
     प्रपद्यते तत् किमपि ह्यपस्मृतिः ॥४१॥

जसरी देखेका र सुनेका कुराहरुलाई चाहना गरेर ती विषयहरुको बारेमा चित्त लगाउँने ब्यक्तिले वास्तविक शरीरलाई विर्सेर स्वप्नावस्थाको शरीरलाई रमाउछ, त्यसरी नै कर्म गतिको शरीरमा रमाउने जीवले पनि पहिलाको शरीरलाई भुलेर अर्को शरीर प्राप्त गर्दछ ।।४१।।

यतो यतो धावति दैवचोदितं
     मनो विकारात्मकमाप पञ्चसु ।
गुणेषु मायारचितेषु देह्यसौ
     प्रपद्यमानः सह तेन जायते ॥४२॥

दैवका प्रेरणाले गर्दा मनमा अनेक विकार हुन्छ । मायाको प्रपन्चमा परि शरीर जहाँ जहाँ जान्छ, त्यहाँ उसले पांचभौतिक गुणले युक्त शरीर प्राप्त गर्दछ र त्यही मन संग मग्न भएर जीवात्माले पनि संगै जन्म लिन्छ ।।४२।। 

ज्योतिर्यथैवोदकपार्थिवेष्वदः
     समीरवेगानुगतं विभाव्यते ।
एवं स्वमायारचितेष्वसौ पुमान्
     गुणेषु रागानुगतो विमुह्यति ॥४३॥

जसरी पानीले भरिएको घडामा देखिने सूर्य हावा लाग्दा पानी हल्लदा सूर्यनै हल्लिएको जस्तो भान हुन्छ । त्यसरी नै जीवात्माहरु पनि अविज्ञाताका कारण सृजित शरीरमा मोहित भएर आसक्तिको कारणले जन्मेको अथवा मरेको भनि ठान्दछ ।।४३।।

(अनुष्टुप्)
तस्मान्न कस्यचिद् द्रोहमाचरेत् स तथाविधः ।
आत्मनः क्षेममन्विच्छन् द्रोग्धुर्वै परतो भयम् ॥४४॥

त्यसैले आफ्नो कल्याण चाहनेले कसैलाई पनि धोका दिनु हुँदैन; किनभने अरुको द्रोह गर्नेलाई परलोकमा डराउनु पर्ने हुन्छ ।।४४।। 

एषा तवानुजा बाला कृपणा पुत्रिकोपमा ।
हन्तुं नार्हसि कल्याणीमिमां त्वं दीनवत्सलः ॥४५॥

हे कंस ! यि त तपाईंको कान्छी बहिनी हुन् । तपाईकी छोरी समान छिन्  । उनको भर्खरै विवाह भएको छ र उनको विवाहको मांगलिक श्रृंगार पनि मेटिएको छैन । यस्तो अवस्थामा दुःखी केटीको हत्या गर्नु ठीक होइन  ।।४५।। 

शुक उवाच–
एवं स सामभिर्भेदैर्बोध्यमानोऽपि दारुणः ।
न न्यवर्तत कौरव्य पुरुषादाननुव्रतः ॥४६॥

श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! यसरी वसुदेवजीले उसको तारिफ प्रसंशा गर्दै भयद्वारा धेरै कुरा बुझाए तर त्यो क्रूर स्वभावको कंसले बहिनीलाई मार्ने कुराबाट पछि हटेन ।।४६।। 

निर्बन्धं तस्य तं ज्ञात्वा विचिन्त्यानकदुन्दुभिः ।
प्राप्तं कालं प्रतिव्योढुमिदं तत्रान्वपद्यत ॥४७॥

कंशले आफ्नो हठ नत्यागेको देखेर वसुदेवजीले यो समयलाई कुनै न कुनै तरिकाले सार्ने विचार गरे र यस्तो निर्णयमा पुगे ।।४७।।

मृत्युर्बुद्धिमतापोह्यो यावद्बुतद्धिबलोदयम् ।
यद्यसौ न निवर्तेत नापराधोऽस्ति देहिनः ॥४८॥

बुद्धिमान मानिसले आफ्नो बुद्धि र बलले भ्याएसम्म मृत्युबाट बच्ने प्रयास गर्नुपर्छ । यदि उसले प्रयास गर्दा पनि टार्न सकेन भने प्रयास गर्ने व्यक्तिको कुनै दोष हुदैन ।।४८।।

प्रदाय मृत्यवे पुत्रान् मोचये कृपणामिमाम् ।
सुता मे यदि जायेरन् मृत्युर्वा न म्रियेत चेत् ॥४९॥

त्यसैले यो मरणशील कंसलाई मेरो छोरा दिने वचन दिएर मैले यी दुःखी भएकी देवकीलाई बचाउनु पर्छ । यदि छोराहरू भए भने र कंश पनि बाँचिरह्यो भने पछि बुझाउँला ? ।।४९।।

विपर्ययो वा किं न स्याद् गतिर्धातुर्दुरत्यया ।
उपस्थितो निवर्तेत निवृत्तः पुनरापतेत् ॥५०॥

सृष्टिकर्ताको नियमलाई बुझ्न धेरै गाह्रो छ यदि विपरित भयो भने  । मेरो छोराले यसलाई मार्न पनि सक्छ किनभने कहिले अगाडि आएको मृत्यु पनि टरेर जान्छ र कहिले टरेर गएको मृत्यु पनि पुन आउँछ ।।५०।।

(मिश्र)
अग्नेर्यथा दारुवियोगयोगयो–
     रदृष्टतोऽन्यन्न निमित्तमस्ति ।
एवं हि जन्तोरपि दुर्विभाव्यः
     शरीर संयोगवियोगहेतुः ॥५१॥

जङ्गलमा आगो लाग्दा कुनै टाढा भएका दाउरा जल्छन् र कुनै नजिक भएका पनि जल्दैन यी सबैको अदृश्य कारणबाहेक अरू कुनै कारण छैन । त्यसैगरी कुन जीवको शरीर कुन कारणले रहन्छ र कुन कारणले नष्ट हुन्छ भन्ने पत्ता लगाउन पनि निकै कठिन हुन्छ  ।।५१।। 

(अनुष्टुप्)
एवं विमृश्य तं पापं यावदात्मनिदर्शनम् ।
पूजयामास वै शौरिर्बहुमानपुरःसरम् ॥५२॥

आफ्नो बुद्धि अनुसार यस्तो निर्णय लिएर, वसुदेवजीले पापी कंसको धेरै आदरपूर्वक प्रशंसा गरेर प्रसन्न पारे ।।५२।। 

प्रसन्न वदनाम्भोजो नृशंसं निरपत्रपम् ।
मनसा दूयमानेन विहसन्निदमब्रवीत् ॥५३॥

हे परीक्षित ! वसुदेवजीको हृदयमा ठूलो पीडा भएपनि उज्यालो मुख लगाउदै त्यो निर्दयी कंसलाई भने– ।।५३।।

वसुदेव उवाच–
न ह्यस्यास्ते भयं सौम्य यद् वागाहाशरीरिणी ।
पुत्रान् समर्पयिष्येऽस्या यतस्ते भयमुत्थितम् ॥५४॥

वसुदेवजीले भने– हे सौम्य ! आकाशवाणीले जे कुरा भन्यो त्यसमा देवकीसंग तपाईको कुनै डर होइन । डर त मेरा छोराहरुसंग हो त्यसैले म उनीबाट जन्मेका छोराहरूलाई ल्याएर तपाईलाई सुम्पिदिनेछु ।।५४।।

शुक उवाच–
स्वसुर्वधान्निववृते कंसस्तद्वाक्यसारवित् ।
वसुदेवोऽपि तं प्रीतः प्रशस्य प्राविशद् गृहम् ॥५५॥

श्रीशुकदेवजी भन्नुहुन्छ– 
हे परीक्षित ! त्यसपछि कंसले वसुदेवजीको भनाइ मिथ्या होइन भन्ने सोचेर उनको कुरामा विश्वास गर्यो र बहिनी देवकीलाई मार्ने विचार त्याग्यो । यसबाट वासुदेवजी धेरै प्रसन्न भए र उसको प्रशंसा गरे र आफ्नो घरतर्फ लागे ।।५५।।

अथ काल उपावृत्ते देवकी सर्वदेवता ।
पुत्रान् प्रसुषुवे चाष्टौ कन्यां चैवानुवत्सरम् ॥५६॥

देवकीको शरीरमा सबै देवताहरूको बास थियो । त्यसपछि समय आएपछि प्रत्येक वर्ष देवकीको गर्भबाट आठ छोरा र एक छोरी जन्मिए ।।५६।। 

कीर्तिमन्तं प्रथमजं कंसायानकदुन्दुभिः ।
अर्पयामास कृच्छ्रेण सोऽनृतादतिविह्वलः ॥५७॥

पहिलो जन्मिएको कीर्तिमान नाम गरेको बालकलाई वसुदेवजीले ल्याएर कंसलाई दिए । यसो गर्दा, उनको मनमा असह्य पीडा थियो तापनि आफ्नो वचन झुटा नहोस भन्नका लागि उने यसो गरे ।।५७।।

किं दुःसहं नु साधूनां विदुषां किमपेक्षितम् ।
किमकार्यं कदर्याणां दुस्त्यजं किं धृतात्मनाम् ॥५८॥

हे परीक्षित ! सद्गुणीले ठूला–ठूला कठिनाइहरू पनि सहन सक्छन्, ज्ञानीहरूले कुनै पनि कुराको अपेक्षा गर्दैनन्, खराव आचरण भएका ब्यक्तिका लागि गर्न नहुने भन्ने केही कुरा पनि हुदैन र भगवानलाई हृदयमा राखेका आत्मज्ञानीले त्याग्न नसक्ने भन्ने कुरा पनि केही हुदैन ।।५८।।

दृष्ट्वां समत्वं तच्छौरेः सत्ये चैव व्यवस्थितिम् ।
कंसस्तुष्टमना राजन् प्रहसन्निदमब्रवीत् ॥ ५९ ॥

हे परीक्षित ! वासुदेवजी आफ्नो छोराको जीवन र मृत्युमा पनि समभाव देखेर कंसले खुसी भएर हाँस्दै वसुदेवजीलाई भन्यो ।।५९।। 

प्रतियातु कुमारोऽयं न ह्यस्मादस्ति मे भयम् ।
अष्टमाद् युवयोर्गर्भान्मृत्युर्मे विहितः किल ॥६०॥

हे वसुदेवजी ! तिम्रो पहिलो बालकलाई म लिन्न फिर्ता लैजाउ, यसबाट मलाई कुनै डर छैन । आकाशवाणीले भने अनुसार देवकीको आठौं गर्भबाट जन्मेको सन्तानबाट मलाई डर छ ।।६०।। 

तथेति सुतमादाय ययावानकदुन्दुभिः ।
नाभ्यनन्दत तद्वाक्यमसतोऽविजितात्मनः ॥६१॥

वसुदेवजीले भने– हस् भनेर आफ्नो बालक लिएर फर्के । तर उनलाई कंस धेरै दुष्ट छ भन्ने थाहा थियो त्यसैकारण उसको भनाइलाई उनले विश्वास गरेनन् ।।६१।।

नन्दाद्या ये व्रजे गोपा याश्चामीषां च योषितः ।
वृष्णयो वसुदेवाद्या देवक्याद्या यदुस्त्रियः ॥६२॥

सर्वे वै देवताप्राया उभयोरपि भारत ।
ज्ञातयो बन्धुसुहृदो ये च कंसमनुव्रताः ॥६३॥

एतत् कंसाय भगवाञ्छशंसाभ्येत्य नारदः ।
भूमेर्भारायमाणानां दैत्यानां च वधोद्यमम् ॥६४॥

हे परीक्षित ! यहाँ भगवान नारद कंसकहाँ आएर भने, हे कंस ! व्रज निवासी नन्द आदि गोपहरू, तिनीहरूका स्त्रीहरू, वसुदेव आदि वृष्णिवंशी यादवहरू, देवकीहरू आदि यदुवंशका नारीहरू सबै आफन्तहरू हुन् र उनीहरु सबै  सबै देवता हुन् । यस समयमा तिम्रो सेवा गर्ने सेवकहरु पनि देवता हुन् । दानवका कारण पृथ्वीको भार बढेकोले अहिले दैत्यहरुको बध गर्ने प्रयास भइरहेको छ । ६२–६४।। 

ऋषेर्विनिर्गमे कंसो यदून् मत्वा सुरानिति ।
देवक्या गर्भसंभूतं विष्णुं च स्ववधं प्रति ॥६५॥

देवकीं वसुदेवं च निगृह्य निगडैर्गृहे ।
जातं जातमहन् पुत्रं तयोरजनशंकया ॥६६॥

नारदजीले यसो भनेर गएपछि कंसले यदुवंशी देवता हुन् र उनलाई मार्नका लागि देवकीको गर्भबाट जन्मने क्यक्ति विष्णु नै हुनसक्ने भन्ने सोचेर उसले देवकी र वासुदेवलाई हातकडी लगाएर जेलमा राख्यो र उनीहरूका सबै छोराहरूलाई मार्दै गयो ।।६५–६६।। 

मातरं पितरं भ्रातॄन् सर्वांश्च सुहृदस्तथा ।
घ्नन्ति ह्यसुतृपो लुब्धा राजानः प्रायशो भुवि ॥६७॥

हे परीक्षित ! अरुको लोभमा परेका पृथ्वीका राजाहरूले आफ्नो स्वार्थका लागि आफ्ना बाबुआमा, दाजुभाइ र आफ्ना शुभचिन्तक र मिल्ने साथीहरूलाई समेत मार्ने गरेको प्रायः देखिन्छ ।।६७।।

आत्मानमिह सञ्जातं जानन् प्राग् विष्णुना हतम् ।
महासुरं कालनेमिं यदुभिः स व्यरुध्यत ॥६८॥

कंसलाई पहिलो जन्ममा आफु कालनेमी असुर भएको र त्यसबेला विष्णुले आफुलाई मारेका थिए भन्ने बुझेर उसले यदुवंशीहरु विरुद्ध कडा कारबाही गर्ने निर्णय गर्यो ।।६८।। 

उग्रसेनं च पितरं यदुभोजान्धकाधिपम् ।
स्वयं निगृह्य बुभुजे शूरसेनान् महाबलः ॥६९॥

कंस धेरै बलवान थियो । उसले यदु, भोज र अन्धकवंशका शासक आफ्नै बाबु उग्रसेनलाई पनि कारागारमा कैद गरे र स्वयम् शुरसेन र मथुरा देशको शासन गर्न थाल्यो ।।६९।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे प्रथमोध्याऽयः ॥ १ ॥