/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

एकादशस्कन्धः – अष्टमोऽध्यायः

श्रीमद्भागवत महापुराण

एकादशस्कन्धः – अष्टमोऽध्यायः



ब्राह्मण उवाच
सुखमैन्द्रियकं राजन् स्वर्गे नरक एव च ।
देहिनां यद् यथा दुःखं तस्मान्नेच्छेत तद् बुधः ।। १ ।।
नेपाली भावानुवादः हे राजा! देहधारी प्राणीहरूले जसरी विना इच्छा प्रतिकूल प्रारब्धका कारण दुःख पाउँछन्, त्यसरी नै इन्द्रिय सम्बन्धी सुख पनि स्वर्ग वा नरक जहाँ भए पनि प्राप्त भइहाल्छ। त्यसैले बुद्धिमान् मानिसले विषय-सुखको इच्छा नगरोस् ।।१।।
 
ग्रासं सुमृष्टं विरसं महान्तं स्तोकमेव वा ।
यदृच्छ्यैवापतितं ग्रसेदाजगरोऽक्रियः ।। २ ।।
नेपाली भावानुवादः आफूलाई प्राप्त भएको भोजन मीठो होस् वा नमिठो, धेरै होस् वा थोरै, दैव इच्छाले जे-जस्तो प्राप्त हुन्छ, त्यसैलाई अजिंगर जस्तै निष्क्रिय भएर ग्रहण गरोस् ।।२।।
 
शयीताहानि भूरीणि निराहारोऽनुपक्रमः ।
यदि नोपनमेद् ग्रासो महाहिरिव दिष्टभुक् ।। ३ ।।
नेपाली भावानुवादः यदि कुनै प्रयत्न नगरी धेरै दिनसम्म पनि खानेकुरा प्राप्त भएन भने, दैवको विधानलाई स्विकार्दै अजिंगर झैँ केही उद्योग नगरी भोकै सुतेर दिनहरू बिताओस् ।।३।।
 
ओजः सहोबलयुतं बिभ्रद् देहमकर्मकम् ।
शयानो वीतनिद्रश्च नेहेतेन्द्रियवानपि ।। ४ ।।
नेपाली भावानुवादः शरीरमा मनोबल, इन्द्रियबल र शारीरिक बल भए तापनि योगी निष्क्रिय रहेर समय बिताओस्। निद्रा नलागे पनि निदाएजस्तो अवस्थामा रहोस् र समर्थ इन्द्रियहरू भएर पनि कुनै सांसारिक चेष्टा नगरोस्। यो अजिंगर-वृत्ति मैले अजिंगरबाटै सिकेको हुँ ।।४।।
 
मुनिः प्रसन्नगम्भीरो दुर्विगाह्यौ दुरत्ययः ।
अनन्तपारो ह्यक्षोभ्यः स्तिमितोद इवार्णवः ।। ५ ।।
नेपाली भावानुवादः मुनि सधैँ प्रसन्न र गम्भीर हुनुपर्दछ। उनको आशय बुझ्न कठिन, पार पाउन असम्भव, अनन्त र रागद्वेषले रहित हुनुपर्दछ। उनी वायु नचलेको समयको समुद्र जस्तै निश्चल र क्षोभरहित हुनुपर्दछ ।।५।।
 
समृद्धकामो हीनो वा नारायणपरो मुनिः ।
नोत्सपेंत न शुष्येत सरिद्धिरिव सागरः ।। ६ ।।
नेपाली भावानुवादः नारायणको परायण भएको मुनिले कामनाहरू पूरा हुँदा (सम्पत्ति प्राप्त हुँदा) उफ्रिनु वा हर्षित हुनु हुँदैन र ती हराउँदा (निर्धन हुँदा) दुःखी हुनु हुँदैन। जसरी वर्षामा नदीहरू बढेर आउँदा समुद्र बढ्दैन र खडेरीमा नदी सुक्दा समुद्र घट्दैन, योगी पनि सधैँ एकनास रहनुपर्छ भन्ने शिक्षा मैले समुद्रबाट पाएको छु ।।६।।
 
दृष्ट्वा स्त्रियं देवमायां तद्भावैरजितेन्द्रियः ।
प्रलोभितः पतत्यन्धे तमस्यग्नौ पतङ्गवत् ।। ७ ।।
नेपाली भावानुवादः इन्द्रियलाई वशमा राख्न नसकेको व्यक्तिले भगवानको मायास्वरुप नारीलाई देखेर र उनको हाउभाउमा मोहित भएर त्यसरी नै अन्धकारपूर्ण नरकमा खस्दछ, जसरी उज्यालो लोभमा पुतली आगोमा परेर नष्ट हुन्छ ।।७।।
 
योषिद्धिरण्याभरणाम्बरादि
    द्रव्येषु मायारचितेषु मूढः ।
प्रलोभितात्मा ग्रुपभोगबुद्ध्या
    पतङ्गवन्नश्यति नष्टदृष्टिः ।। ८ ।।
नेपाली भावानुवादः अज्ञानी मानिस ईश्वरीय मायाद्वारा निर्मित स्त्री, सुन, गहना, वस्त्र र धनसम्पत्ति आदि भोग्य वस्तुहरूमा आशक्त भई लोभिएर विवेकशून्य हुन्छ। यस्तो व्यक्ति आगोमा हाम फाल्ने पुतली झैँ स्वयं नष्ट हुन्छ। यो शिक्षा मैले पुतलीबाट सिकेको हुँ ।।८।।
 
स्तोकं स्तोकं ग्रसेद् ग्रासं देहो वर्तेत यावता ।
गृहानहिंसन्नातिष्ठेद् वृत्तिं माधुकरीं मुनिः ।। ९ ।।
नेपाली भावानुवादः मुनि वा साधकले शरीर रक्षाका लागि आवश्यक पर्ने थोरै मात्र भोजन ग्रहण गरोस्। गृहस्थीलाई भार वा दुःख नपर्ने गरी माहुरीले फूलबाट रस लिए झैँ 'माधुकरी' वृत्ति अपनाओस् ।।९।।
 
अणुभ्यश्च महद्भ्यश्च शास्त्रेभ्यः कुशलो नरः।
सर्वतः सारमादद्यात् पुष्पेभ्य इव षट्पदः ।। १० ।।
नेपाली भावानुवादः जसरी भँवराले साना-ठूला सबै फूलहरूबाट सार तत्त्व (रस) मात्र ग्रहण गर्दछ, त्यसरी नै विवेकी मानिसले साना-ठूला सबै शास्त्रहरूबाट सारभूत कुरा मात्र ग्रहण गरोस् ।।१०।।
 
सायन्तनं श्वस्तनं वा न सङ्गृह्णीत भिक्षितम् ।
पाणिपात्रोदरामत्रो मक्षिकेव न सङ्ग्रही ।। ११ ।।
नेपाली भावानुवादः मुनिले साँझ वा भोलिका लागि भनेर भिक्षा सङ्ग्रह नगरोस्। उनले आफ्नै हत्केलालाई पात्र र पेटलाई भण्डार बनाउन्, तर माहुरी झैँ सङ्ग्रह गर्ने स्वभावको नबनुन् ।।११।।
 
सायन्तनं श्वस्तनं वा न सङ्गृह्णीत भिक्षुकः ।
मक्षिका इव सङ्गृह्णन् सह तेन विनश्यति ।। १२ ।।
नेपाली भावानुवादः भिक्षुले साँझ वा भोलिका लागि भनी सञ्चय नगरोस्। यदि उसले सञ्चय गर्दछ भने, माहुरीले सञ्चित गरेको मह अर्कैले लग्दा माहुरी समेत नष्ट भए झैँ, त्यो सङ्ग्रह नै उसको विनाशको कारण बन्दछ ।।१२।।
 
पदापि युवतीं भिक्षुर्न स्पृशेद् दारवीमपि ।
स्पृशन् करीव बध्येत करिण्या अङ्गसङ्गतः।। १३।।
नेपाली भावानुवादः संन्यासीले कहिल्यै पनि युवतीलाई गोडाले समेत स्पर्श नगरोस्, काठको मूर्ति नै किन नहोस्। यदि स्पर्श गर्दछ भने, ढोईको संसर्गको लोभमा परेको हात्ती बन्धनमा परे झैँ, ऊ पनि स्त्री-प्रसङ्गमा परी बन्धनमा पर्दछ ।।१३।।
 
नाधिगच्छेत् स्त्रियं प्राज्ञः कर्हिचिन्मृत्युमात्मनः ।
 बलाधिकैः स हन्येत गजैरन्यैर्गजो यथा ।। १४।।
नेपाली भावानुवादः विवेकी पुरुषले आफ्नो मृत्युरुपी स्त्रीलाई कहिल्यै पनि भोगको दृष्टिले नहेरून्। जसरी एउटी ढोईका लागि आपसमा लड्दा बलवान् हात्तीद्वारा कमजोर हात्ती मारिन्छ, त्यसरी नै स्त्रीकै कारण ऊ अन्य बलवान् पुरुषहरूबाट मारिन सक्छ ।।१४।।
 
न देयं नोपभोग्यं च लुब्धैर्यद् दुःखसञ्चितम् ।
भुङ्क्ते तदपि तच्चान्यो मधुहेवार्थविन्मधु ।। १५ ।।
नेपाली भावानुवादः लोभीले अनेक कष्टका साथ सङ्ग्रह गरेको धन न अरूलाई दिन्छ, न त आफैँ उपभोग गर्दछ। त्यसरी थुपारेको धन मह काढ्नेले मह लगे झैँ अर्कै व्यक्तिले आएर भोगिदिन्छ ।।१५।।
 
खोपार्जितैर्वित्तैराशासानां गृहाशिषः ।
मधुहेवाग्रतो भुङ्क्ते यतिर्वै गृहमेधिनाम् ।। १६ ।।
नेपाली भावानुवादः अनेक दुःखले आर्जन गरेको धनबाट सुखको आशा राख्ने गृहस्थको अन्न वा धन, मह काढ्नेले माहुरीको मह लगे झैँ त्यागी पुरुष वा यतिले ग्रहण गरिदिन्छन्। यो शिक्षा मैले मह काढ्ने (मधुहा) बाट सिकेको हुँ ।।१६।।
 
ग्राम्यगीतं न शृणुयाद् यतिर्वनचरः क्वचित् ।
शिक्षेत हरिणाद् बद्धान्मृगयोर्गीतमोहितात् ।। १७ ।।
नेपाली भावानुवादः वनवासी सन्यासीले कहिल्यै पनि विषय-वासना जगाउने गीतहरू नसुनुन्। व्याधाको मधुर गायनमा मोहित भएर बन्धनमा परेको मृगबाट यो शिक्षा लिनुपर्दछ ।।१७।।
 
नृत्यवादित्रगीतानि जुषन् ग्राम्याणि योषिताम् ।
आसां क्रीडनको वश्य ऋष्यशृङ्गी मृगीसुतः ।। १८ ।।
नेपाली भावानुवादः स्त्रीहरूका नाचगान र विषय-भोगका कुरामा अलमलिँदा मृगीपुत्र ऋष्यशृङ्गी मुनि समेत उनीहरूको हातको खेलौना बनेका थिए। यो शिक्षा मैले हरिणबाट सिकेको हुँ ।।१८।।
 
जिह्वयातिप्रमाथिन्या जनो रसविमोहितः ।
मृत्युमृच्छत्यसद्बुद्धिर्मीनस्तु बडिशैर्यथा ।। १९ ।।
नेपाली भावानुवादः जसरी बल्छीमा उनिएको मासुको लोभमा परेर माछाले आफ्नो ज्यान गुमाउँछ, त्यसरी नै चञ्चल जिब्रोको स्वादमा फसेको दुर्बुद्धि मानिस पनि विनाशको मुखमा पुग्दछ ।।१९।।
 
इन्द्रियाणि जयन्त्याशु निराहारा मनीषिणः ।
वर्जयित्वा त रसनं तन्निरन्नस्य वर्धते ।। २० ।।
नेपाली भावानुवादः बुद्धिमान् पुरुषहरूले निराहार (व्रत) बसेर अन्य सबै इन्द्रियहरूलाई त चाँडै वशमा पार्न सक्छन्, तर रसनेन्द्रिय (जिब्रो) लाई जित्न कठिन हुन्छ। किनभने आहार त्याग्दा स्वादको तिर्सना झन् बढेर जान्छ ।।२०।।
 
तावज्जितेन्द्रियो न स्याद् विजितान्येन्द्रियः पुमान् ।
न जयेद् रसनं यावज्जितं सर्वं जिते रसे ।। २१ ।।
नेपाली भावानुवादः जबसम्म मानिसले रसनेन्द्रियलाई पूर्ण रूपमा जित्न सक्दैन, तबसम्म अरू इन्द्रिय जिते पनि उसलाई जितेन्द्रिय भन्न सकिँदैन। रसनेन्द्रियलाई जितेपछि मात्र सबै इन्द्रियहरू स्वतः जितिन्छन्। यो शिक्षा मैले माछाबाट लिएको हुँ ।।२१।।
 
पिङ्गला नाम वेश्याऽऽसीद् विदेहनगरे पुरा ।
तस्या मे शिक्षितं किञ्चिन्निबोध नृपनन्दन ।। २२ ।।
नेपाली भावानुवादः हे राजकुमार! प्राचीन समयमा विदेह (मिथिला) नगरमा पिङ्गला नामकी एक वेश्या थिइन्। उनबाट मैले जे शिक्षा पाएँ, त्यो म बताउँछु सुन्नुहोस् ।।२२।।
 
सा स्वैरिण्येकदा कान्तं सङ्केत उपनेष्यती ।
अभूत काले बहिद्र्वारि बिभ्रती रूपमुत्तमम् ।। २३ ।।
नेपाली भावानुवादः ती स्वेच्छाचारी वेश्याले एकदिन कुनै धनाढ्य पुरुषलाई सङ्केतस्थलमा बोलाउने इच्छाले उत्तम श्रृङ्गार गरी बेलुकाको समयमा ढोकामा उभिइन् ।।२३।।
 
मार्ग आगच्छतो वीक्ष्य पुरुषान् पुरुषर्षभ ।
ताञ्छुल्कदान् वित्तवतः कान्तान् मेनेऽर्थकामुका ।। २४ ।।
नेपाली भावानुवादः हे पुरुषश्रेष्ठ राजन्! धनकी लोभी ती वेश्याले बाटोमा हिँडिरहेका मानिसहरूलाई देखेर उनीहरू धनी भएको र आफूलाई धेरै धन दिनेछन् भन्ने ठानेर कामुक दृष्टिले हेरिरहिन् ।।२४।।
 
आगतेष्वपयातेषु सा सङ्केतोपजीविनी ।
अप्यन्यो वित्तवान् कोऽपि मामुपैष्यति भूरिदः ।। २५ ।।
नेपाली भावानुवादः धेरै मानिस आए र गए, तर उनीसँग कोही रोकिएनन्। तैपनि वेश्यावृत्तिबाटै बाँच्ने उनले सोचिन्— "अझै अर्को कुनै धेरै धन दिने धनी व्यक्ति म कहाँ आउने नै छ" ।।२५।।
 
एवं दुराशया ध्वस्तनिद्रा द्वार्यवलम्बती ।
निर्गच्छन्ती प्रविशती निशीथं समपद्यत ।। २६ ।।
नेपाली भावानुवादः यसरी कसैको प्रतीक्षा गर्दागर्दै उनको निद्रा हरायो। ढोकामा अडिएकी उनी कहिले भित्र पस्ने र कहिले बाहिर निस्कने गर्दै गर्दा मध्यरात भयो ।।२६।।
 
तस्या वित्ताशया शुष्यद्वक्त्राया दीनचेतसः ।
निर्वेदः परमो जज्ञे चिन्ताहेतुः सुखावहः ।। २७ ।।
नेपाली भावानुवादः धनको आशाले गर्दा मुख सुकेकी र मन खिन्न भएकी ती पिङ्गलालाई त्यही चिन्ताकै कारण अचानक ठूलो वैराग्य उत्पन्न भयो, जो पछि उनका लागि सुखदायी सिद्ध भयो ।।२७।।
 
तस्या निर्विण्णचित्ताया गीतं शृणु यथा मम ।
निर्वेद आशापाशानां पुरुषस्य यथा ह्यसिः ।। २८ ।।
नेपाली भावानुवादः खिन्न मन भएकी उनले त्यस समयमा जे भनिन्, त्यो मबाट सुन्नुहोस्। वास्तवमा वैराग्य भनेको मानिसको आशाको बन्धनलाई काट्ने तरवार जस्तै हो ।।२८।।
 
न ह्यङ्गाजातनिर्वेदो देहबन्धं जिहासति ।
यथा विज्ञानरहितो मनुजो ममतां नृप ।। २९ ।।
नेपाली भावानुवादः हे राजा! जसरी आत्मज्ञान नभएको मानिसले '' 'मेरो' भन्ने भाव छोड्न सक्दैन, त्यसरी नै वैराग्य उत्पन्न नभई कसैले पनि देहको बन्धन र आशालाई त्याग्न सक्दैन ।।२९।।
 
पिङ्गलोवाच अहो मे मोहविततिं पश्यताविजितात्मनः ।
या कान्तादसतः कामं कामये येन बालिशा ।। ३० ।।
नेपाली भावानुवादः पिङ्गलाले भनिन्— "अहो! इन्द्रिय वशमा नहुँदा मेरो मोह कतिसम्म बढेको रहेछ, हेर! म कस्ती मूर्ख रहेछु, जसले यी नाशवान् र तुच्छ पुरुषहरूबाट सुखको इच्छा गरेँ" ।।३०।।
 
सन्तं समीपे रमणं रतिप्रदं
    वित्तप्रदं नित्यमिमं विहाय ।
अकामदं दुःखभयाधिशोक
    मोहप्रदं तुच्छमहं भजेऽज्ञा ।। ३१ ।।
नेपाली भावानुवादः म कस्ती अज्ञानी रहेछु! सधैँ आफ्नै हृदयमा विराजमान, वास्तविक आनन्द र परम धन दिने परमात्मालाई छोडेर, दुःख, भय, शोक र मोह मात्र दिने यी तुच्छ र कामुक मानिसहरूको सेवा गरिरहेछु ।।३१।।
 
अहो मयाऽऽत्मा परितापितो वृथा
साङ्केत्यवृत्यातिविगह्र्यवार्तया ।
स्त्रैणान्नराद् यार्थतृषोऽनुशोच्यात्
क्रीतेन वित्तं रतिमात्मनेच्छती ।। ३२ ।।
नेपाली भावानुवादः धिक्कार छ मलाई! मैले यो अत्यन्त निन्दनीय वेश्यावृत्तिद्वारा व्यर्थैमा आफ्नो आत्मालाई सन्ताप दिएँ। धनका लोभी र स्त्रीलम्पट पुरुषहरूलाई आफ्नो शरीर बेचेर धन र सम्भोगको इच्छा गर्नु नै मेरो ठूलो भूल थियो ।।३२।।
 
यदस्थिभिर्निर्मितवंशवंश्य
    स्थूणं त्वचा रोमनखैः पिनद्धम् ।
क्षरन्नवद्वारमगारमेतद्
    विण्मूत्रपूर्णं मदुपैति कान्या ।। ३३ ।।
नेपाली भावानुवादः यो शरीर हाडको खम्बा र डाँडाभाटाले बनेको, छाला, रौं र नङले ढाकिएको एउटा घर मात्र हो। यसका नौवटा द्वारबाट सधैँ फोहोर र मलमूत्र बगिरहन्छ। म बाहेक कुन चाहिँ मूर्ख स्त्रीले यस्तो शरीरलाई प्रेम गर्ली र यसैबाट सुख खोज्ली? ।।३३।।
 
विदेहानां पुरे ह्यस्मिन्नहमेकैव मूढधीः ।
यान्यमिच्छन्त्यसत्यस्मादात्मदात् काममच्युतात् ।। ३४ ।।
नेपाली भावानुवादः निश्चय नै यस विदेह नगरमा म नै सबैभन्दा ठूली मूर्ख रहेछु। किनकि आफूलाई अर्पण गर्ने ती अविनाशी परमात्मालाई छोडेर म अरूबाट सुख खोजिरहेकी थिएँ ।।३४।।
 
सुहृत् प्रेष्ठतमो नाथ आत्मा चायं शरीरिणाम् ।
तं विक्रीयात्मनैवाहं रमेऽनेन यथा रमा ।। ३५ ।।
नेपाली भावानुवादः समस्त प्राणीका लागि भगवान् नै वास्तविक मित्र, प्रियतम, मालिक र आत्मस्वरूप हुनुहुन्छ। त्यसैले अब म आफूलाई उहाँकै चरणमा समर्पण गरेर लक्ष्मीले झैँ उहाँसँगै आनन्दपूर्वक रमाउनेछु ।।३५।।
 
कियत् प्रियं ते व्यभजन् कामा ये कामदा नराः ।
आद्यन्तवन्तो भार्याया देवा वा कालविद्रुताः ।। ३६ ।।
नेपाली भावानुवादः कालको प्रवाहमा नाश हुने र उत्पत्ति-विनाशशील यी मानिस वा देवताहरूले आफ्ना पत्नीहरूलाई कति नै सुख दिएका छन् र? यिनीहरूबाट पाइने सुख क्षणिक र दुःखदायी मात्र छ ।।३६।।
 
तूनं मे भगवान् प्रीतो विष्णुः केनापि कर्मणा ।
निर्वेदोऽयं दुराशाया यन्मे जातः सुखावहः ।। ३७ ।।
नेपाली भावानुवादः पक्कै पनि मेरा कुनै पूर्वजन्मका शुभ कर्मले गर्दा भगवान् विष्णु ममाथि प्रसन्न हुनुभएछ। त्यसैले त म जस्ती आशावादी स्त्रीलाई यो परम सुखदायी वैराग्य प्राप्त भयो ।।३७।।
 
मैवं स्युर्मन्दभाग्यायाः क्लेशा निर्वेदहेतवः ।
येनानुबन्धं निर्हृत्य पुरुषः शममृच्छति ।। ३८ ।।
नेपाली भावानुवादः यदि म अभागिनी नभएको भए यस्तो दुःख र छटपटी कसरी आउँथ्यो र? यही छटपटी नै वैराग्यको कारण बन्यो, जसले गर्दा संसारको मोह तोडेर मानिसले परम शान्ति पाउँदछ ।।३८।।
 
तेनोपकृतमादाय शिरसा ग्राम्यसङ्गताः ।
त्यक्त्वा दुराशाः शरणं व्रजामि तमधीश्वरम् ।। ३९ ।।
नेपाली भावानुवादः भगवान्ले ममाथि गर्नुभएको यो कृपालाई शिरोधार्य गर्दै म विषय-भोगका सबै दुराशाहरू त्याग्दछु र उनै जगदीश्वरको शरणमा जान्छु ।।३९।।
 
सन्तुष्टा श्रद्दधत्येतद्यथालाभेन जीवती ।
विहराम्यमुनैवाहमात्मना रमणेन वै ।। ४० ।।
नेपाली भावानुवादः अब म जे प्राप्त हुन्छ त्यसैमा सन्तुष्ट रहेर, श्रद्धापूर्वक जीवन यापन गर्दै आफ्नै आत्मामा रम्ने ती परमात्मासँगै आनन्दपूर्वक रहनेछु ।।४०।।
 
संसारकूपे पतितं विषयैर्मुषितेक्षणम् ।
ग्रस्तं कालाहिनाऽऽत्मानं कोऽन्यस्त्रातुमधीश्वरः ।। ४१ ।।
नेपाली भावानुवादः यो जीव संसाररुपी अँध्यारो इनारमा खसेको छ, विषय-वासनाले यसको विवेक हराएको छ र काल-सर्पले निल्न लागेको छ। यस्तो अवस्थामा भगवान् बाहेक अरू कसले यसलाई बचाउन सक्छ र? ।।४१।।
 
आत्मैव ह्यात्मनो गोप्ता निर्विद्येत यदाखिलात् ।
अप्रमत्त इदं पश्येद् ग्रस्तं कालाहिना जगत् ।। ४२ ।।
नेपाली भावानुवादः जब मानिस संसारका सबै विषयबाट विरक्त हुन्छ, तब ऊ आफैँ आफ्नो रक्षक बन्दछ। त्यसैले संयमी मानिसले अत्यन्त सावधानीपूर्वक यस जगतलाई कालरूपी सर्पले डसेको प्रत्यक्ष देख्नुपर्दछ ।।४२।।
 
ब्राह्मण उवाच 
एवं व्यवसितमतिर्दुराशां कान्ततर्षजाम् ।
छित्वोपशममास्थाय शय्यामुपविवेश सा ।। ४३ ।।
नेपाली भावानुवादः अवधूत ब्राह्मणले भन्नुभयोयसरी दृढ निश्चय गरेकी पिङ्गलाले कामुक पुरुषहरूबाट सुख पाउने दुराशालाई पूर्ण रूपमा त्यागिन् र शान्त चित्त भएर आफ्नो शय्यामा सुतिन् ।।४३।।
 
आशा हि परमं दुःखं नैराश्यं परमं सुखम् ।
यथा सञ्छिद्य कान्ताशां सुखं सुष्वाप पिङ्गला ।। ४४ ।।
नेपाली भावानुवादः वास्तवमा आशा नै सबैभन्दा ठूलो दुःख हो र आशाको त्याग (निराशा) नै परम सुख हो। जसरी पिङ्गलाले सांसारिक आशालाई काटेर परम सुखका साथ निद्रा प्राप्त गरिन्, त्यसरी नै योगीले पनि आशारहित हुनुपर्दछ ।।४४।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायामेकादशस्कन्धेऽष्टमोऽध्यायः ।। ८ ।।
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

यस अध्यायमा अवधूत ब्राह्मणले राजा यदुलाई आफ्ना २४ गुरुहरूमध्ये अजिंगरसमुद्रपुतलीभँवरामाहुरीहात्तीमह काढ्ने (मधुहा)मृगमाछा र पिङ्गला वेश्याबाट प्राप्त गरेका शिक्षाहरूको वर्णन गर्नुभएको छ। अजिंगरबाट ब्राह्मणले सन्तोषको शिक्षा लिएका छन् कि दैववश जे प्राप्त हुन्छत्यसैमा सन्तुष्ट रहनुपर्छ र भोजनका लागि व्यर्थ दौडधूप गर्नु हुँदैन। समुद्रबाट उनले आफ्नो गम्भीरता र मर्यादामा अडिग रहन सिकेजसरी नदीहरू आउँदा समुद्र उफ्रिँदैन र नआउँदा सुक्दैन। पुतलीको दृष्टान्तबाट उनले रूप र मोहमा फस्दा विनाश निश्चित छ भन्ने कुरा स्पष्ट पारेका छन्। भँवराबाट उनले सबै शास्त्रहरूबाट सार कुरा मात्र ग्रहण गर्ने (माधुकरी वृत्ति) ज्ञान पाए। माहुरीको उदाहरण दिँदै उनले सञ्चय गर्ने बानीले अन्ततः विनाश निम्त्याउँछ भन्ने सचेत गराएका छन्। हात्तीको प्रसङ्गबाट उनले कामवासना र स्त्री-संसर्ग संन्यासीका लागि बन्धनको कारण हुने बताएका छन्। मह काढ्ने मानिसले जसरी माहुरीको मह लैजान्छत्यसरी नै लोभीले सञ्चय गरेको धन अर्कैले भोग्छ भन्ने पाठ उनले सिकाएका छन्। मृगको उदाहरणले मधुर सङ्गीत वा शब्दको मोहमा फस्नु शिकारीको जालमा पर्नु सरह हो भन्ने बुझाउँछ। माछाको माध्यमबाट उनले रसनेन्द्रिय वा जिब्रोको स्वादलाई जित्नु नै सबैभन्दा कठिन र आवश्यक कार्य हो भन्ने पुष्टि गरेका छन्। अन्त्यमा पिङ्गला वेश्याको कथाबाट ब्राह्मणले वैराग्यको महत्त्व दर्साएका छन्। पिङ्गलाले रातभरि धनको आशामा पुरुष कुरेर बस्दा जुन छटपटी भोगिन्त्यसैले उनलाई वैराग्य दिलायो। उनले बुझिन् कि संसारका नाशवान् पुरुषहरूभन्दा आफ्नै हृदयमा बस्ने परमात्मा नै वास्तविक सुखदाता हुनुहुन्छ। उनले आशा त्यागेपछि मात्र वास्तविक शान्ति र सुख प्राप्त गरिन्। यो अध्यायले मानिसलाई हरेक प्राकृतिक वस्तु र घटनाबाट शिक्षा लिन सकिन्छ भन्ने सन्देश दिन्छ। यसले भौतिक भोगविलासको क्षणिकता र आध्यात्मिक शान्तिको शाश्वत स्वरूपलाई उजागर गरेको छ।

दार्शनिक पक्ष

यस अध्यायको दार्शनिक पक्ष 'आशा हि परमं दुःखं नैराश्यं परमं सुखम्भन्ने सूत्रमा आधारित छ। यसले के स्पष्ट पार्छ भने संसारमा दुःखको मूल कारण बाह्य वस्तुहरूमा राखिने आशा र अपेक्षा नै हो। जबसम्म मानिसले बाह्य जगतबाट सुख प्राप्त हुन्छ भन्ने भ्रम पाल्छतबसम्म ऊ अशान्त रहन्छ। वैराग्य भनेको संसारप्रतिको घृणा होइनबल्कि सत्यको बोध र मिथ्या आशाको त्याग हो। यसले इन्द्रिय निग्रहविशेष गरी रसनेन्द्रियको संयमलाई आत्मसात् गर्न जोड दिन्छ। आत्मा आफैँमा पूर्ण छ र आनन्दको स्रोत बाहिर नभएर भित्रै छ भन्ने वेदान्त दर्शन यहाँ झल्किन्छ। पिङ्गलाको रूपान्तरणले देखाउँछ कि अज्ञानको अन्धकारबाट ज्ञानको प्रकाशमा आउनका लागि आन्तरिक विवेक र दृढ सङ्कल्प पर्याप्त हुन्छ। प्रकृतिलाई गुरु मान्नुले अद्वैत भावको सङ्केत गर्दछजहाँ सबै जीव र वस्तुमा एउटै चेतना विद्यमान छ। अन्ततः यो अध्यायले मोक्ष प्राप्तिका लागि सांसारिक बन्धन र मानसिक चाहनाहरूबाट मुक्त हुनुपर्ने दर्शन प्रस्तुत गर्दछ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...