श्रीमद्भागवत महापुराण
सप्तमः स्कंधः - दशमोऽध्यायः
भक्तियोगस्य तत् सर्वं अन्तरायतयार्भकः ।
मन्यमानो हृषीकेशं स्मयमान उवाच ह ॥ १ ॥
नेपाली भावानुवादः नारदजीले भन्नुभयो– प्रह्लाद बालक भए तापनि उनलाई भगवान्को भक्तिका बारेमा पूर्ण ज्ञान थियो। त्यसैले अन्य वरदानहरूले भक्तिमा विघ्न पुर्याउँछन् भन्ने सम्झेर उनले मुस्कुराउँदै भगवान् हृषीकेशसँग यसरी भने ।। १ ।।
प्रह्लाद उवाच –
मा मां प्रलोभयोत्पत्त्या ऽऽसक्तंकामेषु तैर्वरैः ।
तत्सङ्गभीतो निर्विण्णो मुमुक्षुस्त्वामुपाश्रितः ॥ २ ॥
नेपाली भावानुवादः प्रह्लादले भने– हे प्रभो! मलाई जन्मदेखि नै विषयभोगतर्फ आसक्त बनाउने खालका यी वरहरू दिएर प्रलोभनमा नपार्नुहोस्। म त ती सांसारिक भोगहरूको सङ्गतबाट डराएर र विरक्त भएर मोक्षको इच्छा राख्दै हजुरको शरणमा आएको हुँ ।। २ ।।
भृत्यलक्षणजिज्ञासुः भक्तं कामेष्वचोदयत् ।
भवान् संसारबीजेषु हृदयग्रन्थिषु प्रभो ॥ ३ ॥
नेपाली भावानुवादः हे प्रभो! सेवकको लक्षण बुझ्ने इच्छाले नै हजुरले म भक्तलाई यी संसारका बीजरूप र हृदयका गाँठोजस्ता विषयभोगतर्फ प्रेरित गर्नुभएको हो ।। ३ ।।
नान्यथा तेऽखिलगुरो घटेत करुणात्मनः ।
यस्त आशिष आशास्ते न स भृत्यः स वै वणिक् ॥ ४ ॥
नेपाली भावानुवादः हे जगद्गुरु! हजुरजस्तो करुणासिन्धुका लागि यो बाहेक अर्को उद्देश्य हुनै सक्दैन। जसले हजुरसँग आफ्नो स्वार्थका लागि आशिष् वा वर माग्दछ, उ हजुरको वास्तविक सेवक होइन, उ त व्यापार गर्ने व्यापारी मात्र हो ।। ४ ।।
आशासानो न वै भृत्यः स्वामिन्याशिष आत्मनः ।
न स्वामी भृत्यतः स्वाम्यं इच्छन् यो राति चाशिषः ॥ ५ ॥
नेपाली भावानुवादः आफ्नो स्वामीबाट कुनै फलको अभिलाषा राख्ने व्यक्ति सेवक होइन। त्यसैगरी आफ्नो सेवकबाट सेवा लिने इच्छाले मात्र उसलाई फल दिने व्यक्ति पनि वास्तविक स्वामी होइन ।। ५ ।।
अहं तु अकामः त्वद्भक्तः त्वं च स्वाम्यनपाश्रयः ।
नान्यथेहावयोरर्थो राजसेवकयोरिव ॥ ६ ॥
नेपाली भावानुवादः म त हजुरको निष्काम भक्त हुँ र हजुर मेरो निरपेक्ष स्वामी हुनुहुन्छ। हामी दुईको बीचमा राजा र सेवकको जस्तो स्वार्थपूर्ण सम्बन्ध छैन ।। ६ ।।
यदि रासीश मे कामान् वरांस्त्वं वरदर्षभ ।
कामानां हृद्यसंरोहं भवतस्तु वृणे वरम् ॥ ७ ॥
नेपाली भावानुवादः हे वरदान दिनेहरूमा श्रेष्ठ प्रभु! यदि मलाई वर दिनै चाहनुहुन्छ भने मेरो हृदयमा कुनै पनि प्रकारको कामना कहिल्यै अङ्कुुरित नहोस् भन्ने वरदान दिनुहोस् ।। ७ ।।
इन्द्रियाणि मनः प्राण आत्मा धर्मो धृतिर्मतिः ।
ह्रीः श्रीस्तेजः स्मृतिः सत्यं यस्य नश्यन्ति जन्मना ॥ ८ ॥
नेपाली भावानुवादः किनभने कामना उत्पन्न हुनासाथ मानिसका इन्द्रिय, मन, प्राण, आत्मा (देह), धर्म, धैर्य, बुद्धि, लज्जा, श्री, तेज, स्मृति र सत्य– यी सबै नष्ट भएर जान्छन् ।। ८ ।।
विमुञ्चति यदा कामान् मानवो मनसि स्थितान् ।
तर्ह्येव पुण्डरीकाक्ष भगवत्त्वाय कल्पते ॥ ९ ॥
नेपाली भावानुवादः हे कमललोचन! जब मानिसले आफ्नो मनमा रहेका सम्पूर्ण कामनाहरूलाई पूर्ण रूपमा त्यागिदिन्छ, तब मात्र उ भगवत्स्वरूप (मोक्ष) प्राप्त गर्न समर्थ हुन्छ ।। ९ ।।
ओं नमो भगवते तुभ्यं पुरुषाय महात्मने ।
हरयेऽद्भुतसिंहाय ब्रह्मणे परमात्मने ॥ १० ॥
नेपाली भावानुवादः हे भगवन्! हजुरलाई नमस्कार छ। समस्त हृदयमा विराजमान हुने महात्मा, अद्भुत नृसिंह रूप धारण गर्ने श्रीहरि, परब्रह्म परमात्माका चरणमा म बारम्बार नमस्कार गर्दछु ।। १० ।।
नृसिंह उवाच –
नैकान्तिनो मे मयि जात्विहाशिष
आशासतेऽमुत्र च ये भवद्विधाः ।
तथापि मन्वन्तरमेतदत्र
दैत्येश्वराणामनुभुङ्क्ष्व भोगान् ॥ ११ ॥
नेपाली भावानुवादः भगवान् नृसिंहले भन्नुभयो– हे प्रह्लाद! तिमीजस्ता मेरा अनन्य प्रेमी भक्तहरू यस लोक वा परलोकमा कुनै पनि वस्तुको कामना गर्दैनन्। तापनि मेरो खुसीका लागि तिमी यस मन्वन्तरभरि दैत्यहरूका अधिपति भएर यहाँका भोगहरू भोग ।। ११ ।।
कथा मदीया जुषमाणः प्रियास्त्वं
आवेश्य मामात्मनि सन्तमेकम् ।
सर्वेषु भूतेष्वधियज्ञमीशं
यजस्व योगेन च कर्म हिन्वन् ॥ १२ ॥
नेपाली भावानुवादः तिमीलाई प्रिय लाग्ने मेरा लीला-कथाहरू सुन्दै र मलाई नै आफ्नो हृदयमा धारण गर्दै सबै प्राणीमा रहेको अधियज्ञेश्वर (मलाई) कर्मयोगद्वारा पूजा गर र यसरी कर्मका बन्धनहरूलाई नष्ट गर ।। १२ ।।
भोगेन पुण्यं कुशलेन पापं
कलेवरं कालजवेन हित्वा ।
कीर्तिं विशुद्धां सुरलोकगीतां
विताय मामेष्यसि मुक्तबन्धः ॥ १३ ॥
नेपाली भावानुवादः प्रारब्धअनुसार प्राप्त सुख भोगेर पुण्य र निष्काम कर्मद्वारा पापलाई नष्ट गर्दै, समय आएपछि यो शरीर त्यागेर देवलोकमा समेत गायन गरिने विशुद्ध कीर्ति फैलाउँदै तिमी ममा नै मिल्नेछौ ।। १३ ।।
य एतत् कीर्तयेन्मह्यं त्वया गीतमिदं नरः ।
त्वां च मां च स्मरन्काले कर्मबन्धात् प्रमुच्यते ॥ १४ ॥
नेपाली भावानुवादः जुन मानिसले तिमीद्वारा गरिएको यो स्तुति र मेरो कीर्तन गर्दै तिमी र म दुवैको स्मरण गर्दछ, उ उचित समयमा सम्पूर्ण कर्मबन्धनबाट मुक्त हुनेछ ।। १४ ।।
प्रह्राद उवाच –
वरं वरय एतत् ते वरदेशान् महेश्वर ।
यद् अनिन्दत् पिता मे त्वां अविद्वांस्तेज ऐश्वरम् ॥ १५ ॥
विद्धामर्षाशयः साक्षात् सर्वलोकगुरुं प्रभुम् ।
भ्रातृहेति मृषादृष्टिः त्वद्भक्ते मयि चाघवान् ॥ १६ ॥
तस्मात् पिता मे पूयेत दुरन्ताद् दुस्तरादघात् ।
पूतस्तेऽपाङ्गसंदृष्टः तदा कृपणवत्सल ॥ १७ ॥
नेपाली भावानुवादः प्रह्लादले भने– हे वरदराज! हे महेश्वर! हजुरसँग म एउटा वर माग्दछु। मेरा पिताले हजुरको ईश्वरीय तेजलाई नबुझी हजुरलाई 'भाइको हत्यारा' भन्ने मिथ्या दृष्टि राखी हजुरको निन्दा गर्नुभयो र म हजुरको भक्त भएका कारण मप्रति पनि द्रोह गर्नुभयो। हे दीनबन्धु! हजुरको कृपादृष्टिले उहाँ पवित्र त भइसक्नुभयो, तापनि उहाँ ती घोर पाप र दुष्कर्मबाट पूर्ण रूपमा मुक्त होउन् भन्ने मेरो प्रार्थना छ ।। १५-१७ ।।
श्रीभगवानुवाच –
त्रिःसप्तभिः पिता पूतः पितृभिः सह तेऽनघ ।
यत्साधोऽस्य गृहे जातो भवान् वै कुलपावनः ॥ १८ ॥
नेपाली भावानुवादः भगवान्ले भन्नुभयो– हे निष्पाप प्रह्लाद! तिमीजस्तो कुलपावन छोरा जुन कुलमा जन्मन्छ, उसका पिता मात्र होइन, एक्काइस पुस्ताका पितृहरू समेत पवित्र हुन्छन् ।। १८ ।।
यत्र यत्र च मद्भक्ताः प्रशान्ताः समदर्शिनः ।
साधवः समुदाचाराः ते पूयन्तेऽपि कीकटाः ॥ १९ ॥
नेपाली भावानुवादः जहाँ-जहाँ मेरा शान्त, समदर्शी, सदाचारी र साधु भक्तहरू रहन्छन्, त्यहाँको भूमि र अपवित्र भनिएका जातिहरू समेत पवित्र हुन्छन् ।। १९ ।।
सर्वात्मना न हिंसन्ति भूतग्रामेषु किञ्चन ।
उच्चावचेषु दैत्येन्द्र मद्भावविगतस्पृहाः ॥ २० ॥
नेपाली भावानुवादः हे दैत्येन्द्र! मेरो भावमा मग्न र कामनाहीन मेरा भक्तहरूले साना-ठूला कुनै पनि प्राणीलाई कहिल्यै कष्ट दिँदैनन् ।। २० ।।
भवन्ति पुरुषा लोके मद्भक्तास्त्वां अनुव्रताः ।
भवान्मे खलु भक्तानां सर्वेषां प्रतिरूपधृक् ॥ २१ ॥
नेपाली भावानुवादः यस संसारमा जो तिम्रा अनुयायी हुनेछन्, ती सबै मेरा भक्त हुनेछन्। तिमी वास्तवमा मेरा सबै भक्तहरूका लागि एक श्रेष्ठ आदर्श हौ ।। २१ ।।
कुरु त्वं प्रेतकार्याणि पितुः पूतस्य सर्वशः ।
मदङ्गस्पर्शनेनाङ्ग लोकान्यास्यति सुप्रजाः ॥ २२ ॥
नेपाली भावानुवादः हे पुत्र! मेरो अङ्गको स्पर्शले तिम्रा पिता पहिल्यै पवित्र भइसकेका छन्। तापनि लोक-मर्यादाका लागि तिमीले उहाँको अन्त्येष्टि गर। तिमीजस्तो सुपुत्रका कारण उहाँले उत्तम लोक प्राप्त गर्नुहुनेछ ।। २२ ।।
पित्र्यं च स्थानमातिष्ठ यथोक्तं ब्रह्मवादिभिः ।
मय्यावेश्य मनस्तात कुरु कर्माणि मत्परः ॥ २३ ॥
नेपाली भावानुवादः बाबु! अब तिमी ब्रह्मज्ञानीहरूले भनेअनुसार आफ्ना पिताको सिंहासनमा बस र ममा नै मन लगाएर मेरा लागि सबै कर्महरू गर ।। २३ ।।
नारद उवाच –
प्रह्रादोऽपि तथा चक्रे पितुर्यत्साम्परायिकम् ।
यथाह भगवान् राजन् अभिषिक्तो द्विजोत्तमैः ॥ २४ ॥
नेपाली भावानुवादः नारदजीले भन्नुभयो– हे राजा युधिष्ठिर! भगवान्को आज्ञा पाएपछि प्रह्लादले आफ्ना पिताको पारलौकिक (अन्त्येष्टि) कार्य सम्पन्न गरे र ब्राह्मणहरूद्वारा उनको राज्याभिषेक गरियो ।। २४ ।।
प्रसादसुमुखं दृष्ट्वा ब्रह्मा नरहरिं हरिम् ।
स्तुत्वा वाग्भिः पवित्राभिः प्राह देवादिभिर्वृतः ॥ २५ ॥
नेपाली भावानुवादः त्यस समय प्रसन्न मुद्रामा रहेका भगवान् नृसिंहलाई देखेर ब्रह्माजीले अन्य देवताहरूका साथमा पवित्र वाणीद्वारा स्तुति गर्दै यसरी भन्नुभयो ।। २५ ।।
ब्रह्मोवाच –
देवदेवाखिलाध्यक्ष भूतभावन पूर्वज ।
दिष्ट्या ते निहतः पापो लोकसन्तापनोऽसुरः ॥ २६ ॥
नेपाली भावानुवादः ब्रह्माजीले भन्नुभयो– हे देवादिदेव! हे समस्त जगतका अध्यक्ष! हे आदिपुरुष! लोकलाई संताप दिने त्यो पापी असुर मारिएकोमा हामी अति प्रसन्न छौँ ।। २६ ।।
योऽसौ लब्धवरो मत्तो न वध्यो मम सृष्टिभिः ।
तपोयोगबलोन्नद्धः समस्तनिगमानहन् ॥ २७ ॥
नेपाली भावानुवादः जसले मबाट 'मेरो सृष्टिभित्रका कसैबाट पनि वध नहुने' वरदान पाएको थियो र तपस्या एवं बलको घमण्डले गर्दा समस्त वेदका मर्यादाहरू नष्ट गरिरहेको थियो ।। २७ ।।
दिष्ट्यास्य तनयः साधुः महाभागवतोऽर्भकः ।
त्वया विमोचितो मृत्योः दिष्ट्या त्वां समितोऽधुना ॥ २८ ॥
नेपाली भावानुवादः त्यसको बालक छोरा, जो साधु स्वभावका परम भागवत भक्त हुन्, उनलाई हजुरले मृत्युबाट बचाउनुभयो। यो खुसीको कुरा हो कि उनी अहिले हजुरको काखमा छन् ।। २८ ।।
एतद् वपुस्ते भगवन् ध्यायतः प्रयतात्मनः ।
सर्वतो गोप्तृ सन्त्रासान् मृत्योरपि जिघांसतः ॥ २९ ॥
नेपाली भावानुवादः हे भगवन्! संयमित मनले हजुरको यो नृसिंह रूपको ध्यान गर्ने व्यक्ति सबै प्रकारका डर र स्वयं मृत्युबाट पनि सुरक्षित रहन्छ ।। २९ ।।
नृसिंह उवाच - मैवं विभोऽसुराणां ते प्रदेयः पद्मसम्भव ।
वरः क्रूरनिसर्गाणां अहीनां अमृतं यथा ॥ ३० ॥
नेपाली भावानुवादः भगवान् नृसिंहले भन्नुभयो– हे ब्रह्माजी! क्रूर स्वभाव भएका असुरहरूलाई यस्ता वरदान नदिनुहोस्, किनकि उनीहरूलाई वर दिनु भनेको सर्पलाई दूध खुवाउनुजस्तै खतरनाक हुन्छ ।। ३० ।।
नारद उवाच –
इत्युक्त्वा भगवान् राजन् ततश्चान्तर्दधे हरिः ।
अदृश्यः सर्वभूतानां पूजितः परमेष्ठिना ॥ ३१ ॥
नेपाली भावानुवादः नारदजीले भन्नुभयो– हे राजा! यति भनिसकेपछि भगवान् श्रीहरि ब्रह्माजीद्वारा पुजित भई त्यहीँ अन्तर्धान हुनुभयो ।। ३१ ।।
ततः सम्पूज्य शिरसा ववन्दे परमेष्ठिनम् ।
भवं प्रजापतीन् देवान् प्रह्रादो भगवत्कलाः ॥ ३२ ॥
नेपाली भावानुवादः त्यसपछि प्रह्लादले ब्रह्मा, महादेव, प्रजापति र अन्य देवताहरूलाई शिर झुकाएर प्रणाम र पूजा गरे ।। ३२ ।।
ततः काव्यादिभिः सार्धं मुनिभिः कमलासनः ।
दैत्यानां दानवानां च प्रह्रादं अकरोत् पतिम् ॥ ३३ ॥
नेपाली भावानुवादः त्यसपछि ब्रह्माजीले शुक्राचार्य लगायतका ऋषिमुनिहरूका साथमा प्रह्लादलाई दैत्य र दानवहरूको राजा बनाइदिनुभयो ।। ३३ ।।
प्रतिनन्द्य ततो देवाः प्रयुज्य परमाशिषः ।
स्वधामानि ययू राजन् ब्रह्माद्याः प्रतिपूजिताः ॥ ३४ ॥
नेपाली भावानुवादः हे राजा! प्रह्लादद्वारा सत्कार गरिएका ब्रह्मा आदि देवताहरूले उनलाई आशीर्वाद दिए र आ-आफ्नो लोकतर्फ लागे ।। ३४ ।।
एवं च पार्षदौ विष्णोः पुत्रत्वं प्रापितौ दितेः ।
हृदि स्थितेन हरिणा वैरभावेन तौ हतौ ॥ ३५ ॥
नेपाली भावानुवादः यसरी भगवान् विष्णुका दुई पार्षद (जय र विजय) दितिका पुत्रका रूपमा जन्मिएका थिए र हृदयमा वैरभाव राखी भगवान्को चिन्तन गरेकाले भगवान्द्वारा नै मारिए ।। ३५ ।।
पुनश्च विप्रशापेन राक्षसौ तौ बभूवतुः ।
कुम्भकर्णदशग्रीवौ हतौ तौ रामविक्रमैः ॥ ३६ ॥
नेपाली भावानुवादः पुनः ब्राह्मणको श्रापका कारण उनीहरू रावण र कुम्भकर्णका रूपमा राक्षस भएर जन्मिए र भगवान् श्रीरामको पराक्रमले मारिए ।। ३६ ।।
शयानौ युधि निर्भिन्न हृदयौ रामसायकैः ।
तच्चित्तौ जहतुर्देहं यथा प्राक्तनजन्मनि ॥ ३७ ॥
नेपाली भावानुवादः श्रीरामको वाणले हृदय विदीर्ण भई युद्धभूमिमा लडेका बेला पनि उनीहरूले भगवान्कै चिन्तन गर्दै शरीर त्याग गरे र पूर्वजन्ममा जस्तै मुक्ति प्राप्त गरे ।। ३७ ।।
तौ इहाथ पुनर्जातौ शिशुपालकरूषजौ ।
हरौ वैरानुबन्धेन पश्यतस्ते समीयतुः ॥ ३८ ॥
नेपाली भावानुवादः उनीहरू नै यस जन्ममा शिशुपाल र दन्तवक्त्रका रूपमा जन्मिए र भगवान् श्रीकृष्णसँग वैरभाव राख्दै तिम्रो आँखा अगाडि नै भगवान्मा लीन भए ।। ३८ ।।
एनः पूर्वकृतं यत् तद् राजानः कृष्णवैरिणः ।
जहुस्त्वन्ते तदात्मानः कीटः पेशस्कृतो यथा ॥ ३९ ॥
नेपाली भावानुवादः जसरी भमराले पक्रेको कीराले डरको कारणले भमराकै ध्यान गर्दागर्दै भमराकै रूप प्राप्त गर्दछ, त्यसरी नै वैरभावले गर्दा निरन्तर श्रीकृष्णको चिन्तन गर्ने राजाहरूले पनि अन्त्यमा मुक्तिको रूपमा भगवान्लाई नै प्राप्त गरे ।। ३९ ।।
यथा यथा भगवतो भक्त्या परमयाभिदा ।
नृपाश्चैद्यादयः सात्म्यं हरेस्तच्चिन्तया ययुः ॥ ४० ॥
नेपाली भावानुवादः जसरी अनन्य भक्तिले भगवान्को स्वरूप प्राप्त हुन्छ, त्यसरी नै शिशुपाल आदि राजाहरूले निरन्तर शत्रुतापूर्ण चिन्तन (वैर-भक्ति) बाट भगवान्को सायुज्य मुक्ति प्राप्त गरे ।। ४० ।।
आख्यातं सर्वमेतत् ते यन्मां त्वं परिपृष्टवान् ।
दमघोषसुतादीनां हरेः सात्म्यमपि द्विषाम् ॥ ४१ ॥
नेपाली भावानुवादः हे युधिष्ठिर! तिमीले सोधेअनुसार शिशुपाल आदि शत्रुहरूले कसरी भगवान्लाई प्राप्त गरे भन्ने कुरा मैले तिमीलाई विस्तारपूर्वक सुनाएँ ।। ४१ ।।
एषा ब्रह्मण्यदेवस्य कृष्णस्य च महात्मनः ।
अवतारकथा पुण्या वधो यत्रादिदैत्ययोः ॥ ४२ ॥
नेपाली भावानुवादः यो ब्राह्मणप्रेमी महात्मा श्रीकृष्णको पवित्र अवतार कथा हो, जसमा आदि-दैत्य हिरण्याक्ष र हिरण्यकशिपुको वधको वर्णन छ ।। ४२ ।।
प्रह्रादस्यानुचरितं महाभागवतस्य च ।
भक्तिर्ज्ञानं विरक्तिश्च याथात्म्यं चास्य वै हरेः ॥ ४३ ॥
सर्गस्थित्यप्ययेशस्य गुणकर्मानुवर्णनम् ।
परावरेषां स्थानानां कालेन व्यत्ययो महान् ॥ ४४ ॥
धर्मो भागवतानां च भगवान्येन गम्यते ।
आख्यानेऽस्मिन् समाम्नातं आध्यात्मिकं अशेषतः ॥ ४५ ॥
नेपाली भावानुवादः यस कथामा परम भागवत प्रह्लादको चरित्र, भक्ति, ज्ञान, वैराग्य र सृष्टिका स्वामी श्रीहरिको यथार्थ स्वरूपको वर्णन छ। साथै यसमा भागवत धर्मको र भगवान्लाई प्राप्त गर्ने आध्यात्मिक मार्गको पूर्ण वर्णन गरिएको छ ।। ४३-४५ ।।
य एतत् पुण्यमाख्यानं विष्णोर्वीर्योपबृंहितम् ।
कीर्तयेत् श्रद्धया श्रुत्वा कर्मपाशैर्विमुच्यते ॥ ४६ ॥
नेपाली भावानुवादः भगवान् विष्णुको पराक्रमले भरिएको यस पवित्र आख्यानलाई जसले श्रद्धापूर्वक सुन्छ वा सुनाउँछ, उ सबै प्रकारका कर्मबन्धनबाट मुक्त हुन्छ ।। ४६ ।।
एतद्य आदिपुरुषस्य मृगेन्द्रलीलां
दैत्येन्द्रयूथपवधं प्रयतः पठेत ।
दैत्यात्मजस्य च सतां प्रवरस्य पुण्यं
श्रुत्वानुभावमकुतोभयमेति लोकम् ॥ ४७ ॥
नेपाली भावानुवादः जसले आदिपुरुष नृसिंह भगवान्को यो लीला, हिरण्यकशिपुको वध र भक्त प्रह्लादको चरित्र एकाग्र भएर पढ्छ वा सुन्छ, उसले निर्भय पद (वैकुण्ठ) प्राप्त गर्दछ ।। ४७ ।।
यूयं नृलोके बत भूरिभागा
लोकं पुनाना मुनयोऽभियन्ति ।
येषां गृहानावसतीति साक्षाद्
गूढं परं ब्रह्म मनुष्यलिङ्गम् ॥ ४८ ॥
नेपाली भावानुवादः हे युधिष्ठिर! यस मृत्युलोकमा तिमीहरू अति नै भाग्यमानी छौ। किनकि समस्त लोकलाई पवित्र पार्ने मुनिहरू जसको दर्शनका लागि व्याकुल रहन्छन्, ती साक्षात् परब्रह्म परमात्मा मनुष्यको रूपमा तिमीहरूकै घरमा गुप्त रूपले बसिरहनुभएको छ ।। ४८ ।।
स वा अयं ब्रह्म महद्विमृग्य
कैवल्यनिर्वाणसुखानुभूतिः ।
प्रियः सुहृद् वः खलु मातुलेय
आत्मार्हणीयो विधिकृद् गुरुश्च ॥ ४९ ॥
नेपाली भावानुवादः जसलाई ठूला-ठूला महापुरुषहरूले खोजिरहन्छन् र जो साक्षात् परब्रह्म एवं मोक्षको सुखस्वरूप हुनुहुन्छ, उहाँ नै तिमीहरूका प्रिय सुहृद्, मामाका छोरा (भाइ), आदरणीय गुरु र साक्षात् आत्मा श्रीकृष्ण हुनुहुन्छ ।। ४९ ।।
न यस्य साक्षाद्भवपद्मजादिभी
रूपं धिया वस्तुतयोपवर्णितम् ।
मौनेन भक्त्योपशमेन पूजितः
प्रसीदतामेष स सात्वतां पतिः ॥ ५० ॥
नेपाली भावानुवादः महादेव र ब्रह्माजीले समेत जसको रूपको पूर्ण वर्णन गर्न सक्दैनन्, ती भक्तवत्सल भगवान् हाम्रो मौन सेवा, भक्ति र शान्त भावले गरिएको पूजाबाट प्रसन्न होउन् ।। ५० ।।
स एष भगवान् राजन् व्यतनोद् विहतं यशः ।
पुरा रुद्रस्य देवस्य मयेनानन्तमायिना ॥ ५१ ॥
नेपाली भावानुवादः हे राजा! उनै भगवान् श्रीकृष्णले पहिला मय दानवको मायाले कलङ्कित हुन लागेको महादेवको यशलाई पुनः रक्षा गर्नुभएको थियो ।। ५१ ।।
राजोवाच –
कस्मिन् कर्मणि देवस्य मयोऽहन् जगदीशितुः ।
यथा चोपचिता कीर्तिः कृष्णेनानेन कथ्यताम् ॥ ५२ ॥
नेपाली भावानुवादः राजा युधिष्ठिरले सोधे– नारदजी! मय दानवले कसरी महादेवको यश नष्ट गर्न खोजेको थियो र श्रीकृष्णले कसरी त्यसको रक्षा गर्नुभयो? मलाई विस्तारपूर्वक बताउनुहोस् ।। ५२ ।।
नारद उवाच –
निर्जिता असुरा देवैः युध्यनेनोपबृंहितैः ।
मायिनां परमाचार्यं मयं शरणमाययुः ॥ ५३ ॥
नेपाली भावानुवादः नारदजीले भन्नुभयो– जब श्रीकृष्णको शक्तिद्वारा देवताहरूले असुरहरूलाई पराजित गरे, तब ती असुरहरू मायावीहरूका गुरु मय दानवको शरणमा गए ।। ५३ ।।
स निर्माय पुरस्तिस्रो हैमीरौप्यायसीर्विभुः ।
दुर्लक्ष्यापायसंयोगा दुर्वितर्क्यपरिच्छदाः ॥ ५४ ॥
नेपाली भावानुवादः त्यस मय दानवले सुन, चाँदी र फलामका तीनवटा अदृश्य र अद्भुत नगर (विमान) निर्माण गर्यो, जसको रहस्य कसैले बुझ्न सक्दैनथे ।। ५४ ।।
ताभिस्तेऽसुरसेनान्यो लोकान् त्रीन् सेश्वरान् नृप ।
स्मरन्तो नाशयां चक्रुः पूर्ववैरमलक्षिताः ॥ ५५ ॥
नेपाली भावानुवादः ती विमानहरूमा बसेर असुरहरूले पुरानो शत्रुता सम्झँदै तीनै लोक र लोकपालहरूको विनाश गर्न थाले ।। ५५ ।।
ततस्ते सेश्वरा लोका उपासाद्येश्वरं विभो ।
त्राहि नस्तावकान्देव विनष्टान् त्रिपुरालयैः ॥ ५६ ॥
नेपाली भावानुवादः तब लोकपालहरू महादेवको शरणमा गए र प्रार्थना गरे– "हे प्रभु! त्रिपुरासुरका कारण हामी नष्ट हुँदैछौँ, हाम्रो रक्षा गर्नुहोस्" ।। ५६ ।।
अथानुगृह्य भगवान् मा भैष्टेति सुरान्विभुः ।
शरं धनुषि सन्धाय पुरेष्वस्त्रं व्यमुञ्चत ॥ ५७ ॥
नेपाली भावानुवादः महादेवले देवताहरूलाई "नडराऊ" भन्दै आश्वासन दिनुभयो र आफ्नो धनुषमा वाण चढाएर ती तीनै नगरतर्फ प्रहार गर्नुभयो ।। ५७ ।।
ततोऽग्निवर्णा इषव उत्पेतुः सूर्यमण्डलात् ।
यथा मयूखसन्दोहा नादृश्यन्त पुरो यतः ॥ ५८ ॥
तैः स्पृष्टा व्यसवः सर्वे निपेतुः स्म पुरौकसः ।
तान् आनीय महायोगी मयः कूपरसेऽक्षिपत् ॥ ५९ ॥
नेपाली भावानुवादः महादेवका वाणहरूबाट सूर्यका किरणजस्ता अग्निज्वालाहरू निस्किए, जसले गर्दा ती नगरहरू देखिन छाडे। वाणको चोटले असुरहरू मरेर खस्न थालेपछि मय दानवले उनीहरूलाई उठाएर आफूले बनाएको अमृतको कुवामा हालिदिन थाल्यो ।। ५८-५९ ।।
सिद्धामृतरसस्पृष्टा वज्रसारा महौजसः ।
उत्तस्थुर्मेघदलना वैद्युता इव वह्नयः ॥ ६० ॥
नेपाली भावानुवादः त्यस अमृतको स्पर्श हुनासाथ असुरहरू वज्रजस्तै बलिया भएर पुनः उठ्न थाले ।। ६० ।।
विलोक्य भग्नसङ्कल्पं विमनस्कं वृषध्वजम् ।
तदायं भगवान् विष्णुः तत्रोपायमकल्पयत् ॥ ६१ ॥
नेपाली भावानुवादः महादेवको सङ्कल्प विफल भएको देखेर भगवान् विष्णुले एउटा उपाय निकाल्नुभयो ।। ६१ ।।
वत्स आसीत् तदा ब्रह्मा स्वयं विष्णुरयं हि गौः ।
प्रविश्य त्रिपुरं काले रसकूपामृतं पपौ ॥ ६२ ॥
नेपाली भावानुवादः त्यस समय ब्रह्माजी बाच्छो र विष्णु स्वयं गाई बनेर त्यस नगरमा प्रवेश गरी कुवाको सबै अमृत पिइदिनुभयो ।। ६२ ।।
तेऽसुरा ह्यपि पश्यन्तो न न्यषेधन्विमोहिताः ।
तद्विज्ञाय महायोगी रसपालानिदं जगौ ॥ ६३ ॥
स्वयं विशोकः शोकार्तान् स्मरन् दैवगतिं च ताम् ।
देवोऽसुरो नरोऽन्यो वा नेश्वरोऽस्तीह कश्चन ॥ ६४ ॥
आत्मनोऽन्यस्य वा दिष्टं दैवेनापोहितुं द्वयोः ।
अथासौ शक्तिभिः स्वाभिः शम्भोः प्राधानिकं व्यधात् ॥ ६५ ॥
नेपाली भावानुवादः असुरहरूले उनीहरूलाई अमृत पिएको देख्दादेख्दै पनि भगवान्को मायाले मोहित भएकाले रोक्न सकेनन्। मय दानवले यो दैवको लीला हो भन्ने बुझेर शोक गरेन र अरूलाई पनि "भाग्यलाई कसैले टार्न सक्दैन" भन्दै सम्झायो। त्यसपछि भगवान्ले आफ्नो शक्तिले महादेवका लागि युद्धका सामग्रीहरू तयार गरिदिनुभयो ।। ६३-६५ ।।
धर्मज्ञानविरक्ति ऋद्धि तपोविद्याक्रियादिभिः ।
रथं सूतं ध्वजं वाहान् धन्धनुर्वर्मशरादि यत् ॥ ६६ ॥
नेपाली भावानुवादः भगवान्ले धर्म, ज्ञान, वैराग्य, तपस्या र विद्या आदिका माध्यमबाट महादेवका लागि रथ, सारथी, ध्वजा, धनुष र कवच निर्माण गरिदिनुभयो ।। ६६ ।।
सन्नद्धो रथमास्थाय शरं धनुरुपाददे ।
शरं धनुषि सन्धाय मुहूर्तेऽभिजितीश्वरः ॥ ६७ ॥
ददाह तेन दुर्भेद्या हरोऽथ त्रिपुरो नृप ।
दिवि दुन्दुभयो नेदुः विमानशतसङ्कुलाः ॥ ६८ ॥
नेपाली भावानुवादः महादेवले अभिजित मुहूर्तमा ती दिव्य सामग्रीसहित वाण प्रहार गरेर ती दुर्भेद्य तीनै नगरलाई भस्म गरिदिनुभयो। आकाशमा दुन्दुभी बज्न थाल्यो र देवताहरूले पुष्पवृष्टि गरे ।। ६७-६८ ।।
देवर्षिपितृसिद्धेशा जयेति कुसुमोत्करैः ।
अवाकिरन् जगुर्हृष्टा ननृतुश्चाप्सरोगणाः ॥ ६९ ॥
नेपाली भावानुवादः देवता, ऋषि, पितृ र सिद्धहरूले जयजयकार गरे भने अप्सराहरू खुसी हुँदै नाच्न थाले ।। ६९ ।।
एवं दग्ध्वा पुरस्तिस्रो भगवान् पुरहा नृप ।
ब्रह्मादिभिः स्तूयमानः स्वं धाम प्रत्यपद्यत ॥ ७० ॥
नेपाली भावानुवादः हे राजा! यसरी तीनै नगर भस्म गरेर 'पुरारी' नामले प्रसिद्ध हुनुभएका महादेव ब्रह्माजीको स्तुति स्वीकार गर्दै आफ्नो धामतर्फ प्रस्थान गर्नुभयो ।। ७० ।।
एवं विधान्यस्य हरेः स्वमायया
विडम्बमानस्य नृलोकमात्मनः ।
वीर्याणि गीतानि ऋषिभिर्जगद्गुरोः
लोकं पुनानान्यपरं वदामि किम् ॥ ७१ ॥
नेपाली भावानुवादः यसरी भगवान् श्रीकृष्णले आफ्नो मायाद्वारा मनुष्य लोकमा अनेकौँ लीलाहरू गर्नुभयो। ऋषिहरूले गाउने यी लीलाहरूले समस्त लोकलाई पवित्र तुल्याउँछन् ।। ७१ ।।
यस अध्यायको सारांश :
श्रीमद्भागवत महापुराणको सप्तम स्कन्धको दशौँ अध्यायमा भक्त प्रह्लादको निष्काम भक्ति र भगवान् नृसिंहको कृपाको अद्भुत वर्णन गरिएको छ। भगवान् नृसिंहले हिरण्यकशिपुको वध गरेपछि प्रह्लादलाई वर माग्न आग्रह गर्नुभयो। तर, प्रह्लादले आफू कुनै फलको आशा राखेर भक्ति गर्ने 'व्यापारी' नभएको भन्दै वरदान लिन अस्वीकार गरे। उनले भगवान्सँग केवल एउटै कुरा मागे कि उनको हृदयमा कहिल्यै कुनै कामना अङ्कुुरित नहोस्। प्रह्लादको यो निस्वार्थ भाव देखेर भगवान् अत्यन्त प्रसन्न हुनुभयो। भगवान्ले प्रह्लादलाई एक मन्वन्तरसम्म असुरहरूको राजा भएर धर्मपूर्वक राज्य सञ्चालन गर्न आज्ञा दिनुभयो। साथै, प्रह्लादको स्तुति गर्ने जोसुकै पनि कर्मबन्धनबाट मुक्त हुने वरदान दिनुभयो। प्रह्लादले आफ्ना पिता हिरण्यकशिपुको मुक्तिका लागि पनि प्रार्थना गरे। भगवान्ले आश्वासन दिनुभयो कि प्रह्लादजस्तो पुत्र जन्माएका कारण उनका पिताका एक्काइस पुस्ता पवित्र भइसकेका छन्। यसपछि प्रह्लादले शास्त्रोक्त विधिअनुसार पिताको अन्त्येष्टि र आफ्नो राज्याभिषेक सम्पन्न गरे। ब्रह्माजीले पनि भगवान् नृसिंहको स्तुति गर्दै असुरहरूलाई अबदेखि त्यस्ता शक्तिशाली वरदान नदिन आग्रह गर्नुभयो। भगवान् श्रीहरि त्यहीँ अन्तर्धान हुनुभयो र प्रह्लादले धर्मपूर्वक राज्य सम्हाले। नारदजीले युधिष्ठिरलाई सम्झाउनुभयो कि भगवान्का पार्षद जय र विजय नै श्रापवश तीन जन्मसम्म असुर भएर जन्मेका थिए। उनीहरूले वैरभावले भए पनि निरन्तर भगवान्कै चिन्तन गरेकाले अन्त्यमा मुक्ति प्राप्त गरे। भगवान् श्रीकृष्ण नै साक्षात् परब्रह्म हुनुहुन्छ र पाण्डवहरूको घरमा गुप्त रूपले बसिरहनुभएको छ। नारदजीले महादेवको यश रक्षाको प्रसङ्ग पनि सुनाउनुभयो, जसमा मय दानवले बनाएको 'त्रिपुर' लाई महादेवले भगवान् विष्णुको सहयोगमा नष्ट गर्नुभएको थियो। विष्णुले गाई र ब्रह्माले बाच्छो बनेर असुरहरूको अमृत कुवा रित्याइदिएपछि मात्र महादेवले त्रिपुरासुरमाथि विजय पाउनुभएको थियो। यसरी यो अध्यायले भक्तिको महिमा, शरणागति र भगवान्को सर्वोपरितालाई पुष्टि गर्दछ। यो कथा सुन्ने र सुनाउने दुवैले परम गति प्राप्त गर्ने फलश्रुति दिइएको छ। अन्ततः समस्त लीलाका सूत्रधार भगवान् श्रीहरि नै हुनुहुन्छ भन्ने यसको सार हो।
यस अध्यायको दार्शनिक पक्ष :
यस अध्यायले 'निष्काम भक्ति' को उच्चतम दार्शनिक सिद्धान्तलाई उजागर गरेको छ, जहाँ भक्तले भगवान्बाट भौतिक सुख होइन, केवल भगवान्लाई नै चाहन्छ। 'भृत्य' र 'वणिक्' (व्यापारी) बीचको भिन्नता देखाउँदै स्वार्थरहित सेवा नै वास्तविक धर्म हो भन्ने स्पष्ट पारिएको छ। कामनालाई सम्पूर्ण विनाशको जड मानिएको छ, जसले मानिसको बुद्धि, धैर्य र सत्यलाई नष्ट गर्दछ। 'वैर-भक्ति' को सिद्धान्तअनुसार, यदि कसैले भगवान्लाई शत्रु मानेर भए पनि निरन्तर चिन्तन गर्छ भने उसले पनि मुक्ति प्राप्त गर्छ, किनकि भगवान्को नाममा नै अमोघ शक्ति हुन्छ। यसले चेतनाको एकाग्रता नै मुक्तिको द्वार हो भन्ने सङ्केत गर्दछ। ब्रह्म र जीवको सम्बन्ध राजा र सेवकको जस्तो नभई प्रेम र आत्मीयताको हुन्छ भन्ने यहाँ दर्शाइएको छ। 'प्रारब्ध' र 'दैव' को अकाट्य नियमलाई मय दानवको प्रसङ्गले पुष्टि गरेको छ। शरीर विनाशी भए तापनि आत्माको गन्तव्य उसको जीवनभरको भाव र चिन्तनमा निर्भर गर्दछ। यो अध्यायले संसारलाई भगवान्को लीला का रूपमा चित्रण गर्दै सबैमा समत्व भाव राख्नु नै साँचो ज्ञान हो भन्दछ। अन्ततः, मोक्ष भनेको कुनै स्थान प्राप्त गर्नु होइन, बरु सम्पूर्ण कामनाहरूको त्याग गरी भगवत्-चेतनामा विलीन हुनु हो।
No comments:
Post a Comment