श्रीमद्भागवत महापुराण
दशमस्कन्ध एकोननवतितमोऽध्यायःः
श्रीशुक उवाच–
सरस्वत्यास्तटे राजन्नृषयः सत्रमासत ।
वितर्कः समभूत्तेषां त्रिष्वधीशेषु को महान् ॥ १ ॥
नेपाली भावानुवादः हे राजन्! एक पटक सरस्वती नदीको किनारमा यज्ञ गर्न भनी जम्मा भएका ऋषिहरूको मनमा तीन देवता—ब्रह्मा, विष्णु र महेश्वरमध्ये को सर्वश्रेष्ठ हुनुहुन्छ भन्ने विषयमा तर्क–वितर्क चल्यो ।।१।।
तस्य जिज्ञासया ते वै भृगुं ब्रह्मसुतं नृप ।
तज्ज्ञप्त्यै प्रेषयामासुः सोऽभ्यगाद् ब्रह्मणः सभाम् ॥ २ ॥
नेपाली भावानुवादः हे नृप! ऋषिहरूले यस विषयमा यथार्थ जान्नका लागि ब्रह्माजीका मानसपुत्र भृगुलाई अनुरोध गरे। महर्षि भृगु तत्व बुझ्नका लागि सबैभन्दा पहिला ब्रह्माजीको सभामा गए ।।२।।
न तस्मै प्रह्वणं स्तोत्रं चक्रे सत्त्वपरीक्षया ।
तस्मै चुक्रोध भगवान् प्रज्वलन् स्वेन तेजसा ॥ ३ ॥
नेपाली भावानुवादः भृगुले ब्रह्माजीको धैर्यको परीक्षा लिनका लागि उनलाई न त अभिवादन गरे, न कुनै स्तुति नै गरे। यो देखेर आफ्नै तेजले प्रज्वलित हुनुभएका भगवान् ब्रह्माजी भृगुसँग क्रोधित हुनुभयो ।।३।।
स आत्मन्युत्थितं मन्युमात्मजायात्मना प्रभुः ।
अशीशमद् यथा वह्निं स्वयोन्या वारिणाऽऽत्मभूः ॥ ४ ॥
नेपाली भावानुवादः सर्वसामर्थ्यवान् ब्रह्माजीले जसरी जलले अग्निलाई शान्त गर्दछ, त्यसरी नै पुत्र भृगुप्रति आफूभित्र उठेको रिसलाई 'आफ्नै पुत्र त हो' भन्ने भावले विवेकद्वारा शान्त पार्नुभयो ।।४।।
ततः कैलासमगमत् स तं देवो महेश्वरः ।
परिरब्धुं समारेभे उत्थाय भ्रातरं मुदा ॥ ५ ॥
नेपाली भावानुवादः त्यसपछि भृगु ब्रह्मलोकबाट फर्केर कैलाश पर्वतमा जानुभयो। आफ्ना भाइ समान भृगु आएको देखेर महादेवले प्रसन्नताका साथ उठेर उनलाई अङ्कमाल गर्न खोज्नुभयो ।।५।।
नैच्छत्त्वमस्युत्पथग इति देवश्चुकोप ह ।
शूलमुद्यम्य तं हन्तुमारेभे तिग्मलोचनः ॥ ६ ॥
नेपाली भावानुवादः भगवान् शङ्करले यसरी अङ्कमाल गर्न खोज्दा भृगुले 'तपाईँ मर्यादा उल्लंघन गर्ने स्वेच्छाचारी हुनुहुन्छ' भन्दै अङ्कमाल गर्न चाहेनन्। यसबाट शङ्करजी अत्यन्त क्रोधित हुनुभयो र आफ्ना आँखा राता पार्दै उनलाई मार्नका लागि त्रिशूल उठाउनुभयो ।।६।।
पतित्वा पादयोर्देवी सान्त्वयामास तं गिरा ।
अथो जगाम वैकुण्ठं यत्र देवो जनार्दनः ॥ ७ ॥
नेपाली भावानुवादः भगवती पार्वतीले शिवजीको पाउमा परेर अनुनय–विनय गर्दै उहाँको क्रोध शान्त पार्नुभयो। त्यसपछि भृगु त्यहाँबाट वैकुण्ठ लोकतर्फ गए, जहाँ भगवान् जनार्दन निवास गर्नुहुन्थ्यो ।।७।।
शयानं श्रिय उत्सङ्गे पदा वक्षस्यताडयत् ।
तत उत्थाय भगवान् सह लक्ष्म्या सतां गतिः ॥ ८ ॥
स्वतल्पादवरुह्याथ ननाम शिरसा मुनिम् ।
आह ते स्वागतं ब्रह्मन् निषीदात्रासने क्षणम् ।
अजानतामागतान् चः क्षन्तुमर्हथ नः प्रभो ॥ ९ ॥
नेपाली भावानुवादः भृगु वैकुण्ठ पुग्दा भगवान् लक्ष्मीको काखमा टाउको राखेर सुतिरहनुभएको थियो। त्यस समयमा भृगुले आफ्नो खुट्टाले भगवानको वक्षस्थल (छाती) मा प्रहार गरे। त्यसपछि सत्पुरुषका आश्रय भगवान् श्रीहरि लक्ष्मीजीका साथमा उठेर आफ्नो शय्याबाट ओर्लनुभयो र भृगुलाई शिर निहुराएर प्रणाम गर्दै भन्नुभयो– "हे ब्रह्मन्! तपाईँलाई स्वागत छ, यहाँ आसनमा केही बेर बस्नुहोस्। हे प्रभो! तपाईँ आएको थाहा नपाएर हामीबाट जुन अपराध भयो, त्यसका लागि हामीलाई क्षमा गर्नुहोस्" ।।८–९।।
अतीव कोमलौ तात चरणौ ते महामुने ।
इत्युक्त्वा विप्रचरणौ मर्दयन् स्वेन पाणिना ॥ १० ॥
पुनीहि सहलोकं मां लोकपालांश्च मद्गतान् ।
पादोदकेन भवतस्तीर्थानां तीर्थकारिणा ॥ ११ ॥
नेपाली भावानुवादः भगवानले भन्नुभयो– "हे महामुने! तपाईँका चरणकमल अत्यन्त कोमल छन्।" यसो भन्दै उहाँले आफ्ना हातले विप्रको चरण सुम्सुम्याउनु भयो र भन्नुभयो– "तीर्थलाई पनि पावन बनाउने तपाईँको चरणोदकले मलाई, मेरो लोकलाई र ममा आश्रित लोकपालहरूलाई समेत पवित्र बनाइदिनुहोस्" ।।१०–११।।
अद्याहं भगवँल्लक्ष्म्या आसमेकान्तभाजनम् ।
वत्स्यत्युरसि मे भूतिर्भवत्पादहतांहसः ॥ १२ ॥
नेपाली भावानुवादः हे मुने! आजदेखि म लक्ष्मीको एकमात्र आश्रयस्थल बनेँ। तपाईँको चरणस्पर्शले मेरो हृदयका सबै कल्मषहरू पखालिएका छन्, अब मेरो वक्षस्थलमा 'श्री' (लक्ष्मी) ले सदा निवास गर्नुहुनेछ ।।१२।।
श्रीशुक उवाच–
एवं ब्रुवाणे वैकुण्ठे भृगुस्तन्मन्द्रया गिरा ।
निर्वृतस्तर्पितस्तूष्णीं भक्त्युत्कण्ठोऽश्रुलोचनः ॥ १३ ॥
नेपाली भावानुवादः भगवान् विष्णुले यति मधुर वाणीमा बोलेपछि महर्षि भृगु अत्यन्त आनन्दित र तृप्त भए। उनको मनमा भगवान्प्रति भक्ति जागृत भयो र प्रेमविवश भई आँखाबाट आँसु झार्दै उनी मौन रहे ।।१३।।
पुनश्च सत्रमाव्रज्य मुनीनां ब्रह्मवादिनाम् ।
स्वानुभूतमशेषेण राजन् भृगुरवर्णयत् ॥ १४ ॥
नेपाली भावानुवादः हे महाराज! महर्षि भृगु त्यहाँबाट फर्किएर ऋषिहरूको यज्ञस्थलमा आइपुगे र आफूले अनुभव गरेका सबै वृत्तान्त विस्तारपूर्वक सुनाए ।।१४।।
तन्निशम्याथ मुनयो विस्मिता मुक्तसंशयाः ।
भूयांसं श्रद्दधुर्विष्णुं यतः शान्तिर्यतोऽभयम् ॥ १५ ॥
नेपाली भावानुवादः भृगुको अनुभव सुनेर त्यहाँ रहेका सबै ऋषिहरू आश्चर्यचकित भए र उनीहरूको संशय निवारण भयो। जहाँबाट शान्ति र अभय प्राप्त हुन्छ, उनै भगवान् विष्णुलाई उनीहरूले सर्वश्रेष्ठ मानेर श्रद्धा अर्पण गरे ।।१५।।
धर्मः साक्षाद् यतो ज्ञानं वैराग्यं च तदन्वितम् ।
ऐश्वर्यं चाष्टधा यस्माद् यद्यशश्चात्ममलापहम् ॥ १६ ॥
नेपाली भावानुवादः भगवान् विष्णुबाट नै साक्षात् धर्म, ज्ञान, वैराग्य, अष्टसिद्धि रूपी ऐश्वर्य र अन्तःकरण शुद्ध पार्ने यश प्राप्त हुन्छ ।।१६।।
मुनीनां न्यस्तदण्डानां शान्तांनां समचेतसाम् ।
अकिञ्चनानां साधूनां यमाहुः परमां गतिम् ॥ १७ ॥
नेपाली भावानुवादः जो दण्ड त्याग गरेका, शान्त, समदर्शी र अकिञ्चन (निष्काम) साधुहरू हुनुहुन्छ, उहाँहरूले भगवान् विष्णुलाई नै आफ्नो परम गति मान्नुहुन्छ ।।१७।।
सत्त्वं यस्य प्रिया मूर्तिर्ब्राह्मणास्त्विष्टदेवताः ।
भजन्त्यनाशिषः शान्ता यं वा निपुणबुद्धयः ॥ १८ ॥
नेपाली भावानुवादः उहाँ भगवानको स्वरूप सत्त्वप्रधान छ र ब्राह्मणहरू उहाँका आराध्य देव हुन्। त्यसैले निष्काम, शान्त र विवेकी पुरुषहरू उहाँकै निरन्तर भजन गर्दछन् ।।१८।।
त्रिविधाकृतयस्तस्य राक्षसा असुराः सुराः ।
गुणिन्या मायया सृष्टाः सत्त्वं तत्तीर्थसाधनम् ॥ १९ ॥
नेपाली भावानुवादः भगवानकी त्रिगुणात्मिका मायाले तीन प्रकारका आकृतिहरू सृजना गरेकी छिन्— राक्षस (तमोगुण), असुर (रजोगुण) र देवता (सत्त्वगुण)। तीमध्ये सत्त्वगुण नै भगवान् प्राप्तिको मुख्य साधन हो ।।१९।।
श्रीशुक उवाच–
इत्थं सारस्वता विप्रा नृणां संशयनुत्तये ।
पुरुषस्य पदाम्भोज सेवया तद्गतिं गताः ॥ २० ॥
नेपाली भावानुवादः यस प्रकार सरस्वती नदीको तटमा रहेका ब्राह्मणहरूले मानिसहरूको संशय निवारण गरिदिए। उनीहरू स्वयं पनि भगवानको चरणकमलको सेवा गरेर परमधाम प्राप्त गर्न सफल भए ।।२०।।
सूत उवाच–
इत्येतन्मुनितनयास्यपद्मगन्ध–
सुश्लोकं श्रवणपुटैः पिबत्यभीक्ष्णं
पान्थोऽध्वभ्रमणपरिश्रमं जहाति ॥ २१ ॥
नेपाली भावानुवादः सूतजी भन्नुहुन्छ– श्रीशुकदेवजीको मुखारविन्दबाट निसृत पुरुषोत्तम भगवानको यो अमृतमय कथा संसारको भय नष्ट गर्ने खालको छ। जुन संसाररुपी मार्गको यात्रीले यस सुमधुर कथालाई कानरुपी दुनाद्वारा निरन्तर पान गर्दछ, उसले जन्म–मृत्युको चक्रबाट मुक्त भई आफ्नो सबै थकान मेट्दछ ।।२१।।
श्रीशुक उवाच–
एकदा द्वारवत्यां तु विप्रपत्न्याः कुमारकः ।
जातमात्रो भुवं स्पष्ट्वाप ममार किल भारत ॥ २२ ॥
नेपाली भावानुवादः हे भरतवंशी परीक्षित! एक पटक द्वारकामा एक ब्राह्मणकी पत्नीबाट पुत्र जन्मियो, तर त्यो बालक पृथ्वी छुनेबित्तिकै मरिहाल्यो ।।२२।।
विप्रो गृहीत्वा मृतकं राजद्वार्युपधाय सः ।
इदं प्रोवाच विलपन्नातुरो दीनमानसः ॥ २३ ॥
नेपाली भावानुवादः ती ब्राह्मणले अत्यन्त दुःखी भई मरेको बालकको शरीर लिएर राजद्वारमा पुगे र विलाप गर्दै यसरी भन्न थाले ।।२३।।
ब्रह्मद्विषः शठधियो लुब्धस्य विषयात्मनः ।
क्षत्रबन्धोः कर्मदोषात् पंचत्वं मे गतोऽर्भकः ॥ २४ ॥
नेपाली भावानुवादः ब्राह्मणद्रोही, दुष्टबुद्धि, लोभी र विषयवासनामा मग्न रहने अधम क्षत्रिय राजाको कर्मदोषले गर्दा नै मेरो बालकको मृत्यु भएको हो ।।२४।।
हिंसाविहारं नृपतिं दुःशीलमजितेन्द्रियम् ।
प्रजा भजन्त्यः सीदन्ति दरिद्रा नित्यदुःखिताः ॥ २५ ॥
नेपाली भावानुवादः हिंसामा रमाउने, चरित्रहीन र इन्द्रियलाई जित्न नसक्ने राजाको सेवा गर्ने प्रजा सधैँ दरिद्र र दुःखित भई कष्ट भोग्न बाध्य हुन्छन् ।।२५।।
एवं द्वितीयं विप्रर्षिस्तृतीयं त्वेवमेव च ।
विसृज्य स नृपद्वारि तां गाथां समगायत ॥ २६ ॥
नेपाली भावानुवादः यसरी नै ती ब्राह्मणका दोस्रो, तेस्रो गर्दै अन्य बालकहरू पनि जन्मने र मर्ने क्रम चलिरह्यो। उनले प्रत्येक पटक बालकको शव राजद्वारमा राखेर त्यसरी नै विलाप गर्ने गर्दथे ।।२६।।
तामर्जुन उपश्रुत्य कर्हिचित् केशवान्तिके ।
परेते नवमे बाले ब्राह्मणं समभाषत ॥ २७ ॥
नेपाली भावानुवादः जब नवौँ पुत्रको पनि त्यसरी नै मृत्यु भयो, तब श्रीकृष्णको नजिकै रहनुभएका अर्जुनले ती ब्राह्मणको विलाप सुनेर उनीसँग यसरी कुरा गरे ।।२७।।
किं स्विद्ब्रह्मंस्त्वन्निवासे इह नास्ति धनुर्धरः ।
राजन्यबन्धुरेते वै ब्राह्मणाः सत्रमासते ॥ २८ ॥
नेपाली भावानुवादः हे ब्राह्मण! के तपाईँ बस्ने यस द्वारकापुरीमा कोही धनुर्धारी वीर छैनन्? के यी यदुवंशीहरू क्षत्रियका नाममा केवल यज्ञमा मात्रै बस्ने ब्राह्मण जस्ता हुन्? ।।२८।।
धनदारात्मजापृक्ता यत्र शोचन्ति ब्राह्मणाः ।
ते वै राजन्यवेषेण नटा जीवन्त्यसुम्भराः ॥ २९ ॥
नेपाली भावानुवादः जहाँ धन, पत्नी र पुत्रका अभावमा ब्राह्मणहरू शोकमग्न हुन्छन्, त्यहाँका शासकहरू क्षत्रियको भेष धारण गरेर आफ्नो पेट पाल्ने नट (बहुरुपी) मात्र हुन् ।।२९।।
अहं प्रजाः वां भगवन् रक्षिष्ये दीनयोरिह ।
अनिस्तीर्णप्रतिज्ञोऽग्निं प्रवेक्ष्ये हतकल्मषः ॥ ३० ॥
नेपाली भावानुवादः हे भगवान्! पुत्रवियोगले दुःखी हुनुभएका तपाईँ दम्पतीको सन्तानको रक्षा म गर्नेछु। यदि मैले आफ्नो प्रतिज्ञा पूरा गर्न सकिनँ भने म अग्निमा प्रवेश गरेर आफ्नो प्राण त्याग्नेछु ।।३०।।
ब्राह्मण उवाच– सङ्कर्षणो वासुदेवः प्रद्युम्नो धन्विनां वरः ।
नेपाली भावानुवादः ब्राह्मणले भने– "जुन बालकलाई सङ्कर्षण, वासुदेव, प्रद्युम्न र अनिरुद्ध जस्ता महाबाहुहरूले बचाउन सकेनन्, त्यस्तो दुष्कर कार्य तिमी कसरी गर्न सक्छौ? यो तिम्रो केबल केटाकेटीपन मात्र हो, हामीलाई यसमा विश्वास छैन" ।।३१–३२।।
अर्जुन उवाच–
नाहं सङ्कर्षणो ब्रह्मन् न कृष्णः कार्ष्णिरेव च ।
अहं वा अर्जुनो नाम गाण्डीवं यस्य वै धनुः ॥ ३३ ॥
नेपाली भावानुवादः अर्जुनले भने– "हे ब्राह्मण! म न सङ्कर्षण हुँ, न कृष्ण नै। म त गाण्डीवधारी अर्जुन हुँ" ।।३३।।
मावमंस्था मम ब्रह्मन् वीर्यं त्र्यम्बकतोषणम् ।
मृत्युं विजित्य प्रधने आनेष्ये ते प्रजाः प्रभो ॥ ३४ ॥
नेपाली भावानुवादः हे ब्रह्मन्! मेरो पराक्रमलाई नजरअन्दाज नगर्नुहोस्, जसले स्वयं महादेवलाई प्रसन्न तुल्याएको छ। म युद्धमा मृत्युलाई समेत जितेर तपाईँका सन्तान फिर्ता ल्याउनेछु ।।३४।।
एवं विश्रम्भितो विप्रः फाल्गुनेन परंतप ।
जगाम स्वगृहं प्रीतः पार्थवीर्यं निशामयन् ॥ ३५ ॥
नेपाली भावानुवादः हे परीक्षित! अर्जुनले यसरी विश्वास दिलाएपछि ती ब्राह्मण प्रसन्न भए र अर्जुनको पराक्रमको प्रशंसा गर्दै आफ्नो घर फर्किए ।।३५।।
प्रसूतिकाल आसन्ने भार्याया द्विजसत्तमः ।
पाहि पाहि प्रजां मृत्योरित्याहार्जुनमातुरः ॥ ३६ ॥
नेपाली भावानुवादः जब उनकी पत्नीको प्रसव समय नजिक आयो, तब ती ब्राह्मणले आत्तिएर अर्जुनलाई भने– "मेरो सन्तानलाई मृत्युबाट बचाउनुहोस्" ।।३६।।
स उपस्पृश्य शुच्यम्भो नमस्कृत्य महेश्वरम् ।
दिव्यान्यस्त्राणि संस्मृत्य सज्यं गाण्डीवमाददे ॥ ३७ ॥
नेपाली भावानुवादः अर्जुनले पवित्र जलले आचमन गरी महादेवलाई नमस्कार गरे र आफ्ना दिव्यास्त्रहरूको स्मरण गर्दै गाण्डीव धनुषमा ताँदो चढाए ।।३७।।
न्यरुणत् सूतिकागारं शरैर्नानास्त्रयोजितैः ।
तिर्यगूर्ध्वमधः पार्थश्चकार शरपञ्जरम् ॥ ३८ ॥
नेपाली भावानुवादः अर्जुनले प्रसव गृहलाई चारैतिरबाट (माथि, तल र छेउछाउ) मन्त्रयुक्त बाणहरूले घेरेर एउटा सुरक्षित बाणको पिँजडा बनाए ।।३८।।
ततः कुमारः सञ्जातो विप्रपत्न्याह रुदन् मुहुः ।
सद्योऽदर्शनमापेदे सशरीरो विहायसा ॥ ३९ ॥
नेपाली भावानुवादः त्यसपछि ब्राह्मणकी पत्नीले पुत्र जन्माइन्। तर त्यो बालक रुँदा–रुँदै सशरीर आकाशमा उडेर एकाएक अदृश्य भयो ।।३९।।
तदाऽऽह विप्रो विजयं विनिन्दन् कृष्णसन्निधौ ।
मौढ्यं पश्यत मे योऽहं श्रद्दधे क्लीबकत्थनम् ॥ ४० ॥
नेपाली भावानुवादः त्यसपछि ती ब्राह्मणले श्रीकृष्णकै अगाडि अर्जुनको निन्दा गर्दै भने– "मेरो मूर्खता हेर्नुहोस्, मैले यस्तो नपुंसकको फुर्तीलाई विश्वास गरेँ" ।।४०।।
न प्रद्युम्नो नानिरुद्धो न रामो न च केशवः ।
यस्य शेकुः परित्रातुं कोऽन्यस्तदवितेश्वरः ॥ ४१ ॥
नेपाली भावानुवादः जसलाई प्रद्युम्न, अनिरुद्ध, राम र केशव कसैले बचाउन सकेनन्, उसलाई अरू कसले बचाउन सक्थ्यो र? ।।४१।।
धिग् अर्जुनं मृषावादं धिगात्मश्लाघिनो धनुः ।
दैवोपसृष्टं यो मौढ्यादानिनीषति दुर्मतिः ॥ ४२ ॥
नेपाली भावानुवादः झुटो बोल्ने अर्जुनलाई धिक्कार छ र उनको घमण्डी धनुषलाई पनि धिक्कार छ! जसले प्रारब्धद्वारा लगिएको बालकलाई फर्काउने दुस्साहस गर्यो ।।४२।।
एवं शपति विप्रर्षौ विद्यामास्थाय फाल्गुनः ।
ययौ संयमनीमाशु यत्रास्ते भगवान् यमः ॥ ४३ ॥
नेपाली भावानुवादः ब्राह्मणले यसरी गाली गरिरहँदा अर्जुनले आफ्नो योगविद्याको सहारा लिएर तुरुन्तै यमराजको राजधानी संयमनीपुरी पुगे ।।४३।।
विप्रापत्यमचक्षाणस्तत ऐन्द्रीमगात् पुरीम् ।
आग्नेयीं नैर्ऋतीं सौम्यां वायव्यां वारुणीमथ ।
रसातलं नाकपृष्ठं धिष्ण्यान्यन्यान्युदायुधः ॥ ४४ ॥
नेपाली भावानुवादः त्यहाँ बालकलाई नदेखेपछि अर्जुनले इन्द्र, अग्नि, निऋति, सोम, वायु र वरुणका लोकहरू चहारे। उनले रसातलदेखि स्वर्गसम्मका सबै स्थानमा खोजतलास गरे ।।४४।।
ततोऽलब्धद्विजसुतो ह्यनिस्तीर्णप्रतिश्रुतः ।
अग्निं विविक्षुः कृष्णेन प्रत्युक्तः प्रतिषेधता ॥ ४५ ॥
नेपाली भावानुवादः कतै पनि बालक नभेटेपछि र प्रतिज्ञा पूरा नभएपछि अर्जुन चिता बनाएर अग्निमा प्रवेश गर्न तयार भए। त्यति नै बेला भगवान् श्रीकृष्णले उनलाई रोक्दै भन्नुभयो ।।४५।।
दर्शये द्विजसूनूंस्ते मावज्ञात्मानमात्मना ।
ये ते नः कीर्तिं विमलां मनुष्याः स्थापयिष्यन्ति ॥ ४६ ॥
नेपाली भावानुवादः "हे अर्जुन! म तिमीलाई ती ब्राह्मणका पुत्रहरू देखाइदिनेछु। आफैँलाई धिक्कार नगर। अहिले जसले निन्दा गरेका छन्, उनीहरूले नै पछि हाम्रो कीर्ति गाउनेछन्" ।।४६।।
इति संभाष्य भगवानर्जुनेन सहेश्वरः ।
दिव्यं स्वरथमास्थाय प्रतीचीं दिशमाविशत् ॥ ४७ ॥
नेपाली भावानुवादः अर्जुनलाई यसो भन्दै भगवान् श्रीकृष्णले उनलाई आफ्नो दिव्य रथमा बसाएर पश्चिम दिशातिर प्रस्थान गर्नुभयो ।।४७।।
सप्त द्वीपान् ससिन्धून् सप्तसप्तगिरीनथ ।
लोकालोकं तथातीत्य विवेश सुमहत्तमः ॥ ४८ ॥
नेपाली भावानुवादः उहाँहरूले सात द्वीप, सात समुद्र र लोकालोक पर्वतलाई पार गर्दै घोर अन्धकारमा प्रवेश गर्नुभयो ।।४८।।
तत्राश्वाः शैब्यसुग्रीव मेघपुष्पबलाहकाः ।
तमसि भ्रष्टगतयो बभूवुर्भरतर्षभ ॥ ४९ ॥
नेपाली भावानुवादः हे परीक्षित! त्यस अन्धकारमा श्रीकृष्णका शैव्य, सुग्रीव, मेघपुष्प र बलाहक नामका घोडाहरूले बाटो ठम्याउन सकेनन् र अलमलिए ।।४९।।
तान् दृष्ट्वाब भगवान् कृष्णो महायोगेश्वरेश्वरः ।
सहस्रादित्यसङ्काशं स्वचक्रं प्राहिणोत्पुरः ॥ ५० ॥
नेपाली भावानुवादः घोडाहरू अलमलिएको देखेर महायोगेश्वर श्रीकृष्णले हजारौँ सूर्य समान तेजस्वी सुदर्शन चक्रलाई रथको अगाडि जान आज्ञा दिनुभयो ।।५०।।
तमः सुघोरं गहनं कृतं महद्
विदारयद् भूरितरेण रोचिषा ।
मनोजवं निर्विविशे सुदर्शनं
गुणच्युतो रामशरो यथा चमूः ॥ ५१ ॥
नेपाली भावानुवादः सुदर्शन चक्रले आफ्नो प्रचण्ड तेजले त्यस भयानक अन्धकारलाई चिर्दै त्यसरी अगाडि बढ्यो, जसरी श्रीरामको धनुषबाट छुटेको बाण शत्रुको सेनाभित्र प्रवेश गर्दछ ।।५१।।
द्वारेण चक्रानुपथेन तत्तमः
परं परं ज्योतिरनन्तपारम् ।
समश्नुवानं प्रसमीक्ष्य फाल्गुनः
प्रताडिताक्षोऽपिदधेऽक्षिणी उभे ॥ ५२ ॥
नेपाली भावानुवादः चक्रले बनाएको मार्ग हुँदै उनीहरू अन्धकारभन्दा परको अनन्त ज्योतिर्मय स्वरूपमा पुगे। त्यो अत्यन्तै तीव्र प्रकाशलाई सहन नसकी अर्जुनले आफ्ना दुवै आँखा बन्द गरे ।।५२।।
ततः प्रविष्टः सलिलं नभस्वता
बलीयसैजद्बृहदूर्मिभूषणम् ।
तत्राद्भुतं वै भवनं द्युमत्तमं
भ्राजन्मणिस्तम्भसहस्रशोभितम् ॥ ५३ ॥
नेपाली भावानुवादः त्यसपछि उहाँहरू तीव्र वायुले ठूला छालहरू उठिरहेको जलभित्र प्रवेश गर्नुभयो। त्यहाँ जलभित्र हजारौँ मणिका स्तम्भहरूले सुशोभित एउटा अद्भुत र देदीप्यमान भवन थियो ।।५३।।
तस्मिन् महाभीममनन्तमद्भुतं
सहस्रमूर्धन्यफणामणिद्युभिः ।
विभ्राजमानं द्विगुणोल्बणेक्षणं
सिताचलाभं शितिकण्ठजिह्वम् ॥ ५४ ॥
नेपाली भावानुवादः त्यस भवनमा अर्जुनले हजारौँ फणा भएका, फणाका मणिको प्रकाशले चम्किरहेका, भयानक तर अद्भुत शेषनागलाई देखे, जो सेतो पर्वत झैँ विशाल हुनुहुन्थ्यो ।।५४।।
ददर्श तद्भोगसुखासनं विभुं म
हानुभावं पुरुषोत्तमोत्तमम् ।
सान्द्राम्बुदाभं सुपिशङ्गवाससं
प्रसन्नवक्त्रं रुचिरायतेक्षणम् ॥ ५५ ॥
नेपाली भावानुवादः शेषनागको शरीररुपी शय्यामा विराजमान पुरुषोत्तम भगवान् विष्णुलाई अर्जुनले देखे। उहाँको कान्ति गाढा बादल झैँ थियो, उहाँले पहेँलो वस्त्र धारण गर्नुभएको थियो र उहाँको अनुहार प्रसन्न तथा आँखा अत्यन्त सुन्दर थिए ।।५५।।
महामणिव्रातकिरीटकुण्डल–
प्रलम्बचार्वष्टभुजं सकौस्तुभं
श्रीवत्सलक्ष्मं वनमालया वृतम् ॥ ५६ ॥
सुनन्दनन्दप्रमुखैः स्वपार्षदै–
पुष्ट्या श्रिया कीर्त्यजयाखिलर्द्धिभि–
नेपाली भावानुवादः बहुमूल्य मणिजडित मुकुट र कुण्डलले सुशोभित, लामा र सुन्दर आठ भुजा भएका, कौस्तुभ मणि र श्रीवत्सको चिह्न धारण गरेका, वनमालाले घेरिएका र सुनन्द–नन्द आदि पार्षदहरू तथा आफ्ना शस्त्रहरूद्वारा सेवा गरिएका भगवानलाई अर्जुनले देखे ।।५६–५७।।
ववन्द आत्मानमनन्तमच्युतो
जिष्णुश्च तद्दर्शनजातसाध्वसः ।
तावाह भूमा परमेष्ठिनां प्रभु–
नेपाली भावानुवादः श्रीकृष्णले आफ्नै स्वरूप ती अनन्त भगवानलाई प्रणाम गर्नुभयो। अर्जुनले पनि आश्चर्य र डरका साथ प्रणाम गरे। त्यसपछि ती सर्वेश्वर भगवानले हात जोडिरहेका उनीहरूलाई मुस्कुराउँदै भन्नुभयो ।।५८।।
द्विजात्मजा मे युवयोर्दिदृक्षुणा
मयोपनीता भुवि धर्मगुप्तये ।
कलावतीर्णाववनेर्भरासुरान्
हत्वेह भूयस्त्वरयेतमन्ति मे ॥ ५९ ॥
नेपाली भावानुवादः "तिमीहरू दुवैलाई देख्ने इच्छाले मैले ती ब्राह्मणका पुत्रहरूलाई यहाँ ल्याएको हुँ। तिमीहरू पृथ्वीको भार स्वरूप असुरहरूको संहार गरी धर्म रक्षाका लागि मेरो अंशबाट अवतार लिएका हौ। अब चाँडै नै यो कार्य सकेर म कहाँ फिर्ता आऊ" ।।५९।।
पूर्णकामावपि युवां नरनारायणावृषी ।
धर्ममाचरतां स्थित्यै ऋषभौ लोकसङ्ग्रहम् ॥ ६० ॥
नेपाली भावानुवादः "तिमीहरू नर र नारायण ऋषि हौ। यद्यपि तिमीहरू पूर्णकाम छौ, तैपनि लोककल्याणका लागि धर्मको आचरण गरिरहनू" ।।६०।।
इत्यादिष्टौ भगवता तौ कृष्णौ परमेष्ठिना ।
ओमित्यानम्य भूमानमादाय द्विजदारकान् ॥ ६१ ॥
न्यवर्तेतां स्वकं धाम सम्प्रहृष्टौ यथागतम् ।
विप्राय ददतुः पुत्रान् यथारूपं यथावयः ॥ ६२ ॥
नेपाली भावानुवादः यसरी भगवानबाट आज्ञा पाएपछि श्रीकृष्ण र अर्जुनले 'ओम्' भन्दै उहाँलाई ढोगे र ती बालकहरूलाई लिएर द्वारका फर्किए। उनीहरूले ती बालकहरूलाई उस्तै रूप र अवस्थामा ब्राह्मणलाई सुम्पिदिए ।।६१–६२।।
निशाम्य वैष्णवं धाम पार्थः परमविस्मितः ।
यत्किञ्चित् पौरुषं पुंसां मेने कृष्णानुकम्पितम् ॥ ६३ ॥
नेपाली भावानुवादः भगवानको त्यो परमधाम देखेर अर्जुन अत्यन्त चकित भए। उनले यो कुरा बुझे कि मानिसमा जुन पौरख र सामर्थ्य हुन्छ, त्यो सबै श्रीकृष्णकै कृपा हो ।।६३।।
इतीदृशान्यनेकानि वीर्याणीह प्रदर्शयन् ।
बुभुजे विषयान् ग्राम्यानीजे चात्युर्जितैर्मखैः ॥ ६४ ॥
नेपाली भावानुवादः यसरी अनेकौँ वीरतापूर्ण लीलाहरू देखाउँदै भगवानले सामान्य मनुष्यले झैँ सांसारिक भोग र यज्ञहरू पनि सम्पन्न गर्नुभयो ।।६४।।
प्रववर्षाखिलान् कामान् प्रजासु ब्राह्मणादिषु ।
य यथाकालं यथैवेन्द्रो भगवाञ्छ्रैष्ठ्यमास्थितः ॥ ६५ ॥
नेपाली भावानुवादः जसरी इन्द्रले समयमा वर्षा गरेर सबैको तिर्खा मेट्छन्, त्यसैगरी भगवानले ब्राह्मण आदि सम्पूर्ण प्रजाका मनोकामनाहरू पूर्ण गरिदिनुभयो ।।६५।।
हत्वा नृपानधर्मिष्ठान् घातयित्वार्जुनादिभिः ।
अञ्जसा वर्तयामास धर्मं धर्मसुतादिभिः ॥ ६६ ॥
नेपाली भावानुवादः श्रीकृष्णले अधर्मी राजाहरूलाई आफैँले मारेर वा अर्जुनद्वारा मार्न लगाएर युधिष्ठिर आदि धर्मात्माहरूका माध्यमबाट संसारमा धर्मको पुनस्र्थापना गर्नुभयो ।।६६।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको दशम स्कन्ध अन्तर्गतको यस ८९औँ अध्यायमा दुईवटा महत्वपूर्ण प्रसङ्गहरू समेटिएका छन्। पहिलो प्रसङ्गमा त्रिदेव (ब्रह्मा, विष्णु र महेश्वर) मध्ये को सर्वश्रेष्ठ हुनुहुन्छ भन्ने विषयमा ऋषिहरूबीच चलेको विवाद र त्यसको परीक्षणको वर्णन गरिएको छ। महर्षि भृगुले ब्रह्माजीको सभामा गएर उनलाई ढोग र स्तुति नगर्दा ब्रह्माजी क्रोधित हुनुभयो, तर आफ्नो पुत्र भएकोले रिस शान्त पार्नुभयो। त्यसपछि कैलाश पुग्दा शिवजीले अङ्कमाल गर्न खोज्नुभयो, तर भृगुले उहाँलाई अमर्यादित भन्दै तिरस्कार गरेपछि शिवजी त्रिशूल लिएर मार्न जाइलाग्नुभयो। अन्तमा वैकुण्ठ पुगेका भृगुले सुतिरहनुभएका भगवान् विष्णुको छातीमा लात्तीले प्रहार गर्दा पनि विष्णुले क्रोध गर्नुको साटो उल्टै ऋषिको चरण सुम्सुम्याउँदै क्षमा माग्नुभयो। भगवान् विष्णुको यही अपार धैर्य, सहनशीलता र भक्तवत्सलता देखेर ऋषिहरूले उहाँलाई नै सर्वश्रेष्ठ देवताका रूपमा स्वीकार गरे। यसले के स्पष्ट पार्छ भने क्रोध र अहंकारभन्दा क्षमा र विनम्रता नै महानताका लक्षण हुन्।
दोस्रो प्रसङ्गमा द्वारकाका एक ब्राह्मणका सन्तानहरू जन्मेकै क्षण मर्ने गरेको र त्यसको दोष उनले राजा उग्रसेन र श्रीकृष्णलाई दिने गरेको कथा छ। ब्राह्मणका नौ जना सन्तान त्यसरी नै मरेपछि अर्जुनले उनको दसौँ सन्तान बचाउने प्रतिज्ञा गर्छन् र बचाउन नसके अग्निमा हाम फाल्ने संकल्प गर्छन्। अर्जुनले बाणको पिँजडा बनाएर प्रसव गृह घेरे पनि बालक जन्मनेबित्तिकै सशरीर अदृश्य हुन्छ। आफ्नो प्रतिज्ञा पूरा गर्न नसकेपछि लज्जित भएका अर्जुन चितामा चढ्न लाग्दा श्रीकृष्णले उनलाई रोक्नुहुन्छ। त्यसपछि श्रीकृष्ण र अर्जुन दिव्य रथमा चढेर सात द्वीप र समुद्र पार गर्दै घोर अन्धकार चिरेर परब्रह्मको ज्योतिर्मय लोकमा पुग्छन्। त्यहाँ उनीहरूले शेषनागको शय्यामा विराजमान भगवान् विष्णु (महाविष्णु) लाई भेट्छन्। महाविष्णुले श्रीकृष्ण र अर्जुनलाई आफ्नै अंश 'नर–नारायण' भएको बताउँदै उनीहरूलाई दर्शन दिनकै लागि ब्राह्मणका पुत्रहरू आफूले ल्याएको जानकारी दिनुहुन्छ। अन्त्यमा ती बालकहरूलाई लिएर श्रीकृष्ण र अर्जुन द्वारका फर्कन्छन् र ब्राह्मणलाई बुझाउँछन्। यो कथाले भगवानको सर्वोपरिता र अर्जुनको अहंकार निवारणको पाटोलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ।
दार्शनिक पक्ष
यस अध्यायको दार्शनिक पक्ष अत्यन्त गहिरो छ, जसले ईश्वरको गुण र भक्तको सम्बन्धलाई परिभाषित गर्दछ। पहिलो प्रसङ्गले 'सत्त्वगुण' को श्रेष्ठतालाई प्रतिपादन गर्दछ। ब्रह्माजीमा रजोगुण र शिवजीमा तमोगुणको केही अंश देखिँदा उहाँहरू क्रोधित हुनुभयो, तर विष्णु शुद्ध सत्त्वगुणका प्रतीक भएकाले उहाँले अपमानलाई पनि आशिर्वादमा बदल्नुभयो। यसले महानताको कसी शक्ति प्रदर्शन होइन, बरु क्षमा र आत्मसंयम हो भन्ने सिकाउँछ। दोस्रो प्रसङ्गमा अर्जुनको 'गाण्डीव' को अहंकारलाई तोड्दै सबै सामर्थ्यको स्रोत परमात्मा नै हुनुहुन्छ भन्ने बोध गराइएको छ। 'नर' र 'नारायण' को मिलनले जीवात्मा र परमात्माको एकात्मकतालाई सङ्केत गर्दछ। अन्धकार चिरेर ज्योतिमा पुग्ने यात्राले अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी प्रकाशतर्फको आध्यात्मिक यात्रालाई प्रतिबिम्बित गर्दछ। समग्रमा, यो अध्यायले कर्म, भक्ति र ज्ञानको समन्वय गर्दै ईश्वरको शरणागति नै अन्तिम सत्य भएको दर्शन दिन्छ।
No comments:
Post a Comment