श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – त्रयोविंशोऽध्यायः
(अनुष्टुप्)
राम राम महाबाहो कृष्ण दुष्टनिबर्हण ।
एषा वै बाधते क्षुन्नस्तच्छान्तिं कर्तुमर्हथः ॥ १ ॥
नेपाली भावानुवाद: गोठालाहरूले भने— हे महाबाहु बलराम! हे दुष्ट संहारक श्रीकृष्ण! हामीलाई भोकले ज्यादै सताइरहेको छ। तसर्थ, तपाईंहरूले यसलाई शान्त पार्ने उपाय गर्नुहोस् ।। १ ।।
शुक उवाच–
इति विज्ञापितो गोपैर्भगवान् देवकीसुतः ।
भक्ताया विप्रभार्यायाः प्रसीदन्निदमब्रवीत् ॥ २ ॥
नेपाली भावानुवाद: श्रीशुकदेवजीले भन्नुभयो— हे परीक्षित! जब गोपहरूले यसरी बिन्ती गरे, तब देवकीपुत्र भगवान् श्रीकृष्णले आफ्ना भक्त ब्राह्मण–पत्नीहरूमा अनुग्रह गर्ने इच्छाले यसो भन्नुभयो ।। २ ।।
प्रयात देवयजनं ब्राह्मणा ब्रह्मवादिनः ।
सत्रमाङ्गिरसं नाम ह्यासते स्वर्गकाम्यया ॥ ३ ॥
नेपाली भावानुवाद: मेरा प्रिय साथीहरू! यहाँबाट केही पर वेदवादी ब्राह्मणहरू स्वर्गको इच्छाले 'अङ्गिरस' नामक यज्ञ गरिरहेका छन्। तिमीहरू उनीहरूको यज्ञशालामा जाऊ ।। ३ ।।
तत्र गत्वौदनं गोपा याचतास्मद्विसर्जिताः ।
कीर्तयन्तो भगवत आर्यस्य मम चाभिधाम् ॥ ४ ॥
नेपाली भावानुवाद: हे गोपहरू! मैले पठाएको भनेर त्यहाँ जाऊ र मेरो तथा मेरा दाजु बलरामको नाम लिएर उनीहरूसँग भोजन (भात) माग ।। ४ ।।
इत्यादिष्टा भगवता गत्वायाचन्त ते तथा ।
कृताञ्जलिपुटा विप्रान् दण्डवत् पतिता भुवि ॥ ५ ॥
नेपाली भावानुवाद: भगवान्ले यस्तो आदेश दिएपछि ती गोपहरू ब्राह्मणहरूको यज्ञशालामा गए र पृथ्वीमा लम्पसार परी दण्डवत् गरेर हात जोडी भगवान्को आज्ञाअनुसार भोजन मागे ।। ५ ।।
हे भूमिदेवाः शृणुत कृष्णस्यादेशकारिणः ।
प्राप्ताञ्जानीत भद्रं वो गोपान् नो रामचोदितान् ॥ ६ ॥
नेपाली भावानुवाद: हे भूदेव ब्राह्मणहरू! तपाईंहरूको कल्याण होस्। हाम्रा कुरा सुन्नुहोस्। हामी श्रीकृष्ण र बलरामको आज्ञाले यहाँ आएका हौँ, हामीलाई उहाँहरूकै दूत सम्झनुहोस् ।। ६ ।।
(मिश्र)
गाश्चारयन्तावविदूर ओदनं
रामाच्युतौ वो लषतो बुभुक्षितौ ।
तयोर्द्विजा ओदनमर्थिनोर्यदि
श्रद्धा च वो यच्छत धर्मवित्तमाः ॥ ७ ॥
नेपाली भावानुवाद: हे धर्मवेत्ता ब्राह्मणहरू! बलराम र श्रीकृष्ण गाई चराउँदै यहाँबाट नजिकै आउनुभएको छ। उहाँहरू भोकाउनुभएको हुनाले भोजन चाहनुहुन्छ। यदि तपाईंहरूमा श्रद्धा छ भने उहाँहरूका लागि भोजन प्रदान गर्नुहोस् ।। ७ ।।
(अनुष्टुप्)
दीक्षायाः पशुसंस्थायाः सौत्रामण्याश्च सत्तमाः ।
अन्यत्र दीक्षितस्यापि नान्नमश्नन् हि दुष्यति ॥ ८ ॥
नेपाली भावानुवाद: हे सज्जनहरू! दीक्षा लिएको समयमा, पशुयाग र सौत्रामणि यज्ञबाहेक अन्य समयमा भोजन गराउँदा दीक्षित व्यक्तिलाई कुनै दोष लाग्दैन ।। ८ ।।
इति ते भगवद्याच्ञां शृण्वन्तोऽपि न शुश्रुवुः ।
क्षुद्राशा भूरिकर्माणो बालिशा वृद्धमानिनः ॥ ९ ॥
नेपाली भावानुवाद: हे परीक्षित! स्वर्गजस्तो तुच्छ फलका लागि ठूला कर्मकाण्डमा फसेका ती ब्राह्मणहरू वास्तवमा अज्ञानी थिए, तर आफूलाई निकै वृद्ध र ज्ञानी ठान्थे। त्यसैले भगवान्ले भोजन मागेको सुन्दासुन्दै पनि उनीहरूले सुने नसुनेझैँ गरे ।। ९ ।।
देशः कालः पृथग् द्रव्यं मंत्रतंत्रर्त्विजोऽग्नयः ।
देवता यजमानश्च क्रतुर्धर्मश्च यन्मयः ॥ १० ॥
नेपाली भावानुवाद: परीक्षित! देश, काल, सामग्री, मन्त्र, विधि, ऋत्विज्, अग्नि, देवता, यजमान, यज्ञ र धर्म— यी सबै स्वरूपमा साक्षात् भगवान् मात्रै हुनुहुन्छ ।। १० ।।
तं ब्रह्म परमं साक्षाद् भगवन्तमधोक्षजम् ।
मनुष्यदृष्ट्या दुष्प्रज्ञा मर्त्यात्मानो न मेनिरे ॥ ११ ॥
नेपाली भावानुवाद: गोपहरूमार्फत स्वयं परब्रह्म भगवान्ले भोजन मागिरहनुभएको थियो। तर देहाभिमानी ती मन्दबुद्धि ब्राह्मणहरूले उहाँलाई साधारण मानिस सम्झेर चिन्न सकेनन् ।। ११ ।।
न ते यदोमिति प्रोचुः न नेति च परन्तप ।
गोपा निराशाः प्रत्येत्य तथोचुः कृष्णरामयोः ॥ १२ ॥
नेपाली भावानुवाद: हे परन्तप! ती ब्राह्मणहरूले 'हुन्छ' वा 'हुँदैन' केही पनि भनेनन्। यसबाट ती गोप बालकहरू निराश भएर फर्किए र श्रीकृष्ण तथा बलरामलाई सबै कुरा सुनाए ।। १२ ।।
तदुपाकर्ण्य भगवान् प्रहस्य जगदीश्वरः ।
व्याजहार पुनर्गोपान् दर्शयँलौकिकीं गतिम् ॥ १३ ॥
नेपाली भावानुवाद: गोपाबालकका कुरा सुनेर जगदीश्वर भगवान् श्रीकृष्ण मुस्कुराउनुभयो। उहाँले 'संसारमा यस्तै हुन्छ' भन्ने लोकरीति देखाउँदै पुन: गोपहरूलाई सम्झाउँदै भन्नुभयो ।। १३ ।।
मां ज्ञापयत पत्नीभ्यः ससङ्कर्षणमागतम् ।
दास्यन्ति काममन्नं वः स्निग्धा मय्युषिता धिया ॥ १४ ॥
नेपाली भावानुवाद: मेरा प्यारा साथीहरू! यसपटक तिमीहरू यज्ञशालामा रहेका ब्राह्मण–पत्नीहरूकहाँ जाऊ र 'बलराम र कृष्ण यहाँ आउनुभएको छ' भनी सुनाऊ। उनीहरूको चित्त ममा नै तल्लीन छ, उनीहरूले तिमीहरूलाई चाहेजति भोजन दिनेछन् ।। १४ ।।
गत्वाथ पत्नीमशालायां दृष्ट्वातऽऽसीनाः स्वलङ्कृताः ।
नत्वा द्विजसतीर्गोपाः प्रश्रिता इदमब्रुवन् ॥ १५ ॥
नेपाली भावानुवाद: त्यसपछि गोपबालकहरू यज्ञशालामा गए। त्यहाँ ब्राह्मण–पत्नीहरू अलङ्कृत भएर बसेका देखे। उनीहरूलाई प्रणाम गरेर ती बालकहरूले अत्यन्त नम्रताका साथ भने ।। १५ ।।
नमो वो विप्रपत्नीभ्यो निबोधत वचांसि नः ।
इतोऽविदूरे चरता कृष्णेनेहेषिता वयम् ॥ १६ ॥
नेपाली भावानुवाद: हे विप्रपत्नीहरू! तपाईंहरूलाई हाम्रो नमस्कार छ। हाम्रा कुरा सुन्नुहोस्। भगवान् श्रीकृष्ण यहाँ नजिकै आउनुभएको छ र उहाँले नै हामीलाई यहाँ पठाउनुभएको हो ।। १६ ।।
गाश्चारयन् स गोपालैः सरामो दूरमागतः ।
बुभुक्षितस्य तस्यान्नं सानुगस्य प्रदीयताम् ॥ १७ ॥
नेपाली भावानुवाद: बलरामजी र गोठालाहरूसँग गाई चराउँदै उहाँ यहाँसम्म आउनुभएको छ। उहाँ र उहाँका साथीहरू भोकाएका छन्, त्यसैले उहाँहरूका लागि भोजन प्रदान गर्नुहोस् ।। १७ ।।
श्रुत्वाच्युतमुपायातं नित्यं तद्दर्शनोत्सुकाः ।
तत्कथाक्षिप्तमनसो बभूवुर्जातसम्भ्रमाः ॥ १८ ॥
नेपाली भावानुवाद: परीक्षित! ती ब्राह्मण–पत्नीहरू सधैँ भगवान्को लीला–कथा सुन्ने गर्थे र दर्शनका लागि आतुर थिए। अच्युत भगवान् आउनुभएको खबर सुन्नेबित्तिकै उनीहरू व्याकुल भए ।। १८ ।।
चतुर्विधं बहुगुणमन्नमादाय भाजनैः ।
अभिसस्रुः प्रियं सर्वाः समुद्रमिव निम्नगाः ॥ १९ ॥
निषिध्यमानाः पतिभिर्भ्रातृभिर्बन्धुभिः सुतैः । भगवत्युत्तमश्लोके दीर्घश्रुतधृताशयाः ॥ २० ॥
नेपाली भावानुवाद: उनीहरूले आफ्ना पति, दाजुभाइ र छोराछोरीले रोक्दा रोक्दै पनि उत्तमश्लोक भगवान्प्रति दृढ भक्ति भएकाले स्वादिष्ट चार प्रकारका भोजनहरू भाँडामा राखेर आफ्ना प्रियतम श्रीकृष्णलाई भेट्न त्यसरी नै दौडिए, जसरी नदीहरू समुद्रतर्फ बग्छन् ।। १९–२० ।।
यमुनोपवनेऽशोकनवपल्लवमण्डिते ।
विचरन्तं वृतं गोपैः साग्रजं ददृशुः स्त्रियः ॥ २१ ॥
नेपाली भावानुवाद: यमुनाको किनारमा नयाँ पल्लवहरूले सजिएको अशोक वनमा गोठालाहरूले घेरिएका बलराम र श्रीकृष्णलाई ती स्त्रीहरूले देखे ।। २१ ।।
(वसंततिलका)
श्यामं हिरण्यपरिधिं वनमाल्यबर्ह–
धातुप्रवालनटवेषमनुव्रतांसे ।
विन्यस्तहस्तमितरेण धुनानमब्जं
कर्णोत्पलालककपोलमुखाब्जहासम् ॥ २२ ॥
नेपाली भावानुवाद: भगवान्को श्याम वर्णको शरीरमा स्वर्ण झैँ पहेंलो पीताम्बर चम्किरहेको थियो। घाँटीमा वनमाला, शिरमा मयूरको प्वाँख र शरीरमा धातुका चित्रहरूले उहाँ नट (कलाकार) झैँ देखिनुहुन्थ्यो। एउटा हात साथीको काँधमा राखेर अर्को हातले कमलको फूल घुमाउँदै, कानमा कुण्डल र कपालका झुप्पाले सुशोभित मन्द मुस्कानयुक्त मुखमण्डल भएका श्रीकृष्णलाई उनीहरूले देखे ।। २२ ।।
प्रायःश्रुतप्रियतमोदयकर्णपूरै–
र्यस्मिन् निमग्नमनसस्तमथाक्षिरंध्रैः ।
अन्तः प्रवेश्य सुचिरं परिरभ्य तापं
प्राज्ञं यथाभिमतयो विजहुर्नरेन्द्र ॥ २३ ॥
नेपाली भावानुवाद: हे परीक्षित! जसको महिमा कानले सुन्दा नै उनीहरू मुग्ध हुन्थे, अब ती श्रीकृष्णलाई आँखाको बाटोबाट हृदयमा प्रवेश गराई उनीहरूले धेरै बेरसम्म आलिङ्गन गरे। जसरी सुषुप्तिमा जीवले परमात्मालाई भेट्दा संसारको ताप हराउँछ, त्यसरी नै उनीहरूको विरहको ताप शान्त भयो ।। २३ ।।
(अनुष्टुप्)
तास्तथा त्यक्तसर्वाशाः प्राप्ता आत्मदिदृक्षया ।
विज्ञायाखिलदृग्द्रष्टा प्राह प्रहसिताननः ॥ २४ ॥
नेपाली भावानुवाद: सबैका अन्तर्यामी भगवान्ले ती स्त्रीहरू सबै सांसारिक आशा र आफन्तको बन्धन त्यागेर दर्शनका लागि आएका हुन् भन्ने बुझेर मुस्कुराउँदै भन्नुभयो ।। २४ ।।
स्वागतं वो महाभागा आस्यतां करवाम किम् । य
न्नो दिदृक्षया प्राप्ता उपपन्नमिदं हि वः ॥ २५ ॥
नेपाली भावानुवाद: भगवान्ले भन्नुभयो— हे महाभाग देवीहरू! तपाईंहरूको स्वागत छ। बस्नुहोस्, म तपाईंहरूको के सेवा गरूँ? मलाई भेट्ने इच्छाले तपाईंहरू यहाँ आउनुभयो, यो तपाईंहरूजस्ता प्रेमी भक्तका लागि सुहाउने कुरा हो ।। २५ ।।
नन्वद्धा मयि कुर्वन्ति कुशलाः स्वार्थदर्शिनः ।
अहेतुक्यव्यवहितां भक्तिमात्मप्रिये यथा ॥ २६ ॥
नेपाली भावानुवाद: वास्तवमा आफ्नो हित बुझ्ने विवेकी मानिसहरू मलाई नै आफ्नो आत्मा र प्रियतम मानेर निष्काम एवं अनन्य भक्ति गर्दछन् ।। २६ ।।
प्राणबुद्धिमनःस्वात्मदारापत्यधनादयः ।
यत्सम्पर्कात् प्रिया आसंस्ततः को न्वपरः प्रियः ॥ २७ ॥
नेपाली भावानुवाद: जसको सम्बन्धले गर्दा प्राण, बुद्धि, मन, शरीर, पत्नी, पुत्र र धन प्यारा लाग्छन्, त्यो आत्मा (परमात्मा) भन्दा अर्को प्रिय वस्तु के हुन सक्छ र? ।। २७ ।।
तद् यात देवयजनं पतयो वो द्विजातयः ।
स्वसत्रं पारयिष्यन्ति युष्माभिर्गृहमेधिनः ॥ २८ ॥
नेपाली भावानुवाद: तसर्थ, अब तपाईंहरू यज्ञशालामा फर्कनुहोस्। तपाईंहरूका गृहस्थ पतिहरूले तपाईंहरूसँगै मिलेर मात्र यज्ञ पूरा गर्न सक्नेछन् ।। २८ ।।
पत्न्ययः ऊचुः–
(वसंततिलका)
मैवं विभोऽर्हति भवान् गदितुं नृशंसं
सत्यं कुरुष्व निगमं तव पादमूलम् ।
प्राप्ता वयं तुलसिदाम पदावसृष्टं
केशैर्निवोढुमतिलङ्घ्य समस्तबन्धून् ॥ २९ ॥
नेपाली भावानुवाद: ब्राह्मण–पत्नीहरूले भने— हे विभो! हजुरले यस्तो निष्ठुर वचन बोल्नु सुहाउँदैन। हजुरको चरणमा आएको व्यक्ति फेरि फर्कँदैन भन्ने वेदको वचन सत्य गरिदिनुहोस्। हामी सबै आफन्तलाई त्यागेर हजुरको चरणको तुलसीको माला शिरमा धारण गर्न यहाँ आएका हौँ ।। २९ ।।
गृह्णन्ति नो न पतयः पितरौ सुता वा
न भ्रातृबन्धुसुहृदः कुत एव चान्ये ।
तस्माद् भवत्प्रपदयोः पतितात्मनां नो
नान्या भवेद् गतिररिन्दम तद् विधेहि ॥ ३० ॥
नेपाली भावानुवाद: हे शत्रुदमन! अब हाम्रा पति, मातापिता, पुत्र वा दाजुभाइ कसैले पनि हामीलाई स्वीकार गर्ने छैनन्, अरूको त के कुरा? हजुरको चरणमा परेका हामीहरूको अब हजुरबाहेक अर्को गति छैन, त्यसैले हाम्रो व्यवस्था हजुरले नै गरिदिनुहोस् ।। ३० ।।
श्रीभगवानुवाच–
पतयो नाभ्यसूयेरन् पितृभ्रातृसुतादयः ।
लोकाश्च वो मयोपेता देवा अप्यनुमन्वते ॥ ३१ ॥
नेपाली भावानुवाद: भगवान् श्रीकृष्णले भन्नुभयो—
(अनुष्टुप्)
न प्रीतयेऽनुरागाय ह्यङ्गसङ्गो नृणामिह ।
तन्मनो मयि युञ्जाना अचिरान्मामवाप्स्यथ ॥ ३२ ॥
नेपाली भावानुवाद: यस संसारमा शारीरिक सान्निध्य मात्र प्रेमको आधार होइन। तिमीहरू आफ्नो मन ममा अर्पण गर, चाँडै मलाई प्राप्त गर्नेछौ ।। ३२ ।।
शुक उवाच–
ते चानसूयवः स्वाभिः स्त्रीभिः सत्रमपारयन् ॥ ३३ ॥
नेपाली भावानुवाद: श्रीशुकदेवजी भन्नुहुन्छ— हे परीक्षित! भगवान्को यस्तो आदेश पाएपछि ती विप्रपत्नीहरू यज्ञशालामा फर्किए। ती ब्राह्मणहरूले पनि दोषारोपण नगरी आफ्ना पत्नीहरूसँग मिलेर यज्ञ सम्पन्न गरे ।। ३३ ।।
तत्रैका विधृता भर्त्रा भगवन्तं यथाश्रुतम् ।
हृदोपगुह्य विजहौ देहं कर्मानुबन्धनम् ॥ ३४ ॥
नेपाली भावानुवाद: तीमध्ये एक महिला जसलाई उनका श्रीमान्ले जान दिएका थिएनन्, उनले भगवान्को स्वरूपको ध्यान गर्दै हृदयमा उहाँलाई आलिङ्गन गरिन् र तत्काल देह त्याग गरी कर्मबन्धनबाट मुक्त भइन् ।। ३४ ।।
भगवानपि गोविन्दस्तेनैवान्नेन गोपकान् ।
चतुर्विधेनाशयित्वा स्वयं च बुभुजे प्रभुः ॥ ३५ ॥
नेपाली भावानुवाद: भगवान् श्रीकृष्णले ब्राह्मण–पत्नीहरूले ल्याएको त्यो चार प्रकारको भोजन पहिले गोपबालकहरूलाई खुवाउनुभयो र त्यसपछि स्वयंले पनि ग्रहण गर्नुभयो ।। ३५ ।।
एवं लीलानरवपुर्नृलोकमनुशीलयन् ।
रेमे गोगोपगोपीनां रमयन् रूपवाक्कृतैः ॥ ३६ ॥
नेपाली भावानुवाद: यसरी मानवरूप धारी भगवान्ले आफ्नो रूप, वाणी र लीलाद्वारा गाई, गोप र गोपिनीहरूलाई आनन्द दिँदै लीला गर्नुभयो ।। ३६ ।।
अथानुस्मृत्य विप्रास्ते अन्वतप्यन् कृतागसः ।
यद् विश्वेश्वरयोर्याच्ञामहन्म नृविडम्बयोः ॥ ३७ ॥
नेपाली भावानुवाद: त्यसपछि ती ब्राह्मणहरूलाई चेत खुल्यो र उनीहरूले आफूले गरेको अपराध सम्झेर पश्चाताप गरे। उनीहरूले सोचे— 'हामीले विश्वेश्वर भगवान्को प्रार्थनालाई अस्वीकार गरेर ठूलो गल्ती गर्यौँ' ।। ३७ ।।
दृष्ट्वाव स्त्रीणां भगवति कृष्णे भक्तिमलौकिकीम् ।
आत्मानं च तया हीनमनुतप्ता व्यगर्हयन् ॥ ३८ ॥
नेपाली भावानुवाद: आफ्ना पत्नीहरूको भगवान्प्रतिको अलौकिक भक्ति देखेर उनीहरूले भक्तिहीन आफ्नो जीवनलाई धिक्कार्न थाले ।। ३८ ।।
धिग्जन्म नस्त्रिवृद् विद्यां धिग् व्रतं धिग् बहुज्ञताम् ।
धिक्कुलं धिक् क्रियादाक्ष्यं विमुखा ये त्वधोक्षजे ॥ ३९ ॥
नेपाली भावानुवाद: उनीहरू भन्न थाले— हाम्रो द्विज जन्मलाई धिक्कार छ! हाम्रो पाण्डित्य, व्रत, बहुज्ञता, उच्च कुल र कर्मकाण्डको निपुणतालाई पनि धिक्कार छ, किनकि हामी भगवान् श्रीकृष्णबाट विमुख भयौँ ।। ३९ ।।
नूनं भगवतो माया योगिनामपि मोहिनी ।
यद् वयं गुरवो नॄणां स्वार्थे मुह्यामहे द्विजाः ॥ ४० ॥
नेपाली भावानुवाद: निश्चय नै भगवान्को मायाले योगीहरूलाई समेत मोहित बनाउँछ। हामी मानिसका गुरु भनिने ब्राह्मणहरू पनि आफ्नै स्वार्थमा परेर अलमलिएका रहेछौँ ।। ४० ।।
अहो पश्यत नारीणामपि कृष्णे जगद्गुयरौ ।
दुरन्तभावं योऽविध्यन्मृत्युपाशान् गृहाभिधान् ॥ ४१ ॥
नेपाली भावानुवाद: हेर त! यी नारीहरूको जगद्गुरु श्रीकृष्णप्रति कस्तो अटुट भक्ति! उनीहरूले घररूपी मृत्युको पासोलाई चटक्कै काटेर भगवान्लाई प्राप्त गरे ।। ४१ ।।
नासां द्विजातिसंस्कारोन निवासो गुरावपि ।
न तपो नात्ममीमांसा न शौचं न क्रियाः शुभाः ॥ ४२ ॥
नेपाली भावानुवाद: यी स्त्रीहरूको न त द्विज संस्कार भएको छ, न यिनीहरू गुरुकुलमा बसेका छन्, न तपो–साधना वा आत्म–मीमांसा नै गरेका छन्, तैपनि श्रीकृष्णमा यस्तो निश्चल भक्ति छ ।। ४२ ।।
तथापि ह्युत्तमःश्लोके कृष्णे योगेश्वरेश्वरे ।
भक्तिर्दृढा न चास्माकं संस्कारादिमतामपि ॥ ४३ ॥
नेपाली भावानुवाद: हामी संस्कारयुक्त भएर पनि योगेश्वर श्रीकृष्णमा दृढ भक्ति राख्न सकेनौँ, तर यिनीहरूले सजिलै त्यो प्रेम प्राप्त गरे ।। ४३ ।।
ननु स्वार्थविमूढानां प्रमत्तानां गृहेहया ।
अहो नः स्मारयामास गोपवाक्यैः सतां गतिः ॥ ४४ ॥
नेपाली भावानुवाद: हामी गृहस्थीको काममा मत्त भएर वास्तविक स्वार्थ (कल्याण) बिर्सिरहेका थियौँ। धन्य हुनुहुन्छ ती प्रभु, जसले गोपबालकहरू पठाएर हामीलाई चेत गराउनुभयो ।। ४४ ।।
अन्यथा पूर्णकामस्य कैवल्याद्यशिषां पतेः ।
ईशितव्यैः किमस्माभिरीशस्यैतद् विडम्बनम् ॥ ४५ ॥
नेपाली भावानुवाद: जो स्वयं पूर्णकाम हुनुहुन्छ र मोक्षका स्वामी हुनुहुन्छ, उहाँलाई हामीसँग भोजन माग्नुपर्ने कुनै आवश्यकता थिएन। यो त केवल हामीलाई अनुग्रह गर्ने एउटा लीला मात्र थियो ।। ४५ ।।
हित्वान्यान् भजते यं श्रीः पादस्पर्शाशया सकृत् ।
स्वात्मदोषापवर्गेण तद्याच्ञा जनमोहिनी ॥ ४६ ॥
नेपाली भावानुवाद: स्वयं लक्ष्मीजी समेत आफ्ना सबै चञ्चलता त्यागेर जसको चरण स्पर्शको इच्छा राख्नुहुन्छ, उहाँले हामीसँग भिक्षा माग्नु भनेको मानिसलाई मोहित पार्ने लीला नै हो ।। ४६ ।।
देशः कालः पृथग्द्रव्यं मंत्रतंत्रर्त्विजोऽग्नयः ।
देवता यजमानश्च क्रतुर्धर्मश्च यन्मयः ॥ ४७ ॥
नेपाली भावानुवाद: स्थान, समय, सामग्री, मन्त्र, विधि, अग्नि, देवता, यजमान र यज्ञ— यी सबै साक्षात् भगवान्कै स्वरूप हुन् ।। ४७ ।।
स एष भगवान् साक्षाद् विष्णुर्योगेश्वरेश्वरः ।
जातो यदुष्वित्याशृण्म ह्यपि मूढा न विद्महे ॥ ४८ ॥
नेपाली भावानुवाद: साक्षात् भगवान् विष्णुले यदुवंशमा श्रीकृष्णका रूपमा अवतार लिनुभएको छ भन्ने कुरा सुनेका थियौँ, तैपनि हामी कस्ता मूर्ख, जसले उहाँलाई चिन्न सकेनौँ ।। ४८ ।।
अहो वयं धन्यतमा येषां नस्तादृशीः स्त्रियः ।
नेपाली भावानुवाद: हामी कति धन्य छौँ, जसका पत्नीहरू यस्ता भक्त छन्। उनीहरूकै भक्तिले गर्दा आज हाम्रो बुद्धि पनि भगवान्तर्फ लागेको छ ।। ४९ ।।
नमस्तुभ्यं भगवते कृष्णायाकुण्ठमेधसे ।
यन्मायामोहितधियो भ्रमामः कर्मवर्त्मसु ॥ ५० ॥
नेपाली भावानुवाद: हे अकुण्ठित बुद्धि भएका भगवान् श्रीकृष्ण! हजुरलाई नमस्कार छ। हजुरकै मायाले मोहित भएर हामी कर्मको मार्गमा भौँतारिरहेका थियौँ ।। ५० ।।
स वै न आद्यः पुरुषः स्वमायामोहितात्मनाम् ।
अविज्ञतानुभावानां क्षन्तुमर्हत्यतिक्रमम् ॥ ५१ ॥
नेपाली भावानुवाद: ती आदिपुरुष श्रीकृष्णले हामीजस्ता मायाले मोहित र उहाँको प्रभाव नजान्नेहरूको अपराध क्षमा गरिदिनुहुनेछ ।। ५१ ।।
इति स्वाघमनुस्मृत्य कृष्णे ते कृतहेलनाः ।
दिदृक्षवोऽप्यच्युतयोः कंसाद् भीता न चाचलन् ॥ ५२ ॥
नेपाली भावानुवाद: हे परीक्षित! यसरी आफ्नो अपराध सम्झेर ती ब्राह्मणहरूले पश्चाताप गरे। उनीहरूमा श्रीकृष्णको दर्शन गर्ने तीव्र इच्छा त थियो, तर कंसको डरले उनीहरू त्यहाँ जान सकेनन् ।। ५२ ।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवतको यस अध्यायमा भगवान् श्रीकृष्णको भक्तवत्सलता र आडम्बरी ज्ञानमाथि सरल भक्तिको विजयलाई देखाइएको छ। कथाको सुरुवातमा वनमा गाई चराउँदै गर्दा भोकाएका गोपबालकहरूले श्रीकृष्णसँग भोजनको माग गर्छन्। श्रीकृष्णले उनीहरूलाई नजिकै यज्ञ गरिरहेका ब्राह्मणहरूकहाँ पठाउनुहुन्छ। ती ब्राह्मणहरू ठूला विद्वान् र कर्मकाण्डमा निपुण थिए, तर उनीहरू अहङ्कार र शास्त्रको बाहिरी नियममा यति फसेका थिए कि साक्षात् भगवान्ले दूत पठाउँदा पनि उनीहरूले वास्ता गरेनन्। उनीहरूले मौन रहेर गोपहरूको उपेक्षा गरे, जसले गर्दा गोपहरू निराश भएर फर्किए। यो घटनाले देखाउँछ कि केवल पुस्तकीय ज्ञान र कठोर कर्मकाण्डले मात्र ईश्वरलाई चिन्न सकिँदैन।
जब गोपहरू फर्किए, श्रीकृष्णले उनीहरूलाई फेरि ती ब्राह्मणका पत्नीहरूकहाँ पठाउनुहुन्छ। ब्राह्मण–पत्नीहरूले श्रीकृष्णको महिमा पहिलेदेखि नै सुन्दै आएका थिए र उनीहरूको हृदयमा उहाँप्रति अगाध प्रेम थियो। गोपहरूबाट श्रीकृष्ण भोकाउनुभएको खबर सुन्नेबित्तिकै उनीहरूले कुनै पनि शास्त्र, नियम वा परिवारको डर नमानी तुरुन्तै भोजन लिएर वनतर्फ प्रस्थान गरे। आफ्ना पति, छोरा र आफन्तले रोक्दा रोक्दै पनि उनीहरूले लोक–लाज र कुल–मर्यादा त्यागेर भगवान्को शरणमा जानुलाई नै आफ्नो परम धर्म सम्झे। वनमा उनीहरूले भगवान् श्रीकृष्णको अति सुन्दर र मनमोहक स्वरूपको दर्शन पाए। भगवान्ले उनीहरूको भावलाई स्वीकार गर्दै उनीहरूलाई आशीर्वाद दिनुभयो र उनीहरूको प्रेमको प्रशंसा गर्नुभयो।
यता, जब ब्राह्मणहरूले आफ्ना पत्नीहरूको त्यो अनन्य भक्ति र श्रीकृष्णप्रतिको आकर्षण देखे, तब उनीहरूको चेत खुल्यो। उनीहरूले महसुस गरे कि उनीहरूको पाण्डित्य र यज्ञ निष्फल थियो किनकि उनीहरूले साक्षात् ईश्वरलाई चिन्न सकेनन्। उनीहरूले आफ्ना पत्नीहरूलाई धन्य माने र आफूलाई धिक्कार गरे। अन्तमा, उनीहरूले श्रीकृष्ण भगवान् नै हुनुहुन्छ भन्ने स्वीकार गरे पनि कंसको डरले गर्दा दर्शन गर्न जान भने हिम्मत जुटाउन सकेनन्। यसरी यो अध्यायले ईश्वर प्राप्तिका लागि ठूला यज्ञ वा पाण्डित्य भन्दा पनि सरल र निष्कपट हृदयको आवश्यकता पर्दछ भन्ने सन्देश दिन्छ। यो कथाले भक्तिको शक्ति र शरणागतिको महत्त्वलाई स्पष्ट रूपमा व्याख्या गरेको छ।
दार्शनिक पक्ष
यस अध्यायको मुख्य दार्शनिक पक्ष 'ज्ञान' र 'भक्ति' बीचको भिन्नता र श्रेष्ठताको निरूपण हो। ब्राह्मणहरूले ज्ञान र कर्मकाण्डलाई प्राथमिकता दिए, तर उनीहरूमा 'अहङ्कार' थियो, जसले गर्दा उनीहरूले सत्यलाई चिन्न सकेनन्। अर्कोतर्फ, विप्रपत्नीहरूले 'भक्ति' र 'समर्पण' लाई रोजे, जसले गर्दा उनीहरूले सजिलै ब्रह्मको साक्षात्कार गरे। यसले उपनिषद्को त्यो दर्शनलाई पुष्टि गर्छ जहाँ भनिएको छ— परमात्मा शास्त्रको पाण्डित्यले होइन, बरु केवल प्रेमपूर्ण हृदयले मात्र प्राप्त हुनुहुन्छ। साथै, यसले 'लोक–मर्यादा' भन्दा 'परम–धर्म' (ईश्वरको शरण) माथि रहेको सङ्केत गर्दछ।
No comments:
Post a Comment