श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – षोडशोऽध्यायः
शुक उवाच–
विलोक्य दूषितां कृष्णां कृष्णः कृष्णाहिना विभुः ।
तस्या विशुद्धिमन्विच्छन्सर्पं तमुदवासयत् ॥१॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित् ! भगवान् श्रीकृष्णले कालिय नागका कारण यमुनाको जल विषाक्त भएको थाहा पाउनुभयो । त्यसपछि उहाँले जललाई शुद्ध पार्ने विचारले त्यहाँको सर्पलाई बाहिर निकाल्नुभयो ।।१।।
राजोवाच–
कथमन्तर्जलेऽगाधे न्यगृह्णाद् भगवानहिम् ।
स वै बहुयुगावासं यथाऽऽसीद् विप्र कथ्यताम् ॥२॥
नेपाली भावानुवादः राजा परीक्षित्ले सोधे– हे ब्रह्मन् ! भगवान् श्रीकृष्णले यमुनाको त्यो अगाध जलमा कसरी सर्पको दमन गर्नुभयो ? फेरि कालिय नाग त जलचर जीव थिएन, त्यो कसरी लामो समयसम्म जलमा रहन गयो ? सो विषयमा बताउनुहोस् ।।२।।
ब्रह्मन् भगवतस्तस्य भूम्नः स्वच्छन्दवर्तिनः ।
गोपालोदारचरितं कस्तृप्येतामृतं जुषन् ॥३॥
नेपाली भावानुवादः हे ब्रह्मस्वरूप शुकदेवजी ! भगवान् अनन्त हुनुहुन्छ, उहाँ आफ्ना लीलाहरू प्रकट गरेर स्वच्छन्द रूपले विहार गर्नुहुन्छ । उहाँले गोपाल रूपले गर्नुभएका सबै लीलाहरू अमृतस्वरूप छन्; ती लीला-अमृतको सेवन गरेर को नै तृप्त हुन सक्छ र ? ।।३।।
शुक उवाच–
कालिन्द्यां कालियस्यासीद्ध्रदः कश्चिद् विषाग्निना ।
श्रप्यमाणपया यस्मिन् पतन्त्युपरिगाः खगाः ॥४॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित् ! यमुनाजीमा कालिय नागको एउटा कुण्ड थियो । विषको तापले गर्दा त्यहाँको जल सधैँ उम्लिरहन्थ्यो । स्थिति यस्तो थियो कि त्यो कुण्डभन्दा माथिबाट उड्ने चराहरू पनि त्यसको रापले गर्दा तल खस्तथे ।।४।।
विप्रुष्मता विषदोर्मिमारुतेनाभिमर्शिताः ।
म्रियन्ते तीरगा यस्य प्राणिनः स्थिरजङ्गमाः ॥५॥
नेपाली भावानुवादः त्यो विषालु जलको वाफ हावासँग मिसिएर बाहिर निस्कँदा र वरिपरि छरिँदा त्यहाँका घाँसपात, पशुपक्षी आदि सबै स्थावर-जङ्गम प्राणीहरू मर्दथे ।।५।।
(वसन्ततिलका)
तं चण्डवेगविषवीर्यमवेक्ष्य तेन
दुष्टां नदीं च खलसंयमनावतारः ।
कृष्णः कदम्बमधिरुह्य ततोऽतितुङ्ग–
मास्फोट्य गाढरशनो न्यपतद् विषोदे ॥६॥
नेपाली भावानुवादः हे महाराज परीक्षित् ! भगवान्को अवतार दुष्टको दमनका लागि नै हो । उहाँले त्यस नागको विषको वेग प्रचण्ड रूपले फैलिएको र विष नै उसको बल भएको देख्नुभयो । जसका कारण आफ्नो विहारस्थल यमुनाजी दूषित भएको पनि देख्नुभयो । त्यसपछि भगवान् श्रीकृष्णले आफ्नो फेटा कम्मरमा कसेर त्यहाँ भएको एउटा अग्लो कदम्बको रूखमा चढ्नुभयो र पाखुरामा ताली ठोक्दै त्यो विषालु जलमा हामफाल्नुभयो ।।६।।
सर्पह्रदः पुरुषसारनिपातवेग–
संक्षोभितोरगविषोच्छ्वपसिताम्बुराशिः ।
पर्यक्प्लुतो विषकषायबिभीषणोर्मि–
र्धावन् धनुःशतमनन्तबलस्य किं तत् ॥७॥
नेपाली भावानुवादः सर्पको विषका कारण यमुनाको जल पहिलेदेखि नै उम्लिरहेको थियो, जसका कारण जलमा डरलाग्दा तरङ्गहरू उठ्दथे । त्यसमा पनि अनन्त बलशाली पुरुषोत्तम भगवान् हामफाल्नुभएकाले जलमा झन् ठुलो हलचल पैदा भयो र कालिय दहको पानी चारैतिर फैलिन गयो । भगवान् श्रीकृष्णका लागि यस्तो कार्यमा कुनै आश्चर्य थिएन ।।७।।
तस्य ह्रदे विहरतो भुजदण्डघूर्ण–
वार्घोषमङ्ग वरवारणविक्रमस्य ।
आश्रुत्य तत् स्वसदनाभिभवं निरीक्ष्य
चक्षुःश्रवाः समसरत्तदमृष्यमाणः ॥८॥
नेपाली भावानुवादः हे परीक्षित् ! भगवान् श्रीकृष्णले त्यस कालिय दहमा बलवान् हात्तीले झैँ पौडी खेल्दा पानी छचल्किन थाल्यो । यसरी क्रीडा गर्दा उहाँका पाखुराको वेगले जलमा ठुलो शब्द उत्पन्न भयो । आँखाले नै सुन्ने (चक्षुःश्रवा) कालिय नागले सो आवाज सुन्यो र आफ्नो निवासमा कसैले आक्रमण गर्दै छ भन्ने सम्झेर उसले त्यो सहन सकेन र फुँफुँ गर्दै भगवान् श्रीकृष्णको नजिक आयो ।।८।।
तं प्रेक्षणीयसुकुमारघनावदातं
श्रीवत्सपीतवसनं स्मितसुन्दरास्यम् ।
क्रीडन्तमप्रतिभयं कमलोदराङ्घ्रिं
सन्दश्य मर्मसु रुषा भुजया चछाद ॥९॥
नेपाली भावानुवादः उसले आफ्नो अगाडि एउटा सानो बालकलाई देख्यो, जो हेर्दा अत्यन्तै सुकुमार र वर्षाकालीन मेघ समान कान्ति भएका देखिन्थे । उहाँलाई हेरिरहूँ जस्तो लाग्दथ्यो । उहाँको वक्षस्थलमा श्रीवत्सको चिन्ह थियो र उहाँले पहेँलो रङ्गको वस्त्र (पीताम्बर) धारण गर्नुभएको थियो । उहाँको मुखमण्डल मन्द मुस्कानले युक्त र शोभायमान थियो । उहाँका हात-गोडा कमलको मध्यभाग जस्तै अत्यन्त कोमल र सुन्दर थिए । कालिय नागले ती बालकलाई त्यस विषालु जलमा निर्भय भएर खेलिरहेको देख्यो । यो देखेर उसलाई असाध्यै रिस उठ्यो र उसले श्रीकृष्णका मर्मस्थानहरूमा डसेर आफ्नो शरीरले बेरी बन्धनमा पार्यो ।।९।।
तं नागभोगपरिवीतमदृष्टचेष्ट–
मालोक्य तत्प्रियसखाः पशुपा भृशार्ताः ।
कृष्णेऽर्पितात्मसुहृदर्थकलत्रकामा
दुःखानुशोकभयमूढधियो निपेतुः ॥१०॥
नेपाली भावानुवादः नागको बन्धनमा परेर भगवान् श्रीकृष्ण अचेत (निश्चेष्ट) हुनुभएको देखेर उहाँका प्रिय सखा गोपबालकहरू अत्यन्त दुःखित भए र मूर्छित भई भुइँमा लडे । किनकि उनीहरूले आफ्नो धन, सम्पत्ति, शरीर र कामनाहरू सबै श्रीकृष्णमा नै अर्पण गरेका थिए ।।१०।।
(अनुष्टुप्)
गावो वृषा वत्सतर्यः क्रन्दमानाः सुदुःखिताः ।
कृष्णे न्यस्तेक्षणा भीता रुदत्य इव तस्थिरे ॥११॥
नेपाली भावानुवादः त्यहाँ भएका गाई, साँढे र बाच्छाहरू पनि डराएर कतै नगई श्रीकृष्णतिरै आँखा गाडेर बिलौना गर्दै रोइरहे झैँ उभिए ।।११।।
अथ व्रजे महोत्पातास्त्रिविधा ह्यतिदारुणाः ।
उत्पेतुर्भुवि दिव्यात्मन्यासन्नभयशंसिनः ॥१२॥
नेपाली भावानुवादः यता व्रजमा पृथ्वी, आकाश र शरीरमा अत्यन्त भयानक तीनै प्रकारका उत्पातहरू हुन थाले, जसले निकट भविष्यमा हुन लागेको कुनै अशुभ घटनाको सूचना दिइरहेका थिए ।।१२।।
तानालक्ष्य भयोद्विग्ना गोपा नन्दपुरोगमाः ।
विना रामेण गाः कृष्णं ज्ञात्वा चारयितुं गतम् ॥१३॥
नेपाली भावानुवादः नन्दबाबा आदि गोपहरूले यस्ता अशुभ लक्षणहरू देखेर भयभीत हुँदै वनमा गाई चराउन गएका श्रीकृष्ण र बलरामलाई सम्झेर व्याकुल भए ।।१३।।
तैर्दुर्निमित्तैर्निधनं मत्वा प्राप्तमतद्विदः ।
तत् प्राणास्तन्मनस्कास्ते दुःखशोकभयातुराः ॥१४॥
आबालवृद्धवनिताः सर्वेऽङ्ग पशुवृत्तयः ।
निर्जग्मुर्गोकुलाद् दीनाः कृष्णदर्शनलालसाः ॥१५॥
नेपाली भावानुवादः उनीहरू भगवान्को वास्तविक प्रभावबारे जान्दैनथे, त्यसैले यस्ता अपसकुनहरू देखेर श्रीकृष्णको मृत्यु भयो कि भन्ने शङ्काले व्याकुल भए । बालकदेखि वृद्ध र महिलासम्मका सबै गोकुलवासीहरू, जसको प्राण र मन श्रीकृष्णमै थियो, उहाँलाई भेट्ने तीव्र इच्छा बोकेर हतारिँदै गोकुलबाट बाहिर निस्किए ।।१५।।
तांस्तथा कातरान् वीक्ष्य भगवान् माधवो बलः ।
प्रहस्य किञ्चिन्नोवाच प्रभावज्ञोऽनुजस्य सः ॥१६॥
नेपाली भावानुवादः बलरामजी स्वयं भगवान् र प्रभावशालि हुनुहुन्थ्यो । उहाँले व्रजवासीहरू यसरी हडबडाएको देखेर मन्द मुस्कानका साथ चुप लाग्नुभयो, किनकि उहाँलाई आफ्ना भाइ श्रीकृष्णको वास्तविक प्रभाव र सामर्थ्य थाहा थियो ।।१६।।
तेऽन्वेषमाणा दयितं कृष्णं सूचितया पदैः ।
भगवल्लक्षणैर्जग्मुः पदव्या यमुनातटम् ॥१७॥
नेपाली भावानुवादः यता व्रजवासीहरू आफ्ना प्यारा श्रीकृष्णलाई खोज्दै बाटोमा देखिने भगवान्का विशेष चिन्हहरू (ध्वजा, बज्र, अङ्कुश आदि) युक्त पदचापहरूलाई पछ्याउँदै यमुनाको तटतिर लागे ।।१७।।
(इन्द्रवंशा)
ते तत्र तत्राब्जयवाङ्कुशाशनि–
ध्वजोपपन्नानि पदानि विश्पतेः ।
मार्गे गवामन्यपदान्तरान्तरे
निरीक्षमाणा ययुरङ्ग सत्वराः ॥१८॥
नेपाली भावानुवादः हे परीक्षित् ! बाटोमा जहाँ-जहाँ गाईका गोडाका डोबहरूका बीचमा कमल, जौ, अङ्कुश, वज्र र ध्वजाका चिन्ह भएका भगवान्का चरणचिन्ह देखिन्थे, ती चिन्हहरूलाई पहिल्याउँदै उनीहरू छिटो-छिटो अघि बढे ।।१८।।
(वसन्ततिलका)
अन्तर्ह्रदे भुजगभोगपरीतमारात्
कृष्णं निरीहमुपलभ्य जलाशयान्ते ।
गोपांश्च मूढधिषणान् परितः पशूंश्च
संक्रन्दतः परमकश्मलमापुरार्ताः ॥१९॥
नेपाली भावानुवादः उनीहरूले टाढैबाट कालिय दहमा नागको शरीरले बेरिएका कारण श्रीकृष्ण निश्चेष्ट भएको देखे । दहको किनारमा रहेका गाई-बाच्छा र गोपबालकहरू अत्यन्त दुःखित भई कराइरहेको देख्दा गोपहरू पनि व्याकुल हुँदै मूर्छित भए ।।१९।।
गोप्योऽनुरक्तमनसो भगवत्यनन्ते
तत्सौहृदस्मितविलोकगिरः स्मरन्त्यः ।
ग्रस्तेऽहिना प्रियतमे भृशदुःखतप्ताः
शून्यं प्रियव्यतिहृतं ददृशुस्त्रिलोकम् ॥२०॥
नेपाली भावानुवादः गोपिनीहरूको मन भगवान् श्रीकृष्णको प्रेममा रङ्गिएको थियो । उनीहरू भगवान्को प्रेमपूर्ण हेराइ, मधुर मुस्कान र मीठो बोलीको सम्झना गरिरहेका थिए । आफ्ना प्रियतम श्रीकृष्णलाई कालिय नागले बेरेको देखेर उनीहरूलाई श्रीकृष्णबिनाको तीनै लोक शून्य लाग्न थाल्यो ।।२०।।
ताः कृष्णमातरमपत्यमनुप्रविष्टां
तुल्यव्यथाः समनुगृह्य शुचः स्रवन्त्यः ।
तास्ता व्रजप्रियकथाः कथयन्त्य आसन्
कृष्णाननेऽर्पितदृशो मृतकप्रतीकाः ॥२१॥
नेपाली भावानुवादः श्रीकृष्णको यो अवस्था देखेर माता यशोदा यमुनामा हामफाल्न खोजेकी थिइन् तर गोपिनीहरूले उनलाई रोके । उनीहरूको मनमा ठुलो पीडा थियो र उनीहरू श्रीकृष्णको मुखारविन्दमा आँखा गाडेर मृतक झैँ निश्चल भई श्रीकृष्णका प्यारा बाललीलाहरू सम्झँदै रोइरहेका थिए ।।२१।।
(अनुष्टुप्)
कृष्णप्राणान्निर्विशतो नन्दादीन् वीक्ष्य तं ह्रदम् ।
प्रत्यषेधत् स भगवान् रामः कृष्णानुभाववित् ॥२२॥
नेपाली भावानुवादः हे परीक्षित् ! नन्दबाबाको जीवन र प्राण नै श्रीकृष्ण थिए, त्यसैले उनी श्रीकृष्णलाई बचाउन कालिय दहमा पस्न लागेका थिए, तर श्रीकृष्णको प्रभाव जान्नुभएका भगवान् बलरामले उनलाई सम्झाई-बुझाई त्यसो गर्नबाट रोक्नुभयो ।।२२।।
(वसन्ततिलका)
इत्थं स्वगोकुलमनन्यगतिं निरीक्ष्य
सस्त्रीकुमारमतिदुःखितमात्महेतोः ।
आज्ञाय मर्त्यपदवीमनुवर्तमानः
स्थित्वा मुहूर्तमुदतिष्ठदुरङ्गबन्धात् ॥२३॥
नेपाली भावानुवादः हे परीक्षित् ! यो सर्पको बन्धनमा पर्नु श्रीकृष्णको एउटा मानुस-लीला मात्र थियो । जब उहाँले बालक र स्त्रीहरूसहित समस्त व्रजवासीहरूलाई आफ्ना लागि अत्यन्त दुःखित भएको देख्नुभयो, तब उहाँ एक मुहूर्तसम्म सर्पको बन्धनमा रहेर त्यसपछि सो बन्धनबाट बाहिर निस्कनुभयो ।।२३।।
तत्प्रथ्यमानवपुषा व्यथितात्मभोग–
स्त्यक्त्वोन्नमय्य कुपितः स्वफणान्भुजङ्गः ।
तस्थौ श्वसञ्छ्व्सनरन्ध्रविषाम्बरीष–
स्तब्धेक्षणोल्मुकमुखो हरिमीक्षमाणः ॥२४॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णले त्यस बखत आफ्नो शरीरलाई फुलाएर यति ठुलो बनाउनुभयो कि नागको शरीर नै चुँडिन लाग्यो । त्यसैले त्यो नागले श्रीकृष्णलाई छोडिदियो र रिसाएर आफ्नो फणा ठड्याई फुँफुँ गर्न थाल्यो । उसका नासिकाबाट विष निस्किएको थियो भने मुखबाट आगोको ज्वाला निस्किएको थियो, मानौँ ऊ भट्टीमा तताएको फलाम झैँ दन्किरहेको थियो ।।२४।।
तं जिह्वया द्विशिखया परिलेलिहानं
द्वे सृक्किणी ह्यतिकरालविषाग्निदृष्टिम् ।
क्रीडन्नमुं परिससार यथा खगेन्द्रो
बभ्राम सोऽप्यवसरं प्रसमीक्षमाणः ॥२५॥
नेपाली भावानुवादः त्यस समयमा त्यो कालिय नाग आफ्नो दुईवटा जिब्रो लपलपाउँदै ओठका दुवै कुना चाटिरहेको थियो । उसले आफ्ना भयानक आँखाबाट विषालु दृष्टि फ्याँकिरहेको थियो । यता भगवान् श्रीकृष्ण गरुडले झैँ उसलाई खेलाउन थाल्नुभयो भने कालिय नाग चाहिँ भगवान्लाई डस्ने अवसर खोज्दै उहाँका वरिपरि घुम्न थाल्यो ।।२५।।
एवं परिभ्रमहतौजसमुन्नतांस–
मानम्य तत्पृथुशिरःस्वधिरूढ आद्यः ।
तन्मूर्धरत्नमनिकरस्पर्शातिताम्र–
पादाम्बुजोऽखिलकलादिगुरुर्ननर्त ॥२६॥
नेपाली भावानुवादः यसरी घुम्दाघुम्दै जब त्यो नागको शक्ति क्षीण भयो, तब आदिपुरुष श्रीकृष्णले उसको ठुलो टाउको निहुराएर त्यसमाथि चढ्नुभयो । कालिय नागको मस्तकमा रहेका राता राता मणिहरूको स्पर्शले भगवान्का चरणकमलहरू झन् राता र शोभायमान देखिए । त्यसपछि समस्त कलाका गुरु श्रीकृष्णले उसका टाउकाहरूमा नृत्य गर्न थाल्नुभयो ।।२६।।
तं नर्तुमुद्यतमवेक्ष्य तदा तदीय–
गन्धर्वसिद्धसुरचारणदेववध्वः ।
प्रीत्या मृदङ्गपणवानकवाद्यगीत–
पुष्पोपहारनुतिभिः सहसोपसेदुः ॥२७॥
नेपाली भावानुवादः भगवान्लाई यसरी नृत्य गर्न लागेको देखेर गन्धर्व, सिद्ध, देवता र देवाङ्गनाहरूले बडो प्रेमका साथ मृदङ्ग, ढोल, नगरा आदि बाजा बजाउँदै स्तुति गर्न थाले र आकाशबाट पुष्पवृष्टि गर्दै भगवान्को समीपमा आए ।।२७।।
यद् यच्छिरो न नमतेऽङ्ग शतैकशीर्ष्ण–
स्तत्तन् ममर्द खरदण्डधरोऽङ्घ्रिपातैः ।
क्षीणायुषो भ्रमत उल्बणमास्यतोऽसृङ्
नस्तो वमन् परमकश्मलमाप नागः ॥२८॥
नेपाली भावानुवादः हे परीक्षित् ! कालिय नागका सयवटा टाउका थिए । उसले जुन टाउको निहुराउँदैनथ्यो, भगवान्ले त्यसैमाथि आफ्नो खुट्टाले कुल्चेर दण्ड दिनुहुन्थ्यो । यसरी दण्ड पाउँदा कालियको शक्ति सकियो र उसको मुख तथा नाकबाट रगत बग्न थाल्यो र ऊ बेहोस भयो ।।२८।।
तस्याक्षिभिर्गरलमुद्वमतः शिरस्सु
नृत्यन् पदानुनमयन् दमयां बभूव
पुष्पैः प्रपूजित इवेह पुमान् पुराणः ॥२९॥
नेपाली भावानुवादः थोरै होस आउँदा पनि ऊ आँखाबाट विष ओकल्दथ्यो र रिसले फुँफुँ गर्दथ्यो । उसले जुन टाउको उठाउँथ्यो, भगवान्ले त्यसैमा टेकेर नाच्दै उसलाई दबाउनुहुन्थ्यो । त्यस समयमा देवताहरूद्वारा पूजित पुराण पुरुषोत्तमको चरणमा परेका रगतका थोपाहरूले गर्दा उहाँको पूजा भइरहेको जस्तो आभास हुन्थ्यो ।।२९।।
तच्चित्रताण्डवविरुग्णफणातपत्रो
स्मृत्वा चराचरगुरुं पुरुषं पुराणं
नारायणं तमरणं मनसा जगाम ॥३०॥
नेपाली भावानुवादः हे परीक्षित् ! भगवान्को अद्भूत ताण्डव नृत्यले कालियको फणा छिन्नभिन्न भयो । उसको शरीर शिथिल भयो र उसले मुखबाट रगत वान्ता गर्न थाल्यो । अन्ततः उसलाई जगत्का गुरु भगवान् नारायणको सम्झना भयो र ऊ मनमनै उहाँको शरणमा पर्यो ।।३०।।
कृष्णस्य गर्भजगतोऽतिभरावसन्नं
पार्ष्णिप्रहारपरिरुग्णफणातपत्रम् ।
दृष्ट्वा हिमाद्यमुपसेदुरमुष्य पत्न्य–
आर्ताः श्लथद्वसनभूषणकेशबन्धाः ॥३१॥
नेपाली भावानुवादः सम्पूर्ण विश्वलाई गर्भमा धारण गर्ने श्रीकृष्णको वजन र उहाँको कुर्कुच्चाको प्रहारले गर्दा नागको फणा चकनाचुर भयो । आफ्नो पतिको यस्तो अवस्था देखेर नागपत्नीहरू चिन्तित भई भगवान्को शरणमा आए । त्यस समयमा उनीहरूको वस्त्र, आभूषण र केश विरुप तथा अस्तव्यस्त थियो ।।३१।।
तास्तं सुविग्नमनसोऽथ पुरस्कृतार्भाः
कायं निधाय भुवि भूतपतिं प्रणेमुः ।
साध्व्यः कृताञ्जलिपुटाः शमलस्य भर्तु–
र्मोक्षेप्सवः शरणदं शरणं प्रपन्नाः ॥३२॥
नेपाली भावानुवादः त्यस समयमा नागपत्नीहरू अत्यन्त विह्वल भएका थिए । उनीहरूले आफ्ना नानीहरूलाई अगाडि सारेर पृथ्वीमा दण्डवत् प्रणाम गरे । उनीहरूले हात जोडेर आफ्ना अपराधी पतिलाई मुक्त गरिदिनका लागि शरणागतवत्सल श्रीकृष्णसँग प्रार्थना गरे ।।३२।।
नागपत्न्यक ऊचुः–
(इन्द्रवज्रा)
न्याय्यो हि दण्डः कृतकिल्बिषेऽस्मिन्–
तवावतारः खलनिग्रहाय ।
रिपोः सुतानामपि तुल्यदृष्टे–
र्धत्से दमं फलमेवानुशंसन् ॥३३॥
नेपाली भावानुवादः नागपत्नीहरूले भने– हे प्रभो ! हजुरको यो अवतार दुष्टहरूलाई दण्ड दिनका लागि नै हो, त्यसैले यस अपराधीलाई दण्ड दिनु उचित छ । हजुरको दृष्टिमा शत्रु र पुत्रमा कुनै भेदभाव हुँदैन, त्यसैले हजुरले अपराधीको कल्याणका लागि नै दण्ड दिनुहुन्छ ।।३३।।
(वंशस्था)
अनुग्रहोऽयं भवतः कृतो हि नो
दण्डोऽसतां ते खलु कल्मषापहः ।
यद् दन्दशूकत्वममुष्य देहिनः
क्रोधोऽपि तेऽनुग्रह एव सम्मतः ॥३४॥
नेपाली भावानुवादः हजुरले हामीमाथि ठुलो अनुग्रह गर्नुभएको छ । हजुरको दण्डले अपराधीका सबै पापहरू नष्ट हुन्छन् । यो सर्प अपराधी नै हो, नत्र यसले यस्तो तामसी योनि किन पाउँथ्यो र ? त्यसैले हजुरको यो क्रोध पनि हाम्रा लागि अनुग्रह नै हो ।।३४।।
(उपेन्द्रवज्रा)
तपः सुतप्तं किमनेन पूर्वं
निरस्तमानेन च मानदेन ।
धर्मोऽथ वा सर्वजनानुकम्पया
यतो भवांस्तुष्यति सर्वजीवः ॥३५॥
नेपाली भावानुवादः यसले पूर्वजन्ममा अहङ्कार त्यागेर ठुलो तपस्या गरेको हुनुपर्छ वा सबै प्राणीमा दया गरेर कुनै ठुलो धर्म गरेको हुनुपर्छ, जसका कारण आज हजुर यसप्रति प्रसन्न हुनुभयो ।।३५।।
(मिश्र)
कस्यानुभावोऽस्य न देव विद्महे
तवाङ्घ्रिरेणुस्पर्शाधिकारः । य
द्वाञ्छया श्रीर्ललनाऽऽचरत्तपो
विहाय कामान् सुचिरं धृतव्रता ॥३६॥
नेपाली भावानुवादः हे प्रभो ! यसले के कस्तो पुण्य गर्नाले हजुरको चरणकमलको धुलो प्राप्त गर्ने अधिकार पायो ? हामी जान्दैनौँ, तर यो सौभाग्य अत्यन्त दुर्लभ छ, किनकि यही प्राप्त गर्न हजुरकी अर्धाङ्गिनी लक्ष्मीजीले पनि सबै सुख त्यागेर लामो समयसम्म तपस्या गर्नुभएको थियो ।।३६।।
न नाकपृष्ठं न च सार्वभौमं
न पारमेष्ठ्यं न रसाधिपत्यम् ।
न योगसिद्धीरपुनर्भवं वा
वाञ्छन्ति यत्पादरजःप्रपन्नाः ॥३७॥
नेपाली भावानुवादः जसले हजुरको चरणरजको शरण लिन्छन्, उनीहरू स्वर्ग, पृथ्वीको साम्राज्य, ब्रह्माको पद वा रसातलको राज्य केही पनि चाहँदैनन् । उनीहरू योगसिद्धि वा मोक्षको समेत इच्छा गर्दैनन् ।।३७।।
तदेष नाथाप दुरापमन्यै–
स्तमोजनिः क्रोधवशोऽपहीशः ।
संसारचक्रे भ्रमतः शरीरिणो
यदिच्छतः स्याद् विभवः समक्षः ॥३८॥
नेपाली भावानुवादः हे स्वामी ! यो नागराज तमोगुणी योनिमा जन्मिएकाले अत्यन्त क्रोधी थियो, तापनि यसले हजुरको चरणरज प्राप्त गर्यो, जुन अरूका लागि दुर्लभ छ । संसारचक्रमा भट्किरहेका जीवहरूका लागि यो नै सबैभन्दा ठुलो ऐश्वर्य हो ।।३८।।
(अनुष्टुप्)
नमस्तुभ्यं भगवते पुरुषाय महात्मने ।
भूतावासाय भूताय पराय परमात्मने ॥३९॥
ज्ञानविज्ञाननिधये ब्रह्मणेऽनन्तशक्तये ।
अगुणायाविकाराय नमस्तेऽप्राकृताय च ॥४०॥
कालाय कालनाभाय कालावयवसाक्षिणे ।
नेपाली भावानुवादः हामी हजुरलाई नमस्कार गर्दछौँ । हजुर अनन्त ऐश्वर्यका निधि हुनुहुन्छ । हजुर सबै प्राणीका आश्रय र परमात्मा हुनुहुन्छ । हजुर ज्ञान र विज्ञानका खानी हुनुहुन्छ र हजुरको शक्ति अनन्त छ । हजुर प्राकृत गुण र विकारभन्दा रहित (निर्विकार) हुनुहुन्छ । हजुर काल (समय) र कालका साक्षी हुनुहुन्छ । हजुर नै विश्वको कर्ता र कारण हुनुहुन्छ; हजुरलाई बारम्बार नमस्कार छ ।।४१।।
भूतमात्रेन्द्रियप्राणमनोबुद्ध्याशयात्मने ।
त्रिगुणेनाभिमानेन गूढस्वात्मानुभूतये ॥४२॥
नेपाली भावानुवादः पञ्चमहाभूत, इन्द्रिय, प्राण, मन, बुद्धि र अहङ्कारका रूपमा हजुर नै हुनुहुन्छ । हजुरले त्रिगुणात्मक मायाद्वारा आफ्नो वास्तविक स्वरूपलाई लुकाउनुभएको छ; हजुरलाई नमस्कार छ ।।४२।।
नमोऽनन्ताय सूक्ष्माय कूटस्थाय विपश्चिते ।
नानावादानुरोधाय वाच्यवाचक शक्तये ॥४३॥
नेपाली भावानुवादः हजुर अनन्त, सूक्ष्म र निर्विकार हुनुहुन्छ । हजुर विभिन्न मतमतान्तरका ज्ञाता र शब्द एवं अर्थका शक्तिस्वरूप हुनुहुन्छ; हजुरलाई नमस्कार छ ।।४३।।
नमः प्रमाणमूलाय कवये शास्त्रयोनये ।
प्रवृत्ताय निवृत्ताय निगमाय नमो नमः ॥४४॥
नेपाली भावानुवादः हजुर सबै प्रमाणका मूल र शास्त्रका रचयिता हुनुहुन्छ । प्रवृत्ति र निवृत्ति मार्गका प्रवर्तक एवं वेदस्वरूप हजुरलाई बारम्बार नमस्कार छ ।।४४।।
नमः कृष्णाय रामाय वसुदेवसुताय च ।
प्रद्युम्नायानिरुद्धाय सात्वतां पतये नमः ॥४५॥
नेपाली भावानुवादः वसुदेवका पुत्र श्रीकृष्ण र बलरामलाई नमस्कार छ । प्रद्युम्न, अनिरुद्ध र भक्तहरूका रक्षक हजुरलाई नमस्कार छ ।।४५।।
नमो गुणप्रदीपाय गुणात्मच्छादनाय च ।
गुणवृत्त्युपलक्ष्याय गुणद्रष्टे स्वसंविदे ॥४६॥
नेपाली भावानुवादः हजुर गुणहरूका प्रकाशक हुनुहुन्छ र गुणद्वारा नै आफूलाई ढाक्नुहुन्छ । गुणका कार्यहरूबाट थाहा पाउन सकिने र गुणहरूका द्रष्टा हजुरलाई नमस्कार छ ।।४६।।
अव्याकृतविहाराय सर्वव्याकृतसिद्धये ।
हृषीकेश नमस्तेऽस्तु मुनये मौनशीलिने ॥४७॥
नेपाली भावानुवादः हे इन्द्रियका स्वामी हृषीकेश ! हजुर सृष्टिको उत्पत्ति, स्थिति र लयका कारण हुनुहुन्छ र आफ्नै आनन्दमा विहार गर्नुहुन्छ । यस्ता मौन स्वभाव भएका मुनिलाई नमस्कार छ ।।४७।।
परावरगतिज्ञाय सर्वाध्यक्षाय ते नमः ।
अविश्वाय च विश्वाय तद्द्रष्टेऽस्य च हेतवे ॥४८॥
नेपाली भावानुवादः हजुर सबैको गति जान्नुहुन्छ र सबैका साक्षी हुनुहुन्छ । हजुर विश्वरूप भएर पनि विश्वभन्दा अलग हुनुहुन्छ । संसारका द्रष्टा र कारणस्वरूप हजुरलाई नमस्कार छ ।।४८।।
(मिश्र)
त्वं ह्यस्य जन्मस्थितिसंयमान् प्रभो
गुणैरनीहोऽकृत कालशक्तिधृक् ।
तत्तत् स्वभावान् प्रतिबोधयन् सतः
समीक्षयामोघविहार ईहसे ॥४९॥
नेपाली भावानुवादः हे प्रभु ! हजुर स्वयं निष्काम भए पनि कालशक्तिद्वारा यस विश्वको सृष्टि, स्थिति र विनाश गर्नुहुन्छ । हजुरको लीला अमोघ छ र हजुरले नै जीवहरूमा रहेका सुशुप्त संस्कारहरूलाई जागृत गराउनुहुन्छ ।।४९।।
(इन्द्रवंशा)
तस्यैव तेऽमूस्तनवस्त्रिलोक्यां
शान्ता अशान्ता उत मूढयोनयः ।
शान्ताः प्रियास्ते ह्यधुनावितुं सतां
स्थातुश्च ते धर्मपरीप्सयेहतः ॥५०॥
नेपाली भावानुवादः त्रिलोकमा रहेका शान्त (सात्त्विक), अशान्त (राजसी) र मूढ (तामसी) तीनै प्रकारका योनिहरू हजुरकै शरीर हुन् । तापनि हजुरलाई सात्त्विक स्वरूप प्रिय छ, किनकि हजुरको यो अवतार साधुहरूको रक्षा र धर्मको संस्थापनाका लागि हो ।।५०।।
(अनुष्टुप्)
अपराधः सकृद् भर्त्रा सोढव्यः स्वप्रजाकृतः ।
क्षन्तुमर्हसि शान्तात्मम् मूढस्य त्वामजानतः ॥५१॥
नेपाली भावानुवादः हे भगवन् ! स्वामीले आफ्ना प्रजाको एउटा अपराध त सहनु नै पर्छ । हजुरको प्रभाव नजान्ने यस मूढ कालियले गरेको अपराधलाई कृपया क्षमा गरिदिनुहोस् ।।५१।।
अनुगृह्णीष्व भगवन् प्राणांस्त्यजति पन्नगः ।
स्त्रीणां नः साधुशोच्यानां पतिः प्राणः प्रदीयताम् ॥५२॥
नेपाली भावानुवादः हे भगवन् ! कृपा गर्नुहोस्, नत्र यो सर्पले प्राण त्याग्नेछ । हामीजस्ता असहाय नारीहरूमाथि दया राख्दै हाम्रा प्राणस्वरूप पतिलाई जीवनदान दिनुहोस् ।।५२।।
विधेहि ते किङ्करीणामनुष्ठेयं तवाज्ञया ।
यच्छ्रद्धयानुतिष्ठन् वै मुच्यते सर्वतो भयात् ॥५३॥
नेपाली भावानुवादः हामी हजुरका दासी हौँ, हामीले के सेवा गर्नुपर्छ ? आज्ञा दिनुहोस् । हजुरको आज्ञा पालना गर्ने व्यक्ति सबै प्रकारका भयबाट मुक्त हुन्छ ।।५३।।
शुक उवाच–
इत्थं स नागपत्नी भिः भगवान् समभिष्टुतः ।
मूर्च्छितं भग्नशिरसं विससर्जाङ्घ्रिकुट्टनैः ॥५४॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित् ! नागपत्नीहरूले यसरी स्तुति गरेपछि भगवान् श्रीकृष्णले ती बेहोस भएका र टाउकाहरू थिलथिलो भएका कालिय नागलाई छोडिदिनुभयो ।।५४।।
प्रतिलब्धेन्द्रियप्राणः कालियः शनकैर्हरिम् ।
कृच्छ्रात् समुच्छ्वरसन् दीनः कृष्णं प्राह कृताञ्जलिः ॥५५॥
नेपाली भावानुवादः कालिय नागको होस बिस्तारै फर्कियो । उसले कष्टका साथ लामो श्वास फेर्दै अत्यन्त दीन भावले हात जोडेर श्रीकृष्णसँग भन्न थाल्यो ।।५५।।
कालिय उवाच–
वयं खलाः सहोत्पत्त्या तमसा दीर्घमन्यवः ।
स्वभावो दुस्त्यजो नाथ लोकानां यदसद्ग्र हः ॥५६॥
नेपाली भावानुवादः कालिय नागले भन्यो– हे नाथ ! हामी जन्मजात नै दुष्ट, तामसी र क्रोधी जीव हौँ । प्राणीका लागि आफ्नो स्वभाव त्याग्न अत्यन्त कठिन हुन्छ र जीवहरू आफ्नै दुराग्रहमा फसेका हुन्छन् ।।५६।।
त्वया सृष्टमिदं विश्वं धातर्गुणविसर्जनम् ।
नानास्वभाववीर्यौजोयोनिबीजाशयाकृति ॥५७॥
नेपाली भावानुवादः हे विश्वविधाता ! हजुरकै गुणको मिश्रणबाट यस जगत्मा विभिन्न स्वभाव, बल, योनि, संस्कार र आकृतिको निर्माण भएको हो ।।५७।।
वयं च तत्र भगवन् सर्पा जात्युरुमन्यवः ।
कथं त्यजामस्त्वन्मायां दुस्त्यजां मोहिताः स्वयम् ॥५८॥
नेपाली भावानुवादः हे भगवान् ! हामी पनि हजुरकै सृष्टि हौँ र जातिगत रूपमै क्रोधी छौँ । हजुरको यो दुस्तर मायाले गर्दा हामी मोहित छौँ, यसलाई हामी आफैँले कसरी त्याग्न सक्छौँ र ? ।।५८।।
भवान् हि कारणं तत्र सर्वज्ञो जगदीश्वरः ।
अनुग्रहं निग्रहं वा मन्यसे तद् विधेहि नः ॥५९॥
नेपाली भावानुवादः हजुर सर्वज्ञ र जगदीश्वर हुनुहुन्छ । हाम्रो स्वभाव र यसको निवृत्तिको कारण पनि हजुर नै हुनुहुन्छ । अब हजुरलाई जे उचित लाग्छ, त्यही (दण्ड वा कृपा) गर्नुहोस् ।।५९।।
शुक उवाच–
इत्याकर्ण्य वचः प्राह भगवान् कार्यमानुषः ।
नात्र स्थेयं त्वया सर्प समुद्रं याहि मा चिरम् ।
स्वज्ञात्यपत्यदाराढ्यो गोनृभिर्भुज्यतां नदी ॥६०॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– कालिय नागको कुरा सुनेपछि मानुस-लीला गरिरहनुभएका भगवान् श्रीकृष्णले भन्नुभयो– हे सर्प ! अब तिमी यहाँ नबस । आफ्ना परिवार र आफन्तलाई लिएर तुरुन्तै समुद्रमा जाऊ । अब यो नदीको जल मानिस र गाईहरूका लागि निर्विष होस् ।।६०।।
य एतत् संस्मरेन्मर्त्यस्तुभ्यं मदनुशासनम् ।
कीर्तयन्नुभयोः सन्ध्योर्न युष्मद् भयमाप्नुयात् ॥६१॥
नेपाली भावानुवादः जसले दुवै सन्ध्यामा मेरो र तिम्रो यो संवाद तथा तिमीलाई दिएको यो आज्ञालाई स्मरण गर्दछ, उसलाई कहिल्यै सर्पको भय हुनेछैन ।।६१।।
योऽस्मिन् स्नात्वा मदाक्रीडे देवादींस्तर्पयेज्जलैः ।
उपोष्य मां स्मरन्नर्चेत् सर्वपापैः प्रमुच्यते ॥६२॥
नेपाली भावानुवादः जुन मानिसले मेरो यस क्रीडास्थलमा स्नान गरेर देवता र पितृहरूको तर्पण गर्दछ र उपवास बसेर मेरो पूजा गर्दछ, ऊ सबै पापबाट मुक्त हुनेछ ।।६२।।
द्वीपं रमणकं हित्वा ह्रदमेतमुपाश्रितः ।
यद् भयात्स सुपर्णस्त्वां नाद्यान्मत्पादलाञछितम् ॥६३॥
नेपाली भावानुवादः तिमी गरुडको डरले रमणक टापु छाडेर यहाँ आएका थियौ, तर अब तिम्रो मस्तकमा मेरो चरणचिन्ह अङ्कित भइसकेको छ । त्यसैले अब गरुडले तिमीलाई खाने छैनन् ।।६३।।
श्री ऋषिरुवाच–
एवमुक्तो भगवता कृष्णेनाद्भुतकर्मणा ।
तं पूजयामास मुदा नागपत्न्य श्च सादरम् ॥६४॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– अद्भूत कर्म गर्ने भगवान् श्रीकृष्णको यस्तो आज्ञा पाएपछि कालिय नाग र उसका पत्नीहरूले अत्यन्त आनन्दित भएर भगवान्को पूजा गरे ।।६४।।
दिव्याम्बरस्रङ्मणिभिः परार्ध्यैरपि भूषणैः ।
दिव्यगन्धानुलेपैश्च महत्योत्पलमालया ॥६५॥
पूजयित्वा जगन्नाथं प्रसाद्य गरुडध्वजम् ।
ततः प्रीतोऽभ्यनुज्ञातः परिक्रम्याभिवन्द्य तम् ॥६६॥
सकलत्रसुहृत्पुत्रो द्वीपमब्धेर्जगाम ह ।
तदैव सामृतजला यमुना निर्विषाभवत् ।
अनुग्रहाद् भगवतः क्रीडामानुषरूपिणः ॥६७॥
नेपाली भावानुवादः उसले दिव्य वस्त्र, पुष्पमाला, रत्न, बहुमूल्य आभूषण, सुगन्धित लेप र कमलको मालाले जगन्नाथ श्रीकृष्णको पूजा गर्यो । त्यसपछि प्रसन्न भएका भगवान्को परिक्रमा र वन्दना गरी उनीहरू आफ्नो परिवारसहित समुद्रको रमणक टापुतिर लागे । लीलाधारी भगवान् श्रीकृष्णको कृपाले त्यसै क्षणदेखि यमुनाको जल विषरहित भएर अमृत समान भयो ।।६५–६७।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको दशम स्कन्धको सोह्रौँ अध्यायमा भगवान् श्रीकृष्णले कालिय नागको दमन गरी यमुना नदीलाई शुद्ध बनाउनुभएको प्रसङ्ग वर्णन गरिएको छ । यमुनाको एउटा दहमा कालिय नाग बस्ने गर्दथ्यो, जसको भयानक विषका कारण जल विषाक्त भएको थियो । त्यहाँको पानी पिउँदा वा त्यसको वाफ लाग्दा मानिस, गाईवस्तु र चराचुरुङ्गीहरूको मृत्यु हुने गर्दथ्यो । भगवान् श्रीकृष्णले गोकुलवासीहरूको हितका लागि र प्रकृतिको रक्षाका लागि त्यस नागलाई त्यहाँबाट हटाउने निर्णय गर्नुभयो । उहाँले एउटा अग्लो कदम्बको रूखबाट यमुनाको विषाक्त दहमा हामफाल्नुभयो । भगवान् जलमा पसेपछि कालिय नागले उहाँलाई आफ्नो बलियो शरीरले बेरेर बन्धनमा पार्यो । यो दृश्य देखेर नन्दबाबा, यशोदा माता र समस्त व्रजवासीहरू अत्यन्तै चिन्तित र दुःखित भए । बलरामजीले भने श्रीकृष्णको सामर्थ्य बुझ्नुभएको थियो, त्यसैले उहाँ शान्त रहनुभयो । श्रीकृष्णले आफ्नो शरीरलाई विस्तार गर्नुभयो, जसका कारण नागले उहाँलाई छोड्न बाध्य भयो । त्यसपछि श्रीकृष्णले कालिय नागका सयौँ फणाहरूमा चढेर ताण्डव नृत्य सुरु गर्नुभयो । भगवान्को पाउको प्रहारले नागका टाउकाहरू कुल्चिए र ऊ अत्यन्तै निर्बल भयो । उसको मुखबाट रगत बग्न थाल्यो र ऊ मृत्युको मुखमा पुग्यो । आफ्नो पतिको यस्तो दयनीय अवस्था देखेर नागपत्नीहरू श्रीकृष्णको शरणमा आए र स्तुति गर्दै क्षमादानको प्रार्थना गरे । उनीहरूले श्रीकृष्णलाई जगदीश्वर र करुणाका सागर भन्दै पतिको जीवन रक्षाको भिक्षा मागे । नागपत्नीहरूको भक्तिपूर्ण प्रार्थना र कालिय नागको आत्मसमर्पणपछि भगवान्ले उसलाई क्षमा दिनुभयो । उहाँले कालियलाई आफ्ना सबै परिवारसहित समुद्रको रमणक टापुमा जान आज्ञा दिनुभयो । श्रीकृष्णले कालियलाई आश्वासन दिनुभयो कि उसको मस्तकमा भगवान्का चरणचिन्ह परेकाले अब गरुडले उसलाई कुनै हानि गर्ने छैनन् । यसरी श्रीकृष्णको कृपाले यमुनाको जल पुनः स्वच्छ र अमृत समान भयो । यो अध्यायले भगवान्को दुष्टदमन र शरणागतवत्सल रूपलाई प्रस्ट पारेको छ । अन्त्यमा कालिय नागले सपरिवार यमुना छोडेर गयो र व्रजवासीहरूमा खुसी छायो ।
दार्शनिक पक्ष
यस अध्यायको दार्शनिक पक्ष अत्यन्तै गहन छ, जहाँ कालिय नागलाई मानवीय अहङ्कार र वासनाको प्रतीक मानिएको छ । जसरी कालियको विषले यमुनाको जल दूषित थियो, त्यसरी नै अहङ्कारले मानिसको अन्तःकरण दूषित बनाउँछ । भगवान्ले नागको मस्तकमा नृत्य गर्नुको अर्थ बुद्धिमा रहेको अहङ्कारलाई कुल्चेर दमन गर्नु हो । नागपत्नीहरूको स्तुतिले जीवको ईश्वरप्रतिको पूर्ण आत्मसमर्पण र भक्तिको महत्त्वलाई दर्साउँछ । यसले ईश्वरको दण्ड पनि वास्तवमा जीवको कल्याण र शुद्धीकरणका लागि हो भन्ने कुरा स्पष्ट पार्छ । यमुना नदी भक्ति र प्रकृतिको प्रतीक हो, जसलाई शुद्ध राख्नु मानव र ईश्वर दुवैको कर्तव्य हो । श्रीकृष्णको चरणरजको प्राप्ति नै मोक्ष र परम सुखको आधार हो भन्ने यस अध्यायको मूल दर्शन हो । अन्त्यमा, यो कथाले दुष्टताको अन्त्य गरी संसारमा शान्ति र सन्तुलन कायम गर्ने ईश्वरीय सत्ताको बोध गराउँछ ।
No comments:
Post a Comment