श्रीमद्भागवत महापुराण
दशमः स्कंधः - द्विपञ्चाशत्तमोऽध्यायः
इत्थं सोऽनुगृहीतोऽङ्ग कृष्णेनेक्ष्वाकुनन्दनः ।
तं परिक्रम्य सन्नम्य निश्चक्राम गुहामुखात् ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– "हे प्रिय परीक्षित! भगवान् श्रीकृष्णबाट यसरी अनुग्रहित भएपछि इक्ष्वाकुनन्दन राजा मुचुकुन्दले उहाँ श्रीकृष्णलाई परिक्रमा तथा प्रणाम गरे र गुफाबाट बाहिर निस्के" ।।१।।
संवीक्ष्य क्षुल्लकान् मर्त्यान् पशून् वीरुद्वनस्पतीन् ।
मत्वा कलियुगं प्राप्तं जगाम दिशमुत्तराम् ॥ २ ॥
नेपाली भावानुवादः मुचुकुन्दले बाहिर निस्कँदा मानिस, पशु, लहरा र बोटबिरुवाहरू पहिलेभन्दा धेरै सानो आकारका देखेर कलियुग आएको थाहा पाए र उनी तपस्याका लागि उत्तर दिशातिर लागे ।।२।।
तपःश्रद्धायुतो धीरो निःसङ्गो मुक्तसंशयः ।
समाधाय मनः कृष्णे प्राविशद् गन्धमादनम् ॥ ३ ॥
नेपाली भावानुवादः महाराज मुचुकुन्द तपस्यामा अत्यन्त श्रद्धालु, धैर्यवान्, निस्सङ्ग र संशयरहित थिए। उनले आफ्नो मन श्रीकृष्णमा एकाग्र गर्दै गन्धमादन पर्वतमा प्रवेश गरे ।।३।।
बदर्याश्रममासाद्य नरनारायणालयम् ।
सर्वद्वन्द्वसहः शान्तस्तपसाराऽऽधयद्धरिम् ॥ ४ ॥
नेपाली भावानुवादः नर-नारायणको नित्य निवासस्थान बदरिकाश्रममा पुगेर उनले सबै प्रकारका द्वन्द्वहरू शान्तपूर्वक सहन गर्दै तपस्याद्वारा भगवान् श्रीहरिको आराधना गर्न थाले ।।४।।
भगवान् पुनराव्रज्य पुरीं यवनवेष्टिताम् ।
हत्वा म्लेच्छबलं निन्ये तदीयं द्वारकां धनम् ॥ ५ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्ण पनि कालयवनको सेनाले घेरिएको मथुरापुरीमा फर्कनुभयो। त्यहाँ पुगेर उहाँले म्लेच्छ सेनाको संहार गर्नुभयो र उनीहरूको धनसम्पत्ति द्वारका पठाउनुभयो ।।५।।
नीयमाने धने गोभिर्नृभिश्चाच्युतचोदितैः ।
आजगाम जरासन्धस्त्रयोविंशत्यनीकपः ॥ ६ ॥
नेपाली भावानुवादः अच्युत श्रीकृष्णको आज्ञाले मानिस तथा गोरुहरूले त्यो धन ओसारिरहेका बेला मगधराज जरासन्ध तेइस अक्षौहिणी सेना लिएर फेरि (अठारौँ पटक) युद्ध गर्न आइपुग्यो ।।६।।
विलोक्य वेगरभसं रिपुसैन्यस्य माधवौ ।
मनुष्यचेष्टामापन्नौ राजन् दुद्रुवतुर्द्रुतम् ॥ ७ ॥
नेपाली भावानुवादः हे राजन्! शत्रु सेनाको तीव्र वेग देखेर श्रीकृष्ण र बलरामले मनुष्य जस्तै लीला गर्दै त्यहाँबाट निकै तीव्र गतिमा भागृनुभयो ।।७।।
विहाय वित्तं प्रचुरमभीतौ भीरुभीतवत् ।
पद्भ्यां पलाशाभ्यां चेलतुर्बहुयोजनम् ॥ ८ ॥
नेपाली भावानुवादः वास्तवमा उहाँहरू निर्भय हुनुहुन्थ्यो, तैपनि डराएको जस्तो अभिनय गर्दै प्रशस्त धनसम्पत्ति त्यहीँ छोडेर कमलको पत्र जस्ता सुकोमल गोडाले कैयौँ योजन टाढासम्म पैदल हिँड्नुभयो ।।८।।
पलायमानौ तौ दृष्ट्वा मागधः प्रहसन् बली ।
अन्वधावद् रथानीकैरीशयोरप्रमाणवित् ॥ ९ ॥
नेपाली भावानुवादः ती दुई दाजुभाइ भागेको देखेर बलवान् जरासन्धले उहाँहरूको वास्तविक सामर्थ्य थाहा नपाई हाँस्दै रथसेनाका साथ उहाँहरूको पिछा गर्यो ।।९।।
प्रद्रुत्य दूरं संश्रान्तौ तुङ्गमारुहतां गिरिम् ।
प्रवर्षणाख्यं भगवान् नित्यदा यत्र वर्षति ॥ १० ॥
नेपाली भावानुवादः निकै टाढासम्म दौडिएपछि थाकेको जस्तो गर्दै उहाँहरू 'प्रवर्षण' नामक अग्लो पहाडमा चढ्नुभयो, जहाँ भगवान् इन्द्रले सधैँ वर्षा गराउनुहुन्थ्यो ।।१०।।
गिरौ निलीनावाज्ञाय नाधिगम्य पदं नृप ।
ददाह गिरिमेधोभिः समन्तादग्निमुत्सृजन् ॥ ११ ॥
नेपाली भावानुवादः हे महाराज! जरासन्धले उहाँहरू पर्वतमा लुकेको ठाउँ फेला पार्न नसकेपछि पहाडको चारैतिर दाउरा थुपारेर आगो लगाइदियो ।।११।।
तत उत्पत्य तरसा दह्यमानतटादुभौ ।
दशैकयोजनात्तुङ्गान्निपेततुरधो भुवि ॥ १२ ॥
नेपाली भावानुवादः जलिरहेको पहाडको टाकुराबाट ती दुवै दाजुभाइ एघार योजन अग्लो स्थानबाट तीव्र गतिमा भुइँमा हाम फाल्नुभयो ।।१२।।
अलक्ष्यमाणौ रिपुणा सानुगेन यदूत्तमौ ।
स्वपुरं पुनरायातौ समुद्रपरिखां नृप ॥ १३ ॥
नेपाली भावानुवादः हे राजन्! जरासन्ध र उसका सैनिकहरूले देख्नै नसक्ने गरी ती यदुवंशशिरोमणिहरू समुद्रले घेरिएको आफ्नै नगरी द्वारकामा फर्कनुभयो ।।१३।।
सोऽपि दग्धाविति मृषा मन्वानो बलकेशवौ ।
बलमाकृष्य सुमहन्मगधान् मागधो ययौ ॥ १४ ॥
नेपाली भावानुवादः बलराम र श्रीकृष्ण आगोमा जलेर मरे भन्ने झुटो विश्वास गरी जरासन्धले आफ्नो विशाल सेना फिर्ता लिएर मगध देशतिर लाग्यो ।।१४।।
आनर्ताधिपतिः श्रीमान् रैवतो रैवतीं सुताम् ।
ब्रह्मणा चोदितः प्रादाद् बलायेति पुरोदितम् ॥ १५ ॥
नेपाली भावानुवादः हे परीक्षित! आनर्त देशका राजा रैवतले ब्रह्माजीको प्रेरणाले आफ्नी सुपुत्री रेवतीको विवाह बलरामसँग गरिदिए, जुन कुरा मैले पहिले नै वर्णन गरिसकेको छु ।।१५।।
भगवान् अपि गोविन्द उपयेमे कुरूद्वह ।
वैदर्भीं भीष्मकसुतां श्रियो मात्रां स्वयंवरे ॥ १६ ॥
प्रमथ्य तरसा राज्ञः शाल्वादीन् चैद्यपक्षगान् ।
पश्यतां सर्वलोकानां तार्क्ष्यपुत्रः सुधामिव ॥ १७ ॥
नेपाली भावानुवादः हे कुरुनन्दन! भगवान् श्रीकृष्णले पनि स्वयंवरमा शिशुपालका पक्षधर शाल्व आदि राजाहरूलाई बलपूर्वक पराजित गरी सबैले देख्दादेख्दै विदर्भराज भीष्मककी पुत्री रुक्मिणीलाई त्यसरी नै हरण गर्नुभयो, जसरी गरुडले अमृत हरण गरेका थिए। रुक्मिणी स्वयं लक्ष्मीजीको अंश हुनुहुन्थ्यो ।।१६-१७।।
राजोवाच–
भगवान् भीष्मकसुतां रुक्मिणीं रुचिराननाम् ।
राक्षसेन विधानेन उपयेम इति श्रुतम् ॥ १८ ॥
नेपाली भावानुवादः राजा परीक्षितले सोधे– "हे भगवन्! भगवान् श्रीकृष्णले सुन्दरी रुक्मिणीलाई राक्षस विधिद्वारा विवाह गर्नुभएको थियो भन्ने मैले सुनेको छु" ।।१८।।
भगवञ्छ्रोतुमिच्छामि कृष्णस्यामिततेजसः ।
यथा मागधशाल्वादीन् जित्वा कन्यामुपाहरत् ॥ १९ ॥
नेपाली भावानुवादः "हे ब्रह्मर्षि! अमित तेजस्वी श्रीकृष्णले कसरी जरासन्ध, शाल्व आदि राजाहरूलाई जितेर रुक्मिणीलाई ल्याउनुभयो, त्यो म सुन्न चाहन्छु" ।।१९।।
ब्रह्मन् कृष्णकथाः पुण्या माध्वीर्लोकमलापहाः ।
को नु तृप्येत शृण्वानः श्रुतज्ञो नित्यनूतनाः ॥ २० ॥
नेपाली भावानुवादः "हे ब्रह्मन्! श्रीकृष्णका कथाहरू पवित्र, मधुर र संसारको पाप पखाल्ने खालका हुन्छन्। ती कथा जति सुने पनि नयाँ लाग्छन्, अतः सुन्ने इच्छा राख्ने कुन चाहिँ व्यक्ति ती कथा सुनेर तृप्त होला र?" ।।२०।।
श्रीशुक उवाच–
राजाऽऽसीद् भीष्मको नाम विदर्भाधिपतिर्महान् ।
तस्य पञ्चाभवन् पुत्राः कन्यैका च वरानना ॥ २१ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– "विदर्भ देशमा भीष्मक नामका महान् राजा थिए। उनका पाँच छोरा र एक सुन्दरी छोरी थिइन्" ।।२१।।
रुक्म्यग्रजो रुक्मरथो रुक्मबाहुरनन्तरः ।
रुक्मकेशो रुक्ममाली रुक्मिण्येषां स्वसा सती ॥ २२ ॥
नेपाली भावानुवादः सबैभन्दा जेठो छोराको नाम रुक्मी थियो र त्यसपछि क्रमशः रुक्मरथ, रुक्मबाहु, रुक्मकेश र रुक्ममाली थिए। उनीहरूकी बहिनी साध्वी रुक्मिणी थिइन् ।।२२।।
सोपश्रुत्य मुकुन्दस्य रूपवीर्यगुणश्रियः ।
गृहागतैर्गीयमानांस्तं मेने सदृशं पतिम् ॥ २३ ॥
नेपाली भावानुवादः घरमा आउने पाहुनाहरूले गाउने मुकुन्द श्रीकृष्णको रूप, वीरता, गुण र ऐश्वर्यका बारेमा सुनेर रुक्मिणीले उहाँलाई नै आफ्नो सुयोग्य पतिका रूपमा स्वीकार गरिन् ।।२३।।
तां बुद्धिलक्षणौदार्यरूपशीलगुणाश्रयाम् ।
कृष्णश्च सदृशीं भार्यां समुद्वोढुं मनो दधे ॥ २४ ॥
नेपाली भावानुवादः बुद्धि, लक्षण, उदारता, रूप, शील र गुणकी खानी ती रुक्मिणीलाई आफ्नी सुयोग्य पत्नी ठानेर श्रीकृष्णले पनि उनीसँग विवाह गर्ने विचार गर्नुभयो ।।२४।।
बन्धूनामिच्छतां दातुं कृष्णाय भगिनीं नृप ।
ततो निवार्य कृष्णद्विड् रुक्मी चैद्यममन्यत ॥ २५ ॥
नेपाली भावानुवादः हे राजन्! रुक्मिणीका आफन्तहरू उनलाई श्रीकृष्णलाई नै दिने इच्छा राख्दथे तर श्रीकृष्णसँग द्वेष राख्ने रुक्मीले सबैलाई रोकेर रुक्मिणीको विवाह शिशुपालसँग गर्ने निश्चय गर्यो ।।२५।।
तदवेत्यासितापाङ्गी वैदर्भी दुर्मना भृशम् ।
विचिन्त्याप्तं द्विजं कञ्चित् कृष्णाय प्राहिणोद् द्रुतम् ॥ २६ ॥
नेपाली भावानुवादः यो कुरा थाहा पाएर विदर्भराजपुत्री रुक्मिणी अत्यन्त चिन्तित भइन्। उनले निकै सोचविचार गरी एक विश्वसनीय ब्राह्मणलाई तुरुन्तै श्रीकृष्णकहाँ पठाइन् ।।२६।।
द्वारकां स समभ्येत्य प्रतीहारैः प्रवेशितः ।
अपश्यदाद्यं पुरुषमासीनं काञ्चनासने ॥ २७ ॥
नेपाली भावानुवादः द्वारकामा पुगेपछि द्वारपालहरूद्वारा भित्र पठाइएका ती ब्राह्मणले सुनको आसनमा विराजमान आदिपुरुष श्रीकृष्णलाई देखे ।।२७।।
दृष्ट्वा ब्रह्मण्यदेवस्तमवरुह्य निजासनात् ।
उपवेश्यार्हयाञ्चक्रे यथाऽऽत्मानं दिवौकसः ॥ २८ ॥
नेपाली भावानुवादः ब्राह्मणभक्त भगवान् श्रीकृष्णले उनलाई देख्नासाथ आफ्नो आसनबाट ओर्लिएर उनलाई त्यहीँ बसाउनुभयो र देवताहरूले आफ्नो पूजा गरे झैँ ती ब्राह्मणको पूजा गर्नुभयो ।।२८।।
तं भुक्तवन्तं विश्रान्तमुपगम्य सतां गतिः ।
पाणिनाभिमृशन् पादावव्यग्रस्तमपृच्छत ॥ २९ ॥
नेपाली भावानुवादः भोजन र विश्राम गरिसकेपछि सज्जनका एकमात्र गति भगवान् श्रीकृष्णले ती ब्राह्मणको गोडा सुमसुम्याउँदै बडो धैर्यका साथ सोध्नुभयो ।।२९।।
कच्चिद् द्विजवरश्रेष्ठ धर्मस्ते वृद्धसम्मतः ।
वर्तते नातिकृच्छ्रेण सन्तुष्टमनसः सदा ॥ ३० ॥
नेपाली भावानुवादः "हे द्विजश्रेष्ठ! के तपाईँका पूर्वजहरूले अपनाएको धर्म निर्बाध रूपमा चलिरहेको छ? के तपाईँको मन सधैँ सन्तुष्ट रहन्छ?" ।।३०।।
सन्तुष्टो यर्हि वर्तेत ब्राह्मणो येन केनचित् ।
अहीयमानः स्वाद्धर्मात् स ह्यस्याखिलकामधुक् ॥ ३१ ॥
नेपाली भावानुवादः "यदि ब्राह्मण आफ्नो धर्मबाट विचलित नभई जे प्राप्त हुन्छ त्यसैमा सन्तुष्ट रहन्छ भने त्यो सन्तुष्टि नै उसको सम्पूर्ण मनोकामना पूरा गर्ने कामधेनु बन्छ" ।।३१।।
असन्तुष्टोऽसकृल्लोकानाप्नोत्यपि सुरेश्वरः ।
अकिञ्चनोऽपि सन्तुष्टः शेते सर्वाङ्गविज्वरः ॥ ३२ ॥
नेपाली भावानुवादः "असन्तुष्ट व्यक्ति देवराज इन्द्र नै भए पनि दुःखको सागरमा डुब्छ, तर सन्तुष्ट व्यक्ति अकिञ्चन (गरिब) भए पनि सबै प्रकारका सन्तापबाट मुक्त भएर सुखको निद्रा सुत्छ" ।।३२।।
विप्रान् स्वलाभसन्तुष्टान् साधून् भूतसुहृत्तमान् ।
निरहङ्कारिणः शान्तान् नमस्ये शिरसासकृत् ॥ ३३ ॥
नेपाली भावानुवादः "प्राप्त लाभमा सन्तुष्ट रहने, सबै प्राणीका हितैषी, अहङ्काररहित र शान्त ब्राह्मणहरूलाई म बारम्बार शिर झुकाएर नमस्कार गर्दछु" ।।३३।।
कच्चिद् वः कुशलं ब्रह्मन् राजतो यस्य हि प्रजाः ।
सुखं वसन्ति विषये पाल्यमानाः स मे प्रियः ॥ ३४ ॥
नेपाली भावानुवादः "हे ब्राह्मण! तपाईँको राज्यका राजाबाट तपाईँहरू सुरक्षित हुनुहुन्छ नि? जसको राज्यमा प्रजा सुखपूर्वक बस्छन् र जसले प्रजाको पालन गर्छ, त्यो राजा मलाई निकै प्रिय लाग्छ" ।।३४।।
यतस्त्वमागतो दुर्गं निस्तीर्येह यदिच्छया ।
सर्वं नो ब्रूह्यगुह्यं चेत् किं कार्यं करवाम ते ॥ ३५ ॥
नेपाली भावानुवादः "तपाईँ यति कठिन बाटो पार गरेर कुन इच्छाले यहाँ आउनुभएको हो? यदि गोप्य छैन भने भन्नुहोस्, हामी तपाईँको के सेवा गरौँ?" ।।३५।।
एवं सम्पृष्टसम्प्रश्नो ब्राह्मणः परमेष्ठिना ।
लीलागृहीतदेहेन तस्मै सर्वमवर्णयत् ॥ ३६ ॥
नेपाली भावानुवादः लीलाका लागि शरीर धारण गर्नुभएका परमेश्वर श्रीकृष्णले यसरी सोध्नुभएपछि ती ब्राह्मणले रुक्मिणीको सन्देश सुनाउन थाले ।।३६।।
रुक्मिण्युवाच–
श्रुत्वा गुणान् भुवनसुन्दर शृण्वतां ते
निर्विश्य कर्णविवरैर्हरतोऽङ्गतापम् ।
रूपं दृशां दृशिमतामखिलार्थलाभं
त्वय्यच्युताविशति चित्तमपत्रपं मे ॥ ३७ ॥
नेपाली भावानुवादः रुक्मिणी भन्छिन्– "हे भुवनसुन्दर! तपाईँका गुणहरू कानको माध्यमबाट हृदयमा प्रवेश गरी सुन्नेहरूको शारीरिक तथा मानसिक ताप नष्ट गरिदिन्छन्। तपाईँको रूपले नेत्र हुनेहरूलाई सबै पुरुषार्थको लाभ गराउँछ भन्ने सुनेर, हे अच्युत! मेरो चित्त लाज नमानी तपाईँमा प्रवेश गरेको छ" ।।३७।।
का त्वा मुकुन्द महती कुलशीलरूप–
धीरा पतिं कुलवती न वृणीत कन्या
काले नृसिंह नरलोकमनोऽभिरामम् ॥ ३८ ॥
नेपाली भावानुवादः "हे मुकुन्द! तपाईँ जस्तो कुल, शील, रूप, विद्या, उमेर र वैभवमा आफ्नै समान तथा सम्पूर्ण संसारलाई मोहित पार्ने पुरुषलाई कुन चाहिँ कुलवती र धैर्यवान् कन्याले पतिको रूपमा वरण नगर्ली र?" ।।३८।।
तन्मे भवान् खलु वृतः पतिरङ्गण् जाया–
मा वीरभागमभिमर्शतु चैद्य आराद्
गोमायुवन्मृगपतेः बलिमम्बुजाक्ष ॥ ३९ ॥
नेपाली भावानुवादः "त्यसैले हे विभो! मैले तपाईँलाई पतिको रूपमा वरण गरिसकेकी छु र आफूलाई तपाईँमा अर्पण गरिसकेकी छु। कृपया यहाँ आएर मलाई पत्नीको रूपमा स्वीकार गर्नुहोस्। हे कमलनयन! मृगराज सिंहको भागलाई स्यालले छोए झैँ शिशुपालले मलाई छुन नपाओस्" ।।३९।।
पूर्तेष्टदत्तनियमव्रतदेवविप्र–
आराधितो यदि गदाग्रज एत्य पाणिं
गृह्णातु मे न दमघोषसुतादयोऽन्ये ॥ ४० ॥
नेपाली भावानुवादः "यदि मैले पूर्वजन्ममा कुवा खन्ने, यज्ञ गर्ने, दान दिने, नियम तथा व्रत बस्ने र देवता, ब्राह्मण एवं गुरुहरूको सेवा गरेर भगवान्को आराधना गरेकी छु भने श्रीकृष्णले आएर मेरो पाणिग्रहण गर्नुहोस्। शिशुपाल आदि अरू कसैले मलाई नछुनुन्" ।।४०।।
श्वो भाविनि त्वमजितोद्वहने विदर्भान्
गुप्तः समेत्य पृतनापतिभिः परीतः ।
निर्मथ्य चैद्यमगधेन्द्रबलं प्रसह्य
मां राक्षसेन विधिनोद्वह वीर्यशुल्काम् ॥ ४१ ॥
नेपाली भावानुवादः "हे अजित! भोलि मेरो विवाह हुँदै छ। तपाईँ सेनापतिहरूका साथ गुप्त रूपमा विदर्भ देशमा आउनुहोस् र शिशुपाल एवं जरासन्धको सेनालाई मन्थन गरी आफ्नो पराक्रमले मलाई राक्षस विधि अनुसार हरण गरेर लैजानुहोस्" ।।४१।।
अन्तःपुरान्तरचरीमनिहत्य बन्धूं–
पूर्वेद्युरस्ति महती कुलदेवियात्रा
यस्यां बहिर्नववधूर्गिरिजामुपेयात् ॥ ४२ ॥
नेपाली भावानुवादः "तपाईँ सोच्नुहोला कि 'अन्तःपुरमा रहेकी र आफन्तहरूले घेरिएकी तिमीलाई उनीहरूलाई नमरी कसरी लैजाऊँ?', त्यसको उपाय म बताउँछु। विवाहको अघिल्लो दिन कुलदेवीको यात्रा हुन्छ, जसमा दुलही नगर बाहिर रहेको गिरिजादेवीको दर्शन गर्न जानुपर्छ (तपाईँले त्यहीँबाट मलाई लैजान सक्नुहुन्छ)" ।।४२।।
यस्याङ्घ्रिपङ्कजरजःस्नपनं महान्तो
वाञ्छन्त्युमापतिरिवात्मतमोऽपहत्यै । य
र्ह्यम्बुजाक्ष न लभेय भवत्प्रसादं
जह्यामसून् व्रतकृशाञ्छतजन्मभिः स्यात् ॥ ४३ ॥
नेपाली भावानुवादः "हे कमलनयन! भगवान् शिव जस्ता महापुरुषहरू पनि आफ्नो अज्ञान हटाउन तपाईँको चरणकमलको धुलोमा स्नान गर्न चाहन्छन्। यदि मैले तपाईँको त्यो कृपा प्राप्त गर्न सकिनँ भने म व्रतद्वारा आफ्नो शरीरलाई सुकाएर प्राण त्याग गर्नेछु। त्यसका लागि मैले सयौँ जन्म लिनु परे पनि लिनेछु, तर तपाईँलाई नपाई छोड्ने छैन" ।।४३।।
इत्येते गुह्यसन्देशा यदुदेव मयाऽऽहृताः ।
विमृश्य कर्तुं यच्चात्र क्रियतां तदनन्तरम् ॥ ४४ ॥
नेपाली भावानुवादः ब्राह्मणले भने– "हे यदुदेव! मैले रुक्मिणीका यी गुप्त सन्देशहरू ल्याएको हुँ। अब यस विषयमा विचार गरेर तपाईँलाई जे उचित लाग्छ, तुरुन्तै गर्नुहोस्" ।।४४।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको दशम स्कन्धको ५२ औँ अध्याय निकै महत्त्वपूर्ण र रोचक छ। यस अध्यायमा विशेष गरी राजा मुचुकुन्दको बिदाइ, जरासन्धको अठारौँ पटकको आक्रमण र रुक्मिणीको हृदयस्पर्शी प्रेम सन्देशको वर्णन गरिएको छ। कथाको सुरुवातमा श्रीकृष्णको अनुग्रह प्राप्त गरी मुचुकुन्द गुफाबाट बाहिर निस्कन्छन्। बाहिरको वातावरण र प्राणीहरूको सानो आकार देखेर उनी कलियुगको आगमन भएको थाहा पाउँछन् र तपस्याका लागि बदरिकाश्रम जान्छन्। अर्कोतर्फ, कालयवनको वधपछि श्रीकृष्णले मथुराको धन द्वारका पठाउनुहुन्छ। त्यसै समयमा जरासन्ध विशाल सेना लिएर मथुरा आइपुग्छ। श्रीकृष्ण र बलरामले मनुष्य लीला गर्दै रणभूमिबाट भागेको बहाना गर्नुहुन्छ र 'प्रवर्षण' पर्वतमा चढ्नुहुन्छ। जरासन्धले पहाडमा आगो लगाइदिन्छ, तर भगवान् त्यहाँबाट लुकेर द्वारका फर्कनुहुन्छ। जरासन्धले उहाँहरू मरेको ठानेर खुसी हुँदै फर्कन्छ। यसै अध्यायमा बलराम र रेवतीको विवाहको प्रसङ्ग पनि उल्लेख छ। कथाको उत्तरार्धमा विदर्भ देशकी राजकुमारी रुक्मिणीको चर्चा छ। रुक्मिणीले श्रीकृष्णको गुण र सुन्दरताका बारेमा सुनेर उहाँलाई मनैदेखि पतिका रूपमा स्वीकार गरेकी थिइन्। तर, उनका दाजु रुक्मीले उनको विवाह शिशुपालसँग गराउने निश्चय गर्दछ। यो खबर पाएपछि रुक्मिणीले एक ब्राह्मणमार्फत श्रीकृष्णलाई सात श्लोकको एउटा अत्यन्तै सुन्दर र मार्मिक प्रेम पत्र पठाउँछिन्। पत्रमा उनले आफ्नो दृढ निश्चय व्यक्त गर्दै आफूलाई शिशुपाल जस्तो 'स्याल' बाट बचाएर 'मृगराज' श्रीकृष्णले हरण गरेर लैजान प्रार्थना गर्छिन्। उनले आफू कुलदेवीको मन्दिर जाने समयमा हरण गर्ने उपाय पनि सुझाउँछिन्। रुक्मिणीले पत्रको अन्त्यमा यदि श्रीकृष्णले उनलाई स्वीकार नगरे सयौँ जन्मसम्म व्रत बसेर प्राण त्याग्ने सङ्कल्प गर्छिन्। यो सन्देश सुनेर श्रीकृष्ण रुक्मिणीलाई ल्याउन तयार हुनुहुन्छ। यसरी यो अध्यायले भगवान् र भक्तबीचको सम्बन्ध तथा शरणागतिको भावलाई प्रस्ट्याउँछ।
दार्शनिक पक्ष
यस अध्यायको दार्शनिक पक्ष निकै गहिरो छ। मुचुकुन्दको प्रसङ्गले कालको प्रभाव र संसारको परिवर्तनशीलतालाई देखाउँछ। संसारमा जति नै पराक्रमी भए पनि कालको अगाडि सबै गौण छन् भन्ने कुरा यसले बुझाउँछ। श्रीकृष्ण र बलरामले जरासन्धबाट भागेको लीला (रणछोड लीला) ले के सिकाउँछ भने कहिलेकाहीँ ठूलो लक्ष्य प्राप्तिका लागि अहङ्कार त्यागेर पछि हट्नु पनि बुद्धिमानी हो। रुक्मिणीको पत्रमा व्यक्त भावहरूले 'पराभक्ति' को पराकाष्ठा देखाउँछन्। आत्मा (रुक्मिणी) परमात्मा (श्रीकृष्ण) सँग मिल्न कति व्याकुल हुन्छ भन्ने कुरा यसले चित्रण गर्दछ। संसारका अन्य विषय (शिशुपाल) लाई स्याल र परमात्मालाई सिंहको रूपमा व्याख्या गरिएको छ, जसले शुद्ध आनन्द केवल परमात्मामा मात्र छ भन्ने सङ्केत गर्छ। रुक्मिणीको समर्पणले जीवले भगवान्मा पूर्ण विश्वास गरेपछि भगवान् आफैँ उसलाई लिन आउनुहुन्छ भन्ने पुष्टि गर्दछ। यसमा ब्राह्मणलाई माध्यम बनाइनुले ज्ञान र सत्सङ्गको महत्त्वलाई दर्शाउँछ। शरणागति र अनन्य प्रेम नै ईश्वर प्राप्तिको वास्तविक मार्ग हो भन्ने यसको मुख्य दार्शनिक सन्देश हो।
No comments:
Post a Comment