श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - सप्तमोऽध्यायः
(अनुष्टुप्)
ते नागराजमामंत्र्य फलभागेन वासुकिम् ।
परिवीय गिरौ तस्मिन् नेत्रमब्धिं मुदान्विताः ॥ १ ॥
आरेभिरे सुसंयत्ता अमृतार्थे कुरूद्वह ।
हरिः पुरस्तात् जगृहे पूर्वं देवास्ततोऽभवन् ॥ २ ॥
नेपाली भावानुवाद: शुकदेवजी भन्नुहुन्छ– हे कुरूद्वह महाराज परीक्षित ! देवता र असुरहरूले नागराज वासुकिलाई समुद्र मन्थनबाट प्राप्त हुने अमृतको हिस्सा तिम्रो पनि हुनेछ भनी सहमत गराए । त्यसपछि उनीहरूले वासुकि नागलाई नेतीका रूपमा मन्दराचल पर्वतमा बेरेर ठुलो आनन्द र उत्साहका साथ समुद्र मन्थन आरम्भ गरे । त्यस समयमा अजित भगवान्ले वासुकिको मुखतिर समातेर मन्थन गर्न लाग्नुभएकाले अन्य देवताहरू पनि त्यतैतिर लागे ।।१–२।।
तन्नैच्छन् दैत्यपतयो महापुरुषचेष्टितम् ।
न गृह्णीमो वयं पुच्छं अहेरङ्गं अमंगलम् ॥ ३ ॥
नेपाली भावानुवाद: तर भगवान्को यो चेष्टालाई दैत्यहरूले उचित मानेनन् । उनीहरूले भने– "सर्पको पुच्छर त अशुभ अङ्ग हो, त्यसैले हामी त्यतातिर समात्दैनौँ" ।।३।।
स्वाध्यायश्रुतसम्पन्नाः प्रख्याता जन्मकर्मभिः ।
इति तूष्णीं स्थितान् दैत्यान् विलोक्य पुरुषोत्तमः ।
स्मयमानो विसृज्याग्रं पुच्छं जग्राह सामरः ॥ ४ ॥
नेपाली भावानुवाद: "हामीले वेदशास्त्रको विधिवत् अध्ययन गरेका छौँ, उच्च वंशमा हाम्रो जन्म भएको छ र हामीले पराक्रमका ठुला–ठुला कार्यहरू गरेका छौँ । हामी देवताहरूभन्दा कुन कुरामा कम छौँ र ?" यसो भन्दै उनीहरू मौन भएर अगाडि उभिए । उनीहरूको यस्तो अभिमानपूर्ण भावना देखेर पुरुषोत्तम भगवान् मुस्कुराउँदै वासुकिको मुख छोडिदिनुभयो र देवताहरूका साथमा पुच्छरतिर समात्नुभयो ।।४।।
कृतस्थानविभागास्त एवं कश्यपनन्दनाः ।
ममन्थुः परमायत्ता अमृतार्थं पयोनिधिम् ॥ ५ ॥
नेपाली भावानुवाद: यसरी आफ्नो–आफ्नो स्थान निश्चित गरी कश्यपका पुत्र देवता र असुरहरू अमृत प्राप्तिका लागि पूर्ण तयारीका साथ क्षीरसागर मन्थन गर्न लागे ।।५।।
मथ्यमानेऽर्णवे सोऽद्रिः अनाधारो ह्यपोऽविशत् ।
ध्रियमाणोऽपि बलिभिः गौरवात् पाण्डुनन्दन ॥ ६ ॥
नेपाली भावानुवाद: हे पाण्डुनन्दन परीक्षित ! जब समुद्र मन्थन सुरु भयो, तब शक्तिशाली देवता र असुरहरूले समातेको भए तापनि तल कुनै आधार नभएका कारण आफ्नो भारले मन्दराचल पर्वत समुद्रमा डुब्न लाग्यो ।।६।।
ते सुनिर्विण्णमनसः परिम्लानमुखश्रियः ।
आसनस्वपौरुषे नष्टे दैवेनातिबलीयसा ॥ ७ ॥
नेपाली भावानुवाद: अति बलवान् दैवले आफ्नो पौरुष विफल बनाएको देखेर उनीहरूको मन खिन्न भयो र सबैको अनुहारको चमक हराएर उदासी देखिन थाल्यो ।।७।।
(इन्द्रवज्रा)
विलोक्य विघ्नेशविधिं तदेश्वरो
दुरन्तवीर्योऽवितथाभिसन्धिः ।
कृत्वा वपुः कच्छपमद्भुयतं महत्
प्रविश्य तोयं गिरिमुज्जहार ॥ ८ ॥
नेपाली भावानुवाद: त्यस समयमा अनन्त वीर्यवान् र सत्यसङ्कल्प ईश्वरले यो विघ्न आएको देखी एउटा अत्यन्त विशाल एवं अद्भुत कछुवाको रूप धारण गर्नुभयो र जलमा पसेर मन्दराचल पर्वतलाई माथि उठाउनुभयो ।।८।।
तमुत्थितं वीक्ष्य कुलाचलं पुनः
समुद्यता निर्मथितुं सुरासुराः ।
दधार पृष्ठेन स लक्षयोजन
प्रस्तारिणा द्वीप इवापरो महान् ॥ ९ ॥
नेपाली भावानुवाद: पर्वत माथि उठेको देखेर देवता र असुरहरू पुनः समुद्र मन्थनका लागि तयार भए । त्यस समयमा भगवान्ले लाखौँ योजनमा फैलिएको अर्को ठुलो टापुजस्तो आफ्नो पिठ्युँमा मन्दराचललाई धारण गर्नुभएको थियो ।।९।।
सुरासुरेन्द्रैर्भुजवीर्यवेपितं
परिभ्रमन्तं गिरिमङ्ग पृष्ठतः ।
बिभ्रत् तदावर्तनमादिकच्छपो
मेनेङ्गकण्डूयनमप्रमेयः ॥ १० ॥
नेपाली भावानुवाद: हे परीक्षित ! जब शक्तिशाली देवता र असुरहरूले आफ्नो बाहुबलले मन्दराचललाई घुमाउन लागे, तब भगवान्को पिठ्युँमा त्यो पर्वत घुम्दा अप्रमेय शक्तिशाली आदि कच्छप भगवान्लाई कन्याइरहेको जस्तो मात्र अनुभव हुन्थ्यो ।।१०।।
तथासुरानाविशदासुरेण
उद्दीपयन्देवगणांश्च विष्णुः
दैवेन नागेन्द्रमबोधरूपः ॥ ११ ॥
नेपाली भावानुवाद: यसरी समुद्र मन्थन सम्पन्न गर्नका लागि विष्णु भगवान्ले असुरहरूमा शक्ति बढाउन असुर रूपले, देवताहरूलाई उत्साहित गर्न देव रूपले र वासुकि नागमा निद्रा (अचेतन शक्ति) का रूपले प्रवेश गर्नुभयो ।।११।।
उपर्यगेन्द्रं गिरिराड् इवान्य
आक्रम्य हस्तेन सहस्रबाहुः ।
तस्थौ दिवि ब्रह्मभवेन्द्रमुख्यैः
अभिष्दुवद्भिः सुमनोऽभिवृष्टः ॥ १२ ॥
नेपाली भावानुवाद: पर्वतको माथि अर्को पर्वतजस्तै विशाल रूप धारणा गरी सहस्रबाहु भगवान्ले त्यसलाई एक हातले थिचेर अड्याउनुभयो । त्यस समय आकाशबाट ब्रह्मा, शङ्कर र इन्द्र आदिले स्तुति गर्दै उहाँमाथि पुष्पवृष्टि गरे ।।१२।।
उपर्यधश्चात्मनि गोत्रनेत्रयोः
परेण ते प्राविशता समेधिताः ।
ममन्थुरब्धिं तरसा मदोत्कटा
महाद्रिणा क्षोभितनक्रचक्रम् ॥ १३ ॥
नेपाली भावानुवाद: यसरी भगवान्ले पर्वतको माथि, तल आधारका रूपमा, देवता–असुरको शरीरमा शक्तिका रूपमा, पर्वतमा दृढताका रूपमा र वासुकिमा निद्राका रूपमा रहेर सबैलाई सामर्थ्य प्रदान गर्नुभयो । तब उनीहरू मदले उन्मत्त भई मन्दराचलद्वारा बेगसँग समुद्र मन्थन गर्न लागे, जसबाट समुद्रका गोही र माछाहरू क्षुब्ध भए ।।१३।।
श्वासाग्निधूमाहतवर्चसोऽसुराः ।
पौलोमकालेयबलील्वलादयो
दवाग्निदग्धाः सरला इवाभवन् ॥ १४ ॥
नेपाली भावानुवाद: नागराज वासुकिका हजारौँ कठोर आँखा र मुखबाट निस्केको श्वासको आगो र धुवाँले पौलोम, कालेय, बलि, इल्वल आदि असुरहरू निस्तेज भए । उनीहरू डढेलोले डढेका सल्लाका रुखजस्तै तेजहीन देखिए ।।१४।।
देवांश्च तच्छ्वासशिखाहतप्रभान्
धूम्राम्बरस्रग् वरकञ्चुकाननान् ।
समभ्यवर्षन् भगवद्वशा घना
ववुः समुद्रोर्म्युपगूढवायवः ॥ १५ ॥
नेपाली भावानुवाद: वासुकिको श्वासको ज्वालाले देवताहरूको पनि चमक हरायो । उनीहरूका वस्त्र, माला र मुख मलिन भए । उनीहरूको यस्तो अवस्था देखेर भगवान्को प्रेरणाले बादलले वर्षा गर्यो र समुद्रका तरङ्गलाई स्पर्श गर्दै आएको शीतल वायुले सुगन्ध फैलाउन थाल्यो ।।१५।।
(अनुष्टुप्)
मथ्यमानात्तथा सिन्धोः देवासुरवरूथपैः ।
यदा सुधा न जायेत निर्ममन्थाजितः स्वयम् ॥ १६ ॥
नेपाली भावानुवाद: यसरी देवता र असुरहरूले मन्थन गर्दा पनि अमृत ननिस्केपछि स्वयं अजित भगवान्ले समुद्र मन्थन गर्न थाल्नुभयो ।।१६।।
(मन्दाक्रान्ता)
मेघश्यामः कनकपरिधिः कर्णविद्योतविद्युन्
मूर्ध्नि भ्राजद् विलुलितकचः स्रग्धरो रक्तनेत्रः ।
जैत्रैर्दोर्भिर्जगदभयदैः दन्दशूकं गृहीत्वा
मथ्नन् मथ्ना प्रतिगिरिरिवाशोभताथो धृताद्रिः ॥ १७ ॥
नेपाली भावानुवाद: श्यामवर्णको शरीरमा सुनौलो पीताम्बर, कानमा विद्युत् जस्तै चम्किने कुण्डल, शिरमा लहराइरहेको कपाल, राता आँखा र वनमालाले सुशोभित हुनुभएका भगवान्ले जगत्लाई अभय दान दिने आफ्ना विजयी हातहरूले वासुकि नागलाई समातेर मन्दराचललाई मदानी बनाई समुद्र मन्थन गर्दा उहाँ अर्को विशाल पर्वतजस्तै अत्यन्त शोभायमान देखिनुभयो ।।१७।।
(इन्द्रवज्रा)
निर्मथ्यमानाद् उदधेरभूद्विषं
महोल्बणं हालहलाह्वमग्रतः ।
सम्भ्रान्तमीनोन् मकराहिकच्छपात्
तिमिद्विपग्राहतिमिंगलाकुलात् ॥ १८ ॥
तदुग्रवेगं दिशि दिश्युपर्यधो
विसर्पदुत्सर्पदसह्यमप्रति ।
भीताः प्रजा दुद्रुवुरङ्ग सेश्वरा
अरक्ष्यमाणाः शरणं सदाशिवम् ॥ १९ ॥
नेपाली भावानुवाद: जब अजित भगवान्ले यस प्रकार समुद्र मन्थन गर्नुभयो, तब समुद्रमा ठुलो खलबली मच्चियो । माछा, गोही, सर्प र कछुवा आदि जलचरहरू व्याकुल भए । त्यस समयमा सर्वप्रथम 'हलाहल' नामको अत्यन्त उग्र विष निस्कियो । त्यो असह्य विष दसै दिशामा फैलिन थाल्यो । त्यसबाट डराएका सम्पूर्ण प्रजा र प्रजापतिहरूले कतै शरण नपाएपछि भगवान् सदाशिवको शरणमा गए ।।१८–१९।।
विलोक्य तं देववरं त्रिलोक्या
भवाय देव्याभिमतं मुनीनाम् ।
आसीनमद्रावपवर्गहेतोः
तपो जुषाणं स्तुतिभिः प्रणेमुः ॥ २० ॥
नेपाली भावानुवाद: मुनिहरूद्वारा सेवित र देवी सतीका साथ कैलाश पर्वतमा मोक्षका लागि तपस्या गरिरहनुभएका ती त्रिलोकीका हितकारी देव शिरोमणि शिवजीलाई देखेर प्रजापतिहरूले स्तुति गर्दै प्रणाम गरे ।।२०।।
श्रीप्रजापतय ऊचुः –
(अनुष्टुप्)
देवदेव महादेव भूतात्मन् भूतभावन ।
त्राहि नः शरणापन्नान् त्रैलोक्यदहनाद्विषात् ॥ २१ ॥
नेपाली भावानुवाद: प्रजापतिहरू भन्दछन्– "हे देवाधिदेव महादेव ! तपाईं सम्पूर्ण प्राणीका आत्मा र जीवनदाता हुनुहुन्छ । हामी तपाईंको शरणमा आएका छौँ, तीनै लोकलाई भष्म गर्ने यस विषबाट हाम्रो रक्षा गर्नुहोस्" ।।२१।।
त्वमेकः सर्वजगत ईश्वरो बन्धमोक्षयोः ।
तं त्वामर्चन्ति कुशलाः प्रपन्नार्तिहरं गुरुम् ॥ २२ ॥
नेपाली भावानुवाद: तपाईं नै सारा जगत्को बन्धन र मोक्षका एकमात्र स्वामी हुनुहुन्छ । त्यसैले विवेकी पुरुषहरू शरणागतको दुःख हरण गर्ने जगद्गुरु तपाईंको नै आराधना गर्दछन् ।।२२।।
गुणमय्या स्वशक्त्यास्य सर्गस्थित्यप्ययान् विभो ।
धत्से यदा स्वदृग्भूमन् ब्रह्मविष्णुशिवाभिधाम् ॥ २३ ॥
नेपाली भावानुवाद: हे विभो ! तपाईं आफ्नै गुणमयी शक्तिद्वारा यस जगत्को सृष्टि, स्थिति र लय गर्नका लागि ब्रह्मा, विष्णु र शिव नाम धारण गर्नुहुन्छ ।।२३।।
त्वं ब्रह्म परमं गुह्यं सदसद्भाषवभावनम् ।
नानाशक्तिभिराभातः त्वमात्मा जगदीश्वरः ॥ २४ ॥
नेपाली भावानुवाद: तपाईं नै परम रहस्यमय ब्रह्मतत्त्व हुनुहुन्छ । चराचर प्राणीलाई सत्ता र स्फूर्ति दिने तपाईं नै हो । अनेक शक्तिहरूद्वारा तपाईं नै जगत्का रूपमा प्रकट हुनुहुन्छ, किनकि तपाईं नै सर्वात्मा र जगदीश्वर हुनुहुन्छ ।।२४।।
(इन्द्रवज्रा)
त्वं शब्दयोनिर्जगदादिरात्मा
प्राणेन्द्रियद्रव्यगुणः स्वभावः ।
कालः क्रतुः सत्यमृतं च धर्मः
त्वय्यक्षरं यत्त्रिवृदामनन्ति ॥ २५ ॥
नेपाली भावानुवाद: तपाईं शब्दब्रह्म (वेद) को उत्पत्तिस्थान, जगत्को आदिकारण, प्राण, इन्द्रिय, द्रव्य, गुण र स्वभाव हुनुहुन्छ । तपाईं नै काल, यज्ञ, सत्य, ऋत र धर्म हुनुहुन्छ । विद्वान्हरू 'अ, उ, म' मिलेर बनेको ॐकारलाई तपाईंको नै स्वरूप मान्दछन् ।।२५।।
अग्निर्मुखं तेऽखिलदेवतात्मा
क्षितिं विदुर्लोकभवाङ्घ्रिपंकजम् ।
कालं गतिं तेऽखिलदेवतात्मनो
दिशश्च कर्णौ रसनं जलेशम् ॥ २६ ॥
नाभिर्नभस्ते श्वसनं नभस्वान्
सूर्यश्च चक्षूंषि जलं स्म रेतः ।
परावरात्माश्रयणं तवात्मा
सोमो मनो द्यौर्भगवन् शिरस्ते ॥ २७ ॥
नेपाली भावानुवाद: अग्नि तपाईंको मुख हो, पृथ्वी चरणकमल हो, काल तपाईंको गति हो, दिशाहरू कान हुन् र वरुण जिब्रो हुन् । आकाश नाभि हो, वायु श्वास हो, सूर्य नेत्र हो, जल वीर्य हो, चन्द्रमा मन हो र स्वर्ग तपाईंको शिर हो ।।२६–२७।।
कुक्षिः समुद्रा गिरयोऽस्थिसंघा
रोमाणि सर्वौषधिवीरुधस्ते ।
छन्दांसि साक्षात् तव सप्त धातवः
त्रयीमयात्मन् हृदयं सर्वधर्मः ॥ २८ ॥
नेपाली भावानुवाद: हे वेदस्वरूप भगवन् ! समुद्र तपाईंको कोख हो, पर्वतहरू हाड हुन्, औषधि र वनस्पतिहरू रौं हुन्, गायत्री आदि छन्दहरू सात धातु हुन् र सबै धर्म तपाईंको हृदय हो ।।२८।।
मुखानि पञ्चोपनिषदस्तवेश
यैस्त्रिंशदष्टोत्तरमंत्रवर्गः ।
यत्तत् शिवाख्यं परमात्मतत्त्वं
देव स्वयंज्योतिरवस्थितिस्ते ॥ २९ ॥
नेपाली भावानुवाद: हे ईश्वर ! सद्योजात, वामदेव, अघोर, तत्पुरुष र ईशान नामका पाँच उपनिषद् तपाईंका पाँच मुख हुन्, जसबाट अठ्तीस प्रकारका मन्त्रहरू निस्कन्छन् । तपाईंको स्वयंप्रकाश परमात्म स्वरूप नै कल्याणकारी 'शिव' हो ।।२९।।
छाया त्वधर्मोर्मिषु यैर्विसर्गो
सांख्यात्मनः शास्त्रकृतस्तवेक्षा
छन्दोमयो देव ऋषिः पुराणः ॥ ३० ॥
नेपाली भावानुवाद: अधर्मका लहरहरू तपाईंको छाया हुन्, सत्त्व–रज–तम तीन गुण तपाईंका तीन नेत्र हुन् । समस्त शास्त्र र वेदहरू तपाईंकै विचार हुन्, किनकि तपाईं नै आदि ऋषि र पुराण पुरुष हुनुहुन्छ ।।३०।।
न ते गिरित्राखिललोकपाल
विरिञ्चवैकुण्ठसुरेन्द्रगम्यम् ।
ज्योतिः परं यत्र रजस्तमश्च
सत्त्वं न यद्ब्रह्म निरस्तभेदम् ॥ ३१ ॥
नेपाली भावानुवाद: हे पर्वत निवासी महादेव ! तपाईंको त्यो परम ज्योतिर्मय स्वरूप जुन त्रिगुणातीत र भेदरहित छ, त्यसलाई ब्रह्मा, विष्णु र इन्द्रजस्ता लोकपालहरूले पनि पूर्ण रूपमा जान्न सक्दैनन् ।।३१।।
(वसन्ततिलका)
कामाध्वरत्रिपुरकालगराद्यनेक
भूतद्रुहः क्षपयतः स्तुतये न तत् ते ।
यस्त्वन्तकाल इदमात्मकृतं स्वनेत्र
वह्निस्फुलिंगशिखया भसितं न वेद ॥ ३२ ॥
नेपाली भावानुवाद: तपाईंले कामदेव, दक्षको यज्ञ, त्रिपुरासुर र कालकूट विषजस्ता जगत्लाई दुःख दिने तत्त्वहरूलाई नष्ट गर्नुभयो, तर यो तपाईंको पूर्ण स्तुति होइन । किनकि प्रलयकालमा तपाईं आफ्नै नेत्रको ज्वालाले यो सारा ब्रह्माण्ड भष्म गरिदिनुहुन्छ र तपाईंलाई त्यसको पत्तो पनि हुँदैन ।।३२।।
ये त्वात्मरामगुरुभिर्हृदि चिन्तिताङ्घ्रि
कत्थन्त उग्रपरुषं निरतं श्मशाने
ते नूनमूतिमविदंस्तव हातलज्जाः ॥ ३३ ॥
नेपाली भावानुवाद: आत्मज्ञानीहरू तपाईंका चरणकमलको ध्यान गर्दछन् । तर कसैले तपाईंलाई उग्र, निष्ठुर वा श्मशानवासी भनी आलोचना गर्छन् भने तिनीहरू निर्लज्ज हुन्, जसले तपाईंको वास्तविक लीला र रहस्य बुझेका छैनन् ।।३३।।
तत्तस्य ते सदसतोः परतः परस्य
नाञ्जः स्वरूपगमने प्रभवन्ति भूम्नः ।
ब्रह्मादयः किमुत संस्तवने वयं तु
तत्सर्गसर्गविषया अपि शक्तिमात्रम् ॥ ३४ ॥
नेपाली भावानुवाद: कार्य र कारणभन्दा पर रहेको तपाईंको अनन्त स्वरूपलाई बुझ्न ब्रह्माजीहरू त असमर्थ छन् भने उनीहरूका सृष्टि हामीहरूले के स्तुति गर्न सक्छौँ र ? तैपनि हामीले आफ्नो शक्तिअनुसार तपाईंको गुणगान गर्यौँ ।।३४।।
(अनुष्टुप्)
एतत् परं प्रपश्यामो न परं ते महेश्वर ।
मृडनाय हि लोकस्य व्यक्तिस्तेऽव्यक्तकर्मणः ॥ ३५ ॥
नेपाली भावानुवाद: हे महेश्वर ! हामी तपाईंको यसै साकार रूपलाई देखिरहेका छौँ । तपाईंका लीलाहरू अव्यक्त भए पनि जगत्को कल्याणका लागि तपाईं यसरी प्रकट हुनुभएको हो ।।३५।।
श्रीशुक उवाच –
तद्वीक्ष्य व्यसनं तासां कृपया भृशपीडितः ।
सर्वभूतसुहृद् देव इदमाह सतीं प्रियाम् ॥ ३६ ॥
नेपाली भावानुवाद: शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! प्रजाहरूको यस्तो विपत्ति देखेर करुणाले भरिनुभएका सबैका सुहृद् भगवान् शिवले आफ्नी प्रिय पत्नी सतीसँग यसो भन्नुभयो ।।३६।।
श्रीशिव उवाच –
अहो बत भवान्येतत् प्रजानां पश्य वैशसम् ।
क्षीरोदमथनोद्भूततात् कालकूटाद् उपस्थितम् ॥ ३७ ॥
नेपाली भावानुवाद: शिवजीले भन्नुभयो– "हे भवानी ! हेर, समुद्र मन्थनबाट निस्केको यो कालकूट विषका कारण प्रजाहरू कति ठुलो सङ्कटमा परेका छन्" ।।३७।।
आसां प्राणपरीप्सूनां विधेयं अभयं हि मे ।
एतावान् हि प्रभोरर्थो यद् दीनपरिपालनम् ॥ ३८ ॥
नेपाली भावानुवाद: "आफ्नो प्राण बचाउन चाहने यी प्रजाहरूलाई अभय दान दिनु मेरो कर्तव्य हो । दीनदुःखीको रक्षा गर्नु नै समर्थ पुरुषको धर्म हो" ।।३८।।
प्राणैः स्वैः प्राणिनः पान्ति साधवः क्षणभंगुरैः ।
बद्धवैरेषु भूतेषु मोहितेष्वात्ममायया ॥ ३९ ॥
नेपाली भावानुवाद: "सज्जनहरू आफ्ना क्षणभंगुर प्राण दिएर पनि अरू प्राणीको रक्षा गर्दछन् । मेरो मायाले मोहित भई आपसमा शत्रुता राख्ने प्राणीहरूको पनि रक्षा गर्नु नै उत्तम कर्म हो" ।।३९।।
प्रीते हरौ भगवति प्रीयेऽहं सचराचरः ।
तस्मात् इदं गरं भुञ्जे प्रजानां स्वस्तिरस्तु मे ॥ ४० ॥
नेपाली भावानुवाद: "हे भद्रे ! दीनहरूमा कृपा गर्दा सर्वात्मा श्रीहरि प्रसन्न हुनुहुन्छ र उहाँ प्रसन्न हुँदा म र सारा चराचर जगत् प्रसन्न हुन्छ । त्यसैले प्रजाहरूको कल्याणका लागि म यो विष भक्षण गर्छु" ।।४०।।
श्रीशुक उवाच –
एवमामंत्र्य भगवान् भवानीं विश्वभावनः ।
तद्विषं जग्धुमारेभे प्रभावज्ञान्वमोदत ॥ ४१ ॥
नेपाली भावानुवाद: शुकदेवजी भन्नुहुन्छ– यसरी भवानीसँग अनुमति लिएर विश्वका रक्षक भगवान् शङ्करले त्यो विष पिउने निश्चय गर्नुभयो । शिवजीको प्रभाव जान्नुभएकी भवानीले पनि यसमा सहमति दिनुभयो ।।४१।।
ततः करतलीकृत्य व्यापि हालाहलं विषम् ।
अभक्षयन् महादेवः कृपया भूतभावनः ॥ ४२ ॥
नेपाली भावानुवाद: त्यसपछि दयालु महादेवले त्यो सर्वत्र फैलिएको हलाहल विषलाई आफ्नो हत्केलामा लिएर भक्षण गर्नुभयो ।।४२।।
तस्यापि दर्शयामास स्ववीर्यं जलकल्मषः ।
यच्चकार गले नीलं तच्च साधोर्विभूषणम् ॥ ४३ ॥
नेपाली भावानुवाद: समुद्रको त्यो मल अर्थात् विषले महादेवको कण्ठलाई नीलो बनाइदियो । तर अरूको रक्षाका लागि विष पिउँदा बनेको त्यो नीलो कण्ठ नै साधुहरूको भूषण (गहना) जस्तै सुशोभित भयो ।।४३।।
तप्यन्ते लोकतापेन साधवः प्रायशो जनाः ।
परमाराधनं तद्धि पुरुषस्याखिलात्मनः ॥ ४४ ॥
नेपाली भावानुवाद: सज्जनहरू प्रायः अरूको दुःख हटाउन आफैँ कष्ट सहन्छन् । वास्तवमा अरूको सेवा गर्नु नै सर्वात्मा भगवान्को सबैभन्दा ठुलो आराधना हो ।।४४।।
निशम्य कर्म तच्छम्भोः देवदेवस्य मीढुषः ।
प्रजा दाक्षायणी ब्रह्मा वैकुण्ठश्च शशंसिरे ॥ ४५ ॥
नेपाली भावानुवाद: भगवान् शिवको यस्तो अद्भूत र कल्याणकारी कर्म देखेर प्रजा, सती, ब्रह्माजी र स्वयं विष्णु भगवान्ले समेत उहाँको प्रशंसा गर्नुभयो ।।४५।।
प्रस्कन्नं पिबतः पाणेः यत् किञ्चित् जगृहुः स्म तत् ।
वृश्चिकाहिविषौषध्यो दन्दशूकाश्च येऽपरे ॥ ४६ ॥
नेपाली भावानुवाद: शिवजीले विष पिउँदा हत्केलाबाट जुन केही अंश भुइँमा खस्यो, त्यसलाई बिच्छी, सर्प र विषालु औषधिहरूले ग्रहण गरे ।।४६।।
यस अध्यायको सारांश :
श्रीमद्भागवत महापुराणको अष्टम स्कन्ध अन्तर्गत सातौँ अध्यायमा अमृत प्राप्तिका लागि गरिएको समुद्र मन्थनको प्रक्रिया र त्यसबाट उत्पन्न हलाहल विषको निवारणका बारेमा विस्तृत वर्णन गरिएको छ । देवता र असुरहरूले नागराज वासुकिलाई अमृतको लोभ देखाई नेतीका रूपमा प्रयोग गर्न सहमत गराएपछि मन्दराचल पर्वतलाई मदानी बनाएर मन्थन सुरु गरियो । सुरुमा भगवान्ले वासुकिको मुखतिर समात्दा असुरहरूले आफ्नो मानमर्दन भएको ठानेर विरोध गरेपछि भगवान्ले मुस्कुराउँदै पुच्छरतिर समातेर उनीहरूको अहंकारलाई शान्त पार्नुभयो । मन्थनका क्रममा आधार नभएकाले मन्दराचल समुद्रमा डुब्न लाग्दा भगवान् स्वयंले विशाल कछुवा (कच्छप अवतार) को रूप धारण गरी आफ्नो पिठ्युँमा पर्वतलाई अड्याउनुभयो । मन्थन तीव्र हुँदै जाँदा वासुकिको श्वासबाट निस्केको विषालु ज्वालाले असुर र देवताहरूलाई निस्तेज बनायो, जसलाई शान्त पार्न भगवान्ले बादल र शीतल वायुको व्यवस्था गर्नुभयो । जब कडा परिश्रम गर्दा पनि अमृत निस्किएन, तब स्वयं भगवान्ले मन्थन सुरु गर्नुभयो, जसबाट सर्वप्रथम भयानक हलाहल विष उत्पन्न भयो । त्यस विषको डढेलोले सारा संसार ध्वस्त हुन लागेको देखेर भयभीत भएका प्रजापति र देवताहरू रक्षाका लागि भगवान् शिवको शरणमा पुगे । शिवजीले प्रजाहरूको करुण पुकार सुनेर र सबैको हितका लागि आफ्नो प्राणको समेत प्रवाह नगरी त्यो विष पिउने निर्णय गर्नुभयो । आफ्नी पत्नी सतीको सहमतिमा शिवजीले हलाहल विषलाई हत्केलामा लिएर पिउनुभयो, जसका कारण उहाँको कण्ठ नीलो भयो र उहाँ 'नीलकण्ठ' कहलाउनुभयो । यसरी शिवजीले लोककल्याणका लागि विषलाई भूषणका रूपमा स्वीकार गर्नुभयो र जगतलाई महाविपत्तिबाट बचाउनुभयो । यो अध्यायले ईश्वरको सर्वव्यापकता र भक्तहरूको रक्षाका लागि उहाँले गर्ने विभिन्न अवतार तथा लीलाहरूको चित्रण गर्दछ । अन्ततः यस अध्यायले परोपकार नै सबैभन्दा ठुलो धर्म हो भन्ने सन्देश दिँदै शिवजीको त्यागको महिमा गान गरेको छ ।
यस अध्यायको दार्शनिक पक्ष :
यस अध्यायको दार्शनिक पक्षले परोपकार, त्याग र अद्वैत तत्त्वको गहिरो व्याख्या गर्दछ । समुद्र मन्थनले मानव अन्तःकरणको मन्थनलाई सङ्केत गर्छ, जहाँ अमृत अर्थात् मोक्ष प्राप्त गर्नुभन्दा पहिले हलाहल विष अर्थात् विषय–वासना र विकारहरू बाहिर निस्कन्छन् । भगवान् शिवले विष पिउनुको अर्थ हो– एक सच्चा साधक वा लोकनायकले संसारका सारा खराबी र कष्टहरूलाई आफैँभित्र पचाएर समाजलाई शान्ति प्रदान गर्नुपर्छ । प्रजापतिहरूले गरेको शिव स्तुतिले शिवजीलाई नै सृष्टि, स्थिति र लयको मूल आधार मानी उहाँ र विष्णु वा ब्रह्मामा कुनै भेद नरहेको अद्वैत दर्शनलाई पुष्टि गर्दछ । शिवजीले 'नीलकण्ठ' बनेर देखाउनुभएको त्यागले के सिकाउँछ भने अरूको सेवामा कष्ट सहनु नै परमात्माको वास्तविक आराधना हो । यसले अहंकारको पतन र ईश्वरको पूर्ण शरणागतिले मात्र संसारको कठिन परीक्षाबाट पार पाउन सकिन्छ भन्ने सत्यलाई उजागर गरेको छ ।
No comments:
Post a Comment