#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्ध– द्वितीयोध्याऽयः

 
श्रीमद्‌भागवत महापुराण
दशमस्कन्ध– द्वितीयोध्याऽयः 


शुक उवाच –
(अनुष्टुप्)
प्रलम्बबकचाणूरतृणावर्तमहाशनैः ।
मुष्टिकारिष्टद्विविदपूतनाकेशीधेनुकैः ॥१॥

अन्यैश्चासुरभूपालैर्बाणभौमादिभिर्युतः ।
यदूनां कदनं चक्रे बली मागधसंश्रयः ॥२॥

श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! कंस आफैं बलवान थियो र दोस्रो उसलाई मगधका राजा जरासन्धबाट ठूलो सहयोग थियो । यसका साथै प्रलम्बासुर, बकासुर, चाणुर, त्रिणावर्त, अघासुर, मुष्टिक, अरिष्टासुर, द्विविद, पुतना, केशी, धेनुकासुर, बाणासुर र भौमासुर जस्ता धेरै राक्षस राजाहरूको सहयोग लिएर उसले यदुवंशीहरूको विनाश गर्न लाग्यो ।।१–२।।

ते पीडिता निविविशुः कुरुपञ्चालकेकयान् ।
शाल्वान् विदर्भान् निषधान् विदेहान् कोसलानपि ॥३॥

एके तमनुरुन्धाना ज्ञातयः पर्युपासते ।
हतेषु षट्सु बालेषु देवक्या औग्रसेनिना ॥४॥

सप्तमो वैष्णवं धाम यमनन्तं प्रचक्षते ।
गर्भो बभूव देवक्या हर्षशोकविवर्धनः ॥५॥

कंशबाट पीडित भै डराएर यदुवंशीहरु कुरु, पञ्चाल, केकय, शाल्व, विदर्भ, निषध, विदेह र कोसल आदि देशहरूमा बस्न थाले । कति चाँही अरु उपाय नदेखेर उसैको सेवा गरेर बसे । यता कंसले देवकीका छः जना सन्तानलाई एक एक गरी मारेपछि, देवकीको सातौं गर्भमा भगवान श्री शेषजी प्रकट हुनुभयो जसलाई अनन्त पनि भनिन्छ । शेषजीको जन्म भएकोले देवकीले स्वभाविक रूपमा खुशी भईन  तर कंसले मार्नेछ भन्ने डरले पनि उनको पीडा पनि बढ्यो ।।३–५।।

भगवानपि विश्वात्मा विदित्वा कंसजं भयम् ।
यदूनां निजनाथानां योगमायां समादिशत् ॥६॥

भगवान विश्वात्माले आफुलाइनै आफ्नो मालिक र सबै थोक मान्ने यदुवंशीहरूलाई कंसबाट धेरै डर भएको थाहा पाएर वहाँले योगमायालाई भन्नुभयो ।।६।।  

रोहिणी वसुदेवस्य भार्याऽऽस्ते नन्दगोकुले ।
अन्याश्च कंससंविग्ना विवरेषु वसन्ति हि ॥७॥

हे देवी ! हे कल्याणी ! तिमी गोकुलमा जाऊ ! त्यो क्षेत्र गाई–गोरुले सुशोभित भएको छ । त्यहाँ नन्दबाको गोकुलमा वासुदेवकी पत्नी रोहिणी बस्छिन् । उनका अरु पत्नीहरू पनि कंसको डरले लुकिछिपि बस्छन् ।।७।।

गच्छ देवि व्रजं भद्रे गोपगोभिरलङ्कृदतम् ।
देवक्या जठरे गर्भं शेषाख्यं धाम मामकम् ।
तत् संनिकृष्य रोहिण्या उदरे सन्निवेशय ॥८॥

अहिले देवकीको गर्भमा मेरो त्यो अंश जसलाई शेष भनिन्छ, अवस्थित छ । त्यहाँबाट खिचेर रोहिणीको गर्भमा हालिदेऊ ।।८।।

अथाहमंशभागेन देवक्याः पुत्रतां शुभे ।
प्राप्स्यामि त्वं यशोदायां नन्दपत्न्यां। भविष्यसि ॥९॥

हे कल्याणी ! अब म आफ्नो सम्पूर्ण ज्ञान, शक्ति ऐश्वर्य आदि अंशले देवकीको पुत्र बन्छु । र तिमी नन्दबाबाकी पत्नी यशोदाको गर्भबाट जन्मिनेछौ ।।९।। 

अर्चिष्यन्ति मनुष्यास्त्वां सर्वकामवरेश्वरीम् ।
धूपोपहारबलिभिः सर्वकामवरप्रदाम् ॥१०॥

तिमी मानिसहरूलाई आशीर्वाद एवं वरदान दिन सक्ने हुनेछ्यौ त्यसैले मानिसहरूले तिमीलाई धूप, दीप, नैवेद्य लगायत अन्य प्रकारका सामग्रीहरूद्वारा पूजा गर्नेछन ।।१०।।

नामधेयानि कुर्वन्ति स्थानानि च नरा भुवि ।
दुर्गेति भद्रकालीति विजया वैष्णवीति च ॥११॥

कुमुदा चण्डिका कृष्णा माधवी कन्यकेति च ।
माया नारायणीशानी शारदेत्यम्बिकेति च ॥१२॥

तिम्रो शक्ति र प्रभावका कारण मानिसहरुले पृथ्वीमा तिमीलाई दुर्गा, भद्रकाली, विजया, वैष्णवी, कुमुदा, चण्डिका, कृष्णा, माधवी, कन्यका, माया, नारायणी, ईशानी, शारदा र अम्बिका आदि धेरै नामले पुज्नेछन् । तिम्रा धेरै पीठहरु बन्नेछन् ।।११–१२।। 

गर्भसंकर्षणात् तं वै प्राहुः संकर्षणं भुवि ।
रामेति लोकरमणाद् बलं बलवदुच्छ्रयात् ॥१३॥

देवकीको गर्भबाट खिचेर ल्याएका कारण मानिसहरूले शेषजीलाई ‘संकर्षण’ भन्नेछन्, आनन्द दिलाउने भएकाले ‘राम’ र बलवानमा श्रेष्ठ भएकाले ‘बलभद्र’ पनि भन्नेछन्  ।।१३।।

सन्दिष्टैवं भगवता तथेत्योमिति तद्वचः ।
प्रतिगृह्य परिक्रम्य गां गता तत् तथाकरोत् ॥१४॥

जब भगवानले यसरी आज्ञा दिनु भएपछि योगमायाले ‘जो आज्ञा’ भनेर उनी पृथ्वीमा गईन र भगवान्ले बताए अनुसार गरिन् ।।१४।।

गर्भे प्रणीते देवक्या रोहिणीं योगनिद्रया ।
अहो विस्रंसितो गर्भ इति पौरा विचुक्रुशुः ॥१५॥

जब योगमायाले देवकीको गर्भ खिचेर रोहिणीको गर्भमा राखिदिएपछि यता पुरवासीहरूले दुःखीहुदै अहो ! कंसको डरले देवकीको गर्भ नष्ट भयो भन्नथाले ।।१५।।

भगवानपि विश्वात्मा भक्तानामभयङ्कुरः ।
आविवेशांशभागेन मन आनकदुन्दुभेः ॥१६॥

भगवान् सर्वव्यापक हुनुहुन्छ वहाँ आफ्ना भक्तहरुलाई अभय दिनुहुन्छ, । त्यसैले ज्ञान, ऐश्वर्य आदि अंश सहित वासुदेवजीको मनमा प्रवेश हुनुभयो ।।१६।। 

स बिभ्रत् पौरुषं धाम भ्राजमानो यथा रविः ।
दुरासदोऽतिदुर्धर्षो भूतानां सम्बभूव ह ॥१७॥

भगवानको तेजले गर्दा वासुदेवजी सूर्यजस्तै तेजीलो र नजिकबाट कसैले हेर्न र तिरस्कार गर्न नसक्ने भए ।।१७।। 

 (उपेंद्रवज्रा)
ततो जगन्मङ्‌गलमच्युतांशं
     समाहितं शूरसुतेन देवी ।
दधार सर्वात्मकमात्मभूतं
     काष्ठा यथाऽऽनन्दकरं मनस्तः ॥१८॥

त्यसपछि वसुदेवले जगतका मंगलकर्ता सर्वव्यापक भगवान्को त्यो ज्योर्तिमय अंशलाई देवकीको गर्भमा समाहित गरे, तव देवी देवकीले पूर्व दिशाले चन्द्रमालाई धारण गरे झैं धारण गर्नुभयो ।।१८।। 

(इंद्रवज्रा)
सा देवकी सर्वजगन्निवास(
     निवासभूता नितरां न रेजे ।
भोजेन्द्रगेहेऽग्निशिखेव रुद्धा
     सरस्वती ज्ञानखले यथा सती ॥१९॥

भगवान सारा जगतका निवास हुनुहुन्छ त्यस्ता भगवान्को पनि निवास भएकी ती देवकी कंसको कारागारमा रहेकी कारण उनको तेज सबैतिर फैलिन पाएन जसरी बलेको प्रकाशलाई भाँडो कुनै वस्तुले छकिदिदा उसको प्रकाश हराउँछ, ठग विद्वानको ज्ञान बाहिर फैलन पाउँदैन त्यसरी नै कंसको डरले देवकीको तेज बाहिर फैलन पाएन ।।१९।।

(मिश्र)
तां वीक्ष्य कंसः प्रभयाजितान्तरां
     विरोचयन्तीं भवनं शुचिस्मिताम् ।
आहैष मे प्राणहरो हरिर्गुहां
     ध्रुवं श्रितो यन्न पुरेयमीदृशी ॥२०॥

देवकीको गर्भमा भगवान विराजमान हुनुभएका कारण उनको अनुहार मन्दमुस्कान सहित तेजिलो थियो तेजले कारागारलाई नै चम्किलो पारेको थियो । उनको अनुहारको यस्तो तेज देखेर कंसले मनमनै भन्न थाल्यो– ‘यसपटक चाँही मलाई मार्ने विष्णु अवश्य उनको गर्भमा प्रवेश गरेका छन्’ किनभने देवकीको यस्तो तेजिलो रूप पहिले कहिल्यै थिएन ।।२०।। 

किमद्य तस्मिन् करणीयमाशु मे
     यदर्थतन्त्रो न विहन्ति विक्रमम् ।
स्त्रियाः स्वसुर्गुरुमत्या वधोऽयं
     यशः श्रियं हन्त्यनुकालमायुः ॥२१॥

अब म यस गर्भलाई के गरौं ? देवकीलाई मार्नु ठीक हुँदैन । किनभने वीर पुरुषहरूले स्वार्थका लागि आफ्नो पराक्रमलाई कलंकित गर्ने काम गर्दैनन् । पहिलो त उनी महिला, दोस्रो बहिनी र तेस्रो गर्भवती छिन् । यदि मैले उनलाई मारें भने मेरो कीर्ति, ऐश्वर्य र आयु तुरुन्तै नष्ट हुनेछ ।।२१।।
  
 (इंद्रवज्रा) 
स एष जीवन् खलु सम्परेतो
     वर्तेत योऽत्यन्तनृशंसितेन ।
देहे मृते तं मनुजाः शपन्ति
     गन्ता तमोऽन्धं तनुमानिनो ध्रुवम् ॥२२॥

क्रूर व्यवहार गर्ने ब्यक्ति बाँचेर पनि मरेतुल्य नै हुन्छ । अरुको हिंसा गरेर आफ्नो स्वार्थ पुरा गर्ने ब्यक्तिलाई अरुले सराप्नेछन् । यति मात्र होइन उ पनि घोर अन्धकारमय नरकमा जान्छ ।।२२।।

(अनुष्टुप्)
इति घोरतमात् भावात् सन्निवृत्तः स्वयं प्रभुः ।
आस्ते प्रतीक्षंस्तज्जन्म हरेर्वैरानुबन्धकृत् ॥२३॥

कंसले देवकीलाई मार्न सक्ने भए पनि उ आफैं यो चरम क्रूरताको विचारबाट पछि हट्यो । अब उ भगवान प्रति तीव्र शत्रुताको साथ, वहाँको जन्म को प्रतीक्षा गर्न थाल्यो ।।२३।।

आसीनः संविशंस्तिष्ठन् भुञ्जानः पर्यटन् महीम् ।
चिन्तयानो हृषीकेशमपश्यत् तन्मयं जगत् ॥२४॥

अब कंसले उठ्दा, बस्दा, खादा, पिउँदा, सुत्दा, र हिँड्दा पनि सधैं हृषिकेषको चिन्तनमा मग्न रहन थाल्यो । उसले आफ्नो आँखा जता पर्यो उता श्रीकृष्णलाई देख्न थाल्यो  । यसरी सारा जगतनै श्रीकृष्णको रूपमा देखिन थाल्यो ।।२४।।

ब्रह्मा भवश्च तत्रैत्य मुनिभिर्नारदादिभिः ।
देवैः सानुचरैः साकं गीर्भिर्वृषणमैडयन् ॥२५॥

परीक्षित ! त्यहाँ कारागारमा भगवान शंकर र ब्रह्माजी नारदादि देवताहरू आउनुभयो । सबैले मधुर वचनले श्री हरिको स्तुति गर्न थाल्नुभयो ।।२५।।

(इंद्रवज्रा)
सत्यव्रतं सत्यपरं त्रिसत्यं
     सत्यस्य योनिं निहितं च सत्ये ।
सत्यस्य सत्यमृतसत्यनेत्रं
     सत्यात्मकं त्वां शरणं प्रपन्नाः ॥२६॥

हे प्रभु ! हजुर सत्संकल्प हुनुहुन्छ । हजुरको प्राप्त गर्ने साधन नै सत्य हो । हजुर तीनै कालमा सत्य हुनुहुन्छ । सृष्टि, स्थिति र विनाशमा पनि हजुर सत्य हुनुहुन्छ । पृथ्वी, जल, प्रकाश, वायु र आकाश यी पंचमहाभूतको कारण र त्यसभित्र अन्तर्यामी रुपले रहने पनि हजुर नै हौ । हजुर कै कारण हामीमा सत्य बोल्ने भावना पलाउँछ । हामी यस्ता परम सत्यस्वरूप भगवान्को शरणमा आएका छौं ।।२६।। 

एकायनोऽसौ द्विफलस्त्रिमूल –
     श्चतूरसः पञ्चविधः षडात्मा ।
सप्तत्वगष्टविटपो नवाक्षो
     दशच्छदी द्विखगो ह्यादिवृक्षः ॥२७॥

यो संसार एउटा अनन्त रूख हो, यस रूखको आधार प्रकृति हो । यसका दुईवटा फलहरू छन् जुन सुख र दुःख, हुन्, सत्व, रज र तम तीनका फेद हुन् र धर्म, अर्थ, काम र मोक्ष चार पुरुषार्थ यसको रस हो । यसलाई जान्ने साधन पाँच ज्ञानेन्द्रिैय हुन । यसको छ वटा प्रकृतिहरू छन– जन्मनु, अस्तित्वमा हुनु, बढ्नु, परिवर्तन हुनु, उत्पन्न हुनु र नष्ट हुनु । यस रुखको बोक्रामा रस, रगत, मासु, बोसो, अस्थि मज्जा र शुक्र गरी सातवटा धातु हुन्छन् । यसमा आठ शाखाहरू छन् जुन पाँचमहाभूत मन, बुद्धि र अहंकार हुन । यसमा मुख आदि जस्ता नौवटा ढोका छन् । प्राण, अपान, व्यान, उदान, समान, नाग, कूर्म, क्रिकल, देवदत्त र धनंजय – यी दश प्राण (दसवटा पातहरू) हुन् । यस लौकिक रूखमा रहने दुईवटा पंक्षी छन्– जुन जीवात्मा र परमात्मा हुन् ।।२७।। 

त्वमेक एवास्य सतः प्रसूति –
     स्त्वं सन्निधानं त्वमनुग्रहश्च ।
त्वन्मायया संवृतचेतसस्त्वां
     पश्यन्ति नाना न विपश्चितो ये ॥२८॥

यस लौकिक वृक्षको उत्पत्ति, यसको विनाश र पालनपोषण पनि हजुर नै हो । जसको मन हजुरको मायाले मोहित भएको हुन्छ उसले मात्र  यो सत्यलाई बुझ्ने शक्ति गुमाएका हुन्छन्– तिनीहरूले मात्र सृष्टि, अस्तित्व र विनाश गर्ने धेरै ब्रह्मा विष्णु महेश्वर आदि देवताहरू देख्छन् तर ज्ञानी बिद्वानहरुले चाँही सबैको रूपमा हजुरलाई मात्र देख्छन् ।।२८।। 

बिभर्षि रूपाण्यवबोध आत्मा
     क्षेमाय लोकस्य चराचरस्य ।
सत्त्वोपपन्नानि सुखावहानि
     सतामभद्राणि मुहुः खलानाम् ॥२९॥

हजुर ज्ञानरूप आत्मा हुनुहुन्छ । यो चराचर जगतको कल्याणको लागि मात्र धेरै रूप लिनुहुन्छ । ज्ञानी सज्जनका लागि सुख दिने सत्वप्रधानरूप धारण गर्नुहून्छ तर त्यही रूप दुष्टहरुको लागि भय प्रदान गराउने हुन्छ ।।२९।। 

त्वय्यम्बुजाक्षाखिलसत्त्वधाम्नि
     समाधिनाऽऽवेशितचेतसैके ।
त्वत्पादपोतेन महत्कृतेन
     कुर्वन्ति गोवत्सपदं भवाब्धिम् ॥३०॥

हे कमलनयन प्रभु ! केही विवेकशील मानिसले मात्र आफ्नो मनलाई पूर्ण एकाग्रताका साथ सबै प्राणीहरूको आधार स्वरूप हजुरमा केन्द्रित गर्न सक्नेछन् र हजुरको कमलचरणरूपी डुंगाको सहायताले बाछोको खुरले बनाएको खाडललाई पार गरे जस्तै गरि सहज रूपमा यस संसारसागर बाट पार गर्छन् ।।३०।। 

(मिश्र)
स्वयं समुत्तीर्य सुदुस्तरं द्युमन्
     भवार्णवं भीममदभ्रसौहृदाः ।
भवत्पदाम्भोरुहनावमत्र ते
     निधाय याताः सदनुग्रहो भवान् ॥३१॥

किन नहोस्, अहिले सम्म साधुहरूले यो डुंगाको आश्रय लिएर संसार सागर पार गरिसकेका छन् र यो डुंगा यही छाडेर गएका छन् । यही डुंगाको सहायताले अरुले पनि संसार पार गरुन भनि अनुग्रह गर्नका लागि हजुरले यो अवतार लिनुभएको हो ।।३१।। 

येऽन्येऽरविन्दाक्ष विमुक्तमानिन –
     स्त्वय्यस्तभावादविशुद्धबुद्धयः ।
आरुह्य कृच्छ्रेण परं पदं ततः
     पतन्त्यधोऽनादृतयुष्मदङ्‌घ्र्यः ॥३२॥

हे कमलनयन ! जो हजुरको चरणकमलको शरण पर्दैनन् र हजुरको भक्तिको अभावले उसको चित्त पनि शुद्ध भएको हुदैन, उनीहरु आफूलाई मिथ्याबाट मुक्त ठान्छन् । यथार्थमा तिनीहरू धेरै तपस्या आदि गरेर उच्च पदमा पुगे पनि त्यहाँबाट तल झर्छन्, संसारमा खस्छन् ।।३२।। 

तथा न ते माधव तावकाः क्वचिद्
     भ्रश्यन्ति मार्गात्त्वयि बद्धसौहृदाः ।
त्वयाभिगुप्ता विचरन्ति निर्भया
     विनायकानीकपमूर्धसु प्रभो ॥३३॥

तर भगवान ! भक्तिबाट विमुख भएका ब्यक्तिहरु थोरै बाधा आउँदा पनि खस्छन् भने हजुरको चरणकमलमा मन लगाउने शरणागत भक्त मुक्तिमार्गबाट कहिल्यै पनि तल झर्दैनन् । बरु तिनीहरू निडर भएर हिँड्छन्, ठूला विघ्न बाधाहरु गर्न आउँने सेनाको टाउकोमा चढेर परमपद प्राप्त गर्दछन् ।।३३।। 

सत्त्वं विशुद्धं श्रयते भवान् स्थितौ
     शरीरिणां श्रेय उपायनं वपुः ।
वेदक्रियायोगतपःसमाधिभि –
     स्तवार्हणं येन जनः समीहते ॥३४॥

संसारको पालन पोषणका लागि हजुर सत्वरूप विग्रह धारण गर्नुहुन्छ । त्यही रूपलाई सत्य मानेर भक्तहरू वेद, अनुष्ठान, अष्टाङ्गयोग, तपस्या र समाधिद्वारा हजुरको पूजा गर्छन् ।।३४।। 

सत्त्वं न चेद्धातरिदं निजं भवेद्
     विज्ञानमज्ञानभिदापमार्जनम् ।
गुणप्रकाशैरनुमीयते भवान्
     प्रकाशते यस्य च येन वा गुणः ॥३५॥

हे प्रभु ! हजुर जगतका पालन कर्ता हुनुहुन्छ  । यदि हजुरमा यो शुद्ध सत्वगुण प्रधान अवतार भएन भने अज्ञानता र त्यसबाट उत्पन्न हुने भेदभावलाई नष्ट गर्ने प्रत्यक्ष ज्ञान कसैलाई हुँदैन । संसारमा देखिने तीनवटै गुण हजुरकै हुन् र हजुरबाटै प्रकाशित हुने हुन्, यो त अनुमान गर्ने कुरा मात्र हो, हजुर बुध्दिवृत्तिदरा प्रकाशित हुनुहुन्न र प्रत्यक्ष अनुभव गर्न पनि सकिदैन । हजुरको कृपाले मात्र हजुरको स्वरूपको अनुभूति हुन्छ) ।।३५।। 

न नामरूपे गुणजन्मकर्मभि –
     र्निरूपितव्ये तव तस्य साक्षिणः ।
मनोवचोभ्यामनुमेयवर्त्मनो
     देव क्रियायां प्रतियन्त्यथापि हि ॥३६॥

हे प्रभु ! मन र वचनद्वारा नभई केवल हजुरको रूपको अनुमानबाट मात्र जान्न सकिन्छ । किनभने हजुरको नाम, गुण, जन्म, कर्म चिन्न सकिदैन । तैपनि हजुरका भक्तहरूले पूजा नाम कीर्तन द्वारा हजुरको साक्षात्कार गर्दछन् ।।३६।। 

शृण्वन् गृणन् संस्मरयंश्च चिन्तयन्
     नामानि रूपाणि च मङ्‌गलानि ते ।
क्रियासु यस्त्वच्चरणारविन्दयो –
     राविष्टचेता न भवाय कल्पते ॥३७॥

जसले हजुरको कल्याणकारी नाम र रूपको श्रवण, जप, स्मरण र ध्यान गर्छन् र अरुलाई सुनाउछन्, हजुरको चरणकमलमा आफ्नो मन लगाएका हुन्छन् भने उनले फेरि जन्म र मृत्युको चक्रमा आउनु पर्दैन ।।३७।। 

दिष्ट्या हरेऽस्या भवतः पदो भुवो
     भारोऽपनीतस्तव जन्मनेशितुः ।
दिष्ट्याङ्‌कितां त्वत्पदकैः सुशोभनै –
     र्द्रक्ष्याम गां द्यां च तवानुकम्पिताम् ॥३८॥

हे दुःख नाशक भगवान ! यो धर्तीमा हजुरको चरणकमल पर्नाले नै पृथ्वीको भार नाश भैसक्यो । धन्य प्रभु ! यो हाम्रो लागि ठूलो भाग्यको कुरा हो कि हजुरका वज्र अंकुश आदि चिन्हले अंकित चरणले टेकेर हजुरको कृपाबाट हुलुको भएकी पृथ्वी र स्वर्ग पनि देख्नेभयौं ।।३८।। 

न तेऽभवस्येश भवस्य कारणं
     विना विनोदं बत तर्कयामहे ।
भवो निरोधः स्थितिरप्यविद्यया
     कृता यतस्त्वय्यभयाश्रयात्मनि ॥३९॥

हे प्रभु ! हजुर सबका लागि अभयदाता हुनुहुन्छ, सबैका आश्रय पनि हुनुहुन्छ हामीलाई हजुरको जन्मका बारेमा कुनै तर्क गर्नु छैन । हामी यो मात्र भन्न सक्छौं कि यो हजुरको लीला र कृडा हो । यसो भन्नुको कारण यो हो कि हजुर कुनै नाम नभएको परम स्वरूप हुनुहुन्छ । हजुरमा नै यस संसारको उत्पत्ति, स्थिति र विनाश भैरहेको हुन्छ त्यो पनि अविद्याको कारणले हो ।।३९।।  

(वसंततिलका)
मत्स्याश्वकच्छपनृसिंहवराहहंस –
     राजन्यविप्रविबुधेषु कृतावतारः ।
त्वं पासि नस्त्रिभुवनं च यथाधुनेश
     भारं भुवो हर यदूत्तम वन्दनं ते ॥४०॥

हे प्रभु ! जसरी हजुरले मत्स्य, हयग्रीव, कछुवा, नृसिंह, वराह, हंस, राम, परशुराम र वामन आदि अवतार लिएर धेरै पटक तीनैलोकको रक्षा गर्नुभएको छ, त्यसैगरी यस पटक पनि पृथ्वीको भार हटाउनुहोस् । हे यदुश्रेष्ठ ! हामी हजुरको चरणको वन्दना गर्दछौं ।।४०।। 

(इंद्रवंशा)
दिष्ट्याम्ब ते कुक्षिगतः परः पुमा –
     नंशेन साक्षाद्भःगवान् भवाय नः ।
मा भूद् भयं भोजपतेर्मुमूर्षो –
     र्गोप्ता यदूनां भविता तवात्मजः ॥४१॥

देवकीजीलाई सम्बोधन गर्दै भने हे माता देवकी ! हामी सबैको कल्याणको लागि भगवान पुरुषोत्तम स्वयं आफ्नो ज्ञान, ऐश्वर्य आदि शक्ति लिएर हजुरको गर्भमा आउनुभएको छ, यो ठूलो भाग्यको कुरा हो । अब हजुर कंससँग डराउनु पर्दैन । अब उ केही दिनमा नै मारिने छ  । हजुरको छोराले यदुवंशीहरुको रक्षा गर्नेछन् ।।४१ ।

शुक उवाच –
(अनुष्टुप्)
इत्यभिष्टूय पुरुषं यद्‌रूपमनिदं यथा ।
ब्रह्मेशानौ पुरोधाय देवाः प्रतिययुर्दिवम् ॥४२॥

श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! भगवान्को स्वरूप यस्तै हो भनेर बताउन नसकिने भएपनि ब्रह्मादी देवताहरूले यसरी भगवानको स्तुति गरेर आफ्नो लोकतिर जानुभयो ।।४२।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे
पूर्वार्धे गर्भगतविष्णोर्ब्रह्मादिकृतस्तुतिर्नाम द्वितीयोध्याऽयः ॥ २ ॥